झापा, २ चैत । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२–८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन् । उनले साउनमा २८४, भदौमा २१९, असोजमा ५४१, कात्तिकमा ६२४, मङ्सिरमा ८७३, पुसमा एक हजार ८५०, माघमा एक हजार ३९५ र फागुनमा एक हजार पाँच जना पर्यटक भित्रिएको जानकारी दिए ।
सोही अवधिमा अध्ययनलगायतका कामले विदेशमा रहेका तीन हजार १३३ नेपालीहरु सोही नाका भएर नेपाल फर्किएको समेत उनले बताए । उक्त नाकाबाट अध्यागमन प्रक्रिया पूरा गरी नेपालबाट विदेश फर्किएका पर्यटकको संख्या छ हजार ५५२ रहेको छभने एक हजार ८४७ जना नेपाली समेत विदेश गएका छन् । गत आर्थिक वर्ष २०८१–८२ मा सोही नाकाबाट आठ हजार ७२३ जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका थिए ।
Author: Vishwanews.com
-

पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
-

जेनजी आन्दोलन भ्रष्टाचार, बेरोजगारी र कुशासनविरुद्ध युवाको विद्रोह’
काठमाडौँ, १ चैतः अर्थ मन्त्रालयले ‘जेनजी आन्दोलनको बुझाइः मूल कारण, वास्तविकता र सबल नेपालका लागि मार्गचित्र’ शीर्षकमा गरिएको अध्ययन सार्वजनिक गरेको छ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको अर्थशास्त्र केन्द्रीय विभागले गरेको उक्त अध्ययनले गत भदौ २३ र २४ गते नेपालमा भएको जेनजी आन्दोलनलाई केवल क्षणिक असन्तोष नभई भ्रष्टाचार, कुशासन, आर्थिक अवसरको अभाव, सामाजिक अन्याय र संस्थागत कमजोरीविरुद्ध युवाको सामूहिक तथा संरचनागत प्रतिक्रियाका रूपमा व्याख्या गरेको छ ।
अध्ययनले डिजिटल प्रविधिमा हुर्किएको, शिक्षित र सचेत जेनजी पुस्ताले लोकतान्त्रिक शासन प्रणालीमा पारदर्शिता, न्याय, अवसर र उत्तरदायित्वको अपेक्षा राखेको भए पनि ती अपेक्षा समयमा पूरा हुन नसक्दा व्यापक असन्तोष उत्पन्न भएको र यही असन्तोष आन्दोलनका रूपमा प्रकट भएको निष्कर्ष निकालेको छ ।
“समग्रमा जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश मात्र होइन । यो भ्रष्टाचार, कुशासन, आर्थिक अवसरको अभाव, सामाजिक अन्याय र संस्थागत असफलताविरुद्धको सामूहिक तथा संरचनागत प्रतिक्रिया हो”, अध्ययनको सारांशमा भनिएको छ, “सुशासन र संस्थागत सुधार, मेरिटमा आधारित प्रशासन, अनिवार्य डिजिटल गभर्नेन्स, समयसीमाबद्ध नीति कार्यान्वयन, गुणस्तरीय रोजगारी सिर्जना, शिक्षा र सीपलाई श्रम बजारसँग समन्वय, डिजिटल अधिकारको संरक्षण तथा नीति निर्माणमा युवाको संस्थागत सहभागिता सुनिश्चित भए मात्र युवाको विश्वास पुनःस्थापना, सामाजिक स्थायित्व र दिगो लोकतान्त्रिक तथा आर्थिक विकास सम्भव हुने देखिन्छ ।”
अध्ययनले आन्दोलनका प्रमुख सामाजिक कारणमा राजनीतिक नेतृत्वप्रतिको घट्दो विश्वास, डिजिटल स्वतन्त्रतामा प्रतिबन्ध, राजनीतिक नेतृत्व र तिनका आफन्तको विलासी जीवनशैली, राज्य सेवामा सीमित व्यक्तिको पहुँच, रोजगारमुखी शिक्षा अभाव, योग्यताअनुसार रोजगारी नपाउनु, तथा राजनीतिक नियुक्तिमा नातावाद–कृपावादलाई औँल्याएको छ । त्यस्तै, समाजका सीमान्तकृत समुदाय विकासको मूल प्रवाहमा समाहित हुन नसक्दा उनीहरूको आक्रोश आन्दोलनका रूपमा प्रकट भएको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
त्यसैगरी यो अध्ययनले आन्दोलनको प्रमुख आर्थिक कारणका रूपमा बढ्दो बेरोजगारी, रोजगारीका लागि विदेशिनुपर्ने बाध्यता, न्यून आय, न्यून ज्याला, आर्थिक अस्थिरता, उद्यमशीलताको सीमित अवसर र आय असमानता बढ्दै जानुलाई औँल्याएको छ । अध्ययनका अनुसार शिक्षा प्रणाली र श्रम बजारबीच ठूलो अन्तर रहेको छ । उच्च शिक्षा प्राप्त गरे पनि योग्यताअनुसारको रोजगारी नपाउनु युवाको असन्तोषको प्रमुख कारण बनेको उल्लेख गरिएको छ ।
अध्ययनले आन्दोलनका सुशासनसम्बन्धी कारणमा प्रशासनिक प्रक्रियाको झन्झटिलोपन, सेवा प्रणालीमा एकद्वार प्रणालीको अभाव, मालपोत, कर तथा सेवा शुल्क बुझाउने कार्यालयमा सेवा भावनाको कमी, सार्वजनिक संस्थामा पारदर्शिताको अभाव, कार्यक्षमताको कमी तथा न्याय प्रणालीमा ढिलासुस्तीलाई मुख्य कारणका रूपमा उल्लेख गरेको छ । भ्रष्टाचारको सन्दर्भमा अधिकांश युवाले नेपालमा भ्रष्टाचार सामान्य स्तरभन्दा व्यापक भएको धारणा व्यक्त गरेका छन् । उनीहरूले भ्रष्टाचारलाई व्यक्तिगत नैतिक कमजोरी नभई प्रणालीगत असफलताको परिणामका रूपमा बुझेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
भ्रष्टाचार नियन्त्रणका निकायमा राजनीतिक नियुक्ति हुने र ती पदाधिकारी राजनीतिक नेतृत्वप्रति बढी उत्तरदायी हुने धारणा युवामा रहेकोले भ्रष्टाचार नियन्त्रण प्रभावकारी हुन नसकेको बुझाइ युवामा रहेको प्रतिवेदनमा उल्लेख छ । डिजिटल स्वतन्त्रतालाई युवाले लोकतन्त्र र सुशासनको महत्वपूर्ण सूचकका रूपमा लिएका छन् । उनीहरूले डिजिटल अधिकारलाई नागरिकको नैसर्गिक अधिकार मान्ने गरेको अध्ययनले देखाएको छ । डिजिटल सेवामा केही सुधार देखिए पनि पहुँचको असमानता, प्राविधिक कमजोरी र व्यवस्थापकीय समस्या अझै कायम रहेको अध्ययनमा उल्लेख छ ।
स्थलगत सर्वेक्षणअनुसार आन्दोलनले आर्थिक स्थिरता र निजी क्षेत्रको लगानी वातावरणमा नकारात्मक प्रभाव पारेको छ । यसले लगानीकर्ताको मनोविज्ञान र उद्यमशीलताको आत्मविश्वास कमजोर बनाएको अध्ययनले देखाएको छ । अध्ययनका अनुसार आन्दोलनका क्रममा देशभर आगजनी, तोडफोड तथा लुटपाटका घटनाका कारण करिब रु ८४ अर्ब ४५ करोड ७७ लाख बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।
यद्यपि, अध्ययनले आन्दोलनका केही सकारात्मक प्रभाव पनि देखाएको छ । जसमा परम्परागत राजनीतिक नेतृत्वको दम्भमा कमी आउनु, राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रमा उत्तरदायित्वको भावना बढ्नु, युवापुस्तामा राजनीतिक चेतनाको वृद्धि हुनु तथा भ्रष्टाचारविरुद्ध संस्थागत दबाब सिर्जना हुनु समावेश छन् ।
अध्ययनले जेनजी आन्दोलनबाट प्राप्त सङ्केतलाई आधार मानेर विभिन्न नीतिगत सुधारका सुझाव दिएको छ । राजनीतिलाई पेसाभन्दा राष्ट्रनिर्माण र राष्ट्रसेवाका लागि गरिने पवित्र कार्यका रूपमा बुझ्नुपर्ने, राजनीतिक नियुक्ति पारिवारिक आधारमा नभई खुला प्रतिस्पर्धाबाट गर्नुपर्ने, शिक्षा प्रणालीलाई सीप र रोजगारीसँग जोड्नुपर्ने, सीमान्तकृत समुदायलाई विकासको मूल प्रवाहमा समावेश गर्नुपर्ने तथा आय असमानता घटाउनुपर्ने लगायत सुझाव समेटिएका छन् ।
त्यस्तै, आर्थिक नीतिहरू कम्तीमा पाँच वर्षका लागि स्थिर बनाउनुपर्ने, सेवा प्रवाहलाई पारदर्शी, छिटो र जनमैत्री बनाउनुपर्ने, व्यापार र व्यवसायसम्बन्धी सेवा एकद्वार प्रणालीबाट उपलब्ध गराउनुपर्ने, भ्रष्टाचार नियन्त्रणका संवैधानिक निकायमा प्रतिस्पर्धाका आधारमा सक्षम र इमानदार व्यक्ति नियुक्त गर्नुपर्ने सुझाव पनि दिइएको छ । डिजिटल क्षेत्रको नियमन नियन्त्रणमुखी नभई अधिकारमैत्री बनाउनुपर्ने, माध्यमिक शिक्षामा अनिवार्य व्यावसायिक विषय समावेश गर्नुपर्ने तथा लगानीकर्ताले रोजगारी सिर्जना गर्ने परियोजनामा लगानी बढाउनुपर्ने अध्ययनको सिफारिस छ ।
अध्ययनले नैतिक शिक्षा पुनः माध्यमिक तहमा अनिवार्य विषयका रूपमा समावेश गर्नुपर्ने सुझाव पनि दिएको छ । अध्ययनले आन्दोलनबाट भएको भौतिक क्षतिको पुनर्निर्माणलाई तत्कालीन प्राथमिकताका रूपमा अघि बढाउनुपर्ने उल्लेख गरेको छ । बैंकिङ क्षेत्रमा पर्याप्त तरलता रहेको, बजारमा कर्जाको माग कम रहेको तथा ब्याजदर ऐतिहासिक रूपमा कम भएकाले सरकारले बैंकिङ क्षेत्रबाट ऋण लिएर पुनर्निर्माण कार्यलाई तीव्रता दिन सक्ने अध्ययनले सुझाव दिएको छ । यस्तो लगानीले राष्ट्रिय आय र समग्र माग बढाएर अर्थतन्त्रलाई पुनः चलायमान बनाउन सहयोग पुग्ने पनि अध्ययनको निष्कर्ष छ ।
अध्ययनअनुसार आन्दोलनमा सहभागी युवामध्ये करिब ९८ प्रतिशतले माध्यमिक वा सोभन्दा माथिल्लो शिक्षा हासिल गरेका छन् । उमेरगत रूपमा १६ देखि २५ वर्ष समूहको सहभागिता सबैभन्दा धेरै रहेको पाइएको छ । पेसागत दृष्टिले विद्यार्थी, बेरोजगार र स्वरोजगार युवाहरूको उपस्थिति उल्लेखनीय देखिएको छ ।
-

मनकामना दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो
गोरखा, २ चैत .: गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको शव भारतीय दूतावासलाई हस्तान्तरण गरिएको छ । शव परीक्षण कार्य सकेर आज ती शव दूतावासका प्रतिनिधिलाई बुझाइएको हो । प्रदेश अस्पताल गोरखामा शव परीक्षण गरेपछि दूतावासबाट आएका प्रतिनिधिलाई हस्तान्तरण गरिएको प्रहरी निरीक्षक राजन लम्सालले जानकारी दिए । शव बुझेपछि भारतीय दूतावासको टोली काठमाडौँ फर्किएको छ ।
भारतको तमिलनाडू राज्यको चेन्नईबाट मनकामना दर्शन गर्न आएका भारतीय दर्शनार्थी शनिबार बेलुका पूजाआजा सकेर फर्कने क्रममा सहिद लखन गाउँपालिका–३ कानटार नजिकै दुर्घटनामा परेका थिए । बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस भिरबाट खस्दा ५८ वर्षीय मुतु कुमार, ५८ वर्षीय अनामलिक, ५९ वर्षीया मीनाक्षी, ५३ वर्षीया शिवगामी, ५७ वर्षीया विजायल, ५८ वर्षीया मीना र ६० वर्षीया तमिलारशीको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त दुर्घटनामा नौ भारतीय नागरिक घाइते भएका थिए । घाइतेहरु पुरानो मेडिकल कलेज चितवनमा उपचाररत छन् । पाँच जना गम्भीर घाइते रहेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो । उक्त माइक्रोबसमा ११ महिला र पाँच पुरुष सवार थिए । चालकको अवस्था सामान्य छ भने सहचालक घाइते भएका छन् । चौबीस भारतीय दर्शथार्नी दुई माइक्रोबस चढेर मुक्तिनाथको दर्शन गर्न गएका थिए । उनीहरु मुक्तिनाथ हुँदै मनकामनाको दर्शन गरी फर्किने क्रममा दुर्घटनामा परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
-

चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
काठमाडौँ, २ चैतः उज्यालो नेपाल पार्टीले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको समीक्षा गर्दै आगामी राजनीतिक कार्यदिशा निर्धारण गरेको छ ।
पार्टी अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा केन्द्रीय समिति सदस्य, प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार, प्रदेश संयोजक, जिल्ला संयोजक तथा विभिन्न तहका जिम्मेवार नेता तथा कार्यकर्ताको सहभागिता भएको समीक्षामा अनेक चुनौतीका बीच पार्टीलाई प्राप्त सम्मानजनक मतप्रति सन्तुष्टि व्यक्त गरेको छ ।पार्टी प्रवक्ता डा राजु थापाका अनुसार यसलाई भविष्यको मजबुत राजनीतिक आधारशिलाको रूपमा लिँदै सङ्गठनात्मक रूपमा सुदृढ तथा जनतासँग प्रत्यक्ष जोडिएको राष्ट्रिय मूलधारको शक्तिको रूपमा विकास गर्ने साझा निष्कर्ष निकालिएको छ ।
-

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी
काठमाडौँ, २ चैतः गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा सर्वसम्मतिको प्रयास भइरहेको छ । सङ्घका अध्यक्ष बद्री केसीले नयाँ नेतृत्व सर्वसम्मतिमै टुङ्ग्याउने गरी छलफल भइरहेको जानकारी दिए । “निर्वाचन नहुने र सर्वसम्मतिबाटै नेतृत्व चयन गर्ने प्रयास भइरहेको छ । अध्यक्षलगायत सबै पदमा सहमतिका लागि छलफल जारी छ”, उनले भने ।
एनआरएनएले यसअघि भौतिक र अनलाइन दुवै माध्यम प्रयोग गरी निर्वाचन गराउने तयारी गरेको थियो । निर्वाचन भएमा चार हजार २८६ प्रतिनिधिले भौतिक तथा अनलाइन माध्यमबाट मतदान गर्ने व्यवस्था मिलाइएको सङ्घले जनाएको थियो । यसैबीच, अमेरिका क्षेत्रीय संयोजक बेद बस्नेतले करिब चार सय प्रतिनिधि मात्रै भौतिक रूपमा उपस्थित रहेको जानकारी दिनुभयो ।
मध्यपूर्व क्षेत्रमा जारी युद्धका कारण धेरै प्रतिनिधि भौतिक रूपमा सहभागी हुन नसकेको उनले बताए । मध्यपूर्वमा भइरहेको युद्धको प्रभावले धेरै प्रतिनिधि भौतिक रूपमा उपस्थित हुन पाउनुभएन । एकताको महाधिवेशन भएकाले अनलाइनमार्फत भए पनि सबै उत्साहपूर्वक सहभागी भइरहेका छौँ”, बस्नेतले भने ।
-

जेन जी आन्दोलनमा क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ
काठमाडौँ, १ चैतः जेनजी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो लुटपाट तथा आगजनीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । गत भदौ २४ गते बौद्धस्थित रहेको हयात होटल तोडफोड गरी उक्त होटलभित्र रहेको प्राइड क्यासिनो लुटपाट र आगजनी गर्ने दुई जनालाई पक्राउ गरी जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले आज सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक, रोशी गाउँपालिका–४ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने ३७ वर्षीय कुलध्वज लामा र काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–८ घर भई काठमाडौँ महानगरपालिका–६ बौद्ध बस्ने राकेश लामा रहेका छन् ।
परिसरका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ कुलध्वज लामाविरुद्ध यसअघि सार्वजनिक अपराध र ज्यान मार्ने उद्योगमा पाँचवटा मुद्दा दर्ता भएको र राकेश लामाविरुद्ध सार्वजनिक अपराध, अपहरण तथा शरीर बन्धक र अभद्र व्यवहारमा सातवटा मुद्दा दर्ता भएको अनुसन्धानमा खुलेको जानकारी दिनुभयो । पक्राउ परेका दुबैजनामाथि प्रहरी वृत्त बौद्धको टोलीले थप अनुसन्धान गरिरहेको प्रवक्ता भट्टराईले बताए ।
-

भारतीय तीर्थयात्रीको मृत्यु भएको दुर्घटनाबारे छानबिन गर्न समिति गठन
गोरखा, १ चैतः सात भारतीय तीर्थयात्रीको ज्यान जाने गरी गोरखामा भएको सवारी दुर्घटनाको छानबिन गर्न समिति गठन गरिएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयले प्रदेश ट्राफिक प्रमुख प्रहरी उपरीक्षक दानबहादुर थापाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भरत विकले जानकारी दिनुभयो ।
समितिले १४ भारतीय तीर्थयात्री बोकेको बाग्मती प्रदेश १–००६ख८४३० नम्बरको माइक्रो बस दुर्घटना भएको विषयमा स्थलगत अध्ययन गरी प्रतिवेदन तयार गर्नेछ । सो माइक्रोबस मनकामना–आँबुखैरेनी सडक खण्डअन्तर्गत सहिद लखन गाउँपालिका–३ कान्टार नजिक भिरबाट खसेर दुर्घटना भएको थियो ।
सो दुर्घटनामा मनकामनाको पूजाआजा गरी फर्केका तमिलनाडु राज्य, चेन्नईका सात जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतकहरुको प्रदेश अस्पताल गोरखामा शवपरीक्षण गरी शव भारतीय दूतावासलाई जिम्मा लगाइएको प्रहरीले जनाएको छ । अन्य सात गम्भीर घाइतेको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ ।
-

महामन्त्री पौडेलद्वारा कांग्रेस सुधारका लागि सुझाव माग
काठमाडौँ, १ चैतः नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सुधारका लागि कार्यकर्ता र शुभेच्छुकसँग सुझाव माग गरेका छन् । उनले आज सामाजिक सञ्जालमार्फत नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन् । “भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आइसकेको छ ।
पुसमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई समेत आत्मसात् गर्दै पार्टीको नियमित महाधिवेशनको छिट्टै आयोजना गर्नुपर्नेछ, यिनै पृष्ठभूमिमा पार्टीलाइ आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ,” महामन्त्री पौडेलले भनेका छन् ।
अहिलको परिस्थितिमा नेपाली कांग्रेसमा गर्नुपर्ने नीतिगत, संरचनागत तथा व्यावहारिक सुधारका विषयहरु के हुन सक्छन् सुझाव दिन पार्टी कार्यकर्ता र शुभेच्छुकसँग उनले अनुरोध गरेका छन् । महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले आत्मसात् गर्ने प्रतिबद्धता जनाएका छन् । कांग्रेसले चाँडै नै आम निर्वाचनका सन्दर्भमा समीक्षा गर्दै भावी रणनीति तय गर्दैछ । उनले पार्टीको आधिकारिक इमेल तथा सम्पर्कका माध्यमबाट सुझाव दिन सकिने बताए ।
-

पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि
१ चैत, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य भारी वृद्धि गरेको छ । नेपाल आयल निगमका अनुसार पेट्रोलमा १५ र डिजेल मट्टितेलमा १० रुपैयाँका दरले मूल्य वृद्धि गरिएको हो । वृद्धि भएको मूल्य आजै राति १२ बजेबाट लागू हुने निगमले जनाएको छ । निगमका अनुसार, अब तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य १७२ रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको मूल्य १५२ रुपैयाँ पुगेको छ ।
दोस्रो वर्ग अन्तर्गत पर्ने दाङ र सुर्खेतमा पेट्रोलको मूल्य १७१, डिजेल र मट्टितेलको मूल्य १५१ पुगेको छ । त्यस्तै, पहिलो वर्ग अन्तर्गत पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारि, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने पेट्रोलको मूल्य १६९ रुपैयाँ ५० पैसा र डिजेल–मट्टितेलको मूल्य १४९ रुपैयाँ ५० पैसा कायम भएको छ ।
निगमतले अमेरिका–इजरायल–इरान तनावबीच देखिएको अन्तर्राष्ट्रिय परिस्थितिका कारण मूल्य वृद्धि गर्नुपरेको जनाएको छ । ‘यस विषम परिस्थितिबीच नेपाल आयल निगम लिमिटेडले बाध्यतावश पेट्रोलियम पदार्थको मूल्य अपेक्षाभन्दा बढाउनुपरेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘यसबाट आम उपभोक्ता लगायत सरोकारवालामा पर्ने असरप्रति निगम सचेत र संवदेनशील छ ।’ युद्धका कारण भारत आउने पेट्रोलियम पदार्थको आपूर्ति श्रृङ्खलामा नै असर गरेको छ ।
-

घूस लिएको आरोपमा राजस्व अनुसन्धान विभागका पूर्वमहानिर्देशकविरुद्ध मुद्दा दायर
काठमाडौँ, १ चैतः अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध घूस लिई सम्पत्ति शुद्धिकरण गरेको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरेको छ । आयोगले आज जारी गरेको प्रेस विज्ञप्तिअनुसार विभागमा राजस्व चुहावटसम्बन्धी छानबिनमा संलग्न रहँदा अधिकारीले एक व्यवसायीबाट ठूलो रकम घूस लिएको र उक्त रकम विभिन्न माध्यम प्रयोग गरी शुद्धिकरण गरेको निष्कर्षसहित मुद्दा दायर गरिएको हो ।
अधिकारीले राजस्व अनुसन्धान विभागमा दर्ता रहेको राजस्व चुहावटसम्बन्धी छानबिन तथा अन्य सम्भावित कसुरबाट बचाउन सहजीकरण गरिदिने नाममा एच के इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट घूस लिएको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ । अधिकारीले रु ७० लाख घूस÷रिसवत लिएको आयोगको ठहर छ ।
अनुसन्धानका क्रममा अधिकारीले प्राप्त घूस रकम प्रत्यक्ष रूपमा प्रयोग नगरी विभिन्न व्यक्तिसँगको मिलेमतोमा बैङ्क खातामार्फत घुमाएर प्रयोग गरेको पाइएको आयोगले जनाएको छ । निजले विकास चापागार्इं, देवेन्द्र केसी र रवीन्द्र लामिछानेलगायतसँगको सल्लाह तथा मिलेमतोमा रकम विभिन्न बैङ्क खातामा जम्मा गराई त्यसलाई तहीकरण गर्दै घूसको स्वरूप परिवर्तन गर्ने प्रयास गरेका आयोगले उल्लेख गरेको छ ।
उक्त रकम ग्लोबल आइएमई बैङ्क, लुम्बिनी विकास बैङ्क र लक्ष्मी सनराइज बैङ्कलगायतका बैङ्क तथा वित्तीय संस्थामा रहेको खातामार्फत जम्मा गराई चरणबद्ध रूपमा कारोबार गरिएको जनाइएको छ । यसरी विभिन्न खातामार्फत रकम घुमाएर स्रोत लुकाउने तथा घूस रकमलाई वैध देखाउने प्रयास गरिएको आयोगको दाबी छ ।
अनुसन्धानबाट उक्त रकमको केही भाग मध्यपुर थिमी नगरपालिकास्थित दिव्यश्वरी आयोजना क्षेत्रभित्र रहेको जग्गा खरिदमा प्रयोग गरिएको पनि खुलेको छ । भक्तपुर जिल्लाको साबिक वडा नं १७ ९हाल वडा नं २० मा पर्ने कित्ता नं ९९८ को करिब १६४ वर्गमिटर क्षेत्रफल भएको जग्गा खरिदका लागि उक्त रकम प्रयोग गरिएको तथ्य पुष्टि भएको आयोगले जनाएको छ ।
यस्तै, अनुसन्धानका क्रममा घूस रकमको केही अंश देवेन्द्र केसीसमेत सञ्चालक रहेको पर्यटन व्यवसायसँग सम्बन्धित संस्थाको कर्जा भुक्तानीमा समेत प्रयोग भएको पाइएको छ । आयोगका अनुसार ‘द कुटी रिसोर्ट’ नामक परियोजनासँग सम्बन्धित कर्जा तिर्न घूसबाट प्राप्त रकम प्रयोग गरिएको प्रमाण भेटिएको हो ।
आयोगले यो प्रकरणमा संलग्न व्यक्तिहरूबीच आपसी सल्लाह र मिलेमतोमा घूस रकमलाई विभिन्न बैङ्क खातामा जम्मा गरी त्यसलाई क्रमशः अन्य आर्थिक कारोबारमार्फत वैध देखाउने प्रयास गरिएको निष्कर्ष निकालेको छ । यस्तो कार्यले भ्रष्टाचारसँगै सम्पत्ति शुद्धिकरणसम्बन्धी कसुरसमेत आकर्षित हुने देखिएको आयोगले जनाएको छ ।
-

कांग्रेसद्वारा समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम सिफारिस
पाटन (ललितपुर), १ चैतः नेपाली कांग्रेसले समानुपातिकतर्फ १५ महिलासहित २० जनाको नाम निर्वाचन आयोगमा सिफारिस गरेको छ । पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले निर्वाचन आयोगको बन्दसूचीमा समावेश भएका नाममध्येबाट आदिवासी जनजाति र खसआर्यतर्फ छ–छ, थारुमा एक, दलित र मधेसीमा तीन–तीन र मुस्लिममा एक जनाको नाम आयोगमा पठाउने निर्णय भएको पार्टी प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
“हाम्रो पार्टीले प्राप्त गरेको २० सिटका आधारमा नाम टुङ्ग्याएका छौँ, राष्ट्रियसभा र प्रतिनिधिसभामा गरी हाम्रो सिट ६२ रहेको छ, जसअनुसार २१ जना महिला अनिवार्य छ । यस आधारमा हाल १५ जना महिलासहित नामावली पठाएका छौँ । क्लस्टरमा तलमाथि परेमा आयोगले भनेअनुसार गर्नेछौँ,” उनले भने ।
पार्टी सभापति गगनकुमार थापाको सभापतित्वमा भएको बैठकमा उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेसहितको सहभागिता रहेको थियो । बेठकमा सहमहामन्त्रीहरू बहादुरसिंह लामा, कर्णबहादुर बुढा, योगेन्द्र चौधरी, उदयशम्शेर राणा र प्रकाश रसाइली स्नेही र सदस्यहरु ओमकारप्रसाद श्रेष्ठ, अमृत अर्याल, डा गोपाल दहित, राजेन्द्रकुमार केसी र प्रवक्ता चालिसेले आआफ्नो धारणा राखेका थिए । -

राष्ट्रियसभा सदस्यका लागि गृहमन्त्री अर्यालको नाम सिफारिस
काठमाडौँ, १ चैतः नेपाल सरकारले राष्ट्रियसभाको रिक्त सदस्यमा गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले गुल्मीका अर्याललाई राष्ट्रियसभाको रिक्त सदस्य पदमा मनोनीत गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । राष्ट्रियसभामा हाल रिक्त एक विज्ञ सदस्यमा उहाँको नाम सिफारिस भएको हो ।
स्थायी सदनका रुपमा रहेको ५९ सदस्यीय राष्ट्रिय सभामा तीन जनालाई मन्त्रिपरिषद्को सिफारिसअनुसार राष्ट्रपतिबाट मनोनीत गर्ने संवैधानिक प्रावधान छ । सङ्घीय संसद्मा माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा सदस्यको कार्यकाल ६ वर्षको रहने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको एक तिहाइ सदस्यको गत माघ ११ गते निर्वाचन भएको थियो ।
-

राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा श्रेष्ठ
काठमाडौँ, १ चैतः राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत भएका छन् । उनी प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा रहेर काम गरिरहेका थिए । प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीले श्रेष्ठलाई आगामी पाँच वर्षका लागि उक्त पदमा मनोनयन गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए । यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले पदबाट राजीनामा दिएपछि रिक्त रहेको पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनित गरिएको हो ।
राष्ट्रिय प्रकृति संरक्षण कोष ऐन, २०३९ मा कोषको संरक्षक प्रधानमन्त्री रहने र संरक्षकले अध्यक्ष मनोनयन गर्ने व्यवस्था रहेको छ । सिन्धुलीका श्रेष्ठले समाजशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका छन् । उनी कानुन व्यवसायी हुन् ।
-

प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
काठमाडौँ, १ चैतः नेपाली कांग्रेसका सभापति गगन थापासहितका पदाधिकारीको टोलीले आज प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेको छ । सभापति थापा, पार्टी उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाललगायत सहभागी टोलीले आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्कीसँग भेट गरेको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालसहितको उक्त भेटमा प्रधानमन्त्री कार्कीले विभिन्न भूमिकामा रहेर निर्वाचन सफल बनाउन कांग्रेसले निर्वाह गरेको सहयोगी भूमिकाप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलका अनुसार प्रधानमन्त्री कार्कीले निर्वाचनमा पराजित हुँदैमा विचलित नहुन कांग्रेस नेताहरूलाई आग्रह गरेकी थिइन् ।
-

नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध
काठमाडौँ, १ चैतः कुवेतस्थित नेपाली दूतावासले नेपाल फर्किन चाहने कुवेतमा रहेका नेपालीलाई साउदी अरब हुँदै फर्किन अनुरोध गरेको छ । दूतावासले आज विज्ञप्तिमार्फत अनुरोध गर्दै मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने कुवेतमा बसोबास गर्ने नेपालीलाई ‘अनलाइन’ मार्फत साउदी भिसाका लागि आवेदन दिन सकिने जनाएको हो।
दूतावासले भनेको छ, “मध्यपूर्वमा विकसित विद्यमान परिस्थितिलाई दृष्टिगत गर्दै साउदी अरेबियाको विमानस्थल हुँदै नेपाल जान चाहने नेपाली नागरिकले अनलाइनमार्फत साउदी भिसाका लागि आवेदन दिन सकिन्छ । भिसा प्राप्त भएपश्चात् सडकमार्गबाट साउदी प्रवेश गरी साउदीको विमानस्थल हुँदै नेपाल जान सकिने भएकाले भिसाका लागि अनलाइनमार्फत आवेदन दिनुहुन अनुरोध छ ।”
-

साहको रिटमा अन्तरिम आदेश दिन अस्वीकार, मातृका बने सांसद
काठमाडौँ, १ चैत । सर्वोच्च अदालतले धनुषा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले आज आयोगको उम्मेदवार खारेज गर्ने निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । साहले आयोगको उम्मेदवारी खारेज गर्ने निर्णयविरुद्ध उम्मेदवारी कायम गर्न माग गर्दै रिट निवेदन दायर गरेका थिए । अदालतको आदेशसँगै अब निर्वाचन आयोगको निर्णय सदर भएको छ। यससँगै मातृका यादव सांसद बनेका छन् ।
-

लामिछानेको रिटमा सोमबार सुनुवाइ हुने
काठमाडौँ, १ चैतः सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा राखेर सोमबार सुनुवाइ गर्ने भएको छ ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज हेर्दाहेर्दैमा राखेर सोमबार सुनुवाइ हुने भएको हो । यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न आजका लागि पेस गर्न आदेश दिएको थियो ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
-

आकर्षक पर्यटकीय गन्तव्य बन्दै ‘मलुवा पोखरी’
रासस
भोजपुर, १ चैतः टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले घोषणा गरेको घुम्नैपर्ने एक सय पर्यटकीय गन्तव्यभित्र परेको मुन्दुम पदमार्गको यात्राका क्रममा भेटिने यो पोखरी प्राकृतिक सौन्दर्यका कारण पर्यटकमाझ लोकप्रिय बन्दै गएको हो ।समुद्री सतहबाट करिब दुई हजार ५०० मिटर उचाइमा रहेको यो पोखरी घाँसेमैदानको बीचमा अवस्थित छ । वरिपरि फैलिएको हरियाली, शान्त वातावरण र प्राकृतिक सौन्दर्यले यहाँ पुग्ने पर्यटकलाई लोभ्याउने गरेको छ । बाह्रै महिना पानीले भरिएको रहने यस पोखरीको मनमोहक दृश्यले पदयात्रामा निस्कने पर्यटकलाई विशेष आनन्द दिने गर्छ ।
मुन्दुम पदमार्गमा पदयात्रा गर्ने आन्तरिक तथा बाह्य पर्यटकका लागि मलुवा पोखरी विश्रामस्थलका रूपमा पनि परिचित बन्दै गएको छ । पदमार्गको यात्रामा निस्केका पर्यटक यहाँ पुगेर केही समय विश्राम गर्ने, फोटो खिच्ने र प्राकृतिक दृश्यावलोकन गर्ने गर्दछन् । पर्यटकको आकर्षण बढाउन पोखरीमा माछाका भुरासमेत हालिएको छ । पोखरी वरिपरि फैलिएको घाँसेमैदान र सुन्दर वातावरणले यस क्षेत्रलाई अझ आकर्षक बनाएको छ । वसन्तयाममा वरिपरि फुल्ने गुराँस तथा अन्य वनस्पतिले यस क्षेत्रको सौन्दर्यलाई थप मनमोहक बनाउने गरेको स्थानीयवासी बताउँछन् ।
पर्यटन प्रवर्द्धनलाई ध्यानमा राख्दै गाउँपालिकाले पोखरी क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा ध्यान दिएको टेम्केमैयुङ गाउँपालिकाका अध्यक्ष सरोज बस्नेतले जानकारी दिए । उनका अनुसार मुन्दुम पदमार्ग हुँदै आउने पर्यटकको सङ्ख्या बढेसँगै यस क्षेत्रको महत्व पनि बढ्दै गएको छ । स्थानीय तहले पदमार्गको प्रचारप्रसारसँगै मलुवा पोखरी क्षेत्रलाई थप व्यवस्थित बनाउने योजना रहेको गाउँपालिकाले जनाएको छ । प्राकृतिक सुन्दरता, शान्त वातावरण र मुन्दुम पदमार्गसँगको सम्बन्धका कारण मलुवा पोखरी पछिल्लो समय जिल्लाको महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ ।
-

घुमाउनेमा पुल नबन्दा सास्ती
दमौली (तनहुँ), १ चैतः प्रतिनिधिसभा सदस्य निर्वाचन अगाडि तनहुँको आँबुखैरेनीको सराङघाट, घुमाउने, बन्दीपुरको खहरेलगायत आसपासका स्थानीयले ‘नो भोट’ को चेतावनी दिए । तनहुँ र चितवन जोड्ने घुमाउनेमा १२ वर्षदेखि पुल अलपत्र हुँदा यस ठाउँका स्थानीयवासीले मत नै नहाल्ने चेतावनी दिएका थिए । घुमाउनेमा पुल नबन्दा यस भेगका जनताले सास्ती खेपिरहेको र पटकपटक मन्त्री, सांसद, सडक डिभिजनमा ध्यानाकर्षण र सरोकारवाला निकाय घेराउसमेत गरेका थिए ।
सोहीबमोजिम हजारौँ जनता मतदानमै सहभागी नहुने चेतावनीपछि तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवारले पुल निर्माणस्थलमै पुगेर जसरी पनि पुल बनाइछाड्ने प्रतिबद्धता व्यक्त गरे । सबै उम्मेदवारले पुल निर्माणलाई प्राथमिकता दिने हस्ताक्षरसहितको प्रतिबद्धता व्यक्त गरेपछि स्थानीय मतदानमा सहभागी भए । निर्वाचनको परिणाम सार्वजनिक भइसकेको छ भने यस क्षेत्रबाट रास्वपा उपसभापति डा स्वर्णिम वाग्ले विजयी भए । अब बन्ने सरकारले घुमाउनेमा पुल निर्माणलाई सुरु गर्नेमा यहाँका स्थानीयवासी आशावादी छन् । चाँडै पुल निर्माणले गति लिनेमा आफूहरू आशावादी रहेको पुल निर्माण सङ्घर्ष समितिका संयोजक सिद्धान्त थापामगरले बताए ।
उनले भने, “नयाँ सरकार गठन हुँदैछ । अब यो बेला पनि पुल बनेन भने अरु बेला बन्न सक्दैन । हामी पुल निर्माण हुनेमा आशावादी छौँ ।” घुमाउने पुल निर्माणका लागि सम्झौता भएको १२ वर्ष बितिसक्यो । सम्झौताअनुसार काम भएको भए यतिबेला पक्की पुल बनिसक्थ्यो । घुमाउनेमा पुल निर्माण थालिए पनि अहिलेसम्म दुईतिरको भागमा पिलरमात्र ठडिएको छ । मृत सञ्जीवनी निर्माण कम्पनी हेटौँडासँग पहिलोपटक २०७० असारमा उक्त पुल निर्माणका लागि सम्झौता भएको थियो ।बारम्बारको म्याद थप र डिजाइन परिवर्तनपछि २०७५ माघमा निर्माणका लागि पुनः सम्झौता गरेकामा २०७८ चैतमा पुल निर्माण सकिनुपर्नेमा अहिलेसम्म जम्मा करिब ३६ प्रतिशतमात्र काम भएको सडक डिभिजन कार्यालयले जनाएको छ । उक्त पुल निर्माणका लागि २०८३ असार मसान्तसम्मका लागि म्याद थप गरिएको छ ।
गण्डकी प्रदेशको राजधानी पोखरा र चितवनबीचको कम दूरीमा सजिलै आवतजावत गर्न सकिने तनहुँ जिल्ला सदरमुकाम दमौलीस्थित व्यास नगरपालिका–१ निर्मलनगरबाट सुरु हुने बुद्धसिं मोटरमार्ग सेती र मादी नदीको किनारा हुँदै क्रमशः व्यास–१३ र १४, बन्दिपुर–६, आँबुखैरेनी–५ हुँदै जाने र उक्त सडकलाई मुग्लिन–नारायणगढ सडकमा जोड्ने घुमाउने घाटमा पुल निर्माण थालिएको थियो । तनहुँको कछार मानिने देवघाट गाउँपालिकाअन्तर्गत वडा नं २, ३ र ४ का जनतासमेत लाभान्वित हुने यस सडक पृथ्वी राजमार्गको मुग्लिन सडक खण्डभन्दा करिब २३ किमी कम दूरी पर्दछ ।
गण्डकी प्रदेशलाई चितवनको नारायणगढसम्म जोड्ने सबैभन्दा छोटो दूरीको बुद्धसिंमार्गको घुमाउनेको उक्त मोटरेबल पुलको निर्माण सम्पन्नपश्चात पोखरा र दमौलीलाई नारायणगढ आवतजावत गर्न हाल सञ्चालन भइरहेको मुग्लिङ नारायणगढ सडकभन्दा २३ किलोमिटर छोटो पर्छ । घुमाउनेमा मोटरेबल पुल नहुँदा यातायातका साधन तनहुँकै सिमानामा पुगेर फर्कन बाध्य छन् । मोटरसाइकल भने डोहोर्याएर मुग्लिङ नारायणगढ सडकखण्डसम्म ल्याउन सकिन्छ । उक्त पुल १०५ मिटर लम्बाइ र फुटपाथसहित ११ मिटर चौडाइ रहने छ । सम्झौता भएको बेला पुलको लागत रु नौ करोड ५६ लाख थियो ।
-

रुस भन्छ : इरानलाई आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार छ
मस्को, १ चैत,(रासस–एएफपी) । इरानसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने अधिकार रहेको संयुक्त राष्ट्रसङ्घका लागि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्जियाले बताएका छन् । नेबेन्जियाले शुक्रबार सञ्चारकर्मीसँग भने, “इरान एक स्वतन्त्र राष्ट्र भएको नाताले उसँग आफ्नो सुरक्षा सुनिश्चित गर्ने र नागरिक तथा नागरिक पूर्वाधारमाथिको आक्रमणलाई स्वीकार नगर्ने अधिकार छ ।”
बुधबार संयुक्त राष्ट्र सुरक्षा परिषदमा पारित हुन असफल भएको मध्यपूर्वमा जारी सैन्य द्वन्द्वलाई सम्बोधन गर्ने रुस प्रायोजित प्रस्तावको उल्लेख गर्दै रुसी कूटनीतिज्ञले समाचार संस्था आरटीसँग भने, “अहिले मध्यपूर्वको स्थिति वास्तवमै भयावह छ र हामी कूटनीतिक समाधानका लागि आह्वान गर्दछौँ । हाम्रो प्रस्तावको पक्षमा मतदान नगरेर उनीहरूले लिएको अडान उनीहरूको इरान, इरानी नागरिक भूगोलको लागि अन्तरराष्ट्रिय कानुनद्वारा प्रदत्त अधिकार र जिम्मेवारी हो।”
सैन्य कारबाही तत्काल रोक्न सबै पक्षलाई आग्रह गर्ने मस्यौदा प्रस्तावलाई पक्षमा चार, विपक्षमा दुई र नौ अनुपस्थित मतले अस्वीकृत भएको थियो । रुस, चीन, पाकिस्तान र सोमालियाले पक्षमा मतदान गरेका थिए भने अमेरिका र लाटभियाले विपक्षमा मतदान गरेका थिए । इरानविरुद्ध अमेरिका–इजरायलले गरेको व्यापक हवाई आक्रमण र गोलाबारी असफल भएको नेबेन्ज्याले बताए । उनले भने, “हामीलाई थाहा छैन के हुन्छ । आक्रमण असफल भएको छ । उनीहरूले इरानी शासनलाई पतन गराउने उद्देश्यले गरेको आक्रमणमा अमेरिकीहरूको अनुमान अनुरुप इरानी जनताले विद्यमान् इरानी सत्ताविरूद्ध विद्रोह गरेनन् ।
-

इजरायली आक्रमणमा मार्च २ पछि २६ जना स्वास्थ्यकर्मीको मृत्यु भएको लेबनानद्वारा पुष्टि
बेरुत, १ चैत, (रासस–एएफपी) । इजरायल र हेजबुल्लाहबीच द्वन्द्व सुरु भएयता इजरायली आक्रमणमा २६ जना प्यारामेडिक्स (स्वास्थ्यकर्मी)को मृत्यु हुनुको साथै अन्य ५१ जना घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ। लेबनानी अधिकारीहरूले दक्षिणी शहर बुर्ज कलवियाको एक स्वास्थ्य केन्द्रमा काम गर्ने १२ जना चिकित्सक र नर्सहरूको मृत्यु भएको बताएका छन्।
सावानेह शहरमा भएको अर्को आक्रमणपछि हेजबुल्लाहसँग सम्बन्धित दुई स्वास्थ्यकर्मी र एक सहयोगीको मृत्यु भएको थियो। इजरायली सेनाले शनिबार हेजबुल्लाहले सैन्य गतिविधिका लागि एम्बुलेन्स प्रयोग गरेको आरोप लगाएपछि लेबनानी मन्त्रालयले इजरायलले बारम्बार ‘एम्बुलेन्स कर्मचारीहरूलाई निशाना बनाएको’ आरोप लगाएको हो ।
-

इरानमा आक्रमण गर्न खटिएका छन् अमेरिकाका ५० हजार सैनिक
वासिङटन, १ चैत, (रासस–सिन्ह्वा) । पेन्टागनका एक वरिष्ठ अधिकारीले शुक्रबार बताए अनुसार, इरानमाथि सैन्य हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्न छन् । पेन्टागनका प्रेस सचिव किंग्स्ली विल्सनले भने, “यी बलहरूले हवाई र समुद्री क्षेत्रमा नियन्त्रण स्थापना गरेका छन् र हजारौं चिन्हित इरानी लक्ष्यमा आक्रमण गरेका छन्, जसले सञ्चालनात्मक प्रभुत्व देखाउँछ ।” अमेरिकी सेन्ट्रल कमाण्डले बिहीबार लगभग ६ हजार लक्ष्यमा हमला गरिएको, ६० भन्दा बढी जहाज र ३० मिनेलयर नष्ट भएको जानकारी दिएको छ ।
यस अपरेशनमा प्रयोग हुने हतियारहरूमा लडाकू जहाज, ड्रोन, मिसाइल रक्षा प्रणाली, युद्धपोत, ड्रोनविरुद्धका उपकरण, इन्धन आपूर्ति गर्ने विमान र कार्गो विमानहरू समावेश छन् । पेन्टागनले अर्को विवरण अनुसार, ट्रिपोली नामक एक उभयचर हमला जहाज र लगभग दुई हजार ५०० मरीनलाई मध्यपूर्वमा तैनाथ गरिरहेको छ ।
सेन्ट्रल कमाण्डले शुक्रबार पश्चिम इराकमा बिहीबार दुर्घटनाग्रस्त भएको अमेरिकी इन्धन आपूर्ति विमानमा रहेका सबै ६ चालक दलका सदस्यको मृत्यु भएको पुष्टि गरेको छ । यसले संयुक्त अमेरिकी–इजरायली इरानमाथि फेब्रुअरी २८ देखि सुरु गरेका आक्रमणमा मृत्यु हुने अमेरिकी सैनिकको संख्या कम्तीमा १३ पुगेको जनाएको छ । इरानका संयुक्त राष्ट्रस्थित स्थायी प्रतिनिधि अमीर सईद इरावानीका अनुसार, हमलामा एक हजार ३०० भन्दा बढी नागरिकको मृत्यु भएको र ९ हजार ६६९ नागरिक स्थल नष्ट भएका छन् । -

अपर ठूलोखोला जलविद्युत आयोजनाद्वारा उत्पादित विद्युत केन्द्रीय ‘लाइन’मा जोडियो
सुगुरथला (म्याग्दी), १ चैत स् बाइस दशमलव पाँच मेगावाट क्षमताको ‘अपर ठूलोखोला’ जलविद्युत् आयोजनाबाट उत्पादन भएको विद्युत् केन्द्रीय लाइनमा जोडिएको छ । रघुगङ्गा गाउँपालिका–७ मा ठूलोखोला हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाको भौतिक संरचना निर्माण, उपकरण जडान र आन्तरिक परीक्षण सकेर केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो ।
आयोजनाका प्रमुख शिवसागर यादवले गत फागुन २९ गते साँझ ६ः०० बजेदेखि परीक्षणका लागि केन्द्रीय लाइनमा पठाउन थालिएको जानकारी दिए । “नेपाल विद्युत् प्राधिकरणको प्राविधिक टोलीको उपस्थितिमा पाँच दिनसम्म गरिएको परीक्षण सफल भएपछि केन्द्रीय लाइनमा विद्युत् जोडिएको हो”, उनले भने, “परीक्षण सफल भएपछि १५ दिनपछि व्यावसायिक उत्पादन सुरु हुन्छ ।”
हालको सुक्खायाममा १३।८६ मेगावाट विद्युत् उत्पादन भएको आयोजना प्रमुख यादवले बताए । बाँध, विद्युत्गृह, पाइप लाइन, प्रसारण लाइन र विद्युत्गृहका उपकरण जडानका साथै आन्तरिक परीक्षण सकेर परीक्षण उत्पादन थालिएको हो । विसं २०८० मा उक्त आयोजना निर्माण सुरु भएको थियो । आयोजना निर्माणस्थल भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित छ ।
सुगुरथलामा बाँध, डिसेन्डर (पानी थिग्राउने पोखरी), दुई हजार ९०० मिटर मुख्य पाइप लाइन र ३०० मिटर सर्च साफ्ट पाइप लाइन जडान, फेदीमा विद्युत्गृह निर्माण भएको छ । दुईवटा युनिट ९टर्वाइन० रहेको विद्युत्गृह परिसरमा स्वीचयार्ड निर्माण भएको इन्जिनियर सञ्जीव न्यौपानेले बताए ।
यो आयोजना रन अफ द रिभर प्रकृतिको हो । फेदीदेखि बन्दीसम्म १४ वटा टावर बनाएर छ किलोमिटर लामो १३२ केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ । बन्दीदेखि ठूलोखोला र चिमखोलादेखि चिमखोला–मङ्गले–राहुघाट जलविद्युत् आयोजनासँग सहकार्य गरेर तिल्केनीचौर हँुदै २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमार्फत आयोजनाको विद्युत् केन्द्रीय प्रणालीमा आबद्ध गराइएको छ । फेदीदेखि तिल्केनीचौरसम्म प्रसारण लाइनको दूरी २३.५ किलोमिटर छ ।रु पाँच अर्ब १४ करोड लागत अनुमान गरिएको आयोजनामा सिटिजन्स, माछापुच्छ्रे र कृषि विकास बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । प्रवर्द्धकको १० प्रतिशत लगानी रहने आयोजनाको २० प्रतिशत लगानी सेयर जारी गरेर सर्वसाधारणमार्फत जुटाइनेछ । बेनीदेखि आयोजना निर्माणस्थल जोड्ने सडक गत वैशाख–जेठमा स्तरोन्नतिका कारण र बर्खामा मलाङको पहिरोका कारण अवरुद्ध हुँदा विद्युत्गृह, प्रसारण लाइन र स्वीचयार्डका उपकरण ढुवानीमा समस्या भएको थियो ।
राहुघाट र सहायक नदीहरूमा यसअघि तीनवटा जलविद्युत् आयोजना निर्माण भइसकेका छन् । तुँदी पावरले प्रवर्द्धन गरेको ३५.५ मेगावाट क्षमताको चिमखोला–राहुघाट–मङ्गले र त्यसको क्यासकेडका रूपमा ४८.५ मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् ।
राहुघाटको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा लिमिटेडले निर्माण गरेको २१.३ मेगावाट क्षमताको ठूलोखोला जलविद्युत् आयोजनाले गत भदौदेखि व्यावसायिक उत्पादन थालेको थियो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा पुगेको छ । -

डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
काठमाडौँ, १ चैत । ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ नाराका साथ आजदेखि ‘वन डढेलो व्यवस्थापन सप्ताह’ सुरु भएको छ । वन तथा वातावरण मन्त्रालयले वन डढेलो व्यवस्थापन रणनीति, २०६७ अनुसार प्रत्येक वर्ष चैत १ देखि ७ गतेसम्म ‘वन डढेलो व्यवस्थापन सप्ताह’ मनाइँदै आएको छ । वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न कार्यक्रम गरी सप्ताह मनाउन लागिएको हो ।
सो अवसारमा वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि अत्यन्त महत्त्वपूर्ण हुने बताउँदै सप्ताहका अवसरमा सबै डिभिजन वन कार्यालय, वन उपभोक्ता समूह, विकास तथा संरक्षण साझेदार संस्था तथा सम्बन्धित सरोकारवाला निकायलाई आआफ्नो कार्यक्षेत्रमा विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका छन् ।
मन्त्रालयका अनुसार सप्ताहका अवसरमा जनचेतना अभिवृद्धि कार्यक्रम, समुदाय तथा विद्यालयस्तरीय अभिमुखीकरण, प्रचारप्रसार अभियान, स्थानीय सञ्चारमाध्यमबाट सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रहरूको अनुगमन, वन क्षेत्रमा अग्निरेखा निर्माण, सरसफाइ तथा अन्य उपयुक्त डढेलो व्यवस्थापनसम्बन्धी गतिविधि सञ्चालन गरिनेछ । वन तथा भूसंरक्षण विभागका महानिर्देशक धिरेन्द्रकुमार प्रधानले डढेलो देशका सबै प्रदेशमा फैलिएको देखिएको बताए । उनका अनुसार विशेषगरी सुदूरपश्चिम, बागमती र कर्णाली प्रदेशमा डढेलोको जोखिम बढी देखिएको छ ।डढेलोको भौगोलिक वितरणले तराई–चुरे तथा मध्यपहाडी वन क्षेत्रमा जोखिम उच्च रहेको सङ्केत गरेको उनले बताए । उनका अनुसार नेपालमा सुक्खायाम सुरु भएसँगै विशेषगरी फागुनदेखि जेठसम्म वन क्षेत्रमा डढेलो लाग्ने जोखिम उच्च रहने गरेको छ । डढेलोका कारण वन स्रोत, जैविक विविधता, वातावरणीय सन्तुलन, जलस्रोत, मानव स्वास्थ्य तथा जनधनमा गम्भीर नकारात्मक प्रभाव पर्ने भएकाले यसको रोकथाम तथा नियन्त्रणका लागि समयमै प्रभावकारी पूर्वतयारी, समन्वय र जनचेतना अभिवृद्धि आवश्यक रहेको विभागले जनाएको छ ।
-

सर्लाहीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मलङ्गवा ९सर्लाही०, १ चैतः लालबन्दी नगरपालिका–१ बागबानीस्थित पूर्वपश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । विराटनगरबाट काठमाडौँतर्फ गइरहेको लुप०३–००१ख ०४३० नम्बरको बसले सोही दिशातर्फ गइरहेको प्र२–०३–०१५प ३३९६ नम्बरको मोटरसाइकललाई शनिबार साँझ करिब ७ः३५ बजे ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए । दुर्घटनामा मोटरसाइकल चालक पर्सा जिल्लाको वीरगन्ज महानगरपालिका–१ छप्कैया घर भई हाल सर्लाहीको लालबन्दी –१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतो गम्भीर घाइते भएका थिए ।
प्रहरीले घाइते महतोलाई तत्काल एम्बुलेन्समार्फत उपचारका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएकामा उपचारकै क्रममा शनिबार राति ९ः०० बजे मृत्यु भएको प्रहरी नायब उपरीक्षक राईले जानकारी दिए । दुर्घटनामा संलग्न बस र बसचालक दाङ जिल्ला तुलसीपुर नगरपालिका–९ निवासी ३४ वर्षीय गणेश बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय लालबन्दीमा राखेको छ ।
-

चितवनमा तोरी उत्पादन घट्यो
चितवन, १ चैत । जिल्लामा लगाइएको तोरीको उत्पादन घटेको छ । गत वर्षका तुलनामा यस वर्ष प्रतिहेक्टर उत्पादकत्वमा समेत कमी आएको छ । कृषि विकास कार्यालयका कृषि अर्थविज्ञ निर्मल पौडेलका अनुसार गत वर्ष प्रतिहेक्टर १.३१ मेट्रिक टन उत्पादकत्व रहेकामा यस वर्ष १.०१ मा झरेको छ । गत वर्ष जिल्लामा १८ हजार ५६५ मेट्रिक टन तोरी उत्पादन भएकामा यस वर्ष १४ हजार ३१५ मेट्रिक टन उत्पादन भएको छ ।
जिल्लामा १४ हजार १७३ हेक्टर क्षेत्रफलमा तोरीखेती गरिँदै आइएको छ । उनका अनुसार तोरी उत्पादनमा कमी आउनु बेमौसमी पानी पर्नु प्रमुख कारण हो । यससँगै किसानले दोस्रोपटक तोरी लगाउनुपर्ने बाध्यता आएको थियो । फूल फुल्ने समयमा हुस्सु लाग्नु र तुसारोका कारण पनि तोरीको उत्पादन घटेको हो ।
चितवनलाई तोरी उत्पादनका लागि महत्त्वपूर्ण जिल्लाका रूपमा लिइँदै आएको छ । नगदे बालीमा पछिल्ला वर्षहरूमा किसानको आकर्षण बढेसँगै तोरी लगाउने किसान पनि बढेका हुन् । विशेषगरी जङ्गली जनावरले तोरीमा क्षति नपुर्याउने भएकाले यसतर्फ किसानको आकर्षण बढेको उनको भनाइ छ ।
-

फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
फुङ्लिङ (ताप्लेजुङ), १ चैत । पाथीभरा (मुक्कुमलुङ)मा फागुन महिनामा रु ३१ लाखभन्दा बढी भेटी सङकलन भएको छ । भक्तजनले चढाएको भेटीबाट उक्त रकम सङ्कलन भएको हो । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक गरेको विवरणअनुसार फागुनमा भक्तजनले पाथीभरामा रु ३१ लाख १० हजार भेटी चढाएका छन् । समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङका अनुसार तीर्थयात्रीले मन्दिरमा चढाएको भेटी रकम समितिका कर्मचारीले नेपाल प्रहरीको रोहबरमा सङ्कलन गर्ने गरेका छन् । सङ्कलित भेटीलाई सुरक्षित रूपमा पोकामा लाहाछाप लगाई मन्दिर परिसरबाट फेदीसम्म ल्याइन्छ ।
फेदीमा करिब एक सातासम्म सङ्कलन भएको भेटीलाई त्यसपछि सदरमुकाम फुङ्लिङस्थित समितिको कार्यालयमा ल्याइन्छ । कार्यालयमा दैनिक रूपमा प्रहरी तथा सिसीटिभीको निगरानीमा भेटी गणना गरी बैंकमा जम्मा गर्ने व्यवस्था गरिएको समितिले जनाएको छ । सार्वजनिक गरिएको तथ्याङ्कअनुसार फागुनमा १८ हजार ६५२ जना भक्तजन दर्शनका लागि पाथीभरा मन्दिर पुगेका छन् । प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा रहेको पाथीभरामा वर्षभरि देश तथा विदेशबाट हजारौँ भक्तजन दर्शनका लागि आउने गरेका छन् ।
-

नेपालमा एघार महिनामा ६ हजार विपद्का घटना
काठमाडौँ, १ चैतः गत वैशाखदेखि फागुन मसान्तसम्म देशभर कुल छ हजार ७९९ वटा विपद्का घटना भएका छन् । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ११ महिनामा विपद्मा परेर ४६४ जनाको ज्यान गएको छ । विपद्का कारण ३८ जना बेपत्ता हुँदा एक हजार ८१४ घाइते भएका छन् । विपदका कारण १२ हजार ४५८ घरपरिवार प्रभावित भएको प्राधिकरणले उपलब्ध गराएको विवरणमा उल्लेख छ । प्राधिकरणको विवरणअनुसार सो अवधिमा सबैभन्दा बढी आगलागीका घटना भएका छन् । तीन हजार ३३९ आगलागीका घटना हुँदा ९८ जनाको ज्यान गएको छ ।
सो अवधिमा बाढीका तीन सय १८, पहिरो पाँच सय ९०, भारी वर्षा चार सय २९, चट्याङ तीन सय ६७, सर्पदंश पाँच सय ९२, डढेलो दुई सय ४६ वटा घटना भएका छन् । त्यस्तै, हावाहुरीका दुई सय ९२, जनावर आक्रमण चार सय ८८, लेक लागेका एक सय १९ घटना भए । हिमपहिरोका पाँच, भूकम्प सात, डुङ्गा पल्टेर दुईवटा घटना घटेका छन् । त्यसैगरी, फागुन २९ गते बिहानदेखि ३० गते बिहानसम्म कुल २९ विपद्का घटना भएका प्राधिकरणले जनाएको छ ।
-

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा वर्षाको सम्भावना
काठमाडौँ, १ चैत । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लागेको छ । गण्डकी प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भागमा साधारणतया बादल लाग्ने तथा बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । देशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भूभागका केही स्थानका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
त्यसैगरी, आज राति कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने तथा बाँकी भागमा आंशिक बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ । कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका केही स्थान र बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ । साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।
-

रात्री बसमा ढुंगा खसेको स्थान तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान
भरतपुर (चितवन), १ चैत स् नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलाको पहिरोमा ‘फ्लड लाइट’ जडान गरिएको छ । सडकमा ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातका समयमा पनि उक्त स्थान स्पष्ट देख्न सक्नेगरी दुईवटा फ्लड लाइट जडान गरिएको हो । सडक डिभिजन भरतपुरका सबइन्जिनियर हरिकुमार श्रेष्ठका अनुसार शनिबार उक्त ठाउँमा विद्युत् प्राधिकरणसँगको समन्वयमा दुईवटा फ्लड लाइट जडान गरिएको छ । तुइन खोला क्षेत्रमा पहिरो र ढुङ्गा खस्न सक्ने जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पनि स्पष्ट देखिनेगरी फ्लड लाइट जडान गरिएको श्रेष्ठले बताए ।
लाइट जडानपछि पहिरो झरेको र ढुङ्गा खसेको सहजै देख्न सकिनेछ । यो सडकखण्डमा ‘ओभरटेक’ नगरी संयमित भइ यात्रा गर्न चालक एवं यात्रीलाई आग्रहसमेत गरिएको श्रेष्ठले बताए । शुक्रबार मात्र काठमाडौँबाट काँकडभिट्टा जाँदै गरेको रात्रिबसको क्याबिनमा ढुङ्गा बजारिएको थियो । यद्यपि चालकको होसियारीले दुर्घटना टरेको थियो । तुइन खोलामा गत वर्षायाममा निरन्तर पहिरो जाँदा पटकपटक सडक अवरुद्ध भएको थियो ।