Category: कानुनी कुरा

  • अभौतिक मुद्राको कारोबारमा संलग्न पक्राउ

    अभौतिक मुद्राको कारोबारमा संलग्न पक्राउ

    १९ साउन, काठमाडौं । अभौतिक मुद्राको कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भक्तपुर मध्यपुर थिमी नगरपालिका–३ कौशलटार बस्ने मकवानपुर हेटौँडा उपमहानगरपालिका–१६ चिसापानी घर भएका २१ वर्षीय सुसान्त दाहाललाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको हो । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीमा अभौतिक मुद्राको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरीले दाहाललाई पक्राउ गरेको प्रहरी उपरीक्षक कुलदीप चन्दले जानकारी दिए । अभौतिक मुद्राको प्रयोग गरी नगद रु ७८ लाख ३० हजार ३८८ भन्दा बढी कारोबार गरेको अनुसन्धानको क्रममा खुल्न आएको छ ।

  • निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

    निर्मला हत्या प्रकरण नयाँ शिराबाट अनुसन्धान गर्न सिआइबीलाई गृहमन्त्री लेखकको निर्देशन

    १८ साउन, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्त बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई निर्देशन दिएका छन् । आज सिआइबीको कार्यालय निरीक्षणका क्रममा मन्त्री लेखकले सुक्ष्म रुपमा निर्मला पन्त प्रकरण अनुसन्धान गरेर दोषीलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिए । “निर्मला पन्तको हत्यालगायत ब्युरोले अनुसन्धान गरिरहेका सबै जटिल घटनाको अनुसन्धानमा तीव्रता दिन आग्रह गर्छु”, गृहमन्त्री लेखकले भन, “नेपाल प्रहरीभित्र पनि सिआइबीप्रति आमजनताको भरोसा बढेको छ, यसलाई अटल राखेर काम गर्नुपर्छ ।”

    सीमित स्रोतसाधनका बीच प्रहरीमा सिआइबीले कार्यसम्पादनमा सफलता हासिल गर्दै गएकोप्रति खुसी व्यक्त गर्दै मन्त्री लेखकले सिआइबीलाई साधनस्रोत सम्पन्न बनाउन मन्त्रालय गम्भीर रहेको उल्लेख गरे । मुलुकमा पछिल्लो समय वित्तीय अपराधका घटना बढेकाले आफूले वित्तीय अपराध नियन्त्रणका लागि वित्तीय अपराध अनुसन्धान महाशाखा गठन गरेको जानकारी दिए । “प्रहरीप्रतिको भरोसा बढेर गएकै कारण देशभरबाट प्रहरी चौकी माग हुँदै आएको छ”, उनले भने, “प्रहरीलाई सुविधा सम्पन्न बनाउन विगतकोभन्दा चालु आर्थिक वर्षमा तुलनात्मक रुपमा बजेट बढी विनियोजन गरिएको छ ।”

    प्रहरीभित्र सिआइबीको महत्वपूर्ण जिम्मेवारी रहेको भन्दै उहाँले जिम्मेवारी पूरा गर्न प्रविधि, जनशक्तिलगायतका विकास गरिनेमा जोड दिए । त्यस अवसरमा सिआइबीका वरिष्ठ प्रहरी उपरीक्षक होविन्द्र बोगटीले सिआइबीले गरिरहेको काम, कारबाही, पाइरहेको सफलता र कार्यसम्पादनमा रहेका चुनौतीलगायत विषयमा प्रस्तुति राखेका थिए । वरिष्ठ उपरीक्षक बोगटीले सिआइबीले निर्मला पन्त हत्या प्रकरणका साथै अन्य घटनाका सम्बन्धमा पनि अनुसन्धान जारी रहेको जानकारी गराए । कार्यक्रममा प्रहरी महानिरीक्षक दीपक थापा, सिआइबीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङलगायत सिआइबीका कार्यरत प्रहरी अधिकारीको उपस्थिति थियो ।

  • पत्नीको हत्या गर्ने पति पक्राउ

    पत्नीको हत्या गर्ने पति पक्राउ

    १८ साउन, वीरगञ्ज । पर्साको जिराभवानी गाउँपालिका–५ शङ्करसरैयाका जितेन्द्र माझी पत्नीको हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । घरासयी विवाद हुँदा उनले २४ वर्षीया असपतलीयादेवीको हत्या गरेको अभियोगमा पक्राउ परेका हुन् ।

    मादकपदार्थ सेवन गरेका जितेन्द्रले पत्नीलाई शनिबार राति मुक्का तथा लठ्ठीले घाँटीमा प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए । ज्यानसम्बन्धी कसुर (कर्तव्य ज्यान) मुद्दामा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थपको अनुमति लिएर अनुसन्धान भइरहेको उनले बताए ।

  • उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ तिव्र

    उपत्यकामा आपराधिक क्रियाकलापविरुद्धको ‘अपरेशन’ तिव्र

    १७ साउन, काठमाडौँ । प्रहरीले आपराधिक क्रियाकलापविरुद्धको अभियान नरोक्ने स्पष्ट पारेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले गुण्डाहरूको गतिविधि निस्तेज पार्न काठमाडौँभरि नै अपरेशन जारी रहेको बताए । “गुण्डाहरूले टाउको उठाउने ठाउँ पाउने छैनन्, हाम्रो अपरेशन जारी छ, काठमाडौँमा यस्ता अवाञ्छित गतिविधि गरेकाहरूको नामावली सङ्कलन भइसकेको छ, खोजीखोजी कारबाहीको दायरामा ल्याइँदै छ”, अधिकारीले रासससँग भने ।


    उक्त अभियानअन्तर्गत प्रहरीले शुक्रबार काठमाडौँको महराजगञ्जस्थित होटेल साम्बालाबाट ४७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका ४७ जनामध्ये चक्रे मिलन भनिने मिलन गुरुङसहित १९ जनामाथि सार्वजनिक हितविपरीत गतिविधि गरेको कसुरमा मुद्दा दर्ता गरी सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको उनले बताए । अन्य बाँकी २८ जनालाई भने प्रहरीमा हाजिर हुने गरी छाडिएको र उनीहरूमाथि पनि अनुसन्धान भने जारी रहेको उनले बताए ।

    अधिकारीले भने, “१९ जनाविरुद्ध अन्य उजुरीहरु आउनसक्ने भएकाले जो कोहीले पनि उजुरी दिन सक्नुहुन्छ, उनीहरू अन्य केके अपराधमा संलग्न छन् भनेर पनि खोजी भइरहेको छ । छाडिएकाको हकमा पनि अनुसन्धान जारी नै छ ।” काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा काठमाडौँमा आपराधिक गतिविधिविरुद्धको अपरेशन जारी रहेको प्रहरीले जनाएको छ ।

  • विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

    विदेश पठाउने भन्दै ७१ लाख ५२ हजार ठगी गर्ने चार जना पक्राउ

    १६ साउन, काठमाडौं । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिने भन्दै रु ७१ लाख ५२ हजार ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१३ का २६ वर्षीय अक्षय श्रेष्ठ, बूढानीलकण्ठ नगरपालिका–१० का २४ वर्षीय सुशान चुडाल, सुर्खेत सिम्ता गाउँपालिका–१ का ३० वर्षीय प्रदीप हमाल र दाङ तुलसीपुर उपमहानगरपालिका–६ का ३६ वर्षीया मञ्जु दाहाल रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी काजीकुमार आचार्यले जानकारी दिए ।

    उनले भने, “अक्षयले युके पठाइदिने रु २७ लाख २९ हजार, सुशानले बोस्निया र हर्जगोभिना पठाइदिने भन्दै रु ३६ लाख ६३ हजार, प्रदीपले अजरबैजान पठाइदिने भन्दै रु छ लाख २० हजार र मञ्जुले अमेरिका पठाइदिने रु एक लाख ४० हजार लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।” पक्राउमध्ये अक्षयलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छभने सुशान, प्रदीप र मञ्जुलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको सूचना अधिकारी आचार्यले बताए ।

  • इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

    इलाममा १०२ जनाले पाए आमाको नामबाट नागरिकता

    १६ साउन, फिक्कल । आर्थिक वर्ष २०८१–८२ मा इलामका एक सय दुई जनाले आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका छन् । जिल्ला प्रशासन कार्यालय इलाम, इलाका प्रशासन कार्यालय मङ्गलबारे र अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट एक सय दुई जनाले आमाको नामबाट नागरिकता प्राप्त गरेका हुन् । जसमध्ये सबैभन्दा बढी अध्यागमन तथा सीमा प्रशासन कार्यालय पशुपतिनगरबाट ९७ जनालाई एवं जिल्ला प्रशासन कार्यालयबाट तीन र इलाका प्रशासन कार्यालयले दुई जनालाई आमाको नामबाट नागरिकता प्रदान गरेको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताउनुभयो । बुबाको पहिचान नहुँदा नागरिकता लिनबाट वञ्चित भएकाले आमाको नामबाट नागरिकता पाएको आज जिल्ला प्रशासन कार्यालयमा आयोजित वार्षिक प्रगति समीक्षा कार्यक्रममा प्रजिअ नेपालले बताए ।


    उनले आमाको नामबाट नागरिकता प्राप्त गर्ने संवैधानिक अधिकार भए पनि अझै पनि केही कानुनी जटिलताले सो प्रकृतिका नागरिकता वितरण गर्न सहज भने नभएको बताए । आमाको नागरिकतामा पतिको नाम नभएको, सन्तानको शैक्षिक योग्यता, जन्म दर्तालगायत कुनै पनि कागजपत्रमा बुबाको नाम नखुलेको सन्तानलाई आमाको नामबाट नागरिकता प्रदान गरिएको उनले बताए । बुबाको पहिचान नभएका, बुबा पत्ता नलागेका आमामात्र भएका सन्तानका हकमा आमाको नागरिकता, वडा कार्यालयको सिफारिस, शैक्षिक योग्यतालगायत कागजपत्रका आधारमा आमाको नामबाट नागरिकता दिइँदै आएको उनले बताए ।

    बुबाको पहिचान नभएको अवस्थामा आमाको नामबाट नागरिकता वितरण गर्ने कानुनी व्यवस्था रहेकाले सोहीबमोजिम गरिँदै आएको भए पनि कतिपय व्यक्तिको जन्मदर्ता, शैक्षिक प्रमाणपत्रमा बुबाको नाम उल्लेख भएको तर सम्पर्कमा नभएको अवस्थामा नागरिकता वितरण गर्न नसकिएको प्रजिअ नेपालले बताए ।

  • चक्रे मिलनसहितका १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

    चक्रे मिलनसहितका १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

    १६ साउन, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्न रहेको अभियोगमा पक्राउ परेका मिलन गुरुङ अर्थात चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । गएराति काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौँले संयुक्त रुपमा चलाएको ‘अप्रेसन’ मा चक्रे मिलनसहित पक्राउ परेका उनीहरुलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन काठमाडौँले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका वरिष्ठ प्रहरी उपरीक्षक विश्वराज अधिकारीले राससलाई जानकारी दिए ।

    उनले भने, “घरेलु हातहतियार बोकी सार्वजनिक स्थलहरूमा समूह बनाएर हो–हल्ला गर्दै समाजमा शान्ति सुरक्षा बिथोल्ने तथा सार्वजनिक आवागमन अवरोध हुने गरी आम नागरिकमा त्रास उत्पन्न गराउने खालका अवाञ्छित क्रियाकलापमा संलग्न हुने निज १९ जनालाई अभद्र व्यवहार गर्न नहुने कसुरमा सात दिनको म्याद थप भई अनुसन्धान भइरहेको छ ।” प्रहरीले गएराति ठमेल र महाराजगन्ज क्षेत्रबाट ४७ जना पक्राउ गरेको भएपनि कतिपय असंलग्न व्यक्ति भएको पाइएकाले छाडिएको र बाँकी १९ जनालाई अभद्र व्यवहारको कसुर गरेको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्न अनुमति मागेको थियो ।

  • मधेस प्रदेशका पूर्वप्रमुख झा पुर्पक्षका लागि थुनामा

    मधेस प्रदेशका पूर्वप्रमुख झा पुर्पक्षका लागि थुनामा

    १४ साउन, काठमाडौं । जिल्ला अदालत काठमाडौँले मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा ‘अहिराज’ लाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ ।
    न्यायाधीश पिताम्बर शर्माको इजलासले आज यौन दुव्र्यवहार कसुरमा पक्राउ परेका झालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी दिपेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । अदालतको उक्त आदेशसँगै अहिराजलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

    यौन दुव्र्यवहारको कसुरमा यही साउन ४ गते प्रहरीले पक्राउ गरेको थियो । सोही विषयमा थप अध्ययनका लागि पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश गरेको हो । मधेसवाणी साप्ताहिक पत्रिका प्रकाशनलगायत सञ्चार उद्यमीसमेत रहेका झा २०७७ साल फागुन ७ मा मधेसको प्रदेश प्रमुख नियुक्त भएका थिए । करिब छ महिनाजति उक्त प्रदेशको प्रदेशको प्रमुखका रुपमा काम गरेका थिए । आज अदालतले यौन दुव्र्यवहारको कसुरमा थुनामा पठाउने आदेश गरेको हो ।

  • चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

    चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

    १३ साउन, काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले चालु आर्थिक वर्षमा १२१ वटा नयाँ कानुन बनाउने लक्ष्य रहेको बताएका छन् । राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको आजको बैठकमा उनले आवश्यक विधेयक पहिचान गरी आफ्नो मन्त्रालयले सङ्घीय संसद्मा विधेयकको सूची पेस गरेको जानकारी दिए । “सरकारको नीति तथा कार्यक्रम, बजेट, आवधिक योजना क्षेत्रगत नीति तथा अन्तरराष्ट्रिय सन्धिसम्झौताद्वारा सिर्जित दायित्वका आधारमा नयाँ कानुन बनाउने प्रयत्न भएको हो”, मन्त्री चौरसियाले भने, “न्यायपालिकालाई साधनस्रोत सम्पन्न बनाई अदालतको कार्यबोझ घटाउने प्रदेश र स्थानीय तहसँगको समन्वयमा निःशुल्क कानुनी सहायतासम्बन्धी व्यवस्थालाई प्रभावकारी बनाउन सरकार लागेको छ ।”

    कानुन मन्त्रालयले विधायन ऐन कार्यान्वयनमा आएको, हालसम्म विभिन्न मन्त्रालय र निकायहरूबाट ६ वटा नियमावली, पाँचवटा विनियमावली, तीनवटा निर्देशिका र सातवटा कार्यविधि मन्त्रालयमा दर्ता भएका जनाएको छ । मन्त्रालयले ७४ वटा जिल्लामा कानुनी सहायता अधिकारीको नियुक्ति गरी निःशुल्क कानुनी सहायता सुविधा पु¥याइएको जनाएको छ । निःशुल्क कानुनी सहायता परियोजनाअन्तर्गत हालसम्म एक हजार १७९ कानुनी परामर्श र ७९९ वटा मुद्दा दर्ता भएका छन् । कानुनी सहायतालाई प्रभावकारी बनाउन निःशुल्क कानुनी सहायतासम्बन्धी विधेयक तयार गरिएको र त्यसलाई चालु आवभित्रै पेस गरिने उक्त मन्त्रालयले जनाएको छ ।

  • पोखरामा ७६ लाख नगद सहित तीन जना पक्राउ

    पोखरामा ७६ लाख नगद सहित तीन जना पक्राउ

    ११ साउन, काठमाडौं । जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रूपमा विदेशी मुद्राको कारोबार गर्ने तीन जनालाई पक्राउ गरी ७६ लाख नगदसहित पक्राउ गरेको छ । उनीहरूको साथबाट ७५ लाख ९६ हजार रुपैयाँ बराबरको नेपाली तथा विदेशी मुद्रा बरामद गरेको कास्की प्रहरीले आइतबार गरेको पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलियाले जानकारी दिए ।पक्राउ पर्नेमा रूपन्देही सिद्धार्थनगर १३, हाटबजारका रेस्टुरेन्ट व्यवसायी महमुदिन एम अहमद, झापा दमक नगरपालिका ४, घर भई हाल पोखरा–६, बैदाम बस्ने हिलारी मनिचेन्जरका सञ्चालक राजकुमार बुढाथोकी र पोखरा १९, पुरनचौरका सगरमाथा मनिचेन्जरका सञ्चालक खेमराज पौडेल रहेका छन् ।

    उनीहरूको साथबाट १९ हजार ६ सय अमेरिकी डलर, ४ हजार युरो र ४४ लाख ८ हजार नेपाली नोट बरामद भएको हो । पक्राउ परेकाहरू लामो समयदेखि सङ्गठित रूपमा अवैध विदेशी मुद्राको कारोबारमा संलग्न रहेको खुलेको प्रहरी उपरीक्षक ओलियाले जानकारी दिए । राजकुमार विगत २० वर्षदेखि र खेमराज पौडेल विगत १४ वर्षदेखि मनिएक्सचेन्ज कम्पनी सञ्चालन गरी अवैध सटही कारोबारमा संलग्न रहेको देखिएको छ । सबै जनालाई राष्ट्र बैँक ऐन, २०५८ को परिच्छेद ११ अन्तर्गत दफा ९५ बमोजिम बैँकबाट इजाजत पत्र नलिई विदेशी विनिमय कारोबार गरेको कसुरमा कारबाही प्रक्रिया अगाडि बढाइने प्रहरी उपरीक्षक ओलियाले बताए ।


    नेपाल राष्ट्र बैँकका सूचना अधिकारी सुमन न्यौपानेका अनुसार मनिचेन्जर विदेश जाने नागरिकलाई दुई सय डलरसम्म बिक्री गर्न सक्छ । त्यसका लागि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका दुई वटा मनिचेन्जर रहेका छन् । अन्य मनिचेन्जरले भन्सार प्रमाणित नभएकोमा ५ हजार र भन्सार प्रमाणित भएकोमा जति पनि विदेशी मुद्रा खरिद गर्न पाउँछन् । उनीहरूले सो वापतको कमिसन लिएर सटाई सुविधा दिएका हुन्छन् । मनिचेन्जरले त्यसरी खरिद गरेको विदेशी मुद्रा दुई दिन भित्र नेपाल राष्ट्र बैँकमा अनिवार्य दाखिला गर्नुपर्ने हुन्छ ।

    प्रहरीले सोही कानुनको बर्खिलाप गरेको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले यसरी सटही भएका विदेशी मुद्राहरू भारत हुँदै अन्य विदेशी मूलकमा जाने गरेको आशङ्का गरेको छ । प्रहरीका अनुसार यसले अवैध सुनदेखि अन्य वस्तुहरू खरिद गर्ने र राज्यलाई ठुलो नोक्सानी पुर्‍याउने अनुमान छ ।यस्तो अवैध विदेशी मुद्राको कारोबार गर्नेलाई बिगो जफत गरी सो बराबरको तिन गुणा जरिवानाका साथ ७ वर्ष जेल सजाय वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको प्रहरीले जनाएको छ ।

  • सहायक हवलदारसहित २२ जना प्रहरी कर्मचारी सम्पर्कविहिन

    सहायक हवलदारसहित २२ जना प्रहरी कर्मचारी सम्पर्कविहिन

    ११ साउन, नेपाल प्रहरीका तीन सहायक हवलदारसहित २२ जना प्रहरी कर्मचारी आफूखुसी गैरहाजिर भएका छन्। आइतबार प्रहरी प्रधान कार्यालयले वैशाख, जेठ र असार महिनादेखि आफूखुशी गैरहाजिर भएकाहरूलाई सम्पर्क आउन भनेर सूचना जारी गरेको छ। तीन जना प्रहरी सहायक हवलदार, एक जना प्राविधिक प्रहरी सहायक हवलदार, १३ जना प्रहरी जवान, तीन जना प्राविधिक प्रहरी जवान र एकजना प्रहरी कार्यालय सहयोगी गैरहाजिर रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

    सम्पर्कविहीन भएका सहायक हवलदारहरूमा विवेक साउद, देवकी थापा र प्रकाश थारू छन्। उनीहरू जेठको विभिन्न मितिदेखि गैरहाजिर छन्। उनीहरूको खोजतलास गर्दा गराउँदा तथा प्रहरी नियमावलीबमोजिम प्रक्रिया पूरा गरी सूचना टाँस भइसक्दा पनि सम्पर्कमा नआएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। आफू गैरहाजिर रहनुको कारण खोली सन्तोषजनक स्पष्टीकरण जवाफ सहित सात दिनभित्र उपस्थित नभए ती प्रहरी कर्मचारीहरूलाई प्रहरी नियमावालीको नियम १०९ को देहाय (ख) १ बमोजिम सेवाबाट हटाउने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

  • सिरहामा प्रहरीले गोली प्रहार गरी भारतीयलाई लागूऔषध कारोबारी समात्यो

    सिरहामा प्रहरीले गोली प्रहार गरी भारतीयलाई लागूऔषध कारोबारी समात्यो

    १० साउन, काठमाडौं । सिरहामा प्रहरीले गोली प्रहार गरी एक भारतीयलाई लागूऔषध खैरोहिरोइन सहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मधुवनी ग्राम पञ्यायत बिरपुर ९ बस्ने ३८ वर्षीय श्यामसुन्दर पासवान छन् । उनको साथबाट प्रहरीले अन्दाजी ५० ग्राम खैरोहिरोइन बरामद गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायव उपरीक्षक (डीएसपी) एवं प्रहरी प्रवक्ता विरेन्द्रकुमार पासवानका अनुसार शनिबार दिउँसो पौनै ४ बजेतिर भारतबाट नेपालतर्फ बी आर ३२ एम ७३३८ नम्बरको भारतीय मोटरसाइकसहित छिरेका श्यामसुन्दरलाई प्रहरीले नवराजपुर गाउँपालिका-४ कुसण्डीमा रोक्न खोजेको थियो । तर नरोकी भाग्न थालेपछि गोली प्रहार गरेर नियन्त्रणमा लिइएको डीएसपी पासवानले बताए । पक्राउ परेका भारतीय नागरिकमाथि आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

  • अब काठमाडौं उपत्यकामा सार्वजनिक स्थलमा धुम्रपानमा कडाई, ५ सय जरिवाना तिराइने

    अब काठमाडौं उपत्यकामा सार्वजनिक स्थलमा धुम्रपानमा कडाई, ५ सय जरिवाना तिराइने

    ९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाभित्रका सार्वजनिक स्थलहरूमा धुम्रपान गरे प्रत्येक पटक पाँच सय जरिवाना तिर्नुपर्ने भएको छ । हालै सम्पन्न नगरसभाबाट चालु आर्थिक वर्ष २०८२–८३ का लागि ल्याइएको आर्थिक विधेयकलाई पास गर्दै सो व्यवस्था गरिएको हो । महानगरभित्रको सार्वजनिक स्थलमा अत्याधिक धुम्रपान गर्ने काम भएको र जनगुनासा व्यापक आएपछि जरिवाना गर्नेगरी आर्थिक ऐनमा व्यवस्था गरिएको नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिए ।

    ‘सार्वजिक स्थलमा धुम्रपान गर्न नपाइने व्यवस्था हुँदाहुँदै धुम्रपान भएको गुनासा हाम्रो हटलाइनमा धेरै आएको थियो,’ पाण्डेले भने, ‘हालैको नगरसभाबाट पास भएको आर्थिक ऐन अनुसार प्रत्येक पटक पाँच सय जरिवाना गर्ने निर्णय भएको छ । निजी सम्पत्ति बाहेकका अन्य स्थलहरू धुम्रपान निषेध गरिएको छ ।’
    पाण्डेका अनुसार तोकिएको स्थानमा बाहेकका स्थलमा सवारीसाधन पार्किङ गरे सबै किसिमका तीनपारी सवारी साधन मोटरसाइकल स्कुटरलाई एक हजार जरिवाना गरिनेछ ।

    सबै किसिमका चारपांग्रे सवारी साधन (कार, जीप, डेलिभरी भ्यान) लाई २५०० जरिवाना गरिने उनले बताए । मझौला सवारी साधन मिनीबस, मिनीट्रक लगायतलाई ३ हजार ५ सय जरिवाना गरिने उनले बताए । त्यस्तै, सबै किसिमका ठूला सवारी साधन, बस, ट्रकलाई पाँच हजार जरिवाना गरिनेछ । प्रचलित कानुनले निषेध गरेको विज्ञापन गरेमा १० हजार जरिवाना गरिनेछ । विना अनुमति सार्वजनिक स्थलबाट देखिने गरी होडिङ बोर्डमा विज्ञापन गरेमा १० हजारदेखि एकलाखसम्म जरिवाना हुन सक्नेछ ।

    पर्चा, पम्प्लेट, पोष्टर, स्टिकर सार्वजनिक स्थानमा टाँस गरेमा तथा सार्वजनिक स्थलमा ब्रोसर तथा प्रचार समाग्री वितरण गरी फोहर गर्ने कार्य गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिबाना तोकिएको छ । खम्बा, पर्खालमा गरिएको पेन्टिङ वा लेखन कार्य प्रतिस्थान ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ भने स्विकृत नलिई बेलुन वा यस्तै प्रकारले विज्ञापन गरेमा ५ हजारदेखि ५० हजारसम्म जरिवाना तोकिएको छ । सार्वजनिक स्थलमा गेट तथा स्वागतद्वार निर्माण गरेमा महानगरले ५ हजारदेखि ५० हजारसम्म जरिवाना गर्नेछ । सार्वजनिक स्थल वा संरक्षित स्थानमा रहेका रुख, बिरुवामा क्षति पुर्‍याएमा पाँचसयदेखि पचास हजारसम्म जरिवाना गरिनेछ ।

  • राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता

    राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी विधेयक फिर्ता

    ८ साउन, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयकलाई पुनर्विचारका लागि प्रतिनिधिसभामा फिर्ता पठाएका छन् । संशोधन संविधानको मर्म र भावना तथा लोकतान्त्रिक मूल्य, मान्यता र विश्वव्यापी अभ्यास प्रतिकूल भएकाले संविधानको धारा ११३ को उपधारा (३) बमोजिम पुनर्विचारका लागि विधेयक उत्पत्ति भएको प्रतिनिधिसभामा बिहिबार फिर्ता पठाएको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । दुवै सदनबाट पारित भई आएको सो संशोधन विधेयक प्रमाणीकरणका लागि गत असार ३१ गते राष्ट्रपतिसमक्ष आएको थियो ।


    यस्तो छ राष्ट्रपतिले लिएको आधार

    संवैधानिक परिषद्‍ (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा सम्वत् २०८१ साल माघ २७ गते बसेको प्रतिनिधि सभाको बैठकले संशोधनसहित पारित गरेको साथै राष्‍ट्रिय सभाले सम्वत् २०८१ साल चैत्र ६ गते संशोधनसहित पारित गरी प्रतिनिधि सभामा फिर्ता पठाएको र सम्वत् २०८२ असार २५ गते प्रतिनिधि सभाले राष्‍ट्रिय सभाको संशोधन स्वीकार गरी नेपालको संविधानको धारा ११३ को उपधारा ९१० बमोजिम प्रमाणीकरणका लागि प्रस्तुत हुन आएको संवैधानिक परिषद्‍ (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा पुनर्विचार हुनु आवश्यक छ भन्ने लागेकोले देहायको सन्देशसहित नेपालको संविधानको धारा ११३ को उपधारा (३) बमोजिम विधेयक उत्पति भएको सदन प्रतिनिधि सभामा फिर्ता पठाएको छु ः

    प्रतिनिधि सभामार्फत सम्मानित संघीय संसदसमक्ष प्रस्तुत सन्देशः

    १.नेपालको संविधानको धारा २८४ मा यस संविधानबमोजिम प्रधान न्यायाधीश र संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्तिको सिफारिस गर्न प्रधानमन्त्री अध्यक्ष रहने गरी एक संवैधानिक परिषद् रहने व्यवस्था रहेको छ। संविधानको उक्त धाराको उपधारा (४) मा संवैधानिक परिषद्‍को अन्य काम, कर्तव्य र अधिकार तथा प्रधान न्यायाधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको नियुक्तिसम्बन्धी कार्यविधि संघीय कानून बमोजिम हुनेछ भनी उल्लेख भएको विषयलाई आधार लिएर मौजुदा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को दफा ६ लाई संशोधन गर्न यो विधेयक तयार भएको देखिन्‍छ। नेपालको संविधानको धारा १२९(२) बमोजिम प्रधान न्ययाधीशको नियुक्तिका लागि सिफारिस गर्दा तथा धारा २८३ वमोजिमका संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरुको नियुक्ति सिफारिस गर्दा संवैधानिक अपेक्षाअनुरुप समावेशी, सहभागितामूलक र गुणस्तरीय प्रतिनिधित्वको संवैधानिक सिद्वान्तलाई आत्मसात गर्न तथा सिफारिसको क्रममा हुन सक्ने स्वेच्‍छाचारिता नियन्त्रण गर्न, सुशासन एवं कानूनी शासन कायम गर्न एवं राज्य सञ्‍चालनमा शक्तिको पृथकीकरण, नियन्त्रण र सन्तुलनलाई संस्थागत गर्ने उद्देश्यका साथ संविधानले परिकल्पना गरेको संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीहरुको लागि नियुक्तिको सिफारिस गरी संविधानको कार्यान्वयन गर्ने अहम् भूमिका संवैधानिक परिषद्‍मा रहेको विषयमा कुनै प्रकारको सन्देह वा द्विविधा रहेको छैन।

    २.संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को व्यवस्था र अहिले प्रस्तुत संशोधन विधेयकलाई तुलनात्मक रुपमा अध्ययन गर्दा प्रथम दृष्टिमै संविधानको धारा २८४ को भावना र मर्म एवम् विश्वव्यापी लोकतान्त्रिक अभ्यास र मान्यता प्रतिकूल हुने देखिएको तथा यस्तो अभ्यासले संवैधानिकतालाई सीमित र संकुचित बनाउँछ कि भन्ने मेरो आशंका छ।

    ३. संवैधानिक परिषद्ले गर्ने निर्णयमा जो कोहीको चासो र सरोकार स्वभावैले रहने हुँदा यसप्रतिको जनविश्वास बलियो नै हुनुपर्छ। संविधानको धारा २८४ (१) मा उल्लिखित संवैधानिक परिषदको अध्यक्ष र अन्य सदस्यहरूलाई स्थायी रुपमा नै राखेको देखिन्छ। तर बहाल रहेका सदस्यहरू पनि कुनै अमुक वेलामा बहाल रहँदैनन् वा अनुपस्थित हुन सक्छन् भनी कल्पनातीत अवस्थालाई लक्षित गरी कानुन बनाउँदा त्यसले गम्भीर र जटिल परिस्थितिको सृजना नगरोस् भन्नेतर्फ पनि मेरो ध्यान आकृष्ट भएको छ।

    ४.संवैधानिक परिषदमा उल्लिखित कुल संख्याको सर्वसम्मतिबाटै सिफारिस र निर्णय हुनुपर्छ। कथङ्कदाचित् सर्वसम्मति हुन नसकेमा कुनैपनि तरहले कुल संख्याको बहुमत ओझेलमा पर्नु हुँदैन र बहुमतको आधार नै निर्णयको अन्तिम आधार स्तम्भ मानिनु पर्दछ। ऐनको दफा ६ को व्यवस्थालाई कुनै युक्तियुक्त आधार र कारण बिना कुनै विशेष परिस्थितितर्फ इंगित गरी प्रस्तुत संशोधन विधेयकमा कम्तीमा अध्यक्ष र बहाल रहेका सदस्यहरूको पचास प्रतिशत उपस्थित हुँदा कायम हुन सक्ने सदस्य मात्र सम्मिलित भएर परिषद्को तर्फबाट गर्ने निर्णयलाई मान्यता दिँदा स्वतः अल्पमत भन्ने बुझिने भएकोले त्यस्तो व्यवस्था रहेको विधेयकको पुनर्विचार हुनु आवश्यक छ भन्ने मेरो धारणा रहेको छ।

    ५.शासकीय सुविधालाई र व्यावहारिक आवश्यकतालाई बढी प्राथमिकतामा राखी संवैधानिक र कानूनी शासन व्यवस्थालाई प्रतिस्थापन गर्ने मनसाय देखिने गरी संविधान र कानूनका व्यवस्थालाई अनादर गरियो भने प्रकारान्तरमा यसले स्वेच्छाचारितालाई प्रशय दिन जान्छ भन्‍ने विषयलाई समेत सम्मानित संसदले विचार गर्नु पर्ने देखिन्‍छ।

  • प्रहरीले अब आरोपितको तस्वीर सार्वजनिक नगर्ने

    प्रहरीले अब आरोपितको तस्वीर सार्वजनिक नगर्ने

    ८ साउन, काठमाडौं । नेपाल प्रहरीले अबदेखि आरोपीको तस्बिर सार्वजनिक नगर्ने भएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले सबै मातहत प्रहरी कार्यालयलाई परिपत्र गरी आरोपीको तस्बिर सार्वजनिक नगर्न भनेको छ । सबै कार्यालयमा परिपत्र पुगेको बताइएको छ ।

    आरोपीको तस्बिर सार्वजनिक गर्दा मानव अधिकारको प्रश्न पनि उठ्ने भएकाले अबदेखि सार्वजनिक नगर्ने भनेर निर्णय भएको प्रहरीको भनाई छ । केही समयअघि महान्यायाधिवक्ता कार्यालयमा बसेको समन्वयात्मक बैठकमा आइजिपी दीपक थापाले यस विषयमा सहमति जनाएका थिए । साथै आरोपित सबै व्यक्ति दोषि नहुने भएकाले समेत यसले उनीहरुको प्रतिष्ठामा असर पुग्ने गरेको छ ।

  • अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन पक्राउ

    अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन पक्राउ

    ७ साउन, अमेरिका जानका लागि बैंक ब्यालेन्स देखाउने भन्दै रकम हाल्न लगाएर ठगी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा काभ्रेको बनेपाका २३ वर्षीय विशाल घिमिरे, सर्लाहीको लालबन्दीका २५ वर्षीय समीर सिंह र सर्लाहीकै कबिलासीका २६ वर्षीय अशोक कुमार यादव छन् ।

    उनीहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । उनीहरुले आफूले तयार गरेका व्यक्तिहरुलाई अमेरिका जान बैंक ब्यालेन्स देखाउनु पर्ने भन्दै खातामा रकम जम्मा गर्न लगाएर फिर्ता नगरी ठगी गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।

    पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । पक्राउ परेका मध्ये घिमिरेले यसअघि पनि यस्तै गरी ठगी गरेको पाइएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार १८ वैशाख २०८२ मा पनि यसैगरी ६१ लाख ठगी गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

  • हनी ट्र्‌यापमा पारेर १४ लाख असुलेको आरोपमा एक युवती पक्राउ

    हनी ट्र्‌यापमा पारेर १४ लाख असुलेको आरोपमा एक युवती पक्राउ

    ६ साउन, काठमाडौं । ‘हनी ट्र्‌याप’मा पारेर १४ लाख भन्दा बढी रकम असुलेको आरोपमा सुर्खेतमा एक युवती पक्राउ परेकी छिन् । नौमुले गाउँपालिका–८ दैलेख घर भई हाल वीरेन्द्रनगर नगरपालिका–९ मा बस्दै आएकी २१ वर्षीया शिन्दु चन्द पक्राउ परेकी हुन् । उनलाई मङ्गलवार वीरेन्द्रनगरबाटै नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक ९डिएसपी० मोहनजंग बुढथापाले जानकारी दिए । उनका अनुसार चन्दले ०८१ भदौमा पीडित पुरुषलाई वीरेन्द्रनगर–६ स्थित बुलबुले भ्यू होटलमा बोलाएर चिनजान गरेकी थिइन् ।

    त्यसपछि उनीहरूबीच सहमतिमै सम्बन्ध कायम भएको थियो । तर, पछि चन्दले सोही सम्बन्धलाई हतियारबनाउँदै ती पुरुषलाई जबर्जस्ती करणीको मुद्दामा फसाइदिने र नग्न तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिने भन्दै त्रास देखाउन थालिन् । त्यसपछि पीडित पुरुषले प्रमाणसहित जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । सोही पश्चात् कार्यालयबाट खटिएको प्रहरी टोलीले चन्दलाई नियन्त्रणमा लिएको हो ।

    यसरी त्रास देखाएर विभिन्न मितिमा पटक पटक गरी १४ लाख २५ हजार नगद पीडितसँग रकम असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । पक्राउ परेकी चन्दमाथि आर्थिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

  • नेटवर्किङ बिजनेस देखाएर करोडौं ठगी, ८ जना पक्राउ

    नेटवर्किङ बिजनेस देखाएर करोडौं ठगी, ८ जना पक्राउ

    ६ साउन, काठमाडौं । नेटवर्किङ बिजनेसको आडमा करोडौ रुपैयाँ ठगी गरेको आरोपमा सुर्खेत प्रहरीले आठ जनालाई पक्राउ गरेको छ । ‎जिल्ला प्रहरी कार्यालय सुर्खेतले स्काई ड्रिम ईन्टरपेनर्स प्रालि र ग्लोबल ओरियन्स नेपाल प्रालिका सञ्चालकसहित आठ जनालाई पक्राउ गरेको हो ।

    बेरोजगार युवाहरुलाई रोजगारीको प्रलोभन देखाएर करोडौँ रुपैयाँ ठगी गर्ने गिरोहलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाले जानकारी दिए । प्रहरीका अनुसार उनीहरूले वीरेन्द्रनगर नगरपालिका–३, मुलपानी चोकमा कम्पनीको कार्यालय स्थापना गरी बेरोजगार युवाहरुलाई सीप सिकाएर राम्रो तलब सुविधासहित रोजगारी दिलाउने भन्दै ठगी धन्दा चलाएका थिए ।

    कम्पनीले वार्षिक २० हजार रुपैयाँ तिरेपछि सीप सिकाउने, खाना बस्नको व्यवस्था मिलाउने र आकर्षक तलबसहितको रोजगारी दिने भन्दै प्रलोभन देखाउने गरेको प्रहरीको भनाइ छ । ‎सदस्य बनेपछि उनीहरूलाई नेटवर्किङ मार्केटिङमा संलग्न गराई नयाँ सदस्य भित्र्याउन लगाइन्थ्यो ।‎ पीडितहरूका अनुसार यसरी नयाँ सदस्य बनाएबापत प्रति व्यक्ति ५० हजारदेखि २ लाख ६० हजार रुपैयाँसम्म जम्मा गर्न लगाइएको थियो । यी दुइ कम्पनीले विभिन्न प्रलोभन देखाएर पीडितहरूबाट करोडौं रकम ठगी गरेको भन्दै जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो ।

    सोही क्रममा स्काई ड्रिम ईन्टरपेनर्स प्रालिका सञ्चालक सायल गाउँपालिका–२ डोटीका २६ वर्षीय नरेश बोहरा, कम्पनीका व्यवस्थापक दार्चुला महाकाली नगरपालिका–४ का २४ वर्षीय कृष्ण धामी तथा कर्मचारीहरू अछामका कमलबजार नगरपालिका–६ का २४ वर्षीय कमल शाही र २२ वर्षीय रवीन्द्र शाहीलाई पक्राउ गरेको हो ।

    अन्य कर्मचारीहरू दोधाराचाँदनी नगरपालिका–२ कञ्चनपुरकी २२ वर्षीया मनीषा सिंह, बेल्डाकी गाउँपालिका–१ की २१ वर्षीया निर्मला धामी, सिगास गाउँपालिका–६ बैतडीकी २२ वर्षीया सुनिता साउँद र बडिकेदार गाउँपालिका–४ डोटीकी २२ वर्षीया कमला चिमालालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरू सबैमाथि थप अनुसन्धान भइरहेको र घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

  • शेयर कारोबारी अग्रवालसहित तीन जना पक्राउ

    शेयर कारोबारी अग्रवालसहित तीन जना पक्राउ

    ६ साउन, काठमाडौं । प्रहरीले मोरङ विराटनगर महानगरपालिका–९ स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–१४ बस्ने ४२ वर्षीय दीपेन्द्र अग्रवालसहित तीन जना शेयर कारोबारीलाई पक्राउ गरेको छ ।

    धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बस्ने ६० वर्षीय दिनेशप्रसाद साहबाट निज दीपेन्द्र अग्रवालसमेतले शेयर दिलाई दिने भन्दै खातामा रु छ करोड ४५ लाख रकम हाल्न लगाई सो रकम फिर्ता नगरेको र शेयर पनि नदिलाएकाले ठगी तथा आपराधिक विश्वासघात गरेको जाहेरीका आधारमा आज पक्राउ गरिएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    उनका अनुसार ठगी तथा आपराधिक विश्वासघात मुद्दा शीर्षकमा गत असार ३० गते मुद्दा दर्ता भई काठमाडौँ जिल्ला अदालतबाट यसअघि नै पक्राउ पुर्जी जारी भएको थियो ।

  • चितवन कारागारमा छुट्ने भन्दा थपिने बढी

    चितवन कारागारमा छुट्ने भन्दा थपिने बढी

    ६ साउन, चितवन । कारागार कार्यालय चितवनबाट एक वर्षमा छुटेर जानेभन्दा थपिनेको सङ्ख्या बढेको छ । विभिन्न मुद्दामा फैसला हुन बाँकी भएर वा फैसला भएर आएका कैदी एवं बन्दीको सङ्ख्या छुटेर जानेकोभन्दा धेरै रहेको पाइएको हो । कार्यालयका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार गत आर्थिक वर्षमा कारागार कार्यालयमा ८०८ जना कैदीबन्दी नयाँ थपिएका छन् । यस्तै, सोही समयमा ६७२ जना छुटेको उनले जानकारी दिए । उनका अनुसार थपिएका कैदीबन्दीमध्ये १५० जना नवलपरासी (बर्दघाट–सुस्ता पूर्व)का हुन् भने अन्य चितवनका छन् ।

    गत वर्षमा यस कारागारबाट स्थानान्तरण भएर विभिन्न कारागार गएका कैदीहरूको सङ्ख्या १४५ जना छ । यस्तै, उपचारका लागि विभिन्न कारागारबाट आउने कैदी छ जना रहेको उनले जानकारी दिए । उक्त अवधिमा ४२ जनाले ‘प्यारोल’ सुविधा लिएका छन् । प्यारोल सुविधाका लागि एक वर्षभन्दा बढी कैद तोकिएका र दुई तिहाइ कैद भुक्तान गरेका हुनुपर्ने हुन्छ ।

    कारागारमा गत आर्थिक वर्षमा दुईजना कैदीबन्दीको मृत्यु भएको उजले जानकारी दिए । क्यान्सर रोगका कारण उनीहरूको मृत्यु भएको हो । अहिले कारागार कार्यालयमा ७३० जना छन् । जसमध्ये ६८४ जना पुरुष र ४६ जना महिला रहेका छन् । तीसँग आश्रित पाँचजना बालबालिका रहेका छन् । कारागारमा ४७० पुरुष र ३५ जना महिला राख्ने क्षमता रहेको छ ।

  • जनकपुरमा एक युवकको प्रेमिकाद्वारा हत्या

    जनकपुरमा एक युवकको प्रेमिकाद्वारा हत्या

    ५ साउन, महेन्द्रनगर । जनकपुरको एक होटलमा युवकको हत्या गरेको आरोपमा पक्राउ परेकी एक युवतीलाई जिल्ला प्रहरी कार्यालयले सार्वजनिक गरेको छ । जनकपुरधामको होटल एसपी एन्ड गेष्ट हाउसमा विमलेश यादवको हत्या अभियोगमा युवतीलाई धनुषा प्रहरीले पक्राउ गरेको हो । महोत्तरीको बलवा नगरपालिका–७ का २४ वर्षीया जुली झालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

    कर्तव्य ज्यान मुद्दामा उनीमाथि अनुसन्धान थालिएको धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक बरुणबहादुर सिंहले पत्रकार सम्मेलनमा जानकारी दिए । प्रहरीका अनुसार महोत्तरी गाउँपालिका–१ पर्साका २८ वर्षीय विमलेशलाई गेष्टहाउसमा छुरा प्रहार गरी एक तल्ला माथिबाट तल खसालिएको थियो । आइतबार बिहान उपचारका क्रममा विमलेशको अस्पतालमा मृत्यु भएको थियो ।

    घटनाको अनुसन्धानका क्रममा विमलेशको हत्यामा झाको संलग्नता रहेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनापछि झा गेष्टहाउसबाट भागेको सिसिटिभी क्यामेरामा कैद भएको थियो । मृतक विमलेश र पक्राउ परेकी युवती झा गेष्टहाउसमा शनिबार राति ९ बजेर ५५ मिनेटमा एकसाथ गएको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ । उनीहरुको सम्बन्ध र हत्याको कारणबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

  • मधेश प्रदेशका पूर्वप्रमुख झा बलात्कार अभियोगमा पक्राउ

    मधेश प्रदेशका पूर्वप्रमुख झा बलात्कार अभियोगमा पक्राउ

    ४ साउन, काठमाडौं । मधेश प्रदेशका पूर्वप्रमुख राजेश झालाई प्रहरीले पक्राउ गरेको छ । मधेश प्रदेशका पूर्वप्रमुख झालाई बलात्कार अभियोगमा आज काठमाडौँबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    उनले भने, “बलात्कार आरोपमा झाविरुद्ध अदालतबाट पुर्जी जारी भएको थियो । आज हाम्रो टोलीले काठमाडौँबाट पक्राउ गरेको हो ।” पक्राउ परेका पूर्वप्रदेश प्रमुख झाविरुद्ध अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट आजै पाँच दिनको म्याद लिएको प्रवक्ता बोहराले बताए ।

  • लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

    लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

    ४ साउन, झापा । खुला सीमाका कारण झापामा लागुऔषधको कारोबार बढेपछि प्रहरीले कारोबारी र प्रयोगकर्ताविरुद्ध कडाइका साथ अभियान सञ्चालन गरिरहेको छ । लागुऔषधको ओसारपसार, बिक्रीवितरण र भण्डारणविरुद्ध आक्रामक कारबाहीमा उत्रिएको प्रहरीले पछिल्लो समय विर्तामोड–५ मा एक लाख क्याप्सुलसहित ठूलोमात्रामा लागुऔषध भण्डारण गरिएको गोदाम फेला पारेको छ । त्यसलाई प्रहरीले अभियानको उपलब्धिका रुपमा हेरिएको छ ।

    जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार आर्थिक वर्ष २०८१–८२ मा जिल्लामा ५५९ जनालाई लागुऔषधको कारोबार गरेको अभियोगमा पक्राउ गरिएको छ भने ३४६ मुद्दा दर्ता भएका छन् । बर्सेनि यस्तो सङ्ख्या बढ्दै गएको छ । प्रहरीले गत आव २०८०–८१ मा ४६२ कारोबारी पक्राउ गरेको थियो । पछिल्लो आवमा यो सङ्ख्या १६ दशमलव पाँच प्रतिशतले बढेको छ । ‘की जेलमा की सुधार केन्द्रमा’ भन्ने प्रहरी अभियानको उद्देश्य छ । विगत एक वर्षमा जिल्लाको सीमावर्ती नाका, राजमार्ग र भित्री सडकमा जाँच गर्दा पक्राउ परेका १४० प्रयोगकर्तालाई अभिभावकको सहयोगमा सुधार गृहमा पु¥याइएको प्रहरीले जनाएको छ ।

    प्रहरीले लागुऔषधले व्यक्ति, परिवार, समाज र मुलुकलाई पुर्‍ याउने हानिबारेमा जनचेतनामूलक कार्यक्रममार्फत विद्यालय र समुदायमा जानकारी गराउँदै आएको छ । यसका लागि प्रहरी र समुदायबीच साझेदारीमार्फत कार्यक्रम सञ्चालन भइरहेका छन् । समुदायसँग मिलेर दुव्र्यसनमुक्त समाज निर्माण गर्ने कोशी प्रदेश प्रहरी कार्यालयकै अभियान रहेको छ । त्यसअन्तर्गत ‘दुव्र्यसनविरुद्ध आमाहरु’ र ‘फाइट एगेस्न्ट नारकोटिक’ नामक अभियान प्रदेशमा जारी रहेको प्रहरीका सूचना अधिकारी खड्काको भनाइ छ ।

    उनका अनुसार आव २०८१–८२ मा झापामा एक हजार ६५१ किलो गाँजा र दुई किलो ८८२ ग्राम ब्राउनसुगर बरामद भएको छ । कोशी प्रदेशका १४ जिल्लामध्ये लागुऔषधको समस्याबाट सबैभन्दा बढी प्रभावित जिल्लाको रुपमा झापा चिनिएको छ । कोशी प्रदेशमा आव २०८१–८२ मा लागुऔषधविरुद्धको अभियानमा दुई हजार ३७ व्यक्तिमाथि कानुनी कारबाही भएको छ । यसैगरी २२ हजार किलो गाँजा र चार किलो ब्राउनसुगर बरामद भएको प्रहरीले जनाएको छ ।

    जिल्लाका मेचीनगर, विर्तामोड, भद्रपुर, दमक, बुद्धशान्ति र कचनकबलमा लागुऔषधको कारोबार अधिक हुने गरेको छ । पूर्वी नाका भएकाले मेचीनगरको काँकडभिट्टामा प्रहरीले दिनहुँ लागुऔषधसहित कारोबारी र प्रयोगकर्ता पक्राउ गर्दै आएको छ । प्रहरी सीमावर्ती क्षेत्रको जाँचमा सक्रिय हुन थालेपछि कारोबारीहरुले विर्तामोडमा गोदाम नै खडा गरेर धन्धा चलाउन थालेको पाइएको छ ।

    विर्तामोड नगरपालिका– ५ स्थित मनकुमार सङ्ग्रौलाको दुईतले घरको भुइँतलामा दुई कोठा भाडामा लिएर लागुऔषध र प्रतिबन्धित औषधि ठूलोमात्रामा भण्डारण गरेको पाइएको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक विजय श्रेष्ठले बताए । औषधि पसलले नै लागुऔषधको भण्डारणका लागि गोदाम राखेको प्रहरीले फेला पारेको हो । स्थानीयले लागुऔषध र प्रतिबन्धित औषधि भण्डारण गरिएको कोठा विनोद घिमिरे र भानुभक्त खरेलको रहेको बताएका छन् । खरेलले विर्तामोडमा ‘सनलाइट फर्मा’नामक औषधि पसल सञ्चालन गर्दै आएका छन् ।

    अभियुक्तहरुले विर्तामोडको गोदाममा भण्डारण गरिएका ती सामान पहाडी जिल्ला इलाम, पाँचथर, ताप्जेजुङ र तेह्रथुमसम्म आपूर्ति गर्दै आएको अनुमान छ । भारतसँग १४४ किलोमिटर लामो खुला सीमाना भएका झापामा लागुऔषधको रोकथाम र नियन्त्रण चुनौतीपूर्ण बनेको हो । खुला सीमा र अनेक बहानामा भारतबाट लागुऔषध भित्र्याउने र कारोबार गर्ने गतिविधि बढ्दै गएको अवस्थाले नागरिक समाजसमेत चिन्तित पाइएको छ ।

  • मालपोत कार्यालय भक्तपुरको परिसरबाट २४ लाख घुससहित प्रमुख र सहयोगी पक्राउ

    मालपोत कार्यालय भक्तपुरको परिसरबाट २४ लाख घुससहित प्रमुख र सहयोगी पक्राउ

    ३१ असार, भक्तपुर । भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ गरेको छ । सेवाग्राहीसँग मोही तल्सिङको मुद्दा मिलाउन भन्दै कार्यालय परिसरमै घुस लिएको रकम रु २४ लाख ५० हजार रकमसहित उनीहरूलाई पक्राउ गरेको हो ।

    आयोगको टोलीले राउतको साथबाट रकम बरामद गरेर कार्यालयमै मुचुल्का उठाई नियन्त्रणमा लिएको हो । उदयपुरका घर भएका कार्यालय प्रमुख आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र भक्तपुर निवासी राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत टोलीले बरामद गरी नियन्त्रणमा लिएको छ । घुस रकम माग गरेको गुनासो अख्तियारमा परेपछि टोलीले आज छापा मारेको अख्तियारले जानकारी दिएको छ ।

  • घुस काण्डमा मुछिएका मन्त्रीले दिए राजिनामा

    घुस काण्डमा मुछिएका मन्त्रीले दिए राजिनामा

    ३१ असार, काठमाडौं । घुस काण्डमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राजीनामा दिएको बताएका छन् । मन्त्री गुप्ताले आफूमाथि लागेका आरोप अनुसन्धान गरी सत्यतथ्य बाहिर ल्याउन सहयोग पुगोस् भनेर राजीनामा दिएको उल्लेख गरेका छन् ।

    उनले लेखेका छन्, ‘विगत केही दिन अघिदेखि निरन्तर मेरो नाम घुस डिलसँगै जोडेर प्रचारमा आएको कुरा सबैलाई बिदितै छ । कहिलेकाहीँ नखाएको विष पनि लाग्दो रहेछ म अहिले त्यसैको शिकार भएँ । अब लागेका आरोप अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर सम्माननीय प्रधानमन्त्री समक्ष सामान्य प्रशासन मन्त्री पदबाट राजिनामा गरेको छु ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार बिहान बालुवाटारस्थित निवासमा बोलाएर २४ घण्टाभित्र राजीनामा दिन निर्देशन दिएका थिए ।

    उनले आफू उच्चतम प्रविधिको सिकार भएको जिकिर गरेका छन् । ‘प्रविधिको उच्चतम प्रयोगको शिकार अब अरु कोही पनि नबनुन् भन्ने अपेक्षा गर्दै आजसम्ममा विभिन्न रुपले आफूलाई सहयोग गर्नुहुनेहरुलाई हार्दिक धन्यवाद व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘अब फेरि एकपटक देश र जनताप्रति थप जिम्मेवारीवोधका साथ पार्टीले दिएको जिम्मेवारी इमान र निस्ठाको साथ पुरा गर्ने प्रतिबद्धताको साथ जनताको घर दैलोमा आउने प्रण गर्दछु ।’

    केही दिनअघि मन्त्री गुप्ताले घुस खाएको अडियो सार्वजनिक भएको थियो । अडियो सार्वजनिक भएपछि उनको सर्वत्र विरोध भएको थियो । विपक्षी दलहरुले राजीनामा माग गर्नुका साथै कारबाही गर्न माग गरेका छन् । उनी नेकपा एमालेबाट पर्सा ३ बाट प्रतिनिसभामा निर्वाचित हुन् ।

  • सरकारका दुई मन्त्रीले घुस मागेको अडियो सार्वजनिक : संसदमा हंगामा

    सरकारका दुई मन्त्रीले घुस मागेको अडियो सार्वजनिक : संसदमा हंगामा

    २९ असार, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद राजेन्द्र पाण्डेले सरकारका मन्त्रीहरुले घुस लिएको विषय सार्वजनिक प्रचारमा आएको भन्दै दोषीमाथि कारबाहीको माग गरेका छन् । उनले सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीमाथि प्रश्न उठेकाले सरकारले तत्काल जवाफ दिन माग गरे ।

    कम्पनी रजिष्ट्रार कार्यालयमा भइरहेको ढिलासुस्तीप्रति ध्यानाकर्षण गराउँदै सांसद पाण्डेले कर्मचारीहरुबाट भइरहेको सेवाग्राहीको हितविपरीतको गतिविधि तत्काल बन्द गर्न र जरिवाना छुटको प्रबन्ध गर्न आग्रह रे । जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले झापाको झापा गाउँपालिकामा अवस्थित लसुना नाकालाई थप व्यवस्थित गर्न भन्सार कार्यालय स्थापना गरी राजस्व सङ्कलनलाई प्रभावकारी बनाउन र भौतिक पूर्वाधारको यथोथित संरक्षण गर्न माग गरे ।

    जनमत पार्टीका सांसद अब्दुल खाँनले रसुवागढीमा काम गर्न गएका बर्दियाका नागरिक बाढीमा परी बेपत्ता भएको उल्लेख गर्दै उनीहरुको खोज गरी पीडित परिवारलाई राहत उपलब्ध गराउन आग्रह गरे । बाढीपहिरोका कारण नेपाल–चीन सीमामा रहेको मितेरी पुल बगेको, दर्जनौँ सवारीसाधन बगाएको तथा जनधनको क्षति भएकाले तत्काल पुनः निर्माणको काम गर्न आग्रह गरे ।


    जनता समाजवादी पार्टी नेपालका सांसद रेखा यादवले तराई–मधेसका विभिन्न जिल्लामा खानेपानीको समस्या विकराल बन्दै गएकाले यथोचित प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए । लोकतान्त्रिक समाजवादी पार्टीका सांसद रामप्रकाश चौधरीले तराई–मधेसलाई जलसङ्कट क्षेत्र घोषणा गर्न माग गरे । उनले पर्याप्त वर्षा नहुँदा सिँचाइ नहरबाहेकका क्षेत्रमा रोपाइँ हुन नसकेको बताए ।
    नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले चालु आर्थिक वर्षको पुँजीगत खर्च न्यून हुनु दुःखद् रहेको धारणा राखे ।

    मुलुकमा व्यापारघाटा चुलिँदै गएको, दाल, चामल, खाद्य पदार्थसमेत विदेशबाट आयात गरिँदा घाटाको ग्राफ बढेको उनको भनाइ छ । राष्ट्रिय जनमोर्चा पार्टीका सांसद चित्रबहादुर केसीले सरकारमा बस्नेहरुले देश र जनताको हितमा काम नगर्दा व्यवस्थाकाविरुद्ध आवाज उठ्ने गरेको तर्क गरे । उनले सरकार प्रमुख र मन्त्रीले सम्पत्ति विवरण सार्वजनिक नगरेकामा आपत्ति प्रकट गरे ।


    आमजनता पार्टीका सांसद प्रभु साहले काठमाडौँका विभिन्न स्थानमा बसोबास गर्ने सुकुम्बासी बस्तीमा खानेपानीको उपलब्धता हुन नसकेकाप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले तराई–मधेसमा खानेपानीको चरम अभाव देखिएको भए पनि सरकारकोतर्फबाट कुनै सार्थक प्रयास नभएकामा गुनासो गरे ।


    स्वतन्त्र सांसद योगेन्द्र मण्डलले विराटनगर रङ्गेलीमा निर्माणाधीन हुलाकी राजमार्गको काममा भइरहेको ढिलासुस्तीबारे चर्चा गर्दै स्थानीयवासीलाई धुलो र हिलोको समस्या समाधान गर्न माग गरे । नेपाली कांग्रेसका सांसद नागिना यादवले केही दलका सांसदले सदनमा अप्रमाणित विषयमा पटकपटक धारणा राखेका कारण सांसदहरुको मर्यादा र गरिमामाथि प्रश्न उठेको बताइन् । नेकपा(एमालेंका सांसद तारा लामा तामाङले कञ्चनपुरको कृष्णपुरमा एक महिलाको छाउगोठमा मृत्यु भएको घटनाप्रति दुःख व्यक्त गर्दै मृतक परिवारलाई उचित राहतको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

  • वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

    वैदेशिक रोजगारीको प्रलोभन देखाएर ठगी गरेको अभियोगमा दुई जना पक्राउ

    २८ असार, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–७ बस्ने उदयपुर त्रियुगा नगरपालिका–९ घर भएकी ३५ वर्षीया विमला दनुवार र काठमाडौँ नागार्जुन नगरपालिका–१ बस्ने कास्की पोखरा महानगरपालिका–२६ घर भएकी ४८ वर्षीया रामकुमारी रोक्का मगर रहेका नेपाल प्रहरी प्रधान कार्यालय समाचार कक्षले जनाएको छ ।

    दनुवारले चार जनाबाट रु आठ लाख र रोका मगरले दुई जनाबाट रु दुई लाख लिई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिहीबार दुवै जनालाई पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ । उता, डलर साटीदिन्छु भनी ठगी गरेको अभियोगमा चार जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ धार्पा घर भई भक्तपुर चाँगुनारायण नगरपालिका–१ बोडे बस्ने २८ वर्षीय पर्वत तामाङ भन्ने कर्म वाङ्गेल पाइन, २५ वर्षीय प्रकाश तामाङ भन्ने सूर्यबहादुर पाइन, ३६ वर्षीय सागर भन्ने सन्तवीर पाइन र ललितपुर महानगरपालिका–१६ धापाखेल बस्ने ३५ वर्षीय विष्णुकुमार रुम्बा रहेका छन् ।

    प्रहरीका अनुसार पीडितलाई छ हजार अमेरिकी डलरका लागि सात लाख नेपाली रकम दिनु भनी असार २२ गते भक्तपुरको चागुँनारायण नगरपालिका–४ हलछापस्थित जङ्गलमा लगी नक्कली पेस्तोल देखाई पीडितबाट मोबाइल र नगद रु सात लाख लिएर उनीहरू फरार भएका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान शाखा कार्यालय भक्तपुरबाट खटिएको प्रहरीले बिहीबार चारै जनालाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय समाचार कक्षले जनाएको छ । पक्राउ परेकाहरूका साथबाट बा७६प ५९३१ नंको स्कुटर, बागमती प्रदेश ०२–०५३ प २७८० नं को मोटरसाइकल, नगद रु ६४ हजार ४०, चेक एक थान र मोबाइल १० थान बरामद गरिएको छ ।

  • पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

    पाटन अदालतको इतिहासमा पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा

    २६ असार, काठमाडौं । उच्च अदालत पाटनले पहिलो पटक दुईवर्षे मुद्दा शून्यमा पु¥याउन सफल भएको छ । चालु आर्थिक वर्ष सुरु हुँदा दुई वर्ष नाघेका मुद्दाको सङ्ख्या ४०७ थान रहेकामा हाल सबै मुद्दा फछ्र्यौट गरी उच्च अदालत पाटनको इतिहासमा दुईवर्षे मुद्दा पहिलो पटक शून्यमा झार्न सफल भएको जनाइएको छ ।

    अदालतमा चालु आर्थिक वर्षका १८ महिना नाघेका मुद्दा २२ थान मात्र बाँकी छन् । एक हजार ३५७ मुद्दा रहेकामा एक हजार ३३५ मुद्दा फछ्र्यौट भई २२ थान मुद्दा मात्रै बाँकी रहेको उच्च अदालतले जनाएको छ । पाटन उच्च अदालतका मुख्य न्यायाधीश लालबहादुर कुँवरले न्याय सम्पादनलाई छिटोछरितो बनाउने उद्देश्यले पुराना मुद्दा फछ्र्यौटलाई बढी नै ध्यान दिएको र लक्ष्यअनुसार उपलब्धि हासिल गर्न सफल भएको बताए ।
    “पाटन अदालतको इतिहासमा दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्न सफल भएका छौँ, मुद्दालाई १८ महिनाभन्दा बढी हुन नदिने गरी आधार तयार गरेर काम गरिरहेका छौँ”, मुख्य न्यायाधीश कुँवरले भने, “सर्वोच्च अदालतको पञ्चवर्षीय योजना लागू भएपछि त्यो योजना र निर्देशनबमोजिम काम गरिरहेका छौँ, न्यायसम्पादनका सम्पूर्ण सूचक पूरा गर्न सकेका छौँ ।”

    अदालतका रजिष्ट्रार श्रीलाल पौडेलका अनुसार कूल मुद्दा १७ हजार सात रहेकामा वार्षिक फछ्र्यौट लक्ष्य ११ हजार ३२३ राखिएकामा ११ हजार २३४ मुद्दा फछ्र्यौट भएको छ । चालु आर्थिक वर्षका छ कार्यदिन बाँकी भएकाले कार्यअवधि लक्ष्यअनुसार शतप्रतिशत काम पूरा हुने अदालतको योजना रहेको छ । लक्ष्यअनुसार ८९ थान मुद्दा यस आर्थिक वर्षमा फछ्र्यौट गर्न बाँकी छ ।

    न्यायपालिकाको पाँचाँै पञ्चवर्षीय रणनीतिक योजनाले लिएका प्राथमिकता, लक्ष्य र कार्यक्रममा आधारित भई अदालतको आर्थिक वर्ष २०८१÷८२ को वार्षिक कार्ययोजनाको निर्माण काम गर्दा यही असार २५ गतेसम्म वार्षिक लक्ष्यको ९९ दशमलव २१ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । कूल मुद्दामा पाँच हजार ७७३ मुद्दा फछ्र्यौट गर्न बाँकी छ । अघिल्लो आर्थिक वर्षको तुलनामा एक हजार २३२ थान मुद्दा बढी फछ्र्यौट भएको छ । अदालतमा ३६ न्यायाधीश दरबन्दी भए पनि हाल २२ जना न्यायाधीश कार्यरत छन् ।


    पाटन उच्च अदालतले छिटोछरितो न्याय दिने लक्ष्यका साथ अदालतमा दर्ता हुन आएका रिट निवेदनहरु अधिकांश छ महिनाभित्रै सक्ने लक्ष्यका साथ काम गरिहेको छ भने एक वर्ष नाघेका रिट निवेदनहरु बाँकी नरहेको जनाएको छ । व्यक्ति थुनामा रहेका थुनुवा मुद्दालाई एक वर्ष ननाघ्ने गरी फछ्र्यौटलाई प्राथमिकता दिएको र निवेदन÷प्रतिनिवेदन तीन महिना ननाघ्ने गरी प्राथमिकतामा राखी सुनुवाइ गरेको जनाएको छ । हाल छ महिना नाघेका रिटको सङ्ख्या १७, एक वर्ष नाघेका थुनुवा भएका मुद्दाको सङ्ख्या २८ र तीन महिना नाघेका निवेदन प्रतिवेदनको सङ्ख्या आठ बाँकी रहेको छ ।

    पुनरावेदन दायर भई फैसला भएका सात हजार ८४४ मुद्दाहरुमध्ये करिब १२ दशमलव ६४ प्रतिशत मुद्दा उल्टी भएको देखिन्छ भने रिट क्षेत्रधिकारतर्फ ४० दशमलव ४२ प्रतिशत रिट जारी भएको छ । अदालतबाट ५९ दशमलव ५८ प्रतिशत रिट खारेज भई अन्तिम आदेश भएको छ । यस अदालतबाट विकास निर्माण, कर, राजस्वलगायतका विषयसँग सम्बन्धित पुराना मुद्दा बाँकी नभएको अदालतले जनाएको छ । रिट निवेदनमा अन्तरिम आदेश माग गरेको अवस्थामा अन्तरिम आदेश छलफललाई हप्तामा निश्चित दिनहरु तोकी प्राथमिकतापूर्वक सुनुवाइ गरिरहेको अदालतको रजिष्टार पौडेलले जानकारी दिनुभयो ।

    उक्त अदालतको मुख्य न्यायाधीश कुँवरका अनुसार समयमै इजलास बस्ने, इजलास व्यवस्थापन, कानुन व्यवसायीका सहयोगका कारण लक्ष्यअनुसार मुद्दाको फछ्र्यौट गर्न सकिएको हो । “इजलास व्यवस्थापन सकेसम्म छिटो न्याय दिनुपर्छ भन्ने लक्ष्यअनुसार भइरहेको छ”, उनले भने, “सेवाग्राहीको सन्तुष्टिलाई ध्यानमा राखेर काम गरिरहेका छौँ, अदालतको जनआस्था वृद्धि गर्न निरन्तर लागिरहेका छौँ, अहिलेको उपलब्धिले काम गर्ने उत्प्रेरणा बढेको छ, काम गर्न सकिने रैछ भन्ने मनोबल बढेको छ ।”

    हेटाँैडा इजलाससहित केही अदालतले दुई वर्ष नाघेका मुद्दा झारे शून्यमा
    उच्च अदालत पाटन हेटौँडा इजलाससहित चार जिल्ला अदालतले दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झार्न सफल भएका छन् । जिल्ला अदालतमा दोलखा, रामेछाप, नुवाकोट र धादिङले दुई वर्ष नाघेका मुद्दालाई शून्यमा झारेका छन् । जिल्ला अदालत काठमाडौँमा दुई वर्ष नाघेका मुद्दा एक हजार ९०४ थान, भक्तपुरमा १३१ थान, लतिपुरमा चार थान, काभ्रेपलाञ्चोकमा ३२ थान, सिन्धुपाल्चोकमा र रसुवामा एक÷एक थान, मकवापुरमा दुई थान, चितवनमा १० थान र सिन्धुलीमा ३० थान बाँकी रहेका छन् ।

    मुद्दा फछर्र्यौट सङ्ख्यालाई हेर्दा जिल्ला अदालत काठमाडौँ र सिन्धुलीले सबैभन्दा काम फछ्र्यौट गरेको देखिन्छ । काठमाडौँले ५० दशमलव १८ प्रतिशत र सिन्धुलीले ५० दशमलव १७ प्रतिशत मुद्दा फछ्र्यौट गरेका छन् । सबैभन्दा बढी नुवाकोटले ७७ दशमलव ९९ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । त्यसपछि धादिङले ७७ दशमलव २४ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ ।

    जिल्ला अदालतको कम मुद्दा फछ्र्यौट भएको विषयमा मुख्य न्यायाधीश कँुवरका अनुसार मातहतका जिल्ला अदालतलाई पनि मुद्दा फछ्र्यौटमा परेका समस्याका विषयमा छलफल गरी निकास दिने प्रयास भइरहेको छ ।

    उच्च अदालत पाटनमा पुराना मुद्दा फछ्र्यौटको दैनिक तथ्याङ्क प्रस्तुति, मासिक प्रगति समीक्षा, मातहत अदालतसमेतको मासिक र चौमासिक समीक्षामार्फत कार्यसम्पादन अवस्थाको स्वमूल्याङ्कन गरी सोहीअनुरुपका आवश्यक रणनीतिहरु अवलम्बन गरेको जनाएको छ । मुद्दाको विषयवस्तुका आधारमा शीघ्र किनारा गर्नुपर्ने प्रकृतिका मुद्दाहरूलाई अग्राधिकार दिइ सुनुवाइमा प्राथमिकता दिने, मेलमिलापलाई प्राथमिकतामा राखी उल्लेख्य सङ्ख्याका मुद्दाहरु मेलमिलापको प्रक्रिया पठाउने गरेको छ ।

    न्यायिक कामकारबाहीमा सूचना प्रविधिसम्बन्धी विकसित पद्धति, सफ्टवेयर, मोड्युल तथा एप्लिकेशनहरुको अधिकतम प्रयोग गरी कार्यसम्पादन र सेवा प्रवाहमा प्रभावकारिता ल्याउने प्रयास गरेको बताइएको छ । अदालतले सेवाग्राहीहरुको सुविधाको लागि अनलाइन तारेख तथा विद्युतीय माध्यमबाट साक्षीको बकपत्र गर्ने गरिएको, एसएमएसमार्फत मुद्दा दर्ता भएको जानकारी दिने व्यवस्था गरेको छ ।

    न्यायमा सहज पहुँच स्थापित गर्न निःशुल्क रूपमा निवेदनका ढाँचा उपलब्ध गराउने गरिएको, अदालतमा वैतनिक कानुनी व्यवसायीमार्फत असमर्थ पक्षका लागि निःशुल्क कानुनी सेवा, वैतनिक कानुन व्यवसायीद्वारा कारागार भ्रमण गरी थुनुवा कैदीलाई आवश्यक कानुनी सेवा प्रदान गर्ने एवं मुद्दामा स्वेच्छिक ‘प्रोबोनो’ सेवाको परिचालन गरिएको जनाएको छ । “सूचना प्रविधिको उच्चतम प्रयोग गरेर मुद्दालाई छिटोछरितो सम्पादन गर्ने प्रयास गरिरहेको छौँ”, मुख्य न्यायाधीश कुँवरले भने, “यसले न्यायलयको जनआस्था वृद्धि गर्न सहयोग पुगेको छ ।”

  • गभर्नर पौडेलविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    गभर्नर पौडेलविरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

    २५ असार, काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेललाई नियुक्ति बदर गर्न माग गर्दै दायर गरिएको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले आज अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । अदालतले मुद्दालाई प्राथमिकतामा राख्दै अग्राधिकार दिनसमेत आदेश गरेको छ ।

    यो आदेशसँगै गभर्नर पौडेललाई तत्कालका लागि काम गर्न अवरोध हुने छैन । अधिवक्ताहरू विशाल थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेललगायतले गत जेठ १३ गते गभर्नर नियुक्ति गैरकानुनी भएको उल्लेख गर्दै नियुक्ति बदरको माग गर्दै रिट निवेदन दायर गरेका थिए ।

  • तीन लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

    तीन लाख घुस रकमसहित वडाध्यक्ष पक्राउ

    २३ असार, भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देही मर्चवारी गाउँपालिका–३ का वडाध्यक्ष जनार्दन यादवलाई रु तीन लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले वडाध्यक्ष यादवसहित सिद्धार्थनगर नगरपालिका–९ स्थित श्री गणेश ट्रेडिङका सञ्चालक विपिनकुमार पाण्डेयलाई पक्राउ गरेको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    वडामा सञ्चालित विभिन्न योजनाको भुक्तानी सिफारिसका लागि वडाध्यक्ष यादवले कमिसन माग्ने गरेका थिए । सोही क्रममा विपिनकुमार पाण्डेयमार्फत रु तीन लाख लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको पौडेलले बताए । दुवैजनालाई नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रवक्ता पौडेलले बताए ।