इजिप्ट रेल दुर्घटनामा चार जनाको मृत्यु, ८८ घाइते

काएरो, २२ कात्तिक (रासस–एएफपी) । इजिप्टको राजधानीको दक्षिणमा आइतबार दुई रेल एकआपसमा ठोक्किएर भएको दुर्घटनामा कम्तीमा चार जनाको मृत्यु भएको र दर्जनौं घाइते भएका अधिकारीहरूले बताएका छन् । इजिप्टको रेलवे अधिकारीका अनुसार गिजाबाट फायुमतर्फ जाँदै गरेको एउटा रेल कायरोबाट दक्षिणतर्फ जाँदै गरेको अर्को रेलको पछाडिको भागमा ठोक्किएको थियो । स्वास्थ्य मन्त्रालयका अनुसार प्रारम्भिक क्षतिको विवरण अनुसार अहिलेसम्म चार यात्रुको मृत्यु भएको छ भने अन्य ८८ जनालाई गिजा क्षेत्र वरपरका अस्पतालमा उपचारका लागि पठाइएको छ ।

सरकारी मिडियाले यसअघि १२० जना घाइते भएको बताएका थिए । सिन्ह्वा न्युज एजेन्सीले कम्तीमा ६० जना घाइते भएका जनाएको थियो । राष्ट्रपति अब्देल फताह अल–सिसीले दुर्घटनालाई आफूले निकै चासोका साथ नियालिरहेको बताएका छन् । उनले घटनामा लापरबाही गरेको पाइएमा जो कोहीलाई पनि जवाफदेही बनाउन तत्काल अनुसन्धान गर्न अधिकारीहरूलाई निर्देशन दिएका छन् । आपतकालीन कर्मचारीहरूले क्रेनको सहयोगमा भग्नावशेष हटाउन जुटिरहेको रेल यातायात प्राधिकरणले जानकारी दिएको छ ।

अधिकारीहरूले दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरेको बताएका छन्। यो इजिप्टको सबैभन्दा खराब रेल दुर्घटनास्थल गिजाको अल–आयत क्षेत्रमा भएको हो । सन् २००२ मा कायरोको दक्षिणमा बिदा मनाउन यात्रु बोकेको रेलमा आगलागी हुँदा ३७० भन्दा बढीको मृत्यु भएको थियो । सन् २००९ मा यस क्षेत्रमा भएका कैयौँ रेल दुर्घटनामा दर्जनौँको मृत्यु भएको थियो । इजिप्टका ११ करोड मानिसहरू अफ्रिकाको सबैभन्दा ठूलो मध्ये एक यातायात सञ्जाल रेल यातायातमा धेरै निर्भर छन् । इजिप्टले बारम्बार घातक दुर्घटनाहरू भोग्नुपरेको छ।

गत दशकमा, इजिप्टले नयाँ राजमार्ग र उच्च गतिको रेल लाइनहरू सहित आफ्नो यातायात पूर्वाधार अद्यावधिक गर्न अरबौं डलर खर्च गरेको छ, तर अझै पनि यसको पुरानो रेल नेटवर्कको धेरै समस्या हल गर्न सकेको छैन।