Author: Vishwanews.com

  • अद्यावधिक नक्सा अंकित लोगो हस्तान्तरण, खर्च प्रतिलोगो साढे ५ हजार

    अद्यावधिक नक्सा अंकित लोगो हस्तान्तरण, खर्च प्रतिलोगो साढे ५ हजार

    काठमाडौं । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) आज संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ।

    सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन भएर नयाँ लोगो बनेको हो ।

    उक्त लोगो संघीय संसदका महासचिव डा भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दहाललाई लोगो हस्तान्तरण गरेका छन् ।

    कार्यव्यवस्था परामर्श समितिको सोही निर्णय अनुसार संघीय संसद सचिवालयले नयाँ लोगो तयार गरेको हो ।

    दुई लाल सुनको जलप लगाइएको नयाँ लोगोमा १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ। लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो। प्रति लोगो ५ हजार ५ सय २७ रुपैंया खर्च लागेको सचिवालयले जनाएको छ ।

  • कोरोनाबाट यो साता विदेशमा नेपालीको मृत्यु शून्य

    कोरोनाबाट यो साता विदेशमा नेपालीको मृत्यु शून्य

    काठमाडौं । विदेशमा रहेका नेपालीहरु क्रमशः कोरोना भाइरसको संक्तमणबाट उम्कदै गएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता कोरोना संक्रमणका कारण विदेशमा कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन् । अहिले विदेशमा नेपालीलाई कोरोना संक्रमणको दरसमेत न्युन बन्दै गएको छ ।

    एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब लगायतका देशमा कोरोना संक्रमण सामान्य वृद्धि भएको छ । अन्य देशमा भने कोरोना संक्रमणको दर न्यून बन्दै गएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार विश्वका ३८ देशमा नेपाली कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

    हालसम्म नेपालसहित विश्वभर २ सय ९३ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गइसकेको छ । कोरोना भाइरसका कारण बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्याण्ड, जापान, टर्की, नेदरल्याण्ड, स्वीडेन, भारत, दक्षिणअफ्रिका लगायतका देशमा रहेका नेपालीको ज्यान गएको एनआरएनएले जनाएको छ । हालसम्म नेपाल सहित ५९ हजार ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ । तिमध्ये ४८ हजार ५ सय ४ जना कोरोना संक्रमणबाट मुक्त भइसकेका छन् ।

    उता, सरकारले अब विदेशबाट दैनिक ५ सय जना नेपालीलाई मात्र उद्धार गर्ने गरी लिएको नीतिमा भने गैरआवासीय नेपाली संघले असन्तुष्टी जनाएको छ । उद्धारलाई तिबता दिनु पर्ने समयमा संख्या घटाउनु व्यवहारिक नभएको संघको भनाई छ । यो निर्णय पुनर्विचार गर्न एनआरएनएले नेपाल सरकारलाई आग्रह गरेको छ ।

    विदेशमा रहेका नेपालीको जतिसक्दो छिटो उद्धार गर्नुपर्नेमा सरकारको निर्णयले थप समस्या थप्ने भएकाले उद्धार अभियानलाई तीव्र गतिमा अघि बढाउन एनआरएनएले नेपाल सरकारलाई आग्रह गरेको हो । एनआरएनए अन्तर्गतको वैदेशिक रोजगार समितिका संयोजक तथा उपाध्यक्ष डा. बद्री केसीका अनुसार मध्यपूर्वमा हजारौंको संख्यामा रहेका अलपत्र नेपाली, भिसा अवधि सकिएका तथा कोरोना महामारीका कारण अन्य विभिन्न समस्यामा परेका नेपालीहरु यो निर्णयले थप निराश बनेका छन् ।

    सरकारले विदेशस्थित कूटनीतिक नियोगको सिफारिसमा ३ सय र वैदेशिक रोजगार कल्याणकारी कोषबाट खर्च व्यहोर्ने गरी २ सय जना गरेर जम्मा ५ सय जनालाई दैनिक उद्धार गर्ने नीति लिएको छ । अहिलेसम्म विदेशमा अलपत्रमध्ये ५१ हजार ४ सय ४१ जनालाई घर ल्याइएको छ ।

  • आइतबार बिहानै थप ८० जनामा कोरोना पुष्टी

    आइतबार बिहानै थप ८० जनामा कोरोना पुष्टी

    काठमाडौं । नेपालमा विभिन्न जिल्लामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । चितवन, पर्सा, बारा, कास्की र तनहुँमा थप ८० जना मानिसमा कोरोना देखिएको हो । बारा र पर्सामा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमध्ये १० महिला छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालाको नतिजामा उनीहरुमा पोजेटिभ आएको हो ।

    वीरगञ्जका २०, बाराका ३, नारायणी अस्पतालका कर्मचारी ४ र पर्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना भेटिएको हो । उता, चितवनमा डाक्टर र नर्ससहित २७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भेटिएको छ ।

    भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा भएको परीक्षणबाट चितवनका २७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यहाँ सर्लाहीका एक जना बिरामीमा पनि संक्रमण भेटिएको छ । उता, गण्डकी प्रदेशका दुई जिल्लामा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ ।

    स्वास्थ्य निर्देशनालय पोखराका अनुसार कास्कीका ५ जना र तनहुँका १ जनामा कोरोना देखिएको छ । नेपालमा २६ हजारभन्दा बढीमा कोरोना पुष्टी भइसकेको छ ।

  • लिदीमा ज्यान गुमाउने परिवारलाई एक लाख राहत घोषणा

    लिदीमा ज्यान गुमाउने परिवारलाई एक लाख राहत घोषणा

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरोमा परी ज्यान गुमाउने व्यक्तिका परिवारले राहतस्वरुप एक\एक लाख रुपैयाँ पाउने भएको छन् । विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको छ । उनीहरुले किरिया खर्चवापत तत्काल २५ हजार पाउने समेत निर्णय गरिएको छ ।

    आफ्ना दुवै अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन गर्ने निर्णय समेत स्थानीय तहले गरेको छ ।
    जुगल गाउँपालिका–२ लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा परी १७ जनाको मृत्यु भइसकेको छ । अन्यको खोजी कार्य जारी रहेको छ । अहिले विपदको सामना गरीरहेका लिदीबासीका लागि विभिन्न क्षेत्रबाट राहत प्राप्त हुने क्रम जारी रहेको छ ।

  • राज्यकै गल्तीले लिदीबासीको ज्यान गयो : कांग्रेस

    राज्यकै गल्तीले लिदीबासीको ज्यान गयो : कांग्रेस

    काठमाडौं । सिन्धुपाल्चोक, जुगल गाउँपालिकास्थित पलदी गाउँमा पहिराले ३८ जनालाई बगायो । शनिबारसम्म १७ जनाको शव भेटिएको छ । यो भयानक दूर्घटनाको संकेत भने लिदीबासीले यस अगाडी नै पाएका थिए । २०७२ सालको भूकम्पबाट थिल्थिलो बनेको जमिनको मुनी जलविद्यूत आयोजनाले सुरुंग बनाइरहेको थियो । जसले गर्दा जमिन थर्कने गथ्र्यो ।

    लिदीबासीले यो वस्ती पुनस्र्थापना गर्न पटक पटक राज्यसँग आग्रह गरेका थिए । पुनर्निर्माण प्राधिकरणले पनि वस्ती स्थानान्तरण गर्नुपर्ने वस्तीमा यसलाई राखेको थियो । तर, जोखिमलाई राज्यका निकायले आँखा चिम्लिए । फलस्वरुप एकै स्थानमा ठूलो मानवीय क्षति हुन पुग्यो । यसलाई प्रमुख प्रतिपक्षी कांगेसले सरकारको गल्तीका कारण नागरिकको ज्यान गएको प्रतिक्रिया दिएका छ ।

    पहिरोको जोखिममा रहेको भन्दै स्थानीयले हारगुहार गर्दागर्दै सुरक्षित स्थानमा नसार्नु सामान्य हेलचेक्र्याईं मात्रै नभई राज्यको अक्षम्य गल्ती भएको कांग्रेसले निष्कर्ष छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई प्रश्न गरेका छन्, ‘जनताले लिखित रूपमा गुहार गर्दा पनि सुरक्षित स्थानमा सारेर अमूल्य जीवन जोगाउन सरकार किन गम्भीर भएन ? लिदीबासीका लागि देशमा सरकार हुनुको अर्थ के रहृयो ?’

    जनताको जीवनप्रति राज्यको चरम बेवास्ताको यो भन्दा ठूलो उदाहरण अर्को नभएको कांग्रेसको भनाई छ । महामारी र प्रकोपसँग जुध्न सरकार असफल भइसकेको कांग्रेसको भनाई छ ।

  • दुई भारतीय भेट्रान क्रिकेटर धोनी र सुरेश रैनाले लिए सन्यास

    दुई भारतीय भेट्रान क्रिकेटर धोनी र सुरेश रैनाले लिए सन्यास

    काठमाडौं । दुई भारतीय भेट्रान क्रिकेटर महेन्द्रसिंह धोनी र सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । यी दुब खेलाडी विश्वकप बिजेता खेलाडी हुन् । भारतले सन् २०११ मा विश्वकप क्रिकेट दोस्रो पटक उचाल्दा धोनी कप्तान थिए । रैना उक्त टोलीका महत्वपूर्ण सदस्य थिए । धोनीले इन्स्टामा एक भावुक भिडियो पोष्ट गर्दै सन्यासको घोषणा गरेका छन् ।

    रैनाले समेत सन्यासको घोषणा गरेका हुन् । धोनीले सन् २००४ मा अन्तर्राष्ट्रिय क्रिकेट करीयर शुरु गरेका थिए । उनी विश्व क्रिकेटमै सफल कप्तानमध्ये एक मानिन्छन् । धोनीले टेस्ट क्रिकेटको यस अगाडी नै बिदा गरिसकेका थिए । उनले शनिबार भने वाडने र टी २० फम्र्याटबाट पनि सन्यास लिएका हुन् । उनले फ्यानलाई धन्यावाद समेत ज्ञापन गरेका छन् ।

  • सिन्धुपाल्चोक पहिरो : १६ को शव फेला

    सिन्धुपाल्चोक पहिरो : १६ को शव फेला

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको भीषण पहिरोमा परेर हराएका मध्ये १६ जनाको शव भेटिएको छ । शनिबार ५ जनाको शव भेटिएको छ । शुक्रबार ११ जनाको शव भेटिएको थियो । प्रहरीका अनुसार शव भेटिएका सबैको पहिचान भइसकेको छ ।

    शनिबार जुगल गाउँपालिका २ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यांमा दोङ, ७ वर्षकी विमला दोङ र ७ महिनाका कविर दोङको शव भेटिएको छ ।

    शुक्रबार ३६ वर्षकी टिकामायाँ दोङ, १४ वर्षका छिरिङ दोङ, ८० वर्षका जिते झाँक्री, ८ वर्षका मिलन दोङ, ५ वर्षका सानु दोङ, ७० वर्षका जयबहादुर दोङ, ३० वर्षकी दावा लामु दोङ, ५ वर्षकी प्रिती दोङ र ५ महिनाकी तारा लामु दोङको शव भेटिएको प्रहरीको सूचीमा उल्लेख छ ।

    पहिरोमा पुरिएका मध्ये शनिबार एक जनाको भने जीवितै उद्धार गर्न सफल भएका छन् । स्थानीय दावा ग्याल्बो दोङको सदरमुकाम चौतारामा उपचार भैरहेको छ ।

  • काठमाडौं उपत्यकामा ९८ नयाँ संक्रमित भेटिए

    काठमाडौं उपत्यकामा ९८ नयाँ संक्रमित भेटिए

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९८ जना नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कुल ४६८ जनामा कोरोना देखिएकोमा ९८ जना काठमाडौं भित्र मात्र पुष्टी भएको हो ।

    यसले काठमाडौंमा रहेको जोखिम अझै बढाएको छ । देशभर ५ सय भन्दा बढी संक्रिय बिरामी हुने जिल्ला ५ वटा मात्र छन् । त्यसमा काठमाडौं पनि एक हो । कुनै एक जिल्लामा सर्वाधिक संख्यामा रहेको कोरोना भाइरसको बिरामी पनि काठमाडौं नै बनेको छ । काठमाडौं उपत्यकामा मात्र १७ सय भन्दा बढी संक्रिय बिरामी रहेका छन् ।

  • कोरोनाले लियो थप तीन जनाको ज्यान

    कोरोनाले लियो थप तीन जनाको ज्यान

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । अब नेपालमा कुल मृत्यु १ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीन जना मानिसको ज्यान गएको हो ।

    मन्त्रालयका अनुसार यस अवधिमा कपिलवस्तु, पर्सा र धनुषामा तीन पुरुषको ज्यान गएको हो । कपिलवस्तुमा ४०, पर्सामा ६० र धनुषामा ५० वर्षिय पुरुषको ज्यान गएको हो । २६ हजारभन्दा बढीको संक्रमण देखिएको नेपालमा अहिले दैनिक १० हजारभन्दा बढी मानिसको कोरोना परीक्षण भइरहेको छ ।

  • नेपालमा २६ हजार भन्दा बढीमा कोरोना संक्रमण

    नेपालमा २६ हजार भन्दा बढीमा कोरोना संक्रमण

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६८ जना थप बिरामी भेटिएसँगै २६ हजारको आंकडा पार भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उक्त संख्यामा नयाँ बिरामी थप भएका हुन् । यो अवधिमा कुल ११ हजार ४ सय ४७ जनामा कोरोनाको परीक्षण गरिएको थियो ।

    अब मुलुकभर कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । २४ घण्टामा १२४ जना भने डिस्चार्ज भए । डिस्चार्ज हुने कुल संख्या भने १७ हजार २ सय १ जना पुगेको छ । सोहीकारण अब देशभर सक्रिय संक्रमितको संख्या ८ हजार १ सय ९३ पुगेको छ ।

  • प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

    प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

    काठमाडौं । नेपाल र भारत बीचमा बढ्दो राजनीतिक विवादका बीच दुई मुलुकका प्रधानमन्त्रीबीच आज फोनवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीलाई बधाई ज्ञापन गरेका छन् । यसबाहेक दुई प्रधानमन्त्री बीच संयुक्त राष्ट्र सुरक्षा परिषदको अस्थायी सदस्यका रुपमा भारतलाई बधाई समेत ज्ञापन गरेका थिए ।

    दुई मुलुकका प्रधानमन्त्री बीच कोरोना वाइरसको महामारीबाट माथि उठ्न संयुक्त प्रयासको आवश्यकता रहेकोमा जोड दिइएको थियो । भारतीय प्रधानमन्त्री मोदीले भारत सधै नेपालसँग राम्रो सम्बन्धको पक्षमा रहेको बताएका छन् । पछिल्लो समय नेपाल र भारतबीच चुलिएको विवादका बीच भएको यो फोन वार्ताले धेरै हदसम्म सम्बन्ध सुधारमा भूमिका खेल्ने विश्वास दुबै मुलुकले लिएका छन् ।

    नेपालले लिपुलेख र लिम्पुयाधुरासहितको नक्सा समावेश गरी राजनीतिक नक्सा जारी गरेपछि दुई मुलुकबीच सम्बन्ध राम्रो बनेको छैन । यसैबीच नेपालका लागि भारतीय राजदूत विजय मोहन क्वात्रा र परराष्ट्र मन्त्रालयका सचिव शंकर दास बैरागीबीच १७ अगष्टमा औपचारिक भेटवार्ता हुँदैछ । यो नक्सा जारी भएपछिको नेपाल र भारतीय अधिकारीबीचको पहिलो औपचारिक भेटवार्ता हुनेछ ।

  • बाग्लुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

    बाग्लुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

    बाग्लुङ । बाग्लुङमा दुई छुट्टाछुट्टै स्थानमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राती पहिरोले निसीखोला गाउँपालिकामा दुई बालक र एक वृद्धाको मृत्यु भएको हो । गाउँपालिकाको वडा नम्बर ५ मा हिराबहादुर विकको घर शुक्रबार राति भत्किदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा हिराबहादुरका नाती १४ वर्षीय वीरेन्द्र र मामाघर आएका नाति ६ वर्षीय प्रवेश विकको मृत्यु भएको छ ।

    हिराबहादुरकी ५२ वर्षीया श्रीमती दिलसरा घाइते छन् । घटनास्थलमा प्रहरी रु स्थानीयले उद्धार गरेका थिए । उता, शनिबार बिहान निसीखोला–३ धारखर्कमा पहिरोले एक घर पुरिँदा ७२ वर्षीया ओली कामीको ज्यान गएको छ । यस घटनाको थप विवरण आउन बाँकि रहेको स्थानीय प्रहरीले जनाएको छ ।

  • छुरा प्रहारबाट राजधानीमै एक जनाको हत्या

    छुरा प्रहारबाट राजधानीमै एक जनाको हत्या

    काठमाडौं । काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई नियन्त्रणमा लिएको छ ।

    शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई पक्षबीच विवाद हुँदा तामाङलाई छुरा प्रहार भएको थियो। गम्भीर घाइते भएका उनको ग्रीनसिटी अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । तामाङ गोंगबु सुकुम्वासी टोलमा बस्दै आएको प्रहरीले जनाएको छ । मूख्य अभियुक्त शेर्पालाई शुक्रबार साँझ नै पक्राउ गरेको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाई छ ।

  • बारा र पर्सामा थप २३ जनामा कोरोना, १ जनाको मृत्यु

    बारा र पर्सामा थप २३ जनामा कोरोना, १ जनाको मृत्यु

    वीरगन्ज । पर्सा र बारामा शनिबार थप २३ जनामा कोरोना संक्रमण भएको छ । ७ महिलासहित २३ जनामा कोरोना पुष्टी भएको हो । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित हुनेमा डाक्टरसमेत छन् ।
    नारायणी बयोधा अस्पतालमा क्यान्टिन चलाउने व्यक्तिमा समेत कोरोना पुष्टी भएको छ ।

    वीरगञ्जको हिमाल भान्छाघरमा क्वारेन्टिनमा बसेका व्यक्तिमा समेत कोरोना देखिएको छ । उच्च सरकारी वकिल कार्यालयका कर्मचारी, स्वाबलम्बन लघुवित्त संघका सब म्यानेजर, नेपाल इन्भेष्टमेन्ट बैंक जीतपुर शाखाका कर्मचारीमा समेत शनिबार कोरोना देखिएको हो ।

    उता, पर्सामै कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिकाको मुर्ली बस्ने ६० वर्षीय पुरुषको मृत्यु भएको हो । उनको शुक्रबार साँझ ज्यान गएको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि उनी साउन २४मा गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । उनी उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसका बिरामी थिए ।

  • सिन्धुपाल्चोक लिदीमा जोखिमपूर्ण वस्ती स्थानान्तरण गरिने

    सिन्धुपाल्चोक लिदीमा जोखिमपूर्ण वस्ती स्थानान्तरण गरिने

    काठमाडौं । भूकम्पले थिल्थिलो भएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिका स्थित लिदी तल एक जलविद्युत आयोजनाले सुरुंग बनाइरहेको छ । यसले कुनै पनि बेला ठूलो जोखिम निम्तन सक्ने भन्दै स्थानीयले यस अगाडी नै सरकारको ध्यानाकर्षण गराएका थिए । तर, शुक्रबार गएको पहिरोमा ११ जनाको मत्यु भइसकेको छ । अझै २७ जना वेपत्ता छन् । ठूलो वर्षा भएपछि पहिरोको डर गाउँलेलाई थियो ।

    सोहीकारण उनीहरु रातभर बारीको पाटामा बसेका थिए । बिहानीपख अब पहिरो नआउने अनुमानसहित सुत्न गएका उनीहरुलाई सोही समय पहिरोले घरसँगै बगाएको हो । शुक्रबार सभामुख अग्नी प्रसाद सापकोटा र गृहमन्त्री रामबहादुर थापा घटनास्थलमा पुगेका थिए । स्थलगत अनुगमन पछि भने गृहमन्त्री रामबहादुर थापा बादलले जुगल गाउँपालिकास्थित लिदीको बस्ती स्थानान्तरण गरी उचित स्थानमा बासस्थानको व्यवस्था मिलाउने आश्वासन दिएका छन् ।

    पूर्वसावधानी अपनाइएका कारण क्षति कम भएको उल्लेख गर्दै सरकारले उद्धार र राहतलाई तिब्रता दिने बताए । उनले पुनःनिर्माणको काम पनि छिट्टै अगाडी बढ्ने बताएका छन् । घटनास्थलमा बेपत्ताको खोज तथा उद्धार पहिलो प्राथमिकतामा रहेको गृहमन्त्रीको भनाई छ । त्यसका लागि सुरक्षाकर्मी खटिएको जानकारी उनले गराए ।

    गृहमन्त्री थापासँगै ४० परिवारका लागि पुग्ने राहत सामग्री पनि शुक्रबार नै घटनास्थलमा पुर्याइएको छ । मन्त्रालयका अनुसार ४० थान चाइनिज पाल, ४० वटा त्रिपाल सेट, ४० सेट भाँडा वर्तन, ४० वटा ब्ल्याकेट, ४० म्याट्रेस, ४० बाल्टिन, ४० जग, ५० प्लाष्टिकको ग्यालिन ६० थान पञ्जा लगिएको त्यहाँ पुर्याइएको हो । मन्त्री थापाले तत्कालीन राहत सामग्रीका लागि सरकारको तर्फबाट दुई लाख रुपैयाँ पनि हस्तान्तरण गरेका छन् ।

  • लज्जास्पद पराजयसँगै बार्सिलोना चाम्पियन्स लीगबाट बाहिरियो

    लज्जास्पद पराजयसँगै बार्सिलोना चाम्पियन्स लीगबाट बाहिरियो

    काठमाडौं । जर्मन क्लव बायर्न म्युनिखबाट ८–२ गोल अन्तरको हार बेहोर्दै स्पेनिस क्लव बार्सिलोना च्याम्पियन्स लिग फुटबलको उपाधी होडबाट बाहिरिएको छ । सेमिफाइनल प्रवेशका लागि गतराती सम्पन्न खेलमा बार्सिलोनाले लज्जास्पद हार बेहोर्नु परेको हो । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरियो ।

    लिस्बोनमा भएको खेलमा बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमा अग्रता बनायो । त्यसपछि लगातार चार गोल गर्दै बायर्न पहिलो हाफमै हावी भएको थियो । दोस्रो हाफमा थप चार थप्यो । थोसम मुलरले चौथो मिनेटमा गोल गरेर बार्यनलाई अग्रता दिलाए । बार्सिलोनाका लागि पहिलो गोल भने बायर्नले आत्मघाती दिएको थियो ।

    बायर्नका लागि २१ औं मिनेटमा इभान पेरिसिकले र २७ औं मिनेटमा सर्गेइ ग्नाब्रीले गोल गरे । ३१ औं मिनेटमा मुलरले नै व्यक्तिगत दोस्रो गोल गरे । यसरी पहिलो हाफमा बायर्न ४–१ ले अगाडि रह्यो । खेलको ५७ मिनेटमा बार्सिलोनाका लागि सुअरेजले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरेका थिए ।

    तर, बायर्न रोकिएन ६३ औं मिनेटमा किमिचले र ८२ औं मिनेटमा लेवान्डोस्कीले गोल गरे । यस्तै काउटिन्होले ८५ र ८९ औं मिनेटमा गोल गर्दै बार्सिलोनाले च्याम्पियन्स लीग यात्राकै खराब नतिजाको सामना गर्यो ।

  • सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव फेला

    सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव फेला

    सिन्धुपाल्चोक । ३८ जना पुरिने गरी गएको भीषण पहिरोमा परी ज्यान गुमाएका ११ जनाको शव फेला परेको छ । शुक्रबार बिहान जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा ३८ जना मानिस पुरिएका थिए। त्यसमध्ये ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ ।

    पहिरोमा परेका पाँच जनाको भने उद्धार गरिएको थियो । घाइतेहरुको हेलिकप्टरमार्फत् उद्धार गरिएको थियो । उनीहरुको चौतारा र काठमाडौंमा उपचार भइरहेको छ । एक जनालाई काठमाडौं लगिएको हो । घाइते हुनेमा ९ वर्षीय रूप बहादुर दोङ, २३ वर्षीय पासाङ दोङ, ६० वर्षीया केवारिङ दोङ र ४३ वर्षीया जुनु दोङ छन्। उनीहरूलाई चौतारामा लगिएको छ।

    हेलिकप्टरबाट घाइते ४५ वर्षीया यामुलामु दोङलाई काठमाडौंको सिभिल अस्पतालमा लगिएको छ। शुक्रबार पहिरो पिडितलाई भेट्न सभामुख अग्नी सापकोटा र गृहमन्त्री राम बहादुर थापा हेलिकोप्टरमा पुगेका थिए ।

  • निजी अस्पतालका २० प्रतिशत बेड अब कोरोना उपचारमा

    निजी अस्पतालका २० प्रतिशत बेड अब कोरोना उपचारमा

    काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अब निजी अस्पताललाई समेत कोरोनाको उपचार तथा नियन्त्रणमा खटाउने निर्णय गरेको छ । अब निजी अस्पतालले कम्तिमा २० प्रतिशत बेड कोभिड व्यवस्थापनको लागि छुट्याउनु पर्ने भएको छ। शुक्रबार मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले विज्ञप्ति जारी गर्दै यसे निर्देशन दिएको हो ।

    कोरोना संक्रमित बढ्दै जाँदा सरकारी अस्पतालमा बेड अभाव भएको निष्कर्षमा सरकार पुगेको छ । खासगरी राजधानीमा यो समस्या चर्किएको छ । काठमाडौं उपत्यका लगायतका ठाउँहरूमा अस्पतालका बेड अभाव हुँदै गएको छ। यसअघि कुनै अस्पतालमा भर्ना भएका बिरामीमा कोरोना पोजिटिभ देखिएमा सरकारले तोकेका कोभिड अस्पतालमा रिफर गरिदै आएको छ ।

    अब भने कोभिड अस्पतालहरूमा मानिसको संख्या बढेको छ । यसले बेड अभाव भएको छ । काठमाडौंमा कोरोना पुष्टी भएकालाई समेत घरमै राख्दा अझ जोखिम बढेको छ । उपत्यकाभित्रका कुनै अस्पतालहरूमा पठाउनु पर्ने अवस्था भएमा अब हब अस्पतालको समन्वयमा मन्त्रालयबाट निर्देशन लिएरमात्रै पठाउनु पर्नेछ । तर, २० प्रतिशतसम्म बेड भने कोरोना बिरामीको उपचार गर्न छुट्याउनु पर्ने नियम सरकारले ल्याएको छ ।

  • अन्ततः कोरोनाबाट नेपालमा मानवीय क्षति तीन अंकमा पुग्यो

    अन्ततः कोरोनाबाट नेपालमा मानवीय क्षति तीन अंकमा पुग्यो

    काठमाडौं । नेपालमा कोरोना भाइरसबाट १ सय जना मानिसको ज्यान गएको छ । साउनयता बढेको मृत्युदरका कारण शुरुवाती चरणको तुलनामा छिट्टै मृत्युदरले तेस्रो अंक छोएको हो । नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा पुष्टी भएको थियो । उनी चीनबाट आएका पुरुष थिए । दोस्रो संक्रमित १० चैतमा भेटिएको हो । त्यसपछि नेपालमा लकडाउन शुरु भएको थियो ।

    कोरोना संक्रमणबाट नेपालमा पहिलो मृत्यु भने ३ जेठमा भएको हो । बाह्रबिसे, सिन्धुपाल्चोककी २९ वर्षीया सुत्केसीको उपचारका क्रममा धुलिखेल अस्पतालमा ज्यान गएको थियो । त्यसयताको तीन महिनामा मानवीय क्षति १ सय नाघेको हो । शुक्रबार धनुषाको जनकनन्दनी गाउँपालिका वडा नम्बर ४ का ५० बर्षीय पुरुषको ज्यान गएसँगै नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्याले तेस्रो अंक छोएको हो ।

    श्वास प्रश्वासमा समस्या भएपछि उनलाई बिहीबार प्रादेशिक अस्पताल, जनकपुरधाम ल्याइएको थियो । यहाँबाट काठमाडौं रिफर गरिएका उनको बाटोमै मृत्यु भएको हो । शुक्रबार नै कोशी अस्पताल, बिराटनगरमा उपचाररत मोरङ र सिराहाका एकएक जनाको मृत्यु भएको थियो ।

    नेपालमा कोरोनाबाट ज्यान गुमाउनेमा साउनयताको आंकडा डरलाग्दो छ । साउन ६ गतेसम्म मृतकको संख्या ३९ थियो । त्यसपछि भने निरन्तर ज्यान गुमाउनेको संख्या बढ्यो । साउन १४ गते पुग्दा मृतकको संख्या ४९ पुगेको थियो । त्यसपछि भने पछिल्लो १६ दिनमा दोब्बर मानिसको ज्यान गयो ।

  • काठमाडौंमा निषेधाज्ञा जारी, अब के के गर्न पाइन्न ?

    काठमाडौंमा निषेधाज्ञा जारी, अब के के गर्न पाइन्न ?

    काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । खासगरी बढी भीडभाड हुने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले यस्तो आदेश जारी गरिएको हो । स्थानीय प्रशासनले सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघट गर्न समेत रोक लगाएको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय गरेको हो ।

    अब खुला स्थानमा भेला हुने, भिडभाड गर्ने र सभाजुलुस गर्न पाइने छैन । यस्तो आदेश आजैबाट लागु भएको छ । भदौ १५ गते राति १२ बजेसम्म प्रतिबन्ध कायम रहनेछ । यस अवधिमा भिडभाड हुने गतिविधि जस्तै जात्रा, महोत्सव सञ्चालन गर्न रोक लगाइएको छ । दैनिक नित्यपूजाबाहेक सम्पूर्ण धार्मिक गतिविधि गर्न पाइने छैन ।

    चाडपर्व, धार्मिक– साँस्कृतिक काम गर्दा हुने आफन्तहरुको जमघटमा पनि प्रतिबन्ध लगाइएको छ । अब परिवारका सदस्यबाहेक आफन्तलाई बोलाएर धार्मिक साँस्कृतिक गतिविधि गर्न पाइने छैन । यसअवधिमा नेपालीहरुको महान पर्व तीज पर्छ । शैक्षिक संस्थाहरू सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।

    सबै प्रकारका सभा, गोष्ठी, तालिम, सेमिनार, सिनेमाहल, पार्टी प्यालेस, मनोरञ्जन स्थल, सैलुन, ब्युटी पार्लर, स्पा, स्विमिङ पुल, जिमखाना, खेलकुद र खेल प्रस्तुति तथा पुस्तकालय सञ्चालनमा पनि रोक लगाइएको छ ।

    कवाडी संकलन गर्ने, फुटपाथ, खुल्ला ठाउँ र ठेलागाडारसाइकल सञ्चालन हुने व्यवसायमा पनि रोक लगाइएको आदेशमा उल्लेख छ । उद्योग व्यवसाय सञ्चालनका लागि स्वास्थ्य मापदण्ड विपरीत श्रमिकको ओसारपसार गर्ने र टेक अवेबाहेक रेस्टुरेन्ट सञ्चालनमा पनि कडाइका साथ प्रतिबन्ध लगाइएको छ ।

  • नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, कुन प्रदेशमा कति ?

    नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, कुन प्रदेशमा कति ?

    काठमाडौं  । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा उपचारको क्रममा रहेको चार जना संक्रमितको मृत्यु भएको हो ।

    मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका-१५ का ३० वर्षीय पुरुष, सिराहको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुष, बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका–४ सिमरा टोलका ५० वर्षीय पुरुष र बाराकै प्रसौनी गाउँपालिका–२ प्रसौनी टोलका ६५ वर्षीय पुरुष रहेका छन् ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ। प्रदेश अनुसार कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रदेश २ मा मृत्यु भएको छ ।

    प्रदेश १ मा ९ जना पुरुष, प्रदेश २ मा ३१ पुरुष र महिला ११ गरी ४२ जना, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना, गण्डकी प्रदेश ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष र ३ महिला गरी १२ जना, कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्‍चिममा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको छ ।

  • काठमाडौं उत्यकामा थप १ सय १९ जनामा कोरोना संक्रमण

    काठमाडौं उत्यकामा थप १ सय १९ जनामा कोरोना संक्रमण

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उत्यकामा १ सय १९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ।

    काठमाडौंमा १३६१, ललितपुरमा २२१ र भक्तपुरमा ११५ संक्रमित पुष्टि भएका छन्।

  • नेपालमा थप ५ सय ९४ जनामा कोरोना, संक्रमितको संख्या २५ हजार नाघ्यो

    नेपालमा थप ५ सय ९४ जनामा कोरोना, संक्रमितको संख्या २५ हजार नाघ्यो

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ११ हजार ५ सय ७५नमुना परिक्षणमा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ ।

    पछिल्लो २४ घण्टामा २ सय ४०जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या १७ हजार ७७ पुगेको छ।

    कुल संक्रमितमध्ये ९९ जनाको मृत्यु भएको छ।

  • सिन्धुपाल्चोक लिदी पहिरो: एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता(सूचीसहित)

    सिन्धुपाल्चोक लिदी पहिरो: एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता(सूचीसहित)

    काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका मध्ये पाँच जनाको शव भेटिएको छ । मृतकहरुको पहिचान हुन सकेको छैन्।

    पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ।

    सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा आज बिहान भीषण पहिरो जाँदा ठूलो जनधनको क्षति पुगेको हो । लिदीको लामाचौरमा बस्तीभन्दा कम्तीमा चार सय मिटर माथिबाट आएको पहिराले ३७ घर पुरेको स्थानीयको भनाइ छ ।

    पहिरोमा घर पुरिएकाहरु माथि डाँडामा गएर बसेका छन् । भौगोलिक विकटता र भिरालो जमिन हुनाका साथै माथिबाट पहिरो आएको र तलबाट पनि जमिन भासिएकाले उद्धारमा कठिनाइ भैरहेको ।

    घटनास्थलमा प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटालगायत जिल्ला उच्च अधिकारीहरु पुगेका छन् ।
    घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीले उद्धार शुरु गरेका छन् । पहिराले पुरिएकाहरुको खोजी शुरु भएको छ ।

    घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरामा बेपत्ता हुने सबै दोङ समुदायका छन् ।

    बेपत्ता हुनेको सूची(गाउँपालिका अध्यक्षका अनुसार)

    १.छविलाल दोङ
    २.सोमरानी दोङ
    ३.धनलक्ष्मी
    ४.शिरमाया दोङ
    ५.विवरानी दोङ
    ६.साहिँली दोङ
    ७.बिबी लक्ष्मी
    ८.सानुकान्छा
    ९.साङलामो दोङ
    १०सोनाम दोङ
    ११.हिरा भक्ति
    १२.जीते झाँक्री
    १३.सानुकान्छी दोङ(गर्भवती)
    १४.दिन्दुस दोङ
    १५.सुरज दोङ
    १६.करेसमाई दोङ
    १७.च्यामा दोङ
    १८सानु दोङ
    १९.टीकामाई दोङ
    २०.छिरिङ दोङ
    २१.मानबहादुर दोङ
    २२.जयबहादुर दोङ
    २३.प्रिया दोङ
    २४.प्रीति दोङ
    २५.कान्छी दोङ
    २६.सानुकान्छी दोङ
    २७.वाङ्ची लामा दोङ
    २८.धनमाया तामाङ दोङ
    २९.रेनिस दोङ
    ३०.मेकमाई दोङ
    ३१.मिलन दोङ
    ३२.विमला दोङ
    ३३.माइला पराङ
    ३४.प्रकाश दोङ
    ३५.साइली दोङ
    ३६.आयुश दोङ
    ३७.सुवास तामाङ
    ३८.टीकामाई दोङ

  • कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ पुग्यो, शुक्रबार एक जना थप

    कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ पुग्यो, शुक्रबार एक जना थप

    विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ । शुक्रबार थप एक जनाको ज्यान गएको छ । गतराति कोशी अञ्चल अस्पताल विराटनगरमा सिरहाको विष्णुपुर गाउँपालिका १ गौरीपुरका ४० वर्षका पुरुषको ज्यान गएको बताइएको छ ।

    ज्वरो, टाइफाइड र श्वासप्रश्वासमा समस्या देखिएका उनी बुधबार विराटनगर पुगेका थिए । उनको आइसोलेशनमा उपचार भइरहेको थियो । उनमा मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनको शव व्यवस्थापको तयारी भइरहेको प्रहरीले जनाएको छ । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या तिब्र गतिमा उकालो लागेको छ ।

  • कालिकोटमा पहिराले घर पुरियो, ६ जनाको मृत्यु

    कालिकोटमा पहिराले घर पुरियो, ६ जनाको मृत्यु

    मान्मा । कालिकोटमा पहिरोले एक घर पुरिदा ६ जनाको ज्यान गएको छ । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु नामक स्थानमा पहिरोले ठूलो मानवीय क्षति निम्त्याएको हो । गतराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिएको प्रहरीको भनाई छ ।

    पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी पहिरोमा परेका छन् । अहिले उद्धारको काम भइरहेको प्रहरीले जनाएको छ । नेपालमा मनसुन अन्तिम चरणमा छ । तर, पछिल्लो २४ घण्टामा आएको वर्षाले पहिरो जाँदा मानवीय क्षति बढी देखिएको छ ।

  • सिन्धुपाल्चोकमा फेरी भीषण पहिरो, १३ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाकि

    सिन्धुपाल्चोकमा फेरी भीषण पहिरो, १३ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाकि

    सिन्धुपाल्चोक । सिन्धुपाल्चोक फेरी एक पटक पहिरोका कारण मानवीय क्षति बेहार्ने अवस्थामा आएको छ । जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । ती घरमा रहेका मध्ये पाँच वटा घरमा रहेका परिवारका सदस्य सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी शुरु भएको छ ।

    उद्दारको काम थालिएको छ । शुक्रबार बिहान करिब ६ बजेतिर आएको पहिरोले घरहरु पुरिएका हुन् । १३ घर पूर्णरुपमा क्षतिग्रस्त रहेको र मानवीय क्षतिको विवरण नआइसकेको प्रहरीको भनाई छ । यस स्थानमा अझै दई दर्जन घर पहिरोका जोखिममा छन् ।

    अहिले मानिस सुरक्षित स्थानमा बसेका छन् । यो वर्ष सिन्धुपाल्चो बाढी र पहिरोबाट सबैभन्दा बढी मानवीय क्षति हुने जिल्ला बनेको छ । १९ साउनमा सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको थियो ।२४ असारमा गएको बाढी पहिरोमा बेपत्ता भएका २२ जना अझै फेला परेका छैनन् ।

  • बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च कार्यालयले गर्नुपर्ने

    बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च कार्यालयले गर्नुपर्ने

    काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरुको उपचारमा लाग्ने खर्च कार्यालय स्वयमले बेहोर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका कर्मचारी एवं सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर न्यूनतम बैंकिङ्ग सेवा सुचारु गर्न निर्देशन दिएको छ ।
    नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका लागि एक परिपत्र जारी गरेको छ ।

    जसअनुसार काठमाडौँ उपत्यकामा र २०० भन्दा बढी सक्रिय संक्रमित भएका जिल्लामा ५० प्रतिशतभन्दा बढी कर्मचारी प्रयोग नगर्न निर्देशन दिइएको छ । सम्भव भएसम्म विद्युतीय माध्यमबाट सेवा दिन समेत केन्द्रिय बैंकले निर्देशन दिएको छ । अत्यावश्यक बाहेकका सबै प्रकारका बैठक, समीक्षा, सेमिनार, भेला जस्ता सामूहिक जमघट हुने कार्यहरु नगर्न समेत राष्ट्र बैंकले सचेत गराएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरुलाई कोभिड १९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि एक कोभिड १९ सुरक्षा व्यवस्थापन समूह गठन गर्न पनि निर्देशन दिइएको छ । आइसोलेसन तथा क्वारेन्टिनमा बसेका संक्रमित कर्मचारीको पीसीआर टेष्टको रिपोर्ट नेगेटिभ आएपछिमात्र कार्यालय आउने व्यवस्था गर्ने समेत राष्ट्र बैंकको निर्देशन छ ।

    इलाका बाहिर खटिएका कर्मचारी सस्थामा फर्कदा पीसीआर परीक्षण गराइ रिपोर्ट नेगेटिभ आएमा मात्र कार्यालयमा आउने व्यवस्था बैंक तथा वित्तीय संस्थाले गर्नुपर्नेछ ।

    संक्रमितको सम्पर्कमा आएका वा कन्ट्रयाक ट्रेसिङ्‍मा परेका कर्मचारीलाई आवश्यकताअनुसार घर वा होटल क्वारेन्टिनमा सुरक्षित राख्न आवश्यक व्यवस्था गर्ने र सोको सम्पूर्ण खर्च बैक तथा वित्तीय संस्थाले बेहोर्नु पर्नेछ । नेपाल राष्ट्र बैंकले कर्मचारीलाई सकभर घरबाटै काम गर्ने व्यवस्था मिलाउन समेत बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

  • वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना पुष्टी

    वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना पुष्टी

    वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टी भएको छ । वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनीहरुको बिहीबार ज्यान गएको थियो । दम, मधुमेह र उच्च रक्तचापबाट पिडित दुई जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टी भएको हो । बाराको प्रसौनी गाउँपालिका २ का ६५ वर्षीय र जितपुर सिमरा उपमहानगरपालिका ४ का ५० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको नारायणी अस्पतालले जानकारी दिएको छ ।

    प्रसौनीका ६५ वर्षीय पुरुष प्रसौनी गाविसका पूर्वअध्यक्ष एवं नेपाली कांग्रेसका स्थानीय नेता समेत भएको बताइएको छ । उनी दमको रोगबाट पिडित थिए । ज्वरो र श्वासप्रश्वासको समस्याका कारण बिहीबार नारायणी अस्पताल भर्ना भएका उनको ज्यान गएको हो । उता, जितपुर सिमरा उपमहानगरपालिकाका ५० वर्षीय पुरुष मधुमेह र उच्च रक्तचापको बिरामी भएको र श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबारदेखि गण्डक कोभिड अस्पतालमा उपचारार्थ भर्ना भएका थिए । उनमा समेत कोरोना पुष्टी भएको छ । यसअघि बिहीबार मात्र ४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको थियो ।

  • ९ दिनपछि नेकपा अध्यक्षद्धय प्रचण्ड र ओली पुनः संवादमा जुटे

    ९ दिनपछि नेकपा अध्यक्षद्धय प्रचण्ड र ओली पुनः संवादमा जुटे

    काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीचको संवाद बिहीबारबाट पुनः सूचारु भएको छ । पछिल्लो ९ दिनयता दुई नेताबीच भेट भएको थिएन् । तर, नेकपा भित्रको विवाद भने जहाँको त्यही छ । विहीबार भने यी दुई नेताबीच करिब चारघण्टा छलफल भएको छ । छलफल सकारात्मक रहेको नेताहरुको दावि छ ।

    प्रधानमन्त्री निवासमा दुई अध्यक्षबीच एक्ला एक्लै गहन छलफल भएको र छलफल निष्कर्ष उन्मुख रहेको नेताहरुले बताएका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा दुई अध्यक्षसँगै बिष्णु पौडेल, शंकर पोखरेल तथा जनार्दन शर्मा समेत सहभागी थिए । त्यहीबीचमा सामुहिक र एक्लाएक्लै समेत छलफल भएको थियो । पार्टी भित्र प्रधानमन्त्रीको राजिनामा माग आएपछि प्रधानमन्त्रीले पार्टीका बैठक बहिष्कार गर्दै आएका छन् ।

    असार १० बाट शुरु भएको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी ओलीको राजीनामा माग भएको थियो । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार एक निजी टेलिभिजनलाई दिएको अन्तरवार्तामा अबको ५ दिनमा नेकपा भित्रको विवाद टुंगिने दावि गरेका थिए । उक्त दावि गरेको भोलीपल्टै नेताहरुबीच छलफल शुरु भएको छ । यसलाई सकारात्मक रुपमा हेरिएको छ ।