Author: Vishwanews.com

  • चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षमा यसरी बने पिता

    चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षमा यसरी बने पिता

    न्युयोर्क । चर्चित संचारकर्मी एण्डरसन कुपर ५२ बर्षको उमेरमा पिता बनेका छन् । बिहीबार उनले आफू पिता बनेको र आफ्नो छोरा तीन दिनको भएको घोषणा सि एन एन र ईन्स्टाग्राम मार्फत गरेका हुन् । बिहिबार सिएनएन लाइभमा कुपरले आफू छोराको पिता बनेकोमा खुसी ब्यक्त गर्दै भनें; “मैले सोमबारका दिन एक पिता बन्ने सौभाग्य प्राप्त गरें” ।  यो भन्दा पहिले मैले यसरी आफू बाऊ बनेको घोषणा गर्ने मौका पाएको थिइन।  अहिले पनि मलाई छक्क लागि रहेको छ कि म बाऊ बनें र मेरो छोरो पनि छ” ।

    बिहीवार कुपरले नाबालक छोरालाई दुध खुवाउँदै गरेको उनको फोटो राखेर इन्स्ट्राग्राममा लेखेका छन्; ‘म एउटा समलिंगी मान्छेको जिन्दगीमा पनि छोरो होला भनेर कहिल्यै सोचेको थिइन । जस जस्ले यो सम्भव बनायो सबै प्रति कृतज्ञ छु । कुपरले बिशेष गरी आफ्नो छोरा वाएट मोर्गन कुपरको जन्मको लागि ९ महिनासम्म गर्भमा राखेर जन्म दिने विशेषावस्था सम्पन्न गर्ने आमा (सरोगेट मदर) लाई धन्यवाद दिएका छन् । उनले इन्स्ट्राग्राममा थप लेखेका छन्; “मेरो छोराको सरोगेट मदर एक राम्रो परिवारको सहयोगी महिला भएको र उनको पति समेत अत्यन्त सहयोगी मानिस भएको र आफ्नो जीवनमा बाऊ बन्नबाट बन्चित हुनेहरुलाई पिता बन्ने सौभाग्य दिने हरेक सरोगेट मदरलाई धन्यवाद भन्न चाहन्छु” ।

  • न्युयोर्कस्थित नेपाली समुदायको १७ बर्ष पुरानो रिजऊड सोसाइटीको मन्दिर सर्यो; ओजन पार्क

    न्युयोर्कस्थित नेपाली समुदायको १७ बर्ष पुरानो रिजऊड सोसाइटीको मन्दिर सर्यो; ओजन पार्क

    न्युयोर्क

    न्युयोर्क क्वीन्सस्थित लामो समयदेखि रिजउड नेपाली समाजद्वारा रिजऊडमा संचालित दुर्गा मन्दिर रिजऊडबाट ओजन पार्क सरेको छ । संस्थाका महासचिव दिपक काफ्ले मार्फत प्राप्त ईमेलमा जनाइए अनुसार रिजऊडको दुर्गा मन्दिरलाई अस्थाई रुपमा ओजन पार्कमा स्थानान्तरण गरिएको हो ।  

    कोरोना महामारीका कारण न्युयोर्कमा जारी सरकारी प्रतिबन्धका कारण मन्दिरमा भिड भाड गर्दै दैनिक कृयाकलाप गर्न नमिले पछि कोठा भाडा लगायतका अनुत्पादक खर्च रोक्नका लागि मन्दिर ओजन पार्कमा सारिएको मन्दिरद्वारा प्राप्त ईमेलमा जनाईएको छ । साथै भक्तजनहरुमा पर्न गएको असुबिधालाई मध्यनजर राखेर क्षमा मागिएको प्राप्त ईमेलमा भनिएको छ; “रिजउड क्षेत्रमा आफ्नै भवन निर्माण गरि सकेसम्म चाडो मन्दिर र कार्यालय साविक क्षेत्रमा ल्याउने हाम्रो प्रयत्न रहने कुरा जानकारी गराउन चाहन्छौं I भक्तजनहरुमा पर्न गएको असुविधा प्रति हामी क्षमा चाहन्छौं “I रिजऊड नेपाली सोसाईटी सन् २००३ मा क्वीन्सस्थित रिजऊडमा स्थापित संस्था हो ।  

    रिजऊडको दुर्गा मन्दिरको नयाँ ठेगाना 104-24 Rosita Rd, Ozone पार्क हो ।

  • न्युयोर्कको रेल सेवा अर्को सुचना जारी नभएसम्म राती चार घण्टा बन्द हुने

    न्युयोर्कको रेल सेवा अर्को सुचना जारी नभएसम्म राती चार घण्टा बन्द हुने

    न्युयोर्क

    संचालमा आए यता कहिलै बन्द नगरिएको न्युयोर्कस्थित रेल सेवा अर्को सुचना जारी नभएसम्मका लागि हरेक रात १ बजेदेखि ५ बजेसम्म ४ घण्टा बन्द हुने भएको छ । १ सय १६ बर्षको ईतिहास बोकेको न्युयोर्क रेल सेवा अन्तर्गत संचालित सबै रेलका प्रत्येक डब्बाको सर सफाईका लागि राती ४ घण्टा बन्द गरिने गभर्नर एन्ड्रु कुमोले बिहीवार घोषणा गरेका हुन्  । रेल सेवा संचालन गर्दै रेलका डब्बाहरुमा राम्रोसँग किटाणू नाश गर्न असम्भव भएको हुँदा राती ४ घण्टा सेवा बन्द गरेरै गर्दा सजिलो हुने गभर्नर कुमोको भनाई छ । ९२ प्रतिशत यात्रुको चाप घटेको बर्तमान अवस्थामा रातको ४ घण्टामा जम्मा १० हजार यात्रुले मात्र सेवा लिने गरेको सबैभन्दा कम चाप भएको समय छानेर सफा गर्न लागेको समेत कुमोले बताएका छन् । रेल सेवा बन्द गरिने उक्त चार घण्टा एमटिएले बस डलर भ्यान लगायतबाट यात्रुहरुलाई सेवा दिने जनाइएको छ भने आत्यावश्यक सेवाका कामदारहरुलाई अतिरिक्त शुल्क बिना नै उबर लिफ्ट जस्ता सेवा समेत  प्रदान गरिने जनाईएको छ ।  

    दैनिक ५५ लाख मानिसले प्रयोग गर्ने न्युयोर्क रेल सेवा कोरोना महामारीको चपेटामा समेत नियमित सेवामा नै छ । तर यात्रुको चाप भने निक्कै घटेको छ । सन् १९०४ को अक्टुबरदेखि संचालित न्युयोर्क रेल सेवाले १ सय १६ बर्षमा १ अर्ब ७२ करोड ७३ लाख यात्रुलाई सेवा प्रदान गरी सकेको छ ।रेल सेवा भने आगामी मे ६ तारिक देखी बन्द हुने छ ।

  • न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो

    न्युयोर्कमा कोरोना संक्रमण घट्न थालेपछि सेनाको अस्पताल जहाज “कम्फर्ट” न्युयोर्क प्रहरीको सलामी थाप्दै आज फर्कियो

    न्युयोर्क      

    कोरोना महामारीले एकै पटक अत्याएको  न्युयोर्क शहरका बिरामीको सहज उपचारको  लागि गत महिना न्युयोर्क सहरमा ल्याइएको अमेरिकी सेनाको “कम्फर्ट शिप” नामक अस्पताल जहाज बिहीवार बिहान न्युयोर्कबाट फर्किएको छ । गत मार्च ३० तारिख म्यानह्याटनस्थित हड्सन रिभरको पियर ९० मा राखेर बिरामीको उपचार गरिएको अमेरिकी सेनाको उक्त जहाजलाई न्युयोर्क  सहरबाट फर्किनु अगाडि न्युयोर्क प्रहरी र अग्नी नियन्त्रक टोलीले सलामी दिएका थिए ।  

    एक हजार बेड क्षमताको उक्त जहाजमा १८२ जना बिरामीको उपचार गरेर गत आइतबार अन्तिम बिरामीलाई उपचार पछि डिस्चार्ज गरिएको थियो । न्युयोर्कबाट फर्किए पछि उक्त अस्पताल जहाज भर्जिनियास्थित नर्फकमा राखिने र सम्भावित आवश्यकतालाई मध्य नजार गरी मेडिकल टिम सहित पूर्ण तयारीमा राखिने सैनिक मुख्यालयका प्रबक्ता जोनाथन हफम्यानले संचार माध्यमलाई बताएका छन् । हफम्यान भन्छन् – “कोरोनाले सबैभन्दा धेरै प्रभावित शहरबाट जहाज फर्किनुले न्युयोर्कमा कोरोना संक्रमण घटेको संकेत गरेको छ । यो स्वागतयोग्य पनि हो” ।  

    कोरोना महामारीका कारण सुरुमा न्युयोर्कका अस्पातलमा बिरामीको चाप एकाएक ह्वातै बृद्धि भएपछि कोरोना बाहेकका बिरामीको सुरक्षित उपचारको लागि जहाजलाई न्युयोर्कमा ल्याईए पनि गत अप्रिल ६ देखि भने कोरोना संक्रमित केही बिरामी समेत                                                           उपचार गरिएको थियो ।

  • कीर्तिपुर अर्थात टोलेगुण्डाबाट पिटिएको शहरबाट

    कीर्तिपुर अर्थात टोलेगुण्डाबाट पिटिएको शहरबाट

    ​प्रेमकृष्ण श्रेष्ठ, कीर्तिपुर

    अहिले सर्वत्र कीर्तिपुरको चर्चा छ । कीर्तिपुरलाई विश्वब्यापी महामारी कोरोनाको संक्रमणबाट अहोरात्र रक्षार्थ खटिएका, शालीन ब्यक्तिको रुपमा चिनिएका मेयरमा गालीहरु खनिएका छन् । सेवा गर्दा सामान्य त्रुटी हुन सक्ला तर यसलाई राष्ट्रिय वहस कीर्तिपुर विषय बनाउनु पर्ला जस्तो लाग्दैन ।

    देशैभरि बिद्यार्थी छन् नि, कीर्तिपुरकै बिद्यार्थीलाई राहत किन चाहियो ? भन्ने प्रश्नसम्म नसोधि, राहत वितरणका लागि बिद्यार्थीको तथ्यांक लियो । कीर्तिपुर नगरपालिकाको भूल यही थियो कि ? आफ्ना बालबालिकालाई घरमा भोकै राखेर, कोही भोका नरहून भनेर चोक चोकमा हात, हातमा तातो भात लिएर बस्नु के यहाँका मानवता भएका कीर्तिपुरबासीको अपराध यही थियो कि ? खोई त पत्रकारका आँखा यस्ता मानवता लहलहराएका दृष्यहरुमा ? आउनुस् सकरात्मक मन लिएर कीर्तिपुरमा, मानवताले सगर्व टाउको उठाइरहेको यस्ता हजारौं दृष्य देखिनेछ ।

    यही सन्दर्भमा, बिद्यार्थी नेता हेमराज थापाले खडग ओलीको ठाडो निर्देशनमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जनले गुण्डा परिचालन गरेर बीच सडकमा बिद्यार्थीलाई ढलाएर टाउकै टाउकामा पिटिएको छ भनेर सामान्य एउटा भिडियो क्लिप आफ्नो सामाजिक सञ्जालमा राखेको रहेछ । म स्वयम् कीर्तिपुरवासी भएकोले टोलेगुण्डा को रहेछन् ? भनेर हेर्न उत्सकुता जाग्यो । भिडियो क्लिप हेर्दा त टोलेगुण्डाहरुलाई पहिचानेँ मैले । एउटा गुण्डा बिरामीलाई औषधि पोका पार्दापार्दै बाहिर निस्कनु भएको रहेछ, अर्को गुण्डा त्यही नगाउँ दोबाटोमा तिनै बिद्यार्थीहरुलाई भात खुवाउँदा खुवाउँदै दौडेको रहेछ । जो सबैभन्दा आक्रमक देखिएको थियो भिडियो क्लिपमा, हालै कीर्तिपुर नगरपालिकाको आपतकालीन कोषमा राहतका निम्ति भनेर पचास हजार सहयोग गरेका दाता परिवारका रहेछन् । भोकालाई भात खुवाउन चाहेका एक साधारण कीर्तिपुरको नागरिकले तिनै बिद्यार्थीलाई लात किन खुवायो यस्मा चिन्तन मनन गरौँ । एक त लकडाउनको समयमा लकडाउन तोडनु आफैमा भूल हो । त्यस्मा पनि कीर्तिपुरमै बसेर कसैले कीर्तिपुरप्रति अपशब्द प्रयोग गर्न थालेपछि के कीर्तिपुरबासीको रगत तातो नभएर चिसो हुन्छ र ? मानवीय रगत पनि मिनरल वाटरको पानी भए बेग्लै कुरो !

    कीर्तिपुर सदैव जातीय सदभावमा रमायो । आजसम्म कीर्तिपुरले कसैलाई पनि जातीय रुपमा विभेद गरेको मैले देख्या छैन । आज एक दुई जनाले कीर्तिपुरलाई कलंक पोत्दै हिँडदा भन्न करै लाग्यो, कीर्तिपुर त्यो टोलेगुण्डाहरुको सहर रहेछ, जस्ले छयालीस सालको परिवर्तनका लागि आफ्नो ज्यान आहुति दिएका थिए । यदाकदा, हाम्रै कारण कीर्तिपुर विकास भएका हुन् भन्ने गरेको पनि सुनिन्छ, यदि त्यो हो भने त्यस्तो निकृष्ट सोच राख्नेले जवाफ देओस्, छयालीस सालको जनआन्दोलनमा कुन चाँहि बिद्यार्थी नेताको खुन बगेको छ यहाँ ? आखिर जमिनमा खुन बगाउँदा उहीँ ज्यापूहरु होइन र ? उहीँ टोलेगुण्डाहरु होइन र ? खसी बजारको पुलिसचौकीसँगै चुलाएका शहिदका सालिक पनि टोलेगुण्डैहरुका हुन कि ? यति हेक्का होस, कीर्तिपुरबासीको एकता ज्वालामुखी भन्दा बढी विस्फोटक छ ।

    बिद्यार्थी नेता हेमराज थापाले पनि पटक पटक कीर्तिपुरसँग कुनै दुश्मनी नभएको र आफ्नो डेरामा फर्कन चाहेको विचार पनि राख्नु भएको छ । बिद्यार्थीहरुको कीर्तिपुर र कीर्तिपुरवासीप्रति प्रेम भए जस्तो कीर्तिपुर र कीर्तिपुरबासीको पनि बिद्यार्थीहरु प्रति अथाह प्रेम छ । कीर्तिपुर त्यति निर्दयी छैन । निर्दयी भएको भए, साठी वर्षदेखि निरन्तर कीर्तिपुरले जातीय सदभावको माला उन्ने थिएन । आआौं, फेरि अँगालो मारौँ, हाम्रो भाइचारा अझै मरेको छैन । गालाहरु जोत्दै होलीमा रंगाएका अविरहरु अझै पखालिएको छैन । जो कोही होस, हामी नेपाली हौँ र यो आपतको घडीमा हामीबीच सहकार्य र सदभाव आवश्यक छ ।

  • जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता

    जनप्रिय नेताको जनस्वास्थ्य र जनसरोकार प्रति चिन्ता

    न्यूयोर्क

    न्युयोर्कसँगैको राज्य न्युजर्सीमा कोरोना संक्रमितको संख्या १ लाख १६ हजार एवम् ६ हजार ७ सयको मृत्‍यु हुँदा गभर्नर फिल मर्फीले “कोरोना मृतकको संख्या प्रथम विश्व युद्ध कोरियन युद्, भियतनाम युद्ध, गल्फ, अफगानिस्तान र ईरान युद्धमा जतिको मृत्‍यु भयो, त्यो सबैको संख्या भन्दा धेरै मानिसहरु कोरोनाको कारण मृत्‍यु भएको छ” भन्दै दु:ख ब्यक्त गरेका छन् । गभर्नर मर्फीले ती सबै युद्ध, हरिकेन स्याण्डी र ९-११ आतंककारी  हमला समेत गरेर जति न्युजर्सीबासीको मृत्‍यु भएको थियो, त्यो भन्दा धेरै कोरोनाको कारण अहिले बुधबारसम्म मृत्‍यु भै सकेको बताएका छन् । गभर्नर मर्फीले ती सबै युद्ध हरिकेन र ९-११ आतंककारी हमलामा भन्दा धेरै मानिसको यति छोटो समयमा कोरोनाको कारण मृत्‍यु भएको हुदा यसलाई गम्भिरतापूर्वक लिन र घर भित्र बसेर आफू र अरुलाई बचाउँन आह्वान गरेका हुन् ।  

    सिंगो अमेरिकामा भने १० बर्ष लामो भियतनाम युद्धमा भन्दा धेरै मानिसको मृत्‍यु कोरोनाको कारण भै सकेको छ । फेब्रुअरी ६ तारिखमा पहिलो पटक देखिएको कोरोनाको कारण अप्रिल २९ तारिखसम्म अमेरिकामा ६० हजार ७ सयको मृत्‍यु भएको छ भने भियतनाम युद्धमा ५८ हजार २ सय २० अमेरिकीको मृत्‍यु भएको थियो ।

  • फेडरल एमर्जेन्सी मेनेजमेन्ट एजेन्सीले लास पोका पार्ने थप १ लाख थैलो मगायो

    फेडरल एमर्जेन्सी मेनेजमेन्ट एजेन्सीले लास पोका पार्ने थप १ लाख थैलो मगायो

    न्युयोर्क      

    अमेरिकास्थित फेडरल इमर्जेन्सी मेनेजमेन्ट एजेन्सी (फिमा) ले कोभिड -१९ का कारण मृत्‍यु भएका लास पोको पार्ने थप एक लाख  थैलो अर्डर गरेको छ । फिमाले कोरोना संक्रमणको सम्भावित दोश्रो छालको तयारी स्वरुप १ लाख वटा लास पोको पार्ने थैलो  अर्डर गरेको अधिकारीहरुले बताएका छन् ।  

    फिमाले अप्रिल २१ तारिखका दिन ५१ लाख अमेरिकी डलरको लास पोको पार्ने थैलो अर्डर गरेको हो भने, त्यो भन्दा ठ्याक्कै १ हप्ता अगाडि उसले अर्को १ लाख थैलो मगाएको थियो ।गत महिना १ लाख मानिसको अमेरिकामा कोरोनाका कारण मृत्‍यु हुने अनुमानित आँकडा बताएका राष्ट्रपति ट्रम्पले सोमबार ६० देखि ७० हजारको मृत्‍यु हुने अनुमान लगाएका थिए । यद्यपी बुधाबार दिउँसोसम्म अमेरिकामा झन्डै १० लाख ५० हजार संक्रमित र ६१ हजारको मृत्‍यु भै सकेको छ ।फिमा प्रबक्ताले वाल स्ट्रीट जर्नललाई भनेका छन् – कोरोना संक्रमणको सुरुदेखि नै फिमा संक्रमणको सबैभन्दा खराब स्थितीको राष्ट्रिय परादृष्यलाई ध्यानमा राखेर काम गर्दै आएको छ ।  सबैभन्दा खराब अवस्था भएको अवस्थामा पनि सामानहरुको माग पूर्ती गर्न सकियोस् भनेर त्यति मात्रामा थैलो मगाइएको हो ।  

    क्यालिफोर्नियास्थित आपूर्तीकर्ता कम्पनीले फिमाले मगाएको १ लाख थैलो आगामी सोमबारसम्म  डेलिभरी दिने दुई पक्षको अनुबन्धित पत्रमा जनाइएको छ ।

  • कोभिड -१९ को उपचारमा नयाँ आशाको उदय – गिलिएड सायन्स

    कोभिड -१९ को उपचारमा नयाँ आशाको उदय – गिलिएड सायन्स

    न्युयोर्क

    कोरोनाले विश्वलाई आक्रान्त बनाई रहँदा संक्रमणले बिरामी परेकाहरुको उपचारका लागि भने एक नयाँ औषधिले आशा जगाएको अनुसन्धनात्मक औषधी निर्माणकर्ताले जनाएको छ ।  कोभिड -१९ को उपचारको लागि औषधी खोजकर्ताको हवाला दिंदै नेशनल इन्स्टिच्युट् अफ एलर्जी एण्ड इन्फेक्सियस डिजिजेज (एन आई ए आई डि) बाट आएको सकारात्मक आँकडाले आशा जगाएको गिलेड सायन्सले बुधबार जनाएको हो । गिलिएड सायन्सेजले भनेको छ; “परिक्षणले पहिलो अन्तिम बिन्दु पार गरिसकेको छ र एन आई ए आई डिले अब छिट्टै औषधीको बारे पूर्ण विवरण सार्वजनिक गर्ने छ” ।  

    कोभिड -१९ उपचारको लागि हालसम्म परिक्षण कै क्रममा रहेका दर्जनौं औषधी  मध्ये सबैभन्दा सफल भन्दै गिलिएड सायन्सले बुधबार सार्वजनिक गरेको उक्त औषधी अमेरिकास्थित फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसन (एफ डि ए) भने हालसम्म उपचारको लागि प्रमाणित गरेको भने छैन ।  अमेरिकामा हालसम्म १० लाख ५० हजार मानिसमा कोरोना संक्रमण प्रमाणित भै सकेको छ भने ६० हजार ३ सय ८४ को मृत्‍यु भनेको छ । जस मध्ये १ लाख १९ हजारले कोरोनालाई अमेरिकामा जितेका छन् ।

  • न्युयोर्कको क्वीन्समा ह्वात्तै बढे: आत्महत्या गर्नेहरु

    न्युयोर्कको क्वीन्समा ह्वात्तै बढे: आत्महत्या गर्नेहरु

    न्युयोर्क

    कोरोना महामारी पछि लकडाउनको पहिलो ६ हप्तामा न्युयोर्क शहरको क्वीन्समा आत्महत्या गर्नेको संख्या दोब्बर भएको छ ।  गत मार्च १५ आइतबारदेखि अप्रिल २८ तारिख मंगलवारसम्म क्वीन्समा १६ जनाले आत्महत्या गरेको आँकडा मंगलवारबार साँझ क्वीन्सस्थित डिस्ट्रिक एटर्नी मेलिन्दा कार्जले सार्बजनिक गरेकी हुन् । गत बर्ष यही समय अवधिमा क्वीन्समा ८ जनाले आत्महत्या गरेका थिए भने अहिले १६ जनाले आत्महत्या गरेका हुन् । न्युयोर्क सहर भित्रको क्वीन्स क्षेत्र न्यूयोर्क सहरको पाँच वटा संयुक्त सहरी क्षेत्र मध्येको एक हो, जुन आप्रबासीहरुको रोजाईको सहर हो । त्यही रोजाईको सहर पछिल्लो समय कोरोना एपिसेन्टर बनेको छ ।  क्वीन्समा लकडाउन पछिको पहिलो ६ हप्तामा आत्महत्या गर्नेको उक्त संख्या सन् २०१९ को झन्डै आधा बर्षको आत्महत्या गर्नेको संख्या हो । सन् २०१९ को पहिलो ६ महिनामा १७ जनाले आत्महत्या गरेका थिए ।  क्वीन्समा मंगलवारसम्म ४९ हजार जनामा कोरोना संक्रमण पुष्टि भै सकेको छ भने ३ हजार ६ सयको मृत्‍यु भै सकेको छ ।  

    डिस्ट्रिक एटर्नी कार्जले क्वीन्समा आत्महत्या गर्नेको संख्यामा देखिएको नाटकीय बृद्धिमा मानसिक समस्याले समेत काम गरेको बताएकी छिन् । उनले यो महामारीमा मानिसमा देखिएको मानसिक समस्या तर्फ पनि ध्यान दिनु पर्ने बताउँदै “आफ्ना नजिकका साथीभाइ इस्टमित्र र छिमेकीको अवस्था पनि यो बिषम परिस्थितीमा बिचार गरौं” भनेकी छिन् ।

    तस्विर : डेलिन्यूज

  • अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

    अमेरिकामा मे महिनाको मध्यबाट कोरोना संक्रमण ९७ प्रतिशत हट्ने

    न्युयोर्क

    विश्वभर फैलिएको कोरोना महामारीले झण्डै ३१ लाख मानिस संक्रमित र २ लाख १५ हजारको मृत्‍यु भएर करोडौं बेरोजगार अनि विश्व अर्थतन्त्र धरासायी हुँदासम्म यस्को अन्त्य कहिले हुने हो, संसार भरका मानिस अन्योलमा छन् । यही अन्योल र महामारीका बीच सिंगापुरस्थित एक विश्व बिद्यालयले कोरोना महामारी अन्त्यको बारेमा आशलाग्दो आँकडा सार्वजनिक गरेको छ । सिंगापुर युनिभर्सिटी अफ टेक्नोलोजी तथा डाटा ड्रिभन ईनोभेसन ल्याबले संयुक्त रुपमा सार्वजनिक गरेको उक्त डाटाका अनुसार ९७ प्रतिशत संक्रमण मे र जुन महिनामा विश्वभरबाट हराउने छ । युभर्सिटीका अनुसार बोलिभिया, ग्वाटेमाला, अल्बानिया, कोलम्बिया, बहराईनमा कोरोना जुलाईमा मात्र ९७ प्रतिशत हराउने छ भने बहराईनमा अगस्टमा मात्र ९७ प्रतिशत हराउने छ । विश्वका बाँकी देशहरुमा मे वा जुन महिनासम्म ९७ प्रतिशत हराउने विश्व बिद्यालयको अनुमान छ ।  विश्वभर जति मानिस संक्रमित हुनु पर्ने हो त्यसको ९७ प्रतिशत मानिस मे महिनाको २९ सम्म भई सक्ने छन् भने संक्रमित हुन बाँकी  ३ प्रतिशत यसै बर्षको नोभेम्बर २६ भित्र संक्रमित हुने छन् । विश्व बिद्यालयले उक्त आँकडालाई “प्रेडिक्सन” भन्दै आगामी दिनहरुमा बिभिन्न देशहरुले अपनाउने लक डाउन र सोसल डिस्ट्यान्सिङको नियमले धेरै कुराहरु निर्धारण गर्ने समेत बताएको छ ।  विश्व बिद्यालयको उक्त आँकडा अनुसार हाल महामारी चर्किएको अमेरिकाबाट ९७ प्रतिशत संक्रमण मे १४ बाट हराउने छ भने सेप्टेम्बर ४ बाट पूर्ण रुपमा हराउने छ ।  ईटालीमा मे ८ बाट संक्रमण ९७ प्रतिशत हराउने छ । बेलायतमा मे १६ बाट स्पेनमा मे १ बाट ९७ प्रतिशत कोरोना संक्रमण हराउने विश्व बिद्यालयले जनाएको छ ।
    विश्वभरका देशहरुको सुची यस्तो छ :-

     

  • अमेरिकामा एभरेष्ट क्रेडिट युनियनलाई कोरोना महामारीमा एस बि एद्वारा सहुलियत ऋणदाताको मान्यता

    अमेरिकामा एभरेष्ट क्रेडिट युनियनलाई कोरोना महामारीमा एस बि एद्वारा सहुलियत ऋणदाताको मान्यता

    न्यूयोर्क

    अमेरिकास्थित नेपाली समुदायको पहिलो बित्तिय संस्थाको रुपमा संचालित एभरेस्ट फेडरल क्रेडिट युनियनलाई स्मल बिजिनेस एड्मिनिस्ट्रेसन (एस बि ए) ले  कोरोना महामारीमा साना ब्यापार ब्यवसायहरुको राहतको लागि ऋणदाता (लेन्डर) को रुपमा मान्यता दिएको छ । एस बि एले एभरेस्ट फेडरल क्रेडिट युनियनलाई ऋणदाताको रुपमा मान्यता दिएसंगै अब अमेरिका भित्र नेपाली समुदायको स्वामित्वमा संचालित साना ब्यापार ब्यवसायलाई महामारीको समयमा पेरोल प्रोटेक्सन प्लान (पि पि पि) ऋण दिने अधिकार प्राप्त भएको हो । पि पि पि ऋणको लागि अब नेपाली ब्यवसायीले एभरेस्ट फेडरल  क्रेडिट युनियनको सदश्यता लिएर ऋणको लागि तत्काल नै आबेदन दिन सक्ने भएका छन् । एभरेस्टबाट प्राप्त गरिने पि पि पि ऋण अनुदान वा १ प्रतिशतको न्युन ब्याजदरमा उपलब्ध गराईने छ ।
    ऋण लिन ईच्छक ब्यक्तिले [email protected]  मा संपर्क गर्नु पर्दछ । थप जानकारीको लागि www.everestfcu.org अथवा  www.sba.gov हेर्नु होला ।

  • कोरोनाका कारण बढ्दै छ सम्प्रदायिकता द्वेष : न्युयोर्कका जोडीको मेक्सिकोमा हत्या

    कोरोनाका कारण बढ्दै छ सम्प्रदायिकता द्वेष : न्युयोर्कका जोडीको मेक्सिकोमा हत्या

    न्युयोर्क

    कोरोना महामारीले विश्वभर साम्प्रदायिक हिंसा बढदै जाँदा मेक्सिकोमा न्युयोर्कबाट भ्रमणमा गएका एक जोडीको हत्या भएको छ । मेक्सिको सहरको जुरेजको एक सडकमा न्युयोर्कको नम्बर प्लेट भएको गाडीमा गुडिरहेका अमेरिकन जोडी प्याट ल्यान्डर्स तथा कार्ला बाकाको गोली प्रहारबाट हत्या गरिएको टेक्ससस्थित एल पासोको के टि एस एम – टिभीले जनाएको छ ।

    अमेरिका भरिकै कोरोना ईपिसेन्टर बनेको न्युयोर्क राज्यको नम्बर प्लेट भएको कालो रंगको जिपमा गुडिरहेकै अवस्थामा गत सोमबार २० पटक गोली प्रहार गरिएको हो । गोली प्रहारको अभियोगमा हालसम्म कसैलाई पक्राउ गरिएको छैन । ६ बर्षीय छोराका पिता ल्यान्डर्स बिगत ३ हप्तादेखि उनको प्रेमिका बाकाको साथ म्याक्सिकोमा थिए । अधिकांश नागरिक क्वारेन्टिनमा भएको अवस्थामा गोली प्रहार भएको न्युयोर्क सेराकसस्थित डब्लु एस टि एम -टिभीले जनाएको छ ।

  • राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ

    राष्ट्रपति ट्रम्पले निको हुने सम्भाबना ब्यक्त गरे लगत्तै लाइजोल कम्पनीले भन्यो; लाईजोल नखाऊ

    न्युयोर्क      

    लाइजोल र डिटोल जस्ता उत्पादक कम्पनीले आफ्ना उपभोक्तालाई कोरोना निको हुने भ्रममा यस्ता बस्तु नखानको लागि आग्रह गरेको छ । गत बिहीवार अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले किटाणु निस्संक्रामक (डिस्ईन्फेक्ट्यान्ट) रसायनलाई इन्जेक्सन मार्फत पठाएर कोरोना संक्रमित बिरामीको उपचार गर्दा निको हुने सम्भावना ब्यक्त गरेका थिए ।

    ब्रिटिश कम्पनी रेकिट बेनकाईसरले (आर बि) शुक्रबार यस्ता किटाणू निस्संक्रामक बस्तुको उपभोग मानबका लागि खतरा हुने बताएको हो ।  कम्पनीले बिज्ञप्तीमा भनेको छ; “आफू स्वास्थ र सफाई सम्बन्धि उत्पादनको ग्लोबल लिडर भएको नाताले हामीले प्रस्ट पार्नै पर्छ कि कुनै पनि अवस्थामा सर सफाईमा प्रयोग गरिने हाम्रा किटनासक उत्पादन मानब शरीरभित्र ईन्जेक्सन वा पाचन प्रणाली वा अरु कुनै माध्यम मार्फत पठाउनु हुँदैन । यो पूर्णतया हानिकारक छ । आर. बिको उक्त चेतावनिपूर्ण बिज्ञप्ती अमेरिकास्थित राष्ट्रपति ट्रम्पको बिहीवार कोरोना उपचारमा किटनाशक औषधि प्रयोग सम्बन्धि बिचार  सार्वजनिक भए लगत्तै आएको हो ।  अमेरिकामा गत मार्चमा राष्ट्रपति ट्रम्पको मलेरिया औषधीले कोरोना निको हुने बिचार सार्वजनिक भए लगत्तै आफू खुसी मलेरियाको औषधि प्रयोग गर्ने केही ब्यक्तीहरुको मृत्‍यु समेत भै सकेको छ ।

  • लोकतन्त्र दिवसको अवसरमा आवश्यक सामग्री बितरणका लागि हस्तान्तरण

    लोकतन्त्र दिवसको अवसरमा आवश्यक सामग्री बितरणका लागि हस्तान्तरण

    एप्रिल २२, न्यूयोर्क

    १४ औं लोकतन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा न्यूयोर्कस्थित गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकालाई कोभिड १९ सँग लड्न आवश्यक सामग्री नेपाली समुदाय समक्ष पुर्याउनका लागि प्राप्त भएका छन् । न्यूयोर्क सहरको पूर्व-काउन्सिल मेम्बर एलिजाबेथ क्राउलीले कोरोनाको मारमा परेका र अन्यलाई सुरक्षित रहन आवश्यक सामग्री हस्तान्तरण गरेको सँस्थाका अध्यक्ष सोमनाथ घिमिरेले बताएको छ ।

    लोकतान्त्रिक आन्दोलनका सम्पूर्ण शहीदहरु एवम् दोश्रो जन-आन्दोलन ०६२/०६३ का कमाण्डर शिखर पुरुष गिरिजा प्र. कोइराला प्रति श्रद्धासुमन अर्पण गर्दै लोकतन्त्र दिवसको उपलक्ष्यमा फाउण्डेशनले समाज प्रति केही गर्न सकिन्छ कि भन्ने हेतुले यस कोभिड-१९ को महामारीको चपेटामा परेका न्यूयोर्कका नेपालीहरुलाई यस फाउण्डेशनले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सेवा नै धर्म हो, भन्ने मुल नाराका साथ अग्रसर गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिकाले एलिजाबेथ क्राउलीलाई विशेष धन्यवाद एवम् आभार प्रकट गरेका छन् । क्राउलीले फाउण्डेशनलाई सहयोग १५० वटा रेगुलर मास्क, ८५ वटा सेनीटाईजर-reusable र १० बक्स ग्लोभ्स उपलब्ध गराएका छन् । सहयोग सामग्रीहरुको हस्तान्तरण कार्यक्रममा फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमीरे, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ्ग राप्के लामा, केन्द्रीय सदस्य प्रेम पौडेल र कृयासिल सदस्य सुर्य सिम्खडाले आआफ्नो बिचार व्यक्त गरेका थिए । प्राप्त सामग्रीहरु छिरिङ्ग राप्के लामाले नेपाली समुदायमा वितरण गर्ने जनाइएको छ ।

    आवश्यक ब्यक्तिहरुलाई सम्पर्कको लागि ३४७ ६५२ ३६८३ नम्बर सार्वजनिक गरेका छन् ।

  • कविता : जीवनबाट पीडित जिन्दगानी

    कविता : जीवनबाट पीडित जिन्दगानी

    ~ किशनसिंह धामी, न्यूयोर्क

    खै, कति महिना भ्रूण भए 

    अनि च्याँहाँ च्याँहाँ गरि 

    कति दिनसम्म ती आमा-अमृतका धारा चुसें ? 

    आमाले चुसाएर पीड़ित भइन्

    अथवा मैले अमृत चुसेर पीडित भएँ ?

    मैले नबुझेर म पीड़ित भएँ ।

    नाङ्गो गोडा लिएर पाटीको भारी बोकी

    बर्षौंसम्म पाठशाला ओहर दोहर गरें,

    हेड मासापले पढाएर पीड़ित भए ?

    अथवा शिक्षाको लागि म पीड़ित भएँ ?

    गाई-वस्तु, गोठालो बनि

    धुलो-माटो खेती-बारीमा लडीबडी गरें,

    नाँच-गानले पीड़ित भए

    अथवा डेउडा गीतले म पीड़ित भए, ? 

    देशमा सत्ता फरक भयो

    देशका कुना कप्चा देखें

    गरिब, म र म जस्ता कयौं

    गरिब देखेर पीड़ित भएँ ? 

    अथवा गरिबी देखेर पीडित भएँ ?

    देशमा शासन सत्तासंगै पीडा फरक भयो 

    तर पीड़ित सदावहार

    राजाबाट पीडित

    प्रजातन्त्रबाट पीडित

    बहुदलबाट पीडित 

    माओवादीबाट पीडित

    नेताबाट पीडित

    शरणार्थीबाट पीडित

    सेनाबाट पीडित

    पुलिसबाट पीडित

    ठालुबाट पीडित मुखियाबाट पीडित 

    पंचबाट पीडित

    दाजुबाट पीडित

    पतिबाट पीडित

    पत्नीबाट पीडित

    हाकिमबाट पीडित

    बलत्कारबाट पीडित

    पीडित तर पृथक शैलीबाट पीडित !

    भारतीय पुलिसबाट पीडित

    कर्फ्यूबाट पीडित

    नेपाल बन्दबाट पीडित

    सिमा सिलबाट पीडित

    बन्दरगाहाबाट पीडित

    बाडीबाट पीडित

    पहिरोबाट पीडित

    हावाहुरीबाट पीडित

    भूकम्पबाट पीडित

    घर सिमानाबाट पीडित

    सरकारी ढुकुटी नपचेर पीडित

    बढी पचाएर पीडित

    पचाउन नसकेर पीडित

    कम-बढी भएको सन्तुलन नमिलेर नदेखिएकोबाट पीडित । 

    ठुलो सहरमा रहर गर्ने पीडित

    रहरले पाएको पीडाबाट पीडित

    लकडाउनमा प्रेम-प्रेमिकाहरू पीडित

    फोन नहुँदा पीडित

    डिस्को-क्लबमा जान नपाउँदा पीडित

    चीर निद्राशयमा फूल नपाउँदा पीडित

    मृत्युशैय्यामा अनुहार नदेख्दा पीडित

    कोही ठुलो पीडित

    त कोही सानो पीडित

    तर पीडित महा-पीडित ।

    सिमाना तर्दा पुलिसबाट पीडित

    जेलबस्दा उडुसबाट पीडित

    रेल चढ्दा भाइरसबाट पीडित

    प्रेमिकाबाट पीडित

    प्रियसीबाट पीडित

    साइकलका पाँग्रा भएर पीडित

    नभएर पनि पीडित

    शिरको टोपीबाट पीडित

    टोपी नभएर पनि पीडित, 

    अहिले संसार नै कोरोनाबाट पीडित

    कतै नदेखिने 

    कहिल्यै नदेखिने 

    निर्जीवबाट जीव पीडित, 

    त्राही त्राहीबाट पीडित

    डरै डरबाट पीडित 

    जिन्दगी जीवनबाट पीडित ॥

  • नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?

    नेकपा संकट : आखिर नेकपामा देखिएको विवाद के हो ?

    विश्वसन्देश संवाददाता

    प्रधानमन्त्री केपी शर्मा ओलीले दुईवटा अध्यादेश ल्याएपछि फेरि एक पटक नेपालको राजनीतिक अवस्था जटिल मोडमा पुगेको छ । नेकपा अध्यक्षसमेत रहेका ओलीले दल फुटाउन सजिलो पार्नेगरी अध्यादेश ल्याएपछि नेकपाको विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री ओलीले दल विभाजनका लागि संसद र केन्द्रीय समिति दुवैमा ४० प्रतिशत पुग्नुपर्ने प्रावधानलाई हटाएर कुनै एकमा मात्रै ४० प्रतिशत पुगेमा विभाजन गर्न सकिने प्रावधान राखेर अध्यादेश ल्याएका छन् । उनले संवैधानिक परिषद्मा पनि आफ्नो अनुकुल निर्णय गराउन सजिलो पार्नेगरी थप एक अध्यादेश ल्याएका छन् ।

    तत्कालीन नेकपा एमाले र नेकपा माअ‍ोवादी केन्द्रबीचको चुनावी तालमेलबाट भएको पार्टी एकताको सुरुवातले नै नेकपालाई झण्डै दुईतिहाइ बहुमत प्राप्त भएको थियो । अहिले यो जनमत ‘बोकाको मुखमा कुभिण्डो’ भएको छ । पार्टी एकताका बेला नेकपा ठूलो जेट भएकाले दुईजना पाइलट आवश्यक भएको निष्कर्ष निकाले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले जहाज कता लैजाने ? भन्ने प्रश्नको उत्तर दिन सकेका छैनन् । ओलीले दक्षिण र प्रचण्डले यो जहाजलाई उत्तरतर्फ लैजान खोज्दा कुरा मिल्न सकेको छैन । त्यसैले नेकपा नामको जहाज दुर्घटनातर्फ केन्द्रित भएको छ ।

    नेकपाको नौ सदस्यीय सचिवालयका एक महत्वपूर्ण सदस्य वरिष्ठ नेता झलनाथ खनालले सरकारले पार्टीका निर्देशन पालना नगर्दा नेकपामा यो विवाद आएको बताउँछन् । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले कोरोनाविरुद्धको लडाईँमा लाग्नुपर्नेमा बेमौसममा विधेयक ल्याउनु गलत भएको बताएका छन् । उनले आफ्नो नभएर अरुको पार्टी पनि  फुटाउन प्रयास गर्न नहुँनेमा जोड दिएका छन् । उपाध्यक्ष बामदेव गौतमले सल्लाह गर्नुपर्नेमा प्रधानमन्त्री ओली एकलौटी ढंगले चलेको आरोप लगाएका छन् । तर उपप्रधानमन्त्रीसमेत रहेको सचिवालय सदस्य ईश्वर पोखरेलले भने नेकपाभित्रका लागि भन्दा बाहिरका पार्टीका लागि  सरकारले यस्तो कदम चाल्नु परेको बताउँछन् ।

    नेकपामा ओली–प्रचण्ड को बलियो ?  

    नेपाल कम्युनिष्ट पार्टीमा दुई अध्यक्ष भएपछि मुख्य दुई समूह सक्रिय छन् । तर अर्को समूह पनि अहिले प्रतिस्पर्धामा नै छ । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली, पूर्वप्रधानमन्त्रीसमेत रहेका कार्यकारी अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालका मुख्य तीन समूह तल्लो तहसम्म सक्रिय छन् । पार्टी केन्द्रका सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र संसदमा तीनवटै समूहका नेताहरु सक्रिय छन् । सरकारको नेतृत्व गरेका ओली यी सबै संरचनामा अल्पमतमा छन् । त्यसैले अहिले विधेयक ल्याउने खेलमा उनी लागेका हुन् ।

    ओली निकटको समूहमा विष्णु पौडेल र ईश्वर पोखरेलबीच फरक फरक उपसमूह सक्रिय छ । ओलीसँग अहिले प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेल नजिक छन् । त्यसैले ओली समूहमा तीन उपसमूह सक्रिय छन् । त्यस्तै प्रचण्डसँग नेता नारायणकाजी श्रेष्ठ प्रकाश र रामबहादुर थापा बादलको उपसमूह छ । यी अन्तिम अवस्थासम्म प्रचण्डसँगै रहन्छन् । त्यस्तै नेता माधवकुमार नेपाल समूहमा पनि भीम रावल र सुरेन्द्र पाण्डेको समूह सक्रिय छ । झलनाथ खनाल र बामदेव गौतमले पनि ससानो समूह चलाइ रहेका छन् । पछिल्लो विवादसम्म आइपुग्दा ओली समूह एकातिर र बाँकी सबै समूह–उपसमूह अर्कातिर छन् ।

    सचिवालय

    नौ सदस्यीय सचिवालयमा अध्यक्षद्वय ओली र प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाश, ईश्वर पोखरेल, रामबहादुर थापा बादल र महासचिव विष्णु पौडेल छन् । अहिले ओलीको पक्षमा सचिवालयम ईश्वर पोखरेल मात्रै छन् । उनीसँग नजिक रहेका महासचिव पौडेल बेलाबेलामा प्रचण्डसँग नजिक रहन्छन् । बाँकी सबैजना प्रचण्डसँग नजिक छन् । त्यसैले नौ सदस्यीय नेकपा सचिवालयमा ओली समूहमा मात्र आफूसहित जम्मा २ जना छन् । प्रचण्डसँग आफूसहित ६ जना छन् । पौडेल कुनै पनि समूहमा सक्रिय हुँदैनन् ।

    स्थायी समिति र केन्द्रीय समिति

    नेकपामा ४४ सदस्यीय स्थायी समिति छ । स्थायी समितिमा पनि अवस्था त्यस्तै छ । ओली समूहमा सक्रिय हुनेको संख्या १२ छ । प्रचण्डसँग १८, नेपालसँग १३ र एकजना कुनै समूहमा खुलेका छैनन् । अहिले प्रचण्ड, नेपाल सबै एक ठाउँमा छन् ।

    त्यस्तै केन्द्रीय समितिमा पनि अवस्था उस्तै छ । नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय समितिमा ओलीसँग १ सय २७, प्रचण्डसँग २ सय, नेपालसँग १ सय ४, बामदेवसँग ६, तटस्थ १ र ३ जना रिक्त छ । ४ सय ४१ दस्यको ४० प्रतिशत भनेको १ सय ७६ हो । ओलीले अध्यादेश ल्याउनुको मुख्य कारण यहीँनेर जोडिएको छ ।

    प्रतिनिधिसभाको अवस्था

    प्रतिनिधिसभामा ओली सबैभन्दा बलियो अवस्थामा छन् । प्रतिनिधिसभामा ओलीसँग ७२, प्रचण्डसँग ५४, नेपालसँग ३७, बामदेवसँग ४, तटस्थ ५ र दुईजना कतै नखुलेका छन् ।

    माथिको नेकपाभित्रको अंक गणित हेर्दा ओलीले अहिले ल्याएको अध्यादेशको उद्देश्य सजिलै बुझ्न सकिन्छ । सरकार सञ्चालन ५ वर्ष पुरागर्ने उद्देश्यले ओलीले नयाँ पार्टी बनाउने बाटो खोल्नका लागि अध्यादेश ल्याएका नेकपाका बहुसंख्यक सचिवालय सदस्यको तर्क छ ।

    तर ओलीले भने राजपा र समाजवादी पार्टी फुटाउनका लागि ल्याएको तर्क गरेका छन् । यद्यपी अशोक राई, राजेन्द्र श्रेष्ठलगायतले पटक पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेको पनि खुलेको छ ।

    नेकपाको विवाद अब के हुन्छ ?

    अध्यादेश ल्याएपछि दुवै पक्षले एकअर्काविरुद्ध छलफल तिब्र पारेका छन् । अबका केही दिन ओली–प्रचण्ड विवाद उत्कर्षमा पुग्ने देखिन्छ । त्यसको संकेत बुधबार बिहान नेपाल कम्युनिष्ट पार्टीको ७१औँ स्थापनामा दिवसमा पनि देखिएको छ । दुवैअध्यक्षले फरक फरक विज्ञप्ति निकालेर विवाद थप उचाइमा पुगेको संकेत गरेका छन् । विज्ञप्तिमा ओलीले प्रचण्डलाई सैद्धान्तिक विचलनको कुरामा आरोप लगाएका छन् भने प्रचण्डले देशी विदेशी शक्तिकेन्द्रसँग मिलेर पार्टी एकताविरुद्ध कदम चालेको आरोप लगाएका छन् । तर बुधबार बिहान नै दुई अध्यक्षबीच बालुवाटारमा झण्डै एक घन्टा भेटवार्ता भएको छ ।

    पार्टी एकता गर्दा आधा आधा कार्यकाल दुवैले प्रधानमन्त्री चलाउने र एकता महाधिवेशनपछि प्रचण्डलाई पार्टी अध्यक्ष बनाउने सहमति भएको थियो । प्रधानमन्त्री ओलीले बीचमा फेरि सरकार आफूले चलाउने र प्रचण्डले पार्टी चलाउने सहमति गरे । अहिले ओली उपचारपछि फूर्तिलो भएका छन् । त्यसैले अब पार्टीको नेतृत्व पनि आफैले लिन प्रयास स्वरुप नेकपामा ओलीले कदम उठाएका छन् । उनले यो विवाद देखाएर भएपनि नेकपाको नेतृत्व प्रचण्डलाई दिने पक्षमा सकरात्मक छैनन् । यी सबैकुराको जानकारी राखेका प्रचण्डले ओलीविरुद्ध पार्टीभित्र आफूलाई बलियो बनाउँदै लगेका छन् ।

    ओलीले पार्टी फुटाएर अगाडि बढेमा नेकपाका केही सांसद, राजपा र समाजवादीलाई लिएर सरकार बनाउन सकिन्छ भन्ने पहिलो विकल्पको रुपमा अपनाइएको देखिन्छ । त्यो नभएमा उनले नेपाली काँग्रेससँग मिलेर भएपनि सरकारको नेतृत्व गर्न खोज्ने छन् । ओली सफल नभएमा फेरि माधव नेपाल प्रधानमन्त्री, प्रचण्ड पार्टी अध्यक्ष भएर नेपाली कांग्रेससहितको नयाँ सरकार बन्ने अवस्था अनुमान गरिन्छ । अहिले नेकपाको विवाद सरकारले राम्रो काम गर्दा पार्टी भित्रैबाट बिरोध भयो भन्ने ओलीको बुझाइ र हरेक क्रियाकलापमा पार्टीलाई दोष दिएर एकताविरुद्ध गतिविधि गरिरहेको प्रचण्ड पक्षको बुझाइमा केन्द्रित छ । अबको दुई महिनाभित्र नेकपाको यो विवाद नयाँ ठाउँमा पुग्ने देखिन्छ ।

  • अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

    अमेरिकामा ६० दिनका लागि ग्रिन कार्ड बन्द

    न्युयोर्क

    राष्ट्रपति डोनाल्ड ट्रम्पले ६० दिनको लागि अमेरिका आप्रवासन बन्द गर्ने घोषणा गरेका छन् । ट्रम्पले आफूमा निहित कार्यकारी अधिकार प्रयोग गर्दै उक्त घोषणा गरेका हुन् । ट्रम्पको उक्त घोषणापछि आगामी ६० दिनको लागि अमेरिका आउने आप्रबासीको लागि ग्रिन कार्ड जारी हुने छैन । कोरोना भाईरसका कारण लाखौं अमेरिकनले रोजगारी गुमाएको कारण आफ्नो प्राथमिकता अमेरिकन नागरिकको लागि रोजगारी भएको हुँदा तत्कालको लागि अमेरिका आप्रबासन बन्द गरेको ट्रम्पले मंगलवार आफ्नो नियमित प्रेस ब्रिफिङमा बताएका हुन् । यस अगाडि उनले सोमबार आप्रबासन सम्बधी कार्यकारी आदेश जारी गर्ने जनाएका थिए ।  

    तत्कालका लागि ग्रिन कार्ड जारी बन्द हुने भएपनि अस्थाई कामदारहरु भने अमेरिका आउन सक्ने उनले बताएका छन् । ट्रम्पले ६० दिन पछिको अवस्था मुल्याङ्कन गरेर यो बन्द अवधि थप्ने या फुकाउने निर्णय गर्ने समेत बताएका छन् ।

  • न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

    न्युयोर्क शहरमा कोरोना संक्रमण एसियनलाई न्युन, अश्वेत जातीमा उच्च : बृस्तित विवरण

    न्युयोर्क      

    विश्वकै कोरोना एपिसेन्टर न्युयोर्क राज्यमा मंगलवारसम्म २ लाख ५७ हजार संक्रमित र १९ हजार ७ सयको मृत्‍यु भै सकेको छ ।  सिंगो न्युयोर्क राज्यमा संक्रमितको संख्या  २ लाख ५७ हजार भएपनि म्यानह्याटन, क्वीन्स,   ब्रोंक्स, ब्रुक्लिन  र स्टेटन आइल्याण्डलाई ओगटेको न्युयोर्क शहर भित्र मात्र राज्यको झन्डै ५० प्रतिशत संक्रमित छन् । न्युयोर्क सहरमा १ लाख ३२ हजार ४ सय ६७ जना संक्रमित छन् भने ९ हजार १ सय १ जनाको मृत्‍यु भएको न्युयोर्क हेल्थ डिपार्टमेन्ट्को पछिल्लो आँकडा छ ।  

    न्युयोर्क सहरभित्र कोरोना संक्रमित मध्ये २ प्रतिशत मानिस १७ बर्षसम्म उमेर समुहका छन् भने ३७ प्रतिशत मानिस १८ देखि ४४ बर्ष उमेरका छन् । ४५ बर्षदेखि ६४ बर्ष उमेर समुहका संक्रमित पनि ३७ प्रतिशत नै छन् ।  ६५ देखि ७४ बर्ष उमेरका संक्रमित भने १३ प्रतिशत छन् । ७५ बर्ष माथिका संक्रमित भने १२ प्रतिशत छन् । त्यस्तै सुन्ना दशमलब सुन्ना दुई (०.०२ ) प्रतिशत संक्रमितको उमेर खुलेको छैन । न्युयोर्क हेल्थ डिपार्टमेन्टद्वारा जारी उक्त आँकडा अनुसार हालसम्म न्युयोर्क सहरमा कोरोना संक्रमितहुनेहरु १८ बर्षदेखि ६४ बर्ष उमेरका मानिसको संख्या उच्च छ । संक्रमितहरुको संख्यामा पनि महिलाहरु भन्दा पनि पुरुषहरुको संख्या अधिक छ ।  न्युयोर्क सहरमा ४७ प्रतिशत महिला संक्रमित छन् भने ५३ प्रतिशत पुरुष संक्रमित छन् ।  

    १ लाख ३२ हजार ४ सय ६७ संक्रमित मध्ये ३४ हजार ७ सय २९ जना उपचारत अस्पाताल भर्ना भएका छन् । उपचारका लागि अस्पाताल भर्ना हुने यो संख्या कुल संक्रमित मध्ये २६ प्रतिशत मात्र हो । सहरमा मृत्‍यु हुने ९ हजार १ सय १ संख्या कुल संक्रमितको ६ दशमलब ८७ प्रतिशत हो । त्यसैगरी मृत्‍यु भएकामध्ये ६ हजार ६ सय ८३ जना मधुमेह, फोक्सोको रोग, दम, क्यान्सर , मुटु रोग, ईमिनो डिफिसियन्सी हाईपरटेन्सन, मृगौला तथा कलेजोको रोगमध्ये कुनै न कुनै रोगका बिरामीहरु हुन् । हालसम्म ५२ जनामात्र कुनै पनि रोग नभएका मानिसको मृत्‍यु भएको छ । मृत्‍यु भएका मध्ये २ हजार ३ सय ६६ जना कोरोना संक्रमण अगाडि अन्य रोगका रोगी भए नभएको नखुलेको न्युयोर्क हेल्थ डिपार्ट्मेन्टले जनाएको छ ।  

    न्युयोर्क शहरमा कोरोना संक्रमणबाट मृत्‍यु भएकाहरुमा १७ बर्ष मुनीका ३ जना १८ देखि ४४ बर्ष बर्षसम्मका ३ सय ९५ जना, ४५ देखि ६४ बर्षसम्म उमेरका २ हजार ४८ जना, ६५ देखि ७४ बर्षसम्मका २ हजार २ सय ५३ र ७५ बर्ष माथिका ४ हजार ४ सय १ जनाको मृत्‍यु भएको छ । न्युयोर्क सहरमा मृत्‍यु भएका मध्ये ५ हजार ५ सय ५७ पुरुष छन् भने ३ हजार ५ सय १७ महिला रहेको छ । २७ जना मृतकको लिङ्ग खुलेको छैन ।  

    रङ्गका आधारमा भने अश्वेत जातीहरुमा संक्रमणको संख्या उच्च देखिएको छ र एसियनहरुमा न्युन संक्रमण देखिएको छ ।  ब्युरो अफ कम्युनिकेबल डिजिज सर्भिलेन्स सिस्टमद्वारा अप्रिल १६ तारिखमा प्रकाशित डाटा अनुसार अश्वेत जातीहरुमा संक्रमण उच्च देखिएको छ । संक्रमणको दोश्रो नम्बरमा हिस्प्यानिक  र ल्याटिनोहरु देखिएका छन् भने तेश्रोमा श्वेत जातीहरु छन् । चीनबाट सुरु भएको कोरोना भाइरसको संक्रमण न्युयोर्क सहरमा भने एसियनहरुमा निकै कम देखिएको छ । ब्युरोका अनुसार प्रतिशतमा अश्वेत ३२ दशमलब ६ प्रतिशत, ल्याटिनो हिस्प्यानिक ३२ दशमलब  ४ प्रतिशत, श्वेतजाती २८ दशमलब ६ प्रतिशत र एसियन ६ दशमलब ३ प्रतिशत संक्रमित देखिएका हुन् ।  

  • बादशाह !

    बादशाह !

    – तीर्थराज अधिकारी 

    केही देख्दैनन्

    आँखा नभएका – बादशाह ! 

    केही सुन्दैनन्

    कान नभएका – बादशाह ! 

    जिऊ छाम्दैनन्

    हात नभएका – बादशाह ! 

    केही गुन्दैनन्

    मन मस्तिष्क नभएका – बादशाह ! 

    स्वयम् पाऊ चाल्दैनन् 

    पानी गलेका – बादशाह ! 

     ***

    काम एउटै मात्र हुन्छ 

    ‘ध्यान केवल ध्यान’ 

    चाटुकारहरूका – जय जयमा ! 

    चाप्लुसहरूका – ज्यू हजुरमा ! 

    दासहरूका – स्वस्ति र सलाममा ! 

    भरियाहरूका – डोली र चमरमा ! 

    ***

    पर्खालभित्र होस् वा पर्खालबाहिर 

    कान फुक्नेहरूकै घेरामा 

    व्यस्त व्यस्त हुन्छन् – बादशाह ! 

    आफ्नै रूप कस्तो छ ? 

    अलिकति समय निकालेर 

    कतै एकान्तमा 

    ऐना हेर्ने फुर्सदमा 

    कहाॅं हुन्छन् र बादशाह ? 

    ***

    आँखा हुनेहरूले 

    निर्वस्त्र नै देखे पनि 

    मुख हुनेहरूले 

    निर्वस्त्र नै भने पनि 

    लाज हुनेहरूले 

    आँखा र मुख नै थुने पनि 

    लज्जा त्यागेर 

    सहर र सडकमै 

    घुम्न रुचाउॅंछन् – बादशाह ! 

    ‘काग कराइरहन्छ  

     पिना सुकिरहन्छ’

    आफूलाई वस्त्रविहीन मान्न 

    त्यसै कहाॅं तयार हुन्छन् र बादशाह !? 

    गोरखा, लप्सीबोट
    हाल: सरस्वतीनगर, काठमाडौं

  • कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

    कोरोनाले हजारौंको मृत्‍यु हुँदै गर्दा अमेरिकामा लकडाउन बिरुद्ध धमाधम प्रदर्शन

    न्युयोर्क

    विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरसका कारण हाल अमेरिका कोरोनाको केन्द्र बनेको छ भने ७ लाख ७५ हजार संक्रमित र ४१ हजारको मृत्‍यु भै सकेको छ । संक्रमित र मृत्‍यु हुनेको संख्या उच्च बिन्दुमा पुगेको अवस्थामा एरिजोना कोलोर्‍याडो, मन्टाना तथा वाशिङ्गटन राज्यहरुमा आईतबार लक डाउन बिरुद्ध  प्रदर्शन गरिएका थिए । त्यो भन्दा अगाडि अन्य आधा दर्जन राज्यहरूमा पनि लक डाउनका बिरुद्ध प्रदर्शन गरिएका थिए ।

    हतार गरेर अर्थतन्त्र खोल्दा कोभिड-१९ को घातक पुनरोदय हुनसक्ने त्रासका बीच अमेरिकामा त्यस्ता प्रदर्शन चर्किएका हुन्  । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले त्यस्ता प्रदर्शनप्रति आफ्नो समर्थन दर्शाएका छन् ।

    बढी प्रभाबित राज्यहरुमा सङ्क्रमण उच्च विन्दुमा पुगेको तथा केही क्षेत्रमा नयाँ सङ्क्रमणको वृद्धि दर घटिरहेको सङ्केत पनि आएका छन् ।

    अमेरिकामा प्रारम्भिक चरणमै सङ्क्रमण फैलिएको वाशिङ्गटन राज्यमा सयौँ मानिस राजधानी ‌ओलम्पियामा भेला भएर गभर्नरलाई अर्थतन्त्रमा लागेका बन्देज खुकुलो पार्न माग गरे ।

    प्रहरीले भेलामा २५ सय जति सामेल भएको अनुमान गरेको छ। लकडाउन लागू भएपछिको त्यो सबभन्दा ठूलो त्यस्तो जमघट भएको समाचार संस्था रोयटर्सले जनाएको छ । प्रदर्शनका क्रममा कैयन प्रदर्शनकारीले सामाजिक दुरी सम्बन्धि नियम अनि मास्क लगाउनु पर्ने नियम समेत उल्लंघन गरेका थिए ।

    लकडाउन बिरुद्ध प्रदर्शन गर्ने समुह सामुन्ने स्वास्थ्यकर्मी उपस्थित भएका थिए ।  एसोसिएटेड प्रेसका अनुसार मन्टानाको हेलेनामा आयोजित र्‍यालीमा केही सय मानिस थिए ।

    कोलोराडोको डेन्भरमा पनि उत्रै र्‍याली भएको थियो ।

    प्रदर्शनकारीका गाडी सडकमा खचाखच भएपछि अस्पतालमा रहँदाकै पोशाक र मास्क लगाएका स्वास्थ्यकर्मीहरू उनीहरूको सामु उपस्थित भएका थिए ।

    यस अगाडि अमेरिकामा कोरोनाभाइरस उत्कर्षमा पुगिसकेको राष्ट्रपति ट्रम्पले दाबी गर्दै प्रतिबन्ध चाँडै फुक्का गर्ने योजना रहेको बताउदै ट्विट् गरेका थिए ।  

    एरिजोनामा पनि प्रदर्शनकारीले सयवटा जति गाडीलाई राजधानी फिनिक्सको एक चोकमा घुमाएर प्रदर्शन गरेका थिए ।

    कतिपय राज्यहरूमा गभर्नरहरूले सङ्क्रमणको दर कम हुँदै गएका सङ्केतका माझ अर्थतन्त्र खोल्नेबारे छलफल थालेका छन् ।

    क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसमले पहिलो पटक मार्च १९ मा राज्यभरि घरमै बस्न आदेश जारी गरेका थिए । वाशिङ्गटन तथा ओरेगन राज्यहरूले त्यही पाइला पच्छ्याए ।

    न्यूयोर्कका गभर्नर एन्ड्र्यु कुमोले न्युयोर्कको  लकडाउनलाई मे १५ सम्म लम्ब्याएका छन् ।

    उनले अहिले संक्रमणको हाफ टाईम भएको बताउदै  हतारिन नहुने भन्दै सावधानीको खाँचो भएको औँल्याएका छन्।

    तर राष्ट्रपति ट्रम्पले कडा लकडाउनको विरोधमा प्रदर्शन गरेकाहरुको  समर्थन गरिरहेका छन् । राष्ट्रपतिले गत शुक्रवार मिनिसोटा, मिचिगन  तथा भर्जिनियामा लागू आदेश धेरै कडा भएको प्रतिकृया दिएका  थिए ।

    वाशिङ्गटन राज्यका गभर्नर जे इन्सलीले राष्ट्रपतिको लक डाउन बिरुद्ध प्रदर्शन गर्ने समुहको समर्थन गर्ने कदमलाई खतरनाक भन्दै त्यसले राज्यका कानूनलाई उल्लंघन गर्न उक्साउने बताएका छन ।

    “अमेरिकी राष्ट्रपतिले मानिसहरूलाई कानून उल्लंघन गर्न उक्साएको मैले आफ्नो जीवनकालमा देखेको थिइनँ,” उनले समचार संस्था बि बि सिलाई बताएका थिए ।  

    समाचार श्रोत : बि बि नेपाली

  • तिमीले पाएको जति मात्र; तिम्रो भाग

    तिमीले पाएको जति मात्र; तिम्रो भाग

    योगेश आदी, न्यूयोर्क

    हामीलाई न्युज छाप्नका हेतु थुप्रै सामग्रीहरु आउँछन् । कति छापिन्छन्, कति छापिदैनन् । कतिपय पर्खाइमा पर्दछन् । हाल ३६ पेजको पत्रिका ‘विश्वसन्देश‘ जुन हप्तैपिच्छे छापिन्थ्यो, त्यो परिस्थितिजन्य कारणले केही समयको लागि रोकिएको छ । अहिले अनलाइन ‘विश्वन्यूज‘ मात्र चालु छ । जसमा हामी अलिक चुजी भएका छौं । कविता, गीत र लघुकथा सामान्यतया वाह… वाला नभै छाप्दैनौं । त्यो सामग्री छापा पत्रिकाको लागि संग्रह गरेर राख्छौं । वर्तमान अवस्थामा कोरोना सम्वन्धि सामग्री र समाचारमा बढी फोकस भएका छौं । हरेक दिन बिबिध किसिमका प्रश्नको सामना गर्नु पर्छ; ‘मैले पठाएको समाचार के भयो ? हाम्रो पनि समाचार बन्नु पर्यो नि ! हाम्रो त किन छापिन्थ्यो र ! अन्तर्वार्ता गर्नुपर्यो । हाम्रोमा किन रिपोर्टर आएन नि ? संस्थाको बारेमा केही जानु पर्यो है ?’ यस्ता खालका आग्रह, अनुरोध, घुर्की इत्यादी अनौठो लाग्दैन । घुम्ती पसलेले बाटो सोध्ने बटुवालाई झर्को मानेर साध्ये पनि चल्दैन ।

    भन्नु होला कि; ‘तँपाईको छाप्ने मापदण्ड के‘ ? त्यसो त छापिने सामग्रीको मापन सुचक हुँदैन । हाम्रो विबेक नै सबथोक हो । त्यसो त; बिबेक प्रयोग गर्ने मान्छेको नै विबेक नपुगे के गर्ने ? त्यतिबेला ठान्नुहोस् कि भगवानलाई मञ्जुर थिएन । किनकि मान्छेले दोष थाप्न रअप्रत्यासित प्राप्तीमा जस दिनको लागि भगवान थपना गरेका छन् । जुन विश्वासले सधै न्याय दिने गर्दछ ।

    यस कुरामा निश्चिन्त हुनुहोस् कि तँपाईले प्राप्त गर्ने प्रतिफल न्यायीक नै हुन्छन् । जति तँपाईको हकमा परेको छ, त्यतिनै तँपाईको भाग थियो । मानिसलाई लाग्छ कि “मेरो मुल्याङ्कन कम भयो । मेरो चर्चा यतिले पुगेन । मेरो गतिलो पनि किन छापिएन“।
    कतै सुनेको एउटा नीतिकथालाई मेरो भनाई पुष्टी गर्ने जिम्मा दिन्छु ।

    एउटा मन्दिरको सिंढीमा गोपाल र कृष्ण गफ गर्दै थिए । रमेश थपिए । ३ जना साथीहरु गफ गर्दागर्दा रात परिसकेको थियो । त्यत्तिकैमा रमेशले भन्यो; अत्यत्नै भोक लाग्यो  । गोपालले भन्यो; ‘मसँग ३ ओटा रोटी छ, १,१ ओटा खाऔंला‘ । त्यसैमा कृष्णले थप्यो; ‘मसँग पनि ५ ओटा रोटी छन्, बाँडेर खाऔं‘ । जम्मा ८ ओटा रोटी ३ जनालाई कसरी भाग लगाउने भन्ने सल्लाह भयो । कृष्णले भन्यो; ‘सबै रोटीको३/३ टुक्रा पारौं अनि २४ टुक्रा भएपछि बराबरी भाग पुग्छ‘ । सबै राजी भए । ८/८ टुक्रा खाएर त्यही सुते । अर्को दिन विहान उठेर घर जानेबेला रमेशले भन्यो; तिमीहरुले आफ्नो खानाबाट काटेर मलाई ८ टुक्रा रोटी दिएकोले मेरो भोक टर्यो । यो ८ ओटा सुनको सिक्का राख‘ । सिक्का दिएर रमेश घर हिड्यो ।

    गोपालले भन्यो; ‘८ ओटा सिक्का छ, दुबैलाई ४/४ बराबर मिल्छ‘ । कृष्णले आपत्ति जनायो; मेरो ५ ओटा रोटी थियो, म ५ ओटा सिक्का लिन्छु । तिम्रो ३ ओटा रोटी थियो, तिमी ३ ओटा लिऊ‘ । बिबाद नमिले पछि पुजारीले “अहिले सबै सिक्का मलाई छाडेर घर जाऊ । भोली बिहान दुबै आऊ अनि म बाड्दिउँला” भनें । पुजारी न्यायीक र ज्ञानी भएकोले सबै सिक्का पुजारीलाई छाडेर घर गए । पुजारी कसरी वाड्ने भनेर हैरान थिए । पुजारीको सपनामा भगवान आएर भनें; ” गोपालको रोटीको ९ टुक्रा थिए । जसमा ऊ आफैले ८ टुक्रा खाए । उसले १ टुक्रा मात्र दान गर्यो । त्यस्तै, कृष्णको रोटीको १५ टुक्रामा उसले ७ टुक्रा दान गर्यो । यसर्थ; योगदानको आधारमा गोपाललाई १ सुनको सिक्का देऊ, बाँकी ७ ओटा कृष्णलाई देऊ” । भगवानको न्याय सुनेर पुजारी चकित परे । उनको दिमागमा कहिल्यै नआएको तरिका भगवानले बताएकोले सोही अनुसार कृष्णलाई ७ सिक्का र गोपाललाई १ सिक्का दिए ।

    वास्तवमै हामीलाई लाग्छ कि; मैले गरे अनुसार मुल्याङ्कन भएन । पाउनु पर्ने बढी थियो । तर प्राप्ती र समाप्तीको निर्णय माथिबाट न्यायीक नै भई रहेको हुन्छ । दिन नआएसम्म केही हुँदैन । आएपछि कुनै दबाईले छुँदैन । स्वस्थ रहनुस् ।

  • गभर्नर कुमोले भनें; न्युयोर्कमा कोरोना महामारीको ‘हाफ टाईम’ भयो

    गभर्नर कुमोले भनें; न्युयोर्कमा कोरोना महामारीको ‘हाफ टाईम’ भयो

    न्युयोर्क

    न्युयोर्क राज्यका गभर्नर एन्ड्रु कुमोले न्युयोर्कमा कोरोना संक्रमण महामारीको ” ‘हाफ टाईम’ भएको बताएका छन् । गत मार्च १ तारिख ईरान भ्रमणबाट न्युयोर्क फर्किएकी ३९ बर्षीया महिलामा पहिलो पटक कोरोना संक्रमण देखिएको न्युयोर्कमा झन्डै डेढ महिना पछि २ लाख संक्रमित र १८ हजार ५ सयको मृत्‍यु भै सकेको छ । गभर्नर कुमोले न्युयोर्कमा कोरोना संक्रमणको हाफ टाईम भएको कुरा आइतबार उनको नियमित प्रेस ब्रिफिङमा बताएका हुन् । आईतबार आयोजित प्रेस ब्रिफिङमा कुमोले भनें; “कोरोनासँगको लडाईं अहिलेसम्म हामीले जितेका छैनौं र कुनै पनि ब्यापार ब्यवसाय पुन: सुचारु गर्ने कुरा आगामी दिनमा देखिने कोरोना संक्रमितको संख्या र कोरोना जाँचको संख्यामा निर्भर हुनेछ। कोरोनासँगको हाम्रो लडाईंको अवस्था अहिले हाफ टाईम मात्र हो” ।  

    प्रेस ब्रिफिङमा कुमोले अहिलेको अनुभबबाट अब न्युयोर्कको पुनर्निमाण गर्नु पर्ने शिक्षा मिलेको समेत बताउँदै भनें “यसबाट  सिकेर अगाडि बढदै पहिले भन्दा कसरी राम्रो न्युयोर्क बनाउने भन्ने शिक्षा मिलेको छ । अब न्युयोर्कलाई सुचारु गर्दा पहिले भन्दा सहज परिस्थितीमा खोल्न्नु पर्दछ” ।

  • नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

    नेदरल्यान्डमा कोरोनाको कारण लक्ष्मीको निधन

    अप्रिल १९ 

    नेपालमा म्याग्दी जिल्लाकी स्थायी बसिन्दा ४० वर्षीय लक्ष्मी भट्टचनको कोरोना भाइरसबाट संक्रमित भई नेदरल्यान्डमा निधन भएको छ । मृत्यु बारे नेदरल्याण्डका लागि पर्यटनदूतसमेत रहेका शशि पौडेलले संचार माध्यमलाई जानकारी दिएको हो । उनले भट्टचनको अकस्मात निधनले समस्त नेपाली समाज नेदरफ्याण्डलाई स्तब्ध बनाएको बताएका छन् ।  हालसम्म २९ प्रबासी नेपालीले कोरोनाको कारण ज्यान गुमाइसकेको अवस्थामा नेदरल्याण्डमा कोरोनाबाट ज्यान गुमाउनेमा लक्ष्मी पहिलो नेपाली हुन् ।

    थकाली समाज बेल्जियमका सचिव रोशन शेरचनले संसारभर बसोवास गर्ने थकाली समुदायका सदस्यहरू मध्येमा यो नै पहिलो दुःखद घटना भएको उल्लेख गरेका छन् । उनले भट्टचनको निधनको खबरले स्तब्ध बनाएको भन्दै दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा धैर्य धारणा गर्ने शक्ति प्राप्त होस, भन्ने कामना गरेका छन् ।

    आजैमात्र गैरआवासीय नेपाली संघले विश्वमा कोरोनबाट ज्यान गुमाउने नेपालीको संख्या २९ भएको जनाएको थियो । लक्ष्मीको निधनसँगै विश्वमा कोरोनाका कारण ज्यान गुमाउने नेपालीको संख्या ३० पुगेको छ।

    तस्बिर : संसार न्युज

  • काठमाडौंको लकडाउनमा आपतको बेला अघि बढेको धन बहादुर सिंहको दानी हात

    काठमाडौंको लकडाउनमा आपतको बेला अघि बढेको धन बहादुर सिंहको दानी हात

    धन लामा / कनेक्टिकट

    कोरना भाइरसको कारण अहिले नेपाल  घोषित लकडाउनमा छ । यसको अर्थ आफू पनि बाँचौं र अरुलाई पनि बचाऔं हो, तथापि विभिन्न तह र तप्काका जनमानसमा यसको विविध खाले प्रभाव परेको छ । यसै प्रसंगमा सुदुर पश्चिमको बझांगबाट काठमाडौं आएर आफ्नो पेसा गरि बसेका किशोर विष्टको कथा बेग्लै छ । उनी करिव १४ वर्ष अघि उच्च शिक्षा हासिल गर्ने सिलसिलामा काठमाडौं आएका थिएँ । त्यस बेला आफ्नो कमाई नभएकोले घरबाट पैसा आउने दिन कुरेर बस्दथे । त्यो बेला अहिलेको जस्तो हात हातमा मोबाईल फोन थिएन र घरबाट महिनाको एक दिन फोन आउँथ्यो, त्यो पनि तीन चार घन्टा हिडेर सदरमुकाम चैनपुरबाट । घरबेटीको ल्याण्डलाईनमा फोन आउने भएकोले संकोच मान्दै कुरा गर्थे । कहिले काहीं घरबेटीले “कोठामा छैन” पनि भनि दिन्थ्यो । पैसा पठाएको छ भन्ने खबर पाए पछि, तीन दिनसम्ममा भाेटाहिटी रा.वा. बैंकको बाटो तताईन्थ्यो । पैसा निकाले पछि घरबेटीको भाडा, पसल रासनको उधारो तिर्न ठिक हुन्थ्यो । कुनै बेला समयमा पैसा नआएमा चामल सकिएर भोकै बसेको, कुनै दिन ग्याँस सकिएर चाउचाउ चिउरा खाएर सुतेको सम्झना अझै ताजा नै रहेको सुनाउँछन् । ‘आर्थिक अभाव हुँदाको छटपटी र खाना बिना भोकै सुत्नुको पिडा कसैलाई नपरोस्’ भन्छन् । अहिले कोरोना महामारीको कारण रोजिरोटीको लागि दैनिक मेहेनत गरेर गुजारा चलाउने वर्गका मानिसहरुको पीडाले उनलाई पोल्यो । उनी थप्छन् “काठमाडौंमा संघर्षको समयमा सितापाइलामा बस्थें र डल्लुबाट चामल काँधमा बोकेर लान्थें । मेरो अभिभावक धन बहादुर सिंह काकाले पसलबाट उधारो निकालेर दिनु हुन्थ्यो” त्यही समयमा उनलाई लाग्यो कि कसैले पनि खानाको अभाव भोग्नु नपरोस् । सोही कारणले उनले यो लकडाउनको समयमा थलारा गाउँपालिका स्थायी घर भई हाल उच्च शिक्षा हासिल गर्न र लोकसेवाको तयारी कक्षा लिनको लागि काठमाडौं बस्दै गरेका भाइ बहिनीहरुलाई केही समस्या भएमा खबर गर्न भनेका भनेका छन् । केही भाइबहिनीहरुले चामल सकियो घरबाट पैसा आएको छैन र बैंकहरु बन्द छन भन्ने जानकारी गराएपछि किर्तिपुरसम्म गएर ती भाईहरुलाई सहयोग गरेका छन् । जस अन्तर्गत थलारा गाउँपालिका – ७ का रोहित उपाध्याय, थलारा गाउँपालिका -९ का रोसन उपाध्याय, उमेश जोशी, सुरेन्द्र विष्ट, विवेक विष्ट,सुरज विष्ट, भेष विष्ट र जयराज भण्डारीलाई सहयोग गरेका हुन् । 

    जुन उदेश्यले विद्यार्थीहरु काठमाडौं आउनु भएको हो,त्यो पूरा हुन जरुरी छ । साथै बिष्टले थप सहयोग उपलब्ध गराउनु भएकोमा बझांग जिल्ला घर भई हाल संयुक्त राज्य अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गरिरहनु भएका काका धन बहादुर सिंहलाई महान कार्यको लागि धन्यवाद दिएका छन् । साथै थलारा गाऊँपालिकाका काेही विद्यार्थी भाइबहिनीहरू लकडाउनकाे कारणले काठमाडौंमा रोकिएर आवश्यक खाद्यान्न किन्नलाई समस्या भएमा उनलाई ९८४३२८९५९० मा सम्पर्क गर्न समेत भनेका छन् ।

  • सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

    सामाजिक अगुवाहरुद्वारा न्यूयोर्क निवासीहरुलाई संघीय सहयोग रकम जोखिममा परेका समुदायलाई सहयोग गर्न आह्वान

    (यो आर्टिकल यसअघि अंग्रेजी भाषाको डिजिटल अनलाइन ‘द सिटी’ मा अप्रिल १४ तारिखका दिन प्रकाशित भएको थियो)

    कृष्टिन चुन, न्यूयोर्क 

    गोमाले म्यानह्याटन शहरको एक नेल्स सलनमा काम गर्न थालेको झण्डै दुई दशक भयो । उनी मिड-टाउन म्यानह्याटनमा काम गर्न आफ्नो एल्महर्ष्टस्थित अपार्टमेन्टबाट हरेक दिन जसो गइरहेकी थिइन् भने उनको श्रीमान उबर चलाउँछन् ।

    अहिले कारोना भाइरसका कारण दुबै जनाको काम छैन र भएको संचित रकम बिस्तारै सकिरहेको छ । गोमा, जो आफ्नो थर खुलाउन चाहँदिनन्, उनी ‘क्यास’मा काम गर्थिन् । त्यही भएर अहिले उनले बेरोजगारी भत्ताको फर्म भर्न पाउँदिनन् । त्यसमाथि संघीय सरकारबाट दिइने रकम पाउन पनि उनी योग्य छैनन् ।

    ‘मलाई लाग्छ सरकारले हाम्रो कामलाई पनि कदर गर्नुपर्छ, अझ यतिबेला झन्, किनभने यस महामारीले सबैलाई असर गरिरहेको छ’, उनले अनुवादकको सहयोगमा भनिन् ।

    ‘यतिखेर केहीलाई सहयोग दिने र केहीलाई नदिने गर्न मिल्दैन । यतिखेर सबैले समान सहयोगको अपेक्षा गरेका छन्’ उनले थपिन् । न्युयोर्क शहरमा काम गरिरहेका धेरै सामाजिक समुहहरुले संघीय सरकारबाट पाएको रकम त्यस्ता व्यक्तिहरुलाई सहयोग गर्न आग्रह गरिरहेका छन्, जो सरकारी सहयोग पाउनबाट कानूनी रुपमा वञ्चित छन् ।

    ‘यही बेला हो हामी अग्रसर भएर ती न्युयोर्कवासीलाई सहयोग गर्ने जो यस्ता सहयोगबाट वञ्चित छन्’ स्ट्रिट भेन्डर प्राजेक्टकी डेपुटी डिरेक्टर करिना कोफमान गुटेरिजले भनिन् ।

    राहत प्याकेजबाट छुटेकाहरु:

     संघीय सरकारले भर्खरै ल्याएको २ ट्रिलियन डलरको राहत प्याकेजले सोसियल सेक्युरिटी भएका ती व्यक्तिहरु जसले वार्षिक ७५ हजार डलरभन्दा कम कमाउँछन्, उनीहरुलाई एक पटकको लागि १२०० डलर दिंदै छ । त्यस्तै, वार्षिक ९९ हजार डलरसम्म कमाउनेले पनि केही रकम पाउँदैछन् ।

    उक्त परिवारमा रहेका १७ वर्षमुनिका प्रत्येक बच्चाको भाग ५०० डलर भने छुट्याइएको छ । ट्रेजरी सेक्रेटरी स्टिभन मनुसिनका अनुसार जसले ट्याक्स फाइल गर्दा बैंकको जानकारी दिएका छन्, उनीहको खातामा पहिलो रकम अप्रिल १७ तारिखतिर आउँदैछ । सन् २०१८ वा २०१९ मा ट्याक्स फाइल गरेकाहरुले अरु केही गर्नु पर्दैन । आइ. आर. एस. ले अन्यका लागि भने अनलाईन पोर्टल बनाएको छ ।

    यता १०औं लाख व्यक्तिहरु जसको आफ्नो बैंक खाता छैन, कानूनी रुपमा अनडकुमेन्टेड छन् र अरुमाथि डिपेन्डेन्ट छन्, उनीहरु यो सहयोग पाउन योग्य हुंदैनन् । न्यू अमेरिकन एकोनोमिले सन् २०१८ मा गरेका रिसर्च अनुसार लगभग १ करोड आप्रवासीहरु ‘अनडकुमेन्टेड’ छन् ।

    ‘आप्रवासीहरु जो संघीय सरकार र राज्य सरकार दुबैलाई कर तिर्छन् तर उनीहरुसंग सोसियल सेक्युरिटी कार्ड छैन भने उनीहरु राहत प्याकेज पाउन हकदार हुंदैनन्,’ न्यूयोर्क इमिग्रेशन कोलिसनका उपाध्यक्ष अनु जोशीले बताइन् ।

    द डेली न्युजका अनुसार कम्तीमा १ लाख १२ हजार न्युयोर्कवासीसंग व्यक्तिगत कर नम्बर छ तर सोसल सेक्युरिटी छैन । ‘अनडकुमेन्टेड आप्रवासीहरु यतिखेर सबैभन्दा बढी प्रभावित छन् र उनीहरु आफ्नो ज्यानलाई जोखिममा पारेर काम गरिरहका छन् ताकि हामी सुरक्षित रहौं,’ जोशीले बताइन् । ‘उनीहरुलाई जानीजानी राहत प्याकेजबाट वञ्चित गराइएको हो । यसको अर्थ कि घरमा बस वा बाहिर गएर काम गरेर आफ्नो परिवारलाई पाल भन्न खाजिएको हो,’ जोशीले बताइन् ।

     सामाजिक समुहहरु जस्तै मेक द रोड न्युयोर्क, द स्ट्रिट भेन्डर प्रोजेक्ट, अनलोकल , न्यूयोर्क नेल सलन वर्कर्स संघ लगायतले मानिसहरुलाई डोनेशन गर्न प्रोत्साहन गरिरहेका छन् । ‘यसरी पैसा उठाएर सहयोग गर्नु ती प्रभावितहरुको लागि अस्थायी रुपमै भएपनि एकदमै महत्वपूर्ण काम होे,’ न्यूयोर्क नेल सलन वर्कस संघका अर्गनाइजिङ डिरेक्टर लुइस गोमेजले बताए ।

    ती समुहहरुले यसको स्थायी समाधानका लागि लडिरहँदा ती प्रभावितहरुका लागि यस्ता सहयोग गर्न अघि बढ्नु एकदमै सराहनीय कदम भएका गोमेजले ठम्याए ।

    ऋणको चिन्ता :

    इस्ट हार्लममा चुरोज र आइसक्रिम बेच्ने मेक्सिकन मुलकी ५० वर्षीया फ्रान्सिस्काले १ महिनादेखि काम गर्न पाएकी छैनन् । उनलाई अर्को महिनाको घरभाडा कसरी तिर्ने भन्ने चिन्ता छ । उनकी कलेज पढ्ने १९ वर्षिया छोरी र उनले फुड बैंकबाट प्राप्त गरेका खाना खाएर बांचिरहेका छन् । आफुसंग भएका चामल र गेडागुडी खटाइ–खटाइ खाइरहेका छन् । ‘मलाई चिन्ता छ यो कोराना भाइरसको असर सिद्धिएपछि म ऋणमा चुर्लुम्म डुबेको हुनेछु,’ स्पेनिस भाषामा उनले बताइन् । ‘हामी जस्तालाई सरकारले सहयोग नगरेको देखेर एकदमै नरमाइलो लागि रहेको छ । यो अन्याय नै हो,’ उनले भनिन् । ‘यदि त्यो चेक पाएको भए ग्रोसरी र अन्य बिल तिर्न पुग्थ्यो जुन अहिलेको प्रमुख आवश्यक्ता हो,’ उनले थपिन् ।

     स्टेटन आइल्याण्डमा ६ बेरोजगार साथीहरुसंग बस्ने २७ वर्षीया बेरेनिश एगुले केही सहयोग पाए आफुले खाना किन्ने बताइन् । मेक्सिकोबाट आएकी बेरेनिस पनि उनको इमिग्रेसन स्ट्याटसका कारण राहत पाउनबाट वञ्चित छिन् । ‘मलाई थाहा छैन विना काम हामी कतिन्जेल टिक्न सक्छौं भनेर,’ स्पेनिस भाषामा बेरेनिशले बताइन् । ‘हामी पनि मान्छे हौं नि,’ उनले भनिन् । ‘हामी यहाँको नागरिक नभएपनि हामीले कामदारले पाउने अधिकार त पाउनुपर्छ,’ उनले भनिन् ।

    यो आर्टिकल तयार पार्न स्ट्रिट भेन्डर प्रोजेक्टकी एमेलि रोजन्जिग, वर्कस युनाइटेडकी लियन टोरी मर्फी र अधिकारकी प्रार्थना गुरुङले अनुवादमा सहयोग गरेका थिए ।

     (यो रिपोर्ट ‘द सिटी डट न्युयोर्क’ को अनुरोधमा नेपालीमा उल्था गरी प्रकाशित गरिएको हो)

  • कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

    कोरोनालाई जितेकी न्युयोर्ककी नर्स निमाको नेपालीलाई सहयोग गर्ने अठोट

    न्युयोर्क

    सानो होस् या ठुलो अनि निर्बलदेखि शक्तिसालीसम्म र धनीदेखि गरिबसम्म  सबैलाई त्रासमा बाँच्न वाध्य पार्ने एउटै नाम छ, कोरोना भाइरस । बाहिरी आँखाले देख्न नसकिने यो भाइरस संक्रमणको त्रासले संसारभरका दुई सय राष्ट्रहरु यसको नियन्त्रयको लागि क्षमताले भ्याएसम्म पौंठेजोरी खेल्दै छन् । बिसौं लाख संक्रमित भइसकेका छन् । डेढ लाख भन्दा बढी मानिसले कोरोना कै कारण जीवन गुमाई सकेका छन् । प्रवासमा बसोबास गर्ने नेपाली जनसंख्याको ठुलो हिस्सा पनि यही महामारीका कारण त्रास र पिडादायी अवस्थामा बाँच्न वाध्य छन् । पछिल्लो समय कोरोना केन्द्र बिन्दुको रुपमा उदाएको न्युयोर्क सहरमा बसोबास गर्दै आएको नेपालीको ठुलो हिस्सा पनि त्यतिकै प्रभावित हुन पुगेको छ । 

    महामारीको समयमा भाईरस संक्रमित हुनु एवम् रोग लाग्नुलाई अस्वाभाविक मानिदैन तर रोग लागेर पनि अन्धविश्वासी भई रहनु चाँहि अहिले प्रबासमा ठुलो चुनौती बनेको छ । अधिकांश संक्रमित सुरुमा देखिने कोरोनाको लक्षण ज्वरो आउनु, खोकी लाग्नु, घाँटी दुख्नु, टाउको दुख्नुलाई कोरोना भनेर सहस्र स्विकार गर्दैनन् । धेरै चिसो खाएको कारणले खोकी लागेको, राती निन्द्रा नपुगेर टाऊको दुखेको, चिल्लो पिरो खाएर घाँटी दुखेको, टाईफाईडको ज्वरो आएको आदी भन्दै संक्रमणको लक्षण देखिएको १० औं दिनसम्म पनि अधिकांश नेपालीहरु त्यतिकै घरमा बस्ने समस्या देखिएको दृष्टान्त न्युयोर्कमा लामो समयदेखि नर्सिङ पेसामा आबद्ध निमा शेर्पा आफ्नो अनुभव सुनाउँछिन् । नेपालमा सोलुखुम्बु घर भएकी निमा स्वयम् कोरोना संक्रमणलाई जितेर स्वस्थ भएकी हुन् । कोरोना संक्रमणबाट सिंगो परिवार संक्रमित भएर स्वस्थ भए यता निमा न्युयोर्कस्थित नेपाली समुदायमा संक्रमित ब्यक्तिहरुलाई कोरोनासँग जितेर फर्काउनको लागि लगातार खटिरहेकी छिन् ।  

    निमा आफु मात्र होईन आफ्नो पति र दुई बच्चा समेत संक्रमित भई दुई हप्ता कोरोनासँगको युद्ध जितेर आएपछि आफू झनै शक्तिशाली भएको महसुस गर्छिन् । तर अहिले एपिसेन्टर न्युयोर्कमा हरेक दिन आउने नेपालीको मृत्‍युको खबरले भने उनलाई निकै बिचलित बनाएको छ । निमाले आफू सञ्चो भएर न्युयोर्कको नेपाली समुदायका बिरामीहरुलाई उपचार, सल्लाह र सहयोग गर्न थालेको झन्डै २ हप्ता हुन लाग्यो । तर दुई दिन अगाडि मात्र न्युयोर्कमा मृत्‍यु भएका पवन मल्लको खबरले त झनै बिचलित बनाएको बताउँदै निमा भन्छिन् “त्यो मल्ल भाई यही उड साईडमा बस्ने मान्छे रहेछन् म पनि यँही उड साईडमा बस्छु । उनी बिरामी भएको समयमा यदि राम्रो चिकित्सकको उपचार नपाए पनि मसँग मात्र संपर्कमा आएको भए मैले धेरै नै मद्दत गर्न सक्ने थिए तर अब समय बितिसक्यो पश्चाताप गर्नुको बिकल्प छैन । तर पनि यो घटनाले निकै दिक्क लागेको छ” । १४ बर्षदेखि अमेरिकास्थित नर्सिङ पेसामा सेवारत निमा बिगत ४ बर्षदेखि प्रख्यात माउन्ट साइनाई हेल्थ सिस्टम न्युयोर्कमा कार्यरत छिन् । निमा आफु भित्र कोरोना संक्रमित नेपालीलाई रोगबाट उन्मुक्तीको लागि सहयोग गर्ने हुटहुटी बढेको बताउँदै भन्छिन् “महामारीको समय छ चिकित्सकहरु धेरै ब्यस्त छन् ।  अस्पातलहरु भरिभराउ छन् । बिरामीहरु आत्तिने गर्दछन् । कोसँग सल्लाह लिने ?कस्लाई सोध्ने ? भन्ने कुराको आन्योल छ त्यसैले यस्तो समयमा मलाई २४ घण्टा नै संपर्क गरेपनि मैले जानेको बुझेको सहयोग गर्ने थिए” ।

    हाल न्युयोर्कमा ५ सय भन्दा धेरै नेपाली कोरोना संक्रमित भएर आफ्नो निवासमा स्वास्थ लाभ गरिरहेको र झन्डै ५० जना अस्पातलमा उपचार गरिरहेको अनुमानित आँकडा छ । जुन आँकडाको अधिकारिक पुष्टि भने छैन ।  

    कोरोना संक्रमणले मान्छेको शरिर मात्र कमजोर नबनाई यस्ले आत्मबल समेत कमजोर बनाउने हुँदा यस्तो अवस्थामा बिरामीसँग स्वास्थ क्षेत्रको अलिकति  अनुभवी ब्यक्तीको सुझाबले निकै आत्मबल बढ्ने र बिरामीको ज्यान नै जोगिने निमाको अनुभव छ । सही काउन्सेलिङ नहुँदा थुप्रै नेपाली बिरामीले अहिले नेपालबाट ल्याएको औषधी र अमेरिकाकै फार्मेसीको काउन्टरमा किनेको औषधी दुईवटा नै खाने गरेको आफूले भेटेको निमा सुनाउँदै भन्छिन् – “थुप्रै नेपाली दाजूभाईले नेपालबाट ल्याएको औषधी र अमेरिकामा किनेको औषधी दुई थरी नै खाने गरेका छन् । उनीहरुले नेपालको औषधी र अमेरिकाको औषधीको नाम फरक देखेको कारण दुई वटा नै खान्छन् तर औषधीमा भएको केमिकल एउटै भएर डलब डोज औषधी खाएर थप बिरामी हुँदै गएको अवस्था छ” ।  

    अन्त्यमा निमा भन्छिन्; “अरु समय कम्युनिटीको साथ आवस्यक नहुन सक्छ तर यस्तो अवस्थामा नेपाली समुदाय एक भएर कानूनी कागजात भएका/नभएका, जात धर्म र समुदाय मतलब नगरि कोरोनासँग बिजय प्राप्त गर्नु महत्वपूर्ण कुरा हो । त्यसैले खानु पर्ने औषधी नखाएर नखानु पर्ने औषधी खाएर थुप्रै मान्छे थप रोगी हुनबाट र मृत्‍यु हुनबाट  जोगाउने लगायत बिरामीलाई आत्मबल दिने काम महत्वपूर्ण भएको छ । यसर्थ मलाई जुनसुकै बेला इमेल मार्फत सम्पर्क गरि आफ्नो समस्या र फोन नम्बर छोडेमा फेसटाईम र भिडियो कलबाट समेत म सहयोग गर्दछु । संकोच नमान्नु होला । मेरो इमेल : [email protected] हो” ।

    (विश्वन्युज र विश्व सन्देश साप्ताहिकको लागि बिजय राम पौडेलसँगको कुराकानीमा आधारित )

  • १२ सय डलर खातामा आएको छैन भने ५ कारण यस्ता छन्

    १२ सय डलर खातामा आएको छैन भने ५ कारण यस्ता छन्

    न्युयोर्क

    यो हप्ता आई आर एसले ८ करोड मानिसको खातामा संघीय सरकारद्वारा उपलव्ध गराइएको कोरोना राहत प्याकेजको रकम पठायो । यदि तपाईं त्यो पैसा पाउने भाग्यमानीमा पर्नु भएन भने यो नसोच्नुस् कि तपाईंले अब पैसा प्राप्त गर्नु हुन्न ।

    कुल जनसंख्याको झन्डै ८० प्रतिशत मानिस यो राहत रकम प्राप्त गर्न योग्य हुँदा हुँदै पनि यो हप्ता तपाईंले मात्र आफ्नो बैंक खातामा पैसा नदेखेको होईन । अर्को ६ करोड मानिस पनि ब्यांक खातामा डाइरेक्ट डिपोजिटको लागि कुरी रहेका छन् । तपाईंले यो हप्ता पैसा नपाउनुको ५ कारण यस्ता छन् :

    १) यदि सन् २०१८ र १९ मा फेडरल ट्याक्स  रिफन्ड लिएको छैन भने : अहिले राहत रकम पठाउदा आई आर एसले सन् २०१८/१९ मा फेडरल रिफन्ड रकम पठाएको ब्यांक खातामा पैसा पठाएको हो । यदि तपाईंले २०१८ र २०१९ मा ईलेक्ट्रोनिक ट्याक्स फाईल पनि गर्नु भएको छ । तपाईंको खाता नम्बर आई आर एससँग भए पनि तपाईंले फेडरल रिफन्ड प्राप्त गरेको छ भने मात्र त्यो खातामा पैसा आएको हो । तपाईंले आई आर एसलाई ट्याक्सको पैसा तिरेको छ भने त्यो खातामा अहिले आई आर एसले पैसा पठाएको छैन ।  

    २) तपाईंको पैसा पुरानो खातामा गएको पनि हुन सक्छ : यदि तपाईंले सन् २०१९ मा फेडरल  टयाक्स रिफन्ड पाएको छैन वा सन् २०१९ को ट्याक्स फाईल गरेको छैन भने सन् २०१८ मा रिफन्ड् प्राप्त गरेको ब्यांक खातामा पैसा गएको हुन सक्छ । केही मानिसहरुले समाचार एजेन्सी सि एन एनलाई भनेका छन् उनिहरुको पैसा आई आर एसलाई बन्द भै सकेको खातामा पठाएको छ । यस्तो अवस्थामा ब्यांकले पैसा आई आर एसलाई फिर्ता पठाउँदछ र केही हप्ता पछि चेक घरमा आउँदछ ।  

    ३) कर दाखिला गर्ने ब्यक्तीले खडा गरेको अस्थाई खातामा : तपाईंलाई थाहा नहुन पनि सक्छ कहिले काँही ट्याक्स तयार गर्ने ब्यक्तीले खडा गरेको अस्थाई खातामा तपाईंको ट्याक्स रिफन्ड लिई पछी आफ्नो ट्याक्स तयार गरेको सुल्क कटाएर त्यसपछी मात्र तपाईंको आफ्नो ब्यांक खातामा वा डेबिट कार्डमा पठाउने गरेको पनि हुन सक्छ ।  यस्तो अवस्थामा पैसा प्राप्त गर्न समय लाग्न सक्छ । सन् २००८ मा सरकारले पठाएको स्टिमुलस रकम प्राप्त गर्दा २ करोड मान्छे यस्तो अवस्थाले अप्ठेरोमा परेका थिए ।  पछि ती २ करोड मानिसको चेक घरमा आएको थियो ।  

    ४) यदि तपाईंले सन् २०१९ मा ट्याक्स फाईल गर्दा ईलेक्ट्रोनिक नगरेर कागजी फाईल गर्नु भएको छ भने : यदि तपाईको सन् २०१८ को ट्याक्स रिफन्ड ब्यांक खातामा डाइरेक्ट डिपोजिट भएको छैन र सन् २०१९ मा ट्याक्स फाईल कागज नै हुलाकबाट पठाएर गर्नु भएको छ भने पनि तपाईंले यो हप्ता राहत रकम खातामा देख्नु भएन ।  अहिले आई आर एसको अधिकांश काम कोरोना महामारीका कारण ‘रिमोट्ली’ (नियमित कार्यालयमा नगई) भई रहेको छ । हुलाकबाट आएका कागजी ट्याक्स अभिलेख पुन: कार्यालय नखुलेसम्म प्रकृयामा गएका छैनन । यस्तो अबस्थामा केही समय पछि हुलाक मार्फत चेक तपाईंको घरमा आउने छ ।  

    ५) ट्याक्स फाईल गर्नै नपर्ने अवस्था हुँदा :

    अमेरिकामा लाखौं त्यस्ता ब्यक्ती पनि छन् जसले न्युन आम्दानी भएको कारण ट्याक्स फाईल गर्नु पर्दैन । साधारणतया अघिल्लो बर्ष प्रतिब्यक्ती १२,२०० डलर र दम्पत्तीले २४,४०० डलर आम्दानी गर्नेले आई आर एसको पूर्ण नयाँ फर्म भर्नु नपर्ने अवस्थाका मानिसले हालै स्टिमुलस रकमको लागि आई आर एसले सुरु गरेको नाम जन्ममिति र सोसल सेक्युरिटी नम्बर भर्नु पर्दछ । जुन सामान्य फर्ममा आम्दानी भने खुलाउनु पर्दैन ।    

    श्रोत : सि एन एन

  • कोरोनाको संक्रमणबाट न्यूयोर्कमा थप एक नेपालीको निधन

    कोरोनाको संक्रमणबाट न्यूयोर्कमा थप एक नेपालीको निधन

    एप्रिल १६, न्यूयोर्क

    विश्वव्यापी महामारी बनेको कोरोनाले न्यूयोर्क सहरलाई सबैभन्दा आक्रान्त पारेको अवस्थामा न्यूयोर्कको क्वीन्सस्थित रक्कवेमा बस्दै आएका महेश अमात्यको निधन भएको छ ।

    श्रीमती शारदा लक्ष्मी श्रेष्ठका साथ बस्दै आएका ७० वर्षीय अमात्यको बिहीबार बिहान आज क्वीन्सको जमैका हस्पिटलमा निधन भएको हो । बुधबार साँझ उहाँलाई गाह्रो भएपछि एम्बुलेन्समा अस्पताल लगिएको थियो । निरन्तर ज्वरो आउने क्रम नरोकिएपछि पिसाब समेत रोकिएको थियो । मे महिनामा नेपाल जाने तयारीमा रहेका अमात्य बिगत २ हप्तादेखि कोरोना भाइरस संक्रमित भएपछि घरमै बसेर उपचार गराउँदै आएका थिए ।

    यो घटनासँगै हालसम्म न्यूयोर्क सहरबाट ७ जना नेपालीको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भइसकेको छ ।

    (योगेश आदी)

  • न्युयोर्कको लकडाउन मे १५ सम्म लम्बियो

    न्युयोर्कको लकडाउन मे १५ सम्म लम्बियो

    न्युयोर्क      

    न्युयोर्क राज्यको लकडाउन आगामी मे १५ सम्म कायम हुने भएको छ । गभर्नर एन्ड्रु कुमोले न्युयोर्कमा कायम रहेको लकडाउन आगामी मे १५ सम्म रहने न्युयोर्कको राजधानी अल्बानीबाट बिहीवारको प्रेस ब्रिफिङमा बताएका हुन् । कुमोले अन्य राज्यहरुसँगको सहकार्यमा अहिलेको लकडाउनलाई कायम राखिने बताएका छन् ।  यस अगाडि तय गरिएको अप्रिल ३० सम्मको लक डाउनलाई मे १५ सम्म बढाउने निर्णय गरेको बताउदै कुमोले भनेका छन् “अहिले हामीले जे गरी रहेका छौं, यसैलाई नियमीत गर्छौ । म यो भन्दा धेरै कम संक्रमित दर भएको म हेर्न चाहन्छु” ।

    न्युयोर्कमा कोरोना संक्रमण सुरु भए यता सबै भन्दा कम संक्रमितको संख्या बुधबार देखिएको र आी सि युसम्म पुग्ने र अस्पातल भर्ना हुने बिरामीको संख्यामा पनि निकै सुधार आएको भन्दै उनले छिमेकी राज्यहरुसँगको सहकार्यमा अहिलेको लकडाउनलाई एक महिना लम्ब्याउने बताएका हुन् । यद्यपी कुमोले कुन कुन राज्यले लकडाउन बढाउने सहमती गरेको हो त्यो भने खुलाएका छैनन् ।  यस अगाडि डेलावर राज्यले मे १५ सम्म बढाउने निर्णय गरिसकेको छ भने न्युयोर्क राज्यमा यस अगाडि नै अर्को सुचना नआउन्जेलसम्म “पुट इन प्लेस” घोषणा गरिएको छ ।  

    अमेरिकामा ६ लाख ४० हजार २ सय संक्रमित र ३१ हजार भन्दा धेरैको मृत्‍यु हुँदा  न्युयोर्क राज्यमा मात्र २ लाख १४ हजार ८ सय संक्रमित र १५ हजारको कोभिड -१९ का कारण मृत्‍यु भै सकेको छ ।

  • अमेरिकी सरकारको १२ सयको कोरोना राहत रकम बन्द भै सकेका र मृत्‍यु भै सकेका मान्छेको खातामा भटाभट जम्मा

    अमेरिकी सरकारको १२ सयको कोरोना राहत रकम बन्द भै सकेका र मृत्‍यु भै सकेका मान्छेको खातामा भटाभट जम्मा

    न्युयोर्क

    अमेरिकी सरकारले प्रदान गर्ने कोरोना भाइरस राहतको आर्थिक प्याकेजको रकम यो हप्ता मात्र १ करोड अमेरिकीको खातामा सिधै पुग्ने अपेक्षा अर्थ मन्त्रालय (ट्रेजरी डिपार्ट्मेन्ट) को थियो । तर पैसा पठाइएका सबै अमेरिकीका बैंक खातामा पैसा पुगेको छैन । लाखौं अमेरिकी जनता सरकारी आर्थिक प्याकेज प्राप्त गर्न योग्य हुँदा हुँदै पनि ब्यांक खातामा पैसा नआएका कारण संकटको समयमा अर्को चिन्तामा परेका छन् । खातामा पैसा जम्मा नभएका लाखौं अमेरिकी अहिले “पेमेन्ट ट्र्याकिङ” गर्न खोज्दै छन् । तर पोर्टलले समेत बिभिन्न किसिमका “एरर् मेसेज” दिने गरेको छ भने थुप्रै राहत रकम मृत्‍यु भै सकेका ब्यक्तीहरुको ब्यांक खातामा जम्मा हुन पुगेको छ ।  

    अमेरिकीहरुलाई अर्थ मन्त्रालय मार्फत पठाईएको राहत रकमको सम्बन्धमा ए बि सि न्युजले लेखेको छ – न्युजर्सीस्थित वाटर फोर्ड वर्कर्समा कार्यरत ब्रायन लिड्स आफ्नी बिधुवा आमाको सहयोगका लागि राहत रकम कुर्दै थिए । उक्त राहत रकम प्राप्त हुने बित्तिकै उनलाई आफ्नी आमाको कोठा भाडा र बिलहरुको भुक्तानी दिनु थियो । गत जनवरीमा ब्रायनले नियम अनुसार कर दाखिला पनि गरेका थिए । उनले कर दाखिला गर्दा आफ्नो ब्यांक खाता मार्फत नै करको पैसा कारोबार गरेका थिए । तर अहिले महामारीको समय छ सरकारी राहत बाढन् थालेको समाचार आयो । ब्रायनले आई आर एसले भर्खरै सुरु गरेको “गेट माई पेमेन्ट”  मार्फत राहत रकमको जानकारी लिए तर पैसा उनको खाता नम्बरमा होईन उनको खाता नम्बरको अन्तिम एक अक्षर छुटाएर गलत नम्बरमा पठाईएको रहेछ । अहिले उनको दिन चर्या कहिले ब्यांकमा फोन गर्ने त कहिले आई आर एसमा फोन गर्ने गरेर बितेको छ । तर आर्थिक संकटको समयमा आउनु पर्ने पैसा अलमलमा परेपछि उनी जिल्ल परेका छन् ।  

    आई आर एसले राहत रकमको अवस्था पत्ता लगाउन सुरु गरेको पोर्टलले समेत फरक फरक समयमा फरक फरक सन्देश देखाउने गरेको छ । कतिपयलाई ब्यांक खाता आई आर एससँग हुँदा हुँदै “खाता नम्बर छैन” भन्ने सन्देश आउँछ भने कतिपयलाई “पेमेन्ट स्ट्याटस नट अभाइलेबल” भन्ने सन्देश आउने गरेको छ । बुधबार दिनभर जसो अमेरिकास्थित सामाजिक संजाल यिनै बिषयको चर्चामा रहे ।  

    ब्रायन मात्र होईन टेक्ससस्थित फुल टाईम विद्यार्थी मिकेल थोमसको कथा पनि यस्तै छ । थोमसले सन् २०१८ को ट्याक्स फाईल गर्दा र संन् २०१९ को ट्याक्स  फाईल गर्दा फरक फरक ब्यांक खाता प्रयोग गरेका थिए । थोमसको अहिले २०१८ मा ट्याक्स फाईल गर्दा प्रयोग गरेको खाता बन्द भै सकेको छ । उनले सन् २०१९ को ट्याक्स रिटर्न बापत नयाँ खातामा नै पैसा प्राप्त गरेका थिए तर अहिले राहत रकम बन्द गरी सकेको खाता पैसा पठाईएको रहेछ । थोमस अहिले सरकारले पठाउने निर्णय गरेको त्यही राहत रकम आउला र कोठा भाडा तिरौला भनेर बसेका थिए तर गलत खातामा पैसा पठाईएको हुँदा उनी पनि कोरोनाको पिडा त छदैंछ पैसाको थप पिडामा फसेका छन् ।  

    उदेको लाग्दो कुरा त यो छ कि, जिउँदै भएका मानिसको खातामा पैसा आएको छैन तर कतिपय पैसा मृत्‍यु भै सकेको मानिसको खातामा समेत गएको छ । बुधबार केन्टकी राज्यका रिपब्लिकन प्रतिनिधि थोमस मेसीले मृत्‍यु भै सकेको मानिसको खातामा पैसा जम्मा भएको सुचना सेयर गरे । रिप्रेजेन्टिभ थोमसले आफ्नो ट्विटरमा एक ट्विट् गर्दै “आफ्नो एक जना साथीले सन् २०१८ मा नै मृत्‍यु भै सकेको पिताको ब्यांक खातामा पैसा जम्मा भएको बताएको” लेखे । बुधबारनै जे पि मोर्गन चेस ब्यांकले आफ्ना थुप्रै ग्राहकहरु जस्को बन्द भै सकेको खातामा पैसा आएको बताएको छ ।