काठमाडौं । काठमाडौं उपत्यकामा थप १४१६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ हजार ७१, ललितपुरमा १ सय ६१ र भक्तपुरमा १ सय १० जनालाई कोरोना संक्रमण देखिएको हो ।
Author: Vishwanews.com
-

नेपालमा कोरोना संक्रमणबाट मृत्युको नयाँ रेकर्ड, एकै दिन २२ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप २२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर ५ महिला र १७ पुरुषको मृत्यु भएको हो । यो एकै दिन हालसम्मकै धेरै मृत्यु हो।
काठमाडौंमा ६६ वर्षीया महिला, ६०, ७०, ७५ र ८३ वर्षीय पुरुषको मृत्यु भएको छ।
सुनसरीमा ६३ वर्षीया महिला र ६५ वर्षीय पुरुष, धनकुटामा ६१ वर्षीया महिला, सर्लाहीमा ३८ वर्षीय पुरुष, ललितपुरमा ४९, भक्तपुरमा ४४ र ५७, नुवाकोटमा ७७ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ।
यस्तै, चितवनमा ७५ वर्षीया महिला, उमेर नखुलेको एक पुरुष, ४७ र ९८ वर्षीय पुरुष, मकवानपुरमा ८५ वर्षीया महिला, सिन्धुपाल्चोकमा ६३, रुपन्देहीमा ६०, ६१ र ८४ वर्षीय पुरुषको मृत्यु भएको छ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३६ पुगेको छ । यो संख्या कुल संक्रमितको शून्य दशमलव ५९ प्रतिशत हो ।
-

सरकारसँग सहमतिपछि तोडियो डाक्टर केसीको अनशन
काठमाडौं । सरकारसँग ८ बुँदे सहमति भएसँगै डाक्टर गोविन्द केसीले अनसन तोडेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आयोजित एक कार्यक्रमबीच केसीले अनसन तोडेका हुन्।बिहान १० बजे अस्पतालका सफाई कर्मचारी विकास नेपालीले जुस खुवाएर अनसन तोडेका थिए। अनशसन तोडे लगत्तै डाक्टर केसीलाई अस्पतालको आईसीयूमा भर्ना गरेर उपचार थालिएको छ ।
बुधबार सरकार र डा.केसी पक्षले वार्ता टोली गठन गरे लगत्तै बिहीबार र शुक्रबार भएको वार्ता असफल भएपछि सरकारी वार्ता टोलीले शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग छलफल गरेपछि सहमति जुटेको हो ।
सरकार र डा.केसीबीच कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
त्यस्तै, भौतिक पूर्वाधार निर्माणसहित सबै कानुनी प्रक्रिया पूरा गरेर आगामी २०८० साल फागुन १० गतेभित्र सुदूरपश्चिम प्रदेशको गेटा, प्रदेश २ को बर्दिबास, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति पनि दुई पक्षबीच भएको छ।
अनसन तोडिएसँगै आवासीय चिकित्सकले आजदेखि थाल्ने भनिएको आन्दोलन फिर्ताको घोषणा गरेको छ । हिजो अबेरसम्म पनि डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै आजदेखि आकस्मिक र कोभिड-१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेका चिकित्सकले आन्दोलन फिर्ताको घोषणा गरेको हो ।
-

भक्तपुरमा टिपरमा ठोक्कियो मोटरसाइकल, एक जनाको मृत्यु
भक्तपुर । भक्तपुरमा रोकेर राखेको टिपरमा मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । भक्तपुरको सूर्यविनायकमा रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किदा चालकको ज्यान गएको प्रहरीले जनाएको छ । सूर्यविनायक नगरपालिका वडा नम्बर ५ चुनदेवीमा रोकिराखेको बा ३ ख ८८०३ नम्बरको टिप्परमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।
त्यसक्रममा घाइते भएका चालक भक्तपुर नगरपालिका ४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण ट्वाटीको डाक्टर इवामुरा अस्पतालमा मृतयु भएको छ । मोटरसाइकलको पछाडि बसेकी ७ वर्षकी प्रमिला लामाको उपचार भइरहेको छ । पछिल्लो समय काठमाडौं उपत्यकामा अत्यधिक सवारी चापका बीच अधिक गतिले मानिसहरुको ज्यान लिइरहेको छ ।
-

कोरानाबाट बुटवलमा तीन र तिलोत्तमामा एकको मृत्यु
बुटवल । कोरोना भाइरसको संक्रमणबाट रुपन्देही जिल्लामा थप चार जनाको ज्यान गएको छ । यसमध्ये बुटवल उपमहानगरपालिकामा नीन जनाको ज्यान गएको छ । एकजना तिलोत्तमा नगरपालिकाका छन् । बुटवल–११ का ८४ वर्षीय पुरुषको उपचारका लागि लैजाने क्रममा कपिलवस्तुको धानखोलामा ज्यान गएको प्रहरीे जानकारी दिएको छ ।
बुटवलमा आईसीयू बेड नभएपछि उनलाई दाङको बेलझुण्डीस्थित कोरोना अस्पताल अथवा नेपालगन्ज मेडिकल कलेज, कोहलपुर लैजाने गरी रिफर भएको थियो । तर, उनको बाटोमै ज्यान गएको हो । उता, बुटवल ११ की ६१ वर्षीया महिलाको समेत उपचारका क्रममा कोरोना विशेष अस्पताल बुटवलमा ज्यान गएको अस्पतालले जनाएको छ ।
उनको समेत आइतबार बिहान २ बजे ज्यान गएको हो उनीहरु दुबै जना दीर्घरोगबाट पिडित थिए । यता, बुटवल–१ का ७० वर्षीय पुरुषको गएराति १० बजे धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्पतालको आईसीयू कक्षमा मृत्यु भएको छ ।उनी शनिबार अस्पताल भर्ना भएका थिए ।
असोज २२ मा कोरोना संक्रमण पुष्टि भएका उनमा निमोनिया र श्वासप्रश्वासको समस्या थियो । यता, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ निवासी ६६ वर्षीया कोराना संक्रमित महिलाको शनिबार दाङको बेलुझण्डीस्थित कोरोना विशेष अस्पताल मृत्यु भएको छ ।
यो अस्पतालमा निधन हुने पहिलो बिरामी हुन् । उनलाई समेत बुटवलमा आईसीयू बेड नभएपछि दाङ लगिएको थियो ।
-

धोनीको टीम चेन्नाईलाई बढ्दो संकट, कोहली चम्किएपछि फेरी हार्यो
दुबई । जारी इण्डियन प्रिमियर लिगमा तीन पटकको उपाधी विजेता चेन्नाई सुपर किंग्स निरन्रता हार बेहोर्न बाध्य भएको छ । यसले कप्तान महेन्द्रसिहं धोनीको टीम लिग चरणबाटै बाहिरिने सम्भावना समेत बढेको छ । शनिबार राती सम्पन्न खेलमा पनि रोयल च्यालेन्जर्स बैंग्लोरले चेन्नाई सुपर किंग्सलाई ३७ रनले पराजित गरेको हो । यो जारी लिगमा पाँचौ हार हो ।
शनिबार कप्तान बिराट कोहली चम्किए । उनले ९० रनको अविजित पारी खेले । बैंग्लोरले चेन्नाईसामु १७० रनको लक्ष्य राखेको थियो । चेन्नाई निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र १३२ रनमा समेटियो ।
चेन्नाईका लागि अम्बाती रायडुले सर्वाधिक ४२ रन बनाए । बैंग्लोरका लागि क्रिस मोरिसले ३ र वाशिंग्टन सुन्दरले २ विकेट लिए । जारी आईपीएल प्रतियोगितामा बैंग्लोरको यो चौथो जित हो ।
दुबईमा टस जितेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १६९ रन बनाएको थियो । बैंग्लोरका लागि कप्तान बिराट कोहलीले ५२ मा ४ चौका र ४ छक्का प्रहार गर्दै ९० रन जोडेका थिए । -

यो वर्ष फुलपातीमा हर्षबढाई नहुने, सांकेतिक रुपमा मनाइने
काठमाडौं । दशैंको फुलपातीको दिन नेपाली सेनाले टुडिखेलमा भब्य कार्यक्रम आयोजना गरी र्ष बढाई गर्छ । त्यसक्रममा देशभर शक्तिपिठहरुमा पूजाआजा समेत हुने गर्छ । तर, कोरोना भाइरसको बढ्दो संक्रमणका कारण यो वर्षको दशैं साविकमा जस्तै हुने छैन । त्यसकारण फूलपाती बढाइँ धर्म, संस्कृति र परम्परालाई निरन्तरता दिन सांकेतिकरूपमा मात्र आयोजना गरिने भएको छ ।
कोभिड–१९ को संक्रमणबाट सिर्जित परिस्थितिका कारण हर्षोल्लासका साथ नभई धर्म, संस्कृति र परम्परालाई जीवन्तता दिन प्रतीकात्मकरूपमा मात्र बढाइँ गरिने सैनिक प्रवक्ता सन्तोषवल्लभ पौडेलले नेपालको राष्ट्रिय समाचार समितिलाई जानकारी गराएका छन् । यो वर्ष फूलपाती आगामी कात्तिक ७ मा परेको छ ।
स्वास्थ्यसम्बन्धी सम्पूर्ण मापदण्ड पूरा गरी मौलिक चाडबाडलाई निरन्तरता दिने उद्देश्यले पहिलाको तुलनामा सांकेतिकरूपमा मात्र बढाइँ कार्यक्रम सञ्चालन गरिने योजना बनाएको पौडेलले बताएका छन् ।
यसअघि बढाइँमा पूर्व, पश्चिम र दक्षिणपाटाबाट ८४\८४ जनाको गुल्मले बढाइँ गर्थ्यो । यस पटक सामाजिक दूरी कायम गरी २५\२५ जनामा सीमित गरिएको छ । बढाइँ कार्यक्रममा प्रमुख अतिथिका रुपमा राष्ट्रपति सहभागी हुने परम्परा छ ।
विगतमा जस्तै लामो कार्यक्रम आयोजना हुने छैन । छोटो बढाइँ र टुकडीले सैनिक व्याण्ड प्रदर्शन गर्ने छ । विगतमा सेनाबाहेक एक हजार २०० को संख्यामा पाहुना बोलाएर टुडिखेलमा कार्यक्रम हुन्थ्यो । यो वर्ष सेनासहित मात्र १ सय जना पाहुना सहभागी हुनेछन् ।
-

बाँकेमा थप दुईको कोरोनाबाट मृत्यु
नेपालगन्ज । बाँकेमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको ज्यान गएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका दुईजना कोरोना संक्रमितको ज्यान गएको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–१० ट्राफिक चोकका ८४ वर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नंं ८ निवासी ७१ वर्षीया महिलाको गत राती निधन भएको हो । स्वास्थ्य कार्यालय बाँकेका अनुसार नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना आइसोलेसन वार्डमा उपचाररत पुरुषको शनिबार राति १० बजे मृत्यु भएको हो ।
त्यसलगत्तै महिलाको समेत ज्यान गएको हो । पुरुष श्वासप्रश्वास सम्बन्धी समस्या आएपछि अस्पताल भर्ना भएका थिए । अब बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको छ । अन्य जिल्लाबाट उपचारका लागि आई ज्यान गुमाउने भने १२ जना छन् ।
-

२८ औं दिनमा अनसन तोड्दै डा. केसी, भयो ८ बुँदै सहमति
काठमाडौं । आज २८ औं दिनमा अनसनरत डा. गोविन्द केसीले अनसन अन्त्य गर्ने भएका छन् । मध्यरातमा सरकार र डा. गोविन्द केसीबीच ८बुँदे सहमति भएसँगै उनी अनसन तोड्न सहमत भएका हुन् । शनिबार राती डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले सहमति पत्रमा हस्ताक्षर गरेका छन् ।
सहमति अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आगामी वर्षबाट एमबीबीएस कार्यक्रम सञ्चालन हुने भएको छ । अन्य स्थानमा २०८० फागुन १० भित्र पढाई सुरु गर्ने सहमति समेत दुबै पक्षबीच भएको छ ।
विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्ति निश्पक्ष र पारदर्शी बनाउन उच्च शिक्षासम्बन्धी विधेयक र एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठानसन्बन्धी विधेयकमा समेट्न तीन साताभित्र मस्यौदा बनाउने र कानूनी व्यवस्था नहुँदासम् वरिष्ठता र कार्यक्षमताका आधारमा गर्ने सहमति भएको पत्रमा उल्लेखछ ।
चिकित्सा शिक्षा ऐन संशोधनका लागि चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलको क्षेत्राधिकारमा डा. केसीबीच २०७५ साउन १० मा भएका सहमति र सम्झौताका विषय समेत सम्ट्ने सहमति भएको छ । बयलपाटा अस्पतालमा निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउने सहमति पनि दुबै पक्षबीच भएको छ ।
-

पर्यटन मन्त्री भट्टराईलाई कोरोना संक्रमण
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । उनी आफैले यसको पुष्टी गरेका छन् । ट्वीटमार्फत उनले आफुमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको जानकारी गराएका हुन् । उनका अनुसार शुक्रबार हल्का ज्वरो आएपछि शनिबार परीक्षण गरेका थिए ।
त्यसअघि सोमबार कोरोना परीक्षण गराएर नेगेटिभ भई काठमाडौं बाहिरका कार्यक्रममा भाग लिएको र त्यसपछि काठमाडौं आएको उनले बताएका छन् । शनिबार परीक्षण गर्दा आफुमा कोरोना देखिएको उनले जानकारी दिएका छन् ।
उनले केही दिनयता सम्पर्कमा आएका सबैलाई परीक्षण गर्न सुझाव दिँदै आफ्नो कारणले पर्न गएको असुविधाप्रति क्षमा समेत मागेका छन् ।
-

काठमाडौंमा आज सर्वाधिक संख्यामा संक्रमित
काठमाडौं । काठमाडौं उपत्यकामा आज सर्वाधिक संख्यामा कोरोना भाइरसका संक्रमित फेला परेका छन् । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २ हजार ६७२ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा मात्र २१०० संक्रमित थपिएका हुन् । ललितपुरका ३६९ र भक्तपुरका २०३ जनामा संक्रमण देखिएको छ । आज २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ । काठमाडौंका ६८ वर्षीया महिला, ४८ र ९० वर्षीय पुरुष, ललितपुरका ४३ रु ४९ वर्षीय पुरुष र भक्तपुरका ६८ वर्षीय पुरुषको मृत्यु भएको तथ्यांक मन्त्रालयको रहेको छ ।
-

नेपालमा अहिलेसम्मकै सर्वाधिक कोरोना संक्रमित थपिए, कुन जिल्लामा कति ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १९ हजार ३२० जनाको पीसीआर परीक्षणमा थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सँगै संक्रमितको कुल संख्या १ लाख ५ हजार ६ सय ८४ पुगेको छ।
पछिल्लो २४ घन्टामा थप १२२९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७४ हजार २५२ पुगेको छ। देशभर ३० हजार ८ सय १८ जना सक्रिय संक्रमित छन्।


-

आज नेपालमा कोरोनाको रेकर्डै-रेकर्ड
काठमाडौं । आज नेपालमा कोरोना भाइरसको संक्रमणले कीर्तिमान कायम गरेको छ । एकै दिन संक्रमितको सर्वाधिक संख्या, कुल संख्या, पिसिआर परीक्षणको संख्या, काठमाडौं उपत्यकामा संक्रमितको संख्यासहित कोरोना तथ्यांकमा आज रेकर्ड कायम भएको हो ।
आज कोरोना भाइरसको संक्रमण देखिएयताकै सर्वाधिक अर्थातः ५ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यस दिन कुल १९ हजार ३२० जनाको पिसिआर परीक्षण भएको थियो ।
आजसम्मको कुल संक्रमित संख्या समेत १ लाख ५ हजार ६ सय ४८ जना पुगेको छ । आज काठमाडौं जिल्लामा मात्र २१ सय जनामा कोरोना देखियो । नेपालमा कोरोनालाई जित्ने मानिस २४ घण्टामा १२ सय २९ जना भए ।
अब कुल निको हुनेको संख्या ७४ हजार २ सय ५२ पुगेको छ । निको हुनेको संख्या ७०.२ प्रतिशत छ । आज एकै दिन धेरै संख्यामा कोरोना पुष्टी भएका कारण निको हुनेको प्रतिशत कम भएको हो ।
-

गोविन्द केसी र सरकारबीचको वार्ता आज पनि असफल, अनसन तोड्न सरकारको आग्रह
काठमाडौं । सरकारले अनसन तोड्न डा. गोविन्द केसीसँग आग्रह गरेको छ । डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच शनिबार समेत सहमति नबनेपछि सरकारले अनसन अन्त्य गर्न डा. गोविन्द केसीलाई आग्रह गरेको हो । सहमति प्रयास शनिबार समेत गरिएको थियो । तर, सफल हुन सकेन । त्यसपछि शिक्षा सचिव गोपी मैनाली नेतृत्वको सरकारी वार्ता टोलीले शनिबार एक वत्तव्य जारी गरेर डा. केसीलाई उक्त आग्रह गरेको हो ।
सरकारी मेडिकल कलेज तथा प्रतिष्ठानमा चिकित्सा शिक्षाका विभिन्न तह तथा विषयका शैक्षिक कार्यक्रम सञ्चालन गर्न सालवसाली बजेट विनियोजन गरेर योजनाजद्ध रुपमा काम भइरहेको सरकारको भनाई छ ।
गेटा मेडिकल कलेज भवन र अस्पताल भवन निर्माण सम्पन्न भइसकेको र अन्य पूर्वाधार निर्माण भइरहेको सन्दर्भमा केसीका माग सम्बोधन भइरहेको सरकारको धारणा छ । सरकारी वार्ता टोलीका अनुसार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस कार्यक्रम सञ्चालन गर्न चिकित्सा शिक्षा आयोग समक्ष स्वयंम मुल्यांकन प्रतिवेदन पेश भइसकेको छ ।
प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना गर्न बर्दिबास, बुटवल र सुर्खेतमा जग्गा प्राप्ति र गुरुयोजना स्वीकृत भइसकेको छ वातावरणीय प्रभाव मूल्यांकन स्वीकृतिको अन्तिम चरणमा रहेको वार्ता टोलीले उल्लेख गरेको छ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एबीबीएस लगायतका कार्यक्रम सञ्चालन गर्न गुरुयोजना पारित भइसकेको समेत सरकारको दावि छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्नातकोत्तर तहको शैक्षिक कार्यक्रम सुरु भएको बताइएको छ ।
डोटी,डडेलधुरा, उदयपुर र इलाम, पाँचथरमा सरकारी मेडिकल कलेज खोल्न प्रारम्भीक सम्भाव्यता अध्ययन भएर प्रतिवेदन आइसकेको सरकारी टोलीले उल्लेख गरेको छ । सप्तरीमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार विकास समिति बनिसकेको सरकारी वार्ता टोलीले दावि गरेको छ ।
-

बहराइन राजकुमारलाई गोरखालीको उपहार : चुचुरोको नाम ‘रोयल बहराइन पिक’
गोरखा । बहराइन रोयल फोर्सको टोली यतिबेला नेपालमा छ । कुल १८ जनाको टोली नेपालका दुई हिमाल लोबुचे र मनास्लुको आरोहणका दौरान आएको हो । उनीहरुको नेपाल भ्रमणले कोरोनाबाट प्रभावित नेपालको पर्यटन पुनरुद्धारमा ठूलो योगदान दिएको छ । नेपाली पनि पाहुनालाई खुसी राख्ने मामलामा कमजोर छैनन् । उनीहरुले रोयल फोर्सको सम्मानमा एउटा डाँडोको नामै फेरिदिएका छन् ।
यो टोलीमा बहराइन राजपरिवारका सदस्य राजकुमार सेख मोहम्मद हमाद मोहम्मद अल खलिफा समेत सहभागी छन् । उनीसहितको टोली मनास्लु आरोहणका लागि गोरखा पुगेको छ । गोरखाको चुमनुब्री गाउँपालिका १ सामागाउँमा एउटा डाँडालाई स्थानीयबासीले बहराइनको राजपरिवारको नामबाट नामाकरण गरिदिएका हुन् ।
सामागाउँका स्थानीयले पङ्बोछे डाँडालाई ‘रोयल बहराइन पिक’ नामाकरण गरेका छन् । यसले आगामी दिनमा समेत यस मुलुकबाट आउने पर्यटकलाई यो स्थानसम्म आइरहन प्रेरित गर्ने विश्वास स्थानीयको छ । नेपालीले भौतिक उपहार दिन नसकेपछि माया र सम्मान दिन सक्ने भन्दै डाँडाको नाम नै राजपरिवारको नामबाट राखिएको छ ।
राजकुमार गाउँमा आउनुभन्दा अगाडी नै गाउँ भेला गरेर पहाडलाई बहराइनको नाम दिने निर्णय गरेको स्थानीय जनप्रतिनिधिले जनाएका छन् । गाउँलेले नामाकरण गरेको डाँडो हेर्न राजकुमार हेलिकोप्टर चढेर पुगेका थिए । यसअघि यहाँ स्वर्गीय राजा वीरेन्द्र पुग्दा गाउँलेले त्यहाँको सबैभन्दा ठूलो तालको नाम वीरेन्द्र नामाकरण गरेका थिए । रोयल बहराइन पिक ५,१६० मिटर अग्लो हो ।
-

कोरोनाबाट १५ वर्षिय किशोरसहित थप तीन जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको ज्यान गएको छ । बाँके, दाङ र रूपन्देहीका एक एक जनाको मृत्यु भएको हो । कोहलपुर नगरपालिका ९ पिपरीका ३८ वर्षीय पुरूषको शुक्रबार राति ११ बजे मृत्यु भएको छ । उनको भेरी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । उनी १३ असोजमा कोहलपुर मेडिकल कलेज भर्ना हुन् । उनलाई शुक्रबार राति १० मात्र भेरी अस्पताल रिफर गरिएको थियो । अस्पताल पुर्याइएको १ घण्टामा उनको निधन भएको हो ।
उता, दाङको घोराही उपमहानगरपालिका ३ का १५ वर्षीय किशोरको समेत उपचारका क्रममा ज्यान गएको छ । दाङको घोराहीबाट उपचारका लागि शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएका १५ वर्षीय किशोरको उपचारका क्रममा शुक्रबार राति नौ बजेतिर मृत्यु भएको छ ।
यता, रुपन्देहीको शुद्धोधन गाउँपालिका–६ का ५७ वर्षीय पुरुषको समेत कोरोना विशेष अस्पताल बुटवलमा शुक्रबार ज्यान गएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय नाघिसकेको छ । संक्रमित भने १ लाख भन्दा माथि पुगेको छ । संक्रमितको सूचिमा नेपाल विश्वका धेरै देशभन्दा अगाडी पुगिसकेको छ ।
-

सरकार र डा. गोविन्द केसी पक्षबीच वार्ता असफल, आज पुनः वार्ता हुने
काठमाडौं । सरकार र अनशनरत डाक्टर गोविन्द केसी पक्षबीच शुक्रबारको वार्ता असफल भएको छ । वार्ता बिना निश्कर्ष टुङ्गिएको वार्तामा सहभागीहरुले जानकारी दिएका छन् । शुक्रबार राती अबेरसम्म चलेको छलफलमा बिहीबार बनेको सहमतिको मस्यौदाबाट सरकार पछि हटेको आरोप केसी पक्षधर सदस्यहरुले लगाएका छन् ।
सोहीकारण शुक्रबार नै सहमति हुने भनिएको वार्ता भाँडिएको थियो । उता, सरकारी वार्ता टोलीले भने केही बुँदामा थप छलफलको आवश्यकता रहेको र शनिबार त्यसमा प्रयास हुने बताएको छ । स्रोतका अनुसार आज पुनः छलफल हुनेछ ।
वार्ता चलिरहेपनि २७ औं दिनदेखि आमरण अनसनमा बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गरेको छ । एक दिनको ढिलाईले समेत उनमा असर पर्न सक्छ । सोहीकारण डा. केसी पक्षले सरकार जानाजान उनको ज्यान जोखिममा पार्न खोजेको आरोप लगाउँछन् । डा. केसी आइसीयुमा भर्ना हुन समेत मानिरहेका छैनन् ।
-

सन्दीप लामिछाने र सुमन गौतम लंका प्रिमियर लीको ड्राफ्टमा
काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने लंका प्रिमियर लिग (एलपिएल) क्रिकेटको छनोट प्रक्रिया (ड्राफ्ट) मा पर्न सफल भएका छन्। उनी रहेको श्रेणीका खेलाडीले न्यूनतम ५० हजारदेखि ६० हजार अमेरिकी डलर पारिश्रमिक पाउने छन्।
ड्राफ्टबाट कुनै टीमले लिएमा सन्दीप उक्त लीगको समेत खेलाडी बन्नेछन् । सन्दीप अहिले इन्डियन प्रिमियर लिग (आइपिएल) खेल्न दिल्ली क्यापिटलमा रहेका छन् । यद्दपी जारी लिगमा उनले खेल्ने मौका भने पाएका छैनन् ।
एलपीएलको ड्राफ्टमा अर्का नेपाली खेलाडी सुमन गौतम समेत परेका छन् । सुमन अहिले अष्ट्रेलियामा छन्। गौतम रहेको श्रेणीका खेलाडीले १५ हजारदेखि २५ हजार अमेरिकी डलरसम्म पारिश्रमिक पाउँछन् । ड्राफटमा परेका खेलाडीको अक्सन शनिबार हुँदैछ ।
यसले सन्दीप र सुमनको छनोटबारे टुंगो लाग्नेछ । लंका लिग नोभेम्बर २१ तारिखदेखि सुरु हुनेछ। श्रीलंका क्रिकेट बोर्डले पहिलो पटक लंका प्रिमियर लिग आयोजना गर्न लागेको हो ।
-

अजरबैजान र आर्मेनिया युद्धबिराम गर्न सहमत
मस्को । युद्धरत अजरबैजान र आर्मेनिया युद्ध रोक्न सहमत भएका छन् । आफ्ना दर्जनौं सैनिक मारिएपछि दुबै मुलुक युद्ध रोक्न सहमत भएका हुन् । यद्दपी उनीहरुलाई रूसले हस्तक्षेप गरेको छ । अन्तराष्ट्रिय संचारमाध्यमहरुका अनुसार रुसको हस्तक्षेपसँगै युद्धरत आर्मेनिया र अजरबैजान अस्थायी युद्धविरामका लागि तयार भएका हुन् ।
विवादित नागोर्नो काराबाख क्षेत्रमा प्रभुत्व स्थापित गर्न यतिखेर पूर्व सोभियत संघका दुई देश युद्ध गरिरहेका थिए । रसियाली विदेशमन्त्री सर्गेई लाव्रेभका अनुसार दुबै मुलुक अस्थायी युद्धविरामका लागि तयार छन् । यसमा रूसले मध्यस्थता गरेको हो ।
मस्कोमा अजरबैजान र आर्मेनियाका अधिकारीहरुबीचको करीव १० घण्टा लामो संवादले युद्धबिरामको बाटो बनेको हो । वार्तामा रूसले दुबै मुलुकलाई युद्ध अन्त्य गर्न हस्तक्षेपकारी भूमिका खेलेको छ ।
युद्धविरामसँगै दुवै देशले युद्धमा मारिएका आफ्ना सैनिकको शव बुझ्नेछन् र एक अर्कोले युद्धबन्दी बनाएका सैनिकलाई छाड्ने छन् । युद्ध शुरू भएपछि अजरबैजान र आर्मेनियासँग रूसले पहिलोपटक प्रत्यक्ष संवादमा जुटेका हुन् । सेप्टेम्बर २७ देखि शुरू युद्धमा तीन सयभन्दा बढी सैनिक तथा सर्वसाधारण मारिइसकेका छन् । ।
-

गैरआवासीय नेपालीसँग प्रधानमन्त्री भन्छन् : बाँच्नका लागि देश छाड्नु नपरोस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि नेपालीले बाँच्नकै लागि देश छाड्ने अवस्था नआउने बताएका छन् । गैरआवासीय नेपाली संघको आयोजनामा शुक्रबारबाट शुरु भएको एनआरएन विश्व ज्ञान सम्मेलनलाई उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो दावि गरेका हुन् । उनले जीविकाकै लागि विदेश जानु पर्ने बाध्यता अब नेपालीलाई नपर्ने बताए।
उनले मुलुक समृद्धिको दिशातर्फ अघि बढेकाले जीविकाका लागि बाध्यतावश विदेश जाने स्थिति अन्त्य गरी स्वदेशमै श्रम र सीपको प्रयोग गर्न सक्ने आधार निर्माणमा गैरआवासीय नेपालीको पनि भूमिका हुनुपर्नेमा बताए । उनले भने ‘अब जीविकाकै लागि विदेश जाने अवस्थाको अन्त्य हुनुपर्छ। ज्ञान आर्जन आदि कामका लागि मात्रै बाहिर जानुपरोस् ।’
अब जीविकाकै लागि विदेश जाने अवस्थाको अन्त्य हुनुपर्छ। ज्ञान आर्जन आदि कामका लागि मात्रै बाहिर जानुपरोस् ।
प्रधानमन्त्री केपी शर्मा ओलीबाँच्नका लागि देश छाड्नुपर्ने, परिवार छाड्नु पर्ने, बस्ती छाड्नुपर्ने, ठाउँ छाड्नुपर्ने अवस्था नहोस् भन्ने कामना उनले गरे । भर्चुअल रुपमा शुरु भएको कार्यक्रममा संघका अध्यक्ष कुमार पन्तले आफूहरु विदेशमा प्राप्त ज्ञान, सीप र लगानी स्वदेशको समृद्धिका लागि प्रयोग गर्न तयार रहेको बताए । तर, त्यसका लागि राज्यले वातावरण बनाउनु पर्ने उनको भनाई छ ।
आजबाट दोस्रो विश्व ज्ञान सम्मेलन शुरु भएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीले रोग र भोकले जनताले ज्यान गुमाउनु नपरोस् भनेर सरकारले काम गरिरहेको समेत दावि गरे ।
‘रोग र भोकले नेपालीले ज्यान गुमाउनु नपरोस् भनेर, जनताको जीवन सुरक्षित गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो भनेर मैले सुरु देखि नै अभिव्यक्ति दिँदै आएको छु’, प्रधानमन्त्रीले भने, ‘त्यसका निम्ति मेरो नेतृत्वको सरकारले पूर्ण रुपमा प्रयास पनि गरेको छ।’
-

स्याङ्जामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईको मृत्यु
स्याङ्जा । स्याङ्जामा बसले मोटरसाइकललाई ठक्कर दिँदा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । स्याङ्जाको भीरकोटमा शुक्रबार अपराह्न बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको राष्ट्रिय समाचार समितिले उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरीत दिशाबाट आएको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिएको थियो ।
दुर्घटनामा स्याङ्जाको भीरकोट–३ बानेथोक देउराली घर भई हाल कपिलवस्तु बस्ने ३१ वर्षीय ध्रुब भन्ने गुप्तबहादुर खत्री र भीरकोट–३ बानेथोक देउराली घर भई वालिङ नपा–१ रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर रानाको मृत्यु भएको छ ।
उनीहरुको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको छ ।
-

थप १० जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ६ सय पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ महिला र ९ पुरुष गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
मृत्यु हुनेमा झापामा २९ र ५२ वर्षीय पुरुष, सुनसरीमा ४६, ५३ र ६८ वर्षीय पुरुष, काठमाडौंमा ८७ वर्षीया महिला र ७१ वर्षीय पुरुष, ललितपुरमा ८४, रुपन्देहीमा ४७ र ८४ वर्षीय पुरुष रहेका छन् ।
यो सहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ सय पुगेको छ ।
-

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख नाघ्यो,कुन जिल्लामा कति थपिए ?
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार २७९ जनाको पीसीआर परीक्षणमा थप २०५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ।
पछिल्लो २४ घन्टामा थप १६८० जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै देशभर डिस्चार्ज हुनेको संख्या ७३ हजार ०२३ पुगेको छ। देशभर २७ हजार ५३ जना ८४सक्रिय संक्रमित छन्।



-

संक्रमितहरु आइसोलेसनमा नबसी बाहिर हिँडे ६ महिना जेल
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमण भएका व्यक्तिहरु आइसाेलेसनमा नबसी बाहिर हिँडेको पाइए कारबाही गरिने बताएको छ।
मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले कोभिड-१९ पोजिटिभ देखिएका व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको जानकारी आएको बताउँदै त्यस्तो थाहा पाए जानकारी गराउन आग्रह गरे।
आइसोलेसनमा नबस्ने व्यक्तिहरुलाई संक्रामक रोग एन अनुसार ६ महिना जेल सजाय हुने गौतमको भनाई छ।
‘पोजेटिभ आएको व्यक्ति आइसोलेसनमा नबसी बाहिर हिँडेको छ र कसैको सम्पर्कमा आएको छ भने संक्रामक रोग ऐनअनुसार ६ महिना जेल सजाय हुने व्यवस्था छ,’ प्रवक्ता गौतमले भने, ‘हामीले गृह मन्त्रालयसँग र जिल्ला प्रशासन कार्यालयलाई आइसोलेशनमा नबस्ने व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही गर्न अनुरोध गरेका छाैं।’
-

काठमाडौं उपत्यकामा १४०९ कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४०९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा १११६, भक्तपुरमा १३० र ललितपुरमा १६३ जनामा संक्रमण पुष्टि भएको छ ।
यो सँगै काठमाडौंमा ३० हजार ४९७, ललितपुरमा ४ हजार १७४ र भक्तपुरमा ३ हजार ४९ संक्रमित पुगेका छन्।
-

वालेटमार्फत राजस्व भुक्तानी शुल्क पुससम्म निःशुल्क
काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाले सञ्चालन गरेका वालेटमार्फत राजस्व तिर्दा बढीमा ३० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था गरेको छ ।
राष्ट्र बैंकले शुक्रबार एक निर्देशन जारी गर्दै वालेटमार्फत सरकारी खातामा राजश्व दाखिला गर्दा बढीमा ३० रुपैयाँमा शुल्क लिन पाउने गरी शुल्क निर्धारण गरेको हो ।
केन्द्रिय बैंकले भुक्तानी प्रणली सम्बन्धि एकिकृत निर्देशिका २०७७, अ. प्रा. निर्देशन नं. ५/२०७७ को बुदा नं. २ मा खण्ड ‘घ’ थप गर्दै यस्तो व्यवस्था गरेको हो।
निर्देशनमा उल्लेख गरिए अनुसार १ हजार रुपैयाँसम्म कारोबार रकम भएका नि:शुल्क गर्न सक्ने, सो भन्दा माथि ३ हजार रुपैयाँसम्म कारोबार रकम भएमा ५ रुपैयाँ लिन पाउने व्यवस्था गरिएको छ ।
३ हजार भन्दा माथि १० हजारसम्मको कारोबारका लागि १० रुपैयाँ लिन पाउने र १० हजार भन्दा माथि ३० रुपैयाँ सुल्क लिन पाउने उल्लेख गरिएको छ ।
पछिल्लो समय कोरोना महामारीका कारण उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै पुस मसान्तसम्म निशुल्क भुक्तानी हुनुपर्ने र माघ १ गते देखि तोकिएको रकम लिन पाउने राष्ट्र बैंकले जानकारी गराएको छ ।
-

राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमलाई यस वर्षको नोबेल शान्ति पुरस्कार
काठमाडौं । यस वर्षको नोबेल पुरस्कार संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई प्रदान गरिने घोषणा गरिएको छ।
शुक्रबार द नर्वेजियन नोबेल कमिटीले डब्ल्यूएफपीलाई यो पुरस्कार दिने घोषणा गरेको हो ।
भोकमरीविरुद्ध लडाईको प्रयासका लागि विश्व खाद्य कार्यक्रमलाई नोबेल पुरस्कार २०२० बाट पुरस्कृत गर्ने निर्णय भएको नोबेल कमिटीले ट्वीट मार्फत जनाएको छ ।
‘डब्लूएफपीले भोकलाई युद्ध र द्दवन्द्वको हतियारको रुपमा प्रयोग गरिने कार्य रोक्नका लागि योगदान पुर्याएको छ’, नर्बेजियन नोबेल कमिटीले ट्वीट गरेको छ।
-

लिबियाबाट सात भारतीय नागरिकको अपहरण
नयाँ दिल्ली । लिबियाबाट सात जना भारतीय नागरिकको अपहरण भएको छ । लिबियाको तेल प्रशोधन केन्द्रमा काम गरिरहेका भारतीय मजदुर अपहरणमा परेका हुन् । भारतीय नागरिक स्वदेश फर्कने क्रममा थिए ।
तर, विमानस्थल जाँदै गर्दा लिबियाको अस्वेरिफबाट उनीहरुलाई अपहरण गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । अपहरणमा परेका नागरिकहरु आन्द्र प्रदेश, बिहार र गुजरातका रहेको बताइएको छ । अपहरणमा परेकाहरुको स्थिति अझै अज्ञात छ ।
अपहरण कसले गरेको भन्ने विषयमा समेत खुलेको छैन । अपहरणको जिम्मेवारी कसैले पनि लिएको छैन । भारत सरकारले लिबियाली सरकारलाई उनीहरुलाई अपहरण मुक्त गराउन समेत आग्रह गरेको छ ।
भारतीय विदेश मन्त्रालयले विज्ञप्ती जारी गरी उनीहरुलाई अपहरण मुक्त गर्न लिबिया सरकारसँग आग्रह गरेको हो । भारत सरकारले आफना नागरिकहरुलाई लिबियाको भ्रमण नगर्न सन् २०१५ मै अपील जारी गरेको थियो ।
सन् २०१६ मा भारतीय नागरिकलाई लिबिया जान प्रतिबन्ध लागेको छ । तर, अबैध बाटोबाट भारतीय नागरिक लिलिया जाने गरेका छन् ।
-

नेपालमा पुनः ठूलो वर्षाको आंकलन
काठमाडौं । बंगालको खाडीमा विकसित हुँदै गएको चक्रवातले नेपालमा समेत प्रभाव पार्ने भएको छ । चक्रवातको प्रभावले नेपालमा पनि ठूलो वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार चक्रवात उत्तरतर्फ सरेमा नेपालमा ठूलो वर्षाको सम्भावना रहनेछ । उक्त चक्रवात उत्तर आएमा प्रदेश १ देखि प्रदेश ४ सम्म ठूलो वर्षा हुनेछ । शनिबारसम्म चक्रवातको रुप पत्ता लागिसक्ने भएको छ ।
बंगालको खाडीमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले पनि नेपालमा मनसुन सक्रिय छ ।
उत्तरपश्चिम बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव कमजोर भए पनि नेपालको पूर्वी भागमा पर्दा आज प्रदेश १ का केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । प्रदेश १ बाहेकका क्षेत्रमा भने शुक्रबार मौसम सफा रहने छ ।
-

माल्टा पठाउने भन्दै ४८ लाख ठगी
काठमाडौं । माल्टा पठाइदिने प्रलोभनमा ४८ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । माल्टा पठाइदिने भन्दै विभिन्न प्रलोभनमा पारी ४८ लाख ९८ हजार रुपैयाँ ठगी गरेको अभियोगमा सुनसरीको बराहक्षेत्र नगरपालिकाका ३२ वर्षीय सुरज राई पक्राउ परेका हुन् । प्रहरीले उनलाई मंगलबार पक्राउ गरेको हो ।
माल्टा पठाउने भन्दै नगद पैसा लिएर उनी फरार भएका थिए । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय सुनसरीको समन्वयमा उनलाई सुनसरीबाट पक्राउ गरिएको हो । उनलाई आवश्यक कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको हो ।



