Category: कानुनी कुरा

  • विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

    विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था गर्न एनपीआईको सिफारिस

    राष्ट्रिय समाचार समिति (रासस)
    काठमाडौँ, २८ असोज । नेपाल पोलिसी इन्स्टिच्युट (एनपीआई)ले विदेशस्थित नेपाली नागरिकका लागि मतदानको व्यवस्था गर्न आग्रह गर्दै निर्वाचन आयोगलाई नौ बुँदे नीति सिफारिस गरेको छ । ‘विदेशस्थित नेपाली नागरिकका लागि बाह्य मतदानको व्यवस्था आगामी २०२६ को निर्वाचन र त्यसपछिका सम्भावित उपायहरू’ शीर्षकको नीति सिफारिस एनपीआईले निर्वाचन आयोगका आयुक्त जानकी तुलाधर र अन्य पदाधिकारीहरू तथा सचिव महादेव पन्थलाई बुझाएको छ ।

    विश्वका धेरै देशहरूले विभिन्न विधि प्रयोग गरेर विदेशमा रहेका नागरिकलाई मतदानको अधिकार कार्यान्वयन गरेको उल्लेख गर्दै एनपीआईले विदेशमा रहेका नेपालीका लागि मिश्रित प्रकारको बाह्य मतदान विधि सुझाएको छ । मेक्सिकोले सन् २०२४ को सङ्घीय निर्वाचनमा र फिलिपिन्सले सन् २०२५ को निर्वाचनमा विदेशस्थित नागरिकलाई मतदानको अधिकार प्रदान गरेका थिए । मेक्सिको र फिलिपिन्सका अनुभवबाट सिक्दै नेपालका लागि मिश्रित बाह्य मतदान मोडेल (दूतावासमा प्रत्यक्ष मतदान, हुलाकमार्फत मतदान र इन्टरनेटमा आधारित आइ–भोटिङ) अपनाउन सकिने एनपीआईले प्रस्ताव गरेको छ ।

    लाखौँ नेपाली नागरिक काम, अध्ययन वा अन्य प्रयोजनका लागि विदेशमा रहेको सन्दर्भमा उनीहरूलाई राष्ट्रिय निर्वाचनमा मतदान गर्ने मौलिक अधिकारबाट वञ्चित हुन नपरोस् भन्नका लागि उनीहरूलाई मतदानको अवसर प्रदान गर्नुपर्ने एनपिआईका अध्यक्ष डा खगेन्द्रराज ढकालले बताए । जानकारहरूका अनुसार इ–भोटिङ दूतावास वा मतदान केन्द्रमा इलेक्ट्रोनिक मेसिनमार्फत हुने प्रक्रिया हो भने आइ–भोटिङ इन्टरनेटको माध्यमबाट मतदाताले आफू बसेको स्थानबाटै सुरक्षित सर्भरमा मतदान गर्न सक्ने प्रणाली हो । डा ढकालका अनुसार आइ–भोटिङ प्रविधि इ–भोटिङभन्दा फरक र अधिक समावेशी समाधान हो ।

    काठमाडौँस्थित एनपीआई सचिवालयका अनुसार उक्त नीति सिफारिस प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयसहितका प्रमुख सरकारी निकायहरूमा पनि बुझाइएको छ । गत महिना जेनजीको नेतृत्वमा भएको आन्दोलनपश्चात् विदेशमा रहेका नेपालीले मतदान गर्न पाउनुपर्ने मुद्दा पुनः प्राथमिकतामा परेको छ । विदेशमा काम गर्ने वा अध्ययनरत नेपालीलाई मतदान प्रक्रियामा समेट्नु उनीहरूलाई देशको भविष्यमा वास्तविक सरोकार दिनु पनि हो । यही सन्दर्भमा, सरकारले राजनीतिक इच्छाशक्ति प्रदर्शन गरी विदेशस्थित मतदानलाई यथार्थमा रूपान्तरण गर्ने अभूतपूर्व अवसर पाएको अध्यक्ष डा ढकालको भनाइ छ ।

    नेपालको संविधानले प्रत्येक नागरिकलाई निर्वाचनमा सहभागिता गर्ने अधिकार सुनिश्चित गरेको छभने सर्वोच्च अदालतले पनि विदेशमा रहेका नागरिकलाई मतदान गर्ने अधिकार सुनिश्चित गर्न आदेश दिएको छ । राजनीतिक दलहरूले बारम्बार विदेशस्थित नेपाली नागरिकलाई मतदानको अधिकार विस्तार गर्ने प्रतिबद्धता जनाए पनि हालसम्म कार्यान्वयनमा आएको छैन ।

    बाह्य मतदानका लागि छुट्टै कानुनी प्रावधान तयार गर्दै डिजिटल मतदाता दर्ता र समानुपातिक निर्वाचनमा आइ–भोटिङमार्फत मतदान गर्न कानुनी मान्यता दिनु उपयुक्त हुने डा ढकालले बताए । साथै प्रभावकारी सहभागिताका लागि बहुदिवसीय मतदानबाट अधिकतम सहभागिता सुनिश्चित गर्न सकिने पनि उनको भनाइ छ ।

    एनपीआईले मध्यम र दीर्घकालीन अवधिका लागि नेपालले बाह्य मतदानका सिकाइबाट अगाडि बढ्दै आइ–भोटिङलाई निर्वाचनको मुख्य प्रणालीका रूपमा संस्थागत गर्नुपर्ने सिफारिस गरेको छ । यसले विदेशस्थित मात्र नभई आन्तरिक रूपमा सरेका जनसङ्ख्या ९जस्तै कार्यरत कर्मचारी, विद्यार्थी र असुरक्षित समुदाय०लाई समेत निर्वाचन प्रक्रियामा समेट्ने मार्ग खोल्नेछ ।

    नेपालका आप्रवासी नागरिकहरूको संवैधानिक अधिकार, आर्थिक योगदान, निर्वाचनको वैधता तथा अन्य कारणले पनि विदेशस्थित नेपालीका लागि मतदान आवश्यक भएको छ । मलेसिया र खाडीका देशमा आइ–भोटिङ सबैभन्दा उपयुक्त उपाय हुनसक्ने एनपीआईले दाबी गरेको छभने अष्ट्रेलिया, दक्षिण कोरिया, जापान, युरोपेली देश र उत्तरी अमेरिकाजस्ता मुलुकमा प्रभावकारी हुलाक प्रणालीका कारण हुलाकमार्फत मतदान उपयुक्त विकल्प हुनसक्ने जनाएको छ ।

    यो नीति सिफारिस ब्रीफले विश्वका एक सय १५ भन्दा बढी देशमा रहेका बाह्य मतदानका अभ्यासको तुलनात्मक अध्ययनमा आधारित रही नेपालका लागि मोडेलहरू प्रस्ताव गरेको संस्थाले जनाएको छ । उक्त नीति ब्रीफ पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेती, पूर्वनिर्वाचन आयोगका सचिव गोपीनाथ मैनाली, आप्रवासन विज्ञ शरू जोशी श्रेष्ठ, डा अम्बिका अधिकारीलगायतको सुझावका आधारमा एनपीआईका अध्यक्ष डा ढकाल र लीजा महर्जनले तयार गरेका हुन् । संस्थाले विगत आठ वर्षदेखि आप्रवासन र डायस्पोरा नीति अनुसन्धानलाई आफ्नो मुख्य कार्यक्षेत्रका रूपमा अघि बढाउँदै आएको छ ।

  • गैरकानुनी रूपमा चन्दा उठाउनेमाथि कारबाही हुने

    गैरकानुनी रूपमा चन्दा उठाउनेमाथि कारबाही हुने

    काठमाडौँ, २८ असोजः प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिविधि फेला परेमा त्यस्ता कार्यलाई कानुनी दायरामा ल्याइने स्पष्ट पारेको छ । केही व्यक्ति वा समूहले प्रधानमन्त्री कार्की र प्रधानमन्त्री कार्यालयको हवाला दिँदै विभिन्न परियोजना, कोष वा सामाजिक कार्यका लागि भन्दै चन्दा सहयोग माग गरेको भन्ने जानकारीप्रति ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सहसचिव एवं प्रवक्ता रविलाल शर्माका अनुसार प्रधानमन्त्री एवं प्रधानमन्त्री कार्यालयका तर्फबाट कुनै पनि किसिमको चन्दा वा सहयोग सङ्कलन गर्ने कार्यका लागि कोही कसैलाई अनुमति दिइएको छैन । त्यस्ता भ्रामक कार्यमा विश्वास नगर्न तथा कसैले यस्तो कार्यका लागि आग्रह गरेमा पूर्ण रुपमा अस्वीकार गर्न प्रवक्ता शर्माले विज्ञप्तिमार्फत अनुरोध गर्नुभएको छ ।

    प्रधानमन्त्रीको नाम प्रयोग गरेर चन्दा सङ्कलन गरेको वा गर्नलाई प्रोत्साहित गरेको गतिवधि फेला पारेमा यस्ता कार्यलाई कानुनी दायरामा ल्याउन स्थानीय प्रहरीलाई खबर गरिदिन विज्ञप्तिमा आग्रह गरिएको छ ।

  • विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

    विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ

    काठमाडौँ, २७ असोजः प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भन्सार क्षेत्रबाट अवैध लागूऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा ५० वर्षीय सलिम इब्राहिम अन्सारी, २४ वर्षीय रेहान मोहम्मद अजाज शेख तथा ३२ वर्षीया जैनब वशीर रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

    उनले भने, “एयर एसियाको उडानद्वारा बैङ्ककबाट काठमाडौँ आएका उनीहरूलाई त्रिभवुन अन्तरराष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा करिब ११ किलो २७५ ग्राम गाँजा फेला पारी पक्राउ गरेको हो ।” पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि लागूऔषध नियन्त्रण ब्यूरो पठाइएको प्रवक्ता घिमिरेले बताए ।

  • पाँच हजार ५४७ कैदीबन्दी अझै फरार, समाजमा आतंक

    पाँच हजार ५४७ कैदीबन्दी अझै फरार, समाजमा आतंक

    २७ असोज, काठमाडौं । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका कारण देशभरका कारागारबाट भागेकामध्ये पाँच हजार ५४७ कैदीबन्दी अझै फरार छन् । कारागार व्यवस्थापन विभागले फरार कैदीबन्दीलाई कारागार फिर्ता ल्याउन अझ प्रभावकारी बनाउने जनाएको छ । आइतबारको गृहमन्त्री स्तरीय बैठकले कैदीबन्दीलाई कारागारमा फिर्ता ल्याउन केही महत्त्वपूर्ण निर्णय गरेको समेत विभागले स्पष्ट पारेको छ । हालसम्म नौ हजार आठ जना कैदीबन्दी कारागार फिर्ता भएको विभागले जनाएको छ ।

    फरार कैदीबन्दीको सम्बन्धमा सम्बन्धित कारागार कार्यालयबाट प्राप्त नामावलीसहितको विवरण गृह मन्त्रालयमार्फत् निर्वाचन आयोग, सुरक्षा निकायमा उपलब्ध गराइनेछ । अध्यागमन विभाग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग, यातायात व्यवस्थापन विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, श्रम विभाग, नापी विभागलगायतका सेवाग्राहीको आवागमन धेरै हुने निकाय र ७७ वटै जिल्ला प्रशासन कार्यालयमा पठाउने जनाइएको छ । फरार कैदीबन्दीको विवरण विभागको बेवसाइटमा प्रकाशित गरिनेछ ।

    त्यसैगरी जिल्लास्थित सार्वजनिक निकायमा विवरण उपलब्ध गराउने र कुनै सार्वजनिक सेवा लिन आएको खण्डमा पक्राउ गरिनेछ । फरार कैदीबन्दीहरूको खोजी तथा पक्राउ अभियानलाई अझ नियमित, सशक्त र समन्वयात्मक रूपमा अघि बढाउने निर्णय भएको विभागले जनाएको छ ।

  • सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह

    सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न विभागको आग्रह

    राष्ट्रिय समाचार समिति
    काठमाडौँ, २७ असोज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वको समयमा बिक्री वितरण हुने सामानमा अधिकतम् खुद्रा बिक्री मूल्य राख्न सम्वद्ध सबैमा पुनःध्यानाकर्षण गराएको छ । नियमित बजार अनुगमनका क्रममा विशेष गरी तिहारको अवसरमा प्रयोग गरिने भाई मसला, तामा÷चाँदीका भाँडा तथा झिलिमिली बनाउन प्रयोग हुने विद्युतीय सामग्रीलगायत अन्य विभिन्न वस्तुमा अधिकतम् खुद्रा बिक्री मूल्यसहितको लेबल र मूल्य सूची नराखेको पाइएको विभागले जनाएको छ ।

    विभागले बजारमा माग र आपूर्तिबीच सन्तुलन कायम गरी मूल्य स्थिरता कायम गर्न प्रयासरत रहेको उल्लेख गरेको छ । त्यसका लागि व्यापारिक सङ्घ, सङ्गठन र व्यवसायीका साथै उपभोक्तावादी सङ्घ, सङ्गठन र उपभोक्ताको उत्तिकै महत्त्वपूर्ण योगदान रहने विभागको भनाइ छ । उपभोक्ता वर्गले खरिद गर्ने वस्तुमा अधिकतम खुद्रा बिक्री मूल्यसहितको लेबल भएको वा मूल्य सूची राखिएको वस्तु खरिद गर्न हुन विभागले स्मरण गराएको छ । उपभोक्तहरूको कुनै गुनासो भए विभागको टोल फ्रि नम्बर ११३७ मा जानकारी गराउनुहुनसमेत अनुरोध गरेको छ ।

  • सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

    सिरहाको विभिन्न स्थानबाट लागुऔषधसहित तीन पक्राउ

    राष्ट्रिय समाचार समिति
    सिरहा, २७ असोज । प्रहरीले यहाँको विभिन्न स्थानबाट लागुऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमध्ये दुई जनालाई गोलबजार क्षेत्रबाट र एक जनालाई माडर क्षेत्रबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार, शनिबार राति करिब ११ बजे इलाका प्रहरी कार्यालय गोलबजार र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजारको संयुक्त टोलीले विशेष सूचनाका आधारमा गोलबजार नगरपालिका–६, दुर्गा मन्दिरस्थित मेनचोकबाट गुम्बा चोकतर्फ जाँदै गरेको प्रदेश २–०१–००१ प ३०२६ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा सवार व्यक्तिहरूको साथबाट खैरो हिरोइन जस्तो देखिने लागुऔषध फेला परेको हो ।

    बरामद गरिएको लागुऔषधको तौल प्लास्टिकसहित १७ ग्राम ५४० मिलिग्राम रहेको र प्लास्टिक बाहेक १५ ग्राम शुद्ध रहेको उहाँले जानकारी दिनुभयो । यस अभियोगमा गोलबजार नगरपालिका–७ का २९ वर्षीय सुनिल साह र धनगढीमाई नगरपालिका–७ का २४ वर्षीय विष्णुदेव यादवलाई पक्राउ गरिएको छ । पक्राउ परेका व्यक्तिहरूसँगै मोटरसाइकल नियन्त्रणमा लिइएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सोही रात करिब ९ बजे इलाका प्रहरी कार्यालय माडरबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा सिरहा नगरपालिका–१७, पटेर्वा गाउँ नजिकै नेपाल–भारत सीमातर्फ लागुऔषध ९गाँजा० लैजाँदै गरेको समूह प्रहरी देख्ने बित्तिकै झोला फालेर भागेका थिए । घटनास्थलबाट प्लास्टिकसहित ६४.९ किलोग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।

    भाग्ने क्रममा भारत बिहार राज्य, मधुबनी जिल्लाका ५५ वर्षीय श्रीचन मण्डललाई नियन्त्रणमा लिइएको र अन्य फरार व्यक्तिहरूको खोजी भइरहेको प्रहरी नायब उपरीक्षक पालले बताए । प्रहरीले दुवै घटनामा थप अनुसन्धान गरिरहेको प्रनाउ पालले बताए ।

  • राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध

    राजनीतिक दल र व्यक्तिगत सम्पत्तिको क्षति विवरण पठाउन जाँचबुझ आयोगको अनुरोध

    काठमाडौँ, २६ असोजः भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले ‘जेनजी’ प्रदर्शनका क्रममा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको विवरण पठाउन अनुरोध गरेको छ । आयोगले आज विज्ञप्ति जारी गर्दै प्रदर्शनमा काठमाडौँलगायत मुलुकका विभिन्न स्थानमा राजनीतिक दल, सङ्घसंस्था र व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको यथार्थ विवरण आयोगले तोकेको ढाँचामा पठाउन अनुरोध गरेको हो ।

    आयोगका सदस्य एवं प्रवक्ता विज्ञानराज शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनालाई पुष्टि गर्ने श्रव्यदृश्य, फोटो र कागजातहरू जस्ता प्रमाण भए सो समेत उपलब्ध गराउन अनुरोध गरिएको छ । क्षतिको विवरण आयोगको इमेल र हुलाकमार्फत पनि पठाउन सकिने जनाइएको छ ।

    ‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम आयोग गठन भई यही असोज ९ गतेदेखि कार्य प्रारम्भ भइसकेको छ ।

  • सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

    सर्वोच्च अदालतमा २८ गतेदेखि रिट दर्ता र सुनुवाइ हुने

    काठमाडौँ, २६ असोजः सर्वोच्च अदालतले यही असोज २८ गतेदेखि रिट दर्ता र सुनुवाइ गर्ने भएको छ । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सम्पूर्ण न्यायाधीशहरूको पूर्ण बैठक (फूल कोर्ट) ले आज यही असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुने निर्णय गरेको हो । “यस अदालतमा दर्ता हुने रिट निवेदन, मुलुकी देवानी कार्यविधिसंहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ७३, १३७ र १५५ का निवेदनहरू असोज २८ गतेदेखि दर्ता एवम् सुनुवाइ हुनेछ”, सर्वोच्च अदालतबाट जारी सूचनामा भनिएको छ, “साथै सर्वोच्च अदालतका नियमित अन्य सेवा प्रवाहको अर्को सूचना प्रकाशित नहुँदासम्म म्याद, हदम्याद र तारेख नगुज्रने बेहोरासमेत सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।”

    यसअघि गत भदौ २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाटबाट क्षति हुँदा बन्दी प्रत्यक्षीकरणका निवेदन तथा अत्यावश्यक निवेदन दर्ता र सुनुवाइबाहेक सबै काम स्थगित गरिएको थियोे । त्यसयता सर्वोच्चले त्रिपालमा इजलास बसेर सेवा दिइरहेको छ ।

  • घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

    घटस्थापनायता काठमाडौँमा १७५ दुर्घटना, नौ जनाको मृत्यु

    काठमाडौँ, २६ असोजः दसैँको घटस्थापनादेखि आजसम्म काठमाडौँ उपत्यकामा १७५ सवारीसाधन दुर्घटनामा परी नौ जनाले ज्यान गुमाएका छन् । दसैँको घटनस्थापनादेखि आजसम्म उपत्यकामा १७५ सवारीसाधन दुर्घटना भएका र उक्त दुर्घटनामा परी १८८ जना गम्भीर घाइते भएका काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । उनका अनुसार अधिकांश घटना रातिको समयमा दुर्घटना भएका छन् ।

    ट्राफिक प्रहरीको सक्रियतामा गत वर्षको तुलनामा यसवर्षको दसैँमा काठमाडौँ उपत्यकामा सवारीसाधन दुर्घटनामा निकै कमी आएको प्रवक्ता सुवेदीले बताए । उनले भने, “हामीले दसैँ सुरु हुनुअघिदेखि नै सवारीसाधनको जाँचलाई कडाइ गरेका थियौँ, मापसे (मादकपदार्थ सेवन)जाँच, चालक अनुमतिपत्रको निरीक्षण तथा गति सीमामा ध्यान दिने कुरामा पनि ट्राफिक प्रहरी सक्रिय थियो ।”

    ट्राफिक प्रहरीले सवारीसाधन चालकलाई विशेषगरी रातिको समयमा चलाउँदा सावधानी अपनाउन, मादक पदार्थ सेवन नगर्न, ट्राफिक नियमको पूर्ण पालना गर्न र सुरक्षित यात्राका लागि सवारी जाँचलाई समर्थन गर्न आह्वान गरेको छ । रातिको समयमा सडक सुनसान हुने, चालकले सावधानी नअपनाउने र कतिपय अवस्थामा नशाको अवस्थामा तीव्र गतिमा गाडी चलाउनेजस्ता कारणले दुर्घटनाको जोखिम बढ्ने गरेको प्रवक्ता सुवेदीको भनाइ छ ।

    चाडपर्वमा रमाइलो गरेर राति घर फर्कनेको चाप, रमाइलो गर्ने उत्साह र समयको हतारोले गर्दा सवारी दुर्घटनाको जोखिम बढ्ने भएकाले उपत्यका ट्राफिक प्रहरीले नागरिकलाई अझ बढी सतर्क रहन आग्रह गरेको छ ।

  • सुन काण्डमा पूर्वसभामुख महरा पक्राउ

    सुन काण्डमा पूर्वसभामुख महरा पक्राउ

    काठमाडौँ, २६ असोजः पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उनलाई पक्राउ गरेको हो । ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एवं सूचना अधिकारी शिवकुमार श्रेष्ठद्वारा जारी प्रेस विज्ञप्तिमा सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्गठित रुपमा लाभ लिएको अभियोगमा उनलाई पक्राउ गरिएको उल्लेख छ ।

    विज्ञप्तिमा विसं २०७९ पुष १० गते दुबईबाट नेपाल आएका चिनियाँ नागरिक ली हानसोङ्गले दुईवटा सुटकेसभित्र ७३ बट्टामा रहेको ७३० इलेक्टिक सिगरेट अवैध रूपमा त्रिभुवन विमानस्थल हुँदै नेपाल ल्याउँदै गरेको अवस्थामा जफत भएकामा त्यसलाई बेचबिखन गरी महराले लाभ लिएको आरोप छ ।

    “उक्त सुन त्रिभुवन अन्तरराष्ट्रिय भन्सारको स्टोरमा राखिएकामा उक्त कार्यालयका नायब सुब्बा रेवन्त खड्कासमेतले आफ्नो जिम्मा र संरक्षण रहेको नेपाल सरकारको गोदामबाट उक्त सुनसहितको सिगरेटमा रहेको रु आठ करोड ५५ लाख २८ हजार ३७४ बराबरको सुन बेचबिखन गरी आपराधिक समूह बनाई सङ्ठित रूपमा लाभ लिएको देखिएकाले भन्सार ऐन, २०६४ तथा आपराधिक लाभ र सङ्गठित अपराधमा संलग्न महरालाई पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ”, विज्ञप्तिमा भनिएको छ ।”

  • दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु

    दसैँको समयमा उपत्यकामा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु

    काठमाडौँ, २२ असोज । काठमाडौँ उपत्यकामा दसैँको समयमा सवारी दुर्घटनाबाट सात जनाको मृत्यु भएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदीले असोज ६ गते घटस्थापनादेखि असोज २१ गते कोजाग्रत पूर्णिमासम्म सवारी दुर्घटनामा परी सात जनाको मृत्यु भएको राससलाई जानकारी दिए ।


    उक्त अवधिमा १५३ सवारी दुर्घटना भएको थियो । सोही दुर्घटनामा परेर १६६ जना सामान्य घाइते र सात जना गम्भीर घाइते भएको उनले बताए । ट्राफिक प्रहरीले यातायात व्यवस्था विभागसँगको सहकार्यमा चाडबाडलाई लक्षित गरी काठमाडौँ उपत्यकाको १५ स्थानमा यात्रु सहायता कक्ष सञ्चालन गरेको थियो ।

    उक्त कक्षबाट चाडबाडको समयमा यातायातका साधनमा दोहोरो टिकट काटेर यात्रुले दुःख पाउने, भाडाका कारण यात्रु ठगिने, यात्रुहरूको सामान हराउने, सवारीमा क्षमताभन्दा बढी यात्रु राख्दा दुर्घटनाको जोखिम हुनेलगायत समस्या कम गराउन सहयोग गरिएको थियो ।

  • नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या

    नुवाकोटमा श्रीमानले गरे श्रीमतीको हत्या

    २२ असोज, त्रिशूली । घरायसी विवाद बढेपछि शिवपुरी गाउँपालिका–७ का जीतमान तामाङले ४९ वर्षीया श्रीमतीको हत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक विक्रम लामाका अनुसार मङ्गलबार साँझ निजले खुकुरी हानेर श्रीमती सविनाको हत्या गरेका हुन् ।

    सविनाको घटनास्थलमा नै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ अभियुक्त तामाङलाई नियन्त्रणमा लिएर आवश्यक कारबाही थालिएको छ । अभियुक्तले आवेशमा श्रीमतीको हत्या स्वीकार गरेका छन् ।

  • सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट

    सामान्य विवादले ठूलो रुप लिँदा दलित बस्तीमा तोडफोड र लुटपाट

    राष्ट्रिय समाचार समिति

    सिरहा, २२ असोजः यही असोज १ गते विश्वकर्मा पूजाका क्रममा भएको एउटा विवादले ठूलो रुप लिँदा कल्याणपुर नगरपालिका–८ स्थित अरङ गाउँको ठूलोपोखरी डिलमा पाँच दलित परिवार समस्यामा परेका छन् । विश्वकर्मा पूजामा गाउँमा आर्केस्ट्रा ल्याइएको थियो । आर्केष्ट्रामा नाचगान गर्ने क्रममा भएको सामान्य विवादपछि दलित परिवारका घरमा तोडफोड तथा लुटपाट भएको छ ।

    पीडितका अनुसार नाचगानका क्रममा केहीले मदिरा पनि सेवन गरेका थिए । यसैक्रममा केही दलित युवा र स्थानीय प्रभाषसिंह राजपुतबीच भनाभन भयो । सुरुमा सामान्य लागेको विवाद यत्तिकै सुल्झिएन । दलित परिवारमा बस्तीबाट उठाइदिने धम्की समेत आयो । धम्की आएपछि दलित परिवार सुरक्षा माग गर्दै इलाका प्रहरी कार्यालय, कल्याणपुर पुगेका थिए ।

    प्रहरीले विवाद समाधान गर्न यही असोज १२ मा छलफल राखेको थियो । तर त्यस दिन छलफल नभएपछि अर्को छलफल असोज २१ गतेका लागि तोकिएको थियो । उक्त छलफल हुनुअघि अर्थात् असोज १७ गते शुक्रबार दिउँसो करिब २ बजेतिर २०÷२५ जनाको समूहले दलित बस्ती तहसनहस पा¥यो ।

    उक्त समूहले पाँचवटा दलितका घरमा तोडफोड र लुटपाट गरेको पीडित सोभित पासमानले बताए । तोडफोड र लुटपाटको समयमा इलाका प्रहरी कार्यालय कल्याणपुरका केही प्रहरी घटनास्थलमै थिए, तर कसैले केही बोलेन । उनीहरुले रोक्ने प्रयास पनि गरेनन्, यसले हामीलाई थप भयभित बनायो”, उनले भने ।
    पीडितहरूका अनुसार, अशोक पासमानको घरबाट चार आना सुन र ३० तोला चाँदीका गहना, राजकुमार पासमानको घरबाट खाद्यान्न, रासलाल पासमानको घरबाट खाद्यान्नका साथै चार आना सुन, १० तोला चाँदीका गहना र रु १८ हजार र बिन्दे पासमानको घरबाट २० तोला चाँदी, दुई आना सुन र रु तीन हजार लुटिएको छ ।

    त्यस्तै, खाना पकाउने भाँडा, लत्ताकपडादेखि बगैंचाबाट आँप, अम्बा, केरा र कागतीका बोटमा पनि क्षति पु¥याइएको छ । पीडित राजकुमार पासमानका अनुसार पाँचवटा परिवारका ३० जनाको परिवार अहिले अलपत्र अवस्थामा छ । घटना भएको भोलिपल्ट प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी र जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्मा बस्तीमा पुगेका थिए । उनीहरुले स्थलगत अनुगमनपछि पीडित परिवारलाई त्रिपाल, कम्बल र झुल वितरण गरेका थिए ।


    १३ जनाविरुद्ध जाहेरी
    बस्तीमा भएको तोडफोड र लुटपाट प्रकरणमा वडाध्यक्ष रामकिशोर यादवसहित १३ जनाविरुद्ध किटानी जाहेरी परेको छ । पीडितहरूले इलाका प्रहरी कार्यालय मिर्चैयामा सोमबार आपराधिक उपद्रवसम्बन्धी जाहेरी दिएका हुन् । उनीहरूले वडाध्यक्ष यादव, प्रभास सिंह, कलास सिंह, रामनारायण सिंह, मुस्तफा राइन, गणेश कामतीलगायतका व्यक्तिविरुद्ध तोडफोड, लुटपाट र दुरुत्साहनको आरोप लगाएका छन् ।

    वडाध्यक्षसहति तीन जना पक्राउ
    प्रहरीले वडाध्यक्ष यादवलाई भिडलाई उक्साएको आरोपमा नियन्त्रणमा लिएको छ । यादवलाई गत शनिबार नै इलाका प्रहरी कार्यालय, मिर्चैयाबाट पक्राउ गरी हिरासतमा राखिएको हो । इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख प्रहरी नायब उपरीक्षक राजेशराज पुरीले जाहेरीमा समेत नाम उल्लेख रहेका वडाध्यक्ष यादवसहित कामती र कलासलाई पक्राउ गरिसकेको र अन्यको खोजतलास र अनुसन्धान भइरहेको जानकारी दिए ।


    पीडित परिवारलाई नगरपालिकाको राहत
    पीडित परिवारलाई नगरपालिकाले सोमबार राहत सामग्री प्रदान गरेको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादवका अनुसार, प्रतिपरिवार २५ किलो चामल, पाँच किलोका दरले दाल, चिउरा, मुरही, सोयाबिन, आलु, प्याज, आटालगायतका सामग्री उपलब्ध गराइएको छ ।
    पीडित परिवारको आवासका लागि समेत पहल भइरहेको जानकारी दिँदै कार्यबाहक नगर प्रमुख रेखादेवी यादवले भने, “उहाँहरूलाई तत्कालका लागि राहत दिएका छौं, आवासको व्यवस्थापनबारे नगरपालिकामा छलफल भइरहेको छ ।”

  • ‘जेनजी’ आन्दोलनका मृतकका परिवारले ओलीसहित नेताको विरुद्धमा दिएको जाहेरी आयोगमा पठाइयो

    ‘जेनजी’ आन्दोलनका मृतकका परिवारले ओलीसहित नेताको विरुद्धमा दिएको जाहेरी आयोगमा पठाइयो

    काठमाडौँ, २१ असोज स् जिल्ला प्रहरी परिसर काठमाडौँले ‘जेनजी’ आन्दोलनका मृतकका परिवारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसहितको किटानी जाहेरी आफ्नो कार्यादेशभित्र नपर्ने भन्दै ‘भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२’ मा पठाएको छ । मृतकका परिवारमध्ये चाररपाँच जनाले घटनाका दोषीलाई कारबाही गर्न माग गर्दै आज जाहेरी दर्ता गराउन आएका र आफूहरूले आयोगसमक्ष पठाएको परिसरका प्रहरी उपरीक्षक पवन भट्टराईले जानकारी दिए ।


    उक्त उजुरी आयोगसमक्ष आइपुगेको र अध्ययन गरेर थप पक्रिया अघि बढाउने अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए । गृह मन्त्रालयले यही असोज ९ गते विज्ञप्ति जारी गरी आन्दोलनको अवधिमा भएका घटनाका सम्बन्धमा आयोगले छानबिन गर्ने जनाएको थियो ।

    आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न उक्त आयोग गठन भएको थियो । आयोगले यही असोज ९ गतेदेखि कार्य प्रारम्भ गरेको छ ।

  • ‘फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन’

    ‘फौजदारी कसूरमा संलग्नलाई कारबाही गर्न आयोगको प्रतिवेदन कुर्नु पर्दैन’

    काठमाडौं, २१ असोज । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोग, २०८२ ले फौजदारी कसूरमा संलग्नलाई नेपाल सरकारका संयन्त्रहरूबाट तत्काल अनुसन्धान र कारबाही गर्न प्रतिवेदन कुर्नु नपर्ने जनाएको छ ।

    आयोगका सदस्य विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा आयोगबाट कार्यादेशबमोजिम रायसहितका प्रतिवेदन प्राप्त भएपश्चात् नेपाल सरकारले कानुनबमोजिम गर्ने भन्ने गृह मन्त्रालयबाट यही असोज ९ गते जारी विज्ञप्तिप्रति आयोगको ध्यानाकर्षण भएको उल्लेख छ ।

    आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीका सम्बन्धमा आवश्यक राय दिने कार्यादेश रहेको विज्ञप्तिमार्फत स्मरण गराइएको छ ।
    ‘जेनजी’ प्रदर्शनका क्रममा काठमाडौँलगायत मुलुकका विभिन्न भागमा भएका भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न उक्त आयोग गठन भएको थियो । आयोगले यही असोज ९ गतेदेखि कार्य प्रारम्भ गरिसकेको छ ।

  • प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

    प्रदर्शनका क्रममा भागेका ५७ सय कैदीबन्दी अझै फरार

    काठमाडौँ, २१ असोजः जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट भागेकामध्ये झण्डै पाँच हजार ७०० कैदी अझै फरार छन् । मुलुकभर जेनजी प्रदर्शन चर्केपछि विभिन्न २८ वटा कारागारबाट १३ हजार ५८९ कैदी र नौ वटा बालसुधारगृहबाट ९६४ बालबन्दी गरी १४ हजार ५५३ बन्दी भागेका थिए ।

    त्यसमध्ये आज अपराह्नसम्म आठ हजार ५१० कैदी र ३४१ बालबन्दी गरी कूल आठ हजार ८५१ बन्दी कारागार फर्केका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार पाँच हजार ७९ कैदी र ६१८ बालबन्दी गरी कूल पाँच हजार ६९७ बन्दी अझै फरार छन् ।

    गृह मन्त्रालयले यही असोज १० गते फरार कैदीबन्दीलाई सोमबारसम्म कारागार फर्कन ‘अल्टिमेटम’ दिएको थियो । ठूलो सङ्ख्यामा विभिन्न कसुरमा कैद सजाय भुक्तान गरिरहेका कैदी फरार हुँदा समाजमा सुरक्षा चुनौती थपिएपछि सरकारले फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गरिरहेको छ । अभियानअन्तर्गत सुरक्षाकर्मीले फरार कैदीलाई नियन्त्रणमा लिँदै सम्बन्धित कारागारमा बुझाइरहेका छन् ।

    मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहने गरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको थियो ।

    प्रदर्शनको मौका पारेर झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नख्खु, जगन्नाथदेवल, डिल्लीबजार, मकवानपुर, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, म्याग्दी, कपिलवस्तु, तुलसीपुर, नौवस्ता, रुकुम पश्चिम, नवलपरासी, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतडी, डडेल्धुरा र कञ्चनपुर कारागारबाट कैदीबन्दी भागेका थिए । यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयण्डु, नौवस्ता र डोटी बालसुधार गृहबाट नौ सय ६३ बालबन्दी भागेका थिए ।

    सुरक्षा घेरा तोडेर भाग्ने क्रममा रामेछापमा तीन र धादिङमा दुई कैदीको गोली लागेर मृत्यु भएको थियो । यस्तै नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच बालबन्दीको मृत्यु भएको थियो । कारागार कार्यालयहरुले फरार कैदीबन्दीलाई अविलम्ब कारागारमा फर्की आउन सूचित गराउँदै आएका छन् । सरकारको सूचनालाई बेवास्ता गरी फरार कैदीबन्दीलाई प्रचलित कानुनबमोजिमको कारबाही गरिने विभागको भनाइ छ ।

    कुल ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भोगिरहेका ३० हजार छ सय ४६ कैदीबन्दी रहेका छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० र पूर्वी रुकुममा कारागार छैनन् ।

  • ‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    ‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    १५ असोज, काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    निजलाई काठमाडौँ महानगरपालिका१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो । ती युवकले प्रहरीलाई अपशब्द बोल्दै दुव्र्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो ।

  • ओली, लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

    ओली, लेखकसहित पाँच जनालाई विदेश भ्रमणमा रोक

    १२ असोज, काठमाडौं । गत भदौ २३ र २४ मा भएको ‘जेनजी’ प्रदर्शनका क्रममा भएका घटनासम्बन्धी जाँचबुझ आयोगले नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलगायत पाँच जनालाई विदेश भ्रमणमा रोक लगाएको छ । आयोगको बैठकले अनुसन्धानको दायरामा रहेको जनाउँदै पाँच जनालाई विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको हो । आयोगले आज जारी गरेको विज्ञप्तिमा पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वगृह सचिव गोकर्णमणि दुवाडी, पूर्वराष्ट्रिय अनुसन्धान विभाग प्रमुख हुतराज थापा र काठमाडौँका पूर्वप्रमुख जिल्ला अधिकारी छविलाल रिजाललाई पनि विदेश भ्रमणमा रोक लगाउने निर्णय भएको उल्लेख छ ।

    आयोगले भनेको छ, “भाद्र २३ र २४ गतेका घटनाको छानबिन तथा जाँचबुझको सिलसिलामा अनुसन्धानको दायरामा रहेको हुँदा निजहरूको विदेश भ्रमण रोक लगाउन आवश्यक कारबाही गर्नहुन तथा छानबिनका लागि कुनै पनि समयमा आयोगमा उपस्थित हुनुपर्ने हुँदा आयोगको स्वीकृतिबेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था गर्न गराउनका लागि सम्बन्धित निकायमा पत्राचार गर्ने ।”

    यसैगरी गत भदौ २३ र २४ गतेको घटनाको छानबिन गरी प्रतिवेदन पेस गर्न बनेको जाँचबुझ आयोगको काम प्रभावकारी रूपमा सम्पादन गर्न विज्ञसहितको जनशक्ति आवश्यक देखिएकाले त्यसको व्यवस्थापनका लागि गृह मन्त्रालयमा लेखी पठाउने निर्णय गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

  • जाँचबुझ आयोगले थाल्यो काम, क्षतिको विवरण मगाउने निर्णय

    जाँचबुझ आयोगले थाल्यो काम, क्षतिको विवरण मगाउने निर्णय

    ११ असोज, काठमाडौं । पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित गत भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोगले क्षतिको विवरण मगाउने निर्णय गरेको छ । जलवायु तथा अनुसन्धान विभाग, बबरमहलमा कार्यालय स्थापना गरी बिहीबार बसेको बैठकले क्षतिको विवरण मगाउने निर्णय गरेको हो । आयोगले क्षतिको विवरण सर्वोच्च अदालत, अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अन्य सरकारी कार्यालयको क्षतिको विवरण गृह मन्त्रालयबाट मगाउने निर्णय गरेको छ । साथै, निजी क्षेत्र, उद्योगधन्दा, व्यक्तिगत सम्पतिमा भएको क्षतिका विषयमा आयोगमा आएर वा इमेलमार्फत बुझाउन सकिने उल्लेख गरेको छ ।

    “आयोगले काम सुरु गरेकै दिन क्षतिको विवरण मगाउने निर्णय गरेको छ, सात जना कर्मचारी दिइएको छ”, आयोगका संयोजक कार्कीले भने, “घटनाको छानबिन गर्ने विज्ञ छैन, गोलीसम्बन्धी अध्ययन गर्ने विज्ञ छैन, सरकारी वकील, प्रहरी चाहिन्छ भनेर सरकारलाई भन्छौँ, तोकिएको समय तीन महिनाभित्र सक्ने गरी काम गछौँ ।”

    आयोगले क्षतिसम्बन्धी विवरण पुष्ट्याई गर्ने, कागजात–श्रव्यदृश्य सामग्रीलगायत अन्य कुनै प्रमाण भएमा संलग्न गरी आयोगको कार्यालय व आयोगको इमेल ठेगाना [email protected] मा पठाउन सकिने जनाएको छ । यही असोज ५ गतेको मन्त्रिपरिषद्को बैठकले कार्कीको संयोजकत्वमा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगको सदस्यहरुमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् ।

    यो आयोगको कार्यअवधि तीन महिनाको छ । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा जनधनको ठूलो क्षति भएको छ । अहिलेसम्म ७४ जनाको मृत्यु भइसकेको छभने धनको क्षतिबारे विवरण सङ्कलन भइरहेको छ ।

  • फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

    फरार कैदीबन्दीको खोजी र पक्राउ अभियान सुरु, १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’

    १० असोज, काठमाडौं । सरकारले जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागारबाट फरार कैदीबन्दीलाई १० दिनभित्र कारागार फर्कन ‘अल्टिमेटम’ दिएको छ । गृह मन्त्रालयले आज (मन्त्रीस्तरबाट) फरार कैदीबन्दीलाई कारागारमा फर्काउन विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको हो । मन्त्रालयले कारागार बाहिर रहेका कैदीबन्दीलाई खोजी, नियन्त्रण र पक्राउ गरी कारागारमा शीघ्र फिर्ता ल्याउन सम्बन्धित जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सुरक्षा तथा अन्य निकायका प्रतिनिधि सदस्य रहनेगरी फरार बन्दी खोजी तथा पक्राउ कार्यदलसमेत गठन गरेको छ ।

    फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियानलाई अझ सघन रूपमा अघि बढाउन मन्त्रालयले कार्यदल, सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र कारागार व्यवस्थापन विभागलाई स्पष्ट कार्यादेशसमेत दिएको विभागद्वारा आज जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । कारागार फर्किन बाँकी कैदीबन्दीलाई यही असोज २० गते सोमबारभित्र कारागार फर्किन र सो समयभित्र नफर्किए प्रचलित कानुनबमोजिमको कारबाही हुने विभागले जनाएको छ । गठित कार्यदलले जिल्लाका सबै सुरक्षा एकाइ, सबै स्थानीय तह, सञ्चारमाध्यम, सम्बन्धित सरकारी कार्यालयसँग समन्वय र सूचना प्रकाशन गरी प्रचारप्रसार गर्ने व्यवस्था मिलाई फर्किन बाँकी कैदीबन्दीको नामावलीसमेत उपलब्ध गराउनेछ ।

    जेनजी प्रदर्शनका क्रममा विभिन्न २८ वटा कारागार र नौवटा बाल सुधारगृहबाट १४ हजार ५५३ कैदीबन्दी र बालबन्दी भागेका थिए । त्यसमध्ये आजसम्म आठ हजार १९९ बन्दी कारागार फर्केका छन् भने अझै छ हजार ३५४ कैदीबन्दी फरार रहेको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिए । कुल ७२ जिल्लामा रहेका ७५ वटा कारागारमा विभिन्न कसुरमा सजाय भुक्तान गरिरहेका ३० हजार ६४६ कैदीबन्दी रहेका छन् । धनुषा, बारा, भक्तपुर, नवलपरासी ९बर्दघाट सुस्तापूर्व० र पूर्वीरुकुममा कारागार छैनन् ।

    फरार कैदीबन्दीको नामावली सम्बन्धित जिल्लाको कार्यदलले अरू जिल्लाको कार्यदललाई समेत उपलब्ध गराउने विभागले जनाएको छ । जिल्लाभित्र विद्यालय, क्याम्पस, टोलरक्लब, सार्वजनिकलगायत सवारीसाधन, बसपार्क, मनोरञ्जनस्थल, सीमानाका तथा आवश्यक देखिएका अन्य स्थानमा समेत कैदीबन्दीको नामावली पठाई खोजतलास तथा निगरानीलाई सघन बनाइनेछ । भागेका कैदीबन्दी सम्बन्धी सूचना वा जानकारी उपलब्ध गराउन आह्वान गरी त्यस्तो सूचना वा जानकारी प्राप्त गर्न सञ्चारमाध्यम, सामाजिक सञ्जाल वा अन्य उपयुक्त माध्यमबाट कार्यदल वा सुरक्षा निकायको टेलिफोनरइमेल सार्वजनिक गरिनेछ ।

    अभियानअन्तर्गत सार्वजनिक सेवा प्रवाह गर्ने निकायलाई समेत फर्किन बाँकी कैदीबन्दीको विवरण उपलब्ध गराई खोजी कार्यलाई प्रभावकारी बनाउने तथा फरार कैदीबन्दीलाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई समेत कारबाही गरिने व्यहोराको सार्वजनिक सूचना जारी गरिनेछ । त्यसका लागि कार्यदलले आवश्यकताअनुसार जिल्लाका जनप्रतिनिधिलगायत आवश्यक अन्य निकायसँग बैठक गर्ने, अन्तर समन्वय कायम गर्ने र आवश्यक देखिएका अन्य संयन्त्रहरूको सहयोग लिने कार्यादेशमा उल्लेख छ ।

    कार्यदलले गत भदौ २३ र २४ गते अगाडि कायम भएको अभिलेखानुसार हाल फर्की आएका र आउने कैदीबन्दीको व्यहोरा रुजु भिडान गरी फर्किन बाँकीको दैनिक अभिलेख व्यवस्थित रूपमा तयार गर्नेछ । कार्यदलको रेखदेख, समन्वय र परिचालन गर्ने गराउने र नियमित रूपमा गृह मन्त्रालय, सुरक्षा तथा समन्वय महाशाखालाई जानकारी गराउने कर्तव्य सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको हुने कार्यदेशमा उल्लेख छ ।

    यसअघि कारागार व्यवस्थापन विभागबाट सम्पादन भइरहेका कार्यका अतिरिक्त सम्बन्धित प्रमुख जिल्ला अधिकारी, पक्राउ तथा खोजी कार्यदल तथा अन्य सम्बन्धित निकायसँग समन्वय पनि विभागले नै गर्नेछ । विभागले फर्किन बाँकी कैदीबन्दीको अध्यावधिक विवरण कार्यदलबाट नियमित रूपमा प्राप्त गरी गृह मन्त्रालय, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, राहदानी विभाग, अध्यागमन विभाग, वैदेशिक रोजगार विभाग, सञ्चारमाध्यम र अन्य आवश्यकसम्बन्धित निकायहरूमा पठाउनेछ ।

    जेनजी प्रदर्शनपछि फरार कैदीबन्दीलाई कारागारमा फर्काउन, परिस्थितिलाई सहज बनाउन, क्षतिग्रस्त कारागारको अवस्था सामान्य बनाउने काम भइरहेको तथा सरोकारवाला निकायको समन्वयात्मक प्रयासबाट कैदीबन्दी कारागारमा फिर्ता आउनेरल्याउने क्रम जारी रहेको विभागले जनाएको छ ।

  • भागेकामध्ये आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए

    भागेकामध्ये आठ हजारभन्दा बढी कैदीबन्दी कारागार फर्किए

    १० असोज, काठमाडौं । देशका २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये हालसम्म आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । फर्किएकामा कारागारबाट भागेका सात हजार ७१३ र सुधारगृहबाट भागेका ३४१ जना रहेको कारागार व्यवस्थापन विभागले जनाएको छ ।
    विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार कतिपय आफैँ आएका हुन् भने कतिपयलाई सुरक्षाकर्मीले पक्राउ गरी ल्याइएको हो । उनका अनुसार अझै छ हजार ४९४ कैदीबन्दी फरार छन् । फरार हुनेमा कारागारबाट भागेका पाँच हजार ८७२ र सुधारगृहबाट भागेका ६२२ जना रहेका छन् ।

    उनीहरूको खोजी जारी रहेको न्यौपानेले बताए । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते कारागारबाट १३ हजार ५८५ र सुधारगृहबाट ९६४ कैदीबन्दी भागेका थिए । यसबीचमा १० कैदीबन्दीको भने मृत्यु भएको छ । कूल ३० हजार ६४६ कैदीबन्दी रहेकामा हाल २३ हजार ४४६ जना रहेका छन् ।

  • हराएका हातहतियार असोज भित्र फिर्ता नगरे कारवाही

    हराएका हातहतियार असोज भित्र फिर्ता नगरे कारवाही

    १० असोज, काठमाडौं । गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा काठमाडौँलगायतका मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएका हतियार बुझाउन आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार, मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध छ ।

    सो मितिभित्र हातहतियार र खरखजान बुझाउन ल्याएमा वा त्यसको जानकारी दिएमा त्यस्ता व्यक्तिलाई उचित सम्मान गरिने मन्त्रालयले जनाएको छ । सो मितिपश्चात कोहीकसैसँग ती हराएका हातहतियार र खरखजाना फेला परेमा कानुनबमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ । उता, गत भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा भएका भौतिक एवं मानवीय क्षतिको छानबिन गर्न गठित जाँचबुझ आयोगले काम सुरु गरेको छ ।

    आयोगलाई भौतिक एवं मानवीय क्षतिसँग सम्बन्धित सूचना वा निवेदन ग्रहण गरी विश्लेषण गर्ने र कारबाहीको सम्बन्धमा आवश्यक राय दिने कार्यादेशसमेत रहेकाले प्रारम्भिक काम सुरु गरेको छ । सरकारले जाँचबुझ आयोग ऐन, २०२६ बमोजिम गौरीबहादुर कार्कीको नेतृत्वको जाँचबुझ आयोग गठन गरेको छ ।


    आयोगको कार्यक्षेत्रमा रहने विषयमा सरकारका नियमित संयन्त्रबाट तत्काल कारबाही अगाडि नबढाइने तर गैरकानुनी रूपमा भएका र हुने गतिविधिमा कानुनअनुसार कारबाही हुने गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।

  • रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

    रेड नोटिस जारी भएकी महिला युएईबाट पक्राउ

    १० असोज, काठमाडौं । प्रहरीले ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएकी एक महिलालाई युएईबाट पक्राउ गरी बिहीबार नेपाल ल्याएको छ । पक्राउ पर्नेमा धनुषा जनकपुरधाम उपमहानगरपालिका–१६ बस्ने सिन्धुली कमलामाई नगरपालिका–१४ घर भएकी ऐश्वर्या दाहाल रहेकी केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले जानकारी दिए ।


    उनका अनुसार ठगी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएर निज महिला फरार रहेकी थिइन् । प्रहरीले युएईमा पक्राउ गरी उनलाई सम्बन्धित मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ नेपाल फिर्ता ल्याइएको हो । उक्त मुद्दामा संलग्न रही फरार रहेकी निजलाई अन्तरराष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्न एनसिबी काठमाडौँको अनुरोधमा इन्टरपोल महासचिवालयबाट गत चैत २१ गते उनीविरूद्ध रेड नोटिस जारी भएको प्रहरीले जनाएको छ ।

    पक्राउ परेकी निज दाहाललाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाइएको प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

  • किशोर हत्या प्रकरण : फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

    किशोर हत्या प्रकरण : फिरौतिको नाटक गरी योजनाबद्ध हत्या

    राष्ट्रिय समाचार समिति (रासस)
    ९ असोज, सिरहा । यहाँको गोलबजार नगरपालिका–१३, डङ्गराहास्थित १६ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या प्रकरणमा नयाँ तथ्यहरू सार्वजनिक भएका छन् । यही असोज ५ गतेदेखि बेपत्ता अभिषेकको शव असोज ७ गते बिहान घर नजिकैको आँप बगैँचामा भेटिएको थियो । अनुसन्धानका क्रममा प्रहरीको तालिम प्राप्त कुकुर मृतककै हजुरबुवा विन्देश्वर सिंहको घरको आँगनसम्म सुँघ्दै पुगेर रोकिएपछि, प्रहरीको शङ्का १७ वर्षीय पंकज सिंहतर्फ मोडियो । पंकज अभिषेकका काका पर्ने नातेदार हुन् ।

    प्रहरीका अनुसार अभिषेकले ट्याक्टर चलाउन नदिएको रिसमा पंकजले योजनाबद्ध रूपमा हत्या गरेका हुन् । ७ गते नै पक्राउ परेका पंकजले प्रहरीलाई दिएको बयानमा अभिषेकलाई ‘खेल्न जाउँ’ भनेर घरबाट लगेका थिए । पहिले खेतमा खाल्डो खनी ड्रम राखिसकेका उनले गम्छाले बाँधेर अभिषेकको घाँटी थिचेर हत्या गरेका थिए । प्रारम्भमा शव ड्रममा राखी खाल्डोमा पुरेर माथिबाट माटोले ढाकिएको थियो ।

    हत्या पश्चात पनि पंकजले आफन्तसँग खोजी अभियानमा संलग्न बनेको अभिनय गरेका थिए । असोज ६ गते बिहान उनले अभिषेककी आमा रेखादेवी सिंहको मोबाइलमा इमोमार्फत पाँच करोड फिरौति माग गर्दै हिन्दी भाषामा धम्कीपूर्ण सन्देश पठाएका थिए । सन्देशमा उल्लेख थियो, “पैसा नदिए मारिदिन्छौँ, प्रहरीले थाहा पाए पनि लास फाल्नेछौँ ।” यसबाट घटनालाई सीमापार (बिहारतर्फ) बाट आएको जस्तो देखाउने प्रयास गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

    घटनाको राति भारी वर्षा भएपछि ड्रम देखिन थाल्यो र पंकज फेरि घटनास्थल गए । त्यसपछि शव निकालेर आँप बगैँचामा फ्यालेको र ड्रमलाई नजिकैको पोखरीमा डुबाएको बयान उनले प्रहरीसमक्ष दिएका छन् । घटनामा प्रयोग भएको गम्छा विद्यालय प्राङ्गणबाट, मृतकको मोबाइल र सिम पोखरी किनारबाट र ड्रम पोखरीभित्रबाट प्रहरीले बरामद गरेको छ । साथै, फिरौति सन्देश पठाउन प्रयोग गरिएको मोबाइल पंकजकै रहेको पुष्टि भएको छ । उक्त मोबाइल दाउरा राख्ने घरभित्र फेला परेको छ ।

    अभिषेक परिवारका एक्ला छोरा थिए । उनका पिता सञ्जय सिंहको करिब १० वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियो । अभिषेककै नाममा चार बिघा पुख्र्यौली जमिन रहेको हुँदा सम्पत्ति हत्याउने नियतले अन्य व्यक्तिको संलग्नता हुन सक्ने आशंकामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अनन्तराम शर्माले भने, “पंकजले घटना आफू एक्लैले गरेको भनेका छन् तर ड्रममा शव लुकाउनेदेखि निकालेर फाल्नेसम्मको प्रक्रिया हेर्दा अरुको पनि संलग्नता हुनसक्छ ।” घटनाको गम्भीरताका कारण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीसमेत अनुसन्धानमा खटिएको छ । नाबालक पंकजलाई मोहरा बनाइ अरू कसैले योजनाबद्ध ढङ्गले हत्या गराएको हुनसक्ने कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक शर्माले भने, “दोषी पत्ता लागिसकेको छ । धेरै प्रमाण जुटिसकेका छन् । केही निष्कर्ष आउन बाँकी छ, निष्कर्षमा पुगेपछि सार्वजनिक गर्छौँ ।”

  • इरानमा मृत्युदण्डको सङ्ख्या वृद्धि, अन्तर्राष्ट्रिय आलोचना

    इरानमा मृत्युदण्डको सङ्ख्या वृद्धि, अन्तर्राष्ट्रिय आलोचना

    ८ असोज, काठमाडौं । इरानमा सन् २०२५ को सुरुवातदेखि हालसम्म कम्तीमा एक हजार जनालाई मृत्युदण्ड दिइएको गैरसरकारी संस्था इरान मानवअधिकार (आइएचआर) ले जानकारी गराएको छ । उक्त संस्थाले यो कार्यलाई ‘भय सिर्जना गर्ने उद्देश्यले गरिँदै आएको सामूहिक मृत्युदण्ड अभियान’ को रूपमा चित्रण गरेको छ । गत सातामात्रै ६४ जनालाई फाँसी दिइएको जनाएको छ, जसको औसत दर दैनिक नौभन्दा बढी रहेको छ ।

    यो सङ्ख्या सन् २००८ यता सबैभन्दा उच्च हो, जबदेखि संस्थाले मृत्युदण्डसम्बन्धी तथ्याङ्क सङ्कलन गर्न थालेको हो । मानवअधिकारकर्मीहरूको भनाइमा, पछिल्ला वर्षहरूमा देखा परेका विरोध–प्रदर्शन तथा इजरायलसँगको द्वन्द्वपछि इरानले मृत्युदण्डलाई अझ तीव्र रूपमा प्रयोग गर्दै आएको देखिएको छ ।


    इरान मानव अधिकारका निर्देशक महमूद अमीरी–मोगहद्दमले भने, “अन्तर्राष्ट्रिय समुदायबाट आवश्यक प्रतिक्रिया नआएको अवस्थामा, इरानमा मृत्युदण्ड दिनप्रतिदिन विस्तार भइरहेको देखिन्छ । यो अवस्था मानव अधिकारका दृष्टिले गम्भीर चिन्ताको विषय हो ।” संस्थाले संयुक्त राष्ट्रसंघ लगायत अन्तर्राष्ट्रिय निकायलाई मृत्युदण्डको यस प्रवृत्तिलाई मानवताविरुद्धको अपराध को रूपमा गम्भीरतापूर्वक हेर्न आग्रह गरेको छ । इरानी संस्थाका अनुसार झण्डै ५० प्रतिशत मृत्युदण्ड मादक पदार्थसम्बन्धी गैर–घातक अपराधमा दिइएका छन् ।

    यस वर्ष मृत्युदण्ड पाउनेमध्ये २८ जना महिला रहेका छन्, जसमध्ये धेरैजसोले आफूलाई हिंसा गर्ने वा जबर्जस्ती विवाह गरिएका श्रीमानको हत्या गरेको आरोपमा सजाय भोगिरहेका थिए । मानवअधिकार समूह एम्नेस्टी इन्टरनेशनललगायत संस्थाहरूका अनुसार, इरान विश्वको दोस्रो सबैभन्दा बढी मृत्युदण्ड दिने देश हो । एम्नेस्टीले हालै प्रकाशित प्रतिवेदनमा इरानमा मृत्युदण्डको प्रयोग ‘डर लाग्दो अवस्थामा पुगेको’ भन्दै निष्पक्ष सुनुवाइविना थुप्रै नागरिक मृत्युदण्डको जोखिममा रहेको उल्लेख गरेको छ ।

  • टोपबहादुर रायमाझी फर्किए कारागार

    टोपबहादुर रायमाझी फर्किए कारागार

    ७ असोज, काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट निस्किएका नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी कारागार फर्किएका छन् । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले यही २४ गते कारागारबाट निस्किएका रायमाझी आज केन्द्रीय कारागारमा उपस्थिति भएको जानकारी दिए । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाएको मुद्दामा काठमाडौँ जिल्ला अदालतले रायमाझीलाई पुर्पक्षका लागि कारागार चलान गरेको थियो । कारागार व्यवस्थापन विभागका अनुसार आजसम्म कारागारबाट भागेका छ हजार ८४६ तथा सुधारगृहतर्फका ३४१ जनासहित कूल सात हजार १०७ कैदीबन्दी कारागारमा फिर्ता भएका छन् ।

    पछिल्लो २४ घण्टामा १२३ जना कारागारमा फिर्ता भएका छन् । पछिल्लो तीन दिनमा ७७९ कैदीबन्दी कारागार फिर्ता भएका छन् । कारागार विभागका अनुसार अझै सात हजार ३०६ कैदीबन्दी फरार रहेका छन् । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा १४ हजार ५५६ जना कैदीबन्दी भागेका थिए । देशभर ३० हजार ६४० कैदीबन्दी थिए । जेनजी आन्दोलनका क्रममा यही भदौ २४ गते कारागार तोडफोड आगजनी हुँदा कैदीबन्दी भागेका थिए ।

  • जनताले स्पष्ट बुझ्ने भाषामा कानुन निर्माण गर्ने निर्णय सदर

    जनताले स्पष्ट बुझ्ने भाषामा कानुन निर्माण गर्ने निर्णय सदर

    ७ असोज, काठमाडौं । नवनियुक्त कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले सिंहदरबारस्थित मन्त्रालयमा आज पदबहाली गरेका छन् । उनलाई मन्त्रालयका सचिव पाराश्वर ढुङ्गानासहित मन्त्रालयका उच्च पदस्थ अधिकृतले स्वागत गरे । पदबहालीपछि मन्त्री सिन्हाले कानुनलाई आमजनताले कसरी स्पष्टसँग बुझ्न सक्छन् त्यसको निर्माण प्रक्रिया, भाषा, शैलीलगायत प्राविधिक विषयमा अध्ययन गर्नेसम्बन्धी पहिलो निर्णय सदर गरे ।


    त्यसअवसरमा सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले जेनजी पुस्ताले उठाएको मूल विषय भनेकै सुशासन, भ्रष्टाचारमुक्त समाज र स्वदेशमै रोजगारीसम्बन्धी विषय भएकाले सरकारले प्राथमिकता दिएर काम गर्ने बताए । उनले भने, “अहिलेको तत्कालका लागि जति पनि प्रश्न उठेका छन् त्यसलाई सम्बोधन गर्दे लानुपर्नेछ । चुनावी सरकार भएकाले पहिलो प्राथमिकता चुनाव सम्पन्न गर्ने प्रतिबद्धता छ । तोकिएको समयमा चुनाव सम्पन्न गर्नुपर्ने छ । त्यसमा सम्झौता गर्न सक्दैनौँ ।”

    उनले चुनावका लागि आवश्यक पर्ने केही संशोधन र परिमार्जन गर्नुपर्ने भएकाले अध्यादेशमार्फत भए पनि कानुनको व्यवस्था गरिने बताए । सञ्चारकर्मीको एक प्रश्नको जवाफमा मन्त्री सिन्हाले भ्रष्टाचार छानबिनसम्बन्धी आयोग गठनको विषय आवश्यक छलफलपछि निष्कर्षमा पुगिने बताए । सर्वोच्चलगायतका अदालतमा भएको आगजनीबाट क्षति पुगेका मिसिलहरूलाई जस्ताको तस्तै त अवस्थामा राख्न कठिन रहेको बताउँदै उहाँले तथापि सकेसम्म मिसिलसम्बन्धी सङ्कलन गरेर मुद्दा फर्छ्योटलाई अघि बढाउन पर्ने कार्यजिम्मेवारी रहेको धारणा व्यक्त गरे ।


    मन्त्री सिन्हाले भने, “यो ठूलो चुनौती छ अदालतको लागि । तथापि जसरी काम सुरु गरिएको छ, कर्मचारी त्यसमा लागिपरेका छन् । दसैँपछि ट्र्याकमा ल्याउन सकिन्छ । तर पूर्ण रूपमा ल्याउन धेरै नै समय लाग्छ किनकी ठूलो नोक्सानी भएको छ । हामी कोसिस गर्छौं । सबै कुरालाई सकारात्मक रूपमा लिएर जानुपर्छ ।”

  • प्रधानमन्त्रीसँग निर्वाचन आयोगको छलफल, विदेशमा बस्ने नेपालीले पाउलान मताधिकार ?

    प्रधानमन्त्रीसँग निर्वाचन आयोगको छलफल, विदेशमा बस्ने नेपालीले पाउलान मताधिकार ?

    ७ असोज, काठमाडौं । निर्वाचन तयारीका विषयमा प्रधानमन्त्री सुशीला कार्कीसँग निर्वाचन आयोगका पदाधिकारीले आज छलफल गरेका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा प्रतिनिधिसभाको विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकिएको सन्दर्भमा सोका लागि आवश्यक कानुन संशोधन, निर्वाचन व्यवस्थापन र स्रोत परिचालनलगायत विषयमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहितका पदाधिकारीले छलफल गरेका हुन् ।


    छलफलमा सहभागी कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिलकुमार सिन्हाले निर्वाचनको तयारी गर्नैपर्ने र तयारीका सम्बन्धमा कुनै अवरोधहरु छन्भने त्यसलाई पहिचान गरेर सम्बोधन गर्नुपर्ने विषयमा छलफल भएको जानकारी दिए । आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचनका लागि प्रभावकारी समन्वय गर्न प्रारम्भिक कुराकानी भएको जनाउँदै पछि आउने चुनौतीका विषयमा नेपाल सरकारसँग निरन्तर छलफल हुने बताए । निर्वाचनको कार्यभार पूर्ण रुपमा सम्पन्न गर्नुपर्नेमा सरकार र आयोग स्पष्ट रहेको बताउँदै उनले स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गरे ।


    आयोगले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न मतदाता नामावली ऐन, २०७३ मा संशोधनलगायत आवश्यक स्रोतसाधनको सुनिश्चितताका लागि नेपाल सरकारसँग आग्रह गर्दै आएको छ । हाल आगामी कात्तिक १६ गतेसम्म १८ वर्ष उमेर पुगेका मतदाताको सङ्ख्या एक करोड ८१ लाख ६८ हजार २३० रहेका छन् । यसअघि यही असोज २ गते आयोगले गृहमन्त्री ओमप्रकाश अर्यालसँग छलफल गरेको थियो ।

    उपनिर्वाचनको मिति तोकिएको सन्दर्भमा गत असार १६ गतेदेखि मतदाता नामावली सङ्कलन स्थगन भएकाले मध्यावधि निर्वाचनको मिति घोषणा भइसकेपछि मतदाता नामावली सङ्कलन खुला गर्न कानुनी प्रबन्ध गर्नुपर्नेछ । उक्त ऐनको दफा ४ को उपदफा २ को सो व्यवस्था संशोधनका लागि अध्यादेशबाट कानुन संशोधन गर्न आयोग र सरकारबीच छलफल भएको हो । गृहमन्त्री अर्यालले सर्वोच्च अदालतको आदेशबमोजिम विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिने उपायबारे सोच्न भनेपछि आयोगले त्यसका लागि कानुनी विज्ञसँग छलफल गरेको छ ।

    गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शन र उत्पन्न परिस्थितिमा पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा गठित अन्तरिम सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिसकेको छ ।

  • अपहरणपछि ५ करोड फिरौती माग, किशोरको हत्या

    अपहरणपछि ५ करोड फिरौती माग, किशोरको हत्या

    ७ असोज, गोलबजार । यहाँको गोलबजार नगरपालिका–१३ डंग्राहाबाट अपहरित किशोरको हत्या गरिएको अवस्थामा आज बिहान शव फेला परेको छ । आइतबार राती अपहरणमा परेका स्थानीय १७ वर्षीय अभिषेक महतोको शव घरदेखि एक सय मिटर पूर्व आँप बगैचामा फेला परेको प्रहरीले जनाएको छ । आफ्नै ट्याक्टर चलाउँदै आएका अभिषेक आइतबार राती खाना खाएर घर नजिकैको चोकतर्फ घुम्न गएका थिए । त्यसपछि उनी घर फर्किएनन् ।

    परिवारजनले रातभर गाउँछिमेकमा खोजतलास गरे पनि भेटिएनन् । सोमबार बिहान महतो परिवारको मोबाइलमा इमोबाट पाँच करोड फिरौती माग गरिएको जानकारीसहित इलाका प्रहरी कार्यालय गोलबजारमा अभिषेकको सकुशल उद्धारका लागि निवेदन दिएको थियो।

    अपहरणकारी समूहले अभिषेकको आमाको मोबाइलको इमोमा छोरा जिउँदो चाहिएमा पाँच करोड फिरौती बुझाउन भनेको जानकारी समेत परिवारजनले प्रहरीलाई सोमबार नै दिएका थिए । इप्रका गोलबजारका प्रहरी निरीक्षक गोविन्द साहले भने, “घटनाबारे अनुसन्धान हुँदैछ । संलग्न पत्ता लगाइ कानुनी दायरामा ल्याइने छ ।” जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी धर्मेशकुमार यादवका अनुसार घटनाको अनुसन्धानका लागि कुकुर ल्याइएको छ । घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ८ जनालाई नियन्त्रणमा लिएको छ ।

  • जेन जी आन्दोलनमा भागेका ६५६ कैदीबन्दी दुई दिनमा फर्काइए

    जेन जी आन्दोलनमा भागेका ६५६ कैदीबन्दी दुई दिनमा फर्काइए

    ७ असोज, काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न परिस्थितिपछि कारागारबाट भागेकामध्ये हालसम्म छ हजार ९८४ कैदीबन्दीलाई फर्काइएको छ । कारागार व्यवस्थापन विभागका अनुसार अझै सात हजार ५७२ कैदीबन्दी फरार छन् । पछिल्लो दुई दिनमा छ सय ५६ जना कैदीबन्दीलाई कारागारमा फर्काइएको विभागका निर्देशक चोमेन्द्र न्यौपानेले राससलाई जानकारी दिए । कैदीबन्दीहरू दैनिकजसो कारागारमा आइरहेका उनको भनाइ छ ।

    गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा कारागारमा तोडफोड र आगजनी हुन थालेपछि कैदीबन्दी भागेका थिए । भागेका कैदीबन्दीको कूल सङ्ख्या १४ हजार ५५६ रहेको छ भने १५ हजार ५२५ कैदीबन्दी भने नभागी बसेका थिए । फरार रहेकाहरूको खोजी जारी रहेको विभागले जनाएको छ । ती कैदीबन्दीहरू २८ वटा कारागार र नौ वटा सुधारगृहबाट भागेका थिए ।

    कतिपयलाई प्रहरीले पक्राउ गरेर ल्याएको छ भने अधिकांश आफैँ आएका हुन् । बालसुधार गृहबाट नौ सय ६३ जना भागेका थिए । प्रहरीले हिरासतमा रहेका दुई हजार आरोपीसमेत फरार रहेका र खोजी जारी रहेको जानकारी दिएको छ । दश जना कैदीबन्दीको भने मृत्यु भएको छ ।