Author: Vishwanews.com

  • कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

    कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा एक नेपालीको मृत्यु

    न्युयोर्क । अमेरिकामा कोरोना भाइरसको संक्रमणबाट एक नेपालीको मृत्यु भएको छ । अमेरिकाको न्युयोर्क, इष्ट एल्महर्ष्ट, क्वीन्समा बसोबास गर्दै आएका ५० वर्षीय नेपाली अनिल लिम्बु (शुब्बा) को एल्महर्ष्ट अस्पतालमा मृत्यु भएको नेपाली जनसम्पर्क समिति अमेरिकाका महासचिव मुनेन्द्र नेम्बाङले जानकारी दिए ।

    पाँचथरको रानीगाउँका अनिल (नेपालमा स्थानीय स्तरमा रमेश भनेर चिनिने) १५ वर्षदेखि अमेरिकामा २ छोरा १ छोरी र श्रीमतीका साथ बस्दै आएका थिए । स्थानीय समयअनुसार आज बिहानमात्रै उनको उपचारका क्रममा मृत्यु भएको हो । यसअघि उनमा डाइबिटिज र हाई ब्लड प्रेसरको समस्या थियो ।

    कोरोना भाइरसको संक्रमणपछि उनलाई स्थानीय अस्पतालमा भर्ना गरिएको थियो ।

  • कोरोना संक्रमितको उपचारको लागि अस्पताल बनाउन अमेरिकी सेना म्यानहाटन आईपुग्यो : १००० सैय्याका ४ अस्पताल बन्दै

    कोरोना संक्रमितको उपचारको लागि अस्पताल बनाउन अमेरिकी सेना म्यानहाटन आईपुग्यो : १००० सैय्याका ४ अस्पताल बन्दै

    न्युयोर्क

    न्युयोर्कस्थित म्यानह्याटनको प्रशिद्ध ब्यापारिक भवन जाभेट्स सेन्टर लगायतका अन्य ३ ठुला भवनमा अस्थाई अस्पताल बनाएर कोरोना नियन्त्रण गर्न अमेरिकी सेना म्यानह्याटन आईपुगेको छ । न्युयोर्कस्थित पहिलो अस्थाई अस्पताल निर्माण गर्न १ दशमलब ३ मिलियन स्क्वायर फिटको जाभेट्स सेन्टरमा अमेरिकी सेनाले १००० बेडको सुबिधा सम्पन्न अस्पताल तत्काल बनाउने छ । न्युयोर्कमा चार वटा अस्थाई अस्पताल निर्माण गर्ने र यस्को लागि नेसनल गार्ड खटाउने सहमति गभर्नर एन्ड्रु कुमो र राष्ट्रपति ट्रम्प बीच भएको थियो । गभर्नर  र राष्ट्रपति बीच मौखिक सहमति भए लगत्तै राष्ट्रपति ट्रम्पले आईतबार साँझ ह्वाईट् हाऊसमा आयोजित प्रेस ब्रिफिङमा कोरोना नियन्त्रणका लागि सेना परिचालन गर्न लागेको बताएका थिए ।

    जाभेट्स सेन्टरमा २ सय ५० बेड संख्याको अस्थाई अस्पातललाई ४ भागमा बिभाजन गरेर अस्पताल निर्माण गर्न संघीय आकस्मिक ब्यबस्थापन एजेन्सी (फिमा) ले सेनासँग मिलेर काम गर्ने छ । संघीय सरकारबाट सुबिधा सम्पन्न उपचार सामाग्री म्यानह्याटन आईपुगे संगै गभर्नर कुमोले भने “यो जीवन र मृत्‍युको बिषय हो । हामीले यी सुबिधा सम्पन्न सामग्री पाएपछि हामी ज्यान बचाउन सक्छौं” । कुमोले भनेका छन् “अस्पताल निर्माणको काम मंगलवारदेखि सुरु हुनेछ ।  कुनै कुराले रोकिनु पर्ने छैन” ।

    गभर्नर कुमो सोमबार अस्थाई अस्पताल बनाउन लागिएको जाभेट्स सेन्टरको निरिक्षणमा आयोजित पत्रकार सम्मेलनमा भनेका छन “बिग एप्पल अहिले पनि आँधी आउनु अगाडिको सन्नाटामा छ” । राम्रो हुनु अगाडि स्थिती अझै धेरै बिग्रिने गभर्नर कुमोको दाबी छ ।  

     न्युयोर्क राज्य अमेरिका भरिकै सबैभन्दा धेरै कोरोना संक्रमित भएको राज्य भएको छ ।  अमेरिकामा सोमबारसम्म ४२ हजार संक्रमित गणना गरिएको छ भने ५ सय १२ को मृत्‍यु भै सकेको छ, जस मध्ये न्यूयोर्कमा झन्डै ६ हजार संक्रमित छन् र १५७ को मृत्‍यु न्युयोर्कमा भएको छ । न्युयोर्क राज्यका सबै अस्पतालमा गरेर अहिले ५३ हजार बेडहरु छन् । गभर्नर कुमोले यदि भाइरस यही अनुपातमा बढ्ने हो भने त्यो ५३ हजार बाहेक  १ लाख १० हजार बिरामी उपचार गर्ने सुबिधा  सम्पन्न बेडहरु चाहिने दाबी गरेका छन् ।

    तस्बिर: डेली मेल 

  • टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै

    टम ह्यान्क्स र रिटा विल्सन कोरोना संक्रमणबाट सन्चो हुँदै

    हलिवुडका चर्चित अभिनेता टम ह्यान्क्स्ले आफुमा कोरोना संक्रमणको लक्षण देखिएको २ हप्ता पछी रोग सम्बन्धि केही अनुभव सेयर गर्दै आफू र आफ्नो पत्नीले  स्वास्थलाभ गर्दै गरेको बताएका छन् । अभिनेता टम ह्यान्क्सले “आफू र आफ्नो पत्नी रिटा विल्सनले निक्कै सजिलो महसुस गर्न थालेको” बताएका छन् ।

    ह्यान्क्सले आफ्नो ट्विटरमा लेखेका छन् “कतै पनि नगईकन एकै ठाउँमा बस्यो भने यस्तो राम्रो हुन्छ, आफुले कसैलाई नसार्ने अनि अरुबाट पनि आफुलाई नसार्ने । केही समय लाग्न सक्छ तर आफुले अरुलाई सकेको सहयोग गर्ने । आरामसँग बस्ने अनि यो पनि जान्छ” ।

    ६३ बर्षीय ह्यान्क्स् र विल्सनले आफुहरु कोरोना संक्रमित भएको खबर गत मार्च ११ मा पहिलो पटक सार्वजनिक गरेका थिए ।उनिहरुले त्यति बेला अस्ट्रेलियामा रहेर नै उपचार गर्ने बताएका थिए ।

    एजेन्सी

  • न्यूजर्सी राज्यका पहिलो कोरोना संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भए

    न्यूजर्सी राज्यका पहिलो कोरोना संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भए

    न्युजर्सी

    न्युजर्सी राज्यकै पहिलो कोरोना भाइरस संक्रमित बिरामी आज अस्पतालबाट डिस्चार्ज भएका छन् । गत मार्च २ तारिख सामान्य लक्षणका कारण ह्याक्यान्साक मेडिकल सेन्टर पुगेका उनी १९ दिन पछि आज अक्सिजन मेसिन जोडेर नै अस्पतालबाट डिस्चार्ज भएका छन् । ३२ बर्षीय जेम्स काई आँफै फिजिसियन एसिस्टेन्ट हुन् । काईले आफ्नो फोक्सोले पूर्ण रुपमा काम गर्ने कुरामा ‘भगवानसँग पुकार गर्दै गरेको’ प्रतिकृया दिएको न्युयोर्क  पोष्टले लेखेको छ भने काईले न्यूयोर्क पोष्टलाई आफु केही कमजोर महसुस गर्दै गरेको कारण फोनमा धेरै बोल्ने नगरेको प्रतिकृया दिएका छन् । 

    पोष्टका अनुसार काईको क्षती ग्रस्त फोक्सोले तत्कालनै पूर्णरुपमा काम गर्छ वा गर्दैन भन्ने कुरा चिकित्सकहरुले एकिन गर्न सकेका छैनन् । उनले भनेका छन् “म भर्खर ३२ बर्षको भए अक्सिजनको भरमा कसरी बिताउनु ? जे होस् बाँच्न सफल भए ।”

    कुनै पनि अन्य रोग नभएका स्वस्थ्य काई आफ्नो पत्नी र २० महिनाको बच्चा सहित फोर्ट्लीमा बस्दै आएका थिए । आज उनी अस्पतालबाट डिस्चार्ज भएर जाँदा पत्नी र बच्चा भने उनको नातेदारको घरमा बसेका छन् । दुई पटक जाँच गर्दा नेगेटिभ रिजल्ट आएर डिस्चार्ज भए पनि सामान्यतया कोरोना मानिसको शरीरमा ३० दिनसम्म रहने हुँदा अहिले उनी पत्नी र बच्चाको नजिक जाने छैनन् ।

    तस्बिर : न्यूयोर्क पोष्ट
    जेम्स काईको फेसबुक

  • एरिजोनामा कोरोना जाँच गर्ने किट चोरेर एक ब्यक्ती फरार

    एरिजोनामा कोरोना जाँच गर्ने किट चोरेर एक ब्यक्ती फरार

    एरिजोनास्थित टक्सनमा एक ब्यक्तीले कोरोना भाइरस जाँच गर्ने किट चोरी गरेर भागेका छन् । प्रहरीका अनुसार टक्सनस्थित एल रियो हेल्थ सेन्टरबाट भाइरस जाँच गर्ने २९ वटा किट चोरी भएको हो । सेन्टर बेलुका ८ बजे बन्द गर्ने तयारीमा थियो । सेन्टरका कर्मचारीहरु सामान थन्क्याउँदै थिए, एक जना ब्यक्ती डेलिभरी ड्राईभरको नक्कली भेसमा सेन्टर भित्र प्रबेश गरे र २९ वटा टेस्टिङ् किट लिएर भागे ।

    प्रहरीका अनुसार अन्दाजी ३० बर्षको देखिने करिव ५ फिट ९ इन्चदेखि ५ फिट ११ इन्च कदका सन्धिग्द हिस्प्यानिक जस्तो देखिने ब्यक्ती कालो दारी भएका छन् । टक्सन सहरमा हाल १७ जना संक्रमित छन् ।  प्रहरीका अनुसार ती सन्धिग्द ब्यक्तीले चोरेको किट आँफैमा काम लाग्दैन । रिर्पोर्ट प्राप्त गर्न त्यो किट मात्र काम लाग्दैन त्यसलाई बिशेष प्रकृयाबाट ल्याबमा लगेर जाँच गर्नु पर्छ । प्रहरीले ती ब्यक्तीको खोजी गरिरहेको जनाएको छ ।  

    एजेन्सी

  • कोरोना संक्रमितको उपचार सहयोगका लागि राष्ट्रपति ट्रम्पले खटाउने भए तीन राज्यमा सेना

    कोरोना संक्रमितको उपचार सहयोगका लागि राष्ट्रपति ट्रम्पले खटाउने भए तीन राज्यमा सेना

    न्यूयोर्क

    सपनाको शहर न्युयोर्कमा नाटकीय रुपमा कोरोना संक्रमितहरुको संख्या बढेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले उपचार सहयोगको लागि नेसनल गार्ड (सेना) लाई खटाउने भएका छन् । विश्वका मानिसको सपनाको शहर न्युयोर्क यति बेला कोरोनासँग लडिरहेको छ । सडकहरु सुनसान छन् । मानिसहरु बाहिर निस्कन डराउन थालेका छन् । आइतबार दिउँसोसम्म न्युयोर्क राज्यमा झन्डै १६ हजार मानिस कोरोना संक्रमित भै सकेका छन् भने ११४ जनाको मृत्‍यु भै सकेको छ ।  

    राष्ट्रपति ट्रम्पले वासिङ्टन राज्य र क्यालिफोर्नियामा पनि उपचार सहयोगको लागि सेना खटाउने भएका छन् । आईतबार साँझ भएको ह्वाईट् हाऊस कोरोना भाइरस टाक्स फोर्स ब्रिफिङमा राष्ट्रपति ट्रम्पले उक्त कुरा बताएका हुन । उपचार सहयोगमा सेना खटाउनुका साथै ठुलो संख्यामा मास्क, रेस्पिरेटर्स गाउन, फेस सिल्ड लगायतका चिकित्सा उपकरण र सुबिधा सम्पन्न बिरामीका बेडहरु समेत ठुलो संख्यामा यी तीन राज्यमा ४८ घण्टा भित्र पठाउने आदेश दिएको ट्रम्पले ब्रिफिङमा बताएका छन् ।  

    अमेरिकाको ५० वटै राज्यमा संक्रमितको संख्या बढ्दै गएको छ । अमेरिकामा आइतबारसम्म संक्रमितको संख्या ३२ हजार ३ सय ५६ पुगेको छ भने ४ सय १४ को ज्यान गई सकेको छ ।

  • दैनिक उपभोग्य सामग्री सहयोगका लागि अमेरिकामा जुट्यो नेपाली कांग्रेस प्रबास संगठन

    दैनिक उपभोग्य सामग्री सहयोगका लागि अमेरिकामा जुट्यो नेपाली कांग्रेस प्रबास संगठन

    टेक्सस

    कोरोना भाइरसको संक्रमण अमेरिकाभर फैंलदै जाँदा अमेरिकास्थित नेपाली काँग्रेसको प्रबास संगठन नेपाली जनसम्पर्क समिति वेष्ट टेक्सस च्याप्टर भने नेपाली समुदायको सहयोगमा जुटेको छ ।  अमेरिकाभर संक्रमण फैलिए पछि बिशेषगरी दक्षिण पूर्बी एसियाका दैनिक उपभोग्य बस्तुहरुको अभाव बढेपछि वेष्ट टेक्सस च्याप्टरले समुदाय भित्रका विद्यार्थी तथा अन्य समुदाय सदश्यहरुलाई सामग्री बितरण सुरु गरेको हो ।  

    संस्थाका निर्वाचित अध्यक्ष हरिबोल भण्डारीले टेक्सस क्षेत्र वरपर बसोबास गर्ने नेपाली विद्यार्थी तथा समुदायका अन्य सदश्यहरुलाई चामल, दाल, नुन, तेल, मसलाको अभाव भए बेस्ट टेक्सस च्याप्टर सम्बद्ध ब्यक्तिहरुलाई संपर्क गर्न सामाजिक संजाल मार्फत आह्वान गरेका छन् । दैनिक उपभोग्य बस्तुहरु नि:शुल्क बितरणको लागि संस्थाले आर्थिक श्रोत भने च्याप्टर सम्बद्ध ब्यक्ती तथा काँग्रेस शुभेक्षकहरु मार्फत जुटाउने केदार तिमल्सिनाले बताए । सामान संकलनका लागि निम्न ब्यक्तिहरुलाई  संपर्क गर्नु पर्नेछ : 

    प्रबिण घिमिरे (काबा अध्यक्ष ) – ७०३ ८७० ९४२३ 

    राम राज पोखरेल  

    बिजय मान श्रेष्ठ   

    प्रेम पाठक 

    राजु लामा 

    हरी ढकाल 

    केदार तिमील्सिना 

    नारायण अधिकारी 

    अमृत कट्टेल 

    नबिन बस्नेत ।

  • कोरोना संक्रमितको उपचारका लागि एफडिएले यसरी काम गर्दैछ

    कोरोना संक्रमितको उपचारका लागि एफडिएले यसरी काम गर्दैछ

    न्युयोर्क

    चीनबाट सुरु भएको कोरोना भाइरसको प्रकोप विश्वभर महामारीको रुपमा फैंलिदा हालसम्म तीन लाख २० हजार मानिस संक्रमित भइसकेका छन् भने १४ हजार मानिसले ज्यान गुमाई सकेका छन् । यो बीचमा संक्रमित मध्ये ९६ हजारले स्वास्थ्यलाभ पनि गरेका छन् । यतिबेला  विश्वभर नाम चलेका प्रयोगशालामा बैज्ञानिक तथा चिकित्सकहरु दिन रात भ्याक्सिन तथा औषधि तयार गर्न लागि परेका छन् । आजको दिनसम्म न उपचार पद्धती न भ्याक्सिन नै टुङोमा पुगेको छ ।  विश्वभरका शक्तिशाली देशहरु यो महामारी बिरुद्ध संघर्ष गरिरहेका छन् । यस्तै अन्योलका बीच पनि कोरोना भाइरस बिरुद्ध केही आशा भने जगाएको छ । कोरोना संक्रमणबाट स्वास्थ्यलाभ गरेका मानिसको रगत नै अहिलेको अनुसन्धानको मुख्य साँचो हुन पुगेको छ भने स्वास्थलाभ गरेका मानिसको रगतको प्रयोग मात्र कोभिड -१९ को उपचार साधन हुन पुगेको बैज्ञाननिकहरु बताउन थालेका छन् । स्वास्थ्यलाभ गरेका मानिसको रगत मार्फत कसरी प्रतिरोध क्षमताले काम गर्छ भन्ने पत्ता लगाउन बैज्ञाननिकहरुलाई सहयोग पुग्ने र उपचार बिधि समेत त्यस्ता मानिसको रगतबाट पत्ता लगाउन मद्दत पुग्ने बैज्ञाननिकहरुले बताएका छन् ।  

    यसै प्रसंगमा यो हप्ता नेसनल इन्स्टिचुट अफ एलर्जी तथा इन्फेक्टिस् डिजिज अन्तर्गतका भ्याक्सिन  रिसर्च सेन्टरले कोभिड -१९ रोगलाई जितेर ठीक भएका मनिसहरुबाट रक्तदान आह्वान समेत गरेको छ । एफ डि एले पनि स्वास्थलाभ गरेको मानिसका रगत प्रयोग गरी कोभिड -१९ को उपचार गर्ने पद्धतीको लागि काम गरिरहेको बताएको छ । उक्त प्रयोगको पुष्टी ह्वाईट् हाऊस ब्रिफिङमा कमिस्नर स्टेफेस हानले गरेका छन् ।

    झन्डै १०० बर्ष अगाडिको स्प्यानिस फ्लु पोलियो र दादुराको महामारीमा समेत प्रयोग गरिएको यो उपचार पद्धती नै अर्को बिकल्प तयार नहुँदासम्म प्रयोगमा ल्याउनु पर्ने जोन हप्किन्स युभर्सिटीका अनुसन्धानकर्ता डा. अर्टुरो कसाडेभलले बताउँदै आएका छन् ।  डा. कसाडेभलले संचारमाध्यमहरुलाई  बताएका छन्; “ठ्याकै अहिले जस्तो अवस्था बिसौं सताब्दीको सुरु तिर पनि भएको थियो । स्प्यानिस फ्लु पोलियो र दादुराको महामारी सुरु हुँदा न भ्याक्सिन थियो न उपचारको औषधि ? त्यो परिस्थितीमा पनि ठीक भएका बिरामीको रगत प्रयोग गर्ने बिधि ‘सम्भोग सिरम’ पद्धती नै तत्काल प्रयोगमा ल्याएर थुप्रै ज्यान बचाइएको थियो” ।

  • कोरोना भाइरसबाट मुक्तिका लागि विश्वभर जपयज्ञ हुने

    कोरोना भाइरसबाट मुक्तिका लागि विश्वभर जपयज्ञ हुने

    न्यूयोर्क

    अहिले विश्वव्यापीरुपमा फैलिरहेको काेराेना भाइरसको संकटबाट मुक्ति पाउन तथा विश्वशान्तिका लागि ‘विश्वशान्ति जपयज्ञ’ गरिने भएको छ । विश्व अध्यात्म केन्द्रकाे आह्वान तथा अन्य स्थानीय संस्था र व्यक्तिकाे संयाेजकत्वमा हुने यज्ञका लागि प्रार्थना गर्न आ-आफ्नै घरमा बसी कार्यक्रममा सहभागी जनाई दिनुहुन आह्वान समेत गरिएको छ । 

    यही मार्च २०, शुक्रवार साँझ ९ बजे बसेको अनलाईन बैठकको निर्णय अनुसार उक्त आह्वान गरिएकोले सम्पूर्ण गुरुवर तथा यस सम्बन्धि ज्ञाता एवम् ईच्छुक महानुभावहरुलाई विश्वभरबाट प्रार्थना र स्वस्तिशान्तिको लागि आह्वान गरिएको हो । बैठकले विश्वभर रहनुहुने सम्पूर्ण गुरुवर्ग लगायत सबैले आ-आफ्नै घरमा बसी पाठ तथा जप गरि दिनका लागि अनुरोध पनि गरेको छ । 

    उक्त अनलाइन बैठकमा अमेरिकाका विभिन्न स्टेट, क्यानडा, बेलायत, अस्ट्रेलिया र नेपालबाट समेत संयोजकका रुपमा गुरुहरुको सहभागिता रहेको थियो ।  जसमध्ये न्यूयाेर्कबाट पिपलमणि सिग्देल तथा उद्धव शास्त्री, न्युजर्सीबाट डिल्लीराम उपाध्याय तथा श्रीहरि कँडेल, डिसी, मेरील्यान्ड तथा भर्जिनियाबाट राजेन्द्र खनाल, टेक्सासबाट मेघराज निरौला तथा तुलसीराम कँडेल, क्यालिफोर्नियाबाट चूड़ामणि पाठक, टेनेसीबाट उदयराज सिग्देल, नेपालबाट हरिनारायण सापकोटा, क्यानडाबाट जगदीश गैरे, बेलायतबाट जगदीश पौडेल, दुर्गाप्रसाद पोखरेल र शेखर शाण्डिल्य र अस्ट्रेलियाबाट प्रकाश ढोडारी सहभागी भई आफ्नो धारणा व्यक्त गर्नुभएको थियो । 

    सनातन वैदिक ग्रन्थमा विद्यमान एवं प्राच्य त्रिकालदर्शी महर्षिहरुद्वारा प्रत्यक्ष अनुभव गरिएका मन्त्र शक्तिकाे माध्यमबाट विश्वभर एकै समयमा (स्थानीय समय ९ बजे) जपयज्ञ प्रारम्भ हुने कुरा बताइएकाे छ । 

    प्रात: स्नान, आचमन, ध्यान, याेग तथा प्राणायाम आदि नित्यकर्म गरी निम्नानुसार 

    जपयज्ञमा सहभागी हुनुहुन सबैमा सूचना मार्फ़त आयाेजकले अनुरोध गरेकाे छ  । 

    कार्यक्रम शुरुवात मार्च २५, २०२० बुधबार बिहान ९ देखि १० बजेसम्म स्थानीय समय अनुसार महामृत्युंजय – ॐ ह्राैं जूं स: ॐ भूर्भुव: स्व: ॐ त्र्यम्बकं यजामहे सुगन्धिं पुष्टिवर्धनम् । उर्वारूकमिव बंधनान्मृत्याेर्मुक्षीयमाऽमृतात् । ॐ स्व: भुव: भू ॐ स: जूं ह्राैं ॐ मन्त्रले यथाशक्य जप तथा मार्च २६, २०२० बिहीबार बिहान ९ देखि १० बजेसम्म – राेगानशेषानपहंसि तुष्टा

    रुष्टा तु कामान् सकलानभीष्टान् ।

    त्वमाश्रितानां न विपन्नराणां 

    त्वमाश्रिता ह्याश्रयतां प्रयान्ति ।। 

    तथा अन्य देवी स्ताेत्र ! मन्त्रले पाठ तथा 

    मार्च २७, २०२० शुक्रवार बिहान ९ देखि १० बजे सम्म – ॐ नमाे भगवते वासुदेवाय !, 

    श्रीकृष्ण गाेविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव: ! 

    तथा अन्य नामसंकीर्तन वा विष्णु सहस्रनाम स्तोत्र आदि पाठ तथा जप गर्न आयाेजकले आह्वान गर्नुभएकाे छ । 

    हाल विश्वमा व्याप्त यो महामारीबाट जीवन गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै संक्रमितहरुकाे सिघ्र स्वास्थ्यलाभकाे कामनासमेत बैठकमा सहभागी विद्वानहरुले गर्नुभएकाे थियाे ।

  • अब ४५ मिनेटमा नै कोरोना संक्रमणको नतिजा

    अब ४५ मिनेटमा नै कोरोना संक्रमणको नतिजा

    न्यूयोर्क

    युएस फुड एन्ड ड्रग (एफ.डि.ए) ले विश्वभर फैलिदै गएको कोरोना संक्रमणको प्रयोगशाला परिक्षणको नतिजा ४५ मिनेट भित्रै दिने परिक्षण पद्दतिलाई मान्यता दिएको जनाइएको छ । कोरोना संक्रमणको परिक्षणको नतिजा प्राप्त गर्न ३ दिनसम्म कुर्नुपर्ने अप्ठेरो परिस्थितीमा अब जाँच गरेको ४५ मिनेट भित्रै नतिजा प्राप्त हुने नयाँ प्रयोगले रोकथाम र उपचारमा सजिलो हुने अपेक्षा गरिएको छ । कोरोना परिक्षणको नयाँ प्रयोग उत्पादक कम्पनी क्यालिफोर्नियास्थित शेफिडका अनुसार एफ डि एले शुक्रबार स्विकृती दिएको हो र आगामी हप्तादेखि शेफिडले बजारमा पठाउने छ ।

    हाल अमेरिकामा कोरोना संक्रमणको जाँचलाई ब्यापक बनाउँदै लगिएको छ ।  उप-रास्ट्रपति माईक पेन्सका अनुसार अमेरिकामा प्रकोप शुरु भए यता १ लाख ९५ हजारले संक्रमण परिक्षण गराईसकेका छन् जस मध्ये २५ हजारमा कोरोना संक्रमण भेटिएको छ भने ३ सय ४० को मृत्‍यु भई सकेको छ ।

  • आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”

    आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”

    न्यूयोर्क

    न्यूयोर्कमा निकै ठुलो संख्यामा कोरोना भाइरस संक्रमित देखिन थालेपछीि एक हजार बेड क्षमताको अमेरिकी सेनाको “हस्पिटल शिप” उपचारका लागि न्यूयोर्क ल्याउने तयारी गरिएको छ ।  यस अगाडि सन् २००१ को आतंकबादी हमलामा घाईतेहरुको उपचारका लागि प्रयोग गरिएको सेनाको “हस्पिटल शिप” अहिले बिरामीको चाप बढ्न थालेपछि न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मागेका थिए । गभर्नर कुमोको अनुरोधमा राष्ट्रपति ट्रम्पले एक हजार बेडको पानी जहाज पठाउने सहमति जनाएका हुन । जहाजलाई न्युयोर्क हार्बरमा बिरामीहरुको उपचार गरिने तयारी गरिएको छ । सेनाको जहाज न्युयोर्क हार्बरमा उपचारका लागि ल्याउने तयारी गरिए पनि  कोरोना भाइरस प्रभावितहरुको उपचारमा भने तत्काल जहाज प्रयोग गरिने छैन तर अन्य रोगका बिरामीहरुलाई भने त्यो जहाजमा राखेर उपचार गरिने छ । जहाज कति दिनमा तयारी अवस्थामा न्युयोर्क हार्बर आई पुग्छ प्रष्ट पारिएको छैन ।  

    गभर्नर कुमोले भनेका छन् “हामीलाई न्युयोर्कमा ४५ दिन भित्र १ लाख १० हजार बेडको आवश्यकता पर्ने छ । हाल हामीसँग उपचारको लागि जम्मा ५३ हजार बेडहरु र ३७ हजार आई सि यु युनिट मात्र छन् । र ३ हजार मात्र भेन्टिलेटर छन् । “बुधबारसम्म न्युयोर्कमा भाईरस पोजेटिभको संख्या २३ सय पुगेको छ भने १६ को मृत्‍यु भै सकेको छ ।  हाल न्युयोर्कमा संक्रमित संख्या मध्ये २३ प्रतिशत मानिस अस्पताल भर्ना भएका छन् ।  यो संख्या विश्वकै संख्याको दाँजोमा भने  निकै धेरै हो । विश्वका अन्य देशहरुमा संक्रमितहरु मध्ये १० प्रतिशत मात्र अस्पातल भर्ना हुने आँकडा छ । अहिले न्युयोर्क राज्यले तयारी गर्दै गरेको १ लाख १० हजार बेडको तयारलाई आधार मान्दा मे महिनाको मध्यसम्म न्युयोर्कमा मात्र ५ लाख मानिस कोरोनाको संक्रमण हुने छन् ।

  • कोरोना संक्रमणको बृद्धिसंगै अमेरिकाको बन्दुक र पेस्तोल पसलमा भिड बढ्यो

    कोरोना संक्रमणको बृद्धिसंगै अमेरिकाको बन्दुक र पेस्तोल पसलमा भिड बढ्यो

    न्युयोर्क

    अमेरिकामा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा बढ्दै गएको छ । यो भाईरसको संक्रमण बढ्दै गर्दा अमेरिकी जन जीवनमा निकै ठुलो प्रभाब पर्दै गएको छ । अमेरिकामा कोरोनाको प्रभाब बढ्न थालेपछि दैनिक उपभोग्य बस्तुहरुको माग मात्र होईन बन्दुक र पेस्तोलको ब्यापार समेत ह्वात्तै बढेको छ ।  हरेक दिन जसो हतियार पसलहरुमा भिड लाग्न थालेको छ । बन्दुकको यो ब्यापक बिक्री राष्ट्रियरुपमा नै भईरहेको र यस्तो भिडमा पहिलो पटक बन्दुक खरिद गर्नेहरु रहेको बिभिन्न समाचार एजेन्सीहरुले जनाएका छन् । कोरोनाको संक्रमण बढेसंगै लुटपाट लगायतमा अन्य अपराधमा बृद्धि हुने अनुमानका आधारमा मानिसहरु घण्टौं लाईन बसेर सुरक्षाका लागि बन्दुक किन्न थालिएको समेत समाचार एजेन्सीहरुले जनाएका छन् । गत सोमबार अन्य सबै कारोबारमा गिरावट आएको शेर बजारमा अमेरिकन आउटडोर ब्रान्ड, स्ट्रम, रगर एन्ड कम्पनी, भिस्टा आउट डोर जस्ता हतियार उत्पादक कम्पनीहरुको शेयर बजारमा भने बृद्धि भएको थियो ।  

    फेब्रुअरी महिनामा फेडरल  इन्भेस्टिगेसन ब्युरो (एफ बि आई ) को सिस्टममा २८ लाख मानिसहरुले हतियार खरिदको लागि आफ्नो ब्याकग्रारान्ड चेक गराएका थिए । यो संख्या सन् २०१६ पछिको सबैभन्दा धेरै हो ।  

    निबर्तमान राष्ट्रपति बाराक ओबामाले पद सम्हालेदेखि यता बन्दुक र पेस्तोलको सबै भन्दा उच्च बिक्री भएको एरिजोनास्थित एक बन्दुक ब्यापारीले बताएक छन् । ट्याक्टिकल गेर रिटेलरका केभिन लिमले बज फिड न्युजलाई भनेका छन्; “अमेरिकामा कोरोना भाईरस फैलिन सुरु गरेपछि अरु समयको भन्दा अहिले बन्दुक पेस्तोल लगायतको हतियार बिक्रीमा १०० प्रतिशत बृद्धि भएको छ” ।  

    चिनबाट सुरु भएको कोरोना भाईरसका कारण असुरक्षित महसुस गर्दै एसियन अमेरिकहरुले ठुलो संख्यामा बन्दुक पेस्तोल किन्न थालिएको समेत  समाचार एजेन्सीहरुले जनाएका छन् । 

    लसएन्जलसका कतिपय ठाँउहरुमा भने दैनिक उपभोग्य बस्तुका पसलहरुमा भन्दा हतियारका पसलमा धेरै भिड हुन थालेको छ ।  अमेरिकामा कोरोना भाईरस ल्याएको आरोप लगाउदै मङोलियन अनुहारका मानिसहरुलाई सार्वजनिक स्थानहरुमा अपमान गर्ने क्रम समेत बढेको छ । राष्ट्रपति ट्रम्पले आफ्नो ट्विटमा कोरोना भाईरसलाई चाईनिज भाईरसको नामले लेख्ने गरेका छन् । मानिसहरुले बिभिन्न डिजाइनका बन्दुक पेस्तोल जस्ता हतियारका साथमा बुलेट प्रुफ ज्याकेट र चक्कुहरु समेत किन्न थालेका छन् ।

  • ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो (भिडियो सहित)

    ईन्जाले सार्वजनिक गर्यो कोरोना भाइरस सम्वन्धि सचेतनामूलक भिडियो (भिडियो सहित)

    न्यूयोर्क

    संसारभरी कोरोना भाइरस फैलिएका कारण मान्छेहरुमा एक किसिमको त्रास र अन्योलता छाएको छ । महामारीको यो अवस्थामा नेपाली पत्रकारहरुको अन्तराष्ट्रिय संजाल (ईञ्जा) ले एक सचेतनामूलक भिडियो सार्वजनिक गरेको छ।

    सबै नेपाली भाषीहरुलाई बुझ्न सहज होस् भन्ने उदेश्यले नेपाली भाषामा छोटो सचेतना तथा ज्ञानमूलक जानकारी सहितको भिडियो सार्वजनिक गरिएको व्यहोरा ईञ्जाका बरिष्ठ उपाध्यक्ष सुनिलमणि दाहालले जानकारी गराउनु भयो । उहाँले अगाडि भन्नु भयो – सावधानीनै आजको आवश्यकता हो। संक्रमणबाट आफू सुरक्षित हौं, अरुलाई पनि सुरक्षित बनाऔं ।

    भिडियो लिंक

  • गीतकार पुष्कर बरालको नयाँ गजल गीत बजारमा

    गीतकार पुष्कर बरालको नयाँ गजल गीत बजारमा

    न्यूयोर्क

    प्रेमिल गजलकारको रुपमा परिचित पुष्कर बरालले आफ्नो गीतको नयाँ म्यूजिक भिडियो सार्वजनिक गरेका छन् ।

    बिगत लामो समयदेखि साहित्य लेखनमा सकृय बरालको गजल गीत “हलचल जिन्दगीमा” लाई लोकप्रिय गायक यम बराल स्वर र संगीत भरेका छन् । 

    “यता यस्तै उता त्यस्तै हलचल जिन्दगीमा,

     किन झर्छ आसु यहाँ पलपल जिन्दगीमा”

    यस्तै खालका माया प्रेम र बिछोडका बहलाई पुष्करले शब्दमा उतारेका छन् । न्यूयोर्क सहरमा फिल्मांकन गरिएको म्यूजिक भिडियोमापछिल्लो समय अभिनयमा निकै ब्यस्त रहेकी नायिका / मोडल केकी अधिकारी, गजलकार पुष्कर बराल, नायक कृष थापा र पृन्साकोअभिनय रहेको छ । 

    ओएसआर डिजीटल यूट्युब च्यानलबाट बजारमा आएको यो गजल गीतलाई न्यूयोर्कमा लोकप्रिय बिक्की पुलामी मगरले भिडियोनिर्देशन गरेका छन् भने प्रज्वल पन्तको छायांकन रहेको छ ।

    भिडियो यहाँ हेर्नुहोस् ।

     

    ­

  • राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन

    राष्ट्रपति ट्रम्पमा कोरोना संक्रमण देखिएन

    न्यूयोर्क

    कोरोना भाईरसको संक्रमणको शंकामा सो सम्वन्धि जाँच गरेका राष्ट्रपति डोनाल्ड     ट्रम्पको रिपोर्ट नेगेटिभ देखिएको छ । शुक्रबार साँझ ट्रम्पको जाँच गरिएको एक दिनपछि उनी संक्रमित नभएको रिपोर्ट आएको कुरा ह्वाईट हाउस श्रोतले पुष्टि गरेको छ ।  गत हप्ता राष्ट्रपति ट्रम्पले मार्गा लागोस्थित ब्राजेलियन प्रतिनिधि मन्डलसँग भेट गरेको र उक्त प्रतिनिधि मन्डलको एक ब्यक्ति कोरोना भाइरस संक्रमित भएपछि ट्रम्पको पनि जाँच गर्नु पर्ने जन दबाब अमेरिकामा बढेको थियो ।  

    अमेरिकामा अहिले हरेक घण्टा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ भने ठुलो जन घनत्व भएका ठुला शहरका सडक सुनसान हुँदै गएका छन् । मानिसहरु अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन छाडेका छन् । राष्ट्रपति ट्रम्पले युरोपसँगको आतेजाते बन्द गरि सकेका छन् भने बेलायत र आयरल्यान्डबाट पनि सोमबार मध्यरातदेखि अमेरिका आउने जाने क्रम बन्ध हुने गोषणा गरिसकेका छन् ।

  • कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ

    कोरोना संक्रमणमा अमेरिकाको ताजा अवस्था यस्तो छ

    न्यूयोर्क

    चीनको उहान शहरबाट गत डिसेम्बर महिनाको अन्तमा शुरु भएको कोरोना भाइरसको प्रकोप अमेरिकामा बढ्दै गएको छ ।  चीनबाट शुरु भएको कोरोनाको संक्रमण अमेरिकामा पहिलो पटक गत जनवरी महिनामा वासिङ्टन स्टेटमा एक संक्रमित ब्यक्तीमा भेटिएको थियो । हाल यस्को संक्रमण अमेरिकाको ४९ राज्य पुरेटोरिको यु एस भर्जिन आइल्यान्ड  र डिष्ट्रिक्ट अफ कोलम्बिया समेतमा फैलिएर दुई हजार ४ सय ३० ब्यक्ती संक्रमित भएको सरकारी आँकडा छ । शनिबार मार्च १४ सम्म अमेरिकामा कम्तिमा ५० को मृत्‍यु भै सकेको छ ।

    मृत्‍यु भएका ५० मध्ये सबै भन्दा धेरै वासिङ्टन राज्यमा ३७ क्यालिफोर्नियामा ५, फ्लोरिडा र न्यूयोर्कमा २/२, कोलोराडो जर्जिया कान्सस न्युजर्सी साउथ डकोटामा १ – १ जनाको कोरोना संक्रमणका कारण मृत्‍यु भै सकेको छ ।  यद्यपी कोरोना संक्रमितहरुको सरकारी तथ्यांक २४ सय ३० भए पनि परिक्षण गर्ने किटको अभाब भएको कारण थुप्रै संक्रमित परिक्षणको पर्खाईमा बसेको अनुमान गरिएको छ ।  

    राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा राष्ट्रिय संकटकाल घोषणा गरी सकेका छन् भने राज्य सरकारहरु संक्रमणको रोकथामको लागि खटीरहेका छन् । अधिकांस राज्यहरुको बिद्यालय बन्द गरिएको छ भने ठुलो जनसंख्या भएको न्युयोर्क राज्यको बिद्यालयहरु बन्द गरिएको छैन । कतिपय राज्यहरुले विद्यार्थीहरुलाई घरमा राखेर अनलाईन पढाउने ब्यबस्था गरेका छन् ।  सामान संचय गर्नेहरुको संख्या बढेपछि दैनिक उपभोग्य बस्तुहरुको अभाब हुन थालएको छ । दैनिक उपभोग्य बिक्रीगर्ने ठुला स्टोरहरुमा हजारौको लाइन हुन थालएको छ । मानिसहरुमा त्रास बढेको छ ।  

    अमेरिकामा हालसम्मको अवस्था यस्तो छ;

  • अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो

    अमेरिकी राष्ट्रपति ट्रम्पलाई पनि कोरोना संक्रमणको शंकामा जाँच गरियो

    न्यूयोर्क

    राष्ट्रपति डोनाल्ड ट्रम्पले आफुलाई कोरोना भाईरसको संक्रमण भएको शंकाका कारण शुक्रबार साँझ जाँच गरिएको बताएका छन् ।  राष्ट्रपति ट्रम्पले शनिबार ह्वाईट हाऊसमा आयोजित एक पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन् । शुक्रबार साँझ राष्ट्रपति ट्रम्प कोरोना संक्रमित भए नभएको पक्का गर्न पठाईए पनि नतिजा भने हालसम्म थाहा नभएको समेत उनले पत्रकार सम्मेलनमा बताएका छन् ।  

    राष्ट्रपति ट्रम्पले बिभिन्न सभा सम्मेलनमा भेट गरेका ब्यक्तीहरु कोरोना  भाईरस संक्रमित भेटिएपछि ट्रम्पको पनि जाँच हुनु पर्ने दबाब बढ्दै आएको थियो । अमेरिकामा कोरोना भाईरस संक्रमितको संख्या बढ्दै गएको छ भने शनिबार बिहानै न्युयोर्कमा ८२ बर्षिया एक महिलाको पनि कोभिड -१९ का कारण मृत्‍यु भएको छ ।

     

  • कोरोनाको आँधिबेरी

    कोरोनाको आँधिबेरी

    आचार्य पीपलमणि सिग्देल / न्यूयोर्क

    गत डिसेम्बरमा चीनको उहान प्रान्तमा जनावरबाट मानिसमा सरेको बताइएकोे नोवल कोरोना भाइरस विकराल रुप लिंदै विश्वव्यापी रुपमा आँधिबेरी जस्तै फैलिएको छ । संक्रमण सुरुमा भएको करिब तीन महिनाको समयमा यो आलेख तयार पार्दै गर्दा करिब एक लाख एघार हजारभन्दा बढी मानिसलाई यो भइरसको संक्रमण भइसकेको छ भने झण्डै चार हजार मानिसले आफ्नो सुन्दर जीवनलीला गुमाइसकेका छन् र बैसठ्ठी हजारभनदा बढी व्यक्तिले भाइरससँग लडेर सफलता प्राप्त गरेका छन् । यो भाइरसको संक्रमण एक सयभन्दा धेरै देशमा पुगिसकेको छ । चीन, इरान, इटली, दक्षिण कोरिया, जापान, जर्मनी, फ्रान्स, अमेरिकालगायत देशमा यो भाइरसले जनजीवन प्रभावित पारेको छ । नेपालमा संक्रमित हुने र मृत्युको कारुणिक खबर आएको छैन तर अमेरिकामा ६ सय बीसभन्दा धेरैलाई संक्रमणको पुष्टी भइसकेको छ र २२ जनाको मृत्यु भइसकेको छ ।

    व्यापार व्यवसाय निकै ओराले लागेको छ । शेयर मार्केटमा दिनानुदिन भासिने क्रम जारी छ । हवाई यात्रा स्वात्तै घटेको छ । तेलको मूल्य पनि घटेको छ । मृत्युको भयले सामानको संग्रहमा मानिसहरु लागेका छन्, बजारमा उपभोग्य बस्तुको चरम अभाव हुन थालेको छ । कोरोना भाइसरका कारण केही धनाढ्यहरmले सयौं खर्ब गुमाएको खबर पनि छ । चीनको मात्र सात सय अरब व्यापार घाटा हुने अनुमान गरिएको छ । विश्वको व्यापारको घाटाको लेखाजोखा गर्न पनि धरै समय खर्चिनुपर्ने स्थिति सिर्जना भएको छ । अमेरिका र क्यानडाले आर्थिक मन्दीको अनुमान गर्दै बैकको व्यजदर घटाएका छन् । विश्व एक घर भएकाले र अर्थतन्त्रको संजाल एकआपसमा जेलिएको र एउटा देशमा व्यापारिक घाटाको रुघा लाग्दा अर्को देशमा हाछ्युँ आउनु स्वभाविकै देखिएको छ ।

    कतै मृत्यु मडारिएर फैलिएको छ, कतै बिरामी, कतै संत्रास, कतै डर, कतै नोक्सान, कतै संकटकाल, कतै दुःख, कतै कालाबजारी, कतै विद्यालय तथा कलेज बन्द, यस्तै यस्तै समाचार पढ्न र सुन्न हेर्न बाध्य हुनुपरेको छ । अझै भ्याक्सिन या औषधीको अत्तोपत्तो नभइसकेकाले यस्तो संत्रास अझै केही समय रहने र हजारौं मानिस कोरोना भाइरसको शिकार हुनुपर्ने आंकलन गरिंदैछ ।

    यस्तो भयावह परिस्थिति या संकट पहिलोपटक आएको भने कदापि होइन । चार वेद, उपवेद, आयुर्वेद, उपनिषद्, १८ महापुराण, उपपुराण तथा आख्यान ग्रन्थहरmमा रोग तथा उपचारका विषयमा व्यापक चर्चा गरिएको पाइन्छ । भगवान् गौतम बुद्धले आर्जन गरेको ज्ञानर्को हेय ः हेयहेतु, हानो ः हानोपाय’ सूत्रको मर्म पनि यो संसारमा रोग छ, रोगको कारण छ, रोगको उपचार हुन्छ र उपचार सम्भव छ भन्ने नै हो । यसको मतलब यस संसारमा जीवनयापनका लागि जसरी प्राणवायु उपलब्ध छ त्यसरी नै सयौं हजारौं संख्यामा प्रतिकूल तत्वहरm पनि घुमिरहेका छन् । त्यस्ता जीवनका प्रतिकूत तत्वसंग संघर्षका लागि पनि हाम्रै शरीरका प्रतिरक्षात्मक तत्वहरmले काम गरिरहेका हुन्छन् । अनि शरीरको प्रतिरक्षात्मक तत्वलाई सहयोग गर्न वैद्य या वैज्ञानिकहरmले अनेक प्रकारका औषधी बनाएका हुन्छन् । औषधी तयार नभए हामै्र शरीर तयार हुन्छ र रोगसँग लड्ने सामथ्र्य तयार हँुदैजान्छ ।

    वेदका अनुसार सबैलाई सय वर्षको आयु प्राप्त छ । परन्तु व्यक्तिको आफ्नो कर्म अनुसार आयुमा तलमाथि पर्न गएको हुन्छ । जो सदाचार पालन गर्दैनन्, आलस्यले कर्मको त्याग गर्छन्, जतापायो त्यतै खान्छन् र परस्त्रीगमन आदि कलीयुगका अनेकन त्याज्य कर्मको पछि लाग्छन्, त्यस्तो अवस्थामा अनेक रोगको आक्रमण हुन्छ र आयु क्षण हुन्छ ः

    संस्कृतमा भनिएको छ ः

    मानुषः शतजीवीति पुरा वेदेन भाषितम् ।

    विकर्मणः प्रभावेण शीघ्रं चापि विनश्यति ।।

    वेदानभ्यसनेनैव कुलाचारं न सेवते ।

    आलस्यात्कर्मणां त्यागो निषिद्धेऽप्यादर सदा ।।

    यत्र तत्र गृहेऽश्नाति परक्षेत्ररतस्तथा ।

    एतैरन्यैर्ममहादोषैर्जायते चायुषः क्षयः ।।

    (गरmडपुराण)

    यसरी हेर्दा अनेक युगमा भोजन, कर्म, परिवेश र वातावरणले अनेक खाले भाइरस उत्पत्ति हुन्छन् र जीवन यापनका लागि चुनौती खडा हुन्छन् भन्ने प्रष्ट देखिन्छ ।

    आधुनिक घटनाक्रमलाई नियाल्दा पनि सन् १९१८ मा स्पानिस फ्लुबाट विश्वभरिमा करिब पाँच करोड मानिसको ज्यान गएको थियो । त्यतिखेर अमेरिकामा मात्र ६ लाख ७५ हजारको ज्यान लिएको थियो जुन संख्या प्रथम र दोस्रो विश्वयुद्धमा मारिएका व्यक्तिभन्दा पनि धेरै हो । त्यतिखेर जवान र स्वस्थ व्यक्तिलाई समेत मृत्युको चपेटामा पारेको थियो । सन् १९५७ मा एसियन फ्लु लागेर १० लाखदेखि २० लाख मानिसको ज्यान गएको बताइन्छ । सन् १९६८ देखि १९७० सम्म चलेको इनफ्लुन्जा प्रकोपले ५ करोड मानिसको ज्यान गएको बताइन्छ । सन् २००२ नोभेम्बर देखि सन् २००३ जुलाई सम्म चलेको सार्स फ्लु आतंकले १७ देशका ७ सय ७४ जनाको जीवन समाप्त गरिदिएको थियो । त्यसैगरी अप्रिल २००९ देखि २०१० अगस्ट सम्म स्वाइन फ्लूको चपेटामा परी विश्वभरमा ५ लाख ७५ हजार मानिसको ज्यान गएको थियो । डेगु, बर्ड फ्लु, कमन फ्लु, निमोनिया, आदि आदि अनेकौं स्वास्थ्य प्रकोप मानव जीवनमा समयसमयमा आइरहेको देखिन्छ । यसरी विगतका घटना परिघटना नियाल्दा नोबल कोरोना भाइरस कोभिड १९ भयानक नभए पनि सावधान हुनुपर्ने प्रकोप हो । रोग प्रतिरक्षात्मक क्षमता कम भएमा यस्ता भाइरसले मानिसलाई मृत्युको मुखसम्म धकेल्ने गर्दछ । अतः रोग प्रतिरक्षात्मक शक्ति बढाउन कम्मर कसेर लाग्नुपर्ने देखिन्छ । यसका लागि घरमा पकाएको हरियो सागपात, फलफूल, दूध, गेडागुडी आदि नियमित खाने, भिटामिन सी युक्त भोजन गर्ने, नियमित योग तथा व्यायाम गर्ने, प्राणायाम गर्ने, चुरोट, सुर्ती तथा अल्कोहलको सेवन नगर्ने, मह, लसुन, बेसार, अदुवा, गुर्जो, कुरिलो, जिरा, दालचिनी आदि नियमित सेवन गर्ने बानीले पनि स्वस्थ रहन सहयोग पुग्ने गरेको अनुभव सनातन रmपमा चलिआएको पाइन्छ ।

    कोरोना भाइरस मुलतः हात हुँदै मुख, नाक र आँखाको माध्यमले फोक्सोमा पसी नोक्सान गर्नेभएकाले बारम्बार साबुन पानीले हात धुने, साबुन नभएको ठाउँमा हातमा सेनेटाइजर लगाउने, भीडभाडमा अत्यावस्यक भए मात्र जाने, लगाएका कपडा सुरक्षित ठाउँमा राख्ने, खोक्दा मुख छोपेर खोक्ने आदि उपायले प्रकोप फैलिनलाई कम गर्न सकिन्छ ।

    स्थुल शरीरको क्षमतालाई शरीरको मानसिक उर्जाले मलजल गरिरहेको हुन्छ । मनबाट शक्ति तयार हुँदै बाहिरी शरीरमा आउने गर्दछ । अतः मन बलियो भएमा शरीरको संयन्त्रले काम गर्दछ । मन नै कमजोर भए शरीरका अवयवहरm पनि शिथिल हुँदै जाँदा रोगले आक्रमण गर्ने सम्भावना बढेर जान्छ । त्यसैले भाइरसको प्रकोप भएको बेला अत्तालिने, त्रसित हुने र डराउने कार्य नगरी ृउच्च मनोबलका साथ सावधानी अपनाउनुपर्छ ।

    सनातन वैदिक संस्कृतिले हामीलाई जीवन जिउने कला सिकाएको छ । बाहिर काममा जाँदा प्रयोग गरेका कपडा भोजनको समयमा प्रयोग नगर्ने, लुगा फेरेर पकाउने र खाने, भान्छा घरमा सबैलाई जान नदिने, बासी भोजन नगर्ने, खानुभन्दा पहिले आचमन गर्ने र औसानी हाल्ने, घाटमा मलामी गएर आएपछि अनिवार्य नुहाउने र कपडा फेर्ने, क्रियापुत्रीसँग हातमिलाउने र नमस्कार गर्ने जस्ता कार्य नगर्ने, घरमा तुलरी, गउँत, गाइको दूध तथा गोबरको प्रयोग गर्ने, मौसमअनुसारको भोजन गर्ने, सूर्य नमस्कार आदि विधिले नित्य व्यायाम गर्ने आदि कार्यको सही अध्ययन र मनन गरी व्यवहारमा उतार्न सके समयसमयमा आउने यस्ता संकटबाट सजिलै पार पाउन सकिन्छ । अब जागौं सचेत बनौं, स्वस्थ बनौं र सबैलाई स्वस्थ रहन सहयोग गरौं । स्वस्थ शरीरले नै समुन्नत र सुन्दर विश्वको परिकल्पना गर्न सकिन्छ ।

    विश्वका हामी सबै मनुष्य छलकपट, द्वेष, रीष, राग, अहङ्कार, मद, मोह, आलस्य जस्ता विकार त्याग गरी तन, मन र धनले एकताबद्ध भएर संकट निवारणका लागि अग्रसर भएमा सफलताको शिखर चुम्न सक्ने शक्ति आर्जन गर्ने नै छौं । जरmरी छ त केवल दया, करmणा, सद्भाव र एकताको । अनि एक दिन पुनः उठी आर्तनाद घाउहरmमा मलम लगाउन सक्ने नै छौं । राष्ट्र्कवि माधव प्रसाद घिमिरेले आफ्नो खण्डकाव्यमा त्यसै भनेका होइनन् ः

    कालैलाई पछार्न सक्छ जसले खेलेर कुस्ती तर ।

    मान्छेकै अघि हार्नुपर्छ यदि छन् मान्छे भने निष्ठुर ।।

  • कविता : मैले लेख्न छोडें

    कविता : मैले लेख्न छोडें

    प्रवीण भट्टराई / श्रीजङ्गा-४, ताप्लेजुंग

    खै के लेखौं

    हरेक मौकामा

    रंग बदल्ने 

    छेपाराहरुको कथा

    खै के लेखौं 

    हरेक जमघटमा

    एकान्त खोज्ने 

    ढेडुहरुको कथा

    खै के लेखौं 

    मुखमा राम राम

    बगलीमा छुरा

    बोक्नेहरुको कथा

    खै के लेखौं 

    विहान 

    राम्रो कुरा

    दिउँसो 

    हाम्रो कुरा

    अनि साँझ 

    चाम्रो कुरा गर्ने

    चेपारेहरुको कथा ।

    म आजकल 

    अक्क बक्क अनि

    तीन छक्क पर्छु

    विहान भेटेको मान्छे

    दिउँसो अर्कै हुन्छ

    दिउँसो देखेको मान्छे

    साँझ अर्कै बन्छ

    साँझ देखेको मान्छे

    रातमा अर्कै हुन्छ

    न उस्को 

    नाम फेरिएको हुन्छ

    न उस्को 

    जात फेरिएको हुन्छ

    मान्छे उही हुन्छ, 

    जात उही हुन्छ

    अलिकति रंग 

    अलिकति ढंग 

    फेरिएको हुन्छ

    तर ऊ चन्द्रमामा 

    पुगेको हात्ती ठान्दै

    अरुलाई धरतीका 

    भुसुना ठान्छ

    अनि विवश हुन्छौं

    हामी विवश मान्छेहरु

    यी हात्तीका

    जोर लात्ती खान 

    खै के लेखौं यी

    मत्ता हात्तीहरुको गाथा।

    आजकल 

    मान्छे अन्धो भएको छ

    गधालाई गाई ठान्छ

    चोरलाई साधु मान्छ

    आजकल 

    चिनेजानेका भन्नेहरु

    सनै सनै हराए विलाए 

    अनि कसैको शिरमा 

    भर्याङ्ग ठड्‌याएर

    आस्था र विश्वासको 

    सगरमाथा चढ्नेहरु

    दिनको दुगुना

    रातमा चौगुना हुँदै 

    चढ्दै गए बढ्दै गए 

    शिखरमा पुगेर भर्याङ्गले

    सगरमाथा ढाल्न खोज्नेहरु

    अनि त्यही भर्याङ्गलाई फाल्नेहरु 

    उनीहरुलाई के थाहा

    फर्कनलाई भर्याङ्ग फेरी पनि चाहिन्छ

    म आजकल

    यस्तै 

    चेपारे अनि छेपारेहरुबाट बेरिएको छु

    कर्निसको किनारमा

    एक थान बकुल्लाहरु छन्

    माछा ढुकेर बसेका

    म केही दिन एता

    मरूभूमीमा

    बाग्मती खोजिरहेको छु 

    खै के लेखौं 

    यी बालुवामा पानी हाल्नेहरूको कथा

    खै के लेखौं

    सिरक ओढेर

    घिउ खानेहरूको कथा ॥

    ——————

     

  • ११ देशका ३५० अन्तर्राष्ट्रिय कलाकारको कुम्भ मेला सम्पन्न

    ११ देशका ३५० अन्तर्राष्ट्रिय कलाकारको कुम्भ मेला सम्पन्न

    काठमाडौं- एभरेष्ट नेपाल कल्चरल ग्रुपको अगुवाइमा भएको दशौं संस्करणको अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलाको समापन भएको छ । ‘पर्यटक कलाकारको स्वागत सत्कार, नेपाली लोक संस्कृतिको आधार’ भन्ने मुल नाराका साथ उपराष्ट्रपति नन्दबहादुर पुनको प्रमुख आतिथ्यमा राजधानीमा एक भव्य कार्यक्रमबीच १७ फागुनमा शुभारम्भ भएको मेला काठमाडौं, ललितपुर र पोखरामा आयोजना गरिएको थियो ।

    मेलामा बङ्लादेश, बुल्गेरिया, डेनमार्क, इस्टोनिया, भारत, नेपाल, इजरायल, मलेसिया मेक्सिको र श्रीलंकाका ३५० भन्दा बढी कलाकारहरुले कला प्रस्तुत गरेका थिए । विभिन्न देशबाट आएका तीन सय पचास भन्दा बढी कलाकारहरु उपस्थिति रहेको मेलामा नेपाल लगायत सबै देशका कलाकर्मीहरूले आफ्नो देशको लोक सांस्कृतिक नृत्य तथा गीतहरू प्रस्तुत गरेका थिए ।

    राजधानीको कान्तिपथ स्थित होटल एल्लो प्यागोडमा समापन गरिएको कार्यक्रममा मेलामा सहभागी कलाकारलाई बिशेष सम्मान प्रदान गरिएको थियो ।

    नेपाली लोक सांस्कृतिको संरक्षण तथा सम्वर्धन गर्ने प्रमुख उद्देश्यका साथ बाईस बर्ष अगाडी स्थापना भएको संस्थाले स्थापनाकाल देखि नै लोक सांस्कृति तथा पर्यटकीय विकासमा टेवा पुर्‍याउने उद्देश्यले आफ्नै मौलिक लोक सांस्कृति झल्कने कार्यक्रमहरु स्वदेश तथा विदेशमा प्रस्तुत गरी नेपालको गरिमा बढाउने कार्य गर्दै आएको एभरेष्ट नेपाल कल्चर ग्रुपका अध्यक्ष तथा दशैं अन्तर्राष्ट्रिय लोक साॅंस्कृतिक मेलाका संयोजक रामचन्द्र कोइरालाले बताए । मेलाको शुभारम्भ फागुन १७ गते गरिएको थियो ।

    विभिन्न देशका कलाकारहरुले फागु पूर्णिमा मनाउनको लागि आफ्नो नेपाल बसाई केही दिन लम्ब्याएका थिए ।

  • कोरोनाको कारण न्युयोर्कमा घोषणा गरियो : संकटकाल

    कोरोनाको कारण न्युयोर्कमा घोषणा गरियो : संकटकाल

    न्यूयोर्क

    कोरोना भाईरसको कारण परिस्थिती बिग्रिदै गएपछि न्युयोर्कका गभर्नर एन्ड्रु कुमोले राज्यमा संकटकालको घोषणा गरेका छन् ।  शुक्रबारसम्म न्युयोर्क राज्यमा ४४ जनामा कोरोनाको संक्रमण देखिएकोमा शनिबार दिऊसोसम्म न्युयोर्कमा उक्त संख्या ह्वातै  बढेर ७६ जनामा संक्रमण देखिएको छ ।  संक्रमितको संख्यामा नाटकीय रुपमा बृद्धि भएपछि गभर्नर कुमोले हरेक अस्पतालको श्रोत साधनको बृद्धिको लागि संकटकाल घोषणा गरेका हुन । सुरुमा वेस्ट्चेस्टर काउन्टीस्थित एक कानून ब्यवसायी (वकिल) लाई देखिएको संक्रमण हाल म्यानहाटनका ११ जनामा र क्विन्सस्थित एक जनामा पनि देखिएको छ ।  

    अमेरिका भरी अहिले ३६६ जनामा संक्रमण देखिएको छ भने १७ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

  • न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस

    न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस

    न्युयोर्क

    न्युयोर्कस्थित ब्यस्त सहरमा ट्याक्सी चलाउने चालकलाई समेत कोरोना भाईरस पोजिटिभ देखिएको छ ।  न्युयोर्क शहको क्विन्समा बसोबास गर्दै आएका ३३ वर्षीय ट्याक्सी चालक गत शुक्रबार साँझ फ्लू जस्तो लक्षण देखिने रुघा खोकी ज्वरो आएपछि हिँडेर अस्पताल गएका थिए । न्युयोर्क फार रक-वेको सेन्ट जोन्स एपिसकोपल अस्पतालमा जचाउन पुगेका उक्त ट्याक्सी चालकका कारण उक्त चालकको संपर्कमा आएका ४० जना डाक्टर नर्स र अस्पतालका कर्मचारी समेत सेल्फ क्वारेन्टिनमा बसेका छन् । न्युयोर्क सहरमा अहिले ५० जना कोरोना भाईरस पोजेटिभ भटिएका छन् भने सहरमा ट्याक्सी वा उबर लिफ्ट चलाऊने चालकमा भाईरस भेटिएको पहिलो पटक हो ।  

    ती चालकको संपर्कमा आएका अन्य ब्यक्तिहरुको समेत खोजी भाईरहेको छ ।

  • कथा : सपनाको सौता

    कथा : सपनाको सौता

    प्रेमकृष्ण श्रेष्ठ / कीर्तिपुर

    सपना कसैको निम्ति हिजोको अनुभव होला त कसैको निम्ति भोलिको पूर्वानुमान । तर किन किन मेरो सपनामा भोलि देखिनु भन्दा हिजो नै बढी दोहरिन्छ । एक राती मैले गजबको सपना देखेथेँ । एउटा झ्यालको हरियो पर्दा खुल्यो र गोरो अनुहारको दर्शन भयो । बार्दलीको गमलामा फुलिरहेका फूलमा पानी छर्किरहेकी उनले मतिर हेरी मुसुक्क हाँसिन् । उनको मुस्कानको बदलामा मैले पनि उनको नाम के जप्न खोजेकी थिएँ, अचानक श्रीमतीले सपनामा के बर्बराएको भनी उठाई ।

    ‘सपनामा के सानी सानी भनी कराइरहनु भएकी ? को हो यो सानी भन्ने ? ’ म एकक्षण श्रीमतीको अनुहारमा टोलाएँ । मौन भएँ । सपनाको कथा उनलाई सुनाउन सकिनँ ।

    सपनाको यो पहिलो दर्शन होइन । किन किन सपनामा त्यही गमला ढकमक्क फुल्छ र त्यस्का फूलहरुसित त्यही सुकोमल हातका स्पर्शहरु नाँच्छन् । किन त्यही गोरो अनुहार मेरो सपनामा बारम्वार आउँछ ? म परपुरुष हुँ, कुनै श्रीमतीको श्रीमान् । अझ पनि त्यही अनुहार सपनामा मुस्कुराएर मलाई पथभ्रष्ट बनाउन खोज्छ । भन्न त मैले श्रीमतीलाई केही पनि भनेको छैन । तर, त्यो सपनामा आउने मेरै सपनाकी राजकुमारी थिई जस्ले अझै पनि मेरो सपनामा राजकुमारी बन्न छोडेकी छैनन् । त्यो गमला , त्यस्मा फुलेका फूलहरु र ती फूलसित बैँशालु कानेखुसी गर्ने हरिया चुराहरु मेरो अतीतको हिस्सा हो । जो सपनामा पूनरावृत भएर आउँछ । जस्ले मलाई कमजोर र दुःखी बनाउँदै लगेको छ ।

    एक रात त श्रीमतीकै अँगालोमै बर्बराएथेँ सानी भन्दै । निकै रिसाएर बोली –‘ के हो महोदय , अँगालोमा मलाई च्याप्ते तर नाम भने अरुको बर्बराउने ? उस्को नाम जप्नु छ भने शिरानी च्यापेर जप्दा हुन्छ ।’ आधा घुर्की र आधा माया देखाएर शिरानी मतिर फ्याँकेर भित्तातिर हेरेर अँगालोको ढोकामा ताल्चा लगाएको घटना सम्झिँदा म निराश बन्छु ।

    त्यस्तो बेला, यस्तो लाग्छ, सपना एउटा किटाब भएको भए , यस्को जम्मै अध्याय च्यातुँ । तर , कहाँ सक्छु र ? हर दिनको एउटा रात , रातको सपना र सपनामा त्यही गमलाका फूल र हातका नृत्यहरु । अनि आफ्नै श्रीमतीको अँगालोलाई घाऊ जस्तै दुखाउने पूर्व प्रेमिकालाई सम्बोधन ।

    एकरात श्रीमतीको अनुहार हेरेँ । साह्रै माया लाग्यो । बिरामी थिई । एक शय एक ज्वरोमा पनि सबै लुगाहरु धोएर रातको एघार बजेमात्र कोठामा आएकी थिई । मायालु अनुहार लगाएर मेरो छातीमा आफ्नो शिर बिछयाई । मेरो छाती उस्को निधारको आगोले भतभती पोल्यो ।

    ‘यति धेरै ज्वरो हुँदा हुँदै पनि किन रातीसम्म लुगा धोएकी ? ’ मैले सोधेँ ।

    ‘अफिसमा मैलो लुगा मात्र लगाएर गयो भने साथीहरुले हेप्छन् । सुकिलो लुगा लगाएर गए पो स्मार्ट भइन्छ । ’ उसले भनी ।

    मैले सोधेँ – ‘ तिमीलाई थाहाँ छ , तिम्रो ज्वरो कति छ ? ’

    उसले भनी – ‘ मेरो मतलब छोडनुस् । तपाईको तन्दुरुस्ती नै मेरो तन्दुरुस्ती हो । ’

    ऊ मुसुक्क हाँसेर मेरो छातीमा निदाई । म पनि निदाउने खुब प्रयत्न गरेँ तर सकिनँ । रातभरि त्यही डर लागिरहयो कि सपनामा फेरि त्यही गमला फुलेर त्यस्को नाम बर्बराएँ भने ! रातभरि ननिदाई जागै बसेँ । बिहान चार बजे ऊ उठेर गई अनि मात्र थोरै निदाएँ । थाहा भएन, सपनामा गमला फुल्यो कि फुलेन अनि बर्बराएँ कि बर्बराइनँ ।

    एक राति फेरि श्रीमतीको अँगालोमा उस्कै नाम जपेर बर्बराएछु । श्रीमतीले रिसाएर भनी –‘ त्यति नै मन पर्छ भने ऊसित बिबाह गर्दा पनि हुन्थ्यो । ’

    ‘ हाम्रो बिबाह सम्भव भएन । म नेवारको छोरो तर ऊ बाहुनकी छोरी । ’

    ‘हजुरले मलाई भन्दा उस्लाई बढी माया गर्नुहुन्छ है । ’उस्ले मन दुखाएर सोधी ।

    मैले भनेँ –‘होइन, म तिमीलाई नै माया धेरै गर्दछु । तिमी मेरी श्रीमती हौ । श्रीमतीको माया अरु कस्ले खोस्न सक्छ र ? धरोधम तिमीलाई नै माया धेरै गर्छु ।’ मेरो प्रत्युतर सुनेर मायाले गालामा हल्का थप्पड हानी ।

    त्यो रात पछि उस्ले मेरो जीवनमा कैले पनि उस्को बारेमा गुनासो गरिन । शायद त्यस पछि पनि मैले सपनामा कैयन पटक उस्को नाम जपेँ होला, कैयन पटक उस्को गालामा चुमे होला अझ ‘सानी, सिरक अलिकता यता देऊ’ भन्दै कैयनपटक बर्बराएँ होला , तर कुनै कुरामा पनि श्रीमती रिसाइन ।अचम्म लाग्छ , अझ पनि सपनामा त्यसरी नै गमला फुल्छ र म बर्बराउँछु । श्रीमती रिसाउँदैन ।

    घरको कामको बोझले प्राय बिरामी भइरहने श्रीमतीसँग एक रात किन किन ठट्टा गर्ने झोँक चलेर आयो । मैले सोधेँ –‘ शायद तिमीले सानीलाई बाटामा कहीँ भेटेको भए चिथोरेरै मार्थ्यौ होला, हगि ? ’

    उसले हाँसेर भनी –‘सपनाको सौताले के नै पो गर्न सक्छे र ? बिपनामा हजुरलाई भोग्ने त मै हुँ नि । उसले घमण्ड साथ बोली ‘ यस्तो लिपिस्टिक हजुरलाई उस्ले दिन सक्छ र , ओठैमा पर्ने गरी ?’ मेरो ओठमा ओठ दलेर बेसरी हाँसी । म पनि बेसरी हाँसे आफ्नो हाँसोमा मिसाउँदै सपनाको सौता, अनि के के सम्झेर त्यस महान नारीको पाऊमा दुईथोपा आँसु तप्प-तप्प झारें ।

  • प्रचण्डले तिरुवालाई सम्झने कि बिर्सने ?

    प्रचण्डले तिरुवालाई सम्झने कि बिर्सने ?

    पुरुषोत्तम लम्साल / भर्जिनिया

    फेरि एकपटक पूर्व विद्रोही माओवादीका नेता तथा वर्तमान नेकपाका एकजना अध्यक्ष पुष्पकमल दाहाललाई लक्षित गरेर एउटा सार्वजनिक कार्यक्रममा जुत्ता प्रहार भयो । जुत्ताले कसलाई लाग्यो कि लागेन भन्ने कुरा आज गौण विषय हो । आफूलाई शहीद परिवार भएको झुठो दावी गर्ने जुम्लाका रतन तिरुवाले प्रचण्डमाथि किन केको आक्रोश पोखे ? त्यो पनि गौण विषय हो । तरुवालाई द्वन्द्वपीडितको रुपमा स्थापित गर्ने केही संचारमाध्यमको असफल अभिष्ट पनि आजको बसाईको विषय होइन । उनी विप्लवनिकट अर्को नेकपासँग आवद्ध छन् कि छैनन् ? तिरुवाको आक्रोश स्वतःस्फूर्त हो वा प्रायोजित त्यो पनि बहस गर्न आवश्यक छैन । तर घृणा र आक्रोशको राजनीतिको एउटा समाजिक मनोविज्ञानलाई रतन तिरुवाले प्रतिनिधित्व गर्दछन् र त्यो विद्रूप मनोविज्ञान अनेक रुपमा यसअघि पनि प्रकट भएको थियो र भोली पनि हुनसक्छ भन्नु आजको प्रधान विषय हो ।

    सन् २००८ मा इराकको राजधानी बगदादमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशमाथि जुत्ता हानियो । जुत्ता हान्ने पत्रकार अल जाइदी नायक भए । केही इराकीले उनको जयजयकार गरे । तर अमेरिकाप्रति इराकी जनताको आक्रोशको हल निकालिएन । सद्दाम हुसेन त अमेरिकाको शिकार भए तर अमेरिका इराकबीचको द्वेष अहिलेसम्म उस्तै छ । यो त विदेशको एउटा दृष्टान्त मात्र हो ।

    नेपालमा नेताहरुमाथि यस्ता असन्तोष धेरैपटक प्रकट भएका छन् । यसलाइ असन्तोष प्रकट गर्ने उदण्ड शैली मात्र म भन्दिन । किनकि आममान्छे गुनासाको पोको फुकाउन नेताहरुको दैलो चाहार्दै करजोरी बिन्ति बिसाउँदै हिंड्दैन । भित्रभित्रै निस्सासिएर ‘म्याग्मा’ जस्तो भइसकेपछि त्यो कहीं पनि कुनै पनि रुप र अवतारमा प्रकट हुन्छ । धन्न ! हामीले त्यो अवतारमा अहिलेसम्म हिंसक ब्यवहार मात्र भेटेका छौं, हिंसा नै भोग्नुपरेको छैन । घृणा र असन्तोषको अभिव्यक्ति जुत्ता, चड्कन र पानीका बोतलहरुमा सीमित हुनुलार्य पनि हामीले सन्तोष मान्नपरेको छ ।

    ९ वर्षअगाडि एमाले नेता झलनाथ खनालको पुक्क परेको गाला देवीप्रसाद रेग्मीले चड्काए । राजनीति गर्नेहरुप्रतिको त्यो घृणा र आक्रोशको उपचार खोजिएन बरु सामान्य किसान रेग्मीलाइ कठघरामा उभ्याइयो । इटहरीमा केही एमाले कार्यकर्ताले रेग्मीलाइ भाकभुक पारेर झलनाथको शिर उँचो त न त्यतिबेला भयो न आज भएको छ ।

    भृकुटीमण्डपको सार्वजनिक कार्यक्रममा प्रचण्डको गाला चड्काउने वाग्लुंगे पदम कुँवर थिए । प्रचण्डसँग उनको जानी दुश्मनी थिएन । थियो त प्रचण्डले बिर्सिएका वा बिर्सन थालेका मुद्दाहरुलाइ सम्झाउने वा सम्झना दिलाउने अराजक आक्रोश । खासमा त्यो निराशाको अभद्र अभिव्यक्ति नै थियो । त्यो घृणा र आक्रोश केही माओवादी कार्यकर्ताले कुँवरलाइ कुटपिट गरेर निमिटयान्न भएन । ‘हाँस्दाहाँस्दै रुन जान्ने र रुँदारुँदै हाँस्न जान्ने’ प्रचण्डलाइ ‘रुनु न हाँस्नु’ बनाउने पदम कुँवर खासमा एउटा प्रतिनिधि पात्र थिए र उनको आवेग एउटा दृष्टान्त थियो ।

    डाक्टर बाबुराम भट्टराईमाथि पनि जुत्ता प्रहार भएकै हो । म हिरो हुन्छु र चर्चा पाउँछु भनेर मात्र सञ्जीव भट्टराईले बाबुराममाथि पक्कै जुत्ता हानेका थिएनन् । एउटा भट्टराइले अर्को भट्टराइलाइ जुत्ता हान्नु मात्र त्यो घटनाको आयाम थिएन । त्यसमा समाजको मनोग्रन्थी नै सपाट भएर घुलेको थियो । बाबुरामको शिर निहुरिंदा अरु त हाँसे होलान् तर सन्जीव भट्टराइ हाँस्न नसक्नुको पीडा सायद बाबुरामले पनि पढेनन् । बाबुराम ! अहिलेको हिजोका चुनावी मोर्चाहरुमा र त्यसपछि सन्जीव भट्टराइहरुको निराशामा मल्हम लगाउन केही पहलकदमी भयो ? भएन । आफ्ना असहमति र मतभेद शान्तिपूर्ण र मर्यादित ढंगले व्यक्त गर्ने संस्कार विकास गरौं । ‘लोकतन्त्रमा आलोचनात्मक चेतना हुनैपर्छतर त्यसलाई व्यक्त गर्ने तरिका पनि लोकतान्त्रिक हुनैपर्छ’ भनेर ग्रामीण पहाडका मान्छेले विरलै प्रयोग गर्ने ट्विटरमा आदर्श बयान गर्दै गर्दा सञ्जीव भट्टराईको निराशाको अभिव्यक्ति तपाईलाई याद भयो कि भएन होला ? ट्विट गर्ने तर ट्विटको जवाफ नपढ्ने आदत हो भने त केही भएन, तर राजनीतिक नेतृत्वप्रति कतिसम्म घृणा र आक्रोशको म्याग्मा जम्मा भएर बसेको रहेछ भनेर जान्न हामीले पटकपटक तपाईकै ट्विट उदाहरण लिनपर्ने अवस्थाको अन्त्य हुनपर्दैन ?

    कपनको एउटा कार्यक्रममा नेपाली कांग्रेसका तत्कालीन पार्टी सभापति सुशिल कोइरालामाथि कांग्रेसकै कार्यकर्ता प्रवेश बस्नेतले आक्रमण गरे । त्यो पनि बिद्रोह थिएन । दल र दलका नेताप्रतिको वितृष्णा थियो । तर त्यो वितृष्णाको जरा खोजिएन । समयले कोइरालालाइ अवसर दियो र उनले प्रवेश वस्नेतहरुलाइ एक थान संविधान दिलाउने श्रेय लिएर परलोक सुधारे । यसमा यत्ति नै ।

    माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीले पनि तीनकुनेस्थित चिया पसलमा प्रेमराज देवकोटाको गतिलै चड्कन भेटेका हुन् । ‘संविधान बनाउन बिलम्व भो’ भन्दा झक्कु कमरेडले झापड भेट्नु र समृद्धिको सपनालाइ पत्यारलाग्दो बनाउन नसक्दा बाबुरामले जुत्ताको झट्टी खानुको कारण एउटै हो निराशा र आक्रोश । झक्कु महोदयले प्रेमराज देवकोटाको झाप्पु आज सम्झिएका छन् कि छैनन् ? मलाइ ‘सही रास्ता’ देखाउने प्रेमराजहरुलाइ साक्षी राखेर आइन्दा म जनताको आशा र अपेक्षासँग खेल्दिन र अरुलाइ पनि खेल्न दिन्न भनेर सुवेदीहरुले कहिल्यै भने ? भनेनन् । समस्या यहाँनेर छ ।

    नेपाली कांग्रेसका नेता रामशरण महतमाथि आफनै निर्वाचन क्षेत्रमा भएको एउटा कार्यक्रममा पानीको बोतलले महतको तालु पड्काइएको होइन । त्यो पनि निराशा, आक्रोश र घृणाकै अराजक अव्यिक्ति त थियो । यी सिलसिलाहरुले नेताहरुमा असुरक्षा महशुस गराएर मात्र पुग्छ ? पुग्दैन । यहाँ त केही राष्ट्रिय स्तरका नेताहरुको मात्र दृष्टान्त दिइएको छ, जनअपेक्षामा खरो उत्रन नसक्ने राजनीतिक दलका नेतृत्वलाई तल्लो तहबाटै जुत्ता हान्न थाल्ने हो भने भोली को को निर्धक्क भएर फुक्काफाल हिंड्नसक्लान् ? सवाल यो हो । व्यक्तिभित्र जागृत हुने आपराधिक र हिंसक मनोविज्ञानको समाधान फगत कानूनले मात्र निकाल्न सक्दैन, राजनीतिक नेतृत्वको आचार, विचार व्यवहारले पनि निकाल्न सक्दछ भनेर सचेत हुने कि नहुने ? सवाल यो हो ।  

    पदम कुँवरलाई पुष्पकमल दाहालले माफी दिए । एमाले नेता झलनाथ खनालले पनि आफुलाई झापड हान्ने देवीप्रसाद रेग्मीलाई माफी दिए । सुशिल कोइरालामाथी आक्रमण गर्ने बस्नेतले पनि माफी पाए । निर्मलाहरुले पनि माफी पाए । तर माफी मात्र निराशाको हल होइन । निराशाको उपचार नेताहरु भरोशा गर्नलायक बन्नु हो । जनताका मुद्दामा खरो उत्रन नसके चड्कनभन्दा ठूलो बज्रपातले सधैं मूलबाटो कुरिरहेको हुन्छ । फेरि पनि कुँवर, बस्नेत, रतुवाहरुको घृणाको निरन्तर अभिव्यक्ति रोक्न राजनीतिक नेतृत्वले नै पहलकदमी लिने हो ।

    जुत्ता प्रहार प्रकरणको अन्तर्य एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा गठित छानवीन समितिले खोज्ने होइन । कानूनको बुँदामा टेकेर अपराधजनित क्रियाकलापको व्याख्या त सहज होला तर आम मान्छेभित्रको असन्तोष र असन्तुष्टीको सम्बोधन सहज हुँदैन । हिजोका पदम कुँवर र आजका रतन तिरुवालाई उदाहरण बनाएर पनि पुष्पकमल दाहालहरुले आत्मसमीक्षा गर्नपर्दछ । तिनका आशा र अपेक्षाहरुमा पौडिएर आफूलाइ सत्ताको सुविधा लिन मात्र अभ्यस्त राख्दा मूलबाटो र चौबाटोमा तिरुवाधारी अनिष्ट ढुकेर बसिरहेकै हुन्छ ।

  • रक्तदान नै गर्न न्यूयोर्कबाट बाजुरा जाँदैछु

    रक्तदान नै गर्न न्यूयोर्कबाट बाजुरा जाँदैछु

    अर्जुनप्रसाद मैनाली / विश्व रक्तदाता

    अफ्रिकाको केन्यामा आम जनमानसको मन छुने गरी रक्तदान उत्प्रेरणा जगाउन सकेकोमा मलाई बधाईको ओईरो लागिरहेको थियो । यसै बीच क्यामरुनको रक्तसन्चारका अधिकारी एस्टेल टन्टेले ‘तपाईंले विश्वब्यापी रुपमा रक्तदान उत्प्रेरणा सफल रुपमा र प्रभाबकारी तरिकाले गर्दै आउनु भएको छ, हाम्रो देशमा स्वयमसेवी रक्तदान १० प्रतिशत भन्दा पनि कम छ, यहाँ पनि रक्तदान उत्प्रेरणाका काम गरौं’ भन्ने व्यहोराको प्रस्ताव प्राप्त भयो । क्यामरुनमा रक्तदान उत्प्रेरणा गराउन म गृहकार्य गर्दै थिएँ । 

    एक्कासी नेपालको सुदुरपश्चिम भागको बाजुरामा सुत्केरी महिलाले अत्यधिक रक्तश्राव भै जीवन गुमाउदै गरेको ‘रक्तस्राव अभिशाप” बिषयमा छापिएको समाचार पढ्न पुगें । त्यस क्षेत्रमा बिरामीहरुले सजिलै रगत पाउन सक्दैनन भन्ने कुरा मलाई पहिल्यैदेखि लागेको थियो । रक्तदान उत्प्रेरणाको सानो प्रयास र सहयोग गरेकै पनि थिएँ । लगातार वरपरका अरु पाँच सात जिल्लामा पनि त्यस्तै अवस्था रहेको अरु समाचार आउन थाले । यस्ता कुराले मेरो मन झन दुख्यो । मलाई रातभरी निन्द्रा पर्दै परेन । म बेचैन भएँ ।

    संसारभरी आफ्नै रगत दिएर बिरामी बचाउने प्रयास गरिरहँदा आफ्नै देशको सुदुरपश्चिममा गर्भवती तथा सुत्केरी महिला बचाउन केही गर्नु पर्छ भन्ने लाग्यो । त्यसैले रक्तदान नै गर्न भनेर न्यूयोर्कदेखि करिब चौतिस पैतिस घण्टा लगाएर बाजुरा गएर रगत दान गर्ने योजना तय गरें । मैले यति टाढाबाट गएर रगत दिएपछि त्यहाँका युवायुवतीहरुमा पनि पक्कै रगत दिउँ दिउँ हुनेछ, भन्ने लागेको छ । बाजुरामा करिब १ लाख पचास हजार जति जनसंख्या छ । विश्व स्वास्थ्य संगठनले जम्मा जनसंख्याको कम्तिमा १ प्रतिशतले रक्तदान गरेमा मात्र त्यस क्षेत्रका बिरामी बचाउन पर्याप्त हुन्छ, भनेको छ । यस हिसाबले बाजुरामा बर्षको १ हजार ५०० पोका रक्तदान हुन आवश्यक छ । सुदुरपश्चिममा वार्षिक २५ हजार पोका रगत दान हुन सक्दछ । तर त्यस्तो अवस्था छैन । त्यसैले त्यहाँ गएर आँफैले रगत दिएर एक जना भए पनि बचाउ, केही रक्तदाता तयार पारौं, केही रक्तदाता उत्प्रेरक तयार पारौं भन्ने लाग्यो । यो अभियान सफल बनाउन मैले योजना पनि तय गरेको छु । १, म स्वयमले उपस्थित जनमानसको बीचमा रक्तदान गर्ने । २, उपस्थित समुदायमा रक्तदान उत्प्रेरणा गर्ने । ३, ती क्षेत्रका रक्तदाताहरुलाई सङठित बनाउने । ४, हाइ सकुलका विद्यार्थी बीच बक्तृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता मार्फत म भबिष्यमा रक्तदान गर्न प्रयास गर्नेछु, भन्ने मनोभावना जगाउने । यति गर्नसके तीन चार बर्षपछि यीनै हाइस्कुलका भाई बहिनीहरु रक्तदाता बन्नेछन भन्ने विश्वाश लिएको छु ।

    यस कार्यमा म केही बर्ष निरन्तरत लागिरहने छु । यस कार्यक्रमलाई केही आर्थिक सहयोग जुटाउने उद्देश्यले सामाजिक सन्जालमा ‘सुदुरपश्चिममा रगत नपाएर दिनहुँ बिरामीले जीवन गुमाउनु परेको छ’ लेख्दै अत्याधिक रक्तश्राव भएकी महिलालाई स्ट्रेचरमा बोकेर अस्पताल लग्दै गरेको फोटो राखेँ । अनी ‘न्यूयोर्कका एक जनाले सुदुरपश्चिममा रक्तदान उत्प्रेरणा कार्यक्रममा आर्थिक सहयोग गर्न इच्छा राखेका छन’ लेखें । धनगढीका एकजना रक्तदाताले ‘अर्जुन सरले गर्न लाग्नु भएको अभियान अतिनै उपयोगी साबित होस ! शुभकामना पनि छ । तर उहाँले भने जस्तो सुदुरपश्चिममा रगत नपाएर दिनहुँ मान्छे चाँहिँ मर्नु परेको छैन, अभियान गर्दा भुगोल र यहाँको बस्तुस्थिती बुझ्न उहाँलाइ अनुरोध समेत गर्दछु ।’ लेखेछन् । सोचें… ‘मलाई साच्चिकै बस्तुस्थिती थाहा नभएकै हो त?’ प्रत्यक्ष नचिनेको ब्यक्तिसँग धेरै कुरा गर्नु हुँदैन भन्ने मनमा आयो, ‘हस । मैले आफुलाई सुधारेँ हजुर’ लेखेँ । बाजुरा क्षेत्रको भौगोलिक र स्वास्थ्य अवस्था बारे जानकार एकजनाले मैले लेखेकै तलतिर, ‘तपाइले सुधार पर्ने कुरै छैन, तपाईंले जे गर्नु भएको छ ठीक गर्नु भएको छ । बाजुराको अवस्था बुझेर गर्नु भएको छ, भदौ यता बाजुरामा ५ जना सुत्केरीको मृत्‍यु भएको छ, जसमा धेरैको अत्याधिक रक्तश्राव भएर मृत्‍यु भएको थियो, आफन्तलाई त रगत दिन मान्दैनन चेतना दिन जरुरी छ’ लेखेछन । त्यसपछि, ‘मैले ठिकै गरेको रहेछु’ लाग्यो । यो कुरा एन आर एन संस्थालाई पनि भनेँ । एन आर एन संस्थाले पनि एक लाख रुपैया सहयोग गर्छु भनेको छ, निबन्ध प्रतियोगिता गर्न लाग्ने करीब चार लाख रुपैयाँ पनि एन आर एनबाटै जुट्ने आशा राखेको छु । यही मार्च १७ मा बक्तृत्वकला प्रतियोगिता र रक्तदान उत्प्रेरणा कार्यक्रमको लागि बढीमालिका गाउँ पालिकाले कार्यक्रमनै बनाउँदै छ । सुदुर पश्चिम प्रदेश रेडक्रसले पनि साथ दिने भएको छ । त्यस क्षेत्रका सम्पूर्ण जनताले पनि साथ दिनु पर्छ ।

     नेपालमा रक्तदान गर्न जाने योजना बनाउँदै गर्दा न्यूयोर्कका नेपाली समुदायका चारवटा रक्तदान कार्यक्रमहरुलाई सघाएँ ।

     

    यसैबीच चाइनाको वुहानमा कोरोनाभाइरस देखियो । विश्वका तिसभन्दा बढी देशमा लाखौँजना कोरोनाभाइरसबाट संक्रमित भै सकेका छन । हजारौँ जनाले जीवन गुमाइ सकेका छन । यो रोग अझै बढ्दै जाने र धेरैजना मर्नेमा पक्का छ । मैले काम गर्ने कार्यालयका साथीहरुले यस्तो बेलामा अर्को देशमा यात्राा नगर्न सुझाएका छन । तर म नेपालको बाजुरामा गएर रक्तदान गर्न एकोहोरो भै सकेको छु । जे सुकै होस, जान्छु जान्छु भन्ने अठोट लिइसकेको छु । यो मेरो जीवनकै भयंकर जोखिम हो । अझ कार्यालयका साथीहरुले तिम्रो कारणले गर्दा हामी बिरामी हुन चाहँदैनौ, मर्न चाहँदैनौ भनेका छन । अझ दुई जनाले त म नेपाल जाने मिति भन्दा अगाडि बिदा लिन तय गरी सकेका पनि म फर्केको दिनदेखि लागू हुनेगरी दुई हप्ताको छुट्टीको लागि निबेदन गरेका छन । केही देशमा जानआउन ठप्प छ । जनताहरु आतंकित छन ।

     नेपाली महाबाणिज्य दुतावास न्यूयोर्कले नेपाली समुदायमा नेपालमा पर्यटनलाई प्रबर्द्धन गर्ने उद्देश्यले एउटा बैठक बोलाएको थियो । मिटिङ सुरु हुनुभन्दा अगाडि उपस्थित हुनुहुनेहरुले मलाई, ‘तपाइले राम्रो काम गरी राख्नु भएको छ’ भने । तर सहयोग गर्न कसैले पनि सक्नु भएन । रक्तदान उत्प्रेरणा कार्यक्रमको लागि मलाई एकदमै सहयोग चाहिएको थियो । तैपनि पर्यटन प्रबर्द्धन गर्न प्याभलिएन बनाउन मैले २०० डलर सहयोग गरेँ । आफुसँग भएका पैसा, केटाकेटीका खुत्रुके फुटाएर पाएका पैसा एकठाउँमा भेला पारी नेपाल जाने दिन मार्च १३, २०२० लाई पर्खि रहेको छु । कोरोनाभाइरसको संक्रमण अझै नफैलियोस भन्ने प्रार्थना छ ।

  • फागुपर्व एक : प्रभाव अनेक

    फागुपर्व एक : प्रभाव अनेक

    भीमनारायण श्रेष्ठ / शोणितपुर (थानकोट)

    विशेषतः हिन्दू धर्मावलम्वीहरू एकआपसमा उत्सुकताका साथ हर्षोल्लासमय वातावरणमा आ–आफ्नै घर आँगन एवम् सहर बजारमाविभिन्न रङ्गहरू खास गरी अबीर (सिन्दूर) एकआपसमा हालाहाल गरी फागुपर्व (होली) मनाउने गर्दछन् । कोहीकोही त पानी छ्यापाछ्याप समेत गरेर फागु (होली) को आनन्द लिने गर्दछन् । फागुपर्वको अवधिभर केटाकेटीहरूले बटुवाहरू माथि लोला हान्ने र पानीछ्याप्दै हाँसीखुसी मज्जा लिने र अरूलाई हैरान पार्ने पनि गर्दछन् । फागुपर्व फाल्गुण शुक्लअष्टमीदेखि पूर्णिमा (चन्द्रमास गणनाकोतिथि अनुसार नेपाल सम्बत् चिल्लाथ्व अष्टमीदेखि पूर्णिमा) सम्म हर्षोल्लासकासाथ मनाउने गरिन्छ । फागुपर्वको आरम्भदेखि अन्त्य (पूर्णिमा) सम्म फागुपर्व लागेको जनाउन काठमाडौंको वसन्तपुरमा चिरस्वाय्गु ( रङ्गीचङ्गी कपडाका टुक्राहरू टाँगी सुसज्जित लिङ्गोठड्याउने) गरिन्छ । तराई एवम् भित्री मधेशतिर फागु पूर्णिमाको भोलिपल्टसम्म धुमधामकासाथ होलीपर्व मनाउने गरिन्छ  । फागु (होली) पर्व मनाउन कुनै जातधर्म केहीले पनि छेकवार लगाएको पाईदैन ।

    हामीले मनाउँदै आएको फागु (होली) पर्व कहिलेदेखि शुरुवात भएको भन्ने एकिन तथ्य प्रमाण नभेटिए तापनि हालसम्मको कथन अनुसारपराक्रमी दानवराज हिरण्यकश्यपुका छोरा बालक प्रह्लाद शिवभक्त भएकाले आफ्नै पिता (हिरण्यकश्यपु) ले उनलाई अग्नीदाह गरीअन्त्य गर्न आफ्नी बहिनी होलिकाको सहयोग लिएका थिए । होलिकाले अग्नीबाट छुन नसक्ने वरदान पाएकी थिईन् । होलिकालेप्रह्लादलाई आफ्नो मोहमा पारी अग्नीदाह गराउन काखमा लिई चित्तामा बसेकी बेला तलबाट दानवहरूले आगो लगाई दिएका थिए ।आगोको ज्वालाले शिवभक्त प्रह्लादलाई छुन सकेन । तर बिग्रँदो मति लिएर अरुको नाश गर्न तम्सिएकी होलिकालाई भने आगोले बाँकीराखेन । अग्नीले होलिकालाई खाग बनाई दिए । दानवी होलिकाको नाश भएको बेलादेखि उनै होलिकाको नामले होलि अर्थात् फागुपर्वमनाई हर्षोल्लासमय वातावरणमा रङ्गमा खेल्ने गरेको हो भन्ने भनाई रहेको छ । यसैले हामी फागु अर्थात होलिपर्व बर्षको एकपटकमनाउँदै आएका छौं ।

    ​यसरी उत्सुकतापूर्वक रङ्गमा खेल्नु भनेको नै रङ्ग साहित्यमा रमाउनु हो । रङ्ग साहित्यले हाम्रो भौतिक जीवनमा गहिरो जरा गाडेकोपाइन्छ । जन्मेदेखि मरणोपरान्तसम्म पनि हामी रङ्ग साहित्यमा नै डुब्छौं, रमाउँछौं । विद्वानहरू भन्छन् – साहित्य, सङ्गीत र कला बिनाहाम्रो जीवन अधुरो नै रहन्छ । अझ त्यसमा थप्छन् – साहित्यको सीमा, सङ्गीतको गहिराई र कलाको उचाई नापेर नाप्न सकिन्न ।यसैबाट थाहा हुन्छ कि साहित्य, सङ्गीत र कलाको सम्बन्ध हाम्रो जीवनमा कति रहेछ भन्ने व्याख्या गरेर साध्य नै छैन । त्यस्तै हाम्रोजीवनमा रङ्ग साहित्यको प्रभाव अझ गहिरो छ । रङ्ग साहित्यको प्रभाव हाम्रो दृष्टिगोचरले भ्याएसम्म र स्पर्श हुने ठाउँसम्म पुगेकोछ ।सुक्ष्म रुपले अध्ययन गर्ने हो भने हाम्रो जीवनमा रङ्ग साहित्यको प्रभाव नजानिँदो किसिमले कति परेको छ भन्ने छर्लङ्ग हुन्छ ।

    ​रङ्ग साहित्यको उत्पत्ति कहिले भएको सजिलै भन्न कठिन छ । तापनि सूर्यको किरणबाट प्रवाह हुने सहस्र रङ्गहरूको प्रभावलाई लिनसकिन्छ । यसैबाट रङ्ग साहित्यको शुरुवात भएको भन्न सकिन्छ । सूर्यको किरणमा रहेका सहस्र रङ्गहरू मध्ये हामी हाम्रो आँखालेप्रत्यक्ष रुपमा सप्तरङ्गी इन्द्रेणी मात्र देख्दछौं । इन्द्रेणी रङ्गहरू वैजनी, आकासे रङ्ग, निलो, हरियो, पहेंलो, सुन्तला रङ्ग, र रातोसूर्यकिरणबाट उत्पत्ति भएको मानिन्छ  । यस्तै सेतो र काला यी दुई रङ्ग आफैंमा रङ्ग नभए तापनि अरु रङ्गको समिश्रणबाट तयार हुनेरङ्ग भएकाले ती समेत गणना गर्दा नवरङ्ग भनी नौवटा रङ्ग देखा पर्दछ । यी सप्तरङ्गमा पनि मूलरुपमा रातो, निलो, हरियो र पहेंलोलिइन्छ । यिनै ४ रङ्गहरूबाट अरु रङ्गहरू तयार हुने भएकाले यसको समायोजन पछि सिर्जित रङ्ग नै हामीले अनुभूति गर्ने रङ्गसाहित्य हो ।

    ​हामीले जता हेर्छौं त्यता रङ्ग नै रङ्ग देख्दछौं । जुन वस्तु छुन्छौं रङ्गीन नै छुन्छौं । जुनकुराको अनुभव गछौैं रङ्ग नै अनुभूति हुन्छ ।आँखा खोल्यौं चारैतिर रङ्गैरङ्ग देखिन्छ । आँखा बन्द गर्यौं भनेपनि रङ्गैरङ्गको अनुभूति हुन्छ । दायाँ बायाँ, अगाडि पछाडि, तल माथिसवैतिर रङ्गैरङ्ग देख्दछौं । हामी लुगा लगाउँदछौं विभिन्न रङ्गका, खानेकुरा खान्छौं उही रङ्ग भएको वस्तु नै । यस्तो हुनु नै रङ्गसाहित्यको प्रभाव हो । हाम्रो भौतिक जीवनमा रङ्ग बिनाको वस्तु हामी परिकल्पना पनि गर्न सक्तैनौ । किनभने हाम्रो भौतिक शरीर नैरङ्गले भरिएको छ । हाम्रो शरीर रातो रगतबाट सिंचित छ । त्यही रगतको कणले बनेको कोष विकसित भई त्यसैबाट अङ्ग प्रत्यङ्गहरूबनेका छन् । त्यसैले हाम्रो शरीरको बाहिरी स्वरुप पनि रातो, कालो, सेतो, गहुँगोरो भएका छन् । यस्तो हुनु कसैको रगत बाक्लो रकसैको पातलो हुनाले र कसैको भौगोलिक अवस्थाबाट पनि फरक हुने गर्दछ । त्यसैले हामी भन्ने गर्दछौं रुप रङ्गमा “गोरो भएपनिनराम्रो, कालो भएपनि हिसि परेको, गहुँगोरो भएकोले राम्रो” आदिआदि । यस्तो हुनुपनि रङ्ग साहित्यको प्रभाव नै हो ।  

    ​भौतिक जगतमा हामी एकदिनलाई दिन र रात गरी २४ घण्टाको समय तालिकाले हिसाव गर्दछौं । त्यसलाई आधा गर्दा १२/१२ घण्टाकोदिन र रात हुन्छ । दिन र रातको समयलाई ध्यान दिंदा हामी दिनको १२.०० बजेलाई मध्यान्ह, रातको १२.०० बजेलाई मध्यरात मान्दछौं ।त्यस्तै विहान ६.०० बजेको समयलाई प्रभातकाल अर्थात सूर्योदयको समय, बेलुकाको ६.०० बजेलाई सन्ध्याकाल अर्थात सूर्यास्तकोसमय मान्छौं । यसरी यी चार समयको पनि अलग अलग रङ्गहरू छन् । पहिलो सूर्योदयमा सुनौला किरणले छाउने भएकाले पहेंलोरङ्ग, त्यस्तै मध्यान्हमा सबैतिर उज्यालो हुने भएकाले सेतो रङ्ग, बेलुका सूर्यास्त हुने बेला सूर्यको रातो किरण आउने भएकाले रातो रङ्गर मध्यरातमा सवैतिर अँध्यारो हुने भएकाले कालो रङ्ग देखापर्दछ । यसरी रङ्ग साहित्यले भौतिक जगतलाई पनि प्रभाव पारेको देखिन्छ।

    ​अझ हाम्रो भौतिक शरीरलाई कहिँ कतैबाट रङ्ग साहित्यले प्रभाव पार्न छाडेको छैन । हामीले ख्याल राख्न नसकेको मात्र हो । हामीदिनभर आफ्नै कार्यव्यस्ततामा रहन्छौं । साँझपख थकित हुन्छौं । राती मस्त निन्द्रामा हुन्छौं र बिहानीपख हामी जागरुक हुन्छौं । यसअवधिभर पनि हामीलाई रङ्गले छोडेको हुँदैन । हामी दिनभरको थकानबाट आरामको लागि बेलुकी खानपिन गरी सुत्ने गर्दछौं । जवहामीमा निन्द्रा लाग्न शुरु हुन्छ तब हाम्रो शरीरको रङ्ग पहेंलो हुन्छ । त्यसपछि मज्जाले निन्द्रा लाग्छ, कोहीकोही मज्जाले घुर्ने पनि गर्छन्। त्यतिबेला हाम्रो शरीरको रङ्ग निलो कालो हुन्छ । जव निन्द्रा पुग्छ, बिहानीपख उठ्ने बेला भएको हुन्छ । त्यतिबेला हाम्रो शरीरको रङ्गरातो हुन्छ । अनि हामी उठी आफ्नो नियमित स्नान कार्य सम्पन्न गर्दछौं र उज्यालो पनि हुँदै जान्छ । त्यतिबेला हाम्रो शरीरको रङ्ग पनिपरिवर्तित भई सेतो उज्यालो भएको हुन्छ । यसरी हाम्रो भौतिक शरीरलाई पनि रङ्ग साहित्यले प्रभाव पारेको छ ।

    ​हाम्रो धर्मग्रन्थ अनुसार यो ब्रह्माण्ड नै पृथ्वीतत्व, जलतत्व, वायुतत्व, तेजतत्व र आकाशतत्व यी पञ्चतत्वमा अडिएको छ । यिनै पञ्चतत्वविना हामी यो संसारको कल्पना पनि गर्न सक्दैनौं । फरक फरक किसिमका यी पञ्चतत्वहरूको रङ्ग पनि फरक नै छ । त्यस्तैहिन्दुहरूको अधिष्ठाता आराध्यदेव महादेवको सहस्रनाम भए तापनि पशुपतिनाथको श्वेतवर्ण पञ्चमुखमा प्रत्येक मुखको स्वरुप, तत्व रनामाकरण पनि फरक नै छन् । ती यिनै हुन् ।

    ​दिशा​स्वरुप​पञ्चतत्व​नाम​रङ्ग

    पश्चिममुख​सद्योजात​पृथ्वीतत्व​नन्दिमुख​पहेँलो

    उत्तरमुख​वामदेव​जलतत्व​उमामुख​सेतो

    पूर्वमुख​तत्पुरुष​वायुतत्व​महादेवमुख​निलो

    दक्षिणमुख​अघोररुप​तेजतत्व​भैरवमुख​कालो

    उध्र्वमुख​ईशानरुप​आकाशतत्व​सदाशिवमुख​आकासे निलो

    ​पञ्चतत्वले सर्वव्याप्त पशुपतिनाथको स्वरुप अनुसारको फरक दिशामा अवस्थित नामको पञ्चमुखको रङ्ग फरक हुनाले पनि रङ्गसाहित्यमा अझ बढी प्रभाव परेको देखिन्छ ।

    ​त्यस्तै हिन्दू धर्मावलम्वीको मन्दिर, बौद्ध धर्मावलम्वीको गुम्बा, मुस्लिमको मक्कामदिनामा पनि रङ्ग साहित्यको प्रभावले फरक रङ्गलेसजिएको छ । जस्तै; हिन्दू धर्मावलम्वीको मन्दिरहरूको छाना पित्तल वा तामाको अर्थात अरु केही वस्तुको भए तापनि पहेंलो वा रातोरङ्गको नै हुन्छ ।  बौद्धमार्गीको गुम्बाहरूमा पहेंलो वा सेतो रङ्ग नै लगाएको हुन्छ । त्यस्तै मुस्लिम धर्मावलम्वीको मक्कामदिनामा हेर्यौंभने त्यो पनि कालो रङ्गको नै देख्छौं । यसरी धार्मिक आस्था अनुसारको मन्दिरहरूको रङ्ग र विशेषतामा फरक फरक हुनु रङ्गसाहित्यको प्रभावले गर्दा नै हो ।

    ​कति व्यापक छाएको छ, रङ्ग साहित्यको प्रभाव ! हामी हिन्दूहरूको महानचाड दशैंको पूजाआजा गर्दाखेरि पनि रङ्ग साहित्यको कतिप्रभाव परेको छ भन्ने छर्लङ्ग हुन्छ । हामी घटस्थापनाको दिनमा जमरा राख्छौं । त्यसपछि महानवमीको दिनसम्म नवदुर्गाको रुपमाविभिन्न शक्तिपीठहरूमा गई पूजाआजा गर्दछौं । बराहपुराणमा अष्टमातृकाको नाउँ उल्लेख भए तापनि खासगरी ब्राह्मी, महेश्वरी, कौमारी, वैष्णवी, बाराही, इन्द्रायणी र चामुण्डा गरी सप्तमातृका मूलरुपमा अगाडि आउने गर्दछ ।  सप्तमातृका भित्र पर्ने सातै देवीकासामुहिक शक्ति समावेश गरी एउटै स्वरुपको आकृतिमा महालक्ष्मीलाई अष्टमातृकाको रुपमा चित्रण गरेका छन् । अझ सप्तमातृकामामहालक्ष्मी समेत समावेश गरी अष्टमातृका भनिन्छ भने अष्टमातृकामा सिंहीनी थपेपछि नवदुर्गाको रुपमा मानेका छन् । यिनीसप्तमातृकाको साथै नवदुर्गाको स्वरुपमा रङ्ग फरक फरक हुनु रङ्ग साहित्य कै प्रभाव हो ।

    ​विजया दशमीमा नवदुर्गाको पूजाआराधना गरी टीकाटाला गर्दा आ–आफ्नो संस्कृति अनुसार  विभिन्न रङ्गको टीका लगाई जमरा समेतलिने गर्दछौं । जसमा कालो टीकाले एकप्रकारको दैविशक्ति उत्पन्न भएको महशुस हुन्छ । त्यस्तै रातो टिका । यसमा पनि सेतो दही, लावा, अक्षता र रातो सिन्दूर मिलाई बनेको रातो टीका । अझ त्यसलाई थप शक्ति प्रदान गर्न पहेंलो जमरा समेत लगाउने गर्दछौं ।त्यसरी विभिन्न रङ्गको टीका एकैसाथ ग्रहण गर्नाले आफूमा एकप्रकारको दैवीशक्ति प्राप्त भएको महशुस हुन्छ । यस्तो हुनुमा पनि रङ्गसाहित्यको प्रभावले गर्दा नै भएको मान्नु पर्दछ ।

    ​यही रङ्गको प्रभावले गर्दा नै हामी एकबर्षको अवधिलाई दुई दुई महिनाको ऋतु परिवर्तन भएको मान्छौं । गृष्म, बर्षा, शरद्, हेमन्त, शिशिर र वसन्त ऋतु गरी ६ भागमा विभाजन गरी अलग–अलग मौसम परिवर्तन भएको अनुभव गरिन्छ । ऋतु फरक हुनासाथ मौसमफरक हुने भएकाले वातावरणको रङ्ग पनि फरक नै हुने गर्दछ । यसो हुनुमा पनि रङ्ग साहित्यले नै प्रभाव पारेको हो ।

    ​अझ नेपालका नदीनालाहरूको नामाकरण अनुसार त्यसको रङ्ग र प्रभाव समेत फरक छ । जस्तै सप्तकोशीको उदाहरण यहाँ लिनसकिन्छ । सप्तकोशीको मूल प्रवाह हिमनदीहरु भए तापनि नाम अनुसार त्यसमा बग्ने पानीको रङ्ग र जनजीवनमा पारेको प्रभाव समेतफरक नै छ । दुधकोशीको पानी सेतो, तामाकोशीको पानी रातो, सुनकोशीको पानी पहेंलो, भए जस्तै भोटेकोशीको पानीको रङ्ग पनिफरक छ । त्यस्तै सप्तकोशी मध्येको बांकी नदीहरूको पानीको रङ्ग पनि फरक भई बगेको छ । यी विभिन्न रङ्ग र विशेषता रहेकोनदीको पानी सप्तकोशी नामबाट एकैनदी भई बगेको हुँदा यस नदीमा नुहाउनाले हाम्रो शरीरको विभिन्न रोहहरूको निदानमा सहयोगमिल्छ भनेका छन् । यसो हुनाको कारण पनि रङ्ग साहित्यको प्रभाव नै मान्नु पर्दछ ।

    ​रङ्गकर्मी चित्रकारहरूबाट सिर्जित विभिन्न चित्रहरू हामीहरूले देखेका छौं । तिनै रङ्गकर्मीले सिर्जित विविध रङ्गहरूको समायोजनगरी समय, परिस्थिति र वातावरण अनुसार अलग अलग पहिचान हुने गरी आकर्षक चित्रहरूको माध्यमबाट एकप्रकारको चित्र साहित्यतयार गरेका हुन्छन् । उक्त चित्र साहित्य कोर्नका लागि पनि विभिन्न रङ्गहरूको प्रयोग गरेका हुन्छन् । यदी रङ्ग नहुँदो हो त सायद चित्रसाहित्यको कल्पना पनि गर्न सक्दैन होला । त्यसैले रङ्गकर्मी भन्दा पनि रङ्ग साहित्यले चित्र साहित्यमा समेत निकै प्रभाव पारेको छ ।

    ​अन्तमा  हाम्रो जनजीवनमा समय, परिस्थिति र वातवारण अनुसारको हावापानीमा समेत निकै रङ्ग साहित्यले प्रभाव पारेको हुँदा यसविषयमा छुट्टै विषयवस्तु बनाई अध्ययन हुन जरुरी देखिन्छ ।

    श्रोत सन्दर्भ;
    १. प्रा. गोविन्दप्रसाद भट्टराई – नेपालका अधिष्ठाता आराध्यदेव श्री पशुपतिनाथ (पत्रिकाको लेखरचना)

    २. संस्कृति सम्बन्धी विविध लेख रचना

  • देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, पहिलो भएका पोखरेललाई ५१ हजार प्रदान

    देशव्यापी राष्ट्रिय कविता प्रतियोगिता सम्पन्न, पहिलो भएका पोखरेललाई ५१ हजार प्रदान

    फागुन १६, काठमाडौं

                गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको देशव्यापी राष्ट्रिय कविता प्रतियोगितामा जगदीश्वर पोखरेल पहिलो भएका छन् । शुक्रवार गोकणेश्वर नगरपालिकाको आरुबारी चोकमा सम्पन्न प्रतियोगितामा पहिलो घोषित भएका पोखरेलले नगद ५१ हजार र प्रमाणपत्र प्राप्त गरे । दोस्रो भएका दिनेश विक्रम थापाले नगद ३१ हजार पाए भने तेस्रो स्थान हासिल गरेका पदम दाहालले नगद २१ हजार पाए । सान्त्वना पुरस्कार बापत् याज्ञबल्क्य न्यौपाने र डाक्टर सत्यराज थपलियाले १०–१० हजार प्राप्त गरे । विजयी कविहरुलाई शताब्दी पुरुष सत्यमोहन जोशीले पुरस्कृत गर्नुभयो । 

                 त्यस्तै प्रदेशतर्फ एक नम्बरबाट जीवन आरोही, खोलाघरे साइँलो र गणेशप्रसाद खतिवडा उत्कृष्ट भएका छन् । दुई नम्बर प्रदेशका  सम्पतकुमार काफ्ले उत्कृष्ट भए । तीन नम्बर प्रदेश (वागमती) मा शम्भुप्रसाद गजुरेल, दीपक सापकोटा र मुकुन्द शर्मा चालिसे उत्कृष्ट घोषित भए । चार नम्बर प्रदेशबाट संयोग बस्याल, राजकुमार देवकोटा र गंगा आचार्य सापकोटालाई उत्कृष्ट घोषित गरियो । पाँच नम्बरबाट कर्मसही घर्ती मगर, सुमन थापा र आरबी निश्चल उत्कृष्ट भए । त्यस्तै ६ नम्बर प्रदेश (कर्णाली) बाट सिर्जना शर्मा, उमेश पुन एटम र नगेन्द्रप्रसाद आचार्य उत्कृष्ट भए । ७ नम्बरबाट हिरा भट्ट, मोहित जोशी र केशवराज भट्ट सागर उत्कृष्ट घोषित भए । प्रदेशमा उत्कृष्ट भएका सबै कवि–कवियत्रीहरुलाई जनही ५ हजार र प्रमाणपत्र प्रदान गरियो । 

                 यसअघि शुक्रवार विहान देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सवको शुक्रवार उद्घाटन गर्दै  संस्कृति पर्यटन तथा नागरिक उड््डयनमन्त्री योगेश भट्टराईले साहित्य सिर्जना मार्फत् सामाजिक तथा राष्ट्रिय एकतालाई अझ बलियो बनाउनु पर्ने धारणा राख्नु भएको छ । मन्त्री भट्टराईले सबै खालका नकारात्मक पाटोलाई चिर्ने सशक्त औजार साहित्य भएको बताउनुभयो । “अन्धकारमा रुमल्निे साहित्यको अबको समयमा कुनै अर्थ छैन” मन्त्री भट्टराईले भन्नुभयो । बेग्लै प्रसंगमा मन्त्री भट्टराईले देशले राजनीतिक निकास पाएको वर्तमान अवस्थामा आर्थिक विकास सबैको साझा एजेण्डा हुनुपर्ने बताउनुभयो । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सरकार प्रतिबद्ध रहेको जानकारी गराउँदै मन्त्री भट्टराईले मुलुक समृद्धितर्फ अघि बढिरहेको दाबी गर्नुभयो । वागमती प्रदेशका भौतिक, पूर्वाधार मन्त्री रामेश्वर फुयालले साहित्यलाई पनि उत्पादनको क्षेत्र बनाउनु पर्ने धारणा राख्नुभयो । प्रतिनिधि सभा सदस्य कृष्ण राईले साहित्य मार्फत् नै चेतनाको स्तरवृद्धि हुने बताउनुभयो । गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख सन्तोष चालिसेले नगरपालिकामा चाँडै नगर प्रज्ञा परिषद् गठन गरिने जानकारी गराउनुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव जगतप्रसाद उपाध्यायले नेपाली साहित्यको स्तरवृद्धिका लागि प्रतिष्ठान क्रियाशील रहेबो बताउनुभयो । प्राज्ञ डाक्टर देवी नेपालले स्थानीय तहकै आयोजनामा देशव्यापी राष्ट्रिय कविता प्रतियोगितात्मक महोत्सव हुनु गौरवको विषय भएको बताउनुभयो । महोत्सवको सहआयोजक ग्राम निर्माण बन्धु मण्डल क्लबका अध्यक्ष तथा नगरपालिकाका प्रमुख सल्लाहकार दीपक रिसालले आगामी दिनमा पनि क्लबले साहित्यिक गतिविधिलाई उच्च प्राथमिकता दिने बताउनुभयो । वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसेले साहित्यको उपेक्षा भएमा समाज समृद्ध हुन नसक्ने विचार व्यक्त गर्नुभयो । महोत्सव संयोजक तथा वरिष्ठ साहित्यकार गोविन्द घिमिरे वेदमणिले  गोकर्णेश्वर नगरपालिकालाई साहित्यको उद्गम क्षेत्रको रुपमा परिचित गराउन प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख विजय आचार्य, गोकर्णेश्वर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष राजीव थापा लगायते महोत्सवको औचित्यमाथि प्रकाश पार्नु भएको थियो ।

  • नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविलाई

    नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविलाई

    फागुन १५, काठमाडौं

    गोकर्णेश्वर नगरपालिकाले आयोजना गरेको नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि चामुण्डा माविले जितेको छ । प्रतियोगितामा इस्टपोल स्कुल दोश्रो हुँदा गोकर्ण माविले तेस्रो स्थानमा चित्त बुझायो । 

    विजयी खेलाडीहरुलाई विहिवार आयोजित एक कार्यक्रमबीच प्रतिनिधि सभा सदस्य कृष्ण राईले शिल्ड, मेडल तथा प्रमाण पत्र वितरण गर्नुभयो । कार्यक्रममा गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोेष चालिसे, उपप्रमुख शान्ति नेपाल लगायतको उपस्थिति थियो । प्रतियोगितामा खेलाडीहरुबीच भलिबल, कबड्डी, एथ्लेटिक्स र मार्सल आर्टस्मा प्रतिस्पर्धा भएको थियो । प्रतियोगितामा नगरपालिकाभित्र रहेका ४२ वटा विद्यालयका खेलाडीहरु सहभागी थिए ।

  • स्व. गजेन्द्र केशरी वास्तोलाज्युको स्मृतीमा

    स्व. गजेन्द्र केशरी वास्तोलाज्युको स्मृतीमा

    विनोद रोका / एटर्नी एट ल, न्यूर्योक

    स्व. गजेन्द्र केशरी वास्तोलाज्युलाई मैले २०३८ सालमा सर्बोच्च अदालतमा रहेको उहाँकै ईजलाशमा भेटने मौका पाएको थिएँ । त्यसबेला म नेपाल ‘ल’ क्याम्पस काठमाडौंमा स्नातक तहमा अध्ययन गर्दै थिए । देशमा पंचायती व्यवस्था थियो। बामपन्थी खेमाका प्राध्यापक एवं विद्यार्थीहरुको बिचारलाई संम्प्रेषण गर्न ल कलेजमा अध्ययनरत गोपाल शिवाकोटी ‘चिन्तन’ पैरवी निकाल्थे । जसमा प्राध्यापकहरु शुभाष नेम्वाङ् दाईहरुको सहयोग रहेको थियो । यसै मेसोमा २०३८ सालमा प्रजातान्त्रिक खेमामा सकृय वकिल हरिहर दाईले मलाई “न्याय प्रतीक” पत्रिका निकाल्ने प्रेरणा दिनु भो । र प्राध्यापकहरु बद्रिबहादुर कार्की र रजितभक्त प्रधानाङ्ग लगायतले लेखादि दिएर सहयोग पुर्याउनु भो ।

    पत्रिकाको लोगोको अवधारणा तत्कालिन सर्बोच्च अदालतका न्यायाधिश स्व. गजेन्द्रकेशरी वास्तोलाले बनाई दिनु भयो।

    न्यायमुर्ती बास्तोलाले बनाएको न्याय-प्रतीक पत्रिकाको लोगोमा आँखामा पट्टी नबाँधिएकी, हातमा कानूनको किताब, तराजु, र खड्ग निशान लिएकी देवीको चित्र थियो । मैले उहाँसँग आधुनिक न्याय प्रणालीमा रहने आँखामा पट्टी, कानूनको किताब र तराजू लिएकी देवीको प्रसंग उठाउँदा उहाँले भन्नु भयो; “हेर तिमीहरु आजको पश्चिमा विधिशास्त्र हेरेर न्याय र कानूनका सबै सिद्धान्तहरु पश्चिमबाट आएका भन्छौ त्यो होईन, यी न्यायका शिद्धान्तहरु त हाम्रा पुर्विय वैदिक साहित्यमा हजारौ बर्ष अगाडिदेखि चलि आएका हुन्” भन्दै वेद, गिता, उपनिषद, पुराण, मनुस्मृती, याज्ञवलक्य स्मृती आदिमा उल्लेखित उद्धरणहरु दिनु हुन्थ्यो। अनि भन्नु हुन्थ्यो “हाम्रो पद्धतीमा एउटा विवादमा प्रतिपादित भएको विवादको नजिरले त्यही किसिमका तथ्यहरु भएका पछिल्ला सबै मुद्दामा न्याय नपर्न पनि सक्छ । जस्तो कि धान कुटेर चामल निकाल्दा भुस फाल्न निफनिन्छ । तर पनि निफनेको चामलमा बिँया बाँकी रहन सक्छ । र निफनी सकेपछि रहेको बिँयालाई केलाएर चामलबाट निकाल्नु पर्दछ। हाम्रो पद्धतिमा न्यायकर्ताले नजिर मिल्यो भनेर मात्र पुग्दैन, त्यो नजीरले न्याय निरुपण गरिन लागेको विवादम न्याय पर्यो कि परेन भनेर विवेकपुर्वक हेर्नु पर्दछ । यदि परेन भने नजीरको फैसला होईन, विवेकको फैसला गरेन न्याय प्रदान गर्नु पर्दछ । तर पश्चिमा नजीरबादीहरु यसो गर्न चाहदैनन् ।

    यो न्यायप्रतीक पत्रिकाको कारणले मैले सर्बोच्च अदालत र अन्य अदालतका न्यायाधिशहरु, अधिकृतहरु, कानूनका प्राध्यापक, सरकारी वकिलहरुको सम्पर्कमा पुग्ने मौका पाए । सहपाठी मित्र, सहकर्मी र सहयोगी भाईहरु, र सल्लाहकारहरुको सहयोगले मैले यो पत्रिकाको सम्पादन र प्रकाशन गर्ने काम १९९८ सम्म अमेरिका आऊनु भन्दा अगाडिसम्म गरे । र मित्र नारायण घिमिरेजी सहगोगी सम्पादकको रुपमा रहनु भयो ।

    म चियाको ब्रेकमा बास्तोला श्रीमानको ईजलाशमा जान्थे। मलाई उहाँ कालो चियाले सत्कार गर्नु हुन्थ्यो । उहाँले समकालीन बिषयका बारेमा सोध्ने र आफना धारणाहरु सुनाउनु हुन्थ्यो । न्यायमुर्ती बास्तोलाले पत्रिकामा प्रकाशनका लागि दिने लेखहरु ह्स्तलिखित नै हुने गर्दथे। पत्रिकामा छापिने लेखहरुको प्रुफ म आफै हेर्दथे । तर मेरो भाषामा रहेको अल्पज्ञानले गर्दा उहाँले मलाई लेखको अन्तिम प्रुफ लिएर चियाको समयमा सर्बोच्चमा आऊने सल्लाह दिनुहुन्थ्यो । म उहाँलाई भेटन जान्थे ।

    मलाई पाठकहरुले भन्थे हैन वास्तोला श्रीमानको लेखमा किन यति लामो पाद टिप्पणी राखेको ? किनकि उहाँले लेख्ने कतिपय कानूनी लेखमा लेखका अंश भन्दा बढी पूर्वीय न्यायका शिद्धान्तहरु पाद टिप्पणीमा रहने गर्दथे । म उहाँलाई ती अरुले गरेका टिप्पणीहरु सुनाउँथे । उहाँ भन्नुहुन्थ्यो तिमीहरु म जस्तालाई चारपासे भनेर हेला गर्छौ । मैले मेरा लेखमा पश्चिमाहरुले गरेका फैसला र प्रतिपादन गरेका कानूनी शिद्धान्तहरु समावेश गरेको कारण छ । त्यो कारण के हो भने ती सिद्धान्तहरु हामीकहाँ हजारौ बर्ष अगाडि नै प्रचलनमा रहेको थिए भन्ने तथ्य आधुनिक शिक्षा पढ्नेहरुलाई बुझाउन ती पाद टिप्पणी लेखेको हुँ । पढेर त हेर अनि बुझ्छौ, किन लेखेको भनेर । उहाँले एक पटक भन्नु भएको थियो हेर विरेन्द्र राजाले लालमोहर लागेको मात्रै कानून हुन्छ र ? मैले गरेको फैसला पनि नजीर हो । र कानून सरहकै मान्यता पाउँछ ।

    राजाले लालमोहर हानेको कानून भन्दा पनि न्यायिक फैसलामा बोलिएको कानून दिगो र टिकाऊ हुन्छ। उहाँका बिचारहरु सबै सही नहोलान तर मलाई अहिलेसम्म पनि उहाँका बिचारहरु सान्दर्भिक लाग्दछन् । जस्तो कि आधुनिक विधिशास्त्रमा सालमण्ड, सिसिरो, ए.जे.हार्ट आदिका बिचारहरुको बाहुल्यता रहेपनि जोन अष्टिनको बिचार कानून पालनामा दण्डको भए नराखिने हो भने कसैले पनि गर्दैनन भन्ने जस्ता बिचार आलोचित होलान तर असान्दर्भिकै छैनन् ।

    मैले २०४० सालमा अधिवक्ताको प्रमाणपत्र पाएँ । अनि सर्बोच्च बारको सदस्य भएँ । उहाँ अध्ययन र अभ्यासमा बढी मेहनत गर भन्नुन्थ्यो। वास्तोला श्रीमानले मलाई मध्यमाञ्चल क्षेत्रीय अदालतमा वैतनिक वकिलको लागि सिफारिस गरिदिनु भो । मुख्य न्यायाधिश मोहन प्रसाद शर्माले मलाई दुई अवधिसम्मका लागि काम गर्ने मौका दिनु भो । अनि सर्बोच्च अदालतमा पनि एक पटक वैतनिक वकिल भएँ । उहासंगको सम्पर्कले गर्दा मैले सर्बोच्च अदालतका तत्कालीन अन्य न्यायमुर्तिहरु र सर्बोच्चमा कार्यरत रहनु हुने आनन्दमोहन भटृराई, शेषराज शिवाकोटी, काशिराज दाहाल, शंकर कुमार श्रेष्ठ, डिल्लीराज आचार्य लगायतका विद्धान व्यक्तित्वहरुबाट लेख रचनाहरु पाऊने गर्दथे ।

    यही प्रत्रिकामा संलग्न रहेको कारणले गर्दा म सर्वोच्च अदालतमा म अधिवक्ताको हैसियतले वकालत गर्न गएको पहिलो बर्ष २०४१ मै जस्तो लाग्छ । दमननाथ ढुंगानाको अध्यक्षतामा गठित सर्बोच्च बारको कार्य समितिमाको सदस्य हुने मौका पाएँ । यस बेला वैद्यनाथ उपाध्याय सचिव हुनुहुन्यो । किनकि म सर्बोच्च बारको लागि अपरिचित अनुहार थिईन। सबैले मलाई माया गर्नु भयो। मैल २०४६ सालको जन आन्दोलनको समयमा रामगोपाल श्रेष्ठको अध्यक्षतामा गठिन कार्य समितिमा सर्बोच्च अदालत बारको सचिव भई काम गर्ने अवसर पाएँ । आन्दोलनमा सकृय हुने् अवसर मिल्यो । सर्बोच्च बारको कार्य समितिले बहुदलको माग गर्दै पारित गरेको प्रस्ताव बोकेर बारका अग्रज सदस्य श्रीहरी अर्यालको मोटरसाईकलमा चढेर सो प्रस्ताव जमलमा लिएर जाने मौका पाएको थिएँ । किशुनजीले त्यो पत्र पाउने वित्तिकै बारलाई धन्यवाद दिएर सो पत्र अंग्रेजीमा पनि अनुबाद गरेर प्रचार गर्ने आदेश दिनु भएको थियो।

    त्यसपछि मैले नेपाल बारको कार्य समितिमा लक्ष्मण अर्यालको अध्यक्षता सदस्यको हैसियतले काम गर्ने अवसर पाएँ जसमा शुभाष नेम्वांग सचिव, कृष्ण प्रसाद पन्त, मोहनकृष्ण खरेल आदि पनि सदस्य रहनु भएको थियो । मैले यही समयमा न्यायदुतको सम्पादक मण्डल र प्रकाशन समितिको सदस्य भै काम गर्ने अवसर पाएँ । २०५३ सालमा नेपाल बारको सचिव पदको प्रजातान्त्रिक समुहको तर्फबाट उम्मेदवार भै हरिकृष्ण कार्कीसंग प्रतिस्पर्धा गर्ने अवसर पाएँ । म अप्रिल ५, १९९८ अर्थात २०५४ चैत्र २३ गतेका दिन अमेरिकाको न्युयोर्क शहरमा आई पुगें, जुन दिन संयोगले मेरो जन्मदिन समेत परेको रहेछ ।

    हाल म न्युर्योक शहरमा व्यवसाय गरेर बसी रहेको छु । तर पनि ती दिनहरुलाई स्मरण गर्ने गर्दछु। त्यसैले मैले विनोद रोका “न्याय प्रतीक सम्मान” कानूनी राज, स्वतन्त्र न्यायपालिका, र निष्पक्ष न्याय सम्पादनका लागि विषेश योगदान पुर्याउने स्वदेश वा विदेशमा रहनु हुने व्यक्ति वा निकायलाई प्रदान गरियोस् । उक्त सम्मानको लागि सर्बोच्च अदालत बार एशोसियसनको अक्षयकोषमा ३ लाख ५१ हजार रुपैयाँ जम्मा गरी सोबाट आउने व्याजबाट उक्त सम्मान प्रत्येक दुई बर्षमा सर्बोच्च अदालत बारले आफ्नो बार्षिक कार्यक्रमका दिन वा यस्तै समारोहका दिन प्रदान गरोस् । अनि सम्मानपत्रमा सर्बोच्च अदालतका तत्कालीन न्यायाधिश स्व. गजेन्द्र केशरी बास्तोलाज्युले न्याय-प्रतीक पत्रिकाको लागि बनाईदिनु भएको लोगो रहोस भनि २०७६ सालमा अनुरोध गरेको थिए। जसलाई अध्यक्ष बरिष्ट अधिवक्ता खगेन्द्र अधिकारीजीले नेतृत्व गरेको कार्य समितिले स्वीकार गरेर मलाई आभारी बनाएको छ। तर लोगोमा भने उहाँहरुको सहमति हुन सकेन ।

  • प्रमलाई सुस्वास्थ्य सहित दिर्घायुकाे कामना

    प्रमलाई सुस्वास्थ्य सहित दिर्घायुकाे कामना

    सुपेन्द्र बस्नेत / बोष्टन

    भनिन्छ ‘कल्पना, तर्कना, संझना, झझल्काे ईत्यादिका कारण सपना देखिन्छ । तर यकिन गर्न सकिरहेकाे छैन कि बिदेशिएदेखि मैले कुन कारणले हाे एक रातमा कम्तिमा २/३ वटा अनेक खाले मिश्रित सपनाहरु देख्दै आइरहेकाे छु । अचम्म लाग्दाे कुरा त के लागिरहेकाे छ भने देखिएका लगभग सतप्रतिशत सपनाहरु जन्मभूमि नेपाल र नेपालीसंग सम्बन्धित नै देख्ने गरेकाे छु । परदेश छिरेकाे पनि लामै भै सक्याे सुख, दुःख, रमाइलाे, नरमाईलाे, संघर्ष, उतार, चडाब, आराेह, अवराेहकाे अनुभूति पनि अथाह संग्रहित भै सके । तर पनि ति अनूभूतिहरु सपनीमा आकलझुकल बाहेक छचल्किदैनन् । प्रतिबिम्बित हुदैनन् । याे मेराेलागि बडो साेचकाे बिषय बनिरहेकाे छ । यसै क्रममा गत फागुन १० गते राति देखेकाे सपना यहाँ सार्वजनिक गर्दैछु । जुन सपनीमा 

    स्वर्गबासी भाई ज्याेति तिमल्सिनालाई एकाएक भेटेकाे थिए । 

    ज्याेति हेटाैडाबासीका लागि एक चिरपरिचित नाम हाे । जाे मुख्यतः सामाजिक कार्य क्षेत्रमा हाेमिएका थिए । राजनीति नगरे पनि एउटा सचेत नागरिकका हैसियतले आफ्नाे अधिकार र कर्तब्यप्रति सचेत थिए । देशमा पछिल्लाे राजनीतिक परिवर्तन (संघीय लाेकतान्त्रिक गणतन्त्र ) ल्याउनमा उनकाे पनि महत्वपूर्ण याेगदान छ । बिडम्बना आफ्नाे , सन्ततिकाे र समग्र नेपालीकाे उज्वल भविश्यकाे खातिर ०६३/६३ काे जनआन्दाेलनमा हाेमिएका उनले अल्पायु मै स्वर्गबास राेजे । अत्यन्त मिलनसार, कर्मयाेगी, समाजसेवी, पराेपकारी स्वर्गिय भाईलाई संझेर बेलाबखत यादिन्छु पनि । त्यसैकाे प्रतिबिम्ब पनि हुन सक्छ याे सपना । जे हाेस् अब सपनाकाे कुरा गराैं।

    देशमा निकै ठुलाे आन्दाेलन मच्चिरहेकाे थियाे । दिनभर आन्दाेलनमा हाेमिएका हामी रात परेपछि फेरी हेटाैडाकाे मुख्य चाेक सिमा चाेकमा पुनः भेट्ने गरी खाना खान घरतिर लाग्याै । म हिडेर ५ मिनटकाे दुरीमा रहेकाे बसपार्क नजिक टिसियन स्थित घरकाे भान्सा भित्र छिर्दा नछिर्दै ज्याेति भाई हस्याङफस्याङ गर्दै आए र टर्च मागे । लाेडसेडिङका कारण चुक अमिलाे खनाए झै अन्धकार अध्याराे छाएकाे थियाे । मैले साेधे । किन ज्याेति ? के भयाे र ? उनले पछि भन्छु दाजु भन्दै टर्च यथासिघ्र उपलब्ध गराउन अनुराेध गरे । तत्काल घरमा खाेज्दा नभेटेपछि घरकाे पहिलाे तल्लामा रहेकाे पसलमा किन्न भनेर दुबै जना बिलम्ब नगरी तेश्राे तल्लाबाट एकैचाेटाे तल झर्याै । तल त सुरक्षा निकाय र आन्दाेलनकारी बिच ठुलाे मारामारी चलिरहेकाे पाे रहेछ । घरकाे च्यानल गेट भित्र धेरै आन्दाेलनकारीहरु सुरक्षाकाे आड लिदै चर्का चर्का नारा लगाई रहेका थिए । भिडका कारण छिचाेलेर टर्च लिन पसलसम्म पुग्नै सकिएन । अन्धकार अध्याराेका कारण कसैलाई चिन्न पनि सकिएन । त्यही हुलमुलमा मिसिएर स्वर मच्चाउन सुरु गर्याै हामीले पनि । यतिकैमा म बिउझिए । मुख सुकेकाले पानी पिए । देखेकाे सपना पुनः सबिस्तार स्मरण गर्ने प्रयास गरे । उठेर मुख धाेई स्वर्गबासी ज्याेति भाईलाई स्मरण गर्दै मृत आत्माकाे चीर शान्तिकाे कामना सहित पानी चढाए र हार्दिक श्रध्दासुमन अर्पण गरे । यस प्रसंगकाे  पुनः स्मरणमा यिनै श्रद्धासुमनका शब्दहरु अर्पण गर्दै फेरी पनि मृत आत्माकाे चीर शान्तिकाे कामना सहित श्रद्धाञ्जली अर्पण गर्दछु ! मध्यरत भएका कारण पुनः निदाउने काेसिस गरे तर सकिन । झन उनीसंगकाे हिमचिम र उठबसकाे फिरिस्त याद आयाे । मेराे जीवनकाे एक महत्वपूर्ण ब्यक्तित्व भएका कारण हाेला आँखाले पनि आँसु झारेर हार्दिक श्रदासुमन अर्परण गर्याे । यस्तै यस्तैमा बित्याे त्याे रात ।

    बिहान उठेर सामाजिक सञ्जाल खाेलेर हेर्दा त सम्माननीय प्रधानमन्त्रीको जन्मदिनकाे शुभकामना छ्यापछ्याप्ति भै सकेकाे रहेछ । देशकाे प्रमुख कार्यकारिणी पदधारी र नेपाली राजनितिमा चर्चा परिचर्चाकाे शिखरमा रहनु भएका एक ब्यक्तित्वकाे जन्मदिन परेकाले साेही देशकाे एक नागरिकका हैसियतले उहाँसंग बिभिन्न सैद्धान्तिक र ब्यवहारिक असहमति तथा असन्तुष्टि रहेका बिषयहरुलाई पछि बहसमा निरन्तरता दिने गरी तत्कलका लागि बिर्सिएर उहाँकाे सुख ,शान्ति,सुस्वास्थ्य , दिर्घायु र उत्तराेत्तर प्रगतिकाे कामना गरे । हुन त उहाँकाे जन्म दिनमा पनि अनेक खाले टिका टिप्पणी गरेर आफ्नाे असहमति, असन्तुष्टि र पिडा पाेख्ने  जमातकाे कमि रहेन । अचानाकाे चाेट खुकुरीले बुझ्न सक्दैन भने झै उहाँहरुसंग  पुर्ण असहमति जनाएर  उहाँहरुकाे भावनाकाे अवमुल्यन पनि म गर्न चाहन्न । तर मानिसकाे जीवन चक्रमा जन्म,मृत्यु र कर्म चलेकाे दिन अत्यन्तै महत्वपूर्ण हुने भएकाले यि दिनहरुमा मानवीय नाताले  सम्बन्धित ब्यक्तिकाे सकेसम्म भलाे चिताएर सकारात्मक पक्षकाे निरन्तरताका लागि प्रसंसा सहितकाे उत्प्रेरणा र कम्जाेर पक्षकाे सुधारकाे अपेक्षा सहित सुझाबहरु दिदै स्मरण  गर्नु मानव धर्म हाे । भलाे चिताउन सकिन्न वा इच्छा भएन भने पनि कुभलाे नचिताउनु वा पाप नचिताउनु पनि धर्म नै हाे । वर्तमान राजनितिक परिवर्तनलाई यदि उपब्धि मान्ने हाे भने प्रम केपी वलीकाे याेगदानलाई झाेक फेर्ने स्वार्थमा कदाचित  अवमुल्यन वा नजरअन्दाज गर्नु हुदैन।विविध कारणले मनमा उब्जिएका कुण्ठा,पिडा वा असन्तुष्टिहरुलाई तत्कालका लागि थामथुम पारेर मन बुझाउन नेपालकाे राजनितिक परिवर्नका बिभिन्न कालखण्डहरुमा उहाँले खेल्नु भएकाे भूमिकाहरुलाई असहमतिका अनेक काेणबाट ब्याख्या तथा बिश्लेषण गर्न त सकिएला तर त्याे अल्पकालिन अदुरदर्शी साेच तथा बिश्राम मात्र  हाे । दुरदर्शी साेच तथा समाधान पक्कै हैन । राजनितिक नेतृत्वका हिसाबले मुल्याङकन गर्दा २०६२/०६३ काे जनआन्दाेलन, शान्ति प्रक्रिया , त्यसपछि तत्कालिन माओवादीलाई लगाम लगाउनेदेखि माैका पाउदा एकले अर्काेकाे अस्तित्व समाप्त पार्ने अवस्थासम्म सम्बन्ध रहेकाे त्यही माओवादीसंग पार्टी एकता गरेर दुई तिहाईकाे सरकार गठन गरी पार्टी र सरकारकाे दुबैकाे बागडाेर आफ्नाे कब्जामा लिन सफल हुनुलाई कदाचित चानचुने साहस, याेग्यता र क्षमता ठान्नु हुदैन ।

    नयाँ संबिधना निर्माण, जारी र कार्यान्वयनसम्म आईपुग्दा उहाँले खेल्नु भएकाे भूमिकाहरु परिवर्तनका हिमायतीहरुका लागि पुजनीय र प्रेरणादायी छन् नै । त्यतिमात्र हैन बिभिन्न कालखण्डमा राष्ट्रियता, स्वतन्त्रता, स्वाधिनता, सार्वभाैमिकता,अखण्डताका सबालमा उहाँले लिनु भएकाे अडान र खेल्नु भएकाे महत्वपूर्ण भूमिका सराहनीय छन् । यिनै बिषेश र महत्वपूर्ण भूमिकाहरुकै कारण वलीले जनताकाे बिश्वास जित्न सफल हुनु भएकाे थियाे । त्यही जनताकाे बिश्वासका कारण आज उहाँ संबैधानिक ब्यवस्था अनुसार प्रजातान्त्रिक अभ्यासबाटै देशकाे महत्वपूर्ण तथा सर्बाेच्च कार्यकारी पदमा आसीन  हुनु भएकाे छ । र जनताले पनि बढी बिश्वास र भराेसा गरी पद, अधिकार र जिम्मेवारी दिलाएकाे ब्यक्तिबाट साेही अनुसार आशा र भराेसाकाे अपेक्षा गरेका हुन् । जाे स्वभाविक पनि हाे । वली ज्यू त नेपालकाे ईतिहासकै सबै भन्दा भाग्यमानी र शक्तिशाली प्रम हाे भन्दा अतियुक्ति नहाेला । आफ्नाे सर्वानुकुल राष्ट्रप्रमुख, आफ्नै वर्गकाे दुई तिहाई सरकार, त्यस माथि पनि लाेकतन्त्रकाे संबैधानिक साैन्दर्यमा मात्र सिमित रहेकाे सशक्त तर चीर निन्द्रामा परेकाे सालीनताकाे उपाधि स्वधारित प्रतिपक्ष काँग्रेस, ब्यवस्थाकाे साैन्दर्यकाे गरगहनाका रुपमा बेला बखत प्रदर्शित अन्य देशी बिदेशी बिराेधीहरु, विविध कारणले ‘बाेल बाेल माछा ‘मुखभरी पानी’ भने झै तैचुप मैचुपकाे अवस्थामा रहेका आफ्नै दलका नेताहरु, जुनसुकै अवस्थामा सुरक्षाकवचकाे भूमिका निर्वाह गर्ने  र भक्तिगान गाएर नथाक्ने चेत अचेत कार्यकर्ताहरु, आफ्नाे निश्पक्ष र स्वतन्तर जिम्मेवारीबाट बिचलित स्वार्थी शक्तिका पूजारी राज्यका अंगहरु , पुर्पुराेमा हात राखेर आफ्नै भाग्यलाई दाेषी ठहराउने धर्य र सहनशील जनता रहेकाे अवस्थामा देशकाे बागडाेर सम्हाली रहने अवसर प्राप्त गर्ने प्रम वली ज्यूलाई  भाग्यमानी मात्र हैन अहाेभाग्यमानी ठान्नै पर्दछ । ईतिहासकै राजनेता बन्ने अवसर उँहालाई मिलेकाे थियाे । साच्चै भन्नु पर्दा उहाँलाई नेपालीका सन्तान दरसन्तानसम्मले स्तुतिगान सहित जीवनकाे आदर्श र मार्ग निर्देशकका रुपमा स्विकार्दै अध्ययन गर्ने,पुज्ने र प्रार्थना गर्ने गरी ” वलीमाला” तयार गर्ने अवसर मिलेकाे थियाे । तर बिडम्वना त्यसाे अवसर जनआकाँक्षा अनुसार सही अर्थमा सदुपयाेग हुन सकेन । यद्यपि , समय सिमामा अझै पूर्णबिराम लागिसकेकाे छैन जस्ताे लाग्छ । आफ्नाे ६९ आै जन्म दिन जन्मथलाे पुगेर मनाउदै गर्दा प्रमले आफ्नाे सारा बिगतहरु एक एक गरेर स्मरण गर्नु भयाे हाेला नै भन्नेमा  म बिश्वस्त छु । लाेभीपापीहरुकाे चाैघेराबाट केही समयका लागि भए पनि उम्किएर यथार्थ धरातल जन्मथलाेमा जन्म दिन मनाउदै गर्दा जीवनकाे समग्र ६८ वर्षकाे यात्राकाे आफ्नै आत्मा साँक्षी राखेर सुक्ष्म समिक्षा गर्र्दै सबल पक्षमा गर्व र दुर्वल पक्षमा आत्मालाेचना गर्नु भयाे हाेला नै । एक भलाे चिताउने नागरिकका हैसियतले याे घडिमा अब उपरान्त सबल पक्षले निरन्तरता र दुर्बल पक्षले पूर्णबिश्राम लिन्छ भन्नेमा म आसाबादी छु । स्मरण रहाेस् कि नेपालकाे ईतिहासले जंगबहादुरलाई निकै शक्तिशाली र तानासाही जहानिया प्रधानमन्त्रीकाे संज्ञा दियाे । तर उनले चाहेकाे भए श्री ५ मात्र हैन मर्यादाक्रममा राजा भन्दा माथि पनि रहन सक्थे तर दुरगामी दृष्टि सहित आफ्नाे र आफ्ना दरसन्तानकाे सत्ताकाे दिर्घायुका लागि श्री ३ मै सिमित रहेका थिए । प्रमकै शब्द सापटी मागेर भन्नु पर्दा उपहार पाएकाे जिन्दगीले हालसम्म प्रश्न चिन्ह खडा हुने ठाँऊ नराखी राजनेता बन्ने शुभ अवसर त चुकायाे नै । तर पनि जन्म दिनका अवसरमा गरिएकाे आत्म समिक्षाले अब भाबी दिनमा जनआकाँक्षा पुरा गर्नतिर केन्द्रित भई सही मार्ग निर्देश गर्न सकाेस् । आउदाे उपहारकाे जीन्दगी पूजनीय, जय जयकार र वावामा बिताेस् । यदि जनताले राखेका बिषेश अपेक्षा पुरा गर्न नसके पनि अब बाँचेकुचेका साख थप गिर्ने भूमिका निर्वाह नहाेस् । मैले फागुन १० गते देखेकाे सपना केवल सपनामा मात्र सिमित रहाेस् । बिपनामा परिणत नहाेस् । देश र जनताका लागि आफ्नाे प्राण आहुति दिने सच्चा सहिदहरुकाे सपना साकार हुन सकाेस् । स्व. ज्याेति भाई जस्ता देश प्रेम र देशभक्तिमा समर्पित मृत आत्माहरुले राजनैतिक ब्यतिथि र बिसंगतिका बिरुद्ध तड्पिदै आन्दाेलित हुन नपराेस् ।  समृद्धिकाे स्वाद चाख्दै आनन्दकाे अन्तिम सास फेरेर बिदा हुने लालचमा बाँचेका आम नेपालीहरुले प्रमलाई धारेहात लगाएर भड्किन र तड्पिन नपराेस् । प्रमलाई धारेहात लगाउने हातहरु प्रसंसनीय काम र त्यसकाे परिणामका कारण बाध्य भएर जाेडिदै आदर सम्मानका लागि झुकुन् । यिनै र यस्तै अपेक्षाहरु सहित प्रमलाई जन्मदिनकाे शुभकामना ।