Author: Vishwanews.com

  • भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता

    भोटेकोशी बाढीः एक हजार ३३९ शव फेला, चार हजार ४४ जना अझै बेपत्ता


    काठमाडौँ, २१ भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३३९ जनाको शव फेला परेको छ भने चार हजार ४४ जना अझै सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ३२५ महिला, ५२३ पुरुष तथा ४९३ शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिए । उनको अनुसार अझै चार हजार ४४ जना सम्पर्कविहीन छन् ।

    सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार ८६३, महिला ५७५ तथा विदेशी नागरिकतर्फ पुरुष २६९ र महिला ३३२ र अन्य पाँच जना रहेका प्रवक्ता काफ्लेले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ ।
    फेला परेकामध्ये एक हजार ३७ शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

    बाढीपछि हालसम्म नौ हजार १५१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ९८ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको प्रहरीले जनाएको छ । यसैगरी, मृतक एक हजार २८६ जना तथा मृतकका आफन्त एक हजार १८६ जना गरी दुई हजार ४७२ जनाको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ । बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि ‘डिएनए’ नमूना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रवक्ता काफ्लेले बताए । भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन् ।

  • भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

    भोटेकोशी बाढीः ट्रमा सेन्टरमा उपचाररत ३८ घाइते डिस्चार्ज, १२ जनाको उपचार जारी

    काठमाडौँ, २१ भदौः रसुवास्थित भोटेकोशी नदीमा यही भदौ १० गते आएको बाढीमा परी घाइते भएका ५८ जनालाई उद्धार गरी काठमाडौँ ल्याइएकामा राष्ट्रिय ट्रमा सेन्टरबाट आजसम्म ३८ जना उपचारपछि ‘डिस्चार्ज’ भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार बाढीमा परी घाइते भएका ५० जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर ल्याइएको थियो । उपचारका क्रममा स्वास्थ्य अवस्थामा सुधार आएपछि हालसम्म ३८ जनालाई डिस्चार्ज गरिएको हो ।

    राष्ट्रिय ट्रमा सेन्टरमा अहिले १२ घाइतेको उपचार भइरहेको छ । अस्पताल प्रशासनका अनुसार उपचाररत अधिकांश घाइतेको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरुको साधारण श्ययाम राखेर उपचार भइरहेको छ । भोटेकोशी बाढीमा परी घाइते भएका तथा सम्पर्कविहीन व्यक्तिका आफन्तलाई आवश्यक सूचना उपलब्ध गराउन नेपाल प्रहरीले वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा नागरिक सहायता कक्ष स्थापना गरेको छ ।

    सहायता कक्षमार्फत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन तथा सम्पर्कविहीन आफन्तको विवरण टिपाउन आउनेको क्रम जारी रहेको प्रहरीले जनाएको छ । अस्पताल पुगेका आफन्तले आफ्ना परिवारका सदस्यको स्वास्थ्य अवस्था तथा उपचारबारे जानकारी लिइरहेका छन् । भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएपछि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य अझै जारी रहेको छ ।

    उद्धार गरिएका घाइतेको उपचारसँगै पीडित तथा बेपत्ता व्यक्तिका आफन्तसँग समन्वय र आवश्यक सहयोगका लागि सम्बन्धित निकायले पहल गरिरहेको प्रहरीले जनाएको छ । बाढीपछि उद्धार तथा राहत कार्यलाई तीव्रता दिइएको छ भने सम्पर्कविहीन व्यक्तिको खोजी, घाइतेको उपचार तथा प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राखिएको छ ।

  • बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन

    बाँकेमा १६ जनाको ‘डिएनए’ नमूना सङ्कलन

    राँझा (बाँके), २१ भदौः रसुवाको भोटेकोशी बाढीपश्चात् हराइरहेका वा ज्यान गुमाएका व्यक्तिको शव पहिचानका लागि बाँके जिल्लाबाट १६ आफन्तको ‘डिएनए’ नमूना सङ्कलन गरिएको छ। रसुवा, भोटेकोशी तथा त्रिशूली कोरिडोरमा आएको विनाशकारी बाढीका कारण बाँके जिल्लाका धेरै व्यक्ति बेपत्ता भएका र फेला परेका कतिपय शवहरू क्षतविक्षत भई पहिचान गर्न कठिन भएकाले बाँकेबाट १६ जना आफन्तको डिएनए नमूना सङ्कलन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रतित सिंह राठौरले जानकारी दिए ।


    उनका अनुसार, नेपालगञ्जमा सम्पर्कमा आउनुभएका १६ जना आफन्तको भेरी अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको हो । अन्य आफन्तको काठमाडौँ र चितवनस्थित अस्पतालमा डिएनए नमूना सङ्कलन गरिएको छ । डिएनए परीक्षणका लागि बेपत्ता भएका व्यक्तिका पहिलो तहका नातेदार बाबु, आमा, छोरा वा छोरीको ताजा रगतको नमूना सङ्कलन गरी नेपाल प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालामा पठाइएको हो ।

    शव पहिचानका लागि डिएनए परीक्षणका लागि नमूना पठाएपछि बाढीपछि बेपत्ता दाजु–भाउजू र छोराको शव पहिचान हुनेमा आफू आशावादी भएको नेपालगञ्ज–२० निवासी अनलाल रोकायले बताए । भोटेकोशीमा आएको बाढीपश्चात् उहाँको १९ वर्षीय एक्लो छोरा दीपक, दाजु ५३ वर्षीय शेरसिंह र भाउजू ५६ वर्षीय विष्णुमतीलाई एकैसाथ बेपत्ता भए ।


    रसुवाको भोटेकोशी बाढीपश्चात् बाँके जिल्लाका २३ व्यक्ति हालसम्म पनि बेपत्ता रहेका छन् । हालसम्म तीनजनाको शव सनाखत भई मृत्यु घोषणा भएको छ भने ३२ जनाको सकुशल उद्धार भएको बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले जानकारी दिए । उनका अनुसार, भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि बाँकेबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु २४ लाख ३७ हजार २७४ सहयोग जम्मा भएको छ । विभिन्न २१ सङ्घसंस्था, विद्यालय, व्यावसायिक प्रतिष्ठान तथा व्यक्तिले स्वस्फूर्त रूपमा उक्त रकम सहयोग गरेका हुन् ।

    बाँकेबाट सबैभन्दा ठूलो सहयोग नेपालगञ्ज उद्योग वाणिज्य सङ्घले रु ६ लाख एक हजार, नेपाल ज्वेलर्सबाट रु दुई लाख ११ हजार र विभिन्न मस्जिदबाट सङ्कलित रकम उल्लेख्य रहेको छ । जिल्ला प्रशासनमा उपलब्ध सहयोगबाहेक पनि विभिन्न सङ्घसंस्था र नागरिक तहबाट स्वस्फूर्त रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उल्लेख्य राहत रकम जम्मा भएको प्रमुख जिल्ला अधिकारी तामाङले बताए ।

  • तादीखोलामा एक्रोब्रिज जडान तीब्र

    तादीखोलामा एक्रोब्रिज जडान तीब्र

    त्रिशूली (नुवाकोट), २१ भदौः नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट र बेलकोटगढी नगरपालिका–८ जिलिङ जोड्ने गरेर देवीघाटस्थित तादी खोलामा नेपाली सेनामार्फत एक्रोब्रिज जडानलाई तीब्र पारिएको छ। भोटेकोशी नदीको बाढीको बहाव तादीमा पसेर उक्त स्थानका दुई पक्की पुलमा क्षति गराएसँगै नुवाकोटको बेलकोटगढी हुँदै धादिङसँग टुटेको यातायात सम्पर्क जोड्न पुल निर्माण थालिएको हो ।

    नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डाअन्तर्गत रहेको ‘ब्रिजिङ युनिट’ मार्फत निर्माण भइरहेको पुल पाँच दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको पुल निर्माणको नेतृत्व गरिरहेका सेनानी चिरिञ्जीवी चौलागाईंले जानकारी दिए । उनको अनुसार भोटेकोशी हँुदै आएको बाढीले पु¥याएको क्षतिपश्चात् त्रिशूली नदी वारपार गर्न नुवाकोट र रसुवाका सबै पुल बगाएसँगै प्राविधिक अध्ययनपश्चात् पहिलो पुल देवीघाटमा जोड्न थालिएको हो ।

    नुवाकोटको पाँच स्थानमा पुल राख्न अध्ययन भएकामा देवीघाट जडानलगत्तै वेत्रावतीमा एक्रोब्रिज पुल जडान गरेर नुवाकोट र रसुवासँगको यातायात सम्पर्क सञ्चालन गरिने योजना रहेको छ । “पुल निर्माणका लागि पुरानै जिप प्रयोग गर्न सक्ने अवस्था र धादिङको गल्छी हुँदै नुवाकोटको देवीघाटबाट सदरमुकाम विदुरसँग आउजाउ सञ्चालन गराउन पहिलो प्राथमिकतामा देवीघाटमा पुल निर्माण थालिएको छ,” उनले भने । “शनिबारदेखि निर्माण सुरु भएको पुल पाँच दिनभित्र सम्पन्न गर्ने लक्ष्यसहित ५५ जनाको टोली चौबिसै घण्टा कार्यक्षेत्रमा खटिएको छ ।”

    नेपाली सेनासँग धादिङको गजुरीस्थित भैरव गणमा तीन थान मौजुदा राखिएको पुल नुवाकोट र रसुवाको बाढी प्रभावित क्षेत्रमा आउजाउ सञ्चालन गराउन प्रयोग गरिने सेनाले जनाएको छ । सेनासँग ७५ मिटर दूरीका तीन थान पुल मौजुदा राखिएको थियो । देवीघाटमा निर्माण थालिएको पुल ५७.५ मिटर लम्बाइ र ५।५ मि चौडाइको छ । बेलीब्रिजभन्दा एक्रोब्रिज गुणस्तरीय र धेरै भारवहन क्षमताको रहने सेनानी चौलागाईंले जानकारी दिए । उनका अनुसार अहिले निर्माण थालिएको पुलले ७० टन भारवहन क्षमता बहन गर्न सक्नेछ ।

    “बेलीब्रिजको प्रविधिलाई परिमार्जन गरेर बनाइएको आधुनिक अमेरिकी रूप भएकाले एक्रोब्रिज थप तीन गुणा बढी बलियो र टिकाउ हुनेछ,” उनले भने “उच्च गुणस्तरको ग्याल्भानाइज्ड अमेरिकी स्टिल र बलिया स्टिलका डेक प्रयोग गरिएको हँुदा ठूला भारवहन क्षमतासहित चौडा फराकिलो बनाउन सकिने छ।


    पुल निर्माणका लागि आवश्यक सामग्री गजुरीबाट काठमाडौँ हुँदै नुवाकोट ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानीमा समस्या देखिएको छ । कार्यस्थलमा निर्माण सामग्री आउन र नियमित काम गर्न कुनै अवरोध नभए पाँच दिनभित्र काम सम्पन्न गर्ने लक्ष्य छ । त्यसका लागि नेपाली सेनाको श्री १४ नं वाहिनी अड्डाअन्तर्गत रहेको ब्रिजिङ युनिटबाट सेनानीको नेतृत्वमा ५५ जना प्राविधिक खटिएका छन् ।

  • चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन

    चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तकोे ‘डिएनए’ नमूना सङ्कलन


    नारायणगढ (चितवन), २१ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीपछि त्रिशूली र नारायणी नदी किनारबाट चितवनमा फेला परेका शवहरूको व्यवस्थापन, ‘डिएनए’ नमूना सङ्कलन र पहिचान गर्ने काम भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चन्द्रभूषण यादवका अनुसार हालसम्म चितवनमा ३६२ शव फेला परेका छन् । तीमध्ये ३३३ शवको व्यवस्थापन गरिसकिएको छ भने १४ वटा शवको सनाखत भएपछि आफन्तको जिम्मा लगाइएको छ ।

    शवहरूको वैज्ञानिक पहिचानका लागि यही भदौ १६ गतेदेखि डिएनए नमूना सङ्कलन सुरु गरिएको थियो । यादवका अनुसार भदौ २० गतेसम्म हराइरहेका व्यक्तिका आफन्त ६८ जनाको डिएनए नमूना सङ्कलन गरिएको छ । उनका अनुसार भदौ १६ गते सात पुरुषको नमूना सङ्कलन गरिएको थियो । भदौ १७ गते २६ जनाको नमूना सङ्कलन गरिएकोमा दुई महिला, २२ पुरुष र दुई पुरुष भारतीय नागरिक रहेका छन् । भदौ १८ गते २२ जनाको नमूना सङ्कलन गरिएकामा चार महिला, १४ पुरुष, एक बालक र तीन भारतीय पुरुष नागरिक छन् ।

    यस्तै, भदौ १९ गते सात जनाको नमूना सङ्कलन गरिएकामा एक महिला, चार पुरुष, एक बालक र एक भारतीय पुरुष नागरिक रहेका छन् । भदौ २० गते छ जनाको नमूना सङ्कलन गरिएकामा दुई महिला, एक पुरुष र तीन बालक रहेका छन् । प्रहरी नायब उपरीक्षक यादवका अनुसार हाल पनि खोजी, शवहरूको पहिचानका लागि आफन्तको डिएनए परीक्षण, हराइरहेका व्यक्तिको विवरण सङ्कलन र अन्य समन्वयात्मक प्रक्रिया निरन्तर छ ।

  • दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन

    दग्नामका यामबहादुरको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन


    म्याग्दी, २१ भदौः म्याग्दीको रघुगङ्गा गाँउपालिका–४ दग्नाम कान्छीगाउँका यामबहादुर तिलिजाको ५८ वर्षपछि पारिवारिक पुनर्मिलन भएको छ । रोजगारीको खोजीमा २० वर्षको उमेरमा भारतको मणिपुर गएका ८१ वर्षीय तिलिजा शनिबार करिब छ दशकपछि जन्मथलो फर्किएका छन् । तिलिजालाई परिवारले जीवित हुनुहुन्छ भन्ने आशासमेत गुमाइसकेको थियो । उनको फोटोसमेत परिवारसँग थिएन । खोजी गर्ने माध्यम नभएपछि परिवार र उनीबीचको सम्पर्क पूर्ण रूपमा टुटेको थियो ।

    मणिपुरको जङ्गलमा भेडाबाख्रा चराउँदै गरेको अवस्थामा नेपालीभाषी सञ्चारकर्मी खेम देवानले तिलिजालाई भेटेपछि उनको घर फर्कने बाटो खुलेको हो । गत साउनमा मणिपुर पुगेका देवानलाई स्थानीय मणि तामाङले जङ्गलमा दुई वृद्ध दयनीय अवस्थामा बसिरहेको जानकारी गराए । देवानले तिलिजा र भोजपुरका वीरबहादुर राईको अवस्थाबारे श्रव्यदृश्य सामग्री बनाएर प्रशारण गरेका थिए ।

    उक्त श्रव्यदृश्य सामग्रीपछि परिवारजनले उनीहरूको पहिचान गरी सम्पर्क गरेका थिए । “मणिपुर घुम्न जाने क्रममा जङ्गलमा दुई वृद्ध बसिरहेको जानकारी पाएँ । श्रव्यदृश्य सामग्री बनाएर सार्वजनिक गरेपछि परिवारजन सम्पर्कमा आउनुभयो”, देवानले भने, “राईलाई परिवारको जिम्मा लगाएपछि तिलिजालाई उपचार गराएर घरसम्म ल्याइदिएको हुँ ।”

    निमोनियाबाट बिरामी तिलिजालाई देवानले धरानस्थित विजयपुर अस्पतालमा चार दिन भर्ना गरी उपचार गराएका थिए । स्वास्थ्यमा सुधार आएपछि परिवारको आग्रहमा उनलाई दग्नाम ल्याइएको हो । दग्नाम पुगेपछि तिलिजाका तीन भाइ, बुहारी र परिवारका सदस्यले उनलाई फूलमाला लगाएर स्वागत गरे । पाँच दशकभन्दा लामो समयपछि दाजुलाई देखेका भाइहरूले आफूहरुले खोजी गर्न नसकेको विगत सम्झिए ।

    “एक दिन दाईसँग भेट अवश्य हुनेछ भन्ने लागेको थियो । अहिले भेट्न पाउँदा निकै खुसी लागेको छ”, तिलिजाका भाइ उदयचन्द्रले भने, “दाइको फोटो पनि हामीसँग थिएन । खोजी गर्न नसकेर अलमलमा बसेका थियौँ । उहाँलाई भेटाइदिएर घरसम्म ल्याइदिने देवानलाई धन्यवाद छ ।” तिलिजा चार भाइमध्ये जेठा हुन् । उनका माइला भाइको निधन भइसकेको छ । साइँला उदयचन्द्र, काइँला जगतबहादुर र कान्छा हेमबहादुर दग्नाममै बस्दै आएका छन् ।


    तिलिजा भने घरबाट निस्किएपछि लामो समय मणिपुरमै बसेका थिए । उनी भारतीय सेनामा भर्ती हुने उद्देश्यले आसाम राइफल्समा कार्यरत आफन्तको साथमा मणिपुर पुगेका थिए । सेनामा भर्ती हुन नसकेपछि काठ काट्ने काम गर्न थाले । “परिवार र भाइहरूसँग सम्पर्क टुट्यो । पढाइलेखाइ नभएकाले चिठ्ठीपत्र पठाउन सकिनँ । पैसा नभएपछि घर फर्कन सकिनँ”, तिलिजाले भने ।


    मणिपुरमै विवाह गरेका तिलिजाकी छोरीको सात महिनामै मृत्यु भएको थियो । त्यसको एक वर्षपछि श्रीमतीको पनि निधन भयो । लामो समयपछि घर फर्किँदा भने उनले जन्मथलोमा आफ्ना भाइ र आफन्तलाई भेट्न पाएका छन् ।
    उमेर बढ्दै गएपछि काठ काट्ने काम गर्न नसकेपछि उनले साहुको बाख्रा चराएर जीवन गुजारा गर्दै आएका िथए । “परिवारसँग भेट्न पाएँ । जन्मथलोमा फर्किन पाउँदा खुसी लागेको छ”, तिलिजाले भने, “बाँकी जीवन भाइ, परिवार र आफन्तजनसँग बिताउँछु ।”

    रघुगङ्गा गाउँपालिका–४ का वडाध्यक्ष पविन गर्बुजाले ५८ वर्षपछि तिलिजा परिवारमा खुसी फर्किएको बताए । उनका अनुसार तिलिजाका परिवारले लामो समयदेखि उनको खोजी गर्न सकेका थिएनन् । पाँच दशकभन्दा लामो समयपछि तिलिजा घर फर्किएसँगै दग्नामको एउटा परिवारले हराएको सदस्य पुनः पाएको छ ।

  • पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध

    पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध


    बाजुरा, २१ भदौः बाजुरामा अविरल वर्षासँगै विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड अवरुद्ध भएको छ । गएराति लगातार परेको वर्षाका कारण मार्तडीस्थित बडीमालिका नगरपालिका–९ स्थित कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड, सुवाकाँधलगायत स्थानमा सडक माथिबाट पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । यसैगरी, बडीमालिका नगरपालिका–८ को राप्का र वडा नं ६ को जडाङ्गालगायत स्थानमा पनि पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गगनसिंह भाटले जानकारी दिए ।

    सडक अवरुद्ध भएको जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी सहायक निरीक्षक लक्ष्मी दत्त भट्टको कमान्डमा पाँच जनाको प्रहरी टोली घटनास्थलतर्फ खटाइएको छ । प्रहरी टोलीले बडीमालिका नगरपालिका र सडक विभागको जेसिबीको प्रयोग गरी पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने पहल गरिरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लगातार वर्षा भइरहेकाले सडकका अन्य स्थानमा पनि पहिरो खस्ने जोखिम रहेको प्रहरीले जनाएको छ । पहिरोका कारण सडक अवरुद्ध भएपछि साँफे–मार्तडी सडकखण्डमा आवतजावत प्रभावित भएको छ भने गन्तव्य स्थानतर्फ जाने सवारीसाधनहरु बाटोमा नै रोकिएका छन् ।

  • भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता

    भोटेकोशी विपद्को असरबाट पोखराको पर्यटन जोगाउन निजी क्षेत्रको चिन्ता


    कास्की, २१ भदौः यही भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीपछि त्यसको नकारात्मक असर देशको पर्यटकीय राजधानी पोखराको पर्यटन र समग्र अर्थतन्त्रमा समेत पर्न थालेको भन्दै निजी क्षेत्रले चिन्ता व्यक्त गरेको छ । पोखरा उद्योग वाणिज्य सङ्घको ३६औँ महाधिवेशनको शनिबार उद्घाटन कार्यक्रममा सहभागी उद्योगी तथा पर्यटन व्यवसायीले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य सुरक्षित र सञ्चालनमा रहेको सन्देश अन्तरराष्ट्रिय बजारसम्म पुर्याउनुपर्ने आवश्यकता औँल्याए । विपद्का कारण पूरै देश नै असुरक्षित बनेकोजस्तो नकारात्मक सन्देश बाहिर गएको उल्लेख गर्दै उनीहरुले पोखरा सुरक्षित रहेको र भ्रमणका लागि उपयुक्त गन्तव्य भएको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए ।


    नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मीले प्राकृतिक विपत्तिको असर पोखराको पर्यटन क्षेत्रमा गम्भीर रूपमा पर्न थालेको बताए । विपद्सम्बन्धी नकारात्मक सन्देशका कारण पर्यटक आगमन प्रभावित हुनसक्ने भन्दै उनले पोखराको अर्थतन्त्रमा पर्न सक्ने असरबारे समयमै चिन्तन गर्नुपर्नेमा जोड दिए ।

    “प्राकृतिक विपत्तिपछि अहिले पर्यटक आउन सकेका छैनन् । लामो समय पर्यटक आएनन् भने पोखराको अर्थतन्त्रमा कस्तो असर पर्ला रु यसबारे चिन्तनमनन गर्दै समाधानका लागि अहिल्यै लाग्नुपर्छ । ढिला गर्ने छुट हामीलाई छैन”, उनले भने । नेपाल पर्यटन बोर्डका सदस्य सन्तोष पोखरेलले विपद् प्रभावित क्षेत्रबाहेक नेपालका अधिकांश पर्यटकीय गन्तव्य खुला र सुरक्षित रहेको सन्देश अन्तरराष्ट्रिय क्षेत्रमा प्रभावकारी रूपमा प्रवाह गर्नुपर्ने बताए । “विपद्को प्रत्यक्ष असर नपरेका क्षेत्रमा समेत पर्यटन गतिविधि घट्दा असर परेको छ । पोखरासहित नेपालको पर्यटन क्षेत्रको विकास तथा अन्तरराष्ट्रिय प्रचारप्रसारमा सक्रिय भूमिका खेल्नुपर्ने खाँचो छ”, उनले भने ।


    नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जनकुमार श्रेष्ठले भोटेकोशी बाढी प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय समुदायसँग समेत सहयोग मागिएको बताए । उनले महासङ्घले विश्वका ७० वटा उद्योग तथा वाणिज्य सङ्घलाई पत्र पठाएर नेपालको विपद् पुनःस्थापनामा सहयोग गर्न आग्रह गरेको जानकारी दिए ।


    “विपत्तिबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि राज्यलाई ठूलो आर्थिक स्रोत आवश्यक छ । त्यसका लागि हामीले राष्ट्रिय तथा अन्तरराष्ट्रिय क्षेत्रमा सहयोगका लागि आह्वान गरेका छौँ । विदेशमा रहेका उद्योग तथा वाणिज्य सङ्घसँग समेत सहयोगका लागि पहल भइरहेको छ”, अध्यक्ष श्रेष्ठले भने, “देशमा ठूलो विपत्ति परेको छ । यस्तो अवस्थामा सबै व्यवसायी तथा निजी क्षेत्रले मानवीय भावनाका साथ खुलेर सहयोग गर्नुपर्छ ।”

    अध्यक्ष श्रेष्ठले नेपालमा विपद्को जोखिम बढ्दै गएको उल्लेख गर्दै दीर्घकालीन रूपमा विपद् न्यूनीकरणका लागि पूर्वतयारी र योजनाबद्ध विकासमा जोड दिनुपर्ने बताए । नदी तथा खोला किनारमा भइरहेको अव्यवस्थित बस्ती विस्तार, हिमताल र अन्य प्राकृतिक जोखिमलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ थियो । निजी क्षेत्र अहिले चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उनले व्यवसायीलाई निरुत्साहित गर्नेभन्दा लगानी र उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउन सरकारसँग आग्रह गरे ।

    लक्ष्मी विद्या पदकबाट तीन विद्यार्थी सम्मानित

    कार्यक्रमका अवसरमा लक्ष्मी ग्रुप प्रालिद्वारा स्थापित तथा पोखरा उद्योग वाणिज्य सङ्घद्धारा सञ्चालित ‘लक्ष्मी विद्या पदक–२०८२’ बाट व्यवस्थापन सङ्कायअन्तर्गत कास्की जिल्लामा उत्कृष्ट नतिजा हासिल गर्ने तीन विद्यार्थी सम्मानित भएका छन् । स्नातकोत्तर तह (एमबिएस) मा जनप्रिय बहुमुखी क्याम्पसकी ज्योति तामाङ, स्नातक तह (बिबिए)तर्फ पोखरा कलेज अफ म्यानेजमेन्टकी समीक्षा तिमिल्सिना तथा बिबिएसतर्फ जनप्रिय बहुमुखी क्याम्पसका सन्तोष थापा सम्मानित भए ।

    उनीहरुलाई माला, दोसल्ला, ताम्रपत्र, विद्यापदक तथा नगद पुरस्कार प्रदान गरिएको थियो । हालसम्म लक्ष्मी विद्या पदकबाट ७६ विद्यार्थी सम्मानित भइसकेका छन् । महाधिवेशनअन्तर्गत आज सङ्घको नयाँ नेतृत्व चयनका लागि मतदानको कार्यतालिका छ । नेतृत्वका लागि उत्तममान बुद्धाचार्य, शोभा गौतम, बलराम आचार्य र अर्जुन पोखरेलले उम्मेदवारी दर्ता गराएका छन् ।

  • भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’

    भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्न आवश्यक पहल गरिने’


    धनगढी, २१ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले दार्चुलाको अपिहिमाल गाउँपालिका–१ भट्टारमा पहिरोका कारण उत्पन्न जोखिम कम गर्नका लागि प्रदेश सरकारबाट गर्न सकिने आवश्यक पहल तथा सहयोगमा कमी हुन नदिने बताएका छन् । भट्टार क्षेत्रमा गएको पहिराका कारण विस्थापित परिवारको राहत तथा पुनस्र्थापनाका साथै पहिरो जाने क्रम नरोकिएकाले जोखिम न्यूनीकरण र आवश्यक सहयोगको माग गर्दै अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरे बोहरा र मार्मा गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीसहितको टोलीले मुख्यमन्त्री भट्टलाई शनिबार ज्ञापनपत्र बुझाएको थियो ।

    ज्ञापनपत्र बुझ्नुहुँदै मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकलाई राहत उपलब्ध गराउनुका साथै उनीहरूको पुनस्र्थापनाका लागि प्रदेश सरकारबाट आवश्यक पहल गरिने बताए । उनले पहिरोका कारण प्रभावित तथा विस्थापित परिवारको राहत, पुनस्र्थापना र पहिरो रोकथामका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।


    मुख्यमन्त्री भट्टले विपद्का कारण प्रभावित नागरिकको सुरक्षा र राहतलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरी आवश्यक पहल अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । भट्टार क्षेत्रमा पहिरो जाने क्रम जारी रहँदा चमेलिया नदीसमेत प्रभावित भएको छ । पहिरोका कारण नदी आंशिक रूपमा थुनिएपछि तटीय क्षेत्रका बस्तीमा जोखिम बढेको भन्दै स्थानीय प्रशासनले समेत उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।

    गाउँपालिकाका अध्यक्षद्वयको टोलीले पहिरोका कारण विस्थापित परिवारको तत्काल राहत तथा पुनस्र्थापनासँगै पहिरो पूर्ण रूपमा नरोकिएका कारण चमेलिया नदी किनारका बस्तीमा जोखिम कायमै रहेको जानकारी गराएको थियो । जोखिम न्यूनीकरण, प्रभावित नागरिकको सुरक्षा तथा आवश्यक पूर्वाधार संरक्षणका लागि प्रदेश सरकारबाट तत्काल आवश्यक सहयोग उपलब्ध गराउन उनीहरूले आग्रह गरेका थिए । पहिरो निरन्तर खसिरहेकाले नदीको बहावमा पुनः अवरोध आउन सक्ने जोखिमसमेत रहेको बताइएको छ ।

  • सुखद खबरको पर्खाइमा….

    लमजुङ, २१ भदौः बिहानसम्म परिवारसँग फोनमा कुराकानी भइरहेको थियो । घरपरिवारले पनि उनी काममै छन् भन्ने ठानेको थियो । तर यही जेठ १० गते बिहान करिब ८ः३० बजेपछि आएको एउटा खबरले बेँसीसहर नगरपालिका–११ का घर्ती परिवारलाई गहिरो पीडामा धकेल्यो, ‘रसुवामा बाढी आएको छ, आयोजनामा कार्यरत राधिका र झपटबहादुरको सम्पर्क टुटेको छ ।”

    त्रिचालीस वर्षीया राधिका घर्ती र ४५ वर्षीय झपटबहादुर घर्ती श्रीमान्–श्रीमती हुन् । उनीहरू रसुवास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनामा करिब १०–१२ वर्षदेखि कार्यरत थिए । राधिका खाना पकाउने काम गर्नुहुन्थ्यो भने झपटबहादुर सुरुङसम्बन्धी काममा खटिएका थिए । बाढी आएको दिन बिहानसम्म सबै सामान्य नै थियो । परिवारसँग करिब ८ः३० बजेसम्म सम्पर्क भएको थियो । त्यसपछि भने फोन लागेन । झपटबहादुरको मोबाइलको ‘लोकेसन’ पनि बिहान करिब ८ः५६ बजेसम्म देखिएको थियो । त्यसपछि लोकेसनसमेत देखिन छाड्यो ।

    “उहाँहरू कहाँ हुनुहुन्छ भन्ने नै थाहा हुन सकेन । सुरुङ वा पावरहाउस आसपास हुनसक्ने हाम्रो अनुमान छ”, भतिज विशाल घर्तीले भने । बाढीपछि नेपाली सेनाले सुरुङमा एक पटक खोजी गरेको थियो । तर सुरुङभित्रको कठिन अवस्थाका कारण पूर्ण रूपमा खोजी गर्न नसकिएको घर्तीको परिवारले जनाएको छ । त्यसपछि परिवारका लागि हरेक दिन प्रतीक्षाको दिन बनेको छ । घर्ती परिवार कतैबाट फोन आउँछ कि, खोजीका क्रममा कुनै खबर भेटिन्छ कि भन्ने आशामा ।

    राधिका र झपटबहादुरका दुई छोरा र एक छोरी छन् । जेठो छोरा आमाबुबाको खोजीमा संलग्न छन् । कान्छो छोरा जापानमा छन् । छोरीको विवाह भइसकेको छ । परिवारका सदस्यहरूका लागि भने अहिले सबैभन्दा ठूलो प्रश्न एउटै छ – उनीहरू कहाँ छन् ? “अब त न सासको खबर छ, न लासको । जिउँदै भेटिने आस पनि लगभग मरिसकेको छ । तर पनि उहाँहरूको अवस्था थाहा पाउन र कम्तीमा शवसम्म भए पनि फेला पार्न पाए हुन्थ्यो”, विशालले भने ।


    आफन्तका अनुसार राधिका र झपटबहादुर लामो समयदेखि आयोजनामै काम गर्दै आएका थिए । रोजगारीकै क्रममा रसुवा पुगेका उनीहरु वर्षौँदेखि त्यहीँ कार्यरत थिए । घरपरिवारबाट टाढा रहेर काम गर्दै आएका उनीहरू एकैपटक सम्पर्कविहीन भएपछि परिवारमा बज्रपात भएको छ। रसुवामा आएको बाढीपछि राधिका र झपटबहादुरमात्र होइन, लमजुङका अन्य व्यक्तिसमेत सम्पर्कविहीन छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार रसुवाको बाढीपछि जिल्लाका १० जना सम्पर्कविहीन रहेको जानकारी प्राप्त भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी ज्ञानेन्द्रबहादुर क्षेत्रीका अनुसार सम्पर्कविहीन व्यक्तिको खोजी तथा उनीहरूको अवस्थाबारे जानकारी लिने काम भइरहेको छ ।

    बाढी आएको दिनदेखि नै ती परिवारको ध्यान फोनतिर छ । अपरिचित नम्बरबाट फोन आउँदा पनि हराएका आफन्तको खबर पो आयो कि भन्ने आशा जाग्छ । तर फोन अरू कसैको हुन्छ । फेरि उस्तै निराशा । समय बित्दै जाँदा आफन्त जीवितै भेटिने आशा कमजोर बन्दै गएको छ । तर आशा पूर्ण रूपमा मरेको छैन । त्यसैले परिवारहरू अझै खोजी टोलीबाट आउने एउटा खबरको प्रतीक्षामा छन् । राधिका र झपटबहादुरको परिवारका लागि पनि अहिले त्यही प्रतीक्षा बाँकी छ– आफन्त जीवितै भेटिन्छन् कि भन्ने अन्तिम आशा, नभए कम्तीमा उनीहरूको अवस्थाबारे सत्य जानकारी ।

    रसुवाको बाढीले भौतिक क्षतिमात्र गरेको छैन, लमजुङका यी परिवारलाई आफ्ना आफन्तको अवस्थाबारे अनिश्चित प्रतीक्षामा समेत छाडेको छ । दिनहरू बितिरहेका छन्, आशा कमजोर हुँदै गएको छ, तर परिवारका सदस्यहरू अझै आफ्ना प्रियजनको खबर आउने आशाको त्यान्द्रो समातेर बसिरहेका छन् ।

    राससबाट

  • भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

    भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन


    रसुवा, २१ भदौः नेपाल–चीन सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण रसुवामा ठूलो जनधनको क्षति भएको छ । ल्हेन्दे खोला हुँदै गएको बाढीका कारण हालसम्म जिल्लामा एक हजार ३१३ जनाको जीवितै उद्धार गरिएको छ भने तीन हजार ७१ जना अझै सम्पर्कविहीन छन् । सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार बाढी र पहिरोको चपेटामा परेका एक हजार २२७ नेपाली र ८६ विदेशी पर्यटकको सुरक्षाकर्मी तथा स्थानीयको सक्रियतामा सफल उद्धार गरिएको छ ।

    बाढीका कारण अलपत्र परेका तथा गोसाइँकुण्ड क्षेत्रमा रोकिएका १४५ तीर्थयात्री तथा स्थानीयलाई हेलिकप्टरमार्फत नुवाकोट र काठमाडौँतर्फ सुरक्षित स्थानान्तरण गरिएको छ । दुर्गम र सडक सञ्जाल विच्छेद भएका क्षेत्रमा राहत र उद्धारका लागि हेलिकप्टर प्रयोग गरिएको छ ।

    विपद्पछि जिल्लामा सम्पर्कविहीन हुनेहरूको सङ्ख्या ठूलो छ । श्रीनाथ गण, ब्राबल ब्यारेकअन्तर्गतका २७ नेपाली सेना, २८ नेपाल प्रहरी, १३ सशस्त्र प्रहरी, ७९ सरकारी कर्मचारी र २६ जना बैंक तथा वित्तीय संस्थाका कर्मचारी अझै सम्पर्क बाहिर छन् । यस्तै, रसुवाका एक हजार ३७०, अन्य जिल्लाका एक हजार २६२ र २६६ विदेशी पर्यटक सम्पर्कविहीन रहेका सहायक प्रजिअ अधिकारीले बताए ।
    विपद्का क्रममा फेलापरेका शवमध्ये छ जनाको सनाखत भई आफन्तलाई बुझाइसकिएको छ ।

    उत्तरगया–५ का जनक आचार्य, गङ्गादेवी श्रेष्ठ, पुदुली तामाङ, आशवीर तामाङ र आशिष बानियाँ तथा गोसाइँकुण्ड–६ की छिरिङ ग्याल्मो तामाङको शव सनाखत भएको हो । अन्य विभिन्न स्थानमा फेलापरेका १६३ शवमध्ये पाँच जनाको सनाखत भइसकेको र बाँकीको सनाखत प्रक्रिया तथा डिएनए परीक्षणका लागि मुचुल्का उठाउने कार्य भइरहेको सहायक प्रजिअ अधिकारीले बताए ।


    बाढीपहिरोले रसुवाको भौतिक संरचनामा ठूलो क्षति पुर्याएको छ । प्रारम्भिक विवरणअनुसार एक हजार ५०० निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । यस्तै २८ सरकारी तथा सार्वजनिक निकाय, आठवटा सामुदायिक विद्यालय, तीन निजी विद्यालय र १४ बैंकका भवनमा क्षति पुगेको छ ।

    त्यसैगरी, जिल्लाको मेरुदण्ड मानिने ४१ किलोमिटर राजमार्ग तथा सडकखण्ड ठप्प भएको छ । छवटा पक्की मोटरेबल पुल, आठवटा ट्रस तथा बेलीब्रिज, एक आर्च पुल र १० वटा झोलुङ्गे पुल बाढीले बगाएको वा क्षति पुर्याएको छ । जिल्लाका आठवटा जलविद्युत् आयोजनामासमेत अत्यधिक क्षति गरेको छ ।

    थातथलोबाट विस्थापित भएका सात हजार ३३ नागरिकलाई जिल्लाका विभिन्न १२ सुरक्षित आश्रयस्थलमा राखिएको छ । धुन्चेस्थित सिटी सेन्टर, कोमिन श्यामे वाङ्फेल मावि, गणेश आधारभूत विद्यालयलगायत स्थानमा आश्रित नागरिकलाई गाँसबासको व्यवस्था मिलाइएको छ । प्रभावित क्षेत्रमा हालसम्म १३६ पटक राहत सामग्री वितरण गरिसकिएको छ । विपद्का बीच पनि जिल्लाको ८३ प्रतिशत जनसङ्ख्यामा विद्युत सेवा पुनः सञ्चालन गरिएको छ भने नेपाल टेलिकमको सञ्चार सेवा सम्पूर्ण क्षेत्रमा सञ्चालनमा ल्याइएकाले उद्धार र समन्वय कार्यमा सहज भएको छ ।

  • टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण

    टेम्केमैयुङका १३७ महिलाको निःशुल्क क्यान्सर परीक्षण


    भोजपुर, २१ भदौः महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सरको समयमै पहिचान तथा रोकथाम गर्ने उद्देश्यले भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा निःशुल्क स्वास्थ्य परीक्षण तथा सचेतना अभियान सञ्चालन गरिएको छ । ‘मातृत्व जोगाउने अभियान’ अन्तर्गत सञ्चालन गरिएको दुईदिने निःशुल्क स्वास्थ्य शिविरमा गाउँपालिकाका १३७ महिलाको स्तन तथा पाठेघरको मुखको क्यान्सर परीक्षण गरिएको हो ।

    दुर्गम क्षेत्रका महिलालाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै क्यान्सरको प्रारम्भिक अवस्था पहिचान गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको ‘कल्प इम्पावर वुमन नेपाल’की अध्यक्ष पूजा कोइरालाले बताइन् । महिलामा हुने स्तन तथा पाठेघरको मुखको क्यान्सर समयमै पहिचान गर्नसके उपचार प्रभावकारी हुने भएकाले अभियानलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

    संस्थाले विशेषगरी महिला स्वास्थ्य तथा महिलाको नेतृत्व क्षमता विकासका क्षेत्रमा काम गर्दै आएको अध्यक्ष कोइरालाले जानकारी दिइन् । संस्थाले हालसम्म करिब २५ हजार महिलालाई स्वास्थ्य सेवा प्रदान गरिसकेको र यस वर्ष थप १० हजार महिलासम्म सेवा पुर्याउने लक्ष्य राखेर ‘मातृत्व जोगाउने अभियान’ सञ्चालन गरिरहेको उनले बताइन् ।


    गाउँपालिकाका महिलाको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै स्तन तथा पाठेघरको मुखको क्यान्सरको खोजी, पहिचान र रोकथामका लागि शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए । यस्ता शिविरले सहज रूपमा सेवा पाउनुका साथै समयमा नै रोगको पहिचान गरी उपचारसमेत सहयोग पुग्ने उनको भनाइ छ ।

    “पाठेघर र स्तन क्यान्सरको खोजी तथा पहिचान गर्न शिविरमार्फत सेवा दिएका हौँ”, अध्यक्ष बस्नेतले भने, “शिविरले क्यान्सर रोकथाममा सहयोग पुग्छ भन्ने हाम्रो अपेक्षा हो ।” शिविरसँगै महिलालाई स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जानकारी दिने उद्देश्यले ‘सी क्यान’ (उनी सक्छिन्) अभिमुखीकरण कार्यक्रमसमेत सञ्चालन गरिएको छ । यस्तै, किशोरीलाई समुदाय तथा सामाजिक विषयवस्तुबारे जानकारी दिन सामुदायिक स्वास्थ्य साक्षरता कार्यक्रम पनि सञ्चालन गरिएको छ । कार्यक्रममार्फत घरघर तथा समुदायस्तरमा पुगेर पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर तथा महिला स्वास्थ्यसम्बन्धी सचेतना प्रदान गरिएको बताइएको छ ।

    स्वास्थ्य परीक्षणका क्रममा दुई महिलामा पाठेघरको मुखको क्यान्सरसँग सम्बन्धित प्रारम्भिक शङ्कास्पद लक्षण फेला परेको विराट मेडिकल कलेज टिचिङ अस्पतालकी डा रेखा साहले जानकारी दिनुभयो । अभियानका क्रममा महिलालाई क्यान्सरको प्रारम्भिक पहिचान, नियमित स्वास्थ्य परीक्षण, प्रजनन स्वास्थ्य तथा समयमै उपचार गराउँदा हुने फाइदाबारे जानकारी प्रदान गरिएको छ ।

  • कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट

    कास्कीमा ‘डिनएन’ नमूना सङ्कलन प्रहरी कार्यालयबाट

    गण्डकी, २१ भदौः रसुवाको भोटेकोशी नदीमा गएको बाढीमा बेपत्ताहरूको खोजी तथा शव पहिचानका लागि जिल्ला प्रहरी कार्यालयबाट आफन्तको ‘डिएनए’ नमूना सङ्कलन सुरु गरिएको छ । ‘डिनएन’का लागि निवदेन, मञ्जुरीनामा फाराम भर्ने र रगतको नमूना सङ्कलन गर्ने कार्य एकीकृत रूपमा प्रहरी कार्यालयबाटै सुरु गरिएको प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।

    यसअघि उक्त सेवा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट सञ्चालन गरिँदै आएकामा ‘डिएनए’ नमूना सङ्कलनलाई सहज र सरल बनाउने उद्देश्यले एकीकृत सेवा सञ्चालन गरिएको उनले बताए । बाढीमा परी मृत्युवरण गरेका ७६ जनाको शव यही भदौ १६ गते पोखरा महानगरपालिका–१६ लामाचौरको वन क्षेत्रमा जमिनमुनि व्यवस्थापन गरिएको थियो ।

    जमिनमुनि व्यवस्थापन गरिएका शवको ‘डिएनए’ नमूना सङ्कलन गरिएकाले शव पहिचानका लागि आउने आफन्तको ‘डिएनए’ नमूना सङ्कलनका लागि आवश्यक प्रबन्ध गरिएको हो । शवबाट सङ्कलन गरिएको ‘डिएनए’ नमूना राष्ट्रिय विधिविज्ञान प्रयोगशालामा पठाइएको छ । आफन्तको ‘डिएनए’सँग मेल खाएमा पछि पुनः पहिचान गरी आफन्तलाई शव बुझाउन मिल्नेगरी शव व्यवस्थापन गरिएको प्रहरी नायब उपरीक्षक पासवानले बताए ।

    बाढीपछि त्रिशूली र नारायणी नदी किनारमा भेटिएका शवलाई सम्बन्धित जिल्लामा राख्न र परीक्षण गर्न स्थान अभाव भएपछि पोखरा ल्याइएको थियो । नवलपुरबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ शव पहिचान तथा परीक्षणका लागि पोखरा ल्याइएकामा ७६ शवलाई जमिनमुनि व्यवस्थापन गरिएको थियो भने अन्य शव पहिचान गरी आफन्तलाई बुझाइएको थियो ।

  • भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

    भोटेकोशी बाढीः ६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति


    काठमाडौँ, २१ भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखाका ५५ वटा खानेपानी आयोजना प्रभावित भएका छन् । बाढीबाट क्षतिग्रस्त आयोजनाको प्रारम्भिक विवरणअनुसार करिब रु ६४ करोड बराबरको क्षति भएको अनुमान गरिएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागका अनुसार बाढीबाट सबैभन्दा बढी प्रभावित नुवाकोटमा २२ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । ती आयोजनामामात्रै रु चार करोड ११ लाख ५० हजारबराबरको क्षति भएको विभागले जनाएको छ ।

    विभागका प्रमुख एवं महानिर्देशक कमलराज श्रेष्ठका अनुसार बाढीका कारण धादिङका २०, गोरखाका पाँच तथा रसुवाका आठवटा आयोजनामा क्षति भएको छ । बाढीबाट पुगेको क्षतिको विस्तृत विवरण सङ्कलन गर्ने कार्य भने अझै जारी रहेको विभागले जनाएको छ । बाढीका कारण खानेपानी सेवा अवरुद्ध भएका क्षेत्रमा नागरिकलाई तत्काल खानेपानी उपलब्ध गराउन विभागले अल्पकालीन तथा दीर्घकालीन योजना अघि बढाएको छ । प्रभावित क्षेत्रमा वैकल्पिक स्रोतको प्रयोग गर्दै सेवा पुनः सञ्चालन र क्षतिग्रस्त संरचनाको मर्मतलाई प्राथमिकता दिइएको महानिर्देशक श्रेष्ठले बताए ।

    विशेषगरी विदुर खानेपानी आयोजना प्रभावित क्षेत्रमा खानेपानी वितरण सहज बनाउन १०० केभीए क्षमताको डिजेल जेनेरेटर सञ्चालनमा ल्याइएको छ । उक्त जेनेरेटरमार्फत दैनिक करिब पाँच लाख लिटर खानेपानी वितरण गर्ने व्यवस्था मिलाइएको विभागले जनाएको छ । एक एचपी क्षमताका सातवटा पम्प सञ्चानमा ल्याएर बट्टार क्षेत्रका करिब ५०० घरपरिवारमा खानेपानी सेवा पुनः सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)सँगको समन्वयमा भदौ १२ गतेदेखि चारवटा ट्याङ्करमार्फत विदुर र बट्टारका विभिन्न बस्तीमा खानेपानी वितरण भइरहेको महानिर्देशक श्रेष्ठको भनाइ छ ।

    बाढी प्रभावित त्रिशूली बजार, बेलकोटगढी, कोल्पुटार, गल्छी, गजुरी र विदुरका बाँकी क्षेत्रमा खानेपानी सेवा विस्तार गर्न आवश्यक सामग्रीसमेत व्यवस्थापन गरिएको विभागले जनाएको छ । सेवा विस्तारका लागि दुई एचपी र एक एचपी क्षमताका गरी कुल १४ वटा पम्प, एक हजार लिटर क्षमताको हिलटेक ट्याङ्की तथा करिब ४१।१ किलोमिटर एचडीपीइ पाइप तयारी अवस्थामा राखिएको छ ।

    विभागका अनुसार उक्त सामग्री प्रभावित क्षेत्रमा ढुवानी तथा जडान गरी खानेपानी सेवा विस्तार गर्ने तयारी भइरहेको छ । बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत तथा पुनःस्थापना र प्रभावित बस्तीमा नियमित खानेपानी आपूर्ति सुनिश्चित गर्न प्राविधिक टोली निरन्तर परिचालन गरिएको छ ।

    बाढीपछि खानेपानीको अभाव हुन नदिन तत्कालीन राहतसँगै दीर्घकालीन पुनःस्थापनाको कामलाई समेत अघि बढाइएको विभागले जनाएको छ । क्षतिको पूर्ण विवरण प्राप्त भएपछि आवश्यकताका आधारमा थप पुनर्निर्माण तथा पुनःस्थापनाका कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

  • राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमस् एक दशकमा १८ लाख परिवार लाभान्वित

    राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमस् एक दशकमा १८ लाख परिवार लाभान्वित


    काठमाडौँ, २१ भदौः सरकारले सञ्चालन गरेको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमबाट १० वर्षको अवधिमा १८ लाख १६ हजार ८०७ परिवार लाभान्वित भएका छन् । कृषि, वन तथा पर्यावरण मन्त्रालयले खाद्य तथा पोषण सुरक्षा, आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादन वृद्धि गर्न देशभर सञ्चालन गरेको कार्यक्रमबाट सो परिमाणमा लाभान्वित भएका हुन् । सरकारको लगानीमा सञ्चालित कृषि उत्पादन वृद्धि र आधुनिकीकरण गर्ने बृहत् राष्ट्रिय कार्यक्रमअन्तर्गत रु ३९ अर्ब ५८ करोड खर्च गरिएकामा आंशिक र पूर्ण गरी २३ लाख ८३ हजार १८४ जनाले रोजगारी प्राप्त गरेको परियोजनाका सूचना अधिकारी डा जितबहादुर चन्दले जानकारी दिए ।

    दश वर्षका लागि तयार पारिएको परियोजनाका लागि रु एक खर्ब ३० अर्बको परियोजना तयारी गरिएकामा रु ५६ अर्ब ३५ करोड विनियोजन गरिएको अर्थात् प्रक्षेपित रकमको ४४ प्रतिशतमात्र रकम प्राप्त भएको छ । आर्थिक वर्ष २०७३÷७४ मा सुरू भएको परियोजना २०८२÷८३ मा सम्पन्न गरिएको थियो । किसानको उत्पादनको सहज बिक्री वितरणका लागि अग्रिम रूपमा कृषि उपज खरिद गर्ने नीति लिइएको उक्त कार्यक्रममा पहिलोपटक प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका रूपमा कार्यक्रम आएको थियो, जसलाई पछि परिवर्तन गरेर राष्ट्रिय एकीकृत कार्यक्रम बनाइएको हो ।

    कार्यक्रममा खाद्य तथा पोषणमा धान, गहुँ, तरकारी, आलु, दलहन, तेलहन, गाईभैँसी, बाख्रा, बङ्गुर तथा आयात प्रतिस्थापनमा मकै, फलफूल, स्याउ, ओखर, माछा र निर्यात प्रवर्द्धन बालीमा कफी, अलैँची, अदुवा, बेसार र मौरीखेतीलाई प्राथमिकतामा राखिएको हो । कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक र दिगो बनाउने, प्रमुख बालीको उत्पादन र उत्पादकत्व बढाई किसानको आम्दानीमा सुधार गर्ने र देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य राखिएको कार्यक्रम बहुपक्षीय सरोकारवालासँग समीक्षाका आधारमा निरन्तरता दिन तयारी गरिएको सूचना अधिकारी डा चन्दले जानकारी दिए ।

  • बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देशः हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ

    बाढी प्रभावित आमाबुबालाई प्रधानमन्त्रीको सन्देशः हजुरहरू एक्लो हुनुहुन्न, सरकार तपाईंको साथमा छ

    काठमाडौँ, २० भदौ : प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रका आमाबुबालाई आफूहरू एक्लो नरहेको महसुस गर्न आग्रह गर्दै राज्य र सरकार उनीहरूको साथमा रहेको बताउनुभएको छ । आज सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले भन्नुभएको छ, “तपाईंहरू एक्लो हुनुहुन्न, राज्य तपाईंको साथमा छ, सरकार तपाईंको साथमा छ।”

    “बाढी प्रभावित क्षेत्र, नुवाकोटको विदुर–१० बेत्रावतीमा आज सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको संयुक्त उद्धार टोलीले ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई उद्धार गरेको खबरले सिङ्गो देशलाई नै आशा दिएको छ”, उहाँले भन्नुभएको छ, “यो खबर खोज तथा उद्धारमा हामी अझै डटेर लागिरहेका छौँ भन्ने सन्देश पनि हो ।” सरकारले चन्द्रिका आमाको उमेर समूहका र त्योभन्दा माथिल्लो उमेरका धेरै आमाबुबालाई प्रभावित क्षेत्रबाट उद्धार गरिसकेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

    बाढीका क्रममा कतिपय आमाबुबाले आफ्नो ज्यानकोसमेत परवाह नगरी कापिरहेका हातले नातिनातिनालाई च्यापेर डाँडातिर भागेर ज्यान जोगाउनुपरेको उल्लेख गर्दै उहाँले जीवनको उत्तरार्धमा यस्ता कठिन परिस्थिति भोग्नुपरेको बताउनुभएको छ । लौरो नटेकी दुई पाइला सर्न नसक्ने गोडामा पनि त्यस्तो बेला आफ्ना सन्तान बचाउने अनौठो हिम्मत आएको उहाँको भनाइ छ । बाढीका कारण वृद्धाश्रममा बसिरहेका आमाबुबासमेत सुरक्षित स्थानतर्फ भाग्नुपरेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।

    “बाढी आउनुअघिसम्म हजुर आफ्नै घरको आँगनमा बसेर नदी किनारामा रहेको खेतबारीमा छोराछोरीले काम गरिरहेको हेरिरहनुभएको थियो होला”, सन्देशमा भनिएको छ, “नातिनातिनाहरू हात हल्लाउँदै विद्यालय गएको हेरिबस्नुहुन्थ्यो होला । उनीहरू आउने पर्खाइमा बाटोमा नजर लगाइरहनुहुन्थ्यो होला ।” चौतारीमा बसेर छिमेकीसँग वर्षौंदेखिका दुःखसुख, अनुभव र ज्ञान बाँड्ने ज्येष्ठ नागरिकको दैनिकीसमेत बाढीले प्रभावित बनाएको उहाँले उल्लेख गर्नुभएको छ ।

    “अहिले न ती घरआँगन छन्, न त चौतारीमा बसेर दुःखसुख साट्ने अवस्था नै छ”, प्रधानमन्त्रीले भन्नुभएको छ, “त्यो बिहान भोटेकोशीको विनाशकारी बाढीले एकैछिनमा धेरै कुरा खोसेर लग्यो ।” बाढीका कारण कतिपयले आफ्नै आँखाअगाडि छोराछोरी र काँधमा हुर्काएका नातिनातिना बगेको हेर्न विवश हुनुपरेको तथा कतिपयले जीवनसाथी गुमाएर पूर्णतः एक्लो हुनुपरेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ । जीवनभर पसिना बगाएर जोडेको घर, खेतबारी तथा सन्तानसरह माया गरेर हुर्काएका पशुपन्छीसमेत क्षणभरमै बाढीमा बगेको उहाँले बताउनुभएको छ ।

    आफ्नै घरव्यवहार सम्हालिरहेका ज्येष्ठ नागरिक अहिले सरकारले व्यवस्था गरेका अस्थायी शिविरमा बस्नुपरेको उल्लेख गर्दै प्रधानमन्त्रीले होल्डिङ सेन्टरमा राहत, स्वास्थ्य सेवा र जीवनयापनका लागि आवश्यक सुविधा पुर्‍याइएको बताउनुभएको छ । नुवाकोटको देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठान, विदुर भवन बाढीबाट क्षतिग्रस्त भएपछि त्यहाँ रहेका सात जना आमाबुबालाई नेपाल सिनियर केयर, म्हैपी, काठमाडौँमा तथा १७ जनालाई नुवाकोटको इनारपाटीस्थित कृष्णप्रणामी मन्दिरमा अल्पकालीन आश्रय दिइएको उहाँले जानकारी दिनुभएको छ ।

    उहाँहरूलाई हिँडडुलका लागि आवश्यक ह्वीलचियर तथा वाकर उपलब्ध गराइएको र मानसिक आघात तथा शारीरिक कष्ट कम गर्न विशेष टोलीमार्फत निरन्तर स्वास्थ्य परीक्षण तथा मनोसामाजिक परामर्श सेवा उपलब्ध गराइएको प्रधानमन्त्रीले बताउनुभएको छ । “अस्थायी बसाइलाई सकेसम्म छोटो बनाइ हजुरहरूलाई हरसम्भव छिटो सुरक्षित बसोबासको व्यवस्था मिलाउने छौँ”, उहाँले भन्नुभएको छ ।

    बाढीबाट प्रभावित ज्येष्ठ नागरिकको पीडा आफूहरूले हृदयदेखि महसुस गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनको कठिन मोडमा उनीहरूलाई कहिल्यै अलपत्र नछाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “हजुरहरूले आफूलाई एक्लो नठान्नु होला । जीवनको यो कठिन मोडमा हजुरहरूलाई कहिल्यै अलपत्र छोड्दैनौँ । हजुरहरूसँग यो राज्य छ, यो सरकार छ”, उहाँले भन्नुभएको छ । जीवनमा अनेक घामपानी, खडेरी र आँधीबेहरी पार गरेका ज्येष्ठ नागरिक भोटेकोशीको बाढीले ओत र जायजेथा बगाए पनि उनीहरूको स्वाभिमान, अनुभव र मार्गदर्शनको अपरिहार्यतालाई बगाउन नसकेको प्रधानमन्त्रीको भनाइ छ ।

    “हजुरहरू यो देशका जग र हाम्रा मार्गदर्शक हुनुहुन्छ”, उहाँले भन्नुभएको छ, “कृपया मन दह्रो बनाइदिनुहोस् र हामीलाई परिवारकै सदस्य मानेर सल्लाह र मार्गनिर्देशन गर्नुहोस् ।” प्रधानमन्त्रीले बाढीका क्रममा धेरै आमाबुबालाई गुमाउनुपरेको दुःखद् पक्षसमेत उल्लेख गर्नुभएको छ । उहाँहरू सिङ्गो घरको मूल खम्बा, संस्कार र ज्ञानका स्रोत रहेको उल्लेख गर्दै उहाँहरूप्रति भावपूर्ण सामूहिक श्रद्धाञ्जली अर्पण गर्नुभएको छ । आफन्त गुमाएर अथाह पीडामा रहेका नागरिकको आक्रोश स्वाभाविक भएको उहाँले बताउनुभएको छ ।

    “एकै क्षणमा आफ्नो संसार गुमाएकाहरूको आक्रोश, आक्रोशभन्दा बढी पीडा व्यक्त गर्ने माध्यम हो”, उहाँले भन्नुभएको छ । पीडामा रहेका मानिसको आक्रोशलाई संयमतापूर्वक सुन्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्रीले यस्तो संवेदनशील घडीमा पीडितमाथि अनावश्यक टिप्पणी गर्ने, हियाउने र थप पीडा दिन खोज्नेप्रति सरकार निर्मम हुने चेतावनी दिनुभएको छ । बाढीपछि उद्धार तथा खोजीमा सुरक्षाकर्मी अझै खटिरहेको उल्लेख गर्दै प्रधानमन्त्रीले दलदल र खण्डहर बनेका क्षेत्रमा सुरक्षाकर्मीले आफ्नो ज्यान जोखिममा राखेर खोजी गरिरहेको बताउनुभएको छ ।

    “हाम्रा सुरक्षाकर्मीहरू अझै पनि कुनै बहाना नबनाई बाढीपछिको दलदल र खण्डहर बनेका क्षेत्रमा खोस्रिरहेका छन् । उहाँहरूका आँखा चनाखा छन्”, उहाँले भन्नुभएको छ । आफ्नो ज्यान जोखिममा राखेर उद्धार तथा खोजीमा खटिएका सुरक्षाकर्मीप्रति हरेक दिन हृदयदेखि कृतज्ञता व्यक्त गर्नुपर्ने र उनीहरूको आत्मबल बढाउनु सबैको कर्तव्य भएको प्रधानमन्त्रीले बताउनुभएको छ ।

  • टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

    टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

    काठमाडौँ,२० भदौ : रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा राखिएको छ । गोसाइकुण्ड गाउँपालिका–२ रसुवागढीस्थित उक्त अन्तरराष्ट्रिय सीमा नाकामा आज सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त टोलीले झण्डा राखेको हो ।

    यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले उक्त सीमा नाकामा नेपालतर्फ रहेका सम्पूर्ण संरचना बगाएको थियो । सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) टिमुरेबाट गएको टोलीले करिब तीन किलोमिटर जोखिमयुक्त भीर पार गरी सीमा नाकामा झण्डा राखेको प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

  • नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

    नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन

    काठमाडौँ, २० भदौः किक बक्सिङको इतिहासमा नेपाली युवा बक्सर अविरल घिमिरे ‘हिमालयन चितुवा’ ले पुनः एकपटक ऐतिहासिक सफलता हात पार्न सफल भएका छन् । जापानको नागोया सहरको करिया हलमा आज साँझ सम्पन्न ‘हिट किक बक्सिङ– ५९ अन्तरराष्ट्रिय खेलकुद किक बक्सिङ महासङ्घ, विश्व च्याम्पियनसिपको मेन इभेन्ट प्रतियोगितामा ‘हिमालयन चितुवा’ ले फ्रान्सका प्रतिस्पर्धी बक्सर माथन चोइनार्डलाई नक आउटमा पराजित गर्दै नयाँ इतिहास कायम गर्न सफल हुनुभएको छ ।

    प्रतिस्पर्धी बक्सर चोइनार्ड सन् २०२५ का विश्व च्याम्पियन खेलाडी हुन् । दोस्रो राउण्डको दोस्रो मिनेटमा बक्सर घिमिरले कडा मुक्का प्रहार गर्दै प्रतिस्पर्धी चोइनार्डलाई नकआउटमा पराजित गर्न सफल हुनुभयो । हालसम्म २९ अन्तरराष्ट्रिय प्रतियोगितामा भाग लिएका उहाँ २१ खेलमा विजय हासिल गर्दा २० मा नकआउट गर्दै जित्ने एक मात्र नेपाली खेलाडी हुनुहुन्छ ।

    नेपालको गौरव, नेपालको साहस र नेपाली शानलाई किक बक्सिङ खेलमार्फत देशको पहिचान अन्तरराष्ट्रिय जगतमा पुर्याउने बक्सर घिमिरे नेपालको चम्किला तारा बनेका छन् । विजय प्राप्त गरेपछि बक्सर घिमिरेले हालै रसुवाको भोटेकोशी बाढीबाट उत्पन्न जनधनको अपूरणीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडितलाई सहयोग गर्ने जानकारी दिनुभयो । साथै हालसम्म आइ आफ्नो खेललाई साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद दिनुभयो ।

  • कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु

    कास्की पहिरो अपडेटः दुई कामदारको मृत्यु

    कास्की, २० भदौः कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत् आयोजनाको पहुँचमार्ग (एक्सेस रोड) खन्ने क्रममा पहिरो खस्दा गम्भीर घाइते भएका दुई कामदारको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा धनकुटाको पाख्रीबास नगरपालिका–८ घर भई आयोजनामा कार्यरत २६ वर्षीय आयुष राई र खोटाङको केपिलासगढी गाउँपालिका–१ का २७ वर्षीय किसान राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानका अनुसार दुवै जनाको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    घटनामा परी इलाम घर भएका ३२ वर्षीय भक्तबहादुर मगर घाइते छन् । उनको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको र घुँडामा चोट लागेको प्रहरीले जनाएको छ । आज बिहान करिब ११ः०० बजे जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माणका लागि सडक खन्ने काम भइरहेका बेला माथिबाट अचानक पहिरो खसेको थियो । पहिरोमा परेका कामदारलाई घटनालगत्तै स्थानीयवासी र प्रहरीले उद्धार गरी उपचारका लागि मणिपाल शिक्षण अस्पताल पुर्‍याएका थिए । सुपर सेती जलविद्युत् आयोजना कास्कीको माछापुच्छ्रे गाउँपालिकामा निर्माणाधीन २४ मेगावाट क्षमताको आयोजना हो ।

  • भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी

    भोटेकोशी बाढीः एक हजार ३४४ शव फेला, खोज तथा उद्धार जारी


    काठमाडौँ, २० भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४४ जनाको शव फेला परेको छ भने चार हजार ८९८ जना अझै सम्पर्कविहीन छन् । प्रहरी प्रधान कार्यालय नक्सालले आज बिहान सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार फेला परेकामध्ये ५२ बालक, ३३ बालिका, २६९ महिला, ४८९ पुरुष तथा ५०१ वटा शव चिन्न नसकिने अवस्थाका फेला परेका नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार अझै चार हजार ८९८ जना सम्पर्कविहीन छन् ।

    सम्पर्कविहीनमध्ये स्वदेशी पुरुष दुई हजार ४४८, महिला ४८२, फोनमा टिपाइएका एक हजार ३५० तथा विदेशी नागरिकतर्फ पुरुष २७४ र महिला ३४४ जना रहेका हरी नायब महानिरीक्षक काफ्लेले जानकारी दिनुभयो । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई सुरक्षा निकायले निरन्तरता दिइरहेको प्रहरीले जनाएको छ । फेला परेकामध्ये एक हजार ३० शव सुरक्षित रूपमा जमिनमा गाडेर व्यवस्थापन गरिएको छ भने बाँकी शवको पहिचान तथा व्यवस्थापन प्रक्रिया अघि बढाइएको छ ।

    बाढीपछि हालसम्म आठ हजार ६३१ जना घाइतेको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजार ६५५ जनालाई सुरक्षित रूपमा होल्डिङ सेन्टरमा राखिएको हरी नायब महानिरीक्षक काफ्लेले बताउनुभयो । यसैगरी मृतक एक हजार २६० जना तथा मृतकका आफन्त ९७२ जना गरी दुई हजार २३२ जनाको डिएनए नमुना सङकलन गरिएको छ । बेपत्ताको पहिचान तथा शवको सनाखतका लागि डिएनए नमुना सङ्कलनलाई प्राथमिकताका साथ अघि बढाइएको प्रहरीले जनाएको छ ।

    भोटेकोशी बाढीपछि ठूलो मानवीय क्षति भएको छ । बाढीमा परी बेपत्ता भएकाको खोजी, उद्धार तथा शव व्यवस्थापनका लागि नेपाल प्रहरीसहित सुरक्षा निकाय र सम्बन्धित विभिन्न सरकारी निकाय निरन्तर परिचालित भइरहेका छन् ।

  • प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन

    प्रधानमन्त्री राहत कोषमा ११ अर्बभन्दा बढी सङ्कलन


    काठमाडौँ, २० भदौः रसुवाका बाढी प्रभावितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढ्दै गएको छ । नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा हाल रु ११ अर्ब पाँच करोड ५६ लाख २६ हजार ९७१ मौज्दात रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ ।

    सरकारले यसअघि उक्त कोषमा जम्मा भएको रु एक अर्ब बाढीप्रभावित क्षेत्रका लागि निकासा गरिसकेको छ । नौ वटा वाणिज्य बैंकमा रु आठ अर्ब छ करोड २५ लाख १५ हजार ५१८ र हिमालयन बैंंक र लक्ष्मी सनराइज बैंकमा रहेको डलर खातामा थप एक करोड ९८ लाख ३७ हजार ६९५ अमेरिकी डलर जम्मा भएको कार्यालयले जनाएको छ ।

  • भोटेकोशी बाढीः एक हजार ३० शवको सुरक्षित व्यवस्थापन

    भोटेकोशी बाढीः एक हजार ३० शवको सुरक्षित व्यवस्थापन


    काठमाडौँ, २० भदौः भोटेकोशी बाढीपछि फेला परेका एक हजार ३४४ मध्ये एक हजार ३० शव सुरक्षित रूपमा माटोमुनि व्यवस्थापन गरिएको छ । फेला परेका शवको पहिचानका लागि डिएनए नमूना सङ्कलनलगायत आवश्यक प्रक्रिया पूरा गरी हालसम्म २२२ महिला, ३५५ पुरूष र ४५३ संवेदनशील अवस्थाका पहिचान नखुलेका शव व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ ।

    शव पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका एक हजार १२ वटा डिएनए नमूना सङ्कलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए । उनका अनुसार डिएनएलगायत आवश्यक विवरण सङ्कलनपश्चात् ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम ती शव जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो ।

    व्यवस्थापनका क्रममा प्रत्येक शवको सङ्केतरकोड नम्बर जमिनमुनि तथा माथि राखिएको छ । त्यस्तै शव व्यवस्थापन गरिएको स्थानको ‘जिपिएस लोकेशन’, फोटो अभिलेख, नक्सासहितको विस्तृत विवरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण विवरण अभिलेखीकरण गरिएका छन् ।

    जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डिएनए नमूना, सङ्केत नम्बर, हुलिया, सनाखतसम्बन्धी विवरण, शव परीक्षण प्रतिवेदन, मुचुल्का, व्यवस्थापन मिति तथा स्थानको विवरण सुरक्षित राखिएको छ । भविष्यमा कुनै परिवाररआफन्तले आफ्नो सदस्यका रूपमा दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानुनी प्रमाणका आधारमा पहिचान गरी ती शव परिवारलाई हस्तान्तरण गरिने प्रहरी प्रवक्ता काफ्लेले उल्लेख गरे ।


    पहिचान नभएका एक हजार २७० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा ‘अपलोड’ गरिएका छन् । आज बिहानसम्म बाढीमा परी निधन भएका एक हजार ३४४ वटा शव विभिन्न जिल्लामा फेला परेका छन् । बाढीप्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण, शव व्यवस्थापनलगायतमा हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको छ ।

    प्रहरीका अनुसार बाढीमा परी बेपत्ता भएका चार हजार ८८६ को खोजी भइरहेको छ । बाढीको जोखिममा रहेका तटीय क्षेत्रका घर परिवारलाई सुरक्षित स्थानमा राख्ने, विभिन्न निकाय र स्थानीयवासीको समन्वय र सहयोगमा खोज तथा उद्धार र सडक अवरोध हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

  • माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

    माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

    नुवाकोट, २० भदौः माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको छ । नेपाली सेना र कोरियाको ‘डिजास्टर’ टोलीले आज दिउँसो १ः२० बजे आयोजनाको अडिट–४ टनेलबाट चिनियाँ नागरिकको उद्धार गरेको नेपाली सेनाले जनाएको छ ।
    गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीका कारण उक्त आयोजनामा ठूलो क्षति पुगेको थियो ।

  • एघार दिनपछि एक महिलाको सकुशल उद्धार

    एघार दिनपछि एक महिलाको सकुशल उद्धार

    त्रिशूली (नुवाकोट(, २० भदौ । भोटेकोशी हुँदै त्रिशुली नदीमा गएको बाढीमा फसेकी एक महिलाको ११ दिनमा सकुशल उद्धार गरिएको छ । सशस्त्र प्रहरी बल १९ नं गुल्मबाट बाढी प्रभावित क्षेत्रमा सशस्त्र प्रहरी निरीक्षक सुमन विकको नेतृत्वमा खटिएको टोलीले विदुर नगरपालिका–१० वेत्रवातीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठलाई घरको चौथो तलाबाट उद्धार गरेको हो ।

    गुल्मका प्रमुख, सशस्त्र प्रहरी नायव उपरीक्षक वीरेन्द्र राउतका अनुसार बाढीबाट प्रभावित वस्तीका घरमा रहेका सामग्री हटाई सहयोग गर्न पुगेको उद्धार टोलीले घरबाट महिलाको आवाज सुनेपछि त्यसलगत्तै उनको उद्धार गरिएको हो। उनी हिलोमा गाडिएको अवस्थामा थिइन् । थप उपचारको लागि श्रेष्ठलाई काठमाडौँ पठाइएको छ।

  • बाढीले चीनतर्फ ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

    बाढीले चीनतर्फ ३१ जनाको मृत्यु, ५३१ बेपत्ता

    गिरोेङ, सिजाङ, २० भदौ (रासस–सिन्ह्वा) । दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रमा चीन–नेपाल सीमास्थित गिरोङ क्षेत्रमा अगस्ट २६ मा गएको पहिरोपछि नदीमा आएको बढीका कारण शुक्रबार साँझ ६ बजेसम्म ३१ जनाको मृत्यु भएको पुष्टि स्थानीय विपत् व्यवस्थापन तथा उद्धार केन्द्रले जनाएको छ । कमाण्ड सेन्टरका अनुसार हिमपहिरोपछि नदीमा आएको बाढीमा ५३१ जना बेपत्ता रहेका छन् । उद्धारकर्मीहरूले उक्त क्षेत्रबाट ९८७ वटा व्यक्तिगत सामान भेट्टाएको बताएका छन् ।

    बुधबारसम्म जी–२१६ उद्धार मार्गमा निरीक्षण गर्दा ५८ वटा सम्भावित भूगर्भीय विपत्का स्थल पहिचान भएका केन्द्रका अधिकारीहरूले बताएका छन् । अधिकारीहरूले प्रभावित तीन गाउँका सम्भावित जोखिमहरूको निरीक्षण र जोखिम मूल्याङ्कन पनि पूरा गरेका छन् भने यसका लागि दुई अस्थायी आपतकालीन आश्रयस्थलका लागि स्थान चयन गरेका छन् । उनीहरूले त्यहाँका लागि आपतकालीन आपूर्ति सेवा व्यवस्थापनका लागि मार्गदर्शनसमेत गरेका छन् ।

    सम्भावित द्वितीयक विपत्का जोखिम पहिचान र रोकथामका लागि मौसम, प्राकृतिक स्रोत, जलस्रोत र आपतकालीन व्यवस्थापन अधिकारीहरूका साथै चाइनिज साइन्स एकेडेमी र चीन सुरक्षा विज्ञान तथा प्रविधि एकेडेमीका १७२ विज्ञ र प्राविधिक जनशक्ति बुधबार दिउँसो ४ बजेसम्म उक्त स्थलमा खटिएका छन् । हिमाली षेत्रमा बरफ–चट्टान पहिरोका कारण आएको यो विनाशकारी पहिरोले गिरोङ बन्दरगाह भएर बग्दै भवनहरू, विद्युत आपूर्ति र गिरोङ बन्दरगाहतर्फ जाने जी२१६ राजमार्गको एक खण्ड नष्ट गरेको थियो, जसले विपत् व्यवस्थापन र उद्धार कार्यलाई गम्भीर रूपमा बाधा पु¥याएको थियो ।

    यस्ता कठिनाइका बाबजुद चीनले तुरुन्तै हेलिकोप्टर, स्पिडबोट र रबरको डुङ्गा परिचालन गरी उद्धारकर्मीहरूलाई पहिरो प्रभावित बन्दरगाहमा पु¥याएको छ । स्थलगत उद्धार टोलीले १२ घण्टा ठाडो पहाडी सडक पार गर्दै पैदल उक्त क्षेत्रमा पुगेका थिए । उक्त क्षेत्रमा करिब दुई हजार ३०० उद्धारकर्मी, ४०० भन्दा बढी खोज तथा उद्धार सवारीसाधन, आठ हजारभन्दा बढी व्यावसायिक उपकरणका सेट, ८०० भन्दा बढी ड्रोन उडान र २४ हेलिकोप्टर उडान परिचालन गरिएका छन्।

  • दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्

    दिदीबहिनीलाई तीजको उपहार किनेर राखे, तर गोविन्दले दिन पाएनन्

    रासस
    कास्की, २० भदौः रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत पोखरा–१४ समावेशी टोलका गोविन्दबहादुर अधिकारीको यसपटक तीजमा घर आउने योजना थियो । आफ्ना दिदीबहिनीसँग बसेर तीज मनाउने र उनीहरूका लागि किनेका नयाँ कपडा उपहार दिने सोचमा हुनुहुन्थ्यो ।

    यही भदौ ९ गते साँझ ‘भिडियो कल’मार्फत किनेका कपडा देखाउँदै ‘यो कलर कस्तो छ’ भन्दै उहाँले परिवार र दिदीबहिनीसँग खुशी साट्नु भएको थियो ।

    दिदीबहिनीलाई तीजको उपहार दिने र परिवारसँगै चाड मनाउने उहाँको त्यो सपना अब सँधैका लागि अधुरै रह्यो । टिमुरे भन्सार कार्यालयमा सवारी चालकका रूपमा कार्यरत ४७ वर्षीय अधिकारी गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परेर सम्पर्कविहीन हुनुभयो । बाढीमा परेका उहाँको अवस्था त्यसयता अज्ञात छ ।

    घटनापछि ज्यान जोगाएर फर्किन सफल उहाँका सहकर्मीका अनुसार अधिकारी बाढी आउनुअघि अन्य साथीसँगै कार्यालयकै काममा हुनुहुन्थ्यो । सोही बाढीमा भन्सार कार्यालयका १५ कर्मचारी सम्पर्कविहीन भएका थिए ।

    पोखरा विमानस्थल भन्सार कार्यालयबाट करिब छ महिनाअघि टिमुरे सरुवा भएर जानुभएका अधिकारी यसबीचमा दुई पटक घर आउनुभएको थियो । परिवारका सदस्य उहाँ फेरि सकुशल घर फर्किनुहुन्छ भन्ने आशामा बसे तर,उहाँको कुनै खबर आएन ।

    बाढी आएको दिन बिहानसम्म अधिकारी परिवारसँग सम्पर्कमा हुनुहुन्थ्यो । त्यसपछि भने उहाँसँग परिवारको कुनै सम्पर्क हुन सकेन ।

    परिवारले पटक–पटक उहाँको मोबाइलमा फोन ग¥यो । विभिन्न ठाउँमा बुझे र अस्पताल र शव राखिएका स्थानमा समेत खोजी ग¥यो । सुरुमा अप्ठ्यारो भूगोलका कारण सम्पर्क हुन नसकेको हुनसक्ने भन्दै परिवारले उहाँ सकुशल फर्किने आशा मारेको थिएन ।

    बिहीबार घटनास्थलको प्रत्यक्ष अवलोकन गरेर पोखरा फर्किएपछि भने परिवारको आशा समाप्त भयो । लामो समयसम्म कुनै जानकारी नपाएपछि परिवारले हिन्दु संस्कारअनुसार शुक्रबार कुशको शव बनाएर शुक्रबार रामघाटस्थित सेती नदीमा अन्त्येष्टि गरेर काजकिरिया सुरु गरेको छ ।

    छोरा विनय अधिकारीले बुबासँग बाढी आउनु दिनको विहानसम्म परिवारको सम्पर्क रहेपनि त्यसपछि कुराकानी हुन नसकेको बताउनुभयो ।

    “बुबा सकुशल आउनुहोला भनेर धेरै कामना गरेर बस्यौँ । तर केही जानकारी पाउन सकिएन। हिजो टिमुरे पुगेर साँझ फर्किएपछि त्यहाँको अवस्था देख्दा अब बुबा आउनुहोला भनेर आशा गर्ने ठाउँ नै रहेन ।” उहाँले मलिन अनुहार र सुस्त आवाजमा भन्नुभयो ।

    बुबा बेपत्ता भएपछि परिवारले कम्तीमा शव भए पनि भेटिन्छ कि भन्ने आशामा विभिन्न अस्पताल र स्थानमा खोजी गरेको विनयले बताउनुभयो । धादिङमा एउटा शवको तस्बिर मिल्दोजुल्दो देखिएपछि परिवार शव पहिचानका लागि त्यहाँसम्म पुगेको थियो । तर, प्रत्यक्ष रूपमा शव हेर्दा त्यो अधिकारीको नभएको पुष्टि भयो ।

    “धादिङमा भेटिएको शवको तस्बिर हेर्दा मिल्दोजुल्दो देखिएपछि हामी गयौँ,” विनयले भन्नुभयो, “तर हातमा भएको ट्याटुका आधारमा त्यो शव बुबाको नभएको पुष्टि भयो ।”

    अधिकारीका छिमेकी र मिल्ने साथी रहनुभएका नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधव बरालले अधिकारी सम्पर्कविहीन भएदेखिनै समावेशी टोलमा सन्नाटा छाएको बताउनुभयो ।

    सहयोगी, मिलनसार र सामाजिक स्वभावका अधिकारी बेपत्ता भएपछि टोलवासी पनि निरन्तर खोजीमा जुटेको उहाँले बताउनुभयो । शव वा अन्य कुनै सुराकको खोजीमा पोखरा, चितवनलगायतका अस्पतालसम्म पुगे पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन नसकेको उहाँको भनाइ छ ।

    “जागिरका क्रममा उहाँ टिमुरे गए पनि हामीबीच दैनिकजसो कुराकानी हुन्थ्यो । टाढा रहे पनि उहाँलाई टोल र छिमेकको सधैँ चासो हुन्थ्यो । कसैलाई अप्ठ्यारो पर्दा सबैभन्दा अगाडि सर्ने स्वभाव थियो । साथीको यस्तो अकल्पनीय घटनाले हामीलाई गहिरो पीडा दिएको छ,” बरालले दुःख व्यक्त गर्नुभयो ।

    सामाजिक कार्यमा सक्रिय अधिकारी गीत–सङ्गीतमा पनि उत्तिकै रुचि राख्नुहुन्थ्यो । समावेशी टोलको सहसचिवका रूपमा उहाँले टोलका समस्या समाधान र विकासका काममा सक्रिय भूमिका निर्वाह गर्नुभएको थियो ।

    उहाँको अर्को विशेष परिचय थियो मुरलीको मधुर धुन । विशेषगरी साथीभाइ जम्मा भएको बेला मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउने उहाँको कला टोलवासीका लागि अहिले सम्झना बनेको छ ।

    छिमेकी घनश्याम पाण्डेका अनुसार अधिकारी घरमा हुँदा मुरली कहिल्यै छुटाउनुहुन्नथ्यो ।

    “साथीभाइ जम्मा हुनेबित्तिकै उहाँ मुरली बजाएर सबैलाई मन्त्रमुग्ध बनाउनुहुन्थ्यो । उहाँ घरमा हुँदा मुरली सधैँ साथमै हुन्थ्यो। त्यसैले कुशको शवसँगै एउटा मुरली पनि राखिदिएका छौँ । अर्को मुरली उहाँको सम्झनाका लागि घरमै राखेका छौँ,” पाण्डेले भन्नुभयो ।

    तनहुँको तत्कालीन मिजुङ गाविस तथा हालको भानु नगरपालिका–५ स्थायी घर भएका अधिकारीको परिवार विगत १५ वर्षदेखि पोखरा–१४, समावेशी टोलमा बसोबास गर्दै आएको छ । उहाँका आमा, श्रीमती, एक छोरा, एक छोरी, तीन दिदी र एक बहिनी हुनुहुन्छ ।

    गत भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीपछि पोखराका १२ जना अझै सम्पर्कविहीन रहेका छन् । घटनामा परेर कुनै जानकारी नपाएकाका परिवारले अझै पनि आफ्ना प्रियजन आउने झिनो आसमा छन् ।

    बाढीपछि सम्पर्कविहीन भएका तीन जना भने पछि परिवारको सम्पर्कमा आएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले बताउनुभयो । अन्यको अवस्था भने हालसम्म अज्ञात रहेको उहाँले जानकारी दिनुभयो ।

  • ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

    ‘पर्खी बसे तिमीलाई फर्की आएनौँ’

    प्रगति ढकाल\रासस

    काठमाडौँ, २० भदौ ।
    म त पर्खेको पर्खै छु
    बतास बनी छुन आइदेऊ न
    फेरि मेरै हुन आइदेऊ न
    बतास बनी छुन आइदेऊ न
    फेरि मेरै हुन आइदेऊ न
    म त पर्खेको पर्खै छु
    म त पर्खेको पर्खै छु
    मत पर्खेको पर्खै छु….


    उक्त हरफहरू नेपाली सुगम संगीत क्षेत्रका चर्चित गायक, लेखक तथा सङ्गीतकार देवेन्द्र बब्लुद्वारा रचना गरिएको विरह रसले भरिएको गीत

    ‘म त पर्खेको पर्खै छु’ बाट साभार गरिएको हो ।

    यस गीतमा प्रेमको गहिरो अनुभूति, बिछोडको अनन्त पीडा र आफ्नो प्रियतम \प्रियसीलाई पुनः आफ्नो जीवनमा फिर्ता पाउनका लागि गरिएको आत्मिक पुकारलाई व्यक्त गरिएको छ । छोडेर जानेहरूको यादमा पर्खनेहरुको एउटा पीडा बोकेको उक्त गीतको भाव ठ्याक्यै मिल्न गएको छ, काठमाडाँै गोङ्गबुका परिवेश चिलुवालका लागि ।

    मायालु र असल श्रीमती अनुष्का पाण्डे । काखमा दुई वर्षको छोरा । गर्भमा हुर्किरहेको अर्को सन्तान । परिवार पूर्ण बन्दै थियो । घरमा खुसीको वातावरण थियो । केही समयपछि परिवारमा नयाँ सदस्य थपिँदै थियो । दोस्रोपटक अभिभावक बन्ने उत्साहले परिवेश र अनुष्काको मनमा अनेकौँ सपना सजिएका थिए । छोराले भाइ वा बहिनी पाउने दिन गन्दै थिए । गर्भमा हुर्किरहेको शिशुको आगमनका लागि परिवार आतुर थियो ।

    अब एक महिना मात्र बाँकी थियो । “अब त त्यो दिन पनि चाँडै आए हुन्थ्यो,” दम्पतीबीच यस्तै कुरा हुन्थे । तर यही भदौ १० गते बिहान कसैले कल्पना नगरेको एउटा विपत्ति आयो । सबै सपना एकाएक चकनाचुर पारिदियो ।

    जुन घरमा अर्को सदस्यको आगमनको तयारी भइरहेको थियो, त्यही घरबाट अहिले गर्भवती अनुष्का र उहाँको दुई वर्षे छोरा हराइरहेका छन् । प्रतीक्षा पहिलेको जस्तो छैन । पहिलेको प्रतीक्षा खुसीको थियो । अहिलेको प्रतीक्षा पीडाको छ । पहिले पेटमा हुर्किरहेको सन्तानलाई काखमा लिने दिनको प्रतीक्षा थियो । अहिले हराएकी जीवनसङ्गिनी र छोरा फर्केर आउने आशाको प्रतीक्षा छ ।

    भोटेकोशीमा आएको विनाशकारी बाढीले अनुष्कालाई परिवारबाट टाढा बनाइदियो । एकैछिनमा परिवेशको संसार फेरियो । श्रीमतीसँगै सजाएका सपना नदीको भेलसँगै बगेझैँ भए । दुई वर्षको छोरा पनि अनुष्कासँगै बगेँ । संसार राम्रोसँग चिन्न बाँकी नै थियो । अझ पेटमा हुर्किरहेको शिशुले संसार देख्नै पाएको थिएन ।

    रसुवाको टिमुरे स्वास्थ्यचौकीमा कार्यरत हुनुहुन्थ्यो अनुष्का । श्रीमान् परिवेश भने केही दिनअघि मात्रै काठमाडौँ फर्किनुभएको थियो । अनुष्काको पनि केही दिनपछि काठमाडौँ आउने तयारी थियो ।

    बाढी आएको दिनदेखि नाबालक छोरासहित सम्पर्कविहीन हुनुहुन्छ । दुर्गममा अरुको स्वास्थ्यमा खटिएर जीवन जोगाउन लाग्ने अनुष्काको जीवन जोगिएको छ कि छैन पत्तो छैन । कतै घाइते भएर बस्नुभएको पो छ भन्ने झल्को परिवारलाई आउँछ । घटना भएको अघिल्लो रात परिवेश र अनुष्काबीच कुराकानी भएको थियो । त्यो दिन बिहान भने कुरा हुन पाएन ।

    भदौ १० गते बिहानीपख रसुवामा ठूलो बाढी आयो भन्ने खबर पाउनुभयो परिवेशले । मोबाइलमा भिडियोहरू पनि आउन थाले । दर्दनाक दृश्यले मन झस्कायो । श्रीमती र बच्चाको के हालत होला भाग्न सक्नुभयो कि भएन होला रु मन भतभती पोल्यो । पटकपटक श्रीमतीलाई फोन गर्दा सम्पर्क भएन । कता होलिन् रु यत्रो विपत्तिमा भाग्न भ्याएकी होलिन् कि भ्याइनन् होलिन् रु विचरा आठ महिनाको गर्भको शिशु दुई वर्षे बच्चा बोकेर कसरी दौडिन् होलिन् रु आफ्नो प्राणभन्दा प्यारो बच्चालाई जोगाउन कति प्रयास गरेकी होलिन् रु यी र यस्तै प्रश्नको घेरामा थियो उहाँको मन पनि ।
    घण्टा बित्तै गयो । दिन पनि बित्न लाग्यो । घाम अस्ताएर साँझ पर्ने तर्खर ग¥यो । रात प¥यो । बाहिर अँध्यारो बढ्दै थियो तर परिवेशको मनमा अनिश्चितताको अँध्यारो झन बाक्लिँदै गयो । न श्रीमतीको फोन आउँछ न उहाँको खबर ।

    मनमा झन चिसो पस्यो । परिवेश भने श्रीमती अनुष्काको एक कल म ठीक छु भन्ने आवाज सुन्न आतुर हुनुहुन्थ्यो । घरिघरि मोबाइल हेर्नुहुन्थ्यो । कसैको फोन आए पनि अनुष्काकै हो कि भन्ने झल्को लाग्थ्यो । रात पनि बित्यो । भोलिपल्टको बिहानी सुरू भयो । अझै खबर आएन । मन अतालिन थाल्यो ।

    आमा, छोरा कतै कुनै अस्पतालमा उपचारत छन् कि भन्दै खोजी हुन थाल्यो । पत्तो पाइएन । दिन बित्दै गए । साता दिन नाग्यो । न फोन आयो । न अनुष्का आउनुभयो । न सास भेटियो न लास भेटियो । न फर्कने पूर्ण आश छ । न पूर्ण रूपमा आश मार्न सकिएको छ । “छोरा डोहोराउँदै अनुष्का अझै आउछिन् होला । छोराले बाबा भनी बोलाउँछ होला भन्ने अझ आशा लागेर कुरिरहेकै छु ।

    फर्केर उनी आएकी छैनन्,” परिवेश भन्नुहुन्छ, “घटना हुनु अघिल्लो रातको जस्तै हरेक रातमा लाग्छ–अनुष्काको फोन आउँछ र भन्छिन्, समयमा नै सुत्नु बुढा भोलि कुरा गराँैला । ‘गुड नाइट । टेक केयर ।’ झल्को लाग्छ । तर फोन आउँदैन ।” एकैछिन फोन नउठ्दा के भयो होला रु भनेर अत्तालिने परिवेश । अहिले त साता दिनसम्म कुरा नहुँदा छटपटीमै समय बितिरहेको छ । यस्सो लड्दा अइया बाबा।।। बाबा भन्ने छोरा । ढुङ्गा माटो, चट्यानसहित भेलमा बग्दै गर्दा कति ठोक्कियो होला । अइया बाबा।।। पनि भन्न पाएन होला ।

    अग्निलाई साक्षी राखेर जुनीजुनीसँगै जीउने मर्ने कसम खाएर बिहे बन्धनमा बाधिएको यो जोडी अब सधैँका लागि छुट्टिएका हुन् या कुनै आश्चर्य भएर अनुष्का फर्केर आउने छिन् त्यो भने पत्ता छैन ।

    परिवेशको घरमा अनुष्काको सम्झना ताजा छ । उहाँले लगाएका कपडा, प्रयोग गरेका सामान र घरका कुनाकाप्चामा रहेका उहाँका सम्झनाले हरेक क्षण परिवेशलाई झस्काइरहन्छन् । परिवेश अझै आशावादी हुनुहुन्छ, सायद कुनै दिन ढोकामा अनुष्का उभिएर भन्नेछिन्ः “म आएँ नि ।” त्यही एउटा आशाले परिवेशलाई पर्खाइरहेको छ । परिवेशको प्रतीक्षा रोकिएको छैन । उहाँको मनमा अझै एउटा विश्वास बाँकी छ–अनुष्का फर्केर आउन सक्छिन् ।
    बतास बनी छुन आइदेऊ न,
    फेरि मेरै हुन आइदेऊ न…

    गीतकारले “यस हरफमा प्रेमीको निस्वार्थ र पवित्र पर्खाइ बसिरहेको कुरालाई स्पष्ट पारेका छन् । गीतमा मायालुले छोडेर गए पनि प्रेमीको मनमा उसको उपस्थितिको तिर्सना मेटिएको छैन । यस्तै भएको छ परिवेशका लागि पनि । गीतकारले भनेझँै परिवेशलाई पनि लाग्दो हो– अनुष्का तिमी आफ्नै रूपमा आउन सक्दैनौँ भने पनि कमसेकम ‘बतास’ (हावाको झोक्का) बनेर भए पनि आउ र मलाई स्पर्श गरेर जाउ, ताकि म तिम्रो सामीप्यता महसुस गर्न सकूँ । समय बित्दै जाँदा मधुरो बन्दै गएको आशाको दियो, निम्न लागिसक्यो । पत्तो छैन अझै ।

    जब जब मलाई उज्यालोको आश लाग्छ
    आमा यो टुकीमा किन बतास लाग्छ रु

    गलकार प्रदीप रोदनले बहिनी अनुष्का र अन्य बाढीमा बेपत्ता भएर सासको आशामा बस्नेहरुलाई इङ्गित गरेजस्तै भएको छ ।

    “अनुष्का नानु, दुई वर्षको बच्चा काखमा र आठ महिनाको शिशु कोखमा लिएर कसरी दौडियौँ होला । कहाँ छौँ तिमी रु बा हरू खोज्न निस्कनुभएको छ । एक आवाज देउ ल रु गलकार प्रदीपले अनुष्कालाई इङ्कित गर्दै केही दिनअघि लेख्नुभएको यो ‘स्टाटस’ले जो कोहीलाई पनि भावुक बनाउँछ ।

    भोटेकोशी बाढीजस्ता विपद्मा गर्भवती महिलाजस्ता अन्य अशक्त व्यक्ति बढी प्रभावित हुने गरेका छन् । बाढीको सूचना पाएपछि त्यस दिन नुवाकोटको त्रिशूलीकी २७ वर्षीया सिर्जना नगरकोटीले पनि सात महिनाको गर्व बोकेर बल्लतल्ल भागेर ज्यान जोगाउनुभयो । तर गर्भमा रहेको बच्चाको अवस्थाबारे थाहा पाउन र नियमित स्वास्थ्य परीक्षण गर्न तथा चिकित्सकले सुझाएअनुसारको पोसिलो खानेकुरा खान पाउनुभएको छैन ।

    विपद्बाट सबैभन्दा बढी गर्भवती महिला जोखिममाः चिकित्सक

    भोटेकोशी बाढीजस्ता प्राकृतिक विपद्का समयमा गर्भवती महिला र गर्भमा रहेको शिशु बढी जोखिममा पर्ने बताउनुहुन्छ निजामती कर्मचारी अस्पतालका स्त्रीरोग विशेषज्ञ डा अरुणप्रसाद जोशी । “विपद्का बेला अरु साधारण व्यक्तिजस्तै गर्भवती महिला सुरक्षित स्थानतर्फ भाग्न सक्दैनन् । भोटेकोशी बाढीको समयमा पनि तत्काल भाग्न नसक्दा कतिपय गर्ववती आमालाई भेलले बगायो । कतिपय अझै बेपत्ता त कति अझै घाइते हुनुहुन्छ,” उहाँ भन्नुहुन्छ, “बाढीबाट जोगिन भाग्ने क्रममा अत्यधिक शारीरिक परिश्रम र चोटपटकका कारण रक्तस्राव हुने तथा गर्भ खेर जाने समस्या पनि देखिन सक्छ ।”

    डा जोशीले बाढी गएको एक साताभन्दा बढी भइसकेको र कतिपय शव अझै व्यवस्थापन हुन नसक्दा प्रभावित क्षेत्रमा सङ्क्रमण तथा महामारीको जोखिमसमेत बढाउनसक्ने बताउनुभयो । यस्तो अवस्थामा गर्भवती महिलामा विभिन्न स्वास्थ्य समस्या देखिनसक्ने भएकाले उनीहरूको स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने उहाँको भनाइ छ ।

    “भोटेकोशी बाढीबाट बाच्न सफल हुने गर्भवतीका लागि नियमित खाना खान, आराम गर्न र स्वास्थ्य परीक्षण गराउन कठिन भइरहेको छ । यस्तो अवस्थामा घटनाले मानसिक तनावसमेत बढाउन सक्छ,” उहाँले भन्नुभयो, “सडक तथा यातायात प्रभावित हुँदा प्रभावित क्षेत्रका कतिपय गर्भवती महिला समयमै स्वास्थ्य संस्थामा पुगेर नियमित परीक्षण गराउन पाइरहेका हुँदैनन् ।”

    यस्तो अवस्थामा गर्भवती महिलाको योनीबाट रक्तस्राव भएमा, पानी गएमा वा बच्चा नचलेमा तत्काल स्वास्थ्य संस्था वा अस्पताल पु¥याउनुपर्नेमा जोड दिनुहुन्छ, डा जोशी । “यस्तो अवस्थामा राज्यले पनि प्रभावित गर्भवती महिलालाई स्वास्थ्य संस्थासम्म पुग्न आवश्यक सहजीकरण गर्नुपर्छ,” उहाँले भन्नुभयो । डा जोशीले विपद्पछि गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, पोषण, आराम र मानसिक स्वास्थ्यमा समेत विशेष ध्यान दिँदै आमा र बच्चाको सुरक्षाका लागि राज्यले पहल गर्नुपर्ने सुझाव दिनुभयो ।

    विपद्मा गर्भवती तथा अन्य असहायलाई बढी प्रथामिकता

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतले गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा, अपाङ्गता भएका व्यक्ति तथा अन्य असहाय नागरिकलाई भोटेकोशी बाढीजस्ता विपद्का समयमा उच्च प्राथमिकता दिइएको बताउनुभएको छ ।

    उहाँले विपद्को पूर्वसूचना सम्प्रेषणदेखि खोज तथा उद्धार, राहत, स्वास्थ्य उपचारलगायत सेवामा जोखिममा रहेका तथा विशेष सहयोग आवश्यक पर्ने नागरिकलाई प्राथमिकता दिइएको जानकारी दिनुभयो । “विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरणसम्बन्धी रणनीतिक कार्ययोजना, २०८१ अनुसार असहाय, बालबालिका र वृद्धवृद्धालाई प्राथमिकता दिएका छौँ । अपाङ्गतामैत्री विपद् पूर्वसूचना सम्प्रेषण पनि गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

    प्रवक्ता महतले भोटेकोशी बाढीप्रभावित गर्भवती तथा अन्य असहाय व्यक्तिलाई स्वास्थ्य सेवा तथा आवश्यक सहजीकरणका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको बताउनुभयो । “अझै थप छलफल गरेर प्रभावितलाई कसरी सहज रूपमा सेवा उपलब्ध गराउन सकिन्छ भन्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरिरहेका छौँ,” उहाँले भन्नुभयो ।

  • भाद्र कृष्ण नवमीः श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

    भाद्र कृष्ण नवमीः श्रीकृष्ण रथयात्रा एवं शोभा यात्रा गरिँदै

    काठमाडौँ, २० भदौः श्रीकृष्णको जन्म भएको खुशियालीमा आज देशका विभिन्न भागमा रथयात्रा एवं शोभायात्रा निकालिँदै छ । पापका पक्षमा लाग्नेको संहार गरी सज्जनको रक्षा गर्न भगवान् श्रीकृष्णले जन्म लिनुभएको भन्ने जनविश्वाससहित भाद्र कृष्ण नवमीका दिन देशभरका कृष्ण मन्दिरमा रथयात्रा एवं शोभायात्रा निकाल्ने परम्परा सुरु गरिएको हो । यस अवसरमा उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको नेपाल अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) को कार्यालय परिसरबाट आज विशेष रथयात्रा निकाल्ने कार्यक्रम छ ।

    यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाले पनि आज श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने तयारी गरेका छन् । यसैगरी गोकर्णेश्वर ८ स्थित बेँशीगाउँमा रहेको श्रीकृष्ण मन्दिर क्षेत्रबाट पनि आज रथयात्रा निकालिने कार्यक्रम रहेको वडाध्यक्ष नन्दलाल श्रेष्ठले राससलाई जानकारी दिए । रथयात्रामा हजारौँ मानिस सहभागी हुन्छन् ।

    बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका भगवान् श्रीकृष्णले पुतना, कङ्श, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । धर्म स्थापनाका लागि युग युगमा जन्म लिन्छु भनी कुरुक्षेत्रमा अर्जुनलाई सत्यको पक्षमा लाग्नेको रक्षा असत्यका पक्षमा लाग्नेको संहार गर्न अवतार लिने गरेको प्रसङ्ग पनि विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।

  • भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका

    भोटेकोशी बाढी : राहत जुटाउँदै चितवनका स्थानीय पालिका


    नारायणगढ (चितवन), २० भदौः भोटेकोशी बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि चितवनका स्थानीय तहले आर्थिक, भौतिक तथा प्राविधिक सहयोग गरिरहेका छन् । स्थानीय तहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम सहयोग गर्नुका साथै बाढीमा बेपत्ता भएकाको खोजी, शव व्यवस्थापन तथा उद्धारका लागि एम्बुलेन्स, शववाहनलगायतका साधन परिचालन गरेका छन् ।

    इच्छाकामना गाउँपालिकाले भोटेकोशी बाढीमा परी बेपत्ता भएका आफ्नो पालिकाका स्थायी बासिन्दाको खोजी तथा उद्धारका लागि जनही रु २५ हजार उपलब्ध गराउने भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकराज खत्रीका अनुसार हालसम्म पालिकाका चार जना बाढीमा परी बेपत्ता भएको जानकारी प्राप्त भएको छ । गाउँपालिकाले जनप्रतिनिधि, कर्मचारी तथा विपद् व्यवस्थापन कोषबाट रु ११ लाख सहयोग गर्ने निर्णयसमेत गरेको छ ।

    पीडित परिवारलाई आफन्तको खोजीका लागि केही भए पनि राहत पु¥याउने उद्देश्यले रकम उपलब्ध गराउन लागिएको उनले बताए । खोज, उद्धार तथा शव व्यवस्थापनका लागि पालिकाका एम्बुलेन्स र शववाहनसमेत परिचालन गरिएको उनले जानकारी दिए । यसैगरी, कालिका नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३५ लाख सहयोग गरेको छ । नगरपालिकाका प्रमुख विनोद रेग्मीका अनुसार जनप्रतिनिधि तथा कर्मचारीबाट सङ्कलित रु २६ लाख र नगरपालिकाको विपद् कोषबाट रु नौ लाख गरी उक्त रकम सहयोग गरिएको हो ।

    माडी नगरपालिकाले रु ४३ लाख ९८ हजार २०६ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पठाउने निर्णय गरेको छ । नगर कार्यपालिकाको ८४औँ बैठकले उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो । माडी नगरपालिकाका प्रमुख ताराकुमारी काजी महतोका अनुसार उक्त रकममध्ये आपत्कालीन विपद् व्यवस्थापन कोषबाट रु १० लाख, जनप्रतिनिधिको सेवा सुविधाबाट रु एक लाख ५८ हजार ६९७, नगरपालिकाका कर्मचारीको तलबबाट रु १२ लाख ५९ हजार ६४१ तथा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको सेवा सुविधा र तलबबाट रु १९ लाख ७९ हजार ८६८ रहेको छ ।

    त्यस्तै, खैरहनी नगरपालिकाले राहत तथा पुनःस्थापनाका लागि रु १५ लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उपलब्ध गराउने निर्णय गरेको छ । भदौ १८ गते बसेको नगर कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको हो । राप्ती नगरपालिकाले पनि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आर्थिक सहयोग गर्ने तयारी गरेको छ । नगरपालिकाका अनुसार बिदापछि कार्यपालिका बैठक बसेर सहयोग रकमबारे निर्णय गरिने नगरप्रमुख शमशेर लामाले बताए । बाढी आएदेखि नै नगरपालिकाका एम्बुलेन्स, कृषि एम्बुलेन्सलगायतका साधन तथा उपकरण खोज, उद्धार तथा अन्य सहयोगमा परिचालन गरिएको उनको भनाइ छ ।

    यसअघि भरतपुर महानगरपालिकाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि रु एक करोड एक लाख सहयोग गर्ने निर्णय गरिसकेको छ भने रत्ननगर नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु ३२ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

    चितवनका स्थानीय तहले आर्थिक सहयोगसँगै बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार, बेपत्ताको खोजी, शव व्यवस्थापनलगायतका कार्यमा समेत सहयोग गरिरहेका छन् । स्थानीय तहका एम्बुलेन्स, शववाहन तथा अन्य आवश्यक साधनस्रोत यस कार्यमा परिचालन गरिएको छ ।

  • उपत्यका बाहिर ‘बोटलिङ’ गरी खाना पकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै

    उपत्यका बाहिर ‘बोटलिङ’ गरी खाना पकाउने ‘एलपि ग्यास’ ढुवानी गरिँदै

    नारायण अधिकारी / रासस

    चितवन, २० भदौः पृथ्वी राजमार्गको कृष्णभिरमा सडक भासिएपछि काठमाडौँ उपत्यकामा भएको ग्यासको अभावलाई हटाउन उद्योगीहरू सक्रिय भएका छन् । उनीहरूलाई नेपाल आयल निगमले उपत्यका बाहिर ‘बोटलिङ’ गरी सिलिण्डर ल्याउन अनुमति दिएपछि सोहीअनुसार उद्योगीहरू लागेका हुन् । नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्द, निवर्तमान अध्यक्ष शिव घिमिरे, पूर्वअध्यक्ष गोकुल भण्डारी, सदस्य विमल कालाखेतीलगायतले मकवानपुरका ट्रक व्यवसायीसँग छलफल गरी ढुवानीलाई सहज बनाउन लागेका हुन् ।

    सङ्घका पूर्वअध्यक्ष भण्डारीका अनुसार संघीय राजधानी बाहिरका उद्योगमा खाली सिलिण्डर कम छ । संघीय राजधानीमा खालि भएका सिलिण्डरलाई ट्रकमा राखेर उद्योगसम्म ल्याउनु पर्ने हुन्छ । तीनै ट्रकमार्फत भरेका सिलिण्डर उपत्यका लैजानुपर्ने हुन्छ ।

    नेपाल ग्यासका सञ्चालक रहेका भण्डारीका अनुसार उनको उद्योगको सिलिण्डर चितवनमा रहेको नेपाल ग्यास गण्डकीमा ‘बोटलिङ’ गर्ने काम भइरहेको छ । सिलिण्डरको अभावमा मागअनुसार भर्न सकिएको छैन । नेपाल ग्यासले उपत्यकामा दैनिक ११ हजार सिलिण्डर बिक्री गर्दै आएको छ । उनका अनुसार केही दिन भित्रमानै आठदेखि १० हजार शिलिण्डर दैनिक काठमाडौँ लैजाने गरी तयारी गरिएको छ ।

    सङ्घका सदस्य विमल कालाखेतीका अनुसार अन्य उद्योगले पनि ट्रकमा खालि सिलिण्डर उपत्यका बाहिर ल्याएर ‘बोटलिङ’ गरेर लैजान थालेका छन् । रातका समयमा कान्ति लोक पथमा गाडी नगुड्ने भएकाले खालि सिलिण्डर बोकेका ट्रक आउन ढिलाइ भएको छ । अहिले बाबा ग्यासले श्री ग्यासका सिलिण्डर ‘बोटलिङ’ गरेर पठाएको छ । श्री ग्यास नौबिसेको हो । यस्तै यहाँको साईबाबाले आफ्नै सिलिण्डर काठमाडौँ पठाएको छ । गैंडाकोटको जानकीमा नौबिसेको श्रीराम, हेटौँडाको साहारामा काठमाडौँको एभरेष्ट र सुगमको ग्यास भरेर पठाइएको छ ।

    वनेपाको सगरमाथाले परासीको चण्डी ग्यासमा, वनेपाको लोकप्रिय, सुपर ग्यास, तारा ग्यासलगायतले राजधानी बाहिरका बिभिन्न ग्यास उद्योगमा भरेर सिलिण्डर त्रिभूवन राजपथ बाट पठाउन सुरु गरेका छन् । उपत्यका र छिमेकी जिल्लामा १६ ग्यास उद्योग रहेको उनले जानकारी दिए । सङ्घका अध्यक्ष दिवान चन्दका अनुसार सामान्य अबस्थामा काठमाडौँमा दैनिक ४० हजार सिलिण्डर आबश्यक पर्दछ । अहिलेको अवस्थामा एक लाख सिलिण्डर पनि खपत हुने अबस्था छ ।

    आफूहरूले सङ्गठित रूपमा उद्योग र ढुवानीको व्यवस्था गरिरहेकाले केही दिनमानै समस्याको समाधान हुने उनको भनाइ छ । उनले आवश्यक मात्र शिलिण्डर साटेर सहज गरिदिन र मौज्दात नगर्न सबै संग आग्रह गरे । एउटा ग्यास बोक्ने बुलेटमा ४५० शिलिण्डर ग्यास आउँछ । ठूलो ट्रकले भरिएका ५०० सिलिण्डर बोक्छ भने खाली ६०० हाराहारी सिलिण्डर बोक्न सक्ने उनले बताए । नेपालका ५८ उद्योगले भरेका ग्यासमध्ये ४० प्रतिशत खपत उपत्यकामा छ ।

    राजधानी बाहिर नजिकका उद्योगले दुई सिफ्टमा ग्यास भर्ने काम गरिरहेका छन् । गत महिना भारतबाट ६० हजार २०० मेट्रिकटन ग्यास नेपाल आएको जनाउँदै उनले यो मात्रा हाल सम्मको बढी भएको बताउनुभयो । उहाँका अनुसार सोही अनुपातमा ग्यास आइरहेकाले कुनै समस्या पर्ने अवस्था छैन ।


    साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाना पकाउने ग्यास आपूर्तीलाई सहज बनाइराख्न निजी ग्यास कम्पनीसंग सहकार्य गर्दै आफ्ना ‘एसटिसी सिलिण्डर’मा ग्यास भर्न सुरुआत गरेको छ । गत आइतबार धादिङको कृष्णभिरमा त्रिशूली नदीले कटान गरेर पृथ्वीराज मार्ग पूर्ण अवरुद्ध बनाएपछि कर्पोरेशनले नयाँ विकल्पको खोजी गर्दै निजी ग्यास कम्पनीको ग्यास प्लाण्टमा आफ्ना ‘एसटिसी सिलिण्डर’मा ग्यास ‘बोटलिङ’ गरेर काठमाडौ ल्याउने नीति लिएको हो ।

    सो राजमार्ग अवरुद्ध हुँदा कर्पोरेशनको धादिङ जुगेखोलास्थित ‘एलपिजी प्लाण्ट’मा पनि असर परेको छ । आफ्नो प्लाण्टमा ग्यासको बुलेट आउन सम्भव नभएपछि कर्पोरेशनले तत्काल अन्य निजी क्षेत्रका सहज स्थानमा रहेका मनोज सहित बाबा ग्यासका ‘प्लाण्ट’सँग सहकार्य गरेर आफ्ना खाली सिलिण्डरमा ग्यास भरेर बैकल्पिक मार्गबाट उपत्यका भित्याउने प्रबन्ध मिलाएको हो । विषम प्राकृति विपद्का अवस्थालाई ख्याल गर्दै कर्पोरेशनले उपभोक्तालाई ग्यासको अभाव हुन नदिन यो नीति लिएको जनाइएको छ ।

    नेपाल आयल निगमले कर्पोरेशनलाई न्यून कोटा अर्थात् ‘पिडियो’ अनुमति प्रदान गर्दा उसले चाहेर पनि यथेष्ट ग्यास बिक्री गर्न पाइरहेको छैन । निगमले भारतीय आयल कर्पोरेशनबाट कूल तीनहजार २५ ग्यास बुलेटका लागि सम्झौता गरेको जनाइएको छ । सो मध्ये करिव दुई प्रतिशत अर्थात् ५३ वटा ‘बुलेट’ मात्र कर्पोरेशनको भागमा परेकोे छ । कर्पोरेशनले हाल मासिक ५५ हजारदेखि ६० हजारको हाराहारीमा ‘एसडिसी सिलिण्डर’ खपत गरिरहेको जनाइएको छ ।

    निजी क्षेत्रका ग्यास कम्पनीले खाडी संकट,पछिल्लो समय पृथ्वीराजमार्ग अवरुद्ध एवं अन्य बहना देखाउँदा उपभोक्ता समस्यामा पर्दै आएका छन् तर कर्पोरेशनले हाल कुपन प्रणाली मार्फत् विक्री वितरणलाई सहज बनाइराखेको छ ।