काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा दुई महिला र ९ पुरुषहरु रहेका छन् ।
प्रवक्ता गौतका अनुसार मृत्यु हुनेमा मोरङकी ४६ वर्षीया महिला, भक्तपुरकी ५३ वर्षीया महिला, कैलालीका ४५ र ५० वर्षीय पुरुष, महोत्तरीका ६०, ७३ र ७५ वर्षीय पुरुष, बाँकेका ३७ वर्षीय पुरुष, काठमाडौंका ५१ वर्षीय पुरुष, बाराका ४१ र ४६ वर्षीय पुरुषको रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७५ पुगेको छ।
काठमाडौं । स्वास्थ्य मन्त्रालयले लक्षण नभएका कोरोना संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्न देशभरका कोभिड अस्पताललाई निर्देशन दिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले मन्त्रालय अन्तर्गतको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले देशभरका कोभिड अस्पताललाई पत्रचार गर्दै लक्षण नभएका संक्रमितलाई संक्रमण पुष्टि भएको १० दिनमा पीसीआर परीक्षण गरी डिस्चार्ज गर्न निर्देशन दिएको जानाकारी दिए ।
१० दिनमा टेष्ट गर्दा नेगेटिभ आए होम आइसोलेनसमा बस्ने गरी घर पठाउनुपर्नेछ । पोजेटिभ आएकाहरुलाई थप चार दिन अस्पतालमा राख्नुपर्नेछ र, १४ औं दिनको दिन पीसीआर टेष्ट नगरी डिस्चार्ज गर्नुपर्नेछ ।
१४ दिनमा डिस्चार्ज नगरिए सरकारले संक्रमितको उपचारमा लागेको खर्च स्रोत भर्ना नगरिने केन्द्रले जनाएको छ। स्वास्थ्य मन्त्रालयले साउन २९ गते नै केन्द्रलाई लक्षण नभएका संक्रमितलाई १४ दिनमा अनिवार्य डिस्चार्ज गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको थियो।
काठमाडौं । काठमाडौं उपत्यकामा थप ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा उपत्यकाका अहिले सम्मकै धेरै संक्रमित थपिएका हुन् ।
मन्त्रालयका अनुसार बुधबार काठमाडौंमा २ सय ३०, ललितपुरमा ४७ र भक्तपुरमा २४ जना संक्रमित थपिएका छन् ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ८५जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १३ हजार २ सय ५३ पीसीआर परीक्षणमा ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३४ हजार ४१८ जना पुगेको छ।
पछिल्लो २४ घण्टामा थप ३८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १९ हजार ५०४ उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म १७५ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौं । स्थानीय प्रशासनले काठमाडौं उपत्यका भित्र लगाएको निषेधाज्ञा एक साता थप गरेको छ । भदौ ३ बाट सुरु भएको निषेधाज्ञा अब १७ भदौसम्म लम्बिएको हो । काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीले उपत्यकाका सुरक्षा निकायका प्रमुख, नगरपालिकाका मेयर र जनस्वास्थ्य कार्यालयका अधिकारीसँग छलफलपछि निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।
यसअघि घोषित लकडाउनको आज अन्तिम दिन हो । अब १७ भदौ राती १२ बजेसम्म अहिलेकै प्रकृतिको निषेधाज्ञा जारी रहने भएको छ । पछिल्ला दिनमा काठमाडौं उपत्यकामा तिब्र गतिमा संक्रमित बढेपछि मानिसहरुको आवतजावत नियन्त्रण गर्न निषेधाज्ञा जारी भएको हो ।
निषेधाज्ञा जारी भएपछि औषधि, खाद्यवस्तु र अत्यावश्यकीय वस्तु खरिदमा मात्र घर बाहिर जान पाइन्छ । त्यससमयमा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड भने पालना गर्नुपर्छ । अत्यावश्यकीय सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय र संचारबाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ ।
काठमाडौं । क्यारेवियन प्रिमियर लिग (सीपीएल)मा नेपाली स्टार सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन जारी छ । चार खेलमा ५ विकेट लिइसकेका सन्दीपले रन दिन कन्जुस्याई गरेका छन् । आज बिहान सम्पन्न गुयाना अम्याजन वारियर्सविरुद्धको खेलमा उनले ४ ओभरमा मात्र १२ रन दिएर एक विकेट हात पारे ।
बलरको उत्कृष्ट प्रर्दशनमा जमैका तालावाजले दोस्रो जित हात पारेको छ । तालावाजले वारियर्सविरुद्ध पाँच विकेटको जित निकालेको हो । वारियर्सले दिएको एक सय ९ रनको लक्ष्य जमैकाले १८ ओभरमा पाँच विकेट गुमाएर भेटायो ।
उसका लागि एन क्रुह्माह बोनरले ३० र ग्लेन फ्लिप्सले २६ रन बनाए । यसअघि पहिले व्याटिङ गरेको वारियर्सले २० ओभरमा नौ विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । सीपीएलमा सन्दीपले निरन्तर उत्कृष्ट प्रर्दशन गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकामा घोषित निषेधाज्ञा तोड्दै गुडेक ८ हजार सवारी साधन एक साता भित्र कारवाहीमा परेका छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाका तथ्यांक अनुसार एक सातामा उपत्यकामा ८ हजार १ सय बढी गाडीलाई कारवाहीस्वरुप होल्ड गराइएको छ । उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा प्रारम्भ भएको थियो ।
बुधबार पूर्वघोषित निषेधाज्ञाको अन्तिम दिन हो । बुधबार बिहानसम्म ८ हजार १ सय ९१ गाडीलाई होल्ड गरिएको महाशाखाले जानकारी दिएको छ । यसरी होल्डमा पर्नेमा ६ हजार ५ सय ४७ दुई पाङग्रे सवारी हुन् । चारपाङग्रे सवारीको संख्या भने १६ सय ४४ वटा छ । बुधबार मात्र निषेधाज्ञा उलङ्घन गर्ने १ सय ६६ वटा सवारी कारवाहीमा परेका छन् ।
यसैबीच निषेधाज्ञा थप एक साता बढाउने सिफारिस अनुसार आज त्यसको औपचारिक घोषणा गर्ने तयारी छ । उपत्यकामा अब १७ भदौसम्म निषेधाज्ञा जारी रहनेछ । यसबीचमा करीव २८ हजार मानिसमा पिसिआर परीक्षण गर्ने तयारी समेत गरिएको छ ।
मुसिकोट । रुकुमपश्चिममा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ । दुई लागुऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको पुष्टी गरेको छ । मुसीकोट नगरपालिका–४ ठाराढुंगाबाट प्रहरीले गोली प्रहार गरी दुई जनालाई पक्रेको हो । गोली प्रहारबाट एकजना घाइते भएका छन् ।
दुई जना पक्राउ परेपनि एकजना भने भागेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जानकारी दिएको छ । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–११ भलाक्चाका २५ वर्षीय निर्मल पुनलाई गोली लागेको छ । पुलिसले उनको तिघ्रामा गोली हानेको थियो । उनको नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीसँगै रहेका मुसीकोट–११ कै ३५ वर्षीय लक्ष्मी पुन पक्राउ परेका छन् । अर्का जयप्रकाश घर्ती भने फरार छन् ।
रुकुमपूर्वमा लागुऔषध अफिमसहित केही व्यक्ति पक्राउ परेको विषयमा अनुसन्धान गर्दा उनीहरुको समेत नाम जोडिएपछि प्रहरी खोजीमा थियो । सोही खोजीका क्रममा प्रहरीले गोली चलाएर पक्राउ गरेको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।
भरतपुर । चितवन कोरोना भाइरसको अर्को इपिसेन्टर बन्ने संकेत गरेको छ । दैनिक तिब्र गतिमा बढिरहेको संक्रमणले चितवन र यस आसपासका क्षेत्र नराम्रोसँग प्रभावित हुने देखिएको छ । बुधबार मात्र यहाँ ४४ जनामा कोरोनो भाइरस संक्रमण पुष्टि भएको छ। भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति भएको परीक्षणमा चितवनका ४० जनासहित ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुुष्टि हुनेमा भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै मानिस छन् । महानगरमा २० महिला र १६ पुरुष गरि ३६ जनामा संक्रमण देखिएको छ । ५ वर्षदेखि ४६ वर्षसम्मका पुरुष र ८ वर्षदेखि ५४ वर्षसम्मका महिलामा कोरोना पुष्टी भएको हो । भरतपुर–२, ४, ५, ७, ९, १०, ११, १२, १४, १५, १६ नम्बर वडामा कोरोना देखिएको छ ।
भरतपुर अस्पताल स्वाब संकलन केन्द्र, वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पुरानो मेडिकल कलेजबाट गरिएको स्वाब संकलनमा उनीहरुमा संक्रमण पुष्टि ल्यावले जनाएको छ । पूर्वी चितवनको रत्ननगर नगरपालिकाका २७ र ७१ वर्षीया दुई महिला र २४ वर्षीय एक पुरुष गरी ३ जनामा संक्रमण पुष्टि भएको छ।
उता, खैरहनी नगरपालिका–१ का २६ वर्षीय एक जनामा पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । पूर्वी नवलपरासीका २३ वर्षीया एक महिला, रुपन्देहीका ५४ वर्षीया एक महिला, तनहुँका ३८ वर्षीय एक पुरुष र धनुषाका ५४ वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
काठमाडौं । सरकारले सेप्टेबर महिनाका लागि नियमित तथा चार्टर्ड उडानको तालीका तय गरेको छ । त्यसअनुसार नेपाल आउन पाउने र नपाउने शर्तसमेत तोकिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार अब विदेशबाट फर्कदा कम्तिमा ७२ घण्टायताको पिसिआर नेगेटिभ आएको प्रमाण यात्रुले एयरलाइन्सलाई दिनु पर्नेछ । त्यसो नभएसम हवाईजहाज चढ्न पाइने छैन । तर जुन मुलुकमा पिसिआर गर्न सहज छैन । ती मुलुकमा भने सरकारले चार्टर्ड जहाज पठाउनेछ । उनीहरुलाई काठमाडौं ल्याएर होटेल क्वारेन्टिनमा राखिनेछ ।
तर, पिसिआर नेगेटिभ प्रमाण देखाएपछि भने एउटा यात्रा विवरण देखिने फारम भरेपछि विमानस्थलबाट सिधै घर जान सकिने भएको छ । सरकारले तोकेको शर्त अनुसार होटेल क्वारेन्टिनको खर्च भने यात्रु स्वयमले बेहोर्नुपर्नेछ । तर, सरकारले वैदेशिक रोजगार कल्याणकारी कोषबाट उद्धार गरेर ल्याएका नेपालीको खर्च भने सरकारले स्वयमले बेहोर्नेछ । यसको सूचि भने सम्बन्धित मुलुकका दूतावासले गर्नेछन् ।
अब १ सेप्टेम्बर भरी गर्ने उडानका आधारमा त्यसपछिको उडान तय हुने पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए । अहिले दैनिक अधिकतम ५ सय जना मात्र यात्रुलाई काठमाडौं ल्याउने गरी अनुमति दिइएको छ । त्यसअनुसार टर्कीस एयर र कतार एयरवेजले अधिकतम १ सय जना मात्र बोक्ने गरी अनुमति पाएका छन् ।पहिलो चरणमा नेपाली नागरिक, कुटनीतिक नियोगका कर्मचारी, संयुक्त राष्ट्रसंघका कर्मचारी र विकास साझेदारी संघसंस्थाका कर्मचारीलाई मात्र नेपाल आउने अनुमति मिल्नेछ । गैरआवासीय नेपाली र पर्यटक भने अहिले आउन पाउने छैनन् ।
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । ललितपुर र बाँकेमा एक एक जनाको ज्यान गएको हो । ललितपुरको पाटन अस्पतालमा उपचाररत थप एक जना कोरोना संक्रमितको गत राती मृत्यु भएको हो । उनी काठमाडौंका बासिन्दा भएको बताइएको छ । कोरोना संक्रमित ५४ वर्षीय पुरुषको गएराति ज्यान गएको स्वास्थ्य कार्यालय ललितपुरले पुष्टि गरेको छ । उनी ३२ साउनमा अस्पताल भर्ना भएका थिए ।
उता, बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचाररत नेपालगञ्ज उपमहानगरपालिका–१ का ३७ वर्षीय पुरुषको समेत कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । उनका दुवै फोक्सोमा निमोनियाको समस्या भएको अस्पतालले जनाएको छ । उनी ८ भदौमा नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएको थिए । त्यसको भोलीपल्ट कोरोना पोजिटिभ देखिएको थियो । उनको समेत गत राती ज्यान गएको हो ।
यससँगै बाँकेमा मात्र कोरोनाबाट मृत्यु हुनेको संख्या ५ पुगेको छ । प्रदेश ५ मा २४ पुगेको छ । देशभर भने कारोनाबाट ज्यान गुमाउनेको संख्या १ सय ७४ पुगेको छ । यसअघि मंगलबार मात्र कोरोनाबाट देशभर ९ जना मानिसको ज्यान गएको थियो । पछिल्लो समय नेपालमा कोरोनाबाट हुने मृत्युदर बढेको छ ।
काठमाडौं । सरकारले यही भदौ १६ गतेदेखि नियमित अन्तर्राष्ट्रिय हवाई उडान गर्ने भएको छ ।
संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित हवाई उडानको लागि स्वदेशी एवं विदेशी विमान कम्पनीलाई अनुमती दिएको हो ।
मन्त्रालयले भदौं १७ देखि असोज १४ गतेसम्मको नियमित हवाई उडान तालिका स्वीकृतगरेसँगै विमान कम्पनीहरुले अनुमति पाएका हुन् ।
नियमित उडानका लागि मन्त्रालयले नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्ससहित कतार एयरवेज, कोरियन एयर, टर्किस्, फ्लाइ दुबई, मालिन्दो, चाईना साउर्थन, एयर अरेविया, मलेसियन एयरलाइन्स, एयर चाइना, क्याथवे ड्रागनको तालिका स्वीकृत गरेको हो ।
मन्त्रालयले नियमित उडान तालिका स्वीकृत गरेका नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्स बाहेकका विदेशी विमान कम्पनीलाई भने चार्टर उडानको अनुमती दिएको छैन ।
चार्टर उडानको तालिका स्वीकृत हुने विदेशी विमान कम्पनीहरुमा जजिरा र सलाम एयर मात्रै छन् । हवाईजहाजबाट ल्याइने यात्रुको अनिवार्य पीसीआर परीक्षण र नेपाल फर्किएपछि सात दिन होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।
पीसीआर परीक्षण सहज भएका देशमा मात्र पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान हुनेछ । पीसीआर सहज हुने मुलुक बाहेकमा भने नेपालीलाई घर फर्काउने प्रयोजनका लागि साविकमा जस्तै चार्टर्ड उडान मात्र हुनेछ ।
पहिलो चरणमा अमेरिका, यूरोप, चीन, थाइल्याण्ड, हंगकंग, मलेसियासहितका देशबाट नेपाल आउने पाइने छ ।
यसरी आउन पाउने सूचिमा नेपाली नागरिक, विदेशी कुटनीतिक नियोगका कर्मचारी तथा पदाधिकारी र विकास साझेदार संघसंस्थाका प्रतिनिधिलाई मात्र अनुमति मिल्नेछ । विदेशी नागरिकले भने तत्काल नेपाल प्रवेशको अनुमति नपाउने भएका छन् ।
पिसिआर परीक्षण हुन सम्भव नभएका साउदी अरव, कुवेत, कतारलगायत मुलुकबाट आउने नागरिकलाई नेपाल ल्याउनै पर्ने भए चार्टर्ड जहाज जानेछन् । अब नेपाल आउने सबै अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।
हवाई टिकट काट्दाकै समयमा होटेलको पैसासमेत असुल गरिनेछ । वायुसेवा कम्पनीले होटेललाई पैसा दिनेछन् । होटेलमा बस्दाको खर्च आफै तिर्नुपर्ने छ ।
अब जहाजले पीसीआर टेष्ट गरेका र नगरेका यात्रुलाई एउटै जहाजबाट ल्याउन पाउने छैनन् । ल्याएमा सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने भएको छ ।
सरकारले त्यसरी काठमाडौं आउँदा जहाज चढ्नु ७२ घण्टा अगाडिको कोभिड रिपोर्ट चाहिने व्यवस्था पनि गरिएको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता लकडाउन बढाउन सिफारिस गरिएको छ । जिल्लास्तरीय कोभिड क्राइसिस म्यानेजमेन्ट सेन्टर (सिसिएमसी)ले काठमाडौं उपत्यकाभर लागु हुने गरी घोषित निषेधाज्ञा एक साता थप्न सिफारिस गरेको हो । मंगलबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा बसेको बैठकले यस्तो सिफारिस गरेको हो । सिफारिससँगै अब लकडाउन एक साता लम्बिने निश्चित भएको हो ।
अब प्रमुख जिल्ला अधिकारीहरुले उपत्यकामा निषेधाज्ञा जारी गर्न सक्नेछन् । यसअघि घोषणा भएको निषेधाज्ञाको अवधी बुधबार सकिदैछ । निषेधाज्ञा घोषणा भएपछि संक्रमणको तिब्रतामा कमी आएको निष्कर्षमा मेयर र प्रशासकहरु पुगेका छन् ।
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट काठमाडौंका तीन जनासहित थप सात जनाको मृत्यु भएको हो ।
कोरोना संक्रमणबाट मृत्यु हुनेमा काठमाडौंका ७४ र ६६ वर्षीय पुरुष तथा ७१ वर्षीया महिला, सिरहाका २२ वर्षीय पुरुष, पर्साका ६८ वर्षीय पुरुष, धनुषाका ७६ वर्षीय पुरुष र रुपन्देहीका ५३ वर्षीय पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६४ पुगेको छ।
काठमाडौं । पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप २ सय ३२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको परीक्षणमा काठमाडौंमा १ सय ९९, ललितपुरमा १९ र भक्तपुरमा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय १८ पुगेको छ।
त्यसैगरि, काठमाडौंमा २ हजार ९५५, ललितपुरको ४६३ र भक्तपुरमा ३०० संक्रमित पुगेका छन्।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको ११ हजार ३ सय २७ पीसीआर परीक्षणमा ८ सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ३१३ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १९ हजार ११९ उपचारपछि निको भएका छन्।
नेपालमा हालसम्म १५७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण विश्व ज्यान गुमाउने व्यक्तिको संख्या ८ लाख १७ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा संसारभर ४ हजार ३२८ जनाको मृत्यु भएको छ । यसले समग्र मृत्यु ८ लाख १६ हजार ९ सय ५० पुर्याएको हो । नेपालमा कोरानाबाट १ सय ५७ जनाको ज्यान गइसकेको छ । विश्वभर २ करोड ३८ लाखभन्दा बढीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ लाख १२ हजार ४६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मंगलबार बिहानसम्म २ करोड ३८ लाख ६ हजार ७४९ मानिसमा संक्रमण पुष्टी भइसकेको छ । संक्रमितमध्ये १ करोड ६३ लाख ५६ हजार ८४८ जनाले भने भाइरसलाई जित्न सफल भएका छन् । कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख ५ हजार ५७३ जनाको मृत्यु भएको छ । ३३ लाख ८५ हजार ७५१ जना संक्रमित भएकोमा १९ लाख ९४ हजार ९४९ जना संक्रमणमुक्त भएको तथ्यांक छ ।
उत्तर अमेरिकी मुलुकहरूमा २ लाख ६० हजार ४३ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ६९ लाख ८८ हजार ८४६ पुगेको छ । त्यसमध्ये ३९ लाख ४३ हजार ९६० जना संक्रमणमुक्त भएका छन् । एसियाली मुलुकहरूमा १ लाख ३१ हजार ६१३ जनाको मृत्यु भएको छ । ६३ लाख ८३ हजार ९१० जना संक्रमित भएकोमा ५० लाख ७३ हजार ३८६ जना संक्रमणमुक्त भएको तथ्यांक रहेको छ ।
दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख ९० हजार ७१२ जनाको मृत्यु भएको छ । ५८ लाख १५ हजार १०३ जना संक्रमित भएकोमा ४३ लाख ९० हजार ३० जना संक्रमणमुक्त भएका छन् । अफ्रिकी मुलुकमा२८ हजार ५१ जनाको ज्यान गएको छ भने ११ लाख ९९ हजार ९६१ संक्रमित छन् ।
संक्रमितमध्ये ९ लाख २५ हजार २२० जना संक्रमणमुक्त भएका छन् । अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरूमा ५४४ जनाको मृत्यु भएको छ । २७ हजार ४२३ जना संक्रमित भएकोमा २१ हजार ५६७ जना संक्रमणमुक्त भएको तथ्यांक रहेको छ । पछिल्ला दिनमा दक्षिण एसियाली क्षेत्रमा कोरोनाको राग बढ्दो क्रममा रहेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकामा कम्तिमा १५ हजार मानिसमा कोरोना भाइरसको संक्रमण भएको अनुमानका आधारमा कन्ट्याक्ट ट्रेसिङको काम अगाडी बढाइने भएको छ । उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय गरेको हो । यसबाट कम्तिमा १५ हजार मानिस संक्रमित भेटिने अनुमान गरिएको छ ।
अहिले उपत्यकामा करीव २७ सय मानिसमा कोरोना भेटिएको छ । तर, उनीहरुसँग सम्पर्कमा रहेका सबैको परीक्षण हुन सकेको छैन । उपत्यकामा समुदायस्तरमै कोभिड–१९ को सङ्क्रमण फैलिन सक्ने खतरालाई मध्यनजर गर्दै रोकथाम र नियन्त्रणका लागि तत्कालै स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा फराकिलो बनाउने निर्णय फोरमले गरेको हो ।
‘स्वास्थ्य मन्त्रालयको टिमसहित मङ्गलबारदेखि नै उपत्यकाका १८ वटै पालिकामा तालिका बनाएरै कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङको कार्य अघि बढाउछौँ’, काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले भने । उनका अनुसार उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङको दायरामा परेका नागरिकको टेस्टिङ गरिेनेछ ।
यस काममा स्वास्थ्य मन्त्रालयबाट पनि टोली खटिनेछ । शाक्यका अनुसार उपत्यकाका १८ वटै पालिकाको तथ्याङ्कमा २७ सय ४६ जना सङ्क्रमित भेटिएको छ । त्यसका आधारमा झण्डै २८ हजार पाँच सयको कन्ट्राक्ट ट्रेसिङ गर्नुपर्ने हुन सक्ने अनुमान गरिएको छ ।
ढिलोमा १५ गतेसम्ममा ती सबैको परीक्षण भइसक्ने भएको छ । लुकेर बसेका संक्रमितको खोजीमा यो परीक्षण केन्द्रित हुने उनको भनाई छ । बैठकले उपत्यकाका पालिकाबाट प्रवाहित हुँदै आएका सेवामध्ये अत्याश्यक बाहेकका सेवालाई भदौ ९ गतेसम्म कायम गरिएकोमा फेरि भदौ १५ गतेसम्मका लागि स्थगन गर्ने निर्णय समेत भएको छ ।
महाराष्ट्र । भारतको महाराष्ट्रमा एक पाँच तले घर भत्किएर भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । करीव दुई दर्जन मानिस घाइते छन् । भवनमा अझै ९० जना भन्दा बढी वेपत्ता रहेको स्थानीय प्रहरीले जानकारी दिएको छ ।
सोमबार बेलुका महाराष्ट्रको रायगढ जिल्लाको महाडमा पुरिएकामध्ये घाइतेको उपचार भइरहेको र उद्धार जारी रहेको प्रहरीले जनाएको छ । महाड शहर दक्षिण मुम्बईबाट १ सय ८० किलोमिटरको दूरीमा पर्छ । भारता पुराना घर भत्किएर हुने दुर्घटनामा वर्षेनी सयौं मानिसले ज्यान गुमाउने गरेका छन् ।
भरतपुर । चितवनमा मंगलबार बिहान थप १७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार आएको नतिजा अनुसार चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैँडाकोटका एक जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमिता भरतपुर महानगरपालिका भित्रै ९ जना भेटिएको ल्यावले जनाएको छ ।
श्रीपुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर–३ का ५१ वर्षीय पुरुषमा कोरोना पोजेटिभ पाइएको हो । ६ जनाको स्वाव भने पुरानो मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालबाट संकलन गरिएको हो । संक्रमितहरु राप्तीको क्वारेन्टिनमा रहेका व्यक्ति रहेको बताइएको छ ।
पुरानो मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडाकाकी ३८ वर्षीया महिला र पूर्वी नवलपरासीको गैँडाकोटकी ५२ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । अब चितवनमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेको छ । पछिल्लो समय पोखराबाहेक अन्य सबै जसो महानगरपालिका कोरोना भाइरसको चपेटामा आएका छन् ।
हङकङ । कोरोना भाइरसको संक्रमण लागेर निको भइसकेका एक व्यक्तिमा हङकङमा संक्रमण भेटिएको छ । हङकङमा एक व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण भएको पहिलो घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो दुर्लभ घटना भएको भन्दै वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् ।
३० वर्षभन्दा बढी उमेरका संक्रमित पुरूषमा पहिलो पटक साढे चार महिना अगाडी कोरोनाबाट संक्रमित भएका थिए । वैज्ञानिकका अनुसार यो पहिलो घटना हो । उता, विश्व स्वास्थ्य संगठनले भने एउटै संक्रमितका आधारमा कुनै निष्कर्ष निकाल्न नहुने प्रतिक्रिया दिएको छ । विशेषज्ञका अनुसार भाइरसबाट पुनः संक्रमित हुनु दुर्लभ हो, तर यो अधिक गम्भीर छ भन्नु ठीक भने हतार हुने बताउँछन् ।
हङकङ विश्वविद्यालयले सार्वजनिक गरेको रिपोर्टमा संक्रमणबाट ठीक हुनु पहिले ती व्यक्ति १४ दिनसम्म अस्पतालमा बसेका थिए । विमानस्थलमा गरिएको जाँचका क्रममा उनमा संक्रमण देखिएको छ ।
तर लक्षण भने छैन। लन्डन स्कूल अफ हाइजिन एण्ड ट्रपिकल साइन्सका प्रोफेसर ब्रेन्डन रेनले पुनः संक्रमित हुनु एकदमै दुर्लभ घटना भएको प्रतिक्रिया दिन्छन् । सोहीकारण पनि खोप अत्यावश्यक भएको उनको भनाई छ । संक्रमित व्यक्तिमा भाइरससँग लड्ने क्षमता विकास हुने र त्यसले पुनः संक्रमित हुनबाट जोगाउने चिकित्सकहरुले बताउँदै आएका छन् ।
काठमाडौं । विदेशमा कामको सिलसिलामा पुगेका नेपालीमार्फत नेपालमा एक वर्ष (आव २०७६\७७) मा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यद्दपी यो रकम अघिल्लो आव २०७५\७६ को तुलनामा भने सामान्य कम हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार गत आर्थिक वर्ष २०७६ \७७ मा विप्रेषण आप्रवाहमा ०.५ प्रतिशतले घटेको हो ।
अघिल्लो वर्ष विप्रेषण आप्रवाह १६.५ प्रतिशतले वृद्धि भएको थियो । यो वर्ष कोरोना भाइरसको महामारीका बीचमा पनि जेठमा करीव १ खर्ब रेमिट्यान्स भित्रिएको थियो । यसले यो वर्ष रेमिट्यान्स भारी घट्ने अनुमान असफल बनाएको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३.३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.८ प्रतिशतले बढेको थियो ।
आर्थिक वर्ष २०७६\७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २०.५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२.६ प्रतिशतले घटेको थियो । नेपालबाट पछिल्ला वर्ष विदेशमा जाने नेपाली नेपालीको संख्यामा समेत कमी देखिएको छ ।
वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४.७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५.४ प्रतिशतले बढेको थियो । आर्थिक वर्ष २०७६र७७ मा खुद ट्रान्सफर आयमा १.३ प्रतिशतले कमी आई रु. ९८२ अर्ब २२ करोड कायम भएको छ ।
काठमाडौं । मंगलबारबाट नेपालीको उद्धारको काम फेरी शुरु हुने भएको छ । नेपालमा होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै सीसीएमसीले नेपालमा यात्रु ल्याउन रोकेको थियो । तर, सरकारले पनः उडान थाल्ने निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाको जहाज नेपाल आउँदैछ ।
बुधबार इत्तिहाद एयर आवुधाबी र फ्लाई दुबई दुबईबाट काठमाडौं आउने गरी तालिका तय भएको छ । बिहीबार नेपाल एयरलाइन्सले रियाद र हिमालय एयरलाइन्सले दमामबाट यात्रु बोकेर काठमाडौं आउने गरी तालिका तय भएको मन्त्रालयले जनाएको छ । यूरोप र अमेरिकामा रोकिएका नेपालीलाई ल्याएर बिहीबार टर्किस एयर आउनेछ । तर, टर्कीस र कतारले बढीमा १ सय जना मात्र यात्रुलाई काठमाडौं ल्याउनेछन् ।
अब पिसिआर रिर्पोट नभएका यात्रुलाई काठमाडौं ल्याउन पाउने छैन । तर, पिसिआर सम्भव नहुने देशबाट आएका यात्रुलाई भने होटेल क्वारेन्टिनमा राखिनेछ । एयरलाइन्सले अनुमति बीना पिसिआर नभएका यात्रु ल्याएमा होटेलमा लागेको खर्च स्वयमः एयरलाइन्सले बेहोर्नु पर्नेछ ।
वायुसेवा कम्पनीले विदेशस्थित नेपाली कूटनीतिक नियोगसँगको सहकार्यमा मात्र यात्रु ल्याउन पाउने छन् । नेपाल आइसकेपछि यात्रु ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्ने गरी प्रावधान बनेको छ ।
काठमाडौं । सरकारले देशभरका सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले यसअघि कोरोना संक्रमितको उपचारका लागि छुट्याएको लेभल वान, लेभल २ र लेभल ३ को व्यवस्थालाई खारेज गर्दै सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो ।
प्रवक्ता गौतमले सबै अस्पतालले काभिड पोजेटिभ भएपनि नेगेटिभ भएपनि उपचार गर्नुपर्ने बताए।
‘सबै अस्पतालाई कोभिड अस्पताल बनाइएको छ। यसमा जिल्लास्थित अस्पताल, प्रादेशिक अस्पताल, शिक्षण अस्पताल, केन्द्रीय अस्पताल र कतिपय निजी अस्पताल पर्छन्,’ उनले भने, ‘अब यी अस्पतालमा उपलब्ध सबै सेवा कोभिड पोजेटिभ भएपनि नभए पनि उपचार गर्नुपर्ने निर्णय भएको छ।’
मन्त्रालयले काठमाडौं र तराईका जिल्लामा संक्रमितको संख्या थपिँदै जाँदा लक्षण भएका बिरामीले बेड नपाउने र लक्षण नभएकाले ओगट्ने प्रवृत्ति देखिएकाले लक्षण भएका बिरामीलाई मात्रै अस्पतालमा भर्ना गर्न निर्देशन दिएको छ ।
गौतमलले लक्षण नभएका बिरामीलाई होम आइसोलेसन वा संस्थागत आइसोलेसनमा राख्न अस्पतालहरुलाई निर्देशन दिएका छन्। ‘लक्षण भएकाले बेड नपाउने र लक्षण नभएकाले बेड ओगट्ने प्रवृत्ति देखिएकाले यस्तो निर्णय गरिएको हो,’ उनले भने, ‘लक्षण भएकालाई बेडमा भर्ना गर्न र नभएकालाई आइसोलेसन सेन्टरमा राख्न निर्देशन दिइएको छ।’
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रुपन्देहीका ३८, ५३ र ५४ वर्षीय पुरुष तथा ६७ वर्षीया महिला, सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७० वर्षीया महिला र काठमाडौंकी ४८ वर्षीया महिला रहेका छनन् ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ।
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट १७५ जना डिस्चार्ज भएका छन् ।
त्यसैगरी हालसम्म १८ हजार ८०६ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।
देशभरका संस्थागत आइसोलेसन ९ हजार १५४ जना र होम आइसोलेसनमा ४ हजार ५६१ रहेका छन् । आजसम्म देशभर ११ हजार २७५ जना क्वारेन्टिनमा रहेका छन् । बागमती प्रदेशमा १० जना भेन्टिलेटरमा रहेका छन् ।
काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच पेरूमा नाइट क्लव बन्द गरिएका छन् । तर, आदेश विपरित संचालनमा रहेको एक नाइट क्लवमा छापा मार्न प्रहरी पुग्दा भने भागाभाग भएको छ । यो घटनामा १३ को ज्यान गइसकेको र कैयौं घाइते रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।
कोरोना भाइरसको महामारीपछि कायम गरिएको प्रतिबन्धलाई अटेर गर्दै लिमा नामको नाइट क्लबमा पार्टी आयोजना भएको खबर पछि प्रहरी छापा मार्न पुगेको थियो । सोही क्रममा भागदौड मच्चिएको बताइएको छ ।
पब्लिक प्रोसेक्युटरको कार्यालयले आइतबार मृत्यु भएका १३ जनामध्ये ११ जनामा कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको समेत जानकारी दिएको छ । भागदौडमा तीन प्रहरी घाइते छन् । नाइट क्लवका संचालक भने प्रहरी नियन्त्रणमा आइसकेका छन् । गत मार्चयता पेरुमा सार्वजनिक जमघटसहित अधिकांश सेवा बन्द गरिएका छन् । नाइट क्लव खोल्न प्रतिवन्ध छ ।
सारजाह । गत ८ अगष्टमा संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा मृत भेटिएका दुई नेपालीको परिचय खुलेको छ । यूएईस्थित नेपाली दूतावासले गराएको जानकारी अनुसार एक जना मोरङ र अर्का एक जना तनहुँका युवा हुन् । उनीहरुको मृत्युको कारणबारे प्रहरीले छानविन गरिरहेको दूतावासले जनाएको छ । केही मानिसहरुलाई पक्राउ समेत गरिएको प्रहरीलाई उदृत गर्दै दूतावासले जानकारी दिएको छ ।
मृतकमध्ये मोरङको बेलबारीका २७ वर्षका किरण गुरुङ र तनहुँका ३६ वर्षीय मंगलराज श्रेष्ठ रहेका छन् । यसअघि श्रेष्ठको मात्र परिचय खुलेको थियो । गुरुङको भने पहिचान भइसकेको थिएन । दुई जनाबीच विवाद भएको र एक अर्कामा धारिलो हतियार प्रहार हुँदा ज्यान गएको अनुमान गरिएको छ । यद्दपी प्रहरीको अनुसन्धानबाट मात्र घटनाको पुष्टी हुने भएको छ । विदेशमा आपसी विवादमा धेरै नेपालीले ज्यान गुमाउने गरेका छन् ।
काठमाडौं । काठमाडौं उपत्यकामा अहिले निषधाज्ञा जारी रहेको छ । यस्तो निषेधाज्ञा १० भदौसम्म कायम रहनेछ । जिल्ला प्रशासन कार्यालयहरुले तरकारी, खाद्यान्न लगायत अत्यावश्यक वस्तुको किनमेलमा यसअघि निर्धारण गरेको समयमा बढी भिडभाड भएको भन्दै समय थप गर्ने निर्णय गरेका छन् । अब काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालन गर्न सकिने भएको छ ।
यसअघि ८ बजेसम्म मात्र पसल खोल्न सकिने प्रावधान थियो । काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सो निर्णय गरेको हो । यो व्यवस्था लागू गर्नका लागि सम्बद्ध सबै निकायलाई निर्देशन दिइएको छ । औषधि, पानीलगायत पसलको हकमा भने यो सीमा लागु हुने छैन । यसअघि कतिपय स्थानमा ७ बजे नै प्रहरीले पसल बन्द गराएको भन्दै आलोचनासमेत भएको थियो ।