Category: विश्व

  • विश्वकप : फ्रान्स अन्तिम १६ मा-चम्किए एमबाप्पे

    विश्वकप : फ्रान्स अन्तिम १६ मा-चम्किए एमबाप्पे

    काठमाडौं । साविक विजेता फ्रान्स फिफा विश्वकप २०२२ को अन्तिम १६ मा प्रवेश गरेको छ। शनिबार राति सम्पन्न समूह ‘डी’ को खेलमा फ्रान्सले डेनमार्कलाई पराजित गर्दै अन्तिम १६ मा पुगेको हो । लगातार दोस्रो जित निकाल्ने क्रममा फ्रान्सले २–१ गोलको जित निकाल्यो। दुवै गोल केलियन एमबाप्पेले गरे। उनले पहिले गोल ६१ मिनेटमा गरेका थिए।

    तर ६८ मिनेटमा क्रिस्टिनसनले डेनमार्क लागि बराबरी गोल फर्काए। खेल सकिन चार मिनेट बाँकी छदा एमबाप्पेले टिम तथा व्यक्तिगत दोस्रो गोल गरे। उनले विश्वकपमा आफ्नो गोल संख्या ७ पुर्‍याएका छन् भने विश्वकपमा पछिल्ला तीन खेलमा लगातार गोल गरेका छन्। यता फ्रान्सले विश्वकपमा लगातार ६ खेल जित्ने कीर्तिमान समेत बनाएको छ। सन् २०१० मा स्पेनले लगातार ६ खेल जितेपछि फ्रान्स लगातार ६ खेलमा विजयी हुने पहिलो टिम बन्यो।

    अन्तिम १६ मा पुगेको फ्रान्सले समूहमा २ खेलबाट ६ अंक जोडेको छ। यसअघि पहिलो खेलमा फ्रान्सले अस्ट्रेलियालाई हराएको थियो। शनिबार नै समूहमा टयुनिसियालाई हराएको अस्ट्रेलियाले ३ अंक जोडेको छ। पहिलो खेलमा एकआपसमा बराबरी खेलेका डेनमार्क र ट्युनिसियाको भने एक एक अंक छ।

  • विश्वकप : साउदीलाई हराउँदै पोल्याण्डले जोड्यो तीन अंक

    विश्वकप : साउदीलाई हराउँदै पोल्याण्डले जोड्यो तीन अंक

    काठमाडौं । फिफा विश्वकप २०२२ मा पोल्यान्डले पहिलो जित हात पारेको छ। पोल्यान्डले शनिबार भएको खेलमा साउदी अरेबियालाई २–० गोलले पराजित गर्‍यो। पोल्यान्डले पहिलो हाफ सकिन ६ मिनेट बाँकी छदा अग्रता लिएको थियो। ३९ मिनेटमा पिटर जेलेस्कीले गोल गर्दै पोल्यान्डलाई १–० गोलले अघि बढाएका थिए। पहिलो हाफको अन्तिम मिनेटमा साउदी अरेबियाले पेनाल्टी पाएको थियो।

    बराबरी गर्ने सुन्दर सो मौकामा साउदीका अल्बुरायक सफल भने हुन सकेनन्। उनको पेनाल्टी प्रहारलाई पोल्यान्डका गोलकिपर सेजेन्कीले विफल पारेका थिए। ८२ मिनेटमा पोल्यान्डले अग्रता दोब्बर पार्न सफल भयो। साउदीका मिडफिल्डर अल माल्किले डिबक्समा बललाई राम्रोसँग नियन्त्रण गर्न नसक्दा लेवान्डोस्कीले डिबक्सबाट सहज गोल गरेका थिए। कप्तान लेवान्डोस्कीको यो ७७औं अन्तर्राष्ट्रिय गोल हो। यस्तै उनले विश्वकपमा भने पहिलो गोल गर्न सफल भए।

    जितसँगै समूह ‘सी’ मा पोल्यान्ड दुई खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ। दोस्रो स्थानको साउदीको ३ अंक छ भने मेक्सिको १ अंकसहित तेस्रो स्थानमा छ। पुछारको अर्जेन्टिना अंकबिहीन छ। आज राति मेक्सिको र अर्जेन्टिना भिड्दैछन्। यसअघि आफ्नो पहिलो खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २१ गोलले हराएको थियो। पोल्यान्डले भने मेक्सिकोसँग गोलरहित बराबरी खेलेर अंक बाँडेको थियो।

  • विश्वकप अगाडीको मैत्रिपूर्ण फूटबलमा अर्जेण्टिनाको सानदार जित, ३६ औं खेलसम्म अपराजित

    विश्वकप अगाडीको मैत्रिपूर्ण फूटबलमा अर्जेण्टिनाको सानदार जित, ३६ औं खेलसम्म अपराजित

    दोहा । कतार विश्वकपको मुखमै अर्जेन्टिनाले मैत्रिपूर्ण फूटबलमा सानदार जित निकालेको छ । बुधबार राती सम्पन्न खेलमा अर्जेण्टिनाले यूएईलाई ५–० गोलले हरायो । यससँगै अर्जेण्टिनाले आफ्नो बलियो दावेदारी समेत प्रस्तुत गर्न सफल भयो । अबुधाबीमा भएको खेलमा सहज जितसँगै अर्जेन्टिनाले अन्तर्राष्ट्रिय फुटबलमा अपराजित यात्रालाई ३६ खेलसम्म पुर्‍याउन समेत सफल भयो । अब लगातार ३७ खेलसम्म अपराजित रहेको इटलीको कीर्तिमान बराबरी गर्नबाट अर्जन्टिना एक खेल पर छ । सन् २०१९ को कोपा अमेरिका सेमिफाइनलमा ब्राजिलसँग पराजित भएयता अर्जेन्टिना हारेको छैन ।

    कतारमा आइतबार सुरु हुने विश्वकपअघि अभ्यासको रुपमा खेलिएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल डि मारिया र कप्तान लिओनल मेसीले उत्कृष्ट प्रदर्शन गरे । डि मारियाले दुई गोल गरे । मेसीसहित जुलियन अल्भारेज र जाक्विन कोरेअले समान एक गोल गरे । अर्जेन्टिनाले पहिलो हाफमै चार गोल गरेको थियो भने दोस्रो हाफमा एक गोल थपेको हो । कतार विश्वकपमा समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग पहिलो खेल खेल्नेछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छन् ।

  • विश्वकप उचाल्न ८३१ फूटबलर कतारमा

    विश्वकप उचाल्न ८३१ फूटबलर कतारमा

    काठमाडौं । कतारमा मंसिर ४ बाट सुरु हुने विश्वकप फुटबलमा कूल ८३१ खेलाडी सहभागिता हुने निश्चित भएको छ । विश्व फुटबल महासंघ (फिफा) ले विश्वकपमा सहभागी देशले मंगलबारसम्म अन्तिम खेलाडीको नाम दर्ता गराईसक्नु पर्ने प्रावधान राखेको थियो । जसअनुसार मंगलबारसम्म विश्वकपका लागि सहभागी ३२ देशले कूल ८३१ खेलाडी दर्ता गराएका हुन् ।

    मंगलबारसम्म सहभागी सबै देशले आफ्नो अन्तिम टोलीको घोषणा समेत गरिसकेका थिए । फिफाले सार्वजनिक गरेको सुची अनुसार यस विश्वकपमा सबैभन्दा कम २५ जना खेलाडी इरानले दर्ता गराएको छ । अन्य सबै टोलीले २६ जना खेलाडी दर्ता गराएका छन् । फिफाले कोभिड–१९ पछि टोलीका २६ जना खेलाडी राख्न पाउने नयाँ प्रावधान राखेको छ । यसअघि अन्तिममा २३ खेलाडी राख्ने प्रावधान थियो ।

    यस विश्वकपमा विश्व फुबटलका दुई चर्चित खेलाडी अर्जेन्टिनाका ३५ वर्षीय लियोनल मेस्सी र पोर्चुगलका ३७ वर्षीय क्रिस्टियानो रोनाल्डो पाँचौं पटक विश्वकप खेल्दैछन् । कप्तानको भूमिकामा रहनुभएका दुवै जनाका लागि यो अन्तिम विश्वकप हुने छ । एकमहिना चल्ने विश्वकपमा सहभागी ३२ देशलाई आठ समूहमा विभाजन गरिएको छ ।

    समूहका शीर्ष दुई टोली नकआउट चरणमा प्रवेश गर्नेछन् । त्यसपछि आठ टोली क्वाटरफाइनल, चार टोली सेमिफाइनल हुँदै दुई टोलीले डिसेम्बर १८ तारिख फाइनल खेल्नेछन् । सेमिफाइनलमा पराजित टोलीबीच डिसेम्बर १७ तारिखमा तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

    विश्वकप फुटबलले २१ औँ संस्करण पार गर्दा हालसम्म आठ देशलेमात्र उपाधि चुमेका छन् । विश्वकपको सर्वाधिक उपाधि चुम्ने देश ब्राजिल हो । ब्राजिलले पाँच पटक उपाधि उचालेको छ । यसैगरी ब्राजिलपछि जर्मनी र इटालीले चार चार पटक, अर्जेन्टिना, उरुग्वे र फ्रान्सले दुई दुई तथा इङ्गल्यान्ड र स्पेनले एक एक पटक उपाधिको स्वाद चाखेका छन् ।

  • मेसीको प्रक्षेपण : ब्राजिल, फ्रान्स र इंल्याण्ड विश्वकपका मूख्य दावेदार

    मेसीको प्रक्षेपण : ब्राजिल, फ्रान्स र इंल्याण्ड विश्वकपका मूख्य दावेदार

    काठमाडौं । अर्जेन्टिनाइन कप्तान लिओनल मेसीले ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड विश्वकप २०२२ का मुख्य दाबेदार रहेको बताएका छन् । अन्य देशले भने अर्जेण्टिनालाई दोदार मानिरहेका छन् । पेरिस सेन्ट जर्मेनबाट खेल्ने ३५ वर्षीय फरवार्ड कतारमा विश्वकप जित्दै खेल करिअरलाई सुखद बनाउन र अर्जेन्टिनालाई १९८६ पछि पहिलो ट्रफी जिताउन लयमा छन् ।

    ‘जब हामी दाबेदारबारे कुरा गर्छौं । हामी सधैं एउटै टिमका बारेका कुरा गर्छौं,’ साउथ अमेरिका फेडेरेसनसँगको कुराकानीमा मेसीले भने, ‘मैले कुनै टिमलाई माथि राख्नुपर्यो भने मेरो विचारमा ब्राजिल, फ्रान्स र इंग्ल्याण्ड अन्य टिमभन्दा माथि छन् । तर विश्वकप धेरै कठिन छ त्यसैले जे पनि हुन सक्छ ।’

    कोपा अमेरिका च्याम्पियन अर्जेन्टिना अन्तर्राष्ट्रिय फुटबलमा ३५ खेलसम्म अपराजित छ । मेसीको यो अन्तिम विश्वकप हुने उनले बताइसकेका छन् । त्यसैले यस पटक मेसीकै लागि उपाधि जित्न अन्य खेलाडी पनि मोटिभेट भएका छन् ।

    ‘हामी धेरै उत्साहित छौं । हामी राम्रो समूहमा छौं तर हामी विस्तारै अघि बढ्ने सोचमा छौं,’ मेसीले भने, ‘हामी विश्वकप राम्रो तरिकाले सुरु गर्ने आशमा छौं ।’ विश्वकप फुटबलको उदघाटन आगामी मंसिर ४ गते अर्थात् नोभेम्बर २० मा कतारमा सुरु हुँदैछ । समूह ‘सी’ मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरुवात गर्नेछ । त्यसपछि मेक्सिकोसँग नोभेम्बर २६ र पोल्याण्डसँग नोभेम्बर ३० मा खेल्नेछ ।

  • अमेरिकामा तीन फुटबल खेलाडीको गोली हानी हत्या

    अमेरिकामा तीन फुटबल खेलाडीको गोली हानी हत्या

    काठमाडौं\एजेन्सी । अमेरिकामा तीन जना फुटबल खेलाडीको गोली हानी हत्या भएको छ । बीबीसीका अनुसार युनिभर्सिटी अफ भर्जिनिया फुटबल टोलीका सदस्यलाई गोली हानी हत्या गरिएको छ । आइतवार बेलुका फिल्ड ट्रिपबाट फर्किएका विद्यार्थीले भरिएको बसमा गोली चलेको हो ।

    ज्यान गुमाउनेमा विद्यार्थी डेभिन चन्डलर, डिसेन पेरी र रिच हिल रहेका छन् । घटनामा अरु दुई जना घाइते भएका बीबीसीले लेखेको छ । गोली चलाएको आरोपमा एक जना पक्राउ परेका र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

  • विश्वकपमा पहिलो पटक महिला रेफ्री

    विश्वकपमा पहिलो पटक महिला रेफ्री

    काठमाडौं । आगामी ४ मंसिरबाट कतारमा शुरु हुने विश्वकप फूटबल धेरै अर्थमा पृथक रहनेछ । यसमध्ये एक हो, महिला रेफ्री । पहिलोपल्ट विश्वकपका खेल महिला रेफ्रीले खेलाउने निश्चित भएको छ । यो विश्वकप इतिहासकै कीर्तिमान हुने छ । इतिहास फ्रान्सकी स्टेफेनी फ्रापार्ट, रुवान्डाकी सलिमा मुकानसन्गा र जापानकी योसिमी यामाशिताको नाममा लेखिँदैछ ।

    अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले जारी गरेको सूचि अनुसार ३६ रेफ्रीको नाम उल्लेख छ । जसमा तीन जना महिला छन् । थप तीन महिला सहायक रेफ्रीका रुपमा रहेका छन् ६९ सहायक रेफ्रीमा उनीहरूको नाम समेत छ । सहायक महिला रेफ्रीमा ब्राजिलकी नुजा ब्याक, मेक्सिकोकी करेन डियाज मेडिना र अमेरिकाकी क्याथरन नेस्बिटको नाम उल्लेख छ ।

  • अमेरिकी सिनेटमा बाइडेनको पकड कायमै

    अमेरिकी सिनेटमा बाइडेनको पकड कायमै

    काठमाडौं । नभाडामा भएको जितसँगै अमेरिकाको माथिल्लो सदन सिनेटमा डेमोक्र्याटिक दलले आफ्नो बहुमत कायम राख्ने भएको छ। तीव्र प्रतिस्पर्धामा उनीहरूकी उम्मेदवार क्याथरिन कोर्टेज मास्टोले डोनल्ड ट्रम्पले समर्थन गरेका रिपब्लिकन उम्मेदवार एडम ल्याक्सल्टलाई पराजित गरेको बीबीसीले लखेको छ ।
    मास्टो ६ वर्ष अघि अमेरिकी सिनेटमा चुनिने पहिलो ल्याटिन महिला बनेकी थिइन्। डेमोक्र्याटहरूसँग अब ५० सिट रहेको छ भने रिपब्लिकनहरूसँग ४९ सिट छ।

    जोर्जियामा डिसेम्बर महिनामा फेरी हुन लागेको चुनावले बाँकी एउटा सिट तय गर्नेछ। यदि सिनेटमा दुवै दलको बराबरीको अवस्था आएको खण्डमा उपराष्ट्रपति कमला ह्यारिसलाई मतदानको अधिकार हुनेछ। सर्वेक्षणहरूले कमजोर व्यक्तिगत समर्थन रहेको भनी देखाएका र ४० वर्ष यताकै ठूलो मूल्यवृद्धि नियन्त्रणका लागि सङ्घर्ष गरिरहेका राष्ट्रपति बाइडनका लागि यो महत्त्वपूर्ण उपलब्धि भएको समेत बीबीसीले लेखेको छ ।

    नभेडाको नतिजापछि बाइडनले चुनावमा देखिएको मतदाताको उत्साहजनक उपस्थितिप्रति आफू ज्यादै सन्तुष्ट रहेको बताए। उनले अब रिपब्लिकनहरूले ‘आफू को हो’ भनेर निर्क्योल गर्नुपर्ने अवस्था आएको उल्लेख गरे।

    डेमोक्र्याट दलका सिनेटका नेता चक सुमरले अमेरिकी नागरिकले चुनावी परिणामबाट मतदाताले रिपब्लिकन दलका ‘द्वन्द्व फैलाउने खालका अभिव्यक्ति’ अस्वीकार गरेको देखिएको बताए। नभेडामा मतगणना भइरहँदा पूर्व राष्ट्रपति ट्रम्पले डेमोक्र्याटले ‘सबै प्रकारको मत’ खोजेको आरोप लगाए तर त्यसलाई पुष्टि गर्ने कुनै प्रमाण भने दिएनन्।

    उनले प्रमाण नदिईकन रिपब्लिकनहरूको प्रभाव रहेका एरिजोनाका कैयौँ ठाउँमा मतदानमा प्रयोग गरिएका मेशिनहरूले पनि काम नगरेको बताए। रिपब्लिकन पार्टी हाउस अफ रेप्रिजेन्टेटिभमा जीत हासिल गर्ने दिशामा उन्मुख छ। त्यसले कानुन निर्माण सम्बन्धी बाइडनका कतिपय महत्त्वाकाङ्क्षा नियन्त्रण गर्नसक्छ। तर सिनेटमा बहुमत हुने दलले राष्ट्रपतिले गरेका सिफारिसका आधारमा सर्वोच्च अदालत सहित सङ्घीय अदालतहरूमा नियुक्तिहरू गर्न सक्छ।

    तल्लो सदनका सदस्यको कार्यकाल २ वर्षको हुन्छ भने सिनेट सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ। हरेक दुई वर्षमा तिनको निर्वाचन हुन्छ। राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि हुने निर्वाचनलाई मिड टर्म इलेक्सन भन्ने गरिन्छ। मङ्गलवार हाउस अफ रेप्रिजेन्टेटिभ्सको सबै सदस्य अनि सिनेटको एक तिहाइ सदस्यको निम्ति निर्वाचन भएको थियो।

    साथै कतिपय राज्यले तिनको गभर्नर तथा स्थानीय अधिकारी चयन गर्न पनि मङ्गलवार निर्वाचन गराएका थिए। यी दुई सदनहरूले राष्ट्रव्यापी कानुन निर्माण गर्छन्। सिनेटलाई राष्ट्रपतिले गरेका नियुक्ति अनुमोदन गर्ने अधिकार हुन्छ भने राष्ट्रपतिमाथि छानबिनसमेत उसले गर्न सक्छ। प्रत्येक राज्यबाट २ जना सिनेटर निर्वाचित हुन्छन्।

  • टी-२० विश्वकपको फाइनल आज, पाकिस्तान र इङ्ल्याण्ड भिड्दै

    टी-२० विश्वकपको फाइनल आज, पाकिस्तान र इङ्ल्याण्ड भिड्दै

    मेलवर्न । आईसीसी टी–२० विश्व कप क्रिकेटको उपाधिका लागि आज खेल हुँदैछ । उपाधीका लागि इङ्ल्यान्ड र पाकिस्तान भिड्दैछन् । फाइनल खेल अस्ट्रेलियाको मेलबर्न मैदानमा नेपाली समय अनुसार दिउँसो पौने दुई बजे सुरु हुँदैछ । इङ्ल्यान्ड र पाकिस्तान तेस्रो पटक फाइनलमा पुगेका छन् ।

    यो संस्करणको विजेताले दोस्रो पटक उपाधि जितेर वेस्ट इन्डिजसँगको रेकर्ड बराबरी गर्र्दछ । पाकिस्तानले सेमिफाइनलमा न्युजिल्यान्डलाई हराएको थियो भने इङ्ल्यान्डले भारतलाई हराएको हो । पाकिस्तान सन् २००९ को टी–२० विश्व कप च्याम्पियन र इङ्ल्यान्ड सन् २०१० को च्याम्पियन टोली हो ।

  • दक्षिण कोरियाले घोषणा गर्यो विश्वकप खेल्ने टीम

    दक्षिण कोरियाले घोषणा गर्यो विश्वकप खेल्ने टीम

    काठमाडौं । दक्षिण कोरियाले विशवकप खेल्ने टीमको घोषणा गरेको छ । कोरियाले ह्युङ मिन सनको कप्तानीमा मंसिर ४ गतेबाट कतारमा सुरू हुने फिफा विश्वकपको लागि टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक पाउलो बेन्टोले अनुहारको चोटमुक्त हुने क्रममा रहेका इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेका छन् ।

    च्याम्पियन्स लिगअन्तर्गत मार्सेविरुद्धको खेलमा अनुहारमा चोट लागेका सनले नोभेम्बर २ यता खेलेका छैनन्। टोलीमा इटालियन क्लब नेपोलीका डिफेन्डर किम मिन जाई र रियल मायोर्काका मिडफिल्डर लि काङले स्थान बनाएका छन्। समूह एचमा रहेको लक्षिण कोरियाले पहिलो खेल मंसिर ८ गते उरूग्वेविरूद्ध खेल्नेछ। यस्तै दोस्रो खेलमा मंसिर १२ गते घानाविरूद्ध खेल्ने कोरियाले तेस्रो खेल पोर्चुगलविरूद्ध मंसिर १६ गते खेल्नेछ।

    दक्षिण कोरियाको विश्वकप टोली

    गोलकिपर – किम सेउङ–ग्यु, जो ह्योन वु र सङ बम किन
    डिफेन्डर – किम मिन जाई, किम जिन सु, होङ चुल, किम मुन ह्वान, यून जोङ ग्यु, किम योङ ग्वन, किम ताए ह्वान, क्वोन क्युङ वोन र चो यो मिन
    मिडफिल्डर – जङ वू–योङ, ना साङ हो, पाईक सेउङ हो, सन जुन हो, सोङ मिन–क्यु, क्वोन चाङ हुन, ली जे सुङ, ह्वाङ हे चान, ह्वाङ इन बियोम, जेअङ वु यङ र ली काङ इन
    फरवार्ड – ह्युङ मिन सन, ह्वाङ उइ जो र चो गुए सुङ

  • ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो

    ट्वीटर ‘पेड ब्लू टीक’ योजनाबाट पछि हट्यो

    काठमाडौं\एजेन्सी। ट्वीटरको ब्लु टिकका लागि मासिक ८ डलर तिर्नुपर्ने एलन मस्कको निर्णय फिर्ता भएको छ । अमेरिकामा फर्जी ट्वीटर अकाउन्टहरूले ८ डलर तिरेर ब्लु टिक प्राप्त गरेको र ती भेरिफाइड अकाउन्टबाट फेक ट्वीट गरेको पाइएपछि ट्वीटरले शुक्रबारबाट ब्लु टिकका लागि शुल्क तिर्नुपर्ने नियम रद्द गरेको जनाएको छ । मस्कले ट्वीटर खरिद गर्नु अगाडि ट्वीटरमा अकाउन्ट भेरिफिकेसन अर्थात् ब्लु टिक केवल सेलिब्रेटी, पत्रकार तथा नेताले प्राप्त गर्दथे ।

    तर मस्कले नयाँ नियम लागू गर्दै एउटा फोन, क्रेडिट कार्ड र हेरक महिना ८ डलर खर्च गर्नसक्ने क्षमता भएका जो कोहीले पनि ब्लु टिक हासिल गर्नसक्ने स्थिति थियो । ट्वीटरले हालै आफ्नो प्लाटर्फममा ब्लु टिक फिचरका लागि प्रयोगकर्ताबाट ८ अमेरिकी डलर असुली गर्ने निर्णय गरेको थियो । उक्त शुल्कको बदलामा कम्पनीले प्रयोगकर्तालाई विभिन्न एक्सक्लूसिभ फिचर उपलब्ध गराउने पनि बताएका थियो ।

    तर, पैसा तिरेर ब्लु टिक लिन सकिने नियम लागू भएसँगै यसको दुरुपयोग भएका समाचार आएका छन् । ट्वीटरका सीईओ एलन मस्कले मूलधारका मिडिया तथा मिडिया अभिजात वर्गको आलोचना गर्दै नागरिक पत्रकारिताबाट बढ्दो प्रतिस्पर्धाले मूलधारका मिडियाको सूचनाहरुलाई अवरोध गर्ने बताएका छन् ।

    शुक्रबार एक ट्वीट गर्दै उनले नागरिक पत्रकारितालाई माथि उठाउने ट्वीटरको लक्ष्यका विषयमा उल्लेख गरेका छन् । नागरिक पत्रकारिलाई माथि उठाउने लक्ष्यलाई ट्वीटरले पछ्याइरहेको तर मिडिया अभिजात वर्गले यसो गर्नबाट रोक्नका लागि सबैचिज गर्ने कोसिस गर्ने उनको दाबी छ ।

  • मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा

    मेसीको नेतृत्वमा अर्जेण्टिनाद्धारा विश्वकप खेल्ने टीम घोषणा

    काठमाडौं । अर्जेण्टिनाले विश्वकप खेल्ने टीमको घोषणा गरेको छ । सिनिरयर खेलाडी एन्जल डि मारिया तथा चोटग्रस्त पाउलो डिबला समेत अहिले टीममा समेटिएका छन् । विश्वकप ४ मंसिरबाट कतारमा शुरु हुँदैछ । प्रशिक्षक लिओनल स्कोलानीले शुक्रबार अर्जेन्टिनाको अन्तिम टोली घोषणा गरेका हुन् । यो विश्वकप स्टार फुटबलर लिओनल मेसीका लागि अन्तिम विश्वकप हुँदैछ ।

    विश्वका महान फूटबलरलाई यो टीम विश्वकप उपहार दिने लक्ष्यका साथ कतार आउनेछ । गत वर्ष कोपा अमेरिकाको उपाधि जितेको अर्जेन्टिनाले यसै वर्ष फिनाल्सियामा युरो च्याम्पियन इटलीलाई पराजित गर्दै विश्वकपको उपाधि दाबेदारको रुपमा प्रस्तुत गरेको छ । समूह सी मा रहेको अर्जेन्टिनाले नोभेम्बर २२ मा साउदी अरेबियासँग खेल्दै विश्वकप सुरु गर्दैछ । यस समूहमा मेक्सिको र पोल्याण्ड पनि छ ।

    अर्जेन्टिनाको टिम

    गोलकिपर : एमिलियानो मार्टिनेज, गेरोनिमो रुली, फ्रान्को अर्मानी

    डिफेण्डर : नाहुल मोलिना, गोन्जालो मोनिटेल, क्रिस्टियन रोमेरो, जर्मन पेजेल्लन, निकोलस ओटामेन्डी, लिसान्ड्रो मार्टिनेज, मार्कोस अकुना, निकोलस ट्याग्लिफिको, जुयन पोयथ

    मिडफिल्डर : रोड्रिगो डे पउल, लिएन्ड्रो परेडेस, एलेक्सिस म्याक अलिस्टर, गुइडो रोड्रिगेज, पपु गोमेज, एन्जो फर्नान्डेज, इजेक्वेल पालासिओस

    फरवार्ड : एन्जल डि मारिया, लाउटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जाओक्विन कोरेअ, लिओनल मेसी, पाउलो डिबला

  • नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम

    नेदरल्याड्सले घोषणा गर्यो विश्वकप खेल्ने टीम

    काठमाडौं । कतारमा नोभेम्बर २० देखि सुरु हुने फिफा विश्वकप फुटबलका लागि नेदरल्याण्ड्सले टिम घोषणा भएको छ । प्रशिक्षक लुई भान हालले शुक्रबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् । टिममा स्भेन बुटम्यान र राएन ग्राभेनबच भने समेटिएनन् । युवा स्टार जाभी सिमोन्सले टिममा स्थान बनाए । समूह ए मा रहेको नेदरल्यण्ड्सले नोभेम्बर २१ मा सेनेगलसँग खेल्दै विश्वकप सुरुवात गर्नेछ ।

    नेदरल्याण्ड्सको टिम

    गोलकिपर : जस्टिन बिज्लोव, रेम्बो पासभिर, एन्ड्रिस नोपर्ट

    डिफेण्डर : भर्जिल भान डाइक, नाथन एके, ढाले ब्लाइन्ड, जुरिएन टिम्बर, डेन्जल डमफ्राइस, स्टेफान डे भ्रिज, माथिस डे लिग्ट, टाएरेल मालासिया, जेरेमिइ फ्रिम्पोङ

    मिडफिल्डर : फ्रेन्की डे जोङ, स्टेभेन बर्घुइस, डेभी क्लासेन, टेउन कुप्मेइनर्स, कोडी गाक्पो, मार्टेन डे रुन, केनेथ टेलर, जाभी सिमोन्स

    फरवार्ड : मेम्फिस डिपाए, स्टेभेन बर्जविन, भिनसेन्ट जानसेन, लुक डे जुङ, नोअ लाङ, वाउट वेघोस्ट

  • विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम

    विश्वकपमा पोर्चुगलको कप्तानी रोनाल्डोले गर्ने, यस्तो बन्यो टीम

    काठमाडौं । पोर्चुगलले आगामी विश्वकपका लागि टोली घोषणा गरेको छ । क्रिस्टियानो रोनाल्डोको कप्तानीमा पोर्चुगलले आगामी मंसिर ४ गतेदेखि कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको हो । मुख्य प्रशिक्षक फर्नान्डो सान्तोषले रोनाल्डोको कप्तानीमा बिहीबार राति २६ सदस्यीय टोली घोषणा गरेका हुन्।

    अनुभवी मिडफिल्डर जोआओ माउटिन्हो, गोन्कालो गुएडेस र पिएसजीका मिडफिल्डर रेनाटो सान्चेसले टोली स्थान बनाउन सकेनन्। घाइते फरवार्ड डिएगो जोटाले पनि विश्वकप गुमाउनेछन्। समूह एच मा रहेको पोर्चुगलले मंसिर ८ गते घानासँग खेल्दै विश्वकपको सुरूआत गर्नेछ। यस्तै १२ गते उरूग्वे र १६ गते दक्षिण कोरियासँग समूह चरणमा प्रतिस्पर्धा गर्नेछ।

    पोर्चुगल टोली

    गोलकिपर – डिओगो कोस्ट, रुई प्याट्रिसियो र जोसे सा


    डिफेन्डर – जोआओ क्यान्सेलो, डिओगो डालोट, रुबेन डायस, राफेल गुरेइरो, नुनो मेन्डेस, पेपे, डानिलो परेरा र एन्टोनियो सिल्भा

    मिडफिल्डर – विलियम कार्भाल्हो, ब्रुनो फर्नान्डेस, जोआओ मारियो, रुबेन नेभेस, म्याथियस नुनेस, ओटाभियो, जोआओ पाल्हिन्हा, बर्नाडो सिल्भा र भिटिन्हा


    फरवार्ड – जोआओ फेलिक्स, रिकार्डो होर्टा, राफयल लियो, गोन्कालो रामोस, क्रिस्टियानो रोनाल्डो र आन्द्रे सिल्भा

  • यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम

    यस्तो छ जर्मनीको विश्वकप खेल्ने टीम

    काठमाडौं । चार पटकको च्याम्पियन जर्मनीले कतार फिफा विश्वकप फुटबलका लागि टोलीको घोषणा गरेको छ । मुख्य प्रशिक्षक हान्सी फ्लिकले बिहिबार कतार विश्वकप खेल्ने २६ सदस्यीय जर्मन टोलीको घोषणा गरेका हुन् । जर्मनी टोलीमा बोरुसिया डर्टमण्डका युसोउफा मोउकोको र वेर्डर ब्रेमेनका निकलस फुल्करग पहिलो पटक परेका छन् । जर्मनीका अनुभवी डिफेण्डर माट ह्युमल्स भने यसपटकको विश्वकप खेल्ने दखिनेछैनन्।

    उता फरवार्ड टिमो वेर्नर चोटका कारणयसअघि नै विश्वकपबाट बाहिरिसकेका छन् । गोलकिपर मानुएल निउर, मिडफिल्डर जोसुआ किम्मीच र फरवार्ड थोमस मुलर टिममा सबैभन्दा अनुभवी खेलाडीको रुपमा छन्। विश्वकपमा जर्मनी समूह ‘ई’ मा छ । जर्मनीले मंसिर ७ गते जापानसँग खेल्दै विश्वकप सुरू गर्नेछ। समूह चरणको दोस्रो खेलमा जर्मनीले मंसिर ११ गते स्पेनविरूद्ध खेल्नेछ भने मंसिर १५ गते कोष्टारिकाविरूद्ध खेल्नेछ।

    जर्मनी टोली

    गोलकिपरः मानुएल नोए, मार्क आन्द्रे टेर स्टेगन, केभिन ट्रयाप


    डिफेण्डरः अर्मल बेल्ला कोटच्याप, माथिएस जिन्टर, क्रिस्टियन गुन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेभिड राउम, एन्टोनिओरुडिगर, निको स्लोटरबेक, निकलस सुले


    मिडफिल्डर र फरवार्डः करिम आडेयेमी, युलियन ब्रान्ड्ट, निकलस फुल्करग, सर्जी जिनाब्री, लिओन गोरेट्ज्का, मारियो गोट्चा, इल्केगुन्डोगान, काऐ हाभार्ट, जोनास होफम्यान, जोसुआ किम्मिच, युसुउफा मोउकोको, जमल मुसिएला, थोमस मुलर, लेरोय साने

  • अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण

    अमेरिकामा रिपब्लिकन दलले प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण

    न्यूयोर्क । अमेरिकामा भएको संसदीय निर्वाचनमा रिपब्लिकन दलले तल्लो सदन प्रतिनिधिसभाको नियन्त्रण खोस्ने प्रक्षेपण गरिएको छ। सो परिणामले राष्ट्रपति बाइडनलाई धक्का लाग्ने ठानिएको छ। तल्लो सदनको सबै ४३५ सिटका निम्ति निर्वाचन भएको छ। बहुमत ल्याउन २१८ सिट आवश्यक पर्छ। मङ्गलवारको निर्वाचन अगाडि राष्ट्रपति बाइडनको दल डेमोक्र्याटको २२० सिटसहित बहुमत थियो। यो निर्वाचनमा सीबीएस न्यूजले हालसम्म गरेको प्रक्षेपणअनुसार १९० सिट रिपब्लिकनले जित्ने र १८० सिट डेमोक्र्याटले जित्ने देखिएको बीबीसीले जनाएको छ ।

    विश्लेषकहरूका अनुसार रिपब्लिकन दलले यसपालि प्रतिनिधिसभामा बहुमत जित्ने देखिन्छ। एकै सिटले रिपब्लिकन अगाडि भएपनि उसको नेता केभिन मक्कार्थी सभामुख चयन हुनेछन्। साथै बहुमत हुनासाथ रिपब्लिकनले डेमोक्र्याट दलका विधायिकी एजेन्डा अवरुद्ध पारिदिन सक्छन्। माथिल्लो सदन सिनेटको १०० सिटमध्ये ३५ मा मात्रै मङ्गलवार निर्वाचन भएको छ। अहिले सिनेटमा दुवै पार्टिका ५०(५० सिट छ तर सिनेटमा निर्णायक मताधिकार प्राप्त उपराष्ट्रपति कमला ह्यारिसलाई गन्दा डेमोक्र्याटको पक्षमा ५१ हुन्छ।

    यसपालिको सिनेटको दौडको नतिजा चाहिँ जोर्जिया, पेन्सलभ्यानिया, एरिजोना र निभाडा राज्यको परिणाममा भर पर्ने देखिएको छ। ती सबै राज्यमा कडा प्रतिस्पर्धा भइरहेकोले यकीन प्रक्षेपण भएको छैन। संसद्का दुईमध्ये कुनै एक सदनमा नियन्त्रण जमाउनासाथ रिपब्लिकन दलले राष्ट्रपति बाइडनका विधायिकी एजेन्डामा अवरोध उत्पन्न गरिदिन सक्छन्। अमेरिकाको संसदमा दुई सदन रहेका छन्। तल्लो सदनका सदस्यको कार्यकाल २ वर्षको हुन्छ भने सिनेट सदस्यहरूको कार्यकाल ६ वर्षको हुन्छ। हरेक दुई वर्षमा तिनको निर्वाचन हुन्छ।

    राष्ट्रपतीय निर्वाचन भएको दुई वर्षपछि हुने निर्वाचनलाई मिड टर्म इलेक्सन भन्ने गरिन्छ। मङ्गलवार प्रतिनिधिसभाको सबै सदस्य अनि सिनेटको एक तिहाइ सदस्यको निम्ति निर्वाचन भएको छ। साथै कतिपय राज्यले तिनको गभर्नर तथा स्थानीय अधिकारी चयन गर्न पनि मङ्गलवार निर्वाचन गराएका छन्। यी दुई सदनहरूले राष्ट्रव्यापी कानुन निर्माण गर्छन्। सिनेटलाई राष्ट्रपतिले गरेका नियुक्ति अनुमोदन गर्ने अधिकार हुन्छ भने राष्ट्रपतिमाथि छानबिनसमेत उसले गर्न सक्छ। प्रत्येक राज्यबाट २ जना सिनेटर निर्वाचित हुन्छन्।

  • युक्रेन युद्धबारे अमेरिका र रुसबीच संवाद भइरहेको खुलासा

    युक्रेन युद्धबारे अमेरिका र रुसबीच संवाद भइरहेको खुलासा

    काठमाडौं । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले युक्रेनमा युद्धका जारी रहेका बेला वाशिङ्टन र मस्कोबीच सञ्चारका माध्यमहरू खुला रहेको पुष्टि गरेका छन्। न्यूयोर्कमा बोल्दै सुलिभानले क्रेमलिनसँग सम्पर्क कायम राख्नु अमेरिकाको हितमा रहेको बताएको बीबीसीले लेखेको छ ।

    तर अधिकारीहरू आफूहरू कोसँग व्यवहार गरिरहेका छौँ भन्ने कुरामा स्पष्ट रहेको बताए। ह्वाइट हाउसले युक्रेनमा पारमाणविक तीव्रता रोक्नको लागि सुलिभानले रुससँग वार्ताको नेतृत्व गरिरहेको विवरणको खण्डन गरे लगत्तै उक्त जानकारी सार्वजनिक भएको हो।

    वाल स्ट्रिट जर्नल पत्रिकाले उल्लेख गरे अनुसार सुलिभानले आफ्ना रुसी समकक्षी, सुरक्षा परिषद्का सचिव निकोलाई पात्रुसेभ र क्रेमलिनका विदेश नीति सहयोगी युरी उशाकोभसँग विगत केही महिनायता गोप्य वार्ताहरू गरेका छन्। वरिष्ठ अधिकारीहरूले उक्त पत्रिकासँग आफ्नो पक्षबाट युक्रेनको युद्धमा पारमाणविक वृद्धिको जोखिम कम गर्ने उपायहरूबारे छलफल गरेका बताए। उनीहरूका अनुसार द्वन्द्व अन्त्य गर्ने सम्बन्धमा उनीहरू कुनै वार्तामा संलग्न छैनन्।

    गत महिना सुलिभानले पारमाणविक हतियारको कुनै पनि प्रयोगले रुसमा विनाशकारी परिणाम निम्त्याउने मत राखेका थिए। उनले रुसी अधिकारीहरूसँगको निजी वार्ताहरूमा वरिष्ठ अधिकारीहरूले सम्भावित अमेरिकी प्रतिक्रियाको क्षेत्रहरूबारे उल्लेख गरेको प्रसारक एनबीसीसँग बताए।

    अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले समाचारको पुष्टि गर्न स्वीकार गरेनन्। उनले भने, ूमानिसहरू त धेरै कुराको दाबी गर्छन्। यद्यपि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पश्चिमी पत्रिकाहरूले थुप्रै मिथ्या खबर प्रकाशित गरेको आरोप लगाए।

    तर ह्वाइट हाउसका प्रेस सचिव करिन जीन पियरले सोमवार अमेरिकाले रुससँग वार्ता गर्ने अधिकार सुरक्षित राखेको तर्क राखिन्। अमेरिकी राष्ट्रपति जो बाइडनका सबैभन्दा वरिष्ठ सल्लाहकारहरू मध्ये एक मानिने सुलिभानले मस्कोसँग सम्पर्क कायम राख्नु द्वन्द्वबाट प्रभावित प्रत्येक देशको हितमा भएको बताए।

  • विश्वकपका लागि ब्राजिलको टीम घोषणा

    विश्वकपका लागि ब्राजिलको टीम घोषणा

    काठमाडौं । नोभेम्बर २० बाट कतारमा सुरु हुने फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ । ब्राजिलले सोमबार २६ सदस्यीय अन्तिम टोली घोषणा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । ब्राजिल सर्वाधिक पाँच पटकको विश्व च्याम्पियन हो ।

    ब्राजिलले अनुभवी र युवा खेलाडीको मिश्रणमा बलियो टोली बनाएको छ । पछिल्लो पटक २००२ मा एसियामै भएको विश्वकप जितेको ब्राजिल छैटौं उपाधि जित्ने लक्ष्यमा छ । विश्वकप २०२२ मा ब्राजिल समूह जी मा छ । यस समूहमा सर्बिया, स्वीट्जरल्याण्ड र क्यामरुन छन् । ब्राजिलले पहिलो खेल नोभेम्बर २४ मा सर्बियाविरुद्ध खेल्नेछ ।

    ब्राजिलको टोली

    गोलकिपर : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी), वेभर्टन (फ्लामेङ्गो)

    डिफेन्डर : ड्यानी आल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी), मार्किन्होस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), एडर मिलिटाओ (रियल म्याड्रिड), एलेक्स टेलेस (सेभिया), ब्रेमर (युभेन्टस)

    मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमराएस (न्युकासल युनाइटेड) र एभर्टन रिबिएरो (फ्लामेंगो)

    फरवार्ड : नेमार (पीएसजी), रिचारलीसन (टोटेनहम), भिनीसियस जुनियर (रियल म्याड्रिड), एन्टोनी सान्तोस (म्यानचेस्टर युनाइटेड), गाब्रीएल जेसस (आर्सनल), राफिन्हा (बार्सिलोना), रोड्रीगो (रियल म्याड्रिड), पेड्रो (फ्लामेंगो), गाब्रीएल मार्टिनेली (आर्सनल)

  • किएभका मेयरको चूनौति : विद्युत र खानोपनी आपूर्ति नभए शहरबासी भाग्नुपर्छ

    किएभका मेयरको चूनौति : विद्युत र खानोपनी आपूर्ति नभए शहरबासी भाग्नुपर्छ

    काठमाडौं \एजेन्सी । युक्रेनको राजधानी शहर किएभका मेयरले पूर्ण रूपमा विद्युत् आपूर्ति ठप्प भएको खण्डमा त्यहाँका बासिन्दा सहर छोड्न तयार रहनु पर्ने बताएका छन्। महत्त्वपूर्ण पूर्वाधारहरू लक्षित रुसी हवाई आक्रमणहरूका कारण हालैका साताहरूमा लाखौँ युक्रेनीहरू बेलाबेलामा विद्युत् र पानीबाट वञ्चित हुने गरेका छन्। विद्युत्मा अधिक भारको अवस्था निम्तन नदिन र मर्मत कार्य गर्नका लागि पालैपालो विद्युत् कटौती भइरहेको बताइएको छ।

    युक्रेनको ऊर्जा प्रणालीको लगभग ४० प्रतिशत विद्युत् केन्द्र र लाइनहरू रुसी आक्रमणका कारण क्षतिग्रस्त वा नष्ट भएका छन्। सहरका अर्का अधिकारीले पूर्ण रूपमा विद्युत् आपूर्ति रोकिएको अवस्थामा पानी पनि उपलब्ध नहुने र ढलले पनि काम नगर्ने चेतावनी दिएका छन्। युद्धका क्रममा गरिने व्यवहारको मानवीय मापदण्ड तय गर्ने जेनेभा महासन्धिले ूनागरिक पूर्वाधारूहरू विरुद्ध आक्रमणहरू गर्न नहुने जनाउँछ। युक्रेनी टेलिभिजनमार्फत् मेयर भिटाली क्लिट्स्कोले रुसले गरेको पूर्वाधार लक्षित आक्रमणहरूलाई आतङ्कवाद र नरसंहारको सङ्ज्ञा दिए।

    ‘रुसी राष्ट्रपति पुटिनलाई युक्रेनी जनता चाहिएको होइन। उनलाई त मानिस बिनाको जमिन चाहिएको हो,’ पूर्व हेभीवेट बक्सर समेत रहेका मेयरले बताए। ‘त्यसैले अहिले पूर्वाधारमा भइरहेको आक्रमणहरू नरसंहार हो। उनको काम हामीलाई मार्नु, चिसोमा बाँच्न बाध्य तुल्याउनु वा हामीलाई हाम्रो भूमिबाट भाग्न लगाउनु हो। ऊ यो भूमि हडप्न चाहन्छ।’ जाडोको समयमा किएभको औसत तापक्रम शून्य डिग्री सेल्सियसभन्दा कम हुन्छ र रातको समयमा अझै घट्छ।

    क्लिट्स्कोका अनुसार अधिकारीहरूले बिजुली कटौती हुन नदिन र पानीको आपूर्ति नरोक्न आवश्यक ूसबै कामू गरिरहेका छन्। उनले विभिन्न परिस्थितिको लागि तयारी भइरहेको सुनिश्चित गरे। यदि किएभमा आपूर्ति कटौती भयो भने ूसबैभन्दा खराब अवस्थाूका लागि योजना बनाउन, किएभका तीस लाख मानिसहरूले नजिकैको उपनगरहरूमा बस्ने र अझै पानी र बिजुली भएका साथीहरू वा आफन्तहरूसँग बस्नको लागि तयारी गर्नुपर्ने ५१ वर्षीय क्लिट्स्कोले बताए।

    अधिकारीहरूले इन्धन, खाना र पानीको भण्डारण गरिरहेको र त्यहाँका बासिन्दाहरूले पनि उनीहरूलाई अनुसरण गर्नु पर्ने कुरामा जोड दिए। अहिले सहरभरि कम्तीमा एक हजार उच्च तापक्रमसहित आश्रयस्थल स्थापना भइरहेका छन् जहाँ मानिसहरूले आपत्कालिन अवस्थामा न्यानो पाउन सक्नेछन्। किएभका सुरक्षा निर्देशक रोमन ट्काचुकले सन्देश आदानप्रदान गर्ने सञ्जाल टेलिग्राममार्फत् मेयरको टिप्पणीसँग मिल्दो राय व्यक्त गरे।

  • भिक्टोरिया तालमा खसेको जहाजमा मृत्यु हुनेको संख्या १९ पुग्यो

    भिक्टोरिया तालमा खसेको जहाजमा मृत्यु हुनेको संख्या १९ पुग्यो

    काठमाडौं । तान्जानियाको भिक्टोरिया तालमा खसेको यात्रु बाहक जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । प्रेसिजन एयरको विमान अवतरणको बेला भिक्टोरिया तालमा दुर्घटना हुँदा १९ जनाको मृत्यु र २६ जना घाइते भएको बीबीसीले जनाएको छ । उक्त विमानमा ४३ जना सवार थिए । स्थानीयवासी र माझीहरुले डुंगाको सहायतामा यात्रुहरुलाई उद्धार गरेका थिए । उक्त विमान दारेसलामबाट बुकोबाका लागि उडेको थियो ।

    विमान दुर्घटनाको कारण खुलेको छैन । यद्यपि दुर्घटनाको कारण खराब मौसम भनिएको छ । भिक्टोरिया ताल बुकोबा विमानस्थलको नजिकै छ । अफ्रिकाको सबैभन्दा ठूलो ताल पनि हो । राष्ट्रपति सामिया सुलुहु हसनले घटनाप्रति शोक व्यक्त गर्दै घाइतेको उपचारमा तीव्रता दिन निर्देशन दिएका छन् ।

  • भिक्टोरिया तालमा जब जहाज दुर्घटनामा पर्यो..

    भिक्टोरिया तालमा जब जहाज दुर्घटनामा पर्यो..

    काठमाडौं । तान्जानियाको प्रिसिजन एअरको एउटा विमान आँधीसहितको खराब मौसममा अवतरण गर्ने प्रयासमा लेक भिक्टोरियामा दुर्घटनाग्रस्त भएको छ।
    उक्त दुर्घटनामा कम्तीमा तीनजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। दुईजना पाइलटहरू जीवितै रहेको भएपनि उनीहरू ककपिटमा फसिरहेको र तीनले स्थानीय अधिकारीहरूसँग कुरा गरिरहेको बीबीसीले लेखेको छ । उद्धारकर्ता र माझीहरूले विमानभित्र फसिरहेकाहरूलाई बाहिर निकाल्ने प्रयास गरिरहेका छन्।

    स्थानीय सञ्चारमाध्यमहरूले कम्तीमा २६ जना मानिसहरूको उद्धार गरिएको र तीनलाई अस्पताल पठाइएको उल्लेख गरेका छन्। सो विमानमा ४३ जना सवार रहेको एक जना स्थानीय अधिकारीले बीबीसीलाई बताएका छन्। आर्थिक राजधानी दर ए सलामबाट उक्त विमान उडेको थियो।

    सामाजिक सञ्जालमा राखिएका भिडिओमा उद्धार कार्यकर्ताहरूले मानिसहरूलाई डुङ्गामा चढ्न सघाइरहेको देख्न सकिन्छ। तर विमानको पछिल्लो भाग भने पानीको मुन्तिर देखिन्छ। उद्धार कार्य जारी रहँदा तान्जानियाका राष्ट्रपतिले शान्त रहन अपिल गरेकी छन्।

    उद्धारकर्ताहरूलाई स्थानीय माझीहरूले पनि खोजीमा सघाइरहेका छन्। बुकोबा विमानस्थलको एउटा धावनमार्गको अन्तिम विन्दु अफ्रिकाको सबैभन्दा ठूलो ताल लेक भिक्टोरियाको तट नजिकै पर्छ। उक्त विमानले आँधी र ठूलो वर्षाको सामना गर्नुपरेको विवरण आएका छन्। प्रिसिजन एअर तान्जानियाको प्रमुख निजी वायुसेवा हो।

  • सोमालियामा आत्मघाती विष्फोट, कम्तिमा १५ जनाको मृत्यु

    सोमालियामा आत्मघाती विष्फोट, कम्तिमा १५ जनाको मृत्यु

    काठमाडौं\एजेन्सी । सोमालियाको राजधानी मोगादिशु शहरको दक्षिणी हिस्सास्थित एक सैन्य अड्डामा आत्मघाती बम विष्फोट भएको छ । विष्फोटबाट कम्तिमा १५ जनाको मृत्यु भएको र डेढ सय भन्दा बढी घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । आत्मघाती बमबारी कसेल गराएको भन्ने स्पष्ट नभएको समेत समाचारमा उल्लेख छ ।

    राज्य संचालित सोमाली नेशनल न्यूज एजेन्सीले भने हमलामा अल–शबाबको हात रहेको बताएको छ । यो समूहले गत साता मात्र दुई वटा कार बम विस्फोट गराएको थियो । ति विष्फोटमा १ सय भन्दा बढी मारिएका थिए । ३ सय भन्दा धेरै घाइते भएका थिए । यो समूह अल–कायदासँग जोडिएको छ ।

  • कोप-२७ आजबाट इजिप्टमा सुरु हुँदै, नेपालको मुद्दा के छ ?

    कोप-२७ आजबाट इजिप्टमा सुरु हुँदै, नेपालको मुद्दा के छ ?

    काठमाडौं । जलवायुसम्बन्धी सम्मेलनको २७औँ संस्करण आजबाट इजिप्टमा सुरु हुने भएको छ । कोप–२७ सम्मेलन इजिप्टको सार्म एल–शेख सहरमा हुँदैछ । सम्मेलनमा पक्ष राष्ट्रहरूले जलवायु परिवर्तनको विश्वव्यापी चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्ने विषयमा केन्द्रित रहने संयुक्त राष्ट्र सङ्घीय वातावरण कार्यक्रमले उल्लेख गरेको छ ।

    नोभेम्बर १८ अर्थात् २ मङ्सिरसम्म चल्ने सम्मेलनमा जलवायु परिवर्तनले निम्त्याएको विश्वव्यापी नोक्सानीका विषयमा चर्चा गरिँदैछ । सम्मेलनले जलवायु परिवर्तन, मरुभूमीकरण र पानीको अभावले बढ्दै गएको खाद्य सुरक्षा सङ्कटलगायतका विषय प्राथमिकताका साथ उठाउने छ ।

    सम्मेलनमा नेपालले हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताका साथ उठाउनेछ । सम्मेलनमा प्रस्तुत गर्न अवधारणपत्र तयार गरेको र त्यसमा हिमाली क्षेत्रका मुद्दा तथा कृषि र खाद्य सुरक्षाको विषयलाई प्राथमिकताका उल्लेख गरेको वन तथा वातावरण मन्त्रालय अन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख तथा सहसचिव डा. बुद्धिसागर पौडेलले बताएका छन् । कोप–२७ मा नेपालले पर्वतीय मुद्दामा नेतृत्व गर्नेछ ।

    विश्वका उस्तै समस्या भएका पर्वतीय देशहरुसँग सहकार्य रणनीति बनाउन नेपालले गएको सेप्टेम्बरमा मुस्ताङ पैरवी सम्मेलन आयोजना गरी विशेष घोषणापत्र जारी गरेको थियो ।

    यस्तै, नेपालले जलवायु कोषहरूमा नेपालको सरल तथा सहज पहुँच हुनुपर्ने र नेपालले अनुकूलन, उत्थानशीलता तथा हरित विकासको अवधारणा प्रवर्द्धनमा प्रदान गरिने वित्त अनुदानको रूपमा आउनुपर्ने निश्चितताबारे पनि पैरवी गर्नेछ । सम्मेलनमा पृथ्वीको तापक्रम वृद्धि एक दशमलव पाँच डिग्री सेल्सियसमा कायम गर्ने विषयमा विश्वका सबै राष्ट्रहरू एक्यबद्ध हुने अपेक्षा गरिएको छ ।

  • स्टार फुटबलर पिकेले लिए सन्यास, अन्तिम खेलमा जित उपहार

    स्टार फुटबलर पिकेले लिए सन्यास, अन्तिम खेलमा जित उपहार

    काठमाडौं । स्पेनिस स्टार डिफेन्डर जेरार्ड पिकेले व्यवसायिक फुटबलबाट सन्यास लिएका छन् । उनको अन्तिम खेलमा बार्सिलोनाले स्पेनिस ला लिगामा जित उपहार दिएको छ । बार्सिलोनाले घरेलु मैदानमा अल्मेरियालाई २–० ले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लियो । बार्सिलोनाको जितमा औसमाने डेम्वेले र फ्रान्की डि जोङले गोल गरे। यहीँ खेलबाट डिफेन्डर पिकेले व्यवसायिक खेल करियर यही टुंग्याएका छन् । अल्मेरियाविरूद्ध पिकेले कप्तानीको भूमिका निर्वाह गरे । घरेलू मैदान नोउ क्याम्पमा हजारौं समर्थकमाझ क्लबका सहकर्मी, प्रशिक्षक जाभी र बार्साको सम्पूर्ण बेन्चलाई उनले अँगालो हाले ।

    खेल सकिएपछि उनले मैदानमा भने, ‘म यहीँ जन्मेँ र यहीँ मर्नेछु।’ उनले फेरि पनि कुनै न कुनै माध्यमबाट बार्सिलोनासँग आफू जोडिने बताएका छन् । ३५ वर्षिय पिकेले यसै साता अल्मेरियाविरूद्धको खेल आफ्नो व्यवसायिक करिअरको अन्तिम खेल हुने बताएका थिए। पूर्व स्पेन डिफेन्डरले आफ्नो सम्झौता सकिन अझै १८ महिना बाँकी रहेको अवस्थामा सन्यास लिने घोषणा गरेका हुन्। आफ्नो बहिर्गमनले क्लबलाई पनि केही आर्थिक राहत मिल्ने उनले बताएका थिए। म्यानचेस्टर युनाइटेडबाट २००८ मा बार्सामा आवद्ध भएपछि पिकेले बार्साका लागि ६१६ खेल खेल्दै ३० उपाधि जितेका छन्।

  • रुसको बारमा आगलागी, कम्तिमा १३ जना मारिए

    रुसको बारमा आगलागी, कम्तिमा १३ जना मारिए

    मस्को । रुसको कोस्ट्रोमा सहरको एक बारमा आगलागी हुँदा कम्तीमा १३ जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार क्लबमा कति जना उपस्थित थिए भन्ने आधिकारिक जानकारी आउन सकेको छैन तर अहिलेसम्म २५० जनालाई सकुशल बाहिर निकालिएको छ । रुसी सञ्चारमाध्यमले अधिकारीहरूलाई उद्धृत गर्दै एक जना रक्सीले मातिएका ग्राहकले डान्स फ्लोरमा फ्लेयर गन चलाउँदा आगो सुरु भएको बताएको छ।

    आगो छतको बत्तिको केही भागहरूमा फैलिएपछि कोठा तुरुन्तै धुँवाले भरिएको र यसलाई निभाउन केही घण्टा लागेको बताइएको छ । प्रहरीले यस घटनामा संलग्न एक जनालाई पक्राउ गरेको छ । क्लबको व्यवस्थापन गर्ने कम्पनीका निर्देशक पनि पक्राउ परेका छन् । कम्पनीका निर्देशक स्थानीय राजनीतिज्ञ हुन् । यसअघि सन् २००९ मा रुसको पेर्न सहरको एक नाइट क्लबमा कम्तिमा १५९ जनाको मृत्यु भएको थियो ।

  • भारतका कट्टर हिन्दु धर्मगुरु सुरीको गोली हानी हत्या

    भारतका कट्टर हिन्दु धर्मगुरु सुरीको गोली हानी हत्या

    अमृतसर । भारतको उत्तरपश्चिम क्षेत्रमा कट्टरपन्थी हिन्दू धर्मगुरु सुधीर सुरीको गोली हानी हत्या गरिएको छ। सिख धर्मावलम्बीहरूका लागि सबैभन्दा पवित्र मानिने स्थलहरू मध्ये एक विश्व प्रसिद्ध गोल्डन टेम्पलमा अवस्थित अमृतसरमा शुक्रवार विरोध प्रदर्शन गर्ने क्रममा ५८ वर्षीय सुरीको हत्या भएको हो। उनी कट्टरपन्थी धार्मिक समूह हिन्दू शिवसेनाका स्वघोषित नेता थिए। उनको हत्यासँग सम्बन्धित रहेको आशङ्कामा एक स्थानीय व्यापारीलाई पक्राउ गरिएको अधिकारीहरूले बताएका छन्।

    पञ्जाब राज्यका प्रहरी महानिर्देशक गौरव यादवका अनुहार हाल ती सन्दिग्ध व्यक्तिसँग सोधपुछ भइरहेको छ। ‘यस घटनाको पछाडि जो सुकै होस् र जसले षड्यन्त्र गरेको छ सबै पत्ता लगाउने छौँ र जो जति संलग्न छन् उनीहरू सबैलाई पक्राउ गर्नेछौँ,’ उनले भने। भारत र अन्य देशमा रहेका सिखहरूले यसअघि सुरीलाई आफ्नो आस्था र समुदायको बारेमा अपमानजनक टिप्पणी गरेको आरोप लगाएका थिए।

    प्रहरीका अनुसार सुरी हिन्दू देवताहरूको अपमान गरिएको कथित घटनाविरुद्ध प्रदर्शन गर्न अमृतसरस्थित स्थानीय मन्दिर बाहिर उपस्थित थिए। पछिल्ला केही वर्षहरूमा अमृतसरमा स्पष्ट रूपमा धार्मिक रूपमा प्रेरित हत्याहरू भएका छन्। गत सेप्टेम्बरमा गोल्डन टेम्पल नजिकै चुरोट पिएको र नशामा रहेको आरोपमा एक व्यक्तिको सार्वजनिक रूपमा हत्या भएको थियो। गत वर्ष मन्दिरनजिकै अपवित्र कार्य गर्न खोजेको आशङ्कामा एक व्यक्तिलाई कुटपिट गरेर मारिएको थियो।

  • डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने तयारीमा

    डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचन लड्ने तयारीमा

    काठमाडौं । डोनल्ड ट्रम्पले उनी फेरि ह्वाइट हाउसमा फर्कन चाहेको हालसम्मकै सबभन्दा प्रस्टमध्येको एक सङ्केत दिएका छन्। आयोवा राज्यको सु सहरमा आयोजित र्‍याली सम्बोधन गर्दै उनले सन् २०२४ मा आफू ‘फेरि लड्ने एकदमै, एकदमै, एकदमै सम्भावना’ भएको बताएको बीबीसीले लेखेको छ । अमेरिकी संसद सदस्य तथा कैयन् सिनेट सदस्यहरू चुनिने आगामी साताको निर्वाचनका निम्ति तय भएका चारमध्ये पहिलो र्‍यालीलाई सम्बोधन गर्दै उनले उक्त भनाइ राखेका हुन्। सो निर्वाचनमा आफ्ना दलका उम्मेदवारका पक्षमा समर्थन जुटाउन राष्ट्रपति जो बाइडन पनि देशभरि घुमिरहेका छन्।

    आगामी मङ्गलवारको निर्वाचनमा न त बाइडन न त ट्रम्प उम्मेदवार छन् तर त्यसको नतिजाले भने अमेरिकी कङ्ग्रेस तथा महत्त्वपूर्ण राज्य गभर्नरका पदहरूमा फेरबदल ल्याइ शक्ति सन्तुलन बदल्दिन सक्छ। दुई वर्षपछि हुने राष्ट्रपतिय निर्वाचनको निम्ति उक्त परिणामले नौलो अमेरिकी राजनीतिक परिदृश्य स्थापित गरिदिनेछ।


    बिहीवार राति रिपब्लिकन दलका नेता ट्रम्पले सन् २०२० को राष्ट्रपति निर्वाचनमा व्यापक धाँधली भएको भन्ने उनका पुराना दाबी पुनः दोहोर्‍याए। “मैले दुई पटक चुनाव लडेँ,” उनले भने। “दुवै पटक मैले जितेँ। दोस्रो पटक त अझ पहिलो पटकभन्दा मेरो प्रदर्शन राम्रो थियो। सन् २०१६ मा भन्दा २०२० मा दशौँ लाख धेरै भोट पाएको थिएँ।” “साथै मैले हाम्रो देशको इतिहासमा कुनै पनि सत्तासीन राष्ट्रपतिले भन्दा धेरै भोट पाएँ।” “र अब हाम्रो देशलाई सफल, सुरक्षित र गौरवशाली बनाउन मैले त्यो फेरि गर्ने एकदमै, एकदमै, एकदमै सम्भावना छ। ” “अब चाँडै नै,” उनले भिडलाई भने। “तयार हुनुस्।”

    सन् २०२० मा ट्रम्पले सत्तासीन राष्ट्रपतिहरूको तुलनामा सबभन्दा धेरै भोट पाएका थिए। तर उनले पाएको ७ करोड २० लाख भोटभन्दा धेरै उनका डेमोक्र्याटिक दलका प्रत्याशी बाइडनले ८ करोड १० लाख भोट पाएका थिए। बिहीवार न्यू मेक्सिको र क्यालिफोर्नियामा प्रचार र्‍यालीमा सामेल बाइडनले सन् २०२४ को निर्वाचनमा आफू पुनस् उम्मेदवार हुनेबारे वरिष्ठ सल्लाहकारहरूसँग कुराकानी थालेका विवरण आएका छन्। त्यसो भयो भने सन् २०२४ मा पनि सन् २०२० मा जस्तै ट्रम्प र बाइडनबीच टक्कर हुनेछ।

    महिनौँदेखि ट्रम्पले फेरि राष्ट्रपतिको उम्मेदवार हुने कि नहुने भन्नेबारे उनको प्रस्ट भनाइ नराखिकन केवल सानातिना सङ्केतमात्रै दिँदै आएका थिए। अक्टोबरमा टेक्ससमा एउटा र्‍याली सम्बोधन गर्दै उनलेस् “शायद मैले फेरि लड्नुपर्छ” भनेका थिए। सेप्टेम्बरमा पेन्सलभ्यानियामा पनि उनले त्यस्तै टिप्पणी गरेका थिए।

    ट्रम्पकी पूर्व वरिष्ठ सल्लाहकार केल्यान कन्वेले बिहीवार वाशिङ्टन डिसीमा आयोजित एक कार्यक्रममा ट्रम्पले यसबारे चाँडै नै घोषणा गर्ने बताइन्। तर सन् २०२४ मा यदि उनले लड्ने विचार गरे भने उनको दलभित्र उनी चुनौतीविहीन भने हुने छैनन्। रिपब्लिकन दलबाटै उक्त पदका अन्य आकाङ्क्षीमा पूर्व उपराष्ट्रपति माइक पेन्स तथा फ्लोरिडाका गभर्नर रन डे सान्टिस रहेका छन्।

  • पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली हानियो

    पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानमाथि गोली हानियो

    काठमाडौं । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पूर्वी सहर वजिराबादमा एउटा विरोध जुलुसका क्रममा गोली प्रहार भएको छ । उनी घाइते भएको र अस्पतालमा भर्ना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । उनको दल पीटीआईका सदस्यहरूले थप चारजना घाइते भएको बताएका छन्। उक्त घटनामा कसैको मृत्यु भने नभएको बताइएको छ। खानको गोडाको कुन भागमा गोली लागेको भन्ने स्पष्ट छैन।

    तर उनका एकजना सहयोगीले उनी खतरामा नरहेको बताएका छन्। सत्तरी वर्षीय खान चुनावको माग गर्दै विरोध र्‍यालीमा सहभागी भइरहेका थिए। पूर्वप्रधानमन्त्री खानमाथि गरिएको गोली प्रहारको घटनाको प्रधानमन्त्री शहबाज शरिफले निन्दा गरेका छन्। प्रधानमन्त्रीले गृहमन्त्रीलाई घटनाबारे तत्काल रिपोर्ट पेस गर्न निर्देशन समेत दिएका छन्। पाकिस्तानको जीओ टेलिभिजनका अनुसार एक सन्दिग्ध पुरुषलाई पक्राउ गरिएको छ।

    खानलाई उपचारका लागि लाहोरको अस्पतालमा लगिएको देखिएको छ। पार्टीका एकजना प्रवक्ताले उनलाई पिडौँलामा चोट लागेको बताए। पार्टीकी नेत्री तथा प्रादेशिक स्वास्थ्यमन्त्री यास्मीन रशिदले खानको अवस्था स्थिर रहेको जानकारी दिइन्।

  • दक्षिण कोरियामा एकैदिन ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित

    दक्षिण कोरियामा एकैदिन ४६ हजार भन्दा बढी कोरोनाका नयाँ संक्रमित

    काठमाडौं । दक्षिण कोरियामा २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ४६ हजार आठ सय ९६ जना कोभिड–१९ का नयाँ सङ्क्रमित देखिएका छन् । यसैसँगै कुल सङ्क्रमितको सङ्ख्या २ करोड ५७ लाख १७ हजार दुई सय ७७ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

    दैनिक सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा कम भएका छन् । एक दिनअघि सङ्क्रमितको सङ्ख्ण्या ५४ हजार ७६६ बाट कम भएर ४६ हजा आठ सय ९६ जना भएका कोरिया रोग नियन्त्रण र रोकथाम एजेन्सी बताएको छ ।

    गम्भीर अवस्थामा रहेका सङ्क्रमितको सङ्ख्या अघिल्लो दिनको तुलनामा १३ ले कम भएर २९० पुगेको छ । यस सङ्क्रमणको कारण थप ४१ जनाको मृत्युको पुष्टि भएपछि कोरोना शुरु हालसम्म २९ हजार दुई सय ८० जनाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

  • उत्तर र दक्षिण कोरियाले एक-अर्का देशमा प्रहार गरे क्षेप्यास्त्र, तनाव बढ्ने संकेत

    उत्तर र दक्षिण कोरियाले एक-अर्का देशमा प्रहार गरे क्षेप्यास्त्र, तनाव बढ्ने संकेत

    काठमाडौं । उत्तर र दक्षिण कोरियाले एक अर्कातर्फ क्षेप्यास्त्र प्रहार गरेका छन्। ती क्षेप्यास्त्रहरू दुवै देशका तटस्थित पानीमा खसेका छन्। कोरिया विभाजन भएयता पहिलोपटक ती दुई देशले समुद्री सीमा पार हुने गरी क्षेप्यास्त्र प्रहार गरेका हुन्। त्यसले उक्त क्षेत्रमा तनाव निकै बढेको सङ्केत गर्ने बीबीसीले लेखेको छ । प्योङयाङले बुधवार छोटो दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि सोलले त्यसको प्रतिउत्तरमा प्रहार गरेको हो। उत्तर कोरियाले त्यस्तो क्षेप्यास्त्र प्रहार गरेको तीन घण्टापछि दक्षिण कोरियाले प्रतिउत्तर दिएको थियो।

    उत्तर कोरियाले एकै दिन कम्तीमा २३ वटा क्षेप्यास्त्रहरू प्रहार गरेको छ। त्यसमा दक्षिणी सहर सोक्चोभन्दा ६० किलोमिटरभन्दा कम दूरीमा खसेको क्षेप्यास्त्र पनि सामेल छ। उत्तर कोरियाले दक्षिण कोरिया र संयुक्त राज्य अमेरिकाद्वारा भइरहेको ठूलो मात्राको सैन्य अभ्यासको प्रतिक्रिया स्वरूप ती प्रहारहरू भएको बताएको छ। उक्त सैन्य अभ्यासलाई उसले आक्रामक र उत्तेजक भनेको छ।

    दक्षिण कोरियाली सेनाले आफ्नो भूमिको अतिक्रमण अस्वीकार्य रहेको बताएको छ। उसले उत्तर कोरियातर्फ हवाई जहाजबाट भूमिमा प्रहार गर्न मिल्ने तीनवटा क्षेप्यास्त्र प्रहार गरेको छ। अधिकारीहरूका अनुसार त्यो क्षेप्यास्त्र उत्तर कोरियाले दक्षिणतर्फ प्रहार गरेकै जति दूरीमा नर्दन लिमिट लाइन (एनएलएल) भन्दा अगाडि खसेको छ।

    उक्त सीमारेखाले उत्तर र दक्षिण कोरिया बीचको समुद्रको मध्य विन्दुलाई जनाए पनि उत्तरले उक्त सीमालाई कहिल्यै स्वीकार गरेको छैन। मङ्गलवार उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकाले संयुक्त सैन्य अभ्यासलाई निरन्तरता दिए इतिहासकै सबैभन्दा डरलाग्दो मूल्य चुकाउनुपर्ने चेतावनी दिएको थियो। त्यसलाई उत्तर कोरियाको परमाणुअस्त्र प्रयोग गर्नसक्ने चेतावनीका रूपमा हेरिएको छ।