२० असार, काठमाडौं । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–३ का रेशमबहादुर लामा अन्तर्राष्ट्रिय पाककला क्षेत्रमा परिचित छन् । २६ वर्ष लामो संघर्ष, अभ्यास र मेहनतपछि अन्तर्राष्ट्रिय आतिथ्य क्षेत्रमा उनको पाककला यात्रा साइप्रसस्थित ‘नालु लियोनार्डो होटल’सम्म पुगेको छ ।
उनले नेपाल, दुबई, ओमान, भारत तथा साइप्रसका विभिन्न प्रतिष्ठित होटल तथा रेस्टुरेन्टहरुमा काम गरिसकेका छन् । उनले ओमान मस्कटस्थित ‘अल महा इन्टरनेशनल होटल’मा एक्जिक्युटिभ सेफको जिम्मेवारी सम्हालेका थिए । भारतीय होटल उद्योगमा समेत उनले विशेष परामर्शदाताका रुपमा मेनु निर्माण गर्ने अवसर पाएका थिए । लामा बहुआयामिक पाककलाका सेफ हुन् । नेपाली, चिनियाँ, इटालियन, जापानी (सुशी), थाई, कन्टिनेन्टल, कोल्ड किचेन तथा फ्रुट कार्भिङमा उनको विशेष दक्षता छ ।
ओमान मस्कटमा उनले त्यहाँका शेख राजपरिवारका सदस्यहरुलाई समेत आफ्नो हातको परिकार चखाउने अवसर पाए । उनी आफ्नो यात्राप्रति पूर्ण सन्तुष्ट छन् । ‘मैले जीवनभर सिकेको अनुभवलाई अब नयाँ पुस्तामा हस्तान्तरण गर्न चाहन्छु । पाककलामा रुचि राख्ने युवा सेफहरुलाई अगाडि बढाउनु नै अबको मेरो प्रमुख योजना हो,’ उनी भन्छन् ।
लामा अन्तर्राष्ट्रिय सेफ सोसाइटी साइप्रसको पहिलो अध्यक्षसमेत हुन् ।
रोशी गाउँपालिका–३,
काभ्रेपलाञ्चोक
हाल : साइप्रस