काठमाडौँ, २३ चैतः सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लसमक्ष नवनियुक्त महान्याधिवक्ता डा नारायणदत्त कँडेलले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । यहाँ सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उनले शपथग्रहण गरेका हुन् । त्यस अवसरमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, न्यायाधीशहरू र न्याय सेवाका उच्च अधिकारीको उपस्थिति रहेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा अधिवक्ता डा कँडेललाई आजै उक्त पदमा नियुक्त गरेका हुन् ।
Author: Vishwanews.com
-

‘बिदा पायौँ भनेर घुम्न नजानुस्, इन्धन खपतमा सजग रहौँ’
काठमाडौँ, २२ चैतः नेपाल आयाल निगमनले इन्धन खपतप्रति सचेत हुन उपभोक्तालाई आग्रह गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले सोमबारदेखि शनिबार र आइतबार बिदा दिने निर्णयलाई उपाभोक्ताले सहयोग गर्नुपर्ने निगमका प्रवक्ता मनोज ठाकुरले बताए । “बिदा पायौँ भनेर गाडी निकालेर घुम्न जानुभएन । जसरी भए पनि इन्धन खपत कम गर्ने हो । यसमा जनताको पनि योगदान चाहिन्छ”, प्रवक्ता ठाकुरले भने, “अहिले निगमलाई प्रतिलिटरमा रु १२० घाटा भइरहेको छ । सरकारको इन्धन खपत कम गर्न बिदा दिने निर्णय सकारात्मक छ । उपभोक्ताले पनि खपतमा सचेत हुँदै अति आवश्यकबाहेकका क्रियाकलापमा इन्धन खपत गर्नु भएन ।”
पेट्रोलियम पदार्थको आपूर्ति सङ्कट दिनप्रतिदिन बढ्दै गएपछि आजको मन्त्रिपरिषद् बैठकले सोमबारदेखि लागू हुने गरी सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थालाई दुई दिन बिदा दिने निर्णय गरेको हो । इन्धन खपत कम गर्न डिजेल तथा पेट्रोल प्रयोग गर्ने गाडीलाई विद्युतीय सवारी साधन परिवर्तन गर्न कानुनी सुधार गर्ने सरकारको निर्णयबारे सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
निगमको तथ्याङ्कअनुसार देशभर हरेक दिन २५ लाख लिटर पेट्रोल र ५० लाख लिटर डिजेल खपत हुँदै आएको छ । निगमका प्रवक्ता ठाकुर सरकारको यो निर्णयले इन्धन सङ्कट कम गर्न कति योगदान पुग्छ भन्ने यकिन गर्न आगामी एक हप्ता कुर्न पर्ने बताउँछन् । “बजारको माग बुझ्न केही समय लाग्छ, तर यसको प्रभाव पक्कै देखिन्छ”, उनले भने, “धेरै विद्यालय निजी छन् । तिनले सवारीसाधनबाट ठूलो मात्रामा इन्धन खपत भइरहेको छ । साथै एसइई परीक्षा जारी रहेकाले सवारीसाधनको प्रयोग अझै उच्च छ । परीक्षा सकिएपछि खपतको यकिन तथ्याङ्क आउछ ।”तत्कालका लागि सरकारको निर्णय ठिक छ, पर्याप्त हैनः अर्थशास्त्री
सरकारको यो निर्णय तत्कालका लागि आवश्यक भएको अर्थशास्त्रीहरुको राय छ । तर दीर्घकालीन समाधान छिट्टै खोज्नपर्ने उनीहरुको सुझाब छ । अर्थशास्त्री इसान खरेल यो निर्णयलाई अपरिहार्य मान्छन् । उनले तत्काल थप अन्य उपाय अपनाउन आवश्यकता आँैल्याए । “अहिलेको अवस्थामा गर्नैपर्ने हो, अरु विकल्प छैन”, उनले भने, “सरकारले इन्धनमा लिने कर केही प्रतिशत घटाउनुपर्छ । यसले उपभोक्तालाई राहत दिन्छ । तात्विक भिन्नता नदेखिन पनि सक्छ । थोरबहुत सहयोगी होला । थोरै भए पनि बचत होला ।”
अर्थशास्त्री खरेलले सार्वजनिक यातायातलाई प्रोत्साहन, विद्युतीय सवारीसाधनको विस्तार र भारतसँगको सीमा मूल्य मिल्ने गरी अतिरिक्त लागत कटौती गर्नुपर्ने सुझाव दिए । अर्का अर्थशास्त्री डा सन्तोष अधिकारीले यो निर्णय तत्कालका लागि उचित भएको प्रतिक्रिया दिए । “अहिलेको अभावको सन्दर्भमा यो ठिकै छ । यसले इन्धनमा केही सहज होला”, उनले भने, “नेपालमा सरकारी बिदा पहिले नै धेरै छ । थप बिदाले अध्यापन र उत्पादकत्वमा नकारात्मक असर पार्नसक्छ ।”
-

अध्यक्ष ओली र नेता लेखकको रिट हेर्दाहेर्दैमा
काठमाडौँ, २२ चैतः सर्वोच्च अदालतले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली तथा नेपाली कांग्रेसका नेता एवं पूर्व गृहमन्त्री रमेश लेखकलाई थुनामुक्त माग गर्दै दायर गरेको बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा हेर्दाहेर्दैमा सोमबार सुनुवाइ हुने भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिलकुमार पोखरेलले आज सुनुवाइ सुरू गर्दागर्दै समय नभ्याएका कारण सोमबार सुनुवाइ हुने अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए । अध्यक्ष ओलीकी पत्नी राधिका शाक्य र नेता लेखककी पत्नी यशोदा लेखकले यही चैत १५ गते गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै थुनामुक्त गर्न माग गर्दै बन्दीप्रत्यक्षीकरणको रिट निवेदन दायर गरेका थिए ।
यसअघि, न्यायाधीश मेघराज पोखरेलको इजलासले अध्यक्ष ओली र न्यायाधीश कुमार रेग्मीको इजलासले नेता लेखकको यही चैत १६ गते बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा कारण देखाउ आदेश गरेको थियो । रिट निवेदनमा गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनको सिफारिसका आधारमा पक्राउ गर्नु र थुनामा राख्नु गैरकानुनी भएको उल्लेख गरिएको छ । रिट निवेदनमा कुनै पनि जाँचबुझ आयोगले प्रतिवेदनकै आधारमा सिधै पक्राउ गर्ने कुरा कानुनसम्मत उल्लेख छ । -

युवाहरूले फेरि आन्दोलन गर्नु नपर्ने गरी कानुन र नीति बनाउन ध्यान दिन्छुः सभामुख अर्याल
काठमाडौँ, २२ चैतः प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले आगामी दिनमा जेनजी युवाले आन्दोलन गर्न नपर्ने गरी कानुन, नीति र नियम बनाउन आफूले ध्यान दिने बताएका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै धेरै जनाको ज्यान जाने र भौतिक क्षति हुने गरी भएको जेनजी आन्दोलनपछिको निर्वाचनबाट आफूहरू नेतृत्वमा आएकाले आगामी दिनमा त्यस्तो घटना नहोस् भन्नेतर्फ ध्यान दिने बताएका हुन् ।
सभामुख अर्यालले आन्दोलनमा ध्वस्त भएका संरचना बनाउन नयाँ कानुन आवश्यक नपर्ने र आवश्यक परे नयाँ कानुन बनाएर छिटो संरचना बनाउने गरी काम गर्नुपर्नेमा जोड दिए । उनले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । सभामुख अर्यालले सबै राजनीतिक दल तथा सांसदहरूसँग सहकार्य र समन्वय गरी संसद्लाई प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गरिने बताए । -

सभामुख अर्यालले संसदीय अभ्यास थप सुदृढ बनाउनेछन् : लामिछाने
काठमाडौँ, २२ चैतः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालबाट सदनको कामकारबाहीलाई थप चुस्त, प्रभावकारी र परिणाममुखी बनाउँदै संसदीय अभ्यासलाई सुदृढ बनाउन भूमिका निर्वाह हुने विश्वास व्यक्त गरेका छन् । सभामुख अर्याललाई आज बधाई दिँदै उनले संसद्को गरिमा, मर्यादा र प्रभावकारिता कायम राख्दै निष्पक्ष, सन्तुलित र उत्तरदायी ढङ्गले भूमिका निर्वाह हुनेमा आफू विश्वस्त रहेको बताए ।
सभापति लामिछानेले सबै राजनीतिक दल तथा सांसदहरूसँग सहकार्य र समन्वय गर्दै प्रभावकारी, उत्तरदायी र जनमुखी संस्थाका रूपमा स्थापित गर्ने सभामुख अर्यालको दृष्टिकोण सराहनीय भएको बताए । “सभामुख पदलाई साझा व्यक्तित्वका रूपमा स्थापित गर्ने संसदीय परम्पराअनुरूप उम्मेदवारी दिएदेखि नै उहाँले पार्टीका जिम्मेवारीबाट अलग रहँदै उच्च राजनीतिक नैतिकता र संस्थागत प्रतिबद्धता प्रदर्शन गर्नुभएको थियो ।
यस ऐतिहासिक अवसरमा सभामुखको हैसियतमा उहाँले निष्पक्षता, पारदर्शिता, विधिको शासन तथा संस्थागत मर्यादालाई केन्द्रमा राख्दै सफल र उदाहरणीय कार्यकाल प्रदान गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु”, उनले भने । सभापति लामिछानेले ज्येष्ठ सदस्यको हैसियतमा प्रतिनिधिसभाको बैठकको अध्यक्षता गर्दै प्रारम्भिक चरणमा सदनको कार्य सञ्चालनलाई प्रभावकारी रूपमा अघि बढाएकामा अर्जुननरसिंह केसीलाई धन्यवाद दिए । सभामुख अर्यालले आजै पदभार ग्रहण गरिसकेका छन् ।
-

अब नेपालमा शनिबार र आइतबार सार्वजनिक बिदा
काठमाडौँ, २२ चैतः सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आजको बैठकले उक्त निर्णय गरेको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार यो निर्णयसरकारी कार्याल र सबै शैक्षिक संस्थामा भोलिदेखि लागू हुनेछ ।
बैठकले ‘डिजिटल नेपाल ट्रान्सफरमेसन’ परियोजनाका लागि एसियाली विकास बैङ्क र विश्व बैङ्कबाट नौ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको छ । दिगो र समावेशी वित्त परियोजनाका लागि विश्व बैङ्कबाट नौ करोड ५० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय भएको शिक्षामन्त्री एवं सरकारका प्रवक्ता सस्मित पोखरेलले बताए ।
बैठकले सबै मन्त्रालय, सचिवालय, आयोग र अन्तर्गतका निकायको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) गर्न स्वीकृति दिएको छ । यसैगरी, बैठकले राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले दिएको राजीनामा स्वीकृत गरेको छ भने डिजेल तथा पेट्रोलबाट सञ्चालन हुने सवारीसाधनलाई विद्युतीय वाहनमा परिवर्तन गर्न व्यवस्था मिलाउने निर्णय पनि गरेको छ । आगामी शैक्षिक सत्र वैशाख १५ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ । -

राष्ट्रपतिसमक्ष सभामुखले लिए शपथ
काठमाडौँ, २२ चैतः राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवनमा आज आयोजित विशेष समारोहमा सभामुख अर्यालले शपथ लिएका हुन् ।
त्यस अवसरमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, नेपाल सरकारका उच्चपदस्थ पदाधिकारीको उपस्थित थिए ।
-

उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
रासस
काठमाडौँ, २२ चैतः धादिङको ज्वालामुखी गाउँपालिकामा २०३१ साल भदौ ६ गते जन्मनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष डोलप्रसाद अर्याल प्रतिनिधिसभाको दसौँ सभामुखमा निर्विरोध निर्वाचित भएका छन् । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उहाँ काठमाडौँ क्षेत्र नं ९ बाट निर्वाचित भएका थिए । निरन्तरको सङ्घर्षबाट वैकल्पिक राजनीति यात्रामा होमिनुभएका अर्यालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन् ।
नवनिर्वाचित सभामुखमा अर्यालले जापानलगायत विभिन्न देशमा अध्ययन, अनुसन्धान, रोजगारी तथा व्यवसाय सञ्चालन गरेका थिए । वर्षदेखि स्वदेशमै केही गर्न सकिन्छ भन्ने विश्वासका साथ विगत २५ वर्षदेखि पर्यटन, शिक्षा र वित्तीय क्षेत्रमा उनी क्रियाशील हुनुहुन्छ। व्यवसाय र राजनीतिलाई सँगसँगै अघि बढाएका अर्यालले २०७९ सालमा राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।उनी राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक उपाध्यक्ष छन् । संसद्को अघिल्लो कार्यकालमा श्रममन्त्रीको जिम्मेवारीमा रहँदा उनले श्रमिकका अधिकार रक्षा, वैदेशिक रोजगार प्रणालीमा पक्रियागत सुधार र सामाजिक सुरक्षाका खातिर उल्लेखनीय योगदान गरेका थिए ।
प्रतिनिधिसभाको आजको बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले अर्याललाई सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । नवनिर्वाचित सभामुख अर्यालले आजै राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको सपथ लिए । प्रतिनिधिसभाको सभामुख पदमा अन्य दलका तर्फबाट उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित भएका हुन् ।दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२ सांसद छन् । संसद्का प्रमुख अर्याललाई कानुन निर्माण, सरकारका गतिविधिको निगरानीका साथै राजनीतिक ध्रुवीकरण र दलहरूको मतभेद अन्त्य गर्न सन्तुलित ढङ्गले संसद् सञ्चालन गर्नु चुनौतीपूर्ण छ ।
विधेयक र प्रस्तावहरूको समयमै व्यवस्थापन, सांसदहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नु र नियमावलीको पालना गराउनु पनि चुनौतीपूर्ण छ । सभामुखले दलीय दबाब र व्यक्तिगत राजनीतिक हितभन्दा पर रही निष्पक्ष निर्णय लिनुपर्ने अवस्था छ भने जनताबाट उच्च अपेक्षा र उहाँको दायित्व बनेको छ ।
-

सात हजारभन्दा बढी ‘अनलाइन’ सट्टेबाजी ‘एप’ र ‘वेबसाइट’ बन्द
काठमाडौँ, २२ चैतः ‘अनलाइन’ सट्टेबाजीसँग सम्बन्धित सात हजारभन्दा बढी ‘एप्लिकेसन (एप)’ र ‘वेबसाइट’ (युआरएल) बन्द भएका छन् । सरकारको शासकीय सुधारसम्बन्धी निर्णय कार्यान्वयनका क्रममा नेपाल दूरसञ्चार प्राधिकरणले ‘इन्टरनेट’ सेवा प्रदायकसँगको समन्वयमा वेबसाइट र एप बन्द गरेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणका उपनिर्देशक सूर्यप्रसाद लामिछानेका अनुसार अवैध रूपमा सञ्चालनमा रहेका सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइटहरू पहिचान गरी बन्द गर्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिइएको हो । “हालसम्म सात हजारभन्दा बढी यस्ता युआरएल र एप बन्द भएका छन् । अनलाइन सट्टेबाजीबारे पछिल्लो एक सातामा प्राधिकरणलाई टेलिफोन, इमेल, म्यासेजलगायत विभिन्न माध्यमबाट ५० भन्दा बढी गुनासा प्राप्त भएका छन्, ती सबैलाई सम्बोधन गर्दै कारबाही अघि बढाइएको छ,” उनले भने ।
मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीमध्ये बुँदा नम्बर ४२ मा सट्टेबाजीसम्बन्धी एप तथा वेबसाइट २४ घण्टाभित्र बन्द गर्ने उल्लेख छ । सोही निर्णयअनुसार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकसँग समन्वय गरी विद्युतीय माध्यममार्फत सञ्चालन भइरहेका सट्टेबाजीसम्बन्धी सबै पहिचान भएका एप तथा वेबसाइट तत्काल बन्द गरेको हो ।मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को उपदफा (४) अनुसार कसैले सट्टेबाजी गर्न वा गराउन पाइँदैन । त्यसको उल्लङ्घन गरेमा त्यसमा प्रयोग भएको रकम जफत गरी एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुनेछ । त्यसैगरी, विज्ञापन (नियमन गर्ने) ऐन, २०६६ ले जुवा खेल्न वा खेलाउन तथा अनुमति नलिएको चिट्ठा किन्न–किनाउन प्रोत्साहन गर्ने किसिमका विज्ञापन गर्न निषेध गरेको छ । सो विपरीत कसुर गरेमा एक वर्षसम्म कैद तथा रु १० हजारसम्म जरिवाना हुनेछ ।
सरकारले सट्टेबाजी एप तथा वेबसाइट प्रयोग तथा सञ्चालन नगर्न पुनः आग्रह गरेको छ । अनधिकृत रूपमा सञ्चालन वा प्रयोग गरेको पाइएमा कडा कारबाही हुने चेतावनी दिएको छ । साथै सरकारले शङ्कास्पद एप वा वेबसाइटबारे जानकारी भएमा सम्बन्धित निकायमा सूचित गर्न आग्रह गरेको छ ।
-

सभामुखमा अर्याल निर्विरोध निर्वाचित
काठमाडौँ, २२ चैतः नेपालको दसौँ सभामुखमा प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याल निर्वाचित भएका छन् । प्रतिनिधिसभाको आजको बैठकबाट उनी सभामुख पदमा निर्विरोध निर्वाचित भएका हुन् । बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं सांसद रवि लामिछानेले ‘प्रतिनिधिसभा सदस्य डोलप्रसाद अर्याललाई सभामुख पदमा निर्वाचित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गञरेका थिए । उक्त प्रस्तावलाई सांसदहरु सोविता गौतम, स्वर्णिम वाग्ले र सुनिल लम्सालले समर्थन गरेका थिए ।
सभाको अध्यक्षता गर्नुभएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसद अर्याललाई प्रतिनिधिसभाको सभामुख पदमा निर्वाचित गरियोस् भन्ने एक मात्र प्रस्तावको सूचना प्राप्त भएकाले अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भएको घोषणा गरे । नवनिर्वाचित सभामुख अर्याल यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका उपाध्यक्ष थिए । -

माथिल्लो मुस्ताङ र मुक्तिक्षेत्रमा हिमपात
मुस्ताङ, २२ चैत । माथिल्लो मुस्ताङ क्षेत्र र मुक्तिनाथ क्षेत्रमा हिमपात भएको छ । शनिबार रातिदेखि उक्त क्षेत्रमा भारी हिमपात भइरहेको जनाइएको छ ।
हिउँदयाम जारी रहँदा जिल्लाको माथिल्लो क्षेत्र र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएको हो । यसअघि यहाँ कात्तिक १० गते पहिलो हिमपात भएको थियो । यहाँ पछिल्लोपटक परेको हिमपातसँगै जारी यामको यो छैटौँपटक हिमपात भएको बताइएको छ ।माथिल्लो मुस्ताङ क्षेत्रका बस्ती र उच्च लेकमा शनिबार रातिदेखि भारी हिमपात भएको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिए । वारागुङ मुक्तिक्षेत्र–३ स्याङवचेदेखि कोरलानाकासम्मको क्षेत्रमा हिमपातले पूरै डाँडाकाँडा सेताम्मे भइसकेका छन् । उहाँका अनुसार माथिल्लो मुस्ताङमा बस्ती क्षेत्रमा एक फिटसम्म हिउँ परेको उल्लेख गरे ।
स्वाङवचेदेखि माथि घिलिङ, घमी, चराङ, लोमान्थाङ, ठिङ्गर, छोसेर, सम्जुङ, नामासुङ, भर्सा, यारा, घारा, ढी र सुर्खाङलगायत स्थानमा छैटौँपटक भारी हिमपात भएको हो । हिमपातका कारण स्थानीय जनजीवन प्रभावित बनेको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए । “शनिबार रातिदेखि परेको हिमपात अझै रोकिएको छैन, हिउँ पर्ने क्रम निरन्तर छ, अझै पनि हिउँ पर्ने क्रम साँझसम्म रहेमा दुई फिट बढी हिउँ जम्ने अवस्था छ”, उनले भने ।
जारी यामको छैटौँपटकको हिमपातका कारण माथिल्लो मुस्ताङमा उच्च लेकका चरन क्षेत्र पूरै हिउँले ढाकिएर सेताम्मे बनेका छन् । हिमपातसँगै माथिल्लो मुस्ताङमा तापक्रम घट्दै गइरहेको छ । यसका कारण स्थानीय नागरिक तथा पशुपालन गर्ने किसानलाई हिउँले सास्ती पुर्याएको छ । माथिल्लो मुस्ताङमा बर्सेनि एक बाली खेती हुन्छ । त्यहाँका नागरिक हिउँदयामको जाडो छलेर गाउँ फर्किएपछि बर्खेबाली लगाउने प्रचलन छ । बर्खेखेती सुरु हुने बेला हिमपात भएकाले किसानलाई फाइदा पुग्ने बताइएको छ ।त्यसैगरी, यहाँको वारागुङ मुक्तिनाथ क्षेत्रमा शनिबार राति हिमपात भएको छ । वारागुङ मुक्तिक्षेत्र–१ स्थित खिङ्गा, झारकोट, पुडाक, छेङ्गुर र मुक्तिनाथलगायत स्थानमा भारी हिमपात भएको मुक्तिनाथका स्थानीय कैसाङ ठोक्या ठकुरीले जानकारी दिए । हिमपातका कारण मुक्तिनाथ दर्शनार्थीलाई आशिंक रूपमा केही अप्ठ्यारो भए पनि हिमपातको सौन्दर्यताले पर्यटकमा उत्साह थपिएको उनको भनाइ छ ।
त्यसैगरी माथिल्लो मुस्ताङ र मुक्तिनाथ क्षेत्रमा भारी हिमपात हुँदा मुस्ताङको जोमसोमदेखि तल्लो क्षेत्रमा भारी वर्षा भएको छ । घरपझोङका कृषि शाखा अधिकृत रोशन थकालीका अनुसार स्याउको फूल फुल्ने बेलामा भारी वर्षा भएकाले स्याउखेतीमा असर पुर्याएको बताए । “स्याउ बोटमा फूल फुल्न थालिसकेको छ, स्याउका फूलमा परागसेचन हुने समय पनि हो, अधिकृत थकालीले भने, “यस्तो बेलामा हिमपात र वर्षा हुनु किसानका लागि राम्रो होइन ।”
जलवायु परिवर्तनको असर हिमाली जिल्लामा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा पर्न थालेको जानकारहरू बताउँछन् । यसअघि मुस्ताङमा लगातर तीन वर्ष हिउँ पर्न सकेको थिएन । यस सिजनमा छपटकसम्म हिउँ पर्नु जलवायुको असर भएको विश्लेषण गरिएको छ । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा असमान प्रकारको हिमपात हुँदा कुनै वर्ष भारी हिमपात हुने, कुनै वर्ष आंशिक हिमपात र कुनै वर्ष हिउँ नै नपर्नेजस्ता प्राकृतिक असर देखिन थालेका हुन् ।
-

अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
काबुल, २२ चैत (रासस–एएफपी) । अफगानिस्तान र पाकिस्तानमा दुई हप्ताको अवधिमा भारी वर्षा र आँधीका कारण कम्तीमा १२१ जनाको मृत्यु भएको दुवै देशका विपद् व्यवस्थापन अधिकारीहरूले शनिबार बताएका छन्। मार्चको अन्त्यदेखि अफगानिस्तानमा आँधीबेहरीसँगै बर्षा भएकोे छ, जसले बाढी, पहिरो र घर र बालीमा असर पारेको छ। “मार्च २६ देखि अहिलेसम्म बाढी र वर्षाका कारण देशभरि ७७ व्यक्तिको मृत्यु भएको र १३७ जना घाइते भएका छन्,” अफगानिस्तानको विपद् व्यवस्थापन प्राधिकरण (एएनडिएमए_)का प्रवक्ता मोहम्मद युसुफ हम्मादले शनिबार एएफपीसँग भने ।
प्रवक्ता हम्मादका अनुसार बितेका ४८ घण्टामा देशभर बाढी, पहिरो र चट्याङका कारण २६ जनाको मृत्यु भएको र ४८ जना घाइते भएका छन् । पाकिस्तानमा पछिल्ला हप्ताहरूमा भारी वर्षाका कारण ४४ जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। प्रान्तीय प्रकोप व्यवस्थापन अधिकारीहरूका अनुसार उत्तरी प्रान्त खैबर पख्तुनख्वामा मार्च २५ देखि यता कम्तीमा ३२ र दक्षिणपश्चिमी बलुचिस्तानमा मार्च २० पछि १२ जनाको मृत्यु भएको छ ।अफगानिस्तानको दक्षिणपूर्वी गजनीमा शनिबार बिहान आएको बाढीमा डुबेर अन्य बालबालिकासँग खेलिरहेका एक बालकको मृत्यु भएको प्रान्तीय प्रहरीले जनाएको छ । सोही प्रान्तका विभिन्न जिल्लामा डुबेर थप दुई बालबालिकाको मृत्यु भएको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार प्रान्तमा वर्षाका कारण घरको छत भत्किँदा तीन जनाको मृत्यु भएको प्रान्तीय विपद् व्यवस्थापन निकायले जनाएको छ ।
-

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाब
तेहरान, २२ चैत (रासस–एएफपी) । अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा केन्द्रमा भएका हमलाबारे आफूलाई जानकारी दिइएको भन्दै ‘गम्भीर चिन्ता’ प्रकट गरेको छ। परमाणु मामिलाको अन्तर्राष्ट्रिय निगरानी निकायले आक्रमणपछि पनि अहिले रेडियोविकिरणको स्तर बढेको नदेखिएको जनाएको छ। आइएइएले परमाणु ऊर्जा केन्द्र र छेउछाउका भूभागमा ‘कदापि आक्रमण गर्न नहुने’ भन्दै उसले परमाणु दुर्घटना हुन नदिन अधिकतम सैन्य सावधानी अपनाउन आह्वान गरेको छ।
–चेतावनी–
यसैबीच, इरानको बुशेहर परमाणु ऊर्जा केन्द्र नजिकै भएका भनिएका हमलाहरूबारे प्रतिक्रिया दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले रेडियोविकिरण चुहिए खाडी क्षेत्रभर सङ्क्रमणको जोखिम हुने चेतावनी दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, “युक्रेनको जापोरिज्जिया परमाणु ऊर्जा केन्द्रनजिक आक्रमण हुँदा पश्चिमा जगतले प्रकट गरेको आक्रोश सम्झनु हुन्छरु इजरायल–अमेरिकाले हाम्रो बुशेहर केन्द्रमा चौथो पटक बमबारी गरेका छन्।”
उनले भने, त्यहाँबाट रेडियोविकिरण चुहावट भयो भने यसले तेहरानमा नभई खाडी समन्वय परिषद् (जिसिसी) सदस्य राष्ट्रका राजधानीहरूमा बढी मानवीय जीवनमा जोखिम निम्तिने छ ।” जिसिसी समूहमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएइ) पर्छन्। अमेरिका र इजरायलले सो आक्रमणमा उनीहरूको संलग्नताबारे अझै पुष्टि गरेका छैनन्।
-

४८ घण्टाभित्र सम्झौता गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको इरानलाई चेतावनी
वासिङ्टन, २२ चैत (रासस–एएफपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानसँग विश्व व्यापारका लागि महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ खोल्ने सम्झौता गर्न ४८ घण्टा मात्र बाँकी रहेको चेतावनी दिएका छन् । ट्रम्पले आफ्नै स्वामित्वको सामाजिक सञ्जाल ‘ट्रुथ सोसल नेटवर्क’मा लेखेका छन्, “स्मरण गरियोस् । मैले इरानलाई सम्झौता गर्न वा हर्मुज स्ट्रेट खोल्न दस दिनको समय दिएको थिएँ ।” उनले लेखेका छन्, “समय बित्दै गइरहेको छ । दुश्चक्रले उनीहरूमाथि शासन गर्न अब केबल ४८ घण्टा मात्र बाँकी छ।”
राष्ट्रपति ट्रम्पले चेतावनीको सुरुमा अर्थात् मार्च २१ मा यदि इरानले ४८ घण्टाभित्र बिना कुनै खतरा महत्वपूर्ण जलमार्ग ‘हर्मुज घाँटी’ पूर्ण रूपमा खुला गरेन भने इरानको सबैभन्दा ठूलो ऊर्जा प्लान्टलाई ‘नष्ट गर्ने’ चेतावनी दिएका थिए । दुई दिनपछि उनले इरानी अधिकारीहरूसँग ‘धेरै राम्रो र फलदायी कुराकानी’ भइरहेको र पावर प्लान्टहरूमा कुनै पनि आक्रमण आगामी पाँच दिनका लागि स्थगित गरेको बताएका थिए ।
उनले फेरि म्याद थप्दै यसलाई १० दिन बनाएका थिए । उक्त १९ दिनको समयसिमा अमेरिकी समयअनुसार सोमबार बेलुका ८ः०० बजे समाप्त हुनेछ । नागरिक ऊर्जा पूर्वाधारमा आक्रमण युद्ध अपराध हुन सक्ने विज्ञहरूले बताएका छन् ।
-

इराकमा मारिएका इरानी जनरल सुलेमानीका आफन्त अमेरिकाबाट पक्राउ
वासिङ्टन, २१ चैत (रासस–एएफपी) । इराकमा मारिएका इरानी जनरल कासिम सुलेमानीको परिवारका दुई सदस्यलाई संयुक्त राज्य अमेरिकामा पक्राउ गरिएको अमेरिकी विदेश मन्त्रालयले शनिबार जनाएको छ । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “इरानका ‘रिभोलुसनरी गाड्र्स कप्र्स’का मेजर जनरल कासिम सुलेमानीकी भतिजी र भतिजीकी छोरी (नातिनी) लाई संघीय सुरक्षा अधिकारीले पक्राउ गरेका छन् ।
मृतककी भतिजीको नाम हमिद सुलेमानी अफसार रहेको बताइएको छ । सुलेमानी अफसारकी छोरीको नाम भने उल्लेख गरिएको छैन । विज्ञप्तिमा भनिएको छ, “दुवै अहिले अमेरिकी आप्रवासन र भन्सार प्रवर्तन (आइसिई) को हिरासतमा छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ह्वाइट हाउसमा पहिलो कार्यकालको अन्तिम वर्ष सन् २०२० को जनवरीमा इराकको राजधानी बग्दादमा रहेका बेला आइआरजिसीको विदेशमामिला शाखाको नेतृत्व गरेका सुलेमानीको अमेरिकी ड्रोन आक्रमणमा मृत्यु भएको थियो ।
अमेरिकी विदेश मन्त्रालयले भनेको छ, “प्रेस रिपोर्टिङ र आफ्नै सामाजिक सञ्जालहरूमा आएका उनको प्रतिक्रिया दुबैले सुलेमानी अफसार इरानी वर्तमान् सत्ताका मुखर समर्थक भएको पुष्टि गरेका छन्।” उनीहरूले इरानका नयाँ सर्वोच्च नेता अली खामेनीको प्रशंसा गर्नुका साथै अमेरिकालाई ‘महान् शैतान’ भन्दै निन्दा गरेको पनि विज्ञप्तिमा उल्लेख छ । सुलेमानी अफसारका पतिलाई पनि अमेरिका प्रवेशमा रोक लगाइएको छ । मारिएका अर्का इरानी पूर्व सुरक्षा प्रमुख अली लारीजानीकी छोरी र ज्वाइँको पनि कानुनी हैसियत खारेज गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “दुवै अहिले संयुक्त राज्य अमेरिकामा छैनन् र भविष्यमा प्रवेशमा प्रतिबन्ध लगाइएको छ।” इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव लारीजानी गत मार्च १७ मा इजरायली आक्रमणमा मारिएका थिए । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले एक्समा एक पोस्टमा उनीहरूको पक्राउको पु्ष्टि गर्दै भनेका छन्, “ट्रम्प प्रशासनले हाम्रो देशलाई अमेरिका विरोधी आतङ्कवादी शासनलाई समर्थन गर्ने विदेशी नागरिकहरूको घर बन्न अनुमति दिँदैन।”
-

दिक्तेलमा आदिकवि भानुभक्तको सालिक पुनर्निर्माण
खोटाङ, २२ चैत । दिक्तेल बजारको भानुचोकमा रहेको राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माण गरिएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयले दिक्तेल बजारको समग्र सौन्दर्यकरणका लागि रु एक करोड बजेट उपलब्ध गराएपछि ठेक्का प्रक्रियामार्फत आदिकवि भानुभक्त आचार्यको सालिक पुनर्निर्माणको काम सम्पन्न गरिएको हो । भानुभक्तको सालिकसँगै बजार क्षेत्रका विभिन्न स्थानमा पूर्वाधार विकासका काम गरिएको भौतिक पूर्वाधार विकास कार्यालयका प्रमुख विनम दाहालले जानकारी दिए ।
“दिक्तेल बजारको सौन्दर्यकरण कार्यक्रमअन्तर्गत आदिकवि भानुभक्त आचार्यको अर्धकदको प्रतिमा पहिलेकै स्थानमा राखिएको छ । त्यहाँ आचार्यको ठूलो आकारको मूर्ति सरोकारवालाले नै खरिद गरेर राख्ने सहमति भएको छ”, उनले भने, “भानुभक्तको सालिक पुनर्निर्माण सकिएसँगै सालिक वरपरका खाली ठाउँमा टाइल जडान, रङरोगन, प्रकाश व्यवस्थापन, बगैँचा निर्माण, चोकको साङ्केतिक चिह्न राख्ने तथा आदिकवि भानुभक्तका कविताका केही हरफ समावेश गरेर सौन्दर्यकरण गरिएको छ । यसले दिक्तेल बजारको सौन्दर्यकरणमा थप टेवा पुगेको छ ।”
आदिकवि भानुभक्तको सालिक पुनः निर्माण अन्तरगतकै योजनाबाट जिल्ला प्रहरी कार्यालयको प्रवेशद्धार अगाडिदेखि भानुचोक हुँदै लोकसेवा आयोगको कार्यालय तथा लोकसेवा आयोगको कार्यालयदेखि नेपाली कांग्रेसको पार्टी कार्यालयसम्म सडक सुधार तथा निर्माणको काम गरिएको छ । यसका साथै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ भित्रका केही सडक निर्माणका कामसमेत सम्पन्न भएको कार्यालयले जनाएको छ ।
भानुचोकमा भानुभक्तको सालिक पुनर्निर्माणका लागि कार्यालयले गत कात्तिक २ गते बोलपत्र आह्वान गरेको थियो । लामो समयदेखि जीर्ण तथा अव्यवस्थित अवस्थामा रहेको भानुभक्तको सालिकलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने उद्देश्यसहित पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको थियो । सौन्दर्यकरणको काम सम्पन्न भएपछि दिक्तेल बजारको संरचनागत व्यवस्थापन तथा ऐतिहासिक, साहित्यिक र पर्यटकीय महत्व थप उजागर भएको छ । पुरानो संरचनाका घरहरू रहेको दिक्तेल बजारको मुहार कोशी प्रदेश सरकारको लगानीमा विस्तारै फेरिँदै गएको महसुस गरिएको छ ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको कामसमेत सम्पन्न भएको छ । विसं २०७६ मा सुरु गरिएको दिक्तेल बजारको सडक ढलानको कामले सात वर्षपछि बल्ल पूर्णता पाएको हो । दिक्तेल बजारस्थित किरात चोकदेखि हाडडाँडासम्मको भित्री सडक ढलान भएसँगै अब हिउँदमा धुलाम्मे र बर्खामा हिलाम्मे हुने समस्याको अन्त्य भएको छ । कुनै समय धुलो र हिलोका कारण हिँड्नसमेत नसकिने अवस्थामा रहेको दिक्तेल बजारको कच्ची सडकले सबैलाई सास्ती दिएको थियो ।
लामो समयको प्रतीक्षापश्चात पूरै सडक ढलान भएपछि दिक्तेल बजारको मुहार नै फेरिएको उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजनप्रसाद आचार्यले बताउनुभएको छ । साँघुरो, हिलाम्मे र धुलाम्मे अवस्थाको दिक्तेल बजारको सडक सङ्घ र प्रदेश सरकारले उपलब्ध गराएको बजेटले पूरै ढलान भएको हो ।
दिक्तेलस्थित शङ्धर साख्वाः चोकदेखि भानुचोकसम्मको सडक ढलान यही पुस २७ गते (आइतबार) सम्पन्न भएसँगै पूर्णता पाएको छ । कोशी प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत भौतिक पूर्वाधार कार्यालयको मूल्य अभिवृद्धि कर तथा पिएससहित रु ९५ लाख ८५ हजार ७८ लागतमा निर्माण कम्पनीले सडक ढलानको काम गरेको हो ।
-

सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्ने
काठमाडौँ, २२ चैतः सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दैछ । सिंहदरबारस्थित निर्माणाधीन सङ्घीय संसद् भवनको बहुउद्देश्यीय हलमा आज बिहान ११ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठक बस्नेछ । आजको बैठकमा सभामुख पदमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्याललाई निर्वाचित गरियोस्’भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची छ ।
शुक्रबार अर्याल सभामुख पदमा निर्विरोध निर्वाचित भइसकेका छन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपाका सभापति एवं सांसद रवि लामिछाने र समर्थकमा सांसद स्वर्णिम वाग्ले, सोविता गौतम र सुनिल लम्साल रहेका छन् । आजको बैठकमा ‘सभामुख पदमा निर्वाचित गरियोस्’ भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यक्रम रहेको छ ।
त्यस्तै, राष्ट्रियसभाको बैठक अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा सभाध्यक्षले विषयगत समितिका सदस्यको नाम मनोनयन तथा हेरफेर गर्नुहुनेछ । त्यस्तै, सभाध्यक्षले अध्यक्ष तथा उपाध्यक्षको अनुपस्थितिमा बैठकमा अध्यक्षतामा गर्ने सदस्यहरूको नाम मनोनयन गर्नेछन् । कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले महिला आयोगको आर्थिक वर्ष २०८१\८२ को वार्षिक प्रतिवेदन पेस गर्नुहुने कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए ।
-

प्रचारप्रसार नहुँदा ओझेलमा भोजपुरको प्रसिद्ध ‘शिला सुत्केरी’
युवराज विष्ट–रासस
भोजपुर, २२ चैतः जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित हतुवागढी गाउँपालिका(४ खैराङमा रहेको ऐतिहासिक तथा धार्मिक महत्व बोकेको ‘शिला सुत्केरी’ पर्याप्त प्रचारप्रसारको अभावमा ओझेल परेको छ । प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले उच्च सम्भावना बोकेको उक्त स्थल स्थानीयस्तरमा सीमित रहँदा यसको वास्तविक पहिचान स्थापित हुनसकेको छैन ।स्थानीय जनश्रुतिअनुसार परापूर्वकालमा एक महिला सुत्केरी हुने क्रममा सोही स्थानमा अलप भएपछि उक्त शिलाको उत्पत्ति भएको मानिन्छ । यही किंवदन्तीका आधारमा यस स्थानलाई ‘शिला सुत्केरी’ नाम दिइएको स्थानीय गङ्गाबहादुर खड्काले बताउनुभयो । हाल पनि उक्त ढुङ्गामा महिला सुत्केरी हुँदै गरेकोजस्तो आकृति स्पष्ट देख्न सकिने स्थानीयको दाबी छ । जसले यस स्थललाई थप रहस्यमय र आकर्षक बनाएको छ ।
स्थानीय खड्काका अनुसार ‘शिला सुत्केरी’ धार्मिक आस्था र विश्वाससँग जोडिएको एक अद्भुतस्थल हो । “यो ठाउँ साँच्चिकै आश्चर्यजनक छ । यहाँको शिलामा सुत्केरी हुँदाको आकृति स्पष्ट देख्न सकिन्छ । विवाहपछि लामो समय सन्तान नहुने दम्पतीले यहाँ पूजा तथा दर्शन गरे सन्तान प्राप्त हुने विश्वासका साथ टाढाटाढाबाट दर्शनार्थी आउने गरेका छन्”, उनले भने ।
उनका अनुसार केही दशकअघिसम्म यहाँ नियमित रूपमा मेला तथा धार्मिक महोत्सव लाग्ने गर्दथ्यो । विशेषगरी बालाचतुर्दशीका अवसरमा स्थानीय तथा छिमेकी जिल्लाबाट समेत भक्तजनको उल्लेख्य उपस्थिति रहने गरेको थियो । तर पछिल्लो समय ती गतिविधि क्रमशः घट्दै गएर अहिले लगभग बन्दजस्तै भएको छ, जसका कारण यस क्षेत्रको चहलपहल पनि घट्दै गएको छ ।‘शिला सुत्केरी’को धार्मिक तथा सांस्कृतिक महत्वलाई व्यवस्थित रूपमा उजागर गर्न सके यसलाई देशकै प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ख्डकाको भनाइ छ । यहाँको प्राकृतिक सौन्दर्य, शान्त वातावरण र ऐतिहासिक पृष्ठभूमिले धार्मिक पर्यटन प्रवर्द्धनका लागि ठूलो सम्भावना बोकेको छ । यस क्षेत्रको संरक्षणका लागि स्थानीय तहले केही पहल भने गरेको छ ।
हतुवागढी–४ का वडाध्यक्ष चन्द्रबहादुर विष्टका अनुसार वडाले सीमित स्रोतसाधनका बाबजुद घेराबारालगायत आधारभूत संरक्षणका काम सम्पन्न भएका छन् । “यो हाम्रो क्षेत्रको महत्त्वपूर्ण ऐतिहासिक तथा धार्मिक सम्पदा हो”, उनले भने, “वडाले सकेसम्म संरक्षणका काम अघि बढाएको छ, तर दीर्घकालीन विकासका लागि थप स्रोत, योजना र समन्वय आवश्यक छ ।”
शिला रहेको जग्गा निजी स्वामित्वमा रहेकाले यसको समग्र विकास र संरक्षणमा जटिलता देखिएको छ । जग्गा व्यवस्थापनको समस्या समाधान हुन नसक्दा ठूला योजना कार्यान्वयन हुन नसकेको स्थानीय तहको भनाइ छ । वडाध्यक्ष विष्टका अनुसार गत आर्थिक वर्षमा केन्द्र सरकारबाट प्राप्त करिब रु एक करोड बजेट सोही कारण कार्यान्वयन हुन नसकी फिर्ता गएको थियो ।
“बजेट आए पनि जग्गासम्बन्धी समस्या समाधान नहुँदा काम अघि बढाउन सकिएन”, उनले भने, “यदि यो समस्या समाधान गर्न सकियो भने यहाँ पूर्वाधार विकास, मन्दिर निर्माण, पदमार्ग, विश्रामस्थललगायतका काम अघि बढाउन सकिन्छ ।”
स्थानीय सरोकार भएकाहरूका अनुसार ‘शिला सुत्केरी’लाई संरक्षणसँगै प्रभावकारी प्रचारप्रसार गर्न सके धार्मिक पर्यटनमार्फत स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिनेछ । यसका लागि सरकारी निकाय, स्थानीय तह, पर्यटन व्यवसायी तथा समुदायबीच समन्वय र सहकार्य अपरिहार्य रहेको उनीहरुको भनाइ छ ।
स्थानीय मानबहादुर राईले यस स्थलको दीर्घकालीन संरक्षण, व्यवस्थापन तथा प्रवर्द्धनका लागि स्पष्ट योजना बनाएर कार्यान्वयन गर्न आवश्यक रहेको बताए । “यसको ऐतिहासिक र धार्मिक पहिचानलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा पुर्याउन सकियो भने भोजपुरको पर्यटन विकासमा ठूलो योगदान पुग्नेछ”, उनले भने ।
गाउँपालिका अध्यक्ष प्रेमकुमार राईले ‘शिला सुत्केरी’ हतुवागढी क्षेत्रकै महत्त्वपूर्ण धार्मिकस्थल भएको उल्लेख गर्दै यसको विकासमा गाउँपालिकाले प्राथमिकता दिएको बताए ।जग्गा निजी स्वामित्वमा रहेकाले पटकपटक माथिल्लो निकायबाट प्राप्त भएको बजेट कार्यान्वयन गर्न नसकिएको उनले जानकारी दिए । “जग्गा निजी स्वामित्वमा रहेकाले विकासमा समस्या देखिएको छ”, अध्यक्ष राईले भने, “यसलाई सरकारी स्वामित्वमा ल्याउन जग्गाधनीसँग विभिन्न माध्यमबाट पटकपटक छलफल गरिए पनि सहमति हुनसकेको छैन ।
सोही कारण संरक्षणका ठूला काम ठेक्कामार्फत अघि बढाउन सकिएको छैन । यो वर्ष पनि प्रदेश सरकारबाट प्राप्त करिब रु एक करोड बजेट कार्यान्वयन हुन नसक्ने अवस्थामा पुगेको छ ।” ‘शिला सुत्केरी’जस्तो ऐतिहासिक तथा धार्मिक महत्व बोकेको स्थलको संरक्षण, व्यवस्थापन र प्रवर्द्धनमा ध्यान दिन सके यो स्थान राष्ट्रियस्तरको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुन स्थानीय जानकारहरूको भनाइ छ ।
-

अनुसन्धान, प्रविधि र सहकार्यका लागि अन्तरराष्ट्रिय मौरी सम्मेलन
नारायणगढ (चितवन), २२ चैतः मौरी, परागसेचन र खाद्य सुरक्षाबीचको अन्तरसम्बन्धबारे अन्तरराष्ट्रियस्तरमा बहस गर्न चितवनको रामपुरमा मौरीसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको आयोजनामा चैत २३ देखि २७ गतेसम्म सञ्चालन हुने सम्मेलनमा दिगो कृषि, खाद्य सुरक्षा र जैविक विविधता संरक्षणमा मौरीको भूमिकाबारे केन्द्रित छलफल गरिने आयोजकले जनाएको छ ।
मौरीपालनका आधुनिक अभ्यास, वैज्ञानिक अनुसन्धान तथा अन्तरराष्ट्रिय सहकार्यलाई प्रवर्द्धन गर्ने लक्ष्यसहित आयोजना गरिएको सम्मेलनअन्तर्गत तीन दिन प्राविधिक सत्र सञ्चालन हुनेछन् भने बाँकी दुई दिन मौरीपालनसम्बन्धी क्षेत्रको अध्ययन भ्रमण तथा अवलोकन गराइनेछ । सम्मेलनले मौरी स्वास्थ्य, परागसेचन सेवा, मौरीजन्य उत्पादनको गुणस्तर अभिवृद्धि तथा बजार विस्तारका सम्भावनाबारे व्यावहारिक र नीतिगत बहस अघि बढाउने अपेक्षा गरिएको छ ।
सम्मेलनबारे जानकारी दिन यहाँ आयोजित पत्रकार सम्मेलनमा विश्वविद्यालयका रजिष्ट्रार प्राडा पुष्कर पालले शिक्षण, अनुसन्धान र प्रसार विश्वविद्यालयका मूल उद्देश्य रहेको उल्लेख गर्दै तिनलाई अन्तरराष्ट्रियस्तरमा विस्तार गर्नुपर्नेमा जोड दिए । उनका अनुसार विश्वका करिब ७० प्रतिशत अन्नबालीको परागसेचन मौरीमार्फत हुने गर्दछ भने करिब एकतिहाइ खाद्यान्न उत्पादन मौरीमा निर्भर छ ।
“मौरी असुरक्षित हुनु भनेको अन्न असुरक्षित हुनु हो”, प्राडा पालले भने । उनले जलवायु परिवर्तन, मौसमीय असन्तुलन र तापक्रम वृद्धिका कारण मौरीपालन क्षेत्रमा चुनौती थपिँदै गएको उल्लेख गर्दै यस्ता समस्या समाधानका लागि अन्तरराष्ट्रिय सहकार्य आवश्यक रहेको बताए । कृषि विभागका उपमहानिर्देशक राजेन्द्र कोइरालाले यस्ता सम्मेलनले नवीन प्रविधि, अनुसन्धान र अनुभव आदानप्रदानका लागि साझा मञ्च प्रदान गर्ने बताउँदै यसले कृषि विकासमा टेवा पुग्ने धारणा राखे ।
आयोजक संस्थाका डीन प्राडा अर्जुनकुमार श्रेष्ठले नेपाल मौरीपालनका लागि उपयुक्त देश रहेको उल्लेख गर्दै यहाँ विभिन्न प्रजातिका मौरी पाइने जानकारी दिनुभयो । नेपाल मौरीपालनका लागि अत्यन्त उपयुक्त देश रहेको बताउँदै यहाँ एपिस सेरेना, एपिस मेलिफेरा, एपिस डोर्साटा, एपिस फ्लोरिया र एपिस लेबोरियोसा गरी पाँच प्रजाति पाइने जानकारी दिए ।प्राडा श्रेष्ठका अनुसार मौरीपालन क्षेत्रमा रोग तथा कीराको व्यवस्थापन, जलवायु परिवर्तन, परागसेचक जीवको घट्दो सङ्ख्या तथा बजार व्यवस्थापनजस्ता चुनौती विद्यमान छन् । उहाँले सम्मेलनले यस्ता समस्याको समाधान खोज्दै नीतिगत सुधारका लागि वैज्ञानिक आधार तयार गर्ने विश्वास व्यक्त गरे ।
सम्मेलनमा २० भन्दा बढी देशका करिब दुई सय ५० राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुसन्धानकर्ता, मौरीपालक तथा नीतिनिर्माताको सहभागिता रहने उनले जानकारी दिए । कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल मौरीपालक महासङ्घको सहकार्यमा हुने यस सम्मेलनले मौरीपालन क्षेत्रलाई सुदृढ बनाउँदै दिगो कृषि प्रणाली र खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।सम्मेलनमा मौरीपालन तथा परागसेचनसँग सम्बन्धित प्रमुख विषयमा केन्द्रित छलफल गरिने श्रेष्ठले बताए । जसअन्तर्गत मौरीजन्य उत्पादनको औषधीय गुण, अनुसन्धान, गुणस्तर तथा अन्तरराष्ट्रिय व्यापारका सम्भावना, परागसेचन सेवाको महत्व, मौरीका वनस्पति स्रोत, जलवायु परिवर्तनको प्रभाव तथा जैविक विविधता संरक्षणका विषय समेटिनेछन् ।
त्यसैगरी मौरीको जीवविज्ञान, व्यवहार, रोग तथा किट व्यवस्थापन, मौरी स्वास्थ्य संरक्षण र नयाँ प्रविधिको प्रयोगबारे पनि चर्चा गरिनेछ । मौरीपालनको सामाजिक(आर्थिक महत्व, बजार प्रणाली, उद्यमशीलता, महिला तथा युवाको सहभागिता र नीतिगत संरचनाका विषयमा समेत बहस हुने जनाइएको छ ।
सम्मेलनअन्तर्गत विभिन्न प्राविधिक सत्र, पोस्टर प्रस्तुति तथा छलफल कार्यक्रम सञ्चालन गरिनेछ । अनुसन्धानकर्ताहरूको प्रस्तुति, प्रदर्शनी मह चखाउने कार्यक्रम तथा ‘पोस्टकन्फरेन्स’ गतिविधिसमेत समावेश गरिने प्राडा श्रेष्ठले जानकारी दिए ।
-

पाँच किमी सडक स्तरोन्नति गर्न आठवर्षपछि बल्ल बजेट
तानसेन (पाल्पा), २२ चैतः लुम्बिनी प्रदेश सरकारको गौरवको आयोजनाका रूपमा रहेको पाल्पाको हार्थोक–बतासे सडकको अन्ततः स्तरोन्नतिको काम अगाडि बढेको छ । विगत आठ वर्षदेखि बजेट अभाव र सरकारी उदासिनताले अलपत्र परेको रामपुर–कपुरकोट सडकखण्डअन्तर्गतको यो सडकको अहिले स्तरोन्नतिको काम धमाधम अगाडि बढेको हो । प्रदेश सरकारले पाँच किलोमिटर सडक स्तरोन्नति गर्न बजेट विनियोजन गरी काम सुरु गरेको छ । यहाँ मार्ग खुलेको लामो समय हुँदासम्म सडक लथालिङ्ग थियो । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुँदा यात्रीलाई सास्ती हुन्थ्यो । बिरामी र गर्भवतीलाई निकै जोखिम थियो ।
पश्चिम पाल्पाका नागरिकको ‘लाइफ लाइन’का रूपमा रहेको सडकखण्डलाई पक्की बनाउने हरेकपटक चुनावी नारा बन्थ्यो । तर, चुनाव सकिएपछि कहिल्यै टालो नफेरेको उक्त सडकखण्ड आठ वर्षपछि स्तरोन्नतिको काम सुरु भएपछि यहाँका नागरिकमा खुसीयाली छाएको छ । स्थानीयले पटकपटक स्थानीय, प्रदेश र सङ्घीय सरकारका जनप्रतिनिधिलाई ध्यानाकर्षण गराउँदै आए पनि काम हुनसकेको थिएन । अहिले काम अगाडि बढेपछि रैनादेवी छहराका पदम सोमै निकै खुसी हुनुहुन्छ । हिँड्नै मुस्किल हुने सडकको स्तरोन्नति हुन थालेपछि अब दुःखका दिन सकिने उनको आशा छ ।
“यहाँका नागरिक बिग्रँदो अवस्थाका सडकका कारण वर्षात्अगावै घरायसी सामानको जोहो मिलाउँथे । सडक पक्की बनेपछि त्यो अवस्था सकिनेछ”, उनले भने । सडक स्तरोन्नतिपछि उत्पादित वस्तु बेचेर ग्रामीण क्षेत्रका किसानको आयआर्जनमा वृद्धि हुने रैनादेवी छहरा गाउँपालिका पूर्वजनप्रतिनिधि विष्णु पोखरेल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सडक स्तरोन्नतिपछि ढुवानीका साधन पनि बारीबारीमै पुग्नेछन् । कुहिएर जाने तरकारी बजारमा पुग्नेछ । किसानले आफ्ना वस्तु सजिलै बजार पुर्याउने अवस्था आउनेछ । किसानको उत्पादन गाउँमै राम्रो मूल्यमा बिक्री हुनेछ ।” सडक सञ्जालले आममानिसलाई करेसाबारीमा फलेका तरकारी होस् या खेतबारीमा फलेको अन्न, बजार पुर्याउन सहज बनाउने पोखरेलको भनाइ छ ।
लामो समयको पर्खाइपछि आएको बजेटलाई कार्यप्रगतिमा रुपान्तरण गर्न स्थानीयवासी सक्रिय भएर लागेका छन् । सडक निर्माणका क्रममा आइपरेका समस्या पनि स्थानीयस्तरबाटै समाधानले काममा सहयोग भएको छ । सडक स्तरोन्नतिको काम गर्दा स्थानीयवासी, पालिकाका जनप्रतिनिधिहरूसँग समन्वय सहकार्य गरेर काम भइरहेको रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले बताउनुभयो ।
यस सडकखण्डमा अहिले सडक चौडा गर्ने, ठाउँठाउँमा रिटेनिङ पर्खाल लगाउने, जग निर्माण गर्ने, बाटोको लेवल मिलाउने र नाली निर्माणका काम भइरहेका छन् । सडकको मापदण्डमा पर्ने दायाँ बायाँमा रहेको घरटहरा हटाएपछि कामले अझै गति लिने छ । सडक निर्माणका क्रममा आएका समस्यालाई आपसी छलफल, समन्वय र सहकार्यबाट समाधान गर्दै निधारित मितिमै काम सक्नेगरी कार्यालय लागिपरेको लुम्बिनी प्रदेश सडक यातायात पूर्वाधार निर्देशनालय बुटवलका वरिष्ठ इन्जिनियर सूचना अधिकारी अरुण गुप्ताले बताए ।
सडक स्तरोन्नतिका लागि यातायात पूर्वाधार निर्देशनालय बुटवलले २०८४ असोज २६ भित्र सम्पन्न गर्नेगरी निर्माण व्यवसायीसँग सम्झौता गरेको छ । सडक स्तरोन्नतिका लागि रु १६ करोड ३१ लाख १९ हजारमा एमएस राजेश्वरी–रमानिया–आरएन्डआर जेभीले काम गर्दै आएको छ । निर्माणकार्य सम्पन्न गर्ने मितिभन्दा छ महिनाअघि नै सक्ने लक्ष्यका साथ काम भइरहेको निर्माण कम्पनीका साइड इन्चार्ज अरुण ज्ञवालीले बताए ।
प्रदेश सरकारले २०७४ सालमै कर्णाली प्रदेशको सिमानादेखि गण्डकी प्रदेशको सिमाना जोड्ने गरी पाल्पाको रामपुरदेखि सल्यानको कपुरकोटसम्मको तीन सय १० किलोमिटर दूरी निर्धारण गरी प्रदेशको गौरवको आयोजना घोषणा थियो । गौरवको सडक आयोजना घोषणा गरे पनि प्रदेशमा स्थिर सरकार नहुँदा यस सडकका लागि बजेट परेको थिएन ।यो सडक पश्चिम पाल्पाको लाइफ लाइन भएकाले सडक निर्माणकार्य पूरा भएपछि जनजीवनमा परिवर्तनहरू देखिने लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले बताउनुभयो । यो सडकले पाल्पाबाहेक अर्घाखाँची, प्यूठान, रोल्पा र सल्यानका बासिन्दालाई लाभ पुग्नेछ ।
-

आज यी प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ, २२ चैत । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशभर साधारणतया बादल लागेको छ । कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ\असिना\हुरीबताससहित मध्यम वर्षा र हिमपात तथा लुम्बिनी र सुदुरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एकदुई स्थानमा मेघगर्जन\चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस र कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानहरूमा हुरीबतासको समेत सम्भावना छ ।
त्यसैगरी, आज राति देशका हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । पहाडी भूभागमा आंशिक बादल लाग्नेछ तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी, गण्डकी, कर्णाली प्रदेशका हिमाली भूभागका थोरै स्थान तथा बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली भूभाग, कोशी र गण्डकी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन\चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशका तराई भूभागका केही स्थानमा हुरीबतासको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
-

अलपत्र रहेको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन
दमौली (तनहुँ), २२ चैत स् विगत १२ वर्षदेखि अलपत्र रहेको तनहुँ र चितवन जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुलको काम तत्काल सुरु गर्न निर्देशन दिइएको छ । सडक डिभिजन कार्यालय दमौलीले निर्माण कम्पनीलाई पत्राचार गरेर सो निर्देशन दिएको हो ।
घुमाउने पुलको संशोधित डिजाइन निर्माण व्यवसायीबाट पेस भएकामा चैत १५ गतेको सडक विभागको विभागीय निर्णयअनुसार डिजाइनको सम्पूर्ण जिम्मेवारी लिई निर्माण व्यवसायीबाट पेस भएको ‘स्पेसिफिकेसन’सहितको ‘डिजाइन’ तेस्रो पक्षको विज्ञबाट जाँच भएकाले निर्माण अगाडि बढाउन निर्देशन दिइएको सडक डिभिजन कार्यालयका प्रमुख राजीव श्रेष्ठले बताए ।
घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटकपटक मन्त्री, सांसद, सडक डिभिजनमा ध्यानाकर्षण र सरोकारवाला निकाय घेराउसमेत गरेका थिए । गत निर्वाचनताका सबै उम्मेदवारले पुल निर्माणलाई प्राथमिकता दिने हस्ताक्षरसहितको प्रतिबद्धता व्यक्त गरे । पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापामगरले पुल निर्माण नहुँदा यस भेगका जनताले सास्ती खेपिरहेको बताए । घुमाउने पुल निर्माणका लागि सम्झौता भएको १२ वर्ष बितिसक्यो ।सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिलरमात्र ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक विसं २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो ।
बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि विसं २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ साल चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ३६ प्रतिशतमात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त पुल निर्माणका लागि २०८३ साल असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनबीचको कम दूरीमा सजिलै आवतजावत गर्न सकिने तनहुँ जिल्लाको सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनारा हुँदै क्रमशः व्यास–१३ र १४, बन्दीपुर–६, आँबुखैरेनी–५ हुँदै जाने र उक्त सडकलाई मुग्लिन–नारायणगढ सडकमा जोड्ने घुमाउनेघाटमा पुल निर्माण थालिएको थियो ।
तनहुँ जिल्लाको कछार मानिने देवघाट गाउँपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का जनतासमेत लाभान्वित हुने यस सडक पृथ्वी राजमार्गको मुग्लिन सडकखण्डभन्दा करिब २३ किमी कम दूरी पर्दछ । गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्न पश्चात पोखरा र दमौलीलाई नारायणगढ आवतजावत गर्न हाल सञ्चालन भइरहेको मुग्लिङ नारायणगढ सडकभन्दा २३ किलोमिटरको दूरी छोटो पर्छ ।
घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । उक्त पुल एक सय पाँच मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो ।
-

कांग्रेस पन्ध्रौँ महाधिवेशनमा निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिलाई अभिमुखीकरण
पाटन (ललितपुर), २१ चैतः नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनका लागि निर्वाचन क्षेत्रमा खटिने केन्द्रीय प्रतिनिधिहरूलाई अभिमुखीकरण गरी महाधिवेशनको औपचारिक तयारीको सुरुआत गरेको छ । कांग्रेसले ७७ वटै जिल्लामा सदस्यता अभियान र साङ्गठनिक सुदृढीकरणका लागि खटिएर जाने प्रतिनिधिहरूलाई अभिमुखीकरण गर्दै आजदेखि महाधिवेशनको प्रक्रिया अगाडि बढाएको हो ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित अभिमुखीकरणपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै महामन्त्री प्रदीप पौडेलले जिल्लामा खटिएका प्रतिनिधिहरूले वैशाख महिनाभर कार्यक्षेत्रमा खटेर सदस्यता वितरण, अद्यावधिक र साङ्गठनिक अवस्थाको प्रतिवेदन तयार पार्ने बताए । “कांग्रेसको सङ्गठन सुदृढीकरण र सामाजिक अभियानमा जोडिनका लागि ‘जरा अभियान’ सञ्चालन गरिँदै छ ।
पुराना क्रियाशील सदस्यहरूले वैशाख महिनाभित्र वडावडामा गएर अनिवार्य रूपमा सदस्यता अद्यावधिक गर्नुपर्नेछ । पार्टीले यसपटक सबै सदस्यलाई कांग्रेस ‘आइडी’ प्रदान गर्नेछ र यो परिचयपत्र नभएका व्यक्तिहरूले १५औँ महाधिवेशनमा भाग लिन पाउने छैनन्”, उनले भने ।
महामन्त्री पौडेलका अनुसार पार्टीको केन्द्रीय सभापतिको नेतृत्वमा राष्ट्रियस्तरमा बुद्धिजीवी र पेसाकर्मीहरूसँग संवाद हुनेछ भने जिल्ला तहमा स्थानीय समीक्षा कार्यक्रम सञ्चालन गरिनेछ । उनले भने, “नयाँ सदस्यका लागि डिजिटल माध्यमबाट सदस्यता दिने व्यवस्था मिलाइएको छ ।जरा अभियानअन्तर्गत महाधिवेशनको तयारी, साङ्गठनिक सुदृढीकरण, गएको चुनावको समीक्षा र पार्टीलाई सामाजिक गतिविधिमा जोड्ने गरी चार मुख्य विषय समेटिएका छन् । प्रतिनिधिहरूलाई आवश्यक निर्देशिका, कार्यविधि र फारामसहित जिल्ला पठाइसकिएको छ, वैशाखभर सदस्यता अद्यावधिकको काम अगाडि बढ्ने छ ।” महामन्त्री पौडेलले पार्टीले तय गरेको पूर्वनिर्धारित कार्यतालिकाअनुसार अभिमुखीकरण सम्पन्न भएको जानकारी दिए ।
-

लमजुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १२ घाइते
लमजुङ, २१ चैतः आज साँझ यहाँ जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बेँसीसहरदेखि मस्र्याङ्दी गाउँपालिका–७ उस्ता जाँदै गरेको ग१ज ६४७० नम्बरको बोलेरो जिप दुर्घटना हुँदा त्यसमा सवार मस्र्याङ्दी गाउँपालिका–७ उस्ताका ४० वर्षीय गङ्गामाया भन्ने त्रिवेणी गुरुङ र ३५ वर्षीय पुष्पा घलेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक दिपेन्द्रकुमार बस्नेतले जानकारी दिए । उनका अनुसार बेँसीसहर उस्ता सडकको भित्री सडकदेखि ५०–६० मिटर तल खसेर दुर्घटना भएको थियो । चालकसहित १४ जना घाइते भएकामा उपचारका लागि प्रदेश अस्पताल बेँसीसहरमा लगेपछि दुई जनालाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
दुर्घटनामा सोही स्थानका जिप चालक २९ वर्षीय करण अधिकारी, ३१ वर्षीय प्रकाश गुरुङ, ३३ वर्षीय रिता गुरुङ, ४० वर्षीय विमलादेवी घले, ६२ वर्षीय सन्तबहादुर घर्ती, ३१ वर्षीय प्रकाश गुरुङ, ७ वर्षीय सफल गुरुङ, ११ वर्षीय रितेश गुरुङ, १० वर्षीय प्रिन्सिका गुरुङ, ३८ वर्षीय सोमलाल तामाङ, १२ वर्षीय बिवान घले र ४८ वर्षीय रुन्द्रमान घले घाइते भएका छन् । घाइतेमध्ये सात वर्षीय सफल गुरुङ र रिता गुरुङलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको प्रहरीले जनाएको छ । अन्य १० जनाको प्रदेश अस्पताल बँेसीसहरमा उपचार भइरहेको छ ।
-

नेटो प्रमुख रुटले ट्रम्पसँग वासिङ्टनमा भेटवार्ता गर्ने
ब्रसेल्स, २१ चैत (रासस–एएफपी) । नेटोका प्रमुख मार्क रुटले अर्को हप्ता वासिङ्टन भ्रमणमा डोनाल्ड ट्रम्पलाई भेट्ने भएका छन् । ट्रम्पले युरोपेली राष्ट्रहरूले आफ्नो युद्धको प्रतिक्रियाका कारण ७७ वर्ष पुरानो सैन्य गठबन्धन छोड्ने विचार गरिरहेको बताए । अमेरिकी राष्ट्रपति ट्रम्पले नेटो सदस्यहरूले अमेरिकी सेनालाई उनीहरूको भूमिमा बेसहरूमा पहुँच सीमित गरेको र स्ट्रेट अफ हर्मुज खोल्ने प्रयासहरूको नेतृत्व गर्न अस्वीकार गरेको भन्दै आलोचना गरेको समाचार आइरहेका समय यो भेटवार्ता तय भएको हो ।
नेटोका अनुसार रुटले अप्रिल ८ मा ट्रम्पसँग भेट गर्नेछन् । विदेशमन्त्री मार्को रुबियो र रक्षा प्रमुख पिट हेगसेथलाई पनि भेट्ने कार्यक्रम छ । नेटो गठबन्धन प्रमुख रूटलेले अप्रिल ९ मा रोनाल्ड रेगन प्रेसिडेन्सियल फाउन्डेसन इन्स्टिच्यूटमा सम्बोधन गर्नेछन् । गत वर्ष राष्ट्रपति पदमा फर्केदेखि सङ्कटको श्रृङ्खलाबिच अमेरिकी राष्ट्रपतिलाई सँगै राख्न सक्ने क्षमताका लागि नेदरल्यान्ड्सका पूर्व प्रधानमन्त्री रुटलाई ट्रम्पका निकटस्थ भएको बताउने गरिएको छ। ट्रम्पले युरोपेली देशहरूलाई रक्षा खर्च बढाउन सहमत गराएर नेटोलाई बलियो बनाएको दाबी रुटले गर्ने गरेका छन् ।
-

ह्वाइट हाउसद्वारा १.५ ट्रिलियन डलरको रक्षा बजेट माग
वासिङ्टन, २१ चैत (रासस–एएफपी) । ह्वाइट हाउसले शुक्रबार अर्को वर्ष १.५ ट्रिलियन डलरको अमेरिकी रक्षा बजेट माग गरिएको खर्च प्रस्ताव संसद्मा पठाएको छ । अमेरिकाले इरानसँग युद्ध गरिरहँदा अधिकारीले रक्षा खर्चमा वृद्धि गर्ने प्रस्ताव गरेका हुन् । अमेरिकी सञ्चारमाध्यमका अनुसार पेन्टागनको कुल वार्षिक खर्चमा भएको वृद्धि दोस्रो विश्वयुद्धपछि सबैभन्दा ठूलो हुनेछ ।
यद्यपि राष्ट्रपतिको बजेट इच्छा प्रस्ताव सूची मात्र हो जुन बाध्यकारी आदेश नभई यसलाई अमेरिकी कङ्ग्रेसले अनुमोदन गर्नु पर्नेछ। प्रस्तावमा लेखिएको छ, “सन् २०२६ को बजेटले यो बर्षका लागि ऐतिहासिक एक ट्रिलियन डलरको समग्र रक्षा खर्च निर्धारण गरेको थियो ।
नयाँ प्रस्तावमा सन् २०२७ को लागि कुल बजेट स्रोतहरूमा १.५ ट्रिलियन डलर रक्षा बजेको लागि अनुरोध गरिएको छ।” प्रस्तावमा भनिएको छ, “यो चार खर्ब ४५ अर्ब वा सन् २०२६ को कुल संसाधन स्तरबाट ४२ प्रतिशत वृद्धि हो।”
-

हर्मुज पार गर्ने अधिकांश वस्तु इरानसँग सम्बन्धित
पेरिस, २० चैत (रासस–एएफपी) । मध्यपूर्वमा युद्ध सुरु भएदेखि हर्मुज जलमार्ग पार गर्ने ६० प्रतिशत जहाजहरू इरानबाट आएका वा त्यहाँ जाँदै गरेका रहेको पाइएको एएफपीको समुद्री तथ्याङ्कको विश्लेषणले देखाएको छ । इरानले फेब्रुअरी २८ मा अमेरिका–इजरायल हमलाको बदलामा विश्वव्यापी इन्धन आपूर्ति बन्द गरेको छ, जसले विश्व ऊर्जा बजारलाई हलचल पारेको छ । मार्च १ देखि अप्रिल ३ को बिहानसम्म २२१ जहाजहरू इरान प्रवेश गर्न वा छोड्न हर्मुज जलमार्ग पार गरेका ‘ग्लोबल सामुद्रिक एनालिटिक्स फर्म केप्लर’ ले जनाएको छ ।
केहीले यसलाई धेरै पटक पार गरेका कारण जलमार्गको प्रयोग गर्ने जहाजको सङ्ख्या कुल २४० भन्दा बढी पुगेको छ । हर्मुजमा आवागमन भएका १० मध्ये छ वटा जहाज इरानबाट आउने वा जाने जहाजहरू रहेका थिए, कार्गो ढुवानी गर्ने जहाजहरूको जुन हिस्सा ६४ प्रतिशतसम्म पुग्छ । संयुक्त अरब इमिरेट्स ९युएई० २० प्रतिशत, चीन १५ प्रतिशत, भारत १४ प्रतिशत, साउदी अरब आठ प्रतिशत, ओमान आठ प्रतिशत, ब्राजिल छ प्रतिशत र इराक पाँच प्रतिशत रहेका छन् भने विश्व अर्थतन्त्रमा उल्लेख्य भूमिका रहने मुख्य गन्तव्य र देश देशहरू यस तथ्याङ्कबाट धेरै पछाडि छन्।
यो अवघिमा कार्गो बोक्ने ११८ जहाजहरूमध्ये ३७ ले कुल ८।४५ मिलियन टन कच्चा तेल ओसारपसार गरेका थिए । ३७ वटा तेल ट्यांकरमध्ये ३० वटा इरानबाट आएका थिए भने सबै खाडी छोड्दै थिए । धेरै जसोले यात्रा गरिरहेको गन्तव्य बताउन चाहेका थिएनन् ।
आफ्नो गन्तव्य रिपोर्ट गरेका र इरानी तेल बोकेका केही जहाजहरूमध्ये एउटा अपवाद बाहेक सबै चीनतर्फ जाँदै थिए। कार्गो लिएर स्ट्रेट पार गरेका अन्य सात तेल ट्याङ्करहरू साउदी अरबबाट छुटेका थिए र उनीहरूमध्ये एक हङकङको ध्वजाबाहक जहाज न्यू भिजन मार्च १ मा छुटेको थियो र शनिबार फ्रान्सको बन्दरगाह ले हाब्रे आइपुग्ने अपेक्षा गरिएको छ ।
-

ऊर्जा लागत बढेपछि जापानी एयरलाइन्सद्वारा अतिरिक्त शुल्कको तयारी
टोकियो, २१ चैत (रासस–एएफपी) । मध्यपूर्वमा जारी द्वन्द्वका कारण ऊर्जा लागत बढ्दै गएपछि जापानका प्रमुख एयरलाइन्सहरूले इन्धन अधिभार बढाउने विषयमा विचार गरिरहेका छन् । यद्यपि सम्बन्धित अधिकारीहरूले हालसम्म कुनै औपचारिक निर्णय नभएको बताएका छन् । फेब्रुअरी अन्त्यतिर इरानमाथि भएको अमेरिका–इजरायल आक्रमणपछि क्षेत्रीय तनाव बढ्दै जाँदा अन्तर्राष्ट्रिय उडान क्षेत्रमा इन्धन लागतमा तीव्र वृद्धि भएको छ । यससँगै इरानले विश्वव्यापी तेल आपूर्तिका लागि महत्त्वपूर्ण मानिने स्ट्रेट अफ हर्मुज प्रभावित पार्दा स्थिति थप जटिल बनेको छ ।
जापानी सञ्चारमाध्यमहरूका अनुसार आयातमा निर्भर देशका प्रमुख एयरलाइन्सहरूले पनि अधिभार बढाउने सम्भावना रहेको जनाइएको छ । जापान एयरलाइन्स (जेएएल)का अध्यक्ष मित्सुको तोट्टोरीले उपभोक्तामाथि अतिरिक्त शुल्क लगाउनुपर्ने अवस्था आउन सक्ने सङ्केत गरेका छन् । जेएएल र प्रतिद्वन्द्वी एएनएका अधिकारीहरूले भने आफ्ना कम्पनीहरूले हालसम्म इन्धन अधिभार बढाउने निर्णय नगरेको स्पष्ट पारेका छन् । तर जुन महिनादेखि लागू हुने शुल्क निर्धारण गर्दा फेब्रुअरी र मार्च महिनामा इन्धन मूल्यमा भएको उतारचढावलाई आधार बनाइने उनीहरूको भनाइ छ ।
तोट्टोरीले लागत नियन्त्रणका आन्तरिक प्रयासपछि पनि उपभोक्तामाथि केही भार थपिन सक्ने बताए । उनका अनुसार यदि इन्धन मूल्य हालकै दरमा बढिरहेमा कम्पनीले प्रत्येक महिना करिब ३० अर्ब येन बराबरको अतिरिक्त खर्च व्यहोर्नुपर्ने अवस्था आउन सक्छ। तेलको मूल्यमा आएको वृद्धिले मध्यपूर्वबाट इन्धन आयातमा निर्भर एसियाली अर्थतन्त्रहरूमा व्यापक दबाब सिर्जना गरेको छ । यसअघि नै चीन, हङकङ र ताइवानका केही एयरलाइन्सहरूले इन्धन अधिभार बढाइसकेका छन् ।
-

इरानी आकासबाट अमेरिकी युद्धक विमान खसालियो, चालकको उद्धार
वासिङ्टन, २१ चैत (रासस–एएफपी) । इरानी आकाशबाट एक अमेरिकी युद्धक विमान खसेको र अमेरिकी सेनाले चालक दलका सदस्यमध्ये एकलाई उद्धार गरेको छ । इरानी सञ्चारमाध्यमले विमानको भग्नावशेषको फुटेज प्रसारण गरेपछि प्रमुख अमेरिकी सञ्चारमाध्यमहरूले पनि शुक्रबार इरानी आकाशबाट एक अमेरिकी युद्धक विमान खसेको पुष्टि गरेका छन् । एक्सिओस र सीबीएस न्यूजले अज्ञात स्रोतलाई उद्धृत गर्दै विमानमा रहेका दुई चालक दलमध्ये एकलाई अमेरिकी विशेष बलले उद्धार गरिसकेको तर चालक दलका दोस्रो सदस्यको खोजी कार्य जारी रहेको जनाएको छ ।
द न्यूयोर्क टाइम्स र वाल स्ट्रिट जर्नलका अनुसार उक्त एफ–१५–इ लडाकु विमानमा चालक र अमेरिकी रक्षा प्रणालीका एक अधिकृत सवार थिए । सीएनएनले इरानी मिडियाले देखाएको भग्नावशेषमा एफ–३५ स्टील्थ लडाकुको सट्टा एफ–१५ देखिएको छ । अमेरिकी सञ्चारमाध्यमले राष्ट्रपति डोनल्ड ट्रम्पलाई घटनाबारे जानकारी गराइएको जनाएका छन् तर प्रतिक्रियाकोे लागि एएफपीले गरेको सम्पर्कमा ह्वाइट हाउस वा पेन्टागनबाट तत्काल कुनै प्रतिक्रिया जनाइएको छैन।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले युद्धको आदेश दिएयता इरानभित्र पहिलो विमान गुमाएपछि विशेष अमेरिकी सेनाले खोज तथा उद्धार अभियान जारी राखेको छ। सामाजिक सञ्जाल र इरानी सञ्चारमाध्यमहरूमा प्रसारित तस्बिर र भिडियोहरूलाई उद्धृत गर्दै प्रमुख अमेरिकी सञ्चारमाध्यमले अमेरिकी हेलिकप्टर र अन्य विमानहरू खसालिएको अनुमान गरिएको लडाकू विमानको भन्दा कम उचाइबाट उडिरहेको बताएका छन्।
-

काठमाडौंमा गुण्डागर्दी र बिचौलियाविरुद्ध प्रहरीले थाल्यो सर्च अपरेशन
२१ चैत, काठमाडौं । प्रहरीले काठमाडौंमा अमचचयन कायम राख्न गुण्डागर्दीविरुद्ध सर्च अभियान थालेको छ । साथै सार्वजनिक स्थलमा आम सर्वसाधारणलाई दुख दिने गिरोह र बिचौलियाविरुद्ध समेत अभियान सुरु गरिएको छ । सो क्रममा आज काठमाडौंमा प्रहरीले रातभर सर्च अप्रेशन चलाएको हो ।
गुण्डागर्दी, ठगी, बिचौलिया लगायतमा संलग्नहरूले प्रहरीले रातभर अप्रेशन गरेर पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसएसपी रमेश थापाका अनुसार रातभर काठमाडौंका विभिन्न ठाउँबाट १९५ जना पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, ठमेल, बुढानीलकण्ठ लगायतका क्षेत्रबाट सो संख्यामा विभिन्न मान्छेहरू पक्राउ परेका छन् । ठमेल, विमानस्थल लगायतका क्षेत्रमा मान्छे तातातान गर्ने, पहिल्यैदेखि गुण्डागर्दीमा संलग्न, बिचौलिया लगायत १९५ जना पक्राउ परिसकेको प्रहरीले जनाएको छ । उनीहरूविरुद्ध प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
