Author: Vishwanews.com

  • सोमबार चितवनमा थपिए २० संक्रमित

    सोमबार चितवनमा थपिए २० संक्रमित

    भरतपुर । चितवनमा सोमबार बिहान थप २० जनामा कोरोना संक्रमित भेटिएका छन् । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । चितवनका १४ सहित २० जनामा कोरोना पुष्टी भएको हो ।

    त्यसबाहेक नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक, एक जनामा पनि कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ । संक्रमितहरु २० देखि ७४ वर्षसम्मका रहेको बताइएको छ । यसअघि आइतबार चितवनमा १९ जनामा कोरोना देखिएको थियो । पछिल्लो समय नेपालका शहरी इलाका कोरोना भाइरसको चपेटामा परिरहेका छन् ।

  • देशभर ३५ जिल्लामा निषेधाज्ञा

    देशभर ३५ जिल्लामा निषेधाज्ञा

    काठमाडौं । कोरोना भाइरसको संक्रमणको फैलावटसँगै देश पुनः एकपटक ठप्प हुने अवस्थाा पुगेको छ । गृह मन्त्रालयका अनुसार देशव्यापी लकडाउन खुलेपछि विभिन्न स्थानीय प्रशासनले आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् । त्यसक्रममा अहिलेसम्म ३५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको मन्त्रालयले जनाएको छ । निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा जारी गरिन्छ । आंशिक निषेधाज्ञा १२ जिल्लामा लागु भएको छ ।

    जोखिम रहेका जिल्लामा कोभिड–१९ जिल्ला संकट व्यवस्थापन समितिको निष्कर्ष अनुुसार प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा लागू गर्न सक्छन् । सरकारले देशब्यापी लकडाउन नगर्ने बताइसकेको छ ।

    गृह मन्त्रालयका अनुसार अहिले सप्तरी, धुनषा, बाँके, पर्सा, बारा, महोत्तरी, सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, काठमाडौं, ललितपुर, भक्तपुर, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखामा पूर्ण निषेधाज्ञा जारी भएको छ । नवलपरासी पश्चिम, सिन्धुपाल्चोक, गोरखा, अर्घाखाँची, कास्की, कैलाली, प्युठान, दैलेख, गुल्मी, कञ्चनपुर, डडेलधुरा, कालिकोट, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन र बैतडीमा पनि निषेधाज्ञा छ ।

    नुवाकोट, जुम्ला, मोरङ, दार्चुला, झापा, मकवानपुर, धादिङ, उदयपुर, तनहुँ, सुर्खेत, बाग्लुङ, पश्चिम रुकुम र जाजरकोटमा आंशिक निषेधाज्ञा जारी भएको छ । कपिलवस्तु र नुवाकोटमा जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवा बन्द भएको छ ।

  • जर्मन क्लव बायर्नले जित्यो च्याम्पियन्स लिग

    जर्मन क्लव बायर्नले जित्यो च्याम्पियन्स लिग

    काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख सन् २०२० को युरोपियन च्याम्पियन्स लिग विजेता बनेको छ । फ्रेन्च क्लव फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले हराएको बायर्न च्याम्पियन बनेको हो । खेल गतराती भएको छ । छैटौं पटक उपाधी उचाल्न बायर्नले ७ वर्ष कुरेको छ । पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पूर्वपीएसजी म्यान किंग्सले कोमनले एकमात्र गोल गरे । उनको ५९औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।

    जोसअ किम्मिकको पासमा उत्कृष्ट हेड गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । फ्रेन्च खेलाडीको त्यो गोल नै पिएसजीलाई हराउन पर्याप्त बनेको थियो । उता, पहिलो पटक फाइनल पुगेको पीएसजीले भने ऐतिहासिक अवसर गुमायो । फाइनल जितेको भए यो उसको पहिलो च्याम्पियन्स लिग उपाधि हुने थियो ।

    बायर्न भने सन् २०१३ पछि पहिलो पटक फाइनल पुगेको हो । त्यसपछि फाइनल पुगेको बायर्नले उपाधी जितेको छ । च्याम्पियन्स लिग सर्वाधिक जित्नेमा बायर्न लिभरपुलसँगै संयुक्त रुपमा तेस्रो स्थानमा उक्लेको छ । रियल मड्रिडले सर्वाधिक १३ र एसी मिलानले ७ पटक उपाधि जितेका छन् ।

    बायर्नले यसअघि सन् १९७४, १९७५ र १९७६ मा लगातार तीन पटक उपाधि जित्दै उपाधिमा ह्याट्रिक गरेको थियो । त्यसपछि सन् २००१ मा अर्को उपाधी थपेको थियो । बायर्न ११ पटक फाइनल पुगेको छ ।

  • स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन

    स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको लडाईमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ । अहिले देशभर चिकित्सकसमेत संक्रमित हुने क्रम बढेको छ । यसैक्रममा सिभिल हस्पिटलका डाक्टर र नर्सलाई क्वारेन्टिनमा राखेको होस्टेल घेर्दै स्थानीयले नयाँ बानेश्वरमा अभद्र व्यवहार गरेका थिए ।

    मन्त्रालयले भने यस्तो काममा संलग्‍नमाथि कडा कारवाही चलाउन निर्देशन दिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्‍वर गौतमले स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने जोसुकै भए पनि कारवाही चलाउन निर्देशन दिइएको जानकारी दिए ।

    संकटको बेला खटेका स्वास्थ्यकर्मीमाथि कुनै पनि बहानामा हुने दुर्व्यवहार र अपमानजनक घटनाको मन्त्रालयले कडा निन्दा गर्ने समेत उनले उल्लेख गरे । उनका अनुसार नयाँ बानेश्‍वरस्थित निजामती कर्मचारी अस्पतालका डाक्टरमाथि दुर्व्यवहार गर्ने मिलन चोकका स्थानीयमाथि कारवाही चलाउने छ । यसका लागि जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरिएको छ ।

  • लागुऔषध र हतियार कारोबारी भारतका गुण्डा नाइके बग्गा नेपालमा पक्राउ

    लागुऔषध र हतियार कारोबारी भारतका गुण्डा नाइके बग्गा नेपालमा पक्राउ

    काठमाडौं । लागु औषध र अवैध हातहतियारको कारोबारीमा कुख्यात गुण्डा नाइके भारत बिहारका ‘बग्गा’ भनिने ३९ वर्षीय प्रदीप यादव नेपालमा पक्राउ परेका छन् । उनले भारतमा बसेर नेपालमा हतियार तथा लागुऔषधको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भारत बिहारका उनलाई शनिबार पक्राउ पछि सार्वजनिक गरेको छ ।

    उनी विराटनगर महानगरपालिका १६ दरैया नाकामा प्रतिवन्धित लागुऔषधसहित प्रहरीको फन्दामा परेका हुन् । उनको साथबाट १५ बोतल डाइलेक्स डिसी, ५० चक्की नाट्रोसन र ५१ चक्कली नाइट्राभेट बरामद भएको प्रहरीले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।

    भारतमा बसेर नेपालमा आपराधिक गतिविधि गर्ने उनी प्रहरीको खोजीको सूचिमा थिए । प्रहरीका अनुसार उनीविरूद्ध नेपालमा हातहतियार, खरखजना तथा लागुऔषध मुद्दा छन् । उनले १ नम्बर र २ नम्बर प्रदेशका जिल्लामा अवैध रुपमा हातहतियार र लागूऔषधको कारोबारको सञ्जाल विस्तार गरेको प्रहरीको भनाई छ । प्रहरीले थप अनुसन्धान थालेको बताएको छ ।

  • बुटवलमा कोरोनाका कारण दुई जनाको मृत्यु

    बुटवलमा कोरोनाका कारण दुई जनाको मृत्यु

    बुटवल । कोरोना भाइरसको संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ ।

    उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचारका क्रममा ज्यान गएको हो । दीर्घरोगी, उच्च रक्तचाप र मिर्गौलाको समस्याबाट पीडित बुटवलकी महिलामा स्वासप्रश्वासमा समस्या देखिएको बताइएको थियो ।

    उनमा साउन ३१ मा कोरोना संक्रमण पुष्टि भएको थियो । समरीमाइका पुरुष कोरोना संक्रमण पुष्टि र स्वासप्रश्वासमा समस्या भएपछि भदौ १ गत कोरोना विशेष अस्पतालमा ल्याइएका थिए । दुई जनासँगै रुपन्देहीमा मात्र ५ जनाको ज्यान गएको छ ।

  • उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

    गौतमका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंमा १सय २६, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना रहेका छन्।

  • नेपालमा थप ८ सय १८ जनामा कोरोना संक्रमण, २ सय ८१ डिस्चार्ज

    नेपालमा थप ८ सय १८ जनामा कोरोना संक्रमण, २ सय ८१ डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ८१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १८ हजार ६ सय ३१ पुगेको छ। कुल संक्रमितमध्ये १४९ जनाको मृत्यु भएको छ।

  • ५ वर्षभन्दा माथिका सबैले मास्क लगाउन डब्यूएचओको सिफारिस

    ५ वर्षभन्दा माथिका सबैले मास्क लगाउन डब्यूएचओको सिफारिस

    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएएचओ)ले ५ वर्षभन्दा माथिका सबै मानिसले मास्क लगाउनु पर्ने नियम ल्याएको छ । किशोरावस्थाका बालबालिका बाट वयश्क सरह कोरोना भाइरसको संक्रमण सर्ने भन्दै संगठनले ५ वर्षभन्दा माथिका बालबालिकाले मास्क लगाउनु पर्ने नियम ल्याएको हो । त्यो भन्दा साना बालबालिकालाई भने लगाउन अनिवार्य गरिएको छैन ।

    डल्ब्यूएचओका अनुसार बालबालिकाले भाइरस कति फैलाउँछ भन्ने प्रष्ट भएको छैन । तर किशोरावस्थाका बालबालिकाले भने वयश्कले सरह भाइरस फैलाउँछन् । संगठनका अनुसार ६० वर्षका कम उमेरका मानिस कम्तिमा कपडाको मास्क लगाउनुपर्छ । ६० वर्षभन्दा बढी उमेरका मानिस र विरामीले भने मेडिकल मास्क लगाउनुपर्ने गरी नयाँ नियम आएको हो । मास्कले भाइरसको संक्रमण रोक्न मद्दत पुग्ने बताइएको छ ।

  • सन्दीप चम्किएपनि टीमको हार टार्न सकेनन

    सन्दीप चम्किएपनि टीमको हार टार्न सकेनन

    काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने चम्किएको खेलमा उनको टीम भने पराजित भएको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा उनको टीम जमैकाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले हार्न पुग्यो ।

    १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतीमा मात्र १ सय ४ रन बनायो । सो टोलीका लागि आन्द्रे रसेलले अविजित ५२ रन बनाएपनि अन्य ब्याट्सम्यानले राम्रो साथ दिन सकेनन् । बलमा चम्किएका सन्दीप ब्याटमा भने असफल रहे । ३ बल खेलेका उनी रनको खाता नखोल्दै बाहिरिए ।

    पहिले ब्याटिङ गरेको गुएनाले निर्धारित ओभर सकिन ५ बल बाँकी छदै अलआउट हुँदा मात्र १ सय १८ रन बनाउन सक्यो । सन्दीपले ४ ओभरमा ८ रन खर्चिएर २ विकेट लिए । उनले शेरफेन रदरफोर्डलाई ६ रनमा आउट गराए । क्रिस ग्रिनलाई २ रनमा बोल्ड आउट गरे ।

  • मन्त्रालयको सिफारिसबीना अस्पतालले कोरोनाका बिरामी भर्ना गर्न नपाउने

    मन्त्रालयको सिफारिसबीना अस्पतालले कोरोनाका बिरामी भर्ना गर्न नपाउने

    काठमाडौं । अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस बीना कोरोना भाइरस (कोभिड–१९) का बिरामी अस्पताल भर्ना हुन नपाउने भएका छन् । मन्त्रालयको सिफारिसमा मात्र भर्ना लिन र समन्वय गर्न निर्देशन जारी भएको छ । स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९ का बिरामी भर्ना सम्बन्धमा’ शुक्रबार नयाँ निर्देशिका जारी गरेको छ ।

    निर्देशनअनुसार काठमाडौं उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका बिरामी भर्ना लिँदा मन्त्रालयको एचइओसी (हेल्थ इमजेन्सी अपरेशन सेन्टर) टिमसँग सिफारिस लिनुपर्ने भएको छ । उक्त टीमको समन्वयमा मात्र बिरामी भर्ना गर्नुपर्ने भएको हो ।

    ‘अस्पतालमा कोभिड–१९ को लागि छुट्याइएका आइसोलेसन तथा आइसियू बेडमा बिरामी भर्ना गर्नुपर्दा यस मन्त्रालयको एचइओसीको क्लिनिकल मेनेजमेन्ट टिमको सम्पर्क नम्बरहरूबाट हुने सिफारिस र समन्वयमा मात्र भर्न गर्नु हुन निर्देशन गरिन्छ,’ मन्त्रालयको निर्देशनमा उल्लेख छ ।

  • लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने

    लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने

    काठमाडौं । सिन्धुपाल्चोकको लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने भएको छ । उनीहरुलाई जुगल गाउँपालिकाको वडा नम्बर १ सेलाङस्थित बाँसखर्क भन्ने स्थानमा सारिने भएको छ । सो स्थानमा अस्थायी वस्ती निर्माणको काम शुरु भइसकेको छ । टेन्ट जोड्ने तथा सुरक्षाको प्रबन्ध मिलाउने काम प्रारम्भ भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । चरणमा १ सय २१ परिवारलाई टेन्टमा राखिने छ ।

    त्यसका लागि सुरक्षा निकायले काम थालेको हो । यहाँ १ सय ७२ घरपरिवारमध्ये अहिलेसम्म सार्नुपर्ने गरी १ सय २१ परिवारको पहिचान भएको छ । बस्ती स्थानान्तरणका लागि विभिन्न जिम्मेवारी छुट्याइएको छ । जसअनुसार जिल्ला विपद् व्यवस्थापन समितिले आवश्यक टेन्ट उपलब्ध गराएको छ । जुगल गाउँपालिका कार्यालयले बाँसखर्कमा रहेको खुल्ला क्षेत्रमा जग्गा सम्याउने, शिविर व्यवस्थापन गर्ने तथा सडक पूर्वाधारको व्यवस्थापन गर्दैछ ।

    जिल्ला आयोजना कार्यान्वयन इकाईले आवास व्यवस्थापन र डिभिजन खानेपानी कार्यालयले खानेपानीको व्यवस्थापन मिलाउदैछ । जिल्ला स्वास्थ्य कार्यालयले स्वास्थ्य सेवाको प्रबन्ध मिलाउने छ । रेडक्रसले शौचालय व्यवस्थापनको जिम्मा लिएको छ । सिन्धुपाल्चोकको लिदीमा ३० साउनमा भीषण पहिरो गएको थियो । पहिरोमा हराएका ३९ मध्ये ३२ जनाको शव फेला परिसकेको छ ।

  • कोरोना र लकडाउनको प्रभाव, देशभरका अस्पतालमा रगत अभाव

    कोरोना र लकडाउनको प्रभाव, देशभरका अस्पतालमा रगत अभाव

    काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि उठाएका कदमका कारण रक्तदान हुन नसकेपछि देशभर रगतको अभाव भएको छ । औपचारिक रुपमा रक्तदान कार्यक्रम राख्न नपाउँदा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जानकारी दिएको छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको रेडक्रसले जनाएको छ । रेडक्रसले रक्तदान गर्न सर्वसाधारणमा अनुरोधसमेत गरेको छ ।

    लकडाउनका कारण दूर्घटना कम भएकाले रगतको ठूलो खपत केही घटेको छ । यद्दपी नियमित रक्तदान हुन नसकेका कारण रगतको अभाव बढ्दै गएको सोसाइटीले जनाएको छ । केन्द्रीय रक्तसञ्चार सेवाकाअनुसार शनिवारको लागि बुक गरिएका अधिकांश क्याम्प निषेधाज्ञाका कारण स्थगित भएका छन् ।

    दुर्घटनामा पर्ने, रक्तश्राव भएका, प्रसूति, मुटु, क्यान्सर तथा मिर्गौला विरामी, थालसेमिया, हेमोफिलिया, आकस्मिक शल्यक्रिया गर्नुपर्ने विरामीहरुका आफन्तहरु केन्द्रीय रक्तसञ्चार केन्द्रमा आइरहेका छन् । तर पर्याप्त रगत आपूर्ति गर्न नसकिएको रेडक्रसले जनाएको छ ।

    केन्द्रसहित धरान, विराटनगर, चितवनलगायत स्थानमा पनि रगत अभाव भइरहेकोे रेडक्रसले जनाएको छ । अधिकांश भेगमा निषेधाज्ञा रहेको र आसपासका जिल्लाबाट पहिलेजस्तो सहयोग हुनसक्ने परिस्थिति नरहेका कारण समेत रगतको अभाव रहेको बताइएको छ ।

  • नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६, दुई दिनमा २० जनाको मृत्यु

    नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६, दुई दिनमा २० जनाको मृत्यु

    काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको संख्या उकालो लागेको छ । सोहीक्रममा शुक्रबार र शनिबार गरी कुल २० जनाको निधन भएको छ । शुक्रबार ११ जनाको ज्यान गएको थियो । पछिल्लो २४ घण्टामा भने ९ जनाको मृत्यु भएको छ । आज सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान गएको छ ।

    पर्सामा तीन जनाको मृत्यु भएको छ । यहाँ ज्यान गुमाउनेमा ६१ वर्ष, ५८ र ४८ वर्षका पुरुष छन् । बारामा ५८ वर्षका पुरुष, सिरहामा ६८ वर्षका परुष, मकवानपुरमा ५६ वर्षका पुरुष र भक्तपुर ७३ वर्षका पुरुषको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । यससँगै नेपालमा ज्यान गुमाउने व्यक्तिको संख्या १ सय ४६ पुगेको हो ।

  • प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी संचालन गर्ने गरी पौडेल कार्यदलले बुझायो प्रतिवेदन

    प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी संचालन गर्ने गरी पौडेल कार्यदलले बुझायो प्रतिवेदन

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद समाधानको उपायसहितको सुझाव दिन गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन शनिबार दुबै अध्यक्षलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई कार्यदलले प्रतिवेदन बुझाएको हो। साउन ३० मा गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारि बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

    उक्त कार्यदलले प्रधानमन्त्री सरकारको काममा केन्द्रित हुने र प्रचण्डले पार्टी संचालन गर्ने गरी सहमति खोजिएको छ । दुई अध्यक्षले पार्टी भित्रको विवाद मिलाउन महासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा र पम्फा भुसाल सदस्य रहेको कार्यदल बनाएका थिए। कार्यदलले तत्कालका लागि पार्टीभित्रको विवाद साम्य पार्दै सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटी हुँदै एकता महाधिवेशन सम्म जाने गरी सुझाव दिएको छ ।

    अब ओली सरकारको काममा केन्द्रित हुनेछन् । दाहाललाई भने पार्टीको पूर्ण अधिकार दिइने छ । मन्त्रिपरिषद् र मुख्यमन्त्रीमा हेरफेर गरिनेछ । अब सरकारले कुनै निर्णय लिँदा एकलौटी गर्न पाउने छैन । पार्टी एकताका बाँकि काम सकेर महाधिवेशन तयारी थाल्ने गरी सहमतिको प्रयास कार्यदलले गरेको छ ।

    राजनीतिक नियुक्तिमा पार्टीसँग सहमति दिनुपर्ने प्रस्ताव समेत गरिएको छ । यसअघि पार्टीमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्री र अध्यक्ष दुवै पदबाट राजीनामा दिनु पर्ने माग उठेको थियो । तर, पार्टीको सल्लाहमा सरकार संचालन गर्न तयार भएमा ओलीले राजिनामा दिनु नपर्ने गरी सहमतिको प्रस्ताव गरिएको नेकपा स्रोतको भनाई छ ।

  • के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस

    के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस

    काठमाडौं । खाडी मुलुकमा संकटमा रहेका नेपाली नागरिकको उद्धारमा सरकारले गरिरहेको ढिलाई र खेलबाडप्रति नेपाली काग्रेसले कडा आलोचना गरेको छ । एक त सरकारले आफ्नो खर्चमा सकंटमा परेका नेपालीको उद्धार गर्न सर्वोच्च अदालतले दिएको आदेशको उल्लंघन गरेको र अर्कोतर्फ महंगो टिकट खर्च भिडाएर कामदारमाथि सरकारले अन्याय गरिरहेको कांग्रेसको आरोप छ ।

    कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले शनिबार विज्ञप्ती जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई सोधेका छन्, खाडीका श्रमिक वर्ग शत्रु हुन् प्रधानमन्त्रीज्यू ? सर्वोच्च अदालतको आदेश उल्लंघन गर्दै महँगो टिकटसँगै सबै खर्च बोकाउनु मानवीयता नभएर सर्वहारामाथि अधिनायकवाद लादिएको उनको भनाई छ ।

     

    उनले गत असार १ गते सर्वोच्च अदालतले वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परि नेपाल आउन चाहेका नागरिकलाई सरकारी कोषबाटै उद्वार गर्न सरकारका नाममा दिएको आदेशका समेत स्मरण गराएका छन् । सरकारले आजसम्म गरेको उद्धारमा कामदार आफैले टिकट काटेर आएका छन् ।

    उक्त आदेश आएको दुई महिनापछि पुनः महँगो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्‍न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको उनले उल्लेख गरेका छन् ।

    यस्तो छ सरकारलाई कांग्रेसको प्रश्न र माग 

    • ६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महँगो टिकट खरिद गर भन्‍नु कति न्यायोचित छ ?
    • सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्वार गर भन्‍ने आदेशको उल्लंघन र अदालतको मानहानि हो कि होइन प्रधानमन्त्रीज्यू ?
    • मन्त्रिपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्वार फ्लाइटको अनुमति दिएको छ। भदौ १६ बाट शुरु गर्ने भनिएको नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्ध गरिएका कतिपय देशका नेपाली श्रमिक यो न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौंसम्म लाग्ने देखिन्छ। उद्धारको यो कछुवा गति भित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन ।
    • सरकारको पछिल्लो निर्णय अनुसार सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्वार त गर्न लाग्दैछ तर मानवीय भावना कम उद्वारमा व्यापारको मस्तिष्क धेरै खपत भएको देखिन्छ, एक त चार्टर फ्लाइटको महँगो टिकट काट्नु पर्ने, दोस्रो होटेल क्वारेन्टाइनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, तेस्रो पिसिआर परिक्षण आफैँ गराउनुपर्ने अनि चौथो गाउँ पुग्ने यातायात खर्च समेत आफै हाल्नुपर्ने। अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भर थेग गरिरहेका अन्न दातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को ब्यबहार ?
    • ‘रोजगारी गुमाएका, बेतलबी विदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकम मार्फत हवाई टिकट ब्यवस्था गरेर निःशुल्क उद्वार गर्न नेपाली कांग्रेस सरकार समक्ष पुरानो माग दोहोर्‍याउन चाहन्छ ।
    • उच्च मानवीय भावना साथ ‘संकटमा उद्वार मातृभूमिको कर्तव्य’ आत्मसात गर्न नेपाली कांग्रेस सार्वजनिक रुपले नेपाल सरकारलाई अपील गर्दछ ।
  • उपत्यकामा २१६ जनामा कोरोना पुष्टी

    उपत्यकामा २१६ जनामा कोरोना पुष्टी

    काठमाडौं । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभर ६३४ जनामा कोरोना भाइरस देखियो । उपत्यकामा देखिएको कुल संख्या देशभर देखिएको संख्याको तुलनामा एक चौथाई भन्दा बढी हो । यसले काठमाडौं उपत्यका भित्रको कोरोना भाइरसको जोखिमलाई स्पष्ट पारेको छ ।

    देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जनामा कोरोना पुष्टी भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले बढ्दो संक्रमणका बीच काठमाडौंमा निषेधाज्ञा जारी गरेको छ । यस्तो निषेधाज्ञा १० भदौसम्म कायम रहनेछ ।

  • नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ५ सय १९ पीसीआर परीक्षणमा ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय १३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० पुगेको छ। कुल संक्रमितमध्ये १४६ जनाको मृत्यु भएको छ।

  • क्यालिफोर्निया डडेलोमा ६ को मृत्यु, हजारौं मानिस विस्थापित

    क्यालिफोर्निया डडेलोमा ६ को मृत्यु, हजारौं मानिस विस्थापित

    काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाका पहाडी भेगमा डडेलोले उग्र रुप लिएको छ । यहाँ थुपै स्थानमा डडेलो फैलिएको र यसले धनजनको क्षति गरिरहेको बीबीसीले लेखेको छ । अहिलेसम्म डढेलोमा परी ६ जनाको मृत्यु भइसकेको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म दर्जनौँ स्थानमा डडेलो फैलिएको हो ।

    आगलागीपछि चलेको तातो हावाले यस भेगको जनजीवन प्रभावित बनाएको छ । सयौं भवन जलेको र हजारौं मानिस विस्थापित भएका छन् । डढेलोले एक लाख ७५ हजारभन्दा बढी मानिस बिस्थापित भएकोे बिबिसीले उल्लेख गरेको छ । अग्नी नियन्त्रकको प्रयास असफल भइरहेको जनाइएको छ ।

    डढेलो नियन्त्रणमा १० हजार भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । यसअघि गत वर्ष अष्ट्रेलिया डडेलोको यस्तै चपेटामा परेको थियो ।

  • कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास

    कोरोना दुई वर्ष भित्र नियन्त्रणमा आउने डब्यूएचओको विश्वास

    काठमाडौं । विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको संक्रमण स्पेनिस फ्लुको तुलनामा छिटो नियन्त्रणमा आउने अनुमान गरेको छ । कम्तिमा अबको दुई वर्ष भित्र कोरोना नियन्त्रणमा आइसक्ने संगठनको विश्वास रहेको छ । अहिले संसारभर कोरोना भाइरस विरुद्ध खोपको विकास भइरहेको छ । कतिपय स्थानमा परीक्षणको चरणमा रहेका छन् ।

    सोहीकारण स्पेनिस फ्लुको तुलनामा कोरोना छिटो नियन्त्रणमा आउने विश्वास संगठनको छ । डब्ल्युएचओका प्रमुख डा टेडरोज आध्यनोम गेब्रेयेसोसले कोरोना भाइरसको महामारी दुई वर्षभित्र नियन्त्रणमा आउने आशा बढेको बताएका हुन् । सन् १९१८ मा स्पेनिस फ्लूको महामारी नियन्त्रणमा आउन समेत दुई वर्ष लागेको थियो ।

    अहिले रहेको प्राविधिक सक्षमताले कम समयमै भाइरस नियन्त्रणमा लिन पनि सकिने विश्वास रहेको उनले बताएका छन् । भाइरसको फैलावट भने अझै बढ्ने चेतावनी उनले दिएका छन् । तर, उपलब्ध प्रविधिका कारण भाइरस छिट्टै नियन्त्रणमा आउन सक्ने सम्भावना रहेको उनले बताए । स्वीट्जरल्याण्डमा आयोजित नियमित पत्रकार सम्मेलनका दौरान उनले यस्तो जानकारी गराएका हुन् ।

    कोरोना भाइरसविरुद्धको अभियानमा सफलता पाउन राष्ट्रिय एकता र विश्वव्यापी सहकार्य भने अत्यावश्यक रहेको उनको भनाई छ । विश्वभर कुल कोरोना संक्रमितमध्ये प्रति एक सयमा ६७ जना निको भएको उदाहरण दिँदै उनले यो सकारात्मक संकेत भएको उल्लेख गरे ।

    विश्वभर शनिबार बिहानसम्म २ करोड ३१ लाख ५ हजार ७८ जना संक्रमित भएको तथ्यांक छ । कुल संक्रमितमध्ये १ करोड ५७ लाख ८५२ जना संक्रमणमुक्त भएका छन् । यसमध्ये १ लाख ८३ हजार ९२७ जना पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएका छन् । मृत्यु हुनेको संख्या भने ८ लाख २ हजार ८८९ पुगेको छ ।

  • लिदी पहिरोमा ३२ को शव फेला, अछाममा अझै ११ वेपत्ता

    लिदी पहिरोमा ३२ को शव फेला, अछाममा अझै ११ वेपत्ता

    चौतारा । सिन्धुपाल्चोक र अछाममा गत साता गएको पहिरोमा परी हराइरहेका मध्ये अझै १८ जना वेपत्ता छन् । जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएका मध्ये शनिबारसम्म ३२ जनाको शव फेला परिसकेको छ । शनिबार ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएको प्रहरीले जनाएको छ । यहाँ ३९ जना वेपत्ता थिए ।

    अझै वेपत्ता रहेका ७ जनाको खोजी जारी रहेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी र स्थानीय हराइरहेकाको खोजीमा जुटिरहेका छन् । उता, अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही ३ भदौमा आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अझै वेपत्ता छन् ।

    बेपत्ता भएकाहरुको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली बुधबारदेखि नै खटिएपनि अहिलेसम्म भेटाउन नसकेको स्थानीय प्रहरीले जनाएको छ ।

    बाढीमा बगेका ६ जनाको भने मृत्यु भइसकेको छ । प्रहरीका अनुसार रामारोसन गाउँपालिका–५ बस्ने वर्ष ४७ का नन्दु साउद, वर्ष ४५ का गङ्गा साउद, वर्ष १७ का रुपेश साउद, वर्ष छ का प्राकृति साउद, वर्ष ५५ को जोगा साउद, वर्ष ४५ का अम्मर शाह, वर्ष ४० का पवित्रादेवी शाह, वर्ष चारका समिर शाह, वर्ष ३५ की सम्झना शाह, वर्ष ४५ का वासु साउद, वर्ष ४५ का लालसरा शाही, वर्ष आठका बसन्ती शाही वेपत्ता छन् । बेपत्ता मध्ये दुई जनाको भने नाम खुलेको छैन ।

  • युरोपा लिगको उपाधी सेभियालाई

    युरोपा लिगको उपाधी सेभियालाई

    काठमाडौं । यूरोप लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाको पोल्टामा परेको छ । गएराति जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोलले हराएको सेभियाले उपाधि जितेको छ । सेभियाको जितमा लुक डे जोङले दुई र डिएगो कार्लोसले एक गोल गरेका छन् । इन्टर मिलानका लागि रोमेरो लुकाकु र डिएगो गोडीनले एक-एक गोल गरे ।

    ६ पटक फाइनल पुगेको सेभियाले छैठौं पटक नै युरोपा लिगको उपाधि जित्न सफल भएको छ । यसअघि सेभियाले सन् २०१६ मा युरोपा लिग जितेको थियो । ६ पटक युरोपा लिग जित्ने सेभिया एउटा मात्र टोली हो ।

  • शनिबार कोरोनाबाट थप तीन जनाको मृत्यु

    शनिबार कोरोनाबाट थप तीन जनाको मृत्यु

    वीरगन्ज । नेपालमा शनिबार कोरोना भाइरसको संक्रमणबाट तीन जनाको निधन भएको छ । पर्सा र चितवनमा तीनजना कोरोना संक्रमितको ज्यान गएको हो । पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुषको गत राती र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । अहिलेसम्स पर्सामा मात्र ३६ जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ ।

    उनीहरु दुवै जनाको वीरगञ्ज हेल्थ केयरमा मृत्यु भएको हो । उता, चितवनस्थित पुरानो मेडिकल कलेजमा पनि गएराती हेटौंडाकी कोरोना संक्रमित महिलाको ज्यान गएको छ। उपचारका लागि भदौ ३ गते चितवन आएकी उनको बिहीबार राती ज्यान गएको थियो । अस्पताल आउनासाथ उनको स्वाव संकलन गरी पठाइएको थियो । मृत्युपछि उनमा कोरोना पुष्टी भएको छ । चितवनमा भने कुल ५ जनाको ज्यान गएको छ ।

  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीमा कोरोना

    पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीमा कोरोना

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेपाल स्रोतले जानकारी दिएको छ ।

    नेता नेपाल र उनको परिवारका सदस्यको रिपोर्ट भने नेगेटिभ आएको छ । कोरोना संक्रमितसँग क्लेज क्ट्रयाक्टमा आएपछि उनको र परिवारका सदस्यको कोरोना परीक्षण गरिएको थियो । बिहीबार उनीहरुको स्वाब संकलन गरिएको र स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको हो ।

  • नेपालमा ३० हजार नाघे कुल संक्रमित, सर्वाधिक बढी कुन-कुन जिल्लामा ?

    नेपालमा ३० हजार नाघे कुल संक्रमित, सर्वाधिक बढी कुन-कुन जिल्लामा ?

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हजार नाघेको छ । शुक्रबार एकै दिन ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै ३० हजारको आंकडा पार गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार अब कुल ३० हजार ४ सय ८३ जनामा कोरोना पुष्टी भइसकेको छ । यसमध्ये सर्वाधिक संक्रमित भएको जिल्ला काठमाडौं बनेको छ ।

    काठमाडौंमा मात्र सक्रिय संक्रमितको संख्या २१ सय पुगेको छ। त्यसमध्ये आधा मानिसलाई होम आइसोलेसनमा बस्न भनिएको छ । सरकारले संक्रमितमध्ये लक्षण नभएकालाई अस्पताल भर्ना नगर्ने नीति लिएको हो । काठमाडौमा २ हजार १ सय सकृय संक्रमित छन् । पर्सामा १४ सय सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ ।

    रौतहटमा सक्रिय संक्रमितको संख्या ९ सय ३२ रहेको छ। मोरङमा सक्रिय संक्रमितको संख्या ८ सय ५३ रहेको तथ्यांक छ । महोत्तरीमा ६ सय ९८ र सर्लाहीमा ६ सय जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रलायको तथ्यांक अनुसार हाल देशभर १ सय ४८ जना कोरोनाको कारण गम्भीर अवस्थामा उपचारार्थ रहेका छन् । १ सय ३३ जना आइसियुमा छन् । १५ जनालाई भेन्टिलेटरमा राख्नु परेको छ ।

  • भदौ १६ बाट हुने भयो नियमित उडान, पहिलो चरणमा कुन कुन देश खुला ?

    भदौ १६ बाट हुने भयो नियमित उडान, पहिलो चरणमा कुन कुन देश खुला ?

    काठमाडौं । १६ भदौबाट अन्तर्राष्ट्रिय हवाई उडान नियमित हुने भएको छ । सरकारले शर्तसहित उडान खोल्ने निर्णय गरेको हो । पीसीआर परीक्षण सहज भएका देशमा मात्र पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान हुनेछ । पिसिआर सहज हुने मुलुक बाहेकमा भने नेपालीलाई घर फर्काउने प्रयोजनका लागि साविकमा जस्तै चार्टर्ड उडान मात्र हुने भएको छ ।

    पहिलो चरणमा अमेरिका, यूरोप, चीन, थाइल्याण्ड, हङकङ, मलेसियासहितका देशबाट नेपाल आउने पाइने छ । यसरी आउन पाउने सूचिमा नेपाली नागरिक, विदेशी कुटनीतिक नियोगका कर्मचारी तथा पदाधिकारी र विकास साझेदार संघसंस्थाका प्रतिनिधिलाई मात्र अनुमति मिल्नेछ । विदेशी नागरिकले भने तत्काल नेपाल प्रवेशको अनुमति नपाउने भएका छन् ।

    पिसिआर परीक्षण हुन सम्भव नभएका साउदी अरव, कुवेत, कतारलगायत मुलुकबाट आउने नागरिकलाई नेपाल ल्याउनै पर्ने भए चार्टर्ड जहाज जानेछन् । यसरी जहाज चढेर आउने सबैको साथमा पछिल्लो २४ घण्टा यता गरेको पिसिआर र त्यसको नतिजा नेगेटिभ आएको प्रमाणपत्र हुनुपर्छ । अब नेपाल आउने सबै अनिवार्य ७ दिन होटेल क्वारेन्टिनमा बस्नु पर्नेछ ।

    हवाई टिकट काट्दाकै समयमा होटेलको पैसासमेत असुल गरिनेछ । वायुसेवा कम्पनीले होटेललाई पैसा दिनेछन् । होटेलमा बस्दाको खर्च आफै तिर्नुपर्ने छ । अब जहाजले पीसीआर टेष्ट गरेका र नगरेका यात्रुलाई एउटै जहाजबाट ल्याउन पाउने छैनन् । ल्याएमा सबैलाई क्वारेन्टिनमा राखिनेछ र त्यसको सबै खर्च एयरलाइन्सले व्यहोर्नुपर्ने भएको छ ।

  • पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख खर्च

    पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख खर्च

    काठमाडौं । नेपालमा हालसम्म ५ लाख ७९ अजार ८९९ जनाको पीसीआर परीक्षण भएको छ।

    पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ८९ जनाको पीसीआर परीक्षण सहित उक्त संख्या पुगेको हो ।

    जसमध्ये १८ हजार २ सय १४ जना संक्रमण मुक्त भैसकेका छन् भने १३७ जनाको मृत्यु भएको छ । अन्यको उपचार जारी रहेको छ । ती मध्ये अहिले १३३ जना संक्रमित आईसीयूमा उपचाररत छन्।

    मन्त्रालयको तथ्यांक अनुसार प्रदेश एकमा १६ जना, प्रदेश २ मा ४६ जना, वागमती प्रदेशमा ५३ जना, गण्डकी प्रदेशमा ६ जना र प्रदेश नम्बर पाँचमा १३ जना संक्रमितको आईसीयूमा उपचार भइरहको छ।

    यस्तै, १५ जना संक्रमितको उपचार भेन्टिलेटरमा भइरहेको छ। सरकारले हालसम्म पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार खर्च गरेको छ ।

    ‘सरकारले पिसिआर परीक्षणका लागि गरेको खर्च र पोजिटिभ भेटिएको केसलाई हेर्दा एक जना पोजिटिभ भेटाउन सरकारले ल्याबमा मात्र १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेको छ,’ प्रवक्ता डा गौतमले भने, ‘एक जनाको परीक्षणका लागि सरकारले ५५ सय रुपैयाँ खर्च गर्दै आइरहेको छ।’

    डा गौतमका अनुसार संक्रमितलाई आइसियुमा उपचार गर्नु परेमा ३० दिनमा ४ लाख ५० हजार खर्च हुने गरेको छ।

  • काठमाडौं उपत्यकामा १ सय ८२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं उपत्यकामा १ सय ८२ जना कोरोना संक्रमित थपिए

    काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोनाको संक्रमण पुष्टि हो ।

    गौतमका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १ सय ४२, ललितपुरका १५ र भक्तपुरमा २५ जना रहेका छन्।

  • नेपालमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु

    काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न ठाँउमा १ महिला र १० पुरुष सहित ११ जनाको मृत्यु भएको हो ।

    प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानमा एक महिलासहित ११ जनाको उपचारका क्रममा मृत्यु भएको हो।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ।

  • नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० डिस्चार्ज

    नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ५० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १८ हजार २ सय १४ पुगेको छ।

    कुल संक्रमितमध्ये १२६ जनाको मृत्यु भएको छ।