Category: कानुनी कुरा

  • दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

    दसैँमा सर्वोच्च अदालतमा बन्दीको रिट सुनुवाइ हुने

    ६ असोज, काठमाडौं । सर्वोच्च अदालतमा दसैँ बिदामा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने भएको छ । दसैँ अवधिमा घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

    अदालतको सूचनामा भनिएको छ, “न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने घटस्थापना, विजयादशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ः०० बजेदेखि अपराह्न ३ः०० बजेसम्म अदालत खुला रहने हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।”

  • जेन-जी आन्दोलनमा भएका घटनाको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

    जेन-जी आन्दोलनमा भएका घटनाको छानविन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन

    ५ असोज, काठमाडौं । सरकारले गत २३ र २४ भदौमा भएको जेनजीहरूको आन्दोलनका क्रममा भएका घटनाहरूको छानबिन गर्न उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले विशेष अदालतका पूर्व अध्यक्ष एवं पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा आयोग गठन गरेको हो । आयोगको सदस्यमा पूर्व एआईजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी छन् । आयोगले तीन महिनाको समय पाएको छ ।


    गत सोमबार बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । पदभार सम्हालेकै दिन कार्कीले सरकारी–सार्वजनिक र निजी सम्पत्ति तोडफोड र आगजनीमा संलग्नलाई कारबाहीको दायरामा ल्याइने प्रतिबद्धता जनाएकी थिइन्। यसअघि बसेको मन्त्रिपरिषद्ले नै आन्दोलनमा भएको दमनको छानबिन गर्न आयोग बनाउने निर्णय गरेको थियो । तर, कसको नेतृत्वमा कसरी आयोग गठन गर्ने भन्नेबारे यकिन भएको थिएन । घटनामा ७४ जनाको ज्यान गइसकेको छ । कैयौं घाईते छन् । खर्बौ रुपैयाँको भौतिक क्षति भएको छ । अमूल्य कागजात जलेर नष्ट भएका छन् ।

  • आन्दोलनका बेला सुनचाँदीका गरगहना लुट्ने तीन जना पक्राउ

    आन्दोलनका बेला सुनचाँदीका गरगहना लुट्ने तीन जना पक्राउ

    ४ असोज, काठमाडौं । प्रहरीले सुनचाँदीका गरगहनासहित काठमाडौँको रातोपुलबाट तीन जनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते जेनजीद्वारा गरिएको प्रदर्शनका क्रममा रातोपुलको एक घरबाट सुनचाँदीको गहना र धनमाल चोरीको घटनाको अनुसन्धानका क्रममा सोही क्षेत्रमा शङ्कास्पद गतिविधि गरिरहेको अवस्थामा उनीहरू पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

    खोटाङका २७ वर्षीय सुजन राई, सिन्धुपाल्चोकका १९ वर्षीय नयुन श्रेष्ठ र मकवानपुरका १८ वर्षीय अगम प्रजालाई सुनचाँदीका गरगहना, नगद रु १३ हजार र लत्ताकपडासहित पक्राउ गरिएको परिसरका प्रवक्ता अपिलराज बोहराले जानकारी दिए । उनीहरूलाई जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धन जारी रहेको उनले बताए ।

  • आठ हजार ८१६ कैदीबन्दी अझै फरार

    आठ हजार ८१६ कैदीबन्दी अझै फरार

    ४ असोज, काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजीको प्रदर्शनका कारण नेपालका २७ कारागारबाट कैदीबन्दी भागेका छन् । यस्तै नौवटा बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका पाइएको छ । कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार ती कारागारबाट कुल २९ हजार २१२ मध्ये १३ हजार ५९१ कैदीबन्दी भागेका थिए । यस्तै एक हजार ४२२ मध्ये ९६४ जना बालसुधारगृहबाट भागेका थिए ।

    झुम्का, सोलुखुम्बु, सप्तरी, महोत्तरी, रौतहट, सिन्धुली, नक्खु, जगन्नाथदेवल, डिल्लीबजार, रसुवा, चितवन, तनहुँ, कास्की, पर्वत, कपिलवस्तु, तुलसीपुर, नौबस्ता, रुकुमपूर्व, जुम्ला, बझाङ, कैलाली, दार्चुला, बैतली, डडेलधुरा र कञ्चनुपुरबाट कैदीबन्दी भागेका उनले बताए । यस्तै मोरङ, पर्सा, भक्तपुर, मकवानपुर, कास्की, रुपन्देही, जयन्डु, नौबस्ता र डोटी बालसुधारगृहबाट पनि कैदीबन्दी भागेका थिए ।

    निर्देशक न्यौपानेका अनुसार अहिलेसम्म कारागारबाट भागेकामध्ये पाँच हजार ४९५ र बालसुधारगृहबाट भागेकामध्ये २४४ कैदीबन्दी फिर्ता आएका छन् । अझै आठ हजार ८१६ कैदीबन्दी फरार रहेका र खोजी कार्य जारी रहेको विभागले जनाएको छ । नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरुको पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

  • पालमुनिबाटै चल्यो सर्वोच्च अदालतको इजलास

    पालमुनिबाटै चल्यो सर्वोच्च अदालतको इजलास

    २ असोज, काठमाडौं । सर्वोच्च अदालतको प्रवेशद्वारदेखि सबैले जलेको भवन प्रष्ट देख्न सक्छन् । अगाडि पुरै जलेका सवारी साधनको थुप्रो छ । आधा जलेका र भाँचिएका टेबल कुर्सी असरल्ल छन् । कर्मचारी बस्ने ठाउँ छैन । धेरै कर्मचारीको मुहार अझै खुल्न सकेको छैन । असरल्ल जलेको गाडीकै अगाडि एक छेउमा पाल टाँगिएको छ । पालमुनि काठका टेबल कुर्सी राखेर एकातर्फ न्यायाधीश र अर्को तर्फ कानुन व्यवसायी, अनि बिचमा इजलास अधिकृत बस्ने व्यवस्था गरी आजदेखि इजलास सञ्चालन गरिएको छ ।

    सर्वोच्च अदालतको पूर्ण बैठकले जतिसुकै विषम् परिस्थितिमा पनि इजलास बस्ने निर्णय गरेसँगै आजदेखि सञ्चालन गरिएको हो । आज न्यायाधीश सपना प्रधान मल्लको इजलासमा एउटा र कुमार रेग्मीको इजलासमा दुई थान बन्दी प्रत्यक्षीकरणका निवेदनमाथि सुनुवाइ भयो । गत भदौ २४ गते जेनजी प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भइ भौतिक संरचना जलेपछि इजलास राख्ने ठाउँसम्म नहुँदा पालमुनि इजलास सुरु गरिएको हो ।

    “आगजनीले इजलास सञ्चालन गर्ने स्थान छैन,” सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले भने, “सर्वोच्च अदालतको पूर्ण बैठकले न्यायिक प्रक्रियालाई अगाडि बढाउन बन्दी प्रत्यक्षीकरणको मुद्दामा सनुवाइ अगाडि बढाउने निर्णयअनुसार आजदेखि पालमुनिबाटै इजलास सुरु गरिएको हो ।”

    गत भदौ ३१ गते दुई वटा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गरिएको थियो । सो निवेदनमाथि सुनुवाइ प्रारम्भ गरिएको हो । “सूचना प्रविधिको उपकरण, सवारीसाधन ठूलो मात्रामा क्षति भएको छ, क्षतिको तथ्याङक सङ्कलन भइरहेको छ” उनले भने, “सर्वोच्च, विशेष र जिल्ला गरी २३ अदालत भवनमा क्षति भएका छन्, केहीमा पूर्ण र केहीमा आंशिक क्षति भएका छन्, पूर्ण विवरण आउन बाँकी छ ।”

    अदालतको भौतिक संरचना जलेर नष्ट भएसँगै मुद्दाका मिसिल पनि जलेर नष्ट भएका छन् । पूर्णरूपमा क्षति भएका अदालतका मुद्दाका मिसिल पनि पूर्णरूपमै नष्ट भएका छन् । आंशिक क्षति भएका अदालतमा केही मुद्दाका मिसिल बाँकी छन् । प्रवक्ता कोइरालाले भने, “पूर्णरूपमा नष्ट भएका मिसिलको हकमा सर्वोच्च अदालतको पूर्ण बैठकले निर्देशिका बनाउने निर्णय गरेको छ, त्यो बन्ने क्रममा छ, सोहीअनुसार कुन पक्षबाट मिसिल लिने भनेर निर्णय गर्नेछ ।” सर्वोच्च अदालतमा चालु अवस्थामा करिब २६ हजार मुद्दा थिए ।

  • आन्दोलनमा बैंक र व्यक्तिको घरबाट ठूलो मात्रामा गरगहना लुटपाट, बिना बिल किनबेच नगर्न प्रहरीको अनुरोध

    आन्दोलनमा बैंक र व्यक्तिको घरबाट ठूलो मात्रामा गरगहना लुटपाट, बिना बिल किनबेच नगर्न प्रहरीको अनुरोध

    १ असोज, काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौँले बिना बिलबिजकको सामान किनबेच नगर्न सबैमा अनुरोध गरेको छ । जेनजीको प्रदर्शनकाक्रममा आपराधिक समूहद्वारा लुटिएका गरगहना बिक्री गर्न सुनचाँदी पसलमा ल्याउन सक्ने भएकाले बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न अनुरोध गरेको हो । त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्न परिसरले आज एक सूचना प्रकाशित गरी सबैमा आग्रह गरेको छ ।

    गत भदौ २३ र २४ गते ‘जेनजी’ ले आह्वान गरेको प्रदर्शनका क्रममा प्रदर्शनकारीद्वारा काठमाडौँका विभिन्न स्थानहरूमा रहेका सरकारी कार्यालय, बैंक वित्तीय संस्थाहरू, व्यापारिक प्रतिष्ठानलगायत निजी सम्पत्तिमा समेत आगजनी तथा तोडफोड गर्नुका साथै बहुमूल्य गरगहना तथा सरसामान चोरी÷लुटपाट गरी लगेको पाइएकाले बिलबिना खरिद नगर्न अनुरोध गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।


    उनले भने, “बिल भर्पाइ बिनाका सुनचाँदीका गरगहना खरिद नगर्न हुन र त्यस्तो कुनै सूचना पाएमा तत्काल प्रहरीलाई खबर गर्नुहुन हामी सम्बन्धित सबैमा अनुरोध गर्दछौँ । त्यस्ता आपराधिक कार्यमा संलग्न रहेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ ।” यसैगरी त्यस्ता सामानहरू प्राप्त भएमा प्रहरी कन्ट्रोल नम्बर १००, जिल्ला प्रहरी परिसर, काठमाडौँको सम्पर्क नम्बर ९८५१२८३०१२ र नजिकको प्रहरी कार्यालयमा उक्त विषयको जानकारी दिन परिसरले सबैमा अनुरोध गरेको छ । नयाँ बानेश्वरस्थित वाणिज्य बैंकको शाखाबाट मात्र १८ किलो हाराहारी सून र ५ करोड भन्दा बढी नगद चोरी र लुटपाट भएको पुष्टी भएको छ ।

  • न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा

    न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको मानहानि मुद्दा हाल्ने ट्रम्पको घोषणा

    एजेन्सी
    १ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क टाइम्सविरुद्ध १५ अर्ब डलरको ‘मानहानि र बदनामी मुद्दा’ दायर गर्ने घोषणा गरेका छन् । “न्युयोर्क टाइम्सलाई स्वतन्त्र रूपमा झूट बोल्न, धब्बा लगाउन र मलाई धेरै लामो समयसम्म बदनाम गर्न अनुमति दिइएको छ, तर अब त्यो रोकिन्छ ” उनले सोमबार आफ्नो ‘ट्रुथ सोसल’ प्लेटफर्ममा लेखेका छन् । । मुद्दा फ्लोरिडामा दायर गरिएको जनाइएको छ । एएफपीले टिप्पणीका लागि न्युयोर्क टाइम्सलाई सम्पर्क गरेको छ ।

    ट्रम्पले उक्त समाचारपत्रलाई ‘रेडिकल लेफ्ट डेमोक्रेट पार्टीको भर्चुअल मुखपत्र’ भन्दै निन्दा गरेका छन् । उनले यसले आफ्नो परिवार, व्यवसाय, ‘अमेरिका फस्र्ट’ आन्दोलन, मेगा अभियान र समग्रमा राष्ट्रबारे झूट बोल्दै आएको आरोप लगाए । तर कुनै प्रमाण भने प्रस्तुत गरेनन् । गत हप्ता एक समाचार माध्यमले ट्रम्पले यौन अपराधी जेफ्री एपस्टेनलाई दिइएको अश्लील जन्मदिन नोटसम्बन्धी लेखका विषयमा कानूनी कारबाही गर्ने चेतावनी दिएको रिपोर्ट प्रकाशित गरेको थियो । ट्रम्पले भने उक्त नोट लेखेको अस्वीकार गरेका छन् ।


    ह्वाइट हाउस फर्किएपछि ट्रम्पले आफ्नो प्रशासनको आलोचना गर्ने पत्रकारलाई बारम्बार गाली गर्ने, पहुँच रोक्ने र मुद्दा दायर गर्ने क्रममा परम्परागत मिडियामाथि आक्रमण तीव्र पारेका छन् । एपस्टेनसँगको मित्रताको बारेमा लेख प्रकाशित गरेपछि उनले गत जुलाईमा मिडिया म्यागनेट रुपर्ट मर्डोक र ‘द वाल स्ट्रिट जर्नल’ विरुद्ध कम्तीमा १० अर्ब डलरको मुद्दा दायर गरेका थिए ।

    सोही महिना, प्यारामाउन्टले सिबिएस न्युजको ‘६० मिनेट’ कार्यक्रममा चुनावी कभरेजसम्बन्धी ट्रम्पको मुद्दा एक करोड ६० लाख डलरमा सुल्झाएको थियो । ट्रम्पले कार्यक्रमले आफ्नो सन् २०२४ को चुनावी प्रतिद्वन्द्वी कमला ह्यारिससँगको अन्तर्वार्तालाई उनको विपक्षमा भ्रामक तरिकाले सम्पादन गरेको आरोप लगाएका थिए ।

  • गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

    गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी भागेपछि संरक्षणमा चुनौती

    ३१ भदौ, चितवन । चितवन कारागारबाट एकसिङ्गे गैँडासँग सम्बन्धित मुद्दाका कैदीबन्दी फरार भएपछि संरक्षणमा चुनौती देखिएको छ । कारागारमा रहेका सोसम्बन्धी मुद्दाका ४८ कैदीबन्दीमध्ये २६ जना मात्र फर्किएका छन् । भदौ २५ गते बिहान भागेका कैदीबन्दीमध्ये हालसम्म ४०९ जना फर्किएका छन् । जसमा २६ जना गैँडासँग सम्बन्धित मुद्दाका हुन् । कारागारमा जम्मा ७४४ जना कैदीबन्दी थिए । तीमध्ये दुई जनाबाहेक अरू सबै भागेका थिए । कारागारका प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार सबैलाई फर्कन टेलिफोन गरिएको छ । जसमध्ये ६० जना सम्पर्कमा छैनन् ।

    गैँडासँग सम्बन्धित कैदीबन्दी भागेपछि चितवन राष्ट्रिय निकुञ्जले सुरक्षा संयन्त्रलाई चुस्त बनाएको छ । सूचना अधिकारी अविनाश थापा मगरका अनुसार भागेकाहरुको सूची बनाएर सो क्षेत्रमा निगरानी बढाइएको छ । गैँडा तस्करीमा लागेकाहरु पटके समेत भएकाले निकुञ्जले सुरक्षा चुनौतीका रुपमा लिएको छ ।

  • उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

    उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द

    ३० भदौ, काठमाडौं । निर्वाचन आयोगले रुपन्देही निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम रद्द गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रतिनिधिसभाको विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ प्रतिनधिसिभाको निर्वाचन गर्ने मिति तोकिएसँगै उपनिर्वाचन रद्द गरिएको आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी कात्तिक १७ गते सोमबार रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको मिति तोकेको थियो ।

  • जेन-जी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

    जेन-जी आन्दोलनमा निधन भएकाको सम्मानमा राष्ट्रिय शोक मनाउने गृह मन्त्रालयको निर्णय

    ३० भदौ, काठमाडौं । गृह मन्त्रालयले जेनजी आन्दोलनमा निधन भएका व्यक्तिको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको छ । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आज पदभार ग्रहण गरेपछि उक्त निर्णय गरेका हुन् । मन्त्री अर्यालले शोकमा राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरे ।

    आन्दोलन क्रममा ज्यान गुमाएका परिवारलाई काजकिरिया खर्चवापत प्रति परिवार रु एक लाख उपलब्ध गराउने तथा मृतकको शव घर ठेगानासम्म पुर्‍याउने निर्णय गरेको मन्त्री अर्यालले जानकारी दिए ।

    मन्त्री अर्याललाई मन्त्रालयमा गृह सचिव गोकर्णमणि दुवाडी, प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, निमित्त राष्ट्रिय अनुसन्धान निर्देशकलगायतले स्वागत गरे ।

  • अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह

    अख्तियारद्वारा लुटपाट एवं चोरी गरिएका सामान बुझाउन आग्रह

    ३० भदौ, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यही भदौ २४ गतेको आन्दोलनका क्रममा आयोग र मातहतका कार्यालयहरुबाट लुटपाट एवं चोरी भएका सामान बुझाउन अनुरोध गरेको छ । आयोगले उक्त सामग्रीहरू काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाउन अनुरोध गरेको छ ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय टङ्गालले एक सार्वजनिक सूचना प्रकाशित गरी भदौ २४ गते आन्दोलनका क्रममा यस आयोग र मातहतका कार्यालयहरु (इटहरी, हेटौँडा, पोखरा, बुटवललगायत) मा भएको तोडफोड, आगजनी र चोरी एवं लुटपाटबाट सवारीसाधनहरु (चारपाङ्ग्रे र दुईपाङ्ग्रे), टिभी, कम्प्युटर सेट, माइक्रो ओभन, विभिन्न साइजका हार्ड डिस्क, स्क्यानर, क्यामरा, आइप्याड, मोबाइल, ल्यापटप, हिटर, पङ्खालगायत सामानहरु लुटपाट एवं चोरी भएकाले उक्त सामान बुझाउन अनुरोध गरेको हो ।

    “उक्त तोडफोड र चोरीमा संलग्नहरुको सिसिटिभी फुटेजमार्फत पहिचान गर्ने कार्य भइरहेको हुँदा कोही कसैले आयोग र आयोग मातहत कार्यालय परिसरबाट यस्ता सामग्री लिएको वा प्राप्त गर्नुभएको भए उक्त सामग्रीहरु काठमाडौँको हकमा प्रहरी वृत्त मालीगाउँ, काठमाडौँ वा यस आयोगको कार्यालय टङ्गालमा र आयोगका मातहत कार्यालयको हकमा तत्तत् कार्यालय वा नजिकको प्रहरी कार्यालयमा आई सामान बुझाउन अनुरोध छ । अन्यथा कानुनबमोजिम भइजाने व्यहोरासमेत जानकारी गराइन्छ,” आयोगद्वारा प्रकाशित सूचनामा उल्लेख गरिएको छ ।

  • राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

    राष्ट्रपति पौडेलद्वारा जितिया पर्वको शुभकामना

    ३० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्व, २०८२ को सुखद् अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । जितिया पर्व विशेष गरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु, मधेशी तथा केही अन्य समुदायका महिलाहरूद्वारा आफ्ना सन्तान र परिवारको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं शान्ति र सुख समृद्धिका लागि भगवान जिमुतवाहनको पूजा आराधना गर्दै मनाइने पर्व हो । यस पर्वको अवसरमा आश्विन कृष्णपक्षको अष्टमी तिथिका दिन महिलाहरू कठोर उपवास बसी शरीर, मन र आत्मा शुद्धि गर्दै विभिन्न शुद्ध परिकारहरू बनाइ खाने र खुवाउने प्रचलन परापूर्वकालदेखि चल्दै आएको छ ।

    बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विविधतायुक्त विशेषताले भरिपूर्ण नेपालमा मानवीय जीवन र भविष्यका लागि मार्गदर्शक यस्ता मौलिक पर्वहरूले बेग्लै पहिचान स्थापित गर्दै आएको राष्ट्रपति पौडेलले शुभकामना सन्देशमा उल्लेख गरेका छन् ।

    जितिया पर्वको माध्यमबाट नेपाली समाजमा आपसी सम्मान, सदभाव पारिवारिक एकता र प्रेम, महिलाप्रतिको श्रद्धा र आस्था, मौलिक संस्कृतिको संरक्षण र निरन्तरता एवम् आपसी सहिष्णुताको भावना जागृत गर्दै नेपालको विविधतालाई संरक्षण गरेको आफूले महसुस गरेको उनले सन्देशमा व्यक्त गरेका छन् । यस पर्वले सबैमा सुख, शान्ति र समृद्धि ल्याइ आपसी सद्भाव र सहिष्णुता कायम गर्न सफलता मिलोस् भन्ने कामना उनले सन्देशमार्फत गरेका छन् ।

  • जेलबाट भागेका तीन हजार ७२३ कैदीबन्दी पक्राउ

    जेलबाट भागेका तीन हजार ७२३ कैदीबन्दी पक्राउ

    ३० भदौ, काठमाडौं । यही भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेकामध्ये तीन हजार ७२३ कैदीबन्दी पक्राउ परेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले आज मध्याह्नसम्ममा तीन हजार ७२३ कैदीबन्दी पक्राउ गरी कारागामा ल्याइएको जनाउँदै अझै १० हजार ३२० कैदीबन्दी फरार रहेकाले आवश्यक सर्तकता अपनाउन सर्वसाधारणमा आग्रह गरे ।


    उनका अनुसार कतिपयलाई भारत भाग्न खोजिरहेको अवस्थामा भारतीय प्रहरीले समातेर फिर्ता गरेका छन् भने कतिपय सेना, प्रहरी र सशस्त्र प्रहरीले पक्राउ गरेका हुन् । कतिपय आफैँ फिर्ता भएर कारागार आएका बताउँदै प्रवक्ता घिमिरेले कैदीबन्दीको खोजी अभियान जारी रहेको उल्लेख गरे । कैदीबन्दीका बारेमा केही सूचना प्राप्त भएमा नजिकको प्रहरी कार्यालय तथा सुरक्षा निकायमा जानकारी दिन पनि उहाँले सबैमा अनुरोध गर्नुभयो ।

    १३९ थुनुवा फर्किए, दुई हजार १०० फरार

    सोही प्रदर्शनका कारण मुलुकभरका प्रहरी कार्यालयका हिरासतबाट फरार भएकामध्ये १३९ जना थुनुवालाई पक्राउ गरिएको प्रवक्ता घिमिरेले जानकारी दिए । उनका अनुसार अझै दुई हजार १०० थुनुवा फरार छन् । फरार भएकाहरूको खोजी जारी रहेको प्रहरीले जनाएको छ । तोडफोड, आगजनी र प्रदर्शनका कारण कैदीबन्दीहरू यही भदौ २४ गते भागेका थिए ।

  • कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

    कैदीबन्दीलाई कारागारमा आउन र अन्यलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह

    २८ भदौ, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले ‘जेनजी’ आन्दोलनका क्रममा भागेका कैदीबन्दीलाई कारागार फिर्ता हुन र अन्य व्यक्तिलाई नियन्त्रणमा लिएका हातहतियार फिर्ता गर्न आग्रह गरेको छ । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा हालसम्म पनि कारागारबाट भागेका कैदीबन्दीहरूर बाल सुधारगृहबाट भागेका व्यक्तिहरू सम्बन्धित कारागार र सुधारगृहमा फर्कन आग्रह गरिएको छ ।

    “फरार भएकाहरूको खोजी कार्यलाई तीव्रता दिँदै शान्तिसुरक्षा कायम गर्न र कारागार एवम् बालसुधार गृहबाट निस्किएका कैदीबन्दी आफ्नो टोल छिमेकमा रहेको जानकारी भएमा तत्कालै नजिकको प्रहरी प्रशासनमा खबर गरी सहयोग गरिदिनुहुन आयोग सबैमा अपिल गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “साथै, प्रदर्शनका क्रममा नियन्त्रणमा लिएका प्रहरीका हतियार फिर्ता गर्न तथा यस्ता हतियार र पोसाक दुरुपयोग भएको जानकारी प्राप्त भए सम्बन्धित निकायमा खबर गरी सहयोग पु¥याउनसमेत आयोग सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।”

    राजधानीसहित देशका विभिन्न भागमा भदौ २३ र २४ गते भएको ‘जेनजी’ प्रदर्शनका क्रममा कारागारबाट भागेका कैदीबन्दीका कारण समाजमा त्रास र असुरक्षाको अवस्था सिर्जना भएको भनी आयोगमा जानकारी प्राप्त भएको आयोगले जनाएको छ । बाल सुधारगृहमा रहेका व्यक्तिसमेत भागेका भनी जानकारी आएको र यसबाट हुन सक्ने सुरक्षा जोखिमलाई आयोगले गम्भीर रूपमा लिई अनुगमन गरिरहेको जनाएको छ ।

    “यसैगरी प्रदर्शनका क्रममा सुरक्षार्थ खटिएका नेपाल प्रहरीका हतियार र पोसाकहरू प्रदर्शनकारीले नियन्त्रणमा लिएको र उक्त हतियार पूर्ण रूपमा अझै पनि फिर्ता हुन नसक्दा ती हतियारको दुरुपयोग भई हिंसात्मक गतिविधि हुन सक्ने देखिएको छ”, विज्ञप्तिमा उल्लेख छ, “सुरक्षा निकायको हतियार र पोसाक दुरुपयोग गर्नु गैरकानुनी कार्य मात्र नभई यस्तो गैरकानुनी कार्य रोक्न सहयोग गर्नु जिम्मेवार नागरिकको समेत कर्तव्य हुन जान्छ ।”

    आयोगले भागेका कैदीबन्दीहरूका कारण विशेषगरी महिला, बालबालिका, निर्णयकर्ता एवम् अपराधपीडित र तिनको परिवारमा मनोवैज्ञानिक असर परेको पाइएको उल्लेख गरेको छ । यस्तै, कैद भुक्तान गरिरहेका कैदीबन्दी कारागारबाट भागी बाहिर निस्कँदा नेपालको संविधानको धारा, २१ मा व्यवस्था भएको अपराध पीडितको हक, अपराधपीडित संरक्षण ऐन, २०७५ तथा अपराध पीडितको अधिकारसम्बन्धी घोषणापत्र, १९८५ द्वारा प्रदत्त अपराध पीडितको न्यायको अधिकार हनन हुन जानेमा आयोगले सचेत गराएको छ ।

  • रवि लामिछाने जेल फर्किए

    रवि लामिछाने जेल फर्किए

    २८ भदौ, काठमाडौं । रास्वपा सभापति रवि लामिछाने नख्खु कारागार फर्किएका छन् । जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार रवि लामिछने कारागार पुगेका छन् । उनले आज एक भिडियो राख्दै आज कारागार फर्कन लागेको बताए थिए । आज उनको जन्मदिन समेत हो । जेन–जीको अगुवाईमा भएको आन्दोलनपछिको प्रदर्शन भड्किएपछि फैलिएको हिंसाले उग्र रूप लिएपछि उनी कारागारबाट भदौ २४ मा निस्किएका हुन् ।

    कारागार प्रशासनले कैदीबन्दीलाई कारागार फिर्ता हुन अपिल गरेको थियो । त्यसपछि लामिछाने शनिबार साँझ कारागार पुगेका छन् । यसअघि लामिछानेका कारण अन्य कैदी हौसिएको भन्दै उनको व्यापक आलोचना भएको थियो । देशभरीबाट १३ हजार भन्दा बढी कैदी भागेका थिए । अहिले कैदीहरु स्वतः फर्कने र पक्राउ गर्ने क्रम जारी छ ।

  • पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद विघटन हुने

    पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री बनाउने सहमति, संसद विघटन हुने

    २७ भदौ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति जुटेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई आजै प्रधानमन्त्रीमा नियुक्त गरी शपथ गराउने तयारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

    जेन-जी आन्दोलनकारीले संसद विघटनको अडान नछाडेपनि अन्ततः राष्ट्रपति समेत सोही अडानमा सहमत भएका छन् । अब विद्यमान संसद विघटन हुने भएको छ । नयाँ सरकारले निर्वाचन गराउने म्यान्डेड पाउने छ । २३ र २४ भदौको आन्दोलनले नेपालको राजनीतिमा नयाँ अध्याय कोरेको छ ।

  • आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

    आइतबारदेखि सर्वोच्च अदालतले नियमित सुनुवाइ गर्ने

    २६ भदौ, काठमाडौं । सर्वोच्च अदालतले यही भदौ २९ गतेदेखि नियमित सुनुवाइ गर्ने भएको छ । अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन पनि सोही दिनदेखि नै दर्ता गर्ने जनाएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा आज भएको आकष्मिक बैठकले उक्त निर्णय गरेको हो । बैठकले यही भदौ २३ र २४ मा भएका घटनाप्रति दुःख व्यक्त गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

    सर्वोच्चले जारी गरेको विज्ञप्तिमा आन्दोलनका क्रममा सर्वोच्चसहित देशभरका अदालतमा आगजनी, ढुङ्गामुढा, तोडफोड र लुटपाट हुँदा भवन, उपकरण, सवारीसाधन तथा ऐतिहासिक दस्तावेजहरूमा क्षति भएको जनाउँदै देशको न्यायिक इतिहाससँग सम्बन्धित महत्वपूर्ण अभिलेखहरू करिब नष्ट हुन पुगेकामा गहिरो पीडा प्रकट गरिएको छ ।

    “जे जस्तो अवस्था र परिस्थिति भए पनि न्यायको मार्गमा अविचलित र दृढ रहदै आम नागरिकको न्यायप्रतिको अपेक्षालाई सम्बोधन गर्न यथाशीघ्र अदालतहरु सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौँ,” विज्ञप्तिमा भनिएको छ । बैठकले भदौ २३ र २४ गतेका घटनामा ज्यान गुमाएकाहरुप्रति दुःख व्यक्त गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना प्रकट गरेको छ । साथै, घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

  • फरार कैदीबन्दीलाई कारागारमा फर्किन प्रहरीको अनुरोध

    फरार कैदीबन्दीलाई कारागारमा फर्किन प्रहरीको अनुरोध

    २६ भदौ, काठमाडौं । प्रहरी प्रधान कार्यालयले कारागारबाट फरार कैदीबन्दी र थुनुवालाई कारागारमै फर्किन अनुरोध गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता, प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले सजाय तोकिएर भुक्तान गरिरहेका कैदीलाई कारागारको सम्पर्कमा आउन तथा थुनुवालाई सम्बन्धित प्रहरी इकाइमा आउन अनुरोध गरिएको बताए ।


    प्रहरी महानिरीक्षकको कार्यालयले आजै सूचना जारी भदौ २३ मा जेनजीका नाममा भएको प्रदर्शनपछि कारागार कार्यालय तोडफोड, आगजनी गरी फरार रहेका कैदीबन्दीलाई सम्बन्धित प्रहरी कार्यालयमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरेको हो ।

    कार्यालयले आज जारी गरेको सूचनामा भनिएको छ, “भदौ २३ गतेपछि देशभर भएको प्रदर्शनका क्रममा नेपाल प्रहरीका विभिन्न कार्यालय र इकाईहरू तथा कारागार कार्यालयहरूमा भएको तोडफोड, आगजनीपश्चात अनुसन्धानका क्रममा हिरासतमा रहेका अभियुक्तहरू र अदालतबाट तोकिएको सजाय भुक्तान गर्न कारागारमा रहेका कैदीबन्दीहरू भागेकाले त्यस्ता अभियुक्त र कैदीबन्दीलाई सम्बन्धित जिल्ला प्रहरी कार्यालय, इकाईहरू वा अन्य सुरक्षा निकायको स्थानीय कार्यालयहरूमा यथाशीघ्र सम्पर्कमा आउन अनुरोध गरिएको छ ।”

    प्रहरीका अनुसार यसरी १४ हजारभन्दा बढी कैदीबन्दी र थुनुवाहरु भागेका छन् । त्यसमध्ये केही सय मात्रै फर्किएका छन् भने केही पक्राउ परेका छन् ।

  • थप १९२ जना कैदी नियन्त्रणमा

    थप १९२ जना कैदी नियन्त्रणमा

    २६ भदौ, काठमाडौं । नेपाली सेनालगायत अन्य सुरक्षा निकायहरु परिचालन भएपश्चात भदौ २५ गते बेलुका ६ बजेदेखि आज बिहान ६ बजेसम्म थप १९२ जना कैदीहरूलाई नियन्त्रणमा लिइएको छ । नेपाली सेनाले आज विज्ञप्तीमार्फत सप्तरीको राजविराज स्थित जिल्ला कारागारबाट भाग्ने प्रयास गरिरहेका १९२ जना कैदीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

    त्यसैगरी कञ्चनपुरको चाँदनीमा भारतीय सीमा सुरक्षा बलले भारततर्फ जाँदै गरेका सात जना कैदीलाई नियन्त्रणमा लिई सेनालाई बुझाएको छ । एक जना कैदीलाई स्थानीयले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयलाई बुझाएको र १२ कैदी आफैँ कारागारमा हाजिर भएका छन् ।

    रामेछापस्थित जिल्ला कारागारमा कैदीले बाहिर जान पाउनु पर्ने भन्दै गरेको झडपलाई नियन्त्रणमा लिनका लागि सेनाले चलाएको गोली लग्दा १२ जना कैदी घाइते हुनुका साथै दुई जनाको मृत्यु भएको छ । त्यसैगरी, काभ्रेपलाञ्चोकको बनेपा–९ स्थित नयाँ बस्तीमा फेला परेको शङ्कास्पद बस्तु नेपाली सेनाले सुरक्षित साथ डिस्पोज गरेको छ । हालसम्म ९४ नाल विभिन्न हतियारहरू बरामद भएको सेनाले जनाएको छ ।

  • चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

    चितवनमा कफ्र्यु हट्यो, निषेधाज्ञा जारी

    २६ भदौ, चितवन । जिल्लामा लगाइएको कफ्र्यु हटाइएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार यही भदौ २४ गतेदेखि लगाइएको कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको छ । आज बिहान ६ः०० बजेदेखि कफ्र्यु हटाएर निषेधाज्ञा लगाइएको प्रजिअ अर्यालले जानकारी दिए ।

    उनका अनुसार जिल्ला सदरमुकाममा रहेका बैंक तथा वित्तीय संस्थाहरु दिनको १ः०० बजेसम्म सञ्चालन गरिने छन् भने सरकारी कार्यालय खुला गरिएका छन् । निषेधाज्ञा कार्यान्वयन गर्दै विस्तारै जनजीवन सहज बनाउँदै लगिने उनले बताए । अहिले सडकमा सवारी आवागमन सहज हुँदै गएको छ ।

  • ललितपुरमा जलाइएका प्रहरी एकाइ पुनःस्थापना

    ललितपुरमा जलाइएका प्रहरी एकाइ पुनःस्थापना

    २६ भदौ, ललितपुर । ‘जेनजी पुस्ता’को आन्दोलनका कारण गरी विस्थापित प्रहरी एकाइ पुनःस्थापना गरिएका छन् । बुधबारदेखि ती कार्यालयहरु सोही स्थानमै पुनःसञ्चालनमा ल्याइएको ललितपुर जिल्ला सुरक्षा समितिले जनाएको छ । पुनःस्थापना गरिएका प्रहरी कार्यालयमा वृत्त सातदोबाटो, वृत्त चापागाउँ, प्रभाग इमाडोल, प्रभाग लुभु, प्रभाग मङ्गलबजार, प्रभाग सानेपा, लगनखेल, प्रभाग पुल्चोक, प्रभाग लाकुरीभञ्ज्याङ, प्रभाग हनुमानस्थान र प्रभाग पाटनढोका रहेका छन् ।

    ललितपुर जिल्ला सुरक्षा समितिले हालको संवेदनशील अवस्थालाई मध्यनजर गर्दै जिल्लावासीलाई सतर्क रहन अनुरोध गरेको छ । सुरक्षा समितिले विशेषगरी टोलमा नयाँ वा अपरिचित व्यक्ति देखिएमा तत्काल नजिकैको सुरक्षा निकायलाई खबर गर्न आग्रह गरेको छ ।

  • बागलुङमा कारागारबाट भागेका चार कैदी पक्राउ

    बागलुङमा कारागारबाट भागेका चार कैदी पक्राउ

    २६ भदौ, गलकोट । जिल्ला कारागार कास्की र जिल्ला कारागार म्याग्दीबाट भागेका ४ कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । कारागारबाट भागेर बागलुङ प्रवेश गर्दै गरेका उनिहरुलाई मालढुङ्गा चेकपोष्टबाट बुधबार नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक केशव थापाले जानकारी दिए ।

    जिल्ला कारागार कास्कीबाट भागेका ३ जना र जिल्ला कारागार म्याग्दीबाट भागेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो । अहिले देशभरी १३ हजार भन्दा बढी कैदी भागेका छन् । जसमा एमाले नेता टोप बहादुर रायमाझी समेत छन् ।

  • देशभरीका जेलबाट भागे हजारौं कैदी, कुन जेलमा कस्तो छ अवस्था ?

    देशभरीका जेलबाट भागे हजारौं कैदी, कुन जेलमा कस्तो छ अवस्था ?

    मंगलबारको हिंसात्मक आन्दोलनपछि देशभरी जेलब्रेकका प्रयास भएका छन् । विभिन्न जेलबाट हजारौं कैदी भागेको विवरण सार्वजनिक भएका छन् । आज दिनभरजसो डिल्लीबजार कारागारमा तनाव भयो । कैदीहरुले आफूहरु समेत निस्कन पाउनु पर्ने माग राख्दै आन्दोलन गरे । नेपाल प्रहरीका अनुसार अहिलेसम्म देशभरका कारागारहरूबाट साढे १३ हजार भन्दा बढी कैदीबन्दी फरार भएका छन् ।

    नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेका अनुसार देशभरका कारागारहरूबाट अहिलेसम्म १३ हजार ५ सय ७२ कैदीबन्दी फरार भएका हुन् । त्यसैगरी हिरासतमा रहेका ५६० जना थुनुवा पनि फरार भएका छन् । विभिन्न मुद्दामा अनुसन्धानका लागि हिरासतमा रहेका ५६० थुनुवा फरार भएका हुन् । सुन्धारा कारागारबाट एमाले नेता टोपबहादुर रायमाझी, बेचन झासहित तीन हजार बढी कैदी भागेका छन् ।


    उता, दार्चुलामा जेनजी’को आन्दोलनका क्रममा जिल्ला कारागारबाट गए राति भागेकामध्ये पाँच जना पक्राउ परेका छन् । कारागारबाट भागेकामध्ये आज उनीहरूलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । अरू कैदीबन्दीको खोजी भइरहेको जनाइएको छ ।

    उता, रौतहटमा मङ्गलबार राति गौर कारागारबाट फरार रहेका कैदीलाई जिल्ला प्रहरी कार्यालय रौतहटले धमाधम पक्राउ गरिरहेको छ । कारागार भत्काएर भागेका १३ जना कैदीलाई आज बिहान सीमा क्षेत्रबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी विनोद खड्काले जानकारी दिए । उनका अनुसार एक सय ९१ कैदी रहेको सो कारागारभित्र अहिले ६१ जना छन् ।

  • धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

    धादिङ कारागारमा सेनाको गोली लागेर एक जनाको मृत्यु, सात कैदीबन्दी घाइते

    २५ भदौ, मलेखु । जिल्ला कारागार धादिङका कैदीबन्दी भाग्न खोजेपछि नेपाली सेनाले गोली चलाएको छ । सेनाको गोली लागेर अन्दाजी ७५ वर्षीय एक कैदीको मृत्यु भएको छ । सात कैदीबन्दी घाइते भएका छन् । घाइते हुनेहरु सबै पुरुष छन् । प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार कैदीबन्दीले सुरक्षा घेरा तोडेर निस्किन थालेपछि सेनाले गोली चलाएको हो । घटनामा जनपथ र सशस्त्र प्रहरी बलका सात जना घाइते भएका छन् । घाइते प्रहरी सबैको अवस्था सामान्य छ । गोली लागेर घाइते भएका कैदीबन्दीलाई सेनाकै सुरक्षामा उपचारका लागि काठमाडौँ पठाइएको छ ।

    मङ्गलबार नक्खु कारागारबाट पूर्व गृहमन्त्री रवी लामिछानेसहित अन्य कैदीबन्दी छाडेको भन्दै आफुहरुलाई पनि रिहा माग गर्दै कैदीबन्दीले कारागारमा आगजनी गरेका थिए । गोली चलाउनु अघि सेनाले पानीको फोहोरा प्रयोग गरेर स्थिति नियन्त्रणमा लिने कोसिस गरेका थिए । उनीहरुले सेनामाथी नै आक्रमण गर्न थालेपछि सेनाले गोली चलाएको हो । जिल्ला कारागार धादिङमा २४३ कैदीबन्दी छन् । त्यसमध्ये महिला ९ जना छन् ।

  • जेन जी आन्दोलनमा युवाले लुटेको रकम र हतियार सेनाबाट बरामद, २७ जना पक्राउ

    जेन जी आन्दोलनमा युवाले लुटेको रकम र हतियार सेनाबाट बरामद, २७ जना पक्राउ

    २५ भदौ, काठमाडौं । मंगलबार रातको १० बजेबाट देशैभर नेपाली सेना लगायत अन्य सुरक्षा निकायहरु परिचालन भएका छन् । बुधबार विहान १० बजेसम्म काठमाडौँ लगायत देशका विभिन्न स्थानबाट सेनाले २७ जनालाई पक्राउ गरेको छ । विषम परिस्थितिको अनुचित फाइदा उठाई लुटपाट, आगजनी र जीउधनको क्षति गर्ने मनसायले विध्वंसात्मक, अराजक तथा उछृङखल गतिविधिहरुमा संलग्न २७ जनालाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ ।

    ३ वटा बारुण यन्त्रको प्रयोग गरी आगजनी नियन्त्रण गर्ने कार्य भईरहेको समेत बताइएको छ । काठमाडौँको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट रु. ३३ लाख ७० हजार बरामद गरिएको छ । काठमाडौँको विभिन्न स्थानहरुबाट २३ र पोखराबाट ८ नाल गरी विभिन्न किसिमका हतियार नाल ३१ तथा म्यागजिन एवं गोलीगठ्ठाहरु बरामद गरिएको छ । २३ जना घाईते नेपाल प्रहरी तथा ३ जना गैर सैनिक व्यक्तिहरुको सैनिक अस्पतालहरुमा उपचार गरिएको छ ।

  • सिंहदरबार र राष्ट्रपति भवनमा जेन जीको आक्रमण

    सिंहदरबार र राष्ट्रपति भवनमा जेन जीको आक्रमण

    २४ भदौ, काठमाडौं । राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी भएको छ । उग्र प्रदर्शनमा उत्रिएका जेनजी प्रदर्शनकारीहरूले शीतलनिवासमा आगजनी गरेका हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय लगायतमा प्रदर्शनकारीहरूले लगातार आगो लगाइरहेका छन् ।

    संसद् भवन परिसरमा पनि जेनजी युवाहरूले बन्दुक खोसेका थिए । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका छन् । अहिले पनि उनीहरूले आगजनी गर्न छाडेका छैनन् । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिइसकेका छन् । अहिले काठमाडौंका मूख्यमूख्य सबै नेताका घर जलेका छन् । नेताहरुमाथि कुटपिट गरिएको छ ।

  • सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

    सर्वोच्च, विशेष र काठमाडौँ अदालतमा आगजनी

    २४ भदौ, काठमाडौं । ‘जेनजी पुस्ता’को प्रदर्शनका क्रममा सर्वोच्च अदालतमा आगजनी भएको छ । सर्वोच्च अदालतमा रहेको गाडीहरुमा तोडफोड गरी आगजनी गरिएको सर्वोच्च अदालतका सहप्रवक्ता निराजन पाण्डेले जानकारी दिए । आन्दोलनकारीले महान्यायाधिवक्ता कार्यालयमा समेत तोडफोड र आगजनी गरेका छन् ।

    त्यस्तै, विशेष अदालत र जिल्ला अदालत काठमाडौँमा समेत आगजनी गरेका छन् । महान्यायाधिवक्ता कार्यालय, विशेष अदालत, जिल्ला अदालत काठमाडौँका मुद्दाका काजजात बाहिर निकालेर समेत आगजनी गरिएको छ । आज प्रदर्शनकारीले राज्यका तीन वटै अंगका कार्यालयमा भयानक आक्रमण गरेका छन् । उनीहरुले सोमबार राज्यले मारेका १९ सहकर्मीको बदलामा आजको हिंसात्मक आन्दोलन गरेका हुन् ।

  • देउवा दम्पत्तिमाथि जेन-जी आन्दोलनकारीले गरे हातपात, रक्ताम्य अवस्थामा फेला

    देउवा दम्पत्तिमाथि जेन-जी आन्दोलनकारीले गरे हातपात, रक्ताम्य अवस्थामा फेला

    २४ भदौ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा दम्पती माथि कुटपिट भएको छ । उग्र प्रदर्शमा उत्रिएका जेन जी प्रदर्शनकारीले देउवा र उनकी पत्नी आरजु राणा देउवा माथि कुटपिट गरेको पुष्टी भएको छ । यो भिडियो समेत समाजिक सञ्जालमा सार्वजनिक भएको छ ।

    जसमा देउवा दम्पत्ति रक्ताम्य अवस्थामा देखिएका छन् । प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूले सिंहदरबार, संसद् भवन लगायतका शीर्ष नेताहरूको घरमा आगजनी गरेका थिए । पार्टी कार्यालय र प्रहरी प्रभागहरूमा पनि निरन्तर तोडफोड र आगजनी भइरहेको छ ।

  • रास्वपा सभापति लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

    रास्वपा सभापति लामिछानेलाई प्रदर्शनकारीले जेलबाट निकाले

    २४ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज ललितपुरस्थित नक्खु कारागारबाट रिहा भएका छन् । ठूलो सङ्ख्यामा प्रदर्शनकारी कारागार घेराउमा गएपछि परिस्थिति थप बिग्रन नदिन र परिस्थितिलाई काबुमा राख्ने सर्तमा उनई रिहा गरिएको कारागार प्रमुख सत्यराज जोशीले राससलाई जानकारी दिए । सहकारी ठगीसम्बन्धी अभियोगमा उहाँ सो कारागारमा थुनामा थिए ।

  • काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो

    काठमाडौँमा रगतको अभाव भएपछि एकहत्तर पाउण्ड रगत झापाबाट पठाइयो

    २४ भदौ, सुरुङ्गा । काठमाडौँ उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौँ पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बिहान ७ः१५ बजेको उडानमार्फत रगत पठाइएको हो ।

    काठमाडौँमा सोमबार विभिन्न माग राख्दै ‘जेनजी’ पुस्ताले आयोजना गरेको आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचारका लागि रगत अभाव हुन नदिन झापाबाट रगत काठमाडौँ पठाइको सभापति ढकालले जानकारी दिए ।

    जेनजी पुस्ताले सोमबार झापामा समेत आन्दोलन गरेका थिए । सो क्रममा दमकमा केही युवा घाइते भएका थिए । जिल्ला प्रशासन कार्यालयले गए रातिबाट आज बिहान ५ः०० बजेसम्मका लागि दमक र बिर्तामोडका निषेधाज्ञा लगाएको थियो । निषेधाज्ञा आज बिहानबाट हटाइएको प्रमुख जिल्ल अधिकारी गोपालकुमार अधिकारीले जानकारी दिए ।