एमाले नेता महेश बस्नेत र शंकर पोखरेल सहभागी हुने कार्यक्रम जेन जीले विथोले, दलहरुबाट आलोचना

प्रेस चौतारी नेपालले काठमाडौँ केन्द्रीय कार्यालयमा बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा धारणा राख्नुहुँदै नेकपा (एमाले)नेता महेश बस्नेत। तस्बिरः हरिराम भेटुवाल/रासस

३ मंसिर, काठमाडौं । बुधबार बाराको सिमरास्थित विमानस्थलमा जेन जीले आक्रमण गरेका छन् । सो क्रममा विमानस्थलको गेट भत्किएको छ । जेन जी समूहले बुद्ध एयरको जहाजमार्फत एमाले नेताहरु बारा आउने सूचना पाएसँगै विमानस्थल आक्रमणमा पुगेका थिए । त्यसपछि प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो । त्यसका वावजुत सडकमा टायर बालेर आन्दोलन गरिएको थियो ।

जेन जीको आन्दोलनका कारण एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेतसहितका नेताको बारा जाने कार्यक्रम रद्द गरिएको थियो । गृह मन्त्रालयले आज बाराको सिमरामा भएको घटनाप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्थिति सामान्य बन्दै गएको जनाएको छ । आज साँझ एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले उक्त घटनाबाट सिर्जित अवस्थालाई नियन्त्रणमा लिइ स्थिति सामान्य बनाउँदै शान्तिसुरक्षा कायम गर्न स्थानीय प्रशासनले आवश्यक पहल गरिरहेको र स्थिति सामान्य हुँदै गएको जनाएको हो ।

मन्त्रालयका सहायक प्रवक्ता रवीन्द्र आचार्यद्वारा जारी विज्ञप्तिमा वर्तमान सरकार मुलुकमा शान्ति व्यवस्था र अमनचयन कायम गरी तोकिएको समयमै निर्वाचन सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारिएको छ । “मुलुकमा शान्तिसुरक्षा कायम राख्दै निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्न सबैको आपसी संवाद, समन्वय र सहयोग अपरिहार्य रहेको छ । यसका लागि सबै पक्षले आआफ्नो कार्यक्रम सञ्चालन गर्दा स्थानीय प्रशासनसँग समन्वयमा शान्तिपूर्वक तरिकाले व्यवस्थित र मर्यादापूर्वक सञ्चालन गर्नु गराउनु वाञ्छनीय रहन्छ”, विज्ञप्तिमा उल्लेख छ ।