काठमाडौं । दक्षिण कोरियामा भएको जहाज दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १७९ पुगेको छ । समाचार एजेन्सीहरुका अनुसार आइतबार बिहानै भएको जहाज दुर्घटनामा २ जनाको जिवितै उद्वार गरिएको थियो । जहाजमा १८१ यात्रु सवार थिए । उनीहरु बाहेक अन्य सबैको ज्यान गएको समाचारमा उल्लेख छ । थाइल्यान्डको बैंककबाट जेजु एयरको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटनामा परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।
Author: Vishwanews.com
-

डलरको मूल्यमा कीर्तिमान, नेपाली रुपैयाँ हालसम्मकै कमजार
काठमाडौं । अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर अवस्थामा पुगेको पाइएको छ । डलर लगातार बलियो बनिरहेको छ । यसले नेपाली मुद्रा कमजोर अवस्थामा पुगेको हो । नेपाल राष्ट्र बैंकले शनिबार र आइतबारका लागि एक अमेरिकी डलरको विनिमय दर १३७.१६ रुपैयाँ (बिक्री) दर तोकेको छ ।
जुन हालसम्मकै उच्च हो ।गत शुक्रबार एक अमेरिकी डलरको विनिमय दर १३६.७३ रुपैयाँ थियो । पछिल्ला सातामा हरेक दिन अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । राष्ट्र बैंकका अनुसार गत कात्तिक मसान्तमा अमेरिकी डलरसँग नेपाली रुपैयाँ १.०२ प्रतिशतले अवमूल्यन भएको छ ।
डलर बलियो बन्दा नेपाललाई लाभ पनि हुन्छ । हालको अवस्थामा सबैभन्दा बढी फाइदा रेमिट्यान्स आप्रवाहमा पर्छ । डलर बलियो हुँदा एकातिर रेमिट्यान्स आप्रवाह (मुलुक भित्रिने रकम) बढ्छ भने अर्कोतिर रेमिट्यान्स पठाउनेको संख्या पनि तीव्र हुन्छ । डलर बढेको समयमा फाइदा पुग्ने भएकाले विदेशमा रहेका नेपालीले ठूलो मात्रामा रेमिट्यान्स पठाउँछन् ।डलर बलियो हुँदा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मा पनि सकारात्मक प्रभाव पर्छ । रेमिट्यान्स र एफडीआईमा आएको सुधारले मुलुकको भुक्तानी सन्तुलन बचतमा राख्न ठूलो मद्दत पुग्छ । नेपालले पर्यटन र निर्यातमा राम्रो सुधार गरेर पनि डलर बलियो हुनुको लाभ लिन सकिन्छ ।
डलरको भाउ बढ्दा सबैभन्दा बढी नोक्सानी वस्तु तथा सेवाको आयातबापतको भुक्तानीमा हुन्छ । यद्यपि पछिल्ला महिनामा आयात धेरै बढ्न नसकेकाले त्यसबापत भुक्तानी गर्नुपर्ने दायित्व त्यति बढेको छैन । विदेशी लगानी फिर्ता, विदेशी लगानीको लाभांश वितरणलगायतमा पनि धेरै रकम खर्चिनुपर्ने हुन्छ । त्यो नेपालका लागि नोक्सानी हो । यस्तै डलरको मूल्य बढ्दा विदेश अध्ययन, भ्रमण, स्वास्थ्य उपचारमा धेरै रकम खर्च हुने भएकाले यो पनि नेपालीका लागि बेफाइदा हो ।
-

अजरबैजानको जहाज रुसले खसालेको हुन सक्ने अमेरिकाको आशंका
काठमाडौं । ह्वाइटहाउसका प्रवक्ता जोन किर्बीले अजरबैजान एअरलाइन्स दुर्घटनाग्रस्त भएको घटनामा रुस जिम्मेवार भएको हुनसक्ने ूप्रारम्भिक सङ्केतू अमेरिकाले पाएको जनाएका छन्। डिसेम्बरका २५ का दिन बुधवार भएको उक्त दुर्घटनामा ३८ जनाको मृत्यु भएको थियो। किर्बीले त्यसबारे थप व्याख्या गरेनन्। तर पत्रकारहरूसँग बोल्ने क्रममा उनले दुर्घटनाको अनुसन्धानका लागि अमेरिकाले सहायता गर्ने प्रस्ताव गरेको बताए। चेचन्यामा अवतरणको प्रयास गर्ने क्रममा उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीबाट प्रहार भएको ठानिएको छ।
तर पछि उक्त विमान त्यसो नगरीकन क्यास्पिअन सागरतर्फ मोडिँदै काजाकस्तानतर्फ लागेको थियो जहाँ त्यो दुर्घटना हुन पुग्यो। यसबारे क्रेमलिनले प्रतिक्रिया जनाउन अस्वीकार गरेको छ। तर रुसी नागरिक उड्डयन निकायले चेचन्याको अवस्था त्यसमा हुने युक्रेनी ड्रोन हमलाका कारण निकै जटिल रहेको जनाएको छ।
किर्बीका अनुसार अमेरिकाले पाएका सङ्केत दुर्घटनाग्रस्त विमानका व्यापक रूपमा फैलिएका तस्बिरभन्दा भिन्न रहेको जनाएको वासिङ्टन पोस्टले लेखेको छ। अजरबैजानका उड्डयन विज्ञ र अन्यले इलेक्ट्रोनिक जामिङका कारण विमानको जीपिएस प्रणालीहरू प्रभावित भएको र त्यसपछि त्यो रुसी हवाई प्रतिरक्षा क्षेप्यास्त्र विस्फोटनबाट निस्किएको छर्रा लागेर नस्ट भएको बताएका छन्। अजरबैजानले रुसलाई आरोप नलगाए तापनि उक्त विमान बाह्य हस्तक्षेपको मारमा परेको र अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको त्यहाँका यातायात मन्त्रीले बताएका छन्।ूबिना अपवाद बाँच्न सफले सबैले विमान चेचन्याकोे ग्रोज्नी माथि हुँदा तीनवटा विस्फोटनको आवाज सुनेको बताएका छन्, रशाद नबियबले बताए। नबियबले अनुसन्धानहरूले कस्ता खाले अस्त्र वा अझ कस्तो खाले रकेट प्रयोग भएको थियो भनेर जाँच गर्ने बताए। समाचार संस्था एएफफीसँग कुरा गर्दै उनले विमान क्षतिग्रस्त भइसकेपछि पाइलटले गोज्नीमा आपत्कालीन अवतरण गर्न दिन भनेको बताए। नजिकैका विमानस्थलतर्फ पठाउनुका साटो जीपिएसबीनै क्यास्पिअन सागरतर्फ निकै पर पठाइएको बताए।
एम्ब्राएर १९० विमानका पाइलटहरूलाई विमानमा सवार २९ जनाको जीवन बचाउन सकेको श्रेय दिइएको छ। यद्यपि दुर्घटनाका क्रममा उनीहरू स्वयंले ज्यान गुमाए। अजरबैजान एअरलाइन्सको उक्त विमानमा रुसी हवाई प्रतिरक्षा प्रणालीको प्रहार लागेको भन्दै व्यापक रूपमा आइरहेका खबरबारे प्रतिक्रिया जनाउन क्रेमलिनले अस्वीकार गरेको छ।
बीबीसीको सहयोगमा -

फेवातालमा आजबाट ड्रागन बोट रेस फेस्टिभल
काठमाडौं । नेपाल र छिमेकीमूलुक चीनबीचको सांस्कृतिक तथा जनस्तरसम्मको सम्बन्ध सुमधुर बनाउँदै नेपालको पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले आजदेखि पोखरामा दोस्रो संस्करणको ‘नेपाल–चीन मैत्रीपूर्ण ड्रागन बोट रेस फेस्टिभल’ सुरु हुँदैछ ।
पोखराको प्रमुख पर्यटकीय गन्तव्य फेवातालमा हुने उक्त फेष्टिभलमा नेपाल, चीन र सिङ्गापुरका खेलाडी सहभागी हुँदैछन् । प्रतियोगिता यही पुस १५ गतेसम्म सञ्चालन हुनेछ । गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका, नेपालस्थित चिनियाँ दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितामा २० टोली सहभागी हुनेछन् ।
प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक पोखरा महानगरका प्रमुख धनराज आचार्यले बताए । उनका अनुसार प्रतियोगितामा सहभागिताका लागि चीनको छेन्दुबाट विमान चार्टर गरी एक सय २९ खेलाडी यही पुस ११ गते पोखरा आएका थिए । सहभागी टोलीले फेवातालमा दैनिक अभ्यास गरिरहेका छन् । प्रतियोगितामा चीनको आठ, सिङ्गापुरको एक तथा बाँकी ११ टोली नेपालका विभिन्न ठाउँबाट सहभागी हुने भएका छन् । प्रतियोगितामा गण्डकी, बागमती, कर्णाली, त्रिभुवन आर्मी क्लब, ड्रागन बोर्ट गण्डकी, बेगनास टोली, रुपाताल टोली र नेपाल र्याफ्टिङ एजेन्सिज एशोसिएशन नारा सहित नेपालका ११ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा पाँच सय सय र दुई सय मिटर दौडका विजेता टोलीलाई पाँच हजार अमेरिकी डलर, उपविजेतालाई दुई हजार डलर र तृर्तीय हुने टोलीलाई एक हजार दुई सय अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।
-

दक्षिण कोरियामा विमानस्थल भित्रै भयानक जहाज दुर्घटना, कम्तिमा २८ को मृत्यु
काठमाडौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब १८१ जना सवार एक विमान दुर्घटना भएको छ । अवतरणका दौरान धावनमार्गमा चिप्लिएर विमान दुर्घटना भएको हो । त्यसपछि विमानमा आगो लागेको थियो । समाचार एजेन्सी योनहापले यो दुर्घटनामा अहिलेसम्म २८ जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।
सो विमानमा १७५ जना यात्री र चालक दलका ६ सदस्य थिए । विमानमा दुई जना थाइल्याण्डका र अरु सबै दक्षिण कोरियाका नागरिकहरु थिए । थाइल्याण्डको राजधानी बैंककबाट फर्किएको जेजु एयरको विमान स्थानीय समय अनुसार ९ बजेर ७ मिनेटमा दुर्घटनामा परेको हो ।
दुर्घटनास्थलबाट दुई जनालाई जीवितै उद्धार गरिएको रोयटर्सले जनाएको छ । दुर्घटनास्थल दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर दक्षिण पश्चिम क्षेत्रमा पर्दछ । -

बेलायती राजदूत दम्पत्तिले जनकपुरधाममा मनाए २२ औं वैवाहिक वर्षगाँठ
काठमाडौं । बेलायती राजदूत रोब फेनलेले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ ऐतिहासिक र सांस्कृतिक सहर जनकपुरधामको जानकी मन्दिरमा मनाएका छन् । राजदुत फेन्लेका पत्नी जुलिया फेनलेसँग आफ्नो जिवनको विशेष दिन २२ औं वैवाहिक वर्षगाँठ शनिबार बिहान जानकी मन्दिर परिसरमा मिथिला परम्पराअनुसार मनाएका हुन् ।
गत वर्ष जनकपुरधाम भ्रमणका क्रममा यहाँको कला, संस्कृति र ऐतिहासिक महत्वबाट प्रभावित हुनुभएका राजदूत फेनलेले आफ्नो वर्षगाँठलाई यस क्षेत्रको सांस्कृतिसँग जोड्ने निर्णय गर्नुहुँदै वर्षगाँठ मनाएका हुन् । राम–सीताको प्रेमकथालाई सम्झँदै उहाँले जानकी मन्दिरको वातावरणले वैवाहिक सम्बन्धको नवीन अनुभूति दिएको बताए ।
राजदूत फेनलेले भने, “जनकपुरधाम विवाहका लागि उपयुक्त गन्तव्य हो, सबैले जनकपुरधाम भ्रमण गर्नुपर्छ ।” उनको भनाइले जनकपुरधामको पर्यटन र सांस्कृतिक प्रवर्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।
जानकी मन्दिरका उत्तराधिकारी महन्थराम रोशन दास वैष्णवले राजदूत दम्पतीलाई मिथिलाशैली अनुसारको परम्परागत विवाहविधिमा सम्पन्न गराए । उनले यो अवसरलाई प्रेम र परम्पराको प्रतीक भन्दै जनकपुरधामलाई विवाह गन्तव्यका रूपमा विकास गर्न सरकारलाई अपिल गरे ।
कार्यक्रममा प्रदेश सभाका सभामुख रामचन्द्र मण्डल, संस्कृतिमन्त्री रानी शर्मा तिवारी र जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोजकुमार साहलगायत प्रमुख व्यक्तित्वको उपस्थिति थियो ।
-

कैलालीको चिसापानीमा केवलकार निर्माण सुरु
काठमाडौं । कैलाली जिल्लाको कर्णाली चिसापानीमा निर्माण हुने जालपादेवी केबलकारको शनिबार शिलान्यास भएको छ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले लम्की चुहाँ नगरपालिका वडा नं. ३ स्थित कर्णाली चिसापानीमा ३.१ किलोमिटर लामो केबलकारको यहाँ आयोजित एक विशेष कार्यक्रम बिच शिलान्यास गरेकी छिन् ।
शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्री डा. देउवाले जालपादेवी केवलकारको निर्माणले समग्र सुदूरपश्चिम प्रदेशको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा उल्लेख्य भूमिका खेल्ने बताइन् । परराष्ट्र मन्त्री डा. देउवाले भनिन्, “सुदूरपश्चिम पर्यटन, संस्कृति, परम्परा र जैविक विविधतामा धनी छ । प्राकृतिक स्रोत एवं सम्पदाहरुले यो भूगोल जति सम्पन्न छ त्यति नै यहाँका नागरिकमा सांस्कृतिक एकता र सद्भाव पनि छ । यसकारण मुलुकको सुदूरपश्चिम क्षेत्रका समुदायहरु विकासप्रेमी पनि छन् । हाम्रो सुदूरपश्चिम प्रदेशमा बन्ने यस केबलकार, होटलसहितको भब्य पर्यटकीय पूर्वाधारले सुदूरपश्चिम र मुलुककै समृद्धिका लागि पनि धेरै ठूलो उपलब्धि हुनेछ ।”

यस आयोजनालाई समयमै सम्पन्न गर्नका लागि आवश्यक सहयोग गरी सुदूरपश्चिम क्षेत्रका नागरिकको सहयोगको भावनालाई दर्शाउन सबैमा अपिल पनि मन्त्री डा. देउवाले गरेकी छिन् । उनले यो आयोजना समयमै सम्पन्न गर्न तथा आगामी दिनमा यो क्षेत्रका सम्भावना र आवश्यकता हेरेर यो क्षेत्रमा पर्यटन लगायतका पूर्वाधारहरुमा बढी भन्दा बढी लगानी गर्न पनि आग्रह गरिन् ।
“काठमाडौँको चन्द्रागिरि देखि नेपालका सातै प्रदेशमा केबलकार तथा पर्यटन पूर्वाधारहरु निर्माण गरिरहेको आइएमई ग्रुपजस्तो व्यावसायिक समूहलाई सुदूरपश्चिम प्रदेशमा हार्दिक स्वागत गर्न चाहन्छु । यहाँहरुको दक्षता, अनुभव र क्षमता अनुसार यो केबलकार प्रोजेक्ट समयमै सम्पन्न होस् भनी कामना गर्दछु,” उनले भनिन् । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाहीले आज निर्माण हुने केबलकार तथा अन्य पूर्वाधारले सुदूरपश्चिम प्रदेशको विकासमा उल्लेखनीय भूमिका खेल्ने बताए ।
उनले नेपालको पश्चिम भेगमा भौतिक विकासका पूर्वाधार कम रहेको बताउँदै यस्ता पूर्वाधार विकासमा थप लगानी भित्र्याउन निजी क्षेत्रलाई आग्रह समेत गरे । “सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी प्रदेशमा आधुनिक विकासका ठूला पूर्वाधारहरु निकै कम छन् । यस्ता पूर्वाधारका थप आयोजनाहरु लिएर हाम्रो क्षेत्रमा आउनुहोस् । हामी तपाईहरुलाई स्वागत गर्दछौँ,” उनले भने । उनले वन विकासमा बाधक नभई सहयोगी बन्ने बताउँदै यस्ता विकासका पूर्वाधारमा स्वदेशी काठको प्रयोग गर्न आग्रह गरे । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिम प्रदेशको प्रवेशद्वार यस कर्णाली चिसापानीमा निर्माण हुने यस केबलकार र रिसोर्टले शाहसिक, धार्मिक र मनोरञ्जन पर्यटनलाई बढवा दिने बताए ।
उनले सुदूरपश्चिम प्रदेशमा आउने लगानी र विकासका आयोजनाहरुलाई हर सम्भव सहयोग गर्न प्रदेश सरकार तयार रहेको बताउँदै बढी भन्दा बढी मात्रामा लगानी आकर्षित गर्ने काममा लाग्न लगानीकर्ताहरुलाई आग्रह पनि गरे । जालपादेवी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले पर्यटनले मात्र नेपालको आर्थिक, सांस्कृतिक र सामाजिक मुलुकको कायापलट गर्न सम्भव रहेको बताए । उनले भने, “पर्यटन पूर्वाधारमा लगानी गरे मात्र लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्छ । पर्यटकको बसाई लम्बाउन सकिन्छ । थप विदेशी मुद्रा आर्जन गर्न सकिन्छ । थप रोजगारी सिर्जना गर्न सकिन्छ । थप राजश्व उठाउन सकिन्छ, र हामीले अपेक्षा गरेको आर्थिक विकास र सम्मृद्धि हासिल गर्न सकिन्छ ।”
उनले पर्यटनले अन्य सेवा क्षेत्रको तुलनामा धेरै रोजगारी सिर्जना गर्छ र यसबाट राजस्व पनि बढी सिर्जना हुने बताए । अध्यक्ष ढकालले केवलकार पर्यटन सर्किट बनाउने आफ्नो लक्ष्यलाइ जालपादेवी केवलकार निर्माणको शिलान्यासले नयाँ उत्साह थपेको बताए । यसको शिलान्यास र अवको निर्माणमा स्थानीय समुदाय, राजनीतिक दलहरु र नेपाल सरकारका निकायहरुको सहयोग अन्य केवकार निर्माण क्षेत्रका लागि उदाहरण बन्न पुगेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
लम्की चुहाँ नगरपालिका वडा नं. ३ को चिसापानीदेखि मोहन्याल गाउँपालिका वडा नं ७ राजकाँडासम्म पुग्ने ३.१ किलोमिटर लामो केबलकारमा ३४ वटा गोन्डोला हुनेछन् । कूल पाँच अर्ब रुपैयाँ लगानी हुने केबलकारको बटम स्टेसनमा केबलकार, होटल, क्यासिनो, ब्याक्वेट हल निर्माण हुनेछन् भने टप स्टेसनमा रिसोर्ट, मन्दिर, स्काई वक, वकिङ ट्रेल, रेष्टुरेन्ट तथा चिल्डे«न पार्कसहित अन्य पर्यटकीय तथा मनोरञ्जनात्मक पूर्वाधारहरु निर्माण हुनेछन् । -

यस्तो रह्यो त्रिविको दिक्षान्त समारोह (फोटो फिचर)
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोह त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना गरेको छ । यो स्वर्ण समारोह प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा मनाइएको हो । त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीका अनुसार स्नातक तहका नौ हजार ६८, स्नातकोत्तर तहका पाँच हजार ५५, एमफिलका ६३ र विद्यावारिधि (पिएचडी) का एक सय २२ जना विद्यार्थी दीक्षित भए ।

समारोहमा १४ हजार बढी विद्यार्थीहरु दीक्षित भएका त्रिविले जनाएको छ । विभिन्न तह र विषयमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु पदकसहित सम्मानित पनि भएका छन् ।
अब्बल नतिजा ल्याएर पदक पाउनेहरुमा छात्राहरु बढी छन् । प्रधानमन्त्री एवम् त्रिविका कुलपति केपी शर्मा ओलीले विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरे ।
त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ शहीद हरिराज अधिकारी स्वर्ण पदक व्यवस्थापन संकायका एमफील तहका हिरा श्रेष्ठले, इन्द्र भक्त श्रेष्ठ स्वर्ण पदक स्कुल अफ म्यानेजमेन्टको एमबीएकी सुधा काफ्लेले पाउने, अमृत पदक एमएस्सी रसायनशास्त्रका सुशील पोखरेलले, मदन विद्या वातावरण विज्ञान पुरस्कार एमएस्सी वातावरण विज्ञान विषयमा रिकिता भण्डारीले पाएका छन् ।
सरदार गुञ्जमान सिं स्वर्ण पदक एमबीएसबाट रेबिका भण्डारीले पाउने, नरेन्द्रमणि आचार्य दीक्षित पदक एमए अंग्रेजी साहित्यमा सुदीक्षा घिमिरेले पाएकी छिन् । डा. मोहनप्रसाद लाखे स्वर्ण पदक पनि उनले नै पाएकी छन् । शान्ति नारायण मिश्र पदक एमए पुस्तकालय विज्ञान विषयका संजिव कुमार सिंहले, डा. दुबसु क्षेत्री स्वर्ण पदक एमए अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषयमा प्रतिकराज जोशीले, इमिरेट्स प्रा.डा. रामप्रसाद चौधरी स्वर्ण पदक एमएस्सी वनस्पति शास्त्रमा श्रीणा क्षेत्रीले, नारायण शान्ति मिश्र पदक एमए पत्रकारिता तथा आमसञ्चार विषयमा चेतना कुँवरले पाए ।
तारपद चौधरी पदक एमए अर्थशास्त्र विषयमा श्रीज्या काफ्लेले पाएकी छन् । उनले खगेन्द्रमान सिं प्रधान पदक र चन्द्रराज ढुंगेल स्मृति पुरस्कार पनि पाएकी छन् । उनले अर्थशास्त्र केन्द्रीय विभागमा अध्ययन गरेकी थिइन् । सिल्पा विष्ट प्राज्ञिक उत्कृष्टता पुरस्कार एमएड तहमा महिलाहरूमध्येबाट सिता कुमारी श्रेष्ठले र भाइस चान्सलर पदक स्नातक तहका आकृति झाले पाएका छन् । आकृतिले सत्य माँ स्मृति स्वर्ण पदक पनि पाइन् ।

लोकराज ज्ञवाली पदक एलएलबीका सिजन बोहराले, शिवराज पन्त स्मृति पुरस्कार बीइ सिभिलका शाशिष थापाले, छत्र बहादुर पदक बीबीएसका समिता डंगोलले र सुशीलादेवी शर्मा पुरस्कार बीएडकी छात्रामध्येबाट संगिता प्रजापतिले पाएका छन् ।
-

क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु
काठमाडौं । क्यानडामा ट्रकको ठक्करबाट नेपाली युवतीको मृत्यु भएको छ। १३ दिनअघि क्यानडाको ओन्टारियोस्थित लन्डन सहरमा पिकअप ट्रकको ठक्करबाट काठमाडौं घर भएकी एक युवती गम्भीर घाइते भएकी थिइन्। उपचारका क्रममा बिहीबार उनको मृत्यु भएको एनआरएनए क्यानडाका अध्यक्ष माधव दुलालले जानकारी दिए।
काठमाडौंकी श्रेष्ठ थरकी ती युवती ९ महिनाअघि मात्रै क्यानडा गएकी थिइन्। दुर्घटनामा मृत्यु भएपछि युवतीकी अभिभावकहरू क्यानडा पुगिसकेको र कानुनी प्रक्रिया पूरा गरी अन्तिम संस्कारको तयारी भइरहेको अध्यक्ष दुलालले जानकारी दिए।
-

हुम्लासहित कर्णालीमा हिमपात
काठमाडौं । हिमाली जिल्ला हुम्लासहित कर्णालीका उच्च जिल्लामा शुक्रबार रातिदेखि हिमपात भइरहेको छ। शुक्रबार दिउँसो घाम नलागेर मौसममा आएको फेरबदलले बाक्लो बादल लागेका कारण रातिदेखि हिमपात भएको हो। शनिबार बिहान सदरमुकाम सिमकोटमा चार इञ्च हिउँ जमेको छ भने उत्तरी नाम्खा गाउँपालिकामा दुई फिटसम्म हिउँ परेको बताइएको छ। हुम्लामा तेस्रो पटक हिमपात हुँदा किसानलाई राहत मिलेको स्थानीय गौगोरा बोहराले बताए। यतिबेला परेको हिउँले जेठासी बालीको उत्पादन राम्रो हुने हुम्लाका किसानको भनाइ छ।
यस्तै सदरमुकाम सिमकोटसहित उत्तरी नाम्खा गाउँपालिकामा जनजीवन प्रभावित बनाएको छ। शनिबार बिहान हिमपात भइरहेकाले यहाँका स्थानीय चिसोले घर बाहिर निस्कन नसकेको बताइएको छ। हिमपात हुँदा यहाँको तापक्रम माइनसमा झरेको छ । यस्तै अन्तर जिल्ला जोड्ने एकमात्रै हवाई सेवा अवरुद्ध भएको छ। हिमपात भइरहेकाले हवाई सेवा अवरुद्ध भएको हो ।
-

त्रिविको ५० औं दीक्षान्त समारोह आज, १४ हजार विद्यार्थी सहभागी हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ५० औं दीक्षान्त समारोह शनिबार हुँदैछ। ५० औं दीक्षान्त समारोहलाई त्रिभुवन विश्वविद्यालयले स्वर्ण महोत्सवका रूपमा पनि मनाउँदैछ। दीक्षान्त समारोह र स्वर्ण महोत्सवका अवसरमा काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा विशेष समारोह हुँदैछ। समारोहमा यसपालि १४ हजार तीन सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् ।
सोही सङ्ख्यामा अभिभावकको समेत सहभागिता हुने समारोहका उपाध्यक्ष एवम् त्रिवी परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए। यसपालि गत वर्षभन्दा दुई हजारभन्दा बढी विद्यार्थी दीक्षित हुन लागेका उनले बताए। स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि (पिएचडी)तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदैछन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिनेछ।त्रिविले गत वर्ष सबैभन्दा बढी विद्यार्थी दीक्षित गरेर गिनिज बुकमा नाम लेखाइसकेको यसपालि त्योभन्दा २ हजार बढी विद्यार्थी दीक्षित हुने जोशीले बताए।
जोशीले आगामी वर्षदेखि त्रिवि परिसरमा दीक्षान्त समारोह गर्नेगरी तयारी गरिएको पनि शुक्रबारको पत्रकार सम्मेलनमा जानकारी दिएका थिए।दीक्षान्त समारोहको प्रमुख अतिथिका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. रामप्रसाद यादव रहनेछन् । समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ।
-

प्रहरी जवानले आफैलाई हाने गोली
काठमाडौं । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी जवान अन्दाजी वर्ष २१ का चक्रप्रसाद न्यौपानेले शुक्रबार साँझ कार्यकक्षभित्रै आफैँमाथि पेस्तोलले टाउकोमा गोली प्रहार गरेका छन् । टाउकोमा गोली लागेका न्यौपानेको बाँकेको कोहलपुरस्थित मेडिकल कलेजमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक उमेश जोशीले न्यौपानेको स्वास्थ्य अवस्था मध्यम रहेको बताए ।
‘प्रबन्ध शाखामा गोली चलेको आवाज आयो, उनी एक्लै त्यहाँ थिए’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक जोशीले भने, ‘न्यौपानेको टाउकोबाट रगत बगिरहेको थियो, घाइते अवस्थामा थिए ।’
उनका अनुसार घाइते भएको जानकारी पाइएपछि उनलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्याइयो । त्यहाँ उपचार सम्भव नभएपछि कैलालीको धनगढी हुँदै बाँकेको कोहलपुर पुर्याइएको छ । न्यौपानेले के कति कारणले गोली चलाएका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक जोशीको भनाइ रहेको छ ।
-

मोरक्कोमा डुंगा पल्टियो, कम्तिमा ६९ जना मारिए
काठमाडौं । मोरक्कोमा डुंगा पल्टिँदा कम्तीमा ६९ जनाको मृत्यु भएको छ । पश्चिमी अफ्रिकाबाट स्पेन गइरहेको डुंगा मोरक्कोमा पल्टिएको हो । बीबीसीका अनुसार मृत्यु हुनेमा कम्तीमा २५ जना नागरिक मालीका रहेका छन् । डुंगामा करिब ८० जना यात्री रहेको र ११ जना बाँच्न सफल भएको समाचारमा उल्लेख छ । दुर्घटना पछिल्लो साताको भए पनि मालीले भर्खर पुष्टि गरेको बीबीसीले जनाएको छ ।
मालीमा लामो समय हिंसात्मक द्वन्द्व चर्किएपछि २०२० र २०२१ मा सेनाले सत्ता हातमा लिएको थियो । सैनिक सरकारले सन् २०२४ आम चुनाव गराउने वाचा गरे पनि अहिलेसम्म हुन सकेको छैन । देशको अवस्था हेरेर मालीका अधिकांश नागरिक युरोप जानका लागि डुंगामा जोखिमपूर्ण यात्रा तय गर्न खोजिरहेका छन् ।
-

तीनकुने जग्गाको मुआब्जा दिन मेयर बालेनको केन्द्र सरकारसँग माग
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गरेका छन् । शुक्रबार काठमाडौंमा कोटेश्वर महोत्सव उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो आग्रह गरेका हुन् । प्रमुख साहले तीनकुनेको जग्गाको मुआब्जा वितरण आफ्नो उमेरभन्दा बढी समयसम्म पनि वितरण नगरिनु दुःखद् रहेको बताए ।
उनले अहिले दुई तिहाईको सरकार रहेको भन्दै अहिलेको सरकारले चाहे मुआब्जा वितरणमा कुनै समस्या नहुने जिकिर गरे । उनले त्यसका लागि जग्गाधनीहरूले स्थानीय सरकार र सङ्घ सरकारलाई दबाब दिन सुझाव दिए ।
उनले उक्त जग्गा सरकारले लुटेर राखेको र प्रक्रिया अघि बढिरहेको कुनै पनि नेताले भनेको खण्डमा नपत्याउन आग्रह गरे । अहिलेको सरकारले पनि मुआब्जा नदिए कहिल्यै नदिने उनको दाबी छ । प्रमुख साहले कोटेश्वर मेलाले कोटेश्वरको स्थानीय विशेषता दिन आवश्यक रहेको बताए ।
-

सिंहको निधनप्रति राष्ट्रपतिले जनाए दुःख
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बिहीबार शोक सन्देश जारी गर्दै भारतका जनप्रिय र दूरदर्शी नेताका रूपमा डा सिंहले पुर्याएको योगदानको स्मरण गरेका छन् ।
उनले भनेका छन्, “डा. सिंह भारतका दूरदर्शी नेताका रूपमा परिचित हुनुहुन्थ्यो। उहाँको निधनले भारतले एक असल मार्गदर्शक गुमाएको छ।” राष्ट्रपति पौडेलले भारत सरकार, भारतीय जनसमुदाय तथा शोकाकुल परिवारजनप्रति आफ्नो गहिरो समवेदना व्यक्त गरेका छन् । नेपाल र भारतबिचको मैत्री सम्बन्धलाई थप बलियो बनाउन डा। सिंहले खेलेको भूमिकाको चर्चा गर्दै राष्ट्रपति पौडेलले उनको योगदान चिरकालसम्म स्मरणीय रहने बताए ।
-

रविको अदालतमा सकियो बयान
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबारबाट सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो । उनका अनुसार अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ ।
अब नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी छ । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।
-

एसईई परीक्षाको फारम खुला
काठमाडौं । २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को आवेदन फारम खुलेको छ । परीक्षा नियन्त्रण कार्यालयले शुक्रबारदेखि फारम खुलाएको हो । यसका लागि एक महिनाको समय दिएको छ । पुस १२ देखि माघ १२ गते भित्र फारम भरिसक्न कार्यालले भनेको छ ।
परीक्षार्थीले ५ सय दस्तुर तिरेर फारम भर्नसक्ने छन् । फारम भर्न रजिस्ट्रेसनको अर्धकट्टीको प्रतिलिपि, शैक्षिकसत्र २०७९ वा सो भन्दा पहिले आधारभूत तह कक्षा उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि र हालसाल खिचिएको पासपोर्ट साइजको दुई प्रति फोटो फारम भर्न चाहिने कार्यालयले जनाएको छ ।
-

आयात प्रतिस्थापन गरी निर्यात बढाउने कार्यक्रम ल्याउन प्रधानमन्त्रीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धिको यात्रामा लाभ पुग्ने, आयात प्रतिस्थापन गरी निर्यात बढाउने र रोजगारी अभिवृद्धि गर्ने गरी ठोस योजना र कार्यक्रम ल्याउन निर्देशन दिएका छन् । शुक्रबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा स्वदेशी वस्तुको प्रयोग वृद्धि र रूग्ण उद्योग सञ्चालनबारे ब्रिफिङपछि उनले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई यस्तो निर्देशन दिएका हुन् । उनले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारी वृद्धिका विषयमा काम गर्नसमेत निर्देशन दिए ।
छलफलमा हालै सरकारले जारी गरेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोगसम्बन्धी निर्देशिका, २०८१, लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन नीति, २०८१ र राष्ट्रिय स्टार्टअप उद्यम नीति, २०८१ को प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका तर्फबाट प्रस्तुतिकरण गरिएको थियो।
साथै, लामो समयदेखि बन्द र अन्योलको अवस्थामा रहेका गोरखकाली रबर उद्योग, उदयपुर सिमेन्ट, विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडा सिमेन्ट, हेटौंडा कपडा, नेपाल ओरियन्डलगायत उद्योगलाई सरकारको स्वामित्वमा निजी क्षेत्रको साझेदारी वा उपयुक्त ढाँचामा सञ्चालन गरी उत्पादन र रोजगारी बढाउने विषयमा छलफल भएको थियो। यसैगरी, पेट्रोलियम पदार्थ र फलाम खानीको उत्खनन्का प्रगतिबारे प्रधानमन्त्री ओलीलाई जानकारी गराइएको थियो।
-

रास्वपाको बिस्तारित केन्द्रिय समिति बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले १९ देखि २१ पुससम्म बस्ने गरी केन्द्रीय समितिको विस्तारित बैठक बोलाउने निर्णय गरेको हो ।
सचिवालय बैठकले केन्द्रीय अनुशासन आयोगमा अधिवक्ता कमलप्रसाद पोखरेल र हरिचन्द्र भट्टराई मनोनीत गरिएको छ । साथै, संगठन विभागमा धर्म केसी, गोपाल घिमिरे र डा। विमल तिवारीलाई मनोनीत गरिएको छ ।
-

भारतका पूर्वप्रधानमन्त्री सिंहको निधनमा अमेरिकाले जनायो शोक
काठमाडौं । भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनमा अमेरिकाले शोक जनाएको छ । अमेरिकी विदेशमन्त्री एन्टनी जे ब्लिकेनले सिंहको निधनमा समवेदना व्यक्त गरेका छन् । यूएयस डिपार्टमेन्ट अफ स्टेटद्धारा जारी बयानमा उनले भनेका छन्, मनमोहन सिंह अमेरिका भारत रणनीतिक साझेदारीका सबैभन्दा ठूला समर्थक मध्ये एक थिए ।
पछिल्ला दशकमा दुई देश मिलेर धेरै उपलब्धी गरेको स्मरण समेत उनले गरेका छन् । सिंह भारतका आर्थिक सुधारक समेत मानिन्छन् । जसले भारतमा आर्थिक विकासलाई गति दिने काम गरेका थिए । उनको बिहीबार साँझ निधन भएको छ ।
-

सिरियामा एम्बुसमा परी १४ सुरक्षाकर्मीको मृत्यु
काठमाडौं । सिरियाका अपदस्थ नेता बशर अल असदप्रति बफादार समूहको आक्रमणमा परेर त्यहाँको विद्रोही(नियन्त्रित नयाँ प्रशासनको आन्तरिक मामिला मन्त्रालयका १४ सुरक्षाकर्मी मारिएका र अन्य १० अन्य घाइते भएका नयाँ प्रशासनका अधिकारीहरूले बताएका छन्। ती अलवाइत समूहका समर्थकहरू पूर्वनेता असदले मान्ने गरेको धार्मिक समूहका सदस्यहरू हुन्। यूके मुख्यालय रहेको एउटा अधिकारवादी समूह सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार कुख्यात सैदनाय जेलसँग सम्बन्धित एक जना पूर्वअधिकारीलाई सुरक्षा फौजले टार्टुस सहरमा पक्राउ गर्ने प्रयास गरेपछि यो घटना भएको हो।
अलवाइत समूहको धार्मिक स्थलमा आक्रमण भएको एउटा भिडिओ सार्वजनिक भएपछि अन्य कैयौँ स्थानमा पनि प्रदर्शन भएका छन्। सिरियाको विद्रोही-नियन्त्रित सरकारका अधिकारीहरूले लडाइँ भूमध्यसागरको तटमा रहेको टार्टुस बन्दरगाहनजिकै मङ्गलवार भएको जनाएका छन्। दमास्कसनजिकैको कुख्यात सैदनाय जेलमा भएका गतिविधिसँग जोडिएको एक पूर्वअधिकारीलाई पक्राउ गर्ने प्रयास गरेका सुरक्षाकर्मीलाई एम्बुसमा परिएको विवरणहरूमा जनाइएको छ।
दुई हप्ता मात्रै अघि राष्ट्रपति असदले सत्ता गुमाएका थिए। इस्लामवादी हायत तहरिर अल–शाम (एचटीएस) नेतृत्वको विद्रोही समूहले सिरियामा सत्ता चलाइरहेको छ। यूके मुख्यालय भएको सिरिअन अब्जर्भेटरी फर ह्यूमन राइट्सका अनुसार तीन जना विद्रोही पनि उक्त झडपमा मारिएका थिए। उसका अनुसार त्यसपछि सुरक्षाकर्मीहरूले थप सहयोग मागेका थिए। विद्रोहीहरूले सिरियाको उत्तरपूर्वबाट सुरु गरेको लडाइँ देशभर विस्तार भएको थियो। त्यसले असद परिवारको ५० वर्षको सत्ता अन्त्य गराएको थियो।
त्यसपछि असद र उनको परिवार रुसमा भाग्न बाध्य भएका थिए। एचटीएसले सिरियाका विभिन्न धार्मिक र जातीय अल्पसङ्ख्यक समुदायको अधिकार र स्वतन्त्रता रक्षा गर्ने वाचा गरेको छ। उक्त सङ्गठनलाई संयुक्त राष्ट्रसङ्घ, संयुक्त राज्य अमेरिका, युरोपेली सङ्घ र यूकेसहितका देशले आतङ्कवादी सङ्गठन सूचीमा राखेका छन्। मङ्गलवार एउट क्रिसमस ट्री जलाइएपछि देशभर प्रदर्शनहरू भएका थिए। त्यसपछि अल्पसङ्ख्यकको सुरक्षा गर्न नयाँ सरकारमाथि दबाव परेको थियो।
सामाजिक सञ्जालमा पोस्ट गरिएको एउटा भिडिओमा मध्य सिरियाको एउटा इसाईबहुल नगरको एउटा मुख्य चोकमा क्रिसमस ट्री जलिरहेको देखिएको थियो। भिडओ फुटेजमा मास्क लगाएका व्यक्तिहरूले सिरियाका इसाईहरूले क्रिसमस ईभ मनाउने तयारी गरेको अघिल्लो रात क्रिसमस ट्री पहिचान नखुलेको तरल पदार्थ छर्किरहेको देखाइएको थियो। उनीहरूले आगो निभाउन खोजेका वा त्यसलाई थप बाल्न खोजेका थिए भन्ने स्पष्ट भएको छैन। एचटीएसले उक्त घटनालाई लिएर विदेशी फौजका सदस्यहरूलाई पक्राउ गरिएको जनाएको थियो।
बीबीसीबाट साभार -

भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधन
काठमाडौं । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएको छ । सन् २००४ देखि २०१४ सम्म भारतको प्रधानमन्त्रीको पद सम्हालेका सिंह ९२ वर्षका थिए । कांग्रेसका दिग्गज नेतासमेत रहेका सिंहको बिहीबार राति दिल्लीको एम्स अस्पतालमा उपचारको क्रममा निधन भएको हो। अस्पतालले केहीअघि एक मेडिकल बुलेटिन जारी गर्दै राति नौ बजेर ५१ मिनेटमा सिंहको निधन भएको पुष्टि गरेको छ ।
मेडिकल बुलेटिनमा भनिएको छ, ‘गहिरो शोकको साथ हामी भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको ९२ वर्षको उमेरमा निधन भएको जानकारी गराउँदछौं । उहाँ उमेरसँग सम्बन्धित स्वास्थ्य अवस्थाको लागि उपचार गरिरहनुभएको थियो र बिहीबार घरमा अचानक बेहोस हुनुभएको थियो । बेलुकी आठ बजेर ६ मिनेटमा नयाँ दिल्लीको एम्समा मेडिकल इमर्जेन्सीमा ल्याइएकोमा सबै प्रयासका बाबजुद राति नौ बजेर ५१ मिनेटमा मृत घोषणा गरियो ।’ सिंहलाई भारतीय अर्थतन्त्रको विकासमा बलियो जग बसाएको भन्दै सुदृढ आर्थिक परिवर्तनको श्रेय दिने गरिन्छ ।
-

प्रधानमन्त्री भन्छन् : धेरै बाघ पाल्न सकिन्न, उपहार दिँउ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मान्छे खुवाएर बाघ पाल्न नसकिने बताएका छन् । काठमाण्डौमा वन तथा वातावरण मन्त्रालयले कोप २९ को समीक्षाका लागि आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वनको क्षमता हेरेर मात्रै नेपालले बाघ पाल्नुपर्ने बताए । उनले नेपालको वनको क्षमताअनुसार एक सय ५० वटाभन्दा धेरै बाघ पाल्न नसकिने भए पनि अहिले नेपालमा तीन सय वटाभन्दा धेरै बाघ रहेको बताए ।
अरूले भनेअनुसार बाघको सङ्ख्या अब बढाउन नसकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । नेपालले मित्र राष्ट्रहरुलाई बाघ पाल्ने भए उपलब्ध गराउने तर अब बाघको संख्या बढाउन नसक्ने बताए । उनले भने, ‘अहिले साढे तीन सयभन्दा बढी बाघ छन् । जङ्गलमा मात्रै होइन, गाउँमा हिँड्दा पनि बाघ छ की भनेर हिँड्नुपर्छ । हामीले पनि चाहिने खालका काम गर्नुपर्छ । बाघ साढे तीन सय पाल्ने होइन, अलि थोरै पाल्नुपर्छ । डेढ सय बाघ भए पुग्छ । उपहार दिऔँ, हाम्रा मित्रहरुलाई ।’
प्रधानमन्त्री ओलीले नेपाललाई ३० प्रतिशत मात्रै जङ्गल भए पुग्ने उल्लेख गर्दै नेपालले गरेका कामको सही मूल्याङ्कन र सम्मान हुन नसके नेपालले अरू देशका लागि जङ्गलको संरक्षण गर्न नसक्ने बताए । उनले नेपाललाई ४७ प्रतिशत जङ्गल राखेको सम्मान र कदर नगरेमा ३० प्रतिशत मात्रै जङ्गल राख्ने र बाँकी भू–भागमा अन्न उब्जाएर खाने बताए ।
-

भोली र पर्सी देशका धेरै स्थानमा हिउँदे वर्षाको सम्भावना
काठमाडौं । भोलि र पर्सि देशका धेरै ठाउँमा हिउँदे वर्षा र उच्च पहाडीभन्दा माथिका क्षेत्रमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले आज विशेष मौसमी बुलेटिन निकालेर भोलि शुक्रवार दिउँसोपछि अर्को पानी पार्ने प्रणाली भित्रन लागेको जनाएको हो । पश्चिमी न्यूनचापीय प्रणालीको कारण भोलि दिउँसोपछि पर्सि शनिवारसम्म नेपालको धेरैजसो ठाउँमा मौसम आंशिकदेखि साधारणतया बदलीको सम्भावना रहेको छ । यो प्रणालीको धेरै असर सुदूरपश्चिम र कर्णालीमा पर्ने भएपनि देशका धेरैजसो ठाउँमा हल्का वर्षा हुनेछ ।
पर्सि शनिवार सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली धेरैजसो ठाउँमा तथा गण्डकी, बागमती र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली केही ठाउँमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना रहेको विभागले जनाएको छ । त्यस्तै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै ठाउँ र लुम्बिनी प्रदेशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै ठाउँमा हल्का वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ । वर्षा र हिमपातका कारण तापक्रम घट्ने र चिसो बढ्ने सम्भावना छ । दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन मौसमविद्ले अनुरोध गरेका छन् ।
त्यसैगरी आवश्यक तयारी गर्न सरोकारवाला निकायलाई पनि भनिएको छ । पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले गएको सोमवार र मंगलवार देशका केही ठाउँमा फाट्टफुट्ट वर्षा तथा उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भएको थियो । पर्याप्त हिउँदे वर्षा र हिमपात भएमा हिउँदे खेतीबालीलाई फाइदा पुग्नेछ ।
हिउँदे वर्षा र हिमपात हिउँदे बालीको उत्पादनमा निक्कै महत्वपूर्ण मानिन्छ । तर यसपाली अहिलेसम्म छिटपुटबाहेक हिउँदे वर्षा भएको छैन । तर यसपाली सरदरभन्दा कम हिउँदे वर्षा हुने यसअघि नै अनुमान गरिएको छ । पर्याप्त हिउँदे वर्षा र हिमपात नभए खेतीबालीको उत्पादनमा असर पुग्नुका साथै वायु प्रदुषण र आगलागीका घटनासमेत बढ्न सक्ने जोखिम हुन्छ ।
-

जापान एयरलाइन्समा साइबर आक्रमण
काठमाडौं । जापान एयरलाइन्सले बिहीबार साइबर आक्रमणको रिपोर्ट गरेको छ । एयरलाइन्सले यसबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरूमा ढिलाइ भएको तर पछि उक्त कारण पत्ता लगाएर समाधान गरेको बतायो । एयरलाइन्सको ब्यागेज चेक–इन प्रणालीमा समस्याहरूले धेरै जापानी विमानस्थलमा एक दर्जनभन्दा बढी उडानमा ढिलाइ भएको तर कुनै सामूहिक रद्द वा ठुलो अवरोध नभएको सार्वजनिक प्रसारक एनएचकेले बतायो । जापान एयरलाइन्स (जेएएल) अल निप्पन एयरवेज (एएनए) पछिको देशको दोस्रो ठुलो एयरलाइन्स हो ।
“हामीले समस्याको कारण पत्ता लगायौँ र सम्बोधन गर्यौँ । हामी प्रणाली पुनल्स्थापना स्थितिको जाँच गरिरहेका छौँ”, जेएएलले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा एक पोस्टमा भन्यो, “आज प्रस्थान गर्ने दुवै घरेलु र अन्तर्राष्ट्रिय उडानको बिक्री स्थगित गरिएको छ । कुनै पनि असुविधाका लागि हामी माफी चाहन्छौँ ।” यसअघि बिहीबार जेएएलका प्रवक्ताले कम्पनीमाथि साइबर आक्रमण भएको बताउनुभएको थियो ।
स्थानीय समयानुसार बिहीबार बिहान ७ः२४ बजे नेटवर्क अवरोध सुरु भएको जेएएलले विज्ञप्तिमा जनायो । “त्यसपछि बिहान ८ः५६ बजे हामीले अवरोध सिर्जना गरिरहेको राउटर (नेटवर्कहरू बिच डाटा आदानप्रदान गर्ने उपकरण) लाई अस्थायी रूपमा अलग गर्यौँ”, विज्ञप्तिमा उल्लेख छ । यो खबर सार्वजनिक भएपछि जेएएलको शेयर बिहानको कारोबारमा २।५ प्रतिशतसम्म घट्यो । त्यसपछि केही सुधार भयो । एयरलाइन्स साइबर आक्रमणबाट प्रभावित हुने पछिल्लो जापानी कम्पनी मात्र हो ।
जापानको अन्तरिक्ष एजेन्सी जाक्साले सन् २०२३ मा अज्ञात संस्थाहरूले साइबर आक्रमण गरेर प्रवेश गरेको तर रकेट वा स्याटेलाइटबारे कुनै संवेदनशील जानकारी प्राप्त नभएको बताएको थियो । सोही वर्ष जापानको व्यस्त बन्दरगाहमध्ये एक नागोया बन्दरगाह र्यान्समवेयर आक्रमणबाट प्रभावित भएको थियो । यसको दोष रुसमा आधारित साइबर अपराध सङ्गठन लकबिटलाई दिइएको थियो ।
जापानको साइबरट्याक्स विरुद्धको रक्षाका लागि जिम्मेवार एजेन्सी नेसनल सेन्टर अफ इन्सिडेन्ट रेडिनेस एन्ड स्ट्रेटेजी फर साइबरसिक्योरिटी ९एनआइएससी० ले सन् २०२३ मा नै ह्याकरहरूले नौ महिनासम्म घुसपैठ गरेको बताएको छ । सन् २०२२ मा सरकारले टोयोटा आपूर्तिकर्तामा अवरोधको पछाडि साइबर आक्रमण भएको बताएको थियो । यसले शीर्ष बिक्री हुने अटो निर्मातालाई एक दिनका लागि घरेलु कारखानाहरूमा सञ्चालन रोक्न बाध्य तुल्याएको थियो ।
हालै लोकप्रिय जापानी भिडियो साझेदारी वेबसाइट निकोनिकोले ठुलो स्तरको साइबर आक्रमणको प्रभावमा परेको भन्दै जुन महिनामा आफ्ना सेवाहरू स्थगित गरेको थियो । रासस–एएफपी
-

वैदेशिक रोजगारीमा जाने युवाको मेडिकलमा सिण्डिकेट भयो : संघ
काठमाडौं । नेपाल मेडिकल व्यवसायी संघले वैदेशिक रोजगार जाने नेपालीको स्वास्थ्य परीक्षणमा सिण्डिकेट भएको गुनासो गरेका छन्। बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गर्दै सिण्डिकेट धारिलो नाममा सीमित व्यक्तिले मात्रै फाइदा उठाएको व्यवसायीहरूले बताए।
तत्कालीन अवस्थामा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने विषयमा कानुनको धज्जी उडाउँदै अनैतिक साठगाँठमा नमूना कार्यक्रमको रूपमा ६ महिनाका लागि मात्र भनेर व्यापक असहमति राख्दाराख्दै लागु गरिएको सिण्डिकेट विरुद्धको महाअभियानमा हामी सबै एक ढिक्का भएर लागेका छौं। मलेसिया लगायत अन्य देशहरूमा लगाएको सिण्डिकेट अन्त्य नहुन्जेल लागि रहने प्रण गर्दछौं, संघका महासचिव कृष्णप्रसाद बजगाईंले भने।
हाल नेपाल सरकार मातहतमा दर्ता भई सञ्चालनमा रहेका २१२ वटा स्वास्थ्य संस्थाहरू रहेको र सबैलाई समान हक अधिकार, खुला प्रतिस्पर्धा तथा लगानीको सुनिश्चित गर्नुपर्ने संघले जनाएको छ। देशै पिच्छेको सिण्डिकेट खडा गरी मूल्यमा समेत कार्टेलिङ भएको आरोप उनीहरूले लगाए। ‘३६ वटा मलेसिया र १९ वटा स्वास्थ्य संस्थाले गाम्का संस्थाको नाममा काठमाण्डौं केन्द्रित भएर केन्द्रिकृत प्रणालीमा श्रमीकको पहुँचभन्दा दूर–दराजमा राज्यको नीति विपरीत सञ्चालित सिण्डिकेटधारी संस्थाहरू तत्काल बन्द गर्न पर्नेछ, महासचिव बजगाईंले भने।
उनले देशको कानुन नै फेरवदल गरेर सिण्डिकेट लगाउन विभिन्न संस्था वा व्याक्तिहरूको मिलेमतोमा रोजगारदाता मुलुकले नै फलाना–फलाना मेडिकल सेन्टरले स्वास्थ्य परीक्षण गर्ने भनेर तोकिएको गुनासो गरे। अहिले मलेसिया सरकारले नै सिण्डिकेट खारेज गरेको सूचना सम्प्रेषण गरी सकेको अवस्था छ।
पछिल्लो समय आधिकारीक इमेलमार्फत् आफ्ना मातहतका समन्वयकारी संस्थाहरूलाई जानकारी गराई सकेको छ। तर हाम्रो देशमा यो वा त्यो बहानामा मलेसिया बाट प्राप्त सूचनालाई गोप्य राखी जनमानसमा भ्रम सृजना गरी रहेका छन्। चाँडै नै मलेसिया लगायत अन्य देशको स्वास्थ्य परीक्षण प्रणालीमा भएको सिण्डिकेट अन्त्य भाएको सूचना नेपाल सरकारको आधिकारीक निकायबाट प्रकाशित होस् भन्ने हाम्रो चाहाना छ, उनले भने।
-

जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाज अझ सशक्त उठाउनुपर्छ : परराष्ट्र मन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले जलवायु न्याय, जलवायु वित्त र क्षतिपूर्तिको आवाजलाई विश्वस्तरमा नै अझ सशक्त रूपमा उठाउनुपर्ने बताएकी छिन् । नगन्य कार्बन उत्सर्जन गर्ने तर त्यसको व्यापक नकारात्मक असर भोग्नुपर्ने विरोधाभासपूर्ण अवस्थाबाट नेपाल गुज्रिरहेकाले यस्ता चुनौतीको सामना गर्न नेपालले अन्तर्राष्ट्रिय स्तरमा अझ सक्रिय भूमिका खेल्नुपर्ने आवश्यकता बढेको उनको भनाइ थियो।
उनले भनिन्, ‘जलवायु परिवर्तनबाट नेपाललाई परेको असर र यससँग जुध्न नेपालले गरिरहेका प्रयासहरूका बारेमा संयुक्त राष्ट्रसङ्घका विभिन्न फोरमहरू एवं जलवायु परिवर्तन सम्बन्धी सम्मेलनहरूमार्फत विश्व समुदायसमक्ष हामीले स्पष्ट र सशक्त रूपमा राख्दै आएका छौँ । आगामी दिनहरुमा यसलाई थप सशक्त बनाउनु जरुरी छ।’अजरबैजानको बाकुमा सम्पन्न २९औँ विश्व जलवायु सम्मेलन एवं अन्तर्राष्ट्रिय न्यायालयमा नेपालको उपस्थितिबारे छलफल गर्न वन तथा वातावरण मन्त्रालयद्वारा आज काठमाडौँमा आयोजित समीक्षा कार्यक्रममा उनले सो धारणा राखेकी हुन् । मन्त्री डा. राणाले गत डिसेम्बर ९ मा हेगस्थित अन्तर्राष्ट्रिय अदालतमा जलवायु परिवर्तनसम्बन्धी अन्तर्राष्ट्रिय सुनुवाइमा नेपालका तर्फबाट आफ्नो नेतृत्वको प्रतिनिधिमण्डलले ‘जलवायु परिवर्तनका सम्बन्धमा राज्यको दायित्व’ सम्बन्धमा पहिलो पटक नेपालका आधारहरु मौखिक रुपमा प्रस्तुत गरेको जानकारी गराए ।
सो अदालतमा सुनुवाइका क्रममा आफूले नेपालले कहिल्यै नगरेको गल्तीको सजाय भोगिरहेको कुरा सशक्त रूपमा उठाउँदै जिम्मेवार विकसित राष्ट्रहरूले जलवायु सङ्कट समाधानमा पनि उत्तिकै जिम्मेवारी लिई जलवायु न्यायको सिद्धान्त स्थापित हुनुपर्नेमा जोड दिएको जानकारी मन्त्री डा। राणाले दिइन् ।
नेपालजस्तो संवेदनशील भूबनोट भएको पर्वतीय मुलुकका लागि जलवायु परिवर्तनको प्रभाव गम्भीर रहेको भन्दै उनले नेपालका हिमालहरू पग्लिरहेका, जैविक विविधतामा ह्रास आइरहेको, प्राकृतिक विपत्तिहरू बढ्दै गएको र जसका कारण नेपालको अर्थतन्त्र, सामाजिक जीवन र वातावरणमा नै नकारात्मक असर पारिरहेको उनले बताइन्।
इसिमोडको एक प्रतिवेदनले यही गतिमा कार्बन उत्सर्जन भइरहेमा यस शताब्दीको अन्त्यसम्ममा हिन्द कुश हिमालयमा रहेका हिमनदीहरूले ८० सम्म हिउँको मात्रा गुमाउने देखाएकाले यो नेपाललगायत पर्वतीय मुलुकका लागि चिन्ताको विषय रहेको उनको भनाइ थियो।
पर्वतीय क्षेत्र सबैभन्दा बढी जलवायु जोखिममा परेकाले त्यहाँका नागरिक अन्यत्रै जान बाध्य भएका र जलवायु परिवर्तनले मानिसको आधारभूत मौलिक अधिकारमा समेत खलल पारेको भन्दै मन्त्री डा राणाले जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न सबै मुलुकहरूको साझा प्रयास अपरिहार्य रहेकोमा जोड दिए ।
जलवायु वित्तको पहुँचमा भोगिरहेको समस्याको प्रक्रियागत जटिलता, कोषको बाँडफाँडमा देखिएको असमानता र अन्य कठिनाइका बारेमा सम्बन्धित निकायहरूसँग गहन छलफल हुन जरूरी रहेको उनको भनाइ थियो । उनले भनिन्, ‘त्यसैले पनि जलवायु परिवर्तनको वित्तीय समस्या समाधान गर्न, हानी नोक्सानी कोष परिचालन गर्न र हिमाल लगायतका विषयको उचित सम्बोधन गर्ने दिशामा अन्तर्राष्ट्रिय स्तरमा थप सहकार्य गर्न जरूरी देखिन्छ।’
उनले जलवायु परिवर्तनका असरहरूलाई न्यूनीकरण गर्न नेपालले आफ्नो अनुकूलन क्षमतालाई पनि बलियो बनाउँदै जानुपर्नेमा जोड दिइन् । जलवायु परिवर्तनका कारण प्रत्यक्ष प्रभावित भएका समुदायहरूलाई सहयोग पुर्याउन विशेष योजना र कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने, जलविद्युत् र सौर्य ऊर्जा प्रवद्र्धन गरी दिगो र हरित ऊर्जामा जोड दिनुपर्नेमा मन्त्री डा. राणाको जोड थियो।
-

पोखरामा विदेशी वायुसेवा कम्पनीबाट आठौं चार्टर्ड उडान
काठमाडौं । चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए । पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो ।
फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ । यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रोपटक आएको हो । यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि जहाज चार्टर गरी पोखरा आएका थिए । सिचुवानकै जहाज खेलाडी पोखरा विमानस्थल छाडेर काठमाडौं ओर्लियो । पोखरामा भएको यो ८ औं चार्टर्ड उडान हो ।
-

गुल्मीमा स्कुटर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । गुल्मीमा स्कुटर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । स्कुटर दुर्घटनामा चन्द्रकोट(६ झापक बस्ने ३० वर्षीय विनोद विक र ४० वर्षीय किरण कुमार थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका एसपी राजन भुजेलले बताए ।जिल्लाको चन्द्रकोट गाउँपालिका वडानम्बर–७ सिस्नेखोला स्थित मजुवा–रिडी सडक खण्डमा लु १७ प १६४४ नम्बरको स्कुटर दुर्घटनामा परेको हो
सडक छेउमा पल्टिरहेको स्कुटरबाट बाटोदेखि अन्दाजी २५० मिटर तल सिस्ने खोलाको पानीमा २ जना पुरुष व्यक्ति तैरिरहेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । पानीमा तैरिरहेकालाई प्रहरीले उद्दार गरी उपचारका लागि प्रथामिक स्वास्थ्य केन्द्र जोहाङ खैरेनी गुल्मीमा पठाएका थिए । उनीहरुलाई अस्पताल पुर्याएपछि चिकित्सकले मृत घोषणा गरेको एसपी भुजेलले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-

मोजाम्बिकमा हिंस्रक प्रदर्शन जारी, १५ सय जना जेलबाट फरार
काठमाडौं । अफ्रिकी मुलुक मोजाम्बिकमा हिंस्रह प्रदर्शन जारी छ । सो क्रममा कम्तिमा १५ सय मानिस जेलबाट फरार भएको समाचार माध्यमहरुले जनाएका छन् । यस मुलुकमा चुनावी नतिजाबाट असन्तुष्टी जनाएसँगै प्रदर्शन जारी छ । प्रदर्शन हिंस्रक बन्दै गएको छ ।
अहिलेसम्म ३३ जनाको मृत्यु भइसकेको समेत समाचारमा जनाइएको छ । मोजाम्बिक प्रहरीका अनुसार १५ भन्दा धेरै घाइते छन् । १५० भन्दा धेरै मानिसलाई गिरफ्तार गरिएको छ । सोमबार अदालतको एक आदेशपछि यहाँ प्रदर्शन सुरु भएको हो । जसमा सत्तारुढ दलको जितको पक्षमा फैसला आएको हो ।