Author: Vishwanews.com

  • इजरायली नेता नेतान्याहूले अमेरिकालाई युद्धमा फसाएको इरानी विदेशमन्त्रीको दावी

    इजरायली नेता नेतान्याहूले अमेरिकालाई युद्धमा फसाएको इरानी विदेशमन्त्रीको दावी


    तेहरान, १६ भदौ (रासस–एएफपी) । इरानका परराष्ट्रमन्त्री अब्बास अराघचीले सोमबार इजरायली प्रधानमन्त्रीले वासिङ्टनलाई इस्लामिक गणतन्त्र इरानसँग युद्धमा फसाएको आरोप लगाउँदै बेन्जामिन नेतान्याहूलाई ‘विषालु सर्प’ को संज्ञा दिएका छन् । इरानी विदेशमन्त्री अराघचीले भने, “नेतान्याहूले हिब्रु भाषामा खुलेर गर्व गर्नुहुन्छ, उहाँले इजरायलको तर्फबाट इरानसँग युद्ध गर्न अमेरिकी प्रशासनलाई फसाउनुभएको छ ।”

    फेब्रुअरी २८ मा अमेरिका–इजरायली हमलाबाट इरानका सर्वोच्च नेता अली खामेनी र वरिष्ठ सैन्य अधिकारीहरूको मृत्यु भएपछि इरान र अमेरिकाबीच युद्ध सुरु भएको थियो । इरानले खाडी क्षेत्रभरि आक्रमण गरेर अमेरिका–इजरायली हमलाको जवाफ दियो र द्वन्द्व फैलिँदै गयो ।

    अप्रिलको युद्धविरामले सबैभन्दा तीव्र लडाइँ अन्त्य ग¥यो, तर हर्मुज जलमार्ग नजिक मुख्य रूपमा हुने छिटपुट आक्रमणले अन्तिम शान्ति सम्झौताको सम्भावना कमजोर बनाएको छ । अमेरिका हालै इरानको ‘आर्थिक सङ्कट’ निम्त्याएर दवाव दिने अभियानतर्फ लागेको छ । अमेरिकाले आइतबार राति इरानी टापु लारकमा आक्रमण गरेको थियो । यो एक महिनामा पहिलो ठूलो आक्रमण हो । जवाफमा इरानले जोर्डन र यूएईका अमेरिकी सैन्य आधारहरूमा आक्रमण गरेको दाबी गरेको छ ।

    “इरानका नेताहरूलाई ‘जङ्गली’ जन्तुको संज्ञा दिँदै गत साता नेतान्याहूले भनेका थिए, “इरान–अमेरिका सम्झौताको कुनै सम्भावना छैन ।” नेतान्याहू लामो समयदेखि इरानसँग कूटनीति गर्नु गलत हुने धारणा राख्छन् । उनले तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाको सन् २०१५ को आणविक सम्झौताको खुलेर विरोध गरेका थिए । तर ट्रम्पले वार्तामार्फत समाधान खोज्दा सार्वजनिक रूपमा आलोचना गर्ने कुरामा सावधान बनेका थिए ।

  • इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’ : यूएई

    इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’ : यूएई

    दुबई, १६ भदौ (रासस–एएफपी) । संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का गरिएको इरानी ड्रोन आक्रमणको निन्दा गर्दै यसलाई ‘खतरनाक वृद्धि’ भनेको छ । यूएईमा सापेक्षिक शान्तिको केही हप्तापछि यो घटना भएको हो ।

    यो मे महिनापछि यूएईको क्षेत्रलाई लक्षित गर्ने पहिलो इरानी आक्रमण हो, यद्यपि खाडी मुलुकले यस महिना आफ्ना जहाजहरूमाथि आक्रमण भएको रिपोर्ट गरेको छ । यूएईको परराष्ट्र मन्त्रालयले एक्समा जारी वक्तव्यमा भनिएको छ, “यूएईको क्षेत्रीय जलक्षेत्रमाथि हवाई रक्षा प्रणालीले रोकेको ड्रोन संलग्न शत्रुतापूर्ण इरानी आक्रमणको कडा निन्दा गर्दछ ।”

    मन्त्रालयले यूएईले ‘जवाफ दिने पूर्ण र वैध अधिकार’ सुरक्षित राखेको पनि बताएको छ । रक्षा मन्त्रालयले इरानबाट आएको ड्रोनलाई आफ्नो जलक्षेत्रमाथि नियन्त्रण गरेको बताउँदै अमेरिकी कर्मचारी बस्ने अखडामा क्षेप्यास्त्र आक्रमण भएको अफवाह अस्वीकार गर्‍यो । सोमबारको सुरुमा इरानले अल मिन्हाद हवाई अड्डालाई ‘दर्जनौँ ड्रोन आक्रमण” बाट लक्षित गरेको दाबी गरेको थियो ।

  • सुदूरपश्चिममा गौरा पर्व सुरु स् घरघरमा बिरुडा राखी मनाइँदै

    सुदूरपश्चिममा गौरा पर्व सुरु स् घरघरमा बिरुडा राखी मनाइँदै


    डडेल्धुरा, १६ भदौः सुदूरपश्चिमको जीवन्त मौलिक पर्व गौरा आजदेखि विधिवत् रूपमा सुरुआत भएको छ । भाद्र शुक्लपक्ष पञ्चमीदेखि सुरु हुने यो पर्व आज पहिलो दिन घर घरमा बिरुडा राखि मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी भन्ने गरिन्छ । आज व्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेँडागुडी) भिजाएर गौराको सुरुआत गरिन्छ ।

    तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो र अक्षताले सिँगारपटार गरी त्यसभित्र पञ्च अन्न मास, कलौँ, गहत, गहुँ र गुरुस भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रूपमा लिइन्छ । गौरादेवीको पूजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भाद्र महिनाको बिरुडा पञ्चमीदेखि गौरा पर्व विधिवत् रूपमा सुरु हुने आलिताल डडेल्धुराका ७८ बर्षिय खगेस्वरी भट्टले बताए ।

    “एक महिना अगाडिदेखि नै शुद्ध शाकाहार र बह्मचर्यको पालना गरी बिरुडा पञ्चमीको दिन महिलाले मास, कलौँ, गहत, गहुँ र गुरुस मिलाएर तामाको भाँडामा भिजाउने गरिन्छ”, उनले भने, “बिरुडा भिजाउँदा माङ्गलकी सगुन फाँग गाउँछौँ ।” बिरुडा भिजाउने बेला महिलाले डोटेली भाषामा सगुन तथा बिरुडा भिजाउने बेलाको फाग गाउने चलन छ ।

    फागमा सबै नारी गौरा पर्वको व्रत लिन लागेका र आफूले पनि यो व्रत लिने इच्छा गरेकाले बिरुडाका लागि आवश्यक दाल तथा अन्न सामग्री खोजी दिन महादेव (डोटेली भाषामा मयासर)लाई नगरमा गएर मागी ल्याउन आग्रह गरेको कुराकानीबाट कथाको आरम्भ हुने संस्कृतिका जानकार मुरलीधर अवस्थिले बताए । “मयासरले यो वर्ष आफ्नो घरमा केही पनि नभएको हुनाले अर्को वर्ष सुरु गर्नुभन्दा गौराले जिद्दी गरेपछि उनकै आग्रह बमोजिम नगरमा कलौँ बिरुडी खोज्न गएको प्रसङ्ग फागमा आउँछ”, उनले भने, “यो पुरुषको व्रतबन्ध गरेजस्तै महिलाले दुबधागो लाउने पर्व पनि हो ।” यसरी भिजाएका बिरुडालाई षष्ठीका दिन पखाल्ने चलन छ ।

    सप्तमी र अष्टमीलाई गौराको विशेष दिन मानिन्छ । सप्तमीका दिन नजिकैको धान खेतमा गएर धानसँगै उम्रिएको साउँ (धानजस्तै देखिने घाँस)बाट गौराको प्रतिमा बनाइ ‘गौराघर’ मा भित्राइने व्रतालु सरस्वती अवस्थी बताउँछिन् । “गौरा हाम्रो ठूलो पर्व हो, पुरुषजस्तै नारीले पनि यज्ञोपवीतका रूपमा दुबधागो लगाउने गछौँँ”, उनले भनिन्, “गौराको पूजा अर्चनाले विशेष गरी श्रीमान् तथा घरपरिवारका सदस्य निरोगी, दीर्घायु, परिवारमा सुख समृद्धि कायम हुन्छ ।”

    अष्टमीअर्थात् गौराष्टमीका दिन पूजाआजा गर्दै, मङ्गलगानका साथ गौरा नचाइन्छ । त्यसै क्रममा गौरालाई गौराघरको आँगनमा ल्याएर राखिन्छ, त्यहाँ अठवाली गीत, चैत, धमारी, राजा महाराजाका वीरगाताका साथमा नचाउने गरिन्छ । आजकै दिनदेखि ठाउँठाउँमा देउडा खेलिने चलन छ ।

    प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रूपमा भगवान् शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी)लाई गौरा देवीको रूपमा पूजाअर्चना गरिँदै आएको पाइन्छ । तिनै शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो । यो पर्व अगस्ति ताराको उदयका हिसाबले शुक्ल या कृष्ण दुवै पक्षमा पर्छ ।

    शुक्ल पक्षमा परेको गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा परेको गौरालाई अन्यारी गौरा भनिन्छ । यी दुवै गौरालाई अति पवित्र मानिए पनि उज्याली गौरालाई विशेष महत्त्वका साथ हेर्ने गरिन्छ। गौराकै अवसरमा सुदूरपश्चिमका विभिन्न स्थानमा गौरा कार्यक्रम राखिएको छ । गौराको अवसरमा सुदूरपश्चिमका लोकगीत देउडा, डुस्को, धुमारीलगायत विविध गतिविधि ठाउँ ठाउँमा गरिन्छन् ।

  • मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने घोषणा

    मेस्सीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिने घोषणा

    मियामी, १६ भदौ (रासस–एएफपी) । अर्जेन्टिना राष्ट्रिय टोलीका कप्तान तथा जादुमयी फुटबल खेलाडी लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट अवकाश लिन लागेको सोमबार घोषणा गरेका छन् । उनले अर्जेन्टिनालाई जुलाईमा लगातार दोस्रो विश्वकप फाइनलमा पु¥याएपछि अब धेरै नखेल्ने भनाइ सार्वजनिक हुँदै आएका थिए ।

    फुटबलका सुपरस्टार ३९ वर्षीय मेस्सीले इन्स्टाग्राममा लेखेका छन्, “यो निर्णयले मलाई पीडाबोध भएको छ र अझै पनि मेरो आत्मामा गहिरो पीडा हुनेछ । तर म बुझ्छु, यो सही समय हो।” उनले भने, “म शपथ खाएर भन्छु कि मैले सधैँ सबैथोक दिएँ, केवल पछिल्ला वर्षहरूमा जब हामीले सबै जित्यौँ मात्र होइन । त्यसभन्दा अघि पनि । मैले सधैँ यो जर्सीका लागि लडें र सबै दिएँ।”

    मेस्सीको कप्तानीमा उनले सन् २०२२ मा दोहामा फ्रान्सविरुद्ध पेनाल्टी सुटआउटमा जितेर अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाए । तर उनको टोलीले सन् २०२६ को फाइनलमा इस्ट रदरफोर्ड, न्यू जर्सीमा स्पेनसँग १–० ले हार बेहोर्‍ यो। अगस्टमा बुबा जर्जको मृत्युपछि मेस्सीले कुनै पनि प्रकारको फुटबल खेल्न ‘धेरै लामो समयसम्म’ जारी राख्नेबारे ‘गम्भीर शङ्का’ रहेको बताएका थिए ।


    मेजर लिग सकर क्लब इन्टर मियामीसँगको मेस्सीको करार सन् २०२८ को सिजनको अन्त्यसम्म चल्छ । उनले अर्जेन्टिनाका लागि २०७ खेल खेलिसकेका छन् र अर्जेन्टिनाका लागि १२५ गोल गरेर अर्जेन्टिनाका सर्वाधिक गोलकर्ता पनि बनेका छन् ।

  • ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन


    त्रिशूली (नुवाकोट), १६ भदौः नुवाकोटको विदुर नगरपालिका–१ स्थित ढुङ्गे क्षेत्रमा यातायात सञ्चालनमा ल्याइएको छ । विदुरबाट ढुङ्गे हुँदै सवारीसाधन सञ्चालनमा आएसँगै थप सहज भएको छ । भोटेकोशी बाढीले क्षति पुर्‍याएका सडक तथा डुबानमा परेका बस्तीमा सवारी सञ्चालनका लागि जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको छ ।

    ढुङ्गेबजारको बस्ती र सडकमा पुगेको क्षति तथा डुबानको अवरोध हटाई आवागमन सहज गराइएको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडक सञ्चालन भएसँगै उक्त क्षेत्रमा शव व्यवस्थापन, क्षति पुग्न बाँकी घरको सामग्री सङ्कलनसहित बेत्रावतीसम्म पुग्न सहज भएको छ । नगरप्रमुख श्रेष्ठले भने, “क्षति पुगेका सडक मर्मतका लागि यन्त्रउपकरणसहित जनशक्ति पठाउन सजिलो भएको छ ।”

    ढुङ्गेलगायत क्षेत्रमा अवरुद्ध सडक सञ्चालनका लागि सडक डिभिजन नुवाकोट, पूर्वाधार विकास कार्यालय र विदुर नगरपालिकाले हेभी उपकरणसहित जनशक्ति उपलब्ध गराएका थिए । नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीले अत्यावश्यक सहयोग गरेका थिए ।

  • हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट


    हेटौँडा, १६ भदौः हेटौँडा–काठमाडौँ सडकमा सवारी चाप बढेपछि आजदेखि साना यात्रुवाहक सवारीका लागि आउँदा र जाँदा फरकफरक मार्ग प्रयोग गर्नुपर्ने भएको छ । स्थानीय प्रशासनले १४ सिटभन्दा कम क्षमताका सवारीसाधन भीमफेदी–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुँदै जानेछन् । काठमाडौँबाट हेटौँडा आउने सवारी फर्पिङ–फाखेल–कुलेखानी–भीमफेदी हुँदै आउनुपर्ने छ ।

    जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रशासकीय अधिकृत सन्तोष सुवेदीका अनुसार, मालवाहक तथा ठूला यात्रुवाहक सवारीसाधनले काठमाडौँ जाँदा त्रिभुवन राजपथ र फर्किंदा कान्ति राजमार्ग प्रयोग गर्नुपर्नेछ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने सवारीको चाप बढेको छ । नयाँ व्यवस्थाले वैकल्पिक सडकमा हुने सवारी जाम तथा लामो समय सवारी रोक्नुपर्ने अवस्थाको अन्त्य हुनेछ ।

  • कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    चितवन, १६ भदौः पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि राजधानी बाहिर ग्यास वोटलिङ (भरिने) भएको छ । ग्यास बोकेका बुलेट जान नसक्ने भएपछि उपत्यका र छिमेकी जिल्लाका ग्यास उद्योगले उपत्यका बाहिर भरेर गाडीमा लैजाने भएका हुन्। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष देवान चन्दका अनुसार नेपाल आयल निगमले उद्योगीलाई राजधानी बाहिर ग्यास भर्न अनुमति दिएको छ ।

    उपत्यका र छिमेकी जिल्लामा रहेका १६ वटा उद्योगले बारा, पर्सा, चितवन, मकवानपुर, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) जिल्लाका उद्योगसँग समन्वय गरी ग्यास भर्ने भएका छन् । उपत्यका र छिमेकी जिल्लामा मात्रै कुल खपतको ४० प्रतिशत बढी ग्यास आवश्यक रहेको उनी बताउँछन् ।


    सङ्घका सदस्यसमेत रहेका बाबा ग्यासका सञ्चालक विमल कालाखेतीले कृष्णभीरको बाटो नखुलेसम्म अन्य उद्योगमा ग्यास भरेर वैकल्पिक बाटोबाट काठमाडौँ लगिने जानकारी दिए । यी जिल्लाका उद्योगमा भरेका ग्यास त्रिभुवन राजपथसहितका सडकबाट काठमाडौँ लगिने उनले बताए । बाहिरका उद्योगमा ग्यास भर्ने काम सुरु भइसकेकाले उपत्यका र छिमेकी जिल्लामा अभाव नहुने भन्दै उनले जगेडा नराख्न सुझाव दिए ।


    श्री ग्यासले बाबा, श्रीकृष्णले साइबाबा, श्रीरामले जानकी, नेपाल ग्यासले नेपाल गण्डकी, एभरेष्ट र सुगमले साहारा उद्योगमा ग्यास भर्न सुरु गरिसकेको कालाखेतीले जानकारी दिए । अन्य उद्योगले पनि राजधानी बाहिरका उद्योग वा अन्य उद्योगसँग समन्वय गरेर भर्न सुरु गरेको उनको भनाइ छ।

  • ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन


    नारायणगढ (चितवन), १६ भदौः रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि त्रिशूली र नारायणी नदीका तटीय क्षेत्रमा फेला परेका शवमध्ये हालसम्म २८० शवको ‘फरेन्सिक’ परीक्षण तथा ‘डिएनए’ नमूना सङ्कलन गरी चितवनको देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।

    भरतपुर अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार यही भदौ १० गते रातिदेखिनै सुरक्षाकर्मीले त्रिशूली नदीबाट सङ्कलन गरेका शव अस्पतालमा ल्याई संरक्षण गरेका थिए । यही भदौ ११ गते बिहानदेखि फरेन्सिक विज्ञको नेतृत्वमा चिकित्सक टोली परिचालन गरी शव पहिचानका लागि आवश्यक फरेन्सिक परीक्षण, डिएनएलगायत जैविक नमूना सङ्कलन तथा अभिलेखीकरणको काम सुरु गरिएको हो ।

    जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म त्रिशूली र नारायणी नदीबाट ३२१ शव सङ्कलन गरिएको छ । तीमध्ये १२ शवको सनाखत भई आफन्तले बुझिसकेका छन् । सङ्कलित शवमध्ये ६६ महिला, ११६ पुरुष, सात बालक, छ बालिका र १२६ पहिचान खुल्न नसकेका वा अवस्था नखुलेका शव रहेका छन् ।
    उनले भविष्यमा पहिचान गर्न सकिने गरी अन्तरराष्ट्रिय मान्यताअनुसार देवघाटस्थित व्यवस्थापन स्थलमा सुरक्षित रूपमा ती शवको व्यवस्थापन गरिएको बताए । भदौ १३ गते ९६ शव, भदौ १४ गते १०३ शव र भदौ १५ गते ८१ शव व्यवस्थापन गरिएको हो ।

    प्रहरी उपरीक्षक पौडेलले नदी किनारमा शव खोज्ने कार्य अझै दैनिक रूपमा जारी रहेको बताए । नदीबाट फेला परेका शव भरतपुर अस्पताल ल्याई फरेन्सिक परीक्षण र डिएनए नमूना सङ्कलन गरेपछि देवघाटस्थित व्यवस्थापनस्थलमा सुरक्षित रूपमा व्यवस्थापन गर्ने कार्य निरन्तर भइरहेको उनले जानकारी दिए ।

  • धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम

    धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सहित सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम


    धादिङ, १६ भदौः यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा वैकल्पिक सडकलाई अस्थायी यातायात रुट कायम गरिएको छ । ती मध्ये धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार प्रभावकारी रहेको जनाइएको छ । कूल ३६ किलोमिटर सो सडकका केही स्थानमा पिच रहेको छ , केही स्थानमा स्तरोन्नतिका क्रममा छ भने केही स्थानमा तत्काल स्तरोन्नति र कोशीखोलमा ‘बेलिब्रिज’ राख्न जरुरी रहेको देखिन्छ ।

    प्रमुख जिल्ला अधिकारी एवं यातायात व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मी पाण्डेय (गौतम)को अध्यक्षतामा सोमबार बसेको समितिको बैठकले विपद्का कारण अवरुद्ध तथा प्रभावित यातायात सेवा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने निर्णय गरेको हो । समितिले सो सडक सहित धादिङवेशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोशीखोला–फोर्सेटार,परेवाटार–आदमटार–बेलिनटार–मासटार, तथा धादिङबँेशी–टारीबेँशी–सल्यानटार–आरुघाट–गोरखाबजार–आँबुखैरेनी हुँदै चितवन र पोखरा जाने सडकलाई अस्थायी यातायात रुट कायम गरेको छ ।

    बैठकले ती सडक तत्काल सञ्चालन योग्य बनाउन सम्बन्धित सरकारी कार्यालयलाई स्तरोन्नति तथा आकस्मिक मर्मतको जिम्मेवारीसमेत तोकेको छ । धादिङबेँशी–सुनौलाबजार–भोर्ले, लस्करे– कोशीखोला–फोर्सेटार–कल्लेरीटार सडकको जिम्मेवारी पूर्वाधार विकास कार्यालय धादिङलाई दिइएको छ । परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मासटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सडक डिभिजन नुवाकोटले गर्नेछ ।

    त्यस्तै धादिङबेँशी–भुलभुले–पात्ले–फ्याक्से–स्यालडाँडा–डाँडागाउँ–कोसीखोला–फोर्सेटार सडकको स्तरोन्नति तथा आकस्मिक मर्मत सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालयले यथाशीघ्र गर्ने निर्णय गरिएको छ । बाढीबाट धादिङबेसीलाई पृथ्वी राजमार्गसँग जोड्ने सडक तथा पुलमा क्षति पुगेपछि यातायात सेवा नियमित र सहज बनाउन वैकल्पिक सडकलाई अस्थायी रुटका रूपमा प्रयोग गर्ने निर्णय गरिएको जनाइएको छ । समितिले प्रचलित सवारी तथा यातायातसम्बन्धी कानुनी व्यवस्थाअनुसार ती सडकलाई अस्थायी रुट कायम गरिएको धादिङका प्रमुख जिल्ला अधिकारी पाण्डेयले जानकारी दिए ।

  • बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण

    बाढीप्रभावित महिला तथा किशोरीलाई ‘डिग्निटी कीट’ वितरण


    काठमाडौँ, १६ भदौः विनाशकारी बाढीबाट विस्थापित भएका महिला तथा किशोरीको स्वास्थ्य सुरक्षालाई विशेष ख्याला राख्दै उनीहरुलाई आवश्यक स्वास्थ्य सेवा, ‘डिग्निटी कीट’, मनोसामाजिक परामर्श लगायत सेवा प्रभावित क्षेत्रमा प्रदान गर्न थालिएको छ । यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीमा बच्न सफल भएका उनीहरुलाई संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) को सहकार्यमा नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकले आवश्यक पर्ने सामग्री वितरण जारी राखेका छन् ।

    आपत्कालीन पूर्वतयारी तथा प्रतिकार्य परियोजनामार्फत घरबारसहित आफन्तजन गुमाएर पीडामा रहेका महिलाहरुलाई मर्यादा सामग्री (डिग्निटी कीट), किशोरीहरुलाई ‘किशोरी कीट’ सहित तालपोलियन वितरण जारी रहेको छ । साथै प्रभावित क्षेत्रमा स्वास्थ्य शिविर सेवा (हेल्थ क्याप) सञ्चालन गरेर उनीहरुको स्वास्थ्य रक्षा गर्न लागिएको छ ।

    हालसम्म दुईहजार ‘डिग्निटी कीट’, चारसय ‘किशोरी कीट’ र तीनहजार तारपोलियन वितरण भैसकेको यहाँस्थित ‘युएनएफपिए’ ले जनाएको छ । स्वास्थ्य शिविर सेवा अत्यावश्यक स्वास्थ्य सेवासहित मनोसामाजिक परामर्श, यौन तथा प्रजनन स्वास्थ्य सेवा जारी छ । नुवाकोटका विभिन्न अस्थायी आश्रयस्थलमा आश्रित भएका महिला तथा किशोरीका दैनिक आवश्यकतालाई ध्यानमा राख्दै ती सेवा जारी रहेको ‘युएनएफपिए’ उल्लेख गरेको छ ।

    अस्थायी आश्रयस्थल–ककनी÷किस्पाङ क्षेत्र, त्रिभुवन मावि, विदुर, बट्टार तामाङ प्लाजा र सामुदायिक बहुउद्देश्यीय भवन विदुरलगायतका स्थानमा रहेका प्रभावित महिला तथा किशोरीहरूलाई ‘डिग्निटी कीट’ उपलब्ध गराइएको र धादिङ र रसुवाका प्रभावित महिला तथा किशोरीहरूका लागि समेत ‘डिग्निटी कीट’ वितरण गर्ने तयारी भइरहेको छ नेपाल रेडक्रसले जनाएको छ ।

  • पूर्वाधार मन्त्रालयबाट बाढी प्रभावितको पुनःस्थापनाको खाका बनाउन कार्यदल गठन

    पूर्वाधार मन्त्रालयबाट बाढी प्रभावितको पुनःस्थापनाको खाका बनाउन कार्यदल गठन

    १६ भदौ, काठमाडौं । पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन २१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी कार्यदल गठन गरेको छ। कार्यदलले प्रभावित क्षेत्रका सडक, पुल, खानेपानी, पुनर्वास, झोलुङ्गे पुल, भग्नावशेष व्यवस्थापन, सञ्चार तथा स्वास्थ्य लगायतका क्षेत्रमा आवश्यक कामको पहिचान, समन्वय र कार्यान्वयनमा सहजीकरण गर्नेछ। साथै, सम्बन्धित सरोकारवाला निकाय तथा एजेन्सीलाई परिचालन गरी कामको नियमित अनुगमन र रिपोर्टिङ गर्नेछ।

    विपतबाट भएको क्षति तथा जोखिमको शीघ्र प्राविधिक एवं वस्तुगत मूल्याङ्कन गर्ने जिम्मेवारी कार्यदलले पाएको छ । तत्काल सञ्चालन गर्नुपर्ने आपत्कालीन पुनःस्थापना तथा अत्यावश्यक सेवाको पहिचान गरी सम्बन्धित निकायलाई परिचालन गर्ने समेत कार्यदलको जिम्मेवारी छ । प्रभावित क्षेत्र, संरचना तथा परिवारलाई जोखिम र प्राथमिकताका आधारमा वर्गीकरण गरिने छ । तत्कालीन, अल्पकालीन तथा दीर्घकालीन कार्ययोजना तयार पारिने समेत मन्त्रालयले जनाएको छ ।

    आवश्यक जनशक्ति, उपकरण, सामग्री तथा वित्तीय स्रोतको आवश्यकता निर्धारण गर्ने र संघ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, निजी क्षेत्र तथा विकास साझेदारबीच समन्वय र सहजीकरण गर्नेसमेत कार्यदलको जिम्मेवारीमा छ । पुनर्निर्माणका क्रममा भूगर्भीय अवस्था, जलवायु परिवर्तन, बाढी, पहिरो तथा अन्य विपद् जोखिमलाई समेट्दै बुल्ड ब्याक बेटरको सिद्धान्त लागू गर्ने तथा दोहोरो लगानी, स्रोतको दुरुपयोग तथा अनावश्यक दोहोरिने काम रोक्न एकीकृत योजना तथा सूचना प्रणालीको प्रयोग गर्ने समेत कार्यदलको जिम्मेवारीमा रहेको छ ।


    आवश्यक नीतिगत, कानुनी, प्रशासनिक तथा बजेटसम्बन्धी निर्णयका लागि सम्बन्धित निकाय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय समक्ष सिफारिस गर्ने, कार्यप्रगति, देखिएका समस्या तथा समाधानका उपायसहित नियमित प्रतिवेदन पेश गर्ने तथा कार्यदलको कार्यक्षेत्रभित्रका कामको अनुगमन, मूल्याङ्कन तथा गुणस्तर सुनिश्चित गर्ने जिम्मेवारी दिएको छ ।


    विपद् पुनःस्थापनाका क्रममा प्राप्त अनुभव तथा तथ्यका आधारमा भविष्यमा हुने विपद् न्यूनीकरणका लागि आवश्यक नीतिगत सुझाव दिने र कार्यदलले सम्बन्धित सबै निकायबीच आवश्यक समन्वय गर्दै प्रभावित क्षेत्रको शीघ्र पुनःस्थापना, अत्यावश्यक पूर्वाधारको पुनःसञ्चालन र नागरिकलाई सामान्य जनजीवनमा फर्काउने कार्यलाई शिघ्र कार्यान्वयन गर्नेछ ।

  • कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक रुटबाट सवारी सञ्चालन


    काठमाडौँ, १५ भदौः पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँ प्रवेश गर्ने र बाहिरिने सवारीसाधनलाई वैकल्पिक मार्गबाट सञ्चालन गरिएको छ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि यात्रुवाहक सवारीसाधनलाई काठमाडौँ–बाइरोड–नौबिसे–पालुङ–भैँसे तथा फर्पिङ–कुलेखानी हुँदै सञ्चालन गरिएको छ । मालवाहक सवारीसाधनलाई भने कान्ति लोकपथ हुँदै आवतजावतको व्यवस्था मिलाइएको प्रहरीले जनाएको छ ।

    त्यस्तै, रसुवा जाने सवारीसाधनले टोखा–छहरे–नुवाकोट हुँदै वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने व्यवस्था गरिएको कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार रसुवाको धुन्चेसम्म राहत सामग्री पुर्‍याउन अहिले चारपाङ्ग्रे सवारीसाधन मात्र प्रयोग गर्न सकिने अवस्था छ । कच्ची सडक भएकाले राहत सामग्री बोकेका सवारीसाधनले ट्राफिक प्रहरीसँग समन्वय गरी आवागमन गर्नुपर्ने उनले बताए ।


    वैकल्पिक मार्गमा सवारीसाधनको चाप बढेकाले सवारी जाम तथा दुर्घटनाको जोखिम कम गर्न ट्राफिक प्रहरीले चालकलाई धैर्यपूर्वक आफ्नो पालोमा मात्र सवारी चलाउन र ओभरटेक नगर्न आग्रह गरेको छ । यात्रु, यातायात व्यवसायी तथा चालकलाई तोकिएको वैकल्पिक मार्गको व्यवस्था पालना गरी आवागमन सहज बनाउन सहयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ ।

  • भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह

    भोटेकोशी बेसिनका माछा सेवन नगर्न आग्रह


    काठमाडौँ, १५ भदौः नेपाल प्रहरीले भोटेकोशी बेसिन नदीका माछा एवं नदीजन्य पदार्थ सेवन नगर्न आग्रह गरेको छ । भोटेकोशीमा बाढीसँगै बगेर आएका शव, मृत जीवजन्तु तथा अन्य फोहोरजन्य र प्रदूषित पदार्थका कारण पानीमा हानिकारक कीटाणु मिसिएकाले नदीबाट निकालिएका माछा तथा अन्य खाद्यपदार्थ नखान, नदीको पानी नपिउन प्रहरीले आग्रह गरेको हो ।

    भोटेकोशी तथा आसपासका नदी किनारबाट माछा एवं अन्य नदीजन्य खाद्यपदार्थ निकाल्ने, घरमा लैजाने वा खाने जस्ता कार्य नगर्न प्रहरीले सबैलाई सूचित गरेको छ । दूषित पानी तथा खाद्यपदार्थको प्रयोगले हैजा, झाडापखाला, छालामा संक्रमणलगायत रोग फैलिन्छ ।

  • रास्वपा सभापतिले राष्ट्रपति पौडेलसँग गरे बाढी पहिरोको अवस्थाबारे व्रिफिङ

    रास्वपा सभापतिले राष्ट्रपति पौडेलसँग गरे बाढी पहिरोको अवस्थाबारे व्रिफिङ


    काठमाडौँ, १५ भदौः राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले भेट गरेका छन् । राष्ट्रपतिको कार्यलयमा आज भएको उक्त भेटमा सभापति लामिछानेले राष्ट्रपति पौडेललाई भोटेकोसी हुँदै त्रिशूली नदीमा गएको बाढी र त्यसबाट भएको क्षतीसँगै उद्धार तथा राहतका लागि भइरहेका गतिविधिबारे जानकारी गराउनुभएको रास्वपाले जनाएको छ । सभापति लामिछानेले आजै प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटी सरकारले गरिरहेको कामबारे जानकारी लिएपछि सोबारे राष्ट्रपति पौडेललाई जानकारी गराएका हुन् ।

  • जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, नतिजा के छ ?

    जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी, नतिजा के छ ?


    काठमाडौँ, १५ भदौः सरकारले रसुवा बाढीका कारण प्रभावित जलविद्युत् आयोजनामा खोज तथा उद्धार जारी राखेको जनाएको छ । नेपाली सेनाले ती आयोजनामा विभिन्न देशका विज्ञ टोलीसहित खोज तथा उद्धार गरिरहेको हो । नेपाली सेनाले दिएको जानकारीअनुसार विभिन्न जलविद्युत् आयोजनाबाट हालसम्म २७९ जनाको उद्धार गरिसकेको छ । नेपाली सेनाको टोलीले रसुवागढी जलविद्युत् आयोजनाबाट दुई जनाको उद्धार गरेको छ ।

    उक्त आयोजनामा चिनियाँ र नेपाली सेनाको संयुक्त टोलीले सुरुङको भित्री भागसम्म खोजी गरेको थियो । सेनाका अनुसार रसुवाको लाङटाङ खोला र चिलिमे जलविद्युत् आयोजनाका लागि नेपाली सेनासँगै भारतीय उद्धार टोली र केही नेपाली सहयोगीहरूले आज बिहानदेखि सुरुङको मुख खोल्ने काम गरिरहेका छन् । नेपाली सेनाले मैलुङ खोला जलविद्युत् आयोजनाबाट नौ जनाको उद्धार भइसकेको जनाएको छ ।

    माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार भइसकेको छ । उक्त आयोजनाको सुरुङमा खोज तथा उद्धारको प्रयास भइरहेको छ । उक्त आयोजनामा नेपाली सेनासँगै कोरियन र चिनियाँ टोलीले काम गरिरहेको सेनाको भनाइ छ । नुवाकोट माथिल्लो त्रिशूली थ्री ‘ए’ को सुरुङमा नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको गरी ९० जनाको टोलीले खोज तथा उद्धारको प्रयास गरिरहेको छ । उक्त स्थानमा नेपाल विद्युत् प्राधिकरणको टोलीले पनि सहयोग गरिरहेको छ ।

    माथिल्लो त्रिशूली ३ ‘बी’ जलविद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाले दुई जनाको उद्धार गरिसकेको छ । हाल उक्त आयोजनामा नेपाली सेनाका थप नौ जना परिचालन गरी कूल ३१ जनाले खोज तथा उद्धारको काम गरिरहेका छन् । यहाँ चिनियाँ उद्धार टोलीले रेकी गरेपछि नेपाली सेनाले खोज तथा उद्धारको प्रयास सुरु गरेको हो । नुवाकोटको त्रिशूली जलविद्युत् आयोजनाबाट तीन जनाको उद्धार भइसकेको छ । सौर्य आयोजनाबाट चार जनाको र देवीघाट जलविद्युत् आयोजनाबाट पाँच जनाको उद्धार भइसकेको नेपाली सेनाले जनाएको छ ।

  • बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना

    बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना


    काठमाडौँ, १५ भदौः बाढी प्रभावित प्रभावित जिल्लामा अवरुद्ध भएको विद्युत् पुनःस्थापना भइरहेको ऊर्जा तथा जलस्रोत मन्त्रालयले जनाएको छ ।
    मन्त्रालयका अनुसार बाढी प्रभावित रसुवाको कालिकास्थान, नौकुण्डको केही भाग गोसाइँकुण्ड गाउँपालिकाको वडा ५ र ६ का केही भाग गरेर सदरमुकाम धुन्चेसहित करिब ३० प्रतिशत घरधुरीमा विद्युत् पुगिसकेको छ ।

    साथै आमाछोदिङ गाउँपालिकाका केही भागमा सान्जेन जलविद्युत् आयोजनाबाट छुट्टै प्रणालीमार्फत विद्युत्् सञ्चालनको तयारी भइरहेको छ । जिल्लाका बाँकी भागमा घरायसी सोलारमार्फत विद्युत् सेवाका लागि ५०० थान पोर्टेबल सोलार पठाइएको छ । नुवाकोट जिल्लाभर विद्युत् सेवा प्रभावित भएकामा हाल ८५ प्रतिशत क्षेत्रमा विद्युत् पुनःस्थापना भइसकेको छ । बाँकी १५ प्रतिशत क्षेत्रमा आगामी पाँच दिनभित्र विद्युत् सेवा उपलब्ध गरी काम भइरहेको छ । विदुर नगरपालिकाको १, ३, ५, ६, १० र ११ का केही भाग स्थान, तारकेश्वर गाउँपालिकाको १, २, ३, ४, ५ र ६ का केही भाग बेलकोटगढी नगरपालिकाको ७ र ८ र किस्पाङ गाउँपालिका भर विद्युत् पुर्याउने काम भइरहेको छ ।

    मन्त्रालयका अनुसार धादिङका पृथ्वीराजमार्गको दायाँबायाँको क्षेत्र (गजुरी, आदमघाट, मलेखु, जहरे, मौवाखोलासम्म) प्रभावित भएकामा आमदघाटको केही क्षेत्रबाहेक धादिङको सम्पूर्ण क्षेत्रमा ९८ प्रतिशत विद्युत् सेवा पुनःस्थापना भइसकेको छ । अबको दुई दिनमा सम्पूर्ण क्षेत्रमा विद्युत् सेवा पुनःस्थापना हुने गरी काम भइरहेको छ ।

    सूचना तथा सञ्चार मन्त्रालयका अनुसारसञ्चार सेवा पनि अधिकांश स्थानमा पूरा भइसकेको छ । नेपाल टेलिकमका १२० बिटिएसमध्ये ११० वटा र एनसेलका ७८ मध्ये ७५ वटा टावरले सेवा प्रवाह सुरु गरिसकेका छन् ।

  • भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन

    भोटेकोशी बाढीः गोरखामा थप सात शव व्यवस्थापन

    गोरखा, १५ भदौः भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट त्रिशूली नदीले बगाएर गोरखाका नदी क्षेत्रमा फेला परेका थप सात शव आज व्यवस्थापन गरिएको छ । गोरखास्थित गण्डकी गाउँपालिका र सहिदलखन गाउँपालिकाको क्षेत्रभित्र फेला परेकामध्य तत्काल पहिचान हुन नसक्ने थप सात शव आज अस्थायी रूपमा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ । गोरखामा शनिबारदेखि शव व्यवस्थापन गर्न सुरु गरिएको हो ।

    पहिचान गर्न सकिने सग्लो शव पोखरा पठाउने गरिएको जनाउँदै पहिचान गर्न समस्या हुने किसिमका शवलाई लुदीखोला घाटमा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।


    भोटेकोशी बाढीले रसुवालगायत क्षेत्रबाट बगाएर ल्याएका र पहिचान गर्न नसकिने अवस्थाका, सडेगलेका सात वटा शव प्रदेश अस्पताल गोरखामा पोष्टमार्टम गरी ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

  • भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धारको पछिल्लो अपडेट के छ ?

    भोटेकोशी बाढीः सम्पर्कविहीनको खोज तथा उद्धारको पछिल्लो अपडेट के छ ?

    काठमाडौँ, १५ भदौः रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको मजदुर र विदेशी पर्यटक गरी अझै तीन हजार ९०० भन्दा बढी व्यक्ति सम्पर्कविहीन छन् । यही भदौ १० गतेको उक्त बाढीमा नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५, सशस्त्र प्रहरीका १३, भन्सारका कर्मचारी १५, अध्यागमनका कर्मचारी तीन, जलविद्युत् आयोजनाका कर्मचारी ६३९, विदेशी नागरिक ५९२, पर्यटकसँग घुम्न गएका १६४ नेपाली, रसुवाका ८६५, नुवाकोटका एक हजार ५५८, लाङटाङ राष्ट्रिय निकुञ्ज र क्वारेन्टाइन कार्यालयका तीनरतीन जना कर्मचारी अझै सम्पर्कविहीन छन् ।

    सरकारले सम्पर्कविहीन नागरिकको खोज तथा उद्धार तीव्र पारेको छ । प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकको जीवन रक्षा गर्न हरसम्भव प्रयास जारी राखिएको स्पष्ट पारेका छन् । नेपाली सेनाको कमाण्डमा सशस्त्र प्रहरी र नेपाल प्रहरी तथा विशेषज्ञ टोलीले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारको प्रयासलाई निरन्तरता दिएको छ ।

    त्रिशूली(३ ‘ए’ मा ‘टनेल हेड’ फेला परेको र ‘कम्प्रेसर’बाट हावा भित्र पठाउने काम भइरहेको नेपाली सेनाले जनाएको छ । टनेलभित्रको पानी निकाल्नाका साथै तीन वटा एक्साभेटर प्रयोग गरी पछाडि रहेको वैकल्पिक मार्ग १५ मिटर खोलिएको सेनाले जनाएको छ । यस्तै त्रिशूली–३ ‘बी’ मा पनि विज्ञसहितको फौज खटिएर खोज तथा उद्धारको काम भइरहेको छ । विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रो टनेलको ३५ मिटर भित्रसम्म खोजी जारी राखेको छ ।

    माथिल्लो त्रिशूली–१ मा विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले मैलुङमा २०० मिटर र हाँकुमा ३०० मिटरसम्म पुगेर खोजी गरेको छ । खोज तथा उद्धार कार्यका लागि संयुक्त उद्धार टोली रसुवागढी हाइड्रोको टनेलमा करिब २५० मिटरसम्म पुगी टनेलको बन्द भाग फेला पारेको छ । सो सुरुङमा कोही पनि फेला नपरेको सेनाले स्पष्ट पारेको छ । लाङटाङ हाइड्रोको टनेलबाट एउटा शव सङ्कलन गरिएको छ ।

    नौ सय ३९ शव फेला

    बाढीमा परी मृत्यु भएका ९३९ जनाको शव फेला परेको छ । रसुवामा २३, नुवाकोटमा ९५, धादिङमा ५५, गोरखामा ६५, नवलपरासी पूर्वमा २१६, नवलपरासी पश्चिममा १६८, तनहुँमा ३८, चितवनमा २७९ वटा शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । पहिचान नखुलेका शवलाई सुरक्षितसाथ जमिनमा व्यवस्थापन गर्ने काम भइरहेको छ ।

    बाढीबाट प्रभावित भएका ११ हजार ३७९ जनाको उद्धार भएको छ । बाढीमा परी घाइते भएकामध्ये १६८ जना ‘डिस्चार्ज’ भइसकेका छन् । प्रभावित क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी खोज तथा उद्धारमा २१ हजार ८०० सुरक्षाकर्मी परिचालन गरिएको छ ।

  • भोटेकोशी बाढीः नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

    भोटेकोशी बाढीः नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

    काठमाडौँ, १५ भदौः भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत तथा उद्धारका प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा नागरिक लगानी कोषले रु एक करोड एक लाख सहयोग गरेको छ । कोष सञ्चालक समितिका कार्यवाहक अध्यक्ष उत्तरकुमार खत्री र कार्यकारी निर्देशक पर्वतकुमार

    कार्कीले आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेलाई उक्त रकमको चेक हस्तान्तरण गरे ।
    रसुवाको भोटेकोशी तथा त्रिशूलीमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्का कारण ठूलो मानवीय तथा भौतिक क्षति पुगेको दुःखद् परिस्थितिमा सरकारको राहत, उद्धार तथा पुनःस्थापना कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त सहयोग गरिएको कोषका कार्यकारी निर्देशक कार्कीले जानकारी दिए ।

  • खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

    खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल


    चैनपुर (बझाङ), १५ भदौः खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन हजारदेखि तीन हजार ५०० मिटर उचाइमा फैलिएको खप्तडमा घुम्न आउने पर्यटक, गोठाला र तीर्थयात्रीका लागि सामान्य स्वास्थ्य समस्या पनि कहिलेकाहीँ ठूलो चुनौती बन्छ ।

    यसै भूगोलमा नेपाली सेनाले सञ्चालन गरेको मेडिकल भने खप्तड पुग्ने सबैका लागि भरोसाको केन्द्र बन्दै गएको छ । समरजित गुल्मले सञ्चालन गरेको मेडिकलबाट दैनिकजसो बिरामीले निःशुल्क स्वास्थ्य सेवा लिने गरेका छन् । सामान्य स्वास्थ्य समस्या लिएर आउने गोठालादेखि घुम्न आउने पर्यटकसम्म सबैका लागि उपचारको भरपर्दो गन्तव्य बनेको छ– मेडिकल ।

    बझाङको खप्तडछान्ना गाउँपालिका–६ की कला थापा सामान्य स्वास्थ्य समस्या हुँदा पनि उपचार गर्न खप्तड पुग्ने गरेको बताउँछिन् । गाउँ नजिकै स्वास्थ्यचौकी भए पनि आफूलाई सेनाको मेडिकलप्रति बढी विश्वास लाग्ने उनको अनुभव छ । “ठूलो बिरामी भएर होइन । सानोतिनो बिरामको उपचार गर्नुपर्दा सधैँ खप्तड पुग्छु”, थापा भन्छिन्, “खप्तडको दबाइले छिट्टै सञ्चो हुन्छ ।” उक्त मेडिकलमा औषधिमात्रै होइन, स्वास्थ्यकर्मीबाट राम्रो परामर्श पनि पाइने गरेको उनी बताउँछिन् ।

    खप्तडछान्नाकै तेजेन्द्र खड्काको अनुभव पनि उस्तै छ । खप्तडकोे स्वास्थ्योपचारप्रति उनको विश्वास बलियो छ । “उस्तै खालको औषधि पाए पनि खप्तडमा परामर्श असाध्यै राम्रो लाग्छ”, खड्का भन्छन्, “त्यसैले नजिकैको स्वास्थ्यचौकी छाडेर सानोतिनो बिराम लागे खप्तड पुगिहाल्छु । घरमा अरू बिरामी हुँदा पनि खप्तड लैजान्छौँ ।” हिउँदबाहेक वर्षायाममा छान्नाका विभिन्न गाउँका मान्छे नै खप्तड उपचारका लागि पुग्ने गरेको खड्काले बताए ।

    पर्यटकका लागि भरपर्दो सहारा

    खप्तडमा वर्षभरि पर्यटकको आवागमन भइरहन्छ । धार्मिक, प्राकृतिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण गन्तव्य मानिएको खप्तडमा विशेषगरी गर्मीयाममा पर्यटकको सङ्ख्या बढ्ने गर्छ । खप्तडको उचाइ, चिसो मौसम र लामो पैदलयात्राका कारण कतिपय पर्यटकलाई स्वास्थ्य समस्या देखिएपछि मेडिकल पुग्ने गर्छन् । लेक लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, शरीर कमजोर हुनेलगायतका समस्या लिएर मेडिकल पुग्ने गरेको नेपाली सेनाले जनाएको छ ।

    खप्तडछेडेदह गाउँपालिका–१ का धर्म रोकायाका लागि खप्तडमा उपचारको विषय आउँदा नेपाली सेनाको मेडिकल पहिलो विकल्प हो । “खप्तडमा आउँदा उपचारका लागिमात्र होइन, दुःखसुख पर्दा पनि नेपाली सेना नजिकको साथीजस्तो बनेको छ”, रोकाया भन्छन्, “पर्यटकका लागि त सेनाको मेडिकल निर्विकल्प जस्तै छ । कसैलाई चोटपटक लाग्दा पनि सहारा सेना नै छ ।”

    खप्तडजस्तो लेकाली तथा दुर्गम क्षेत्रमा तत्काल स्वास्थ्य सेवा पाउनु आफैँमा ठूलो राहत हो । लेकमा स्वास्थ्य समस्या हुँदा फर्कन पनि कठिन हुन्छ । कतिपय अवस्थामा मौसम र भौगोलिक कठिनाइले झर्न सम्भव हुँदैन । त्यस्तो बेला सेनाको मेडिकलले स्थानीय र पर्यटकलाई तत्काल उपचार र आवश्यक स्वास्थ्य परामर्श उपलब्ध गराउँदै आएको समरजित गुल्मका गुल्मपति विजय खत्रीले बताए ।

    मेलामा हजारौँलाई सेवा

    हरेक वर्ष खप्तडमा लाग्ने गङ्गादशहरा मेला, उकालु पूर्णिमामा लाग्ने खापर जगन्नाथ मन्दिर मेला तथा खापर जगन्नाथ ओरालु मेलामा नेपाली सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यी मेलामा विभिन्न जिल्लाबाट ठूलो सङ्ख्यामा श्रद्धालु तथा पर्यटक पुग्ने गर्छन् । भीडभाड हुने समयमा स्वास्थ्य समस्या देखिन सक्ने सम्भावनालाई ध्यानमा राखेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । यस्ता शिविरमा मात्रै हरेक वर्ष हजारौँ नागरिकले स्वास्थ्य सेवा लिने गरेको समरजित गुल्मले जनाएको छ ।

    शुक्रबार लागेको पूर्णिमा मेलामा मात्रै डेढ सय जनालाई निःशुल्क स्वास्थ्योपचार सेवा प्रदान गरेको थियो । “यो वर्ष मौसम प्रतिकूल हुँदा कम श्रद्धालु आए । सफा मौसम भए धेरै नै हुन्थे । उपचारमा आउनेको लाइन पनि लामै हुन्थ्यो”, सेनानी खत्रीले भने । मेलाका समयमा टाढाटाढाबाट आउने श्रद्धालु, स्थानीय तथा पर्यटकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन शिविर प्रभावकारी भएको उनले बताए ।

    सेनाको सेवा मेला र विशेष अवसरमा मात्रै सीमित नभई हरेक दिनजसो दर्जनभन्दा बढी बाहिरका बिरामीको उपचार गरिने सेनानी खत्रीले बताए ।

  • मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै

    मालवस्तु ‘कन्टेनर’ कोरलानाकातर्फ ‘डाईभर्ट’ हुँदै


    मुस्ताङ, १५ भदौः रसुवागढी–केरुङतर्फबाट पैठारी गरिने मालवस्तु र कन्टेनर धमाधम मुस्ताङको कोरलानाकातर्फ ‘डाईभर्ट’हुन थालेका छन् । नेपाल–चीनबीचको (रसुवागढी—केरुङ) नाका विनासकारी बाढीका कारण पूर्ण रुपमा क्षति भएसँगै कोरलाना मार्फत् मालवस्तु र कन्टेनरहरु आउन थालेका हुन् । मुस्ताङको जोमसोमस्थित सशस्त्र प्रहरीको चेकपोष्टबाट आइतबार साँझ ६६ मालवाहक कन्टेनरको विवरण सङ्कलन गरिएको छ ।

    सशस्त्र प्रहरीको जोमसोम चेकपोस्टले रसुवागढी नाका पूर्ण रुपमा बन्द भएपछि कोरलानाकातर्फ मालवस्तु पैठारी गर्ने कन्टेनरको सङ्ख्या वृद्धि भइरहेको जनाएको छ । कोरलानाकातर्फ जाँदै गरेका कन्टेनर चालक कुमार देवकोटाका अनुसार रसुवागढी नाकाबाट पैठारी गरिने मालवस्तुहरु कोरलानाकातर्फ ‘डाईभर्ट’ भएकाले मालवस्तु ढुवानी गर्न कोरलातर्फ जाँदै गरेको जानकारी दिए ।


    कोरलानाकालाई वैकल्पिक नाका रुपमा सरकारले सञ्चालनमा ल्याएपछि कोरलास्थित मुस्ताङ भन्सार कार्यालय आव २०८२–०८३ मा रु छ अर्ब ९२ करोड राजस्व सङ्कलन गरेको थियो । यसैगरी, चालु आवको पहिलो साउन महिनामा रु २९ करोड राजस्व सङ्कलन गरेको थियो । मुस्ताङ भन्सार कार्यालयमा हाल १८ जनाको दरबन्दी रहेपछि १२ जना मात्रै कर्मचारी कार्यरत रहेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख विदुर चुडालले जानकारी दिए ।

  • बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता

    बाढीपछि करिब ८५ अमेरिकी नागरिक अझै बेपत्ता


    वासिङ्टन, १५ भदौ (रासस–एएफपी) । नेपालको हिमालयको दुर्गम क्षेत्रमा विनाशकारी बाढी आएपछि भएको विपत्तिमा परी करिब ८५ अमेरिकी अझै बेपत्ता रहेका अमेरिकी विदेश मन्त्रालयले आइतबार जनाएको छ । विपद्पछि दुई हजार ५०० भन्दा बढी व्यक्तिहरू बेपत्ता रहेका छन् भने ७८१ जनाको मृत्यु भएको नेपाल सरकारका अधिकारीहरूले पुष्टि गरेका छन् ।

    गत बुधबार बिहान हिलोसहित आएको वाढीले नेपालको रसुवा, नुवाकोट, धादिङ, गोरखालगायत जिल्लामा वस्तीहरूमा व्यापक भौतिक क्षति पनि पुगेको थियो । अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टमी पिगटले एबीसीको टक शो ‘दिस विक’ लाई बताएअनुसार नौ जना अमेरिकीलाई उद्धार गरिएको छ र कुनै अमेरिकी नागरिकको मृत्यु भएको जानकारी उहाँसँग छैन।

    उनले भने, “प्रकृतिक विपत्तिले क्षति पु¥याएको स्थानको दुर्गम अवस्थाले भरपर्दो जानकारी प्राप्त गर्न कठिन छ, तर हाम्रो समर्पण र प्रतिबद्धता यथावत छ ।” संयुक्त राज्य अमेरिका र क्यानडा दुवैले राहत तथा उद्धारमा सघाउन ३६ लाख डलर सहायता दिने जनाएका छन् भने बेलायतले ६८ लाख डलर प्रस्ताव गरेको छ। संयुक्त राष्ट्रसङ्घले आपतकालीन कोषबाट २५ लाख डलर सहायता जारी गरेको छ ।

    अमेरिकी सहयोगको केही भाग सडक मर्मत र दुर्गम क्षेत्रमा खाना तथा अन्य सहायता पु¥याउन ‘विशेष यातायात विकल्प परिचालन’ मा प्रयोग हुने पिगटले बताए । यो विनाश हिमताल भासिएका कारण भएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । चिनियाँ विज्ञहरूले नेपालको लिरुङ शिखरको दक्षिणी ढलानमा रहेको ‘हिमताल फुटेको’ बताएका छन्।

  • लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै

    लामो तैनाथीपछि अमेरिकी विमानवाहक लिङ्कन घर फर्कंदै


    बाटम, १५ भदौ (रासस–एपी) । मध्यपूर्वमा लामो तैनाथी पूरा गरी घर फर्किरहेको अमेरिकी विमानवाहक युएसएस अब्राहम लिङ्कन आइतबार बिहान सिङ्गापुर जलमार्गहुँदै अघि बढेको छ । उक्त युद्धपोत बन्दरगाह भ्रमणका लागि थाइल्यान्डमा रोकिने अपेक्षा गरिएको छ । अमेरिकी नौसेनाका ठूला युद्धपोतमध्ये एक लिङ्कनलेइरानविरुद्धको अमेरिकी सैन्य अभियानलाई समर्थन गर्दै आएको थियो । यसको पछिल्लो तैनाथीमा लगातार २५० दिनभन्दा बढी समुद्रमा बिताएको रेकर्ड बनेको थियो ।

    लामो समयको तैनाथीका क्रममा चालक दलका सदस्यहरूको मानसिक स्वास्थ्यमा असर परेको तथा खाना र सरसफाइका सामग्रीलगायत आवश्यक आपूर्तिको अभाव भएको रिपोर्ट सार्वजनिक भएपछि लिङ्कनको तैनाथीबारे चिन्ता व्यक्त गरिएको थियो । थाई अधिकारीहरूका अनुसार लिङ्कन अमेरिकी सैन्य आधारमा फर्कनुअघि चालक दलका सदस्यलाई आराम तथा स्वास्थ्यलाभको अवसर दिन थाइल्यान्डमा रोकिनेछ ।

  • चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना

    चितवनमा राहत सामग्री सङ्कलन कक्ष स्थापना


    नारायणगढ (चितवन),१५ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत सामग्री सङ्कलन तथा व्यवस्थापन गर्न भरतपुरमा कक्ष स्थापना गरिएको छ । राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषका आधिकारिक बैंक खातामा समेत सहयोग जम्मा गर्न सकिने र कतिपय सङ्घसंस्थाले जिन्सी सामग्रीसमेत सहयोग गर्न चाहेको बुझिएकाले राहत सामग्री सङ्कलन तथा व्यवस्थापनका लागि कक्ष स्थापना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङका अनुसार भरतपुर–१० स्थित चितवन उद्योग सङ्घको हलमा सोमबारदेखि राहत सहयोग सङ्कलन तथा व्यवस्थापन कक्ष सञ्चालन गरिन लागेको जानकारी दिए । मुग्लिन–काठमाडौँ सडकखण्डको कृष्णभीरमा सडक भासिएर सवारीसाधनको आवागमन पूर्णरूपमा रोकिएको अवस्थाका कारण राहत सामग्री ओसारपसारमा समस्या हुनसक्ने भएकाले सहयोग गर्न इच्छुक सङ्घसंस्था तथा व्यक्तिको सहजताका लागि कक्ष स्थापना गरिएको उनले बताए ।
    शव सुरक्षित

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बगेर आएका आइतवारसम्म २७२ जनाको शव चितवनको फिस्लिङदेखि गोलाघाटसम्मको त्रिशूली तथा नारायणी नदी तटमा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शवहरूमध्ये हालसम्म १२ जनाको मात्र पहिचान भई आफन्तलाई बुझाइएको छ भने बाँकी शवहरूलाई भविष्यमा आफन्तले पहिचान गर्न सक्ने गरी वैज्ञानिक विधिबाट देवघाटमा सुरक्षित राख्न थालिएको हो ।

    नदी तटमा फेला परेका कूल २७२ शवहरूमा ६२ महिला, ११० पुरुष, सात बालक, छ बालिका र ८७ जना पहिचान खुल्न नसकेका अन्य छन् । यसमध्ये शनिवार ९६ र आइतवार १०३ गरी कूल १९९ शव सुरक्षित रूपमा गाडिएका छन् । सनाखत भई आफन्तले बुझेका १२ शवमा भने ११ पुरुष र एक बालिका छन् ।

  • पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध

    पहिराबाट विभिन्न स्थानका सडक अवरुद्ध


    काठमाडौँ, १५ भदौः भोटेकोशी बाढीका साथै अविरल वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पृथ्वीराजमार्गअन्तर्गत बेनिघाट रोराङ गाउँपालिका–७ कृष्णभिरस्थित त्रिशूली नदीले कटान गर्दा सडक भासिन गई मानिससमेत आवतजावत गर्न नसक्ने गरी पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    त्यसैगरी धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिरमा पनि बाढीको कारण सडकको तल्लो भाग भासिएको कारणले पूर्ण रुपमा अवरुद्ध भएको छ । मुगुबाट गमगढी आउने सडक पनि अविरल वर्षाको कारणले अवरुद्ध छ । त्यसैगरी ओखलढुङ्गास्थित सिद्धिचरण लोकमार्गअन्तर्गतको मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ६ र ७ लाई जोड्ने सडक पनि अवरुद्ध छ ।

    त्यसैगरी लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ श्रीचौरस्थित बेँशीसहर मनाङ सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

  • चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशः “दुःखमा नेपाल एक्लै छैन”

    चिनियाँ राष्ट्रपति र प्रधानमन्त्रीको सन्देशः “दुःखमा नेपाल एक्लै छैन”

    १५ भदौ, काठमाडौँ । रसुवामा गएको बाढीमा नेपालले भोगेको क्षतिप्रति चीन सरकारले गहिरो दुःख व्यक्त गरेको छ। साथै, यो विपत्तिमा नेपाल एक्लै नरहेको र चीन सधैँ साथमा रहेको सन्देश पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीले दिएका छन् । प्रधानमन्त्री राहत कोषमा चीन सरकारको तर्फबाट घोषणा भएको सहयोग रकम हस्तान्तरण गर्न आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री ड.। स्वर्णिम वाग्लेलाई भेट गरेका नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले चिनियाँ राष्ट्रपति सी चिनपिङ र चीनका प्रधानमन्त्री ली छियाङको उक्त सन्देश नेपाल सरकारलाई सुनाए ।


    “बाढीको विपत्तिका कारण नेपालमा ज्यान गुमाउनुभएका नागरिकप्रति चिनियाँ राष्ट्रपति सी चिनपिङ र प्रधानमन्त्री ली छियाङले गहिरो दुःख व्यक्त गरे । ‘बाढीमा ज्यान गुमाएकाप्रति उहाँहरूले श्रद्धाञ्जली अर्पण गर्नुभएको छ,” राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश सुनाउँदै राजदूत झाङ माओमिङले भने, “यो दुःखमा नेपाल एक्लै छैन। चीन नेपाल र नेपाली जनताको साथमा छ।” साथै, नेपालको विपद् पछिको उद्धार र राहतमा चीन सरकारले सहयोग निरन्तर जारी राख्ने पनि राजदूत माओमिङले बताए ।


    आइतबार अर्थ मन्त्रालयमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर चिनियाँ राजदूत झाङ माओमिङले झन्डै साढे ३० करोड नेपाली रुपैयाँ (२० लाख अमेरिकी डलर)को चेक हस्तान्तरण गरे । यसैगरी, राजदूत माओमिङले चिनियाँ रेडक्रसले उपलब्ध गराएको ३ करोड ६ लाख रुपैयाँबराबर (२ लाख अमेरिकी डलर) को नगद सहयोग पनि हस्तान्तरण गरे ।


    राहत रकम हस्तान्तरण गर्दै राजदूत माओमिङले हिमालय क्षेत्रमा आएको विशाल प्रलयका कारण नेपाल र चीनले भोगेको विपत्तिको सामना दुवै देशले मिलेर गर्ने बताए । राजदूत माओमिङले नेपालका लागि चीन सरकारले घोषणा गरेका अन्य प्रकारका सहायता सामग्रीहरू पनि नेपाल भित्रिन सुरु भइसकेको जानकारी दिए । आज मात्रै दुईवटा चिनियाँ जहाजले ५० टन टेन्ट, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, मेडिकल किट र बिस्कुटजस्ता सहायता सामग्री काठमाडौँमा ओरालेको राजदूत माओमिङले बताए । साथै, थप सहयोग पनि निरन्तर गरिने उनको भनाइ छ।

    रसुवाको बाढीका कारण चीनतर्फ नै रोकिएका नेपालीहरूलाई मुस्ताङको कोरोला नाका भएर नेपाल फिर्ता ल्याउनका लागि पहल भइरहेको पनि उहाँले अर्थमन्त्रीलाई अवगत गराए । त्यस्तै, जलविद्युत कम्पनीको सुरुङ (टनेल) मा फसेकाहरूको उद्धारका लागि हिजै चिनियाँ हेलिकप्टरसहितको दक्ष जनशक्ति नेपाल आएको जानकारी गराउँदै राजदूत माओमिङले थप दक्ष उद्धार प्राविधिकहरू आज नेपाल आइपुगेको बताए । नेपाल सरकारले उद्धारका लागि माग गरेको ठूलो परिमाणमा सामान बोक्न सक्ने ड्रोन नेपाल ल्याउनका लागि चीन सरकारले द्रूत गतिमा काम गरिरहेको कुरा पनि उहाँले अर्थमन्त्रीलाई जानकारी दिए ।

  • कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन

    कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन


    काठमाडौँ, १५ भदौः काठमाडौँ महानगरपालिकाले आइतबारदेखि विपद् व्यवस्थापन हेल्प डेस्क तथा विपद् सूचना केन्द्र सञ्चालनमा ल्याएको छ ।
    भोटेकोशी बाढीबाट प्रभावित व्यक्तिलाई सहयोग गर्न इच्छुक महानगरपालिकाभित्रका व्यक्ति, कम्पनी, संस्था तथा निजी क्षेत्रलाई आफूले चाहेको सहयोग सहजै प्रदान गर्न, महानगरवासीमा परेको प्रभाव तथा क्षतिको विवरण सङ्कलन गर्न उक्त केन्द्र स्थापना गरिएको कार्यवाहक प्रमुख सुनिता डङ्गोलले जानकारी दिनुभयो ।

    त्यसबाट नागरिकलाई सूचना दिने, आवश्यक समन्वय गर्ने र तत्काल सहयोग उपलब्ध गराउन सहजीकरणको काम हुने कार्यवाहक प्रमुख डङ्गोलको भनाइ छ । केन्द्रमा एक जनप्रतिनिधि र दुई कर्मचारी रहनेछन् । विभिन्न कामका बारेमा जानकारी लिन वा दिन केन्द्रको फोन नं ०१– ५३४०८८० मा सम्पर्क गर्न सकिनेछ । यस्तै विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालको फोन नं ९८४१३४९७३५ र मेट्रो एफएमका स्टेशन म्यानेजर केशवप्रसाद नेपालको फोन नं ९८४१२५०७८० मा पनि सम्पर्क गर्न सकिनेछ ।

    “बाढी सङ्कटग्रस्त क्षेत्रका आवश्यकता छिटोछिटो परिवर्तन भइरहेका छन् । आज अत्यावश्यक परेको वस्तु तथा सामग्री भोलि यथेष्ट हुन सक्छन्”, प्रभावित क्षेत्रबाट प्राप्त सूचना उद्धृत गर्दै कार्यवाहक प्रमुख डङ्गोलले भनिन्, “आवश्यकता र उपलब्धताको सन्तुलन मिलाउन केन्द्रमा प्राप्त हुने तथ्य तथा विवरणले व्यवस्थापनको चित्र देखाउनेछ ।”

    उनले एकीकृत विपद् प्रतिकार्यमा जोड दिँदै, नगद सहयोग गर्न चाहनेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्न आग्रह गरिन् । “जिन्सी सामान वा सेवा प्रदान गर्न चाहनेलाई स्थानी आवश्यकताका आधारमा प्रभावितसम्म पुग्नका लागि सहजीकरण गरिदिनेछौँ ।” कामपाका विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले आपतमा परेका यात्रुलाई ल्याउन निःशुल्क यातायात, घाइते र बिरामी ल्याउन एम्बुलेन्स, शव ल्याउन शववाहन परिचालन भइरहेको जानकारी दिए ।


    वडाध्यक्ष हीरालाल तण्डुकारले महानगरपालिकाले अघि सारेको विपद् सङ्कट व्यवस्थापन कार्यलाई सहयोग पुर्याउन चालु आर्थिक वर्षमा आफूले प्राप्त गर्ने रु दुई लाख ४८ हजार प्रदान गर्ने बताए । विपद् व्यवस्थापन विभागका प्रमुख अनिरुद्र नेपालले वडास्तरबाट विवरण सङ्कलन गरिने बताए ।

    बाढीबाट उद्धार गरिएका दम्पतीलाई उपचारपछि मानव सेवा आश्रममा

    यस्तै, महानगरपालिकाले रसुवा भोटेकोशी बाढीबाट घाइते एक दम्पतीलाई उपचारपछि मानव सेवा आश्रम लगेको छ । सीमा भन्सार क्षेत्रमा मजदुरी गर्ने उनीहरुलाई आश्रममा लगिएको कार्यवाहक प्रमुख डङ्गोलले जानकारी दिइन् । उनका अनुसार बेसहारा, अशक्त, असहाय, अभिभावकविहीन, सडक आश्रितको हेरचाह, औषधोपचार तथा लालनपालनका लागि मानव सेवा आश्रमलाई कामपाले सहयोग उपलब्ध गराएको छ । आश्रममा यस्ता व्यक्तिको मानवोचित व्यवस्थापन हुने गरेको छ ।

    आइतबार आश्रममा लगिएका दम्पतीको स्थायी बसोबास बाँके कोहलपुर हो । उनीहरू बाढीबाट बच्नका लागि हामफालेर भाग्दा घाइते भएका हुन् । बाढीमा परेपछि उद्धार गरेर श्रीमानलाई भदौ ११ गते दिउँसो र श्रीमतीलाई १२ गते साँझ अस्पताल ल्याइएको थियो । दुवै जना घाइते थिए । उपचारपछि उनीहरू आज बिहान डिस्चार्ज भएका हुन् ।

  • भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा

    भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा


    काभ्रेपलाञ्चोक, १५ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण काभ्रेपलाञ्चोकका ४१ जना अझै सम्पर्कविहीन अवस्थामा रहेका छन् । सम्पर्कविहीन ४७ मध्ये हालसम्म आठ जना परिवारको सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयले हालसम्म जिल्लाका ४१ जना सम्पर्कविहीन अवस्थामा रहेको सूचीसहितको नामावली अद्यावधिक गरेको छ । कार्यालयले बुधबार नै सूचना जारी गर्दै बाढी प्रभावित क्षेत्रमा रहेका जिल्लाका नागरिकको अवस्था बुझ्न सम्बन्धित परिवारलाई सार्वजनिक अपिल गरेको थियो ।

    सो क्रममा हालसम्म सम्पर्कमा आएका आठबाहेक ४१ जना अझै सम्पर्कविहीन रहेको प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार कुनै परिवारका सदस्य सम्पर्कविहीन अवस्थामा रहेको भए शीघ्र जानकारी गराउन अनुरोध गरिएको छ । बाढी प्रभावित क्षेत्रमा रोजगारी, व्यापार तथा भ्रमणलगायत अन्य कामका सिलसिलामा पुगेका जिल्लाका नागरिकको अवस्था बुझ्न कार्यालयले पहल गरिरहेको छ ।

    यस्तै, सूचनामा बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी जिल्लास्थित प्रशासन कार्यालय, नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमा विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । हालसम्म सम्पर्कविहीन अवस्थामा रहेकामा बनेपाका सात, तेमाल गाउँपालिकाका सात, धुलिखेलका छ, पाँचखाल र भुम्लुका चार–चार, पनौती, चौँरीदेउराली र बेथानचोकका तीन–तीन, मण्डनदेउपुर र रोशी गाउँपालिकाका एक–एक जना तथा ठेगाना नखुलेका काभ्रेपलाञ्चोककै एक जना रहेको कार्यालयले जनाएको छ ।

    यसैबीच बाढी प्रभावित क्षेत्रमा गएका नागरिकलाई पनि तत्काल आफन्तसँग सम्पर्क गर्न र आफन्तले पनि उनीहरूको अवस्था बुझी तत्काल नजिकको प्रहरी कार्यालय तथा स्थानीय तहमा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।

  • बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

    बागमती, गण्डकी र लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्का वर्षा


    काठमाडौँ, १५ भदौः हाल देशभर साधारण बादल लागेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी प्रदेशका केही स्थान बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षा÷हिमपातको सम्भावना रहेको छ । महाशाखाद्वारा मौसम बुलेटिनका अनुसार बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका धेरै स्थानमा तथा मधेस प्रदेश साथै कोशी प्रदेशका तराई भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    देशको पहाडी भू–भाग तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ ।

    मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । कोशी प्रदेशको हिमाली, पहाडी र तराई भू–भाग तथा बागमती प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानमा तथा गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । साथै कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भू–भागका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

  • एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै

    एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै


    काठमाडौँ, १५ भदौः तेस्रो संस्करणको पुरुष एसिसी प्रिमियर कपमा आफ्नो पहिलो नेपालले बहराइनविरुद्ध खेल्दैछ । खेल आज बिहान ७ः१५ देखि मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम ओभलको कैदानमा सुरु हुनेछ । एकदिवसीय क्रिकेटमा नेपालले पहिलोपटक बहराइनविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । नेपाली टोली पहिलो खेलमै बहराइनलाई हराएर उत्कृष्ट सुरुआत गर्न चाहन्छ ।

    जारी प्रतियोगितामा एउटा समूहबाट शीर्ष दुईवटा टोलीले मात्र सेमिफाइनलमा स्थान बनाउने छन् । सोही कारण समूह चरणको चारवटै खेल महत्वपूर्ण हुनेछन् । नेपाली टोलीका पूर्वक्रिकेटर शरद भेषवाकर नेपालले कुनै पनि टोलीलाई हल्का प्रतिद्वन्द्वीको रूपमा लिन नहुने बताउँछन् । उनले भने, “एसिसी प्रिमियर कप खेल्ने १० वटै टोली राम्रो छन् । हामीले कुनै पनि टिमलाई कमजोर आँक्नु हुँदैन । नेपालले यसपटक उत्कृष्ट प्रदर्शन गरेर उपाधि जित्नेमा म आशावादी छु ।”

    नेपालले हालै मलेसियाविरुद्धको दुई अभ्यास खेलमा लगातार जित निकालेको थियो । पहिलो खेलमा उत्कृष्ट ब्याटिङ गरेको नेपाल दोस्रो खेलमा भने कमजोर देखिएको थियो । यद्यपि उक्त अभ्यास खेलमा नेपालले सानदार बलिङ गर्दै २७ रनले मलेसियालाई हराएको थियो । एसिसी प्रिमियर कप खेल्ने नेपालको टोलीमा आसिफ शेख, अर्जुन कुमाल, देव खनाल, सन्दीप लामिछाने ९कप्तान०, रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, बसिर अहमद, सन्दीप जोरा, ईशान पाण्डे, गुलशनकुमार झा, ललितनारायण राजवंशी, करण केसी, हेमन्त धामी र शेर मल्ल रहेका छन् ।