Author: Vishwanews.com

  • भारतमा एक दिनमा सर्वाधिक संक्रमित थपिए

    भारतमा एक दिनमा सर्वाधिक संक्रमित थपिए

    नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकै दिन सर्वाधिक संख्यामा कोरोना भाइरसका संक्रमित थप भएका छन् । २४ घण्टामा ६८ हजार भन्दा धेरै व्यक्तिमा कोरोना पुष्टी भएको हो । यो भारतमा एकै दिन देखिएको सर्वाधिक संख्या हो । भारतमा एकैदिन ६८ हजार पाँच सय मानिसमा कोरोना देखियो । यो अवधिमा ९ सय ८१ जनाको मृत्यु भएको छ ।

    भारतमा अहिलेसम्म २९ लाख चार हजार भन्दा माथि सङ्क्रमण पुगेको छ । ५४ हजार नौ सय ७५ जनाको ज्यान गएको छ । २४ घण्टामा कोरोना भाइरसबाट ब्राजिलमा ११ सय १५ जना र अमेरिकामा नौ सय ८५ जनाको ज्यान गएको छ ।

    विश्वका दुई सय १३ देशमा फैलिएको कोरोना भाइरसबाट एकैदिन ५ हजार ६सय १७ जनाको ज्यान गएको छ । अब विश्वभर ज्यान गुमाउनेको संख्या ७ लाख ९५ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ । विश्वभर २ करोड २८ लाख आठ हजार भन्दा धेरैमा सङक्रमण भएको छ । १ करोड ५४ लाख ९१ हजार मानिस निको भएका छन् ।

  • काठमाडौंमा १० हजारसम्म आइसोलेसन बेड बनाइने

    काठमाडौंमा १० हजारसम्म आइसोलेसन बेड बनाइने

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ६ देखि १० हजार हाराहारी आइसोलेसन बेड बनाउने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै काठमाडौंमा अधिकतम १० हजारसम्म आइसोलेसन बेड तयार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । यद्दपी निर्णय भने सार्वजनिक भएको छैन । बैठक बिहीबार बसेको थियो ।

    सरकारले सरकारी, सामुदायिक र निजी अस्पताल र आवश्यक परे होटलमा समेत आइसोलेसन बेड बनाउने निर्णय गरेको हो । स्वास्थ्य जनशक्ति र स्वास्थ्य उपकरण समेत थप्ने निर्णय भएको बताइएको छ । अहिले स्वास्थ्य उपकरणको अभाव नभइसकेको निष्कर्ष निकाल्दै सरकारले संक्रमण बढ्दै जाँदा समस्या नहोस भनेर थप्न लागिएको बताइएको छ । अब जिल्लाहरुमा घोषणा भएका निषेधाज्ञा प्रभावकारी बनाउने र काठमाडौंमा एकीकृत क्वारेन्टिन बनाउने निर्णय समेत भएको छ ।

  • चितवनमा शुक्रबार बिहानै थपिए २६ संक्रमित

    चितवनमा शुक्रबार बिहानै थपिए २६ संक्रमित

    भरतपुर । चितवनमा शुक्रबार बिहान थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यहाँ स्वास्थ्यकर्मीससहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार राति आएको परीक्षणको नतिजा अनुसार ११ जना महिला र १५ जना पुरुषमा संक्रमण देखिएको हो । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकामध्ये २२ जना चितवनका हुन् ।

    भरतपुर महानगरपालिकामा १९ जनामा कोरोना देखिएको हो । भरतपुर अस्पताल र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरबाट स्वाब दिएका स्वास्थ्यकर्मी तथा बिरामीमा कोरोना देखिएको छ ।

    क्यान्सर अस्पतालका स्वास्थ्यकर्मीहरूमा संक्रमण देखिएपछि कन्ट्याक्ट ट्रेसिङका क्रममा बिहीबार २ जना स्टाफ नर्ससहित १० जनामा संक्रमंण देखिएको हो । चितवनबाहेक नवलपुर, पर्वत, पर्सा र मकवानपुरका एक÷एक जनामा पनि कोरोना देखिएको छ। चितवनमा अब कोरोना संक्रमितको संख्या ३ सय नाघेको छ।

  • विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने

    विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने

    काठमाडौं । अब विदेशबाट नेपाल आउने नेपालीले कम्तिमा ७ दिन होटेल क्वारेन्टिनमा बस्नै पर्ने भएको छ । त्यो पनि आफ्नै खर्चमा । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने निर्णय गर्दै त्यसका लागि टिकटसँगै होटेल बुकिंग समेत अनिवार्य गर्ने निर्णय गरेको हो । स्थानीय तहमा क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेपछि अब सरकारले आफ्नै खर्चमा होटेलमा बस्ने गरी नेपालीलाई घर फर्काउन लागेको हो ।

    १८ सय रुपैयाँदेखि १० हजारप्रति दिन मूल्य भएका होटेलका कोठा क्वारेन्टिनका रुपमा उपलब्ध छन् । बिहीबार साँझ बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले हवाइ मार्गबाट स्वदेश आउने यात्रुका लागि मापदण्ड निर्धारण गर्दै यस्तो शर्त राखेको हो । अब हवाई मार्गबाट आउनेहरुले काठमाडौं ओर्लेपछि सात दिनसम्म होटल क्वारेन्टिनमा बस्नैपर्ने भएको छ । कुन होटलमा बस्ने भन्ने बुकिङ गरेर मात्र आउनुपर्नेछ । यसका लागि सरकारले होटलहरुको सूची प्रकाशित गरिनेछ । र, होटलमा बस्दाको खर्च व्यक्ति स्वयंले व्यहोर्नुपर्ने छ ।

    विदेशबाट आउनेहरुको सूची त्यस देशमा रहेको दूताबासले तोकेबमोजिम हुनेछ । एकदिनमा बढीमा तीनवटा उडान मात्र हुनेछन् । क्वारेन्टिनबाट घर जाने क्रममा भने सबैको पिसिआर परीक्षण हुनेछ । त्यसक्रममा नेगेटिभ देखिएका व्यक्ति मात्र घर जान पाउनेछन् । यसअघि सोमबार कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी) ले चार्टर तथा उद्धार उडान रोकेको थियो ।

    जसले गर्दा नेपाल आउन पालो कुरिरहेका हजारौं नागरिक विदेशमै अलपत्र परेका छन् । सरकारले स्थलमार्गबाट छिरेका नागरिकले समेत अनिवार्य होटेल क्वारेन्टिनमा आफ्नै खर्चमा बस्नुपर्ने निर्णय गरेको छ । सरकारले तोकेका १० वटा स्थल नाकाहरुबाट स्वदेश आउने नागरिकलाई पनि सोही नाकामा रहेका होटलमा अनिवार्यरुपमा सात दिनसम्म बस्नुपर्ने मापदण्ड तोकिएको हो ।

  • आज हरितालिका तीज, शिवालयमा दर्शन गर्न भने नपाइने

    आज हरितालिका तीज, शिवालयमा दर्शन गर्न भने नपाइने

    काठमाडौं । आज नेपालसहित विश्वभर हरितालिका तीज मनाइदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाउने गरिन्छ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । तर, आज शिवालयमा भेला भई दर्शन गर्न र नाचगान गर्न भने पाइदैन ।

    कोरोना भाइरसको संक्रमणका कारण आज पशुपतिनाथसहित देशभरका शिवालय बन्द रहनेछन् । सरकारले घरमै बसि चाड मनाउन सर्वसाधारणलाई आह्वान गरेको छ । शिव–पार्वतीको पूजा गरेपछि नाचगान गर्ने चलन रहेको छ ।

    सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले महादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ । सोहीकारण आज अविवाहितले महादेव जस्तै पति पाउन र विवाहितले पतिको लामो आयुको कामना गर्दै व्रत बस्ने गरेको पाइन्छ ।

    व्रत बस्नेले अघिल्लो दिन मीठा मीठा परिकार दरका रुपमा खाई आजको व्रतका लागि पूर्व तयारी गर्छन् । विशेषगरी माइती एवं दाजुभाइले छोरीचेली, दिदीबहिनीलाई बोलाई दर खुवाउने प्रचलन रहेको छ ।

  • आज १६ सय रुपैयाँले घट्यो सुनको भाउ

    आज १६ सय रुपैयाँले घट्यो सुनको भाउ

    काठमाडौं । बिहीबार एकै दिन सुनको मूूल्यमा १६ रुपैयाँको गिरावट आएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९८ हजार ८ सयमा कारोबार भएको छ । बुधबार सुन प्रतितोला एक लाख ४ सयमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम भयो ।

    यो अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ कम हो। अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस १ हजार ९ सय ४५ अमेरिकी डलरमा कारोबार भइरहेको छ। सुनको मूल्य कोरोना भाइरसको महामारीसँगै बढेको हो । तर, कारोबार भने शून्य प्राय रहेको छ ।

  • काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना थुनामा

    काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना थुनामा

    काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बिहीवार उक्त मुद्दाको सुनुवाइ गर्दै थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले अभियुक्त मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई थुनामा राख्न आदेश दिएको हो ।

    अदालतले एसिड आक्रमणमा परेकी पवित्रा कार्कीको उपचारका लागि राहत कोषमा तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन समेत आदेश गरेको छ । साउन ८ गते पवित्रामाथि सीतापाइलामा एसिड आक्रमण भएको हो । लगत्तै उनीहरु पक्राउ परेका थिए । उनीहरुले कसुर स्वीकार गरिसकेका छन् ।

  • काठमाडौं बाहिर नजान र भित्र नआउन मेयरको आह्वान

    काठमाडौं बाहिर नजान र भित्र नआउन मेयरको आह्वान

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा उपत्यका मेयर फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले काठमाडौं छाडेर बाहिरी जिल्ला नजान र बाहिरबाट समेत काठमाडौ नआउन सर्वसाधारणमा अपिल गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै मेयर शाक्यले निषेधाज्ञालाई इमानदारीसाथ पालना गरी घरबाहिर ननिस्कन समेत सर्वसाधारणलाई अपिल गरेका छन् ।

    सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत एक हप्ताका लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । यसको पूर्ण पालना गर्न उनले आग्रह गरेका छन् । अत्यावश्यक काम परेर घरबाहिर निस्कन परेमा भने स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर मात्र निस्कन उनले अपिल गरेका छन् ।

    कोभिड–१९ को सङ्क्रमण जीवित रहेको अवस्थामा कोही पनि व्यक्ति काठमाडौं बाहिर नजान र काठमाडौं भित्र नआउने समेत उनले आग्रह गरेका छन् । कोही व्यक्ति आइसकेको भए नजिकको वडा कार्यालय वा प्रहरी कार्यालयमा जानकारी गराउन उनले आग्रह गरेका छन् ।

    आफ्नो छिमेकमा कोही व्यक्ति काठमाडौं बाहिरबाट आएको थाहा पाए तत्काल वडा कार्यालय तथा प्रहरी कार्यालयमा सूचना दिन उनले आग्रह गरेका छन् ।

  • आजदेखि सुनसान काठमाडौं, निषेधाज्ञा तोड्नेलाई दुई घण्टा होल्ड

    आजदेखि सुनसान काठमाडौं, निषेधाज्ञा तोड्नेलाई दुई घण्टा होल्ड

    काठमाडौं । बिहीबारबाट काठमाडौंमा निषेधाज्ञा प्रारम्भ भएको छ । काठमाडौं उपत्यकाभर अतिआवश्यक काम नपरेसम्म घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा भएको हो । बिहीबार काठमाडौंमा करीव २ हजार मानिस निषेधाज्ञा तोडेको अभियोगमा कारवाहीमा परेका छन् । उनीहरुलाई २ देखि ४ घण्टासम्म खुला आकासमुनी उभ्याएर छाडिएको छ ।

    प्रहरीले अति आवश्यक काम बीना नै निस्किएकाहरुलाई यसरी होल्डमा राखेको हो । बिहीबार बिहान बैंकका कर्मचारीसमेत होल्डमा परेका थिए । प्रहरीले समन्वय गरी उनीहरुलाई भने छाडेको छ । आज प्रहरीले पसलहरु बन्द गराउन बिहानैबाट खटिएको थियो ।

    शुक्रबारबाट बैंकका कर्मचारीलाई भने परिचय पत्र देखाएर निर्वाध हिँडडुल गर्न दिइने भएको छ । सरकारले संक्रमण बढेको भन्दै काठमाडौं उपत्यकामा निषेधाज्ञा घोषणा गरेको हो । बिहीबार मात्र देशभर ७ सय ७ जनामा कोरोना देखिँदा २ सय जना काठमाडांैं उपत्यका भित्र मात्र देखिएका छन् ।

  • कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु

    कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसारबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु भएको जानाकारी दिए ।

    पर्सामा एक महिलासहित तीन जना, काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक–एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२६ पुगेको छ।

  • उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा दुईसय जना संक्रमित थपिएका छन् ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ सय ७४ जना, ललितपुरका १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ।

    हालसम्म काठमाडौंमा २ हजार १५२, ललितपुरको ३६८ र भक्तपुरमा १७९ संक्रमित पुगेका छन्।

  • नेपालमा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

    नेपालमा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षणमा ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५ पुगेको पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २६४ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ९ सय ६४ पुगेको छ।

    कुल संक्रमितमध्ये १२६ जनाको मृत्यु भएको छ।

  • निषेधाज्ञामा विदेश जानेलाई अवरोध नहुने

    निषेधाज्ञामा विदेश जानेलाई अवरोध नहुने

    काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएको छ । अत्यावश्यक काम नपरेसम्म आजबाट एक साता बाहिर जान पाइने छैन । यदी विदेश जाने टिकट छ भने समेत प्रहरीले बाटोमा रोक्ने छैन । टिकट, पासपोर्ट देखाएमा प्रहरीले सजिलै छाडिदिनेछ । अत्यावश्यक काम र हवाई उडानबाट विदेश जानेलाई विमानस्थलमा जान दिने निर्णय सरकारले गरेको हो ।

    आवश्यक परेमा प्रहरीले पासापोर्ट भिसा र टिकट जाँच भने गर्नेछन् । उडान हुनेहरु आफ्नो समयमा सिधै विमानस्थल जाने सवारी साधन प्रयोग गर्न सक्ने भएका छन् । आजबाट शुरु भएको निषेधाज्ञामा अतिआवश्यक काम बाहेक निस्केमा प्रहरीले कारवाही गर्नेछ । स्वास्थ्य संकट र महामारी नियन्त्रणका लागि सरकारले निषेधाज्ञा लगाएको हो ।

  • कुखुराको मासु र अण्डाबाट कोरोना सर्दैन

    कुखुराको मासु र अण्डाबाट कोरोना सर्दैन

    काठमाडौं । कुखुराको अण्डा र मासुबाट कोरोना भाइरस सर्ने हल्ला निराधार रहेको सरकारले स्पष्ट पारेको छ । पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको हो । कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने विभागको भनाई छ ।

    पछिल्लो केही दिन यता कुखुराको मासु र अण्डामा समेत कोरोना सर्ने भन्दै अपवाह फैलिएको छ । सरकारले यसको खण्डन गरेको हो । अफवाहको पछि नलाग्न विभागले अपिल समेत गरेको छ । केही सञ्चारमाध्यम र सामाजिक सञ्जालमा कुखुराको मासुमा कोरोना भन्ने नकारात्मक समाचार समाचारहरु प्रकाशित र प्रशारण भएको भन्दै विभागले पोल्ट्री व्यवसायमा असर गर्ने यस्ता भ्रामक समाचारको पछि नलाग्न आग्रह गरेको हो ।

    विभागका अनुसार हालसम्म विश्व स्वास्थ्य संगठन र विश्व पशु स्वास्थ्य संगठनको अनुसन्धानबाट कुनै जनावर र पंक्षीबाट कोरोना सर्ने वैज्ञानिक आधार भेटिएको छैन । कोरोना सामाजिक दूरी कायम गर्दा समेत सुरक्षित हुन सकिने संक्रमण हो ।

  • आज दर खाने दिन, घर बाहिर जान भने नपाइने

    आज दर खाने दिन, घर बाहिर जान भने नपाइने

    काठमाडौं । आज तीजको दर खाने दिन । तीजको अघिल्लो दिन माइती आएका दिदीबहिनीलाई दाजुभाईले मिठो मसिनो पकाएर खुवाउने प्रचलन रहेको छ । हरितालिका तीजको दिन व्रत बस्ने महिलाले आज भने राती १२ बजेसम्म नै मिठा परिकार खाएर बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा रहेको छ ।

    दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक हुन्छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ । कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा दर खाने समेत गरिएको पाइन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ ।

    यस पालीको तीज शुक्रबार परेको छ । यस वर्ष कोरोना भाइरस संक्रमणको जोखिमका कारण सामूहिक दर खाने र तीज मनाउन रोक लागेको छ । आफ्ना परिवारका सदस्यहरुसँग घरमै बसेर दर खान, तीज मनाउन र पूजापाठ गर्नु पर्ने भएको छ । घरबाहिर जान नपाएपछि यो पटक तीज धेरैका लागि खल्लो हुनेछ । किनकी देशका अधिकांश क्षेत्रमा निषेधाज्ञा जारी रहेको छ ।

  • रौतहटमा पूजारीको गोली हानेर हत्या

    रौतहटमा पूजारीको गोली हानेर हत्या

    रौतहट । रौतहटमा एक पूजारीको गोली प्रहार गरी हत्या भएको छ । जिल्लाको माधवनारायण नगरपालिकामा पुजारीको हत्या भएको हो । प्रहरीका अनुसार माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो ।

    बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेको प्रहरीले जानकारी दिएको छ । पुजारीको घटनास्थलमै मृत्यु भएको थियो । घटना कसले र कुन उद्देश्यले घटायो भन्न बारे अनुसन्धान भइरहेको छ । प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ भने गरिसकेको छैन ।

  • गैरआवासीय नेपालीले अब काठमाडौं बाहिरबाट पनि भिसा लिन\नविकरण गर्न सक्ने

    गैरआवासीय नेपालीले अब काठमाडौं बाहिरबाट पनि भिसा लिन\नविकरण गर्न सक्ने

    काठमाडौं । गैरआवासीय नेपाली भिसा अब काठमाडौंबाहेक मोसफलका अध्यागमन कार्यालयबाट समेत जारी तथा नविकरण हुने भएको छ । अध्यागमन विभागका अनुसार अब काकडभिट्टा र पोखरास्थित अध्यागमन कार्यालयले समेत गैरआवासीय भिषा प्रदान र नविकरण गर्नेछन् । यससँगै अब भिसा नवीकरण तथा नयाँ जारी गर्न काठमाडौं आइरहनुपर्ने बाध्यता हटेको हो । विभागका अनुसार साविकमा विभागबाट मात्र यस्तो भिसा जारी र नवीकरण हुँदै आएको थियो ।

    अब गैर आवासीय नेपाली भिसा तथा गैरपर्यटक नाता भिसा मोफसलबाट पनि उपलब्ध हुने भएको हो । विभागले लकडाउनपछि नेपालमै अड्किएका पर्यटकको भिसामा समेत सहजीकरण गरिदिएको जानकारी गराएको छ ।

    विभागका अनुसार २०२० मार्च २१ सम्म भिसा नियमित भएका विदेशी अन्तर्राष्ट्रिय उडान सूचारु भएको मितिले १५ दिन भित्र नेपालबाट प्रस्थान गर्ने भएमा अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालय र सीमानास्थित अध्यागमन कार्यालयबाटै निःशुल्क भिसा नियमित गरी आफ्नो मुलुक जान सक्ने भएका छन् ।

    तर, यसरी १५ दिन भित्र समेत आफ्नो मुलुक र्फकन नसक्ने पर्यटक तथा गैरआवासीय नेपालीको हकमा साउन ३० सम्मको अवधिको निःशुल्क र त्यसपछिको अवधिको बढीमा मंसिर मसान्त (डिसेम्बर १५ २०२०) सम्म नियमअनुसार भिसा शुल्क लिएर पर्यटक भिसा नियमित गर्न सक्ने निर्णय सरकारले गरेको छ ।

    यसअघि विभागले चैत ८ २०७६ सम्म जुनसुकै भिसा नियमित भएकाको भिसा ३० साउन २०७७ सम्म नियमित गरेमा विलम्ब शूल्क र जरिवाना नलाग्ने निर्णय विभागले गरेको थियो । साथै सरकारले अब पर्यटन भिसामा आएका विदेशी नागरिकले भिसा परिवर्तन गर्न चाहेमा समेत अध्यागमनको सेवा खुलेको १५ दिन भित्र निःशुल्क गर्न सक्ने जनाएको छ ।

    ८ चैतसम्म पर्यटक भिसा नियमित भएका १५० दिनसम्म निशुल्क पर्यटक भिसा प्राप्त गर्ने विदेशी पर्यटकको हकमा उनीहरुको नेपाल बसाई अवधि १ सय ५० दिन नाघेको भए पनि ३० साउनसम्मको अवधिको निःशुल्क नविकरण गरिने विभागले उल्लेख गरेको छ ।

  • राती १२ बजेदेखि काठमाडौंमा निषेधाज्ञा, अटेर गरे सिधै कारवाही

    राती १२ बजेदेखि काठमाडौंमा निषेधाज्ञा, अटेर गरे सिधै कारवाही

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा संक्रमण बढेको निष्कर्ष निकाल्दै आजराति १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा घोषणा गरेको छ । अब अतिआवश्यक काम नपरेसम्म घर बाहिर निस्कन पाइने छैन । निषेधाज्ञा एक सातासम्म कायम रहनेछ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा छुट पाउने वस्तु तथा सेवाको सूची सार्वजनिक गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार निषेधाज्ञाको समयमा खाद्यान्न, दाल, चामल, नुन, तेलको पैठारी, ढुवानी, भण्डारण तथा वितरणसम्बन्धी सेवा सञ्चालन हुनेछ । बीउबिजन, मासुजन्य पदार्थ, दाना र भेटरीनरी, बैंक, बिमा, औषधिजन्य सामग्री, स्वास्थ्यसँग सम्बन्धित अन्य सामग्री, खानेपानी, ग्यास, पेट्रोलियम पदार्थ, फोहोर मैला व्यवस्थापन आदि सेवा पनि सञ्चालन हुनेछ ।

    एम्बुलेन्स\शव वाहन\दमकल, कूटनीतिक नियोग, डाक तार वा टेलिफोन सेवा, प्रिन्ट वा सरकारी छापाखानासम्बन्धी कार्य, सञ्चार सेवा, विद्युत सेवा, मृत्यु संस्कार सम्पन्न गराउने व्यक्ति चढेको सवारी साधन निषेधाज्ञामा सञ्चालन हुन पाउँछन् । विवाहमा ७ जना मात्र जन्ती जान पाउने प्रावधान राखिएको छ ।

    यसबाहेक कोभिड १९ को क्वारेन्टिन, आइसोलेसनको व्यवस्थापनसम्बन्धी काममा रहेकाहरुको सवारी साधनलाई फोटोसहितको परिचय पत्र र कार्य प्रयोजन खुल्ने सामग्री देखाएमा छुट दिइने भएको छ । अटेर गर्नेलाई भने प्रहरीले कारवाही गर्ने भएको छ ।

  • प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष विवाद:  श्रेष्ठलाई नै निरन्तरता दिन सर्वोच्चको आदेश

    प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष विवाद: श्रेष्ठलाई नै निरन्तरता दिन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाई नै काम गर्न दिन अन्तरिम आदेश दिएको छ ।

    बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।

    सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट हटाएर गत सोमबार पोखराकी दुर्गा भण्डारी पौडेललाई कार्यवाहक अध्यक्ष नियुक्त गरेको थियो।

    काउन्सिलको ऐनविपरीत सरकारले नियमावलीमा एक बुँदा थपेर भण्डारीलाई कार्यवाहक अध्यक्ष बनाएको थियो।

    सरकारले प्रेस काउन्सिल ऐन, २०४८ गत साउन २६ गते प्रेस काउन्सिल कार्य व्यवस्था नियमावलीमा संशोधन गर्दै कार्यवाहक अध्यक्ष तोक्ने अधिकार सरकारमा ल्याएको थियो ।

    सरकारको निर्णयविरुद्ध प्रेस काउन्सिल वोर्डले आइतबार नै सर्वोच्च अदालतमा रिट हालेको थियो । ‘विवादित नियम ३ क को प्रावधान तत्काल कार्यान्वयनमा ल्याइएमा निवेदन प्रेस काउन्सिलको स्वायत्ततामा अनुचित असर पर्न सक्ने अवस्था देखिएको हुँदा सुविधा सन्तुलनका दृष्टिले हेर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखियो,’ सर्वोच्चले दिएको अन्तरिम आदेशमा भनिएको छ, ‘तसर्थ उक्त संशोधित (थप गरिएको) नियम ३ क हाललाई कार्यान्वयन नगरी यथास्थितिमा राखी प्रेस काउन्सिलका भइरहेका कार्यवाहक अध्यक्षलाई हटाउने कार्य नगर्नु नगराउनु, निजलाई साविक बमोजिम काम गर्न दिनबाट नरोक्नु भनी सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४९ बमोजिम यो अन्तरिम आदेश जारी गरिएको छ। प्रस्तुत आदेशको जानकारी विपक्षीलाई दिनू।’

  • नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक/एक छन् ।

    त्यसैगरी मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।

  • नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय २० जना डिस्चार्ज

    नेपालमा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि, १ सय २० जना डिस्चार्ज

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ५ सय २२ जनाको पीसीआर परीक्षणमा ६ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार ९३८ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा १ सय २० जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ।

    कुल संक्रमितमध्ये १२०जनाको मृत्यु भएको छ।

  • उपत्यकामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

    उपत्यकामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौंमा २०१०, ललितपुरमा ३४९ र भक्तपुरमा १७२ संक्रमित पुष्टि भएका छन् । यो सँगै काठमाडौं उपत्यकाको कुल संक्रमितको संख्या २४९९ पुगेको छ।

    आज देशभर ६ सय ८१ संक्रमित थपिएका छन् । योसँगै नेपालमा कूल संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको छ ।

  • अछाममा भीषण बाढी, ४ को शव फेला, १९ वेपत्ता

    अछाममा भीषण बाढी, ४ को शव फेला, १९ वेपत्ता

    साँफेबगर । अछामको रामारोशन–३ मा बाढीको बितण्डामा ठूलो संख्यामा मानवीय क्षति भएको छ । स्थानीय प्रहरीका अनुसार रामारोशन सान्तडास्थित सैनीबजारको बस्ती नै कैलास खोलाले बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १७ जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ ।

    मध्यरातमा स्थानीय कैलाश खोलामा भीषण बाढी आएको थियो । यसल सैनी बजारका १६ घर बगाएको हो । घटनास्थलतर्फ प्रहरी गएको तर पुगिनसकेको बताइएको छ । नदीले बगाएका चार शव प्राप्त भएको र ठूलो जनधनको क्षति भएको स्थानीय तहका पदाधिकारीले जनाएका छन् । अहिले उद्धारको काम जारी रहेको छ ।

  • कोरोनाबाट ललितपुर र धरानमा थप एक\एक जनाको मृत्यु

    कोरोनाबाट ललितपुर र धरानमा थप एक\एक जनाको मृत्यु

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको निधन भएको छ । अब देशभर ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ । ललितपुरको पाटनमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको हो । पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको बुधबार विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले उल्लेख गरेको छ । उनी भक्तपुर सुर्यविनायक निवासी हुन् ।

    उता धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ६७ वर्षीय महिलाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । मोरङको बूढीगंगा २ की उनको उपचारका क्रममा ज्यान गएको प्रतिष्ठानले उल्लेख गरेको छ । मंगलबार बिहान २ बजे अस्पताल भर्ना भएकी उनको साँझ मृत्यु भएको हो । उनी मुटुको समस्याको उपचार गराइरहेकी थिइन् ।

  • मालिमा सैन्य कु, राष्ट्रपतिबाट राजिनामा

    मालिमा सैन्य कु, राष्ट्रपतिबाट राजिनामा

    काठमाडौं । पश्चिम अफ्रिकी देश मालिमा सैन्य कु भएको छ । सैनिकले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई कब्जमा लिएका छन् । राष्ट्रपति इब्राहिम बुबाकार केयटाले सैन्य हिरासतबाटै राजीनामाको घोषणा गरेको सैनिक समर्थक स्रोतले जानकारी गराएको छ ।

    बीबीसीका अनुसार सैन्य कब्जामै रहेको अवस्थामा उनले टेलिभिजन सम्बोधन गरेका छन् । जहाँ उनले सरकार र संसद्‍ समेत भङ्ग भएको बताएका छन् । उनले भनेका छन्, म आफूलाई शक्तिमा राखिरहन रगत नबगोस् भन्ने चाहन्छु।

    सैनिकले राष्ट्रपति, प्रधानमन्त्रीसहित उच्च सरकारी अधिकारीलाई कब्जा गरेर सेनाको अखडाा राखेका छन् । मालिमा भएको सैन्य कुको भने विश्वव्यापी आलोचना शुरु भएको छ ।

    उनीहरूलाई मालीको राजधानी बमाकोबाट करिब १५ किलोमिटर टाढा रहेको कटीस्थित एउटा मुख्य सैन्य शिविरमा राखिएको बीबीसीले उल्लेख गरेको छ । सेनाले राष्ट्रपतिका छोरा, माथिल्लो सदनका सभामुख, विदेशमन्त्री र अर्थमन्त्रीलाई समेत कब्जामा लिएको थियो ।

    सैनिक समर्थकले सडकमा खुसीयाली समेत बनाएका छन् । यस घटनामा कटी सैनिक छाउनीका उपप्रमुख कर्णेल मलिक डिव र अर्का कमान्डर जनरल सादिओ कमाराको हात रहेको दावि गरिएको छ । एजेन्सी

  • चितवनमा थप ३० जनामा कोरोना पुष्टी

    चितवनमा थप ३० जनामा कोरोना पुष्टी

    भरतपुर । बुधबार चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनका २० र अन्य विभिन्न जिल्लाबाट उपचार गर्न यहाँ आइपुगेका १० जनाा कोरोना पुष्टी भएको हो । भरतपुर अस्पतालस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका २ जना र रत्ननगरका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    उता, नवलपुरका ५, महोत्तरी, बाँके, तनहुँ, मकवानपुर र बाराबाट उपचारका लागि आएका एक–एक जनामा कोरोना देखिएको छ । काठमाडौं र पर्सा र बारापछि चितवन कोरोना भाइरसको महामारीको चपेटामा पर्न थालेको छ । भरतपुर अस्पताल, मौलाकालिका अस्पताल र नारायणी सामुदायिक अस्पतालबाट लिइएको स्वाबमा कोरोना देखिएको छ ।

  • आज बुबाको मुख हेर्ने दिन

    आज बुबाको मुख हेर्ने दिन

    काठमाडौं । भाद्र कुशे औंसी, आज बुबाको मुख हेर्ने दिनका रुपमा जन्म दिने बुबालाई सम्मान प्रकट गर्दै मनाइदैछ । यो दिन बुवालाई मिठो परिकार खुवाउने, उपहार प्रदान गर्ने र बुबाबाट आशिर्वाद लिने गरिन्छ । यो पटक कोरोना भाइरसको संक्रमणका कारण धेरैले बुवालाई भौतिक रुपमा भेटन सक्ने छैनन् । सोहीकारण टेलिफोन वा भिडियो कल गरेर आर्शिवाद लिनेछन् ।

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीहरूले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्ने धार्मिक विश्वास रहेको छ । बुवा नहुनेले विभिन्न पवित्र स्थानमा गई आफ्ना बुवाको नाममा तर्पण, पिण्डदान तथा श्राद्ध गरी सिदा दिने प्रचलन रहेको छ ।

    आजको दिन काठमाडौंको गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेहरूको भीड लाग्छ । तर, यो वर्ष भने मन्दिर प्रवेशमा रोक लगाइएको छ । यस वर्ष सकेसम्म घरमै बसेर चाडपर्व तथा उत्सव मनाउन सरकारले आह्वान गरेको छ ।

    त्यसमाथि बिहीबारबाट शुरु हुने लकडाउनका कारण मानिसहरुको आवागमन झनै कडा हुनेछ । भाद्र कृष्ण औैंसीका दिन वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृ कार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्राउने पनि प्रचलन रहेको छ । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ ।

    आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अरु दिन उखेलिएको कुश त्यसै दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको छ । सनातन धर्मावलम्बीले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीक मान्दछन् ।

  • राष्ट्रकवि घिमिरेको आज अन्त्येष्टी

    राष्ट्रकवि घिमिरेको आज अन्त्येष्टी

    काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानसहित आज अन्त्येष्टि हुने भएको छ । आज उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउने कार्यक्रम तय गरिएको छ । बिहान १० बजेबाट राष्ट्रकविलाई श्रद्धान्जली दिने कार्यक्रम प्रारम्भ हुनेछ ।

    राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा निधन भएको हो । उनको १०१ वर्षको उमेरमा निधन भएको हो । घिमिरे जन्म वि. सं. १९७६ असोज ७ मा लमजुङको पुस्तन गाउँमा भएको हो । उनलाई २०६० सालबाट राष्ट्रकविको उपाधी प्राप्त भएको थियो । नेपाली साहित्यका उच्च स्तरका व्यक्तित्वका रुपमा घिमिरेको योगदान अतुलनीय रहेको छ ।

  • काठमाडौं उपत्यकामा भोली रातीबाट निषेधाज्ञा, कुनकुन गतिविधिमा प्रतिवन्ध ?

    काठमाडौं उपत्यकामा भोली रातीबाट निषेधाज्ञा, कुनकुन गतिविधिमा प्रतिवन्ध ?

    काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको छ । एक सातासम्म लागु हुने गरी तीन वटै जिल्लामा निषेधाज्ञा लागू भएको हो । यस्तो प्रतिवन्ध बुधबार राती १२ बजेबाट लागु हुनेछ । यस्तो निर्णय १० भदौसम्म कायम रहनेछ । अहिले काठमाडौं सहित ठूला शहरमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ ।

    जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मंगलबार बसेको बैठकले एक साताका लागि निषेधाज्ञाको निर्णय गरेको हो । निषेधाज्ञाको समयमा अब अत्यावश्यक काम परेको समयमा बाहेक अन्य व्यक्ति सडकमा निस्कन पाउने छैनन् । उपत्यकामा सवारी साधन बन्द हुनेछन् । खाद्यान्‍न ढुवानी, स्वास्थ्य सेवा र सुरक्षाजस्ता अत्यावश्यक सेवा बाहेकका अन्य सवारी बन्द गरिएको छ । सर्वसाधारणलाई सडकमा निस्कन निषेध गरिएको छ ।

    यस्तो छ निर्णय

    १. औषधि, खाद्यवस्तु तथा अन्य अत्यावश्यक उपभोग्य वस्तु वा सेवा खरिदको काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन

    २. अत्यावश्यक सेवा तथा वस्तु बाहेकका अन्य सबै प्रकारका व्यापार व्यवसाय सञ्चालन गर्न

    ३. अत्यावश्यक सामग्री लगायतका मालबाहक ढुवानीका सवारी साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन बाहेक काठमाडौं उपत्यका भित्र सवारी साधन प्रवेश गर्न

    ४. जिल्ला भित्र सबै प्रकारका निजी तथा सार्वजनिक यात्रुबाहक सवारीसाधन सञ्चालन गर्न

    ५. कोभिड १९ को संक्रमणको जोखिम नियन्त्रण, सो को रोकथाम, उपचार तथा व्यवस्थापन सम्बन्धी कार्यमा खटिनु पर्ने र अत्यावश्यक सेवा भनी नतोकिएका तर नियमित सेवा प्रदान गर्नुपर्ने अन्य कार्यालयमा आउन जानुपर्ने राष्ट्रसेवक कर्मचारीको हकमा सम्बन्धित कार्यालय वा निकायले न्यूनतम कर्मचारी संख्या निर्धारण गरी कार्यालयले जारी गरेको फोटोसहितको परिचयपत्रको आधारमा बिहान ९ बजेदेखि साढे १० बजे र बेलुकी ३ बजे देखि साढे ५ बजेसम्म आवागमन गर्ने समय बाहेकको समयमा सवारी सञ्चालन गर्न

    ६. सवारी साधन सञ्चालनको लागि पूर्व अनुमति आवश्यक नपर्ने भनी तोकिएका अत्यावश्यकीय वस्तु वा सेवा अन्तरगत पर्ने औषधि, खाद्यवस्तु, इन्धन, खाना पकाउने ग्यास, तरकारी, फलफूल, दूध, विद्युत, दूरसञ्चार, सूचना तथा सञ्चार, भन्सार, क्वारेन्टाइन, आइसोलेसन, फोहोरमैला व्यवस्थापन, अस्पताल जाने आउने बिरामी, मृत्यु संस्कारका लागि अनिवार्य रूपमा सहभागी हुनुपर्ने कामका लागि प्रयोग गर्ने सवारी साधन जस्ता अति आवश्यक सेवा बाहेकका सवारी साधन सञ्चालन गर्न

    ७. कुनै पनि मेला, महोत्सव, जात्रा सञ्चालन गर्न, मानिसहरू भेला जम्मा हुन, भिडभाड गर्न, सभा जुलुस गर्न

    ८. परम्परागत रूपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पूजा बाहेकका सम्पूर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरू सञ्चालन तथा जमघट गर्न

    ९. शैक्षिक संस्थाहरू, प्रशिक्षण केन्द्रहरू, टियूशन सेन्टर, भाषा कक्षा लगाएतका जमघट हुने । गतिविधिहरु सञ्चालन गर्न

    १०. सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, व्यूटीपार्लर, स्पा, स्वीमिङ्गपुल, जिमखाना, समूहमा खेलिने खेलकुद, पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न

    ११. फुटपाथ वा खुल्ला ठाउँमा र ठेलागाडा वा साइकलमा सञ्चालन हुने विभिन्न व्यवसाय सञ्चालन तथा कवाडी संकलन गर्न
    १२. होटेल, रेष्टुराँ सञ्चालन गर्न। तर,

    १३. बैकिङ्ग सेवा लगायत विभिन्न निकायहरूले भर्चुअल वा विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने व्यवस्था मिलाई सो सम्भव नभएमा न्यूनतम कर्मचारी राखी स्वास्थ्य सुरक्षा मापदण्डको पूर्ण पालना गर्ने गराउने गरी आवश्यक सेवा प्रवाह गर्नुपर्ने छ।

    १४. अत्यावश्यक कार्यका लागि घर बाहिर निस्कँदा अनिवार्य रुपमा मास्कको प्रयोग तथा न्यूनतम भौतिक दूरी कायम गर्नु पर्नेछ।

    १५. हवाई उडानबाट विदेश जानेहरूको हकमा पासपोर्ट, भिषा, कन्फर्म हवाई टिकट हुनेहरू सिधै एयरपोर्ट जाने सवारी साधनको हकमा सहजीकरण गर्न सकिनेछ।

    १६. अत्यावश्यक उपभोग्यवस्तु वा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मुल्यवृद्धि गर्ने ​जम्माखोरी वा लुकाउने वा सहज आपूर्तिमा अवरोध गर्नेहरू उपर कानूनबमोजिम कारबाही हुनेछ

    १७. यस आदेशको उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने जोसुकै उपर प्रचलित कानूनबमोजिम कारबाही हुनेछ।

  • काठमाडौंमा निषेधाज्ञा घोषणाको तयारी

    काठमाडौंमा निषेधाज्ञा घोषणाको तयारी

    काठमाडौं । महामारीले उचाई लिएसँगै काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा घोषणा गरिने भएको छ । काठमाडौं उपत्यकाभर कम्तिमा एक साता निषेधाज्ञा घोषणा गर्ने तयारी छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाउने गरी स्थानीय प्रशासनले तयारी गरेको हो ।

    काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबारबाट लागु हुने गरी एक साताका लागि निषेधाज्ञा लगाउने तयारी गरेको हो । यद्दपी यसको घोषणा भइसकेको छैन ।

    निषेधाज्ञा जारी भएपछि अत्‍यावश्यक सेवाबाहेक सबै सेवा बन्द गरिनेछ । यस पटक आवागमन कडाई गरी सडकमा समेत मानिसहरुलाई आवतजावत गर्न नदिने तयारी गरिएको छ । काठमाडौं उपत्यकामा आज मात्र २ सय भन्दा बढी संक्रमित भेटिएका छन् । आज काठमाडौंसहित देशभर सर्वाधिक संख्यामा कोरोना संक्रमण पुष्टी भएको छ ।