Category: विश्व

  • अमेरिकाको केन्टकीमा बैंक भित्र चल्यो गोली, कम्तिमा ५ जना मारिए

    अमेरिकाको केन्टकीमा बैंक भित्र चल्यो गोली, कम्तिमा ५ जना मारिए

    काठमाडौं । अमेरिकाको केन्टकी शहरमा एक बैंक भित्र गोली चलेको छ । घटनामा पाँच जनाको मृत्यु भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । गोली लागेर तीन प्रहरीसहित ९ जना घाइते भएका छन् । ओल्ड नेशनल बैंकका २३ वर्षीय कर्मचारीले नै बैंकभित्र गोली चलाएका थिए । उनले इन्स्टाग्राममा आक्रमणको प्रत्यक्ष प्रसारणसमेत गरेका थिए ।

    उनले हानेको गोली लागेर चार जनाको मृत्यु भएको र प्रहरीको गोली लागेर गोली चलाउने व्यक्ति पनि मारिएको बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीट गर्दै घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले बन्दुकको हिंसाबाट अमेरिका शोकमा परेको बताएका छन् ।

  • थाइल्याण्डमा गोली काण्ड : कम्तिमा चार जनाको मृत्यु

    थाइल्याण्डमा गोली काण्ड : कम्तिमा चार जनाको मृत्यु

    काठमाडौं । थाइल्यान्डको दक्षिणी भागमा शनिबार भएको गोलीकाण्डमा कम्तीमा चार जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । राजधानी बैंककबाट करिब ६०० किलोमिटर दक्षिणमा पर्ने सुरत थानी प्रान्तको खिरी राट निखोम जिल्लामा स्थानीय समयअनुसार साँझ ५ बजे सशस्त्र आक्रमण सुरु भएको थियो । ‘सशस्त्र आक्रमणबाट चार जनाको मृत्यु भएको छ, स्थानीय प्रहरी प्रमुख क्रिआङक्राई क्राइकाउले एएफपीसँग भने ।

    स्थानीय सञ्चारमाध्यमका अनुसार गाउँका एक पूर्व मुखियाको घर नजिकै गोली चलेको थियो । थाइल्यान्डमा बन्दुकको स्वामित्वको उच्च दर छ र विगत १२ महिनामा हिंसात्मक घटनाहरू निरन्तर भइरहेका छन् । यो अवधिमा हालैका केही दशकभित्र भउका सबैभन्दा घातक आक्रमणहरूमध्ये एक पनि समावेश छ ।

    गत अक्टोबरमा उत्तरपूर्वी नोङ बुआ लाम फु प्रान्तमा एक पूर्व प्रहरी हवल्दारले ३६ जनाको हत्या गरेका थिए, जसमध्ये २४ जना बालबालिका थिए । गत महिना फेचबुरी प्रान्तमा भएको गोलीकाण्डमा तीन जनाको मृत्यु भएको थियो भने अन्य तीन जना घाइते भएका थिए ।

  • ताइवान आसपास पुनः चिनियाँ सेनाले बढायो गतिविधि

    ताइवान आसपास पुनः चिनियाँ सेनाले बढायो गतिविधि

    काठमाडौं । चिनियाँ सेनाले तीन दिने सैन्य अभ्यासका क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ। बेइजिङले ताइवानलाई चीनको एउटा टुक्रिएको प्रान्तको रूपमा हेर्छ। बीबीसीका अनुसार उसको अहिलेको सैन्य अभ्यासलाई उक्त टापुको सरकारलाई दिइएको कडा चेतावनीका रूपमा उल्लेख गरेको छ। ताइवानी राष्ट्रपति साई इङ(वेन अमेरिकाको भ्रमणबाट फर्केको केही घण्टापछि चीनले त्यो अभ्यास सुरु गरेको थियो।

    ताइवानको रक्षा मन्त्रालयले ७१ वटा चिनियाँ सैन्य विमान र ९ वटा सैन्य पानीजहाजले ताइवान स्ट्रेटको मध्यरेखा पार गरेको जनाएको छ। त्यो चिनियाँ र ताइवानी क्षेत्रलाई अनौपचारिक रूपमा विभाजन गर्ने रेखा हो। चीनका राज्य सञ्चालित सञ्चारमाध्यमले उक्त सैन्य अभ्यासले एकै साथ ताइवान टापुको वरिपरि गस्ती र सैन्य अग्रतालाई व्यवस्थित गर्ने र चौतर्फी घेराबन्दी तथा प्रत्याक्रमणको सङ्केत गर्ने जनाएका छन्।

    उनीहरूले लामो दूरीको रकेट, नौसेनालाई ध्वस्त पार्ने अस्त्र, क्षेप्यास्त्र बोक्नसक्ने डुङ्गा, वायुसेना, लडाकु, बमवर्षक विमानलगायत चिनियाँ सेनाले तैनाथ गरेको पनि जनाएका छन्। ताइवानले आफूलाई एउटा सार्वभौम देश मान्छ र उसको आफ्नै संविधान तथा नेताहरू रहेका छन्। तर चीनले उक्त टापुलाई आफ्नै टुक्रिएर गएको भू(भाग ठान्छ र त्यो अन्ततस् बेइजिङ अन्तर्गत आउनुपर्ने रूपमा हेर्छ। उसले त्यसका लागि आवश्यक परे बल प्रयोग चेतावनी दिने गरेको छ।

    चिनियाँ राष्ट्रपति सी जिन्पिङले ताइवानसँगको “पुनः एकीकरण” जसरी पनि पूरा गर्नुपर्ने बताइसकेका छन्। चीनले प्रायः ताइवानको वरिपरि यस्तो खालको सैन्य अभ्यास गर्ने गर्छ। तर यसपालि ताइवानका राष्ट्रपतिले बुधवार अमेरिकी तल्लो सदनमा सभामुखसँग भेटेपछि त्यसको प्रतिक्रियास्वरुप अहिलेको सैन्य अभ्यास गरेको ठानिएको छ। ताइवानी राष्ट्रपति शनिवार उनको सरकारले अमेरिका र अन्य लोकतान्त्रिक राष्ट्रहरूसँग काम गरिरहने बताएकी छन्।

    उनका भनाइमा उक्त टापुले चीनबाट निरन्तर अधिनायकवादी विस्तारवादको सामना गरिरहेको छ। ताइवान वरिपरि चीनको तीन दिने सैन्य अभियानलाई ूयुनाइटेड शार्प स्वर्डू भनिएको छ। यो अभियान सोमवारसम्म चल्ने पिपुल्स लिबरेसन आर्मी (पीएलए)को पूर्वी थिएटर कमाण्डले जनाएको छ। ताइवानको रक्षा मन्त्रालयले आफूले चीनको अभ्यासलाई शान्त, तर्कसङ्गत र गम्भीर ढङ्गका साथ जवाफ दिने बताएको छ। त्यो द्वन्द्व पनि नबढाउने र आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र सुरक्षाको रक्षा गर्न विवाद पनि ननिम्त्याउने आफ्नो सिद्धान्तमा आधारित भएको ताइवानको भनाइ छ।

  • उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको गर्यो परीक्षण

    उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको गर्यो परीक्षण

    काठमाडौं । उत्तर कोरियाले पानी भित्र चल्ने परमाणु ड्रोनको परीक्षण गरकेो छ । समाचार एजेन्सी एएफपीका अनुसार उत्तर कोरियाको सरकारी मीडियाले यसको पुष्टी गरेको छ ।

    उत्तर कोरियाले एक वर्ष अगाडी समेत यस्तै परीषण गरेको थियो । उत्तर कोरियाले यस न्यूक्लियर जडित ड्रोनले विपक्षीमाथि प्रहार गर्न सक्छ । उत्तर कोरियाले पछिल्ला दिनमा परमाणु शक्ति बिस्तार गर्दैगर्दा संसारभर नै असुरक्षा पैदा भइरहेको छ । उसको परमाणु कार्यक्रमको आलोचना समेत हुने गरेको छ ।

  • तेल उत्पादक मुलुकले उत्पादन कटौती गर्दा के पर्छ असर ?

    तेल उत्पादक मुलुकले उत्पादन कटौती गर्दा के पर्छ असर ?

    काठमाडौं । विश्वका ठूला तेल निर्यातक राष्ट्रहरूले आफ्ना उत्पादन कटौती गर्ने घोषणा गरेका छन् । यसले कच्चा तेलको मूल्य ह्वात्तै बढाएको छ । साउदी अरब, इराक तथा कतिपय खाडी देशहरूले सामूहिक रूपमा तेल आपूर्तिलाई प्रतिदिन १० लाख ब्यारलले कटौती गर्ने भनेका छन्।

    ओपेक प्लस भन्ने समूहको सदस्य रुसले यो वर्षको अन्त्यसम्म नै प्रतिदिन पाँच लाख ब्यारल उत्पादन कटौती जारी राख्नेछ। बीबीसीका अनुसार ह्वाइट हाउसले यी निर्णयको आलोचना गरेको छ। ओपेक प्लस भनेको २३ वटा तेल निर्यातक देशहरूको समूह हो। यो समूहले नियमित छलफल गरेर विश्वबजारमा कति परिमाणमा कच्चा तेल बेच्ने भन्ने निर्क्योल गर्छ।

    यो समूहको केन्द्रमा १३ सदस्य रहेको ओपेक सङ्गठन छ। ओपेक भनेको विशेषतः मध्यपूर्व अनि अफ्रिकी तेल निर्यातक राष्ट्रहरूको सङ्गठन हो। सन् १९६० मा गठन भएको ओपेक तेल आपूर्तिको मिलेमतो गर्ने सङ्गठन हो जसले विश्वभरि नै तेलको आपूर्ति र भाउको निर्धारण गर्ने उद्देश्य राखेको छ। आजको दिनमा ओपेक सदस्यराष्ट्रहरूले विश्वबजारमा आपूर्ति हुने कच्चा तेलको ३० प्रतिशत परिमाण उत्पादन गर्छन्। ओपेकभित्र पनि सबभन्दा धेरै तेल उत्पादन गर्ने देश साउदी अरब हो। उसले दिनको एक करोड ब्यारल तेल उत्पादन गर्छ। एक ब्यारलमा झन्डै १५९ लिटर हुन्छ।

    सन् २०१६ मा जब तेलको मूल्य अलि कम थियो तब ओपेकले थप १० तेल उत्पादक राष्ट्रहरूलाई समेटेर ओपेक प्लस भन्ने सङ्गठन बनायो। ती थपिएका सदस्यहरूमध्ये रुस पनि थियो। उसले दैनिक एक करोड ब्यारल तेल उत्पादन गर्छ। सबै मिलाएर ओपेक प्लस राष्ट्रहरूले विश्वबजारको कुल कच्चा तेलको ४० प्रतिशत परिमाण उत्पादन गर्छन्।

    ूबजारलाई सन्तुलनमा राखिरहन ओपेक प्लसले माग र आपूर्तिको तालमेल मिलाउँछ,’ एनर्जी इन्स्ट्ट्यिूटकी केट डुरिएनले भनिन्। माग कम हुँदा उनीहरूले मूल्य उच्च राखिरहन आपूर्ति घटाइदिन्छन्। बजारमा धेरै परिमाणमा तेल आपूर्ति गरेर मूल्य घटाउन पनि उनीहरूले सक्छन्। उनीहरूले दिनको ११ लाख ६० हजार ब्यारल तेल उत्पादन कटौती गर्ने पछिल्लो निर्णयभन्दा अगाडि गत अक्टोबरमा प्रतिदिन २० लाख ब्यारल उत्पादन कटौतीको निर्णय गरेका थिए।


    उनीहरूको निर्णयलगत्तै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य ५ प्रतिशतले बढ्यो।
    सन् २०२० मा महामारीका बेला उक्त समूहले दैनिक ९० लाख ब्यारेल उत्पादन कटौती गरेको थियो। विभिन्न देशमा लकडाउन भएका कारण कच्चा तेलको मूल्य व्यापक घटेको थियो। रुसले युक्रेनमा अतिक्रमण गरेपछि चाहिँ तेलको मूल्य अकासिएर एक ब्यारलको १३० डलरसम्म पुग्यो।

    तर फेरि झरेर अघिल्लो मार्च महिना तेलको मूल्य १५ महिना यताकै कम ७० डलर प्रति ब्यारलमा ओर्लियो। तेलको बढ्दो मूल्यका कारण अब फेरि यूकेसहित विश्वभरि यसको मूल्य बढ्ने छ र यसले जीवन निर्वाहमा परेको चाप बढाउने छ। अमेरिकाले ओपेक प्लसको पछिल्लो कदमलाई गलत भनेको छ।

  • भारतमा एकैदिन ५ हजार कोरोना संक्रमित थपिए

    भारतमा एकैदिन ५ हजार कोरोना संक्रमित थपिए

    एजेन्सी । भारतमा पछिल्लो २४ घण्टामा भारतमा थप ५ हजार ३ सय ३५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २५ हजार नाघेको छ । यसअघि बुधबार भारतमा ४ हजार ४ सय ३५ जनामा संक्रमण पुष्टि भएको थियो जुन गत वर्षको २५ सेप्टेम्बरयताकै धेरै थियो । अहिले भारतमा सबैभन्दा बढी सक्रिय संक्रमित केरलमा रहेका छन् ।

  • ब्राजिलमा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा ४ बालबालिकाको ज्यान गयो

    ब्राजिलमा अन्धाधुन्ध गोली काण्ड, कम्तिमा ४ बालबालिकाको ज्यान गयो

    काठमाडौं । ब्राजिलको दक्षिणी क्षेत्रमा रहेको एक पूर्व प्राथमिक विद्यालयमा आक्रमण हुँदा चार जना बालबालिकाको ज्यान गएको छ । एक २५ वर्षीय आक्रमणकारीले ब्लुमेनाउ शहरमा निजी विद्यालय गुड सेफर्ड सेन्टरमा धारिलो हतियारले आक्रमण गरी चार जनाको हत्या गरेका सान्टा क्याटारिना राज्यका प्रहरी अधिकारीलाई उद्धृत गरी अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    घटनामा अरु चार जना घाइते भएका छन् । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भाले विद्यालयमा भएको आक्रमणको निन्दा गरेका छन् । उनले तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न प्रशासनलाई निर्देशन दिएका छन् । सान्ता क्याटारिनाका गभर्नरले घटनापछि स्थानीय क्षेत्रमा तीन दिनको शोक घोषणा गरेका छन् ।

  • सिक्किममा हिमपहिरो, कम्तिमा ७ पर्यटकको मृत्यु

    सिक्किममा हिमपहिरो, कम्तिमा ७ पर्यटकको मृत्यु

    काठमाडौं । सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर कम्तीमा ७ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । नाथुला र गान्तोकबीचको क्षेत्रमा गएको हिमपहिरोमा कम्तीमा १२ जना घाइते छन् । २३ जनाको उद्दार भएको भारतीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णल महेन्द्र रावतले भारतीय सञ्चारमाध्यमहरुलाई बताएका छन् ।

    हिमपहिरोमा परेकाहरुको खोजी तथा उद्दार कार्यमा भारतीय सेनाको टोली खटिएको छ । सिक्किमको स्थानीय अनलाइन समाचार पोर्टल भ्वाइस अफ सिक्किमका अनुसार भारतीय समय अनुसार मध्याह्न १२ः२० बजे हिमपहिरो गएको थियो ।


    हिमपहिरोमा परेर कम्तीमा ५ देखि ६ वडा सवारीसाधन पुरिएको आशंका छ । मंगलबार साँझ ट्विट गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिमपहिरोमा पर्नेको खोजी तथा उद्दार कार्य जारी भएको बताउँदै प्रभावितलाई हरसम्भव सहायता प्रदान गर्ने बताएका छन् । गृहमन्त्री अमित शाह सिक्किमको अवस्थालाई नजिकबाट नियालिरहेको बताउँदै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • मलेसियाले हटाउने भयो अनिवार्य मृत्युदण्डको प्रावधान, १३०० कैदीको ज्यान जोगिने

    मलेसियाले हटाउने भयो अनिवार्य मृत्युदण्डको प्रावधान, १३०० कैदीको ज्यान जोगिने

    काठमाडौं । मलेशियाको संसद्‌ले देशको कानुनमा अनिवार्य मृत्युदण्डको सजाय हटाउने पक्षमा मतदान गरेको छ। यो कदमसँगै मृत्युदण्डको सजाय पाउन सक्ने १,३०० कैदीको ज्यान जोगिन सक्ने बीबीसीले लेखेको छ । कैयौँ नेपालीहरू पनि वैदेशिक रोजगारीका लागि पुग्ने गरेको दक्षिण पूर्वी एशियाको यो देशले सन् २०१८ यता मृत्युदण्ड स्थगन गरेको छ।

    संसद्‌ले पारित गरेको व्यवस्था कार्यान्वयनमा आएसँगै हत्या र आतङ्कवादसहित ११ प्रकारका गम्भीर अपराधमा दिइने अनिवार्य मृत्युदण्डको सजाय हट्नेछ। यद्यपि असाधारण घटनाहरूमा मृत्युदण्डको आदेश दिन सक्ने न्यायाधीशहरूले स्वःविवेकीय अधिकार कायमै राखिएको छ। सबैभन्दा गम्भीर अपराधमा अदालतले ४० वर्ष कारावास हुने जस्ता आजीवन जेल सजाय र कोर्रा लगाउने जस्ता सजाय तोक्न सक्ने सांसदहरूले बताएका छन्।


    सोमवार त्यहाँको संसद्लाई सम्बोधन गर्दै मलेशियाका उप कानुनमन्त्रीले मृत्युदण्ड अपरिवर्तनीय रहे पनि यसले अपराधलाई निरुत्साहित नगरेको बताए। “मृत्युदण्डले जस्तो नतिजा ल्याउनुपर्थ्यो त्यो ल्याएन,” रामकरपाल सिंहले भने। नयाँ कानुनले यसअघि नै मृत्युदण्डको फैसला सुनाइएका तर सजाय पाउन बाँकी मानिसहरूलाई पनि ९० दिनभित्र सजायबारे पुनरावेदन माग गर्ने समय दिने छ।

    मलेशियामा हाल १,३४१ कैदीहरू छन्। मलेशियामा ३४ वटा अपराधमा मृत्युदण्ड दिइन्छ। तीमध्ये सोमवार अघि ११ वटामा अनिवार्य मृत्युदण्ड दिइन्थ्यो। विद्यमान मृत्युदण्डको कानुनी व्यवस्था उल्टाउने प्रक्रिया गत जुनमा सुरु भएको थियो। पूर्वप्रधानमन्त्री इस्माइल साब्री यकोब नेतृत्वको सरकारले अनिवार्य मृत्युदण्डको सजाय हटाउने घोषणा सुरु गरेको थियो। मृत्युदण्डको अन्त्यका लागि दुई वटा विधेयक गत साता संसद्‌मा दर्ता गरिएका थिए।

    अझैसम्म मृत्युदण्डको सजाय दिइने ५३ देशहरूमध्ये मलेशिया पनि एक हो। यो क्षेत्रमा चीन र सिङ्गापुरमा पनि मृत्युदण्डको सजाय दिने कानुन छ। मलेशियाको सरकारी तथ्याङ्क अनुसार यो देशमा सन् १९९२ देखि २०२३को बीचमा करिब १३१८ जना कैदीहरूलाई झुन्ड्याएर मृत्युदण्ड दिइएको छ।
    यसअघि मलेशियामा नेपालीहरूलाई पनि मृत्युदण्डको सजाय दिने फैसला भएका थिए। कतिपय त्यस्ता खाले फैसलामा पुनरावेदन हुँदा मृत्युदण्ड नदिन आदेश भएका विवरण आएका थिए।

    अधिकारीहरूका अनुसार सन् २००८ मा विदेश जाने कामदारहरूको तथ्याङ्क राख्न थालिएयता मलेशिया नेपालीहरूको एउटा प्रमुख श्रम गन्तव्यको रूपमा रहेको देखिन्छ। झन्डै १५० वटा देशमा नेपाली कामदारहरू पुगेको भए पनि ८० प्रतिशतभन्दा बढी नेपाली कामदार खाडीका छ देश र मलेशियामा काम गर्न जाने गर्छन्। दुई महिना अघि नेपाल आएका मलेशियाका गृहमन्त्री सैफुदिन नासितुन इस्माइलले नेपालबाट ‘उल्लेख्य सङ्ख्यामा’ कामदार लैजाने प्रतिवद्धता जनाएको विवरण आएका थिए।

  • इन्डोनेसियामा ठूलो भूकम्प, क्षतिको विवरण आउन बाँकी

    इन्डोनेसियामा ठूलो भूकम्प, क्षतिको विवरण आउन बाँकी

    काठमाडौं । इन्डोनेसियाको पश्चिमी प्रान्त उत्तरी सुमात्रामा सोमबार साँझ ६.४ म्याग्नीच्युडको ठूलो भूकम्प गएको छ । इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सीले जनाएअनुसार यसबाट तत्काललाई सुनामीको भने डर देखिएको छैन । भूकम्पको क्षतिबारे विस्तृत जानकारी आउँन बाँकी रहेको एजेन्सीहरुले जनाएका छन् ।

  • ट्वीटरले न्यूयोर्क टाइम्सको ब्लू टिक हटाइदिएपछि…

    ट्वीटरले न्यूयोर्क टाइम्सको ब्लू टिक हटाइदिएपछि…

    काठमाडौं । ट्विटरले ुद न्यू योर्क टाइम्सुको खाताबाट भेरिफिकेसन चेक मार्क (ब्लू टिक) हटाइदिएपछि बहस सुरु भएको छ । ट्विटरले विश्व प्रख्यात अन्तर्राष्ट्रिय दैनिक पत्रिका न्यू योर्क टाइम्सको ट्विटर खाताबाट ब्लू टिक हटाइदिएको हो। ट्विटर इंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कलाई यो पत्रिका मन नपर्ने विभिन्न सञ्चार माध्यमले लेखेका छन् । न्यू योर्क टाइम्सले भेरिफिकेसन चेक मार्कको लागि शुल्क नतिर्ने बताएसँगै मस्कले ब्लू टिक मार्क हटाइदिएको उनीहरूको अनुमान छ ।
    ट्विटरले सन् २०२३ को अप्रिल १ देखि व्यक्तिगत प्रयोगकर्ताहरूले ब्लू टिकको लागि मासिक ८ अमेरिकी डलर र संस्थाहरूले संस्थागत खातामा ब्लू टिकको लागि मासिक एक हजार डलर तिर्नुपर्ने नियमको घोषणा गरेको थियो। गत बिहीबार मात्रै न्यू योर्क टाइमक्सले शुल्क नबुझाउने बताएको थियो। आइतबार, अप्रिल १ तारिखमा मस्कले आफ्नो ट्विटर खाताबाटै न्यू योर्क टाइम्सको ब्लू टिक हटाइएको जानकारी गराउँदै ट्विट गरेका छन् ।

    उक्त पत्रिकाको मुख्य ट्विटर खातामा भएको ब्लू टिक हटाइएको भएपनि यसको अन्य खाता जस्तै बिजनेस न्युज र ‌ओपिनियन पेज खाताहरूमा भने ब्लू टिक यथावत छ। टाइम्सको मुख्य खातामा मात्रै ५ करोड ५० लाख फलोअर्स रहेको छ। उक्त खाताबाट ब्लु टिक हटेकोप्रति थुप्रै प्रयोगकर्ताहरूले चासो देखाएका छन्। ट्विटरले शुल्क नतिर्ने प्रयोगकर्ताहरूको ब्लु टिक क्रमशः हट्दै जाने बताएको छ।

  • रुसी सेनाका ब्लगरको विष्फोटमा परी ज्यान गयो

    रुसी सेनाका ब्लगरको विष्फोटमा परी ज्यान गयो

    काठमाडौं । रुसको सेन्ट पिटर्सबर्गमा भएको विस्फोटमा सेनाका प्रमुख ब्लगरको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । घटनामा २५ जना घाइते भएका छन् । विस्फोटमा रुसी सेनासँग सम्बन्धित जानकारीमा आधारित ब्लग बनाउने भ्लादेन तातारस्कीको ज्यान गएको बीबीसीले लेखेको छ । सेन्ट पिटर्सबर्गमा रहेको एक क्याफेमा विस्फोट भएको हो ।

    तातारस्कीलाई रुसी सेनाको प्रमुख ब्लगर मानिन्थ्यो । उनी रुसमा लोकप्रिय छन् । रुसको गृह मन्त्रालयले उनको ज्यान गएको पुष्टि गरेको छ । उनको वास्तविक नाम मेक्सिम फोमिन हो । उनले युक्रेनमाथि रुसको आक्रमणको समर्थन गर्दै आएका थिए । युक्रेनको सीमा क्षेत्रमा उनले रिपोर्टिङ गरेका थिए । गत वर्ष उनले बनाएको एक भिडियोले निकै चर्चा बटुलेको थियो ।

    भिडियोमा उनले आफूहरुले जो सुकैलाई हराउने दाबी गरेका थिए । रुसी सञ्चारमाध्यमका अनुसार तातारस्कीलाई उपहारमा एउटा बक्स दिइएको थियो । त्यो बक्समा विस्फोटक पदार्थ राखिएकोले विस्फोट भएको दाबी गरिएको छ । सामाजिक सञ्जालमा पोष्ट गरिएको भिडियोमा विस्फोट र सडकमा घाइते भएकाहरु देख्न सकिन्छ । घटना कसले गरायो भन्नेबारे अनुसन्धान थालिएको खबरमा उल्लेख छ ।

  • इटलीमा च्याटजीपीटी माथि प्रतिवन्ध, के हो कारण ?

    इटलीमा च्याटजीपीटी माथि प्रतिवन्ध, के हो कारण ?

    काठमाडौं । आर्टिफिशल इन्टेलिजन्स (एआई) प्रविधिमा आधारित च्याटबोट च्याटजीपीटीलाई इटलीमा प्रतिबन्ध लगाइएको छ । इटलीको डेटा संरक्षण प्राधिकरणले च्याटजीपीटीको प्रणालीमा गोपनीयतासम्बन्धी चिन्ताहरू देखिएको बताएको बीबीसीमा समाचार छ । ओपनएआई नामक अमेरिकी स्टार्टअप कम्पनीले बनाएको च्याटजीपीटीलाई माइक्रोसफ्टले सहयोग गरेको छ।

    इटलीको नियामकले च्याटजीपीटीलाई प्रतिबन्ध लगाउने र ओपनएआईमाथि “तत्काल” अनुसन्धान गर्ने जनाएको छ। गत नोभेम्बरमा सुरु भएको च्याटजीपीटीको अहिले लाखौँ मानिसहरूले प्रयोग गरिरहेका छन्। यसले मानिसकै जस्तो भाषा प्रयोग गरेर प्रश्नहरूको जवाफ दिन सक्छ। च्याटजीपीटीले अन्य लेखन शैलीको पनि नक्कल पनि गर्न सक्छ। उसले इन्टरनेट प्रयोग गरेर सन् २०२१ सम्ममा डाटाबेसमा रहेका कुराका आधारमा त्यस्तो जवाफ दिने गर्छ।

    माइक्रोसफ्टले च्याटजीपीटीमा अर्बौँ डलर खर्च गरेको छ र त्यसलाई गत महिनादेखि उसको सर्च इन्जिन बिङ्गमा पनि समावेश गरिएको छ। माइक्रोसफ्टले वर्ड, एक्सेल, पावरप्वाइन्ट र आउटलुकलगायतका अफिस एपहरूमा पनि उक्त प्रविधिको एउटा संस्करण समावेश गर्ने जनाएको छ। अहिले विश्वभरि नै एआईका सम्भावित जोखिमबारे चिन्ता व्यक्त भइरहेका छन्। त्यस्ता चिन्ताहरूमा एआईले रोजगारीमा पार्ने खतरा र पूर्वाग्रह तथा झूटा खबरहरू फैलाउने खतरालगायत छन्।

    यसै साताको सुरुमा इलोन मस्कलगायत प्राविधिक क्षेत्रका प्रमुख व्यक्तिहरूले त्यस्ता प्रकारका एआई प्रणालीहरूलाई निलम्बन गर्न आह्वान गरे। यस्ता खाले प्रणाली विकास गर्ने दौड नियन्त्रण बाहिर जान सक्छ भन्ने चिन्ता व्यक्त गर्दै उनीहरूले त्यस्तो आह्वान गरेका हुन्। इटलीको नियामक निकायले ओपनएआईको च्याटबोटलाई रोक्ने मात्र नभइ उक्त कम्पनीले सामान्य डेटा संरक्षण नियमको पालना गरेको छ कि छैन भनेर अनुसन्धान पनि गर्ने जनाएको छ। उक्त नियमले व्यक्तिगत डेटा प्रयोग, प्रशोधन र भण्डारण गर्ने तरिकालाई नियन्त्रण गर्ने गर्छ।

    उसले २० मार्चमा उक्त एपले प्रयोगकर्ताको कुराकानी र भुक्तानीसम्बन्धी जानकारीबारे डेटा उल्लङ्घनको अनुभव गरेको बताएको छ। उक्त निकायले च्याटजीपीटी सञ्चालनका लागि एल्गोरिदमलाई प्रशिक्षणु गर्ने उद्देश्यका लागि व्यक्तिगत डेटाको ठूलो सङ्कलन र भण्डारणू गर्ने कार्यलाई उचित ठहर्‍याउने कुनै कानुनी आधार नभएको बताएको छ।

    त्यस्तै उसले प्रयोगकर्ताको उमेर प्रमाणित गर्ने कुनै तरिका नभएकाले एपले नाबालिगलाई उनीहरूको विकास र जागरूकताका तुलनामा अनुपयुक्त जवाफको सामना गर्नुपर्ने अवस्थामा पुर्‍याउने पनि जनाएको छ। च्याटजीपीटीको प्रतिस्पर्धी गुगलले बनाएको एआई च्याटबोट बार्डले भने १८ वर्षभन्दा माथिका प्रयोगकर्ताले मात्र प्रयोग गर्न मिल्नेगरी सेवा सुरु गरेको छ। गोपनीयतासम्बन्धी यस्तै चिन्ताहरूका कारण उसले त्यस्तो गरेको हो।


    इटलीको डेटा संरक्षण प्राधिकरणले ओपनएआईलाई उक्त निकायले व्यक्त गरेका चिन्ताहरूलाई उसले कसरी सम्बोधन गर्छ भन्ने सफाइ दिन २० दिनको समय दिएको छ। गोपनीयता हनन्‌ भएको पुष्टि भए उक्त कम्पनीमाथि दुई करोड ७० लाख डलर वा उसको वार्षिक आम्दानीको ४ प्रतिशतसम्म जरिवाना हुनसक्नेछ। ईयूमा व्यक्तिगत डेटा सुरक्षित राख्नका लागि मौलिक अधिकारलाई सुनिश्चित गर्ने जिम्मेवारी पाएको आइरिस डेटा संरक्षण आयोगले बीबीसीलाई इटलीको नियामकसँग उसले कदमको आधार बुझ्नको लागि समन्वय गर्ने जनाएको छ।

    ब्रिटिश डेटा नियामकले पनि बीबीसीलाई उसले एआईको विकासलाई ूसमर्थनू गर्ने तर त्यो डेटा सुरक्षा कानुनलाई पालन नगर्ने खालको देखिएमा त्यसलाई चुनौती दिन पनि तयार रहेको बताएको छ। ओपनएआईलाई त्यसबारे बीबीसीले सोधेको प्रश्नको उसले हालसम्म जवाफ दिएको छैन।

  • जापानमा सेवा निवृत्त हुने उमेर बढ्यो

    जापानमा सेवा निवृत्त हुने उमेर बढ्यो

    काठमाडौं । जापानले राष्ट्रिय तथा स्थानीय निजामती कर्मचारीको अवकाश उमेर बढाएको छ । साविकमा ६० वर्ष रहेको निवृत्त हुने उमेर बढाएर ६१ वर्ष पुर्याइएको छ । अवकाश उमेर बढाउने कदम देशको घट्दो जनसङ्ख्यालाई आंशिक रूपमा प्रतिबिम्बित गर्ने श्रमशक्तिको कमी र जोखिमलाई कम गर्न सहयोग पुग्ने विश्वास जापानको छ ।

    जापानले आगामी सन् २०३१ सम्ममा अवकाश उमेर ६५ वर्ष पुर्याउने लक्ष्य राखेको छ । अब दुई वर्षमा एक वर्ष थप हुने छ । सरकारको निर्णयसँगै निजी क्षेत्रका कम्पनीहरूले पनि यस्तै कदम चाल्छन् वा यसलाई थप पर्खेर सरकारी निर्णयको कार्यान्वयनको प्रभावलाई हेर्छन् भन्नेतर्फ सबैको ध्यान केन्द्रित भएको स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गरी चिनियाँ समाचार संस्था सिन्ह्वाले लेखेको छ ।

  • भारतको इन्दौरमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    भारतको इन्दौरमा भएको भागदौडमा मृत्यु हुनेको संख्या ३५ पुग्यो

    मध्यप्रदेश । भारत मध्यप्रदेशको इन्दौरस्थित एक मन्दिर भत्किँदा भएको दुर्घटनामा परी ३५ जनाको मृत्यु भएको छ । बिहीबार रामनवमीको अवसरमा इन्दौरको बेलेश्वर महादेव झुलेलाल मन्दिर भत्किँदा ३५ जनाको मृत्यु भएको हो । मन्दिर इनारमाथि निर्माण गरिएको थियो ।

    अधिकारीका अनुसार दुर्घटनामा परी मृत्यु हुनेको संख्या ३५ पुगिसकेको छ भने १४ जनाको सकुसल उद्धार गरिएको छ । भारतमा यस प्रकारका घटना निरन्तर हुने गरेका छन् । तर, सुरक्षा प्रवन्ध मिलाउन प्रशासन असफल रहँदै आएको छ ।

  • अमेरिकी पत्रकारलाई रुसमा लाग्यो जासुसी गरेको आरोप

    अमेरिकी पत्रकारलाई रुसमा लाग्यो जासुसी गरेको आरोप

    काठमाडौं । द वाल स्ट्रीट जर्नलका एक अमेरिकी पत्रकारलाई रुसमा पक्राउ गर्दै जासुसीको आरोप लगाइएको छ। बीबीसीका अनुसार एभन गोर्स्कभीच एक अनुभवी रुस संवाददाता हुन् र पक्राउ परेको समयमा उनी यक्याटरिङबर्गमा कार्यरत थिए। क्रेम्लिनले ती संवाददातालाई “रङ्गेहात” पक्राउ गरिएको जनाएको छ। द वाल स्ट्रीट जर्नलले उनको सुरक्षाप्रति गहिरो चिन्ता व्यक्त गर्दै उनीविरुद्धका आरोपलाई कडा शब्दमा अस्वीकार गरेको छ।

    एफएसबीले भनेको छ, उसले गैरकानुनी गतिविधिलाई रोक लगाइदिएको छ। ती संवादादता अमेरिकी सरकारको निर्देशनमा काम गरिरहेका थिए र राज्यका गोप्य सूचना सङ्कलन गरिरहेका थिए।

    केही घण्टापछि गुप्तचर सेवाले उनलाई मस्कोको लिफोर्टोभो जिल्ला अदालतमा लगएर औपचारिक रूपमा नै गिरफ्तार गरेको थियो। उनलाई अदालतले मे २९ तारिखसम्म थुनामा राख्न आदेश दिएको छ। उनका वकिलले आफूलाई अदालतको कक्षभित्र प्रवेश नदिइएको जनाएका छन्।

    तास समाचार संस्थाले ती पत्रकारले आरोप अस्वीकार गरेको जनाएको छ। उक्त अदालतमा त्यसअघि बमको जोखिम रहेको भन्दै आगन्तुक र कर्मचारीलाई बाहिर पठाइएको रुसको रीआ सरकारी न्यूज एजेन्सीले जनाएको छ।


    एफएसबीले एउटा विज्ञप्तिमा एभन गोस्कर्भीचसँग मस्कोभन्दा १,८०० किलोमिटर पूर्वमा काम गर्दै गर्दा विदेश मन्त्रालयको अनुमतिपत्र रहेको जनाएको छ। द वाल स्ट्रीट जर्नलको यसै साता प्रकाशित उनको पछिल्लो लेखमा रुसको खस्कँदो अर्थतन्त्र र क्रेम्लिनले बढ्दै गएको सैनिक खर्चसँग जुझ्न गरिरहेको प्रयासबारे चर्चा गरिएको छ।

    तर एफएसबीले उनले ‘अमेरिकी इशारामा काम गरिरहेको’ र ‘रुसको रक्षा उद्योगका बारेका राज्यका गोप्य गतिविधिबारे सूचना सङकलन गरेको’ जनाइएको छ। उसले एउटा फौजदारी जासुसी मुद्दा समेत अघि बढाइएको बताएको छ। द वाल स्ट्रीट जर्नलले आफ्ना संवदादता र उनको परिवारको पक्षमा आफ्नो ऐक्यबद्धता रहेको जनाएको छ। उसले एभन गोर्स्कभीचलाई आफ्ना ‘विश्वसनीय र प्रतिबद्ध संवाददाता’ भन्दै तत्काल रिहाइको माग गरेको छ।

    क्रेम्लिनले पनि उक्त प्रकरणमा टिप्पणी गरेको छ। प्रवक्ता दिमित्री पेश्कोभले उक्त विषय एफएसबीको जिम्मेवारीमा पर्ने र उनीहरूले विज्ञप्ति जारी गरिसकेको बताएका छन्। “मैले भन्न सक्ने थप कुरा के मात्रै छ भने उनी रङ्गेहात पक्राउ परेका हुन्।” रुसमा जासुसीको अभियोगमा अधिकतम २० वर्षसम्म सजाय हुनसक्छ। युक्रेनमा सन् २०२२ को फेब्रुअरीमा आक्रमण थालिनुअघि नै रुसबाट समाचारहरू सम्प्रेषण गर्न कठिन बन्दै गएको थियो। स्वतन्त्र पत्रकारहरूलाई ‘विदेशी एजेन्ट’ को आरोप लगाउने गरिएको थियो भने बीबीसीकी रुस संवाददाता सेराह रेन्सफोर्डलाई देश निकाला गरिएको थियो।

    लडाइँ सुरु भएपछि रुसले ‘मिथ्या समाचार’ र ‘सेनालाई बदनाम गर्ने’ खबरको प्रकाशनलाई फौजदारी कारबाहीका रूपमा दण्डित गर्न सकिने कानुनी व्यवस्था गरेको थियो। त्यसअन्तर्गत दर्जनौँ रुसीलाई उक्त युद्धको आलोचना गरेकोमा दोषी ठहर गरिएको थियो। लगभग सबै स्वतन्त्र सञ्चारमाध्यमहरूको मुख थुनिएको छ वा तीनलाई बन्द गरिएको छ अथवा प्रसारणमा रोक लगाइएको छ।


    एभन गोर्स्कभीचले द वाल स्ट्रीट जर्नलका लागि एक वर्षभन्दा बढी समययता काम गरिरहेका छन्। विगतमा उनले त्यहाँ नै एएफपी समाचार संस्था र द मस्को टाइम्समा काम गरेका थिए। रुसकी राजनीतिकविज्ञ तात्याना स्टानभायाले उक्त गिरफ्तारी आश्चर्यमा पाको बताइन्। उनका विचारमा एफएसबीको दृष्टिकोणमा विज्ञहरूबाट प्रतिक्रिया लिनु मात्रै पनि ‘सूचना सङ्कलन’ पर्छ।

    आफ्ना सम्पादकहरूको निर्देशनमा काम गर्नुलाई ‘अमेरिकी निर्देशनमा’ काम गरेको ठहर गरिएको हुनसक्ने उनले बताइन्। रुसी विदेश मन्त्रालयकी प्रवक्ताले द वाल स्ट्रीट जर्नलका पत्रकारले गरेको काम पत्रकारितासँग असम्बन्धित रहेको बताएकी छन्। उनले ‘विदेशी संवाददाताले पत्रकारिताको आवरणमा अन्य काम गरेको’ यो पहिलो घटना नभएको बताइन्। युक्रेनमाथिको रुसी युद्ध सुरू भएको १३ महिनामा क्रेम्लिन र पश्चिमा विश्वबीचको सम्बन्ध अझ तनावग्रस्त बनेको छ।

  • जर्मन राजा चार्ल्स राजगद्दी सम्हालेपछि पहिलोपटक विदेश भ्रमणमा, जर्मनीमा भब्य स्वागत

    जर्मन राजा चार्ल्स राजगद्दी सम्हालेपछि पहिलोपटक विदेश भ्रमणमा, जर्मनीमा भब्य स्वागत

    काठमाडौं । बेलायतका राजा चार्ल्स तृतीय जर्मनीको तीन दिने राजकीय भ्रमणमा जर्मनी पुगेका छन् । देशको राजसिंहासन सम्हालेपछि भएको पहिलो विदेश भ्रमणमा उनको साथमा रानी क्यामिला पनि छिन् । यसअघि बेलायतका नरेशले फ्रान्सको भ्रमण गर्ने कार्यक्रम निर्धारण भएको थियो तर फ्रान्स सरकारले अघि सारेको निवृत्तिभरणसम्बन्धी विधेयकको राष्ट्रव्यापी विरोधप्रदर्शनका कारण उनको भ्रमण स्थगित भयो ।

    बर्लिनका विभिन्न भागमा बेलायतका झण्डा फहराइएका छन् । बेलायतका राजदम्पतिलाई जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयर र प्रथम महिलाएल्के बुडेनबेन्डरले सैन्य सम्मानका साथ स्वागत गरेका छन् । नजिकका छिमेकी मुलुकको भ्रमण गर्ने राजाको निर्णयअनुसार चाल्र्स जर्मनीतर्फ प्रस्थान गरेका हुन् ।

    जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेनमेयरले बेलायतका राजाको भ्रमणलाई दुई देश र जनताबीचको घनिष्ठ एवम् हार्दिक मैत्रीको प्रतीक भनेका छन् । राजा चाल्र्सले बिहीबार जर्मनीको सङ्घीय संसद्लाई सम्बोधन गर्ने कार्यक्रम छ । जर्मन संसद्लाई सम्बोधन गर्ने उनी पहिलो सम्राट् हुनेछन् । उनले युक्रेनबाट आएका शरणार्थीलाई पनि भेट्ने कार्यक्रम रहेको छ ।

  • भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका

    भारतले तीव्र रुपमा खोजिरहेको खालिस्तानी नेता नेपालमा लुकेको भारतको आशंका

    काठमाडौं । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह ‘फरार’ भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन्। उनलाई नेपाल छोडेर अन्यत्र जान नदिन भारतले नेपाली पक्षलाई पत्राचार गरेको बीबीसीले लेखेको छ ।

    नेपालको अध्यागमन विभागका एक अधिकारीका अनुसार काठमाडौंस्थित भारतीय दूतावासले कूटनीतिक संयन्त्रमार्फत् सिंह नेपालमा लुकेको हुनसक्ने भन्दै खोजी गरिदिन आग्रह गरेको हो । २९ वर्षीय सिंह सिख स्वायत्त राज्य (खालिस्तान) स्थापना गर्ने उद्देश्य राख्ने ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख हुन्। पृथक्तावादी अभियानलाई चर्काउन खोजेको आशङ्कामा भारतले उनलाई निगरानीमा राख्दै आएको थियो।


    पञ्जाबमा प्रहरीले जालन्धरको शाहकोट क्षेत्रमा छापा मार्दै खोजी गर्दा समेत उनी पक्राउ पर्न नसकेपछि सिंहको अहिले व्यापक खोजी भइरहेको छ। पञ्जाबमा उनका धेरै समर्थकहरू पक्राउ परेका छन्। भारतमा अमृतपाल सिंहका बुवा तरसेम सिंहले छोराको ज्यान खतरामा रहेको बताएका छन्।

    पञ्जाब प्रहरीका एक प्रवक्ताका अनुसार वारिस पञ्जाब देका कार्यकर्ताहरूविरुद्ध चारवटा मुद्दा लगाइएको छ। उनीहरूविरुद्ध समाजमा अस्थिरता सिर्जना गरेको, योजना बनाएर हत्या गरेको, प्रहरीमाथि आक्रमण गरेको र सरकारी कर्मचारीको काममा बाधा पुर्‍याएको जस्ता अभियोग लगाइएको छ।


    सिंहको मूल थातथलो पञ्जाबको अमृतसर जिल्लामा छ। तर सन् २०१२ मा दुबई गएर उनी आफ्नो पारिवारले चलाएको यातायात व्यवसायमा संलग्न भएका थिए। उनको लिङ्कड्इन प्रोफाइलमा सिंहले पञ्जाब विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङको डिग्री लिएको उल्लेख छ।

    उनको लोकप्रियता लामो समयसम्म सामाजिक सञ्जालमा सीमित थियो। त्यहाँ व्यक्त उनका विचारमा सिख एकता र छुट्टै राज्यको भाव अभिव्यक्त हुन्थ्यो। गत वर्ष अगस्टमा उनी पञ्जाब फर्किए।अमृत सञ्चार र नसामुक्त आन्दोलनमार्फत् उनले युवाहरूलाई आफूतिर आकर्षित गरे।

    दुबईबाट भारत फर्कँदा उनी आफ्ना पुराना तस्बिरमा भन्दा स्पष्टसँग फरक शैलीमा देखिए। पहिला उनको कपाल र दाह्री चिटिक्क पारेर काटेको देखिन्थ्यो।
    नयाँ तस्बिरमा उनी सिख धार्मिक अभियानमा संलग्न कट्टर व्यक्तिजस्तै देखिए। त्यसको एक महिनापछि उनी वारिस पञ्जाब देका प्रमुख नियुक्त भए। उक्त सङ्गठन अभिनेता तथा अभियानकर्मी दीप सिधूले स्थापना गरेका हुन्। उनी किसानहरूको प्रदर्शनका क्रममा पक्राउ परेका थिए। गत वर्ष एउटा कार दुर्घटनामा परेर सिधूको मृत्यु भएको थियो।

    अमृतपाल सिंह पछिल्लो समय विवादित भाषणका कारण चर्चामा छन्। सिंहको भाषणमा जरनेल सिंह भिन्डरावाले र उनका कट्टरपन्थी विचारहरूको प्रतिबिम्ब झल्किन्छ। सन् १९८० को दशकमा भिन्डरावालेलाई भारत सरकारले अलग्गै सिख राज्यका लागि सशस्त्र विद्रोहको नेतृत्व गरेको आरोप लगाएको थियो।

    उनी सन् १९८४ मा भारतीय सेनाको विवादास्पद अपरेशन ब्लू स्टारमा मारिएका थिए। अमृतपाल सिंहले सिखहरूका लागि छुट्टै राज्यको लागि आह्वान गर्दै त्यो पानीको विवाद, लागुऔषधको दुर्व्यसनदेखि पञ्जाबी संस्कृतिमा देखा परेको क्षयजस्ता पञ्जाबमा विद्यमान समस्याहरूको एक मात्र स्थायी समाधान भएको दाबी गर्दै आएका छन्।

  • जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध

    जर्मनीमा राष्ट्रब्यापी हड्ताल, सबै यातायात सेवा अवरुद्ध

    काठमाडौं । सोमबार दुई ठूला यातायात युनियनहरूले राष्ट्रव्यापी हड्तालको आह्वान गरेपछि जर्मनीमा अधिकांश रेल, बस र विमान सेवा रद्द गरिएको छ । फोहोरमैला व्यवस्थापन कर्मचारीहरू गत दुई सातादेखि हड्तालमा उत्रिएकाले मुन्स्टर, हेमबर्ग, बर्लिनलगायतका सहरमा फोहोरको डंगुर थुप्रिएको छ ।

    ‘सहरभरि फोहोर थुप्रिएको छ । मानिसहरू बसपार्क, रेल स्टेसनमा घुइँचो लागेर बसेका छन्, बिजोग छ,’ जर्मनीको मुन्स्टरका नेपाली रेस्टुरेन्ट व्यवसायी सूर्य तिवारीले भने । मध्यरातमा राष्ट्रव्यापी २४ घण्टाको हड्ताल सुरु भएपछि सोमबार जर्मनीमा लगभग सबै विमान, रेल र बसहरू ठप्प भएका छन् । बीईआर बर्लिन ब्रान्डनबर्ग एयरपोर्टबाहेक सबै प्रमुख जर्मन अन्तर्राष्ट्रिय विमानस्थल हड्तालबाट प्रभावित भएका छन् । राष्ट्रव्यापी रूपमा, करिब चार लाख यात्रुहरूले ढिलाइ वा उडान रद्दको सामना गर्नुपरेको छ ।

    जर्मनीको सबैभन्दा ठूलो विमानस्थल फ्र्यांकफर्टमा सबै आगमन र प्रस्थान गर्ने उडानहरू सोमबार भर रद्द गरिएको छ । केही लामो दूरीको उडानहरूको मामलामा पूरा दिन ढिलाइ भएको फ्र्यांकफर्ट विमानस्थलले उल्लेख गरेको छ । हडतालका कारण धेरै प्रमुख बन्दरगाह र नाकाहरूमा व्यावसायिक र सामान ढुवानीको कामसमेत रोकिएको जर्मनीको डीडब्ल्यू न्युजले उल्लेख गरेको छ । हड्तालको तयारीले गर्दा शुक्रबारदेखि नै अवरोधहरू निम्त्याएको थियो ।

    दुई ठूला मजदुर युनियनहरुले देशलाई नै ठप्प पार्ने गरी आह्वान गरेको यो हड्ताल जर्मनीले गत तीन दशकमा बेहोरेको सबैभन्दा ठूलो हड्ताल हो । धेरै रेल मजदुरहरूको प्रतिनिधित्व गर्ने भर्डी सेवा श्रमिक युनियन र ईभीजी युनियनले यो हड्तालको आह्वान गरेका हुन् ।

    जर्मनीमा पछिल्ला हप्तामा श्रमिक युनियनहरुले सरकारसित सेवा सुविधा र तलब बढाउन माग गरेका थिए । मुद्रास्फीति बढेको र बजारभाउ पनि बढेकाले त्यसअनुरूपको सेवा, सुविधा र श्रमको मूल्य पाउनुपर्ने माग मजदुर युनियनहरूको छ । तर युनियनहरुले राखेको मागमा सुनुवाइ नभएकाले हड्ताल गर्नुपरेको भनाइ मजदुर युनियनहरूको छ ।

    उनीहरुले रोजगारदाताहरूसँग पटक पटक वार्ता गरे पनि असफल वार्ताको शृंखलापछि सामूहिक हड्ताल गर्न बाध्य भएको जनाएका छन् । ‘हाम्रो सुनुवाइ भएन । त्यसैले हडताल गर्नुपर्ने भयो । हडतालमा व्यापक सहभागिता छ, भर्डी प्रमुख फ्रान्क वेर्नेकेले पत्रकार सम्मेलनमा भनेका छन् ।

    हड्ताल आधिकारिक रूपमा सोमबार मध्यरातमा सुरु भएको हो र सोमबार साँझसम्म चल्ने छ। तर कतिपय विमानस्थलले आइतबार आइपुग्ने वा प्रस्थान गर्ने निर्धारित उडान रद्द गरेका छन् । जर्मनीको हडतालका कारण युरोपभरिका पेरिस, आम्स्टरडम, लियों, जेनेभा, जुरिक, बार्सिलोना, स्टकहोम, रोम, मेड्रिड, हेलसिन्की लगायत ३० भन्दा बढी सहरका उडान रद्द भएको जनाइएको छ ।

    जर्मनीका दुई ठूला एयरपोर्टहरू म्युनिख र फ्रान्कफर्टका साथै ब्रेमेन, ह्याम्बर्ग र स्टटगार्ट एयरपोर्टहरूमा उडानहरू स्थगित गरिएको छ। रेल अपरेटर डोइच बाहनले आफ्नो लामो दूरीको रेल सेवाहरू रद्द गरेको छ । जर्मन रेल अपरेटर डूइच बाहनले सोमबार कुनै लामो दूरीका रेलहरू नचल्ने, धेरै रेलहरू मंगलबार पनि रद्द गरिएको अग्रिम जानकारि गराएको थियो । सोमबारको यात्रामा रहेका यात्रुहरुलाई उनीहरुले सम्भव भए अर्को दिनको यात्रा स्थगित गर्न आग्रह गरेको थियो ।

    डोइच बाहनले एक विज्ञप्तिमा भनेको छ ‘सोमबारको हडतालले सबै जर्मन रेल सञ्चालनहरूलाई असर गर्नेछ, किनकि डोइच बाहन र अन्य रेल कम्पनीहरूका सबै क्षेत्रका कर्मचारीहरूलाई हडतालमा निस्कन आह्वान गरिएको छ । त्यसैले डोइच बाहनको लामो दूरीको यातायात पूर्ण रूपमा बन्द गरिएको छ।’

    सोमबारको हड्ताल राष्ट्रव्यापी छ । हड्ताल आह्वान गर्ने युनियनहरूले यातायात मजदुरमा बहुमतको प्रतिनिधित्व गर्दछन् । भर्डीले २५ लाखभन्दा बढी सार्वजनिक क्षेत्रका कर्मचारीहरूको प्रतिनिधित्व गर्दछ भने ईभीजीले रेलवे र बस कम्पनीका करिब २ लाख ३० हजार कामदारहरूको प्रतिनिधित्व गर्दछ।
    कान्तिपुरबाट साभार

  • म्यानमारमा सरकारको विरोध गरे प्रतिरोध गर्ने सैनिक सरकारको चेतावनी

    म्यानमारमा सरकारको विरोध गरे प्रतिरोध गर्ने सैनिक सरकारको चेतावनी

    काठमाडौं । म्यान्मारको सैन्य सरकारका प्रमुखले देशभित्र सशस्त्र प्रतिरोध गरिरहेका समूहहरूको गतिविधिलाई “आतङ्कू को सङ्ज्ञा दिँदै उनीहरूमाथि निर्णायक कारबाही गर्ने घोषणा गरेका छन्। सेनाप्रमुख मिन ओङ ह्लाइङले म्यान्मारमा मानवाधिकारको अवस्थाबारे प्रश्न उठाउने देशहरूलाई पनि आतङ्कको मतियार भएको आरोप लगाएका छन्। एउटा दुर्लभ भाषणामा उनले ती देशहरूले बरु सेनालाई म्यान्मारको मौलिक प्रजातन्त्रलाई एउटा स्वरूप दिन सघाउनुपर्ने धारणा व्यक्त गरे। सन् २०२१ मा सेनाले देशको शासनसत्ता फेरि आफ्नो हातमा लिएपछि म्यान्मारमा गृहयुद्ध चर्किएको छ।

    गृहयुद्धमा दशौँ हजारको ज्यान गइसकेको छ भने १० लाखभन्दा बढी मानिसहरू विस्थापित भएका छन्। राजधानी नेप्यिडमा आयोजत वार्षिक सैन्य परेडका अवसरमा सम्बोधन गर्दै ६६ वर्षीय जेनरल मिन ओङ ह्लाइङले एउटा विशेष सन्देश दिए ः जस्तोसुकै क्षति भए पनि म्यान्मारको सेनाले आफ्नो शासनको विरोध गर्नेहरूविरुद्धको लडाइँ रोक्नेछैन। उनले “मानिसहरूको हित समाप्त गर्न खोज्ने आतङ्ककारीहरूविरुद्ध लड्न महत्त्वपूर्ण सहरहरूमा” सैन्य कानुन कडाइपूर्वक लागु गर्ने उद्घोष गरे।

    उनले देशमा निर्वाचन हुने र निर्वाचित भएर आउने पक्षलाई सत्ता हस्तान्तरण गर्ने दाबी गरे पनि म्यान्मारमा जारी द्वन्द्वका कारण कहिले चुनाव हुन्छ भन्ने निश्चित छैन। केही मानिसले सोमवार सैन्य शासकको विरोध गरेका थिए । जापानको आक्रमणविरुद्ध लड्न दोस्रो विश्वयुद्धताका स्थापना भएको म्यान्मारको राष्ट्रिय सेनाले स्थापनाको ७८ औँ वार्षिकोत्सव मनाउन आयोजना गरेको परेडलाई ह्लाइङले सम्बोधन गरेका हुन्।

    पछिल्ला वर्षहरूमा म्यान्मारले आफ्नो सैन्य परेडलाई विशेष महत्त्व दिन थालेको छ। बाँकी विश्वबाट टाढिँदै गए पनि म्यान्मारको सैन्य शक्तिले विद्रोहीहरूविरुद्ध अझ बढी घातक कारबाही गरिरहेको छ। यद्यपि राजधानीभन्दा ५० किलोमिटर परका क्षेत्रहरूसम्म कतिपय विद्रोही समूह सक्रिय देखिन्छन्।

    विभिन्न अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद पनि म्यान्मारले चीन र रुसबाट समर्थन पाइरहेको छ। सैन्य परेडमा ती दुवै देशका प्रतिनिधिहरू पनि सहभागी भएका थिए। रुसी लडाकु विमान मी३५ सँगै चिनियाँ के८ विमान तथा हालै बेइजिङसँग खरिद गरिएको एफटीसी२००० जेट पनि म्यान्मारको सेनाले परेडका क्रममा प्रदर्शन गरेको थियो। सैन्य कूपछि विद्रोहीहरूको प्रभाव भएका क्षेत्रमा धेरै यस्ता अस्त्रहरू प्रयोग भएका छन् र तिनका कारण सर्वसाधारण नागरिक र बालबालिकाको पनि मृत्यु भएको छ।


    म्यन्मारमा निर्वाचित सरकार अपदस्थ गरेर उदाएका सैन्य नेतालाई सलामी दिने सैन्य एकाइहरूमा देशमा सर्वसाधारणको नरसंहार गरेकोसहित विभिन्न अत्याचार गरेको आरोप लागेका अधिकारीहरू पनि सहभागी थिए। तिनका कारण म्यान्मारले अन्तर्राष्ट्रिय प्रतिबन्ध र निन्दाको सामना गरिरहेको छ। गत शुक्रवार मात्रै संयुक्त राज्य अमेरिकाले म्यान्मारमाथि थप प्रतिबन्धहरूको घोषणा गरेको थियो।

    सर्वसाधारण मानिसहरूको बाक्लो बसोबास क्षेत्रमा हवाई आक्रमण गरिएको भन्दै नयाँ अमेरिकी प्रतिबन्ध जेट इन्धनको आपूर्तिलक्षित छन्। अन्य पश्चिमा देशहरूसँगै अमेरिकाले म्यान्मारको सैन्य सरकारका सदस्यहरूमाथि यसअघि नै प्रतिबन्ध लगाएको छ। यहाँको सेनाको आर्थिक स्रोत कम गर्न भन्दै सेनाले सञ्चालन गरेका कम्पनीहरूमाथि पनि प्रतिबन्ध लगाइएको छ। बीबीसी

  • अमेरिकामा निजी स्कुलमा चल्यो गोली, कम्तिमा ६ जनाको मृत्यु

    अमेरिकामा निजी स्कुलमा चल्यो गोली, कम्तिमा ६ जनाको मृत्यु

    काठमाडौं । अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित कम्तिमा ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली चलाएकी थिइन् । उनी पनि प्रहरीको गोली लागेर मारिएकी छन् । गोली लागेर स्कुलका विद्यार्थी र शिक्षिकाहरुसहित ६ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । मृत्यु हुने विद्यार्थीहरु ९ वर्ष मुनिका छन् ।

    मृत्यु भएका अन्यमा स्कुलकी प्रमुख, शिक्षिका र सुरक्षा गार्ड छन् । कोभेन्ट स्कुलमा करिब २०० विद्यार्थीहरु छन् । त्यहाँ तीन वर्षदेखि १२ वर्षसम्मका बालबालिकाहरु पढ्छन् । प्रहरीका अनुसार २८ वर्षीया महिला आन्ड्रे हेलले स्कुलमा गोली चलाएकी थिइन् । तर उनले स्कुलका अवोध बालबालिकाहरुलाई निशाना बनाउनुको कारण भने खुलेको छैन

  • स्पेनमा आगलागीका घटना बढ्दै, जंगलमा फैलिँदै

    स्पेनमा आगलागीका घटना बढ्दै, जंगलमा फैलिँदै

    काठमाडौं । स्पेनको भ्यालेन्सिया क्षेत्रमा भीषण आगलागीका घटना भएका छन् । शनिवारदेखि विशाल जङ्गलमा सुरु भएको आगलागीले अहिलेसम्म तीन हजार हेक्टर क्षेत्रफल जलेर ध्वस्त भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । जङ्गल वरपर एक हजार पाँच सय जना नागरिकलाई सुरक्षित स्थानमा सारिएको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ । दर्जनौँ दमकलसहित सात सय जना आगलागी नियन्त्रक खटिए पनि आगो निभेको छैन । चर्को खडेरी र तीव्र गतिको हावाका कारण आगो निभाउन कठिन भइरहेको आगलागी नियन्त्रणमा संलग्न अधिकारीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ ।

    अहिलेको आगलागीले गइकार्त वर्षको भीषण आगलागीको झल्को दिएको छ । गएको वर्ष स्पेनमा चार सय ९३ वटा आगलागीका कारण तीन लाख सात हजार हेक्टर क्षेत्र जलेको थियो । यस्तै युरोपमा गएको वर्ष आगलागीले सात लाख ८५ हजार हेक्टर क्षेत्रफलमा रहेको जङ्गल ध्वस्त भएको थियो । आगलागीबाट हुने १६ वर्षमा क्षति पोहोर एकै वर्ष भएको थियो । स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजले आगलागी निकै डरलाग्दो भएको उल्लेख गर्दै जलवायु परिवर्तनका कारण आइलागेका यस्ता विपत्तिले देशलाई ठूलो क्षति गरेको बताए ।

  • पोर्चुगलले लक्जमबर्गको पोष्टमा हान्यो ६ गोल

    पोर्चुगलले लक्जमबर्गको पोष्टमा हान्यो ६ गोल

    काठमाडौं । पोर्चुगलले लक्जमबर्गको पोष्टमा ६ गोल हानेको छ । युरो २०२४ को छनोट अन्तर्गत समूह जे को खेलमा पोर्चुगलले लक्जमबर्गमाथि ६–० को फराकिलो जित निकालेको हो। पहिलो हाफमा ४ गोल गरेको पोर्चुगलले दोस्रो हाफमा थप २ गोल गर्‍यो। पोर्चुगलको जितमा रोनाल्डोले दुई, जोआओ फेलिक्स, बर्नार्डो सिल्भा, ओटाभियो र राफेल लिओले थप १–१ गोल गरे।

    खेलको नवौं मिनेटमा गोल गर्दै रोनाल्डोले पोर्चुगललाई सुरूआती अग्रता दिलाएका थिए। १५ औं मिनेटमा जोआओ फेलिक्सले गोल गर्दै अग्रता दोब्बर पारे। त्यसको ३ मिनेटपछि सिल्भाले गोल गर्दै अग्रता तेब्बर पारे। खेलको ३१ औं मिनेटमा अल नासरका फरवार्डसमेत रहेका रोनाल्डोले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफ टाइममा टोलीलाई ४–० को अग्रता दिलाए। दोस्रो हाफको अन्त्यमा वैकल्पिक खेलाडी ओटाभियो र राफेल लिओले १–१ गोल गर्दै लक्जमबर्गको पोष्टमा आधा दर्जन गोल पुर्‍याए।

    यो सँगै पोर्चुगल युरो २०२४ छनोटका सुरूआती दुई खेल जितेर समूह जे को शीर्ष स्थानमा छ। बिहीबार लिकटेन्स्टाइन विरुद्ध पनि दुई गोल गरेका रोनाल्डोले युरोपियन च्याम्पियनसिप छनोटमा पोर्चुगलका लागि ३७ खेलबाट सर्वाधिक ३५ गोल गरे।

  • मोरक्कोले ब्राजिललाई हरायो

    मोरक्कोले ब्राजिललाई हरायो

    काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबलमा ब्राजिललाई मोरक्कोले पराजित गरेको छ । विश्वकपपछिको पहिलो खेलमा आइतबार बिहान मोरक्कोको घरेलु मैदानमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ब्राजिल २–१ ले पराजित भएको हो। मोरक्कोको जितमा सोफियाने बोउफल र अब्देलहामिद सबिरीले एक–एक गोल गरेका थिए। ब्राजिलका लागि एक गोल क्यासेमिरोले गरेका थिए। खेलको २९ औं मिनेटमा सोफियाने बोउफ गोल गर्दै मोरक्कोलाई सुरूआती अग्रता दिलाएका थिए।

    पहिलो हाफसम्म १–० गोल अन्तरले पछि परेको ब्राजिलका लागि खेलको ६७ औं मिनेटमा क्यासेमिरोले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए। तर खेलको ७९ औं मिनेटमा अब्देलहामिद सबिरीले गोल गर्दै मोरक्कोलाई पुनः अग्रता दिलाए। उक्त अग्रता जोगाएको मोरक्कोले ब्राजिलमाथि रोमाञ्चक जित निकाल्यो। विश्वकपमा मोरक्को सेमिफाइनलमा फ्रान्ससँग पराजित भएको थियो भने तेस्रो स्थानका लागि भएको खेलमा क्रोएसियासँग पराजित भएको थियो। अब अर्को मैत्रीपूर्ण खेलमा मोरक्कोले पेरुसँग खेल्दै छ।

  • जेल सजाय तोकिएका राहुल गान्धीको पत्रकार सम्मेलन, के भने ?

    जेल सजाय तोकिएका राहुल गान्धीको पत्रकार सम्मेलन, के भने ?

    नयाँ निल्ली । भारतीय कंग्रेस आईका नेता राहुल गान्धीले आफूलाई सांसद बन्नबाट अयोग्य बनाएर वा जेल हालेर तर्साउन नसक्ने प्रतिक्रिया दिएका छन् ।
    लोकसभाबाट सांसद पद खारेज भएपछि शनिबार पत्रकार सम्मेलनमा बोल्दै उनले आफूलाई कसैले पनि तर्साउन नसक्ने बताए । ‘उनीहरूले मलाई अयोग्य बनाएर वा जेल हालेर तर्साउन सक्दैनन्,’ उनले भने। अयोग्य बनाइए पनि आफूलाई त्यसको मतलब नभएको र आफ्नो तपस्या जनताको लोकतान्त्रिक अधिकारको रक्षा गर्नु भएको बताए।

    ‘म यहाँ जनताको लोकतान्त्रिक अधिकारको रक्षा गर्न आएको हुँ। मलाई उनीहरूको डर छैन,’ उनले भने, ‘म प्रधानमन्त्री मोदी र गौतम अदानीबीचको सम्बन्धबारे प्रश्न गरिरहनेछु।’ यस्तै, आफूले अदानीविरूद्ध अर्को भाषण गर्न लागेको हुँदा प्रधानमन्त्री मोदी डराएकाले आफ्नो सांसद पद खारेज गरेको पनि उनले बताए। संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक मुलुक भारतमा प्रतिपक्षीहरूको आवाज चर्को रूपमा उठाउँदै आएका गान्धीलाई बिहीबार मानहानी मुद्दामा २ वर्ष जेल सजाय सुनाइएको थियो।

    सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो। ती दफामा अपराधिक मानहानीमा अधिकतम् २ वर्ष कैद सजाय हुन सक्ने व्यवस्था छ। चार वर्षअघि लोकसभा चुनावका क्रम कर्नाटकाको कोलारमा भाषण गर्दै गान्धीले ‘सबै चोरहरूको मोदी साझा थर कसरी भयो ?’ भन्ने अभिव्यक्ति दिएका थिए।

    गान्धीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको थरबारे गरेको टिप्पणीलाई लिएर भाजपाका एक नेताले अदालतमा मानहानी मुद्दा हालेका थिए। उक्त अभिव्यक्तिले आफूहरूको अपमान भएको भन्दै गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले अदालतमा मुद्दा हालेका थिए। भाजपाको गढ र मोदीको गृहराज्य गुजरातमा रहेको उक्त अदालतमा बयान दिने क्रममा गान्धीले आफ्नो आशय कुनै जाति र समुदायलाई चोट पुर्‍याउने नभएको बताएका थिए।

    चुनावी भाषणका क्रममा दिएको अभिव्यक्तिलाई आधार मानेर अदालतले उनलाई अधिकतम् सजाय सुनाएको हो। दुई वर्षको सजाय सुनाए पनि सुरत जिल्ला अदालतले गान्धीलाई आफ्नो फैसलाविरूद्ध पुनरावेदन गर्ने भए ३० दिनको समय दिएको छ भने तत्कालका लागि १० हजार भारू धरौटीमा छोडेको छ। अदालतको आदेश कार्यान्वयन नै नभएको अवस्थामा त्यही कुरालाई आधार मानेर लोकसभाले शुक्रबार उनको सांसद पद खारेज गरिदिएको हो।

  • राहुल गान्धीको सांसद पद खारेज

    राहुल गान्धीको सांसद पद खारेज

    एजेन्सी । भारतमा प्रमुख प्रतिपक्षी दल कंग्रेस आईका नेता एवं लोकसभा सदस्य राहुल गान्धीलाई लोकसभा सदस्य हुन अयोग्य घोषणा गरिएको छ।

    चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको हो ।

    गान्धी सन् २०१९ को चुनावमा केरलाबाट लोकसभा सदस्य निर्वाचित भएका थिए।

    बिहीबार सुरत जिल्ला अदालतले गान्धीलाई भारतीय अपराध संहिताको दफा ४९९ र ५०० मा दोषी ठहर गर्दै जेल सजाय सुनाएको थियो।

  • युद्ध अन्त्य गर्न सक्ने पुटिनको संकेत

    युद्ध अन्त्य गर्न सक्ने पुटिनको संकेत

    काठमाडौं बीबीसी । युक्रेनका लागि चीनले तयार गरेको शान्ति योजनाहरूलाई युद्ध अन्त्य गर्ने आधार बनाउन सकिने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन्। यद्यपि, पश्चिम र किएभ तयार भएपछि मात्र ती योजना कार्यान्वयनका लागि अघि सार्न सकिने उनको भनाई छ। रुसी राष्ट्रपतिले मङ्गलवार मस्कोमा चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग द्वन्द्व र दुई देशबीचको सम्बन्धबारे छलफल गरेका थिए।

    गत महिना प्रकाशित चीनको योजनाले रुसी सेनालाई युक्रेनी भूभाग छोड्न स्पष्ट आह्वान गरेको छैन। बाह्र बुँदाहरू सूचीबद्ध योजनामा कुनै विशेष सर्त बिना शान्ति वार्ता र राष्ट्रिय सार्वभौमसत्ताको सम्मान गर्न सुझाव दिइएको छ। युक्रेनले कुनै पनि वार्ताका लागि रुसले आफ्नो भूभाग छोड्नु पर्ने बताएको छ। तर रुस त्यसो गर्न तयार भएको सङ्केत देखिँदैन।

    अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्कनले सोमवार ुयुक्रेनी भूभागबाट रुसी सेनालाई हटाउनेबारे केही उल्लेख नगरी युद्ध विराम आह्वान गर्नुले रुसको जितलाई अनुमोदन गर्न बल पुर्‍याउनेु बताएका थिए। सीसँगको बैठक सकिएपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा पुटिनले भने, ‘चिनियाँ शान्ति योजनाका धेरै प्रावधानहरूलाई युक्रेनमा द्वन्द्व समाधानको आधारका रूपमा लिन सकिन्छ। तर त्यसका लागि पश्चिम र किएभ तयार हुनुपर्छ।’

    तर रुसले युद्धको दोस्रो पक्षबाट यस्तो तत्परता देख्न नसकेको उनले बताए। रुसी नेतासँगै उभिएका सीले आफ्नो सरकार शान्ति र वार्ताको पक्षमा रहेको र चीन इतिहासको सही पक्षमा रहेको बताए। उनले बेइजिङलाई सम्भावित शान्ति निर्माताका रूपमा प्रस्तुत गर्न खोज्दै युक्रेन युद्धबारे चीन निष्पक्ष रहेको दाबी गरे।

    यी दुई शीर्षस्थ नेताले आफ्ना देशहरूबीचको बढ्दो व्यापार, ऊर्जा र राजनीतिक सम्बन्धका बारेमा पनि छलफल गरेका थिए। चीन रुसको प्रमुख वैदेशिक व्यापार साझेदार हो, राष्ट्रपति पुटिनले चीनसँगको गत वर्ष सुरु भएको उच्च स्तरीय व्यापार सम्बन्ध कायम राख्ने वाचा गर्दै भने। यसअघि सीले चीन र रुसलाई महान् छिमेकी शक्ति तथा रणनीतिक साझेदारुको संज्ञा दिएका थिए।

  • अफगानिस्तानमा भुकम्प, भारत र पाकिस्तानसम्म धक्का

    अफगानिस्तानमा भुकम्प, भारत र पाकिस्तानसम्म धक्का

    काठमाडौं । अफगानिस्तानको फैजाबाद केन्द्रविन्दु भएर गएको भूकम्पको कारण कम्तिमा पाँच जनाको मृत्यु भएको छ भने करिब ५० जना घाइते भएका छन् ।

    मंगलबार राति अफगानिस्तानको जर्म शहरभन्दा करिब ४० किलोमिटर दक्षिण पूर्व केन्द्रविन्दु भएर ६.५ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पको कडा झड्का अफगानिस्तानसँगै पाकिस्तान र भारतमा पनि महसुस गरिएको थियो

    विपद् व्यवस्थापन मन्त्री सफिउल्लाह रहिमीले सीएनएनलाई दिएको जानकारी अनुसार अफगानिस्तानको लाघमन प्रान्तमा दुई जनाको मृत्यु र ८ जना घाइते भएका छन् ।

    यसैगरी दुई बच्चासहित अरु तीन जनाको उत्तरी पाकिस्तानमा मृत्यु भएको छ । अन्य ४१ जना घाइते भएका छन् । पाकिस्तानको अब्बोटावाद शहरमा भूकम्पका कारण पहिरो जाँदा बाटो पनि बन्द भएको सीएनएनले जनाएको छ ।

    भूकम्पको धक्का भारतको राजधानी नयाँदिल्ली, राजस्थान, जम्मु कश्मीरका पनि महसुस गरिएको थियो ।

  • के साच्चै पक्राउ पर्न सक्छन् पुटिन ?

    के साच्चै पक्राउ पर्न सक्छन् पुटिन ?

    काठमाडौं । द हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । यसले आम मानिसमा जिज्ञासा पैदा भएको छ, के पुटिन साच्चिकै पक्राउ पर्न सक्छन् ? अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार पक्राउ पूर्जी एउटा लामो प्रक्रिया अन्तर्गतको पहिलो कदम मात्रै हो। संयुक्त राष्ट्रसङ्घले स्पष्ट रूपमा के विश्वास गरेको छ भने रुसी नेतालाई युक्रेनमा भएका युद्ध अपराधका लागि आरोप लगाउन पर्याप्त प्रमाण भने छन्।

    तर यस्ता मुद्दालाई अघि बढाउन व्यावहारिक र स्रोत साधनसम्बन्धी ठूला समस्या देखा पर्ने बीबीसीले लेखेको छ । उता, अमेरिकी राष्ट्रपति जो बाइडनले पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गर्ने निर्णयको स्वागत गरेका छन्। उनले संवाददाताहरूसँग कुरा गर्दै पुटिनले स्पष्ट रूपमा युद्ध अपराध गरेको बताए।


    अहिलेको अवस्थामा आफ्नो देशभित्र पुटिनलाई चुनौती दिनसक्ने कुनै पनि शक्ति छैन। त्यही भएर क्रेमलिनले उनलाई आईसीसी समक्ष बुझाउने कुनै सम्भावना नभएको समेत समाचारमा बताइएको छ । उनी रुसभित्रै रहेसम्म पक्राउ पर्ने कुनै जोखिम छैन। उनी देशबाहिर गएको अवस्थामा भने पक्राउ पर्न सक्छन्। तर अन्तर्राष्ट्रिय प्रतिबन्धले आवतजावतको स्वतन्त्रता गम्भीर रूपमा सङ्कुचित भइसकेकाले आफूविरुद्ध मुद्दा चलेको देख्न चाहने कुनै पनि मुलुकको भ्रमण उनले गर्ने छैनन् ।

    रुसी फौजले फेब्रुअरी २०२२ मा युक्रेनमा आक्रमण गरेयता उनले जम्मा ८ वटा देशको भ्रमण गरेका छन्। त्यसमध्ये सातवटा रुस नजिकैका देश पर्छन् र ती सन् १९९१ को अन्त्यमा सोभियत सङ्घ विघटन हुनुअघिसम्म त्यसकै हिस्सा रहेका थिए। त्यसबाहेक उनले अघिल्लो वर्षको जुलाईमा इरानको भ्रमण गरेर त्यहाँका सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईसँग भेटेका थिए। इरान रुसको पक्षमा उभिएको छ र उसले युक्रेनविरुद्धको लडाइँका लागि ड्रोन र अन्य सैन्य सामाग्रीहरू मस्कोलाई उपलब्ध गराइरहेको छ। तेहरानको भ्रमण गर्दा पनि उनलाई कुनै जोखिम देखिँदैन।

  • गुपचुप चम्किँदै हाल्याण्ड, ५ दिनमा दुई ह्याट्रिक

    गुपचुप चम्किँदै हाल्याण्ड, ५ दिनमा दुई ह्याट्रिक

    काठमाडौं । इर्लिङ हाल्यान्ड गुपचुप स्टार बन्दै निरन्तर चम्किरहेका छन् । उनले पछिल्लो पाँच दिनमा दुई ह्याट्रिक पुरा गरेका छन् । उनको ह्याट्रिकको मद्दतमा म्यानचेस्टर सिटीले शनिबार एफएकपमा बर्नलीलाई ६–० ले हराउन सफल भयो । सिटी सेमिफाइनल प्रवेश गरेको छ । हाल्यान्डले यसअघि युरोपेली च्याम्पियन्स लिगमा लाइपजिगविरुद्ध पाँच गोल गरेका थिए ।

    यससँगै यो सिजन उनको व्यक्तिगत गोल संख्या सबै प्रतियोगितामा गरेर ४२ पुगेको छ । रुद भान निस्टलरोय र मोहमद सलाहको नाममा रहेको एकै सिजन सर्वाधिक गोलको कीर्तिमानबाट उनी दुई मात्र पछाडि छन् । सिटीले च्याम्पियनसिप लिगको शीर्ष स्थानमा रहेको टिममाथि एतिहाडमा प्राप्त यस जितमा जुलियन एल्भारेजले दुई गेल गरे र एक गोल कोल पाल्मरको नाममा रहेको छ ।