Category: कानुनी कुरा

  • बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

    बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् अध्यक्ष साह पक्राउ

    २३ असार, जनकपुरधाम । बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अध्यक्ष शीतल साहलाई कीर्ते र जालसाजी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ ।
    जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरहरि रेग्मीले परिषद्का कार्यकारी निर्देशक वैजनाथ पासवानको हस्ताक्षर कीर्ते गरी चार जना कर्मचारीलाई अवैध रूपमा बर्खास्त गरेको अभियोगमा साहलाई आज नियन्त्रणमा लिएको जानकारी दिए । कार्यकारी निर्देशक पासवानले गत चैत २८ गते जिल्ला प्रहरी कार्यालय धनुषामा यससम्बन्धी उजुरी दिएका थिए ।

    त्यसपछि कीर्ते हस्ताक्षर सम्बन्धमा विधि विज्ञान प्रयोगशालाबाट परीक्षण प्रतिवेदन प्राप्त भएपछि वैशाख २५ मा जिल्ला अदालतबाट पक्राउ अनुमति लिइएकामा त्यसयता साह परार रहेका प्रहरी उपरीक्षक रेग्मीले बताए । साहलाई आजै थप अनुसन्धानका लागि जिल्ला सरकारी वकिल कार्यालयमार्फत जिल्ला अदालत धनुषामा उपस्थित गराएको प्रहरीले जनाएको छ । यसअघि कार्यकारी निर्देशकको हस्ताक्षर गरेर बृहत्तरका प्रशासकीय अधिकृत जीतेन्द्र यादव, लेखापाल सावित्री गिरी, नासु मदन चौधरी र सञ्जय मण्डललाई बर्खास्त गरेका थिए ।

  • आज प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

    आज प्रतिनिधिसभाको बैठक बस्दै, के छन् एजेण्डा ?

    २३ असार, काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ । आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची तय भएको छ । यसैगरी ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक विधेयक, २०८२’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पनि राष्ट्रियसभाको सन्देशसहित टेबुल गर्ने कार्यसूची छ ।

    उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्नु हुनेछ । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले ‘राष्ट्रिय खेलकुद विकास (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
    आजको बैठकमा महालेखापरीक्षकको ६२औँ वार्षिक प्रतिवेदन र कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदनसमेत पेस हुने कार्यसूची छ ।

  • भोजपुर घटनाः मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो

    भोजपुर घटनाः मृतक चारै जनाको शव सदरमुकाम ल्याइयो

    २२ असार, टक्सार । शनिबार राति रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा सामुहिक हत्या गरिएका चार जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको छ । प्रहरीले घटनास्थलको मुचुल्का तयार गरेपछि उनीहरुको शव परीक्षण गर्न यहाँ ल्याइएको हो । भोजपुर नगरपालिका–२ घर भएका ३० वर्षीय राजेन्द्र राईले १६ वर्षीया श्रीमती मनिषा गिरी, ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी र नौ वर्षीय साला सपन गिरीको शनिबार राति हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

    उनीहरुको हत्या गरेपछि अभियुक्तले नै घटनाबारे प्रहरीलाई जानकारी गराएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिपक श्रेष्ठले जानकारी दिए । अभियुक्त राई पेटमा धारिलो हतियारको चोट रहेको अवस्थामा फेला परेका थिए । जिल्ला अस्पताल भोजपुरमा प्रारम्भिक उपचार गरी राईलाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाइएको प्रहरी निरीक्षक श्रेष्ठले जानकारी दिए । मनिषा र राजेन्द्रबीच नौ महिना अगाडी प्रेम बिवाह भएको थियो ।

    झगडा भएपछि केही समयदेखि मनिषा माइतमै बस्दै आएकी थिइन् । भोजपुर नगरपालिका–२, हैलोछा घर भएका राजेन्द्र श्रीमतीलाई लिन ससुराली आएका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताउनुभयो । मृतक गिरी दम्पतीका तीन छोरा र एक छोरी काठमाडौँमा बस्दै आएकाले उनीहरु आएपश्चात् मात्र दास संस्कार गरिने प्रहरीले जनाएको छ ।

  • भोजपुरमा एक व्यक्तिले गरे एकै परिवारका चारको हत्या

    भोजपुरमा एक व्यक्तिले गरे एकै परिवारका चारको हत्या

    २२ असार, भोजपुर । भोजपुरमा एक व्यक्तिले परिवारका चार सदस्यको हत्या गरेको प्रहरीले जनाएको छ । भोजपुर नगरपालिका २ हेलौछा बस्ने राजेन्द्र राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा सासु, ससुरा, श्रीमती र सालोको धारिलो हतियार प्रहार गरी हत्या गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर दीपक श्रेष्ठका अनुसार राई आफैंले शनिबार राति सवा १ बजे प्रहरी कन्ट्रोल रुममा फोन गरेर ‘ममाथि चक्कु प्रहार भएकाले मैले मान्छे मारें, मलाई पक्राउ गर्न आउनुस्’ भनेर फोन गरेको स्थानीय सञ्चामाध्यमले पुष्टी गरेका छन् ।
    त्यसपछि तत्काल अस्थायी प्रहरी चौकी ओख्रेबाट प्रहरी सहायक निरीक्षक अशोक कुमार खवास र जिल्ला प्रहरी कार्यालय भोजपुरबाट हबल्दार नेतृत्वको टोली परिचालित भएको थियो । घटनास्थल रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीमा प्रहरी पुग्दा राजेन्द्र राईका ससुरा ६८ वर्षीय बेलबहादुर गिरी, सासु मन्जु गिरी र उनका श्रीमती र सालोको शव फेला परेको थियो । प्रहरीले श्रीमती र सालो ‘अन्डर एज’को भएको भन्दै नाम भने खुलाएको छैन । श्रीमती १६ वर्ष र सालो १० वर्षका छन् ।
    राजेन्द्र राईलाई भने रामप्रसाद राई गाउँपालिका वडा नम्बर १ हर्बुभञ्ज्याङ भन्ने ठाउँमा घाइते अवस्थामा फेला पारेर प्रहरीले नियन्त्रणमा लिएको छ । चार जनाको हत्या भएको ठाउँ र राजेन्द्र राई घाइते अवस्थामा फेला परेको ठाउँ करिब ४–५ किलोमिटर दुरीमा पर्दछ । राजेन्द्र राईको पेटमा धारिलो हतियारको चोट छ । उनी जिल्ला अस्पतालमा उपचाररत छन् । उनले शनिबार राति करिब ११ बजे सासु आमाले चक्कुले हानेपछि आफूले चार जनाको हत्या गरेको बयान दिएका छन् । उनले करिब एक वर्ष अघि प्रेम विवाह गरेका थिए ।

  • ‘कुलिङ पिरियड’सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरिने

    ‘कुलिङ पिरियड’सम्बन्धमा छानबिन गर्न सात सदस्यीय समिति गठन गरिने

    २१ असार, काठमाडौं । प्रमुख राजनीतिक दलबीच सङ्घीय निजामती विधेयकमा ‘कुलिङ पिरियड’का सम्बन्धमा उठेका प्रश्न र विवादित विषयमा छानबिन गर्न संसदीय विशेष समिति गठन गर्ने सहमति भएको छ । सभामुख देवराज घिमिरे निवासमा आज प्रमुख पाँच राजनीतिक दलका प्रमुख सचेतक र सचेतकबीच भएको छलफलबाट सात सदस्यीय छानबिन समिति गठन गर्ने सहमति भएको राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

    समितिमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई–दुई तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट एकरएक जना सांसद रहनेछन् । समितिलाई गठन भएको २१ दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यदेश हुनेछ ।

    यही असार २३ गते कार्यव्यवस्था परामर्श समितिबाट समितिमा रहने सांसदको नाम टुङ्ग्याएर प्रतिनिधिसभा बैठकमा प्रस्तुत गर्ने निर्णय भएको उनले जानकारी दिए । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिबाट निजामती विधेयकमा दुई वर्षका लागि कुलिङ पिरियड राख्ने सहमति भएकामा सभाबाट पारित भइसकेपछि सोसम्बन्धी व्यवस्था फरक ढङ्गले प्रस्तुत भएको भन्ने विषयमा छानबिनका लागि समिति गठन गर्न लागिएको हो ।

  • गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्ने पक्राउ

    गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्ने पक्राउ

    १९ असार, काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार गर्नेमाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप भएको छ । गायिका चौहानले दिएको जाहेरीका आधारमा चितवनको भरतपुर महानगरपालिका–१० घर भई हाल ललितपुरको गोदावरी बस्ने ३३ वर्षका गुञ्जन राईलाई प्रहरीको साइबर ब्युरोले पक्राउ गरी आज काठमाडौँ जिल्ला अदालतमा पेस गरेको थियो ।

    अदालतको आदेशले विद्युतीय कारोबार ऐन २०६३ को कसुरमा छानबिन तथा अनुसन्धानका लागि ब्युरोलाई तीन दिनको म्याद प्राप्त भएको ब्युरोका प्रवक्ता, प्रहरी उपरीक्षक दीपकराज अवस्थीले राससलाई जानकारी दिए । उनले भने, “प्राविधिक विश्लेषण र अनुसन्धानबाट उक्त घटनामा राई नै संलग्न रहेको पाइयो, धेरै आइडी बनाएर यस्ता गतिविधि पनि गर्ने गरेको पाइएको छ, उनीमाथि अनुसन्धान जारी छ ।” उनका अनुसार राईले चरित्र हत्या हुनेगरी पीडितको तस्बिर र भिडिओसमेत पोष्ट गर्ने र पीडितकै फेसबुकमा गालीगलौज गरी चरित्रहत्या हुने खालका विषय कमेन्ट बक्समा पोष्ट गर्ने गरेको पाइएको छ ।

    गायिका चौहानले आफ्नो फेसबुक स्टाटसमा चरित्रहत्या हुनेगरी कमेन्ट गर्ने गरेको उल्लेख गर्दै यही असार १६ गते ब्युरोमा जाहेरी दिएकी थिइन् । गायिका चौहानले यो आफ्नो मात्रै लडाईं नभएको, चरित्रहत्या गर्ने अधिकार कसैलाई नभएकाले साथ दिन सार्वजनिक अनुरोधसमेत गरेकी छिन् ।

  • संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज, पद जोगियो

    संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध परेको रिट खारेज, पद जोगियो

    १९ असार, काठमाडौं । सर्वोच्च अदालतले विभिन्न संवैधानिक आयोगका ५२ पदाधिकारीविरुद्ध दायर रिट निवेदन बहुमतले खारेज हुने फैसला सुनाएको छ । केहीबेर अघि भएको यस फैसलासँगै संवैधानिक आयोगका पदाधिकारीले पूर्ण कार्यकाल काम गर्न पाउने भएका छन् । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू मनोजकुमार शर्मा, डा कुमार चुडाल र डा नहकुल सुवेदीको संवैधानिक इजलासमा उक्त विवादको सुनुवाइ भएको थियो ।

    उक्त इजलासमा भएका न्यायाधीशहरूमध्ये वरिष्ठतम् न्यायाधीश मल्ल, न्यायाधीशहरु शर्मा र डा चुडालले रिट खारेज हुने पक्षमा राय दिए । प्रधानन्यायाधीश राउत र डा सुवेदीले विसं २०७७ मङ्सिर ३० गतेको संवैधानिक परिषद्को सिफारिस र सो आधारमा भएको नियुक्ति संविधान र कानुनविपरीत भएको हुनाले उत्प्रेषणको आदेशले बदर हुने राय दिएका छन् । २०७८ वैशाख २६ गतेको दोस्रो नियुक्तिका हकमा रिट निवेदन खारेज हुने ठहर गरेका थिए ।


    अदालतले उक्त रिट निवेदनमाथि सुनुवाइ सकिएर गत जेठ २८ गते फैसला सुनाउने भनिए पनि फेरि आजका लागि फैसला सुनाउने तय गरेको थियो । लामो छलफलपछि अदालतले आज मध्यरातमा रिट खारेज हुने फैसला गरेको छ । मध्यरातमा संवैधानिक इजलास बसेर प्रधानन्यायाधीश राउतले इजलासबाटै राय बाझी फैसला भएकाबारे जानकारी गराए ।


    फैसलाको निर्णयपछि सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले बहुमत न्यायाधीशले रिट निवेदन खारेज हुने ठहर गरेको जानकारी दिए । सरकारले विसं २०७७ र २०७८ मा दुई चरणमा गरी अध्यादेशमार्फत विभिन्न संवैधानिक निकायमा ५२ पदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशमार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैरकानुनी भएको उल्लेख गर्दै सर्वोच्चमा १५ वटा रिट निवेदन दर्ता भएका थिए । ती निवेदनमाथिको सुनुवाइ गत जेठ १ गते सकिएको थियो । जेठ २८ गते निर्णय सुनाउने भनिए पनि फेरि आजका लागि मिति तय गरिएको थियो ।

  • राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय

    राष्ट्रियसभालाई विधेयकमा दुईवर्षे कुलिङ पिरियडको व्यवस्था गर्न अनुरोध गर्ने समितिको निर्णय

    १८ असार, काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दुई वर्ष अवधिको कुलिङ पिरियडका विषयमा समितिको प्रतिवेदनको व्यवस्था र भावना आवश्यक संशोधन गर्ने व्यवस्थाका लागि राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय गरेको छ । समितिको आज बसेको बैठकमा भएको छलफल र सदस्यहरूले दिनुभएको सुझावका आधारमा विधेयकमा दुई वर्षे कुलिङ पिरियडसम्बन्धी व्यवस्था गर्न राष्ट्रियसभालाई अनुरोध गर्ने निर्णय भएको सभापति रामहरि खतिवडाले जानकारी दिए ।

    निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजिनामा दिएको वा अवकास भएका कर्मचारीले सेवाबाट अवकास भएको मितिले दुई वर्ष अवधि पुरा नभइ कुनै पनि सवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन भनि विधेयकमा उल्लेख गरिए पनि त्यसलगत्तै राखिएको अर्को प्रावधानले द्विविधा उत्पन्न भएपछि समितिले उक्त अनुरोध गर्ने निर्णय गरेको हो ।

    बैठकले विधेयकको अन्तिम मस्यौदा प्रतिवेदन तयार गर्ने सन्दर्भमा समितिको मर्म र भावना विपरीतको व्यक्तिबाट के–कस्तो गल्ती कमजोरी भएको हो त्यसबारे उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन सङ्घीय संसद्का सभामुखलाई अनुरोध गर्ने निर्णय पनि गरेको छ ।

    निर्णयमा भनिएको छ, “निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजिनामा दिएको वा अवकाश भएका कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष पूरा नभइ कुनै पनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउने छैन भन्ने विषयलाई समितिबाट विधेयकको प्रतिवेदन तयार गर्दा निष्क्रिय गर्ने गराउने गरी भाषा लेख्ने काम भएकाले उक्त कार्यमा को व्यक्तिको के कति गल्ती भएको हो, उच्चस्तरीय संसदीय समितिबाट छानबिन गर्ने व्यवस्था मिलाउन सङ्घीय संसद्का सभामुखलाई अनुरोध गर्ने निर्णय गरियो ।”

    यसअघि बैठकमा केही सदस्यहरूले दुई वर्षे कुलिङ पिरियडका सन्दर्भमा एक ढिक्का भएर संसदीय समितिले पारित गरेको विधेयक फरक ढङ्गले पेस गर्ने कार्य संसदीय मर्यादा विपरीत मात्र नभइ गम्भीर प्रकारको घटना भएको जनाउँदै समिति सभापति र सचिवले यसको नैतिक जिम्मेवारी लिनुपर्ने धारणा राखे ।
    उनीहरुले मिनी पार्लियामेन्टकारूपमा रहेको संसदीय समिति कानुन बनाउने सन्दर्भमै जालझेल र षड्यन्त्र भएको जनाउँदै सरकारका तीन जनामन्त्रिबाट भएको प्रतिबद्धतापछि एक मतकासाथ पारित भएको विधेयकको महत्त्वपूर्ण पक्षलाई नै निष्क्रिय तुल्याउने गरी भएको कार्यले आमजनतामा समेत निराशा पैदा गराएकाले संलग्न दोषिलाई छानबिन गरी कारबाही गरिनुपर्नेमा जोड दिए ।


    केही सदस्यहरूले समितिको भावना अनुरुप विधेयकमा दुई वर्षे कुलिङ पिरियट राख्ने, त्यसका लागि आवश्यक संशोधनका लागि राष्ट्रियसभालाई अनुरोध गर्ने तथा छानवीन समिति गठनका लागि सभामुखलाई अनुरोध गर्न आवश्यक रहेको सुझाव दिए । सङ्घीय निजामती सेवा विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा सन्देशसहित प्रवेश गरेको छ । मुलुकमा प्रशासनिक सङ्घीयता कार्यान्वयनको दृष्टिकोणबाट अत्यन्तै महत्त्वपूर्ण मानिएको विधेयक यथाशीघ्र पारित गर्नुपर्छ भन्ने समिति धारणा रहेको सभापति खतिवडाले बताए ।

  • एकीकृत समाजवादीले नेत्री झाँक्रीलाई सोध्यो स्पष्टीकरण

    एकीकृत समाजवादीले नेत्री झाँक्रीलाई सोध्यो स्पष्टीकरण

    १८ असार, काठमाडौं । नेकपा (एकीकृत समाजवादी))ले पार्टी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको छ । पार्टी अनुशासन आयोगले पार्टी हितविपरीत अभिव्यक्ति दिएको भन्दै स्पष्टीकरण मागेको हो । युवा सङ्गठनको रूपन्देहीमा भएको कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै अभिव्यक्ति दिएको तथा पार्टी सङ्गठनको ‘अर्ली’ अधिवेशनबाट नेतृत्व तथा कार्यसमिति चयनको माग गरेका विषयमा स्पष्टीकरण सोधेको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए ।

    उक्त स्पष्टीकरण चित्तबुझ्दो नभए आवश्यक कारबाहीसमेत गर्ने जनाइएको छ । पार्टीले अध्यक्ष नेपालको अदालतमा विचाराधीन मुद्दाबारे सार्वजनिक रूपमा नबोल्न निर्देशन दिएको छ । अध्यक्ष नेपालमाथि विशेष अदालतमा दायर मुद्दाबारे पार्टीले गत जेठ २२ गते धारणा सार्वजनिक गरेकाले त्यस धारणासँग बाँझ्ने गरी पार्टी पङ्क्तिलाई कुनै अभिव्यक्ति नदिन, नलेख्न निर्देशन दिएको थियो ।

    विद्यमान परिस्थितिलाई कसरी सामना गर्ने भन्नेबारे आवश्यक निर्णय संस्थागत रूपमा लिने बताउँदै पार्टीले सार्वजनिक रूपले नबोल्न पार्टीका सबै तहका नेतालाई आग्रह गरेको थियो । पार्टीका बैठकमा आफ्ना धारणा राख्न तथा छलफल गर्न पाइने भएकाले कुनै पनि बहानामा सार्वजनिक वाद–प्रतिवादमा नउत्रिन सबैलाई निर्देशन दिइएको जनाइएको छ ।

    पतञ्जली जग्गा सट्टापट्टा प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पार्टी अध्यक्ष नेपालसहितलाई विशेष अदालतमा मुद्दा दायर गरेपछि केही नेताहरूले पार्टी भावनाविपरीत अभिव्यक्ति दिन थालेकाले पार्टीले जथाभावी नबोल्न सूचीत गरेको हो ।

  • स्रोत नखुलेको २८ लाख रकमसहित तीन पक्राउ

    स्रोत नखुलेको २८ लाख रकमसहित तीन पक्राउ

    १८ असार, वीरगञ्ज । स्रोत नखुलेको रु २८ लाख २८ हजार हुण्डीको रकमसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पर्सा प्रहरीका प्रवक्ता किशोर लम्सालका अनुसार हुण्डी कारोबारमा संलग्न रहेको आशङ्कामा पकाहामैनपुर गाउँपालिका–२ का अनिल वर्णवालाई रु नौ लाख ४७ हजारसहित र वीरगञ्ज महानगर आर्दशनगरबाट र वडा नं ३ का विनितकुमार श्रीवास्तवलाई १५ लाख ८१ हजारसहित पक्राउ गरिएको हो ।

    त्यसैगरी, बाराको परवानीपुर गाउँपालिका–४ का स्थायी बासिन्दा दीपककुमार सोनारलाई रु तीन लाखसहित पक्राउ गरिएको हो । अभियुक्तहरूलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डीसम्बन्धी कारोबार गर्न नहुने) कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिई अनुसन्धान भइरहेको छ ।

  • दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

    दुई सय १२ किलो गाँजासहित चार जना पक्राउ

    काठमाडौँ, १४ असारः परवानीपुर गाउँपालिका–५ बहुअरीबाट गाँजा २१२ किलो ९२८ ग्राम सहित ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बारा, इलाका प्रहरी कार्यालय प्रसौनी र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले हेटौंडाबाट बारातर्फ आउँदै गरेको प्र।३–०१–०२४ च ४६३० नम्बरको पिकअप गाडी जाँच गर्ने क्रममा धानको भुस भरेको बोरामा लुकाई ल्याएको उक्त परिमाणको गाँजासहित उनीहरूलाई आज पक्राउ गरिएको हो ।

    केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार मकवानपुर थाहा नगरपालिका–४ पालुङका २८ वर्षीय रवि कार्की, सोही नगरपालिका–१२ टिसटुङका ४६ वर्षीय वीरबहादुर गोले, हेटौँडा उपमहानगरपालिका–१४ उतरपानीका २३ वर्षीय साजन मुक्तान र धादिङ थाक्रे गाउँपालिका–७ आपसी चोक निवासी ३१ वर्षीय महेश तमाङलाई पक्राउ गरिएको हो ।

  • पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    पूर्वप्रधानमन्त्री माधव कुमार नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

    ११ असार, काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई विशेष अदालतले ३५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । विशेष अदालतका सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासले पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको आरोपमा पूर्वप्रधानमन्त्री नेपाललाई धरौटीमा छाड्न आदेश दिएको हो । आजै थुनछेक बहस भएको थियो । पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको निर्णयबाट हदबन्दी छुटमा पाएको जग्गा पछि मन्त्रिपरिषदकै निर्णयबाट बिक्री गरेको भेटिएपछि अख्तियारले छानबिन थालेको थियो ।

    भूमिसम्बन्धी ऐन, २०२१ मा कुनै उत्पादनमूलक उद्योग वा व्यवसाय गर्न सरकारले हदबन्दीमा छुट हुने गरी जग्गा राख्ने सुविधाको व्यवस्था छ । तर त्यसरी सुविधामा खरिद गरेको जग्गा बिक्री गर्न पाइदैन । हदबन्दी छुटमा पाएको जग्गा सरकारले नै बिक्री गर्न अनुमती दिएपछि प्रश्न उठेको थियो । भारतको पतञ्जलि योगपीठले काभ्रेमा आयुर्वेद शिक्षालयदेखि अस्पताल र जडीबुटी फार्म सञ्चालन गर्न २०६४ सालमा कम्पनी दर्ता गरेको थियो । हदबन्दीभित्रको जग्गाले नपुग्ने भएपछि उसले सरकारलाई हदबन्दी छुटमा जग्गा राख्ने अनुमति दिन आग्रह गरेको थियो ।

    १८ माघ, २०६६ मा माधव कुमार नेपाल नेतृत्वको मन्त्रिपरिषदले पतञ्जलिलाई काभ्रेमा ८१५ रोपनी जग्गा किन्न छुट दिएको थियो । त्यतिबेला पतञ्जलिले करिब ६ सय रोपनी जग्गा किनेको थियो । कतिपय जग्गा त्यसभन्दा अघि नै खरिद भएको थियो । जग्गा किनेको केही महिनामा नै उसले जग्गा बेच्ने निर्णय गर्‍यो । कानूतः हदबन्दी छुटको जग्गा बेच्न मिल्दैन, कम्पनी विघटन हुँदा सहुलियतको जग्गा स्वतः सरकारीकरण हुने कानूनी व्यवस्था छ । तर २०६६ सालमै तत्कालिन सरकारले जग्गा बिक्री गर्न अनुमति दिने निर्णय गरेको थियो ।

  • पूर्वप्रम नेपालविरुद्धको मुद्दा : थुनछेक बहस सकियो

    पूर्वप्रम नेपालविरुद्धको मुद्दा : थुनछेक बहस सकियो

    ११ असार, काठमाडौं । विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल लगायतविरुद्धको भ्रष्टाचारसम्बन्धी मुद्दाको थुनछेक बहस सकिएको छ ।
    आज पूर्वप्रधानमन्त्री नेपाल विशेष अदालतमा उपस्थित भएसँगै अपराह्नदेखि उनीसँग बयान लिइएको थियो । त्यसपछि दुवै पक्षका वकिलहरूले थुनछेक बहस गरेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले राससलाई जानकारी दिए ।

    उनका अनुसार न्यायाधीशहरू तेजनारायण सिंह, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा नेपालका तर्फबाट पाँच र सरकारी पक्षबाट पाँच जना वकिलले बहस गरे । पतञ्जलि योगपिठको हदबन्दी जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ९३ जनाविरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो ।

    आरोपपत्रमा पूर्वप्रम नेपालविरुद्ध १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो मागदाबी गरिएको छ । विगतमा पतञ्जलि योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपपत्र विशेष अदालतमा दर्ता भएको हो । आदेश आजै आउने तयारी भएको जनाइएको छ ।

  • भिजिट भिसाबारे गठित उच्चस्तरीय छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी

    भिजिट भिसाबारे गठित उच्चस्तरीय छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी

    १० असार, काठमाडौं । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे गठित उच्च स्तरी छानविन समितिको कार्यादेशबारे सदनलाई जानकारी गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उहाँले सो समिति गठन र कार्यादेशका बारेमा जानकारी गराएका हुन् ।

    उनले भने, “अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हाल भइरहेको अनुसन्धानकार्यमा असर नपर्ने गरी अध्यागमन व्यवस्थापन, भिजीट भिसालगायत अन्य भिसा र सोबाट सृजित समस्याका सम्बन्धमा अध्ययन एवं छानबिन गरी देहायका क्षेत्रमा केन्द्रीत रही सुझावसहितको प्रतिवेदन पेश गर्ने समितिको कार्यक्षेत्र रहेको छ ।”

    अध्यागमन व्यवस्थापन, भिजिट भिसालगायत सबै प्रयोजनका लागि विदेश जाने आउने व्यक्तिको यात्रालाई सहजीकरण सम्बन्धमा अध्ययन, विश्लेषण एवं तथ्यगत छानबीन गरी देखिने सशया समाधान गर्न नीतिगत, कानुनी एवं संरचनागत सुधारको तत्कालीन र दीर्घकालीन कार्ययोजना प्रस्ताव गर्ने गृहमन्त्री लेखकले बताए ।

    उनले अध्यागमन व्यवस्थापन, भिजिट भिसालगायत सबै प्रयोजनका लागि विदेश जाने तथा नेपाल भित्रिने व्यक्तिको यात्रालाई सहजीकरण गर्न प्रचलित ऐन, नियमावली, कार्यविधि, मापदण्डलगायत नीतिगत र कानुनी व्यवस्थामा संशोधन वा पुनरावलोकन आवश्यक भए सो को मस्यौदासहितको सुझाव पेश गर्ने पनि बताए ।


    “अध्यागमन व्यवस्थापनमा विद्यमान संरचनागत व्यवस्था, कर्मचारी व्यवस्थापनमा सुधारका लागि प्रस्तावसहितको सुझाव पेश गर्ने र अध्यागमन व्यवस्थापन र नागरिकको आगमन तथा प्रस्थानमा समस्या सृजना हुन नदिन सम्बद्ध निकायबीचको समन्वय र सहकार्यमा गर्नुपर्ने सुधार एवं व्यवस्था बारेमा सुझाव पेश गर्नेछ”, कार्यादेशमा उल्लेख छ । अध्यागमन व्यवस्थापन र नागरिकको यात्रा सहजीकरण सम्बन्धमा अन्तरराष्ट्रिय असल अभ्यासको अध्ययन गरी नेपालको परिवेश अनुरुप कार्यान्वयन गर्न सकिने सुझाव पेश गरिने छ ।

    “भिजिट भिसा, श्रम भिसालगायतका अन्य भिसा प्रयोग गरी यात्रा गर्ने व्यक्तिले बेहोर्नुपरेको समस्या तथा विदेशमा अवैधरुपमा बस्दा उत्पन्न हुने समस्याका सम्बन्धमा आवश्यक अध्ययन गरी सोको रोकथाम गर्न अपनाउनुपर्ने उपायका सम्बन्धमा सुझाव पेश गरिने छ”, कार्यादेशमा भनिएको छ । समितिले अध्यागमन प्रणालीलाई प्रविधिमैत्री, सरल, सहज र छिटो छरितो बनाइ सेवा प्रवाह प्रभावकारी बनाउन आवश्यक सुझाव दिने र विदेश प्रस्थान तथा आगमन गर्ने विषयसँग सम्बन्धित सरोकारवाला निकाय वा संस्थाको भूमिका व्यवस्थित गर्न आवश्यक सुझाव पेश गर्ने कार्यादेशमा भनिएको छ ।

    समितिले अध्यागमनको आगमन र प्रस्थानको अभिलेखलाई सुरक्षित, दुरुस्त राख्न अपनाउनुपर्ने उपायका बारेमा सुझाव दिने र आफ्नो कार्यविधि आफैँ निर्धारण गर्ने, समितिले आवश्यकताअनुसार सरकारी, गैरसरकारी संस्थाका पदाधिकारीलाई आमन्त्रण गरी सुझाव लिन सक्ने छ । समितिले तीन महिनाभित्र नेपाल सरकार समक्ष प्रतिवेदन पेश गर्नुपर्ने छ ।

    पूर्वमुख्य सचिव शङ्करदास वैरागिको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा छानविन समिति गठन गरेको छ । गृहमन्त्री लेखकले समितिका सदस्यमा ६ मन्त्रालयका सहसचिव रहनुभएको जानकारी दिए ।समितिको सदस्यमा सहसचिव तीर्थराज चिलवाल (अर्थ), अरुणा जोशी (कानुन, न्याय तथा संसदीय मामिला), रामकृष्ण लामिछाने (संस्कृति, पर्यटन तथा नागरिक उड्डयन), मणिरत्न कोइराला (परराष्ट्र) प्रदीप कोइराला (श्रम, रोजागार तथा सामाजिक सुरक्षा) र गृह मन्त्रालयका सहसचिव आनन्द काफ्ले रहेका छन् ।

  • ६१ किलो सुन तस्करीका आरोपी अमला रोका रिहालगत्तै पक्राउ

    ६१ किलो सुन तस्करीका आरोपी अमला रोका रिहालगत्तै पक्राउ

    ९ असार, काठमाडौं । एकसट्ठी किलो सुन तस्करी प्रकरणका आरोपी अमला रोकालाई आज रिहालगत्तै प्रहरीले पक्राउ गरेको छ । काठमाडौँ जिल्ला अदालतमा आज भएको थुनछेक बहसपछि न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई रु दुई लाख धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतको आदेशपछि रिहा भएगत्तै उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले पक्राउ गरेको हो ।

    सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक होबिन्द्र बोगटीले सम्पत्ति शुद्धीकरणमा समेत मुद्दा रहेकाले उनलाई नियन्त्रणमा लिएर सम्पत्ति शुद्धीकरण विभागमा बुझाइएको जानकारी दिए । अमला सुन तस्करी प्रकरणमा पक्राउ परी हाल थुनामा रहेका बेल्जियम नागरिक दावा छिरिङकी श्रीमती हुन् । राजस्व अनुसन्धान विभागले २०८० साल साउन २ गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट भन्सार जाँच पास गरी बाहिरिएको झण्डै ६१ किलो सुन सिनामंगलबाट बरामद गरेको थियो ।

    त्यसको अनुसन्धानपछि प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले अमलासहित २९ जनाविरुद्ध अभियोजन दर्ता गरेको थियो । त्यसयता फरार रहेकी रोकालाई काठमाडौँको टोखाबाट यही असार ६ गते पक्राउ गरिएको थियो । अदालतमा पेस भएकी उनीविरुद्धको मुद्दामा आइतबार र आज थुनछेक बहस भएको थियो ।

  • पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर

    पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा आरोपपत्र दायर

    ८ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा मिलनकुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार अभियोगमा विशेष अदालतमा आज आरोपपत्र दायर गरेको छ । कोषका सदस्यसचिव डा थापा, तत्कालीन सदस्यसचिव एवं हाल परिषद् सदस्य राजुकुमार खत्री, तत्कालीन कार्यकारी निर्देशक डा घनश्याम खतिवडासमेत १४ जना र दुई कम्पनीउपर पशुपति क्षेत्र विकास कोष-सार्वजनिक संस्थाको सम्पत्ति हिनामिना-हानिनोक्सानी गरी गराई भ्रष्टाचार गरेकोसम्बन्धी आरोपपत्र विशेष अदालत काठमाडौँमा दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    उनका अनुसार पशुपतिमा विद्युतीय शवदाहगृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानिनोक्सानी पु¥याएर भ्रष्टाचार गरेको अभियोगमा उनीहरूविरुद्ध रु १० करोड ३३ लाख ९१ हजार ३० बिगो मागदाबीसहित आज आरोपपत्र दायर गरिएको हो । उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिमको कसुर भएको हुँदा उल्लिखित कसुरमा संलग्न प्रतिवादीहरू उपर सजायको मागवादी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।

  • समाचार हटाउन अदालतले दिएको आदेश खारेज

    समाचार हटाउन अदालतले दिएको आदेश खारेज

    ५ असार, काठमाडौं । जिल्ला अदालत काठमाडौँले सञ्चारमाध्यममा प्रकाशित समाचार हटाउने भनी दिएको रिट निवेदन खारेज गरेको छ । अदालतका न्यायाधीश श्यामविहारी मौर्यको एकल इजलासले आज धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पेस गरेको रिट निवेदन खारेज गरेको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए ।

    ‘नेपाल खबर डटकम’ र ‘बिजमाण्डु डटकम’मा प्रकाशित समाचार हटाउन माग गर्दै अदालतमा रिट दायर गरिएको थियो । अदालतका सूचना अधिकारी श्रेष्ठले यसअघि अदालतले बोर्डका अध्यक्ष श्रेष्ठकाबारेमा प्रकाशित समाचार हटाउन अन्तरिम आदेश दिएको भए पनि आज भएको आदेशमा रिट नै खारेज भएसँगै समाचार हटाउन नपर्ने भएको बताए ।

  • महानगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश

    महानगर प्रहरी प्रमुखको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश

    ४ असार, काठमाडौं । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेको निलम्बन कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । उच्च अदालतका न्यायाधीश ऋषि राजभण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले आज पाण्डेको निलम्बन कार्यान्वयन नगर्न र कामकाज नियमित गर्न दिन अन्तरिम आदेश दिएको अदालतका सूचना अधिकारी पार्वती हितानले जानकारी दिइन् ।

    महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेलाई जेठ २० गते छ महिनाका लागि निलम्बन गरेका थिए । उक्त निलम्बनविरुद्ध पाण्डेले बिहीबार उच्च अदालतमा उत्प्रेषणको रिट दायर गरेका थिए । निवेदनको टुङ्गो नलागेसम्म पाण्डेलाई पदमा रही कामकाज गर्न दिन उच्च अदालतले अन्तरिम आदेशमा भनेको छ ।

  • विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

    विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित पक्राउ

    ४ असार, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट एक किलो १५९ ग्राम सुनसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ५३ वर्षीय मीना सुरजितसिंह खेमानी रहेको केन्द्रीय प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

    उनले भने, “एयर अरेवियाको उडानद्वारा शारजाहबाट काठमाडौँ आएकी निज खेमानी विमानस्थलको आगमन भन्सार एरियाको टनेल गेटबाट करिब एक किलो १५९ ग्राम तौलको सुन जस्तो देखिने अर्धठोस् पदार्थसहित पक्राउ परेकी हुन् ।” प्रहरीले प्लास्टिकले ‘¥याप’ गरेको तीन वटा डल्लाको सुन जस्तो देखिने अर्धठोस् पदार्थ फेला पारी पक्राउ गरेको र यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रवक्ता घिमिरेले बताए ।

  • रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु

    रसुवाको दुई स्थानमा तीन जनाको मृत्यु

    ३ असार, रसुवा । रसुवाको दुई स्थानमा तीन जनाको निधन भएको छ । नौकुण्ड गापा वडा नं ५ र कालिका गापा वडा नं ५ को सिमाना पाहाखोलामा दुई बालिकाको शव फेला परेको र कालिका गापा वडा नं १ ग्राङ गाउँमा भर्‍याङले थिची एक महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

    नौकुण्ड गापा वडा नं ५ सिस्नेरीका लालबहादुर मुक्तानको छोरीद्वय १३ वर्षकी सर्गम मुक्तान र १० वर्षकी सविना मुक्तान खोलामा मृतावस्थामा आज फेला परेको र ग्राङका वर्ष ४३ की चिर्की तामाङ निर्माणाधीन बौद्य गुम्बाको भर्‍याङ भत्किँदा घाइते भई उपचारको क्रममा जिल्ला अस्पताल धुञ्चे लाँदैगर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख हेमबहादुर शाहीले बताए ।

    शव परीक्षणका लागि दुई बालिकाको त्रिशूली अस्पताल पठाइएको छ । तीनै जनाको मृत्युका सम्बन्धमा प्रहरीद्वारा अनुसन्धान जारी राखिएको बताइएको छ ।

  • अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा

    अष्ट्रेलियामा सर्भर राखेर कर छली, झन्डै एक अर्ब ३७ करोड असुलीको माग दाबीसहित मुद्दा

    २ असार, काठमाडौं । काठमाडौँको तीनकुनेमा रहेको एक कम्पनीका शेयरधनी तथा सञ्चालकहरुले अष्ट्रेलियामा सर्भर राखेर मिलेमतोमा करोडौँको कर छली गरेको पाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । त्यसरी कर छलीमा काठमाडौँ महानगरपालिका–३२ तीनकुनेस्थित नेपाल क्यान मुभ प्रालिका शेयरधनीरसञ्चालकहरु सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल संलग्न रहेको अभियोगमा मुद्दा चलाइएको विभागकी उपमहानिर्देशक एवं प्रवक्ता कृष्णकुमारी श्रेष्ठले जानकारी दिइन् ।


    प्रवक्ता श्रेष्ठले उनीहरूले मिलेमतोमा ६८ करोड ४४ लाख ५७६० रुपैयाँ बिगो बराबरको कर छली गरेको दाबीसहित त्यसको शत्प्रतिशत जरिवानासमेत गरी रु एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुल उपर गर्नुपर्ने मागदाबीसहित उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी दिए । मतियारका रूपमा काम गरेकाले उप–कार्यकारी निर्देशक सङ्गम पौडेलको हकमा भने अन्य आरोपीको भन्दा आधा सजायको मागदाबी गरिएको छ ।

    विभागले उक्त कम्पनीको कारोबारस्थलमा गरेको आकस्मिक निरीक्षणबाट आफ्नो व्यावसायिक कारोबारका लागि प्रयोगमा ल्याएको अनलाइन प्रणाली नियन्त्रणमा लिई आव २०७६–०७७ देखि आव २०८१र८२ को फागुन महिनासम्मको कारोबार खुल्ने ट्रायल ब्यालेन्सलगायत महत्त्वपूर्ण कागजात तथा प्रमाणहरू रितपूर्वक बरामद गरी अनुसन्धान गर्दा कम्पनीले उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी सेवा बिक्रीको ठूलो कारोबार आन्तरिक राजस्व विभागमा पेस गरेको मूल्यअभिवृद्धि कर आय विवरणमा नदेखाई बिक्री आय लुकाई ठूलो परिमाणमा मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको पाइएको जनाएको छ ।

    उक्त करछलीका सम्बन्धमा अनुसन्धान गर्दा शेयरधनीरसञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेल संलग्न रहेको पाइएपछि उनीहरूविरुद्ध मुद्दा चलाइएको विभागले जनाएको छ । दायर अभियोजनमा प्रस्तुत मुद्दामा कार्गो तथा कुरियर व्यवसाय गर्ने प्रतिवादीहरुले व्यावसायिक कारोबार गन एनसिएम पोर्टल आव २०७६–७७ देखि नै सञ्चालनमा ल्याएकामा नेपालको कर प्रशासनको निगरानीलाई छल्न उक्त पोर्टलको सर्भर अष्ट्रेलियामा राखी नेपालमा सेवा बिक्री लुकाउनेरछिपाउने कार्य गरेको दाबी गरिएको छ ।

    अनुसन्धानका क्रममा उक्त कम्पनीले अधिकांश शेयर स्वामित्व भएका प्रतिवादीहरू सुदीप आचार्य (५५.३३ प्रतिशत) र जीवन ज्ञवाली (१६ प्रतिशत)लाई विभागले पटकपटक ताकेता गर्दासमेत उपस्थित नभई फरार रहेको विभागले जानकारी दिएको छ । कम्पनीले सेवा बिक्रीलाई तोडमोड गरी म्यानुअल तवरले बिलिङ गरी वास्तविक बिक्री कारोबार लुकाएको पाइएकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ विपरित कार्य गरी विभिन्न तवरले रु ६८ करोड ४४ लाख ५७६० रुपैयाँ बिगो बराबरको कर छली गरेको विभागको दाबी छ ।

    प्रतिवादीहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य, मिठु पौडेल र उप–कार्यकारी निर्देशक सङ्गम पौडेलसमेतले एकापसमा मिलोमतो गरी उक्त कम्पनीको सर्भर अष्ट्रेलियाबाट सञ्चालन गरेर नेपालको कर प्रशासनको पहुँचभन्दा बाहिर राखी मूल्य अभिवृद्धि कर र आयकरसमेत छली गरेको तथ्य प्रमाणि भएको विभागले जनाएको छ ।

    विभागल भनेको छ, “उनीहरूले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेध गरेको कार्य तथा सोही ऐनको दफा ४ को खण्ड (क), (च) र (झ) बमोजिमको कसुर गरेको देखिएकाले प्रतिवादी शेयरधनी÷सञ्चालकहरू सुदीप आचार्य, जीवन ज्ञवाली, गङ्गाबहादुर थापा, मनिषप्रसाद आचार्य र मिठु पौडेलसमेतलाई विस्तृत अनुसन्धान तथा तहकिकात प्रतिवेदनको बिगो गणना तालिकाअनुसार बिगो रकम असुल गर्ने तथा बिगोको शत्प्रतिशत जरिवानासमेत गरी एक अर्ब ३६ करोड ८८ लाख ११ हजार ५२० असुलउपर गरी त्यसबाट कानुनसम्मत् ब्याजसमेत लगाई कैद सजायको मागदावी लिइएको छ ।”

    यता कम्पनीका उप–कार्यकारी निर्देशक सङ्गम पौडेलले मतियारका रूपमा काम गरेको दाबीसहित विभागले मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुन तथा अपराध पीडित संरक्षण ऐन, २०७५ को दफा ४१ बमोजिम प्रतिवादीहरुबाट क्षतिपूर्ति शुल्क भराउने मागदाबी लिई मुलुकी फौजदारी कार्यविधिसंहिता, २०७४ को अनुसूची २० बमोजिम उच्च अदालत पाटनमा मुद्दा दर्ता गरिएको जानकारी गराएको छ ।

  • विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

    विश्वविद्यालयमा तोडफोड गर्नेलाई कारबाहीको दायरमा ल्याउन प्रधानमन्त्रीको निर्देशन

    २ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालयमा तोडफोड र हिंसात्मक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्न गृहमन्त्री रमेश लेखकलाई निर्देशन दिएका छन् । विश्वविद्यालयका पदाधिकारीसँग आज सिंहदरबारमा भएको छलफलमा विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री ओलीले तोडफोडमा संलग्न जो भए पनि निजले उन्मुक्ति पाउन नहुनेमा गृहमन्त्री लेखकलाई ध्यानाकर्षण गराएको जानकारी दिए । विश्वविद्यालयका निमित्त उपकुुलपति प्रा डा खड्ग केसीले कुलपति ओलीलाई विश्वविद्यालयमा सुरक्षा व्यवस्था सुदृढ गरी शान्तिपूर्ण वातावरण बनाउनुुपर्ने लिखितपत्र प्रस्तुत गर्दै आफूहरुले तोडफोडमा संलग्नलाई कारबाहीका लागि प्रहरीमा उजुरी दिए पनि पक्राउ परेका दोषीहरु रिहा गरिएकामा चिन्ता व्यक्त गरे ।

    असुरक्षाका कारण हाल विश्वविद्यालयका पदाधिकारीले कीर्तिपुर बाहिरबाटै सेवा सञ्चालन गरिरहेको अवगत गराए । निमित्त उपकुुलपति केसीले कुलपति ओलीको पहलबाट आफूहरुलाई सुरक्षाको प्रत्याभूतिको आशा जागेको राससलाई जानकारी दिए । गत फागुन २१ गते कीर्तिपुरस्थित विश्वविद्यालयका शिक्षाध्यक्ष र विज्ञान तथा प्रविधि अध्ययन संस्थानको डीनको कार्यालय तथा प्रदर्शनीमार्गस्थित रत्न राज्यलक्ष्मी क्याम्पसमा र गत जेठ १४ गते कीर्तिपुुरस्थित उपकुलपतिको कार्यालयमा तोडफोड भएको थियो ।

  • बूढानीलकण्ठमा दुईजना मृत फेला

    बूढानीलकण्ठमा दुईजना मृत फेला

    काठमाडौँ, १ असारः काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–४ पासिकोटमा दुईजना मृत फेला परेका छन् । बूढानीलकण्ठ–४ पासिकोटस्थित थ्रिस्टार किडजोन स्कुलको कम्पाउन्डभित्र रहेको सुनिता सिंह ठकुरीको घरमा भारतको चण्डिगढ घर भएका ५४ वर्षीय परमनारायण गिल र धादिङको गल्छी गाउँपालिका–६ घर भई हाल सोही घरमा काम गरी बस्ने २८ वर्षीया अन्जना तामाङ मृत फेला परेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । अन्जनाको टाउकामा चोट रहेको उनले बताए । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ । प्रहरी स्रोतका अनुसार अन्जना सो घरमा काम गर्ने गर्थिन् ।

  • विदेश पठाइदिन्छु भन्दै लाखौं ठग्ने दुई जना पक्राउ

    विदेश पठाइदिन्छु भन्दै लाखौं ठग्ने दुई जना पक्राउ

    रासस
    १ असार, काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र बेलायत पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन् ।

    पक्राउमध्ये राज कुमारले अमेरिका पठाइदिन्छु भन्दै तीन जनाबाट रु ३५ लाख ६९ हजार र ओमबहादुरले बेलायत पठाइदिन्छु भन्दै एक जनाबाट रु ६ लाख ७५ हजार लिई सम्पर्कविहीन भएका थिए । पीडितको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले राजकुमारलाई काठमाडौँ महानगरपालिका–१६ बाट र ओमबहादुरलाई काठमाडौँ महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

    पक्राउमध्ये राजकुमारलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौँ र ओमबहादुरलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको छ । त्यसैगरी, ठगीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी काठमाडौँ महानगरपालिका–१० बस्ने कञ्चनपुर भीमदत्त नगरपालिका–१४ का २३ वर्षीय खगेन्द्र विष्टलाई प्रहरीले पक्राउ गरेको छ । उक्त मुद्दामा फरार रहेका उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले काठमाडौँ महानगरपलिका–१० मध्यबानेश्वरबाट पक्राउ गरेको हो ।

    उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कञ्चनपुर पठाइएको छ । काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित फलफूल मण्डि नजिकैबाट नियन्त्रित लागुऔषध ट्रामाडोल ७३ हजार नौ सय ट्याब्लेटसहित काठमाडौँ महानरपालिका–१४ बल्खु बस्ने नुवाकोट पञ्चकन्या गाउँपालिका–२ का २६ वर्षीय राजु मिजारलाई प्रहरीले पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सोही ठाउँस्थित खाली जग्गामा रोकिराखेको युपी ७८ सिबी ९८३५ नम्बरको कार खानतलासी गर्दा कारको ढोकाको भागमा फल्स बटम बनाई लुकाइछिपाई राखिएको र डिकीमा रहेको अक्सिजन सिलिण्डरभित्र लुकाइछिपाई राखिएको उक्त लागुऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

  • माधव नेपालको सांसद पद निलम्बनसम्बन्धी जानकारी संसदमा

    माधव नेपालको सांसद पद निलम्बनसम्बन्धी जानकारी संसदमा

    ३० जेठ, काठमाडौं । सभामुख देवराज घिमिरेले सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी गरेको अभियोगमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हुनाले उक्त मुद्दाको किराना नहुँदासम्म सांसद पद स्वतः निलम्बन हुने सदनलाई गराएका छन् ।

    आयोगले पताञ्जली योगपीठ तथा आयुर्वेद कम्पनी काभ्रेपलाञ्चोक जिल्लाको नासिकास्थान साँगा महेन्द्रज्योतिमा हदबन्दीभन्दा बढी जग्गा खरिदका सम्बन्धमा सरकारी सार्वजनिक सम्पत्ति हिनामिना र हानिनोक्सानी भएको भन्ने अभियोग पूर्व प्रधानमन्त्री नेपालविरुद्ध दर्ता गरेकाले सांसद पद स्वतः निलम्बन भएको सभामुख घिमिरे सदनलाई जानकारी गराए । सभामुख घिमिरले तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)बाट २०६४ सालमा संविधानसभामा सभानुपातिक सदस्यमा निर्वाचित वीरेन्द्र ज्वारचनको ६९ वर्षको उमेरमा निधन भएकोप्रति शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको घोषणा गरे ।

    समाजसेवीसमेत रहनुभएका उहाँको जेठ २९ गते मुस्ताङस्थित आफ्नो निवासमा मृत्यु भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी असार १ गते आइतबार ११ः०० बजे बस्ने गरी बोलाइएको छ ।

  • पत्नीको कुटपिटबाट पतिको मृत्यु

    पत्नीको कुटपिटबाट पतिको मृत्यु

    ३० जेठ, टक्सार । भोजपुरमा पत्नीको कुटपिटबाट पतिको मृत्यु भएको छ । घरायसी विवाद हुँदा पत्नीको कुटपिटबाट पति गम्भीर घाइते भएका थिए । भोजपुर नगरपालिका–३ गुप्तेश्वरका ३० वर्षीय प्रकाश राईको पत्नीको कुटपिटबाट मृत्यु भएको प्रहरीले जनाएको छ ।

    बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट घाइते भएका प्रकाशलाई शुक्रबार बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए ।

    गुप्तेश्वर घर भए पनि राईको परिवार टेम्केमैयुङ गाउँपालिका–१ तिम्मामा बसोबास गर्दै आइरहेको थियो । विवादमा पत्नी सुमित्राले पतिमाथि कुटपिट गरेको र उनको सोही कारण मृत्यु भएको विषयमा थप अनुसन्धान जारी राखिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तिमिल्सिनाले बताए ।

  • प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

    प्रसाईंसहित सात जनालाई डिल्लीबजार कारागार चलान

    ३० जेठ, काठमाडौं । काठमाडौँको तीनकुनेमा पूर्वराजा समर्थकको प्रदर्शनमा अवाञ्छित गतिविधिमामा संलग्न रहेको अभियोगमा पक्राउ परेका दुर्गा प्रसाईंसहित सात जनालाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासले ज्यान मुद्दामा अभियोजन गरिएका सात जनालाई गए राति थुनामा पठाउन आदेश भएका निजहरूलाई काठमाडौँको डिल्लीबजार कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए ।

    उनले भने, “जिल्ला अदालत काठमाडौँको आदेशअनुसार, दुर्गा प्रसाईं, सरोज गौतम, गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशव बस्नेत र जीतबहादुर श्रेष्ठलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।” पूर्वराजाको समर्थनमा गत चैत १५ गते भएको प्रदर्शनमा तीनकुनेस्थित घरमा आगजनी हुँदा समाचार सङ्कलन गर्न गएका पत्रकार सुरेश रजकको ज्यान गएको थियो ।

  • प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा

    प्रसाईँसहित सात जना पुर्पक्षका लागि थुनामा

    ३० जेठ, काठमाडौं । जिल्ला अदालत काठमाडौँले आपराधिक उपद्रवको आरोपमा दुर्गा प्रसाईँसहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश धु्रवराज कार्कीको इजलासले बिहीबार राति गत चैत १५ गते तीनकुनेमा भएको घटनाका सन्दर्भमा प्रसाईँसहित सात जनालाई थुनामा पठाउने आदेश दिएको हो । अदालतले सोही घटनामा संलग्न ३२ जनालाई रु १० हजारदेखि रु एक लाखसम्म धरौटी लिएर थुनामुक्त गर्ने आदेश दिएको छ । आदेश मध्यराती सार्वजनिक गरिएको हो ।

  • कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

    कर्णालीमा छ दिनमा २७ फरार अभियुक्त पक्राउ

    रासस
    २९ जेठ, कर्णाली । नेपाल प्रहरीले कर्णाली प्रदेशभर छ दिनमा २७ जना फरार अभियुक्त पक्राउ गरेको छ । प्रदेश प्रहरी कार्यालय मातहतका विभिन्न जिल्लाहरूमा फरार अभियुक्तलाई पक्राउ गर्ने अभियानअन्तर्गत पछिल्ला छ दिनमा २७ जनालाई पक्राउ गरिएको हो । विभिन्न अपराधमा संलग्न रही अदालतबाट कैद तथा जरिवाना तोकिएका फरार अभियुक्तलाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार ती अभियुक्तहरू अदालतको फैसला कार्यान्वयन छली फरार रहेका थिए ।

    प्रहरीले विशेष निगरानी, सुराकी र रणनीतिक अनुसन्धानका आधारमा उनीहरूलाई पक्राउ गरी सम्बन्धित अदालतमा पेस गरिएको प्रहरी नायब महानिरीक्षक श्रेष्ठले बताए । पक्राउ परेका अभियुक्तहरूबाट हालसम्म जम्मा ३२ वर्ष ११ महिना २० दिन कैदसजायसहित रु २३ हजार १०० बराबरको जरिवाना असुल गरिएको उनले बताए ।
    प्रहरीका अनुसार अदालतको आदेश कार्यान्वयन गर्दै न्याय सम्पादनमा सघाउने उद्देश्यले फरार अभियुक्तलाई खोजी–पक्राउ गर्ने अभियानलाई थप तीव्र बनाइएको छ । यस अभियानले अपराधमुक्त समाज निर्माणमा सहयोग पु¥याउने विश्वास प्रहरीले गरेको छ । प्रहरीले अदालतको निर्णय शीघ्र कार्यान्वयन हुन सकोस् भन्दै फरार अभियुक्तसम्बन्धी सूचना दिन सबैलाई आग्रह गरेको छ ।

  • संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुनः सर्‍यो

    संवैधानिक आयोगका पदाधिकारीविरुद्धको सुनवाइको फैसला पुनः सर्‍यो

    २८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले ५२ जना संवैधानिक आयोगका पदाधिकारीविरुद्ध दायर रिट निवेदनमाथिको निर्णय सुनाउने मिति आगामी असार १८ गतेलाई तोकेको छ। प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत, न्यायाधीश सपना प्रधान मल्ल, मनोजकुमार शर्मा, डा कुमार चुँडाल र डा नहकुल सुवेदीका इजलासमा रहेको सो मुद्दाविरुद्धको फैसलाको निर्णय सुनाउने मिति पुनः सरेको हो ।

    सर्वोच्च अदालतका सहप्रवक्ता नीराजन पाण्डेले संवैधानिक आयोगका पदाधिकारीविरुद्धका निवेदनमा आज सुनाउने भनिएको फैसला आगामी असार १८ गतेका लागि सरेको जानकारी दिए । सरकारले २०७७ र २०७८ सालमा दुई चरणमा गरी अध्यादेशमार्फत संवैधानिक आयोगमा ५२ जनापदाधिकारी नियुक्त गरेको थियो । अध्यादेशमार्फत संवैधानिक आयोगमा पदाधिकारी नियुक्ति गर्नु गैरकानुनी भएको उल्लेख गर्दै १५ रिट निवेदन दर्ता भएको थियो । सोही निवेदनमाथिको सुनुवाइ यही जेठ १ गते सकिएको थियो ।