Author: Vishwanews.com

  • नेवार समुदायको प्रमुख चाड लाखेजात्रा :  भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा

    नेवार समुदायको प्रमुख चाड लाखेजात्रा : भोटेकोशी बाढीका कारण औपचारिकता मात्रै पूरा


    खोटाङ, १९ भदौ । नेवार समुदायको प्रमुख चाड लाखेजात्रा सुरु भएको ठीक १० दिनपछि भदौ–१० गते भोटेकोशीमा भीषण बाढी गयो । छिमेकी देश चीनतर्फबाट अकस्मात भोटेकोशीमा आएको भीषण बाढीले ठूलोमात्रामा जनधनको क्षति गरेको छ । रसुवा, धादिङ तथा नुवाकोटलाई सबैभन्दा बढी प्रभावित क्षेत्र बनाएको भोटेकोशी बाढीका कारण अहिले देश रोइरहेको छ । नेवार समुदायको घनाबस्ती रहेको जिल्लाका विभिन्न ठाउँहरूमा हरेक वर्ष लाखेजात्रा मनाउने प्रचलन छ । धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक महत्त्व बोकेको नेवार समुदायको प्रमुख चाड लाखेजात्राको अवसरमा दर्शकलाई मनोरञ्जन दिलाउन लाखे नाचसहित विभिन्न झाँकीसमेत प्रदर्शन गरिन्छ ।

    लाखेजात्राको अवसरमा मनाइने गाईजात्राको दिन वर्षभरि दिवङ्गत भएका आफन्तको सम्झना गर्दै चीरशान्तिको कामनासहित पूजाआजा गर्ने प्रचलन छ । यही प्रचलन अन्तर्गत शनिबार दिक्तेल बजारमा दिवङ्गत भएका आफ्ना पितृगणको सम्झना गर्दै टोलटोलमा घुमेर लाखे नाचसँगै सापारु ९दिवङ्गत भएका व्यक्तिको तस्वीरसहितको खट’ परिक्रमा गराएर पूजाआजा गरिएको थियो ।

    विधिवत रूपमा बजार परिक्रमा गराइएका सापारुमा आफन्तजनले पूजाआजा गर्नुका साथै मृतकको जीवनी समेटिएको रामायण वाचन गर्ने चलनले जात्रामा सहभागी धेरैको ध्यान केन्द्रित गरेको थियो । बाजागाजासहित लयबद्ध तरिकाले वाचन गरिएको दिवङ्गत आफन्तको जीवनी सुन्दा धेरैको आँखा रसाएको थियो ।

    जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा मनाइएको गाईजात्रामा यस वर्ष छ जना मृतक आफन्तको सापारु परिक्रमा गराइएको थियो । देशमा ठूलोमात्रामा जनधनको क्षति हुनेगरी आएको भीषण बाढीका कारण यस वर्षको प्रमुख चाड लाखेजात्रालाई औपचारिकता मात्रै पूरा गरिएको नेवाः देय् दबूका दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका अध्यक्ष सुमन श्रेष्ठले जानकारी दिए ।


    दिक्तेल बजारमा मनाइने लाखेजात्राको मुख्य आकर्षण मुकुण्डोधारी लाखे नाच हुने गरेको छ । ढोल, झ्याम्टाको तालमा जातीय संस्कृति र परम्पराहरूको नक्कल गर्दै मुकुण्डोधारी लाखे नाचसहित सहभागी सबैले नाच्ने र रमाइलो गर्ने गर्छन् । जामा, चोली, चमर, मखुण्डो र घङला पहिरिएर लाखे बन्ने व्यक्तिले केही दिन अघिबाटै शुद्ध खानेकुरा खाएर बस्ने प्रचलन गरेको जनाइएको छ । मखुण्डोधारी लाखेसँगै अघिपछि नाच्ने धतुवारेले दर्शकलाई थप मनोरञ्जन दिलाउने गर्दछ ।

    नागपञ्चमीदेखि कृष्णजन्माष्टमीसम्म मनाइने लाखेजात्रालाई जिल्लाका नेवार समुदायले विशेष महत्वका साथ मनाउने गरेका छन् । लाखेजात्रामा नेवार समुदायका घरपरिवार तथा आफन्तजन जमघट हुने र दुःखसुखका कुराहरू आदानप्रदानसमेत गर्ने गर्छन् । लाखेजात्राको अवसरमा नेवार समुदायको घरमा पूजाआजा गर्नुका साथै नेवारी परिवार खाने प्रचलन छ । आफन्तजन, इष्टमित्र, साथीभाइ लगायत भेला भएर मिष्ठान्न भोजन गर्ने तथा आपसमा रमाइलो गर्ने गर्छन् ।

    अध्ययन, जागिर तथा विभिन्न पेशारव्यवसायका क्रममा घरदेखि टाढा रहेका परिवारका सदस्यहरू पनि लाखे जात्राको अवसरमा एक ठाउँ भेला हुने गरेको छन् । लाखेजात्राले सांस्कृतिक, धार्मिक एवम् ऐतिहासिक महत्वसँगै नेवार र गैंरनेवार समुदायबीच आपसी सद्भाव तथा भातृत्व कायम गर्ने नेवार अगुवाहरूले बताएका छन् ।

    देशमा आइपरेको महाविपत्तिका कारण भाद्र कृष्ण षष्ठीको अवसर पारेर यही भदौ–१७ गते दिक्तेल बजारमा आयोजना गरिएको लाखे प्रदर्शन कार्यक्रम स्थगित गरिएको दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’ले बताउनुभएको छ । “भोटेकोशी बाढीका कारण देश रोइरहेको छ । यही बेला हाम्रो प्रमुख चाड लाखेजात्रा पर्‍यो । यो बाढीमा नेवार समुदायका मात्रै एक हजार ५०० भन्दा बढी आफन्त बेपत्ता भएका छन् भन्ने हाम्रो अनुमान छ”, उनले भने, “यो दुःखद् अवस्थामा सबै मृतात्माप्रति चिर शान्तिको कामना गरेका छौँ । बेपत्ताको खोजी तथा विस्थापितको पुनः स्थापनाका लागि सम्बन्धित निकायसँग हार्दिक अपिल गर्दछौँ ।”

    लाखेजात्रा दिक्तेल बजार, बुइपा, ऐसेलुखर्क, खोटाङबजार, चिसापानी, अर्खौले, खार्मी, दोर्पाचिउरीडाँडालगायत नेवार समुदायको घनाबस्ती भएको ठाउँमा विशेष कार्यक्रमका साथ मनाउने गरिएको थियो । भीषण बाढीका कारण यस वर्ष दिक्तेल बजारसँगै सबै ठाउँमा औपचारिकता मात्रै पूरा गरिएको आयोजकहरूले बताएका छन् ।

    दश स्थानीय तह रहेको जिल्लामा लाखेजात्रा, गाईजात्रा, हिलेजात्रा, रोपाइँजात्रा, कृष्णजन्माष्टमीको जात्रालगायत विभिन्न जात्राहरू मनाउने चलन रहिआएको छ । श्रीकृष्ण जन्माष्टमीको दिन कृष्णजात्रा गरेपछि कृष्णले राक्षस, भूत–प्रेत आदि मारेकोले लाखे ख्याली आदि भूत–पिचास, नागको भय नहुने जनविश्वास छ ।

  • नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतले गति लियो

    नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतले गति लियो

    काठमाडौँ, १९ भदौ । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले बाढीपहिरोबाट प्रभावित नुवाकोटमा सडक तथा पूर्वाधार मर्मतलाई तीव्रता दिएको छ । कार्यालयका अनुसार जिल्लाका विभिन्न स्थानमा सडक सञ्चालनमा ल्याउन जेसीबी, टिपरलगायत उपकरण परिचालन गरी मर्मत तथा पुनःनिर्माणको काम भइरहेको छ ।

    चौघडा पुल–बाहुनबेँसी–नर्जामाण्डप–लच्याङ–सरमथली–पच्र्याङ सडक मर्मतका लागि चारवटा जेसीबी र एउटा टिपर परिचालन गरिएको छ । विदुर–चोकदे–बोरेभञ्ज्याङ–लच्याङ–सरमथली–पर्च्याङ सडकमा पनि मर्मत कार्य जारी छ । चोकदे–उपल्लो गेर्खुटार–केराघारी, चोकदे–कुवापानी–बेत्रावती, कल्याणी–मलागाउँ–नीरञ्जना, हर्रे–कल्याणी, बागखोर–झ्याङ्ली तथा तादी पुल–मलागाउँ हुँदै बागखोरसम्मका सडकमा पनि मर्मत तथा सुधारको काम भइरहेको कार्यालयले जनाएको छ ।

    बाढीका कारण आवतजावतमा समस्या भएका स्थानमा वैकल्पिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । त्रिशूली बजार–इन्द्रायणी कोलोनी क्षेत्रमा तुइन निर्माण गरी सञ्चालनमा ल्याइसकिएको छ भने देवीघाटमा तुइन निर्माण गरिएको छ । चन्द्रज्योति होल्डिङ सेन्टरमा ग्राभेल गर्ने कार्यसमेत सम्पन्न भएको छ ।

  • संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने

    संयुक्त राष्ट्रसङ्घद्वारा नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने


    काठमाडौँ, १९ भदौः संयुक्त राष्ट्रसङ्घले भोटेकोशी बाढीका कारण प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि चार करोड ९६ लाख अमेरिकी डलर बराबरको रकम सहयोग गर्ने जनाएको छ । राष्ट्रसङ्घले मानवीय सहायताका साझेदार निकायसँग बाढीपछि सिर्जित विपद्को राहतका लागि उक्त रकम सहयोगका लागि सहयोगको अपिल गरेको हो । भोटेकोशी तथा त्रिशूली नदीमा गएको विनाशकारी बाढी र पहिरोबाट प्रभावित ८४ हजारभन्दा बढी नागरिकसम्म जीवनरक्षक सहायता पुर्‍याउन अन्तरराष्ट्रिय निकायसँग आज राष्ट्रसङ्घले अपिल गरेको हो ।

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको नेतृत्वमा सरकारले तयार पारेको हिउँद सुरु हुनुअघिका लागि (चार महिने) योजनालाई उक्त सहयोग रकमले प्राथमिकताका साथ सम्बोधन गर्ने नेपालस्थित राष्ट्रसङ्घको कार्यालयले जनाएको छ । उच्च हिमाली भेगका बस्तीमा हिउँद सुरु हुनुअघि हुनसक्ने कष्ट र सरुवा रोगको जोखिम रोक्नु यसको मुख्य उद्देश्य रहेको राष्ट्रसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    संयुक्त राष्ट्रसङ्घ र मानवीय सहायताका साझेदार निकायहरू नेपाल सरकारले सञ्चालन गरिरहेको उद्धार तथा राहत कार्यसँगै समन्वयमा रहेर काम गरिरहेका छन् । यही भदौ १० गते भोटेकोशी नदीमा गएको बाढीका कारण निम्तिएको विपद्मा हालसम्म रसुवा, नुवाकोट र धादिङ जिल्लाका थुप्रै बस्ती विस्थापित भएका छन् । भौतिक पूर्वाधारमा भएको व्यापक क्षतिका कारण यातायातका मार्ग अवरुद्ध छन्, विद्युत् प्रणालीमा असर परेको छ भने खानेपानी तथा सरसफाइका संरचना बगेका छन् । यसले विकट भेगका बासिन्दालाई आधारभूत आवश्यकताबाट समेत वञ्चित बनाएको छ ।

    “जोखिममा रहेका समुदायको सुरक्षा गर्न यो संयुक्त योजनाले विभिन्न क्षेत्रका अत्यावश्यक मानवीय आवश्यकतालाई सम्बोधन गर्नेछ । स्थानीय बजार सञ्चालनमा रहेका ठाउँमा प्रभावित परिवारलाई प्रत्यक्ष नगद उपलब्ध गराइनेछ । हिउँद लाग्नुअघि विस्थापित परिवारलाई जाडोबाट जोगाउने अस्थायी आवास सामग्री वितरण गरिनेछ भने विद्युत् नपुगेका ठाउँमा घरपरिवारलाई सौर्य उपकरण उपलब्ध गराइ बत्ती र आधारभूत ऊर्जाको व्यवस्था मिलाइनेछ”, राष्ट्रसङ्घद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    यस योजनाबाट क्षतिग्रस्त खानेपानी प्रणालीको मर्मत, द्रुत पानी शुद्धीकरण प्रणालीको जडान र सरसफाइ सामग्री वितरणमार्फत पानीजन्य रोगको फैलावट रोकिने अपेक्षा गरिएको छ । त्यस्तै घुम्ती स्वास्थ्य शिविरमार्फत तत्काल उपचार र पोषण सहयोग उपलब्ध गराइनेछ भने परिवारबाट छुट्टिएका बालबालिकालाई पुनर्मिलन गराउन संरक्षण समूह परिचालित हुनेछन् । यसका साथै आकस्मिक खाद्य सहायता वितरण र बाँचेका पशुधनको व्यवस्थापनमार्फत ग्रामीण जीविकोपार्जन जोगाउने काम हुनेछ ।

    “भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढी र पहिरोबाट परिवारहरूले केही क्षणमा आफ्ना परिवारजन, घर र बाँच्ने आधार गुमाएका छन्”, नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय आवासीय संयोजक लिला पिटर्स याहियाले भनिन्, “यो अपिलको मुख्य प्राथमिकता भनेको सरकारकै नेतृत्वमा हिउँद लाग्नुअघि सबैभन्दा दुर्गम बस्तीसम्म ओत, उपचार, सफा पानी र नगद सहयोग पुर्‍याउनु हो ।”

  • बाढी प्रभावित क्षेत्रका नानीबाबुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको भावुक स्टाटस

    बाढी प्रभावित क्षेत्रका नानीबाबुलाई सम्बोधन गर्दै प्रधानमन्त्रीको भावुक स्टाटस


    काठमाडौँ, १९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीका दिन बाढी प्रभावित क्षेत्रका बालबालिका नाममा सन्देश जारी गरेका छन् । आज सामाजिक सञ्जालमा नानीबाबुहरूलाई सम्बोधन गर्दै उनले भनेका छन्, “तपाईँहरू भोलिका उज्याला झुल्काहरू हुनुहुन्छ । यहाँहरूको सुरक्षित भविष्यका लागि हामी लागिरहेका छौँ । जतिसक्छौँ हामी खटिरहेका छौँ । त्यसमा यहाँहरूको पनि साथ मिल्ने नै छ ।” उनले अगाडी भनेका छन्, “तर, यसपालिको यो उत्सवमा रसुवा भोटेकोशी बाढी प्रभावित क्षेत्रका नानीबाबुहरू त्यसरी खुसी हुन सक्नुभएन । उहाँहरू गहिरो पीडामा हुनुहुन्छ । कतिपयले यो पीडा व्यक्त गरिरहनुभएको छ भने कतिपय स्तब्ध हुनुहुन्छ ।”

    प्रधानमन्त्री शाहले कतिपय नानीबाबुहरूले अचानक के–के भयो, कतिले त सोच्नसमेत नभ्याएको बताएका छन् । “नानीबाबुहरूका आँखाले आफ्ना बाबुआमा र आफन्त खोजिरहेका होलान् । कतिपय बाबुनानीहरूले विपद्को १०औँ दिनसम्म आइपुग्दा हाम्रो प्यारो देश नेपालले अहिले ठूलो विपद् भोग्नुपरेको छ भन्ने थाहा पाइसक्नुभएको होला”, उनले भनेका छन् ।


    उनले आज देश दुःखी भएको र बालबालिकाका कति साथीहरू छुटिएको र तथा कति घर र बस्तीहरू खण्डहर बनेको बताए । “खेल्ने कुद्ने चौरहरू पुरिएका छन् । यहाँहरूको आफ्नै ठाउँ आज बिरानोजस्तै बनेको होला”, उनले लेखेका छन् । प्रधानमन्त्री शाहले बाढी गएलगत्तै सरकारले प्रभावित क्षेत्रबाट गम्भीर घाइते, गर्भवती, सुत्केरी, अपाङ्गता भएका व्यक्तिहरू र वृद्धवृद्धासँगै बालबालिकालाई पनि उद्धारमा पहिलो प्राथमिकता दिएको र त्यो क्रम अहिले पनि जारी रहेको बताए ।
    “हामीले प्रभावित क्षेत्रमा सञ्चालन गरिरहेका होल्डिङ सेन्टरमा यहाँहरू बसिरहनुभएको छ । हामीलाई थाहा छ यहाँहरूका लागि यो बसाइ सहज छैन ।

    तर, हामी चाँडै नै सुरक्षित र सहज बसोबासको व्यवस्था गर्नेछौँ । पुनः यहाँहरूलाई आफ्नो भविष्यको सपना बुन्ने वातावरण तयार गरिदिनेछौँ”, उनले भने ।
    प्रधानमन्त्री शाहले विपद् फेरि पनि आउन सक्ने उल्लेख गर्दै जलवायु परिवर्तनको ठूलो असर हाम्रो हिमालय क्षेत्रमा परिसकेको बताए । साथै हामीमाथि परेको विपद्को यो बज्रपातबारे सारा संसारले थाहा पाइसकेको तर पनि हामीले भोग्न थालेको पीडा र विपद् जोखिमबारे विश्व समुदायलाई निरन्तर जानकारी गराइराख्नुपर्ने आवश्यकता पनि औँल्याए । “प्रभावित क्षेत्रका नानीबाबुहरूले प्रत्यक्ष विपद् भोग्नुभयो । अन्य क्षेत्रका नानीबाबुहरू पनि उत्तिकै सतर्क रहनुहोला । यहाँहरूले आफ्नो सुनौलो भोलिका लागि आजैदेखि विपद्सँग लड्न, बच्न र अरूलाई बचाउन सिक्नुपर्छ”, उनले भने ।

    प्रधानमन्त्री शाहले पूर्वतयारीका लागि विभिन्न कुरामा ध्यान दिन आग्रह गरेका छन् । उनले विपद् झोला, ससानो बचत र अध्ययन र छलफलमा ध्यान दिन आग्रह गरे । जलवायु परिवर्तन भनेको के हो र यसले हामीलाई के असर पारिरहेको छ भन्नेबारे अध्ययन सुरु गर्न आग्रह गरे । साथै एकापसमा यस्ता विषयमा छलफल गर्न र जनचेतना फैलाउने काममा अगाडि बढ्न पनि सुझाव दिए ।


    “विपद्को भाषा विनास र दुःख हो, तर यस्तो सङ्कटका बेला हामीले एकता, सद्भाव र भ्रातृत्वको भावना मनमा राखेर काम गर्नुपर्छ”, उनले भनेका छन्, “श्रीकृष्णले पनि भन्नुभएको छ सङ्घर्ष र विपद्को समयमा हार मानेर वा निरास भएर बस्ने होइन । धैर्य, कर्तव्य र एकताका साथ अघि बढ्नुपर्छ । हामी रोकिदैनौँ । त्यसैले हामी सबै मिलेर यो विपद्को सामना गरौँ र सुरक्षित एवं उज्यालो नेपालको निर्माणमा जुटौँ ।”

  • कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा

    कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा


    काठमाडौँ, १९ भदौः जापानमा हुने २०औँ एसियाली खेलकुद (एसियाड)को तयारीका लागि नेपाली कराते टोली शुक्रबार जापान प्रस्थान गरेको छ । टोलीलाई शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसहित राखेपका पदाधिकारीले शुक्रबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिदाइ गरे । शिक्षामन्त्री पोखरेलको विषेश पहलमा एसियाली खेलकुदमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीले पहिलोपटक ‘भिआइपी’ पहुँचको सुविधा प्राप्त गर्ने अवसर पाएका छन् ।

    “खेलाडीप्रतिको सम्मानको सानो प्रयासस्वरूप पहिलोपटक विमानस्थलमा ‘भिआइपी’ पहुँचको सुविधा उपलब्ध गराउन पाउँदा खुसी छौँ । सम्पूर्ण खेलाडीलाई हार्दिक शुभकामना”, मन्त्री पोखरेलले फेसबुकमा लेखेका छन् । शिक्षामन्त्री पोखरेलका अनुसार राष्ट्रिय खेलाडीहरूको सम्मान र प्रोत्साहनस्वरूप गरिएको यस पहलले अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेका खेलाडीप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले भिआइपी कक्षको प्रयोगको व्यवस्था गरिएको हो ।

    मन्त्री पोखरेलले नेपाली खेलाडीहरूलाई ठूलो अन्तरराष्ट्रिय मञ्चमा नेपालको प्रतिनिधित्व गरिरहेकामा गर्व व्यक्त गर्दै उनीहरूले आफ्नो सम्पूर्ण क्षमता र समर्पणका साथ प्रतिस्पर्धा गर्ने विश्वास व्यक्त गरे । खेलाडीहरूले पाएको ‘भिआइपी’ पहुँचलाई देशका लागि मिहिनेत गर्ने खेलाडीप्रतिको सम्मानको एउटा सानो प्रयासका रूपमा लिइएको उल्लेख गर्दै मन्त्री रोखरेलले अन्तरराष्ट्रिय प्रतियोगितामा खेलाडीको मनोबल बढाउन यस्ता पहल महत्त्वपूर्ण हुने विस्वास व्यक्त गरे ।
    एसियाडमा नेपालबाट सहभागी हुने २२ खेलमध्ये जापान पुग्ने कराते पहिलो टोली हो । टोलीले टोकियोस्थित विश्व सितोरियो करातेको मुख्य डोजोमा सेप्टेम्बर ६ देखि १६ तारिखसम्म प्रशिक्षण गर्नेछ । प्रशिक्षणपछि टोली सेप्टेम्बर १७ तारिख टोकियोबाट एसियाड आयोजना हुने नागोया प्रस्थान गर्नेछ । कराते प्रतियोगिता सेप्टेम्बर २० देखि २३ तारिखसम्म सञ्चालन हुनेछ ।

    नेपालबाट पुरुषतर्फ ५५ केजीमुनि राकेश मानन्धर, ६० केजीमुनि मीनबहादुर तामाङ र ८४ केजीमाथि तेन्जिङ शेर्पाले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ ६८ केजीमाथि एरिका गुरुङ, ६८ केजीमुनि निरुपा दोङ तामाङ र एकल कातामा सानुमाया थिङले प्रतिस्पर्धा गर्नेछिन् । टिम कातामा सानुमाया थिङ, एलिसा रास्कोटी र मेघा लिम्बू सहभागी हुनेछन् । टोलीका प्रशिक्षकमा कुशल श्रेष्ठ र मन्डेकाजी श्रेष्ठ रहेका छन् ।

    राष्ट्रिय खेलकुद परिषद् (राखेप)का उपाध्यक्ष विशाल श्रेष्ठ, सदस्यसचिव रामचरित्र मेहता, शिक्षा तथा खेलकुद मन्त्रालयका प्रमुख सल्लाहकार सिद्धी व्यञ्जनकार, सल्लाहकार राजु सिंहलगायतले टोलीलाई बिदाइ गरे । राखेपका पूर्वसदस्यसचिव एवं नेपाल कराते महासङ्घका अध्यक्ष युवराज लामा, राखेप कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठ तथा नेपाल कराते महासङ्घका महासचिव दावा गुरुङलगायत पनि टोलीलाई बिदाइ गर्न विमानस्थल पुगेका थिए ।

  • भोटेकोशी बाढीः सुरुङमा खोज तथा उद्धार जारी

    भोटेकोशी बाढीः सुरुङमा खोज तथा उद्धार जारी

    काठमाडौँ, १९ भदौः भोटेकोशी बाढीका कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाको खोज तथा उद्धार जारी छ । नेपाली सेनाका ७५, सशस्त्र प्रहरीको १८ एवं नेपाल प्रहरी र विज्ञसहितको संयुक्त खोज तथा उद्धार टोलीले आज सो सुरुङबाट दुई जनाको जीवितै उद्धार गरेको थियो । उहाँहरूको वीरेन्द्र अस्पताल छाउनीमा उपचार भइरहेको छ । खोज तथा उद्धारका क्रममा उक्त स्थानबाट एक शव निकालिएको र थप खोज तथा उद्धार कार्य जारी रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    यस्तै त्रिशूली–३ ‘बी’मा सेनाको ८९, गैरसैनिक तीन र आयोजनाका प्रबन्ध निर्देशकसहितको संयुक्त उद्धार टोलीले आयोजनाको कार्यालय र निवास पहिचान गरी उक्त इलाकासम्म पुग्न एक्साभेटरबाट बाटो खन्ने तथा माटो पन्छाउने काम भइरहेको छ । सो आयोजनाको अडिट–१ बाट उद्धार टोली ४२६ मिटरभित्र प्रवेश गरेको छ । अडिट–१ बाट एक्साभेटर छिराउन अपरेटरसहित ३ ‘ए’सँग लिङ्कअप गराउने काम भइरहेको सेनाले जनाएको छ ।

    लाङटाङ हाइड्रोमा सेनाका २५ तथा दुई जना गैरसैनिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र प्रवेश गरी दुईवटा शव फेलापारेको छ । सो क्षेत्रमा खोज तथा उद्धार जारी छ । चिलिमे हाइड्रोमा विदेशीसहितको संयुक्त टोलीले जेनेरेटर र पम्पको सहायताले लेदो फाल्ने काम गरिरहेको छ । माथिल्लो त्रिशूली–१ को हाकुस्थित सुरुङमा १७ सैनिक र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले ‘र्‍याफ्ट’ र ‘बोट’ को समेत प्रयोग गरी खोजी गरिरहेको छ । टनेलमा रहेको पानी फाल्ने काम भइरहेको छ ।

    देवीघाटमा पुल जडान हुँदै

    देवीघाटस्थित तादी नदीमा पुल जडानका लागि सेनाको इन्जिनियरिङ फौजबाट ५५ जना टोली खटिइ बेस निर्माण गरिरहेको छ । सो स्थानमा जडान गर्नका लागि गजुरीमा रहेको ‘एक्रो ब्रिज’का केही भाग त्रिशूली पुर्‍याइएको र थप सामग्री ढुवानी गर्ने क्रममा रहेको सेनाले जनाएको छ ।

    प्रभावित क्षेत्रका जङ्गल, डाँडा, खोला र बस्ती इलाकामा चिकित्सकसहित आवश्यक उद्धार टोलीले पैदल गस्ती गरिरहेको छ । रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासीपूर्वका प्रभावित क्षेत्रमा नौ हजार ३०० भन्दा बढी फौज घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापन, अवरुद्ध सडक सञ्चालन एवं आपत्कालीन उपचारमा क्रियाशील रहेका छन् । यसैबीच, सात सैनिक र छ गैरसैनिक हेलिकप्टरमार्फत आज प्रभावित इलाकाबाट २९ जनाको उद्धार गरिएको सेनाले जनाएको छ ।

  • भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै

    भोटेकोशी बाढीः कुशको शव बनाएर आर्यघाटमा अन्त्येष्टि गरिँदै


    काठमाडौँ, १९ भदौः रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते गएको विनाशकारी बाढीमा परी बेपत्ता भएका आफन्त लामो समयसम्म फेला नपरेपछि परिवारजनले कुशको शव बनाएर अन्तिम संस्कार गर्न थालेका छन् । बेपत्ताको अवस्था पत्ता लाग्न नसकेपछि आफन्तजनले हिन्दू धार्मिक परम्पराअनुसार कुशबाट शवको प्रतीक बनाएर पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गर्न थालेका हुन् । पशुपति आर्यघाटमा आज मात्रै सात जनाको कुशको शवको प्रतीक बनाएर अन्त्येष्टि गरिएको घाट सेवा कार्यालयले जनाएको छ ।

    बेपत्ता भएको १० दिनसम्म पनि कुनै खबर नआएपछि सिन्धुपाल्चोक(७ का बद्रीकुमार दर्जीले आफ्ना आफन्त ३६ वर्षीय राजकुमार दर्जीको कुशको शव बनाएर अन्तिम संस्कार गरेका छन् । “भोटेकोशीको बाढीले हाम्रो आफन्त राजकुमार दर्जी बेपत्ता भएको आज १० दिन भयो । अवस्था पत्ता लाग्न नसकेपछि आज कुशको शवको प्रतीक बनाएर अन्त्येष्टि गरेका छौँ”, उनले भने ।


    पशुपतिस्थित शव दर्ता कार्यालयका कर्मचारी अनिश सङ्गतका अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएका कम्तीमा १६ जनाको भने शव पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । बाढीमा परी मृत्यु भएकाको शव दाहसंस्कारका लागि पशुपति क्षेत्र विकास कोषले निःशुल्क व्यवस्था मिलाएको उनले बताए ।


    बेपत्ता आफन्तको खोजीका क्रममा लामो समयसम्म कुनै जानकारी प्राप्त नभएपछि परिवारजन धार्मिक संस्कार पूरा गर्न बाध्य भएका हुन् । आफन्त फर्केर आउने आशामा दिनरात पर्खिरहेका परिवारले अन्ततः कुशको शव बनाएर अन्तिम संस्कार गर्दै मनलाई केही शान्त पार्ने प्रयास गरिरहेका छन् ।

    भदौ १० गते भोटेकोशी नदीमा आएको अचानकको ठूलो बाढीका कारण रसुवा, नुवाकोटलगायत आसपासका क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएको थियो । बाढीपछि सयौँको सङ्ख्यामा मानिस बेपत्ता भएका छन् भने खोजी तथा उद्धार कार्य पनि जारी छ ।

  • बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य

    बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य


    काठमाडौँ, १९ भदौः रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीबाट क्षति पुगेको पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य र समन्वय गर्दै अघि बढ्ने विषयमा छलफल भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बाढीपछि पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्नका लागि पर्यटन बोर्डका सदस्य सहदेव धमलाको संयोजकत्वमा गठन गरेको द्रुत प्रतिक्रिया टोली (क्यूआरटी)को आयोजनामा आज नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रका करिब २५ भन्दा बढी सङ्घसंस्थाको संयुक्त बैठकले नेपालको पर्यटन पुनरुत्थानका लागि हातेमालो गरेर अगाडि बढ्ने निर्णय गरेको हो ।

    बैठकमा क्यूआरटीका संयोजक धमलाले सङ्कटको घडीमा सरकार र निजी क्षेत्रले शोकलाई शक्तिमा बदलेर अगाडि बढ्ने विश्वास व्यक्त गरे । उनले विगत एक हप्तादेखि मन्त्रालय र निजी क्षेत्रबीचको समन्वय प्रभावकारी बनेको र मन्त्रीस्तरबाटै विभिन्न समस्याहरूको तत्काल समाधान खोज्ने काम भइरहेको बताए ।


    नेपाललाई अन्तरराष्ट्रियस्तरमा जोखिमपूर्ण क्षेत्रबाट हटाउन विश्व पर्यटन सङ्गठनमा थप पहल गरिने बताए । यस पुनरुत्थान अभियानको मुख्य आकर्षणका रूपमा ‘लाङटाङ’ क्षेत्रलाई छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको उनले बताए । भूकम्पपछि बन्द रहेको लाङटाङ पदमार्ग र पर्यटकीय क्षेत्र खुला गर्दा विश्वभर नेपाल सुरक्षित छ र नेपालीहरू सङ्कटसँग जुध्न सक्षम छन् भन्ने सकारात्मक सन्देश जाने विश्वास उनले व्यक्त गरे ।


    बैठकले नेपाल सरकारले प्रयोग गरिरहेको क्षति विवरण सङ्कलन फारमलाई आवश्यकताअनुसार परिमार्जन गरी प्रभावित जिल्लाका होटल तथा रेस्टुरेन्टलगायत पर्यटन सेवा प्रदायकको क्षतिको विवरण सङ्कलन गर्ने निर्णय गरेको छ । त्यस्तै, प्रभावित क्षेत्रमा पर्यटन पुनरुत्थानका लागि ‘टुरिजम् रिकभरी साइकल’ तयार गर्न पर्यटन मन्त्रालय, पर्यटन विभाग र नेपाल पर्यटन बोर्डबीच आवश्यक समन्वय गर्ने निर्णय गरेको छ ।

    बैठकले लाङटाङ क्षेत्रमा चालु याममा पदयात्रा सञ्चालन गर्न आवश्यक स्थानमा बेलीब्रिज निर्माणका लागि सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले बाढी प्रभावित क्षेत्रबाहेक नेपालका अन्य पर्यटकीय गन्तव्य तथा पर्यटन सेवाहरू सुरक्षित रूपमा सञ्चालनमा रहेको सन्देश प्रभावकारी ढङ्गले प्रवाह गर्नुपर्नेमा पनि जोड दिएको नेपाल पर्यटन बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत हिक्मतसिंह ऐरले जानकारी दिए ।


    नेपालको पर्यटन अवस्थाबारे अन्तरराष्ट्रिय समुदायलाई यथार्थ सूचना उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घीय विश्व पर्यटन सङ्गठन, पाटालगायत अन्तरराष्ट्रिय पर्यटन संस्थासँग समन्वय गर्ने तथा नेपालमा रहेका अन्तरराष्ट्रिय सञ्चारमाध्यमका प्रतिनिधिसँग संवाद गर्न पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

    बैठकमा होटल सङ्घ नेपालका अध्यक्ष विनायक शाह, ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अध्यक्ष सागर पाण्डे, नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष भरतजङ्ग पाण्डे, नेपाल पर्वतारोहण सङ्घ, होटल व्यवसायी महासङ्घको सहभागिता थियो ।

    यस्तै, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन, हिमालय उद्धार सङ्घ, नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्ट्स, एक्सपिडिसन एसोसियसन अफ नेपाल, नेपाल पर्यटन यातायात व्यवसायी सङ्घ, नेपाल पर्यटक बस व्यवसायी सङ्घ, कैलाश अपरेटर सङ्घ, टुरिस्ट गाइड एसोसिएसन अफ नेपाल, नेपाल एसोसिएसन अफ टुर अपरेटर तथा सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटरका प्रतिनिधिहरूको सहभागिता थियो ।

  • विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन

    विपद्का बेला अपुष्ट सूचना नफैलाउन प्रेस काउन्सिलको निर्देशन


    काठमाडौँ, १९ भदौः प्रेस काउन्सिल नेपालले विपद्का बेला समाचार सम्प्रेषण गर्दा विभत्स दृश्य, अपुष्ट सूचना, पीडितको गोपनीयता उल्लङ्घन हुने सामग्री र सनसनीपूर्ण प्रस्तुति सार्वजनिक नगर्न पत्रकार तथा सञ्चारमाध्यमलाई आग्रह गरेको छ । काउन्सिलले आज ‘विपद्का बेला सकारात्मक, मानवीय तथा जिम्मेवार सञ्चारसम्बन्धी सम्पादकीय निर्देशिका, २०८३’ जारी गर्दै सबैभन्दा पहिले समाचार दिने प्रतिस्पर्धाभन्दा सही, पुष्टि भएका र जीवनोपयोगी सूचनालाई प्राथमिकता दिन आग्रह गरेको हो । निर्देशिकाअनुसार मृत्यु, घाइते, बेपत्ता, क्षति, जोखिम क्षेत्र तथा उद्धारसम्बन्धी सूचना आधिकारिक वा अन्य विश्वसनीय स्रोतबाट पुष्टि भएपछि मात्र सम्प्रेषण गर्नुपर्नेछ ।

    क्षतविक्षत शव, शरीरका अङ्ग स्पष्ट देखिने विभत्स दृश्य, अत्यधिक रक्ताम्मे दृश्य वा तस्बिर, मृतकको अनुहार, गम्भीर घाइतेको पीडादायी सामग्री तथा शोकमा रहेका परिवार वा बालबालिकाका अत्यन्त निजी दृश्य सामान्यतः प्रकाशन वा प्रसारण नगर्न भनिएको छ । असाधारण सार्वजनिक हितका कारण संवेदनशील दृश्य प्रयोग गर्नुपरे अनुहार वा पहिचान ढाक्न, दृश्य सीमित गर्न, आवश्यक पूर्वसूचना दिन तथा सम्भव भएसम्म कम हानिकारक वैकल्पिक दृश्य प्रयोग गर्न निर्देशन दिइएको छ ।

    वेबसाइट, फेसबुक, युट्युब, टिकटक, इन्स्टाग्राम, एक्सलगायत डिजिटल प्लेटफर्मका भिडियो वा सामग्री खोल्नुअघि बाहिरै देखिने सानो तस्बिर मुख्य तस्बिर वा आफैँ चल्ने श्रव्यदृश्यको छोटो भाग (थम्बनेल, कभर वा अटोप्ले प्रिभ्यु)मा समेत विभत्स दृश्य राख्न नहुने काउन्सिलले जनाएको छ ।

    पीडितलाई समाचारको विषयमात्र नभई सम्मान र अधिकार भएका नागरिकका रूपमा व्यवहार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । अन्तर्वार्ता लिँदा परिचय र उद्देश्य खुलाउन, सम्भव भएसम्म सचेत सहमति लिन, बोल्न नचाहनेलाई दबाब नदिन तथा मानसिक रूपमा विचलित व्यक्तिलाई बारम्बार प्रश्न नगर्न भनिएको छ ।

    बालबालिकाको सर्वोत्तम हितलाई प्राथमिकता दिँदै रोइरहेका वा त्रसित बालबालिकाको अनावश्यक ‘क्लोजअप’, मृत वा घाइते आफन्तसँगको निजी दृश्य तथा सुरक्षा जोखिममा पार्न सक्ने व्यक्तिगत विवरण सार्वजनिक नगर्न आग्रह गरिएको छ । सामाजिक सञ्जालबाट प्राप्त विपद्सम्बन्धी सामग्री पुनःप्रकाशन गर्नुअघि स्रोत, स्थान, समय, सन्दर्भ र स्वतन्त्र प्रमाण गरी पाँच पक्ष पुष्टि गर्नुपर्ने काउन्सिलले जनाएको छ ।

    पुरानो विपद्को भिडियो, अर्को देश वा स्थानको दृश्य, सम्पादित सामग्री, कृत्रिम बौद्धिकता (एआई)बाट सिर्जित दृश्य, अपुष्ट मृत्यु वा बेपत्ताको सङ्ख्या तथा नक्कली राहत वा सरकारी सूचनाप्रति विशेष सतर्कता अपनाउन भनिएको छ । एआईबाट सिर्जित साङ्केतिक दृश्य प्रयोग गर्दा त्यसलाई वास्तविक घटनास्थलको दृश्यजस्तो भ्रम पर्ने गरी प्रस्तुत गर्न नहुने र ‘एआईद्वारा सिर्जित साङ्केतिक दृश्य’ भनेर स्पष्ट खुलाउनुपर्ने व्यवस्था गरिएको छ ।

    काउन्सिलले विपद्का समाचारलाई मृत्यु र विनासमा मात्र सीमित नराखी सुरक्षित स्थान, मौसम तथा पूर्वचेतावनी, अस्पताल, राहत केन्द्र, आपत्कालीन सम्पर्क, उद्धार, पुनःस्थापना र पुनर्निर्माणसम्बन्धी उपयोगी सूचनालाई पनि प्राथमिकता दिन आग्रह गरेको छ । “सकारात्मक सञ्चारको अर्थ वास्तविकता लुकाउनु होइन, समस्या देखाउँदै समाधान र पुनःउत्थानको बाटोसमेत देखाउनु हो”, निर्देशिकामा भनिएको छ ।

    समाचार सङ्कलनका क्रममा उद्धार, एम्बुलेन्स आवागमन, उपचार, सुरक्षाकर्मीको काम वा राहत वितरणमा अवरोध नपुर्याउन तथा पत्रकारले अनावश्यक जोखिम नलिन भनिएको छ । गलत सूचना प्रकाशित भएको थाहा हुनासाथ तत्काल सच्याउन, के गलत भएको थियो र सही तथ्य के हो भन्ने स्पष्ट गर्न तथा आवश्यक परे क्षमायाचना गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

    काउन्सिलले लगातार विभत्स तथा पीडादायी सामग्रीमा काम गर्ने पत्रकार, फोटो पत्रकार, श्रव्यदृश्य सम्पादक र सामाजिक सञ्जाल अनुगमनकर्ताको मानसिक स्वास्थ्यमा समेत सञ्चारमाध्यमले ध्यान दिनुपर्ने जनाएको छ । संवेदनशील सामग्री प्रकाशनअघि तथ्यपुष्टि, सुरक्षा, गोपनीयता, बालबालिकाको हित, दृश्यको आवश्यकता र सार्वजनिक हितलगायत विषय समेटिएको ‘१० प्रश्न’ परीक्षण गर्न पनि सम्पादकलाई सुझाइएको छ ।

    निर्देशिकाविपरीत सामग्री देखिए पत्रकार आचारसंहिता, कार्यविधि तथा प्रचलित कानुनबमोजिम ध्यानाकर्षण, निर्देशन वा अन्य प्रक्रिया अघि बढाउन सकिने काउन्सिलले जनाएको छ ।

  • अमेरिकी व्यापार घाटा वृद्धि

    अमेरिकी व्यापार घाटा वृद्धि


    वासिङ्टन, १९ भदौ (रासस–एएफपी) । जुलाईमा अमेरिकी व्यापार घाटा सन् २०२५ मार्च यताको सबैभन्दा उच्च स्तरमा पुगेको बिहीबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । एआई प्रविधिको तीव्र विस्तारका कारण आयात बढेको तथ्याङ्कले देखाएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्प गत वर्ष ह्वाइट हाउस फर्केपछि मित्र र प्रतिस्पर्धी देशहरूमा व्यापक भन्सार शुल्क लगाएर व्यापार घाटा घटाउने प्रयास गर्नुभएको थियो । त्यसयता अमेरिकी व्यापारमा ठूला उतारचढाव देखिएका छन् ।

    विश्वको सबैभन्दा विशाल अर्थतन्त्रको व्यापार घाटा जुलाईमा ८८.६ अर्ब डलर पुगेको छ । यो अघिल्लो महिनाको तुलनामा २४.४ प्रतिशतको वृद्धि हो । कच्चा तेल र सुनको निर्यात घटेको छ भने प्रविधि उत्पादनको आयात बढेको छ । अमेरिकी वाणिज्य मन्त्रालयका अनुसार निर्यात २.१ प्रतिशत घटेर तीन खर्ब १० अर्ब ७० करोड डलर पुगेको छ । आयात २.८ प्रतिशत बढेर तीन खर्ब ९९ अर्ब ३० करोड डलर पुगेको छ । कम्प्युटर, कम्प्युटर सहायक सामग्री र सेमिकन्डक्टरको आयातले यसलाई बढाएको हो।

    चिप्सको प्रमुख उत्पादक ताइवानसँगको अमेरिकी घाटा त्यो महिनाको लागि उच्च २०.७ अर्ब डलर पुगेको छ । मेक्सिको, भियतनाम, थाइल्याण्ड, दक्षिण कोरिया र मलेसियासँगको व्यापार घाटा पनि उच्च स्तरमा पुगेको छ। राष्ट्रपति ट्रम्पका भन्सार शुल्कले अमेरिकी व्यापारको अधिकांश हिस्सा ओगट्ने अर्थतन्त्रहरूलाई असर गरेको भए पनि अमेरिकी अधिकारीहरूले चिप्स, स्मार्टफोन र अन्य इलेक्ट्रोनिक्स जस्ता उत्पादनहरूलाई छुट दिएका छन् ।

    वाणिज्यमन्त्री होवर्ड लटनिकले बुधबार सीएनबीसीलाई बताए अनुसार वासिङ्टन सेमिकन्डक्टरमा नयाँ भन्सार शुल्क लगाउने योजना बनाइरहेको छ। गत एक वर्षमा व्यवसायहरूले नयाँ अमेरिकी शुल्क लागू हुनुअघि आयात बढाउन हतार गरेका थिए। केही कम्पनीहरूले ट्रम्पको नीति व्यवस्थापन गर्न थप चुनौतीको अपेक्षा गरेका छन्। यसले व्यवसायिक लागत बढाएको छ, ‘इन्स्टिच्युट फर सप्लाई म्यानेजमेन्ट’को सेवा क्षेत्र सर्वेक्षण अनुसार अगस्टमा यो क्षेत्रको गतिविधि बढेको छ।

    अमेरिकी सर्वोच्च अदालतले फेब्रुअरीमा ट्रम्पका धेरै विश्वव्यापी भन्सार शुल्क खारेज गरेको थियो। तर अधिकारीहरूले जुलाईमा ६० व्यापार साझेदारहरूलाई लक्षित नयाँ शुल्क लगाएका थिए । चीन, युरोपेली सङ्घ र ताइवानसहित १६ साझेदारहरूलाई लक्षित छुट्टै व्यापार अनुसन्धानले थप भन्सार शुल्क लगाउने निर्णय गर्नसक्ने मन्त्रालयले बताएको छ।

    अमेरिका छिमेकी क्यानडासँग व्यापार युद्धमा छ । जुलाईमा त्यससँगको घाटा घटेको छ । गत महिना ट्रम्पले अर्बौं डलरको क्यानडाली वस्तुमा ५० प्रतिशत शुल्क लगाए, जसले ओटावाको जवाफी कारबाहीको योजना निम्त्यायो। मध्यपूर्व युद्धको असरले पनि व्यापार प्रवाहमा प्रभाव पारिरहेको छ । इरानले विश्वव्यापी ऊर्जा र मल यातायातको प्रमुख मार्ग हर्मुज जलमार्ग लगभग अवरुद्ध गरेको छ ।

  • यमनमा हुथी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु

    यमनमा हुथी समूहको आक्रमणमा १३ सैनिकको मृत्यु

    दुबई, १९ भदौ (रासस–एएफपी) । यमनको हुथी लडाकु समूहसँगको झडपमा बिहीबार यमनी सेनाका १३ जवान मारिएको एक सैन्य स्रोतले एएफपीलाई बताएको छ । स्रोतका अनुसार समूहले यमनको महत्वपूर्ण बाब अल–मन्दाब जलमार्ग छेउका क्षेत्र कब्जा गर्न आक्रमण गरेको आरोप लगाइएको छ । “प्रारम्भिक अनुमानअनुसार हुथी लडाकू समूहको आक्रमणमा परी दुई वरिष्ठ अधिकारीसहित १३ सैनिक मारिएका छन्,” सुरक्षाको कारण नाम उल्लेख नगर्न आग्रह गर्दै उक्त स्रोतले भन्यो ।

    अर्को स्रोतका अनुसार अधिकांश मारिनेहरू मोखा बन्दरगाह शहर र भित्री शहर ताइज बीचको अग्रपङ्क्तिमा रहेका थिए भने बाँकी रेड सी तट नजिकैका झडपमा मारिएका थिए ।

  • नाइजेरियामा शङ्कास्पद विषाक्त धुवाँबाट करिब ४० जनाको मृत्यु

    नाइजेरियामा शङ्कास्पद विषाक्त धुवाँबाट करिब ४० जनाको मृत्यु


    अबुजा, १९ भदौ (रासस–सिन्ह्वा) । नाइजेरियाको तेलका लागि समृद्ध मानिने रिभर्स राज्यमा पेट्रोलियम पदार्थबाट निस्केको विषाक्त रासायनिक धुवाँका कारण बिहीबार बिहान करिब ४० जनाको मृत्यु भएको आशङ्का स्थानीय अधिकारीहरूले गरेका छन् । रिभर्स राज्यका प्रहरी प्रवक्ता ब्लेसिङ आगाबेले सिन्ह्वालाई टेलिफोनमार्फत बताए अनुसार घटना ओक्रिका स्थानीय सरकार क्षेत्रको कच्चा तेल प्रशोधन केन्द्र स्थल नजिक भएको हो।

    पीडितहरूले उच्च मात्रामा खतरनाक ग्यास ह्वासप्रश्वासका क्रममा निलेको आशङ्का गरिएको छ। प्रहरी तथा स्थानीय स्वास्थ्य र आपतकालीन अधिकारीहरूले घटनाको अनुसन्धान सुरु गरेका छन्। केही घाइतेलाई नजिकैको अस्पताल लगेर उपचार गरिएको आगाबेले बताए ।

    समुदायका स्रोतहरूलाई उद्धृत गर्दै नाइजेरियाको राष्ट्रिय दैनिक द नेसन पत्रिकाले रिपोर्ट गरे अनुसार बिहीबार बिहान करिब २०० जना युवा स्थानीय रूपमा बनेका डुङ्गाबाट आएर नदीकिनारमा जहाजबाट अवैध रूपमा निकालिएको पेट्रोलियम पदार्थ लोड गर्न पुगेका थिए। लोड गर्ने क्रममा उक्त पट्रोलियम पदार्थबाट निस्केको तीतो धुवाँ हावामा फैलियो र नजिकमा रहेका पीडितहरूले तत्कालै श्वासप्रश्वास गर्न कठिन भएको बताएका थिए ।

    स्थानीय स्रोतहरूलाई उद्धृत गर्दै पत्रिकाले लेखेकोछ, “घटनास्थलबाट ओक्रिकाका बासिन्दा पहिचान भएका कम्तीमा ३७ शव निकालिएका छन् भने केही अझै बेपत्ता छन् ।

  • फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु

    फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु


    कास्की, १९ भदौः पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् । सेदीबाट लेकसाइडतर्फ आउँदै गरेकोे कारका चालकले नियन्त्रण गुमाउँदा पोखरा–१८ गैरीचौतारा घुम्तीमा भारतीय नम्बर प्लेटको कार बिहान ४ः५० बजे फेवातालमा खसेर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक दीपकप्रसाद रिजालका अनुसार मृत्यु हुनेमा भारतको विहार प्रदेश, इस्ट चम्पारण जिल्ला रक्सोल घर भएका २६ वर्षीय नवदीपकुमार यादव तथा पहिचान नखुलेका अर्का एक भारतीय पुरुष रहेका छन् ।

    उद्धार टोलीले फेवातालको पानीभित्रबाट उनीहरुलाई अचेत अवस्थामा निकालेर उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाएकामा चिकित्सकले दुवै जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक रिजालले बताए । दुर्घटनापछि उद्धार गरिएका भारतको विहार प्रदेश, मोतिहारी जिल्ला रक्सोल घर भएका २७ वर्षीय अनमोलकुमार यादव र ३३ वर्षीय सुरज यादवलाई उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।

    दुर्घटनाको सूचना प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको नेतृत्वमा १५ जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ हेक्वाटर कालिका गणबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा १३ जनाको टोलीसमेत उद्धार कार्यमा खटिएको थियो । दुर्घटनामा परेको भारतीय नम्बर बिआर ०५ बिबी ६७५९ को कारलाई क्रेनको सहायताले फेवातालबाट निकालेर वडा प्रहरी कार्यालय बैदाममा राखिएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक रिजालले जानकारी दिए ।

  • एनभिडियाका प्रमुख ह्वाङद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ अर्ब सहयोग

    एनभिडियाका प्रमुख ह्वाङद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा डेढ अर्ब सहयोग


    काठमाडौँ, १९ भदौः अर्थमन्त्री डा स्वर्णिम वाग्लेले अमेरिकी एआइ कम्पनीका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करिब डेढ अर्ब (१० मिलियन अमेरिकी डलर) सहयोग गरेको जानकारी दिएका छन् । अर्थमन्त्री डा वाग्लेले नेपाल सरकारका तर्फबाट ह्वाङप्रति धन्यवाद व्यक्त गर्दै उक्त सहयोग रसुवा–भोटेकोशी बाढीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताए ।

    “नेपाल सरकारका तर्फबाट एनभिडियाका संस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्वाङलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रसुवा–भोटेकोशी बाढीपीडितका लागि १० मिलियन अमेरिकी डलर सहयोग गर्नुभएकामा हार्दिक आभार व्यक्त गर्दछु”, उनले भनेका छन् । अर्थमन्त्री डा वाग्लेले ह्वाङको योगदान परोपकारी दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै यसबाट अन्य व्यक्ति तथा संस्थालाई पनि विपद् प्रभावितको सहयोगमा योगदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरकोछन् । उनले उक्त सहयोगले विपद्का कारण प्रभावित भएका नागरिकको राहत तथा पुनःस्थापनाका लागि थप सहयोग पुग्ने बताए ।

  • यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

    यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग

    काठमाडौँ, १९ भदौः अविरल वर्षाका कारण विभिन्न स्थानमा गएको पहिरो तथा आएको बाढीले काठमाडौँ उपत्यका र बागमती प्रदेशका प्रमुख राजमार्ग पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन् । नेपाल प्रहरीले जारी गरेको पछिल्लो सडक अवस्थाबारे अद्यावधिकअनुसार पृथ्वी राजमार्गअन्तर्गत बेनीघाट रोराङ गाउँपालिका–७ कृष्णभीरमा पहिरो गएपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । गजुरी गाउँपालिका–२ परेवा भीरमा भने साना सवारीसाधन एक लेनबाट सञ्चालन भइरहेका छन् जवाङखोला र कमेरेभीर क्षेत्रमा एकतर्फी यातायात सञ्चालनमा रहेको प्रहरीले जनाएको छ ।

    बाढीको सम्भावनालाई ध्यानमा राखी बिपी राजमार्गको काभ्रे खण्डमा सवारी सञ्चालनमा समयसीमा तोकिएको छ । १० टनसम्मका मालवाहक सवारीसाधन साँझ ७ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सञ्चालन गर्न दिइने तथा दिउँसो सडकको अवस्था हेरेर मात्र सञ्चालनको अनुमति दिइने जनाइएको छ ।

    रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुवेंशी सडकअन्तर्गत उत्तरगया गाउँपालिका–५ खाल्टेमा बाढीले सडक क्षति पु¥याएपछि यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाका अन्य मुख्य सडकसमेत अर्को सूचना नभएसम्म बन्द रहेका छन् । यसैगरी, नुवाकोटको टोखा–छहरे सडकअन्तर्गत घट्टेखोलामा पहिरोको जोखिमका कारण राति १०ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको छ । सिमटारस्थित पासाङल्हामु सडकखण्ड पनि पूर्ण रूपमा बन्द रहेको प्रहरीले जनाएको छ ।

    काठमाडौँ प्रवेश गर्ने चन्द्रागिरि नगरपालिका–२ चिसापानीमा पहिरो हटाएपछि काठमाडौँ–धादिङ सडकखण्ड भने एकतर्फी रूपमा सञ्चालनमा आएको छ । प्रहरीले अत्यावश्यक कामबाहेक यात्रा नगर्न तथा लामो दूरीको यात्रामा निस्कनुअघि सम्बन्धित जिल्लाको ट्राफिक प्रहरी वा प्रहरी ‘कन्ट्रोल रुम’मा सम्पर्क गरी सडकको अवस्थाबारे जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरेको छ । अवरुद्ध सडक खुलाउन डोजर तथा प्राविधिक टोली परिचालन गरिएको प्रहरीले जनाएको छ ।

  • त्रिशूली ३ ए सुरुङबाट दुई जनाको जिवित उद्धार

    त्रिशूली ३ ए सुरुङबाट दुई जनाको जिवित उद्धार


    १९ भदौ, काठमाडौं । त्रिशूली ३ एको सुरुङ भित्रबाट दुई जनाको जिवित उद्धार गरिएको छ । ृऊर्जा मन्त्रालयका अनुसार कबीर महर्जनको उद्धार भएको छ । सुरुमा सञ्जय साहको उद्धार भएको थियो । साह मेकानिकल फोरम्यान र कबीर महर्जन मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए । उनीहरु नेपाल विद्युृत प्राधिकरणका कर्मचारी हुन् ।

  • त्रिशूली ३ एको सुरुङबाट एक जनाको जिवितै उद्धार

    त्रिशूली ३ एको सुरुङबाट एक जनाको जिवितै उद्धार

    १९ भदौ, काठमाडौं । त्रिशूली ३ एको सुरुङ भित्रबाट एक जनाको जिवित उद्धार गरिएको छ । सांसद श्रीराम न्यौपानेका अनुसार उनी सञ्जय साह हुन् । अन्य पनि भित्र रहेको जानकारी आएको छ । अन्यको खोज तथा उद्धार कार्य जारी रहेको छ । १० औं दिनमा मजदूरहरु निकाल्न उद्धार टोली सफल भएको छ ।

  • श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल

    श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी छन् : राष्ट्रपति पौडेल


    काठमाडौँ, १९ भदौः राष्ट्रपति रामचन्द्र पौडेलले भगवान् श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको बताएका छन् । श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सुख, शान्ति र सुस्वास्थ्यको कामना गरेका छन् । विश्वभर सनातन धर्म र संस्कृतिको संरक्षण तथा विकासमा योगदान गर्नेले मानव जीवनका लागि मूल्यवान् धर्म, कर्म, प्रेम, नीति र ज्ञानका सन्देश प्रवाह गर्ने भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइने राष्ट्रपति पौडेलले उल्लेख गरेका छन् । विशेषगरी ललितपुरको पाटनस्थित कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना गरी यो पर्व मनाइन्छ ।

    स्वार्थरहित कर्म, सत्य, न्याय र धर्ममा अडिग रहने, शुद्ध मन र त्यागपूर्ण व्यवहार गर्ने तथा कर्तव्यप्रति सधैँ प्रतिबद्ध रहने श्रीकृष्णका सन्देश आज पनि उत्तिकै सान्दर्भिक र उपयोगी रहेको राष्ट्रपति पौडेलले बताए । राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतायुक्त नेपाली समाजलाई भावनात्मक एकताको सूत्रमा बाँध्दै आपसी सद्भाव कायम गर्न र सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न श्रीकृष्ण जन्माष्टमी पर्वले सहयोग पुर्याउने विश्वास व्यक्त गरेका छन् । उनले श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्भाव, करुणा, कर्म, योग र मैत्रीभाव बढाउँदै सभ्य र सुसंस्कृत समाज निर्माणका लागि प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।

  • श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

    श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै


    काठमाडौँ, १९ भदौः वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजाआराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेषगरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

    अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयं श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

    बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्छ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा भक्तजनको भीड लाग्छ ।

    राजधानीका विभिन्न स्थानमा रहेका ठूला, साना श्रीकृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्ने गर्छ । यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

  • बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने

    बिपी राजमार्गका सवारी चाप, मालवहाक गाडी रातिमात्र सञ्चालन गरिने


    काभ्रेपलाञ्चोक, १९ भदौः केही दिनअघि आएको बाढीले पृथ्वी राजमार्गको कृष्णभिरमा सडक अवरुद्ध भएपछि बिपी राजमार्गमा सवारी चाप बढेको छ । राजमार्गमा सवारी चाप बढेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले ट्राफिक–व्यवस्थापन गर्न आलोपालो प्रणाली लागू गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मालवाहक सवारीसाधन रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ ।

    जिल्लास्थित सुरक्षा समितिको बैठकले मालवाहक सवारीसाधनको तौल–सीमा तोक्दै रातको समयमा मात्रै सञ्चालन हुन दिने व्यवस्था गरेको छ । उक्त राजमार्गमा १० टन तौलभन्दा बढीका सवारीसाधन सञ्चालन गर्न समस्या हुने भएकाले तौल सीमा कायम गरिएको छ ।

    प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सडक जाम हुन नदिन ट्राफिक प्रहरी, जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँगको समन्वयमा आवश्यक व्यवस्था मिलाइएको बताए । उनले धुलिखेलबाट खुर्कोटतर्फ जाने र खुर्कोटबाट धुलिखेलतर्फ आउने मालवाहक सवारीसाधन सम्भव भएसम्म बाटोमा क्रस नहुनेगरी समय व्यवस्थापन गरिएको उल्लेख गरे ।


    डिभिजन सडक कार्यालय भक्तपुरले दुर्घटनाको उच्च जोखिम भएका साँघुरा घुम्ती तथा अवरोध हुनसक्ने स्थान पहिचान गरी सम्भव भएसम्मका सुधारका कार्य तत्काल अगाडि बढाउनेछ । ग्यास बुलेटलगायतका ठूला मालवाहक सवारीसाधनलाई बिपी राजमार्गअन्तर्गतको धुलिखेल–भकुण्डे सडकखण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिनेछ ।

    दुर्घटनाको उच्च जोखिम भएका साँघुरा घुम्ती तथा अवरोध हुनसक्ने स्थान पहिचान गरी सम्भव भएसम्मका सुधारका कार्य तत्काल अगाडि बढाइने डिभिजन सडक कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए । “राजमार्गका जोखिमयुक्त स्थानमा सवारीसाधन सहज पास गराउन तथा सडक अवरुद्ध हुन नदिन डोजर तथा अन्य उपकरण तम्तयारी अवस्थामा राखिएको छ”, उनले भने ।

  • सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट

    सुदूरपश्चिमका नागरिकको खोजीमा प्रदेश सरकार क्रियाशील छः मुख्यमन्त्री भट्ट


    धनगढी, १९ भदौः सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले भोटेकोशी बाढीमा परेर हराइरहेका नागरिकको खोजी तथा उद्धारका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपरेको बताएका छन् । बाढीमा हराएका आफन्तको खोजीको माग गर्दै बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका पीडितपरिवारसँगको भेटमा मुख्यमन्त्री भट्टले स्थानीय नागरिकको खोजी तथा उद्धारमा कुनै कसर बाँकी नराख्ने बताए ।

    मुख्यमन्त्री भट्टले हराइरहेका नागरिकको खोजीका लागि उपलब्ध सबै उपाय अवलम्बन गरिने उल्लेख गरे । हराइरहेकाको खोजी तथा उद्धारका लागि सङ्घीय सरकारसँग आवश्यक समन्वय भइरहेको उनले भने । उनले भने, “पीडितपरिवारलाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन प्रदेश सरकार तयार छ ।”प्रदेश सरकारले बेपत्ता नागरिकको खोजी तथा आफन्तसँग समन्वयका लागि हटलाइन सेवा सञ्चालन गरेको छ । उनले पीडितपरिवारलाई एक्लो महसुस हुन नदिने बताउँदै प्रदेश सरकार सधैँ जनताको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

  • भोटेकोशी बाढी : पाँच हजार ३८४ जनाको उपचार

    भोटेकोशी बाढी : पाँच हजार ३८४ जनाको उपचार


    काठमाडौँ, १९ भदौः भोटेकोशी बाढीबाट प्रभावितमध्ये हालसम्म पाँच हजार ३८४ जनाको उपचार गरिएको छ । बाढीका कारण ठूलो मानवीय क्षति हुनुका साथै हजारौँ मानिस प्रभावित भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढी प्रभावितमध्ये विभिन्न अस्पतालमा ३०४ जना उपचाररत छन् ।

    यस्तै, नेपाली सेनामार्फत तीन हजार २०६ जना र सशस्त्र प्रहरी बल नेपालमार्फत एक हजार ८७४ जनाले स्वास्थ्योपचार सेवा पाएका छन् । बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीपछि पाँच हजार ८३ जना अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रबाट हालसम्म १२ हजार ३८ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये तीन हजारभन्दा बढी व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ ।

    प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार उद्धार गरिएका व्यक्तिलाई सुरक्षित स्थानमा राखेर आवश्यक स्वास्थ्योपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने कार्य भइरहेको छ । सम्पर्कविहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन छन् ।

    यसैगरी, भोटेकोशी बाढीमा परी बिहीबार साँझसम्म रसुवा, नुवाकोट, धादिङ, चितवन, गोरखा, तनहुँ, नवलपरासीपूर्व र नवलपरासीपश्चिममा गरी एक हजार २९० शव फेला परेका छन् । भारतमा फेलापरेका शवसमेत उक्त विवरणमा समावेश गरिएको प्रहरीले जनाएको छ ।

    नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता अबिनारायण काफ्लेका अनुसार फेलापरेका शवमध्ये ३४ बालक, ४५ बालिका, २५० महिला र ४२७ पुरुष रहेका छन् । त्यस्तै, ५३२ आंशिक अङ्गसहितका शव फेलापरेका छन् । उपचारका क्रममा अस्पतालमा मृत्यु भएका दुई जनाको विवरण पनि त्यसमा समावेश गरिएको छ ।

    भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी, उद्धार, उपचार तथा राहतको कामलाई थप तीव्र पारिएको छ । प्रभावित क्षेत्रमा तत्कालीन राहतसँगै विस्थापितको उद्धार गरिएकाको तत्कालीन व्यवस्थापन र बेपत्ताको खोजी अहिले मुख्य प्राथमिकतामा छ ।

  • त्रिशूली ३ ए मा थुनिएका मजदूरको आवाज उद्धार टोलीले सुने

    त्रिशूली ३ ए मा थुनिएका मजदूरको आवाज उद्धार टोलीले सुने


    १९ भदौ, काठमाडौं । त्रिशूली ३ ए जलविद्युत आयोजना भित्र थुनिएका मानिसहरुको आवाज उद्धार टोलीले सुनेको छ । सांसद श्रीराम न्यौपानेका अनुसार भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत भएको उनले बताए ।

    हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उनी उद्धार तथा खोजी कार्यमा संलग्न थिए । आज उनी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छन् । उनले भनेका छन्, ‘उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मी प्रति हार्दिक सम्मान व्यक्त गर्दछु। आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ ।’

  • कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु

    कृष्णभीर माथिको डाँडामा रुख कटान सुरु

    चितवन, १८ भदौ : पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर माथिको डाँडामा रुख काट्ने र झाडी सफा गर्ने काम थालिएको छ । नौबिसे–मुग्लिन सडक आयोजनाको पश्चिम खण्डका इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार आज ३३ जना रुख काट्न र झाडी फाँड्न परिचालन गरिएको छ । तीमध्ये चार जना सुपरभाइजर हुन् भने बाँकी मजदुर हुन् । बुधबारबाटै झाडी फाँड्न थालिएको भए पनि आज रुखसमेत काट्न सुरु गरिएको हो । भित्तो पट्टिको डाँडाको भागलाई सफा गरेपछि कहाँबाट बाटो खोल्ने भन्ने एकीन गर्न सकिने मिश्रले बताउनुभयो ।

    दिनभरमा सफा गरिसक्ने अनुमान गरिएको छ । डाँडो सफा गरेपछि विज्ञहरुले हेरेसँगै कहाँबाट ट्याक खोल्न उपयुक्त हुन्छ । त्यसका लागि आवश्यक निर्देशनअनुसार काम अघि बढ्ने उहाँले जानकारी दिनुभयो । सडक विस्ताकारको काम गरिरहेको निर्माण कम्पनी शर्मा जेभीले सरसफाइ र रुख काट्ने काम गरेको हो । निर्माण कम्पनीले डाँडाको दुवैतर्फ एक्साभेटर तयारी अवस्थामा राखेको छ । मिश्रका अनुसार यो पहिलो डाँडो ८० मिटर हाराहारी चौडा छ ।

    सडकबाट ३० मिटर अग्लाइमा पहिलो डाँडो छ । त्योभन्दा माथि अर्को डाँडो छ । झण्डै २०० मिटर लम्बाइको सडक भासिएर र चिरिएको छ । यहाँ १० मिटर फराकिलो सडक रहेको थियो । त्रिशूली नदीले फेदमा रहेको बलियो संरचनासमेत बगाएपछि सडक भासिएको हो । निर्माण कम्पनीका सञ्चालक सहदेव खड्काले नक्साङ्कन तयार भएसँगै काम गर्न तयारी अवस्थामा रहेको बताउनुभयो । भदौ १४ गते बिहान यो सडक भासिएसँगै राजधानीसँगको सडक सञ्जाल अवरुद्ध भएको छ ।

    सरकारले यथासक्य छिटो सडक सञ्चालन गर्न आवश्यक निर्णय र निर्देशन दिई सकेको छ । भदौ महिनाभित्र वैकल्पिक मार्ग बनाउने गरी काम अघि बढाइएको हो । विसं २०५६ तिर यो सडकमा पटकपटक पहिरो खसेर दुःख दिएको थियो । यससँगै सडकलाइन मर्मत सम्भारपछि विसं २०६० यता सडकले दुःख दिएको थिएन । दुवैतर्फ कडा चट्टान छ भने भीरको बीच भागमा ६० देखि ७० मिटर भाग केही कमजोर रहेको इञ्जिनियर मिश्र बताउनुहुन्छ ।

    सोही ठाउँमा समस्या आएको हो । गतवर्ष सोही सडकको छेउ पट्टीको भाग भासिएपछि मर्मत भइरहेको थियो । यसै क्रममा पूरै सडक भासिएको हो । यो सडक भासिएसँगै गोरखातर्फबाट वैकल्पिक मार्गको खोजी भइरहेको छ । गोरखा तर्फबाट धादिङका फरक–फरक ठाउँमा निस्कने थुप्रै मार्ग छन् । तीमध्ये उपयुक्तलाई मर्मत सम्भार गरी वैकल्पिक रुपमा प्रयोगमा ल्याउन लागिएको हो । भोटेकोशीको बाढीसँगै आएको लेदो र गेग्रयानले त्रिशूली नदीको कृष्णभीरसहित विभिन्न ठाउँमा क्षति पुर्याएको छ । —

  • बाढी प्रभावित क्षेत्रमा कर छुटसहित सरकारद्वारा पुनरुत्थान प्याकेज घोषणा

    बाढी प्रभावित क्षेत्रमा कर छुटसहित सरकारद्वारा पुनरुत्थान प्याकेज घोषणा

    काठमाडौँ, १८ भदौः रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावित उद्योग, व्यापार, व्यावसायिक प्रतिष्ठान तथा आर्थिक गतिविधिको पुनरुत्थानका लागि नेपाल सरकारले कर छुट, भन्सार सहुलियत, कर्जा पुनःसंरचना तथा बिमा दाबी भुक्तानीलगायत विशेष प्याकेज घोषणा गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले अर्थ मन्त्रालयको प्रस्तावमा पहिलो चरणको प्याकेज स्वरुप बाढी प्रभावित व्यवसायी तथा उद्योगीलाई राहत, कर छुट, सहुलियत र वित्तीय सुविधा उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री डा स्वर्णिम वाग्लेको सचिवालयले जनाएको छ ।

    निर्णयअनुसार बाढीका कारण मर्मतसम्भार गर्न नसकिने गरी क्षतिग्रस्त वा बगाएका व्यावसायिक प्रयोजनका सवारी तथा ढुवानीका साधनको दर्ता खारेज गरी सोही प्रकृतिका साधन पुनः पैठारी गर्दा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल छुट दिइनेछ । बाढीबाट पूर्णरूपमा नष्ट भएका प्लान्ट, मेसिनरी, यन्त्र तथा उपकरण पुनः पैठारी गर्दा नष्ट भएको परिमाणभन्दा बढी नहुने गरी पैठारी गरिएमा त्यसमा लाग्ने सम्पूर्ण भन्सार महसुल छुट दिइने व्यवस्था गरिएको छ ।

    भन्सार महसुल बुझाइसकेको तर भदौ १० गतेको बाढीका कारण गन्तव्यमा नपुग्दै वस्तु नष्ट भएको अवस्थामा सोही प्रकृतिको वस्तु छ महिनाभित्र पुनः पैठारी गर्दा पहिले तिरेको महसुल बराबरको रकम समायोजन गर्न सकिनेछ । बाढी प्रभावित करदाताले भदौ र असोजमा बुझाउनुपर्ने विवरण तथा कर आगामी कात्तिक २५ गतेसम्म बुझाउन सक्ने गरी म्याद थप गरिएको छ ।

    बाढीबाट क्षति भएको व्यावसायिक सम्पत्तिमा तिरेको मूल्य अभिवृद्धि करको दाबी समायोजन प्रक्रिया सरल बनाइने तथा पूर्णरूपमा क्षति भएका व्यावसायिक सम्पत्तिको मूल्यलाई कर प्रयोजनका लागि एकमुष्ठ खर्च कट्टी गर्न सकिने व्यवस्था गरिने भएको छ । आंशिक क्षति भएका ह्रासयोग्य सम्पत्तिको मर्मत तथा सुधार खर्चमा आर्थिक वर्ष २०८३\८४ को करयोग्य आय निर्धारण गर्दा आयकर ऐनमा रहेको खर्च कट्टीको सीमा नलाग्ने व्यवस्था गरिनेछ ।

    बाढीबाट प्रत्यक्ष प्रभावित पूर्वानुमानित आय विवरण पेस गर्ने व्यक्तिलाई आय वर्ष २०८२\८३ को आयकर पूर्ण छुट दिइने निर्णयसमेत भएको छ । बाढी प्रभावित व्यवसायीलाई कर्जा तथा व्याजमा सहुलियत दिइने भएको छ । रसुवा भन्सारबाट पैठारी भएका वस्तुको क्षति यकिन गरी ऋणीको अनुरोधमा व्यवसाय र वस्तुको प्रकृति, क्षति तथा बिमा दाबीका आधारमा कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण तथा साँवा–व्याज भुक्तानीको म्याद सार्न सकिने व्यवस्था गरिनेछ ।

    बाढी प्रभावित ऋणीलाई बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको साँवा तथा ब्याज भुक्तानीका लागि एकपटक कर्जा पुनरसंरचना वा पुनरतालिकीकरण तथा भुक्तानी म्याद सार्ने सुविधा उपलब्ध गराइनेछ । बाढीबाट क्षतिग्रस्त व्यावसायिक सवारी, ढुवानीका साधन तथा यन्त्र उपकरण पुनः खरिद गर्न बैंकको आधारदरमा तोकिएको न्यूनतम प्रिमियम थप गरी कर्जा उपलब्ध गराउने र त्यस्तो कर्जाको ऋण–मूल्य अनुपात पुनरावलोकन गर्ने व्यवस्था गरिएको छ ।

    बाढी प्रभावित सबै प्रकारका ऋणीलाई एक वर्षसम्म बैंकको आधारदरमा शून्य दशमलव पाँच प्रतिशत बिन्दुको प्रिमियम वा विद्यमान प्रिमियमदरमध्ये जुन कम हुन्छ, सोही व्याजदर लागू हुनेछ । उद्योग वा व्यापार पुनरुत्थान तथा रोजगारीको सुरक्षा गर्न ऋणीको अनुरोधमा बैंकले सम्बन्धित तेस्रो पक्षको खातामा सोझै भुक्तानी हुने गरी थप कर्जा उपलब्ध गराउन सक्ने व्यवस्था पनि मिलाइनेछ । बिमा दाबीलाई शीघ्र र प्रभावकारी बनाउन सरल प्रक्रियाबाट सर्भेयर खटाउने व्यवस्था गरिने भएको छ ।

    प्रारम्भिक मूल्याङ्कन प्रतिवेदनका आधारमा बीमकले वीमितलाई बढीमा ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउनुपर्ने तथा पुनःवीमिकले समेत वीमकलाई बढीमा ५० प्रतिशतसम्म अग्रिम दाबी भुक्तानी उपलब्ध गराउने व्यवस्था मिलाइने जनाइएको छ । बिमा दाबी भुक्तानीलाई सरल बनाउन वीमकले संक्षिप्त दाबी भुक्तानी कार्यविधि शीघ्र तर्जुमा गरी लागू गर्ने निर्णय भएको छ ।

    बाढीबाट प्रत्यक्ष प्रभावित व्यवसाय तथा सम्पत्तिमा प्रदेश सरकार र स्थानीय तहलाई निश्चित अवधिका लागि सम्पत्ति कर, व्यवसाय कर, नक्सापास दस्तुर तथा अन्य स्थानीय शुल्कमा सहुलियत दिन अनुरोध गर्ने निर्णयसमेत मन्त्रिपरिषद्ले गरेको छ । यसका साथै, आर्थिक वर्ष २०८३\८४ मा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत योगदान गर्ने रकमलाई सम्बन्धित निकायको संस्थागत सामाजिक उत्तरदायित्ववापतको खर्चका रूपमा मान्यता दिने गरी सम्बन्धित ऐन, नियम तथा निर्देशिका परिमार्जन गर्ने व्यवस्था मिलाइने भएको छ ।

  • भदौ ३० र ३१ मा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुने

    भदौ ३० र ३१ मा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ हुने


    मुस्ताङ, १८ भदौः मुस्ताङमा यही भदौ ३० र ३१ गते ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’ आयोजना हुने भएको छ । जलवायु परिवर्तनको असरले हिमाली, पहाडी र तयाई क्षेत्रमा पु¥याएको असर, अनुकूल र विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले घरपझोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने तयारी गरेको हो ।

    काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर महानगरपालिकासहित ११ वटा उपमहानगरपालिका, २७६ नगरपालिका र ४५९ गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरूको उपस्थिति रहनेगरी तयारी थालिएको घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार गाउँपालिकाले यसअघि साउन २७ गते भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा देशभरका ७५३ वटै स्थानीय तहलाई जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन पत्राचार गरिसकेको छ ।

    विश्वकै चिन्ता र चाँसोको विषय बनेको जलवायु परिवर्तनको असरसम्बन्धी सम्मेलन रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीले निम्त्याएको विपद्को घटनापछि थप सापेक्षिक बन्दै गइरहेको अध्यक्ष लालचनले बताउनुभयो । सम्मेलनमा ७५३ वटै स्थानीय तहका प्रतिनिधिको सहभागिता तथा जलवायु विज्ञहरूको उपस्थितिमा सम्मेलन आयोजना गर्ने तयारी गरिएको उहाँले जानकारी दिनुभयो ।

    पर्वतीय क्षेत्रमा रहेका हिमाल तथा पहाडमा हिमपात फुट्ने, ग्लेसियरका ढिस्का खसेर बाँध बनी फुट्ने र हिमाल पग्लिएर नदीको सतह उच्च भई प्राकृतिक विपद्का घटनाको जोखिम बढ्ने विद्यमान अवस्थामा विपद्जन्य क्षेत्रको वैज्ञानिक तरिकाले अध्ययन गरी प्राकृतिक जोखिम न्यूनीकरणका लागि जलवायु परिवर्तन सम्मेलन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

    जलवायु परिवर्तनका असरले कृषि, पशुपालन, पर्यटन, धर्मसंस्कृति, पर्यावरण र जैविक विविधतामा प्रतिकूल असर पु¥याउँदै गइरहेको अवस्थामा जलवायु सङ्कटले निम्त्याउन सक्ने खतरा र जलवायु सङ्कटबाट नेपालमा हुने गरेको क्षति, राहत र अनुकूलका उपायसम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय जगतको ध्यानाकर्षण गर्न सघाउ पु¥याउने अपेक्षा घरपझोङ गाउँपालिकाले राखेको छ ।

    घरपझोङ गाउँपालिकाद्वारा आयोजना हुने जलवायु सम्मेलनका लागि मुस्ताङका अन्य चार स्थानीय तह र घरपझोङसँगै भगिनी सम्बन्धमा जोडिएका स्थानीय तहले सहकार्य गर्नेछन् । यसैगरी, सम्मेलनका लागि सङ्घीय सरकार र जलवायुसँग सम्बन्धित संस्थाले आवश्यक सहकार्य गर्ने अध्यक्ष लालचनले बताउनुभयो । उहाँका अनुसार सम्मेलनका लागि रु एक करोड ७० लाख बढी लागत खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    गाउँपालिका अध्यक्ष एवं जलवायु परिवर्तन सम्मेलन मूल आयोजक समितिका संयोजक लालचनले सम्मेलनको तयारी ७० प्रतिशत पूरा भइसकेको जानकारी दिनुभयो । मुस्ताङको जोमसोमस्थित कभर्ड हलमा सम्मेलनस्थल तोकिएको छ । गाउँपालिकाका अनुसार सम्मेलनमा आउने पाहुनाका लागि गाउँपालिकाभित्रका अधिकांश होटल दुई दिनका लागि अग्रिम बुकिङ गरिएको छ ।

    सम्मेलनमा अतिथि सत्कार, फोटो प्रर्दशनी, प्रचारप्रसार, शान्ति सुरक्षा, ट्राफिक व्यवस्थापन ,सांस्कृतिक झाँकी, उद्घाटन तथा बन्दसत्रलगायत कार्यतालिकासम्बन्धी सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिका संयोजक लालचनले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त सम्मेलनले घरपझोङ जलवायु परिवर्तनसम्बन्धी साझा घोषणापत्र जारी गर्ने छ ।

    सम्मेलनमा ७५३ वटै स्थानीय तहले आ–आफ्नो क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरसम्बन्धी बृहत् रूपमा छलफल तथा जलवायुसम्बन्धी बहस गर्ने गाउँपालिकाले जनाएको छ ।

  • बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए

    बाढीमा फसेका ११४ नेपाली तातोपानी नाकाहुँदै नेपाल फर्किए


    सिन्धुपाल्चोक, १८ भदौः रसुवाको भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली नागरिक केरुङ क्षेत्रबाट आज तातोपानी नाका हुँदै नेपाल फर्किएका छन् । तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमल्सिनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो । “चिनियाँ प्रतिनिधिले विभिन्न जिल्लाका ११४ नागरिकलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा हामीलाई जिम्मा लगाउनुभएको छ”, उहाँले भन्नुभयो, “चिनियाँ पक्षले राहदानी नम्बरसमेतको विवरणसहित प्रभावितलाई नेपाल पठाएको हो ।”

    प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेका अनुसार बाढी प्रभावित क्षेत्रमा परेर चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चिनियाँ पक्षले तातोपानी नाका हुँदै नेपाल पठाएको हो । उहाँका अनुसार रसुवामा आएको विनाशकारी बाढीका कारण चीनतर्फ फसेका ११४ नेपाली आज तातोपानी नाका हुँदै नेपाल आइपुगेका हुन् । अहिले तातोपानी भन्सार बन्द रहे पनि पर्यटक आउजाउका लागि उक्त नाका खुुला रहेको छ ।

    नेपाल फर्किनेमा अधिकांश सिन्धुपाल्चोक, नुवाकोट र रसुवा जिल्लाका रहेको जनाइएको छ । अस्थायी पास लिएर केरुङ पुगेका नेपालीलाई फर्काइएको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । रसुवागढी नाकाबाट केरुङसम्म सामान लिन, लोड–अनलोडको काम गर्न तथा होटेल तथा रेस्टुराँमा काम गर्न जाने नेपालीले भिसा लिनुनपर्ने व्यवस्था छ ।

    रसुवागढी नाका र पासाङल्हामु राजमार्ग बाढीका कारण कटानमा परेपछि अस्थायी पास लिएर केरुङ पुगेका नेपाली अलपत्र परेका थिए । महावाणिज्यदूत लक्ष्मीप्रसाद निरौलाका अनुसार उहाँहरुलाई तातोपानी नाकासम्म पुर्याउन चीनले सहजीकरण गरेको छ । अस्थायी अनुमति लिएर काम वा किनमेलका लागि जाने नेपाली तिब्बततर्फ ३० किलोमिटर भित्रसम्म मात्रै जान पाउँछन् । आफूसँग राहदानी र भिसा नभएका बाढीपछि तिब्बतमा अलपत्र परेका नागरिकलाई नेपाल फर्किन चीन सरकारले सहयोग गरेको महावाणिज्यदूत निरौलाले बताउनुभयो ।

    नेपाली महावाणिज्यदूतका अनुसार केरुङमा करिब एक हजार ६०० नेपाली रहेको अनुमान छ । तीमध्ये नेपाल फर्किनका लागि ८०० जनाले नाम टिपाएका छन् । “धेरैजसो सामान लिन आएका, किनमेलका लागि आएका र लोड–अनलोडको काममा आएकाहरु छन्”, महावाणिज्यदूत निरौलाले भन्नुभयो, “उहाँहरुले नेपाल फर्कन पाउँ भनेर नाम दर्ता गराउनुभएको छ ।

    रसुवाको भोटेकोशी नदीमा गएको बाढीपछि उक्त क्षेत्रमा रहेका नेपाली नागरिक प्रभावित भएका छन् । केही नागरिक अझै सम्पर्कविहीन छन् भने चीनतर्फ सुरक्षित अवस्थामा रहेका नेपालीलाई स्वदेश फर्काउने प्रक्रिया अघि बढाइएको छ । बाढीपछि सम्पर्कविहीन रहेका सिन्धुपाल्चोकका २३९ जनाको अवस्था अझै अज्ञात छ । उनीहरूको खोजीमा आफन्त तथा सम्बन्धित निकाय लागिपरेका छन् ।

  • कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी

    कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी


    काठमाडौँ, १८ भदौः भोटेकोशी बाढीले रसुवाको टिमुरेमा कार्यरत कमाण्डरसहितको सुरक्षाकर्मी गुमाउँदा पनि सशस्त्र प्रहरी बिचलित नभई आफ्नो कर्तब्यमा डटिरहेको छ । भदौ १० गतेको बाढीमा परी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट टिमुरेमा कार्यरत रहेका सशस्त्र प्रहरी निरीक्षक अम्बिर खत्रीसहित नौ जना र त्रिशूली जलविद्युत् आयोजना सुरक्षा बेस मैलुङमा कार्यरत चार गरी १३ जना सशस्त्र प्रहरी कर्मचारी बेपत्ता भएका थिए ।

    ड्युटीमा निस्किएका कमाण्डर खत्री र दोस्रो कमाण्डमा रहेका नायब निरीक्षक प्रकाश न्यौपानेसहितको टोली गुमाउँदा पनि सशस्त्र प्रहरी सहायक निरीक्षक तामबहादुर थापा मगरले तुरुन्त कमाण्ड सम्हाली आफ्नो फौज सुरक्षित गर्नुभएको थियो । बेपत्ता भएकामध्ये सशस्त्र प्रहरी जवान साजन कुँवरको शव पूर्वी नवलपरासीमा फेला परेको थियो भने अन्य सशस्त्र प्रहरी कर्मचारी अझै सम्पर्कबिहीन छन् ।

    बाढी गएको झन्डै २४ घण्टासम्म सरकारी कार्यालयको नाममा सशस्त्र प्रहरी बलको बिओपी मात्र एक्लै थियो । जुन टोली करिब एक दिन हेडक्वार्टरको सम्पर्कमा थिएन । बिजुली र टेलिफोन अबरुद्ध, हेक्वार्टरसँगको सम्पर्क बिच्छेद तथा कमान्डर गुमाएको फौजले आफ्नो कर्तव्य भने चुपचाप पूरा गरिरह्यो । यही भदौ ११ गते धुन्चेबाट सो क्षेत्रमा खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी निरीक्षक सञ्जु खत्रीको कमाण्डमा थप टोली पठाइएको थियो । उनीहरूले हालसम्म उक्त क्षेत्रमा बेपत्ता भएका ९८ जनाको शव फेला पारेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो ।

    सशस्त्र प्रहरीको उद्धार टोलीले भाद्र १२ गते साँझ टिमुरेमा माटोमुनि पुरिएको अवस्थामा छ वर्षीया बालिकालाई जीवितै उद्धार गर्न सफल भएको थियो । सो टोलीले बाढी आएको करिब ६० घण्टा पछि ती बालिका रोइरहेको आवाज सुनेपछि उनको उद्धार गरिएको हो ।

    बाढीमा परी सम्पर्कविहीन भएकाको खोजीका लागि सशस्त्र प्रहरीले चारह जार २०० जनशक्ति परिचालन गरेको छ । बाढी प्रभावित धादिङको मलेखु र गल्छी, नुवाकोटको देविघाट, कोलोनी, रातमाटे, तारकेश्वर, बेत्रावाती र तारुका तथा रसुवाको त्रिशुली–३ ‘ए’, त्रिशुली–३ ‘बी’, स्याफ्रुबेशी र बोगटीटारमा १२ वटा वेश स्थापना गरी खोज तथा उद्धारलाई तीव्रता दिएको छ । सशस्त्र प्रहरीका सहप्रवक्ता थापा जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि कत्ति पनि विचलित नभई सरकारले सुम्पेको जिम्मेवारीलाई दरिलो खम्बाका रुपमा उभिएर काम गर्दै आइरहेको बताउनुहुन्छ ।

    गोरखा भूकम्प, कोरोना महामारी, सीमलताललगायत ठूला घटना, दुर्घटना तथा महामारीमा समेत सशस्त्र प्रहरीले उत्कृष्ट कार्य प्रदर्शन गर्दै आइरहेको छ । रसुवा बाढीलगत्तै सशस्त्रले टिमुरेदेखि पश्चिम नवलपरासीसम्म करिब ८०० जना बिशेष तालिम प्राप्त टोली उद्धारमा खटाएको छ । उद्धार, राहत र स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन नुवाकोटमा सात, रसुवामा चार र धादिङमा दुई गरी १३ स्थानमा विपद बेस स्थापना गरेको छ ।

    विशेषज्ञ टोलीमा रहेको के९ ले १२, ड्रोन टिमले १९, स्वीफ्ट वाटर रेस्क्यु टिमले १२३ शव फेला पारेको छ । बिओपी टिमुरेले मात्र अन्य सुरक्षा निकायसँग सयुक्त रुपमा टिमुरे इलाकाबाट ९८ शव सङ्कलन गरेको छ ।

  • भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण

    भोटेकोशी बाढीपछि उद्धार तथा राहत प्रभावकारी बनाउन रास्वपाद्वारा ध्यानाकर्षण


    काठमाडौँ, १८ भदौः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीपछि भइरहेको खोज, उद्धार तथा राहत कार्यलाई थप प्रभावकारी, पारदर्शी र व्यवस्थित बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ। रास्वपा पार्टी सचिवालयको आज बसेको बैठकले विपद्मा परेका नागरिकको सुरक्षित उद्धार, घाइतेको उपचार तथा विस्थापितलाई आवश्यक राहत सामग्रीको न्यायोचित वितरण सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो ।

    बैठकले राष्ट्रिय विपत्तिको सामना राज्यको एकल प्रयासबाट मात्र सम्भव नहुने भन्दै सरकारले सञ्चालन गरिरहेका उद्धार तथा राहतका प्रयासमा पार्टीका सम्पूर्ण संरचनाबाट हुँदै आएको समन्वयात्मक सहयोगलाई निरन्तरता दिने निर्णय गरेको छ । साथै, सरकारका सकारात्मक तथा परिणाममुखी काममा रास्वपासहित अन्य दलको सहभागितामा सर्वदलीय संयन्त्रमार्फत संस्थागत सहयोग जुटाउन पहल गर्ने निर्णय गरेको छ ।

    बैठकले पार्टीका निवर्तमान कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक सुशासन तथा व्यवस्थापनमा पुर्‍याउनुभएको योगदानको कदर गर्दै धन्यवाद ज्ञापन गरेको छ । नवनियुक्त कोषाध्यक्ष डा मनोहर प्रधानलाई पद तथा गोपनीयताको शपथ गराई नयाँ जिम्मेवारी हस्तान्तरण गरिएको रास्वपाका प्रवक्ता जगदीश खरेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

    यसैगरी, सहमहामन्त्री पुरुषोत्तम शुप्रभात यादव, प्रवक्ता जगदीश खरेल तथा नवमनोनित सचिवालय सदस्यहरू शिशिर खनाल, गणेश पराजुली, दीपकराज बोहरा, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी, मनिष झा र शिव अधिकारीलाई पार्टी सभापति रवि लामिछानेले पद तथा गोपनीयताको शपथ गराएको विज्ञप्तिमा उल्लेख छ ।

  • बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान

    बाढीका कारण तीन खर्ब ८७ अर्बको क्षति भएको प्रारम्भिक अनुमान


    काठमाडौँ, १८ भदौ । सरकारले रसुवाको भोटेकोशी नदी यही भदौ १० गते गएको बाढीका कारण करिब रु चार खर्बको क्षति भएको अनुमान गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज यहाँ आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीले प्रारम्भिक अनुमानअनुसार रु तीन खर्ब ८७ अर्ब ५४ करोडको क्षति भएको जानकारी दिए । विस्तृत विवरण आउन बाँकी रहेको उनको भनाइ छ ।

    साथै चार महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनःस्थापनाका लागि रु सात अर्ब ९५ करोड आवश्यक भएको प्रारम्भिक अनुमान रहेको उनको भनाइ छ । “प्रारम्भिक क्षेत्रमा भवन, बस्ती, सञ्चार, स्वास्थ्य, पोषण, शिक्षा, कृषि तथा पशु र ऊर्जालगायतको क्षेत्रको पुनःस्थापनाका लागि उक्त रकम खर्च हुने अनुमान छ”, उनले भने ।