Author: Vishwanews.com

  • भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत

    भोटेकोशी बाढी : पहिचान नखुलेका १९९ शवको व्यवस्थापन, १२ वटाको सनाखत


    चितवन, १५ भदौः रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका १९९ वटा शवको व्यवस्थापन गरिएको छ । भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको आइतबार रातिसम्म व्यवस्थापन गरिएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार हालसम्म भेटिएका २७२ शवमध्ये १९९ वटाको व्यवस्थापन गरिएको छ भने १२ वटाको सनाखत भएको छ ।

    शवहरूको डिएनए नमूना सुरक्षित राख्दै जङ्गलमा व्यवस्थापन गरिएको उनले बताए । सनाखत भएका शव परीक्षणपछि परिवारले बुझेर लगेका छन् । डिएनए परीक्षण बेपत्ता भएकाको परिवारसँग मिलेमा राखिएको ठाउँबाट दिन मिल्ने गरी सङ्केत चिह्न राखेर शव व्यवस्थापन गरिएको छ ।

    यस्तै हालसम्म फेला परेका २७२ शवमध्ये ११० पुरुष, ६२ महिला, सात बालक, छ बालिका र ८७ अन्य (अवशेष) रहेका छन् । नदी किनारमा शव फेला पर्ने क्रम जारी रहेकाले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई संयुक्त रूपमा खोजी तथा व्यवस्थापनमा परिचालन गरिएको छ ।

  • भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता

    भोटेकोशी बाढीः तीन हजारको उद्धार, एक हजार पाँचसयभन्दा बढी बेपत्ता


    त्रिशूली (नुवाकोट), १५ भदौः भोटेकोशी नदीमा यही भदौ १० गते विहान आएको अकल्पनीय बाढीबाट अति प्रभावित तीन हजारभन्दा बढीको उद्धार गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले गए रातिसम्म बाढीका कारण अति प्रभावित भएका तीन हजार २९ जनालाई रसुवा र नुवाकोटको विभिन्न स्थानबाट उद्धार गरिएको जानकारी दिए ।


    तीमध्ये नेपाली नागरिक दुई हजार सात सय ७६ जना र विदेसी दुईसय ५३ जना रहेका छन् । पछिल्लो चौबिस घण्टामा छसय २४ जनाको उद्धार गरिएको प्रजिअ रेग्मीले जानकारी दिए । “बाढीबाट ज्यान जोगाइ सुरक्षित स्थानमा आश्रय लिएर बसिरहेकालाई हेलिकप्टरमार्फत उद्धार गरिएको हो ।” प्रजिअ रेग्मीले भने, “उनीहरुको स्वास्थ्य जाँच गरेर उपचार आवश्यक पर्नेलाई सोही अनुसार स्वास्थ्य संस्थामा सिफारिस गरिएको छ भने बाँकीलाई पारिवारिक पुनर्मिलन गराइएको छ ।”

    भोटेकोशी बाढीमा फसेकालाई उद्धारअन्तर्गत जलविद्युत् आयोजनाको सुरुङभित्र रहेको भनिएकाबाहेकको उद्धार अन्तिम चरणमा पुगेको छ । तर रसुवाको टिमुरे, स्याफ्रुबेँसी, मैलुङलगायतका स्थानमा अझै केही फसेको हुनसक्छ भनेर नियमित रुपमा हेलिकप्टरमार्फत रेकी भइरहेको प्रजिअ रेग्मीको भनाई छ ।

    यसैगरी, भोटेकोशी बाढीमा परेर हराएको जनाउँदैै आइतबारसम्म एक हजार पाँचसयभन्दा बढी व्यक्तिको परिवारको निवेदन परेको छ । नुवाकोट र रसुवाको विभिन्न स्थानबाट आफ्नो आफन्त हराएको जनाउँदै खोजतलासको लागी एक हजार पाँचसय ५८ जनाको निवेदन प्राप्त भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिए ।

    उनका अनुसार हराएका व्यक्तिको खोजतलासका लागि नेपाल प्रहरीको वेबसाइड, जिल्ला प्रहरी कार्यालय, प्रशासन कार्यालय र श्री नं १ सैन्य तालिम केन्द्र विदुरमा निवेदन दिन सकिन्छ । हराइरहेका तथा बाढीमा फसेकालाई खोज तथा उद्धारमा हेलिकोप्टर, तालिमप्राप्त कुकुर र ड्रोन क्यामेराको सहयोगमा संयुक्त सुरक्षा फौजको टोली सक्रिय रहेको छ ।

    बाढीमा परेर ज्यान गुमाएकामध्ये हालसम्म नुवाकोटमा ९५ जनाको शव सङ्कलन भएको छ । नुवाकोटको विभिन्न ३० स्थानमा सयुक्त सुरक्षा टोली परिचालनमार्फत गरिएको खोज तथा उद्धारमार्फत ती शव सङ्कलन गरिएको हो । सङ्कलन भएको शवलाई पहिचानको लागि प्रहरीले तस्बिरसहितको विवरण सार्वजनिक गरेको छ । शवलाई नुवाकोटबाट परीक्षणको लागी शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा पठाएकाले सम्बन्धित परिवारलाई अस्पतालमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

  • केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल

    केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्गबाट नेपाल ल्याइन्छ : परराष्ट्रमन्त्री खनाल


    नुवाकोट, १४ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले भोटेकोशी बाढीका कारण चीनको केरुङमा रोकिएका नागरिकलाई वैकल्पिक मार्ग हुँदै नेपाल ल्याइने बताएका छन् । बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि आज विदुर नगरपालिका–१, ढुङ्गे आइपुगेका उनले रासससँग भने, “प्रारम्भिक जानकारी अनुसार केरुङमा एक हजार जना नेपाली हुनुहुन्छ भन्ने सूचना छ, उहाँहरूलाई वैकल्पिक मार्गबाट नेपाल ल्याउँछौँ ।”

    सिन्धुपाल्चोकस्थित तातोपानी नाका सञ्चालन गर्न र मुस्ताङको कोरला नाका प्रयोगमा ल्याउन चिनियाँ पक्षसँग अनुरोध गरिसकेको उनले बताए । मन्त्री खनालले जलविद्युत् आयोजनाको सुरुङमा फसेकाको उद्धारमा विदेशी सहायता आवश्यक देखिएपछि चिनियाँ र भारतीय विशेषज्ञलाई बोलाइएको स्पष्ट पारे ।
    “आवश्यक परेमा अन्य मुलुकबाट पनि सहयोग लिन सकिन्छ”, उनले भने, “हामीलाई विश्वसमुदायबाट सहयोगको प्रतिबद्धता आइरहेका छन् । आवश्यकताअनुसार सहयोग लिन्छौँ ।”

  • भोटेकोशी बाढीः अझै एक हजार ३२१ सम्पर्कविहीन

    भोटेकोशी बाढीः अझै एक हजार ३२१ सम्पर्कविहीन


    नुवाकोट, १४ भदौः भोटेकोशी बाढीका कारण हालसम्म नुवाकोट र रसुवा क्षेत्रबाट एक हजार ३२१ जना सम्पर्कविहीन भएका छन् । जिल्ला विपद् व्यवस्थापन समिति नुवाकोटका संयोजक एवं प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले आज उक्त तथ्याङ्क सार्वजनिक गर्दै नुवाकोट र रसुवाबाट हालसम्म दुई हजार ४५६ जनाको उद्धार गरिएको जानकारी दिए ।

    उद्धार गरिएकामध्ये दुई हजार २२५ जना नेपालीसहित र २३१ बाँकी विदेशी रहेका छन् । त्यसैगरी ६४ जनाको शव सङ्कलन गरिएको उनले बताए । “उद्धार गरिएकामा ५८ जना घाइते छन्”, उनले भने, “घाइतेको अवस्था हेरेर उपचारका लागि सोहीअनुसारका स्वास्थ्य संस्थामा पठाइएको छ ।” सम्पर्कविहीन हुनेमा एक हजार १०९ नेपाली छन् भने १५७ जना विदेशी छन् । त्यसैगरी पहिचान नखुलेका ५५ जना रहेका उनले बताए ।


    खोज तथा उद्धारमा माथिल्लो त्रिशूली थ्री ‘ए’ मा सुरक्षाकर्मी र विद्युत् प्राधिकरणका कर्मचारी गरी ८४ जना खटिरहेका प्रमुख जिल्ला अधिकारी रेग्मीले जानकारी दिए । त्यसैगरी थ्री ‘बी’ मा रेकी भई खोज तथा उद्धार भइरहेको विपद् व्यवस्थापन समितिले जनाएको छ । थ्री ‘ए’ को सुरुङभित्र फसेको भनिएकाको उद्धारका लागि सुरुङ भएको स्थान पहिचानको प्रयास भइरहेको छ”, उनले भने, “आवश्यक यन्त्र तथा प्रविधि प्रयोग गरी उद्धार गर्ने प्रयास भइरहेको छ ।”

    प्रजिअ रेग्मीले उद्धारको काम निरन्तर भइरहेको बताउँदै अहिले शव व्यवस्थापनलाई पनि प्राथमिकता दिन थालिएको बताए । शव खोज तथा उद्धारका लागि ६०० सुरक्षाकर्मीको संयुक्त टोलीसहित हेलिकप्टर र तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको छ । त्यसका लागि त्रिशूली नदी वारी र पारी गरेर ३० स्थानलाई मुख्य आधार क्षेत्र तय गरिएको छ । बाढीका कारण अवरुद्ध बनेका यस क्षेत्रका सडक सञ्चालनका लागि धमाधम काम भइरहेको प्रजिअ रेग्मीले बताए । उनका अनुसार गल्छी–देवीघाट सडक सञ्चालन गर्न ठूलो खोलास्थित क्षतिग्रस्त पक्की पुल मर्मत भइरहेको छ भने देवीघाटमा बेलिब्रिज जडान कार्य अघि बढाइएको छ ।

    त्यसैगरी, ढुङ्गे बजारक्षेत्रको अवरुद्ध सडक खुलाउन डोजर परिचालन गरिएको छ । ढुङ्गे र त्रिशूली बजार जोड्नका लागि तत्काललाई तुइन जडान प्रारम्भ गरिएको छ । “तुइन जडानका लागि लठ्ठा आइसकेको छ”, प्रजिअ रेग्मीले भने, “तत्काल तुइनबाटै भए पनि वारपार गर्न वैकल्पिक मार्ग प्रयोग गर्नेगरी प्रयास गरिएको छ ।” बाढी प्रभावितका लागि राहत सामग्री वितरणमा एकद्वार प्रणाली अपनाइएको छ । हालसम्म १४० सङ्घसंस्थाले राहत सामग्री उपलब्ध गराएका प्रजिअ रेग्मीले जानकारी दिए । उनका अनुसार प्राप्त राहत सामग्री गोदाम हलमा सङ्कलन गरी आवश्यकताका आधारमा होल्डिङ सेन्टरमा गाडी र हेलिकप्टरमार्फत ढुवानी भइरहेको छ ।

    बाढीग्रस्त क्षेत्रबाट उद्धार गरिएकालाई गाँसबासको व्यवस्था गर्न सञ्चालन गरिएका होल्डिङ सेन्टरको सङ्ख्यासमेत वृद्धि भएको छ । शनिबारसम्म १३ वटा होल्डिङ सेन्टर सञ्चालन गरिएकामा हाल यो सङ्ख्या १७ बनाइएको उनले बताए । होल्डिङ सेन्टरमा दुई हजार ४०३ जना बसिरहेका छन् ।

  • कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    कृष्णभीरमा सडक भासिएपछि वैकल्पिक मार्गबाट सवारीसाधन सञ्चालन

    काठमाडौँ, १४ भदौः पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि काठमाडौँबाट बाहिरिने सवारीसाधनका लागि वैकल्पिक सडक प्रयोगमा ल्याइएको छ । त्रिशूली नदीमा गएको बाढीले सडकको तल्लो भाग कटान गरेपछि आज कृष्णभीरमा करिब २० मिटर लम्बाइको सडकको आधाभन्दा बढी भाग भासिएको हो । उक्त सडक भासिएपछि पृथ्वी राजमार्गमा आज बिहानैदेखि यातायात सञ्चालन प्रभावित भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले जनाएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार काठमाडौँबाट बाहिरिने सवारीसाधनलाई तत्कालका लागि दुई वटा वैकल्पिक मार्गबाट सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । उहाँका अनुसार ठूला सवारीसाधन काठमाडौँ बाइरोड–नौबिसे–पालुङ–भैँसे हुँदै गन्तव्यतर्फ जान सक्नेछन् भने साना सवारीसाधन तथा माइक्रोबसका लागि फर्पिङको बाटो प्रयोग गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    कान्तिलोकपथमा पहिरो गएर सडक अवरुद्ध भएकाले उक्त सडक पनि तत्काल सञ्चालनमा ल्याउन आवश्यक पहल भइरहेको प्रवक्ता सुवेदीले जानकारी दिए । उनले भने, हाँले भन्नुभयो, “कृष्णभीरमा आज बिहान सडक भासिएपछि सवारी सञ्चालनमा अवरोध भएको छ । हामीले वैकल्पिक सडकको प्रयोगका लागि आवश्यक पहल गरेका छौँ । अवरुद्ध कान्तिलोकपथ पनि खुलाउने कार्य भइरहेको छ ।”

    बाढी तथा पहिरोका कारण विभिन्न स्थानका सडक तथा राजमार्ग अवरुद्ध हुन थालेकाले ट्राफिक प्रहरीले चालक तथा यात्रुलाई सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ । स्थानीय प्रशासन, प्रहरी तथा सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षित यात्राका लागि आवश्यक जानकारी लिएर मात्रै सडक प्रयोग गर्न ट्राफिक प्रहरीले अनुरोध गरेको हो ।

    यसैबीच, सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार कृष्णभीरमा भासिएको सडकको अवस्थाबारे अध्ययन गर्न काठमाडौँबाट विज्ञ टोली त्यसतर्फ पठाइएको छ । सडकको भौगोलिक अवस्था तथा क्षतिको विस्तृत अध्ययनपछि मर्मत तथा पुनःनिर्माणको प्रक्रिया अघि बढाइने छ ।

  • युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग

    युएई सरकारद्वारा बाढी प्रभावितका लागि १० मिलियन अमेरिकी डलर सहयोग


    काठमाडौँ, १४ भदौः युनाइटेड अरब इमिरेट्स (युएई) सरकारले रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि १० मिलियन अमेरिकी डलर बराबरको आर्थिक सहयोग उपलब्ध गराउन तयार रहेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा धर्मराज उप्रेतीसँग आज प्राधिकरणको कार्यालयमा भएको भेटमा युएई एडको टोलीले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताएको प्राधिकरणले जनाएको छ ।

    युएई एडको टोलीले बाढीबाट प्रभावित क्षेत्रमा तत्काल आवश्यकपर्ने सामग्रीबारे प्राधिकरणसँग जानकारी लिएको थियो । प्राधिकरणका कार्यकारी प्रमुख उप्रेतीले भेटमा अस्थायी पुल, पानी शुद्धीकरण तथा सरसफाइ र हाइजिन (सरसफाइ र स्वच्छता कायम राख्न प्रयोग गरिने) सामग्री, ठूलो परिवारका लागि आवश्यक पाल, चार्जिङ सुविधासहितका ‘पोर्टेबल’ बत्ती, ‘पोर्टेबल’ जेनेरेटर, ‘सोलार प्यानल’, स्याटेलाइट फोन, वाकीटकीलगायत सामग्री आवश्यक रहेको जानकारी गराइएको बताए ।


    प्राधिकरणले बाढी प्रभावित क्षेत्रमा आवश्यक सामग्री तथा उपकरणको प्राथमिकता र आवश्यकताका सम्बन्धमा जानकारी गराएपछि युएईको टोलीले सोहीअनुसार सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभएको कार्यकारी प्रमुख उप्रेतीले उल्लेख गरे । भेटमा युएई एडका अन्तरराष्ट्रिय सहायता निर्देशक डा अहमद अल मन्सौरी, सहायता तथा स्थिरीकरण विशेषज्ञ मोहम्मद सलेम अल शाम्सी, मानवीय सहायता प्रतिक्रिया संयोजक सलेम हमेद अल नुआइमीलगायतको सहभागिता थियो । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच लामो समयदेखि कूटनीतिक सम्बन्ध रहँदै आएको छ । यी दुई देशबीच श्रम, व्यापार, लगानी तथा मानवीय सहयोगका क्षेत्रमा सहकार्य हुँदै आएको छ ।

  • सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री

    सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिन्छः प्रधानमन्त्री


    काठमाडौँ, १४ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले हाम्रो एकता र सामूहिक प्रयासबाट नै हामी यस सङ्कटलाई परास्त गर्न सफल हुनेमा आशा व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट सृजित सङ्कट समाधानमा नेपाल सरकार हरेक प्रभावित नागरिकको अभिभावक बनेर उभिएको उल्लेख गरे । प्रभावित प्रत्येक व्यक्तिसम्म राहत पु¥याउने र पुनःनिर्माण तथा पुनःस्थापनाको कार्यलाई पूर्ण नतिजा नआएसम्म निरन्तर जारी राख्ने उहाँले प्रतिबद्धता व्यक्त गरे ।


    “विगत पाँच दिनदेखि हाम्रो देशले अकल्पनीय र हृदयविदारक प्राकृतिक विपद्को सामना गरिरहेको छ । रसुवाको भोटेकोशी नदीमा गएको भीषण बाढीले पुर्याएको जनधन तथा भौतिक क्षतिको पूर्ण विवरण सङ्कलन गर्न अझै चुनौतीपूर्ण बनिरहेको छ । प्रतिकूल मौसम, जटिल भूगोल र लगातारको जोखिमका कारण यो काम चुनौतीपूर्ण भए पनि हामी दृढताका साथ नागरिकको जीवनरक्षाका लागि अघि बढिरहेका छौँ”, प्रधानमन्त्री शाहले भनेका छन्, “आफ्ना प्रियजन, घरबार र जायजेथा गुमाउँदाको पीडाभन्दा ठूलो अन्य केही हुन सक्दैन ।

    आफ्ना नागरिकहरू सङ्कटमा परेको यस दुःखी घडीमा नेपाल सरकार अत्यन्तै गम्भीर, स्तब्ध र संवेदनशील छ । हामी कुनै पनि बहाना नबनाई सम्पूर्ण राज्य संयन्त्रलाई युद्धस्तरमा परिचालन गरेर प्रभावित क्षेत्रका प्रत्येक नागरिकको जीवनरक्षा र राहतमा अहोरात्र खटिरहेका छौँ । नागरिकको सुरक्षा र अभिभावकत्व प्रदान गर्नु सरकारको सर्वोच्च दायित्व हो र यसलाई पूर्ण निष्ठाका साथ पूरा गर्न हामी प्रतिबद्ध छौँ ।”

    प्रधानमन्त्री शाहले बाढी गए लगत्तै सरकारले प्रभावित क्षेत्रबाट पीडित नागरिकको उद्धारलाई तीव्र पारेको थियो । प्रतिकूल मौसम र विकट भौगोलिक परिस्थितिबीच पनि प्रभावित क्षेत्रबाट केहीबेर अघिसम्म नौ हजार ४३५ जनालाई हवाई र स्थलमार्गमार्फत उद्धार गरी सुरक्षित स्थानमा पुर्याएको बताएका छन् । साथै राहत तथा उद्धार कार्यका लागि आज मात्रै थप ७२ सहित ३९४ उडान भरिसकेको अवस्था छ । प्रभावित क्षेत्रमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका गरी २० हजार ६१८ सुरक्षाकर्मी खटिएका छन् । उद्धारमा अन्य स्वयंसेवक साथीहरु व्यापक रुपमा निरन्तर लागिरहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

    प्रभावित क्षेत्रका विद्युत् आयोजना क्षेत्रबाट नेपाली सेनाको हेलिकप्टरमार्फत केहीबेर अघिसम्म २७९ जनाको उद्धार गरिसकिएको उनले बताए । रसुवाको माथिल्लो त्रिशूली–१ आसपासबाट २ दिनमा २५० जनाको उद्धार गरिएको छ । चिनियाँ र कोरियन विशेषज्ञ टोलीले नेपाली सेनासँग समन्वय गरी यस क्षेत्रमा उद्धारको प्रयास जारी राखेको छ, साथै चिनियाँ टोलीले सुरुङभित्र तीन किलोमिटरसम्म खोज गरिसकेको छ । तर, अहिलेसम्म मानिस फेला पार्न नसकेको प्रधानमन्त्री शाहले उल्लेख गरे ।


    बाढीका कारण त्यहाँ रहेका धेरै नागरिक घाइते भएका थिए । उनीहरुलाई हामीले जतिसक्दो चाँडो उद्धार गरी उपचार गर्ने कोसिस गरिएको र त्यो क्रम जारी रहेको उनले बताए । प्रभावित क्षेत्रबाट २६७ घाइते मानिसलाई उद्धार गरी स्थानीयसँगै काठमाडौँका विभिन्न अस्पतालमा उपचार गरिरहेको उनले बताए ।

    केहीबेर अघिसम्म अस्पतालबाट १५६ जना डिस्चार्ज भइसकेको उनको तथ्यांक छ । अन्य घाइते नागरिकको स्वास्थ्य अवस्थामा सुधार आउँदैछ । प्रभावित क्षेत्रमा उपचार, मनोपरामर्शका लागि काठमाडौँबाट विभिन्न चिकित्सकसहितको टोली खटिनुभएको र प्रभावित क्षेत्रमा अवरुद्ध भएका स्वास्थ्य संस्थाहरूको सेवा सुचारु गर्ने क्रम जारी रहेको प्रधानमन्त्री शाहको भनाइ छ ।

    “नेपालले व्यहोरिरहेको यो विपद्मा देशभित्रै सहयोग गर्ने क्रम जारी छ । छिमेकी मुलुक भारत र चीनबाट उद्धारका सामग्रीसहित राहत सामग्री उपलब्ध भएको छ । नेपाल सरकारले प्रभावित क्षेत्रका विभिन्न सुरक्षित स्थानमा राहत पुर्याइसकेको छ । काठमाडौँको त्रिभुवन विमानस्थलको वेयरहाउस, जिल्ला प्रशासन कार्यालय काठमाडौँ र सामाखुसीको नेपाल प्रहरीको विपद् तालिम केन्द्रमा सङ्कलित राहत सामग्री हवाई तथा स्थलमार्गबाट नुवाकोटको बट्टारमा रहेको नेपाली सेनाको मैथिल ब्यारेक र रसुवाको उत्तरगयामा पुर्याइएको छ । “मैथिल ब्यारेकबाट धादिङको बैरेनी प्रहरी कार्यालय र रसुवाको धुञ्चेस्थित नेपाली सेनाको ब्राबेल ब्यारेक पुर्याइएको छ”, प्रधानमन्त्री शाहले भनेका छन् ।

    प्रधानमन्त्री शाहका अनुसार प्रभावित क्षेत्रका अधिकांश स्थानमा सञ्चार सेवा पुनः सुरु भइसकेको छ । आइतबार मात्रै नेपाल दूरसञ्चार प्राधिकरणले सहयोगमा प्राप्त गरेका २० वटा स्याटलाइट फोन प्रभावित क्षेत्रमा पठाएको छ । नेपाल टेलिकमका १२० र एनसेलका ७८ वटा बिटिएस टावर सञ्चालनमा रहेकोमा बाढीका कारण नेपाल टेलिकमका ३८ तथा एनसेलका २७ वटा टावरको सेवा अवरुद्ध भएको थियो । जसमध्ये अहिलेसम्म नेपाल टेलिकमका १०६ र एनसेलका ७५ वटा टावर सञ्चालनमा आइसकेका छन् भने बाँकी टावरहरू पनि चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको छ ।

    प्रधानमन्त्री शाहका अनुसार बाढी प्रभावित क्षेत्रमा वैकल्पिक सडकहरू सञ्चालनमा ल्याएर प्रभावित क्षेत्रलाई जोड्ने प्रयास भइरहेको छ । तर, गएराति भोटेकोशीमा पानीको सतह बढ्दा पहिरो जाँदा वैकल्पिक सडकहरूमा असर परिरहेको छ । साथै, कृष्णभीर क्षेत्रमा कटान हुँदा सडकमा यातायात सेवा अवरुद्ध भएको छ । हाम्रा संयन्त्रहरूले यथाशीघ्र सडक पुनः सञ्चालनमा ल्याउन कोसिस गरिरहेको उनको भनाइ छ ।

    साथै बाढीका कारण ज्यान गुमाएका ७८१ जनाको शव फेला परेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शवको व्यवस्थापन भइरहेको छ । पहिचान भएका शव आफन्तको जिम्मा लगाउने काम भइरहेको छ भने पहिचान हुन नसकेका शवको कानुन बमोजिम प्रक्रिया पूरा गरी जमिनमुनि व्यवस्थापन सुरु भइसकेको छ । ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ बमोजिम व्यवस्थापन गरिँदैछ । पहिचान गर्न नसकिने अवस्थामा भेटिएका शवलाई मात्रै डिएनएलगायत अन्य पहिचानलाई सहयोग गर्ने आधार सुरक्षित राखी सरकारले आफैँ व्यवस्थापन गरिरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् ।

  • रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल

    रसुवा र नुवाकोटका २६ स्थानमा राहत वितरण तथा आश्रयस्थल


    काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढी प्रभावितका लागि रसुवा र नुवाकोटका विभिन्न २६ स्थानमा आश्रयस्थल तथा राहत वितरण केन्द्र सञ्चालनमा ल्याइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आइतबार मात्रै प्रभावित दुई जिल्लामा तीन हजार ४५४ जनालाई आश्रय तथा राहत वितरण गरिएको छ । प्राधिकरणका प्रवक्ता शान्ति महतले नुवाकोटमा दुई हजार २७४ नागरिकलाई १६ वटा आश्रयस्थल तथा शिविरमा राखिएको जानकारी दिए । उनका अनुसार नुवाकोटको विदुर नगरपालिका तुप्चे क्षेत्रका प्रभावितलाई पुस्तकालय शिविरमा राखिएको छ ।

    साथै त्रिशूली ढुङ्गे क्षेत्र र सिमचैरका प्रभावितलाई सेफहाउस÷किरियापुत्री भवनमा, बेत्रावतीका प्रभावितलाई स्वास्थ्य चौकी, बट्टार क्षेत्रका प्रभावितलाई कभर्ड हल तथा देवीघाटका प्रभावितलाई आयुर्वेद वैकल्पिक चिकित्सालयमा राखिएको छ । बेत्रावती भैसे क्षेत्रका प्रभावितलाई सुन्दरी क्यैरीनी मावि, त्रिशूली बजार क्षेत्रका प्रभावितलाई कोलनी कभर्ड हल÷भैरुम मावि, रिमालडाँडा र इन्द्रायणी आविमा बनाइएका शिविरमा राखिएको छ ।

    विदुर–३ देवीघाट सिटखाली क्षेत्रका प्रभावितलाई रणभुवनेश्वरी मावि÷वडा कार्यालयमा व्यवस्थापन गरिएको छ । विदुर–९ का प्रभावितलाई त्रिशूली आवि र शुलक्षणा माविमा राखिएको छ । बेलकोटगढीको रातमाटे जिलिङ क्षेत्रका प्रभावितलाई महादेव मावि, किस्पाङ गाउँपालिका–५ का प्रभावितलाई कार्की मनकामना आवि र त्रिभुवन मावि तथा रसुवाका केही प्रभावितलाई बट्टारको तामाङ प्लाजामा राखिएको छ ।

    प्राधिकरणका अनुसार विदुर–२ को सेफहाउस, देवीघाट आयुर्वेद वैकल्पिक चिकित्सालय, बेलकोटगढी–७ को महादेव माध्यमिक विद्यालय र विदुर–९ को शुलक्षणा माध्यमिक विद्यालयमा मेडिकल टोली उपलब्ध रहेको छ । त्रिशूली नदी पारी रहेका क्षेत्रमा हाल हेलिकप्टरबाट मात्र पहुँच सम्भव भएकाले वैकल्पिक रूपमा गल्छीको पुल हुँदै आश्रयस्थलसम्म पुग्ने प्रयास भइरहेको छ ।

    रसुवा जिल्लामा बाढी प्रभावितको उद्धार तथा राहत कार्य प्रभावकारी रूपमा अघि बढाइएको छ । जिल्लाका १० वटा अस्थायी आश्रयस्थलमा आइतबार मात्रै एक हजार १८० विपद् प्रभावित नागरिकले आश्रय लिएका छन् । स्थानीय तहको समन्वयमा उत्तरगया गाउँपालिका–२ को डाँडागाउँ, आमाछोदिङ्गो गाउँपालिकाका–१÷२ का हाकु, पाङलिङ र ग्रेमा आश्रयस्थल सञ्चालनमा छन् । गोसाइकुण्ड गाउँपालिका– १, २, ३, ५ का थुमन, दालफेदी, खैदी, बृद्धिम, लिङलिङ र स्याफ्रुबेँसी र आमाछोदिङ्गो गाउँपालिकाका–१ र २ का हाकु, पाङ्ग्रङ र ग्रेमा आश्रयस्थलहरू सञ्चालनमा छन् ।

    यी आश्रयस्थल तथा होल्डिङ सेन्टर व्यवस्थापनमा स्थानीय तहले नेतृत्वदायी भूमिका खेलिरहेका छन् । राहत सामग्री पुग्न नसकेको कुनै पनि स्थान नरहेको र भौगोलिक विकटताका कारण अधिकांश क्षेत्रमा हेलिकप्टरमार्फत राहत वितरण कार्य गरिएको छ । रसुवामा त्यहाँका प्रभावितका लागि धुञ्चेस्थित रसुवा जिल्ला अस्पताल, स्याफ्रुबेँसीमा वीर अस्पतालको टोली, हेलिक्षेत्रमा प्रादेशिक अस्पतालको टिम, रसुवा अस्पतालमा सशस्त्र प्रहरी बलका स्वास्थ्यकर्मी र हेलिक्षेत्रमा नेपाल आर्मीको स्वास्थ्य टोली उपचारमा सक्रिय छ । बाढी प्रभावित क्षेत्रमा थप क्षति हुन नदिन र सुरक्षित स्थानमा राहत तथा औषधोपचार पु¥याउन स्थानीय प्रशासन तथा सुरक्षा निकाय उच्च सतर्कताका साथ लागि परेको बताइएको छ ।

  • भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार

    भोटेकोशी बाढीः आजसम्म २८९ पर्यटकको उद्धार


    काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २८९ पर्यटकको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परेर सम्पर्कविहिन भएकामध्ये हालसम्म २८९ विदेशी पर्यटकको उद्धार गरिएको हो ।

    बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर सम्पर्कविहीन भएकामध्ये २८९ विदेशी पर्यटकको उद्धार गरिएको राससलाई जानकारी दिए । उनका अनुसार हालसम्म भारतका १८०, चीनका ८९, माल्टा चार, जर्मन चार, इटाली दुई, बुल्गेरिया एक, ओमन एक, पोर्चुगल एक, रसिया दुई, स्वीजरल्याण्ड एक, टर्की दुई र अमेरिकाका दुई पर्यटकको उद्धार गरिएको हो ।

    त्यस्तै, विभिन्न देशका ५९१ पर्यटक अझै सम्पर्कविहिन रहेका निमित्त प्रमुख कार्यकारी अधिकृत ऐरले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकार भएका निकायहरूले प्रभावित क्षेत्रमा रहेका पर्यटकहरूको खोजी र उद्धार कार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ ।

    यसैबीच, बाढीका कारण धादिङको बेनीघाट रोराङ गाउँपालिकास्थित कृष्णभीरमा नदीले सडक कटान गरेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएकाले पर्यटकलाई यात्रा गर्दा सडक र मौसमको अवस्था बुझेर यात्रा गर्न बोर्डले आग्रह गरेको छ । पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोलफ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न भनेको छ ।

  • प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन

    प्रधानमन्त्री दैवी प्रकोप कोषमा पाँच अर्ब २४ करोड सङ्कलन


    काठमाडौँ, १४ भदौः बाढी प्रभावितका लागि सरकारले सञ्चालन गरेको प्रधानमन्त्री दैवी प्रकोप कोषमा हालसम्म रु पाँच अर्ब २४ करोड ६९ लाख ४४ हजार सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोषमार्फत पीडितका लागि आर्थिक सहयोग जुट्ने क्रम बढेको छ । कार्यालयले ‘उद्धार अनुरोध पोर्टल’ सञ्चालन गरी यी कोषमा हालसम्म स्वदेश तथा विदेशबाट प्राप्त रकमको विवरण पूर्ण पारदर्शी रूपमा सार्वजनिक गरेको हो ।

    प्रधानमन्त्री राहत कोषमा आज मध्याह्नसम्म नौ वटा वाणिज्य बैंकका खातामा उक्त रकम सङ्कलन भएको हो । हिमालयन र लक्ष्मी बैंकमा थप रु २१ लाख ४३ हजार २३२ अमेरिकी डलर जम्मा भएको छ । विपद्को यस विषम परिस्थितिमा प्राप्त हुने सहयोगको पारदर्शी उपयोग, सही व्यवस्थापन र सम्भावित वित्तीय ठगीबाट बच्नका लागि सरकारले सार्वजनिक गरेको आधिकारिक ‘क्युआरकोड’ र खाताको नाम (प्रधानमन्त्री दैवी प्रकोप कोष र प्रधानमन्त्री कोष) मा मात्र आर्थिक सहयोग गर्न अनुरोध गरिएको छ । खाताको विस्तृत विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आधिकारिक वेबसाइटमा उपलब्ध गराइएको कार्यालयले जनाएको छ ।

  • नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र

    नेपालको विपत्तिपछि भारतद्वारा हिमनदी निगरानी तीव्र


    नयाँदिल्ली, १४ भदौ (रासस–एएफपी) । हिमनदी खस्दा आएको मानिएको विनांशकारी बाढीको केही दिनपछि भारतले चीन र नेपालसँग सीमा जोडिएका आफ्ना हिमाली क्षेत्रमा हिमनदी तथा हिमनदीजन्य तालको निगरानी बढाएको अधिकारीहरूले शनिबार बताएका छन्। युएस जियोलोजिकल सर्भेका अनुसार बुधबार तिब्बत–नेपाल सीमामा आएको विपत्ति हिमनदी खस्दा उत्पन्न लेदोसहितको तीव्र बहावका कारण भएको थियो। घटनामा करिब तीन हजार मानिस बेपत्ता भएका छन् भने ६३३ जनाको मृत्यु पुष्टि भएको छ।

    हिमनदी खस्नुको यकिन कारण स्पष्ट नभए पनि जलवायु परिवर्तनका कारण विश्वभर हिमनदी तीव्र गतिमा पग्लिँदा यस्ता विपत्तिको जोखिम बढिरहेको वैज्ञानिकहरूले बताएका छन्। “नेपालसँग हाम्रो सीमा जोडिएको र भौगोलिक अवस्था पनि समान भएकाले हामीले सम्बन्धित विभागलाई यस क्षेत्रका सबै हिमनदी र ज्ञात हिमनदीजन्य तालको निगरानी गर्न निर्देशन दिएका छौँ”, भारतको हिमाली राज्य उत्तराखण्डका विपत्ति व्यवस्थापनमन्त्री मदन कौशिकले भने ।


    “हामीले आफ्ना टोलीलाई सतर्क रहन र राज्यका कुनै पनि क्षेत्रमा यस्तै अवस्था सिर्जना भइरहेको छ कि छैन भनेर निगरानी गर्न भनेका छौँ”, उनले एएफपीलाई बताए । सरकारी तथ्याङ्कअनुसार उत्तराखण्डमा एक हजार २६६ हिमनदीजन्य ताल छन्। यसका कारण राज्यलाई भारतको संवेदनशील पारिस्थितिक क्षेत्रमध्ये एक मानिन्छ।

    वैज्ञानिकहरूका अनुसार हिमाली हिमनदीले विश्वका करिब दुई अर्ब मानिसलाई आवश्यक पानी उपलब्ध गराउँछन्। तर जलवायु परिवर्तनका कारण ती पहिलेभन्दा तीव्र गतिमा पग्लिरहेका छन्। यसले हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायलाई अप्रत्याशित तथा विनाशकारी विपत्तिको जोखिम बढाएको छ।

  • एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो

    एमबाप्पे बलोन डी’ओरका लागि योग्य : मउरिन्हो


    म्याड्रिड, १४ भदौ (रासस–एएफपी) : रियल म्याड्रिडका प्रशिक्षक जोसे मउरिन्होले किलियन एमबाप्पे यस वर्षको बालोन डि’ओर जित्न योग्य रहेको बताएका छन् । उनले भन्नुभयो, “यो पुरस्कार विश्वकप वा च्याम्पियन्स लिगको सफलताले निर्धारण गर्ने नभई ‘विश्वको उत्कृष्ट खेलाडी’ लाई दिनुपर्छ। “विश्वका उत्कृष्ट खेलाडीहरू हातमा गन्न सकिने अर्थात् दुई, तीन वा चार जना छन् र हामीलाई थाहा छ उनीहरू को हुन्,” मउरिन्होले शनिबार ला लिगामा मालागाविरुद्धको खेलअघि पत्रकारहरूसँग भने ।


    एमबाप्पेको सन्दर्भमा सङ्केत गर्दै उनले भने, “मेरो विचारमा व्यक्तिगत रूपमा यस ग्रीष्मकालमा इतिहास रच्न सफल एउटा योग्य खेलाडी हुनुहुन्छ र उनी नै बालोन डि’ओरका लागि योग्य हो ।” एमबाप्पेले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने खेलाडी बनेका थिए । फ्रान्सका कप्तान एमबाप्पे बालोन डि’ओरका दाबेदारहरूमध्ये एक हुन् । उनी गत सिजनमा ला लिगा, च्याम्पियन्स लिग र सन् २०२६ को विश्वकपमा सर्वाधिक गोलकर्ता बनेका थिए । ”

    उनका प्रतिद्वन्द्वीहरूमा इङ्ग्ल्यान्डका स्ट्राइकर ह्यारी केन, स्पेनका मिडफिल्डर तथा विश्वकप विजेता रोद्री, र पेरिस सेन्ट–जर्मेनका युरोपियन च्याम्पियन ओउस्मान डेम्बेले र ख्विचा क्वारात्स्केलिया छन्। एमबाप्पेले बुधबार रियल सोसिएदादविरुद्ध ४–१ को जितमा ह्याट्रिक गरेका थिए । शनिबार म्याड्रिडस्थित खेलकुद दैनिक एएसको अग्रपृष्ठमा ‘एमबाप्पे बालोन डी’ओरको लक्ष्य’ शीर्षकमा उनी देखिएका छन् ।
    “च्याम्पियन्स लिग वा विश्वकप जितेकै कारण मात्र बालोन डि’ओर दिन सकिँदैन,” मउरिन्होले भने । उनले भने, “मेरो बिचारमा बालोन डि’ओर म्याराडोना, रोनाल्डिन्हो, रोनाल्डो नाजारियो, क्रिस्टियानो रोनाल्डो, मेस्सी, जिदानजस्ता ती खेलाडीहरूलाई जानुपर्छ जो सेवानिवृत्त हुँदा सधैँ याद गरिनेछन् ।” मउरिन्होले थपे, “यदि हामी च्याम्पियन्स लिगलाई पुरस्कृत गर्न चाहन्छौँ भने लुइस एनरिकलाई दिउँ । स्पेनी राष्ट्रिय टिमका लागि (लुइस) दे ला फुएन्तेलाई दिऊ । विश्वको उत्कृष्ट खेलाडी भनेको अर्कै कुरा हो र उहाँ न त पिएसजीमा हुनुहुन्छ न स्पेनी टिममा रहनुभएको छ ।”

  • अमेरिका–भेनेजुएलाबीच ६५ अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता

    अमेरिका–भेनेजुएलाबीच ६५ अर्ब ब्यारेल तेल भण्डार विकासको सम्झौता

    वासिङ्टन, १४ भदौ (रासस–एपी) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार आफ्नो प्रशासनले भेनेजुएलासँग बृहत् तेल सम्झौता गरेको बताएका छन् । सम्झौता कार्यान्वयन भएमा अमेरिकाले भेनेजुएलाका विशाल अप्रयुक्त तेल भण्डारमा लागत मूल्यमा पहुँच पाउनेछ । सामाजिक सञ्जालमार्फत सम्झौताको घोषणा गर्दै ट्रम्पले विदेशमन्त्री मार्को रुबियो, रक्षामन्त्री पिट हेगसेथ र भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजबीच भएको वार्तापछि सम्झौता भएको बताए ।


    “संयुक्त राज्य अमेरिकाले भर्खरै भेनेजुएला राष्ट्रसँग विश्व इतिहासकै सबैभन्दा ठूलो तेल सम्झौता गरेको छ”, ट्रम्पले लेखेका छन् । रोड्रिगेज नेतृत्वको सरकारले जारी गरेको विज्ञप्तिअनुसार सम्झौतामा ६५ अर्ब ब्यारेल प्रमाणित क्षमता भएका १७ वटा तेल क्षेत्रको विकास समावेश छ । यसबाट भेनेजुएलाको तेल उद्योगमा १०० अर्ब डलरसम्म लगानी भित्र्याउन तथा सरकारलाई २०९ अर्ब डलरभन्दा बढी कर राजस्व प्राप्त हुन सक्ने अनुमान गरिएको छ । रोड्रिगेजले टेलिग्राममा सम्झौताले “राष्ट्रको पुनरुत्थानमा महत्वपूर्ण प्रभाव पार्ने”, बताए ।


    सम्झौताबारे जानकार एक अमेरिकी अधिकारीका अनुसार अमेरिकाले भेनेजुएलाको एक अज्ञात निजी सञ्चालकसँग मिलेर तेल क्षेत्रको विकास र व्यवस्थापनका लागि नयाँ निजी कम्पनी स्थापना गर्न सक्नेछ । सार्वजनिक रूपमा टिप्पणी गर्ने अधिकार नभएकाले नाम नखुलाउने सर्तमा ती अधिकारीले रोड्रिगेजले उक्त कम्पनीलाई तेल क्षेत्र विकासका लागि १०० वर्षको अधिकार दिएको बताए ।
    ती अधिकारीका अनुसार नयाँ कम्पनीमा अमेरिकाले प्रभावकारी रूपमा ५५ प्रतिशत उत्पादन हिस्सा पाउनेछ । यसमा स्वामित्वको हिस्सा र लागत मूल्यमा तेल खरिद गर्ने अधिकारसमेत समावेश हुनेछ । उक्त कम्पनी साउदी आरामको पछि प्रमाणित तेल भण्डारको स्वामित्व राख्ने विश्वकै दोस्रो ठूलो कर्पोरेट संस्था बन्न सक्ने उनको दाबी छ ।

    तेलको मूल्य घटाउन दबाब
    ट्रम्पको घोषणापछि अमेरिकामा इन्धनको मूल्य घट्ने अपेक्षा गरिएको भए पनि भेनेजुएलाको तेल उत्पादन तत्काल बढ्न नसक्ने विज्ञहरूले बताएका छन् । देशको जीर्ण तेल पूर्वाधारको मर्मत तथा विस्तार गर्न वर्षौं लाग्ने र अर्बौं डलर आवश्यक पर्ने उनीहरूको भनाइ छ । अमेरिकामा इन्धनको मूल्य घटाउन ट्रम्पमाथि दबाब बढिरहेका बेला सम्झौता भएको हो । इरानविरुद्ध जारी अमेरिका–इजरायल द्वन्द्वका कारण होर्मुज जलसन्धिबाट हुने खाडी क्षेत्रको तेल ढुवानीमा ठूलो कमी आएको छ । द्वन्द्वअघि विश्वको करिब २० प्रतिशत पेट्रोलियम यही जलमार्गबाट ओसारपसार हुने गरेको थियो ।


    अमेरिकाले इन्धनको आपूर्ति व्यवस्थापन गर्न रणनीतिक पेट्रोलियम भण्डारसमेत प्रयोग गरेको छ । अगस्तको सुरुवातमा उक्त भण्डार ३० करोड ब्यारेलभन्दा तल झरेको थियो, जुन सन् २०२६ को सुरुआतयता १० करोड ब्यारेलभन्दा बढीको कमी हो ।

    एएएका अनुसार शुक्रबार अमेरिकामा पेट्रोलको औसत मूल्य प्रतिग्यालन करिब चार दशमदव ०९ डलर थियो । गत वर्ष सोही समयमा औसत मूल्य तीन दशमलव २१ डलर रहेको थियो ।
    लगानीका चुनौती

    भेनेजुएलामा अमेरिकी तेल कम्पनीहरूलाई पुनः लगानीका लागि आकर्षित गर्न भने राजनीतिक अनिश्चितता र दशकौँदेखि कमजोर बनेको पूर्वाधार चुनौती बन्न सक्ने देखिएको छ । मादुरोलाई पदच्युत गरेपछि ट्रम्पले ह्वाइट हाउसमा तेल उद्योगका कार्यकारीहरूलाई बोलाएर भेनेजुएलामा पुनः लगानी गर्न आग्रह गर्नुभएको थियो । उनीहरूले त्यहाँको सम्भावनाप्रति चासो देखाए पनि विगतको अनुभवका कारण सावधानी अपनाउनुपर्ने बताएका थिए ।

    अमेरिकी सबैभन्दा ठूलो तेल कम्पनी एक्सनमोबिलका प्रमुख कार्यकारी अधिकृत ड्यारेन वुड्सले त्यतिबेला भेनेजुएलालाई लगानी गर्न नसकिने देशका रूपमा हेरेका थिए । ट्रम्पले भने आफ्नो प्रशासनले भेनेजुएलामा स्थिरता ल्याएको दाबी गरेका छन् । उनले पूर्वराष्ट्रपति ह्युगो चाभेजको सरकारले दशकौँअघि अमेरिकी तेल कम्पनीहरूको स्वामित्वमा रहेका सयौँ सम्पत्ति राष्ट्रियकरण गरेको भन्दै भेनेजुएलाले अमेरिकी तेल चोरेको आरोप लगाउँदै आएका छन् ।


    रोड्रिगेजले सत्ता सम्हालेपछि तेल क्षेत्रलाई निजी लगानीका लागि खुला गर्ने कानुनमा हस्ताक्षर गरेका थिए । यसले दुई दशकभन्दा लामो समयदेखि देशमा शासन गर्दै आएको समाजवादी आन्दोलनको नीतिमा ठूलो परिवर्तन ल्याएको छ । रुबियोले सम्झौताले भेनेजुएलामा अर्बौं डलर निजी लगानी भित्र्याउने र अमेरिकामा ग्यासको मूल्य घटाउने दाबी गरेका थिए ।


    अमेरिकी अधिकारीका अनुसार नयाँ कम्पनीबाट खरिद गरिने तेल अमेरिकी रणनीतिक पेट्रोलियम भण्डार पुनः भर्न तथा सैन्य प्रयोजनमा प्रयोग गरिनेछ । भेनेजुएलासँग विश्वकै सबैभन्दा ठूलो प्रमाणित तेल भण्डारमध्ये एक रहेको छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार त्यहाँ करिब ३०३ अर्ब ब्यारेल कच्चा तेलको भण्डार छ, जुन विश्वको कूल आपूर्तिको करिब १७ प्रतिशत हो । तर कमजोर पूर्वाधारका कारण भेनेजुएलाले विश्वको करिब एक प्रतिशत मात्र तेल उत्पादन गर्दै आएको छ । मादुरो हाल अमेरिकामा जेलमा छन् । उनले आफूविरुद्धका आरोपमा दोषी नभएको स्वीकार गरेका छन् ।

  • चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको छ : विदेशमन्त्री वाङ

    चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको छ : विदेशमन्त्री वाङ


    १४ भदौ, काठमाडौं । चीनका विदेशमन्त्री वाङ यीले उनका नेपाली समकक्षी शिशिर खनालसँग शनिबार टेलीफोनमार्फत् यही भदौ १० गते गएको भएको हिमस्खलन र यसले निम्त्याएको विपत्तिबारे कुराकानी गरेको चीनको विदेश मन्त्रालयले शनिबार जानकारी गराएको छ । हालै चीनको तिब्बत क्षेत्रमा गएको हिमपहिरो र त्यसका कारण नेपालमा भोटेकोशी र त्रिशुली नदीमा आएको बाढी र डुवानका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा व्यापक भौतिक तथा मानवीय क्षति पुगेको थियो ।

    उनले ‘चीन र नेपालबीचको केरूङ–रसुवा सीमा नाका क्षेत्रमा हालै गम्भीर विपद् आएको, जसले ठूलो जनधनको क्षति पुर्‍याएको, मानिसहरू बेपत्ता भएका र भौतिक सम्पत्तिको क्षति भएकोमा नेपाल र नेपाली जनतालाई परेको पिडाबारे गहन कुराकानी भएको बताइएको छ । उनले चीनले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेको पनि बताए ।

    चिनियाँ विदेशमन्त्री वाङले भने, “हामीले नेपाललाई सहायता प्याकेज प्रस्ताव गरेका छौँ । यो छिट्टै कार्यान्वयन हुनेछ ।” नेपाललाई दिइने चीनको सहायता प्याकेज कार्यान्वयन भइरहेको र यसमा आपत्कालीन नगद सहायता र मानवीय सहायता समावेश रहने विदेश मन्त्रालयले जनाएको छ ।

  • भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती

    भोटेकोशी बाढीप्रभावित क्षेत्रमा आज दिउँसो वर्षाको गतिविधि बढ्ने, उद्धारमा चुनौती


    काठमाडौँ, १४ भदौः भोटेकोशी बाढीग्रस्त रसुवा, नुवाकोट र धादिङ आसपासका क्षेत्रमा आज दिउँसो वर्षा हुने सम्भावना रहेकाले उद्धार कार्य प्रभावित हुने देखिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले बादल लागिरहेको बाढी प्रभावित क्षेत्रमा दिउँसो मौसममा बदली भई वर्षा हुने सम्भावना रहेको छ । विभागका मौसमविद् डेविट ढकालले भने, “बाढीप्रभावित क्षेत्रमा अहिले बादल देखिएको छ । दिउँसोपछि रसुवा, नुवाकोट र धादिङमा मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने एक–दुई स्थानमा भारी वर्षा हुनसक्छ । अपराह्न ४ः०० बजेपछि भने खोज तथा उद्धारका लागि मौसम केही अनुकूल हुने सम्भावना रहेको छ ।”

    विभागका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै कर्णाली प्रदेशको पहाडी भू–भाग र लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भू–भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यसैगरी, देशका हिमाली तथा पहाडी भू–भागका धेरै स्थानमा मेघगर्जन एवं चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    यसैबीच, विज्ञहरूले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा बाढीको जोखिम कायमै रहेको र माथिल्लो क्षेत्रमा बनेको हिमताल फुट्ने सम्भावनासमेत रहेकाले थप वर्षाका कारण राहत, उद्धारमा समस्या आउने भनी सम्बद्ध पक्षको ध्यानाकर्षण गराएका छन् । यसकिसिमको विषम परिस्थितिमा नदी तटीय क्षेत्रका प्रभावित बासिन्दा तथा खोज–उद्धारमा खटिएका सुरक्षाकर्मी र अन्य जनशक्तिलाई विशेष सतर्कता अपनाउन उनीहरुले अनुरोध गरेका छन् ।

  • एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    एसिसी प्रिमियर कपः उपाधिसँगै एसिया कपमा स्थान बनाउने नेपालको लक्ष्य

    काठमाडौँ, १४ भदौः तेस्रो संस्करणको एसिसी प्रिमियर कप आज आइतबारदेखि मलेसियामा सुरु हुँदैछ । प्रतियोगितामा सहभागी १० टोलीमध्ये नेपाल उपाधि जित्दै सन् २०२७ मा आयोजना हुने एसिया कपमा स्थान बनाउने लक्ष्यसहित मैदानमा उत्रँदैछ । नेपालसहित सहभागी १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल समूह ‘ए’ मा परेको छ । यस समूहमा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन् । समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, ओमान, कतार र सिङ्गापुर रहेका छन् ।

    समूह चरणमा नेपालले भदौ १५ गते बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । खेल मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा हुनेछ । ५० ओभरको प्रिमियर कपमा नेपालले पहिलोपटक बहराइनसँग प्रतिस्पर्धा गर्न लागेको हो । नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसियासँग खेल्नेछ । मलेसियाविरुद्धका पछिल्ला पाँच एकदिवसीय खेलमा नेपाल अपराजित छ । हालै भएका दुई अभ्यास खेलमा पनि नेपालले मलेसियालाई पराजित गरेको थियो । प्रिमियर कपमा मलेसियाविरुद्ध नेपालको यो दोस्रो भेट हो । सन् २०२३ मा भएको पहिलो संस्करणमा नेपालले मलेसियालाई छ विकेटले हराएको थियो ।

    नेपालले तेस्रो खेल भदौ २१ गते साउदी अरेबियासँग तथा समूह चरणको अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ । नेपाल र साउदी अरेबियाबीच हालसम्म दुई खेलमा प्रतिस्पर्धा भएकामा नेपालले एक खेल जितेको छ भने एक खेल रद्द भएको थियो । यस्तै, ५० ओभरको क्रिकेटमा नेपाल र हङकङबीच भएका चार खेलमध्ये नेपालले एक र हङकङले दुई खेल जितेका छन् भने एक खेल रद्द भएको थियो ।

    एसियन क्रिकेट काउन्सिल ९एसिसी० का अनुसार दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । सेमिफाइनलका विजेताबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । यसपटक प्रिमियर कपको उपाधि विजेता टोलीले मात्र सन् २०२७ को एसिया कपमा स्थान बनाउनेछ । गत संस्करणको टी–२० ढाँचाको प्रिमियर कपबाट भने तीन टोली एसिया कपका लागि छनोट भएका थिए । सन् २०२४ मा आयोजित उक्त प्रतियोगिताबाट युएई, ओमान र हङकङ एसिया कपमा छनोट भएका थिए भने नेपाल चौथो स्थानमा सीमित भएको थियो ।

    नेपालले पहिलो संस्करणको प्रिमियर कपको उपाधि जितेको थियो । सन् २०२३ मा घरेलु मैदानमा भएको प्रतियोगिताको फाइनलमा युएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको थियो । यसपटक पनि नेपाली टोली उक्त सफलता दोहो¥याउने लक्ष्यमा छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वसदस्य तथा क्यानको खेलाडी छनोट समितिका पूर्वसंयोजक दीपेन्द्र चौधरीले नेपाल उपाधिको बलियो दाबेदार रहेको बताउनुभएको छ । विदेशी पिचमा खेल्नुपर्ने भए पनि प्रतियोगिताअघि पर्याप्त अभ्यासको अवसर पाएकाले नेपाली टोलीलाई फाइदा पुग्ने उहाँको भनाइ छ ।

    ‘‘प्रतियोगिताअघि नेपाली टोलीले राम्रो अभ्यास पाएको छ । भारतमा गरेको प्रशिक्षणले पक्कै पनि एसिसी प्रिमियर कपमा टोलीलाई सहयोग मिल्नेछ । मुख्य प्रशिक्षक स्टुअर्ट लले हरेक अभ्यास खेललाई निगरानी गरेका छन् । त्यसले पनि टोलीलाई केही फाइदा मिल्ने देखिन्छ,’’ चौधरीले रासससँग भने ।

    टोलीमा रहेका नयाँ खेलाडी पनि राम्रो लयमा रहेको उनले बताए । ‘‘देव खनाल, आसिफ शेख, अर्जुन कुमाललगायतले अभ्यास खेलमा राम्रो प्रदर्शन गरेका थिए । यसपटक पनि नेपालको बलियो पक्ष बलिङ नै हो,’’ उनले भने । मलेसियासँगको दोस्रो अभ्यास खेलमा नेपालले एक सय ७१ रनको सामान्य लक्ष्य दिए पनि २७ रनको जित निकालेको उदाहरण दिँदै चौधरीले नेपाली टोलीको बलिङ पक्ष बलियो रहेको बताए । उनका अनुसार प्रतियोगितामा नेपालको प्रमुख प्रतिस्पर्धी ओमान र युएई हुन् ।

    ‘‘नेपालले घरबाहिर खेल्दैछ । केही चुनौती अवश्य छन् । तर, प्रतियोगिताअघि मलेसियाको पिचमा अभ्यास खेल खेलिसकेकाले खेलाडीहरू केही अभ्यस्त भइसकेका छन् । प्रतियोगितामा नेपालको प्रमुख प्रतिद्वन्द्वी ओमान र युएई हुन् । विगतमा पनि महत्वपूर्ण प्रतियोगितामा यी दुई टोलीले नेपाललाई केही समस्या दिएका छन्,’’ पूर्वखेलाडी चौधरीले भने ।

  • भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम

    भोटेकोशी–त्रिशूलीमा बाढीको जोखिम

    काठमाडौँ, १४ भदौः विपद् व्यवस्थापनविद् उज्ज्वल उपाध्यायले भोटेकोशी र त्रिशूलीमा जलसतह बढेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने बताए । “ सतर्क भएर खोज, उद्धार तथा राहतका काम गर्न आवश्यक छ । रसुवाबाट बाढीसम्बन्धी सूचना निरन्तर तल्लो तटीय क्षेत्रसम्म पु¥याउनु पनि उत्तिकै आवश्यक छ,” उनले भने ।


    बितेका नौ घण्टामा आरुघाटसहित बूढीगण्डकी जलाधार क्षेत्रमा भारी वर्षा भएकाले धादिङको बेनिघाटदेखि तल्लो त्रिशूली नदीमा पानीको सतह उल्लेख्य रूपमा बढ्न सक्ने सम्भावना छ । “हिमपहिरो खसेको ठाउँमा बनेको ताल र त्यसमा मिसिने खोल्साहरू पनि लगातारको वर्षाले भरिने र बग्ने हुँदा बेलाबेलामा बाढीको जोखिम बढेको हो,” उपाध्यायले भने ।

  • भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

    भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन


    भोजपुर, १४ भदौः भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् । रोजगारीका सिलसिलामा रसुवा पुगेका उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा नआएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्ञानबहादुर खड्काका अनुसार रसुवाको मैलुङस्थित सैनिक पोष्टमा कार्यरत टेम्केमैयुङ गाउँपालिका–९ का ३१ वर्षीय प्रभाकर दङ्गाल, दुसन हाइड्रोपावर कम्पनीमा कार्यरत भोजपुर नगरपालिका–७ का ५९ वर्षीय गोविन्द राई, सोही हाइड्रोपावरमा कार्यरत षडानन्द नगरपालिका–९ किमालुङका ४७ वर्षीय निमा लाक्पा शेर्पा र तुनवी कन्स्ट्रक्सन रसुवामा कार्यरत पौवादुङमा गाउँपालिका–५ सानोदुम्माका ६६ वर्षीय गोपी राई सम्पर्कविहीन भएका हुन् ।

    भोटेकोशी बाढीपछि विभिन्न क्षेत्रमा कार्यरत उनीहरू हालसम्म परिवार तथा आफन्तको सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । सम्पर्कविहीन उनीहरूको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा

    बाढीग्रस्त क्षेत्रमा अलपत्र यात्रुको उद्धार गर्न निःशुल्क यातायात सेवा

    काठमाडौँ, १४ भदौः काठमाडौँ महानगरपालिकाले बाढीग्रस्त क्षेत्रमा अलपत्र रहेका यात्रुहरूको स्थलमार्गबाट उद्धार गर्न निःशुल्क यातायातको व्यवस्था गरेको छ । सेवाको पहिलो दिन शनिबार दुई बालबालिका, नौ महिला र आठ पुरुष गरी १९ जनालाई काठमाडौँ ल्याइएको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो । शनिबारदेखि दुईवटा सवारीसाधनको व्यवस्था गरिएको छ । दुईवटामध्ये एउटा यसअघि रसुवादेखि काठमाडौँ यात्रु ओसार्ने गाडी हो । यसको क्षमता १९ सिटको छ । अर्को गाडी महानगरपालिकाको अनुरोधमा छत्रपाटी निःशुल्क चिकित्सालयले उपलब्ध गराएको हो । यसमा १० यात्रु अटाउँछन् ।

    निःशुल्क सञ्चालन गरिएका सवारीसाधनको पहिचानका लागि त्यसको अगाडि र पछाडि ब्यानर राखिएको छ । दुवै सवारीसाधनमा नगर प्रहरी राखिएको छ । उक्त सवारीसाधनमा परिचालन गरिएका जनशक्तिलाई विपद् व्यवस्थापनमा प्रोत्साहित गर्न आज महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल, प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, प्रवक्ता मानन्धर, विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापालगायत सभागृहमा सहभागी थिए ।


    कामको सिलसिलामा देशका विभिन्न ठाउँबाट रसुवा, नुवाकोटलगायत बाढी प्रभावित क्षेत्रमा कार्यथलो भएर विपद्पछि अलपत्र परेका काठमाडौँ आउन चाहने व्यक्ति र प्रभावित क्षेत्रमा आफन्त खोजी गर्न काठमाडौँबाट त्यस क्षेत्रमा जाने व्यक्तिलाई लक्षित गरी यो सेवा थालिएको हो । यी सवारीसाधनले दिनमा दुईपटक यात्रु ओसार्नेछन् ।

    चार शववाहन परिचालन

    यसैबीच, काठमाडौँ महानगरपालिकाले रसुवा भोटेकोशी बाढीग्रस्त क्षेत्रमा चारवटा शववाहन परिचालन गरेको छ । महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलका अनुसार विपद् व्यवस्थापनमा सबैलाई जुटेर काम गर्न आग्रह गर्दै महानगरपालिकाले पनि सक्दो सहयोग गर्न शनिबार चारवटा शववहानको व्यवस्था गरेको हो ।

    काठमाडौँ महानगरपालिकाले शनिबार नुवाकोट पठाएका चारवटा शववाहनमध्ये एउटाले पाँचवटा शव ल्याएको छ । त्रिशूली सैनिक तालिम केन्द्रबाट चार पुरुष र एक महिलाको शव लिएर फर्किएको हो । यसरी ल्याइएका शव त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा बुझाइनेछन् । सूर्यविनायक नगरपालिका, छत्रपाटी निःशुल्क चिकित्सालय, मनमोहन मेमोरियल कलेज तथा शिक्षण अस्पताल र भक्तपुर क्यान्सर अस्पतालसँग समन्वय गरेर महानगरपालिकाले शववाहन परिचालन गरेको हो ।

  • भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन

    भोटेकोशी बाढीः २६१ पर्यटकको उद्धार, ३२० अझै सम्पर्कविहीन


    काठमाडौँ, १४ भदौः रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर हराएका विभिन्न देशका पर्यटकमध्ये २६१ जनाको उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार बुधबार बिहान भोटेकोशीमा गएको बाढीमा परेर सम्पर्कविहीन भएकामध्ये शनिबार साँझसम्म २६१ विदेशी पर्यटकको उद्धार गरिएको हो ।

    बोर्डका निमित्त प्रमुख कार्यकारी अधिकृत (सिइओ) हिक्मतसिंह ऐरले विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड र कैलाश मानसरोवर गएर हराएमध्ये १६ देशका २६१ पर्यटकको उद्धार गरिएको राससलाई जानकारी दिए । उद्धार गरिएका पर्यटकमध्ये भारतका १६७, चीनका ४०, बेल्जियमका एक, बुल्गेरियाका एक, जर्मनीका चार, इटालीका तीन, माल्टाका चार, ओमानका एक, पोर्चुगलका एक, रसियाका दुई, स्पेनका दुई, स्वीजरल्यान्डका दुई, टर्कीका दुई, युक्रेनका आठ र अमेरिकाका तीन जना रहेका छन् ।

    यस्तै, देश र परिचय नखुलेका २१ पर्यटकको उद्धार गरिएको बोर्डले जनाएको छ । बाढीमा परेर अझै ३२० पर्यटक सम्पर्कविहीन भएको नेपाल पर्यटन बोर्डले जनाएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी र अन्य पर्यटन सरोकारवालाले प्रभावित क्षेत्रमा रहेका पर्यटकको खोजी र उद्धारकार्यलाई तीव्रता दिएका छन् । घाइते र अलपत्र परेकालाई सुरक्षित स्थानमा ल्याउन सबै आवश्यक प्रयास भइरहेको बोर्डले जनाएको छ ।

    नेपाल पर्यटन बोर्डले ‘पर्यटकको सुरक्षा हाम्रो पहिलो प्राथमिकता हो’ भन्दै सबैलाई धैर्य र सतर्क रहन आह्वान गरेको छ । नेपाल पर्यटन बोर्डले कुनै पनि जानकारी वा सहयोगका लागि टोल फ्री नम्बर १२३४, हटलाइन नम्बर ११४४ र पर्यटन प्रहरी ९८५१२८९४४५ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

  • अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

    अमेरिकाद्वारा बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी अतिरिक्त सहायता घोषणा

    वाशिङ्टन डिसी, १४ भदौः अमेरिकी सरकारले नेपालका बाढीपीडितका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको अतिरिक्त मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी विदेश मन्त्रालयले शनिबार जारी गरेको प्रेस विज्ञप्तिमा नेपाली जनताको कठिन घडीमा अमेरिकाले साथ दिँदै ३६ लाख डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने जनाइएको छ । विज्ञप्तिअनुसार तीन महिनाका लागि १० हजार बाढीपीडितलाई खाद्य सामग्री उपलब्ध गराइने छ ।

  • उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

    उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

    मुस्ताङ,१४ भदौः उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको जोखिमबारे स्थलगत र ड्रोनमार्फत अनुगमन सुरु गरिएको छ । हालसम्म अनुगमन गरिएका क्षेत्रमा तत्काल कुनै सम्भावित जोखिमको सङ्केत नदेखिएको अधिकारीहरूले बताएका छन् । भोटेकोशी बाढीपछि उपल्लो मुस्ताङमा पनि उच्च हिमाली क्षेत्रको विपद् जोखिम पहिचान तथा पूर्वतयारीलाई तीव्रता दिइएको हो । जिल्ला प्रशासन कार्यालय मुस्ताङको समन्वयमा सशस्त्र प्रहरी बल नेपालअन्तर्गत बीओपी नेचुङ, नेपाल प्रहरी, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याप) लोमान्थाङ तथा संरक्षण क्षेत्र व्यवस्थापन समितिको संयुक्त टोलीले कालीगण्डकी नदी प्रणालीका मुहान तथा उच्च पर्वतीय क्षेत्रको अनुगमन गरिरहेको छ ।

    एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार पहिलो चरणमा नेपाल–चीन सीमास्थित १८ र १९ नम्बर सीमास्तम्भ नजिक कालीगण्डकी नदी प्रणालीका दुई मुहानको स्थलगत तथा ड्रोनमार्फत निरीक्षण गरिएको थियो । ती क्षेत्रमा हिमपातको अवस्था तथा सम्भावित जोखिमको मूल्याङ्कन गरिएको र हाल जोखिम नदेखिएको उनले बताए ।
    अनुगमनको दोस्रो चरणमा लोमान्थाङ माथिको उच्च पर्वतीय क्षेत्रमा रहेको घ्याकरछु तालको निरीक्षण गरिएको छ । समुद्रसतहबाट करिब पाँच हजार पाँच सय ५० मिटरको उचाइमा रहेको उक्त क्षेत्रमा ड्रोनमार्फत गरिएको निरीक्षणका क्रममा हिमनदीका ढिस्काहरू देखिए पनि तत्काल कुनै जोखिमको सङ्केत नदेखिएको पौडेलले बताए । अब लोमान्थाङको चुमजुङमाथि रहेको छुआमा पिकको शिर तथा लोघेकर दामोदरकुण्ड–१ चराङमाथिको पर्वतीय क्षेत्रको कालीगण्डकी नदी प्रणालीको अनुगमन गर्ने योजना रहेको उनले बताए । ती क्षेत्रमा हिमताल रहेको जिपीएसबाट देखिएकाले स्थलगत निरीक्षण गर्न लागिएको उनको भनाइ छ ।

    गत वर्ष लोमान्थाङको चुमजुङमाथि छुआमा पिकबाट कालीगण्डकी नदी प्रणालीमा लेदोसहितको बाढी आएपछि स्थानीय क्षेत्रमा जोखिम बढेको थियो । उच्च हिमाली क्षेत्रमा हिमताल फुट्ने, हिमपहिरो जाने वा बाढी आउन सक्ने सम्भावनालाई ध्यानमा राख्दै नदीका मुहान तथा संवेदनशील क्षेत्रको नियमित अनुगमनलाई निरन्तरता दिइने एक्यापले जनाएको छ । विपद्को सम्भावित जोखिम पहिचान, प्रारम्भिक चेतावनी तथा प्रभावकारी प्रतिकार्यका लागि उच्च हिमाली क्षेत्रमा नियमित अनुगमन र विपद् पूर्वतयारीलाई सुदृढ बनाइने भएको छ ।

  • भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

    भोटेकोशी नदीमा पुनः बाढी, अहिले जलसतह घटेर सामान्यतर्फ

    रसुवा, १४ भदौः भोटेकोशी नदीमा आज बिहान पुनः आएको बाढीका कारण रसुवासहित नदी तटीय क्षेत्रको जनजीवन प्रभावित भएको छ । यसअघि भदौ १० गतेको अकल्पनीय बाढीले आतङ्कित रसुवा, नुवाकोटसहित तल्लो तटीय क्षेत्रका बासिन्दामा पुनः आएको बाढीबाट थप डरत्रास थपिएको गोसाइँकुण्ड गाविसका प्रमुख कैसाङनुर्पु तामाङले जानकारी दिए ।


    ठूलो आवाजसहित बिहान करिब ३ः३० बजेतिर बाढी आएपछि नदीतटबाट धेरै माथि रहेका धुञ्चेवासीसमेत माथिल्तिर अवस्थित अस्पताल क्षेत्र तथा खेलमैदानमा एकीकृत भई बसेका थिए । अहिले पानीको बहाव घट्न थालेसँगै स्थानीयवासी आआफ्नो घरतर्फ लागेका छन् ।

    बाढी आएको थाहा हुनासाथ छिमेकी जिल्ला नुवाकोटमा सम्पर्क गरेको र नुवाकोट प्रशासनले सावधानी अपनाउन ‘माइकिङ’ गरेको जानकारीप्राप्त भएको जिल्ला प्रशासन कार्यालय, रसुवाका सूचना अधिकारीसमेत रहनुभएका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले बताए । यसैबीच आपत्कालीन अवस्थाका लागि धुञ्चेमा राखिएको नेपाली सेनाको हेलिकप्टर बाढीप्रभावित माथिल्लो नदी तटीय क्षेत्रतर्फ उडेको र पुनः बाढीपछिको क्षतिको विवरण प्राप्त नभएको उनले बताए ।

  • निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो

    निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो


    काठमाडौँ, १३ भदौः नेपाल आयल निगमले भोटेकोशी नदीमा बाढी गएपछि खोज तथा उद्धारमा संलग्न हेलिकप्टरका लागि ४० हजार ८४० लिटर हवाई इन्धन नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा पठाएको छ । निगमले आज प्रेस विज्ञप्ति जारी गरेर खोज तथा उद्धारका लागि गत भदौ १० गतेदेखि नियमित रुपमा नुवाकोटस्थित नेपाली सेनाको ब्यारेकमा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

    सोही ठाउँबाट हेलिकप्टरका लागि हवाई इन्धन रिफिलिङको काम हुँदै आइरहेको छ । निगमका अनुसार भदौ १० मा १२ हजार लिटर, भदौ ११ मा हेलिकप्टर र ट्रयाङकरमार्फत १० हजार ८४० लिटर पठाएको थियो । त्यसैगरी भदौ १२ गते नौ हजार लिटर र भदौ १३ गते नौ हजार लिटर हवाई इन्धन उपलब्ध गराएको छ । निगमको थानकोटस्थित बागमती प्रादेशिक कार्यालयबाट बाढी प्रभावित क्षेत्रमा रहेका पेट्रोलपम्पलाई भदौ १३ गतेसम्म ७२ हजार लिटर पेट्रोल र ६२ हजार लिटर डिजेल उपलब्ध गराइएको निगमले जनाएको छ ।

    निगमले बाढी प्रभावित स्थानमा रहेका सेल्टरमा नेपाल ग्यास उद्योगबाट नुवाकोटमा २३२ थान सिलिण्डर ग्यास उपलब्ध गराएको छ । त्यसैगरी एलपी ग्यास उद्योग सङ्घबाट पनि नुवाकोट र रसुवाका लागि १५० थान सिलिण्डर राहत कार्यमा पठाइएको जनाएको छ ।

  • गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो

    गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो


    गोरखा, १३ भदौः भोटेकोशीमा बुधबार गएको बाढीले बगाएर त्रिशूली नदीको गोरखातर्फको बगरमा ल्याएका शवको अन्त्येष्टि गरिएको छ । प्रशासन कार्यालयले जिल्लामा हालसम्म फेला परेका ५५ शवमध्ये २९ वटाको अन्त्येष्टि गरेको जानकारी दिएको छ । पहिचान खुल्न नसक्ने, शरीरका विभिन्न अङ्गहरूको अन्त्येष्टि गरेको प्रमख जिल्ला अधिकारी तुलसीप्रसाद श्रेष्ठले बताए । “गोरखामा शवगृहको अभाव छ । दैनिक शव फेला पर्नेक्रम बढ्दै गएपछि व्यवस्थापनका लागि पहिचान खुल्न नसक्ने शव अन्त्येष्टि गरेका हौँ”, उनले भने ।


    उक्त शवबाट आवश्यक डिएनए स्याम्पल लिएर अन्त्येष्टि गरेको उनले जानकारी दिए । पर्याप्त व्यवस्थित शवगृह नहुँदा शव बिग्रने, गन्हाउने र रोगसमेत फैलने हुँदा व्यवस्थापनका लागि अन्त्येष्टि गर्नु परेको उनले बताए । प्रजिअ श्रेष्ठका अनुसार गोरखामा २३ वटा पहिचान खुल्नसक्ने सग्लो शव भेटिएका छन् । हालसम्म फेला परेका सग्ला शवमध्ये ११ वटा पोखरा पठाइएको छ । बाँकी शव भने प्रदेश अस्पताल गोरखा एवं एनपिआइ गोरखा अस्पतालको शवगृहमा राखिएको र केही शव अस्पतालसम्म आइपुग्दै छन् ।

    जिल्ला प्रहरी कार्यालयलले २९ वटा शवको सहिदलखन गाउँपालिका–९ बुङ्कोटघाटस्थित बूढीगण्डकीको किनारमा अन्त्येष्टि गरेको छ । प्रहरीले केन्द्रबाट प्राप्त कार्यविधिअनुसार गाडेर शवको अन्त्येष्टि गरिएको जनाएको छ ।

  • भोटेकोशी बाढीः ६६९ जनाको शव फेला, दुई हजार ३०१ जनाको उद्धार

    भोटेकोशी बाढीः ६६९ जनाको शव फेला, दुई हजार ३०१ जनाको उद्धार


    काठमाडौँ, १३ भदौः भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ६६९ पुगेको छ । नेपाल प्रहरीले बाढी प्रभावित क्षेत्रबाट आज साँझ ४ बजेसम्म ६६९ जनाको शव फेला परेको जनाएको हो । प्रहरी प्रधान कार्यालय नक्सालका अनुसार रसुवामा १३, धादिङमा ४९, नुवाकोटमा ४१, गोरखामा ५४, तनहुँमा ३१, चितवनमा २४८, नवलपरासी पूर्वमा १५८ र नवलपरासी पश्चिममा ७५ जनाको शव फेला परेको छ ।

    नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक ९डिआइजी० अविनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म दुई हजार ३०१ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाका ६७६, नुवाकोटका एक हजार ६२२ र धादिङका तीन जना रहेका छन् । विभिन्न स्थानबाट उद्धार गरिएका गम्भीर घाइतलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ । प्रहरीका अनुसार काठमाडौँका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका गरी हालसम्म १४० जना रहेका छन् ।

    रसुवा बाढीपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालका केही कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् । प्रहरीका अनुसार नेपाली सेनाका ४४, नेपाल प्रहरीका २७ र सशस्त्र प्रहरी बल, नेपालका १३ जना कर्मचारी अझै सम्पर्कविहीन छन् । बाढी प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको प्रहरीले जनाएको छ । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललगायत सम्बन्धित निकायका सुरक्षाकर्मी तथा उद्धार टोलीले सम्भावित जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी राखेका छन् । बाढीका कारण प्रभावित क्षेत्रमा मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलनसँगै बेपत्ताको खोजी र उद्धारलाई प्राथमिकतामा राखिएको प्रहरीले जनाएको छ ।

  • बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन

    बाढी प्रभावित थप सात क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनः सञ्चालन


    काठमाडौँ, १३ भदौः नेपाल टेलिकमले बाढीबाट प्रभावित थप सात क्षेत्रमा आज सेवा पुनःसञ्चालनमा ल्याएको छ । यससँगै बाढीका कारण प्रभावित भएका कुल १२० साइटमध्ये ९३ वटा साइट सञ्चालनमा आएका छन् । टेलिकमका अनुसार रसुवाको त्रिशूली ‘थ्री ए’ जलविद्युत् आयोजनासँगै रहेको टावरमार्फत सेवा सञ्चालन गरिएको छ । यसबाट आयोजनाको सुरुङमार्गमा भइरहेको उद्धारका लागि आवश्यक सञ्चार सम्पर्क सहज भएको छ । सेवा सञ्चालनका लागि आवश्यक उपकरण तथा सामग्री सवारीसाधन र भरियामार्फत ढुवानी गरिएको थियो ।

    नेपाल टेलिकमका प्रवक्ता डा कमल लामिछानेका अनुसार रसुवाको उत्तरगया गाउँपालिकास्थित कालिकास्थानको टावरबाट पनि सेवा पुनःसञ्चालनमा आएको छ । त्यस्तै, नुवाकोटका तुप्चे र बुङ्ताङ बिटिएस पनि आजदेखि सञ्चालनमा आएका छन् । ती टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन हेलिकप्टरमार्फत ढुवानी गरिएको टेलिकमले जनाएको छ । यसबाहेक कटुन्जे, सामरी भञ्ज्याङ र बेतिनीका टावरसमेत सञ्चालन भएका छन् ।

  • डिएनए सुरक्षित राखेर पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिँदै

    डिएनए सुरक्षित राखेर पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिँदै

    काठमाडौँ, १३ भदौः बाढी प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका तर पहिचान गर्न नसकिएका शवको व्यवस्थापन सुरु गरेको छ । ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन ९पहिलो संशोधन० निर्देशिका, २०८३’ बमोजिम ती शव जमिनमुनि व्यवस्थापन गर्न थालिएको हो । शवको डिएनएलगायत अन्य पहिचान सहयोग गर्ने आधारहरू सुरक्षित राखेर मात्रै सरकारले शवलाई जमिनमुनि व्यवस्थापन गर्न लागेको हो । पछि आफन्त–परिवारसँग डिएनए ‘म्याच’ गराइ ती शव अन्त्येष्टिका लागि जिम्मा लगाइनेछ । निर्देशिकामा भविष्यमा हकवाला पहिचान भएमा गाडिएको शव वा मानव अङ्ग उत्खनन गरी सम्मानपूर्वक परिवारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ ।

    यद्यपि सरकारको यो कार्यलाई लिएर भ्रम सृजना गर्ने प्रयास भइरहेको गृहमन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले बताए । उनले भने, “हामीले शव जमिनमुनि व्यवस्थापन गर्दा निर्देशिका पालना गरेका छौँ, त्यति मात्रै होइन वैज्ञानिक प्रक्रियासमेत पूरा गरेका छौँ । त्यसैले यस विषयलाई लिएर जनमानसमा भ्रम नफैलाउन आग्रह गर्दछौँ ।”

    शव लामो समयसम्म अलपत्र पर्दा जनस्वास्थ्यमा असरपर्ने जोखिम बढेको थियो । त्यसकारणले पनि शवको जमिनमुनि व्यवस्थापन अत्यावश्यक भएको स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्यविद् डा अमृत पोखरेलको भनाइ छ । “शव लामो समयसम्म व्यवस्थापन नगरी राख्दा वातावरणीय तथा स्वास्थ्य जोखिम बढ्दै जाने भएकाले वैज्ञानिक विधिबाट व्यवस्थापन गर्नु आवश्यक हुन्छ । पहिचान नभएका शव तथा मानव अङ्गको डिएनए नमुना सङ्कलन गरी सुरक्षित राख्दै जमिनमुनि व्यवस्थापन गर्नु वैज्ञानिक र जिम्मेवार कदम हो”, उनले भने ।

    शव आफन्तले कसरी पहिचान गर्ने ?

    पहिचान नभएका शव गाडिएपछि आफन्तले कहिल्यै पहिचान गर्न नसक्ने भन्ने होइन । सरकारले प्रत्येक शवको डिएनए नमुना सुरक्षित राख्ने व्यवस्था गरेको छ । त्यसैगरी, प्रत्येक शवलाई छुट्टै र विशिष्ट सङ्केत नम्बर दिइनेछ । शवको विवरण, सङ्केत नम्बर र डिएनए नमुनासहितको अभिलेख सुरक्षित राखिने भएकाले भविष्यमा कसैले आफ्नो आफन्त भएको दाबी गरेमा वैज्ञानिक परीक्षणमार्फत पहिचान गर्न सकिनेछ । अर्थात्, शवलाई जमिनमुनि व्यवस्थापन गरिए पनि पहिचानका लागि आवश्यक वैज्ञानिक प्रमाण सुरक्षित रहनेछ ।

    पहिचान खुलेपछि शव निकाल्न मिल्छ ?
    ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ ले भविष्यमा हकवाला पहिचान भएमा गाडिएको शव वा मानव अङ्ग उत्खनन गरी सम्मानपूर्वक परिवारलाई बुझाउनुपर्ने व्यवस्था गरेको छ । संशोधित निर्देशिकाले विपद्का कारण मृत्यु भएको पुष्टि भएपछि पहिचानका लागि आवश्यक परीक्षण गर्ने प्रक्रियालाई पनि सहज बनाएको छ ।

  • स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

    स्वास्थ्यकर्मीसहित १० जना सम्पर्कविहीन

    रसुवा, १३ भदौः जनस्वास्थ्य कार्यालय रसुवाले भोटेकोशी बाढीमा परी जिल्लाका छ स्वास्थ्यकर्मी एवं उनीहरूका परिवारसमेत गरी १० जना सम्पर्कविहीन अवस्थामा रहेको जनाएको छ । जनस्वास्थ्य कार्यालय रसुवाका प्रमुख निदोर्ज घर्तीमगरका अनुसार तीनमहिने छोरासहित टिमुरे स्वास्थ्यचौकीका इन्चार्ज सुस्मिता पाण्डे, आठमहिने छोरीसहित स्याफ्रुबँेसी स्वास्थ्य चौकीका इन्चार्ज खम्बु बोहारा र उनकी पत्नी कोपिला केसी, दालफेदी स्वास्थ्य चौकीका इन्चार्ज विजय घले र रसुवागढी हेल्थ डेस्कका स्वास्थ्यसहायक गोविन्द यादव सम्पर्कविहीन छन् ।


    यसैगरी, मैलुङ सामुदायिक स्वास्थ्य इकाइकी अनमी विनिशा शाही, उत्तरगया गाउँपालिकाका स्वास्थ्य प्रमुख बलराम न्यौपाने र जनस्वास्थ्य अधिकृत प्रदीप न्यौपाने पनि सम्पर्कविहीन भएको प्रमुख घर्तीमगरले जानकारी दिए । बाढीका कारण प्रभावित क्षेत्रका स्वास्थ्य चौकीको भवन पूर्ण रुपमा क्षति भएका छन् । यसैबीच, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाढी प्रभावित क्षेत्रका जनतालाई स्वास्थ्य सेवा प्रवाह गर्नका लागि आवश्यक प्रबन्ध मिलाएको जनाइएको छ । मन्त्रालयका जनस्वास्थ्य अधिकृत शङ्करप्रसाद कडेलले दोबुताम्बु अस्पताल गोलजुङमा उपचारको प्रबन्ध मिलाइएको जानकारी दिए ।

  • गृहमन्त्री भन्छन् : त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालियो

    गृहमन्त्री भन्छन् : त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालियो


    १३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले त्रिशूली ३ ए सुरुङमा अक्सिजन पठाउन थालिएको जानकारी दिएका छन् । सुरुङको माथिल्लो भागमा उद्धार टोली पुगेको र सानो प्वालबाट हावा पठाउन सुरु गरिएको उनले बताएका छन् । अब अब खन्ने काम सुरु गरी उद्धार टोली पनि भित्र पठाइने उनले जानकारी दिएका छन् । सुरुङमा धेरै कामदार थुनिएको खबर छ ।