डा भट्टराईले लिए उम्मेदवारी फिर्ता

गोरखा, ९ माघ । प्रतिनिधिसभा गोरखा क्षेत्र नम्बर २ बाट आगामी फागनु २१ गतेको निर्वाचनका लागि उम्मेदवारी दिनुभएका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आज उम्मेदवारी फिर्ता लिएका छन् । गोरखा नगरपालिका–८, स्थित निर्वाचन कार्यालयमा आफ्ना प्रतिनिधि नारायण खत्रीमार्फत डा भट्टराईले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मोहनप्रसाद बेल्बासेले जानकारी दिए । उनले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का तर्फबाट उम्मेदवारी दिएका थिए ।

त्यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीबाट गोरखा क्षेत्र नं १ का उम्मेदवार गोपालबाबु श्रेष्ठले पनि आज आफ्नो उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए । कार्यालयमा प्रस्तावक तथा समर्थकसहित उपस्थित भएर श्रेष्ठले उम्मेदवारी फिर्ता लिएका हुन् । उनीहरुको उम्मेदवारी फिर्ता भएसँगै आसन्न प्रतिनिधिसभाको निर्वाचनमा गोरखा क्षेत्र नं १ मा अब १२ जना र क्षेत्र नं २ मा १३ जना उम्मेदवार कायम भएको छ । आजै डा. भट्टराईले एक भिडियो सन्देशमार्फत सो बारे जानकारी समेत गराएका थिए ।

स्रोतहरुका अनुसार भट्टराईले नेपाली कम्यूनिष्ट पार्टीका संयोजक प्रचण्डसँग आफुलाई सहयोग गर्न आग्रह गरेका थिए । प्रचण्डले सकारात्मक जवाफ नदिएपछि उनले उम्मेदवारी नै फिर्ता गरेका छन् । उनले यसपछि कसलाई सहयोग गर्ने खुलाएका छैनन् । आजै रास्वपाका उपसभापति स्वर्णिम वाग्लेले सामाजिक सञ्जालमा एक पोष्ट राख्दै आफुहरुलाई सहयोग गर्न आह्वान गरेका थिए । सो पोष्ट डा. भट्टराइले समेत सेयर गरेका छन् । सोहीकारण रास्वपा र भट्टराईबीच गोप्य सहमति भएको अनुमान समेत गरिएको छ ।