दक्षिणकालीका मतदाताको माग : ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’

प्रकाश सिलवाल र मधु शाही/रासस

काठमाडौँ, १५ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएकाहरूसँग दक्षिणकाली नगरपालिकाका मतदाताले ‘सम्पदा संरक्षण, सुशासन र रोजगारी’ प्रवर्द्धन गर्नेलाई मतदान गर्ने बताएका छन् । फर्पिङको ‘कोतघर’ पहिला तलेजु भवनीको दरबारले चिनिथ्यो । अहिले यहाँ दरबारको अवशेष पनि देखिदैन । दरबार भत्किएर यहाँ घाँसेचौर भएको छ ।

छेउमा दक्षिणकाली नगरपालिका–६ को वडा कार्यालय छ । यही कोतघरको चौरमा यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको एक मतदानस्थल कायम गरिएको छ । कोतघरको अगाडि दक्षिणकाली नगरपालिकाको नगर कार्यपालिका कार्यालय र भित्री चोक पनि पर्दछ ।

‘चुनाव नजिकिँदै छ । यहाँका उम्मेदवारसँग के अपेक्षा राख्नुहुन्छ ?’ भन्ने राससको प्रश्नमा काठमाडौँ निर्वाचन क्षेत्र नं १० को दक्षिणकाली नगरपालिकामा रहेको नगर कार्यपालिकाको आँगनमा उभिएर ७८ वर्षीया जितमाया श्रेष्ठले भनिन्, “अरु सबै छ, ऊ यो पुरानो कोतघर भत्किएर यहाँको इतिहास हराएको छ । हामीलाई पहिलेकै कोतघर आवश्यक छ । जसले बनाइदिन्छ, उसलाई भोट हाल्ने मन छ ।”

स्थानीय मतदाता श्रेष्ठले यसो भनिरहँदा उनका आँखामा कोतघरसँग इतिहास र पुख्र्यौली संवेदना जोडिएको देखिन्थ्यो । उनका अनुसार यहाँ प्राचीनकालमा स्थानीयले पूजा गर्ने देवीदेवताको मन्दिर थियो । विभिन्न कालखण्डमा जीर्ण भएर भवन भत्किएपछि यहाँका देवीदेवताका मूर्ति केहीपर एकै स्थानमा सारेर थन्क्याइएको छ ।

भवनको अभावमा यहाँका देवतालाई अन्यन्त्र प्रतिस्थापन गर्दा स्थानीयको आस्था र भरोसा खुम्चिँदै गएको श्रेष्ठले उल्लेख गरिन् । “हाम्रा पुर्खादेखि पूजा गर्दै आएका देवीदेवता राख्ने थलो नहुनु दुःखद् विषय विषय हो । यहाँ फेरि उही पुरानै कोतघर बनाइदिए हामी उत्साहित हुने थियौँ”, उनले भनिन् । पुख्र्यौली संस्कृति र सम्पदाको संरक्षण हुन नसकेको यहाँ स्थानीयको गुनासो यसअघिका जनप्रतिनिधिका उम्मेदवारलाई नसुनाइएको होइन ।

कोतघर भत्किएर चौर भएपछि नजिकको ढुङ्गेधारा संरक्षणको पर्खाइमा छ । सोही क्षेत्रका ६८ वर्षीय बुद्धिराम श्रेष्ठले आफ्नो बाल्यकाल यही ढुङ्गेधारोबाट बग्ने शुद्ध मूलको पानी खाएर हुर्किएको स्मरण गरिन् । पञ्चायत, प्रजातन्त्र र गणतन्त्रदेखि सङ्घीय शासन प्रणालीसम्म आइपुग्दा आफ्ना पुख्र्याौली धरोहर हराउँदै गएकामा बुद्धिरामले चिन्ता व्यक्त गरे । यस्ता सम्पदाको संरक्षण, प्रवर्द्धन र पुस्तान्तरण हुनुपर्नेमा उनले जोड दिए ।

पुख्र्यौली संरचना जगर्ना गर्न सके स्थानीयस्तरमा वैभवपूर्ण समृद्धि अनुभूति गर्न सकिने उनको धारणा छ । यतिबेला घरदैलोमा मत माग्न आउने उम्मेदवारलाई बुद्धिरामले तिनै सुक्दै गएका ढुङ्गेधारा र जीर्ण सम्पदा कसले बनाउँछ ? भन्दै प्रश्न गर्ने गरेको बताउनुभयो । धेरै वटा निर्वाचनको अनुभुति गरेका उनले भौतिक विकास र परम्परागत संस्कृतिको संरक्षणसँगै सुशासन, शान्ति र समृद्धिका पक्षमा काम गर्ने जुनसुकै उम्मेदवार रोजाइमा पर्ने धारणा राखे ।


स्थानीय युवा उज्वल श्रेष्ठले विगतमा जस्तो आश्वासन दिने र चुनाव जितेपछि प्रतिबद्धता पूरा नगर्ने परिपाटीलाई नेताहरूले हटाउनुपर्ने बताए । उद्योग कलकारखाना सञ्चालन गरेर युवा रोजगार बढाउने प्रतिबद्धता पहिलाको चुनावमा धेरै उम्मेदवारले गर्दै आएका भन्दै अहिलेसम्म पूरा हुन नसकेका उनले गुनासो गरे । उद्योग कलकारखाना सञ्चालनमा आयो भने स्थानीय युवा रोजगारका लागि विदेशिनु नपर्ने बताउँदै युवा जनशक्तिलाई आकर्षित गर्ने सोच भएका उम्मेदवार आफ्नो रोजाइमा पर्ने उज्वलले प्रतिक्रिया दिए ।


नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २०६४ को निर्वाचन जितेकाले चर्चामा रहेको यो क्षेत्रमा पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका राजेन्द्र केसी विजयी भएका थिए । तत्कालीन निर्वाचन क्षेत्र नं ५ (अहिलेको कीर्तिपुर र चन्द्रागिरी) रहेका बेला एमालेका तत्कालीन महासचिव मदन भण्डारी यहाँबाट विजयी भएका थिए ।


राजधानी उपत्यकाको भाग भए पनि विकासमा पछि परेको काठमाडौँ निर्वाचन क्षेत्र नं १० मा यसपटक कांग्रेसबाट हिमाल कार्की, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट विनोद श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट प्रदीप विष्ट, नेकपाबाट रुपा महर्जन, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट बलराम थापा उम्मेदवार छन् ।


नेपाल मजदुर किसान पार्टीबाट विन्द्रा महर्जन, राष्ट्रिय जनमोर्चाबाट अम्बरबहादुर पौडेल र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट केशवराज अर्याल, श्रम संस्कृति पार्टीबाट धनबहादुर श्रेष्ठ, जनता समाजवादी पार्टी नेपालबाट भागरित साह र उज्यालो नेपाल पार्टीबाट राकेश न्यौपाने प्रतिस्पर्धामा छन् । स्वतन्त्र उम्मेदवारका रूपमा पूर्णचन्द्र पौडेल, अनुज प्रधान, कविता पुडासैनी (अधिकारी), कुमारखाकी श्रेष्ठ, कृष्णकुमारी नेपाली, दीपकराज पाण्डे, देवकुमार श्रेष्ठ, विनोद बुढाथोकी, मीनबहादुर बुढाथोकी, राजकुमार गिरी र सुलोचना परियार उम्मेदवार रहनुभएको छ । महिला उम्मेदवार पाँच जना छन् ।

यसअघिको प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन माओवादी केन्द्रसहितको गठबन्धनका आधारमा कांग्रेसका केसी १४ हजार ४६३ मतका साथ विजयी भएका थिए भने एमालेका हिमेश केसीले ११ हजार ७९१ मत प्राप्त गरेका थिए ।

मतदात अधिकृत खटिँदै

काठमाडौँ क्षेत्र नं १० को निर्वाचनलाई सुसम्पन्न गर्न कीर्तिपुरमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालित छ । निर्वाचन अधिकृत अमृतादेवी शर्माका अनुसार ९८ मतदान अधिकृत र ९८ सहायक मतदान अधिकृतलाई नियुक्तिपत्र प्रदान गरिएको छ । ती मतदान अधिकृतले शनिबार तालिम लिएर कार्यस्थलमा खटिनेछन् ।

उनले मतपत्रको रुजु गर्ने कार्य लगभग सकिएको जनाउँदै निर्वाचनका लागि सुरक्षा निकाय, स्थानीय तह र सरोकार भएका पक्षबाट आवश्यक सहयोग भइरहेको बताए । निर्वाचन अधिकृत शर्माले यही फागुन १८ गते सबै मतदान केन्द्र (बुथ) मा निर्वाचन सामग्री उपलब्ध हुने र मतदानस्थल निर्माण हुने जानकारी दिँदै निर्वाचन आचारसंहिताको कार्यान्वयनसमेत भइरहेको अवगत गराए ।

पाँच मतदानस्थल महिलामैत्री

निर्वाचन अधिकृत शर्माले ९८ मध्ये पाँच मतदानस्थललाई महिलामैत्री (सबै महिला कर्मचारी खटिएका) बनाइएको बताए । ती मतदानस्थलमा कीर्तिपुर नगरपालिका–४ को सल्यानथान आधारभूत विद्यालय, चन्द्रागिरी नगरपालिका–५ को जनकल्याण मावि, किशिपिडी क, ख र ग र दक्षिणकाली नगरपालिका–५ को अरुणोदय मावि मतदान केन्द्र रहेका उनले जानकारी दिए ।