Category: विश्व

  • इक्वेडरमा भूकम्प, कम्तिमा १२ जनाको मृत्यु

    इक्वेडरमा भूकम्प, कम्तिमा १२ जनाको मृत्यु

    काठमाडौं । इक्वेडरमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म कम्तीमा १२ जनाको ज्यान गएको पुष्टि भएको छ । दक्षिणी तटीय क्षेत्रमा ६ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको हो । ११ जनाको एल ओरो र एक जनाको अजुए प्रान्तमा ज्यान गएको इक्वेडरका अधिकारीलाई उद्धृत गरी बीबीसीले जनाएको छ । मनाबी, मान्ता र राजधानी क्विटोलगायत अन्य धेरै सहरहरूमा पनि भूकम्पको धक्का महसुस भएको छ ।

    भूकम्पपछि धेरै सहरमा भवनहरू क्षतिग्रस्त भएका छन् । दक्षिणी प्रान्त एल ओरो सबैभन्दा बढी प्रभावित भएको छ । मानिसहरू भत्किएका घरमा फसेका छन् । उद्धारको काम भइरहेको छ । भूकम्पको केन्द्रबिन्दु इक्वेडरको दोस्रो ठूलो सहर ग्वायाकिलबाट झण्डै ५० माइल बालाओ नजिक रहेको थियो । आपत्कालीन टोलीहरू प्रभावित क्षेत्रमा खटिएका छन् । सन् २०१६ यता इक्वेडरमा आएको यो सबैभन्दा शक्तिशाली भूकम्प हो ।

  • अमेरिकासँग भारी मात्रामा हतियार किन्दै अष्ट्रेलिया

    अमेरिकासँग भारी मात्रामा हतियार किन्दै अष्ट्रेलिया

    काठमाडौं । अमेरिकी विदेश मन्त्रालयले अस्ट्रेलियालाई ८९ करोड ५० लाख अमेरिकी डलर बराबरको करिब २२० क्रूज क्षेप्यास्त्र बिक्री अनुमोदन गरेको छ।
    कांग्रेसबाट पारित हुनुपर्ने बिक्रीसम्बन्धी उक्त प्रस्ताव अन्तर्गत लामो दूरीसम्म मार हान्न सक्ने टमाहक क्षेप्यास्त्र र प्राविधिक सहयोग समेत समावेश गरिएको बीबीसीले उल्लेख गरेको छ । क्रूज प्रकृतिका क्षेप्यास्त्रहरू हावामा उडानमा रहेका बेला तलमाथि जाने वा मार्ग परिवर्तन गर्न सक्ने क्षमताका हुन्छन्।

    यो गुणले गर्दा क्रूज क्षेप्यास्त्रहरूले तिनका निसानामा विभिन्न अनपेक्षित कोणबाट आक्रमण गर्न सक्छन्। जहाजबाट समेत प्रहार गर्न सकिने यी क्षेप्यास्त्रहरू इन्डो–प्यासिफिक क्षेत्रमा चीनको प्रभाव कम गर्न भनेर घोषणा गरिएको ओकस रक्षा सम्झौता अन्तर्गत अस्ट्रेलियाले अमेरिकाबाट प्राप्त गर्ने भर्जिनिया श्रेणीको पनडुब्बीले प्रयोग गर्नेछन्।

    अस्ट्रेलियाका रक्षामन्त्री रिचर्ड मार्लेसले ती क्षेप्यास्त्रले वास्तवमै महत्त्वपूर्ण क्षमता प्रदान गर्ने बताएका छन्। यस सम्झौताले देशलाई यथास्थितिबाट केही फरक अवस्थामा पुग्न मद्दत गर्ने र यसरी नै अस्ट्रेलियालाई सुरक्षित आफूहरू राख्न सक्षम भएको मन्त्रीले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेसन (एबीसी) लाई बताए।

  • पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

    पुटिनविरुद्ध पक्राउ पूर्जी जारी

    काठमाडौं । इन्टरनेशनल क्रिमिनल कोर्ट (आईसीसी)ले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनविरुद्ध युद्ध अपराधको अभियोग लगाएको छ, जसमा बालबालिकालाई गैरकानुनी रुपमा युक्रेनबाट रुस पठाउनु पनि भएको बीबीसीले जनाएको छ ।

    रुसले २४ फेब्रुअरी २०२२ देखि युक्रेनमाथि आक्रमण सुरु गरेको थियो । यद्यपि उसले आक्रमणका क्रममा युद्ध अपराध गरेको आरोप अस्वीकार गर्दै आएको छ । पक्राउ पुर्जीबारे टिप्पणी गर्दै रुसी विदेश मन्त्रालयका प्रवक्ता मारिया जखारोवाले ‘इन्टरनेशनल क्रिमिनल कोर्टको फैसला हाम्रो देशका लागि कानुनी रुपमा कुनै अर्थ छैन’ उनले भनिन् ।

  • रुसी सैनिक विमानसँग ठोक्किएको अमेरिकी ड्रोन दुर्घटनाग्रस्त

    रुसी सैनिक विमानसँग ठोक्किएको अमेरिकी ड्रोन दुर्घटनाग्रस्त

    काठमाडौं\बीबीसी । एउटा रुसी लडाकु विमान अमेरिकी ड्रोनसँग ठोक्किएपछि आफ्नो उक्त मानवरहित विमान ब्ल्याक सीमा खसेको अमेरिकी सेनाले जनाएको छ। यस घटनाले युक्रेन युद्धलाई लिएर रुस र अमेरिकाबीच प्रत्यक्ष टकराउको बढ्दो जोखिमको सङ्केत गरेको छ। ड्रोन अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा पूर्व निर्धारित उडानमा रहँदा दुई रुसी विमानले त्यसलाई रोक्न खोजेको अमेरिकाले बताएको छ। रुसले ड्रोनको आकस्मिक चालका कारण दुर्घटनाग्रस्त भएको बताएको छ। उसले आफ्ना दुई विमानको उक्त ड्रोनसँग प्रत्यक्ष सम्पर्क भएको आरोप अस्वीकार गरेको छ।


    रुसी रक्षा मन्त्रालयका अनुसार एमक्यू–९ रिपर ड्रोन त्यसलाई नियन्त्रण वा निगरानी गर्ने उपकरण, ट्रान्सपोन्डरहरू बन्द गरेर उडिरहेको थियो। यस सञ्चार उपकरणहरूले विमानलाई निगरानी गर्ने अनुमति दिन्छ। रिपर ड्रोनहरू २० मिटरसम्म फैलिएको निगरानी गर्ने विमान हो। दुर्घटना मङ्गलवार मध्य युरोपेली समयअनुसार करिब सात बजेपछि भएको अमेरिकी सेनाले जनाएको छ। ‘हाम्रो एमक्यू–९ विमान अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा नियमित सञ्चालन भइरहेको बेला रुसी विमानले यसलाई रोकेर ठक्कर दियो। त्यसैले उक्त विमान दुर्घटनाग्रस्त भयो र ड्रोन पूर्ण रूपमा क्षतिग्रस्त भयो’ एक विज्ञप्तिमा लेखिएको छ।


    ठोक्किनुअघि एसयू-२७ विमानहरूले ड्रोनमा लापरवाह, पर्यावरणीय हिसाबमा असुरक्षित र अव्यवसायिक ढङ्गमा इन्धन खसालेका थिए,’ लेखिएको छ। अमेरिकाले वाशिङ्टनस्थित रुसी राजदूत अनातोली एन्टोनोभलाई बोलाएर उक्त घटनाको विरोध गरेको थियो।

    बैठकपछि रुसी सरकारी सञ्चारमाध्यमले एन्टोनोभलाई उद्धृत गर्दै मस्कोले ड्रोन दुर्घटनालाई ‘उत्तेजना’को नतिजाका रूपमा व्याख्या गरेको बताएको छ। सन् २०१४ मा रुसले क्राइमियालाई आफ्नो भूभागमा समेटेयता ब्ल्याक सीमा तनाव बढेको छ। अन्तर्राष्ट्रिय हवाई क्षेत्रमा सधैँ उडान सञ्चालित भए पनि रुसले युक्रेनविरुद्ध पूर्ण रूपमा आक्रमण गरेपछि अमेरिका र यूकेले त्यस क्षेत्रमा जासुसी र निगरानी उडानहरू बढाएका छन्।

    अहिले मङ्गलवार रुसले अमेरिकी ड्रोन र त्यसको काममा बाधा पुर्‍याउने प्रयास गरेको थियो वा नियोजित रूपमा खसालेको थियो भन्ने प्रश्न सिर्जना भएको छ। अमेरिकाका अनुसार यस क्षेत्रमा सम्बद्ध विमानहरूसँग अन्तरक्रिया गर्ने रुसी विमान चालकहरूले जोखिमपूर्ण कार्यहरू दोहोराएका छन्। त्यसैले रुसी विमान चालकहरूको गल्तीका कारण ड्रोनको निकै नजिक पुगेको र दुर्घटना भएको हुनसक्ने सम्भावना छ। यदि यो नियोजित हमला हो भने यस घटनाले उत्तेजना बढाउने छ।

    त्यस्तो अवस्थामा यस आक्रमणलाई क्रेमलिनले संयुक्त राज्य अमेरिकाको प्रतिक्रिया जाँच गर्न गरेको प्रयासको रूपमा हेरिनेछ। पश्चिमा देशहरूले रुससँग प्रत्यक्ष टकराबमा उत्रिएर युक्रेन युद्ध रोक्न कडा प्रयास गरेका छन्। तर अब ब्ल्याक सीमा भएको यस घटनाबारे अमेरिकाले आफ्नो प्रतिक्रियाको मूल्याङ्कन गर्नु पर्नेछ। अमेरिकी सैन्य कमान्डरहरूले उनीहरूको विज्ञप्तिमा यसलाई “जोखिमपूर्ण कार्य” भन्दै चेतावनी दिएका छन्।

  • न्यूजिल्याण्डमा गयो भूकम्प, सुनामीको चेतावनी

    न्यूजिल्याण्डमा गयो भूकम्प, सुनामीको चेतावनी

    काठमाडौं । न्यूजिल्यान्डको केर्माडेक द्वीपमा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । अमेरिकी भौगर्भिक संस्था (युएसजीएस)ले यसको पुष्टी गरेको छ । आज बिहान १० किलोमिटर गहिराइमा केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्पको तीव्रता ७.१ म्याग्निच्युड मापन भएको र सुनामीको चेतावनी जारी गरिएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

    सुनामीले क्षति पुर्‍याउन सक्ने भएकाले न्यूजिल्याण्ड र टोगा क्षेत्रमासमेत सतर्कता अपनाइएको छ । यसअघि २०७५ साल भदौमा केर्माडेक द्वीपमा ६.९ म्याग्निच्यूडको भूकम्प गएको थियो । न्यूजिल्याण्डलाई भूकम्प र ज्वालामूखीजस्ता प्राकृतिक प्रकोपले सताइएको देश भनेर पनि चिनिन्छ ।

  • जर्मनीमा अन्धाधुन्ध बन्दुक चल्यो, कैयौं मारिए

    जर्मनीमा अन्धाधुन्ध बन्दुक चल्यो, कैयौं मारिए

    काठमाडौं\बीबीसी । उत्तरी जर्मनीको ह्याम्बर्गमा भएको बन्दुक आक्रमणमा कैयौँ मानिस मारिएका छन्। ‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा गोली चलाउने बन्दुकधारी पनि घटनामा मारिएको हुनसक्ने प्रहरीले बताएको छ। जर्मन सञ्चार माध्यमका अनुसार छ वा सात जना मृतकमध्येमा बन्दुकधारी पनि रहे वा नरहेको प्रस्ट छैन। “घटनाको उद्देश्य अझै यकिन हुन सकेको छैन,” प्रहरीले भनेको छ। ह्याम्बर्गकै अर्को स्थान ग्रस ब्रोस्टलमा भएको गोली प्रहारमा पनि केही मानिसहरू घाइते भएका छन्।

    प्रहरी प्रवक्ता होल्गर भेरेनले “गोली चलाउने व्यक्ति पनि त्यही भवनमा रहेको र मृतकमध्ये एक हुनसक्ने” समाचार संस्था एपीलाई बताएका छन्। उनका अनुसार घटनामा प्रहरीले हतियार प्रयोग गर्नुपर्ने आवश्यकता परेको थिएन। प्रहरीले भवनको माथिल्लो तलामा गोली चलेको आवाज सुनेको भेरेनले बताएका छन्। उनका अनुसार घटनामा संलग्न व्यक्ति भागेर गएका थिएनन्। प्रहरीले केही घाइतेहरूलाई अस्पताल लगिएको बताएको छ। घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिएको बताइए पनि घाइतेहरूको सङ्ख्या र उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक भएका छैनन्

    घटनाबारे सूचना दिने एपमा स्थानीय समय अनुसार राती नौ बजे स्थानीयले “एक जना वा धेरै जनाले चर्चमा मानिसहरूमाथि गोली प्रहार गरिरहेको” जानकारी गराएका थिए। प्रहरीले स्थानीय क्षेत्रमा मानिसहरूलाई प्रहरी कारबाही नसकिएसम्म घरबाट बाहिर ननिस्किन भनेको छ। घटनास्थलमा लिइएका भिडिओहरूमा प्रहरी सुरक्षामा हलबाट मानिसहरूलाई बाहिर निकालिँदै गरेको र कतिपयलाई एम्बुलेन्समा लगेको देखिन्छ।


    ह्याम्बर्गका आन्तरिक मामिला मन्त्री एन्डी ग्रोटले ट्विट गर्दै प्रहरीको विशेष फौज र ठूलो सङ्ख्यामा अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको बताएका छन्। प्रहरीले सर्वसाधारणलाई घटनाको अनुमानबारे सार्वजनिक अभिव्यक्ति नदिन र हल्ला नफैलाउन अपिल गरेको छ। ुजहोभस विटनेसेसु इसाई धार्मिक अभियानकर्मीहरू हुन्। न्यूयोर्कमा मुख्यालय रहेको यो अभियानको स्थापना १९औँ शताब्दीको अन्त्यतिर अमेरिकामा भएको थियो।

  • जोखिम मोलेर वर्षेनी १० लाख अमेरिकी नागरिक किन छिर्छन् मेक्सिको ?

    जोखिम मोलेर वर्षेनी १० लाख अमेरिकी नागरिक किन छिर्छन् मेक्सिको ?

    काठमाडौं\बीबीसी । कम खर्चमा औषधोपचार गर्न अमेरिकीहरू छिमेकी देश मेक्सिको गइरहन्छन्। तर मेक्सिको गएर खर्च जोगाउने उपाय कहिलेकाहीँ निकै जोखिमपूर्ण पनि बन्न सक्छ। कस्मेटिक शल्यक्रियाका लागि मेक्सिको गएका चार अमेरिकी नागरिकहरू गत सप्ताहान्तमा तमोलिपासस्थित माटामोरोसमा अपहरणमा परेको तिनका आफन्तले बताएका छन्। तीमध्ये दुई जनाको हत्या भएको पुष्टि भइसकेको छ भने बाँकी दुई जना बाँच्न सफल भएका छन्। जीवित दुई जना अहिले अमेरिका पुगिसकेको मेक्सिको र अमेरिकाका अधिकारीहरूले बताएका छन्।

    सीमावर्ती सहर माटामोरोस मेक्सिकोमा निकै खतरा भएका स्थानहरूमध्ये पर्छ। तमोलिपास राज्यको ठूलो क्षेत्र लागुऔषध तस्करहरूले नियन्त्रणमा छ। कतिपय अवस्थामा उनीहरू स्थानीय प्रशासनभन्दा बढी शक्तिशाली हुन्छन्। तर तिनै सहरहरू अमेरिकामा उपचार खर्च धान्न नसक्ने दशौँ हजार मानिसका लागि चिकित्सा पर्यटनका निम्ति राम्रो गन्तव्य पनि हुन्। यो क्षेत्रबारे जानकारी भएका सेवाग्राहीहरूले आवश्यक सावधानी अवलम्बन गर्न जानेका हुन्छन्।

    उनीहरू मेक्सिको प्रवेश गर्नासाथ आफ्नो गाडीमा स्थानीय नम्बर प्लेट प्रयोग गर्छन्। यस्तो उपायले अपहरणकारीको निसानामा पर्ने जोखिम कम हुन्छ।
    उनीहरू ती स्थानमा सकेसम्म कतै पनि पैदल जाँदैनन्। सस्तो उपचार खर्च र नजिकै पर्ने भएकाले मेक्सिको अमेरिकी नागरिकहरूका लागि प्रमुख स्वास्थ्योपचार गन्तव्य बनेको छ। “यो सबै अर्थतन्त्र हो,” टेक्सस विश्वविद्यालयस्थित समाजशास्त्रका प्राध्यापक तथा आप्रवासनविज्ञ नेस्टर रोड्रिगेजले भने।

    “मेक्सिकोमा विशेषतः दाँतको उपचार र सेवा सस्तो छ। अमेरिकामा हुने खर्चको एउटा अंशले त्यहाँ दाँत सफा गर्न र प्रत्यारोपण गर्न पाइन्छ।“ उनका अनुसार सेवाको स्तर पनि प्रायः अमेरिकामा पाइने जस्तै छ। तर अमेरिकाको रोग नियन्त्रण तथा रोकथाम हेर्ने निकाय ९सीडीसी० ले भने मेक्सिकोमा लिइने चिकित्सासेवाबाट सङ्क्रमण सर्न सक्ने भन्दै सजग गराएको छ। प्रतिवर्ष १० लाख अमेरिकीहरू उपचारका लागि मेक्सिको जाने गरेको मेक्सिकोस्थित मेडिकल टूरिजम इन्डस्ट्री काउन्सिलले जनाएको छ।

    धेरै सीमावर्ती सहरहरूमा यो सबैभन्दा तीव्र विस्तार भइरहेको उद्योग हो। तमोलिपासकै माटामोरसभन्दा उत्तरपश्चिममा केही घण्टाको दूरीमा अर्को सहर नुएभो लारेडो छ। यहाँको प्रमुख अन्तर्राष्ट्रिय नाका हुँदै मेक्सिकोको मुख्यभूमितर्फ लाग्दा बाटोभरि दन्त उपचारसम्बन्धी कार्यालय र होटलहरू छन्। त्यहाँ औषधोपचारका लागि आउने यात्रुहरूले पालो कुरिरहेको पनि देखिन्छ। साउथ डिएगोबाट गाडी चलाएर तीन मिनेटमै पुग्न सकिने उत्तरपश्चिमी सहर टिह्वानामा गत नोभेम्बरमा एउटा अस्पताल पनि भएको ३३ तले भवन खुलेको थियो।

    “विश्वकै सबैभन्दा उत्कृष्ट चिकित्सा पर्यटन गन्तव्य” नाम दिइएको न्यू सिटी मेडिकल प्लाजामा कस्मेटिक शल्यक्रिया, होटल र किनमेलसहित विभिन्न ३० वटा विधामा विशेषज्ञता सेवा पाइन्छ। अमेरिकी विदेश मन्त्रालयले यात्रासम्बन्धी नयाँ निर्देशिकामा यात्रुवाहक बस र निजी सवारी साधनहरूलाई लक्ष्य बनाएर प्रायः अपहरण र अपराधका अन्य घटना हुने गरेको भन्दै तमोलिपास यात्रा नगर्न चेतावनी दिएको छ। मेक्सिकोका अन्य सीमावर्ती राज्यबारे पनि चेतावनी जारी गरिएको छ।

    अमेरिका प्रवेश गर्न खोज्ने आप्रवासी र शरण खोज्नेहरूका लागि कतिपय सीमावर्ती सहरहरूमा शत्रुतापूर्णता व्यवहार हुने गरे पनि अमेरिकी नागरिकहरूमाथि हुने आक्रमण निकै दुर्लभ हो। रोड्रिगेज चार अमेरिकी नागरिकको अपहरण र तीमध्ये दुई जनाको हत्या भएको घटना असामान्य भएको बताउँछन्। सीमा सुरक्षित नभएको विषय अपहरण र हत्याको घटनाले फेरि सम्झाएको भन्दै रोड्रिगेजले भने, “म चाहिँ जान छोडेँ।”

  • पीएसजी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

    पीएसजी च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरियो

    काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख र इटलियन क्लब एसी मिलान च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् । गतराति सम्पन्न खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी) लाई दोस्रो लेगमा २–० गोलले हराउँदै समग्रमा ३–० को जितसहित बायर्न अन्तिम आठमा पुगेको हो । राउण्ड अफ १६ अन्तर्गतको पहिलो लेगमा बायर्न १–० ले विजयी भएको थियो । बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ र सेर्जी जिनाब्रीले एक–एक गोल गरे ।

    स्टार खेलाडीले भनिएको पीएसजीले आफ्नो यात्रालाई अगाडी बढाउन सकेन । यो क्लवमा विश्व विजेता लियोनल मेसी, विश्व उपविजेता किलियन एम्बाप्पे, जुनियर नेयमानसहितका स्टार खेलाडी छन् । उता एसी मिलान दोस्रो लेगमा इङ्लिस क्लब टोटनह्याम हटस्परसँग गोलरहित बराबरी खेल्दै समग्रमा १–० को जित निकाल्न सफल भयो । पहिलो लेगमा १–० गोलले विजयी एसी मिलान ११ वर्षपछि च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो ।

  • बंगलादेशमा विष्फोट, कम्तिमा १५ जना मारिए

    बंगलादेशमा विष्फोट, कम्तिमा १५ जना मारिए

    ढाका । बंगलादेशको ढाकास्थत गुलिस्ता इलाकामा भएको एक विस्फोटमा कम्तिमा १५ जना मारिएका छन् । १ सय भन्दा धेरै मानिस घाइते भएका छन् । घटना ढाकाको उत्तर–दक्षिण रोडको सिद्दीकी बजारमा भएको हो । मंगलबार साँझ ५ बजे विष्फोट भएको थियो । अहिलेसम्म नौ पुरुष र र्दु महिलाको सनाखत भएको छ ।

    घाइतेलाई ढाका मेडिकल कलेज अस्पतालमा उपचार गराइएको छ । विष्फोटबाट ७ तले घर ध्वस्त भएको छ । आसपास रोकिएका सवारी साधनका शिसा फुटेका थिए । आइतबार मात्र ढाकामा भएको यस्तै प्रकारको विष्फोटमा तीन जना मारिएका थिए । शनिबार अक्सिजन प्लान्टमा भएको विष्फोटमा ६ जना मारिएका थिए ।

  • रोहिन्ज्या शरणार्थी शिविरमा पुनः भिषण आगलागी, अनुसन्धान सुरु

    रोहिन्ज्या शरणार्थी शिविरमा पुनः भिषण आगलागी, अनुसन्धान सुरु

    ढाका । दक्षिणपूर्वी बाङ्ग्लादेशमा रोहिन्ज्या शरणार्थीहरू बस्दै आएको एउटा शिविरमा भीषण आगलागी हुँदा हजारौँ मानिस आश्रयविहीन बन्न पुगेका छन्। बाङ्ग्लादेशी अधिकारीहरूले आगलागीबारे अनुसन्धान थालिएको बताएका छन्। कक्स बजारको शिविरमा आइतवार आगलागी हुँदा झन्डै २,००० वटा टहराहरू जलेर नष्ट भए। आगो नियन्त्रणमा आएपछि काम लाग्ने सामान खोज्न सयौँ मानिसहरू सोमवार बिहान घटनास्थलमा फर्किएका छन्।

    छिमेकी देश म्यान्मारमा हिंसा फैलिएपछि विस्थापित भएका हजारौँ मानिसले बाङ्ग्लादेशमा शरण लिइरहेका छन्। आइतवारको आगलागीका कारण झन्डै १२,००० शरणार्थीहरूले फेरि घर गुमाएका छन्। आगलागीको कारण थाहा हुन सकेको छैन। तर उक्त घटनामा कोही पनि हताहत भने भएनन्।

    कसैले जानीजानी लागो लगाएको हो कि भनेर प्रहरीले छानबिन गरिरहेको छ। स्थानीय सञ्चारमाध्यमका अनुसार एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ। एक अधिकारीका अनुसार स्थानीय समयानुसार आइतवार दिउँसो २ः४५ बजे सुरु भएको आगोले केही बेरमै बाँस र तिरपाल भएको शिविरलाई ध्वस्त बनायो।

    खाना पकाउने ग्यासका कारण आगो चाँडै फैलिएको बताइएको छ। ‘झन्डै २,००० वटा टहराहरू जले अनि जबरजस्ती विस्थापित भएका १२,००० जनाजति म्यान्मारी नागरिकहरू आश्रयविहीन बन्न पुगे,’ बाङ्ग्लादेशको शरणार्थी मामिला हेर्ने एक अधिकारी मिजानुर रहमानले समाचारसंस्था एएफपीलाई बताए।


    आगलागी तीन घण्टाभित्र नियन्त्रणमा लिइएको भए पनि कम्तीमा पनि ३५ वटा मस्जिद र २१ वटा प्रशिक्षण केन्द्रहरूमा क्षति पुगेको जानकारी रहमानले दिए। घटनास्थलमा भएको विध्वंस देखिने तस्बिरहरू सार्वजनिक हुन थालेका छन्। आगोले जलेका टहरामा धातुका निदाल र जस्तापाता मात्र बाँकी देखिन्छन् भने मानिसहरू त्यहाँ केही काम लाग्ने वस्तु भेटिन्छ कि भनेर खोज्न गएका छन्।

    आईएफआरसीका हृषीकेश हरिचन्दनले शरणार्थी शिविरमा ठूलो क्षति पुगेको बीबीसीलाई बताए। उनका अनुसार आगलागीका कारण पानी वितरण र परीक्षण गर्ने साधनहरू पनि प्रभावित भएका छन्। आगलागी भएपछि ११ नम्बरको शिविरबाट धुवाँको कालो मुस्लो उडेको थियो। कक्स बजार क्षेत्रमा धेरै शिविरहरू छन्। तिनमा १० लाखभन्दा बढी शरणार्थीहरू बसोबास गर्दै आएका छन्।

    ती शिविरको स्थिति दयनीय छ र त्यहाँ शरणार्थीको ठूलो चाप छ। त्यसैले शिविरहरूमा आगलागी हुने ठूलो जोखिम पनि रहन्छ। सन् २०२१ को आरम्भदेखि २०२२ को अन्त्यसम्म रोहिन्ज्या शरणार्थी शिविरहरूमा आगलागीका २२२ वटा घटना भएको विवरण गत महिना बाङ्ग्लादेश सरकारद्वारा प्रकाशित एउटा प्रतिवेदनमा उल्लिखित छ। तीमध्ये ६० वटा आगजनीका घटना थिए। शरणार्थी बस्तीमा मार्च २०२१ मा भएको भीषण आगलागीमा १५ जनाको मृत्यु भएको थियो भने ५०,००० जना विस्थापित भएका थिए।

  • भ्रष्टाचार अभियोगमा साऊदीद्धारा बंगलादेशस्थित आफ्नो दूतावासका पूर्वकर्मचारी पक्राउ

    भ्रष्टाचार अभियोगमा साऊदीद्धारा बंगलादेशस्थित आफ्नो दूतावासका पूर्वकर्मचारी पक्राउ

    ढाका । साऊदी अरवले भ्रष्टाचारको अभियोगमा बंगलादेशस्थित आफ्नो दूतावासका दुई पूर्व कर्मचारीलाई गिरफ्तार गरेको छ । उनीहरुमाथि साऊदीमा वर्क भिसा जारी गर्ने क्रममा जोडिएको एक ठूलो भ्रष्टाचार काण्डमा मुछिएको आरोप छ । यस घोटलामा अन्य ११ जनालाई समेत दोषि सावित गरिएको छ ।

    साऊदीको एन्टी करप्शन विभागले ट्विटरमा यसको जानकारी दिएको हो । यसरी गिरफ्तारीमा पर्नेमा दूतावासका काउन्सलर विभागका पूर्व प्रमुख अब्दुल्लाह फन्लह मुधी अल शमारी र उनका सहयोगी खालिद नस्र अयद अल–क़हतानी छन् ।


    यस काण्डमा गृह मन्त्रालयका २, आठ बंगलादेशी नागरिक र एक प्यालेष्टिनी निवेदक दोषि देखाइएको छ । उनीहरुले दूतावासमा काम गर्दा वर्क भिसा जारी गर्ने क्रममा १.४४ करोड डलर हात पारेका थिए । उनीहरुले यो रकम साउदी अरवमै लगानी गरेको समेत पाइएको छ ।

  • बंगलादेशमा अक्सिजन प्लान्ट विष्फोट, कम्तिमा ६ जना मारिए

    बंगलादेशमा अक्सिजन प्लान्ट विष्फोट, कम्तिमा ६ जना मारिए

    काठमाडौं । बंगलादेशको चट्गाउँ नजिक एक अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु भएको छ । २२ जना घाइते भएका छन् । चट्गाउँबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डा भन्ने स्थानमा रहेको अक्सिजन प्लान्टमा स्थानीय समयअनुसार शनिबार अपराह्न करिब साढे ४ बजे विस्फोट भएको थियो ।

    विस्फोटपछि प्लान्टमा आगो लागेको थियो । अग्नि नियन्त्रक टोलीले गएराति आठ बजेतिर मात्र आगो नियन्त्रणमा लिन सकेको थियो । खोज तथा उद्धारको काम भने राति अबेरसम्म पनि जारी थियो । समाचार एजेन्सी रोयटर्सले विस्फोटमा परी कम्तिमा ६ जनाको मृत्यु भएको जानकारी दिएको छ । प्रहरी अधिकृतहरुले २२ जनालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको जानकारी दिएका छन् । घटनाबारे पीडित परिवारलाई जानकारी दिन स्थानीय प्रशासनले सूचना केन्द्र स्थापना गरेको छ ।

    सन् २०२२ को ४ जूनमा बंगलादेशमा अक्सिजन प्लान्ट नजिकको बीएम कन्टेनर डिपोमा विस्फोट हुँदा ५० जनाको मृत्यु भएको थियो ।

  • न्यूजिल्याण्डमा भूकम्प, क्षतिको विवरण आउँदै

    न्यूजिल्याण्डमा भूकम्प, क्षतिको विवरण आउँदै

    काठमाडौं । न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६ः४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र सुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ । भूकम्पको असर बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।

  • कोभिड-१९ चिनियाँ प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने एफबीआई प्रमुखको आशंका

    कोभिड-१९ चिनियाँ प्रयोगशालाबाट बाहिरिएको हुन सक्ने एफबीआई प्रमुखको आशंका

    काठमाडौं । एफबीआईका निर्देशक क्रिस्टोफर रेले कोभिड–१९ भाइरस सम्भवतः चिनियाँ सरकार नियन्त्रित प्रयोगशालामा बनेको हुनसक्ने विश्वास ब्यूरोले गरेको बताएका छन्। “एफबीआई लामो समय मौन रहे पनि महामारीको उत्पत्ति सम्भवतः प्रयोगशाला दुर्घटनाका कारण भएको अब मूल्याङ्कन गर्न सकिन्छ, उनले फक्स न्यूजसँग भनेका छन् ।

    महामारी निम्त्याएको भाइरस कसरी देखा पर्‍यो भन्नेबारे एफबीआईले हालसम्म गोप्य राखेको जानकारी पहिलो पटक सार्वजनिक गरिएको हो। चीनले उक्त आरोप मानहानीपूर्ण किसिमको भएको बताउँदै वुहानमा भाइरस प्रयोगशालाबाट बाहिरिएको विवरणको खण्डन गरेको छ।

    चीनका लागि अमेरिकी राजदूतले कोभिडको उत्पत्ति बारे थप इमानदार हुन चीनसँग आग्रह गरेको एक दिन पछि रेले उक्त विषयमा प्रतिक्रिया जनाएका हुन्। विश्वव्यापी महामारीको स्रोत पहिचान गर्ने प्रयासलाई चीनले असफल र अस्पष्ट पार्ने प्रयास गरिरहेको छ, रेले मङ्गलवार दिएको अन्तर्वार्तामा भने। र यो सबैको लागि दुर्भाग्यपूर्ण कुरा हो, उनले भने।

    केही अध्ययनहरूले कोरोनाभाइरस चीनको वुहानमा सम्भवतः समुद्री खाना र वन्यजन्तुको कारोबार हुने बजारबाट जनावरमार्फत मानिसमा सरेको हुनसक्ने सङ्केत गरेका छन्। त्यो बजार विश्वको अग्रणी भाइरस प्रयोगशाला, वुहान इन्स्टिच्युट अफ भाइरोलोजीबाट ४० मिनेटको दूरीमा छ। उक्त प्रयोगशालाले कोरोनाभाइरसबारे अनुसन्धान गरेको थियो।

    अन्य अमेरिकी सरकारी निकायहरूले भने एफबीआईको भन्दा फरक निचोडहरू निकालेका छन् जसमा भरोसा गर्न सकिने आधारहरू फरकफरक तहका छन्।अमेरिकी सञ्चारमाध्यमहरूमा आइतवार सार्वजनिक विवरणहरूमा अमेरिकी ऊर्जा विभागले कोभिड प्रयोगशालाबाट उत्पत्ति भएको भन्ने निष्कर्षमा कम आत्मविश्वास देखाएको थियो। पहिले यो भाइरस कसरी सुरु भयो भन्नेबारे विभागले कुनै निष्कर्ष ननिकालेको जनाएको थियो।

    सोमवार, ह्वाइट हाउस न्याश्नल सेक्युरिटी काउन्सिलका प्रवक्ता जोन किर्बीले अमेरिकी राष्ट्रपति जो बाइडनले कोभिड कसरी सुरु भयो भनेर पत्ता लगाउन ूसरकारको सम्पूर्ण प्रयासलाई समर्थन गर्ने बताएका थिए। तर कसरी उत्पत्ति भएको हो भन्नेबारे अमेरिका अझै स्पष्ट नभएको उनले बताए। हामी अझै निष्कर्षमा पुगेका छैनौँ, उनले भने। यदि हामीसँग अमेरिकी जनता र कंग्रेसलाई जानकारी दिन केही तयार भयो भने हामी त्यो सार्वजनिक गर्नेछौँ।

    एफबीआई निर्देशक रेले सार्वजनिक गरेको विवरणमा चीनले हालसम्म कुनै प्रतिक्रिया जनाएको छैन। सन् २०२१ को अक्टोबरमा अमेरिकी शीर्ष गुप्तचर अधिकारीद्वारा जारी अवर्गीकृत एक विवरणमा चार अमेरिकी गुप्तचर निकायहरूले कम आत्मविश्वासूका साथ सङ्क्रमित जनावर वा सम्बन्धित भाइरसबाट कोरोनाभाइरस उत्पन्न भएको विश्लेषण गरेका थिए।

    महामारीको उत्कर्षमा रहेको महिनौँसम्म भाइरस प्रयोगशालाबाट चुहावट भएको परिकल्पनालाई षडयन्त्र सिद्धान्तको रूपमा व्यापक रूपमा खारेज गरिएको थियो। शीर्ष स्वास्थ्य अधिकारीहरूले सार्वजनिक रूपमै कोरोनाभाइरसको सङ्क्रमण पुष्टि हुनुअघि प्रयोगशालामा सिर्जना गरिएको हुनसक्ने परिकल्पनामा असहमति जनाएका थिए।

    विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)को अनुसन्धानले कोभिड प्रयोगशालाबाट चुहावट भएको हुनसक्ने कुरालाई अति असम्भवको सङ्ज्ञा दिएको थियो। तर, उक्त अनुसन्धानको व्यापक आलोचनापछि निकायका महानिर्देशकले नयाँ अनुसन्धानको लागि आह्वान गर्दै भनेका थिए, यसबारे सबै परिकल्पनाहरू गर्न सकिन्छ र थप अध्ययन आवश्यक छ। कोभिड–१९ पहिलो पटक सन् २०१९ को अन्त्यमा देखा परेको थियो। यसको महामारीका कारण झन्डै ७० लाख मानिसको मृत्यु भएको छ।
    बीबीसी

  • ग्रिसमा रेल दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु

    ग्रिसमा रेल दुर्घटना, कम्तिमा १६ जनाको मृत्यु

    काठमाडौं । ग्रिसको उत्तर क्षेत्रमा दुईवटा रेल आपसमा ठोक्किंदा कम्तिमा १६ जनाको ज्यान गएको छ । दर्जनौं यात्रु घाइते भएका छन् । समाचार एजेन्सी एएफपीले अग्नि नियन्त्रको टोलीलाई उद्धृत गर्दै रेल दुर्घटनामा १६ जनाको मृत्यु भएको उल्लेख गरेको छ । एपी समाचार एजेन्सीले पनि दुर्घटनामा १६ जनाको मृत्यु भएको र ८५ जना घाइते भएको जनाएको छ ।

    घाइतेमध्ये २५ जनाको अवस्था चिन्ताजनक छ । मंगलबार बेलुका लारिसा सहर नजिकै यात्रुबाहक रेल र मालबाहक रेल ठोक्किएका थिए । रेल ठोक्किएपछि डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो । आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए ।

    स्थानीय सरकारी टेलिभिजन च्यानलसँगको कुराकानीमा गभर्नर कोस्टास अगोरास्टोले भनेका छन्, ‘निकै ठूलो दुर्घटना भयो । यो भयंकर रात रह्यो । दुर्घटनाको दृष्य यति भयानक थियो कि वर्णन गर्न गाह्रो छ ।’ भिडियो फुटेजहरुमा दुर्घटनास्थलमा धुवाँको बाक्लो मुस्लो उडेको र रेलका डिब्बामा आगो दन्किएको देखिन्छ ।

    हेड ल्याम्प लगाएका उद्धारकर्ताहरुले धुवाँको मुस्लोमा छिरेर रेलमा च्यापिएका घाइतेहरुको उद्धार गरेका थिए । उद्धारका लागि लारिसा क्षेत्रका दुईवटा अस्पतालबाट स्वास्थ्यकर्मीहरुलाई खटाइएको र सेनाको पनि सहयोग मागिएको अधिकारीहरुले बताएका छन् । रेल ठोक्किनुको कारण खुलेको छैन ।

  • मेसीले जिते फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

    मेसीले जिते फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि

    काठमाडौं । अर्जेन्टिनाका स्टार विश्वकप विजेता फुटबलर लियोनल मेसीले फिफाको सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि जितेका छन् । उनले फ्रान्सका किलियन एम्बाप्पे र करिम बेन्जेमालाई पछि पारे । ३५ वर्षीय मेसीले सर्वश्रेष्ठ पुरुष खेलाडीको उपाधि लगातार दोस्रोपटक जितेका हुन् । सर्वश्रेष्ठ महिला खेलाडीको उपाधि भने स्पेनकी अलेक्सिया पुटेलसले जितेकी छन् ।

    मेसीको कप्तानीमा अर्जेन्टिनाले कतार विश्वकप २०२२ को उपाधि जितेको थियो । लगातार दोस्रोपटक उपाधि जितेपछि मेसीले लामो समयदेखिको सपना पूरा भएको र यो साथीहरुको सहयोगमा सम्भव भएको प्रतिक्रिया दिए । यो अवार्ड जित्दा आश्चर्य लागेको र सम्मानित भएको महसुस भएको बताउँदै उनले भने, ‘मेरा साथीहरुविना म यहाँ हुने थिइनँ । म धेरै भाग्यशाली छु ।’

  • मेसीको कीर्तिमान, पीएसजीको सहज जित

    मेसीको कीर्तिमान, पीएसजीको सहज जित

    काठमाडौं । लिओनल मेसीले क्लब करियरको ७००औं गोल पूरा गर्दै कीर्तिमान रचेका छन् । आइतबार राति फ्रेन्च लि वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन ९पीएसजी०ले दोस्रो स्थानको मार्सेलाई ३–० ले पराजित गर्दा मेसीले सो कीर्तिमान बनाएका हुन् । पीएसजीका लागि किलिएन एमबाप्पेले दुई गोल गरे । एमबाप्पेले २५औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले २९औं मिनेटमा अग्रता दोब्बर पारे । एमबाप्पेले ५५औं मिनेटमा व्यक्तिगत दोस्रो तथा पीएसजीका लागि तेस्रो गोल गरे ।

    एमबाप्पेले पीएसजीका लागि सर्वाधिक २०० गोल गर्ने डिनसन कभानीको कीर्तिमान बराबरी गरे । यस जितपछि पीएसजीले मार्समाथि ८ अंकको अग्रता समेत बनाएको छ । मेसी क्रिस्टियानो रोनाल्डोपछि क्लब करियरमा ७०० गोल पूरा गर्ने खेलाडी बने । मेसीले पीएसजीका लागि २८औं गोल गर्दै उक्त उपलब्धि हासिल गरेका हुन् ।

    उनले २०२१ मा फ्रेन्च क्लब जानुअघि बार्सिलोनाका लागि ७७८ खेलमा ६७२ गोल गरेका थिए । ३५ वर्षीय मेसीले बार्सिलोनामा ३५ उपाधि जितेका थिए भने कीर्तिमानी ७ पटक बालोन डे ओर अवार्डसमेत जितेका छन् । सोमबार हुने फिफा दी बेस्ट अवार्डमा समेत मेसी दाबेदारको रुपमा छन् ।

  • इटालीमा भयानक डुंगा दुर्घटना, कम्तिमा ५९ जना मारिए

    इटालीमा भयानक डुंगा दुर्घटना, कम्तिमा ५९ जना मारिए

    काठमाडौं । दक्षिणी इटलीको समुन्द्रमा मौसम बिग्रिएर डुङ्गा डुबेपछि १२ बालबालिकासहित कम्तीमा ५९ जना आप्रवासीहरूको मृत्यु भएको छ। दुर्घटनामा परी दर्जनौँ मानिस बेपत्ता भएको आशङ्का गरिएको छ। कलाब्रिया क्षेत्रको तटीय सहर क्रोटोन नजिकै रोक्ने क्रममा जहाज टुक्रा टुक्रा भएको थियो।

    घटनापछि बाँचेका यात्रुले त्यसमा कम्तीमा १५० जना सवार रहेको बताएका छन्। उनीहरूमध्ये धेरै आफ्नो देशभित्रको कठिन अवस्थाका कारण पलायन भइरहेको इटलीका राष्ट्रपतिले बताए। घटनास्थलमा पुगेका आन्तरिक मन्त्री माटेओ पियानटेडोजीले ३० जना अझै बेपत्ता रहेको हुनसक्ने बताए।

    इटलीको आन्सा समाचार एजेन्सीका अनुसार मृतकमध्ये केही महिनाको एउटा बच्चासमेत रहेको ठानिएको छ। शवहरू नजिकैको समुद्र तटबाट निकालिएको थियो। तट रक्षकले ूडुबेपछि किनारसम्म पुग्न सफल भएकाू सहित ८० जना मानिस जीवितै फेला पारेको जनाएको छ। यद्यपि, डुङ्गा दुर्घटना हुँदा त्यसमा कति मानिस थिए भन्नेबारे यकिन सङ्ख्या स्पष्ट छैन। उ

    द्धारकर्मीहरूले एएफपी समाचार एजेन्सीसँग उक्त डुङ्गाले दुई सयभन्दा बढी मानिस बोकेको बताएका छन्। त्यसो हो भने अझै ६० भन्दा बढी मान्छे भेटिएका छैनन्। केही दिनअघि टर्कीबाट प्रस्थान गरेको उक्त डुङ्गामा अफगानिस्तान, पाकिस्तान, सोमालिया र इरानका यात्रु थिए। द्वन्द्व वा गरिबी छल्न भाग्ने थुप्रै मानिसहरू हरेक वर्ष अफ्रिका हुँदै इटली पुग्ने गरेका छन्।

    प्रतिकुल मौसमका कारण चट्टानमा ठोक्किएपछि जहाज डुबेको विवरणहरू सार्वजनिक भएको छ। घटना लगत्तै समुद्रभित्र र बाहिर खोजी तथा उद्धार अभियान सुरु गरिएको छ। सार्वजनिक भएको एउटा भिडिओको अंशमा टुक्रा टुक्रा भएको काठको भग्नावशेष समुद्री तटसम्म पुगेको देखिन्छ। जीवितहरू रेडक्रसका कर्मचारीको सहयोगमा सिरक भित्र एकसाथ बसिरहका देखिन्छन्। दुर्घटनामा परेका कतिपयलाई अस्पताल पुर्‍याइएको छ।

    गत वर्ष निर्वाचित इटालीकी प्रधानमन्त्री जोर्जा मलोनीले देशमा आप्रवासीहरूको आगमन रोक्ने प्रतिबद्धता जनाएकी थिइन्। उनले घटनाप्रति गहिरो दुःख व्यक्त गरिन् र यस्तो हुनुमा तस्करहरू जिम्मेवार रहेको बताइन्।

    सुरक्षित यात्राको झुटो आशामा खरिद गरेको टिकटको मूल्यसँग मानिसको जीवन साट्नु अमानवीय काम हो। सरकार यस्तो क्रम रोक्न प्रतिबद्ध छ, उनले एक विज्ञप्तिमा भनेकी छन्। मेलोनीको दक्षिणपन्थी सरकारले आप्रवासीलाई इटलीको तटहरूमा पुग्न रोक्ने वाचा गरेको छ र पछिल्ला दिनहरूमा नयाँ कडा कानुनको आधारमा उद्धारसम्बन्धी नियमहरूलाई कडा बनाइएको छ।

    BBC

  • जापानको समुन्द्री तटमा भेटियो विशाल मेटल बल, के हो भन्ने खुलेन

    जापानको समुन्द्री तटमा भेटियो विशाल मेटल बल, के हो भन्ने खुलेन

    काठमाडौं । जापानको एक समुन्द्री तटमा विशाल मेटल बल भेटिएको छ । जसलाई क्रेनको सहायतामा हटाइएको जापानी सञ्चारमाध्यमले लेखेका छन् । स्थानीय सञ्चारमाध्यमहरुका अनुसार जापानको तटमा भेटिएको यो मेटलका कारण सथानीयमा त्रास थियो । जापानको हमामात्सु शहरको नजिकै यो भेटिएको हो ।

    स्थानीय अधिकारीहरुका अनुसार यस बललाई निश्चित समयसम्म संग्रह गरेर राखिने छ । त्यसपछि यसलाई नष्ट गरिनेछ । जापानी अधिकारीहरुले यो के थियो भन्ने बारे स्पष्ट पार्न भने सकेका छैनन् । यस साताको सुरुमै तटमा एक असामान्य वस्तु रहेको जानकारी स्थानीय पुलिसलाई दिइएको थियो । कतिपयले यो वस्तु अन्तरिक्षबाट झरेको समेत अनुमान गर्छन् ।

  • यूरोपा लिगको होडबाट बार्सिलोना बाहिरियो, म्यान यू विजयी

    यूरोपा लिगको होडबाट बार्सिलोना बाहिरियो, म्यान यू विजयी

    काठमाडौं । म्यानचेस्टर युनाइटेडले बार्सिलोनालाई बिहीबार २–१ ले पराजित गर्दै युरोपा लिगको अन्तिम १६ मा प्रवेश गरेको छ । हारले बार्सिलोना भने प्रतियोगिताबाट बाहिरिएको छ । त्यसमा एन्टोनीले निर्णायक गोल गरे र दुई लेगमा युनाइटेड समग्रमा ४–३ ले अगाडि रह्यो । ओल्ड ट्रायफोर्डमा भएको खेलमा रोबर्ट लेवनडोस्कीको गोलले बार्सिलोनाले सुरुआती अग्रता लिएको थियो ।

    तर स्पेनी ला लिगाको शीर्ष स्थानमा रहेको बार्सिलोनाको खेल त्यसपछि राम्रो हुन सकेन र फ्रेडले युनाइटेडका लागि बराबरी गोल गरे । एन्टोनीले ७३ औं मिनेटमा निर्णायक सावित गोल गरेका हुन् । नु क्याम्पमा भएको पहिलो लेगको खेल २–२ को बारबरीमा समाप्त भएको थियो । यो जितपछि एरिक हेन टागेको युनाइटेडको यो सिजन चार उपाधि जित्ने सम्भावना कायम राख्यो ।

  • ताजकिस्तानमा ६.८ रेक्टर स्केलको भूकम्प, चीनसम्म धक्का

    ताजकिस्तानमा ६.८ रेक्टर स्केलको भूकम्प, चीनसम्म धक्का

    आन बिहान ताजकिस्तानमा ६.८ रेक्टर स्केलको ठूलो भूकम्प गएको छ । अमेरिकी भूगर्भ सर्वेले बताए अनुसार बिहीबार बिहान ६ बजेको समयमा ताजकिस्तानमा ठूलो भूकम्प आएको हो । यसको धक्का चीनसम्म अनुभव गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    यूएसजीएसका अनुसार भूकम्पको केन्द्र पूर्वी ताजिकिस्तानको मुरग़ोबबाट ६७ किलोमिटर पश्चिम क्षेत्रमा हो । जमिनबाट २०.५ किलोमिटर गहिराईमा यसको केन्द्र मापन गरिएको छ । मानिसहरु हताहती तथा सरचनाको क्षतिबारे जानकारी आइसकेको छैन । समाचार अनुसार मानिसहरुको बसोबास कम भएको पहाडी भेगमा केन्द
    रहेको छ ।

  • मालीमा शान्ती मिसनमा बम विष्फोट, नेपाली भने सुरक्षित

    मालीमा शान्ती मिसनमा बम विष्फोट, नेपाली भने सुरक्षित

    काठमाडौं । अफ्रिकी मुलुक मालीमा बिस्फोट हुँदा संयुक्त राष्ट्र संघको शान्ति सैनिक मिसन (मिनुस्मा)मा कार्यरत सेनेगलका तीन जना सैनिकको मृत्यु भएको छ। मालीमा मंगलबार भएको उक्त बिस्फोटमा परी अन्य पाँच जना सैनिक गम्भीर घाइते भएको मिनुस्माले जनाएको छ।

    मिसनमा कार्यरत सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता सहायकरथी कृष्णप्रसाद भण्डारीले जानकारी गराएका छन् । नेपाली सैनिक रहेको क्षेत्रको अवस्था सामान्य रहेको उनले बताए। मालीको शान्ति मिसनमा नेपालका ‘स्टाफ’, ‘अब्जर्भर’ ‘कन्टिजेन्ट’समेत गरी एक सय ८१ सकलदर्जा कार्यरत छन्।

  • रुसलाई हतियार दिइरहेको आरोपको चीनले गर्यो खण्डन

    रुसलाई हतियार दिइरहेको आरोपको चीनले गर्यो खण्डन

    काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले चीन रुसलाई घातक शस्त्रास्त्र र गोलीगट्ठा उपलब्ध गराउने विचारमा रहेको आरोप लगाएपछि बेइजिङले त्यसको खण्डन गरेको छ। तर चीनले युक्रेनमा परिचालित रुसी फौजलाई गोप्य सैन्य सूचना उपलब्ध गराइरहेको हुनसक्ने बीबीसीले लेखेको छ । चीन रुसका लागि एउटा महत्त्वपूर्ण व्यापारिक साझेदार भएको समाचारमा उल्लेख छ । चीनले सैन्य सामग्री उत्पादन गर्ने आफ्नो क्षमता बढाइरहेको छ।

    चीन अहिले विश्वको चौथो ठूलो अस्त्र निर्यातकर्ता हो। ‘चीनका अस्त्रहरू निकै उन्नत बनिरहेका छन्, स्टकहोम इन्टर्न्याश्नल पीस रिसर्च इन्स्टिट्यूटका सिएमुन भेसेमानले भनेका छन् । चिनियाँ कम्पनीहरूले रुसलाई गैरघातक सहयोग उपलब्ध गराइसकेको र बेइजिङले घातक सहयोग पनि उपलब्ध गराउन सक्ने जानकारी आफूले पाएको अमेरिकाको दाबी छ। त्यसो भए चीनले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी वाशिङ्टनले दिएको थियो ।


    इन्टर्न्याश्नल इन्स्टिट्यूट अफ स्ट्रटीजिक स्टडीजसँग आबद्ध तथा आर्थिक प्रतिबन्धहरूसँग सम्बन्धित विषयकी विज्ञ मारिया शगिनाका अनुसार चीनले देखिनेगरी रुसलाई हातहतियार उपलब्ध गराएको छैन तर उसले गोप्य रूपमा सैन्य प्रयोजन भएका उन्नत प्रविधियुक्त सामानहरू बेचिरहेको हुन सक्छ। ूसैन्य र गैरसैनिक उद्देश्यबीच विद्यमान अस्पष्ट क्षेत्रको फाइदा उठाउँदै केही चिनियाँ कम्पनीहरूले गैरसैनिक ड्रोन आपूर्ति गरिरहेको बताइएको छ ।

    अमेरिकास्थित सेन्टर फर एड्भान्स्ड डिफेन्स स्टडीजका अनुसार चिनियाँ कम्पनीहरूले रुसलाई विमानभेदक क्षेप्यास्त्रका रेडारका लागि आवश्यक विद्युतीय पार्टपुर्जा पठाइरहेको हुनसक्छन्।

    युक्रेनमा रुसको पक्षमा लडिरहेका भाडाका सैनिकहरूको समूहलाई स्याटलाइटबाट प्राप्त तस्बिरहरू उपलब्ध गराएको आरोप लगाउँदै अमेरिकाले एउटा चिनियाँ कम्पनीविरुद्ध प्रतिबन्ध लगाएको छ। गत वर्ष रुसले युक्रेनमा धावा बोलेपछि पश्चिमा राष्ट्रहरूले रुसविरुद्ध कडा प्रतिबन्धहरू लगाए। त्यसबाट रुसी तेलको आयात र उन्नत प्रविधि प्रयोग गरेर निर्माण गरिएका सामानहरूको निर्यात प्रभावित भएका थिए ।

    धेरै पश्चिमा कम्पनीहरूले रुससँगको सम्बन्ध विच्छेद गरे। रुसको संयुक्त राज्य अमेरिका, यूके र ईयूका राष्ट्रहरूसँगको व्यापार पनि खस्कियो। तर गत वर्ष चीनको रुससँगको व्यापार अहिलेसम्मको सर्वाधिक तहमा पुगेको थियो । अघिल्लो वर्षको तुलनामा ३० प्रतिशतको वृद्धिसहित चीनले रुससँग १९० अर्ब डलरको व्यापार गरेको छ । रुसले सन् २०२२ मा चीनलाई अघिल्लो वर्षको तुलनामा दुई गुना एलपीजी निर्यात गरेको समेत तथ्यांक छ ।

  • टर्की र सिरियाको सीमानामा पुनः ठूलो भूकम्प, क्षतिको विवरण आउँदै

    टर्की र सिरियाको सीमानामा पुनः ठूलो भूकम्प, क्षतिको विवरण आउँदै

    काठमाडौं । टर्की र सिरियाको सीमा क्षेत्रमा पुनः ठूलो भूकम्प गएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाए अनुसार त्यहाँ ६ दशमलव ४ रेक्टर स्केलको अर्को भूकम्प गएको हो । टर्कीको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार राती आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि तीन जनाको ज्यान गएको पुष्टी भइसकेको छ । भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ । टर्की र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ ।

    नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्की र सिरियामा गरी ४५ हजारभन्दा धेरै मानिसको ज्यान गएको छ । टर्की सरकारले यो भूकम्पका कारण भत्किएका संरचनामा परेकाहरूको खोजी र उद्धार कार्य सकिएको बताएको केही समय बित्न नपाउँदै फेरि अर्को भूकम्प गएको हो ।

  • युक्रेनको राजधानी किएभमा पुगे अमेरिकी राष्ट्रपति बाइडन

    युक्रेनको राजधानी किएभमा पुगे अमेरिकी राष्ट्रपति बाइडन

    काठमाडौं\बीबीसी। रुसले युक्रेनमाथि आक्रमण सुरु गरेको एक वर्ष पुग्नै लाग्दा अमेरिकी राष्ट्रपति जो बाइडन युक्रेनको राजधानी किएभ पुगेका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो टेलिग्राम खातामा बाइडनसँग हात मिलाउँदै गरेको तस्बिर सार्वजनिक गरेका थिए। ‘जोसेफ बाइडन, (तपाईँलाई) कीएभमा स्वागत छ, तपाईँको भ्रमण सबै युक्रेनीहरूको लागि समर्थनको अत्यन्त महत्त्वपूर्ण सङ्केत हो’, उनले लेखेका छन्। पोलिश समकक्षी आन्जेइ दुदालाई भेट्न युक्रेनको छिमेकी राष्ट्र पोल्यान्ड पुगेका अमेरिकी राष्ट्रपति अकस्मात् किएभ पुगेका हुन्।

    अघोषित किएभ भ्रमण गरेका बाइडन हाल त्यहाँबाट फर्किसकेको बताइएको छ। युक्रेनको राजधानीमा महत्त्वपूर्ण व्यक्ति आउने सङ्केत त्यसअघि नै प्राप्त भइसकेको थियो। तर सुरक्षाका कारण बाइडनको भ्रमण गोप्य राखिएको थियो। उच्चस्तरीय भ्रमणको खबरका बीच किएभमा केही सडक खाली गराइएको थियो।

    युक्रेनमाथि रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेको एक दिनअघि बाइडन युक्रेन पुगेका हुन्। नौ वर्षअघि सरकारविरोधी प्रदर्शनका क्रममा मृत्यु भएका १०७ व्यक्तिको सम्झना गरिने दिन बाइडनले जेलेन्स्कीलाई भेट गरेका हुन्। किएभस्थित बीबीसी संवाददाता जेम्स वाटरहाउसले द्वन्द्वका बीच युक्रेनको केन्द्रमा अमेरिकी राष्ट्रपतिले युक्रेनी नेतृत्वसँग भेट गर्नु महत्त्वपूर्ण अनि साङ्केतिक रहेको जनाएका छन्। उनका अनुसार पूर्ण स्तरको आक्रमण सुरु भएको एक वर्ष पुग्न लागेको बेला यो भ्रमणले मस्कोलाई अमेरिका र पश्चिमा राष्ट्रहरू युक्रेनलाई सहयोग गर्नबाट पछि नहट्ने स्पष्ट सङ्केत दिएको छ।

    एक विज्ञप्ति जारी गर्दै अमेरिकी राष्ट्रपति बाइडनले आफ्नो किएभ भ्रमणले युक्रेनको लोकतन्त्र, सार्वभौमसत्ता र भौगोलिक अखण्डताप्रतिको हाम्रो अटल प्रतिबद्धतालाई पुनः पुष्टि गर्ने बताएका छन्। ‘एक वर्षअघि रुसले आक्रमण सुरु गर्दा पुटिनले युक्रेन कमजोर रहेको र पश्चिमा राष्ट्रहरू विभाजित रहेको ठानेका थिए। उनले हामीलाई परास्त गर्न सकिने ठानेका थिए। तर उनी पूर्ण रूपमा गलत थिए,’’ बाइडनले भने। विज्ञप्तिमा रुसमाथि थप प्रतिबन्धहरू लगाइने समेत उल्लेख गरिएको छ। किएभमा जेलेन्स्की र बाइडन साथमा रहेका बेला हवाई आक्रमणको चेतावनी दिने साइरनहरू बजेका थिए। त्यसअघि वाशिङ्टनले किएभलाई ५० करोड अमेरिकी डलर बराबरको थप सैन्य सहयोग उपलब्ध गराउने बाइडनले घोषणा गरेका थिए।

    केही साताअघि जेलेन्स्की पनि अकस्मात् वाशिङ्टन पुगेका थिए। आफ्नो भ्रमणका बेला उनले रुससँग सङ्घर्ष गर्न युक्रेनलाई थप हातहतियार उपलब्ध गराउन अमेरिकाको कङ्ग्रेसलाई आग्रह गरेका थिए। अकस्मात् युक्रेन पुगेका अमेरिकी राष्ट्रपतिसँगको भेटवार्तापछि जेलेन्स्कीले ‘‘लोकतान्त्रिक दुनियाँले’’ यो ‘’ऐतिहासिक युद्ध जित्नुपर्ने’’ बताएका छन्। ‘ुयो अमेरिका र युक्रेन सम्बन्धको इतिहासमै सबैभन्दा महत्त्वपूर्ण भ्रमण हो। यसले हामीले पहिले नै प्राप्त गरिसकेको नतिजाहरूलाई प्रस्ट पारेको छ,’’ जेलेन्स्कीले भने। आजको हाम्रो छलफल निकै फलदायी रह्यो।’’

    उनले यस भ्रमणको नतिजा युद्धभूमिमा देखिने समेत बताएका छन्। ज्यानुअरी महिनाको सुरुमा युक्रेनलाई एब्राम्स ट्याङ्कहरू दिने अमेरिकाको निर्णयले युक्रेनको प्रतिरक्षालाई सुदृढ पार्न योगदान गरेको जेलेन्स्कीले बताएका छन्। उनले आफ्ना समकक्षीसँगको वार्तामा लामो दूरी प्रहार गर्न सकिने हातहतियारहरूबारे पनि कुराकानी भएको बताए। न्यूयोर्क टाइम्सका अनुसार बाइडन पोल्यान्डसँगको सीमाबाट रेल चढेर युक्रेन पुगेका हुन्।

    व्यापक सुरक्षा चासोहरूलाई ध्यानमा राख्दै बाइडनको भ्रमण गोप्य राखिएको थियो। विरलै हुने घटनाक्रममा अमेरिकी राष्ट्रपति र उनकी श्रीमतीले शनिवार राति एउटा रेस्टुराँमा खाना खाएका थिए। त्यसपछि बिनासूचना उनी वाशिङ्टनबाट बाहिरिएका थिए। पूर्वनिर्धारित पूर्वी युरोप भ्रमणका क्रममा बाइडन युक्रेन पुग्ने कुरालाई अधिकारीहरूले अस्वीकार गर्दै आएका थिए।

    न्यूयोर्क टाइम्स लेखेको छ, ‘वास्तवमै ह्वाइट हाउसले आइतवार राति सार्वजनिक गरेको सोमवारको तालिकाका अनुसार राष्ट्रपति अझै वाशिङ्टनमै थिए र साँझ वार्सा प्रस्थान गर्दै थिए। तर वास्तवमा उनले आधा संसार पार गरिसकेका थिए।’ अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभनले राष्ट्रपति बाइडनको किएभ भ्रमणबारे रुसलाई पहिले नै जानकारी गराइएको पुष्टि गरेका छन्।

    उक्त भ्रमणको तयारी केही महिना अघिदेखि गरिएको भए तापनि शुक्रवार मात्रै ‘‘जाने’’ निर्णय गरिएको बताइएको छ। किएभस्थित बीबीसी संवाददाता समान्था ग्रयानभीलका अनुसार बाइडनले यात्रा सुरु गर्नुभन्दा केही घण्टा अघि आइतवार बिहान ह्वाइटहाउसले रुसलाई उक्त भ्रमणबारे जानकारी गराएको थियो।

  • इजरायलले सिरियामा हान्यो क्षेप्यास्त्र, कम्तिमा १५ जना मारिए

    इजरायलले सिरियामा हान्यो क्षेप्यास्त्र, कम्तिमा १५ जना मारिए

    काठमाडौं । इजरायलले आइतबार बिहान सिरियामा गरेको क्षेप्यास्त्र आक्रमणमा १५ जनाको मृत्यु भएको छ । एउटा घर पूर्णरूपमा ध्वस्त भएको छ । इरानी सांस्कृतिक केन्द्र नजिक भएको उक्त आक्रमणमा सर्वसाधारणसहित १५ जनाले ज्यान गुमाएका सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्सले जनाएको छ ।

    सन् २०११ मा सिरियमा युद्ध सुरु भएदेखि इजरायलले सिरियामा हवाई हमला गर्दै आएको छ । उसले सिरियाली सेना, इरानी सेना र सिरियाली शासकका सहयोगी लेबनानको हिजबुल्लाह रहेका स्थानलाई लक्षित गरेर आक्रमण गर्दै आएको छ । यद्यपि राजधानीका आवासीय क्षेत्रमा हमला भएको थिएन ।

    इजरायलले कब्जा गरेको गोलान हाइट्सबाट दमास्कस र यसको आसपासका आवासीय क्षेत्रलाई ताकेर हवाई आक्रमण गरेको सिरियाको रक्षा मन्त्रालयले जनाएको छ । प्रारम्भिक विवरणअनुसार एक जना सिपाहीसहित पाँच जनाको मृत्यु भएको तथा १५ जना सर्वसाधारण घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर छ । काफर सुसा त्यो क्षेत्र हो जहाँ सिरियाली उच्च अधिकारी, सुरक्षा तथा गुप्तचर निकायका मुख्य कार्यालय छन् ।

    इजरायली सेनाले सिरियामाथि हुने आक्रमणबारे कहिल्यै कुनै जानकारी दिँदैन । आफ्नो सीमा क्षेत्रमा इरानी प्रभाव बढ्न नदिन नियमितरूपमा उसले निगरानी तथा आवश्यकताअनुसार क्षेप्यास्त्र प्रहार गर्दै आएको छ । आजको आक्रमणलाई सुरक्षा अधिकारीहरूले भीषण भनेका छन् । रासस\एएफपी

  • उत्तर कोरियाले गर्यो अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण, के हो संकेत ?

    उत्तर कोरियाले गर्यो अन्तर महादेशीय क्षेप्यास्त्र परीक्षण, के हो संकेत ?

    काठमाडौं । उत्तर कोरियाले शनिवार अप्रत्याशित अभ्यासका रूपमा एक अन्तर महादेशीय बलिस्टिक क्षेप्यास्त्र आईसीबीएम प्रहार गर्दै उक्त हतियारको विश्वसनीयता पुष्टि गरेको त्यहाँका सरकारी सञ्चारमाध्यमले जनाएका छन्।६७ मिनेटसम्म उडेपछि ९०० भन्दा धेरै किलोमिटर पर सी अफ जापानमा उक्त क्षेप्यास्त्रलाई खसालिएको थियो।

    प्योङ्याङले उक्त परीक्षणमार्फत त्यस क्षेप्यास्त्र अमेरिका र दक्षिण कोरियाजस्ता विरोधी पक्षसँग जुझ्न सक्षम भएको देखाएको जनाएको छ। यो परीक्षण अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो। यो अर्को महिना वासिङ्टन र सोलबीच हुने संयुक्त अभ्यासहरूअघि भएको हो। ती सैन्य अभ्यासहरू उत्तर कोरियाका बढ्दो परमाणु जोखिम सामना गर्ने गरी तय गरिएका छन्।

    प्योङ्याङका अधिकारीकाहरूले त्यस्ता कुनै अभ्यासहरूविरूद्ध अभूतपूर्व रूपमा कडा प्रतिरोध गर्ने धम्की दिएका छन् जसलाई उनीहरूले उत्तर कोरियामा अतिक्रमण गर्ने तयारीका रूपमा बुझेको बताएका छन्।शनिवार सबेरै उत्तर कोरियाली नेता किम जङ(अनकी बहिनी किम यो(जङले पुनः यसलाई दोहोर्‍याएकी थिइन्। उनले जुन कुनै शत्रुतापूर्ण कार्यहरूको कडा र भयानक जवाफहरू हुने बताइन्।

    उनले अमेरिकालाई उत्तर कोरियाली शासनलाई खतरामा पार्ने खालका गतिविधिहरू बन्द गर्न आह्वान गरिन्। किम यो जङले दक्षिण कोरियाली राजधानी सोल भने उत्तर कोरियाली क्षेप्यास्त्रको निशानामा नपारिने बताइन्। शुक्रवार उत्तर कोरियाले उसको विशाल सैन्य क्षमता एउटा परेडमार्फत देखाएको थियो जसमा एक दर्जनभन्दा बढी सङ्ख्यामा आईसीबीएमहरू थिए।

    नयाँ वर्षको दिनपछि शनिवार पहिलोपटक क्षेप्यास्त्र प्रक्षेपण गरिएको हो जुन होकाइदोको पश्चिमपट्टि जापानको विशेष आर्थिक क्षेत्रमा साँझको ६ बजेर २७ मिनेटमा खसेको जापानी प्रधानमन्त्री फुमिओ किशिदाले बताएका छन्। त्यो जापानको तटभन्दा २०० नटिकल माइल पर हो।

    जापान सरकारका प्रवक्ताले टोक्योमा बताए अनुसार उक्त क्षेप्यास्त्र ५,७०० किलोमिटरको उचाइमा पुगेको थियो। अन्तरिक्षको छेउ झण्डै १०० किलोमिटर हुनेमा यो निकै नै माथि हो। तर उत्तर कोरियाली क्षेप्यास्त्र उडेको अहिलेसम्मकै सर्वाधिक उचाइ भने होइन। नोभेम्बरमा एउटा आइसीबीएम ६,१०० किलोमिटरको उचाइमा पुगेको थियो।

    यसअघि सन् २०२२ को ज्यानुअरीमा उत्तर कोरियाले पृथ्वीका अभूतपूर्व तस्बिरहरू सार्वजनिक गर्दै ती २,००० किलोमिटर माथि पुगेको क्षेप्यास्त्र प्रहारका क्रममा खिचिएको जनाएको थियो।
    बीबीसी

  • चिनियाँ बलुनले चीन-अमेरिका सम्बन्धमै असर

    चिनियाँ बलुनले चीन-अमेरिका सम्बन्धमै असर

    काठमाडौं । बलुन विवादका कारण अमेरिका र चीनबीच विवाद बढ्दै जाँदा विश्व समुदाय पनि दुई कित्तामा विभाजित भएको छ। अमेरिकी राष्ट्रपति जो बाइडनले शुक्रवार समेत सन्दिग्ध चिनियाँ जासुसी बलुनलाई गोली हानेकोमा कुनै माफी नमाग्ने अडान दोहोर्‍याए। जसको केही घण्टामा चिनियाँ विदेश मन्त्रालयले अमेरिकाले तनाव बढाउँदै वार्ताको लागि अनुरोध गर्न नसक्ने जनायो। चीनले अमेरिकी आकाशमा भेटिएका बलुनहरू जासुसी नभएको दाबी गरिरहँदा अमेरिकाले आफ्नो आरोपलाई समर्थन गर्ने थप विवरणहरू खुलासा गरिरहेको छ।

    यस मामिलामा वासिङ्टन र बेइजिङले एकअर्काप्रति जनाएका प्रतिक्रियालाई अन्य देशहरूले भूराजनीतिक स्थिरता र राष्ट्रिय सुरक्षाको कसीमा नजिकबाट नियालिरहेको जनाएका छन्। दुई देशबीचको सम्बन्धलाई नजिकबाट नियालिरहेका पर्यवेक्षकहरूले दुई देशबीचको सम्बन्धमा बढ्दै गएको खाडल कम गर्न चुनौती हुने बताएका छन्। कतिपयका लागि बलुन प्रकरणले धेरै देशहरूलाई चीनको निगरानी क्षमतालाई लिएर चिन्ता बढाएको छ।

    किनभने सरकारहरूले चीनले गर्ने निगरानीबारे आफूलाई थाहा नभएका विषयहरूको मूल्याङ्कन गर्नुपर्ने आवश्यकता छ। अमेरिकाले चिनियाँ बलुन खसालिदिएपछि यसै साता अमेरिकाको एउटा प्रमुख सहयोगी देश जापानले समेत आफ्नो आकाशमा विगतमा देखिएका अज्ञान बस्तुको पुनः विश्लेषण गरिएको जनाएको छ।

    जसमध्ये तीनवटा चिनियाँ जासुसी बलुन रहेको आफूहरूलाई “बलियो आशङ्का” रहेको अधिकारीहरूले बताएका छन्। चीनले आफ्नो भूमि दाबी गर्दै आएको अर्को अमेरिकी साझेदार ताइवानको आकाशमा पनि विगतमा दर्जनौँ चिनियाँ सैन्य बलुनहरूले जासुसी गरिरहेको एकजना ताइवानी अधिकारीलाई उद्धृत गर्दै फाइनान्सिअल टाइम्सले जनाएको थियो। पछि ताइवानको रक्षा मन्त्रालयले आफ्नो भूभागमा चिनियाँ मौसम सम्बन्धी बलुनहरू मात्रै देखिएको प्रष्टीकरण दियो। यद्यपि ताइवानले आफ्नो हवाई क्षेत्रमा कुनै पनि शङ्कास्पद सैन्य वस्तुहरू देखिए गोली प्रहार गर्न कुनै हिचकिचाहट नहुने चेतावनी दिएको छ।

    “अरू देशले विगतमा के हुन्थ्यो भनेर थाहा पाएका थिइनन्। अब उनीहरूले थाहा पाए। यसले अरू देशहरूको हकमा बुझाइमा रहेको खाडल उजागर गरेको छ। र चीनले यो खाडलको फाइदा उठाएको कुरा नौलो होइन,” कार्नुगी चाइनाका गैरआवासीय अनुसन्धानकर्ता इयान चोङ भन्छन्। अमेरिकी दाबीमा विश्वास गर्नेहरूले चीनको निगरानी क्षमताको कम आकलन भइरहेको ठानेका छन्। “यसले के देखाउँछ भने चीनको जनमुक्ति सेनाले जुनसुकै प्रविधि र मिसन प्रयोग गरेर चीनको शक्ति प्रदर्शन गर्ने क्षमता देखाउन, निगरानी गर्न र अमेरिकालाई जोखिममा पार्न जे पनि गर्न सक्छन्,” अमेरिकी विदेश मन्त्रालयका पूर्व अधिकारी ड्रु थम्सनले भने।

    उनले चीनले आफ्नो प्रतिष्ठामा पर्न सक्ने प्रभाव, अन्तर्राष्ट्रिय कानुनको दायित्व लगायतका विषयहरूलाई प्राथमिकता नदिई यस्ता गतिविधि गरिरहेको दाबी गरेका छन्। अन्तर्राष्ट्रिय समुदायले यस विषयमा ठूलो विरोध नजनाउँदा विश्व थप असुरक्षित हुने दाबी गर्दै ड्रु थम्सनले अन्तर्राष्ट्रिय कानुनको कमजोरी समेत उजागर गरेको बताए। कतिपय जानकारहरूले यस मामिलामा जनाएको प्रतिक्रिया विश्वको शक्ति राष्ट्र बन्ने प्रयास र त्यसका लागि विश्वास जित्ने चीनको प्रयत्न सुहाउँदो नभएको टिप्पणी गरेका छन्।

    चीनले समेत उक्त बलुन मौसम अध्ययनका लागि छोडिएको गैरसैनिक दाबी गरे पनि त्यसलाई पुष्टि गर्ने थप प्रमाणहरू सार्वजनिक गर्न सकेको छैन। बलुन कुन कम्पनीले उडाएको थियो भन्नेजस्ता विवरण बाहिर आएका छैनन्। पारदर्शिताको अभावका कारण मानिसहरूमा थप शङ्का बढेको अनुसन्धानकर्ता चोङ बताउँछन्। यस घटनासँगै बेइजिङले पनि विगतमा अमेरिकाले चीनमा १० वटा जासुसी बलुन उडाएको दाबी गरेको छ।

    अमेरिकाले अस्वीकार गरेको यस्तो दाबीले मानिसहरूलाई थप दोधार बनाएको चोङ बताउँछन्। “एक अर्काको देशमाथि बलुन उडाउने स्वीकार्य अभ्यास भएको कुरा चीनले बताउन खोजेको होरु” चोङको प्रश्न छ। यस्तो दाबी आफ्नो सार्वभौमसत्तामा कुनै सम्झौता नगर्ने चिनियाँ अडान विपरीत मात्र नभई कुनै पनि आरोपलाई अर्को आरोप लगाएर खण्डन गर्ने शैली भएको थम्सन बताउँछन्।

    तर यस मामिलामा अमेरिकाले जनाएको प्रतिक्रियाले चीनको पक्ष लिइरहेकाहरूलाई समेत निराश बनाएको छ। यसै साता उत्तर अमेरिकी क्षेत्रको आकाशबाट खसालिएका तीनवटा अन्य वस्तुहरू विदेशी जासुसी उपकरण नभएको अमेरिकी अधिकारीहरूले स्वीकार गरेका छन्। आफ्ना निर्णयको प्रतिरक्षा गर्दै अमेरिकी राष्ट्रपति बाइडनले व्यावसायीक वायुयानहरूको सुरक्षा र संवेदनशील क्षेत्रमा जासुसी गर्न सक्ने भएका कारण ती वस्तुहरूलाई खसालिएको बताएका छन्। बेइजिङस्थित थिङ्क ट्याङ्क सेन्टर फर चाइना एण्ड ग्लोबलाइजेनका उपाध्यक्ष भिक्टर गाओ अमेरिकाले “आवश्यकता भन्दा बढी प्रतिक्रिया” जनाएर बलुनहरू खसालेको बताउँछन्। बीबीसी

  • आयकर विभागले बीबीसीको कार्यालयमा पुरा गर्यो छानविन

    आयकर विभागले बीबीसीको कार्यालयमा पुरा गर्यो छानविन

    नयाँ दिल्ली । भारतमा बीबीसीका दिल्ली र मुंबईस्थित दुई कार्यालयमा आयकरविभागले सर्वे पुरा गरेको छ । छानविन तीन दिनसम्म चलेको छ । बिहीबार राती भने सर्वे पुरा भएको विभागले जनाएको छ । बीबीसीका प्रवक्ताले आयकर विभागबाट आएका कर्मचारी दिल्ली र मुंबई कार्यालयबाट निस्किसकेको जनाएका छन् । उनले आयकर विभागलाई पूर्ण सहयोग गर्ने र यससम्बन्धी मामला छिटो सामान्य हुने अपेक्षा समेत गरेका छन् ।

    प्रवक्ताका अनुसार विभागले केही कर्मचारीसँग लामो बयान लिएको छ । त्यस क्रममा उनीहरु कार्यालयमै थुनिएका थिए । बीबीसीले आफ्नो कामकाज सामान्य बनेको जनाएको छ । उसले निष्पक्ष समाचारमा अडिग रहेको समेत जनाएको छ । सत्ताधारी भारतीय जनता पार्टीले यस मामलालाई कानूनी रुपमा हेर्नु पर्ने बताएको छ ।

    तर, कतिपय विपक्षी दलले भने मोदी सरकारप्रति सवाल उठाएका छन् । बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र सन् २००२ को गुजरात हिंसाबारे एक डकुमेन्ट्री बनाएको थियो । यसपछि भारत सरकार भड्किएको छ । यसलाई अहिले भारतमा प्रसारण बन्द गरिएको छ । सबै सामाजिक सञ्जालबाट समेत डकुमेन्ट्री हटाइएको छ ।

  • बीबीसी र भारत सरकारबीच बढ्दै तनाव, आयकरले हान्यो छापा

    बीबीसी र भारत सरकारबीच बढ्दै तनाव, आयकरले हान्यो छापा

    नयाँ दिल्ली । बीबीसीका भारतस्थित कार्यालयहरूमा एउटा अनुसन्धानका सिलसिलामा आयकर विभागका अधिकारीहरूले खानतलासी गरेका छन्। उक्त प्रसारणसंस्थाले यूकेमा भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएको एउटा डक्यूमेन्ट्री प्रसारण गरेको केही सातापछि उसका नयाँदिल्ली र मुम्बईस्थित कार्यालयहरूमा खानतलासी गरिएको हो। उक्त डक्यूमेन्ट्री सन् २००२ मा गुजरात राज्यमा भएका मुस्लिमविरोधी हिंसामा अहिलेका भारतीय प्रधानमन्त्रीको भूमिकामा केन्द्रित थियो। त्यतिबेला उनी गुजरातका मुख्यमन्त्री थिए।

    बीबीसीले उसले अधिकारीहरूलाई “पूर्ण सहयोग गरिरहेको” जनाएको छ। एउटा सङ्क्षिप्त विज्ञप्तिमा भनिएको छ, हामी यो अवस्थाको चाँडोभन्दा चाँडो समाधान निस्कियोस् भन्ने चाहन्छौँ। उक्त डक्यूमेन्ट्री यूकेको टेलिभिजनमा मात्र प्रसारण गरिएको भए पनि भारत सरकारले उक्त डक्यूमेन्ट्री अनलाइनमार्फत् मानिसहरूले शेअर गर्न नपाऊन् भनेर रोक्ने प्रयास गरेको थियो। गत महिना दिल्लीमा उक्त डक्यूमेन्ट्री हेर्न जम्मा भएका विद्यार्थीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

    विपक्षी दल कांग्रेसका महासचिव केसी वेणुगोपालले मङ्गलवारको कारबाहीमा ‘‘हताश मनस्थितिको गन्ध आएको र मोदी सरकार आलोचनाबाट डराएको देखिएको’’ बताएका छन्। ूहामी यी धम्की दिने रणनीतिको कडा शब्दमा निन्दा गछौँ। यो अलोकतान्त्रिक र तानाशाही मनोवृत्ति अब चल्न सक्दैन,ू ट्वीट गर्दै उनले भनेका छन्।

    तर सत्तारूढ भारतीय जनता पार्टीका प्रवक्ता गौरव भाटियाले बीबीसीलाई संसारको सबैभन्दा भ्रष्ट सङ्गठन को सङ्ज्ञा दिएका छन्। उनले बीबीसीका कार्यालयहरूमा गरिएको खानतलासीको कार्य कानुनसम्मत रहेको तर्क गर्दै त्यस्तो कारबाहीको समयसँग सरकारको सम्बन्ध नरहेको दाबी गरे।

    सम्पादकहरूको समूह एडिटर्स गिल्ड अफ इन्डियाले आफू खानतलासीको उक्त घटनाबाट गम्भीर रूपमा चिन्तित भएको बताएको छ। यो सरकारी निकायहरूको प्रयोग गरेर सरकारको नीतिहरू वा सत्तारूढ संस्थापनको आलोचना गर्ने प्रेस सङ्गठनहरूलाई दुःख दिने प्रचलनको नियमितता भएको उक्त संस्थाले जनाएको छ।