गण्डकी सरकारलाई दिएको समर्थन माओवादीले फिर्ता लिने

काठमाडौं । नेकपा माओवादी केन्द्रले नेकपा एमाले नेतृत्वको गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मुख्यमन्त्री खगराज अधिकारीलाई दिएको समर्थन फिर्ता गर्न आज नेकपा माओवादी संसदीय दलको बैठक डाकिएको छ । सरकारलाई दिएको समर्थन फिर्ता लिन ११ बजे संसदीय दलको बैठक डाकिएको हो । सरकारलाई दिएको समर्थन फिर्ता लिएर अघि बढ्न अध्यक्ष प्रचण्डले बिहीबार निर्देशन दिएका थिए ।

माओवादीले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री खगराज अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । गण्डकी प्रदेश सभामा ८ सिटसहित तेस्रो दल माओवादी केन्द्र २ मन्त्रीसहित मुख्यमन्त्री खगराज अधिकारी नेतृत्वको सरकारमा सहभागी छ । पुस २५ गते गण्डकीमा खगराज अधिकारीको नेतृत्वको सरकार गठन भएको थियो ।

सोही दिन नेकपा माओवादी केन्द्रका हरिबहादुर चुमान, एमालेकी सीता सुन्दास र राप्रपाका पञ्चराम तमु मन्त्री बनेका थिए । १० माघमा एमालेका रोेशनबहादुर गाहा र माओवादीका रेशमबहादुर जुग्जालीलाई मन्त्री बनाउँदै सरकारलाई पूर्णता दिइएको थियो ।

नेपाल एमाले नेतृत्वको सरकारको समर्थन फिर्ता लिएसँगै सरकारको नेतृत्व माओवादी र कांग्रेस कसले गर्ने भन्नेमा रस्साकस्सी सुरु भएको छ । दुवैले आ–आफ्नो अडान छाडेका छैनन् । २७ सिटसहित गण्डकीमा सबैभन्दा ठूलो दल कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे पनि आफ्नो नेतृत्वमा सरकार बनाउन शीर्ष नेताहरुसँग छलफलमा छन् । ६० प्रदेश सभा सदस्य रहेको गण्डकीमा सरकार बनाउन कांग्रेस–माओवादीको सहज बहुमत पुग्छ ।