Author: Vishwanews.com

  • भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा

    भारतका स्थल सेनाध्यक्ष सेठ काठमाडौँमा


    काठमाडौँ, ३१ साउनः प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा मित्रराष्ट्र भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठ चारदिने भ्रमणको सिलसिलामा आज काठमाडौँ आइपुगेका छन् । पाँच सदस्यीय भ्रमण दलमा उनकी धर्मपत्नी कोमल सेठ पनि सहभागी छिन् । उनीहरुलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बलाधिकृत रथी प्रदीपजङ्ग केसी र उनकी धर्मपत्नीले स्वागत गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

    भ्रमणका क्रममा सेनाध्यक्ष सेठलाई आगामी भदौ १ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजना गरिने विशेष समारोहका बीच राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्ने कार्यक्रम रहेको छ । मित्रराष्ट्रका उच्चपदस्थ सैनिक अधिकारीको यस किसिमको भ्रमणले दुई देशबीचको सैनिक सम्बन्धलाई अझ विस्तार एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने नेपाली सेनाले जनाएको छ ।

  • स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली

    स्वार्थ होइन, परिवर्तनका लागि हिँडेका हौँः अध्यक्ष ओली


    झापा, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पद वा व्यक्तिगत स्वार्थका लागि नभई मुलुकको परिवर्तन र जनताको सेवाका लागि निर्माण भएको बताएका छन् । नेकपा (एमाले) झापाद्वारा आज बिर्तामोडमा आयोजित ‘मिसन पार्टी जागरण अभियान’ शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टीका नेता तथा कार्यकर्तालाई अग्रजको त्याग र बलिदानबाट सिक्दै अघि बढ्न आग्रह गरे ।


    “हामी पाउँला र खाउँला भनेर स्वार्थका लागि होइन, परिवर्तनका लागि हिँडेका हौँ”, उनले भने, “देश र जनताका लागि के दिए भन्ने कुरा हरदम सम्झिन जरुरी छ ।” नेपालमा कम्युनिष्ट पार्टी स्थापनाको ८० वर्ष र एमाले स्थापनाको ७७ वर्ष पुगेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले आन्दोलनलाई जोगाउन पार्टीलाई विभिन्न समयमा पुनःगठन गर्दै अघि बढाइएको स्मरण गराए ।

    विसं २०२९ देखि २०३२ सालसम्मको आफ्नो राजनीतिक उतारचढाव र जेल जीवनका अप्ठ्यारा दिनको चर्चा गर्दै उनले विश्वभर कम्युनिष्ट आन्दोलन सिध्याउन खोज्दा सिद्धान्त तथा निष्ठाकै बलमा पार्टीलाई बलियो बनाइएको दाबी गरे । क्ष ओलीले पार्टीलाई सङ्ख्यात्मक रूपमा मात्र नभई गुणात्मक रूपमा मजबुत बनाउनुपर्नेमा जोड दिए ।

    “पार्टीमा वास्तविक सदस्यको मात्र नवीकरण हुनुपर्छ, गैरसदस्यको नवीकरण बन्द गरिनुपर्छ”, उहाँले भन्नुभयो । पदको पछाडि नदौडी देश र जनताका लागि त्याग तथा बलिदान गर्न तयार हुने भावना नै एमाले कार्यकर्ताको असली पहिचान भएको अध्यक्ष ओलीको भनाइ थियो । सो अवसरमा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईलगायत पार्टीका शीर्ष नेताहरूले आ–आफ्नो धारणा राखे ।

  • पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न

    पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको सम्मेलन सम्पन्न

    ललितपुर, ३१ साउनः पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशाङ्क कोइरालाको संयोजकत्वमा यही साउन २९ गतेदेखि काठमाडौँमा आयोजित तीनदिने सम्मेलनको समापनका अवसरमा आज सार्वजनिक गरिएको निष्कर्षअनुसार पहिलो बुँदामा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा १५औँ महाधिवेशन सम्पन्न गरिने निर्णय उल्लेख छ ।

    विसं २०३३ मा महामानव बिपी कोइरालाले देशमा विद्यमान राष्ट्रिय सङ्कटलाई ध्यानमा राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई ध्यानमा राखी देश फर्कुनुभएको स्मरण गर्दै आज देश अप्ठ्यारो स्थितिमा रहेको तथा राष्ट्रिय एवं लोकतन्त्रवादी शक्तिहरुसँग संवाद गरी राष्ट्रियता, लोकतन्त्रको सुदृढीकरणका लागि क्रियाशील रहने विषय दोस्रो बुँदामा उल्लेख गरिएको छ ।

    तेस्रो बुँदामा नेपालको सनातनदेखि चली आएको धर्म संस्कृति हाम्रो राष्ट्रिय पहिचान हो भन्दै नेपालमा रही आएको धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र हरेक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने धार्मिक स्वतन्त्रतालाई सुनिश्चितदेखि चलिआएको हिन्दू, बौद्ध, किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रुपमा राष्ट्रलाई अघि बढाउने प्रतिबद्धता गर्नेछ भनिएको छ ।

    वर्तमान संविधानमा जनअपेक्षा बमोजिम आवश्यक संशोधन गर्न संविधान भएको व्यवस्थाअनुसार नै सम्बन्धित सबैसँग संवाद गरी निकाश दिइने चौथो बुँदामा समेटिएको छ । आज सम्पन्न राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव र सुझावलाई समेटी परिमार्जनसहित पारित प्रस्तावलाई लिखित गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी, केन्द्रीय सदस्य सीता राना र सहयोगीमा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल रहेको समितिलाई जिम्मेवारी दिइने निष्कर्ष सम्मेलनले गरेको छ ।

    सम्मेलन समापनका अवसरमा पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवा, सम्मेलनका संयोजक डा शशाङ्क कोइरालालगायतका नेताहरुले सम्बोधन गरे ।

  • पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने

    रासस
    काठमाडौँ, ३१ साउनः सरकारले पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गर्ने भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज बसेको मनसुन प्रतिकार्य कमाण्ड पोष्टको बैठकले रोल्पाको थवाङ र सुनछहारी गाउँपालिका, बाजुराको त्रिवेणी नगरपालिका र जाजरकोटको भेरी नगरपालिकाका पहिरो प्रभावित क्षेत्रको प्रारम्भिक भौगर्भिक अध्ययन गर्ने निर्णय गरेको हो ।

    कमाण्ड पोष्टले प्राधिकरणको नेतृत्वमा सम्बन्धित निकायका प्रतिनिधि सहभागी अध्ययन टोली तीन दिनभित्र कार्यस्थलमा खटाउने निर्णय गरेको छ । उक्त टोलीमा जल तथा मौसम विज्ञान विभागका प्रतिनिधिसमेत सहभागी हुनेछन् ।

    मनसुनजन्य विपद्का कारण विभिन्न जिल्लामा जनधनको क्षति बढिरहेका बेला मनसुन प्रतिकार्य कमाण्ड पोष्टले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउन सम्बन्धित निकायलाई निर्देशन दिइएको प्राधिकरणले जनाएको छ । ती जिल्लामा पहिरोबाट भएको क्षतिप्रति गम्भीर चासो व्यक्त गर्दै प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन र उद्धार कार्यलाई तीव्रता दिन आग्रह गरिएको छ ।

    बैठकले विपद् संवेदनशील सामाजिक सुरक्षा तथा राहत वितरण मापदण्ड, २०८१ अनुसार प्रारम्भिक द्रुत लेखाजोखाका आधारमा प्रभावित परिवारलाई नगद वा वस्तुगत राहत, मृतक राहत तथा घाइतेको निःशुल्क उपचार उपलब्ध गराउन सम्बन्धित जिल्ला प्रशासन, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहलाई अनुरोध गरेको छ ।

    त्यस्तै, विपद्बाट क्षतिग्रस्त परिवारका लागि अस्थायी आवास निर्माण तथा निजी आवास प्रवलीकरण, पुनर्निर्माण र पुनःस्थापनाको अनुदान प्रक्रिया तत्काल अघि बढाउन पनि निर्देशन दिइएको छ । बैठकले पहिरो तथा बाढीका कारण अवरुद्ध भएका सडक, खानेपानी, सिँचाइलगायत अत्यावश्यक सेवा तत्काल मर्मत गरी सञ्चालनमा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

    त्यसैगरी नदी कटान तथा पहिरो नियन्त्रण, प्रभावित परिवारलाई स्वास्थ्योपचार र मनोसामाजिक परामर्श उपलब्ध गराउने तथा स्थानीय तहले पहिचान गरेका अन्य आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाउन भनिएको छ । देशका अधिकांश स्थानमा वर्षा भइरहेको र हिमाली तथा पहाडी क्षेत्रमा लगातारको वर्षाका कारण जमिन गलेर पहिरोको जोखिम थप बढेको भन्दै बैठकले सर्वसाधारणलाई मनसुन अवधिभर उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

    देशका विभिन्न स्थानमा बाढी, आकस्मिक बाढी, गेग्रान बहाव र डुबानको जोखिमसमेत रहेकाले सम्भावित जोखिमयुक्त क्षेत्रमा अनावश्यक यात्रा नगर्न तथा स्थानीय प्रशासन र सुरक्षा निकायको सूचना पालना गर्न आग्रह गरिएको छ ।

  • छोराको स्मरणमा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित

    छोराको स्मरणमा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित


    काठमाडौँ, ३१ साउनः लेखिका राधादेवी पाण्डेद्वारा लिखित शोक काव्य ‘सशांक’ लोकार्पित भएको छ । आज यहाँ आयोजित कार्यक्रममा समाजसेवी एवं साहित्यकारले पुत्रको सम्झनामा आमाद्वारा लिखित ‘शोक काव्य’ काव्य सार्वजनिक गरेकी हुन् । युवा अवस्थामै पुत्रको असामयिक निधनबाट व्याकुल आमाले लेखेको शोक काव्य पहिलो भएको साहित्यकार डा सत्यराज थपलियाले बताए । कार्यक्रममा साहित्यकार डा दामोदर पुडासैनीले काव्यमा आमा एवं दिदीका अनुभूति रहेका उल्लेख गर्दै साहित्य क्षेत्रमा प्रकाशित यस काव्य प्रेरणाको स्रोत भएको बताए । उनले भने, “कृतिमा आमाको सामर्थ्य लेखिएको छ, शोक काव्य लेख्नसक्ने आमालाई सम्मान छ ।”

    साहित्यकार डा रामचन्द्र अधिकारीले प्रकाशित कृति एक अमर कृतिका रूपमा साहित्य जगतमा रहने विश्वास व्यक्त गरे । उनले भने, “आमाको मातृत्व भाव काव्यमा झल्किन्छ, काव्यमा जीवन दर्शन पाइन्छ, यो सम्झनाको सङ्गालो हो ।” साहित्यकार डा शैलेन्दु प्रकाश नेपालले काव्यमार्फत आमाका आँसु अक्षरमा प्रवाहित भएको आफूले अनुभव गरेको टिप्पणी गरे । उनले भने, “अक्षरमा प्रवाहित भएको आँसुका धाराहरु अमर रहनेछन् । यो कृतिले नेपाली साहित्य ठूलो योगदान पुर्‍याउने छ ।”

    आफ्नो स्वर्गीय भाइको सम्झनामा आमाले तयार पारेको काव्यबारे दिदी मन्दिरा पाण्डेले सर्जक हुनु र आमा भएर सर्जक हुनु झनै चुनौतीको विषय भएको बताइन् । उनले भनिन्, “कविताका श्लोकहरू सिर्जना र कल्पना मात्र नभई हृदयबाट लेखिएका भावना हुन् । यसले संसारलाई चेतना प्रवाह गर्नेछ ।”

    कार्यक्रममा समाजसेवी बाबुकाजी पाठकले राधादेवीद्वा लिखित कृति समाज र साहित्य जगतका लागि अमर र महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे । शोक काव्यका मुख्य पात्र सशांककी आमा राधादेवीले गर्भावस्थादेखि बाँचुन्जेलसम्म आफ्नो पुत्र एक असल साथी रहेको स्मरण गर्दै काव्यमार्फत सबैका लागि साझा गर्न चाहेको प्रष्ट्याइन् । प्रकाशित कृतिमा उनले १०३ श्लोकमार्फत छोरा सशांकको स्मरण गरेकी थिन् । पिता शम्भुप्रसाद पाण्डे, दिदीहरू मन्दिरा, मनिला र मनसा पाण्डेले पुस्तक प्रकाशनमा ल्याएका हुन् । विसं २०५३ मा जन्मिएका सशांकको मृत्यु २६ वर्षको उमेरमा मृत्यु भएको थियो ।

  • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

    न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा

    काठमाडौँ, ३१ साउनः नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको न्यायालयले आफूलाई विगतदेखि नै न्याय दिँदै आएको उल्लेख गर्दै न्यायालयप्रति पूर्ण विश्वास रहेको बताएका छन् । कांग्रेसको संस्थापन पक्ष इतरको तीन दिने राष्ट्रिय भेला समापनका अवसरमा आज उनले पञ्चायतकालदेखिनै आफू र आफ्नो पार्टीलाई न्यायालयले न्याय दिएको बताए । “विगतमा मलाई राजाले थुन्दा पनि न्यायालयले शाही आयोग खारेज गरेको हो ।

    अहिले पनि हाम्रो पार्टीको आधिकारितासम्बन्धी विषय सर्वोच्च अदालतमा छ, न्याय पाइने अपेक्षा गरेका छौँ”, पूर्वप्रधानमन्त्री देउवाले भने । उनले विशेष महाधिवेशनले पार्टीमा विभाजन ल्याउने भन्दै आफूले त्यस्तो नगर्न आग्रह गरेको स्मरण गराए ।
    फरक प्रसङ्गमा पूर्वप्रधानमन्त्री देउवाले आफू हिन्दू धर्मावलम्बी भएको र हिन्दू संस्कार मान्दै आएको उल्लेख गर्दै कसैलाई पनि हिन्दू धर्म मान्नबाट बञ्चित गर्न नपाइने जिकिर गरे ।

    उनले भने, “बुुद्ध धर्मप्रति पनि मेरो उत्तिकै श्रद्धा छ । अन्य धर्मावलम्बी र प्राकृतिक धर्म मान्ने सबैप्रति मेरो सम्मान छ ।” पूर्वप्रधानमन्त्री देउवाले पार्टीका नेताकार्यकर्ताको ठूलो साथ र सद्भाव पाएको उल्लेख गर्दै त्यसलाई कहिल्यै नबिर्सने बताए । उनी स्वास्थ्य उपचार सकेर पाँच महिनापछि बिहीबार मात्रै स्वदेश फर्किएका थिए ।


    पार्टीका पूर्वमहामन्त्री एवं भेलाका संयोजक डा शशाङ्क कोइरालाले पार्टीलाई एकताबद्ध बनाउन सम्मेलन गरिएको बताउँदै यही सम्मेलनका कारण सबै नेताकार्यकर्ताबीच भेट भएको उल्लेख गरे । उनले सम्मेलनले विभिन्न पाँच प्रतिवेदन पारित गरेको भन्दै धन्यवाद दिए । सम्मेलनले पार्टीको आगामी १५औँ महाविधेशन तयारी, सनातन धर्म मान्न पाउने स्वतन्त्रतासम्बन्धी, संविधानमा समसामयिक संशोधनलगायत विभिन्न प्रस्तावसमेत पारित गरेको छ ।

    शुक्रबारदेखि यहाँ सुरु भएको तीनदिने भेलामा शनिबार पार्टीका शीर्ष नेताहरु विमलेन्द्र निधिले राजनीतिक, डा प्रकाशशरण महतले आर्थिक, एनपी साउदले समसामयिक, रमेश लेखकले कानुन तथा विधान र उमाकान्त चौधरीले साङ्गठनिकसम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । यसैगरी, शनिबार भेलालाई विधानअनुसार बनाउन सम्मेलनमा परिणत गरिएको थियो । प्रचार–प्रसार समिति संयोजक मीन विश्वकर्माका अनुसार सबै प्रतिवेदनमाथि प्रदेशगत रुपमा छलफल भई प्रदेशगत धारणा र प्रस्तुतिपछि सम्मेलन आज समापन गरिएको हो ।

    कांग्रेसको गत पुस २७ देखि ३० गतेसम्म भएको विशेष महाधिवेशनले तत्कालीन महामन्त्री गगनकुमार थापालाई सभापतिमा चयन गर्दै नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो । विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षले विशेष महाधिवेशन अवैध भन्दै निर्वाचन आयोगमा उजुरी दिएको थियो ।

    आयोगले विशेष महाधिवेशनबाट निर्वाचित समितिलाई मान्यता दिएपछि असन्तुष्ट पक्ष सर्वोच्च अदालत पुगेको थियो । सर्वोच्च अदालतले पनि आयोगको निर्णयलाई नै मान्यता दिएको थियो । त्यसपछि भने असन्तुष्ट पक्षले पुनरावलोकनका लागि दिएको आधिकारिताको निवेदनमाथि पुनः सुनुवाइ गर्दै सर्वोच्च अदालतको पूर्ण इजलासले यही साउन २१ गते निस्सा दिएको छ ।

  • बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त

    बाढीपहिरोबाट भएको जनधनको क्षतिप्रति एमालेद्वारा दुःख व्यक्त


    काठमाडौँ, ३१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले अविरल वर्षाका कारण पछिल्ला दिनमा देशका विभिन्न भागमा बाढी, पहिरो तथा सडक अवरोधबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ । एमालेका केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख नीरज आचार्यद्वारा आज जारी विज्ञप्तिमा प्राकृतिक विपद्मा परी ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ । साथै, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

    पछिल्लो समय जाजरकोट, रोल्पा, बाजुरा, कास्कीलगायत जिल्लामा बाढी, पहिरो तथा सडक अवरोधका कारण मानवीय तथा भौतिक क्षति हुनाका साथै सडक अवरुद्ध हुँदा सर्वसाधारणको आवागमनसमेत प्रभावित भएको छ । विज्ञप्तिमा एमालेले बाढीपहिरोमा बेपत्ता भएकाहरूको खोजी, पीडितको उद्धार तथा राहत वितरण र अवरुद्ध सडक सञ्चालनको कार्यलाई तीव्रता दिन सरकारको ध्यानाकर्षण गराएको छ । साथै, उद्धार, राहत तथा सडक सञ्चालनलगायत कार्यमा स्थानीय तह र सुरक्षाकर्मीसँग समन्वय गरी जुट्न पार्टीका स्थानीय कमिटी तथा कार्यकर्तालाई एमाले आह्वान गरेको छ ।

  • बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

    बलिउड अभिनेत्री पूजा चोपडाद्वारा पशुपतिनाथको दर्शन

    काठमाडौँ, ३१ साउनः बलिउड अभिनेत्री पूजा चोपडाले आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गरेकी छिन् । उनले रु दुई हजार १०० को रसिद काटी पशुपतिनाथ मन्दिरमा विशेष पूजा, आराधना एवं दर्शन गर्नुभएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । अभिनेत्री चोपडासहित आज २३५ जनाले विशेष पूजाको रसिद काटेर मन्दिरमा पूजा, आराधना एवं दर्शन गरेका कोषका पुरातत्व अधिकृत सुशीलकुमार गौतमले राससलाई जानकारी दिए ।

    सौरमास अनुसार आज साउनको अन्तिम दिन भएकाले बिहानैदेखि मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । सार्वजनिक बिदा पनि परेकाले साउनको अन्तिम दिन धेरै भक्तजन आराध्यदेव भगवान् पशुपतिनाथको दर्शनमा यहाँ आएका हुन् । अभिनेत्री चोपडा पनि साउन महिना पारेर पशुपतिनाथको पूजा, आराधना र दर्शन गर्न नेपाल आएकी हुन् । गत हप्ता बलिउड अभिनेत्री शिल्पा सेट्टीले पनि पशुपतिनाथ मन्दिरमा रसिद काटेर विशेष पूजा, आराधना र दर्शन गरेकी थिइन् ।

  • विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

    काठमाडौँ, ३१ साउनः विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी पाएसँगै प्रक्रिया सुरु गरेको छ । आयोगले पहिलो चरणमा करिब ३० जनाको समकक्षता निर्धारण गरेको छ ।

    यसअघि त्रिभुवन विश्वविद्यालयले गर्दै आएको समकक्षता निर्धारणको जिम्मेवारी सरकारले विश्वविद्यालय अनुदान आयोगलाई दिएपछि आयोगले काम सुरु गरेको हो । आयोगका नवनियुक्त अध्यक्ष प्राडा खड्गबहादुर केसीले आफूले साउन २२ गते पदबहाली गरेको र साउन २५ गतेदेखि समकक्षता निर्धारणसम्बन्धी निर्णय गर्न थालिएको बताए ।


    उनका अनुसार हाल त्रिभुवन विश्वविद्यालयकै समकक्षता निर्धारण कार्यविधिअनुसार काम भइरहेको छ भने आयोगको नयाँ कार्यविधि स्वीकृतिको चरणमा छ। विज्ञ जनशक्ति अभाव भएपछि आयोगले त्रिभुवन विश्वविद्यालयबाट कर्मचारी काजमा ल्याएर समकक्षता निर्धारण गरिरहेको छ । आयोगका सदस्य पदहरू रिक्त रहेकाले ती पदमा नियुक्ति भएपछि नयाँ कार्यविधिले पूर्णता पाउने अध्यक्ष केसीले बताए । प्रस्तावित कार्यविधिमा आयोगका सचिवको अध्यक्षतामा समकक्षता निर्धारण समिति गठनको व्यवस्था गरिएको छ ।

    आयोगले साउन १ गतेदेखि समकक्षताका लागि अनलाइन माध्यमबाट आवेदन दिन खुला गरेको थियो। यसअघि उच्च शिक्षाको समकक्षता निर्धारणको काम त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षको कार्यालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रले गर्दै आएको थियो। सरकारले ‘केही नेपाल ऐन संशोधन गर्न बनेको ऐन, २०८२’ मार्फत ‘विश्वविद्यालय अनुदान आयोग ऐन, २०५०’ संशोधन गरी विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट प्रदान गरिने शैक्षिक उपाधिको समकक्षता निर्धारण गर्ने अधिकार आयोगलाई दिएको हो।

    शिक्षा तथा खेलकुद मन्त्रालयका उच्चाधिकारीका अनुसार नयाँ व्यवस्थाले विदेशी विश्वविद्यालयबाट उच्च शिक्षा हासिल गरेका विद्यार्थी तथा नेपालका विभिन्न विश्वविद्यालयबाट प्राप्त उपाधिको समकक्षता निर्धारणलाई एउटै केन्द्रीय निकायबाट व्यवस्थित गर्ने आधार तयार गरेको छ । संशोधित कानुनले आयोगलाई क्रेडिट ट्रान्सफर तथा विश्वविद्यालयको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए)सम्बन्धी काम गर्ने अधिकार प्रत्यायोजन गरिएको छ । त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम विकास केन्द्रबाट यसअघि जारी भएका समकक्षता प्रमाणपत्र भने नयाँ व्यवस्थाका कारण पुनः समकक्षता गराउनुपर्दैैन ।

  • विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ

    काठमाडौँ, ३१ साउनः नियमित गस्तीमा रहेको प्रहरी टोलीले कास्की, मोरङ, सुनसरी, बर्दिया, धनुषा, झापा, ललितपुर, कैलाली, तनहुँ र उदयपुरका विभिन्न स्थानबाट टापेन्टाडोल, ब्राउनसुगर, गाँजा, खैरो हेरोइन, ट्रामाडोल, पोलेन र प्रेगाब्लिनलगायत लागुऔषधसहित २५ जनालाई पक्राउ गरेको छ ।केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार कास्कीको पोखरा महानगरपालिका–१ सिम्पानीबाट टापेन्टाडोल दुई सय २० ट्याब्लेटसहित सन्दिप गुरुङसहित पाँच जना पक्राउ परेका छन् । अनुसन्धानका क्रममा पोखरा–२५ हेम्जास्थित डेराबाट टापेन्टाडोल आठ सय ट्याब्लेटसहित २१ वर्षीय लुकास तामाङ पक्राउ पनि परेका छन् ।

    मोरङमा तीन जनालाई पक्राउ गरिएको छ । सुन्दरहरैँचा नगरपालिका–५ खोक्सीबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ तीन सय ९० मिलिग्रामसहित २२ वर्षीय प्रसान्त मगर, लेटाङ–३ विरनटोलबाट गाँजा करिब एक सय ग्रामसहित १८ वर्षीय किशोर र कानेपोखरी गाउँपालिका–६ नर्सरी डाँडाबाट ब्राउनसुगर जस्तो देखिने पदार्थ दुई ग्राम पाँच सय मिलिग्रामसहित २४ वर्षीय निमेस घिमिरे पक्राउ परेका छन् ।

    सुनसरीको इटहरी–१० शिवनारायण टोलबाट खैरो हेरोइन जस्तो देखिने पदार्थ पाँच ग्राम आठ सय ५० मिलिग्रामसहित मोहन गुरुङसहित तीन जना पक्राउ परेका छन् । बर्दियाको बढैयाताल–२ बाट खैरो हेरोइन करिब तीन सय ४९ ग्राम तीन सय ६० मिलिग्रामसहित ५२ वर्षीय दिवे सुनार र धनुषाको विदेह–८ बफैबाट ३९ ग्राम तीन सय ६० मिलिग्रामसहित २८ वर्षीय उमेश मण्डल पक्राउ परेका छन् ।

    यसैगरी, झापाको बिर्तामोड–३ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ चार सय ९० मिलिग्रामसहित ४० वर्षीय सन्तोष राजवंशी पक्राउ परेका छन् ।ललितपुरमा दुई घटनामा तीन जना पक्राउ परेका छन् । ललितपुर महानगरपालिका–२९ हरिसिद्धी गुमथचोकबाट ट्रामाडोल ६० ट्याब्लेट र पोलेन चार ग्रामसहित सुरज तामाङसहित दुई जना तथा महालक्ष्मी–३ इमाडोलबाट टापेन्टाडोल सात सय १० र प्रेगाब्लिन २४ ट्याब्लेटसहित २९ वर्षीय खगेन्द्रबहादुर राउत पक्राउ परेका छन् ।

    कैलालीको धनगढी–८ बाट ब्राउनसुगर जस्तो देखिने पदार्थ एक ग्राम एक सय ३० मिलिग्रामसहित क्रिस बमसहित चार जना, तनहुँको व्यास–९ माझफाँटबाट गाँजा करिब एक किलो पाँच सय ५० ग्रामसहित मनोज थापासहित दुई जना र उदयपुरको कटारी–३ बाट टापेन्टाडोल ६१ ट्याब्लेटसहित सलम खानसहित दुई जना पक्राउ परेका हुन् । उनीहरूलाई गत शुक्रबार र हिजो शनिबार पक्राउ गरिएको हो ।

  • जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

    जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई जना बेपत्ता

    काठमाडौँ, ३१ साउनः अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने अन्य दुई जना हराइरहेका छन् । पहिरोमा परी घाइते भएका सोही नगरपालिका–२ साल्धाराका ५२ वर्षीय केदार कार्कीको उपचारको क्रममा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको छ । बेपत्ता चार जनामध्ये सोही ठाउँकी ५४ वर्षीया उमासिंह खत्री र ८३ वर्षीया रति खत्रीको शव फेला परेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता शैलेन्द्र थापाले राससलाई जानकारी दिए । सोही नगरपालिकाको चिसापानीका ७० वर्षीय भमीबहादुर कार्की र गैरीगाउँका १४ वर्षीय हरिस विकको अवस्था अज्ञात छ ।

    उक्त पहिरोमा पुरिएका ६२ वर्षीय रामबहादुर शाही, ४५ वर्षीय सिद्धिबहादुर कामी, ५८ वर्षीया कमला कार्की, २३ वर्षीया अनिता कार्की, १० वर्षीय युनिस शाही, ४५ वर्षीया सुन्तली चदरा र ६१ वर्षीया भद्रकला कार्की घाइते भएका छन् । घाइतेमध्ये रामबहादुर र भद्रकलाको अवस्था गम्भीर छ । उनीहरूलाई उपचारका लागि नेपालगञ्ज र सुर्खेत पठाइएको छ । पहिरोमा बेपत्ता भएकाको खोजी गर्न नेपाली सेनासहित सशस्त्र प्रहरी निरीक्षक कमल कार्कीको नेतृत्वमा विपद् व्यवस्थापन तालिम प्राप्त सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोली आज बिहानै त्यसतर्फ परिचालन भएका छन् । उक्त पहिरोबाट आठ घरमा क्षति भएको छ ।

  • इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

    इन्डोनेसिया भूकम्पः सरकारद्वारा दुःख व्यक्त

    काठमाडौँ, ३१ साउनःपरराष्ट्रमन्त्री शिशिर खनालले इन्डोनेसियाको फ्लोरेस द्वीपमा भएको भूकम्पबाट जनधनको क्षति भएकामा गहिरो दुःख व्यक्त गरेका छन् । भूकम्पको विनाश भोगिसकेको नेपालले प्राकृतिक विपद्का पीडा र दुःखलाई बुझेको बताउँदै सामाजिक सञ्जालमार्फत मन्त्री खनालले नेपाल सरकार तथा नेपाली जनताका तर्फबाट इन्डोनेसिया सरकार र त्यहाँका जनताप्रति ऐक्यबद्धता तथा सहानुभूति व्यक्त गरेका छन् ।

    “नेपाल सरकार तथा नेपाली जनताले भूकम्पमा परी ज्यान गुमाएकाहरूका शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्,” भूकम्पबाट प्रभावित, बेपत्ता तथा विस्थापित सबैको सुरक्षा, उद्धार तथा राहतका साथै शीघ्र पुनःस्थापनाको कामना गर्दै उनले लेखेका छन् ।

  • अफगानिस्तानः तालिबान सत्ता पुनरागमनका पाँच बर्ष

    अफगानिस्तानः तालिबान सत्ता पुनरागमनका पाँच बर्ष

    काबुल, ३१ साउन (रासस–सिन्ह्वा) । अफगानिस्तानको तालिबान समूहले देशमा अमेरिकी नेतृत्वको गठबन्धन सेनाको कहिर्गमनपछि सत्तामा फर्किएको पाँचौं वार्षिकोत्सव कडा सुरक्षा व्यवस्थाबीच मनाएको छ। अफगानिस्तानी तालिवान समूहले यो दिनलाई ‘विजय दिवस’ का रूपमा मनाएको छ । सत्तामा पुनरागमनको पाँच बर्षमा भएका प्रदर्शनमा नागरिक, कर्मचारी तथा सुरक्षाकर्मीहरूका समूहले सेता झण्डा हातमा लिएर काबुलका सडकहरूमा प्रदर्शन गरेका छन् ।

    यो दिनको महत्व उजागर गर्न अधिकारीहरूको ठूलो भेला आयोजना गरिएको छ भने सरकारले काबुल शहरका केही भागमा हेलिकोप्टरमार्फत पुष्पवृष्टि गरेको थियो भने देशभर विविध कार्यक्रम गरिएको थियो । अफगान तालिबानले अमेरिकी नेतृत्वको गठबन्धन सेनाविरुद्ध वर्षौंको युद्धपछि सन् २०२१ १५ अगस्टमा सत्ता हातमा लिएको थियो। अन्तिम अमेरिकी सैनिक सन् २०२१ अगस्टको अन्त्यमा देश छाडेर गएका थिए।

    यो दिन अफगानिस्तानमा सार्वजनिक बिदा दिने गरिएको छ । यसैबीच, विजय दिवसको उपलक्ष्यमा काबुल र अन्य शहरहरूमा खेल प्रतियोगितालगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिएका छन्।

  • इन्डोनेसिया भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी

    इन्डोनेसिया भूकम्प अपडेट : मृत्यु हुनेको सङ्ख्या ३८ पुग्यो, भग्नावशेषमा फसेकाहरूको खोजी जारी

    माउमेरे, इन्डोनेसिया, ३१ साउन (रासस–एएफपी) । इन्डोनेसियाको फ्लोरेस टापु नजिक शनिबार शक्तिशाली भूकम्प गएपछि उद्धारकर्मीहरूले भग्नावशेषमा बाँचेकाहरूको खोजी गरिरहेका छन् । प्राकृतिक प्रकोप व्यवस्थापन अधिकारीका अनुसार भूकम्पका कारण कम्तीमा ३८ जनाको मृत्यु भएको छ । इन्डोनेसियाको राष्ट्रिय प्रकोप न्यूनीकरण निकायका प्रमुख सुहार्यान्तोले भूकम्पमा परेका १३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको तीमध्ये दुई जनाको स्वास्थ्य गम्भीर अवस्थामा रहेको बताउनुभएको छ ।

    “धेरै भवनहरूका भग्नावशेषमा पीडितहरू फसेका छन्,” सुहार्यान्तोले बताउनुभयो । “प्रकोप व्यवस्थापन टोलीको पहिलो प्रयास भग्नावशेषमा फसेका जीवित मानिसहरूको उद्धारका लागि प्रारम्भिक लक्ष्य हुनेछन्,” उहाँले पत्रकार सम्मेलनमा भन्नुभयो । उद्धार कार्यमा सहयोग गर्न दुई हेलिकोप्टर र एक विमान तयारी अवस्थामा राखिएका छन् । युरोपेली सङ्घकी प्रमुख उर्सुला भोन डेर लेयेनले समूहको ‘कोपर्निकस अर्थ अब्जर्भेसन स्याटेलाइट’हरूबाट सहयोगको प्रस्ताव गर्नुभएको छ।

    उहाँले एक्समा लेख्नुभयो, “युरोपले खोज तथा उद्धार प्रयासमा सहयोगका लागि हाम्रो आकाशको आँखा ९कोपर्निकस० तैनाथ गर्न तयार छ । इन्डोनेसिया र यहाँका जनता यस विपतको घडीमा भूकम्प प्रभावित इन्डोशियासँग छन् ।” इन्डोनेसियाको पूर्वी भागमा रहेको लोकप्रिय पर्यटकीय टापुमा शनिबार बिहान ७।७ म्याग्निच्युडको भूकम्प जाँदा दर्जनौं घर र अन्य भवनहरू क्षतिग्रस्त भएका थिए ।

    सुहार्यान्तोले भूकम्पपछि करिब दुई हजार जनालाई स्थानान्तरण गरेको बताउनुभयो । “मैले यति ठूलो भूकम्प कहिल्यै अनुभव गरेको थिइनँ,” केन्द्रविन्दुबाट १०० किलोमिटरभन्दा बढी पश्चिममा रहेको रुटेङ सहरमा बस्ने युलियन जुइता एकालियाले एएफपीसँग टेलिफोनमा भन्नुभयो । “बाहिर निस्कन दौडँदा घरभित्रका सबै कुरा तल झरेः टेलिभिजन, छोराका ट्रफीहरू, भाँडाका र्याकहरू, वार्डरोबमाथि राखिएका सुटकेसहरू। बाहिर पुग्दा मेरो छोरा र छिमेकीहरू त्यहाँ थिए, डरले चिच्याइरहेका।”

    उद्धार अधिकारी फाथुर रहमानले एएफपीलाई भन्नुभयो, “ध्यान अहिले भग्नामवशेषमा फसेका पीडितहरू फेला पार्न केन्द्रित छ, तर पहिरोले सडक अवरुद्ध भएकाले उद्धार कार्य जटिल बनेको छ।” केन्द्रविन्दु नजिकको नागेकेओ क्षेत्रका बासिन्दाहरू शनिबार बिहान समुद्रमा सुनामी आउने चेतावनीपछि सुरक्षित स्थानतर्फ गएका थिए तर अब त्यहाँ सुनामीको डर हटिसकेको छ। सुनामी चेतावनी हटाइए पनि अधिकारीहरूले मानिसहरूलाई पराकम्पनले क्षतिग्रस्थ भवनहरू ढल्न सक्ने चेतावनी दिँदै तत्काल सुरक्षित स्थलमा रहन आग्रह गरेका छन् ।

    इन्डोनेसिया प्यासिफिक ‘रिङग अफ फायर’ मा अवस्थित भएकाले बारम्बार भूकम्पको सामना गर्छ। यो जापानदेखि दक्षिणपूर्वी एसिया हुँदै प्यासिफिक बेसिनसम्म फैलिएको तीव्र भूकम्पीय गतिविधि भएको क्षेत्र हो। फ्लोरेसमा सन् १९९२ मा ७।७ म्याग्निच्युडको भूकम्प गएको थियो, जसले सुनामी निम्त्याएको थियो र करिब दुई हजार ५०० जनाको मृत्यु भएको थियो ।

    सन् २००४ मा सुमात्राको तटबाट गएको विनाशकारी ९।१ म्याग्निच्युडको भूकम्पले सुनामी निम्त्याएको थियो, जसले क्षेत्रभरि दुई लाख २० हजार जनाको मृत्यु गराएको थियो। तीमध्ये करिब एक लाख ७० हजार जना इन्डोनेसियामा थिए। यो अभिलेखित इतिहासका सबैभन्दा घातक प्राकृतिक प्रकोपहरूमध्ये एक हो ।

  • इजीजेटका क्याबिन क्रूहरुको आन्दोलनका कारण, सयभन्दा बढी फ्रान्सेली उडान रद्द

    इजीजेटका क्याबिन क्रूहरुको आन्दोलनका कारण, सयभन्दा बढी फ्रान्सेली उडान रद्द


    पेरिस (फ्रान्स), ३१ साउन (रासस–एएफपी) । उडान तालिकामा बारम्बार परिवर्तन भएको विषयमा आक्रोशित बनेका क्याबिन–क्रु (चालक दलका सदस्यहरु) ले गरेको आन्दोलनका कारण बेलायती एयरलायन्स (इजीजेट)ले शनिबार र आइतबार फ्रान्सेली विमानस्थलहरूबाट करिब १०० भन्दा बढी उडानहरू रद्द गरेको जनाएको छ ।

    बेलायती एयरलायन्स कम्पनीअन्तरगत फ्रान्सका लागि हुने उडानहरुमा ९०० जना क्याबिन क्रुहरु रहेको इजीजेटले जनाइएको छ । उनीहरु मध्य लगभग आधा आन्दोलनमा सहभगी हुने जनाउँदै यसको कारण पेरिसका निस, बोर्डो र लियोन एयरपोर्ट अधिकाशं उडानहरू प्रभावित हुने बताइएको छ ।

    फ्रान्स बेलायती एयरलाइन्सको लागि एक प्रमुख बजार हो, जुन केहि समय अगाडि मात्र अमेरिकी निजी व्यापारिक कम्पनी अपोलोले सात अर्व ७० करोडको सम्झौतामा लिएको थियो । फ्रान्समा यसको यात्रु सङ्ख्या एयर फ्रान्सपछि दोस्रो स्थानमा रहेको जनाइएको । अधिकांश उडानहरू शुक्रबार पनि रद्द गरियो जनाउँदै कम्पनीले यात्रुहरूलाई वैकल्पिक मार्गहरू खोज्न मद्दत गरेको पनि बताएको छ । ‘एसएनपिएनसी–एफओ’ सङ्गठनका प्रतितिधि विलियम बोर्डनले क्याबिन क्रूहरुले आफ्नो काममा स्थिरता चाहेको बताउँदै गन्तव्यहरूमा एक हप्ताको समयमा ५०–६० पटक सम्म परिवर्तन भएको बताउनु भएको छ ।

    वार्तामा सहभागी भएका सम्बन्धित सङ्गठनका सदस्यहरुले अगस्ट –७ देखि सेप्टेम्बर –२ सम्मका लागि आन्दोलनको चेतावनी दिएका छन् । इजीजेटले कर्मचारीहरूलाई यस्तो व्यस्त समयमा आन्दोदन बन्द गर्न आग्रह गर्दै यसले कर्मचारीहरूको स्थिरता कायम गर्ने प्रस्तावसहित सेप्टेम्बरमा वार्ताको योजना बनाएको बताएको छ । यसअघि गत अप्रिलमा भएको अघिल्लो आन्दोलनले पनि उडान प्रभावित बनाएको जनाइएको छ ।

  • लेबनानमा इजरायली आक्रमण, सात जनाको मृत्यु

    लेबनानमा इजरायली आक्रमण, सात जनाको मृत्यु

    बेरुत (लेबनान), ३१ साउनः (रासस–एएफपी) । दक्षिणी लेबनानमा शनिबार भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु भएको लेबनानी मिडियाले जनाएको छ । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) ले शनिबार अन्सार गाउँको बाहिरी भागमा इजरायली लडाकु विमानले आवासीय घरमा गरेको आक्रमणमा सात जनाको मृत्यु हुनुका सथै अन्य तीन जना घाइते भएको रिपोर्ट गर्दै इजरायलले दक्षिणमा आफ्नो आक्रमण बढाएको बताएको छ ।

    आक्रमणले एउटा घर ध्वस्त पारेको र आपतकालीन उद्धारकर्ताहरूले भग्नावशेषबाट निकालेर घाइतेहरूलाई अस्पताल लगिरहेको एजेन्सीले रिपोर्ट गरेको छ । यस अघि हेजबुल्लाहले लेबनानलाई आफ्नो समर्थक इरानको समर्थनमा इजरायलमा रकेट प्रहार गरेर मार्चमा मध्य पूर्व युद्धमा तानेको थियो । जसको इजरायलले भारी हवाई तथा मिसाएल आक्रमणको साथ प्रतिक्रिया दिँदा चार हजार ३०० भन्दा बढी मानिसहको मृत्यु भएको लेबनानी अधिकारीहरूले बताएका छन् ।

    मध्यपूर्व युद्धमा गत जुनमा अमेरिका–इरान समझदारी पत्रमा हस्ताक्षर भएसँगै लेबनान र इजरायलबीच अमेरिकी मध्यस्थतामा सम्झौता सफल भएपछि द्वन्द्व उल्लेखनीय रूपमा घटेको जनाइएको छ । यद्यपि लेबनानले अझै पनि इजरायली आक्रमणले कहिलेकाहीँ हताहत हुने गरेको र दक्षिणी गाउँ र सहरहरूमा नागरिक सम्पतीकोको व्यापक विध्वंसको रिपोर्ट गरिरहेको छ ।

    एनएनएले अन्सार र जरारियाह बीचको उपत्यकामा पनि आक्रमण भएको जनाएको छ । इजरायली लडाकु विमानहरूले नबातीह क्षेत्रलाई रणनीतिक पाहाड अली अल–ताहेर रिजलाई लक्षित गरी शृङ्खलाबद्ध हवाई आक्रमण गरेको रिपोर्ट गरिएको छ । इजरायली सेनाले सीमा नजिकैको बिन्ट जेबिल सहरका घरहरूमा विस्फोट गरेको समाचार एजेन्सीले जनाएको छ ।

    इजरायल–लेबनान सम्झौतामा हेजबुल्लाहको निः शस्त्रीकरण, दक्षिण लेबनानबाट इजरायली सेनाको क्रमिक फिर्ती लगायतका विषय समावेश गरिएको छ । हिजबुल्लाहका प्रमुख नईम कासिमले शुक्रबार लेबनानी अधिकारीहरूलाई सम्झौता कार्यान्वयन गरेर देशको सशस्त्र सेनालाई अनावश्यक दबाबमा पारेको आरोप लगाएको जनाइएको छ । मानवअधिकार बादीहरुले संयुक्त राष्ट्रसङ्घलाई लेबनानको शान्ति रक्षकहरूको जनादेश यस वर्षका लागि समाप्त भएपछि अन्तरराष्ट्रिय नेतृत्व कायम राख्न आग्रह गरेका छन् ।

  • भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    भारतमा युवालाई लक्षित गर्दै मोदीद्वारा निःशुल्क कोचिङ र एआई तालिमको घोषणा

    नयाँदिल्ली, ३१ साउन (रासस–एएफपी) । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्ने युवाका लागि निःशुल्क अनलाइन कोचिङ कक्षा सञ्चालन गर्ने घोषणा गर्नुभएको छ । युवाको नेतृत्वमा भएको व्यापक विरोध प्रदर्शनपछि शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिएको केही सातापछि मोदीले यस्तो घोषणा गर्नुभएको हो ।

    भारतको स्वतन्त्रता दिवसका अवसरमा शनिबार नयाँदिल्लीस्थित लालकिल्लाबाट सम्बोधन गर्दै मोदीले निःशुल्क कोचिङले विद्यार्थी र उनीहरूका परिवारमाथिको आर्थिक बोझ कम गर्ने बताउनुभयो । “हामीले युवाका लागि विभिन्न प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्न निःशुल्क अनलाइन कोचिङ उपलब्ध गराउने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो ।

    मोदीका अनुसार डिजिटल सार्वजनिक पूर्वाधार र दक्ष शिक्षक तथा शिक्षाविद्को उपयोग गरी यस्तो कक्षा सञ्चालन गरिनेछ । भारतमा चिकित्सा प्रवेश परीक्षासहित विभिन्न प्रतिस्पर्धात्मक परीक्षामा प्रश्नपत्र चुहावट तथा भर्नासम्बन्धी अनियमितताको विरोधमा पछिल्लो समय विद्यार्थीले प्रदर्शन गर्दै आएका थिए । ती प्रदर्शन गत महिना शिक्षामन्त्री प्रधानको राजीनामापछि टुङ्गिएका थिए ।


    प्रदर्शनले रोजगारी तथा शैक्षिक अवसरमा पहुँचलाई लिएर भारतीय युवामा रहेको असन्तुष्टि र प्रतिस्पर्धात्मक शिक्षा प्रणालीको चर्को दबाबलाई उजागर गरेको थियो । भारतमा सरकारी कलेजमा प्रवेशलाई आर्थिक सुरक्षाको महत्वपूर्ण माध्यम मानिने भएकाले विद्यार्थीहरू वषौँसम्म प्रवेश परीक्षाको तयारी गर्ने गरेका छन् । यसका कारण निजी कोचिङ उद्योग पनि तीव्र रूपमा विस्तार भएको छ । कोचिङको खर्चले विद्यार्थीका परिवारमाथि ठूलो आर्थिक भार पर्ने गरेको छ ।


    मोदीले निःशुल्क अनलाइन कक्षाले विशेषगरी गरिब र मध्यमवर्गीय परिवारलाई राहत पुग्ने बताउनुभयो । विद्यार्थीलाई परिवारबाट टाढा गएर महँगो कोचिङ लिनुपर्ने बाध्यता पनि कम हुने उहाँको भनाइ थियो । मोदीले आगामी एक वर्षभित्र एक करोड युवालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धी सीपको तालिम दिने योजना घोषणा गर्नुभएको छ । हामीले आगामी एक वर्षभित्र एक करोड युवालाई एआई सीपको तालिम दिने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो ।


    विद्यार्थी आन्दोलनपछि सरकारले युवालाई लक्षित गर्दै विभिन्न कदम अघि बढाएको छ । संसदले पनि परीक्षाको प्रश्नपत्र चुहावट गर्नेलाई हुने सजाय बढाएको छ । आलोचकहरूले सन् २०१४ मा मोदी सरकार सत्तामा आएयता पछिल्ला विद्यार्थी प्रदर्शनलाई सरकारसामु देखिएको महत्वपूर्ण चुनौतीमध्ये एकका रूपमा व्याख्या गरेका छन् ।

  • दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

    दक्षिण कोरियाली राष्ट्रपतिद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव


    सियोल, ३१ साउन (रासस–एएफपी) । दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य गर्ने उद्देश्यले उत्तर कोरियासँग वार्ताका लागि प्रस्ताव गर्नुभएको छ । उत्तर कोरियाले आफूलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्दै रुससँगको सैन्य सम्बन्ध विस्तार गरिरहेका बेला राष्ट्रपतिको यस्तो प्रस्ताव आएको हो । दुई कोरिया प्राविधिक रूपमा अझै युद्धकै अवस्थामा छन् । सन् १९५०–५३ को कोरियाली युद्ध शान्ति सम्झौतामार्फत नभई युद्धविरामबाट अन्त्य भएको थियो ।


    जापानी औपनिवेशिक शासनबाट कोरिया मुक्त भएको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति लीले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गर्नुभएको हो । “आउनुहोस्, एक–अर्कालाई धम्की दिने मनसाय त्यागौँ र युद्धमा प्रत्यक्ष सङ्लग्न पक्षका रूपमा लामो समयदेखि चलिरहेको युद्ध अन्त्य गर्न वार्ता सुरु गरौँ,” लीले भन्नुभयो । उहाँले वार्ताका माध्यमबाट उत्तर कोरियाको आणविक क्षमता विस्तार रोक्ने प्रभावकारी उपायबारे समेत छलफल गर्न सकिने बताउनुभयो ।


    राष्ट्रपति लीको प्रस्ताव उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाबीच हुन लागेको वार्षिक संयुक्त सैन्य अभ्यासको विरोध गरिरहेका बेला आएको हो । प्योङयाङले अभ्यासलाई आक्रमणको तयारी भन्दै त्यसविरुद्ध थप सशक्त प्रतिरोधात्मक कदम चाल्ने चेतावनी दिएको छ । उत्तर कोरियाले जापानको बढ्दो सैन्य गतिविधिप्रति पनि असन्तुष्टि जनाउँदै आएको छ । टोकियोले क्षेत्रीय सुरक्षाका लागि आफ्नो रक्षा क्षमता विस्तार गर्ने प्रतिबद्धता जनाएपछि प्योङयाङले पछिल्ला दुई सातामा दुईपटक क्षेप्यास्त्र परीक्षण गरेको थियो ।


    सन् २०१९ मा हनोईमा उत्तर कोरियाली नेता किम जोङ–उन र तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच भएको शिखर वार्ता विफल भएपछि प्योङयाङले आफूलाई पटक–पटक ‘अपरिवर्तनीय’आणविक राष्ट्र घोषणा गर्दै आएको छ । उक्त वार्ता आणविक निशस्त्रीकरणको दायरा र उत्तर कोरियामाथिका प्रतिबन्ध हटाउने विषयमा सहमति हुन नसकेपछि विफल भएको थियो । दक्षिण कोरियाका राष्ट्रपति लीले जुन २०२५ मा पदभार सम्हालेपछि पूर्ववर्ती सरकारको कडा नीतिबाट अलग हुँदै आणविक हतियार सम्पन्न उत्तर कोरियासँग बिनासर्त वार्ताको प्रस्ताव गर्दै आउनुभएको छ ।


    गत जुलाईमा दक्षिण कोरियाका एकीकरणमन्त्रीले उत्तर कोरियाका आणविक हतियार नष्ट गर्न दबाब दिने अभियानबाट पछि हट्दै प्योङयाङको आणविक कार्यक्रम विस्तार रोक्नमा केन्द्रित हुने बताउनुभएको थियो । तर, उत्तर कोरियाले राष्ट्रपति लीका पछिल्ला वार्ता प्रस्तावमा कुनै प्रतिक्रिया दिएको छैन । बरु उसले रुससँगको सैन्य सम्बन्ध थप सुदृढ बनाउँदै आएको छ ।


    विश्लेषकहरूका अनुसार युक्रेनमा रुसको युद्धमा सेना र गोलाबारुद उपलब्ध गराएबापत उत्तर कोरियाले मस्कोबाट आर्थिक सहयोग, खाद्यान्न, ऊर्जा तथा सैन्य प्रविधि प्राप्त गरिरहेको छ । उत्तर कोरियाली नेता किमले यस वर्षको अन्त्यतिर रुस भ्रमण गर्ने सम्भावना रहेको र त्यस क्रममा थप हतियार आपूर्तिबारे छलफल हुन सक्ने उनीहरूको आकलन छ ।


    दक्षिण कोरियाको प्रमुख सुरक्षा सहयोगी अमेरिकाले उत्तर कोरियाबाट हुन सक्ने सैन्य खतराविरुद्ध दक्षिण कोरियामा करिब २८ हजार ५०० सैनिक तैनाथ गरेको छ । अमेरिका–दक्षिण कोरिया संयुक्त सेना कमान्डका प्रवक्ता कर्नेल रायन डोनाल्डले उत्तर कोरियाले युक्रेन युद्धबाट प्राप्त गरेको अनुभवले कोरियाली प्रायद्वीपमा उत्पन्न हुन सक्ने सुरक्षा चुनौती परिवर्तन गरेको बताउनुभएको छ ।


    “उनीहरूले त्यहाँ सिकेका पाठहरू उत्तर कोरिया फर्काएर ल्याएका छन्,” सोमबारदेखि सुरु हुने ११ दिने संयुक्त सैन्य अभ्यासबारे पत्रकारसँग कुरा गर्दै डोनाल्डले भन्नुभयो । “हाम्रो तालिमले त्यही खतरालाई ध्यानमा राखेको छ ।”

  • नाइजेरियामा भएको झडपमा २० जनाको मृत्यु

    नाइजेरियामा भएको झडपमा २० जनाको मृत्यु

    जोस (नाइजेरिया), ३१ साउन (रासस–एएफपी) । मध्य नाइजेरियामा प्रतिद्वन्द्वी काम्बारी र फुलानी समुदायबीच भएको झडपमा २० जना भन्दा बढी मानिसको मृत्यु भएको शनिबार एक सांसद तथा अन्य स्रोतहरूले बताएका छन् । बोर्गू सङ्घीय निर्वाचन क्षेत्रका सांसद जाफर मुहम्मदले झडपको पुष्टि गर्दै झडप नियन्त्रण गर्न सुरक्षा बल परिचालन गर्न माग गर्नु भएको छ । मुहम्मदले झडपमा यस क्षेत्रका विभिन्न जातीय समूहहरूसमेत संलग्न रहेको बताउनुभएको छ ।

    पछिल्लो झडपमा २० जनाभन्दा बढी मानिसहरुको मृत्यु भएको र यसको कारण स्थानीय मिलिसिया (सशस्त्र समूह) द्वारा गरिएको झडप रहेको उहाँले जनाउनु भएको छ । उहाँका अनुसार स्थितिलाई नियन्त्रणमा लिन भारी हतियारसहितको सुरक्षा बलको आवश्यकता छ । स्थानीय बासिन्दालाइ उदृत गर्दै एएफपीले उक्त लडाइँ फुलानी र काम्बारी समुदायबीच भएको जनाएको छ ।

    जिहादी समूहहरूले फुलानीहरूलाई आफ्नो समूहमा भर्ती गर्ने कार्यले सरकारी बल र मिलिसियाहरूबाट घातक प्रतिशोध निम्त्याएको छ, जसमा प्रायः फुलानी सर्वसाधारण नै पीडित हुने गरेको जनाइएको छ ।

    नाइजर राज्य मध्य र उत्तर–पश्चिम नाइजेरियाको ठुलो कृषि क्षेत्रमा अवस्थित छ । यो क्षेत्र वर्षौंदेखि गाईवस्तु चोर्ने र अपहरण गर्ने गिरोहहरूको आतङ्कको चपेटामा परेको छ’ यी गिरोहहरूले समुदायमाथि आक्रमण गर्ने, बासिन्दाहरूको हत्या गर्ने र घरहरू लुट्ने गर्छन् । हालैका वर्षहरूमा, देशको उत्तर–पूर्वमा १७ वर्षदेखि विद्रोह गरिरहेका जिहादी समूहहरूले नाइजर राज्यमा पनि आफ्नो उपस्थिति जनाएका छन् र प्रायः स्थानीय अपराधी गिरोहहरूसँग मिलेर हिसांत्मक गतिविधि गरिरहेका छन् ।

    गत मे महिनामा, सेनासँग मिलेर काम गर्ने एक मिलिसिया समूहले शुक्रबारको झडप भएको क्षेत्र नजिकै करिब ४० जना फुलानी गोठालाहरूको हत्या गरेको थियो । उनीहरूमाथि जिहादी समूह ’अन्सारु’ का लागि सुराकी गरेको आरोप लगाइएको थियो । विशेषज्ञहरूका अनुसार, यस्ता प्रतिशोधपूर्ण कारबाहीका कारण कतिपय फुलानीहरू आफ्नो सुरक्षाका लागि जिहादी समूहहरूमा सामेल हुन बाध्य भएका छन् ।

  • चीनमा डुङ्गा डुब्दा दुई जनाको मृत्यु, ३ बेपत्ता

    चीनमा डुङ्गा डुब्दा दुई जनाको मृत्यु, ३ बेपत्ता

    कुन्मिङ(चीन), ३१ साउन (रासस–सिन्ह्वा) । दक्षिणपश्चिम चीनको युन्नान प्रान्तमा निजी स्वामित्वको डुङ्गा डुबेर दुर्घटनाहुँदा दुई जनाको मृत्यु हुनुका साथै अन्य तीन जना बेपत्ता भएको स्थानीय अधिकारीहरूले शनिबार बताएका छन् ।

    अधिकारीहरुकाअनुसार हुआनिङ काउन्टीको नानपान नदीमा दुर्घटना भएको थियो । दुर्घटनाको समयमा डुङ्गामा छ जना सवार रहको काउन्टी सरकारले जनाएको छ । सरकारका अनुसार दुई जनाको मृत्यु पुष्टि भएको छ भने एकजनालाई सकुशल उद्धार गरिएको र अन्य पाँचजना अझै बेपत्ता रहेका छन् ।

    स्थानीय अधिकारीहरूले आपतकालीन, अग्निशमन र प्रहरी विभागहरूको समन्वयमा ४७० जना भन्दा बढी उद्धारकर्मीहरू परिचालन गरी खोजी कार्य जारी राखेको जनाएका छन् । बेपत्ता व्यक्तिहरूको खोजी कार्यअझै जारी रहेको जनाउदै स्थानीय अधिकारीहरूले घटनाको कारणबारे अनुसन्धान सुरु गरिसकेको जनाएका छन् ।

  • कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता

    कोलम्बियामा भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८७ पुग्यो ४०० अझै बेपत्ता


    बोगोटा (कोलम्बिाया), ३१ साउन (रासस– क्युएनए) । कोलम्बियामा गत सोमबार गएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या २८७ पुग्नुका साथै करिब ४०० जना अझै बेपत्ता रहेको जनाइरुएको छ । कोलम्बियाका अधिकारीहरूले काली र पेरेरा सहरमा दुई तिहाइ भन्दा मानिसहरुको मृत्यु भएको बताएका छन् । घाइतेहरू मध्ये आधा भन्दा बढी प्रमुख सहरी केन्द्रहरूमा रहेको जनाउँदै अधिकारीहरुले पेरेरामा उद्धार टोलीहरू एउटा क्षतिग्रस्त होटलको भग्नावशेषमुनि फसेका चार जनाको उद्धार गर्नको लागि तैनाथ रहेको बताएका छन् ।

    सरकारी तथ्याङ्कले विपत्तिको परिमाणलाई पुष्टि गरेको छ भने पश्चिमी कोलम्बियामा हजारौँ आवासीय घर विद्यालय, तथा स्वास्थ्य सुविधाहरूका साथै सार्वजनिक पूर्वाधारहरूमा गम्भीर रूपमा क्षति पुर्याएको जनाइएको छ । भूकम्पले यस क्षेत्रको पूर्वाधारलाई प्रभावित बनाउनुका साथै हजारौँ परिवारलाई अस्थायी सुविधाहरूमा आश्रय लिन बाध्य पारेको जनाइएको छ । भकूम्प पछि आएका शक्तिशाली पराकम्पहरुको श्रृङ्खलाले उद्धार तथा राहत कार्यलाई थप जटिल बनाउनुका साथै पहिले नै क्षतिग्रस्त भएका भवनहरूमा थप जोखिम बढाएको जनाइएको छ ।

  • भन्सार कडाइले सार्थकता पाएकामा खुसी

    भन्सार कडाइले सार्थकता पाएकामा खुसी

    नेपालगन्ज (बाँके), ३१ साउनः नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ केन्द्रीय उपाध्यक्ष सुरकृष्ण वैद्यले अहिलेको सरकार स्पष्ट जनादेशसहित आएको भएको बताएका छन् । शनिबार नेपालगन्ज उद्योग वाणिज्य महासङ्घको ३४ र ३५औँ वार्षिक साधारणसभामा उनले पाँच वर्षका लागि जनताले म्यान्डेट दिएको सरकार भएको उल्लेख गर्दै सरकारले सय दिनमै सबै कुरा गरिसक्नुपर्छ भन्ने नभएको र सबै कुरा गर्न सम्भव नहुने बताए ।


    उपाध्यक्ष वैद्यले अघिल्ला सरकारले गरेका नीतिको कमजोरी सच्याउन आग्रह गर्दै भन्सार कडाइले सार्थकता पाएकामा खुसी व्यक्त गरे । राज्यले अहिले भन्सारमा कडाइ गरेको छ, त्यसले गर्दा व्यापक रूपमा हाम्रो व्यवसाय सञ्चालन गर्न सहज भएको उपाध्यक्ष वैद्यले भने । विगतमा खुला सीमाका कारण देशका नाकामा रु तीन–चार करोडबराबरको राजस्व चुहावट हुने गरेको समेत उनले उल्लेख गरे ।
    अहिलेको अवस्थामा पुरानै नीति र नियम लागू भइरहे व्यवसायीलाई व्यवसाय गर्न सधैँ कठिन हुने उपाध्यक्ष वैद्यको भनाइ छ ।

    उनले पुरानै कानुनअनुसार व्यवसायीमाथि डन्डा चलाउने काम भएको उल्लेख गर्दै राज्यको भनाइ र गराइ फरक हुँदा विश्वासको वातावरण बन्न नसकेको उल्लेख गरे । सरकारले एकातिर आर्थिक क्षेत्रलाई ढुक्क हुन भने पनि अर्कातर्फ व्यवसायीमाथि धरपकड भइरहेको भन्दै पछिल्लो समय सरकारले २६८ व्यवसायीलाई पक्राउ गरेको बताए ।


    भन्सारदेखि लिएर सबै क्षेत्रमा राज्यले स्पष्ट नीति बनाउन बाँकी रहेको उल्लेख गर्दै उपाध्यक्ष वैद्यले राज्यले नीति–नियम परिवर्तन नगरेर पुरानै नीतिमा टेकेर कानुन कार्यान्वयन गर्दा व्यापारी पलायन हुने अवस्था सृजना भएको बताए । उनले अहिले लगभग ६० हजार व्यवसायी कालोसूचीमा परेको भन्दै उधारो कारोबारसम्बन्धी कानुन ल्याउन माग गरे । करिब रु १५–१६ खर्ब बैंकमा थुप्रिएको छ, सरकारले पैसा चलाऊ भनिरहेको छ, लगानी गर्नुहोस् भनिरहेको छ तर लगानीमा निराशा देखिएको उपाध्यक्ष बैद्यको भनाइ छ ।

    महासङ्घका केन्द्रीय सदस्य पदमराज चौलागाईँले सधैँ सरकारलाई उद्योगी, व्यवसायीले आफ्ना समस्या राख्नेभन्दा अब सरकार नै व्यवसायीको घरदैलोमा आएर समस्या बुझ्नुपर्ने बताए । नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टङ्क धामीको अध्यक्षतामा नेपालगन्ज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेल, आन्तरिक राजस्व कार्यालयका कर अधिकृत उदयराज केसी, नेपालगन्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नन्दलाल वैश्यले कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रदीप भट्टराई, सङ्घका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी, सङ्घका महासचिव भीमबहादुर रानाभाट, नेपाल पत्रकार महासङ्घका अध्यक्ष नवीन गिरीलगायतले उद्योगी, व्यवसायीको समस्याबारे बोल्नुभएको थियो । सो अवसरमा पर्यटन व्यवसायी श्रीराम सिग्देललगायत चार जनालाई सम्मान गरिएको थियो ।

  • जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    जाजरकोटको रिसाङ पहिरोमा परी दुई जना बेपत्ता, सात घाइते

    कर्णाली, ३१ साउनः अविरल वर्षापछि जाजरकोटको भेरी नगरपालिका–२ रिसाङमा गएको पहिरोमा परी दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही वडाको फारुलाका ५४ वर्षीय उमासिंह खत्री र चिसापानीका ७० वर्षीय भीमबहादुर कार्की रहेका जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सुधीरकुमार खड्काले जानकारी दिए ।

    उक्त पहिरोबाट सात जना घाइते भएका छन् । घाइते हुनेहरूमा वडा नं २ का ६० वर्षीय रामबहादुर शाही, ५७ वर्षीय भद्राकली कार्की, ४५ वर्षीय सिद्धिबहादुर कामी, वडा नं १ का ५२ वर्षीय केदार कार्की, ४५ वर्षीय मनवीर चँदरा, ४७ वर्षीय मोतिकला विक र १६ वर्षीय मनिषा विक रहेका छन् ।

    शाहीको अवस्था गम्भीर रहेको र जिल्ला अस्पताल जाजरकोटमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगन्ज रेफर गरिएको सूचना अधिकारी खड्काले बताउनुभयो । घाइतेहरूको उद्धारका लागि अस्थायी प्रहरी पोष्ट रावतगाउँबाट प्रहरी सहायक निरीक्षक धर्मराज ढुङ्गानाको नेतृत्वमा पाँच जनाको टोली खटाइएको छ ।

    त्यसैगरी, पहिरोबाट भेरी नगरपालिका–३ जाजरकोट स्यालाका पूर्णबहादुर विकको छकोठे दुईतले ढुङ्गामाटोले बनेको कच्ची घर पूर्ण रूपमा क्षति भएको र सोही गाउँका भैरवी केसीका दुईवटा टिनका अस्थायी टहरा पनि पहिरोले पूरै बगाएको उनले बताए । घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक राजेश शाहीको नेतृत्वमा ११ जना र सशस्त्र प्रहरी बल नेपाल आश्रित गुल्म हेडक्वार्टरबाट सशस्त्र प्रहरी निरीक्षक कमल कार्की नेतृत्वको १० जनाको टोली उद्धारका लागि परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • सुरु भयो मिथिलामा झुलनोत्सव

    सुरु भयो मिथिलामा झुलनोत्सव

    महोत्तरी, ३१ साउनः
    ‘सखी हे, झुला पडल पूmलबगियाक डार,
    सीतासँग झुलथी रघुबर, मन हरषित अपार ।’

    मधेसको महोत्तरीसहितका मिथिला क्षेत्रमा विष्णु लक्ष्मी भक्तिका गीत गुञ्जन थालेका छन् । साउन शुक्ल तृतीया तिथिसँगै शनिबार झुलनोत्सव पर्व सुरु भएसँगै मिथिलामा झुलागीत गुञ्जन थालेका हुन् । हिन्दू परम्पराका आराध्यदेव श्री विष्णु र भगवती लक्ष्मीको पुकारा गरिने यस पर्वमा यी देवदेवीका अवतार मानिने रामसीता र राधाकृष्णका प्रतिमा कलात्मक झुलना (एक प्रकारको कोक्रा)मा राखेर भक्तिगीतको लयमा झुलाउने (हल्लाउने) गरिन्छ । साउन पूर्णिमाका दिन समापन गरिने यो पर्व मिथिलाको विशिष्ट सांस्कृतिक उत्सव रहँदै आएको छ ।

    शनिबार पर्व सुरु भएसँगै मिथिला क्षेत्रमा अहिले झुला महोत्सवको रौनक छाएको छ । पर्वले महोत्तरीका रामजानकी, लक्ष्मीनारायण र राधाकृष्ण मन्दिर र वैैष्णव मठहरूमा झुला महोत्सवमा साधुसन्तसहित सर्र्वसाधारण झुमेका देखिँदा छन् । मैथिल हिन्दू परम्परामा यो पर्व भक्ति, समर्पण र सांस्कृतिक मनोरञ्जनका लागिसमेत विशिष्ट रहँदै आएको मटिहानीस्थित लक्ष्मीनारायण मठका उत्तराधिकारी महन्थ डा रवीन्द्रदास वैष्णव बताउँछन् ।


    “यो बालरुप भगवान् र भगवतीलाई झुलनामा झुलाइने पर्व हो, श्रीरामकी माता कौशल्या र श्रीकृष्णकी माता यशोदाले कोक्रामा हल्लाउनुभएको प्रतिकात्मक सम्झना यस पर्वमा गरिन्छ”, डा वैष्णवले भने । विष्णुलक्ष्मी भक्तिको यो पर्व घरघरै नभएर मठमन्दिरमा सामूहिक रूपमा मनाइन्छ । विष्णु लक्ष्मीका अवतार मानिने रामसीता र कृष्णराधाका प्रतिमालाई विशेष झुलामा राखेर गीत गाउँदै हल्लाउनु पर्वको मुख्य विधि हो । झुलामा राखिएका प्रतिमालाई डोरी समाएर झुला गीत गाउँदै श्रद्धालुले हल्लाएर भक्तिभाव जाहेर गर्छन् ।

    पर्वका अवसरमा शनिबार साँझ मटिहानीस्थित लक्ष्मीनारायण मन्दिरबाट लक्ष्मीनारायणका प्रतिमा डोलीमा राखेर बजागाजासाथ झुलाघर पुर्याएर पर्व सुरु गरिएको छ । यो पर्वमा आमसर्वसाधारण आफ्नो बस्ती नजिकको मठ वा मन्दिरमा भेला भई भजनकीर्तन गाउँदै सीताराम र राधाकृष्णका प्रतिमा राखिएका झुला हल्लाउँदै नाच्दै भक्तिमा नाच्छन् ।

    झुला उत्सवमा मिथिलाको लोकलयमा झुला, मलार र कजरी गीत गाइने चलन छ । झुलनोत्सव भनिने यो पर्व प्राचीन मिथिला क्षेत्रका सबैतिर मनाइए पनि महोत्तरीको मटिहानीस्थित लक्ष्मीनारायण मठ र मन्दिर एवं जनकपुरस्थित जानकी मन्दिरको निकै प्रसिद्ध छ । यसैगरी महोत्तरीको जलेश्वर–१ र बर्दिबास–१४ स्थित रामजानकी कुटीमा झुलामहोत्सव मनाइन्छ ।

    मिथिलामा यो पर्व राम जन्मभूमि अवध (अयोध्या) र कृष्णको बाललीलास्थल मानिने वृन्दावनबाट देखासिकीबाट भित्रिएको विश्वास गरिन्छ । प्राचीन मिथिलाको राजधानी जनकपुरधाम सीताको माइती भएका हुँदा ज्वाइँलाई प्रसन्न गराउनुपर्ने मैथिल परम्पराअनुसार यो पर्व मनाउन विसं १७८७ तिर सन्त सुरकिशोर दासले सुरु गराउनुभएको मानिन्छ ।

    जनकपुरमा अघि रामसीताको विवाह हुँदा राजा जनकले दाइजोमा दिनुभएको हिरा, रत्न र मणिमाणक्यको थुप्रो लागेको र त्यो पहाडजस्तै बनेको बताइन्छ । अहिले मणिपर्वत भनिने सो ठाउँ जनकपुरस्थित जानकी मन्दिरबाट करिब पाँच किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । झुला पर्वमा साउन शुक्ल तृतीयाका दिन यसै मणिपर्वतको पूजा गरेर पर्व सुरु गरिने मिथिला परम्परा छ ।

    महोत्तरीको मटिहानीमा छुट्टै झुलाघर निर्मित छ । जहाँ लक्ष्मीनारायण मठ र मन्दिरबाट विष्णुलक्ष्मी प्रतिमा डोलीमा बोकेर ल्याई झुलामा झुलाइन्छ । मटिहानीमा अहिले जिल्लाका र सीमावर्ती भारतका दर्जनौँ मठमन्दिरका प्रतिमा झुलाका लागि ल्याइएका छन् । पर्वभरि साधुसन्त केन्द्रमा जम्मा भई पर्वमा रमाउँछन् ।

    साउन पूर्णिमाका दिन विष्णुलक्ष्मीका प्रतिमा झुलाइने झुलनाको डोरी चुडालेर पर्व समापन गरिने मैथिल परम्परा छ । मिथिलामा प्रचलनमा रहेका पञ्चाङ्ग विद्यापति र मिथिला हुन् । यी दुवै पञ्चाङ्गमा चन्द्रमासको साउनदेखि वर्ष प्रारम्भ हुन्छ । यसअनुसार साउनमै मनाइने मधुश्रावणी, झुला, लगपाँच (नागपञ्चमी) र रक्षावन्धनसँगै वर्षभरिका चाडवाडको सिलसिला सुरु भएको सूचनाका रुपमा लिने गरिएको मटिहानीस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ (संस्कृत क्याम्पस) का मैथिली भाषा साहित्यका उपप्राध्यापक मनोज झा मुक्ति बताउँछन् ।

  • नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    नाइमा मोबिलिटी एक्स्पोको आज अन्तिम दिन

    काठमाडौँ, ३१ साउनः काठमाडौँको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज समापन हुँदैछ । यही साउन २६ देखि छ दिनका लागि सुरु भएको मेलाको पाँचौँ दिन आजसम्ममै आयोजकको लक्ष्यअनुसार अवलोकनकर्ता भृकुटीमण्डपस्थित एक्स्पोस्थल पुगिसकेका आयोजकको दाबी छ ।

    शनिबार एकैदिन ४२ हजार अवलोकनकर्ताले एक्स्पो भ्रमण गरेका आयोजकले जनाएको छ । यससँगै पाँच दिनमा मेला अवलोकनकर्ताको सङ्ख्या एक लाख ५० हजार नाघेको छ । नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)ले छ दिनमा डेढ लाखले मेला अवलोकन गर्ने अपेक्षा गरेको थियो । अटोसो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए ।


    एक्स्पोको उद्घाटनका दिन यही साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले अवलोकन गरेका आयोजकको तथ्याङ्क छ । मेलामा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन् । नयाँ–नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेर वितरक कम्पनीहरूले अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन् ।

    अवलोकनकर्ताले खासगरी ब्याट्री क्षमता, मोटर, रेन्ज, आफ्टर सेल्स सर्भिस, ब्याट्रीको वारेन्टी÷ग्यारेन्टी, रिसेल भ्यालूलगायतका विषयमा चासो राख्ने गरेका छन् । कम्पनीहरूले पनि ग्राहक आकर्षित गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन् । मेलामा हालसम्म विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन् ।

    नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो आज साउन ३१ सम्म चल्नेछ । एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको सहभागिता रहेको छ । एक्स्पोमा नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि अन्य नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षणका रूपमा रहेका छन् ।

  • झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    झापामा टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु

    भद्रपुर (झापा), ३१ साउनः टिपरको ठक्करबाट यहाँ एक जना साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार झापा गाउँपालिका–३ का ६५ वर्षीय इशनलाल गणेशको मृत्यु भएको हो । शनिबार साँझ टिपरले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा हिजै मृत्यु भएको हो ।

    दुर्घटनापछि भागेका टिपर चालक झापा गाउँपालिका–३ कामाटोलीका ३६ वर्षीय फागुलाल राजवंशीलाई पक्राउ गरिएको छ । गणेशको ज्यान गएको जानकारी पाएपछि आक्रोशित स्थानीयले टिपर तोडफोड गरेका छन् ।

  • वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह

    काठमाडौँ, ३१ साउनः अविरल वर्षाका कारण देशका विभिन्न स्थानका सडक अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज बिहान ५ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, इलाम, सिन्धुपाल्चोक, रसुवा, रुकुम पश्चिम, सङ्खुवासभा, लमजुङ, मुस्ताङ, रोल्पा र चितवनका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।

    काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने बिपी राजमार्गको खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गर्दै हरेक दिन साँझ ६ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सबै सवारीसाधनको आवागमन रोक लगाइएको छ । उक्त सडकखण्डमा बिहान ४ः०० बजेदेखि बेलुका ६ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुनेछन् ।

    मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण अपराह्न ५ः०० बजेदेखि बिहान ५ः०० बजेसम्म सबै किसिमका सवारीसाधनको आवागमन रोक लगाइएको छ । इलाम नगरपालिका–९ राजदुवालीमा हिलोले मेची राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । उक्त स्थानमा वैकल्पिक सडक रहेको प्रहरीले जनाएको छ ।

    सिन्धुपाल्चोकको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–४ चारकिलो पहिरो लिपिङमा सडक भासिँदा यो सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–५ खाल्टेमा सडक कटान हुँदा त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी कच्ची सडकखण्ड पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    यसैगरी, रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–६ रिजेगार्ड खोला नजिक भेरी करिडोरको जाजरकोट–डोल्पा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध भएको छ । सङ्खुवासभाको भोटखोला गाउँपालिका–३ सिरेक डाँडामा सडक भासिँदा कोशी राजमार्गको खाँदबारी–किमाथाङ्का सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    लमजुङको मस्र्याङ्दी गाउँपालिका–४ रामबजारमा पहिरो खसेपछि बेँसीसहर–मनाङ सडक पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । मुस्ताङको थासाङ गाउँपालिका–४ कैकुखोलामा पहिरोले बेनी–जोमसोम सडक पनि अवरुद्ध भएको प्रहरीले जनाएको छ । रोल्पाको सुनिलस्मृति गाउँपालिका–४ कागडाँडामा पहिरोले भालुवाङ–लिवाङ सडक तथा चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा रूखसहितको सुक्खा पहिरो खसेपछि पृथ्वीराजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ ।

    निरन्तरको वर्षाका कारण पहिरो खस्ने, बाढीले सडक कटान गर्ने तथा भासिने क्रम जारी रहेकाले आफू यात्रा गर्ने सडकको अवस्था बुझेर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालयले सम्बद्ध सबैलाई आग्रह गरेको छ ।

  • मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

    मनसुन सक्रिय, पाँच प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना

    काठमाडौँ, ३१ साउनः देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपाल नजिक रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर साधारणतया बादल लागेको छ । बागमती र गण्डकी प्रदेशका धेरै, लुम्बिनी र कर्णाली प्रदेशका केही तथा कोशी प्रदेशका पहाडी भागका एकदुई स्थानमा मध्यम वर्षा भइरहेको छ । गण्डकी प्रदेशका एकदुई स्थानमा पनि भारी वर्षा भइरहेको छ ।

    महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका केही तथा मधेस र कोशी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ ।

    गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
    आज राति पनि देशभर साधारणतया बदली रहनेछ । देशका हिमाली भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै तथा कोशी र बागमती प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ ।

    लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै, बागमती र गण्डकी प्रदेशका तराई भागका केही स्थानमा तथा मधेस र कोशी प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका एकदुई स्थानमा भारी वर्षा हुने सम्भावना छ । सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एकदुई स्थानमा भने धेरै भारी वर्षासमेत हुनसक्ने महाशाखाले जनाएको छ ।

    बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती क्षेत्रमा गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम हुनसक्ने महाशाखाले जनाएको छ । वर्षाका कारण दैनिक जनजीवनका साथै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा समेत असर पर्नसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन तथा महाशाखाबाट जारी हुने सूचनामा अद्यावधिक भइरहन अनुरोध गरिएको छ ।

  • निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन माग

    निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराउन माग

    काठमाडौँ, ३१ साउनः मुलुकमा उत्पादित बिजुलीको बजार विस्तार गर्न निजी क्षेत्रलाई यसमा सहभागी गराउनुपर्नेमा ऊर्जा क्षेत्रका जानकारहरुले बताएका छन् । उनीहरूले विद्युत् बजार विस्तार गर्न नयाँ कानुन आवश्यक नरहेको र विद्यमान विद्युत् ऐन, २०४९ का आधारमा निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिन सकिने बताएका छन् ।

    स्वतन्त्र ऊर्जा उत्पादक सङ्घ नेपाल (इप्पान) ललितपुरमा आयोजना गरेको ‘नेपाल–भारत ऊर्जा व्यापारः निजी क्षेत्रका लागि अबको बाटो’ शीर्षकमा भएको छलफलमा उनीहरुले एउटा निकायबाट मात्र ठूलो परिमाणमा विद्युत् व्यापार सम्भव नहुने भन्दै प्रतिस्पर्धात्मक विद्युत् बजारका लागि निजी क्षेत्रलाई पनि सहभागी गराउनुपर्नेमा जोड दिएका हुन् ।

    ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले मुलुकको अपार जलस्रोतको विद्युत् उत्पादनमा अधिकतम उपयोग गर्दै देशलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने सरकार क्रियाशील रहेको बताउनुभयो । उहाँले यसका लागि निजी क्षेत्रसँग सहकार्य गरेर सरकार अघि बढ्न चाहन्छ भने ।

    मन्त्री श्रेष्ठका अनुसार गत आर्थिक वर्षमा विद्युत् निर्यातबाट रु २९ अर्ब ३२ करोड आर्जन भएको तथा रु १८ अर्बभन्दा बढी खुद बचत भएको छ । अब पूर्वानुमानयोग्य नीति, सक्षम नियमन, निजी क्षेत्रको सहभागिता र प्रभावकारी ऊर्जा कूटनीतिमार्फत मुलुकलाई वर्षभरि विश्वसनीय विद्युत् निर्यातकर्ता बनाइनेछ ।

    पूर्वऊर्जा सचिव अनुपकुमार उपाध्यायले निजी क्षेत्रलाई विद्युत् व्यापारको अनुमतिपत्र दिने सम्बन्धमा विगतमा कानुन तर्जुमा गरिएको भए पनि सरकार परिवर्तनका कारण निर्णय हुन नसकेको बताए । नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारीले विद्यमान ऐनमा उत्पादित विद्युत् बिक्री तथा आयातसम्बन्धी व्यवस्था रहेकाले त्यसकै आधारमा निजी क्षेत्रलाई व्यापारको अनुमतिपत्र दिन सकिने बताए ।


    विद्युत् नियमन आयोगका अध्यक्ष रामप्रसाद धितालले आफ्नो उत्पादनका लागि ग्राहक खोज्न सक्ने प्रावधानयुक्त खुला पहुँचसम्बन्धी निर्देशिका जारी गर्ने तयारीमा आयोग रहेको जानकारी दिए । इप्पानका अध्यक्ष मोहनकुमार डाँगीले विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेशले ऊर्जा क्षेत्रमा अवसर सिर्जना हुने बताए । इप्पानका पूर्वउपाध्यक्ष आशिष गर्गले निजी क्षेत्र विद्युत् खरिद–बिक्रीका लागि तयार रहेको बताए ।

  • नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

    नेपाल टेलिकमको खुद मुनाफा ४७.५८ प्रतिशतले बढ्यो

    काठमाडौँ, ३० साउनः नेपाल टेलिकमले गत आर्थिक वर्ष २०८२–८३ को चौथो त्रैमासिकसम्म रु आठ अर्ब ८६ करोड ४६ लाख खुद मुनाफा कमाएको छ । कम्पनीले आज सार्वजनिक गरेको अपरिस्कृत वित्तीय विवरणअनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद मुनाफा ४७ दशमलव ५८ प्रतिशतले बढेको हो । आव २०८१–८२ को चौथो त्रैमासिकसम्म कम्पनीको खुद मुनाफा रु छ अर्ब ६७ लाख थियो । एक वर्षको अवधिमा कम्पनीको खुद मुनाफामा रु दुई अर्ब ८५ करोड ७९ लाखले वृद्धि भएको हो । कम्पनीका अनुसार समीक्षा अवधिमा करअघिको मुनाफा पनि उल्लेख्य बढेको छ ।

    गत आवको चौथो त्रैमासिकसम्म करअघिको मुनाफा रु १३ अर्ब २६ करोड ४७ लाख पुगेकामा अघिल्लो आवको सोही अवधिमा यस्तो मुनाफा रु नौ अर्ब ८५ करोड दुई लाख थियो । यस आधारमा करअघिको मुनाफा ३४ दशमलव ६६ प्रतिशतले बढेको हो । त्यस्तै, कम्पनीको ब्याज, कर, ह्रासकट्टी तथा अमोर्टाइजेसनअघिको आम्दानी रु २० अर्ब ४८ करोड एक लाख पुगेको छ भने अघिल्लो आवको सोही अवधिमा रु १८ अर्ब ४९ करोड ६० लाख आम्दानी भएको थियो । तुलनात्मक रूपमा यो १० दशमलव ७३ प्रतिशतले बढेको कम्पनीले जनाएको छ ।

    नेपाल टेलिकमको कुल सञ्चालन आय समीक्षा अवधिमा रु ३४ अर्ब ९५ करोड चार लाख पुगेको छ । अघिल्लो आवको चौथो त्रैमासिकसम्म यस्तो आय रु ३३ अर्ब ८९ करोड ४५ लाख थियो । अघिल्लो वर्षको तुलनामा गत आवमा सञ्चालन आय रु एक अर्ब पाँच करोड ५९ लाख अर्थात् तीन दशमलव १२ प्रतिशतले बढेको हो ।

    कम्पनीको कुल आयसमेत बढेको छ । समीक्षा अवधिमा कुल आय रु ३९ अर्ब १९ करोड ९६ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कुल आय रु ३८ अर्ब १८ करोड ८१ लाख थियो । यसअनुसार कुल आय रु एक अर्ब एक करोड १५ लाख अर्थात् दुई दशमलव ६५ प्रतिशतले वृद्धि भएको हो । कम्पनीको प्रतिशेयर आम्दानी (वार्षिकीकरण गरिएको) रु ४९ दशमलव २५ रहेको छ ।

    ब्याज आम्दानी घटे पनि मुनाफामा वृद्धि

    कम्पनीका अनुसार समीक्षा अवधिमा ब्याजदर क्रमिक रूपमा घट्दा ब्याज आम्दानीमा भने कमी आएको छ । अघिल्लो आवको चौथो त्रैमासिकसम्मको तुलनामा गत आवको सोही अवधिमा ब्याज आम्दानी करिब रु ८६ करोड १९ लाख अर्थात् २२ दशमलव ८८ प्रतिशतले घटेको छ । मुख्य दूरसञ्चार सेवाबाट हुने आम्दानीमा भएको वृद्धिका कारण समग्र सञ्चालन आय तथा मुनाफामा सकारात्मक प्रभाव परेको कम्पनीले जनाएको छ । विशेषगरी जिएसएम सेवातर्फको राजस्व बढेको छ । कम्पनीका अनुसार अघिल्लो आवको चौथो त्रैमासिकसम्मको तुलनामा गत आर्थिक वर्षको सोही अवधिमा जिएसएम सेवातर्फको राजस्व रु ६४ करोड ५४ लाख अर्थात् दुई दशमलव २८ प्रतिशतले बढेको छ ।

    नेपाल टेलिकमले देशको सञ्चार सेवा प्रदायकको भूमिक निर्वाह गर्दै भौगोलिक तथा व्यावसायिक रूपमा चुनौतीपूर्ण क्षेत्रमा सेवा विस्तार र गुणस्तर सुधारलाई निरन्तरता दिँदै आएको जनाइएको छ । कम्पनीका अनुसार कम प्रतिफल प्राप्त हुने तथा बढी लागत लाग्ने विकट र दुर्गम क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्नुपर्ने भएकाले सेवा सञ्चालनमा अतिरिक्त लागत व्यहोर्नुपरेको छ ।

    दुर्गम क्षेत्रमा सेवा विस्तारलाई निरन्तरता

    नेपाल टेलिकमले व्यावसायिक प्रतिफलका दृष्टिले कम आकर्षक भए पनि राष्ट्रिय सञ्चार पूर्वाधारको जिम्मेवारीलाई ध्यानमा राख्दै दुर्गम तथा विकट क्षेत्रमा सेवा विस्तार गरिरहेको जनाएको छ । कम्पनीले त्यस्ता क्षेत्रमा नेटवर्क विस्तार, सेवा गुणस्तर सुधार तथा पहुँच अभिवृद्धिको कामलाई निरन्तरता दिएको छ । कम्पनीको वित्तीय विवरणले सञ्चालन आयमा सामान्य वृद्धि भए पनि मुनाफामा तुलनात्मक रूपमा सुधार देखिएको छ । ब्याज आम्दानी घटेको अवस्थामा पनि जिएसएम सेवाको राजस्व वृद्धि, सञ्चालन खर्च तथा वित्तीय व्यवस्थापनमा भएको सुधारलगायतका कारण समग्र मुनाफा बढाउन योगदान पुगेको देखिन्छ ।

    यससँगै कम्पनीले आगामी दिनमा सेवा गुणस्तर सुधार, नयाँ प्रविधिको विस्तार र दुर्गम क्षेत्रमा दूरसञ्चार पहुँच विस्तारलाई प्राथमिकतामा राख्दै जाने जनाएको छ । दूरसञ्चार क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच विद्यमान ग्राहक आधारलाई कायम राख्दै डेटा तथा डिजिटल सेवाको प्रयोग बढाउनु कम्पनीका लागि आगामी दिनको प्रमुख चुनौती र अवसरका रूपमा रहनेछ ।