Author: Vishwanews.com

  • आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु

    आठ विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रक्रिया सुरु

    २५ वैशाख, काठमाडौं । सरकारले आठ विश्वविद्यालयका उपकुलपति नियुक्तिका लागि नयाँ कार्यविधि स्वीकृत गरेको छ। नियुक्ति प्रक्रियामा पारदर्शिता, योग्यता प्रणाली र प्रक्रियागत निष्पक्षता बलियो बनाउन विज्ञ समितिमार्फत प्रारम्भिक छनोट गर्ने व्यवस्थासहित दरखास्त आव्हान गरेको हो । विज्ञ समितिले छनोट गर्ने र सर्ट लिस्टमा परेका उम्मेदवारबारे सार्वजनिक राय सुझाव मागिनेछ।

    “विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३” अनुसार विज्ञहरूको मूल्याङ्कन, खुला प्रतिस्पर्धा र सार्वजनिक सुझाव समेतको आधारमा नियुक्ति अघि बढाइने भएको हो । कार्यविधि अनुसार प्रधानमन्त्रीले गठन गरेको सिफारिस समितिले आवश्यकता अनुसार विज्ञहरूको उपसमिति गठन गर्नेछ ।

    विज्ञ उपसमिति वा सिफारिस समितिका नजिकका नातेदार उम्मेदवार भए स्वार्थको द्वन्द्व नहुनेगरि पुनः अर्को विज्ञ तोकिनेछ भने कार्यविधिमा नजिकका नातेदारको स्पष्ट परिभाषा गरिएको छ। नयाँ कार्यविधिले उपकुलपति बन्न विद्यावारिधि अनिवार्य गरेको छ भने कम्तीमा १० वर्ष अनुसन्धान तथा प्राज्ञिक अनुभव, उच्च नैतिक चरित्र र राजनीतिक दलको सदस्य नरहेको र लेख रचना चोरी नगरेको स्वघोषणा अनिवार्य गरेको छ।

    उक्त विज्ञ उपसमितिले उम्मेदवारको शैक्षिक योग्यता, अनुसन्धान अनुभव, रणनीतिक दृष्टि पत्र, कार्य योजना र प्रस्तुतीकरणको अध्ययन गरी प्रारम्भिक मूल्याङ्कन गरी उच्च अङ्क प्राप्त गर्ने १० जनाको नाम सर्ट लिस्ट गरी सार्वजनिक गरिनेछ । ती उम्मेदवारबारे सार्वजनिक राय सुझाव सङ्कलन गरिने छ भने त्यसपछि प्रस्तुतीकरण तथा अन्तर्वार्ता सञ्चालन हुने व्यवस्था छ

    विशेष गरी भिजन पेपर र एक्सन प्लान मूल्याङ्कन गर्दा उम्मेदवारको नाम गोप्य राखी “डबल कोडिङ” प्रणाली प्रयोग गरिने व्यवस्था गरिएको छ। यसले व्यक्तिको पहुँच वा प्रभावभन्दा गुणस्तरलाई प्राथमिकता दिने प्रयास गरिएको छ । उम्मेदवारले विश्वविद्यालय सुधार, अनुसन्धान विस्तार, प्रशासनिक सुधार र शैक्षिक गुणस्तर वृद्धिबारे आफ्नो स्पष्ट रणनीति प्रस्तुत गर्नुपर्नेछ। कार्यविधिअनुसार मूल्याङ्कन १०० पूर्णाङ्कमा आधारित हुनेछ। प्रकाशित अनुसन्धान, पुस्तक, प्रशासनिक अनुभव, प्रस्तुतीकरण र अन्तर्वार्तालाई अङ्क दिइनेछ भने अत्यधिक कम वा धेरै अङ्क दिँदा कारण खुलाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।

    आवेदक भ्रष्ट्राचारजन्य, व्यक्तिगत आचरण सम्बन्धी लगायतका कुनै पनि अभियोग नलागेको सदाचारयुक्त हुनुपर्नेछ। यसविपरित देखिएमा वा उजुरी वा गुनासो प्राप्त भएमा त्यस्ता आवेदनलाई अस्वीकार गरिनेछ भने यो विषय निरूपण गर्नेक्रममा समितिले सरोकारवाला निकायहरूमा लेखि पठाई जाँच तहकिकात गर्न सक्ने व्यवस्था गरिएको छ।

    नेपालका विश्वविद्यालयहरूमा लामो समयदेखि राजनीतिक भागबन्डा, पहुँचमा आधारित नियुक्ति र अपारदर्शी प्रक्रियाको आलोचना भइरहेका बेला सरकारले विशेषज्ञ मूल्याङ्कनलाई संस्थागत रूप दिन खोजेको छ।

  • मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    मुस्ताङमा नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु

    मुस्ताङ, वैशाख २५ गते । नेपाली सेनाको दुईदिने ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास मुस्ताङमा सुरु भएको छ । यहाँको घरपझोङ गाउँपालिका जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा बिहीबारदेखि खोज तथा रेस्क्यु अभ्यास सुरु गरिएको हो । उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धारकार्यमा सहज पुर्याउने उद्देश्यले इन्द्रबक्स गणले यसप्रकारको नमूना अभ्यास आयोजना गरेको जनाएको छ ।

    अभ्यासका लागि छिमेकी जिल्ला मनाङको भैरवी दल गुल्मबाट चार जना टोलीसहित इन्द्रबक्स गण र सैनिक उच्च शिखर शिक्षालय कैसाङबाट गरी करिब ५५ जनाभन्दा बढीको सहभागिता रहेको इन्द्रबक्स गणले जनाएको छ । उच्च हिमाली क्षेत्रमा गरिने खोज तथा उद्धार कार्यमा नेपाली सेनाको क्षमता अभिवृद्धि गर्ने र यस प्रकारका जोखिमयुक्त स्थानमा हुने सम्भावित दुर्घटनाबाट जोगाउन उद्धारकार्यलाई प्रभावकारी तुल्याउन प्राविधिक सीप र कलाको विकासले खोज तथा उद्धारमा सहयोग पुग्ने इन्द्रबक्स गणका प्रमुख सेनानी गौरवध्वज खाँडले जानकारी दिए ।

    खोज तथा उद्धार अभ्यासअन्तर्गत हिमनदी र पर्वतीय खोंचमा पसेका यात्रीलाई सुरक्षित उद्धार लगायतका अभ्यास हुने उनले बताए । ‘रेस्क्यु’ अभ्यासअन्तर्गतको पहिलो दिन इन्द्रबक्स गणको नजिकैको विशाल चट्टानी पहाडमा डोरीको सहायताबाट रक क्लामिङको नमूना अभ्यास गरी ‘रेस्क्यु’ अभ्यास गरिएको हो । त्यसैगरी अभ्यासको दोस्रो दिन आज (शुक्रबार) घरपझोङ गाउँपालिका–५ स्थित सैनिक उच्च शिखर शिक्षालय नजिकै रहेको हिमनदी इलाकामा ‘रेस्क्यु’ अभ्यास हुने इन्द्रबक्स गणले जनाएको छ । उक्त स्थान समुद्री सतहको चार हजार मिटरको उचाइमा छ ।

    हिमनदी र हिउँ पहिरो जाने क्षेत्रमा अलपत्र परेका पदयात्रीको खोज तथा उद्धारकार्यको कृत्रिम अभ्यास गरिने जनाइएको छ । अभ्यास कार्यक्रमको पश्चिम पृतना हेडक्र्वाटरका पृतनापति एवं उपरथि भोलानाथ थापा, २३ नंं बाहिनीका बाहिनीपति एवं सहायक रथि विजय केसी, सैनिक उच्चशिखर शिक्षालयका महासेनानी सुशील प्याकुरेल र इन्द्रबक्स गणका गणपति प्रमुख सेनानी गौरवध्वज खाँडले अवलोकन गरेका थिए ।

    त्यसैगरी, अभ्यास कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म र जिल्ला प्रहरी कार्यालय मुस्ताङका सुरक्षा प्रमुख एवं प्रतिनिधिको उपस्थिति थियो । उच्च उचाइको क्षेत्रमा गरिने यस प्रकारका खोज तथा उद्धार अभ्यासले हिमाली क्षेत्रमा पदयात्रा गर्ने स्वदेशी तथा विदेशी पर्यटकको उद्धारकार्यमा प्रभावकारी भूमिका खेल्ने विश्वास गरिएको छ । रासस

  • १६ युरोपेली देशसँग श्रम समझदारीको पहल

    १६ युरोपेली देशसँग श्रम समझदारीको पहल

    काठमाडौँ, वैशाख २५ गते । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले १६ वटा युरोपेली देशसँग श्रम समझदारी अघि बढाउन परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिएका छन् । बिहीबार सिंहदरबारमा बसेको प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री यादवले श्रम समझदारीका लागि मन्त्रालयबाट पहल गर्दा सम्बन्धित देशबाट जवाफ आउन ढिलाइ भएकाले परराष्ट्र मन्त्रालयमार्फत पहल गर्न लागेको जानकारी दिए ।


    मन्त्रालयका अनुसार जिटुजी र बिटुबी गरी हाल १३ देशसँग मात्रै श्रम समझदारी गरेको छ तर नेपाली भने रोजगारीका लागि १७८ वटा देशमा श्रम स्वीकृति लिएर गएका छन् । श्रम समझदारी नभएका देशमा जाने श्रमिक आर्थिक शोषणमा पर्ने गरेका छन् । अझै युरोप जाने नेपालीमाथि हुने ठगी अझै डरलाग्दो रहेको छ । श्रममन्त्री यादवले युरोपमा वैदेशिक रोजगार प्रक्रियामा भइरहेको आर्थिक ठगी र श्रमशोषण नियन्त्रण गर्न सकेमा यी देशमा जाने नेपालीमाथि भएरहेको ठगी नियन्त्रण हुने बताए ।

    उनका अनुसार श्रमका लागि विभिन्न देशमा जाने नागरिकमध्ये ४८ प्रतिशतले व्यक्तिगत श्रम स्वीकृति लिने गरेका छन् । मन्त्री यादवले विभिन्न देशमा महिला घरेलु श्रमिक गैरकानुनी बाटोबाट जाने गरेकाले समस्या पर्दा राज्यले केही गर्न नसकेको पनि स्वीकार गरे ।

    बैठकमा उठेका प्रश्नको जवाफमा उनले पछिल्लो समय युद्धका कारण विदेशमा मृत्यु भएका श्रमिकको शव ल्याउन केही ढिलाइ भएको भन्दै अब भने ढिलाइ नहुने स्पष्ट पारे । बैठकमा समिति सदस्यले वैदेशिक रोजगारमा जाने नेपालीलाई ठगिनबाट रोक्नका लागि राज्य गम्भीर भएर लाग्नुपर्ने सुझाव दिए । बैठक सो समितिका सभापति रहबर अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • अमच्याम नेपालको प्रतिनिधिमण्डलद्वारा अमेरिकी उपविदेशमन्त्रीसँग भेटवार्ता

    अमच्याम नेपालको प्रतिनिधिमण्डलद्वारा अमेरिकी उपविदेशमन्त्रीसँग भेटवार्ता

    २५ वैशाख, काठमाडौं । सेलेक्ट युएसए इन्भेस्टमेन्ट समिटमा सहभागी हुन वासिङ्टन डीसी पुगेको अमेरिकन च्याम्बर अफ कमर्स इन नेपाल (अमच्याम नेपाल) को प्रतिनिधिमण्डलले संयुक्त राज्य अमेरिकाका उपविदेशमन्त्री क्रिस्टोफर लन्डौसँग विशेष भेटवार्ता गरेको छ । पूर्व कूटनीतिज्ञ तथा मेक्सिकोका लागि पूर्व अमेरिकी राजदूतसमेत रहेका उपविदेशमन्त्री लन्डौले नेपाल–अमेरिका आर्थिक सम्बन्धलाई सुदृढ गर्ने विषयमा आफ्नो दृष्टिकोण राखेको अमच्याम नेपालले जनाएको छ ।


    राजनीतिक नेतृत्व परिवर्तन भइरहने भए पनि निरन्तरको नीतिगत ढाँचा र दिगो आर्थिक कूटनीतिले नै दीर्घकालीन समृद्धि ल्याउने कुरामा उनले जोड दिएका थिए । अमच्यामको विज्ञप्तिमा लान्डौंको भनाइ उद्धृत गर्दै भनिएको छ, ’नेपाल मेरो हृदयमा छ र म कुनै दिन त्यहाँ भ्रमण गर्न चाहन्छु ।’

    अमच्याम नेपालका कार्यकारी निर्देशक अमिर आर। थापाको नेतृत्वमा रहेको उक्त प्रतिनिधिमण्डलले उपविदेशमन्त्री लन्डौलाई नेपाल भ्रमणको औपचारिक निम्तोसमेत दिएको थियो । भेटमा प्रतिनिधिमण्डलले अमच्याम नेपालको बढ्दो प्रभावबारे जानकारी गराउँदै हाल १४ वटा क्षेत्रका ६६ वटा अमेरिकी-सम्बद्ध कम्पनीहरूको प्रतिनिधित्व गरिरहेको र यसले द्विपक्षीय व्यावसायिक संलग्नतालाई विस्तार गरिरहेको बताएको थियो ।

    अमच्याम नेपालले सेलेक्ट युएसए समिटमा नेपालको ऐतिहासिक सहभागितालाई सम्भव बनाउन अमेरिकी विदेश मन्त्रालय र वाणिज्य मन्त्रालयले गरेको निरन्तर साझेदारी र सहयोगप्रति हार्दिक आभार व्यक्त गरेको छ ।

    समिटको एक विशेष सत्रमा विलियम किमिटले सम्बोधन गर्दै मजबुत नीतिगत वातावरण, नवप्रवर्तन र बजारको अवसरलाई औंल्याउँदै अमेरिकालाई प्रत्यक्ष वैदेशिक लगानीको प्रमुख गन्तव्यका रूपमा प्रस्तुत गरेका थिए ।

    यसैबीच, अमच्याम नेपालले नीतिगत स्थिरता, निजी क्षेत्रको नेतृत्व र उद्यमका लागि अनुकूल वातावरणमार्फत नेपालको लगानीको वातावरण सुधार गर्न आफ्नो प्रतिबद्धता दोहोर्‍याएको छ । ‘सेलेक्ट युएसए’ जस्ता मञ्चहरूले नेपाल र अमेरिकाबीच लगानी र सहकार्यका नयाँ अवसरहरू खोल्न तथा विश्वसनीय साझेदारी निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विज्ञप्तिमा उल्लेख छ ।

    समिट र भेटवार्तामा नेपालको तर्फबाट सितेश भट्टराई, अभय पौडेल, सबिन थापा, अनिश श्रेष्ठ र दिनेश सिलवाल सहभागी थिए।

  • आज पनि केही स्थानमा मध्यमखालको वर्षा

    आज पनि केही स्थानमा मध्यमखालको वर्षा

    २५ वैशाख, काठमाडौं । पश्चिमी वायुको प्रभावले हाल देशका विभिन्न भागमा बदली भएको र केही स्थानमा मेघगर्जनसहित वर्षा पनि हुने पूर्वानुमान गरिएको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव छ ।

    सो प्रभावका कारण गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश हिमाली तथा पहाडी भू–भागमा साधारणतया बदली छ । बाँकी तराई भागमा आंशिक बदली छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा पनि भइरहेको छ ।

    आज दिउँसो कोशी प्रदेशसहित अन्य प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बाँकी तराई क्षेत्रका एकदुई स्थानमा हल्का वर्षा हुन सक्ने अनुमान छ । उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

    आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । साथै मधेश प्रदेशसहित अन्य हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।

  • सुदन किराती श्रम संस्कृति पार्टीमा मिसिए, आज घोषणा हुँदै

    सुदन किराती श्रम संस्कृति पार्टीमा मिसिए, आज घोषणा हुँदै

    २५ वैशाख, काठमाडौं । पूर्वमाओवादी नेता सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । यसको औपचारिक घोषणा भने आज हुँदैछ । त्यसका लागि आज अपराह्न तीन बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा पत्रकार सम्मेलन आयोजना गरिँदैछ । यसलाई किराती पक्षले ‘पार्टी एकता’ भनेको छ । किरातीको सचिवालयका एक सदस्यले श्रम संस्कृति पार्टीसँग पार्टी एकताको सैद्धान्तिक सहमति भएको र त्यसको जानकारी आज पत्रकार सम्मेलनमार्फत् दिइने बताए ।

    भोजपुरका सुदन किराती पूर्वमाओवादी नेता हुन् । उनी पर्यटन मन्त्री समेत बनेका थिए । तर जेनजी आन्दोलनपछि प्रचण्ड, माधव नेपाल सहितका नेताहरुले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी गठन गरेपछि त्यसमा असहमत हुँदै उनी प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)मा लागेका थिए । माओवादीका पूर्वउपमहासचिव जनार्दन शर्माको पहलमा खोलिएको प्रलोपामा सुदन किराती पाँच सदस्यीय अध्यक्ष परिषदको सदस्य थिए । फागुन २१ को निर्वाचनमा एक सिट पनि जित्न नसकेपछि पार्टी अहिले कमजोर अवस्थामा पुगेको छ ।

    रास्वपा छाडेर प्रलोपा रोजेका अध्यक्ष परिषदका अर्का सदस्य समेत रहेका सन्तोष परियार पनि पार्टीबाट अलग भइसकेका छन् । उता श्रम संस्कृति पार्टी भने निर्वाचनबाट संसदको पाँचौं ठूलो दल बनेको छ । निर्वाचनका बेलादेखि नै किराती श्रम संस्कृतिका पार्टीका नेताहरुसँग सम्पर्कमा थिए ।

  • साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो

    साउदी असहमतिपछि ट्रम्पको नौसैनिक योजना रोकियो

    वासिङ्टन, वैशाख २४ गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलघाँटी हुँदै आवतजावत गर्ने व्यावसायिक जहाजलाई सुरक्षा एस्कोर्ट उपलब्ध गराउने महत्त्वाकांक्षी नौसैनिक योजना अचानक स्थगित गरेका छन् । साउदी अरेबियाले अमेरिकी सैन्य विमानलाई आफ्नो हवाई क्षेत्र प्रयोग गर्न तथा प्रिन्स सुल्तान एयरबेस सञ्चालनमा ल्याउन अनुमति दिन अस्वीकार गरेपछि उक्त योजना रोकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै एनबिसी न्युजले जनाएअनुसार ट्रम्प प्रशासनको ‘प्रोजेक्ट फ्रिडम’ नामक सैन्य योजना खाडी क्षेत्रका प्रमुख साझेदार मुलुकलाई पूर्वतयारी बिना सार्वजनिक गरिएको थियो । यसले विशेष गरी साउदी अरेबिया र अन्य खाडी राष्ट्रलाई असहज बनाएको बताइएको छ । प्रतिवेदनअनुसार राष्ट्रपति ट्रम्पले साउदी युवराज मोहम्मद बिन सलमानसँग प्रत्यक्ष टेलिफोन संवाद गरी सहयोगका लागि प्रयास गरेका थिए ।

    तर रियादले अमेरिकी सैन्य विमानलाई आफ्नो भूभाग तथा हवाई मार्ग प्रयोग गर्न अनुमति दिन अस्वीकार गरेपछि अपरेसन तत्कालका लागि रोक्नुपरेको हो । एनबिसी न्युजसँग कुरा गर्ने एक साउदी स्रोतले योजनाको प्रकृतिप्रति असन्तुष्टि व्यक्त गर्दै ‘यस्तो प्रकारका सैन्य गतिविधिमा वास्तविक समयमै परिस्थिति तीव्ररूपमा बदलिन्छ’ भनेको थियो । स्रोतले साउदी अरेबिया प्रत्यक्ष सैन्य तनावभन्दा पनि कूटनीतिक समाधानको पक्षमा रहेको स्पष्ट पारेको छ ।

    उक्त स्रोतका अनुसार रियादले अमेरिका र इरानबिच सम्भावित समझदारी कायम गराउने उद्देश्यले पाकिस्तानले नेतृत्व गरिरहेको कूटनीतिक पहललाई सकारात्मकरूपमा समर्थन गरिरहेको छ । खाडी क्षेत्रमा बढ्दो अस्थिरताकाबिच साउदी अरेबियाले प्रत्यक्ष सैन्य संलग्नताबाट दूरी कायम राख्न खोजेको सङ्केत यस घटनाले दिएको विश्लेषकले बताएका छन् । यता ह्वाइट हाउसका एक अधिकारीले भने अमेरिकी प्रशासनले ‘क्षेत्रीय सहयोगी राष्ट्रलाई अपरेसनबारे अग्रिम जानकारी गराइएको’ दाबी गरेका छन् ।

    तर समाचारमा उद्धृत एक पश्चिम एसियाली कूटनीतिज्ञले अमेरिका स्वयंले योजना सार्वजनिक गरिसकेपछि मात्रै ओमानलगायत सम्बन्धित पक्षसँग समन्वय थालेको बताए । कूटनीतिज्ञका अनुसार ‘पहिले घोषणा गर्ने र त्यसपछि समन्वय खोज्ने शैली’ ले क्षेत्रीय साझेदारलाई असहज बनाएको थियो । यद्यपि उनले यसबाट कुनै औपचारिक विवाद वा आक्रोश सिर्जना नभएको पनि उल्लेख गरेका छन् ।

    यसबिच, ट्रम्पले ‘प्रोजेक्ट फ्रिडम’ अस्थायीरूपमा रोकिएको घोषणा गरेको भोलिपल्ट इरानले हर्मुज जलघाँटी क्षेत्रमा सञ्चालित व्यावसायिक जहाजलाई आवश्यक सम्पूर्ण सहायता दिन आफू तयार रहेको घोषणा गरेको छ । इरानको बन्दरगाह तथा समुद्री सङ्गठनले बिहीबार जारी गरेको विज्ञप्तिमा समुद्री सुरक्षा, प्राविधिक सहयोग, स्वास्थ्य सेवा तथा इन्धन आपूर्ति उपलब्ध गराउन सम्पूर्ण संरचना सक्रिय पारिएको जनाएको छ । इरानको सरकारी समाचार संस्था आइआरएनएका अनुसार यो सूचना समुद्री सञ्चार प्रणालीमार्फत क्षेत्रका सबै जहाजहरूलाई औपचारिकरूपमा पठाइएको छ ।

    इरानी समुद्री प्राधिकरणले जहाजको समुद्री योग्यता सुधार गर्ने, चालक दलको सुरक्षा सुनिश्चित गर्ने तथा आपत्कालीन अवस्थामा तत्काल सहयोग उपलब्ध गराउने उद्देश्यले यस्तो कदम चालिएको जनाएको छ । विज्ञप्तिअनुसार आवश्यक परे जहाज मर्मतसम्बन्धी सामग्रीसमेत उपलब्ध गराइने छ । इरानले विशेष गरी आफ्नो क्षेत्रीय पानी तथा लङ्गर क्षेत्रमा सञ्चालन गरिरहेका जहाजलाई लक्षित गर्दै नजिकका बन्दरगाहस्थित ‘भेसल ट्राफिक सर्भिस’ केन्द्र वा भिएचएफ च्यानल १६ मार्फत सम्पर्क गर्न आग्रह गरेको छ ।

    इरानी बन्दरगाह तथा समुद्री सङ्गठनले यो पहललाई विश्वकै सबैभन्दा संवेदनशील र रणनीतिक समुद्री मार्गमध्ये एकमा ‘सुरक्षित र दिगो समुद्री यातायात कायम राख्ने राष्ट्रिय जिम्मेवारी’ का रूपमा व्याख्या गरेको छ । सङ्गठनका अनुसार उक्त सूचना लगातार तीन दिनसम्म दिनमा तीन पटक समुद्री सञ्चार प्रणालीमार्फत प्रसारण गरिने छ । खाडी क्षेत्रमा पछिल्ला महिनामा अमेरिका–इरान तनाव बढिरहेका बेला हर्मुज जलघाँटी फेरि अन्तर्राष्ट्रिय रणनीतिक केन्द्रविन्दु बनेको छ ।

    विश्वको ठूलो मात्रामा तेल आपूर्ति यही समुद्री मार्गबाट हुने भएकाले यहाँको कुनै पनि सैन्य गतिविधिले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष असर पार्ने गर्छ । राष्ट्रपति ट्रम्पले मङ्गलबार ट्रुथ सोसलमार्फत ‘प्रोजेक्ट फ्रिडम’ रोकिएको जानकारी दिँदै पाकिस्तानको आग्रहपछि यो निर्णय गरिएको उल्लेख गरेका थिए । उनले अमेरिका र इरानबिच सम्भावित समझदारीतर्फ प्रगति भइरहेको दाबी गर्दै तत्कालका लागि तनाव कम गर्ने उद्देश्यले विराम दिइएको बताएका थिए ।

    ट्रम्पले इरानविरुद्धको रणनीतिक अभियानमा अमेरिका ‘महत्त्वपूर्ण सैन्य लाभ’ को अवस्थामा पुगेको दाबी पनि गरेका थिए । साथै तेहरान र वासिङ्टनबिच अन्तिम सहमति सम्भव छ कि छैन भन्ने परीक्षणका लागि यो विराम आवश्यक रहेको उनको भनाइ थियो । विश्लेषकका अनुसार साउदी अरेबियाको असहमतिले अमेरिकाको क्षेत्रीय सैन्य रणनीतिमा चुनौती थपिएको छ भने पाकिस्तान र ओमानजस्ता मुलुकको कूटनीतिक सक्रियता अहिलेको तनाव व्यवस्थापनमा महत्त्वपूर्ण बन्दै गएको देखिएको छ । रासस-एएनआई

  • अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    अन्टार्कटिकामा पर्यटनसँगै जोखिम बढ्दो

    ब्रसेल्स, वैशाख २४ । जलवायु परिवर्तनका कारण तीव्ररूपमा पग्लिदै गएको अन्टार्कटिकातर्फ आकर्षण बढेसँगै त्यहाँको नाजुक वातावरणमा प्रदूषण, रोग र पारिस्थितिकीय क्षतिको जोखिम पनि उल्लेखनीय रूपमा बढ्दै गएकोमा विज्ञहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन् । पृथ्वीको सबैभन्दा दुर्गम र संवेदनशील भूभाग मानिने यो महाद्वीपमा ‘अन्तिम अवसर’ को सोचले पर्यटकको चाप तीव्र गतिमा बढिरहेको छ ।

    हालसम्म पर्यटक सङ्ख्या तुलनात्मकरूपमा कम देखिए पनि वृद्धि दर असाधारण छ । महँगो लागत र लामो यात्रा समयका बाबजुद पछिल्ला वर्षमा अन्टार्कटिकामा जानेको सङ्ख्या उल्लेखनीय रूपमा बढेको छ, जसले वैज्ञानिक र वातावरणविद्लाई सतर्क बनाएको छ ।

    सन् २०२४ मा मात्र ८० हजारभन्दा बढी पर्यटकले महाद्वीपमा अवतरण गरेका थिए भने करिब ३६ हजारले जहाजमै बसेर अवलोकन गरेका थिए । विगत तीन दशकमा पर्यटन गतिविधि दस गुणाले बढेको तथ्याङ्कले देखाउँछ र आगामी दशकमा यो सङ्ख्या तीनदेखि चार गुणासम्म बढ्न सक्ने अनुमान गरिएको छ ।

    अन्टार्कटिकाको सबैभन्दा बढी भ्रमण गरिने क्षेत्र प्रायद्वीप हो । यो विश्वकै सबैभन्दा तीव्र तापक्रम वृद्धि हुने क्षेत्रमध्ये एक मानिन्छ । अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार सन् २००२ देखि २०२० सम्म हरेक वर्ष औसत १४९ अर्ब मेट्रिक टन बरफ पग्लिएको थियो, जसले यहाँको वातावरणीय असन्तुलन झन् तीव्र बनाएको छ ।

    पर्यटनसँगै स्वास्थ्य जोखिम पनि सतहमा देखिन थालेका छन् । हालै डच क्रूज जहाज एमभी होन्डियसमा दुर्लभ हान्ता भाइरसको घातक प्रकोप देखिएपछि विश्वव्यापी ध्यान आकर्षित भएको छ । विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ०का अनुसार उक्त जहाज अप्रिल १ मा अर्जेन्टिनाको उशुइयाबाट प्रस्थान गरी अन्टार्कटिका र वरपरका टापुहरूमा पुगेको थियो । सङ्गठनले जहाजमा मानव–देखि–मानव सङ्क्रमण भएको हुनसक्ने आशङ्कामा अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक अनुमान अनुसार पहिलो सङ्क्रमित व्यक्ति यात्रा अघि नै सङ्क्रमित भएको हुन सक्छ ।

    यसअघि पनि क्रूज जहाजमा रोगको जोखिम देखिँदै आएको छ । नोरोभाइरस जस्ता सङ्क्रमण सङ्कुचित स्थानमा छिटो फैलिने भएकाले जोखिम उच्च रहन्छ । सन् २०२० मा डायमन्ड प्रिन्सेस जहाजमा कोभिड–१९ फैलिँदा त्यस्तो यात्रा कति जोखिमपूर्ण हुन सक्छ भन्ने उदाहरण देखिएको थियो । हान्ता भाइरस सामान्यतया सङ्क्रमित मुसा वा घरमुसा जस्ता जनावरको फोहोरबाट सर्ने भए पनि यस घटनाले नयाँ चिन्ता थपेको छ ।

    पर्यावरणीय दृष्टिले पनि जोखिम बढ्दो छ । प्रवासी चराबाट एभियन फ्लू अन्टार्कटिकासम्म पुगेको तथ्य अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले पुष्टि गरिसकेको छ । यस्तो अवस्थाले पर्यटकको गतिविधि अझ कडाइका साथ नियमन गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

    अन्टार्कटिका टुर अपरेटरको अन्तर्राष्ट्रिय सङ्घलगायत संस्थाले पर्यटकका लागि कडा स्वच्छता र आचरण सम्बन्धी नियम लागु गरेका छन् । भ्रमणका क्रममा जनावरबाट दूरी कायम राख्ने, जमिनमा अनावश्यक सम्पर्क नगर्ने तथा जुत्ता र उपकरण पूर्णरूपमा सफा राख्ने निर्देश दिइन्छ । यात्रु र चालक दलले जुत्ता र सामग्रीमा टाँसिन सक्ने सूक्ष्म जीव, बिउ वा फोहोर हटाउन विशेष सरसफाइ उपकरण प्रयोग गर्ने गरेका छन् ।

    विज्ञहरूका अनुसार केही पर्यटक ‘अन्तिम अवसर पर्यटन’ को मनोवृत्तिका साथ त्यहाँ पुग्ने गर्छन्, जसले पग्लिँदै गएको दृश्यलाई प्रत्यक्ष हेर्ने चाहना राख्छन् । तर यही प्रवृत्तिले दीर्घकालीनरूपमा वातावरणमा थप दबाब सिर्जना गर्ने खतरा बढाएको छ । अन्टार्कटिका सन् १९५९ को अन्टार्कटिक सन्धिअनुसार शान्तिपूर्ण र वैज्ञानिक प्रयोजनका लागि मात्र प्रयोग गरिने क्षेत्र हो ।

    सन्धिले कुनै पनि भ्रमणले वातावरण वा वैज्ञानिक तथा सौन्दर्य मूल्यमा नकारात्मक असर पार्न नहुने स्पष्ट व्यवस्था गरेको छ । यद्यपि, पर्यटन तीव्ररूपमा बढ्दै जाँदा पुराना नियम पर्याप्त नहुने चिन्ता पनि व्यक्त हुन थालेको छ । वातावरणविद्ले अन्टार्कटिकालाई विश्वका अन्य संवेदनशील पारिस्थितिकीय क्षेत्र सरह कडाइका साथ नियमन गर्न आवश्यक रहेको बताएका छन् । उनीहरूका अनुसार अहिलेको वृद्धि दरलाई बेवास्ता गरिए भविष्यमा यो अमूल्य भूभाग गम्भीर क्षतिको सामना गर्न सक्छ । रासस-एपी

  • इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु

    इन्डोनेसियामा बस–ट्याङ्कर ठोक्किँदा १६ जनाको मृत्यु

    जकार्ता, वैशाख २४ गते । इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्याङ्कर एकआपसमा ठोक्किँदा भीषण आगलागी भएको छ । दुर्घटनामा कम्तीमा १६ जनाको ज्यान गएको छ भने चार जना घाइते भएका छन् । अधिकांश पीडित सवारीभित्रै च्यापिएर जलेका कारण उद्धार कार्य निकै कठिन बनेको अधिकारीहरूले बताएका छन् ।

    दक्षिण सुमात्रा प्रान्तको उत्तरी मुसी रावास रिजन्सी क्षेत्रमा दिउँसो भएको उक्त दुर्घटनामा करिब २० जना यात्रु बोकेको अन्तरसहर बस पूर्णरूपमा जलेर नष्ट भएको थियो । स्थानीय विपद् व्यवस्थापन एजेन्सीका अधिकारी मुगोनोका अनुसार बस दक्षिण सुमात्राको लुबुक्लिङ्गाउ सहरबाट जाम्बीतर्फ गइरहेको थियो । प्रारम्भिक अनुसन्धानले बसमा ठक्करअघि प्राविधिक समस्या देखिएको सङ्केत गरेको छ ।

    मुगोनोका अनुसार बसबाट अचानक स्पार्क निस्किएको हुन सक्ने अनुमान गरिएको छ । सम्भावित ठुलो दुर्घटनाबाट बच्न चालकले बसलाई सडकको दायाँपट्टि मोड्ने प्रयास गरेका थिए । तर सोही समयमा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको तेल ट्याङ्कर ट्रकसँग बस सीधै ठोक्किन पुगेको थियो ।

    ठक्कर अत्यन्त शक्तिशाली भएकाले केही क्षणमै दुवै सवारीमा आगो फैलिएको थियो । आगलागीले बस र ट्याङ्करलाई पूर्णरूपमा ढाकेको थियो । धेरै यात्रु बाहिर निस्किन नपाउँदै आगोले घेरेपछि उनीहरू सवारीभित्रै फसेका थिए । दुर्घटनामा बस चालकसहित १३ जना यात्रु तथा ट्याङ्करका चालक र सहचालकको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । अधिकांश शव जलेको अवस्थामा भेटिएकाले पहिचान गर्नसमेत कठिनाइ भएको जनाइएको छ ।

    दुर्घटनाबाट बाँचेका चार जना यात्रुलाई तत्काल नजिकैको स्वास्थ्य केन्द्रमा लगिएको थियो । घाइतेमध्ये तीन जनाको शरीर गम्भीर रूपमा जलेको छ भने एक जनालाई सामान्य चोट लागेको बताइएको छ ।

    अधिकारीहरूका अनुसार बसको यात्रु सूची अझै पूर्ण रूपमा फेला परेको छैन । त्यसैले वास्तविक यात्रु सङ्ख्या र मृतकको अन्तिम विवरण सङ्कलन भइरहेको छ । घटनास्थलमा उद्धार टोली, विपद् व्यवस्थापन अधिकारी तथा ट्राफिक प्रहरी परिचालन गरिएको थियो । आगो नियन्त्रणमा लिन दमकलकर्मीहरूले लामो समय सङ्घर्ष गर्नुपरेको थियो ।

    राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले सार्वजनिक गरेका तस्वीर र भिडियोमा राजमार्गभरि बाक्लो कालो धुवाँ फैलिएको तथा आगोको ठूलो मुस्लो उठिरहेको देखिन्छ । बस र ट्याङ्करका जलेका भग्नावशेष सडकभरि छरिएका थिए भने मोडिएको फलाम र जलेका संरचनाले दुर्घटनाको भयावहता झल्काएको थियो ।

    उद्धारकर्ताहरूले सवारीभित्र फसेका पीडितलाई निकाल्ने प्रयास गरे पनि आगो र क्षतिग्रस्त संरचनाका कारण काम जटिल बनेको थियो । दुर्घटनापछि ट्रान्स–सुमात्रा राजमार्गमा लामो समय यातायात अवरुद्ध भएको थियो ।

    इन्डोनेसियामा कमजोर सडक पूर्वाधार, अपर्याप्त सुरक्षा मापदण्ड र तीव्र गतिका कारण सडक दुर्घटना बारम्बार हुने गरेका छन् । गत साता मात्रै राजधानी जकार्ताबाहिर एउटा रेलले ट्र्याकबिच अड्किएको ट्याक्सीमा ठोक्किएपछि रोकिएको यात्रुवाहक रेललाई अर्को लामो दूरीको रेलले ठक्कर दिएको थियो । त्यस घटनामा महिलाका लागि छुट्याइएको डब्बामा रहेका कम्तीमा १५ जना महिलाको मृत्यु भएको थियो । रासस, एपी

  • सर्वोच्च अदालतका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस

    सर्वोच्च अदालतका न्यायाधीश शर्मा प्रधानन्यायाधीशमा सिफारिस

    २४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीश डा। मनोज शर्मा प्रधानन्यायाधीशमा सिफारिस भएका छन् । संवैधानिक परिषद्को बिहीबारको बैठकले प्रस्तावित प्रधानन्यायाधीशमा शर्माको नाम अघि सारेको हो । नेपालको न्यायिक इतिहासमा वरिष्ठतम् न्यायाधीशको साटो रोलक्रमको चौथो क्रममा रहेका न्यायाधीश प्रधानन्यायाधीशमा सिफारिस भएको यो पहिलो घटना हो ।

    संसदीय सुनुवाइ समितिले नाम अनुमोदन गरेमा उनी ३३ औं प्रधानन्यायाधीश बन्नेछन् । ६ वैशाख २०७६ मा सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त शर्मा संसदीय सुनुवाइबाट अनुमोदन भएमा पुरै कार्यकाल अर्थात् ६ वर्ष प्रधानन्यायाधीश रहनेछन् ।

    कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लसहित वरिष्ठतम् न्यायाधीश कुमार रेग्मी र हरि फुयाललाई छाडेर चौथो वरियताक्रममा रहेका शर्मालाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा प्रस्ताव गरेको हो ।

    ४ असार, २०२७ सालमा पर्सामा जन्मिएका शर्मा ३ असार, २०९२ सालमा मात्रै ६५ वर्ष पुग्नेछन् । प्रजातन्त्रको पुनर्स्थापनापछि कुनैपनि प्रधानन्यायाधीशले ६ वर्षे कार्यकाल पूरा गरेका छैनन् । ६ वर्षे कायकाल पूरा गर्दा उनी वैशाख, २०८९ सम्म प्रधानन्यायाधीश रहनेछन् । नेपाल ल क्याम्पसमा कानुनमा स्नातक र भारतको पुने विश्वविद्यालयमा कानुनमा स्नातकोत्तर गरेका उनले श्रम कानूनसँग सम्बन्धित विषयमा विद्यावारिधि गरेका छन् ।

    उनी पुनरावेदन अदालतको अतिरिक्त न्यायाधीशमा नियुक्त भएर अस्थायी न्यायाधीशको व्यवस्था हटाएपछि अवकाश भएका थिए । पछि चोलेन्द्रशम्सेर जबरा प्रधानन्यायाधीश भएका बेलामा उनी सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भइ संसदीय सुनुवाइ प्रक्रियाबाट अनुमोदन भएका हुन् ।

  • पोखरा विमानस्थलमा पूर्वमन्त्री कार्कीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    पोखरा विमानस्थलमा पूर्वमन्त्री कार्कीसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं, वैशाख २४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा मूल सम्झौता विपरीत ठेकेदार कम्पनीलाई कर छुट दिएर भ्रष्टाचार गरेको अभियोगमा तत्कालीन मन्त्री, सचिवहरूसहित १० जना र चिनियाँ निर्माण कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

    आयोगका अनुसार विमानस्थल निर्माणको क्रममा नेपाल नागरिक उड्डयन प्राधिकरण र चिनियाँ ठेकेदार कम्पनीबीच भएको खरिद सम्झौताको प्रावधान उल्लंघन गरी आर्थिक अनियमितता गरिएको अनुसन्धानबाट खुलेको छ। सम्झौतामा ठेकेदार कम्पनीले नै कर, महसुल तथा अन्य शुल्कहरू तिर्नुपर्ने स्पष्ट व्यवस्था भए पनि बद्‌नियतपूर्वक कर छुट दिने गरी ुइम्प्लिमेन्टेसन एग्रिमेन्टु गरेर राज्यको सार्वजनिक सम्पत्ति हिनामिना गरिएको आयोगले जनाएको छ।

    नेपाल सरकारले ऋण स्वरूप प्राप्त गरेको सार्वजनिक सम्पत्तिमध्येबाट जम्मा तीन अर्ब बैसट्ठी करोड पाँच लाख बाइस हजार एक सय साठी रूपैयाँ हिनामिना, हानिनोक्सानी र दुरूपयोग भएको पुष्टि भएपछि आयोगले बिहीबार मुद्दा दायर गरेको हो। ठेकेदार कम्पनीले सम्झौता बमोजिमको मूल्यबाट भुक्तानी लिने तर सो रकममा समावेश भएको कर राज्य कोषमा दाखिला नगरी दोहोरो लाभ लिएको देखिएको छ।

    आयोगले अर्थ मन्त्रालयका तत्कालीन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीलाई रू. ३,६२,०५,२२,१६०।– बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७, दफा ३ को उपदफा ९१० को देहाय (झ) र (ज) बमोजिम कैद, बिगो बमोजिम जरिवाना र बिगो असुल उपरको मागदाबी गरेको छ। साथै कार्कीविरुद्ध दफा २४ बमोजिम थप सजायको समेत माग गरिएको छ।

    यसैगरी, अर्थ मन्त्रालयका तत्कालीन सचिव शंकर प्रसाद अधिकारी र संस्कृति, पर्यटन तथा नागरिक उड्‌डयन मन्त्रालयका तत्कालीन सचिव महेश्वर न्यौपानेविरुद्ध पनि समान बिगो र कैद सजायको मागदाबी लिइएको छ। अन्य प्रतिवादीहरूमा तत्कालीन सहसचिवहरू केवल प्रसाद भण्डारी, सुरेश आचार्य र डण्डुराज घिमिरे तथा नेपाल नागरिक उड्‌डयन प्राधिकरणका तत्कालीन महानिर्देशक संजीव गौतम रहेका छन्।

    भ्रष्टाचारमा संलग्न रहेको अभियोगमा राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी, तत्कालीन इलेक्ट्रोनिक्स इन्जिनियर योगेश अर्याल, तत्कालीन उपसचिव युगराज पाण्डे र तत्कालीन शाखा अधिकृत उर्मिला भण्डारीविरुद्ध पनि रू. ३,६२,०५,२२,१६०।– बिगो कायम गरी मुद्दा दायर गरिएको छ।

    आयोगले निर्माण व्यवसायी र सोका मुख्य भई काम गर्ने अध्यक्ष वाङ बो एवं प्रोजेक्ट म्यानेजर याङ झिगाङलाई मतियारको रूपमा मुख्य कसुरदार सरह नै सजाय हुन मागदाबी गरेको सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए । ठेकेदार कम्पनीका पदाधिकारीहरूले गैरकानुनी लाभ प्राप्त गर्ने मतियार भई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २२ बमोजिमको कसुर गरेको आयोगको ठहर छ।

  • नयाँ प्रधानन्यायाधीशको टुङ्गो आज लगाइने

    नयाँ प्रधानन्यायाधीशको टुङ्गो आज लगाइने

    काठमाडौँ, वैशाख २४ गते । संवैधानिक निकायका पदाधिकारी नियुक्ति सिफारिसका लागि कानुनी बाटो खुलेसँगै प्रधान न्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बोलाइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने परिषद् बैठक बिहीबार बेलुका ५ बजेका लागि बोलाइएको हो । प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० को निजी सचिवालयका अनुसार बैठकमा भावी प्रधान न्यायाधीश सिफारिसको कार्यसूची रहेको छ ।

    मङ्गलबार राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेपछि गणपूरक सङ्ख्या र निर्णय प्रक्रियासम्बन्धी व्यवस्थाले पूर्णता पाएको थियो । कानुनी रिक्तता पूर्ति भएलगत्तै प्रधानमन्त्री शाहले परिषद् बैठक आह्वान गर्नुभएको हो । छ सदस्यीय परिषद्को अध्यक्षमा प्रधानमन्त्री र सदस्यमा प्रधान न्यायाधीश, प्रतिनिधि सभाका सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, प्रतिनिधि सभाका उपसभामुख र प्रतिनिधि सभाका प्रमुख विपक्षी दलका नेता रहने संवैधानिक प्रावधान छ । प्रधान न्यायाधीश सिफारिसको हकमा भने कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहने संवैधानिक व्यवस्था छ ।

    भावी प्रधान न्यायाधीश सिफारिसका विषयमा सार्वजनिक रूपमै विभिन्न अड्कलबाजी चलिरहेका बेला परिषद् बोलाइएको हो । यसअघिका प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतले उमेर हदका कारण चैत १७ गतेदेखि अनिवार्य अवकाश पाउनुभएको थियो । राउतको अवकाशपछि कायममुकायम प्रधान न्यायाधीशका रूपमा सपना प्रधान मल्लले सर्वोच्च न्यायालयको कमान्ड समाल्दै आउनुभएको छ ।

    राउत अवकाशपूर्व नै न्याय परिषद् सचिवालयले फागुन तेस्रो साता प्रधान न्यायाधीशका लागि योग्यता पुगेका छ जनाको नाम संवैधानिक परिषद्मा पठाएको थियो । सर्वोच्च अदालतमा तीन वर्ष कार्यकाल पूरा गरेका न्यायाधीश प्रधान न्यायाधीशको उम्मेदवार बन्न सक्ने संवैधानिक व्यवस्था अनुसार नाम पठाइएको थियो । न्याय परिषद् सचिवालयले वरिष्ठता क्रम र तीन वर्ष समयावधि पुगेका सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम परिषद्मा पठाएको थियो ।

    प्रधान न्यायाधीश सिफारिसमा अहिलेसम्मको अभ्यासले निरन्तरता पाएमा भावी प्रधान न्यायाधीशमा मल्लको सिफारिस हुने सम्भावना छ । परिषद्ले अभ्यासलाई निरन्तरता नदिएमा छ जनामध्ये कोही एक जनाको नाम प्रधान न्यायाधीशमा सिफारिस हुन सक्ने छ । परिषद्मा सहमतिले निर्णय हुन सक्ने अवस्था नरहेमा प्रधानमन्त्री र अन्य दुई सदस्यको बहुमतले प्रधान न्यायाधीश सिफारिस हुन सक्ने छ ।

    सिफारिस भएपछि प्रधान न्यायाधीशको नियुक्तिपूर्व संसदीय सुनुवाइ हुने छ । सुनुवाइ समितिले दुई तिहाइ बहुमतले अस्वीकृत नगरेमा सिफारिसमा परेका व्यक्ति नियुक्तिका लागि योग्य हुने छन् । अस्वीकृत भएमा भने परिषद्ले पुनः अर्को उम्मेदवार सिफारिस गर्नुपर्ने छ । निर्वाचनपछि सङ्घीय संसद्का संयुक्त समितिसमेत गठन भइसकेका छन् । प्रधान न्यायाधीश सिफारिसलगत्तै संसदीय सुनुवाइको प्रक्रियासमेत अगाडि बढ्ने छ ।

  • आज बागमती प्रदेशभर सार्वजनिक बिदा

    आज बागमती प्रदेशभर सार्वजनिक बिदा

    ४ वैशाख, काठमाडौं । वाग्मती प्रदेश सरकारले आज तेस्रो प्रदेश भाषा दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाउँदैछ । दिवसको अवसरमा आज वाग्मती प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । वाग्मती प्रदेश सरकारले विक्रम संवत् २०८१ देखि वैशाख २४ गतेलाई प्रदेश भाषा दिवसको रुपमा मनाउन सुरु गरेको थियो । प्रदेश सरकारी कामकाजको भाषा ऐन, २०८० अनुसार प्रदेश सरकारले २०८१ देखि प्रदेश भाषा दिवस मनाउन सुरु गरेको हो ।

    उक्त ऐन, २०८० साल कात्तिक २३ प्रदेश राजपत्रमा प्रकाशित भएको थियोे । ऐनको दफा ९१० को उपदफा ९३० बमोजिम प्रदेश राजपत्रमा प्रकाशित भएको १८० दिनदेखि कार्यान्वयन हुने व्यवस्था गरिएको थियो । जसअनुसार २०८१ वैशाख २४ गते ऐन कार्यान्वयन भएको १८० दिन पुगेकाले त्यस वर्ष पहिलो प्रदेश भाषा दिवस मनाइएको थियो ।

    सोहीअनुसार यस वर्ष तेस्रो प्रदेश भाषा दिवस मनाउन लागिएको वाग्मती प्रदेश, संस्कृति तथा पर्यटन मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीले जानकारी दिए ।

    यस अवसरमा आज बिहान भक्तपुरको दूधपाटीबाट भक्तपुर दरबार क्षेत्र–दत्तात्रेय–कमलविनायक हुँदै लन्चा फल्चा भत्क्यापाटीसम्म र्‍याली आयोजना गरिँदै छ । र्‍यालीपछि विशेष कार्यक्रम गरिने गरिने पर्यटन कार्यालय, काठमाडौंका प्रमुख पवनकुमार पोखरेलले बताए ।

  • इरानसँगको युद्ध छिट्टै समाप्त हुने ट्रम्पको दावि

    इरानसँगको युद्ध छिट्टै समाप्त हुने ट्रम्पको दावि

    २४ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध छिट्टै समाप्त हुने बताएका छन् । जर्जियाको गभर्नर पदका लागि रिपब्लिकन उम्मेदवार बर्ट जोन्सको समर्थनमा आयोजित कार्यक्रममा ट्रम्पले यस्तो दाबी गरेका हुन् । उनले आफू होर्मुज स्ट्रेट र इरानको परमाणु कार्यक्रमबारे सम्झौताको प्रयासमा रहेको पनि बताए । सीएनएनका अनुसार इरानले बिहीबार मध्यस्थकर्ताहरूलाई अमेरिकी प्रस्तावबारे आफ्नो जवाफ दिँदैछ ।


    इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अमेरिकी प्रस्तावबारे पाकिस्तानी मध्यस्थकर्तासँग आफ्नो राय राख्ने बताएका छन् । सीएनएनले स्रोतलाई उदृत गर्दै अमेरिका र इरान दुवै देश युद्ध समाप्ती का लागि सम्झौतातर्फ बढेका छन् । इरानले अहिले अमेरिकाको प्रस्तावमाथि विचार–विमर्श भइरहेको जनाएको छ ।

  • संविधान संशोधनको तयारीका लागि पूर्वमहान्यायाधिवक्ताहरू र कानुनविद्हरूबाट सुझाव संकलन

    संविधान संशोधनको तयारीका लागि पूर्वमहान्यायाधिवक्ताहरू र कानुनविद्हरूबाट सुझाव संकलन

    २४ वैशाख, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरू र कानुनविद्हरूबाट सुझाव संकलन गरेको छ। प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उनीहरुलाई आमन्त्रण गरी छलफलसहित सुझाव संकलन गरेको हो। छलफलमा पूर्वमहान्यायाधिवक्ताहरू डा। युवराज संग्रौला, सविता भण्डारी, रमनकुमार श्रेष्ठ, महादेव प्रसाद यादव, मुक्तिनारायण प्रधान, अग्निप्रसाद खरेलका साथै संविधानसभा सदस्य सुरेश आले मगर, प्रतिनिधिसभा सदस्य पर्शुराम तामाङ र पूर्व कानुन सचिव राजीव गौतम सहभागी थिए ।


    उक्त अवसरमा शासकीय स्वरूप, निर्वाचन प्रणाली, संघीय संरचना, न्यायपालिकाको पुनर्संरचना, संवैधानिक निकायको संख्या र समावेशिता लगायतका विषयमा विस्तृत छलफल भएको थियो। छलफलमा सहभागी विज्ञहरूले संविधान संशोधनको उद्देश्य स्पष्ट पार्नुपर्ने र यसको कार्यान्वयनमा सुधार आवश्यक रहेको कुरामा जोड दिए । उनीहरुले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखदेखि पूर्ण समानुपातिक निर्वाचन प्रणालीको आवश्यकता, स्थानीय तहलाई गैरदलीय बनाउनुपर्ने, र विदेशमा रहेका नेपालीहरूलाई मतदानको अधिकार दिनुपर्ने सुझाव दिए ।


    त्यसैगरी, प्रदेश तथा मन्त्रालयहरूको संख्या पुनरावलोकन गर्नुपर्ने, न्यायपालिका र संवैधानिक निकायहरूको संरचनामा सुधार ल्याउनुपर्ने तथा नेतृत्वको नैतिकता, समावेशिता र अन्तर्राष्ट्रिय अभ्यासका साथै विभिन्न समुदायका मुद्दा र संस्थागत प्रभावकारितामा समेत विशेष जोड दिए । कार्यदलका संयोजक शाहले संविधान जारी भएको एक दशकपछि यसको पुनरावलोकन गर्नुपर्ने आवश्यकता औँल्याए । राजनीतिक दलहरूबीच बढ्दो बहस र सुशासन एवं भ्रष्टाचार अन्त्यका लागि ुजेनजीु पुस्ताबाट भइरहेको मागको सन्दर्भमा सबै सरोकारवालाहरूबाट सुझाव संकलन गरी विस्तृत बहसपत्र तयार गरिने उनले बताए ।

  • काठमाडौंमा पुनः खुलेआम हत्या, कीर्तिपुरमा घट्यो घटना

    काठमाडौंमा पुनः खुलेआम हत्या, कीर्तिपुरमा घट्यो घटना

    २४ वैशाख, काठमाडौं । काठमाडौँको कीर्तिपुर नगरपालिका–१०, बोडेटोलमा धारिलो हतियार प्रयोग गरी आज एक युवकको हत्या भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईका अनुसार बुधबार दिउँसो धारिलो हतियार प्रहार गरेर गुल्मीको धुर्कोट गाउँपालिकाका विपिन घिमिरेको हत्या भएको छ ।

    उनले भने, “धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका विपिनको मृत्यु भएको छ । हतियार प्रहार गर्नेको पहिचान खुलिसकेको छ । प्रहरीले चाँडै पक्राउ गर्ने छ ।” प्रारम्भिक जानकारी अनुसार साथी–साथीबिच झगडा हुँदा हतियार प्रहार भएको उनको भनाइ छ । यसअघि पाटनमा गत महिना दुई जनाको धारिलो हतियार प्रहारबाट ज्यान गएको थियो ।

  • जगदिश प्रसाद अग्रवाल बने प्रधानमन्त्री बालेनको अवैतनिक स्वास्थ्य सल्लाहकार

    जगदिश प्रसाद अग्रवाल बने प्रधानमन्त्री बालेनको अवैतनिक स्वास्थ्य सल्लाहकार

    २४ वैशाख, काठमाडौं । सरकारले वरिष्ठ चिकित्सक एवं चिकित्सा शिक्षाविद् प्रा. डा. जगदिश प्रसाद अग्रवाललाई प्रधानमन्त्री वालेन्द्र शाहको अवैतनिक स्वास्थ्य सल्लाहकारमा नियुक्त गरेको छ। हिजो बसेको मन्त्रिपरिषद् बैठकले डा. अग्रवाललाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो। त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व डीन समेत रहेका डा. अग्रवालले मुलुकको स्वास्थ्य नीति, जनस्वास्थ्यका चुनौती र चिकित्सा शिक्षाको सुधारका लागि प्रधानमन्त्रीलाई आवश्यक परामर्श दिनेछन् ।


    उक्त नियुक्तिबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले भनिन्, ‘स्वास्थ्य क्षेत्रका अनुभवी र विज्ञ व्यक्तित्व प्रा. डा. जगदिश प्रसाद अग्रवालको नियुक्तिले प्रधानमन्त्रीलाई मुलुकको स्वास्थ्य नीति र सेवा सुधारका लागि महत्त्वपूर्ण प्राविधिक सहयोग र सुझाव प्राप्त हुने विश्वास लिएका छौँ। आइओएम जस्तो गरिमामय संस्थाको नेतृत्व गरिसक्नुभएका उहाँले अवैतनिक रूपमा आफ्नो विज्ञता र समय राज्यलाई उपलब्ध गराउनुहुनेछ।’

    प्रधानमन्त्री शाहले सार्वजनिक स्वास्थ्यलाई आफ्नो कार्यकालको मुख्य प्राथमिकतामा राखेको सन्दर्भमा डा. अग्रवालको नियुक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ। डा. अग्रवालले राज्यबाट कुनै पनि पारिश्रमिक वा आर्थिक सुविधा नलिई केवल विशेषज्ञका रूपमा आफ्नो सेवा पुर्‍याउनेछन् ।

  • स्वास्थ्य मन्त्री र विश्व बैंकका निर्देशकबिच भेट, के भयो कुराकानी ?

    स्वास्थ्य मन्त्री र विश्व बैंकका निर्देशकबिच भेट, के भयो कुराकानी ?

    २३ वैशाख, काठमाडौं । स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानी मन्त्री निशा मेहता र विश्व बैङ्कका निर्देशक डेभिड सिस्लेनबिच शिष्टाचार भेटवार्ता सम्पन्न भएको छ । आज मन्त्रालयमा भएको भेटका क्रममा स्वास्थ्य बिमा कार्यक्रमको सुदृढीकरण, डिजिटल प्रविधिको उच्चतम प्रयोग तथा दक्ष स्वास्थ्य जनशक्ति व्यवस्थापनलाई प्राथमिकताका साथ अगाडि बढाउने विषयमा छलफल भएको छ । विश्व बैंकले नेपालको स्वास्थ्य रणनीतिक योजना, स्वास्थ्य वित्त रणनीति तथा गुणस्तरीय स्वास्थ्य प्रणाली निर्माणमा पुर्‍याएको वित्तीय तथा प्राविधिक सहयोगप्रति मन्त्री मेहताले धन्यवाद व्यक्त गरिन् ।


    भेटका क्रममा विश्व बैङ्कका निर्देशक सिस्लेनले मन्त्री मेहतालाई बधाई ज्ञापन गर्दै सरकारको १०० बुँदे मार्गचित्र तथा प्राथमिकताका क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको प्रतिबद्धता व्यक्त गरे । छलफलका क्रममा स्वास्थ्य पूर्वाधारलाई जलवायु तथा विपद् प्रतिरोधी बनाउने, अस्पतालहरूमा खानेपानी, सरसफाइ तथा स्वच्छताको अवस्थामा सुधार ल्याउने लगायतमा सहकार्यलाई अझ प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।

  • पठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात

    पठाओ नेपालबाट बाहिरिए प्रबन्ध निर्देशक बस्न्यात

    २३ वैशाख, काठमाडौँ । नेपालमा राइड–सेयरिङ सेवाको पर्यावाची बनेको पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात बाहिरिएका छन् ।
    सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले नेपालमा राइड–सेयरिङ सेवाको नयाँ संस्कृतिको स्थापना गरेको मानिन्छ। प्रारम्भिक चरणमा नियामकीय अस्पष्टता, बजारको अविश्वास र पूर्वाधारको अभावजस्ता चुनौतीका बीच बस्न्यातको नेतृत्वले कम्पनीलाई अघि बढाएको थियो । उनको नेतृत्वमा पठाओले केवल सेवा विस्तार मात्र गरेन, शहरी जीवनशैलीमै परिवर्तन ल्याउने गरी राइड–सेयरिङ प्रयोगको बानी बसाल्यो। यसको जस बस्न्यातको नेतृत्वलाई नै जान्छ।

    हाल पठाओ नेपाल काठमाडौँ उपत्यका र देशका सातै प्रदेशमा सञ्चालनमा छ। यसले हजारौं चालक साझेदारलाई रोजगारी तथा आम्दानीको अवसर उपलब्ध गराएको छ, जसले गिग अर्थतन्त्रको विस्तारमा समेत योगदान पुर्‍याएको छ। पछिल्लो समय कम्पनी बहुआयामिक सेवातर्फ विस्तार हुँदै गएको छ। अब यो केवल सवारी सेवा मात्र नभई लामो दूरीका सवारी बुकिङ, सहरबीचको आवतजावत सेवा, खाना डेलिभरी, नेपाल भर पार्सल डेलिभरी र बजार प्लेटफर्मजस्ता सुविधासहित एकीकृत डिजिटल सेवा केन्द्रका रूपमा विकास हुँदै गएको छ।

    पठाओ नेपालले बस्न्यातको योगदानप्रति कृतज्ञता व्यक्त गर्दै उनको आगामी यात्राका लागि शुभकामना दिएको जनाएको छ।

  • सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

    सेवा प्रवाह सुधार्न मातहत निकायलाई शिक्षामन्त्रीको निर्देशन

    २३ वैशाख, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जनतालाई आशातीत तुल्याउनेगरी सेवा प्रवाह चुस्त, प्रभावकारी र नागरिकमैत्री बनाउन मातहत निकायलाई निर्देशन दिएका छन् । आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२÷८३ को तेस्रो त्रैमासिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्री पोखरेलले सेवाग्राहीका समस्या नागरिकका सरोकार र आम जनतालाई केन्द्रमा राखेर सेवा प्रणालीलाई सरल, सहज र परिणाममुखी बनाउन जोड दिए ।

    सरकारको प्रवक्तासमेत रहनुभएका मन्त्री पोखरेलले वर्तमान सरकारले नीतिगत तथा संरचनागत सुधारमार्फत सुशासन प्रवद्र्धन गर्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउने दिशामा काम गरिरहेको बताए । उनले सबै निकायलाई वार्षिक योजना तथा कार्यक्रम लक्ष्यअनुसार सम्पन्न गरी विकास र आर्थिक समृद्धिको लक्ष्यमा योगदान पुर्याउन आग्रह गरे । बैठकमा प्रस्तुत विवरण अनुसार चालु आर्थिक वर्षको नौ महिनामा ६४ प्रतिशत वित्तीय प्रगती हासिल भएको छ भने भौतिक प्रगती ७० प्रतिशत भन्दामाथी पुगेको छ ।


    समीक्षा अवधिमा सञ्चालनमा रहेका कार्यक्रमहरुको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र निर्धारित समयभित्र लक्ष्य हासिल हुने अपेक्षा गरिएको निष्कर्ष निकालिएको छ ।मन्त्रालयका योजना तथा अनुगमन महाशाका प्रमुख एवं सहसचिव शिवकुमार सापकोटाले प्रगति विवरण प्रस्तुत गरेका थिए । विभिन्न निकायका प्रमुखहरुले आ–आफ्नो प्रगति विवरण प्रस्तुत गरेका थिए ।


    तीन महिनामा लक्षित कार्यक्रमहरुको कार्यान्वयन अवस्था सन्तोषजनक रहेको र आर्थिक वर्षभित्र वार्षिक रुपमा लक्षित कार्यक्रम पुरा हुनेक्रममा रहेको बैठकले निष्कर्ष निकालेको छ । बैठकमा राष्ट्रिय योजना आयोगका प्रतिनिधि, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयका अधिकारी तथा मन्त्रालय मातह विभिन्न निकायका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

  • राज्य कोषबाट दोहोरो सुविधा लिनेविरुद्ध कडा बन्दै बालेन सरकार

    राज्य कोषबाट दोहोरो सुविधा लिनेविरुद्ध कडा बन्दै बालेन सरकार

    २३ वैशाख, काठमाडौं । राज्यकोषबाट दोहोरो र असीमित सुविधा लिने प्रवृत्तिलाई नियन्त्रण गर्न सरकारले सक्रियता देखाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पूर्वविशिष्ट पदाधिकारीहरूले प्रयोग गरिरहेको सवारी साधनको यथार्थ विवरण आजै उपलब्ध गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ।


    प्रधानमन्त्री कार्यालयद्वारा गरिएको पछिल्लो अध्ययनले केही पूर्वविशिष्ट पदाधिकारीहरूले कानुनले तोकेको भन्दा बढी सवारी साधन प्रयोग गरेको वा फरक–फरक निकायबाट दोहोरो सुविधा लिइरहेको तथ्य फेला पारेपछि हिजो गृहसँग स्पष्ट विवरण माग गरिएको हो। पत्रमा पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, पूर्वसभामुख र पूर्वराष्ट्रियसभा अध्यक्षहरूले लिइरहेको सुविधाको पूर्ण विवरण आजै कार्यालय समयभित्र इमेलमार्फत पठाउन ताकेता गरिएको छ।

    यस कदमबारे जानकारी दिँदै प्रधानमन्त्री वालेन्द्र शाहकी प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राज्यकोषको दुरुपयोग रोक्न र सुशासन कायम गर्न सरकारले कडाइका साथ विवरण माग गरेको बताइन् । उनका अनुसार कानुनले तोकेभन्दा बाहिर गएर लिइएका सुविधाको पहिचान गरी प्रणालीलाई पारदर्शी बनाउनु यो निर्देशनको मुख्य उद्देश्य हो।

    विगत लामो समयदेखि पूर्वविशिष्टहरूले मापदण्डविपरीत सरकारी स्रोत–साधनको प्रयोग गरिरहेको भन्दै आलोचना भइरहेका बेला सरकारले यो सक्रियता देखाएको हो। गृह मन्त्रालयबाट प्राप्त हुने विवरणको आधारमा मापदण्डभन्दा बढी सुविधा लिनेहरूको सवारी साधन फिर्ता गर्ने र प्रक्रियालाई थप व्यवस्थित बनाउने सरकारको तयारी छ।

  • मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीबारे ऊर्जा मन्त्रीको चासो

    मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीबारे ऊर्जा मन्त्रीको चासो

    २३ वैशाख, काठमाडौं । मनसुन नजिकिँदै गर्दा मौसमी सूचना प्रवाह र विपद् पूर्वतयारीको अवस्थाबारे जानकारी लिन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ बुधबार जल तथा मौसम विज्ञान विभाग पुगेका छन् । त्यस क्रममा मन्त्री श्रेष्ठले आजको मौसम अवस्था, विशेष तथा २४ घण्टे पूर्वानुमान, तीनदिने पूर्वानुमान, हवाई मौसम सेवा, विशेष मौसम विश्लेषण तथा बाढी सम्बन्धी पूर्वसूचना प्रणालीबारे विभागका प्राविधिक तथा अधिकारीहरूसँग विस्तृत छलफल गरे ।

    त्यस्तै चालू आर्थिक वर्षका कार्यक्रमको समीक्षा तथा आगामी आर्थिक वर्षका कार्यक्रमबारे पनि छलफल भएको थियो । सो अवसरमा मन्त्री श्रेष्ठले आगामी दिनमा विभागलाई थप प्रविधिमैत्री बनाउँदै हालको तीनदिने पूर्वानुमान क्षमतालाई विस्तार गरी सात दिनसम्मको पूर्वानुमान गर्न सक्ने बनाउनेतर्फ मन्त्रालयले पहल गर्ने बताए । उनले मनसुन सुरु हुने समय नजिकिँदै गएको उल्लेख गर्दै सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका लागि सूचना प्रणालीलाई अझ व्यवस्थित, प्रभावकारी र लक्षित समुदायसम्म पुग्ने बनाउन निर्देशनसमेत दिए ।

    उनले विभागलाई मौसमको अध्ययन केन्द्र बनाउनुपर्ने र त्यहाँबाट प्राप्त सूचना र तथ्यांकलाई सरकारी निकाय र अन्य सेवाप्रदायकले लाभ उठाउनुपर्ने बताए । मन्त्री श्रेष्ठले सीमित स्रोत साधन र जनशक्तिका बाबजुद निरन्तर रूपमा मौसम पूर्वानुमान तथा पूर्वसूचना प्रवाहमा खटिएका प्राविधिक र कर्मचारीहरूको कामप्रति धन्यवाद दिँदै कर्मचारीलाई प्रोत्सहानका कार्यक्रम ल्याउने समेत बताए । उक्त कार्यक्रममा जलस्रोत सचिव सरिता दवाडी र विभागका महानिर्देशक डा. अर्चना श्रेष्ठले विभागका वर्तमान गतिविधि, मौसम पूर्वानुमान प्रणाली र बाढी पूर्वसूचनासम्बन्धी कार्यप्रगतिबारे जानकारी गराइन् ।

  • शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

    शुल्क नबुझाई वर्षौँदेखि प्रयोगमा रहेका सरकारी जग्गा र संरचना खाली गर्न सरकारको निर्देशन

    २३ वैशाख, काठमाडौँ — भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भोगाधिकारमा लिइएका जग्गा र त्यसमाथि निर्माण गरिएका संरचना तत्काल खाली गर्न सम्बन्धित व्यक्ति, संस्था तथा निकायलाई निर्देशन दिएको छ। मन्त्रालयका अनुसार सरकारी जग्गा दर्ता, उपयोग तथा लिजमा उपलब्ध गराउने सम्बन्धी कार्यनीति, २०७९ (दोस्रो संशोधन सहित) को दफा २१ को उपदफा (२) बमोजिम साविकमा भोगाधिकार प्राप्त गरेका पक्षलाई उक्त जग्गा लिजमा परिणत गर्न ६ महिनाको समय दिइएको थियो। यसका लागि मिति २०७३–०२–३१ र २०७४–०१–२१ मा तत्कालीन भूमि सुधार तथा व्यवस्थापन विभागले सूचना प्रकाशित गरेको थियो।

    तर तोकिएको म्यादभित्र लिजमा परिणत गर्न निवेदन नदिएका व्यक्ति, संस्था तथा निकायहरूको हकमा भोगाधिकार कानुनतः स्वतः समाप्त भइसकेको मन्त्रालयले जनाएको छ। मन्त्रालयले सम्झौता बमोजिम तिर्न बाँकी रकम भए सरकारी कोषमा दाखिला गरी त्यस्ता जग्गा तथा त्यसमा निर्माण गरिएका संरचना समेत यथाशीघ्र खाली गर्न सम्बन्धित सबैलाई सूचित गरेको छ।

  • समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

    समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

    २३ वैशाख, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ । समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त सहकारीका ठुला ऋणीको नाममा क्रमशः सार्वजनिक गर्ने समितिले जनाएको छ । समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न भनेको छ । अन्यथा कानुन बमोजिम असुली गरिने जनाएको छ । 


    साथै अन्य ऋणीहरूको नामावली समेत क्रमिकरुपमा प्रकाशित हुने भएकाले त्यस्ता ऋणीहरूले पनि कार्यालयमा यथासिग्र सम्पर्क गरी ऋण तिर्न आग्रह गरेको छ । समितिले आज घेदुङ बहुउद्देश्यीय सहकारी, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी, तपाई हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी, आइडियल यमुना बहुउद्देश्यीय सहकारी, तुलसी बहुउद्देश्यीय सहकारी, नेपाल वित्तीय सहकारी, ओरियन्टल कोअपरेटीभ सहकारी , गौतम श्री सहकारी र नेपाल सहकारी वित्तीयका ठुला ऋणीको नाममा सार्वजनिक गरेको हो । ऋणीहरूको नाम यस प्रकार रहेको छ । 

  • निर्माण कार्यमा तीव्रता ल्याउन भौतिक तथा शहरी विकास मन्त्रालयको निर्देशन

    निर्माण कार्यमा तीव्रता ल्याउन भौतिक तथा शहरी विकास मन्त्रालयको निर्देशन

    २२ वैशाख, काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात, शहरी विकास मन्त्रालयले चालु आर्थिक वर्षको निर्माण आयोजनाहरुको काम द्रुत गतिमा अघि बढाउन र कार्यान्वयनका क्रममा देखिएका समस्याहरू समाधान गर्न मातहतका निकायहरुलाई निर्देशन दिएको छ। मंगलबार मन्त्रालयले मातहतका निकायहरुलाई निर्देशन जारी गर्दै निर्माण कार्यमा ढिलाइ हुने प्रवृत्तिको अन्त्य गर्न, नियमित अनुगमन तथा प्रगति प्रतिवेदन अनिवार्य रूपमा पेश गर्न भनेको हो ।

    आयोजना कार्यान्वयनमा देखिएका अवरोधहरू तत्काल पहिचान गरी समाधान गर्न सम्बन्धित निकायहरूबीच प्रभावकारी समन्वय गर्न समेत मन्त्रालयले परिपत्र गरेको छ । ‘मूल्य समायोजन सम्बन्धमा कन्ट्रयाक्ट डकुमेन्टमा भएको व्यवस्था अनुरुप मूल्य समायोजन गरिने हुदाँ सो व्यवस्था तत्काल कार्यान्वयनमा ल्याउनुहुन र उक्त व्यवस्था कार्यान्वयनमा कुनै समस्या भएमा वा मन्त्रालयबाट सहजीकरण हुनुपर्ने विषय भएमा तत्काल मन्त्रालयमा पठाउनुहुन निर्देशन छ ।, परिपत्रमा भनिएको छ ।

    कुनै आयोजनाको कार्य गतिविधि सुचारु नभएमा सम्बन्धित आयोजना प्रमुख र निर्देशक जिम्मेवार हुने तथा निर्माण स्थलमा उल्लेख्य प्रगति नभएको खण्डमा सम्बन्धित कार्यालय प्रमुख जिम्मेवारी हुने गरी व्यवस्था मिलाउन समेत मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको अग्रसरताले निर्माण क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गरी विकास आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने सहयोग पुग्ने मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बताए ।

  • पाथीभरामा टेलिकमको फोरजी सेवा

    पाथीभरामा टेलिकमको फोरजी सेवा

    काठमाडौँ, वैशाख २३ गते । नेपाल टेलिकमले ताप्लेजुङ जिल्लाको प्रसिद्ध तीर्थस्थल पाथीभरामा फोरजी सेवा सोमबारदेखि सञ्चालनमा ल्याएको छ । नेपाल टेलिकमले पाथीभरा मन्दिर र आसपासका स्थानीय तहलाई समेट्ने गरी उच्च गतिको फोरजी सेवा सञ्चालनमा ल्याइएको जनाएको छ ।

    समुद्र सतहबाट करिब तीन हजार ७९४ मिटरको उचाइमा रहेको सो विकट भौगोलिक क्षेत्रमा नेटवर्क विस्तार भएसँगै पाथीभराको दर्शन गर्न जाने भक्तजनका साथै मन्दिरआसपास जोडिएका फुङलिङ नगरपालिका, फक्ताङ्लुङ गाउँपालिका, सिरीजङ्घा गाउँपालिका र पाथीभरा याङवाराक गाउँपालिकाका बासिन्दा प्रत्यक्ष लाभान्वित हुने छन् । उच्च गतिको फोरजी डाटा सेवामार्फत मन्दिरपरिसरका तस्बिर, भिडियो तथा लाइभ अपडेट सामाजिक सञ्जालमा सहजै आदानप्रदान गर्न सकिने छ ।

    टेलिकमको सेवा विस्तारसँगै सञ्चारको पहुँचबाट टाढा रहेका सो जिल्लाका नगरपालिका तथा गाउँपालिकास्थित दुर्गम बस्तीका बासिन्दा अब सूचना प्रविधिको मूलधारमा जोडिएका छन् । यसले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत आवश्यकता पूर्तिमा सहयोग पु¥याउनुका साथै दैनिक जनजीवनलाई सहज र सुविधायुक्त बनाउने नेपाल टेलिकमका प्रवक्ता रकिन्द्र मानन्धरले जनाए ।

  • ट्रम्प भन्छन् : इरानसँगको वार्ता प्रगति उन्मुख

    ट्रम्प भन्छन् : इरानसँगको वार्ता प्रगति उन्मुख

    २३ वैशाख, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज क्षेत्र पुनः सञ्चालन गर्न सुरु गरिएको अमेरिकी अभियान अस्थायी रूपमा रोकिएको घोषणा गरेका छन्। पाकिस्तानसहित अन्य देशहरूको ‘अनुरोध’ तथा इरानका प्रतिनिधिहरूसँग ‘पूर्ण र अन्तिम सम्झौतामा उल्लेखनीय प्रगति भएको’ भन्दै उनले मंगलबार राति ट्रुथ सोसियल प्लेटफर्ममार्फत यस्तो घोषणा गरेका हुन्। उनले लेखेका छन्, ‘नाकाबन्दी पूर्ण रूपमा यथावत् रहने भए पनि प्रोजेक्ट फ्रिडमलाई केही समयका लागि स्थगित गर्ने आपसी सहमति भएको छ, ताकि सम्झौता अन्तिम रूपमा टुंग्याएर हस्ताक्षर गर्न सकियोस्।’

    खाडी क्षेत्रमा तनाव बढिरहेका बेला ट्रम्पको घोषणा आएको हो। यस विषयमा इरानले भने कुनै प्रतिक्रिया जनाएको छैन। यसअघि ट्रम्पले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै अमेरिकी सैन्य र आर्थिक दबाबका कारण इरान वार्तामा आउन बाध्य भएको बताएका थिए। ‘इरान सम्झौता गर्न चाहन्छ। तर मलाई मन नपर्ने कुरा के हो भने उनीहरू मसँग सम्मानका साथ कुरा गर्छन्,’ उनको भनाइ छ, ‘अनि टेलिभिजनमा गएर ‘हामीले राष्ट्रपतिसँग कुरा गरेका छैनौँ, भन्छन्। उनीहरू खेल खेलिरहेका छन्। तर म भन्छु, ‘उनीहरू सम्झौता गर्न चाहन्छन्। आखिर कसले चाहँदैन ? जब तपाईंको सैन्य शक्ति पूर्ण रूपमा कमजोर हुन्छ।’


    यसैबीच, अमेरिकी सेनाले केही इरानी डुङ्गा, क्रुज मिसाइल र ड्रोन नष्ट गरेको जनाएको छ। संयुक्त अरब इमिरेट्सले पनि दोस्रो दिन इरानबाट आएका मिसाइल र ड्रोन आक्रमणलाई आफ्नो हवाई प्रतिरक्षा प्रणालीले निष्क्रिय पारेको बताएको छ। त्यस्तै, हर्मुज मार्गमा अर्को एक व्यावसायिक जहाज ‘अज्ञात प्रोजेक्टाइल’बाट प्रहार भएको रिपोर्ट गरिएको छ। इरानले भने हर्मुज पार गर्न चाहने जहाजका लागि नयाँ प्रणाली लागू गरेको जनाएको छ। यसअनुसार जहाजहरूले पर्सियन गल्फका अधिकारीहरूसँग इमेल ठेगानामार्फत पछिल्ला आवागमन नियमहरूको जानकारी प्राप्त गर्नेछन्।

    इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजीसी)ले पनि इरानी नियन्त्रण क्षेत्र विस्तार गरिएको नयाँ नक्सा सार्वजनिक गर्दै तोकिएको मार्गमै चल्न चेतावनी दिएको छ, अन्यथा ‘निर्णायक प्रतिक्रिया’ दिइने बताएको छ।

  • आज यस्तो छ मूख्य राजमार्गको अवस्था

    आज यस्तो छ मूख्य राजमार्गको अवस्था

    २३ वैशाख, काठमाडौं । केही दिन यतादेखिको वर्षासँगै आएको बाढी पहिरोका कारण अवरुद्ध भएका देशका विभिन्न क्षेत्रका केही राजमार्गमा यातायात सुरु भएका छन् । बीपी राजमार्ग र मध्यपहाडी राजमार्गका केही खण्डहरु भने अझै पनि अवरुद्ध छन् ।

    प्रहरीका अनुसार ललितपुरको बागमती गाउँपालिका–३ भालुखोलास्थित कान्तिलोकपथ सडकखण्ड, ताप्लेजुङको मेरिङदेन गाउँपालिका–५ हाङगाङदाङ थुकिम्बा–दोभान भित्रि सडकखण्ड, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका–२ कोदारीस्थित ईकु पहिरोका कारण अवरुद्ध अरनिको राजमार्ग, मकवानपुर भिमफेदी गाउँपालिका–८ भर्याङडाँडास्थित कान्तिलोकपथ सडकखण्डमा यातायात सुरु भएको छ ।

    भोजपुर नगरपालिका बोखिमको मध्यपहाडी लोकमार्ग, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ जलथलेस्थित बेनी–जोमसोम सडकखण्ड एकतर्फी सञ्चालन भएका छन्। यसैगरी इलामस्थित रोङ गाउँपालिका–६ सलकपुर डखेप हुँदै झापा जाने भित्री कच्ची सडक, काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–६ चौकीडाँडा र रोशी गाउँपालिका–७ घुमाउने चारसयबेँसीस्थित बीपी राजमार्ग सडकखण्ड तथा लमजुङको मध्यनेपाल नगरपालिका–१० बिमिरेभञ्ज्याङस्थित मध्य पहाडी लोकमार्ग भने पूर्ण रुपमा अवरोध भएको प्रहरीले जनाएको छ ।

    काभ्रेपलाञ्चोकको खुर्कोट–नेपालथोक–कटुञ्जेबेसी चल्ने सम्पूर्ण सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । वर्षातको समयमा बाढी पहिराको जोखिम बढी हुने भएकाले अवरुद्ध भएका र एकतर्फी सञ्चालनमा भएका राजमार्गमा यात्रा गर्दा सुरक्षित एवं सावधानी तरिकाले यात्रा गर्न प्रहरीले आग्रह गरेको छ ।

  • गोदावरी–अस्ट्रेलियाको विन्डम सिटीबिच ‘मित्रता शहर’ सम्झौता

    गोदावरी–अस्ट्रेलियाको विन्डम सिटीबिच ‘मित्रता शहर’ सम्झौता

    काठमाडौँ, वैशाख २३ गते । अस्ट्रेलियाको भिक्टोरियास्थित विन्डम सिटी र ललितपुरस्थित गोदावरी नगरपालिकाबिच औपचारिक रूपमा ‘मित्रता शहर’ सम्झौता भएको छ । विन्डम सिटीमा आयोजित एक विशेष कार्यक्रममा सहकार्यसम्बन्धी सम्झौता गरिएको हो । सम्झौतामा विन्डम सिटीको तर्फबाट मेयर प्रीत सिंह र गोदावरी नगरपालिकाको तर्फबाट प्रशासनिक प्रमुख मानबहादुर खड्काले हस्ताक्षर गरे ।

    उनीहरुले सम्झौताका लागि आवश्यक समन्वय गरेको भन्दै पर्यटन व्यवसायी तथा अभियन्ता डिएन घिसिङलाई धन्यवाद दिए । दुवै पक्षले यस सहकार्यलाई स्थानीय तहमा अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धिका रूपमा उल्लेख गरे । “यस ऐतिहासिक सम्झौताले दुई नगरबिच आपसी सहकार्य, अनुभव आदानप्रदान तथा दीर्घकालीन सम्बन्ध विस्तार गर्ने उद्देश्य लिएको छ”, सम्झौतामा भनिएको छ ।

    ललितपुरको गोदावरी नगरपालिका प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा सांस्कृतिक सम्पदाले समृद्ध क्षेत्रका रूपमा परिचित छ । त्यस्तै, विन्डम सिटी आधुनिक पूर्वाधार, बहुसांस्कृतिक समाज र दिगो शहरी विकासको उत्कृष्ट उदाहरणका रूपमा चिनिन्छ । सम्झौतामा दुवै पक्षले भविष्यमा आपसी भ्रमण, सांस्कृतिक आदानप्रदान तथा संस्थागत सहकार्यलाई थप विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।

    कार्यक्रममा नेपाली मूलका उद्यमी, व्यवसायी तथा स्थानीय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति थियो । उपस्थित सहभागीहरूले सम्झौतालाई नेपाल र अस्ट्रेलियाबिचको दीर्घकालीन कूटनीतिक सम्बन्धलाई स्थानीय तहमा अझ सुदृढ बनाउने ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन् ।

    कार्यक्रममा वक्ताहरूले शिक्षा, पर्यटन, संस्कृति, वातावरण संरक्षण, आर्थिक विकास तथा समुदाय विकासका क्षेत्रमा सहकार्यले दुई सहरलाई दीर्घकालीन फाइदा पुग्ने अपेक्षा गरिएको छ । सम्झौताले नेपाल र अस्ट्रेलियाबिच विगत ६६ वर्षदेखि कायम रहेको कूटनीतिक सम्बन्ध स्थानीय तहमा विस्तार गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । रासस

  • सहकारी पीडितको बचत फिर्ता कसरी गरिँदै छ ?

    सहकारी पीडितको बचत फिर्ता कसरी गरिँदै छ ?

    काठमाडौँ, वैशाख २३ गते । सरकारले सहकारी संस्थामा बचत गरेर रकम फिर्ता नपाएका पीडितलाई आगामी जेठ पहिलो सातादेखि बचत फिर्ता दिन सुरु गर्ने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आवश्यक कार्यविधि तयार गरी कार्यान्वयन चरणमा लैजाने तयारी पूरा गरेको जनाएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले आगामी जेठको पहिलो साताबाट बचत फिर्ता प्रक्रिया औपचारिक रूपमा सुरु गरिने जानकारी दिइन् ।


    मन्त्रालयका अनुसार सहकारी क्षेत्रमा देखिएको वित्तीय सङ्कटका कारण हजारौँ सर्वसाधारणको बचत जोखिममा परेको अवस्थालाई ध्यानमा राख्दै यो निर्णय गरिएको हो । प्रारम्भिक चरणमा साना बचतकर्तालाई प्राथमिकता दिइने छ भने त्यसपछि क्रमशः अन्य पीडितलाई पनि समेटिने योजना छ । मन्त्री रावलले सरकार सहकारीपीडितप्रति गम्भीर रहेको बताउँदै राहत वितरणलाई प्राथमिकतामा राखिएको उल्लेख गरिन् ।

    उनका अनुसार पीडितको विश्वास पुनस्र्थापित गर्न पारदर्शी र छिटो प्रक्रिया अपनाइने जानकारी दिनुभयो । सरकारले यसका लागि विशेष मापदण्ड तय गरेको छ, जस अन्तर्गत पीडित बचतकर्ताले आवश्यक कागजातसहित निवेदन दिनुपर्ने छ । प्राप्त निवेदनको अध्ययन तथा प्रमाणीकरणपछि योग्य व्यक्तिलाई चरणबद्ध रूपमा रकम फिर्ता गरिने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सहकारी क्षेत्रमा देखिएका समस्या समाधान र बचतकर्ताको रकम फिर्तालाई उच्च प्राथमिकतामा राखेको पनि जनाएको छ ।

    समस्याग्रस्त सहकारीका करिब ७६ हजार बचतकर्ताले करिब ४६ अर्ब रुपियाँ फिर्ता पाउन बाँकी रहेकामा पहिलो चरणमा साना बचतकर्ताको रकम फिर्ता गर्न लागिएको हो । पाँच लाखभन्दा कम रकम बचतकर्तालाई साना र पाँच लाखभन्दा बढी रकम बचत गर्नेलाई ठुला बचतकर्ताका रूपमा वर्गीकरण गरिएको छ । पाँच लाखभन्दा बढी बचत गर्नेको सङ्ख्या १८ हजार रहेको छ ।

    बचत फिर्ताको मुख्य आधार ऋण असुली भएकाले सरकारले कडा कदम चाल्ने तयारी पनि समितिले गरेको छ । समस्याग्रस्त सहकारीबाट ऋण लिएर नतिर्ने ऋणीको सूची मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक गरिएको छ । ऋण असुली प्रभावकारी बनाउन त्यस्ता ऋणीलाई विद्युत्, खानेपानी, फोहोर व्यवस्थापनलगायतका सार्वजनिक सेवा सुविधाबाट वञ्चित गर्ने तयारी पनि भइरहेको मन्त्री रावलले बताइन् ।

    मन्त्रालयले दीर्घकालीन समाधानका लागि नेपाल राष्ट्र बैङ्क र महान्यायाधिवक्ताको कार्यालयसँग समन्वय भइरहेको जनाएको छ । ठुला फरार ऋणीलाई कानुनी दायरामा ल्याई ऋण असुलीमार्फत बचत सुरक्षित फिर्ता गरिने मन्त्री रावलको भनाइ छ । पछिल्ला केही वर्षयता सहकारी संस्थामा अनियमितता बढ्दै गएको छ । धेरै सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सर्वसाधारणमा आक्रोश र अविश्वास बढेको छ । यसअघि पनि सरकारलाई यस्तो समस्या समाधान गर्न दबाब बढ्दै आएको थियो ।

    तत्काल कर्जा चुक्ता गर्न निर्देशन

    समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित सहकारी संस्थाबाट ऋण लिएर नतिर्ने ऋणीलाई कर्जा तत्काल चुक्ता गर्न सार्वजनिक सूचनामार्फत निर्देशन जारी गरेको छ । ऋणीलाई साँवाब्याज तथा हर्जानासहितको सम्पूर्ण बक्यौता रकम यथाशीघ्र भुक्तानी गर्न समितिले मङ्गलबार जारी गरेको सूचनामार्फत आग्रह गरिएको छ । सहकारी ऐन, २०७४ को दफा १०४ बमोजिम समस्याग्रस्त घोषित सहकारीको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया अघि बढाइएको समितिले जनाएको छ ।

    बचतकर्ताको रकम फिर्ता गर्ने उद्देश्यले ऋणीबाट असुल हुन बाँकी रकम सङ्कलन गर्न आवश्यक भएको भन्दै समितिले समयमै कर्जा तिर्न सबै सम्बन्धित पक्षलाई ताकिता गरेको हो । यसैबिच समस्याग्रस्त सहकारी संस्थाका सञ्चालक, व्यवस्थापक, ऋणी सदस्य तथा जमानीकर्तालाई समेत तत्काल समितिको कार्यालयमा सम्पर्क राख्न भनिएको छ । तोकिएको समयभित्र कर्जा भुक्तानी नगरे वा सम्पर्कमा नआए कानुन अनुसार कारबाही प्रक्रिया अघि बढाइने समितिले चेतावनी दिएको छ ।