Author: Vishwanews.com

  • भारतीय केन्द्रिय मन्त्री पासवानको मृत्यु

    भारतीय केन्द्रिय मन्त्री पासवानको मृत्यु

    नयाँ दिल्ली । भारतका केन्द्रीय मन्त्री रामविलास पासवानको निधन भएको छ । ७४ वर्षिय उनको मुटुको अपरेशन भएको थियो । केही समयअघि मात्रै मुटुको अप्रेसन गराएका उनको दिल्लीमा रहेको एस्कट्र्स अस्पतालमा उपचारका क्रममा निधन भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन् । उनी भारतको उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री थिए ।

    उनी ५ दशकदेखि भारतीय राजनीतिमा सक्रिय थिए । भारतमा दलित आन्दोलनका प्रखर नेता उनी ८ पटक लोकसभा सदस्य र अहिले राज्यसभा सदस्य ुमेत थिए । मन्त्री पासवानका छोरा एवं लोक जनशक्ति पार्टीका अध्यक्ष चिराग पासवानले ट्वीटरमार्फत बुबाको निधन भएको पुष्टी गरेका हुन् ।

  • प्रधानमन्त्रीका तीन सल्लाहकारले जीते कोरोना

    प्रधानमन्त्रीका तीन सल्लाहकारले जीते कोरोना

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका तीन सदस्यले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनीहरु तीन जनाकै एकैपटक कोरोना भाइरसको रिर्पोट नेगेटिभ आएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले यसको पुष्टी गरेका छन् ।

    उनका अनुसार प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डाक्टर राजन भट्टराइ तथा प्रेस सल्लाहकार थापाको सम्पर्कमा आएका परिवारका सदस्य समेतको विहीबार गरिएको स्वाब परीक्षणमा सबैको नेगेटिभ आएको छ । प्रधानमन्त्रीको समेत स्वाव संकलन भएको थियो, उनको रिर्पोट भने नेगेटिभ आएको छ ।

  • दशैंमा पिङ नहाल्नु, भीडभाड नगर्नु

    दशैंमा पिङ नहाल्नु, भीडभाड नगर्नु

    काठमाडौं । दशैं भन्नासाथ मनोरन्जनका लागि सार्वजनिक पिङको याद आउँछ । तर, सरकारले यो वर्ष पिङ हालेर सार्वजनिक स्थानमा नखेल्न सर्वसाधारणसँग आह्वान गरेको छ । कोरोना भाइरसको संक्रमण बढ्ने भन्दै सरकारले यस्तो आह्वान गरेको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैंको अवसरमा सार्वजनिक स्थलमा पिङ नहाल्न आग्रह गरेको हो । सार्वजनिक स्थलमा पिङ हाल्दा भिडभाड बढ्न गई कोरोना संक्रमणको जोखिम बढ्ने चिन्ता सरकारको हो ।

    मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणबाट बच्नका लागि आफू बसेकै स्थानबाट दशैं मनाउन पनि आग्रह गरे । उनले यसअघि पनि पटक पटक शहरबाट गाउँ नजान र जहाँ बसेको छ, त्यहाीबाट आर्शिवाद लिन आग्रह गर्दै आएका छन् ।

  • नेपाल एयरलाइन्समा सरकारले ल्यायो महाप्रवन्धक

    नेपाल एयरलाइन्समा सरकारले ल्यायो महाप्रवन्धक

    काठमाडौं । सरकारले नेपाल वायुसेवा निगममा महाप्रवन्धक नियुक्त गरेको छ । नेपाल एयरलाइन्सको नेतृत्वमा अहिले कार्यकारी अध्यक्ष सुशील घिमिरे रहेका छन् । तर, सरकारले यसअघि संचालक समिति सदस्य रहेका डिमप्रकाश पौडेल (प्रकाश)लाई महाप्रवन्धक नियुक्त गरेको हो । यसले दुई जनाबीच अब पदको द्धन्द्ध बढ्ने देखिएको छ ।

    मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रवन्धक नियुक्त गरेको हो । प्रकाश सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सक्रिय कार्यकर्ता हुन् । पेशाले भने चार्टर्ड एकाउन्टेन्ट हुन् ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराई तत्कालीन एमालेको प्रचार विभाग प्रमुख भएका बेला पौडेल सदस्य भएका थिए ।

  • दशैंको टिका कुन मुलुकमा कति बजे ?

    दशैंको टिका कुन मुलुकमा कति बजे ?

    काठमाडौं । अन्तराष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले नेपालभन्दा बाहिर रहने नेपालीका लागि साइत सार्वजनिक गरको छ । दशैंको टीका लगाउने उत्तम साइत तयार पारेर समितिले बिहीबार सार्वजनिक गरेको हो । समितिको बिहीबार बसेको बैठकले २४ वटा देशमा टीका लगाउने सही समय तय गरेको समितिका अध्यक्ष प्रा.डा. माधवप्रसाद भट्टराईले जानकारी दिएका छन् ।

    धेरै नेपालीको बसोबास रहेको क्षेत्रमा माग बमोजिम यी देशमा टीकाको साइत तयार पारिएको उनको भनाई छ । अमेरिकाको लागि त्यहीँको समयसँग मिल्दो पात्रो बनाउने काम भइरहेको छ । विदेशमा बस्ने नेपालीका लागि दशैंको टीकामा अन्यौल नहोस् भनेर त्यहीको ग्रहको दृष्टि अनुसार समय तय गरिएको उनको भनाई छ ।

    अघिल्लो वर्ष विदेशमा समेत टीका लगाउने यकिन समय तय गरिएको थिएन । यसले विदेशमा अन्यौल हुने गरेको थियो । समितिका अनुसार अमेरिका, बेलायत, क्यानडा, पोर्चुगल र फ्रान्समा अक्टोबर २५ तारिखमा टीकाको शुभ साइत जुराइएको छ ।

    अमेरिकाको न्युयोर्क सहरमा प्रातः ११ बजेर ५ मिनेटमा, केन्टुकीमा ११ः०७ मा, टेक्सासमा ११ः५७ मा र क्यालिफोर्नियामा ११ः४५मा टीकाको शुभसाइत जुरेको छ । बेलायतको लण्डनमा ११ः३९ बजेको लागि साइत जुरेको छ । यसबाहेक क्यानडाको टोरन्टोमा ११ः४३, पोर्चुगलको लिस्बनमा ११ः३७ र फ्रान्सको पेरिसमा २५ अक्टोम्बरको ११ः४१ मा टीकाको शुभ साइत जुरेको छ ।

    यसबाहेक भारत, जापान, अस्ट्रेलिया, मलेसिया, युएई, कतार, थाइल्याण्ड, दक्षिण कोरिया, इजरायल, सिंगापुर, हङकङ, साउदी अरेबिया, न्युजिल्याण्डलगायतका देशमा भने अक्टोम्बर २६ को स्थानीय समय अनुसार बिहान ९ः४३ देखि १०ः३५ सम्म तोकिएको समितिले उल्लेख गरेको छ ।

  • थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५९० पुग्यो

    थप १२ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५९० पुग्यो

    काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ महिला र ८ पुरुष रहेका छन् ।

    मृत्यु हुनेमा सुनसरीमा ३९, धनुषामा ७० वर्षीय पुरुष, काठमाडौंमा ७९ वर्षीया महिला, ५८ र ९१ वर्षीय पुरुष, ललितपुरमा ७३ वर्षीया रहेका छन् ।

    यस्तै, चितवनमा ८१, ८१ र ९२ वर्षीय पुरुष, कास्कीमा ८३ वर्षीय पुरुष र सुर्खेतमा ८२ वर्षीया महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    यो सँगै कोरोना संक्रमित मृतकको संख्या ५ सय ९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

  • नेपालमा थप ४३६४ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

    नेपालमा थप ४३६४ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति थपिए ? (विवरणसहित)

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १८ हजार ४ सय १८ जनाको पीसीआर परीक्षणमा थप ४३६४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगैकूल संक्रमितको संख्या ९८ हजार ६१७ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप २६७५ जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ७१ हजार ३४३ पुगेको छ। देशभर २६ हजार ६ जना ८४सक्रिय संक्रमित छन्।

  • काठमाडौंमा २०८५ सहित उपत्यकामा थप २५४० जनामा कोारना संक्रमण

    काठमाडौंमा २०८५ सहित उपत्यकामा थप २५४० जनामा कोारना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २५४० जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा २०८५ जना, भक्तपुरमा १३५ र ललितपुरमा ३२० जना संक्रमित थपिएका हुन् ।

    जसअनुसार काठमाडौंमा ७९१ महिला र १२८६ पुरुष, ललितपुरमा १२४ महिला र १९६ पुरुष र भक्तपुरमा ६९ महिला र ६६ पुरुष रहेका छन् ।

  • चरम मन्दीमा धकेलिँदै दक्षिण एशियाली मुलुक, नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै

    चरम मन्दीमा धकेलिँदै दक्षिण एशियाली मुलुक, नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै

    काठमाडौं । विश्व बैंकको पछिल्लो दक्षिण एशिया स्तरिय आर्थिक प्रतिवेदना अनुसार कोभिड लकडाउनले आर्थिक गतिविधिमा, विशेषगरी पर्यटन क्षेत्रमा, पुर्याएको अवरोधका कारण सन् २०२० मा ०.२ प्रतिशतमात्र रहेको नेपालको आर्थिक वृद्धि सन् २०२१ मा बढेर ०.६ प्रतिशत पुग्ने अनुमान छ ।

    आज सार्वजनिक गरिएको अर्ध–वार्षिक ‘अपडेट’का अनुसार महामारीको विनाशकारी असर जारी रहेका कारण दक्षिण एशिया यो वर्ष हालसम्मकै सूक्ष्म मन्दीमा डुबेको छ, जसका कारण अनौपचारिक क्षेत्रका कामदारहरू सबैभन्दा बढी मारमा परेका छन् र लाखौं दक्षिण एशियालीहरु चरम गरीबीमा धकेलिँदै छन् ।

    पछिल्ला ५ वर्षहरूमा लगातार वार्षिक ६ प्रतिशतको हाराहारीमा रहेको दक्षिण एशियाको आर्थिक संकुचन दर सन् २०२० मा ७.७ प्रतिशतले संकुचित हुने आँकलन सहित यस प्रतिवेदनले दक्षिण एशिया भरी अपेक्षा गरिएको भन्दा निकै तीव्र आर्थिक गिरावट हुने प्रक्षेपण गरेको छ । सन् २०२१ मा क्षेत्रिय वृद्धि ४.५ रहने अनुमान छ ।

    जनसंख्या वृद्धिको अनुपात हेर्दा यस क्षेत्रको प्रति व्यक्ति आय सन् २०१९ मा अनुमान गरिए भन्दा ६ प्रतिशतले कम रहनेछ । अबको समयमा हासिल गरिने आर्थिक वृद्धिले पनि विद्यमान महामारीको स्थायी आर्थिक क्षतिलाई परिपूर्ति गर्नेछैन भन्ने यसले संकेत गरेको छ ।

    अघिल्ला मन्दीहरूमा खस्कदो लगानी र निर्यातले गिरावट ल्याउने गरेका थिए । तर यसपालिको अर्थिक मन्दी फरक छ किनभने निजी उपभोग, जुन परम्परागत रूपमा दक्षिण एशियामा मागको मेरुदण्ड र आर्थिक कल्याणको मुख्य सूचक हो, १० प्रतिशतले घट्ने छ जसका कारण गरिबीको दर बढ्ने छ । विप्रेषणमा आएको गिरावटले पनि अति विपन्नहरूले तीव्र गतिमा आय स्रोत गुमाउने अपेक्षा केही देशहरूमा गरिएको छ ।

    ‘यस महामारीले अर्थतन्त्रमा पारेको प्रभाव र त्यसले नेपालभरिका मानिसको जीविकोपार्जनमा पारेको असरले अनौपचारिक कामदार वा सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा गम्भीर असर पर्ने र उनीहरू चरम गरिबीमा धकेलिने सम्भावना छ,’ माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद जर्भोसले भने ।

    ‘उनीहरूलाई आय, सामाजिक सुरक्षा, र रोजगारी सहित सहयोग गर्नका लागि शिध्र कार्य आवश्यक छ । साथै, भौतिक पूर्वाधार र अनौपचारिक क्षेत्रको वित्तिय पहुँचलाइ बढावा दिँदै द्रुत गतिमा पुनर्लाभ प्राप्त गर्नका लागि लगानीको वातावरणमा उल्लेख्य सुधार ल्याउनु आवश्यक छ’, हदाद जर्भोसज्युले थप प्रष्ट पारे ।

    नेपालमा अनौपचारिक व्यवसायहरूमा करिब ५० प्रतिशत उद्यमहरू पर्छन् र यी उद्यमहरू अधिकांश श्रमजीविहरूको कमाईको मुख्य स्रोत हुन् । यस समूह मध्ये, सहरी अनौपचारिक क्षेत्रका कामदारहरू र शहरी क्षेत्रका स्वरोजगार परिवारहरू सबैभन्दा बढी जोखिममा छन् किनभने ग्रामिण क्षेत्रका परिवारहरू कम्तीमा निर्वाह खेतीमा फर्केर जान सक्छन् ।

    प्रायः अनौपचारिक कम्पनीहरूले सिमित बचतका साथ काम गर्दछन् र सञ्चालकहरूले लकडाउनको क्रममा घरमै बस्ने र भोकमरीको सामना गर्ने वा संक्रमणको जोखिम मोल्दै व्यवसाय चलाउने भन्ने जस्तो कठिन विकल्पको सामना गर्नुपर्ने हुन्छ । यी परिदृश्यहरूले वित्तीय कठिनाइहरूका साथसाथै कोभिड १९ को संक्रमण फैलाउँदछन् ।

    ‘कोभिड १९ ले नेपाल तथा सम्पूर्ण दक्षिण एशिया क्षेत्रमै ठूलो परिवर्तन ल्याउने छ र यहाँको अर्थतन्त्रमा दीर्घकालीन असर छोड्ने निश्चित छ ।

    यसका बाबजूद, विश्वव्यापी अर्थतन्त्र डिजिटल प्रविधि तर्फ रुपान्तरण हुँदै गएको अवस्थामा सूचना प्रविधिको क्षमताका साथै विशिष्ट पर्यटन सेवाको मागमा वृद्धि हुने सम्भावना रहेकोले विश्वव्यापी निकासी पैठारी प्रणालीमा दक्षिण एशियाको सहभागिता बढ्न सक्ने हुँदा उत्थानशील विकास तर्फ भने सकारात्मक रहन सकिन्छ’, दक्षिण एशिया क्षेत्रका लागि विश्व बैंकका मुख्य अर्थशास्त्री हान्स टिमरले भने ।

  • सेयर बजारमा दोहोरो अंकको गिरावट

    सेयर बजारमा दोहोरो अंकको गिरावट

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ । बिहिबार सेयर बजार मापक सूचक नेप्से ११.३४ विन्दुले घटेर १५८९.६४ विन्दुमा आइपुगेको छ ।

    यसदिन १९३ कम्पनीको २ अर्ब ९० करोड ५० लाख ५७ हजार ९६६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड ११ लाख ६४ हजार ५०६ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ३ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ९ वटा समूहको परिसूचक ओरालो लागेका छन् ।

    आज फाइनान्स समूहको परिसूचक सबैभन्दा धेरै ३१.७२ अंकले बढेको छ भने निर्जीवन बीमा समूहको परिसूचक ७४.३१ अंकले घटेको छ ।

    लगानीकर्ताको रोजाइमा अरुण काबेली हाइड्रोपावर कम्पनी परेको छ । यसको सबैभन्दा धेरै १२ करोड ४१ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा नेशनल र सानिमा माइ हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    घट्दो बजारमा पनि आज चार कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज कर्णाली डेभलपमेन्ट बैंक, मल्टि प्रपोज, समृद्धि र गोर्खाज फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।

  • युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा

    युट्युबका प्रिमियम ग्राहकलाई विशेष सुविधा

    काठमाडौं । भिडियो सेयर गर्ने युट्युब प्लेटफर्मले नयाँ सुविधा परीक्षण गर्ने नीति ल्याएको जनाएको छ ।
    एक्सडीए–डेभलपर्सका अनुसार परीक्षणका रुपमा यो सुविधा विशिष्ट (प्रिमियम) ग्राहकलाई मात्र उपलब्ध हुनेछ ।

    केही छानिएका गूगल प्रयोगकर्ताले यी सुविधाहरु परीक्षण गरिसकेको दी भर्जले जनाएको छ । प्रिमियम ग्राहकले युट्युब प्रयोग गर्दा भिडियो, आवाज, आवाज मार्फत खोजी र अन्य भाषासम्बन्धी फिल्टरहरु प्रयोग गर्न पाउने छन् ।

    प्रिमियम सेवा लिन ग्राहकले प्रति महिना करिब १२ अमेरिकी डलर तिर्नु पर्नेछ । ग्राहकले विज्ञापन रहित, पृष्ठभूमिका अन्य सामग्री हटाएर पनि भिडियो हेर्न सक्नेछन् भने युट्युब म्युजिक च्यानलमा समेत अलग पहुँचको सुविधा लिन सक्नेछन् ।

  • फिनल्यान्डमा १ दिनका लागि १६ वर्षीय किशोरीलाई किन बनाइयो प्रधानमन्त्री ?

    फिनल्यान्डमा १ दिनका लागि १६ वर्षीय किशोरीलाई किन बनाइयो प्रधानमन्त्री ?

    काठमाडौं । लैङ्गिक समानताको सूचीमा फिनल्यान्ड प्रायः माथि पर्छ। तर प्रधानमन्त्री सन्ना मरिनले लैङ्गिक भिन्नता अन्त्यको निम्ति लड्न थप कदम उठाउँदै १६ वर्षीया किशोरीलाई आफ्नो कुर्सी बुधवार एक दिनको निम्ति हस्तान्तरण गरिन्।

    कुनै नयाँ कानून नबनाए पनि एभा मुर्तोले दिनभरि राजनीतिकर्मीहरूसँग बैठकको कार्यतालिका थियो। जसको उद्देश्य हो प्रविधिमा महिला अधिकारको विषयमा जोड दिनु।

    संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय युवती दिवसभन्दा अघि किशोरीलाई उक्त जिम्मेवारी दिइएको हो जुन विश्वव्यापी एउटा अभियानको भाग थियो।

    फिनल्यान्डले प्लान इन्टर्न्याश्नलको ‘गर्ल्स टेकओभर’ अर्थात् युवतीको सत्तारोहणमा सहभागी भएको यो चौथो वर्ष हो।

    यस अभियानमा संसारभरिका देशहरूका किशोरीहरूलाई एक दिनको निम्ति राजनीति र अन्य क्षेत्रका नेताहरूको जिम्मेवारी सम्हाल्ने अवसर दिइन्छ।यो वर्ष युवतीहरूको निम्ति प्रविधिमा अवसर र डिजिटल क्षमता बढाउने कुरालाई प्राथमिकता दिइएको छ।

    बुधवार गरेको सम्बोधनमा सुश्री मुर्तोले भनिन्, ‘तपाईँहरूको अगाडि आज बोल्ने अवसर पाउनु मेरो निम्ति खुसीको कुरा हो, तर म यहाँ उभिनु नपरेको भए हुन्थ्यो भन्ने मेरो चाहना छ। गर्ल्स टेकओभर जस्ता अभियानहरूको खाँचो पर्नु हुँदैन ।’

    तर यो पृथ्वीको कुनै भागमा पनि लैङ्गिक समानता अहिलेसम्म प्राप्त नभएको कुरा यथार्थ भएको उनको ठम्याइ छ। उनले भनिन्, ‘तर हामीले यस क्षेत्रमा धेरै राम्रो काम गरेका छौँ र अझै पनि धेरै पूरा गर्नुपर्ने काम बाँकी छन्।’

    मानवअधिकार र जलवायुसम्बन्धी अभियानमा सक्रिय किशोरीले यस्तो अभियानमा भाग लिन आवदेन दिएका थिए। दिनभरि बैठकमा व्यस्त भएपछि ती प्रधानमन्त्रीले साँझ प्रविधिमा लैङ्गिक समानताबारे छलफल गर्दैछिन्।

    कार्यक्रमभन्दा अघि बोल्दै फिनल्यान्डकी प्रधानमन्त्री मरिनले प्रविधि सबैको पहुँचको निम्ति बनाइएको कुरा सुनिश्चित गरिनुपर्ने महत्त्वमाथि जोड दिइन्।उनले भनिन्, ‘त्यसले समाजभित्र र देशहरूबीच डिजिटल विभेद गहिरो बनाउनु हुँदैन।’

    गत वर्ष विश्व आर्थिक मञ्चको विश्वव्यापी लैङ्गिक असमानतासम्बन्धी प्रतिवेदनमा फिनल्यान्ड तेस्रो भएको थियो। तथापि प्रविधिको क्षेत्रमा प्रतिनिधित्वको हिसाबले महिला अझै तल छन्।

    गत वर्ष ३४ वर्षको उमेरमा शपथ ग्रहण गरेकी मरिया विश्वकै कम उमेरकी प्रधानमन्त्री बनेकी थिइन्। उनी फिनल्यान्डकी तेस्रो महिला प्रधानमन्त्री हुन्।

    उनले नेतृत्व गरेको मध्य–वामपन्थी गठबन्धनमा चारवटा दल छन्। ती सबै दलको नेतृत्व महिलाले गरेका छन् र तीमध्ये तीन जना ३५ वर्षभन्दा कम उमेरका छन्। बीबीसी

  • अमेरिकासहित तीन मुलुकका राजदूतबारे उजुरी माग

    अमेरिकासहित तीन मुलुकका राजदूतबारे उजुरी माग

    काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिले संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको संसदीय सुनुवाइ प्रक्रिया थालेको छ ।

    सरकारले अमेरिकाका लागि पूर्वअर्थमन्त्री डा युवराज खतिवडा, बेलायतका लागि पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी र निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा नाम प्रस्ताव गरेको थियो । उनीहरुको नाम संसदीय सुनुवाइका लागि समितिसमक्ष पठाएको हो । सोही अनुसार समितिले सर्वसाधारणबाट उजुरी माग गरेको छ ।

    समितिको बुधबार बसेको बैठकले प्रस्तावित राजदूतत्रयका सम्बन्धमा कुनै गुनासो, उजुरी वा सिकायत भए १० दिनभित्र समितिसमक्ष उजुरी दिन सर्वसाधारणसँग आह्वान गरेको छ । त्यसका लागि सूचना प्रकाशन गर्ने निर्णय गरेको छ ।

    ती पदमा उनीहरुलाई नियुक्त गर्न उपयुक्त छैन भन्ने कसैलाई लागेमा स्पष्ट आधार एवं सबुद प्रमाणसहित १० दिनभित्र सूचना वा उजुरी दिन सकिने भएको छ । सरकारले १५ असोजमा उनीहरुको नाम सिफारिस गरेको थियो ।

  • २५ हजार सक्रिय संक्रमित नाघ्दा तीन जिल्ला सुरक्षित

    २५ हजार सक्रिय संक्रमित नाघ्दा तीन जिल्ला सुरक्षित

    काठमाडौं । देशभर कोरोना भाइरसको सक्रिय संक्रमण २५ हजारभन्दा माथि पुगेको छ । यस्तो अवस्थामा पनि नेपालका तीन जिल्ला भने अहिले पनि संक्रमण मुक्त रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र सोलुखुम्बु अहिले भाइरसमुक्त जिल्ला बन्न सफल भएका छन् ।

    अन्य हिमाली भेगमा समेत संक्रमण न्यून छ । तर, काठमाडौं उपत्यकासहित शहरी क्षेत्रमा भने संक्रमणको दर उच्च छ । एकै जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लाको संख्या बुधबार साँझसम् ७ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मनाङ, मुस्ताङ र सोलुखुम्बु अहिले भाइरसमुक्त जिल्ला बन्न सफल भएका छन् ।

    मन्त्रालयको विवरण अनुसार मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र रुपन्देही ५ सय भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला हुन् । बुधबार नेपालमा अहिलेसम्मकै बढी ३ हजार ४ सय ३९ जनामा सङ्क्रमण पुष्टी भयो ।

    यससँगै सक्रिय सङ्क्रमितको सङ्ख्या २५ हजार ७ पुगेको हो । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ६ सय ८४ सङ्क्रमित थपिँदा काठमाडौंमा मात्र १ हजार २ ९६ जनामा कोरोना देखियो । भक्तपुरमा ९५ र ललितपुरमा २९३ भेटिएको हो । काठमाडौंका अस्पताल भरिभराउ भएका छन् । तर भक्तपुरमा भने बेड खाली छन् ।

    नेपालले अहिलेसम्म कुल ११ लाख १३ हजार ४८५ नमुना परीक्षण गरिसकेको छ । देशभर संक्रमित जसरी बढिरहेका छन्, यसलाई जित्ने मानिसको संख्या पनि उस्तै छ । अहिलेसम्म डिस्चार्ज हुनेको सङ्ख्या ६८ हजार ६६८ रहेको छ । यो जम्मा सङ्क्रमितको ७२ प्रतिशत हो ।

  • सन् २०२२ का लागि डिभी खुल्यो

    सन् २०२२ का लागि डिभी खुल्यो

    काठमाडौं । सन् २०२२ को डाइभर्सिटी भिसा (डिभी)का लागि आवेदन फारम खुला भएको छ । गत राती १२ बजेदेखि फारम खुला भएको हो । नेपालस्थित अमेरिकी दूतावासका अनुसार डिभी भर्न सकिने समय भने २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म रहेको छ ।


    डीभीको आवेदन निःशुल्क व्यक्ति स्वयमले भर्न सक्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने बताइएको छ ।

    फाराम भर्नका लागि आधिकारिक वेबसाइट डिभिलट्रीस्टेटमा गएर त्यहाँ दिइएको निर्र्देशन अनुसारका प्रक्रिया पुरा गर्नु पर्ने दूतावासले जनाएको छ । डीभी भर्न कन्सल्टेन्टको सहयोग नलिनसमेत दूतावासले आग्रह गरेको छ ।

  • चैतयता रोकिएका सबै प्रकारका परीक्षा संचालन हुने

    चैतयता रोकिएका सबै प्रकारका परीक्षा संचालन हुने

    काठमाडौं । गत चैतयता रोकिएका सबै प्रकारका परीक्षा अब संचालन हुन भएका छन् । सरकारले कोरोनाबाट रोकिएको सबै परिक्षा सञ्चालनको अनुमति दिने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको परराष्ट्रमन्त्री तथा सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।

    उनका अनुसार सुरक्षा मापदण्ड अपनाएर रोकिएको सबै परीक्षा सञ्चालन गर्न सकिने भएको छ । संघीय, प्रदेश र स्थानीय तहबाट सञ्चालनमा भएका आयोग, विश्वविद्यालय, प्रतिष्ठान शिक्षण संस्थाहरूलाई परीक्षा सञ्चालन गर्न दिने सैद्धान्तिक स्वीकृति दिइएको उनको भनाई छ ।

    स्वास्थ्य र सुरक्षा मापदण्ड अपनाएर सबै तहबाट सञ्चालन हुने परिक्षा सञ्चालनको अनुमति दिने निर्णय भएको उनले स्पष्ट पारे । अब सरकारका सबै तहबाट सञ्चालन भएका व्यवसायी तालिम सञ्चालनका लागिसमेत स्वीकृति दिइएको छ । तर, त्यसक्रममा २५ जना भन्दा कम मानिस राखेर तालीम दिनुपर्ने प्रावधान बनाइएको छ ।

  • सरकार र डा. केसीबीच आज वार्ता, होला सहमती ?

    सरकार र डा. केसीबीच आज वार्ता, होला सहमती ?

    काठमाडौं । आमरण अनसन शुरु भएको २५ दिनपछि आज पहिलो पटक सरकारलले डा. गोविन्द केसीसँग वार्ता गर्ने भएको छ । त्यसका लागि सरकारले केसी पक्षधर दुबैले वार्ता टोली गठन गरेका छन् । सरकारले अनशनरत डा. केसीसँग वार्ता गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको छ।

    यसअघि मङ्गलबार स्वयमः सचिव मैनालीले केसीलाई भेटि अनसन त्याग्न आग्रह गरेका थिए । तर, केसी भने वार्ता टोली गठन भई औपचारिक संवादमा सरकार आउनु पर्ने अडानमा थिए । सोहीअनुसार सरकारले वार्ता टोली गठन गरेको हो ।

    सरकारी वार्ता टोलीमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा छन्। उता, डा गोविन्द केसीको पक्षबाट चार सदस्यीय वार्ता टोली गठन भएको छ ।

    टोलीमा डा. जीवन क्षेत्रीको संयोजकत्वमा डा. अन्जनी कुमार झा, डा. लोचन कार्की र ओम प्रकाश अर्याल सदस्य छन् । आजबाट हुने वार्ताले ठोस निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ । अनसनरत डा. केसीको जीवनरक्षाको माग गर्दै सरकारमाथि तीव्र जनदवाव बढेपछि सरकारले वार्ता गर्न लागेको हो ।

  • ब्याटिङ चल्न नसकेपछि चेन्नाई पराजित

    ब्याटिङ चल्न नसकेपछि चेन्नाई पराजित

    दुबई । आइपीएलमा सबैभन्दा खतरनाक ब्याटिङ लाइनअप भएको टोली मानिन्छ, चेन्नाई सुपर किंग्स । तर, बुधबार यही टीम कमजोरी ब्याटिङ गर्दै पराजित हुन पुगेको छ । कोलकाता नाइट राइडर्सले चेन्नाई सुपर किंग्सलाई १० रनले हराएको हो ।

    आईपीएल क्रिकेट अन्तर्गत गतराती सम्पन्न खेलमा कोलकाताले चेन्नाईलाई जितका लागि १६८ रनको चुनौति दिएको थियो । चेन्नाईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदा मात्र १५७ रन जोड्यो । कोलकाताको जितमा ओपनर राहुल त्रिपाठीले सर्वाधिक ८१ रन बनाए । ५१ बल खेलेको उनले ८ चौका र ३ छक्का हानेका थिए ।

    चेन्नाईलाई जितका लागि अन्तिम ओभरमा २६ रन चाहिएको थियो । आन्द्रे रसेलले मात्र १५ रन खर्चिए । चेन्नाईले पहिलो १० ओभरमा एक विकेट मात्रै गुमाएर ९० रन बनाएको थियो । तर त्यसपछिको बाँकी १० ओभरमा उसको ब्याटिङलाई कोलकत्ताका बलरले खलबलाइदिए । चेन्नाइका लागि शेन वाटसनले ५० रन बनाए ।

    कप्तान महेन्द्र सिंह धोनीले ११ रन मात्रै बनाउन सके । अम्बाती रायडुले ३० तथा फाप डु प्लेसिस र साम कुरानले समान १७–१७ रन जोडे । रविन्द्र जडेजा २१ रनमा नटआउट खेले ।

  • अन्ततः डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

    अन्ततः डा. केसीसँग वार्ता गर्न सरकारले बनायो समिति

    काठमाडौं । २४ दिनदेखि आमरण अनसनमा रहेका डा. गोविन्द केसीसँग वार्ता गर्न सरकारले समिति गठन गरेको छ । चर्को जनदवाव, नेकपाका शीर्ष नेताको दवाव, विपक्षी नेपाली कांग्रेसको दवाव र चिकित्सकहरुको आन्दोलन घोषणासँगै सरकारले डा. गोविन्द केसीका मागका सम्बन्धमा छलफल गर्न समिति गठन गरेको हो ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन भएको छ । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपी मैनालीको नेतृत्वमा वार्ता टोली गठन भएको छ । टोलीमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलिप शर्मा सदस्य छन् ।

    नेपालको चिकित्सा शिक्षा र स्वास्थ्य प्रणालीमा व्यापक सुधारको माग गर्दै डा. केसी १९ औं चरणको आमरण अनसनमा छन् । उनको अनसनमा सरकार उदासिन बनेको थियो । सरकारले माग फिर्ता लिएर अनसन तोड्न आग्रह गरिरहेको थियो ।

    तर, वार्ताका लागि पहल गरेको थिएन । सरकारलाई अनशन तोडाउन पहल नगरेको भन्दै चिकित्सक सं‌घले भोलि असोज २२ गते बिहान ९ देखि ११ बजेसम्म देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड१९का सेवाबाहेक अन्य स्वास्थ्य सेवा बन्द गर्ने निर्णय आजै गरेको थियो ।

  • जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ को मृत्यु

    जाजरकोटमा जीप दुर्घटना, वडाध्यक्षसहित ५ को मृत्यु

    जाजरकोट । जाजरकोटमा जीप दूर्घटनामा ५ जनाको मृत्यु भएको छ । जाजरकोट, जुनिचाँदे गाउँपालिकामा जिप दुर्घटना हुँदा वडाध्यक्षसहित पाँच जनाको मृत्यु भएको हो । दुई जना वेपत्ता छन् । जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका १ औलखोलामा दुर्घटनामा परेको स्थानीय प्रहरीले जानकारी गराएको छ ।

    जिल्ला सदरमुखकाम खलंगाबाट जुनिचाँदे जाँदै गरेको भे१ज ९३५ नम्बरको जिप बुधबार जुनिचाँदे गाउँपालिका १ औलखोलामा दुर्घटनामा परेको स्थानीय प्रहरीले जानकारी गराएको छ ।

    दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको र दुईजना बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । मृत्यु हुनेमा जुनिचाँदे गाउँपालिका ११ का अध्यक्ष अमरबहादुर शाही छन् । यसैगरी सोही गाउँपालिका वडानम्बर ११ का कृतिबहादुर शाही, खेमबहादुर शाही, वडानम्बर ५ का मालिका बस्नेत र कृष्णबहादुर शाही छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

  • शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने

    शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने

    काठमाडौं । विदेशमा रहेका र विदेशबाट फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउने उद्देश्यले आयोजना भएको विश्व ज्ञान सम्मेदन शुक्रबारबाट शुरु हुने भएको छ । दुई वर्षअघि देखि विश्व ज्ञान सम्मेलन आयोजना थालिएको हो । यसको निरन्तरता दिँदै दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन २०२० अक्टोबर ९ देखि ११ सम्म आयोजना हुने भएको छ ।

    सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको संघले जनाएको छ । नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने उद्देश्य अनुसार सम्मेलन आयोजना भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ । यही उद्देश्य प्राप्तिका लागि विदेशमा रहेका नेपालीहरुले आर्जन गरेको ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई नेपालको विकासमा प्रयोग गर्ने सम्बन्धमा संघले पहल थालेको बताएको छ ।

    भर्चुअल माध्यमबाट हुने यस सम्मेलनको उद्घाटन शुक्रबार, असोज २३ गते अपरान्ह प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन् । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीसहित नेपाल सरकारका उच्च प्रतिनिधीसहित स्वदेश तथा विदेशका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा ४ वटा प्लेनरी र विविध विषयमा १५ वटा सिम्पोजियम सत्र रहने संघले उल्लेख गरेको छ ।

    नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने उद्देश्य अनुसार सम्मेलन आयोजना भएको गैरआवासीय नेपाली संघले जानकारी दिएको छ ।

    २५ भन्दा बढी देशका १०० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय, अनुसन्धान केन्द्रहरुबाट ३०० भन्दा बढी प्रस्तोताहरुको सहभागिता रहनेछ । सम्मेलनमा २०० वटा कार्यपत्र प्रस्तुत गरिनेछन् । विशेषतः कोरोनाले नेपालमा पारेको प्रभाव र कोरोनापश्चात् विश्वभर चालिएका कदम र नेपालले अवलम्बन गर्नुपर्ने रणनीतिका बारेमा सम्मेलन केन्द्रित हुनेछ । साथै संयुक्त राष्ट्रसंघको दिगो विकासको लक्ष्य र नेपाल सरकारको १५ औँ पञ्चवर्षीय योजनाका विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।


    गैरआवासीय नेपाली संघको मुख्य आयोजना र नेपाल सरकारको सह–आयोजनामा हुने सम्मेलनमा काठमाडौँ विश्व विद्यालयको सहकार्य रहनेछ । परराष्ट्र मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय, राष्ट्रिय अनुसन्धान केन्द्र एवं निजी क्षेत्रको महत्वपूर्ण सहयोग तथा सहभागिता रहेको सम्मेलनमा गैरआवासीय नेपाली विज्ञहरु, नेपालमा रहनुभएका विज्ञहरु, र नेपालसँग जोडिएका विदेशी विज्ञहरु सहभागी हुनेछन् ।

    सम्मेलनको पहिलो दिनका विभिन्न सत्रमा कृषि र खाद्य सुरक्षा, प्रविधिमैत्री र स्टार्ट अप कम्पनी, भौतिक पूर्वाधार विकास, कोरोना महामारीको कहर र सार्वजनिक स्वास्थ्य, व्यावसायिक शिक्षा, अनुसन्धान, प्रविधि तथा बजारीकरणका बारेमा कार्यपत्रहरु प्रस्तुत हुने संघले उल्लेख गरेको छ । नेपाललाई उपयुक्त हुने नयाँ प्रविधिको सम्भावना र यस क्षेत्रमा लगानीका साथै नेपालको विकास नीति निर्माणमा डायस्पोराको कस्तो भूमिका हुन्छ भन्ने विषयमा केन्द्रित भएर कार्यपत्रहरु माथि छलफल हुने संघको भनाई छ ।

    सम्मेलनको दोस्रो दिन महामारी तथा प्राकृतिक प्रकोप संकट व्यवस्थापन, विज्ञान तथा प्रविधि नीति तथा नेपाली अर्थतन्त्रमा कोरोना महामारीको प्रभाव र पुनरुत्थान लगायतका सत्रहरु समावेश गरिएका छन् । यस्तै तेस्रो दिन जीवन र स्वास्थ्य विज्ञान, उर्जा, आर्थिक रुपान्तरण, सूचना तथा सञ्चार प्रविधि , वातावरण र समाज विज्ञान लगायतका समानान्तर सत्रहरुमा विभिन्न विज्ञहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्नु हुनेछ ।

    सम्मेलनको समीक्षा, निष्कर्ष र भविष्यको रणनीति तयार गर्ने तथा सोही दिन नेपाल सरकारका विभिन्न निकाय र विज्ञहरुबीच पनि छलफल र परामर्श हुने तय भएको छ । सम्मेलनको निष्कर्षलाई एक श्वेतपत्रमार्फत नेपाल सरकार समक्ष सुझावको रुपमा प्रस्तुत गरिने संघले बुधबार जानकारी गराएको छ ।

  • थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

    थप १५ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५७८ पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ महिला र १० पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा काठमाडौंमा ६६ र ७२ वर्षीया महिला, ४५, ५३, ६४ र ६९ वर्षीय पुरुष रहेका छन् ।

    मोरङमा ४० र ६० वर्षीय पुरुष, सिराहामा ५० वर्षीया महिला, रौतहटमा ७२ वर्षीया महिला, ललितपुरमा ४६, चितवनमा ६१, रुपन्देहीमा ५५, नवलपरासीमा ७६ वर्षीय पुरुष र दाङमा ७१ वर्षीया महिलाको मृत्यु भएको छ।

    हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७८ पुगेको छ । यो कुल संक्रमित संख्याको शून्य दशमलव ६१ प्रतिशत रहेको छ ।

  • काठमाडौं उपत्यकामा थपिए १६८४ कोरोना संक्रमित

    काठमाडौं उपत्यकामा थपिए १६८४ कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १६८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २९३ जनालाई संक्रमण पुष्टि भएको हो।

    जसअनुसार काठमाडौंमा ५१८ महिला र ७७८ पुरुष, ललितपुरमा १३० महिला र १६३ पुरुष र भक्तपुरमा ४३ महिला र ५२ पुरुष रहेका छन् । यो सँगै उपत्यकामा संक्रमित हुनेको संख्या ३३ हजार ७४९ पुगेको छ।

  • नेपालमा एकैदिन थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा एकैदिन थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार २ सय ९ जनाको पीसीआर परीक्षणमा थप ३४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगैकूल संक्रमितको संख्या ९४ हजार २३५ पुगेको छ।

    पछिल्लो २४ घन्टामा थप ११२६ जना कोरोना संक्रमणमुक्त भएका छन्। डिस्चार्ज हुनेको संख्या ६८ हजार६६८ पुगेको छ। देशभर २५ हजार ७ जना सक्रिय संक्रमित छन्।

  • सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे दीर्घकालीन रणनीति मन्त्रालयलाई

    सहकारी क्षेत्रको विकासका लागि २५ वर्षे दीर्घकालीन रणनीति मन्त्रालयलाई

    काठमाडौं । राष्ट्रिय सहकारी विकास बोर्डले राष्ट्रिय सहकारी नीति २०६९ को पुनरावलोकन मस्यौदा भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याललाई बुझाएको छ।

    बोर्डले बुधबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सहकारी क्षेत्रको विकासका लागि तयार गरेको २५ वर्षे दीर्घकालीन रणनीतिक योजना पेस गरेको हो ।

    योजनाको मस्यौदा बुझ्दै मन्त्री अर्यालले सहकारी आन्दोलनको बिस्तार, विकास र सुदृढिकरणका निम्ती रणनीतिक दस्तावेज निर्माण गरेको बताइन्। ‘सहकारी क्षेत्रको विकासको अवस्था, त्यसका सबल पक्षहरु के छन्? अहिलेसम्म प्राप्त उपलब्धीहरु के छन् भन्ने कुराको चर्चा गर्दै समग्र सहकारी क्षेत्रको विश्लेषण यो डकुमेन्टमा गरिएका छन’, मन्त्री अर्यालले भनिन् ।

    अन्तर्राष्ट्रिय अभ्यास, राष्ट्रिय अवस्थालाई समेत ध्यानमा राख्दै सहकारी क्षेत्रको समग्र विकासका निम्ति स्पष्ट भिजनका साथ रणनीति तयार गरिएको मन्त्री अर्यालले उल्लेख गरिन्।

    सहकारी क्षेत्र उद्यमशीलतातर्फ लाग्नुपर्ने भन्दै मन्त्री अर्यालले उद्यमशीलताको विकास र रोजगारीलाई महत्वका साथ जोड दिइएको जानकारी दिइन्। ‘हामीसँग सहकारीका संख्याहरु धेरै छन्। सहकारी आर्थिक रुपमा सबल छ ।

    उक्त नीतिको मस्यौदाअनुसार अब फरक प्रकृतिका सहकारी संस्था पनि अस्तित्वमा आउनेछन्। सहकारीले शिशु स्याहार केन्द्रदेखि, सहकारी विद्यालय, सहकारी अस्पताल, बिमा, श्रमिक बैंक, स्टार्टअप बिजनेस र ज्येष्ठ नागरिक हेरचाह केन्द्र बनाउनेसम्मका काम गर्ने नीति सरकारले लिन लागेको छ।

  • सेयर बजार ७ महिनायताकै उच्च विन्दुमा, हाइड्रो र विकास बैंकमा झुम्मिए लगानीकर्ता

    सेयर बजार ७ महिनायताकै उच्च विन्दुमा, हाइड्रो र विकास बैंकमा झुम्मिए लगानीकर्ता

    काठमाडौं । सेयर पछिल्लो ७ महिना यताकै उच्च विन्दुमा पुगेको छ ।

    आज नेप्से सूचक दोहोरो अंकले बढेर १६०० विन्दू पार गरेको छ । यो २०७६ फागुन यताकै उच्च विन्दु हो । गत फागुन १७ गते नेप्से सूचक साढे दुई वर्ष यताकै उच्च १६३२ विन्दुमा पुगेको थियो ।

    पछिल्लो समय बजार क्रमशः उकालो लाग्दै गएपछि लगानीकर्ताको मनोबल बलियो हुँदा बजारले निरन्तर गति लिएको छ । असार यता निरन्तर उकालो लागेको सेयर बजार पछिल्लो ३ महिनामै करिब ४०० अंकले बढेको छ ।

    पछिल्लो समय बजारमैत्री वातावरण सृजना भएपछि बजारले छलाङ मारेको हो । कोरोनाका कारण अन्य क्षेत्रमा लगानीको वातावरण नहुँदा बैंकिङ प्रणालीमा अधिक तरलता हुनु, बैंकको ब्याजदर सस्तो हुनु, सेयर धितो कर्जाको सीमा बढाएर ७० प्रतिशत पुर्याउनु, बजारमा ठूला लगानीकर्ता प्रवेश गर्नु लगायत कारणले बजारले गति लिँदै गएको हो ।

    साथै, पछिल्लो समय पूर्ण अनलाइन प्रणालीबाट कारोबार हुन थालेपछि बजारमा लगानीकर्ताको सहभागिता बढेको छ । यसले गर्दा बजारमा नयाँ लगानीकर्ता र थप पूँजी भित्रिन सहयोग पुगेको छ । जसले बजारलाई चलायमान बनाउँदै लगेको अनुमान गर्न सकिन्छ ।

    सेयर बजार मापक सूचक नेप्से आज १४.६८ विन्दुले बढेर १६००.९८ विन्दुमा पुगेको छ । यसदिन १९५ कम्पनीको ३ अर्ब ३५ करोड ८५ लाख ६ हजार २९६ रुपैयाँ बराबरको कारोबार भएको छ । १ करोड २६ लाख ९९ हजार ५३५ कित्ता सेयर किनबेच भएका छन् ।

    कारोबारमा आएका १२ वटा समूहमध्ये ९ वटा समूहको परिसूचक उकालो लागेका छन् भने ३ वटा समूहको परिसूचक ओरालो लागेका छन् । आज विकास बैंक समूहको परिसूचक सबैभन्दा धेरै ७७.९८अंकले बढेको छ भने व्यापार समूहको परिसूचक ३.१४ अंकले घटेको छ ।

    बढ्दो बजारमा आज पनि लगानीकर्ताको हाइड्रोपावर र विकास बैंकको सेयरमा झुम्मिएका छन् । पछिल्ला केही दिन यता हाइड्रोमा झुम्मिएका लगानीकर्ता आजपनि त्यसलाई निरन्तार दिएका हुन् ।

    तुलनात्मक रूपमा अन्य क्षेत्रका कम्पनीभन्दा हाइड्रोको सेयर मूल्य सस्तो, कोरोनाबाट कम प्रभावित क्षेत्र भएकाले लगानीकर्ता हाइड्रोको सेयरप्रति आकर्षित भएका हुन् ।अहिले पनि केही कम्पनीको मूल्य आइपीओको भन्दा केही मात्र बढी रहेको छ ।

    आज लगानीकर्ताको रोजाइमा अरुण काबेली हाइड्रोपावर कम्पनी परेको छ । यसको सबैभन्दा धेरै १५ करोड २९ लाख रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । कारोबारकै आधरमा अरुण भ्याली र सानिमा माइ हाइड्रोपावरको सेयर क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे ।

    आज २ दर्जनबढी कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । आज कर्णाली डेभलपमेन्ट बैंक, नेशनल, ङादी पावर, वरुण, साञ्जेन हाइड्रोपावर लगायत २५ कम्पनीका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।आज लक्ष्मी इक्वीटी म्युचुअल फण्डका सेयरधनीले सबैभन्दा धेरै ३.११ प्रतिशतले गुमाएका छन् ।

  • कोरोनाले रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

    कोरोनाले रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने सरकारको निर्णय

    काठमाडौं । सरकारले कोरोना भाइरसका कारण रोकिएका सबै तहका परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सुरक्षासम्बन्धी मापदण्ड अपनाएर सबै तह र विषयका परीक्षा सञ्चालन गर्न सैद्धान्तिक सहमति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले बताए ।

    सरकारले यसअघि भर्चुचल बाहेकका परीक्षा सञ्चालनमा रोक लगाएको थियो ।

    परीक्षासम्वद्ध आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, विद्यालय तथा शिक्षण संस्थाहरुलाई सबै तह, विषय र प्रकृतिका परीक्षाहरु सैद्धातिक स्वीकृति दिने निर्णय भएको छ ज्ञावलीले भने।

    उनका अनुसार सरकारले २५ जनासम्म सहभागी भएर दिइने व्यावसायिक तालिम पनि खुला गर्ने निर्णय गरेको छ।

  • बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

    बुटवलमा थप दुई कोरोना संक्रमितको मृत्यु

    बुटवल । बुटवलमा कोरोना भाइरसको संक्रमणपछि थप दुई जनाको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका दुई संक्रमितको ज्यान गएको हो । नवलपरासीको सुनवल नगरपालिका–५ का ७६ वर्षीया वृद्ध र बुटवल उपमहानगरपालिका–९ का ५५ वर्षीया महिलाको बुधबार बिहान ज्यान गएको अस्पतालले जानकारी दिएको छ ।

    गत शुक्रबार पीसीआर परीक्षण गरेपछि कोरोना संक्रमण पुष्टी भएका नवलपरासीका वृद्धमा दम र उच्च रक्तचापबाट पिडित थिए । उनको बुधबार बिहान १ बजे ज्यान गएको हो । बुटवल–९ की ५५ वर्षीया महिलाको भने बुधबार बिहान साढे ५ बजे ज्यान गएको छ ।

    सुख्खा खोकी र उच्च ज्वरोको समस्या देखिएपछि उनी अस्पताल भर्ना भएकी थिइन् । उनमा दीर्घरोगको कुनै संकेत थिएन । उनमा शनिबार कोरोना पुष्टी भएको हो ।

  • दोलखाका निजी स्कुलले ५ महिनाको शूल्क नलिने

    दोलखाका निजी स्कुलले ५ महिनाको शूल्क नलिने

    चरिकोट । देशभर निजी स्कुलले अविभावकबाट अनाधिकृत शुल्क असुल गरिरहेको खबर आइरहँदा निजी तथा आवासीय विद्यालय सङ्गठन (प्याब्सन)ले उदाहरणीय निर्णय गरेको छ । अब दोलखा भित्र संचालित निजी स्कुलले ५ महिनाको शुल्क नलिने भएका छन् । जिल्लाभर कुल ३३ वटा बोर्डिङ स्कुल छन् ।

    उनीहरुले वैशाखदेखि भदौ महिना सम्मको कुनै पनि शुल्क नलिने भएका हुन् । यो समयमा लकडाउनका कारण विद्यालय संचालनमा आउन सकेका थिएनन् । सरकारको निर्देशन विपरित देशभरका निजी स्कुुलले शुल्क असुल्न थालेपछि पछिल्लो समय अविभावक र स्कुलबीच द्धन्द्ध बढिरहेको समयमा प्याप्सन दोलखाले यस्तो निर्णय गरेको हो ।

    सरकारको निर्देशन विपरित देशभरका निजी स्कुुलले शुल्क असुल्न थालेपछि पछिल्लो समय अविभावक र स्कुलबीच द्धन्द्ध बढिरहेको समयमा प्याप्सन दोलखाले यस्तो निर्णय गरेको हो ।

    दोलखामा असोज ७ बाट भने विद्यालय सञ्चालनमा आएका छन् । यो अवधिमा विद्यार्थीले कुनै पनि माध्यमबाट कक्षा लिन नपाएकाले मासिक शुल्कसहितका शुल्क नलिने निर्णय भएको प्याप्सनले बताएको छ । अनलाइन कक्षा संचालन समेत असोजपछि मात्र शुरु भएको हो । त्यसपछि भने विद्यालयले आफ्नो शूल्क नीतिअनुसार शुल्क लिन सक्ने भएका छन् ।

  • दशैंलाई जहाजमा टिकट बुक जारी, बसमा अन्यौल

    दशैंलाई जहाजमा टिकट बुक जारी, बसमा अन्यौल

    काठमाडौं । सरकारले उचित निर्णय लिन नसक्दा यो वर्ष दशैंमा शहरबाट गाउँ फर्कने मानिसमा अन्यौल छाएको छ । कोरोना महामारीका बीच सरकारले हरेक दिन जसो जो जहाँ छ, त्यही बसेर दशैं मनाउन आह्वान गर्छ । तर, वर्षमा एक पटक आउने चाडबाड र महामारीमा अर्को वर्षको अनिश्चितताका बीच धेरैजना भने आफ्नो परिवारकै साथमा बडादशैं मनाउन चाहन्छन् ।

    यो अवस्थामा दशैंमा निर्वाध घर जान सक्ने वा नसक्ने अन्यौल भने आम यात्रुमा छ । यता, दशैंको मुख पारेर आफ्नो गाउँघर फर्कन हवाईजहाजमा धमाधम अग्रिम टिकट बुक भइरहेका छन् । यो सामान्य प्रक्रिया पनि हो । किनकी हवाईजहाज कम्पनीहरुले अहिले दशैं भनेर घोषणा नगरे पनि अग्रिम टिकट लिन्छन् । तर, बसमा त्यस्तो हुँदैन ।

    दशैंको मुख पारेर आफ्नो गाउँघर फर्कन हवाईजहाजमा धमाधम अग्रिम टिकट बुक भइरहेका छन् ।

    सरकारले मिति नै तोकेर अग्रिम टिकट बुक गराउनु पर्छ । तर, दशैं भित्रन ९ दिन मात्र बाँकि रहेको अवस्थामा समेत सरकारले अझै के गर्ने भन्ने टुंगो भने लगाउन सकेको छैन । व्यवसायीहरुले दशैंमा पूर्ण क्षमतामा यात्रु बोक्न पाउनु पर्ने माग गरिरहेका छन् । सरकारले जनस्वास्थ्यमा चूनौति हुने भन्दै त्यसको पक्षमा छैन ।

    सोहीकारण सहमति हुन नसकेकै कारण अग्रिम टिकट बुक हुन नसकेको यातायात व्यवस्था विभागका अधिकारीहरु बताउँछन् । यात्रु कति राख्न दिने वा नदिने भन्ने निर्णय समेत विभाग एक्लैले भने गर्न सक्दैन । यसका लागि कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएसी)ले गर्नुपर्छ । तर, सीसीएमसी नै यो विषयमा गम्भीर हुन सकेको छैन । यसको नेतृत्व उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले गर्छन् ।