Author: Vishwanews.com

  • बाढी प्रभावितलाई इप्पानले पाँच करोड सहयोग गर्ने

    बाढी प्रभावितलाई इप्पानले पाँच करोड सहयोग गर्ने


    काठमाडौँ, ११ भदौः स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु पाँच करोड पाँच लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । इप्पानको बिहीबारको बैठकले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकप्रति श्रद्धाञ्जली तथा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    बैठकले बाढीका कारण सञ्चालनमा रहेका तथा निर्माणाधीन विद्युत् आयोजनामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै आयोजनाको पुनर्निर्माण तथा पुनःस्थापनामा सरकारसँग समन्वय गरी आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले ऊर्जा क्षेत्र नेपालको समृद्धिसँगै नेपाली जनताको सुखदुःखसँग पनि जोडिएको बताउँदै विपद्को समयमा सदस्य कम्पनीहरू एकजुट भएर सहयोग गर्नुपर्नेमा जोड दिए । इप्पानसम्बद्ध जलविद्युत् कम्पनीका तर्फबाट प्रदान गरिने सहयोगको चेक उपयुक्त समयमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको उपस्थितिमा हस्तान्तरण गरिनेछ ।

  • विद्युत् आपूर्ति नियमित हुँदै

    विद्युत् आपूर्ति नियमित हुँदै


    काठमाडौँ, १२ भदौः ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी नदीमा आएको बाढीका कारण देशमा ठूलो जनधनको क्षति भए पनि नेपाल विद्युत् प्राधिकरणका कर्मचारीको सक्रियताका कारण विद्युत् सेवा नियमित राख्न सफल भएको बताएका छन् । उनले केही सहकर्मी सम्पर्कविहीन रहेको अवस्थामा समेत प्राधिकरणका कर्मचारीले निरन्तर काम गरेर विद्युत् सेवा सञ्चालनमा राखेको जानकारी दिए । कुल विद्युत् उत्पादन क्षमताको करिब १० प्रतिशत विद्युत् प्रणालीबाट बाहिरिए पनि प्राधिकरणले आपूर्ति व्यवस्थापनलाई सन्तुलित राख्न सफल भएको उनको भनाइ छ ।

    मन्त्री श्रेष्ठले बिहीबार साँझ स्युचाटारस्थित लोड डिस्प्याच सेन्टर (एलडीसी) पुगेर विद्युत् आपूर्ति व्यवस्थापनबारे जानकारी लिएका थिए । सो क्रममा उनले बाढी प्रभावित नुवाकोटका अधिकांश क्षेत्रमा विद्युत् सेवा पुनःसञ्चालन भएको बताए । यस्तै, रसुवामा पनि सेवा पुनःस्थापनाको प्रयास भइरहेको जानकारी दिए ।


    “अहिलेसम्म विद्युत् प्रणालीलाई सन्तुलित राख्न सफल भएका छौँ । ठूलो क्षतिका कारण आगामी दिनमा थप चुनौती आउन सक्ने भएकाले आवश्यक तयारी र व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखिएको छ”, मन्त्री श्रेष्ठले भने । प्राधिकरणका अनुसार बुधबार साँझ विद्युत्को उच्चतम माग दुई हजार ९३९ मेगावाट रहेकामा बिहीबार साँझ दुई हजार ८९१ मेगावाटमात्रै रहेको थियो । त्यसमध्ये काठमाडौँ उपत्यकाको माग बिहीबार ५७८ मेगावाट र बुधबार ५९० मेगावाट रहेको थियो ।

    प्राधिकरणका अनुसार बुधबार ६२ मेगावाट र बिहीबार दुई मेगावाटमात्र विद्युत् आयात गरिएको थियो । मन्त्री श्रेष्ठले उद्धार तथा विद्युत् पुनःस्थापनामा खटिएका प्राधिकरणका उच्च व्यवस्थापन, कर्मचारी तथा प्राविधिक टोलीलाई धन्यवाद दिए । उनका अनुसार प्राधिकरणले वैकल्पिक स्रोतबाट नुवाकोटमा करिब सात मेगावाट विद्युत् आपूर्ति गरिरहेको छ । चपलीबाट दुई मेगावाट, इन्द्रावतीबाट एक मेगावाट, तादी जलविद्युत् केन्द्रबाट दुई मेगावाट र बालाजु–त्रिशूली प्रणालीबाट थप दुई मेगावाट विद्युत् पठाइएको छ ।

  • बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

    बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन

    काठमाडौँ, १२ भदौ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन गरेको छ । महासङ्घका अध्यक्ष सरोज सिटौलाको अध्यक्षतामा बिहीबार बसेको महासङ्घको आकस्मिक बैठकले बाढीबाट भएको मानवीय एवं सवारीसाधनको क्षतिको अध्ययन गर्न कोषाध्यक्ष राजेन्द्र आचार्यको संयोजकत्वमा सदस्यीय समिति गठन गरेको हो ।

    समितिको सदस्यमा दिलबहादुर श्रेष्ठ, नरबहादुर राना र सुवन गिरीलगायत छन् । समितिले बेपत्ता भएका सवारीसाधन, व्यवसायी, मजदुरको अवस्था पत्ता लगाउनेछ । यस्तै, यात्रीहरूको अवस्था र क्षतिको विवरण सङ्कलन गर्नेछ । महासङ्घका महासचिव डेकनाथ गौतमले बाढी प्रभावित क्षेत्रमा व्यवसायी, मजदुर वा यात्री अलपत्र परेको कुनै जानकारी भएमा महासङ्घको सचिवालयमा सम्पर्क गर्न अनुरोध गर्नुभएको छ ।

  • बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन

    बाढी प्रभावित क्षेत्रमा १३ हजार २९५ सुरक्षाकर्मी परिचालन

    काठमाडौँ, ११ भदौः रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान गएको बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । विपद्मा परेका नागरिकको रक्षाका लागि हाल १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय विपद् न्यूनीकरण तथा जोखिम व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बल नेपालका एक हजार ८४५ जना सुरक्षाकर्मी प्रत्यक्ष रूपमा खटिएका छन् । सडक सञ्जाल अवरुद्ध भएका कारण उद्धार टोलीहरूले हवाई र पैदल दुवै मार्गबाट उद्धार कार्य अघि बढाएका छन् ।

    स्थलगत पहुँच कठिन भएका स्थानहरूमा हवाई मार्गबाट द्रुत उद्धार गरिएको छ । नेपाली सेना र निजी हवाई कम्पनीका हेलिकप्टरहरूले ६९ पटक उडान भरेर जोखिमपूर्ण स्थितिमा थुनिएका ३५१ जना नागरिकलाई सुरक्षित स्थानमा पुर्‍याएका छन् । प्रतिकूल मौसम र नदीको तीव्र बहावका बाबजुद सुरक्षाकर्मीले आफ्नै ज्यान जोखिममा राखेर निरन्तर उद्धार गरिरहेका छन् । स्थानीय प्रशासन र सुरक्षा निकायले बाँकी क्षेत्रमा पनि खोजी र राहत वितरणको कार्यलाई अझ बलियो र विस्तृत बनाउँदै लगेको जनाइएको छ ।

  • बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

    बेलायतका राजा चाल्र्सद्वारा बाढी पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त


    काठमाडौँ, ११ भदौः सयुक्त अधिराज्य बेलायतका राजा चाल्र्स तृतीयले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले आज एक सन्देशमार्फत बेलायतका धेरै मानिसहरूको यस क्षेत्रसँग बलियो, गहिरो र व्यक्तिगत सम्बन्ध रहेको उल्लेख गर्दै आफ्ना प्रियजनहरू गुमाएकाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । साथै राजा चाल्र्सले साथीभाइ तथा आफन्तहरूको अवस्थाबारे चिन्तित हुँदै व्यग्रतापूर्वक खबरको प्रतीक्षा गरिरहेका धेरै परिवारप्रति सहानुभूति प्रकट गरेका छन् ।


    “अरूको सेवामा आफ्नो साहसिक कर्तव्य निर्वाह गर्ने क्रममा ज्यान गुमाएका सबै सुरक्षाकार्मीका परिवारहरूप्रति पनि हाम्रो हार्दिक सहानुभूति छ र उद्धार प्रयासमा निःस्वार्थ रूपमा खटिनुभएका सबैप्रति हामी गहिरो धन्यवाद व्यक्त गर्दछौँ”, उनको सन्देशमा उल्लेख छ । प्रभावित सबैप्रति विशेष सोच र प्रार्थना रहिरहने उल्लेख गर्दै राजा चाल्र्सले सधैँझैँ आवश्यकतामा रहेकाहरूलाई सहयोग र समर्थन गर्न संयुक्त अधिराज्य तयार रहेको उल्लेख गरेका छन् ।

  • भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन

    भोटेकोशी बाढीपछि सुदूरपश्चिमका एक सय नागरिक सम्पर्कविहीन


    सुदूरपश्चिम, ११ भदौः भोटेकोशी बाढी प्रभावित क्षेत्रमा हालसम्म सुदूरपश्चिम प्रदेशका एक सयभन्दा बढी नागरिक सम्पर्कविहीन रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, कैलालीले यहाँका नौवटै जिल्लाबाट आफन्तको खोजीका लागि जानकारी आइरहेको र त्यसक्रममा एक सयभन्दा बढी बढी सम्पर्कविहीन रहेको सूचना आएको जनाएको छ ।

    प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पदमबहादुर विष्टले तीमध्ये कैलालीका ३१, कञ्चनपुरका २९, डडेल्धुराका १५, बाजुराका १४, बैतडीका चार, दार्चुला तीन, डोटीका दुई, बझाङका दुई र अछामका एक जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको जानकारी दिए ।


    कैलालीका मात्र ४९ जना सम्पर्कविहीन भएका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सेनाले जानकारी दिए । बाढी प्रभावित क्षेत्रमा काम, व्यवसाय तथा अन्य सिलसिलामा पुगेका उनीहरु हालसम्म परिवार तथा आफन्तसँग सम्पर्कमा नआएको उनले बताए । प्रभावित क्षेत्रमा सम्पर्कविहीन भएका व्यक्तिको विवरण टिपाउन प्रहरीले आफन्तजनलाई अनुरोध गरेको छ ।

  • भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

    भोटेकोशी बाढीः ४० किलोमिटर सडक र ४१ पुल क्षतिग्रस्त

    काठमाडौँ, ११ भदौः भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवामा करिब ४० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको छ । पूर्वाधार विकास मन्त्रालयका अनुसार नुवाकोटको वेत्रावतीबाट मैलुङ हुँदै स्याफ्रुबेँसी–रसुवागढी जोड्ने सडक पूर्ण रूपमा क्षतिग्रस्त भएको हो । यस्तै गल्छीबाट त्रिशूलीसम्मको करिब १० किलोमिटर सडकसमेत बन्द छ । पृथ्वी राजमार्गअन्तर्गत करिब १३ किलोमिटर सडक लेदोले भरिएको छ । लेदो हटाएर सडक सञ्चालनमा ल्याउने कार्यलाई पहिलो प्राथमिकतामा राखी काम भइरहेको पूर्वाधार विकासमन्त्रीको सचिवालयले जनाएको छ । बाढीका कारण ४१ वटा पुल पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् ।

    आवश्यकता र सम्भावनाको पहिचान गरी ती बेलिब्रिज जडान गर्ने काम अघि बढाइएको छ । भारत र चीन सरकारबाट पनि आवश्यक बेलिब्रिज तत्काल उपलब्ध गराउने प्रतिबद्धता प्राप्त भएको छ । सरकारसँग ५० मिटरसम्म लम्बाइका सात वटा बेलिब्रिज छन् । पहिलो चरणमा पृथ्वीराजमार्ग सञ्चालनमा ल्याउने र रसुवालाई सडक सञ्जालसँग जोड्ने गरी काम अघि बढाइएको छ । त्यसका लागि वेत्रावतीमा बेलिब्रिज राख्ने तयारी भइरहेको पूर्वाधार विकासमन्त्रीको सचिवालयले जनाएको छ ।

    सडक खुलाउने कार्यलाई तीव्रता दिन सरकारले उपलब्ध गराएका १० र निजी क्षेत्रबाट उपलब्ध १० गरी कुल २० वटा उपकरण परिचालन गरिएको छ । क्षतिग्रस्त सडक तथा पुलको पुनःनिर्माण र यातायात सञ्चालनलाई प्राथमिकतामा राख्दै काम तीव्र रूपमा अघि बढाइएको छ ।

  • बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

    बाढीले बगाएर ल्याएको शवबाट सुनको मुन्द्रा निकाल्ने दुई जना पक्राउ

    नारायणगढ (चितवन), ११ भदौः बुधबार भोटेकोशी नदीमा गएको बाढीले नारायणी नदीमा बगाएर ल्याएको शवबाट कानमा लगाएको सुनको मुन्द्रा निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । नदी किनारमा रहेको शवबाट सुनको मुन्द्रा निकाल्दै गरेको श्रव्यदृश्य सामग्री सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले श्रव्यदृश्य सामग्रीमा देखिएका दुई जनालाई पक्राउ गरेको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रामेश्वर पौडेलका अनुसार श्रव्यदृश्यमा देखिएको विवरणका आधारमा अनुसन्धान गर्ने क्रममा भरतपुर महानगरपालिका १ पोखरा बसपार्क नजिकबाट नवलपरासीको विनयत्रिवेणी गाउँपालिका १ घर भई हाल भरतपुर १ लीलाचोकमा मामाघरमा बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरीको चादँबेला नगरपालिका ५ घर भई हाल भरतपुरका २ पोखरा बसपार्क सुपारीटोलमा बस्दै आएका ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चितवन ल्याइएको प्रमुख पौडेलले जानकारी दिए ।

  • भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला

    भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला

    गोरखा, ११ भदौः भोटेकोशी नदीमा बुधबार गएको बाढीपछि गोरखा जिल्लासँग सिमाना जोडिएका क्षेत्रमा हालसम्म ३९ शव फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार प्रहरीले त्रिशूली नदीको गोरखातर्फको बगरमा ती शवहरू फेला पारेको हो ।

    त्रिशूलीमा अधिकांश शव शारीरिक रूपमा क्षति भई चिन्न नसकिने अवस्थामा फेला परेका जनाउँदै प्रहरी नायब उपरीक्षक श्रेष्ठले ११ वटा सग्ला शव फेला परेका बताए । “हालसम्म फेला परेका ११ वटा सग्ला शव पोखरा पठाएका छौँ । शारीरिक रूपमा क्षति भएका शव गोरखा अस्पतालको शवगृहमा छन्”, उनले भने ।


    नदी किनारमा अन्य शवको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । गोरखाको गण्डकी गाउँपालिका८ धवादीघाट, वडा नं ६ भुम्लिचोक, गण्डकी–१ बुट्टार, वडा नं ४ ठेउवाटार र वडा नं ७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारबाट उक्त शव फेला परेका प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए ।

  • विपद् प्रभावित क्षेत्रमा उपचारसहितको कृषि प्राविधिक टोली परिचालन

    विपद् प्रभावित क्षेत्रमा उपचारसहितको कृषि प्राविधिक टोली परिचालन


    काठमाडौँ, ११ भदौः कृषि सेवा विभागले विपद् प्रभावित क्षेत्रमा घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार, मृत पशुपन्छीको सुरक्षित व्यवस्थापन तथा जैविक सुरक्षाका लागि औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको छ । विपद् प्रभावित क्षेत्रमा प्रदेश तथा स्थानीय सरकार र सुरक्षा संयन्त्रको समन्वयमा विभागले घाइते पशुपन्छीको उद्धार, आकस्मिक उपचार मृत पशुपन्छीको सुरक्षित विसर्जन र जैविक सुरक्षाको प्रबन्ध गर्न औषधि उपचारसहितको प्राविधिक टोली परिचालन गरेको हो ।

    विभागका महानिर्देशक उमेश दाहालका अनुसार भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायत जिल्लाका नदी तटीय क्षेत्रमा कृषि, वन तथा पर्यावरणमन्त्री मन्त्री गिता चौधरीको समन्वयमा सो प्राविधिक टोली पठाइएको छ । विभागले प्रभावित क्षेत्रको पशुपन्छीको प्रभावकारी उद्धार उपचार असह्य पशुपन्छीको आकस्मिक व्यवस्थापन तथा सम्भावित महामारीको रोकथाम कार्यमा जुट्न पशु सेवासँग सम्बन्धित सम्पूर्ण सरकारी तथा गैरसरकारी निकाय, पेसागत सङ्घसंस्था उद्यमी तथा व्यवसायी पशु कल्याणसम्बन्धी संस्थाहरू नागरिक समाजलगायतलाई आग्रह गरेको छ ।

    प्राविधिक टोली बाढी प्रभावित क्षेत्रमा पुगेको विभागले जनाएको छ । उक्त टोलीले नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा खटिनुका साथै टोलीको पहलमा उद्धार तथा राहतसम्बन्धी गतिविधि सञ्चालन गरिएको महानिर्देशक दाहालले बताए । टोलीले नुवाकोटका भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका सम्बन्धित अधिकारीसँग भेट गरी बाढी प्रभावित क्षेत्रमा आवश्यक पर्ने पशुको औषधि, खोप तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको विभागले जनाएको छ ।

  • उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री

    उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्ः प्रधानमन्त्री


    काठमाडौँ, ११ भदौः प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले सम्पूर्ण ध्यान नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, प्रभावित परिवारलाई तत्काल राहत र सुरक्षित बसोबास तथा क्षतिग्रस्त अत्यावश्यक पूर्वाधारको शीघ्र पुनःस्थापनामा केन्द्रित गरेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले सबै तहका सरकारी संयन्त्रलाई पूर्ण क्षमतामा परिचालन गरिएको उल्लेख गर्दै उद्धार तथा राहत कार्यका लागि आवश्यक स्रोत र साधनको कुनै कमी हुन नदिने उल्लेख गरेका हुन् ।

    “हामी अहिले पनि काममै छौँ । यो सङ्कटको घडीमा सरकार प्रभावित नागरिकसँगै छ । उद्धार र राहत कार्य पूरा नभएसम्म राज्यका सबै संयन्त्र निरन्तर मैदानमा रहनेछन्”, उनले भनेका छन् । उनले आज आफू नुवाकोट पुगेर बाढीपहिरो प्रभावित क्षेत्रको अवस्था स्वयं अवलोकन गरी काठमाडौँ फर्किएको उल्लेख गर्दै प्रभावित नागरिक, स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा उद्धार र राहतमा खटिएका सबैसँग प्रत्यक्ष रूपमा जानकारी लिएको बताए । “अवस्था अझै चुनौतीपूर्ण छ । राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालित छन् । अहिले हाम्रो पहिलो प्राथमिकता एक–एक नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प्रभावित परिवारलाई तत्काल राहत पुर्‍याउनु हो”, उनले भनेका छन् ।


    सरकारले खोजी तथा उद्धार कार्यलाई उच्च प्राथमिकता दिँदै नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका कूल १३ हजार २९५ सुरक्षाकर्मी परिचालन गरिएको, यसमा नेपाल प्रहरीका सात हजार २५०, नेपाली सेनाका चार हजार २०० र सशस्त्र प्रहरी बलका एक हजार ८४५ जना रहेको प्रधानमन्त्रीले बताएका छन् । उनले नेपाली सेनाको संयुक्त सञ्चालन समिति, राष्ट्रिय विपद् न्यूनीकरण र जोखिम व्यवस्थापन प्राधिकरणको ‘क्विक एक्सन टिम’ तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘र्‍यापिड एक्सन टिम’मार्फत निरन्तर समन्वय र अनुगमन भइरहेको पनि उल्लेख गरे ।


    “हवाई तथा स्थलमार्गबाट उद्धार कार्य निरन्तर भइरहेको छ । आज ६९ वटा हवाई उडान सञ्चालन गरी ३५१ जनाको उद्धार गरिएको छ । थप हेलिकप्टरहरू तयारी अवस्थामा राखिएका छन्”, प्रधानमन्त्रीले भनेका छन्, “निजी हेलिकप्टरलाई समेत सरकारी कमाण्ड तथा कोअर्डिनेसन प्रणालीअन्तर्गत उद्धार र राहतमा परिचालन गरिएको छ । हवाई उद्धारमा बिरामी, गर्भवती तथा सुत्केरी महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकता दिइएको छ ।”

    त्यस्तै, उनले भनेका छन्, “रसुवा, नुवाकोट र धादिङलगायतका प्रभावित क्षेत्रमा फसेका नागरिक तथा सुरक्षाकर्मीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्य जारी छ । करिब तीन हजार ५०० जनालाई तत्काल बसोबास गराउन विद्यालय तथा सार्वजनिकरसामुदायिक भवनमा अस्थायी आवासको व्यवस्था गरिएको छ । प्रभावित नागरिकको तत्काल राहतका लागि रसुवामा रु एक करोड, नुवाकोटमा रु एक करोड र धादिङमा रु ५० लाख परिचालन गरिएको छ । चाउचाउ, बिस्कुट, स्लिपिङ ब्याग, म्याट्रेस, ब्ल्याङ्केटलगायतका राहत सामग्री १० ट्रक पठाइएको छ भने थप खाद्य तथा गैरखाद्य सामग्री हेलिकप्टरमार्फत समेत प्रभावित क्षेत्रमा पुर्‍याइँदैछ ।”

    प्रभावित क्षेत्रमा अस्थायी राहत शिविर सञ्चालन गरी खाना, खानेपानी र आवश्यक आधारभूत सेवाको व्यवस्था गरिएको, नेपाल रेडक्रस, नेपाल स्काउट, लायन्स क्लब तथा अन्य स्वयंसेवी संस्थाका संयन्त्रसमेत राहत र उद्धारमा परिचालित भएको र रेडक्रसबाट करिब ३० हजार जनालाई पुग्ने राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको उनको भनाइ छ ।

    “स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्र सक्रिय गरिएको छ । वीर अस्पताल, ट्रमा सेन्टर, शिक्षण अस्पताल, सिभिल अस्पताल, पाटन अस्पताल तथा प्रहरी अस्पताललाई तयारी अवस्थामा राखिएको छ । वीर र ट्रमा सेन्टरमा १००–१०० तथा पाटन अस्पतालमा ६० आपत्कालीन शय्या तयार गरिएको छ । आवश्यकताअनुसार मेडिकल टोली, औषधि, एम्बुलेन्स र रक्तसञ्चार सेवा परिचालन गरिएको छ”, प्रधानमन्त्रीले भनेका छन् ।


    प्रधानमन्त्री शाहले प्रभावित तथा घाइते नागरिकको निःशुल्क उपचार सुनिश्चित गरिएको बताएका छन् । साथै ट्रमा सेन्टर, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताललगायतका अस्पतालबाट मेडिकल टोली आवश्यक औषधि र उपकरणसहित परिचालन गरिएको र धुलिखेल अस्पताललगायतका स्वास्थ्य संस्थालाई समेत तयारी अवस्थामा राखिएको उनको भनाइ छ ।

    “प्रभावित क्षेत्रमा आवश्यक राहत तथा उद्धार सामग्रीको आपूर्ति प्रणाली व्यवस्थित गरिएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित राष्ट्रिय आपत्कालीन गोदामघर, नुवाकोटको बट्टारस्थित नेपाली सेनाको मैथिली ब्यारेक र धादिङको बैरेनी ब्यारेकमा राहत सामग्री सङ्कलन गरी आवश्यकता र प्राथमिकताका आधारमा प्रभावित क्षेत्रमा पठाउने व्यवस्था गरिएको छ”, उनले भनेका छन््।

    प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा जेनेरेटर, पोर्टेबल मोबाइल टावर, ब्याट्री, स्वास्थ्य सामग्री, टेन्ट तथा फलामरढुङ्गा काट्ने मेसिनरीलगायतका अत्यावश्यक सामग्री हवाई तथा स्थलमार्गबाट पठाइरहेको उल्लेख गर्दै विपद् व्यवस्थापनमा प्रयोग हुने फिल्ड अस्पताल सेट (भीष्म ट्युब) समेत त्रिशूलीतर्फ पठाइएको बताएका छन् । “दूरसञ्चार सेवा पुनःस्थापनालाई आपत्कालीन प्राथमिकतामा राखिएको छ ।

    हालसम्म नेपाल टेलिकमका ३८ र एनसेलका ३२ गरी कम्तीमा ७० वटा टावर–साइट बन्द भएका छन् । प्राविधिक टोली, जेनेरेटर र ब्याट्री हेलिकप्टरमार्फत प्रभावित क्षेत्रमा पुर्‍याई सेवा पुनःस्थापनाको काम भइरहेको छ”, उनले भने ।
    प्रभावित नागरिकलाई तत्काल निःशुल्क सञ्चार सुविधा उपलब्ध गराइएको छ । नेपाल टेलिकमले दैनिक दुई जीबी डाटा, ५० एसएमएस र निःशुल्क भ्वाइस कल तथा एनसेलले समेत निःशुल्क भ्वाइसरडाटा र एसएमएस सुविधा उपलब्ध गराएको उनको भनाइ छ । उनले अस्थायी मोबाइल कनेक्टिभिटी तथा मोबाइल चार्जिङ सुविधा विस्तार भइरहेको उल्लेख गरेका छन् ।


    “सडक, पुल, खानेपानी, विद्युत् तथा दूरसञ्चारलगायत अत्यावश्यक पूर्वाधारको तत्काल पुनःसञ्चालनलाई उच्च प्राथमिकता दिइएको छ । सम्बन्धित मन्त्रालय, विभाग तथा निकायलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत तत्काल परिचालन गरी क्षतिग्रस्त संरचनाको क्षति मूल्याङ्कन र पुनःसञ्चालनको काम द्रुत गतिमा अघि बढाउन निर्देशन गरिएको छ”, उनले भनेका छन् ।


    प्रधानमन्त्री शाहले नेपाल विद्युत् प्राधिकरणसँगको समन्वयमा ओपिजीडब्ल्यु तथा विद्युत् संरचनाको पुनःस्थापनाको काम अघि बढाइएको उल्लेख गर्दै अत्यधिक प्रभावित क्षेत्र र उद्धार तथा राहत कार्यमा प्रत्यक्ष सहयोग पुर्‍याउने संरचनालाई प्राथमिकताका साथ पुनःसञ्चालन भइरहेको बताए । “प्रभावित क्षेत्रमा इन्धनको अभाव हुन नदिन आवश्यक व्यवस्था गरिएको छ ।

    नुवाकोटका भैरवी, सूर्यमती तथा पञ्चकन्या आयल स्टोरमा डिजल २३ हजार लिटर र पेट्रोल छ हजार लिटर मौज्दात रहेको छ । आज थप डिजल १५ हजार लिटर र पेट्रोल १५ हजार लिटर पठाइएको छ । हवाई इन्धन आठ हजार लिटर मौज्दात रहेकोमा थप नौ हजार लिटर पठाइएको छ”, उनले भने, “प्रभावित क्षेत्रको वास्तविक अवस्था र क्षतिको यथार्थ विवरण सङ्कलन गर्न ड्रोन सर्वेक्षण तथा स्थलगत मूल्याङ्कन भइरहेको छ । फसेका नागरिक, अवरुद्ध सडक तथा पहुँचको अवस्था पहिचान गरी उद्धार र राहतलाई अझ लक्षित र प्रभावकारी बनाइँदैछ ।”

    प्रधानमन्त्री शाहले सम्भावित थप जोखिमलाई ध्यानमा राख्दै नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको उल्लेख गर्दै भोटेकोशी तथा त्रिशूली नदीको बहाव, सम्भावित पहिरो तथा अन्य जोखिमको निरन्तर निगरानी भइरहेको बताए । उनले रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनका जोखिमयुक्त नदी तटीय क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा जान आग्रह गरिएको उल्लेख गरे ।

    “राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन सङ्घ, प्रदेश, स्थानीय तह, सुरक्षा निकाय, स्वास्थ्य संस्था, रेडक्रस, स्वयंसेवी संस्था तथा विकास साझेदारबीच निरन्तर समन्वय भइरहेको छ । सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय तहलाई आवश्यकता पहिचान गरी तत्काल प्रतिकार्य गर्न निर्देशन गरिएको छ”, प्रधानमन्त्री शाहले भनेका छन्, “मृतकका परिवारलाई प्रचलित कानुनबमोजिम आर्थिक सहायता उपलब्ध गराउने तथा मृतकको पहिचान र शव व्यवस्थापनलाई व्यवस्थित रूपमा अघि बढाइएको छ ।”

    विपद्पछिको राहत तथा पुनःस्थापनाका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रिय सहयोग परिचालन भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भारतबाट राहत सामग्री प्राप्त भएको छ भने अमेरिका, इयू, डब्ल्युएचओ, आरएफआरसीलगायतका अन्तरराष्ट्रिय साझेदारसँग आवश्यक सहयोग र समन्वय भइरहेको जानकारी दिए । निजी क्षेत्र तथा नागरिकस्तरबाट प्राप्त सहयोगलाई समेत एकीकृत रूपमा परिचालन भइरहेको उनको भनाइ छ ।

  • नेपालप्रति विश्वका नेताको ऐक्यबद्धता, बाढी प्रभावितप्रति गहिरो समवेदना

    नेपालप्रति विश्वका नेताको ऐक्यबद्धता, बाढी प्रभावितप्रति गहिरो समवेदना


    काठमाडौँ, ११ भदौः रसुवास्थित भोटेकोशी नदीमा बुधबार आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि विभिन्न देशका प्रधानमन्त्रीले मृतकप्रति हार्दिक समवेदना व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो दुःख व्यक्त गरेका छन् । उनीहरुले नेपालले भोगेको यस विषम परिस्थितिमा आफूहरू नेपालको साथमा रहेको पनि उल्लेख गरेका छन् ।


    जापानका प्रधानमन्त्री साने ताकाइचीले आफू नेपाल–चीनबीच गएको भीषण बाढी र त्यसबाट ठूलो क्षति भएकामा दुःखी भएको उल्लेख गरेकी छिन् । उनले बाढीका कारण ज्यान गुमाउनेप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो दुःख व्यक्त गरेकी छिन् । प्रधानमन्त्री वालेन्द्र शाहले यस दुःखद अवस्थामा ऐक्यबद्धता र समवेदनाका लागि जापानी समकक्षीप्रति आभार व्यक्त गरेका छन् । उनले यस अवस्थामा प्रधानमन्त्री ताकाइचीले देखाएको ऐक्यद्धताले दुई देशबीचको बलियो मित्रता प्रतिबिम्बित गरेको बताए ।


    बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस दुःखद घडीमा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरुका परिवार तथा प्रियजनहरूले बेहोर्नुपरेको अपूरणीय क्षतिप्रति गहिरो दुःख सहानुभूति व्यक्त गरेका छन् । यस कठिन परिस्थितिमा नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन पनि तयार रहेको बताए ।


    प्रधानमन्त्री शाहले यस विपत्तिको सामना गरिरहेको अवस्थामा उनले व्यक्त गरेको सहानुभूति र समवेदनाका लागि बङ्गलादेश सरकार र बङ्गलादेशी जनताप्रति हार्दिक आभार व्यक्त गरेका छन् । उनले व्यक्त गरेको ऐक्यबद्धताले दुई देशबीचको गहिरो मित्रतालाई प्रतिबिम्बित गरेको बताए ।


    पाकिस्तानका प्रधानमन्त्री सहबाज सरिफले नेपालको रसुवा जिल्ला र अन्य प्रभावित क्षेत्रमा बाढीका कारण ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले यस दुःखद घटनामा ज्यान गुमाउनेहरूका शोकसन्तप्त परिवार तथा प्रभावित सबैप्रति मेरो हार्दिक समवेदना व्यक्त गरेका छन् । “यस कठिन घडीमा पाकिस्तान सरकार र पाकिस्तानी जनता नेपाल सरकार तथा नेपाली जनताको साथमा दृढतापूर्वक उभिएका छन् । प्रभावित क्षेत्रमा रहेका सबैको सुरक्षा तथा सुख–समृद्धिको लागि हामी प्रार्थना गर्दछौँ,” उनले भने ।


    प्रधानमन्त्री शाहले पाकिस्तानी समकक्षी सरिफ तथा पाकिस्तानका जनताले व्यक्त गर्नुभएको समवेदना र ऐक्यबद्धताप्रति गहिरो आभार व्यक्त गरेका छन् । साथै इस्लामावादस्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसमा बुधबार भएको दुःखद घटनाबाट प्रभावित परिवारहरूप्रति गहिरो समवेदना व्यक्त गर्दै घाइतेहरूको शीर्घ स्वास्थ्यलाभको कामना गरेका छन् ।

    अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले नेपाल र चीनको तिब्बतमा आएको ठूलो बाढीबाट प्रभावित सबैप्रति हामी गहिरो समवेदना व्यक्त गरेका छन् । उनले प्रभावित क्षेत्रमा रहेका अष्ट्रेलियाली नागरिकले स्थानीय अधिकारीहरूले जारी गरेका निर्देशन तथा सल्लाह पालना गर्न अनुरोध पनि गरेका छन् । “प्रभावित क्षेत्रमा केही अष्ट्रेलियाली नागरिक रहेको हामीलाई जानकारी छ र उनीहरूको अवस्था तथा सुरक्षाबारे यथाशीघ्र पुष्टि गर्न अधिकारीहरू तत्काल काम गरिरहेका छन् । यसका लागि हामी स्थानीय अधिकारीहरू तथा भ्रमण–पर्यटन सञ्चालकहरूसँग समन्वय गरिरहेका छौँ,” उनले भनेका छन् ।


    प्रधानमन्त्री अल्बानिजले आफूहरू आवश्यक परेमा कन्सुलर सहायता उपलब्ध गराउन तयार रहेको पनि बताए । आकस्मिक कन्सुलर सहायता आवश्यक पर्ने अष्ट्रेलियाली नागरिकहरूले डिएफएटीको कन्सुलर इमर्जेन्सी सेन्टरमा १३०० ५५५ १३५ मा सम्पर्क गर्न सक्ने उल्लेख गरेका छन् । प्रधानमन्त्री शाहले अष्ट्रेलियाका समकक्षीले व्यक्त गरेको हार्दिक समवेदना र ऐक्यबद्धताका लागि धन्यवाद दिँदै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत–साधन परिचालन गरिरहेको बताए ।


    क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले नेपालको भोटेकोशी नदीमा आएको आकस्मिक बाढी अत्यन्तै विनाशकारी रहेको उल्लेख गर्दै क्यानडाका जनताका सङ्कटमा परेका सबै, आफन्त प्रियजन गुमाएका व्यक्तिहरू तथा अझै जवाफको प्रतीक्षामा रहेका सबैको साथमा रहेको बताए । उनले भनेका छन्, “हाम्रो सरकारले परिस्थितिलाई नजिकबाट नियालिरहेको छ । यस क्षेत्रमा रहेका सबै क्यानडाका नागरिकलाई यथाशीघ्र आरओसिए प्रणालीमा दर्ता हुन पनि आग्रह गर्दछ ।” उनले उद्धारका प्रयासहरू जारी रहँदा क्यानडा आवश्यक सहयोग गर्न तयार रहेको पनि उल्लेख गरेका छन् ।


    प्रधानमन्त्री शाहले यस दुःखको घडीमा क्यानडाले देखाएको ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गरेका छन् । नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत–साधन परिचालन गरिरहेको प्रधानमन्त्री शाहले उल्लेख गरेका छन् । जर्मनीका प्रधानमन्त्री फ्रेडरिक मर्जले नेपाल र चीनमा आएको विनाशकारी बाढीको खबरले आफू अत्यन्तै दुःखी भएको उल्लेख गरेका छन् ।

    उनले आफूहरू बाढीबाट प्रभावित पीडितहरू र उनीहरूका प्रियजनहरूसँग साथमा रहेको उल्लेख गर्दै आगामी घण्टा र दिनहरूमा स्थलमै खटिएर सहयोग गरिरहेका सबैलाई शक्ति र साहस प्राप्त होस् भन्ने कामना गरेका छन् । उनले आफूहरू नेपाललाई हामी सहयोग गर्न तयार रहेको पनि बताए ।


    प्रधानमन्त्री शाहले जर्मनीका समकक्षी कार्नीले यस घटनाप्रति देखाएको समवेदना र ऐक्यबद्धताप्रति धन्यवाद व्यक्त गर्दै यस कठिन घडीमा नेपालप्रति व्यक्त गरेको सद्भावपूर्ण भावना र सहयोगको प्रस्तावका कदर व्यक्त गरेका छन् ।
    लिथुनियाका प्रधानमन्त्री मिन्डाउगास सिन्केभिचियुसले नेपाल र चीनमा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् । यस पीडादायी घडीमा शोकसन्तप्त परिवारहरू, प्रभावित सबै व्यक्त तथा स्थलमै खटिएर सहासपूर्वक उद्धार कार्यमा जुटिरहेका टोलीहरूप्रति धन्यवाद व्यक्त गर्दै उनले लिथुनियाको विदेश मन्त्रालयमार्फत आफूहरूले परिस्थितिलाई नजिकबाट निगरानी गरिरहेको बताएका छन् ।


    प्रधानमन्त्री वालेन्द्र शाहले लिथुआनियाका समकक्षीले व्यक्त गरेको समवेदना र ऐक्यबद्धताका लागि धन्यवाद व्यक्त गर्दै यस कठिन घडीमा लिथुआनियाले व्यक्त गरेको सद्भावपूर्ण भावना तथा निरन्तर सहयोग र चासोप्रति हामी गहिरो कदर गर्दछौँ भनेका छन् ।


    मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले नेपाल–चीन सीमा क्षेत्रमा आएको विनाशकारी आकस्मिक बाढीबाट आफू अत्यन्तै मर्माहत भएको बताएका छन् । “मलेसिया सरकार तथा मलेसियाली जनताका तर्फबाट नेपाल र चीनका सरकार तथा जनताप्रति, साथै आफ्ना प्रियजन गुमाउनेहरू र बेपत्ता आफन्तहरूको खबरको प्रतीक्षामा रहेका सबैप्रति गहिरो समवेदना व्यक्त गर्दछ”, उनले भनेका छन् ।


    उनले काठमाडौँस्थित मलेसियाको दूतावास प्रभावित मलेसियाली नागरिकहरूलाई सहयोग गर्न सम्बन्धित अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको बताए । यी प्रयासहरूलाई स्थलमै थप सुदृढ गर्न ढाकास्थित मलेसियाली उच्चायोगका अधिकारीहरूलाई पनि परिचालन गरिएको बताए ।

    “प्रभावित मलेसियाली नागरिकहरूको अवस्थाबारे पूर्ण जानकारी प्राप्त नभएसम्म र उनीहरूका परिवारले आवश्यक सहयोग नपाएसम्म सरकार पूर्ण रूपमा संलग्न रहनेछ । अत्यन्तै कठिन परिस्थितिमा काम गरिरहेका खोज तथा उद्धारमा संलग्न कर्मचारीहरूको साहस र समर्पणको म प्रशंसा गर्दछु । प्रभावित सबैप्रति हाम्रो विचार र प्रार्थना छ,” उनले भनेका छन् । प्रधानमन्त्री शाहले मलेसियाका समकक्षीले व्यक्त गरेको ऐक्यबद्धताका लागि गहिरो आभार व्यक्त गर्दै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत र साधन परिचालन गरिरहेको बताए ।


    सिङ्गापुरका प्रधानमन्त्री लरेन्स वोङले नेपाल–चीन सीमा क्षेत्रमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । उनले शोकसन्तप्त परिवार तथा प्रभावित सबैप्रति गहिरो समवेदना व्यक्त गर्दै प्रभावित सिङ्गापुरका नागरिक तथा उनीहरूका परिवारलाई सहयोग गर्न विदेश मन्त्रालयले नेपाली र चिनियाँ अधिकारीहरूसँग नजिकबाट समन्वय गरिरहेको बता्रए । “हाम्रो विचार नेपाल र चीनका जनताका साथै उद्धार तथा पुनःस्थापनाका प्रयासमा खटिरहनुभएका सबैसँग छ । अझै बेपत्ता रहेकाहरू सकुशल फर्कून् भन्ने हाम्रो कामना छ,” उनले भने ।


    प्रधानमन्त्री शाहले सिङ्गापुरका समकक्षीले व्यक्त गरेको ऐक्यबद्धताका लागि गहिरो आभार व्यक्त गर्दै नेपाल सरकारले प्रभावित सबैको खोजी, उद्धार तथा राहत कार्यका लागि आफ्नो नियन्त्रणमा रहेका सबै स्रोत र साधन परिचालन गरिरहेको बताए ।


    न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले भनेका छन्, “आकस्मिक बाढीपछि नेपाल र चीनबाट बाहिर आइरहेका दृश्यहरू अत्यन्तै हृदयविदारक छन् । प्रभावित सबै तथा प्रभावित समुदायहरूप्रति मेरो गहिरो समवेदना छ । प्रभावित हुन सक्ने न्युजिल्यान्डका नागरिकका सम्बन्धमा न्युजिल्यान्डले नेपालका अधिकारीहरूसँग सम्पर्कमा रहेर समन्वय गरिरहेको छ ।”

    उनले प्रभावित क्षेत्रमा रहेका न्युजिल्यान्डका नागरिकहरूले सम्भव भएसम्म आफू सुरक्षित रहेको जानकारी आफ्ना परिवार तथा साथीहरूलाई गराउन आग्रह गरेका छन् । यदि तत्काल सहयोग आवश्यक परेमा २४ घण्टा, सातै दिन उपलब्ध कन्सुलर आपत्कालीन सेवाको नम्बर ं६४ ९९ २० २० २० मा सम्पर्क गर्न पनि उनको आग्रह छ ।

    प्रधानमन्त्री शाहले न्युजिल्यान्डका समकक्षीलाई यस कठिन समयमा उनले व्यक्त गरेको समवेदना र सहयोगका लागि धन्यवाद दिँदै न्युजिल्यान्डले व्यक्त गरेको ऐक्यबद्धता र मित्रताप्रति नेपाल गहिरो आभार व्यक्त गरेका छन् ।

  • बाढी पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा रु २० लाख सहयोग

    बाढी पीडितका लागि प्रवासी नेपाली मञ्चद्वारा रु २० लाख सहयोग

    काठमाडौँ, ११ भदौः प्रवासी नेपाली मञ्च, अन्तरराष्ट्रिय कमिटीले रसुवास्थित भोटेकोशीमा गएको बाढीका कारण प्रभावित नागरिकको तत्काल राहत तथा उद्धारका लागि रु २० लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । मञ्चको अन्तरराष्ट्रिय कमिटी सचिवालयको आकस्मिक बसेको बैठकले बाढी प्रभावित नागरिकको तत्कालको आवश्यकतालाई सम्बोधन गर्न अन्तरराष्ट्रिय कमिटीको कोषबाट रु २० लाख उपलब्ध गराउने निर्णय गरेको हो ।

    मञ्चले प्राकृतिक विपद्मा परी ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । साथै प्रभावित तथा विस्थापित परिवारप्रति ऐक्यबद्धता जनाएको छ । वास्तविक पीडितसम्म प्रभावकारी, न्यायोचित र पारदर्शी रूपमा सहयोग पुर्‍याउन सम्बन्धित निकाय तथा आवश्यक संयन्त्रसँग समन्वय गरिने मञ्चले जनाएको छ । प्रवासी नेपाली मञ्चले यसअघि पनि प्राकृतिक विपद्, महामारी तथा मानवीय सङ्कटका समयमा राहत तथा पुनर्निर्माणका क्षेत्रमा योगदान पुर्‍याउँदै आएको छ ।

    मञ्चले तत्काल राहतमा मात्र सीमित नभई आवश्यकताअनुसार स्वास्थ्य पूर्वाधार निर्माण तथा दीर्घकालीन पुनस्र्थापनामा पनि योगदान गर्दै आएको जनाएको छ । यसै प्रतिबद्धताको निरन्तरतास्वरूप मञ्चले ‘नेपाल बाढी तथा पहिरो पीडित राहत सहयोग अभियान’ विश्वव्यापी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ । अभियानमार्फत विश्वभर रहेका मञ्चका महादेश तथा राष्ट्रिय कमिटी, सदस्य, शुभेच्छुक, नेपाली व्यवसायी, सामाजिक तथा सामुदायिक सङ्घसंस्था एवं नेपाली समुदायलाई राहत तथा पुनस्र्थापनाका लागि सहयोग गर्न आह्वान गरिएको छ ।

  • नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत सुचारु

    नुवाकोटको बट्टार र त्रिशूली बजारमा विद्युत सुचारु


    नुवाकोटका विभिन्न बजारमा विद्युत सेवा सूचारु गरिएको छ । बालाजु–त्रिशुली र चपली–देविघाट ६६ के. भि. लाइनलाई ११ के. भि. चार्ज गरि विद्युत सुचारू गरिएको नेपाल विद्युत प्राधिकरण्णले जनाएको छ । रसुवा तथा नुवाकोटमा अन्य स्थानमा विद्युत् आपूर्ति पुनर्स्थापना तथा उद्धार कार्य जारी रहेको बताइएको छ । भोटेकोशी बाढीका कारण प्रभावित रसुवा तथा नुवाकोट क्षेत्रमा विद्युत् आपूर्ति पुनर्स्थापनाका लागि नेपाल विद्युत् प्राधिकरणले उपलब्ध वैकल्पिक प्राविधिक उपायहरू अवलम्बन गरी काम अघि बढाइरहेको छ। सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिएको छ।


    रसुवामा विद्युत् आपूर्ति सुचारु गर्न सम्भावित सान्जेन जलविद्युत् आयोजनालाई आइसोलेटेड मोडमा सञ्चालन गरी धादिङ फिडरमार्फत त्रिशूली पश्चिम तथा धुन्चे फिडर पुनर्स्थापना गर्ने प्रयास भइरहेको छ। अत्यावश्यक स्थानमा विद्युत् आपूर्ति उपलब्ध गराउन ३ थान डिजेल जेनेरेटर त्रिशूली पठाइएको छ। अपर त्रिशूली–३ ‘ए’, त्रिशूली–३ ‘बी’, रसुवागढी तथा चिलिमे जलविद्युत् आयोजनामा फसेका कामदार तथा कर्मचारीको उद्धारका लागि आवश्यक उपकरणसहित नेपाली सेनाको टोली परिचालन भएको छ।

    अपर त्रिशूली–३ ‘ए’ को शान्ति बजारमा फसेका सुत्केरीसहित ७ जनालाई उद्धार गरी त्रिशूली ल्याइएको छ भने थप व्यक्तिहरूको उद्धारका लागि प्रयास जारी छ। प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना तथा बाँकी व्यक्तिहरूको उद्धारका लागि सम्बन्धित प्राविधिक तथा सुरक्षा निकायहरूबाट निरन्तर प्रयास भइरहेको छ।

  • अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा

    अपर त्रिशूली ३ ‘ए’ मा हेलिकप्टर अवतरण, विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोली फिल्डमा


    ११ भदौ, काठमाडौं । भोटेकोशीको विनाशकारी बाढीका कारण क्षतविक्षत बनेको अपर त्रिशूली ३ ‘ए’ जलविद्युत् आयोजनामा रोकिएका कर्मचारीहरूको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर आज सफलतापूर्वक अवतरण गरेको छ। प्रतिकूल मौसमका कारण हिजो दुई पटक अवतरणको प्रयास असफल भए पनि आज हेलिकप्टर आयोजना स्थलमा अवतरण गरेसँगै त्यहाँको वास्तविक क्षति तथा अवस्थाको स्थलगत मूल्याङ्कन सुरु भएको छ।


    माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले उद्धार तथा विद्युत् सेवा यथाशीघ्र सुचारु गर्न आवश्यक सबै उपाय अवलम्बन गर्दै तीव्र गतिमा काम अघि बढाउन निर्देशन दिएका थिए । मन्त्री श्रेष्ठको निर्देशनअनुसार घटनास्थलको वस्तुस्थिति अवलोकन, उद्धार समन्वय तथा विद्युत् पुनर्स्थापनालाई प्रभावकारी बनाउन नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ बिहानैदेखि फिल्डमा खटिएका छन् ।


    उनको नेतृत्वमा उपकार्यकारी निर्देशक किरणकुमार श्रेष्ठ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख एवम् प्रवक्ता राजन ढकाल तथा एनईए इन्जिनियरिङ कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरन्तन विक्रम राणासहितको उच्चस्तरीय टोली प्रभावित क्षेत्रमा परिचालित छ।

    भोटेकोशी बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि प्रभावित क्षेत्रहरूमा वैकल्पिक माध्यमबाट विद्युत् आपूर्ति पुनर्स्थापना गर्ने कार्य भइरहेको छ। नेपाल विद्युत् प्राधिकरणले सिन्धुपाल्चोकबाट जोडिएको वैकल्पिक लाइनमार्फत नुवाकोटको खरानीटार, समुन्द्रटार, चौगाडा, लिखु र पञ्चकन्या क्षेत्रमा विद्युत् सेवा सुचारु गरिसकेको छ।

    नुवाकोटका अन्य प्रभावित क्षेत्रमा विद्युत् पुनर्स्थापनाका लागि उच्चस्तरीय टोलीले गरेको स्थलगत निरीक्षणका क्रममा ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गरी विद्युत् आपूर्ति सुचारु गर्न सकिने सम्भावना देखिएको छ। सोहीअनुसार चपली–देवीघाट ६६ के.भी. लाइन र बालाजु–त्रिशूली ६६ के.भी. लाइनलाई ११ के.भी.मा चार्ज गरी विद्युत् आपूर्ति पुनर्स्थापना गर्न प्राविधिक टोलीले फिल्डमा आवश्यक तयारी तथा काम तीव्र पारेको छ। नेपाल विद्युत् प्राधिकरणले उपलब्ध सबै वैकल्पिक प्राविधिक उपायको प्रयोग गरी प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनर्स्थापना गर्ने प्रयास जारी राखेको छ।

  • बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

    बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

    भीष्मराज ओझा –रासस
    काठमाडौँ, ११ भदौः रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी बगेपछि तल्लो तटीय क्षेत्रमा थप असर पर्न सक्ने भन्दै विज्ञहरुले सजगता अपनाउन आग्रह गरेका छन् । बुधबार बिहान करिब ९ः०० बजे भोटेकोशी जलाधार क्षेत्रमा पानीको सतह तीव्र रूपमा बढ्न थालेको थियो । बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ ।

    अन्तरराष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) तथा नेपाल र चीनका साझेदार संस्थाका वैज्ञानिकले यो बाढी उच्च हिमाली क्षेत्रमा उत्पन्न हिउँ–चट्टानको हिमपहिरो (आइस–रक एभालान्च)का कारण आएको हुन सक्ने विषयमा अनुसन्धान गरिरहेका छन् । भिडियो फुटेज तथा प्रभावित क्षेत्रबाट प्राप्त सूचनाका आधारमा गरिएको प्रारम्भिक मूल्याङ्कनअनुसार ठूलो परिमाणमा हिउँ र चट्टानको गेग्रान भोटेकोशी नदीको सहायक नदी ल्हेन्दे खोलामा खसेको हुन सक्छ । अनुसन्धानकर्ताका अनुसार उक्त घटनाले अचानक ठूलो बहाव सिर्जना गरेको हुन सक्छ, जसले पानी, गेग्रान र ठूला ढुङ्गाहरूलाई तल्लो तटतर्फ बगाएको थियो ।

    जलविज्ञानसम्बन्धी अवलोकनले बाढीको बहावको गति र परिमाण असाधारण रहेको देखाएको छ । गल्छीमा त्रिशूली नदीको पानीको सतह ३० मिनेटमा नौ मिटरसम्म बढेको तथा मलेखुमा सोही अवधिमा सात मिटरले बढेको बताइएको छ । त्रिशूली नदीको किनारमा रहेका धेरै पानी मापन केन्द्र बाढीका क्रममा क्षतिग्रस्त वा बगाएको बताइएको छ । यद्यपि, गल्छीको पानी मापन केन्द्र भने सञ्चालनमै रहेको इसिमोडले जनाएको छ ।

    विशेषज्ञले गेग्रानले नदीको साँघुरो भागमा अस्थायी रूपमा नदी थुनेर पहिरो बाँध (ल्यान्डस्लाइड ड्याम) बनाएको थियो कि थिएन भन्ने विषयमा पनि मूल्याङ्कन गरिरहेका छन् । यस्तो अवरोधका कारण जम्मा भएको पानी अचानक बाहिर निस्किएमा दोस्रो चरणको जोखिम उत्पन्न हुन सक्छ । सम्भावित अवरोधको आकार, स्थान र स्थायित्वबारे अधिकारी तथा वैज्ञानिकहरूले निरन्तर मूल्याङ्कन गरिरहेका छन् ।

    विपद्को समयमा ‘रेकर्ड’ गरिएका भूकम्पीय तथ्याङ्कको प्रारम्भिक विश्लेषणले असामान्य सङ्केत पहिचान गरेको छ । प्रभावित क्षेत्रबाट उत्तरतर्फ करिब १२ किलोमिटर टाढा जिलुङमा रहेको भूकम्पमापन केन्द्रले असामान्य सङ्केत रेकर्ड गरेको थियो भने झाङ्मुस्थित अर्को केन्द्रले पनि असमान्य गतिविधि रेकर्ड गरेको थियो ।

    वैज्ञानिकहरूले ती सङ्केत सम्भावित हिमपहिरोसँग सम्बन्धित छन् कि छैनन् भन्ने अध्ययन गरिरहेका छन् । हालसम्म भूकम्पीय गतिविधि र बाढीबीच कुनै कारणात्मक सम्बन्ध स्थापित भएको छैन । इसिमोडका जलवायु तथा वातावरणीय जोखिम प्रमुख स्याङ्गोङ झाङले गत वर्षको रसुवा बाढीबाट ध्वस्त भएको यही क्षेत्र फेरि एकपटक जोखिममा परेको बताउँदै ल्हेन्दे खोलामा आएको बाढीको सम्भावित कारण हिमपहिरो भएको उल्लेख गरे ।
    “नेपाल–चीन सीमास्थित नदीको माथिल्लो क्षेत्रमा अझै अवरोध कायम रहेकाले अधिकारीहरुले दोस्रो बाढी आउन सक्ने चेतावनी दिएका छन् र जिलुङ बन्दरगाह सुरक्षित स्थानमा सार्ने आदेश अहिले नै जारी गरिएको छ,” उनले भने । बाढीका कारण प्रभावित क्षेत्रमा जलविज्ञान मापन केन्द्रलगायतका पूर्वाधारमा ठूलो क्षति पुगेको बताइएको छ । भोटेकोशी नदी तथा यससँग जोडिएका नदी प्रणालीका किनारमा धेरै जलविद्युत् आयोजना छन् ।

    सीमापार विपद् जोखिमको सामना गर्न क्षेत्रीय सहकार्य आवश्यक

    इसिमोडका वरिष्ठ ‘क्रायोस्फियर विशेषज्ञ’ (हिमनदी, हिउँको अवस्था, जलवायु परिवर्तनको प्रभाव र हिमताल फुट्ने जस्ता जोखिमको अध्ययन गर्ने वैज्ञानिक) मोहम्मद फारुक आजमले क्रायोस्फियरसँग सम्बन्धित जोखिमको बढ्दो आवृत्ति पहिलेभन्दा स्पष्ट रूपमा देखिन थालेको बताए । “परिवर्तनको गति यति तीव्र छ कि विद्यमान प्रयासहरु त्यससँग जुध्न कठिनाइमा परिरहेका छन् । आज ल्हेन्दे खोलामा भएको विपद्ले सीमापार जोखिमको सामना गर्न अझ बलियो क्षेत्रीय सहकार्य आवश्यक रहेको देखाएको छ । सीमापार जोखिमको प्रतिकार्यका लागि सरकारले समन्वयात्मक रूपमा काम गर्नुपर्छ,” उनले भने ।


    इसिमोडका विज्ञले घटनाको कारण र तल्लो तटीय समुदायमा जारी जोखिमलाई अझ राम्रोसँग बुझ्न जलविज्ञान, भूकम्पीय, रिमोट सेन्सिङ तथा स्थलगत तथ्याङ्कको विश्लेषण जारी राखेको जनाएका छन् । इसिमोडले नेपाल सरकार, वैज्ञानिक संस्थाहरू तथा चीनका साझेदारसँग मूल्याङ्कनको काम जारी रहँदा नजिकबाट सम्पर्क र समन्वय गरिरहेको जनाएको छ ।

    इसिमोडका महानिर्देशक पेमा ग्याम्त्सोले अचानक र अप्रत्याशित रूपमा आएको दुःखद विपद्बाट मर्माहत भएको उल्लेख गर्दै यो कठिन समयमा नेपालका जनता र सरकारप्रति ऐक्यबद्धता व्यक्त गरे । उनले पीडित तथा उनीहरूका परिवार र प्रभावित सबैप्रति समवेदना प्रकट गर्दै सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।


    वैज्ञानिकहरूले हिन्दूकुश हिमालय क्षेत्रमा जलवायु परिवर्तनका कारण हिमनदी, हिउँको अवस्था, पर्माफ्रस्ट (स्थायी रूपमा जमेको भू–सतह) तथा हिमाली भिरालो भूभागमा परिवर्तन भइरहेको भए पनि यस विशेष घटनामा जलवायु परिवर्तनको भूमिका के थियो भन्ने निर्धारण गर्न अहिले नै हतार हुने बताएका छन् ।

  • त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर

    त्रिशूली र नारायणी नदी किनारमा शव खोज्ने काम निरन्तर


    चितवन, ११ भदौः चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन् । भेटिएका शव सग्लो र शरीरका अङ्गहरु मात्रै पनि छन् । भेटिएका शवलाई भरतपुर अस्पतालको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयमा चितवन प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलले जानकारी दिए ।


    उनका अनुसार अनुसार तनहुँमा भेटिएका नौ शव चितवन पठाइएको भए पनि यहाँ राख्ने ठाउँ नभएर पुनःतनहुँ नै फिर्ता गरिएको छ । जिल्लास्थित तीनवटै सुरक्षा निकायले नदी किनारमा शव खोज्ने काम सुरु गरेका छन् । भरतपुर अस्पतालको शवगृहमा शव नअटाए पछि अब भेटिएका शवहरुलाई औद्योगिक प्रतिष्ठानको कार्यालयमा व्यवस्थापन गर्नेगरी तयारी गरिएको उनले जानकारी दिए ।

  • भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    भीषण बाढीबाट भएको क्षतिप्रति महासचिव गुटेरेसद्वारा दुःख व्यक्त

    काठमाडौँ, ११ भदौः संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा बुधबार भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । भीषण बाढीका कारण धेरै जनाको ज्यान गएको, मानिसहरू बेपत्ता भएको र व्यापक क्षति भएकोप्रति महासचिव गुटेरेसले दुःख व्यक्त गरेको उनका प्रवक्ताले जारी गरेको वक्तव्यमा उल्लेख छ । उनले मृतकका परिवारप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै महासचिव गुटेरेसले बाढीबाट प्रभावित सबैप्रति ऐक्यबद्धता व्यक्त गरेका छन् ।


    नेपालमा संयुक्त राष्ट्रसङ्घले विपद्को प्रभावको स्तर मूल्याङ्कन गर्ने तथा तत्काल आवश्यक सहायता उपलब्ध गराउनेलगायत सरकारको नेतृत्वमा भइरहेको प्रतिकार्यलाई सहयोग गरिरहेको वक्तव्यमा उल्लेख छ । बाढीबाट प्रभावित समुदायलाई सहयोग गर्न संयुक्त राष्ट्रसङ्घका टोली तथा मानवीय सहायता साझेदारहरूले आवश्यक सामग्री र जनशक्ति परिचालन गरिरहेका उनले बताए । महासचिव गुटेरेसले जीवन बचाउन खटिएका आपतकालीन उद्धारकर्मीहरूको प्रशंसा गर्दै थप सहयोग उपलब्ध गराउन संयुक्त राष्ट्रसङ्घ तयार रहेको दोहो¥याएका छन् ।

  • स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह

    स्थानीयवासीद्वारा ४० जनाको अवस्था बुझिदिन प्रशासनमा आग्रह


    बागमती, ११ भदौ । मकवानपुरका स्थानीयवासीले बाढी प्रभावित जिल्लामा गएका ४० जनाको अवस्था बुझिदिन जिल्ला प्रशासन कार्यालयमा आग्रह गरेका छन् । जिल्लाका विभिन्न स्थानबाट उक्त क्षेत्रमा गएका तर सम्पर्क हुन नसकेका आफ्ना आफन्तहरू बारे बुझिदिन स्थानीयवासीले प्रशासनसँग अनुरोध गर्नुभएको प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले जानकारी दिए ।


    “उक्त क्षेत्रमा मकवानपुर स्थायी बसोबास भई गोसाइकुण्ड लगायत स्थानमा दर्शन गर्न तथा घुम्न गएका, उक्त क्षेत्रमा सवारी साधन चलाउँदै आएका तथा अन्य विभिन्न पेशामा आवद्ध ४० जना व्यक्तिका सम्बन्धमा आफन्तहरूले सम्पर्क हुन नसकेको जनाउँदै प्रशासनमा बुझिदिन अनुरोध गर्नुभएको छ”, उनले भने, “उक्त क्षेत्रमा सहज सञ्चार सम्पर्क नभएका कारण कतिपयको अवस्था जानकारी नभएको पनि हुनसक्छ, हामीले अनुरोध भए अनुसार सम्बन्धित निकायसँग बुझ्ने प्रयास गरिरहेका छौं ।”

    हेटौंडा प्रदेशको राजधानी समेत भएका कारण विपद्को उद्धार, सहयोग लगायतका काममा आवश्यकता अनुसार तत्तत् युनिटहरू परिचालन समेत भैरहेको उनले बताए ।

  • बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त

    बाढीले भोटेकोशी र त्रिशूली नदी करिडोरका जलविद्युत आयोजना क्षतिग्रस्त


    त्रिशूली (नुवाकोट), ११ भदौ । भोटेकोशी नदीमा आएको बाढीले नुवाकोट र रसुवास्थित त्रिशूली नदी करिडोरमा निर्माण भएका तथा निर्माणाधीन जलविद्युत् आयोजनाहरुमा अपूरणीय क्षति पु¥याएको छ । जलविद्युत् आयोजनासहित प्रसारण लाइन र सवस्टेशनमा क्षति पुगेका छ । नुवाकोट र रसुवामा विद्युत् सेवा अवरुद्ध भएको छ ।

    नेपाल विद्युत् प्राधिकरणका निर्देशक थर्कबहादुर थापाले बाढीले क्षतिग्रस्त प्रसारण लाइन मर्मत गर्न अध्ययन थालिएको र केही दिन लाग्ने जानकारी दिए । नुवाकोटमा उत्पादित विद्युत् काठमाडौँ पठाइएको किस्पाङ–५ पैरेबेँसीस्थित सवस्टेशन, त्रिशूली जलविद्युत् केन्द्र र देवीघाट जलविद्युत् केन्द्रलाई बाढीले बगाएका कारण केन्द्रीय प्रसारण लाइनको विद्युत् सेवा निरन्तरताका लागि आजदेखि प्राविधिक अध्ययन सुरु गर्न लागिएको उनले जानकारी दिए ।


    बाढीका कारण क्षतिग्रस्त भएका जलविद्युत् केन्द्रमा रसुवास्थित रसुवागढी जलविद्युत् केन्द्र १११ मेगावाट, लाङटाङ खोला २० मेगावाट, लाङ्टाङ–भोटेकोशी १२० मेगावाट, चिलिमे २२ मेगावाट, निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत् आयोना २१६ मेगावाट छन् । यस्तै, नुवाकोटस्थित माथिल्लो त्रिशूली थ्री ‘ए’ ६० मेगावाट, निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’ ३७ मेगावाट, त्रिशूली जलविद्युत् केन्द्र २१ मेगावाट, देवीघाट १४ मेगावाट र नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको २५ मेगावाटको सौर्यप्लान्टमा क्षति पुगेको छ । ती संरचनाको अधिकांश पूर्ण क्षतिग्रस्त अवस्थामा रहेकाले सञ्चालनमा ल्याउन समय लाग्ने निर्देशक थापाले जानकारी दिए ।

  • विमानस्थलमा २० हेलिकप्टर तैनाथ, १० हेलिकप्टर बाढीग्रस्त क्षेत्रमा

    विमानस्थलमा २० हेलिकप्टर तैनाथ, १० हेलिकप्टर बाढीग्रस्त क्षेत्रमा


    ११ भदौ, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान ६ः३० बजेदेखि नै बाढीग्रस्त क्षेत्रमा थप उद्धारका लागि तत्काल परिचालन गर्न सकिने गरी २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएका छन्। बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकोप्टर परिचालित छन्।

    प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय, तथा विभिन्न माध्यमबाट प्राप्त उद्धारसम्बन्धी सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिकता निर्धारण गरिनेछ। सोही प्राथमिकताका आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको निर्देशनअनुसार हेलिकोप्टरहरू परिचालन गरिनेछन्।

  • रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठक सुरु

    रास्वपा सभापतिले बोलाएको सर्वदलीय बैठक सुरु

    ११ भदौ, काठमाडौं । मुलुकमा आएको राष्ट्रिय विपत्तिबारे छलफल गर्न रास्वपा सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । सिंहदरबारमा बैठक सुरु भएको छ । बैठकमा लामिछानेसहित नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपाका अध्यक्ष प्रचण्डसहित उच्च नेतृत्व सहभागी छन् ।

  • बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

    बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु

    काठमाडौँ, ११ भदौः रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण हालसम्म १५७ जनाको मृत्यु भएको छ । नेपाल प्रहरीले दिएको जानकारीअनुसार हालसम्म ३४ महिला, ६३ पुरुष, छ जना बालिका, सात जना बालक र ४७ जनाको पहिचान खुल्न सकेको छैन । प्रहरीका अनुसार रसुवामा तीन पुरुषको शव भेटिएको छ । साथै नुवाकोटमा छ महिला र सात पुरुष, धादिङमा १० महिला, १० पुरुष, एक बालिका तथा छ जना (पहिचान नखुलेको)को शव भेटिएको छ । गोरखामा दुई महिला, आठ पुरुष, एक बालक र पहिचान नखुलेका आठ जनाको शव भेटिएको छ ।

    प्रहरीका अनुसार चितवनमा १३ महिला, १८ पुरुष, एक बालिका, चार बालक र पहिचान नखुलेका २८ जनाको शव भेटिएको छ । त्यसैगरी, तनहुँमा एक महिला, पाँच पुरुष, एक बालिका, एक बालक र पहिचान नखुलेका एक जनाको शव भेटिएको छ । यस्तै, नवलपरासी पूर्वमा दुई महिला, १२ पुरुष, तीन बालिका, एक बालक र पहिचान नखुलेका चार जनाको शव भेटिएको छ ।

  • भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    भोटेकोशी बाढी प्रभावितका लागि भारतको सहयोग

    काठमाडौँ, ११ भदौः रसुवा भोटेकोशी बाढीपीडितका लागि भारत सरकारले पठाएको १० टन राहत सामग्री नेपाल आइपुगेको छ । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ लाई राहत सामग्री हस्तान्तरण गरे ।

    यसअघि भारतीय विदेशमन्त्री डा एस जयशङ्करले सामाजिक सञ्जालमार्फत रसुवा बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत तथा आवश्यक औषधि नेपाल पठाइएको जानकारी दिएका थिए । विदेशमन्त्री जयशङ्करले शोकसन्तप्त परिवार तथा बाढीबाट प्रभावित सबैप्रति समवेदना व्यक्त गर्दै चुनौतीपूर्ण परिस्थितिमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताए ।

  • आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

    आठ टन राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

    काठमाडौँ, ११ भदौ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ वटा ट्रकमार्फत करिब आठ टन राहत सामग्री पठाइएको छ । सेनाका ती सवारीमा आज राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो । प्रभावित क्षेत्रमा पठाइएका सामग्रीमा ५०० थान मच्छरदानी, एक हजार थान बालबालिकाका डिग्निटी किट, २२० थान स्लिपिङ ब्याग, ५०० थान कम्बल, १० थान प्लास्टिक सिट, १०० थान त्रिपाल, ५०० थान सोलार बत्ती, ५०० थान सोलार बत्तीका प्लेट र ३० केभिए क्षमताको एक थान जेनेरेटरलगायत छन् ।

    बाढी प्रभावित नागरिकलाई तत्काल राहत तथा मानवीय सहायता उपलब्ध गराउने उद्देश्यले आवश्यक सामग्री नेपाली सेनाका ट्रकमार्फत राति नै प्रभावित क्षेत्रतर्फ पठाइएको हो । बाढीका कारण जनजीवन प्रभावित भइरहेका बेला राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा पु¥याउने उद्देश्यले गृहमन्त्री सुधन गुरुङको प्रत्यक्ष निगरानीमा सामग्री व्यवस्थापन तथा ढुवानी गरिएको हो । सरकारले बाढी प्रभावित क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिइरहेको जनाएको छ ।

  • बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

    बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा


    काठमाडौँ, ११ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ । कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको एक, दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    महाशाखाद्वारा यहाँ जारी मौसम बुलेटिनका अनुसार आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । देशको हिमाली र पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागका केही स्थानमा तथा मधेस प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भाग, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भाग तथा लुम्बिनी प्रदेशका पहाडी र तराई भू–भागका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिमा उल्लेख छ । मौसम बुलेटिनका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

    मधेस प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा तथा सुदूरपश्चिम प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागको एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

    भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । वर्षाका कारण ती क्षेत्रमा दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले महाशाखाका सूचनामा अद्यावधिक रहन सम्बद्ध सबैलाई अनुरोध गरिएको छ ।

  • ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’


    काठमाडौँ, ११ भदौः रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको छ । महाशाखाका अनुसार हालसम्म प्राप्त सूचना र प्रारम्भिक विश्लेषणका आधारमा थप ठूलो बाढी आउने कुनै विश्वसनीय आधार देखिएको छैन । नागरिकलाई संयमित रहन तथा अपुष्ट सूचना एवम् हल्लाको पछि नलाग्न महाशाखाले आग्रह गरेको छ ।

    उक्त क्षेत्रमा वर्षा भइरहेकाले नदीको बहाव केही बढ्न सक्ने भए पनि हालसम्म थप विनाशकारी बाढी आउने सम्भावना नदेखिएको महाशाखाले जनाएको छ । नेपालतर्फ कुनै ठूलो बाढी प्रवेश गर्ने अवस्था देखिएमा सीमा क्षेत्रमा तैनाथ सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी तत्काल जानकारी गराइने महाशाखाको सूचनामा उल्लेख छ । त्यस्तो अवस्थामा ‘एसएमएस’लगायत उपलब्ध सञ्चारमाध्यमबाट यथाशीघ्र आधिकारिक पूर्वसूचना प्रवाह गरिनेछ । महाशाखाले बाढीसम्बन्धी सूचना प्राप्त गर्दा आधिकारिक स्रोतलाई मात्र आधार मान्न र आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

  • घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता :  प्रधानमन्त्री

    घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

    काठमाडौँ, १० भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताएका छन् । आज सामाजिक सञ्जालमार्फत बाढी प्रभावित क्षेत्र तथा अन्य क्षेत्रका नागरिकहरूलाई अपिल गर्दै सरकारले सम्पूर्ण ध्यान उद्धार, खोजी र राहतमा खर्चिएको बताए ।

    “आज म अत्यन्तै भारी मन लिएर तपाईंहरूमाझ उभिएको छु । आज बिहान रसुवाको भोटेकोशी नदीमा अचानक आएको भीषण बाढीले पुर्‍याएको ठूलो मानवीय र भौतिक क्षतिले सिङ्गो देशलाई नै स्तब्ध र मर्महत बनाएको छ । प्राकृतिक विपद्को यो अप्रत्याशित बज्रपातले हाम्रा धेरै दाजुभाइ, दिदीबहिनी र साना–साना बालबालिकाहरूलाई गहिरो पीडामा धकेलेको छ”, उनले भनेका छन् ।
    प्रधानमन्त्री शाहका अनुसार बाढीका कारण हालसम्म ९५ जनाले ज्यान गुमाइसकेका छन् । “

    म नेपाल सरकार र व्यक्तिगत तर्फबाट ज्यान गुमाउनुहुने ती सम्पूर्ण मृतकहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । आफ्नो मान्छे, आफ्नो परिवार र सर्वस्व गुमाएर शोकमा डुब्नुभएका ती दाजुभाइ तथा दिदीबहिनीहरूमा गहिरो समवेदना व्यक्त गर्दछु । तपाईंहरूको यो असैह्य पीडामा सिङ्गो नेपाल सरकार र सम्पूर्ण देशबासी साथमा छौँ ।

    बाढीमा परी घाइते हुनुभएका र अस्पतालमा उपचार गराइरहनुभएका सबै नागरिकहरूको छिटोभन्दा छिटो स्वास्थ्य लाभको कामना गर्दछु”, उनले भनेका छन् । उनले दुःखद् खबर पाउनासाथ सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई हजारौँको सङ्ख्यामा उद्धार कार्यमा परिचालन गरेको समेत उल्लेख गरेका छन् ।


    बाढी गएलगत्तै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक बस्यो । त्यसलगत्तै राष्ट्रिय परिषद्को बैठक र मन्त्रिपरिषद्को बैठक समेत बसेर उद्धार, खोज र राहत कार्यलाई कसरी तीव्र बनाउने भन्नेबारे महत्त्वपूर्ण निर्णयहरू गरिएको उनको भनाइ छ । बाढी प्रभावित क्षेत्रमा नागरिकहरूको ज्यान जोगाउन र खोजतलास गर्न नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका टोलीहरूलाई तत्कालै मैदानमा उतारिएको प्रधानमन्त्री शाहले जानकारी दिए ।

    प्रधानमन्त्री शाहका अनुसार घाइते नागरिकहरूको सहज र निःशुल्क उपचारका लागि काठमाडौँको वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा १०० वटा शय्या छुट्याइएको छ । उपत्यकाका अन्य सबै ठूला अस्पतालहरूलाई पनि जुनसुकै बेला घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । सरकारले प्रभावित क्षेत्रमै मेडिकल टिम खटाएर घाइतेहरूको उद्धार र प्राथमिक उपचार गरिरहेको छ । काठमाडौँको राष्ट्रिय ट्रमा सेन्टर, विभिन्न सुरक्षा निकायहरूबाट चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोली तत्कालै पठाइएको छ । यस्तै, नेपाल स्काउट, विश्व स्वास्थ्य सङ्गठनलगायत निकायबाट पनि चिकित्सक, उद्धारकर्मी र स्वास्थ्य सामग्री बाढीप्रभावित क्षेत्रमा पठाइसकिएको छ ।

    आपत्कालीन स्वास्थ्य सेवा, औषधी र रगतको अभाव नहोस् भनेर रक्तसञ्चार केन्द्र, बागमती र गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालयहरू, नेपाल रेडक्रस सोसाइटी, लायन्स क्लब र नेपाल स्काउटजस्ता सङ्घसंस्थाहरूसँग निरन्तर समन्वय भइरहेको छ । बाढीग्रस्त क्षेत्रका सङ्घीय सांसदहरूसँग हामीले परामर्श गरी स्थानीय तहमा कहाँ के सहयोग आवश्यक छ, सोही अनुसार सहजिकरण गरिरहेका छौँ । घाइतेहरूको थप विवरण संकलन गर्ने काम अझै निरन्तर जारी छ ।

    यो विपद्बाट नागरिकलाई बचाउन र उहाँहरूको जनजीवन सामान्य बनाउन सरकार लागिरहनेछ । बाढीमा हराइरहेका नागरिकहरूको खोजतलासलाई अझ तीव्र पारिनेछ । घाइतेहरूको पूर्ण विवरण र बाढीले पुर्‍याएको क्षतिको विस्तृत विवरण सङ्कलन गरिनेछ । आज रातभर पनि उद्धार कार्य जारी नै रहने उनको भनाइ छ ।

    “नुवाकोटको विदुर, रसुवाको उत्तरगया र गोसाइँकुण्ड, धादिङको गजुरी, गल्छी, बेनीघाट, त्रिपुरासुन्दरी र सिद्धलेख तथा गोरखाको शहीद लखन र गण्डकी गाउँपालिका बाढीबाट बढी प्रभावित भएका छन् । यी सबै क्षेत्रका पीडित परिवारहरूसम्म खानेकुरा, सफा खानेपानी, औषधी र अस्थायी बसोबासको व्यवस्था तुरुन्त पुर्याइने छ”, प्रधानमन्त्री शाहले भनेका छन् ।


    बाढीका कारण भत्किएका सडक, पुल, बिजुली र खानेपानीका आयोजनाहरूलाई प्राथमिकताका साथ पुनर्निर्माण गरी जनजीवनलाई पुनः पुरानै अवस्थामा फर्काइनेछ । विस्थापित भएका परिवारहरूलाई सुरक्षित स्थानमा पुनःस्थापना गरिनेछ उनको भनाइ छ ।

    प्रधानमन्त्री शाहले भनेका छन्, “तपाईंहरूले भोग्नुपरेको पीडा र गुमाएको क्षति सानो छैन । तर म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु—यो कठिन घडीमा तपाईंहरू एक्लो हुनुहुन्न । राज्य आफ्ना सम्पूर्ण साधन र स्रोतका साथ तपाईंहरूकै साथमा छ । कृपया धैर्य धारण गर्नुहोला । तपाईंहरूको उद्धार, उपचार, खानपिन र बसोबासको पूर्ण जिम्मेवारी सरकारले लिन्छ ।” यस्तो विपद्को बेला हामी सबै एक ढिक्का हुन आग्रह गर्दै उहाँले सम्पूर्ण सामाजिक सङ्घसंस्था, उद्योगी–व्यवसायी, युवा स्वयंसेवक र आम नागरिकहरूलाई सरकारले चलाएको राहत र उद्धार अभियानमा आ–आफ्नो ठाउँबाट हात बढाउन र सहयोग गर्न हार्दिक अनुरोध समेत गरेका छन् ।

  • भारतीय प्रम मोदीद्वारा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

    भारतीय प्रम मोदीद्वारा बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

    काठमाडौँ, १० भदौः भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री वालेन्द्र शाहसँग फोनमा कुराकानी गर्दै नेपालमा आज बाढीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गरेका छन् । प्रम मोदीले यस कठिन समयमा भारतका जनता नेपाली जनतासँग ऐक्यबद्ध रहेको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् । “भारत नेपाललाई सम्भव भएसम्म सबै मानवीय सहायता उपलब्ध गराउन तयार छ । उद्धार तथा राहत प्रयासका लागि हाम्रा टोलीहरूले नेपालसँग नजिकबाट समन्वय गरिरहेका छन्”, उनले भनेका छन् ।

  • बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

    बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला

    गोरखा, १० भदौः भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला पारेको छ । राति ९ः०० बजेसम्ममा गोरखातर्फ १८ वटा शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए । “शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने। शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।

    जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ धवादीघाट, वडा नं ६ भुम्लिचोक, गण्डकी–१ बुट्टार, वडा नं ४ फेवाटार र वडा नं ७ ज्यामिरेघाटस्थित त्रिशूली नदी किनारमा उक्त शवहरू फेला परेका जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताए ।