Category: कानुनी कुरा

  • निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने

    निर्वाह भत्ता कार्यान्वयन नगरे निजी मेडिकल कलेजका सुविधा रोकिने

    ११ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले निजी मेडिकल कलेजले सरकारी सरह निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेमा मन्त्रालयसँग सम्बन्धित कलेजका सबै काम रोकिने बताएका छन् । आज स्वास्थ्य मन्त्रालयमा नेपाल चिकित्सक सङ्घ र आवासीय चिकित्सकका प्रतिनिधिहरूबीच भएको वार्तामा उनले निर्वाह भत्ता दिनुपर्ने विषयमा चिकित्सा शिक्षा आयोगले निर्णय गरिसकेको कुरामा तर्क गरिराख्नुको औचित्य नभएको बताए । मन्त्री पौडेलले भने, “निजी मेडिकल कलेजहरुले निर्वाह भत्ता दिने व्यवस्था कार्यान्वयन नगरेसम्म मन्त्रालयसँग सरोकोर राख्ने कुनै पनि काम अघि बढ्दैन । निर्णयबाट पछि हट्ने कुनै सम्भावना छैन ।”

    उनले निजी मेडिकल कलेजले निर्वाह भत्ता रु ४८ हजार दिनु पर्ने निर्णय कार्यान्वयन गर्नुपर्ने र त्यसपछि कलेजहरुले माग गर्दे आएको स्नातकोत्तरको सिट र शुल्क बढाउने कुरामा वार्ता गर्न सकिने बताए । मन्त्री पौडेलसहित नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा अनिलविक्रम कार्की, आवासीय चिकित्सकले गठन गरेको सङ्गठन ‘स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल सङ्घर्ष समिति’का संयोजक शेषराज घिमिरेलगायतको टोली वार्तामा बसेको थियो ।

    निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरुले सरकारी सरह निर्वाह भत्ताको माग गर्दै विगत २२ दिनदेखि आन्दोलनरत छन् । भोलि शुक्रबार आकस्मिक बाहेकका सेवा ठप्प पार्ने चेतावनी चिकित्सकहरुले दिएका छन् । चिकित्सा शिक्षा आयोगको १६ औँ बैठकको निर्णयले आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता दिन निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेजहरुले निर्णय कार्यान्वयन नगरेपछि चिकित्सकहरु आन्दोलित भएका हुन् ।

  • सर्वसाधारण कुट्ने चार ट्राफिक प्रहरी कारबाहीमा

    सर्वसाधारण कुट्ने चार ट्राफिक प्रहरी कारबाहीमा

    ११ वैशाख, काठमाडौं । एकजना सर्वसाधारणलाई कुटेको अभियोगमा चार जना ट्राफिक प्रहरीहरु कारबाहीमा परेका छन् । चार जना प्रहरीहरुले एकजना सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमार्फत प्राप्त भएपछि उनीहरुलाई ट्राफिक प्रहरी वृत्त जनसेवाको जिम्मेवारीबाट हटाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक दीपक गिरीले जानकारी दिए।

    उनले भने, “सर्वसाधारणलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा आएपछि हामीले खोजीनिती प¥यौँ र उक्त कार्यमा संलग्न देखिएका चार जना ट्राफिक प्रहरीलाई जिम्मेवारीबाट हटाइएको र आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको छ ।”

    “वैशाख ११ गते सामाजिक सञ्जाल, विभिन्न सञ्चार माध्यमहरूमा ट्राफिक प्रहरीद्धारा एकजना पुरूष व्यक्तिमाथि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो प्रकाशन भएको सम्बन्धमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ”, प्रवक्ता एवं ट्राफिक प्रहरी उपरीक्षक गिरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    प्रारम्भिक अनुसन्धान अनुसार उक्त घटना गत मङ्सिर २३ गते सुन्धारास्थित आकाशे पुल मुनि भएको पाइएको छ । ती प्रहरीहरुलाई ट्राफिक प्रहरी वृत्त, जनसेवाको जिम्मेवारीबाट हटाइ काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा झिकाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

  • तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई सरकारले जनही १० लाख दिने

    तीनकुने घटनामा मृत्यु भएकाका परिवारलाई सरकारले जनही १० लाख दिने

    १० वैशाख, काठमाडौं । सरकारले गत चैत १५ गते तीनकुनेमा भएको घटनामा मृत्यु भएका सविन महर्जन तथा सुरेश रजकका परिवारलाई प्रतिपरिवार रु १० लाखका दरले राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को यही वैशाख ८ गतेको निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले सो निर्णय गरिएको जानकारी दिए ।

    सरकारले प्रधानमन्त्रीको अध्यक्षतामा १५ सदस्यीय उच्चस्तरीय शासकीय सुधार आयोग गठन गर्नेसमेत निर्णय गरेको उनले जानकारी दिए । वैशाख १६ देखि २२ गतेसम्म भारतको नयाँदिल्ली, देहरादुन र लखनउमा द्विपक्षीय भेटघाटका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाह र प्रमुख सचिव डा कमलप्रसाद पोखरेलको भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ ।

    सासेक विद्युत् ट्रान्समिसन तथा वितरण आयोजना कार्यान्वयनका लागि ओपेक फन्ड फर इन्टरनेशनल डेभलपमेन्ट (ओफिड) बाट १०० मिलियन अमेरिकी डलर बराबरको रकम ऋण सहायता लिनका लागि सैद्धान्तिक सहमति दिने र उल्लिखित ऋणसम्बन्धी वित्तीय सम्झौतालाई अन्तिम रूप दिन सरकारकोतर्फबाट अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता टोली गठन गर्ने निर्णय भएको मन्त्री गुरुङले जानकारी दिए ।

    सरकारले आगामी जेठ २४ गतेदेखि ३१ गतेसम्म जापानमा आयोजना हुने ‘काउन्टर पार्ट प्रोग्राम’मा सहभागी हुन ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सरिता दवाडीलाई स्वीकृति प्रदान गर्ने, यही वैशाख २४ गतेदेखि २६ गतेसम्म श्रीलङ्का सरकारले कोलम्बोमा आयोजना गर्न लागेका १७औँ ‘रिमेस काउन्सिल मिटिङ एण्ड फोर्थ रिमेस मिनिस्टेरियल कन्फ्रेन्स’मा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीलाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ ।

    बैठकले यही वैशाख १५ र १६ गते काठमाडौँमा आयोजना हुने दोस्रो ‘विलाटेरल टक्स विटविन नारकोटिक्स कन्ट्रोल अथोरिटिज अफ नेपाल एन्ड इन्डिया’मा गृह मन्त्रालयका सहसचिव नेतृत्वको नेपाली प्रतिनिधिमण्डललाई सहभागी हुन स्वीकृति प्रदान गरेको छ । यही वैशाख ८ गतेदेखि १२ गतेसम्म थाइल्याण्डको बैंककमा आयोजना हुने युनाइटेड नेसन्स इकोनोमिक एण्ड सोसियल कमिसन फर एसिया एण्ड द पेसिफिक (युनेस्क्याप) को ८१औँ सत्रमा अध्यक्षता गर्नेगरी सहभागी हुन परराष्ट्रमन्त्रीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको उनले बताए ।

    सरकारका नाममा दर्ता स्रेस्ता रहेको कपिलवस्तु जिल्ला, साविक बहादुरगञ्ज गाविस वडा नं ८ ख को ८–१०–९ बिघा सरकारी जग्गा प्रदेशस्तरीय बागवानी स्रोत केन्द्र निर्माण गर्न कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशलाई उपयोग गर्न सरकारले स्वीकृति दिएको छ ।

  • उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध झण्डै साढे ३ करोडको भ्रष्टाचार मुद्दा

    उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध झण्डै साढे ३ करोडको भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, बागमती नगर जग्गा एकीकरण आयोजनामा करारमा कार्यरत अमिन दिनेशप्रसाद यादवविरुद्ध गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोजनाअन्तर्गत गौरीघाटमा कार्यरत यादवविरुद्ध रु तीन करोड २९ लाख ४५ हजार सात सय दुई बराबरको सम्पत्ति गैरकानुनी रूपमा आर्जन गरेको आरोप छ । आयोगले अमिन यादवको विसं २०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्मको सेवा अवधिको विश्लेषण गरेको थियो ।

    यस अवधिमा यादवको अवैध आय रु दुई करोड ४२ लाख २० हजार तीन सय एक र कूल व्यय रु पाँच करोड ७१ लाख ६६ हजार रहेको आयोगले जनाएको छ । त्यसमध्ये रु तीन करोड २९ लाख ४५ हजारभन्दा बढी बराबरको सम्पत्तिको वैध स्रोत नभएको पाइएकाले आज विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ । गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति श्रीमती अमृताकुमारी यादवको नाममा राखेकाले दुवै जनालाई प्रतिवादी बनाइ मुद्दा दायर गरिएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । यस्तै, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्, कर्णाली प्रदेश कार्यालय सुर्खेतका कामु निर्देशक भीमकान्त लामिछाने, लेखा अधिकृत शिवराम रोकायासमेतका प्रतिवादीबारे विशेष अदालतले गरेको फैसलाविरुद्ध आयोगले आजै सर्वोच्च अदालतमा पुनरावेदनसमेत गरेको छ ।

    आयोगले दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३ स्थित चामुण्डा माध्यमिक विद्यालयसँग विभिन्न तालिम सम्झौता गरेको भए पनि मिलेमतो गरी तालिम नै सञ्चालन नगरेको पाइएको जनाएको छ । आयोगले रु तीन करोड ४३ लाख ८८ हजार आठ सय १६ बराबरको बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेष अदालतले विसं २०८० फागुन १४ गते सो मुद्दामा सफाइ दिने फैसला गरेको थियो । फैसलाउपर चित्त नबुझेका भन्दै आयोगले आज सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।

  • निरन्तर आन्दोलनले काठमाडौंमा सर्वसाधारणलाई सास्ती

    निरन्तर आन्दोलनले काठमाडौंमा सर्वसाधारणलाई सास्ती

    ७ वैशाख, काठमाडौं । नेपाल शिक्षक महासङ्घको निरन्तर आन्दोलन र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ । विशेषगरी कार्यालय समयमा भएको प्रदर्शनले कार्यालय जानपर्ने कर्मचारीलाई मर्का परेको छ । माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ । प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए ।


    कार्यालय समयमा सवारीसाधन लामो समयसम्म जाममा पर्दा सर्वसाधारणले सास्ती भोग्नुपरेको थियो । राप्रपाले आइतबार निषेधित क्षेत्र बिजुलीबजार पुल आसपासमा भेला हुने जनाएपछि माइतीघर, बबरमहल र नयाँबानेश्वर क्षेत्रमा सवारी आवगमनमा रोक लगाइएको थियो । उक्त क्षेत्रमा तारबार गरेर अवाञ्छित गतिविधि रोक्ने प्रयत्न भएको थियो । धेरै सुरक्षाकर्मी परिचालन गरिएको थियो । विगत १९ दिनदेखि देशभरका शिक्षक आन्दोलनमा छन् । उनीहरुको आन्दोलनसँगै आज राप्रपाले पनि विरोध प्रदर्शन गरेपछि सवारी व्यवस्थापन जटिल बनेको हो ।

  • अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा

    अध्यक्ष लिङ्देनसहित राप्रपाका सात नेता रिहा

    ७ वैशाख, काठमाडौं । निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का अध्यक्ष राजेन्द्र लिङ्देनसहित सात नेतालाई प्रहरीले रिहा गरेको छ । सिंहदरबार र बानेश्वरस्थित निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।

    अध्यक्ष लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, सांसद ज्ञानबहादुर शाही, युवा मोर्चाका अध्यक्ष कैलाश कटुवाललगायतलाई नियन्त्रणमा लिइ अहिले छाडिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिए । उनले भने, “निषेधित क्षेत्रमा प्रदर्शन गरेको आरोपमा अध्यक्ष लिङ्देनसहित सात जनालाई नियन्त्रणमा लिएका थियौँ । अहिले सबै जनालाई रिहा गरिएको छ ।”

  • गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    गभर्नर नियुक्तिसम्बन्धी संशोधित मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

    २ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले राष्ट्र बैंकको गभर्नर नियुक्तिका लागि ६५ वर्षे उमेर हद नचाहिने गरी नेपाल सरकारले गरेको मापदण्डमा संशोधनको प्रावधान कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश गरेको छ । न्यायाधीश नित्यानन्द पाण्डेको एकल इजलासले आज उक्त विवादमा नेपाल सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश गरेको हो । अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिने वा नदिने भन्ने विषयमा छलफल गर्न नेपाल सरकार, अर्थ मन्त्रालय र गभर्नर छनोट समितिलाई यही वैशाख ७ गते उपस्थित हुन भनेको छ ।

    गभर्नरको नियुक्तिका मापदण्डलाई आ–आफ्नो अनुकूल संशोधन गर्न गैरकानुनी भएको उल्लेख गर्दै अधिवक्ता प्रतिभा उप्रेती र विशाल थापाले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए । गत फागुन २७ गते अर्थमन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ को दफा ३ (ग) हटाएर नेपाल सरकारले गभर्नरको नियुक्तिमा उमेरको योग्यताको प्रावधान हटाएको थियो । उक्त दफामा कार्यकारी प्रमुखको हकमा ३० वर्ष र कार्यकारी प्रमुखबाहेक अन्य पदाधिकारी र सदस्यको हकमा ३५ वर्ष उमेर पूरा भई ६५ वर्ष उमेर ननाघेको व्यवस्था थियो ।

    रिट निवेदनमा उमेरजन्य योग्यता नै नतोकी आफूले मन पराएको व्यक्तिलाई नियुक्ति गर्न खोजिएको उल्लेख गर्दै उक्त उमेरको योग्यता हटाउने निर्णयसमेत झिकाइ मगाइ बदर गर्न माग गरिएको थियो । साथै, रिट निवेदनमा सरकारको निर्णय बदर गरी नेपाल राष्ट्र बैंकको गभर्नर पदको नियुक्ति गर्दा उमेरजन्य योग्यतासमेत तोकी योग्य व्यक्तिको नियुक्ति गर्नु गराउनु भनी परमादेशसमेत माग गरिएको थियो ।

  • प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

    प्रसाईँमाथि अनुसन्धान गर्न अदालतले दियो १२ दिनको म्याद

    २९ चैत, काठमाडौं । तीनकुने घटनामा मुछिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईँमाथि अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले प्रहरीलाई १२ दिनको म्याद दिएको छ । झापाको भद्रपुरबाट आज नियन्त्रणमा लिई आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएकामा अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले प्रसाईँमाथि अनुसन्धान गर्न प्रहरीलाई १२ दिनको म्याद दिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए । सोही इजलासले उनका सुरक्षासहयोगी दीपक खड्कालाई पनि १२ दिन हिरासतमा राख्न अनुमति दिइएको उनले जानकारी दिए ।

    पूर्वराजाका समर्थकहरूले यही चैत १५ गते काठमाडौँको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रही राज्यविरुद्ध र सङ्गठित अपराधसम्बन्धी कसुर गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सोही कसुरमा राप्रपाका नेताहरु रवीन्द्र मिश्र र डा धवलशम्शेर जबरा पनि अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

  • छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

    छिमेकीको हत्या गरी नक्कली साधु बनेका लोकनाथ १७ वर्षपछि पक्राउ

    २७ चैत, काठमाडौं । जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरी नक्कली साधु बनेका पर्साको विन्दवासिनी गाउँपालिका २ का ६२ वर्षीय लोकनाथ साह तेली १७ वर्षपछि पक्राउ परेका छन् । छिमेकी ढोडा मुखिया विनको विसं २०६४ वैशाख २५ गते गोली प्रहारबाट हत्या गरी फरार भएका उनलाई भारतस्थित चम्पारण पिरियामा रहेको रामजानकी मन्दिरमा पूजारीको रुपमा १० वर्षदेखि साधुको भेषधारणा गरी लुकिछिपी रहेका थिए ।

    हत्यापश्चात फरार भएका निज लोकनाथलाई कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले २०६९ कात्तिक २४ गते सर्वस्वसहित जन्मकैद ठहर गरेको थियो । उनलाई नेपाल आएको मौका पारी केन्द्रीय अनुसन्धान व्यूरोका टोलीले सोमबार पर्साको वीरगन्जबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । निजलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत पर्सामा पेस गरिएको व्यूरोका प्रहरी उपरीक्षक सुधिरराज शाहीले राससलाई जानकारी दिए ।

  • सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

    सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलायो

    २६ चैत, काठमाडौं । सरकारले आन्दोलनरत शिक्षकलाई वार्तामा बोलाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपाल शिक्षक महासङ्घलाई वार्ताका लागि बुधबार मन्त्रालयमा बोलाएको हो । मन्त्रालयका प्रवक्ता एवं सहसचिव शिवकुमार सापकोटाले आज विज्ञप्ति जारी गर्दै आन्दोलनरत सबै शिक्षक कर्मचारीको प्रतिनिधित्व हुने गरी महासङ्घलाई वार्ता र संवादका लागि आह्वान गरेका छन् । वार्ताको समय भने आपसी सल्लाहअनुसार तय गरिने विज्ञप्तिमा उल्लेख छ ।

    विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० यथाशीघ्र पारित गरियोस् भन्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आह्वानमा शिक्षकहरुको आन्दोलन जारी छ । मन्त्रालयले साझा धारणा निर्माणका लागि आन्दोलनरत शिक्षकहरुसँग यसअघि यही चैत २१ र २२ गते छलफल र परामर्शका लागि आह्वान गरेको थियो । तर उक्त छलफल तथा परामर्श भने हुन सकेको थिएन ।

  • रवि लामिछाने कारागार चलान

    रवि लामिछाने कारागार चलान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने कारागार चलान भएका छन् ।
    दुई दिन जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको हिरासतमा राखिएका लामिछाने आज जिल्ला कारागार चलान भएका हहुन् । सोमबार बिहान जिल्ला अदालत पेस गरेर आवश्यक प्रक्रिया पूरा गरिएपछि उनलाई कारागार चलान गरिएको हो । अदालत पेस गरेपछि उनलाई थुनुवा पुर्जी दिइएको थियो ।

    जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुरज कार्कीको नेतृत्वको टोलीले लामिछानेलाई अदालत पेस गरेलगत्तै थुनुवा पुर्जी प्रदान गर्ने प्रक्रिया पूरा गरेर कारागार लगिएको थियो । जिल्ला प्रहरीको टोलीले सोमबार बिहान कार्यालय समय भएपछि बुटवल पुगेर उच्च अदालतको आदेशको मिसिल बुझेको थियो । मिसिल बुझेर भैरहवा ल्याएपछि जिल्ला प्रहरीको हिरासतबाट लामिछानेलाई अदालत पेस गरिएको थियो ।

    जिल्ला कारागारका प्रशासक सुरेश भण्डारीका अनुसार करिब एक घण्टासम्म कारागारमा लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो । त्यसपछि लामिछानेलाई कारागारको ब्लक नं ४ मा राखिएको छ । उक्त कारागारमा अहिले लामिछाने मात्रै रहेको प्रशासक भण्डारीले बताए । लामिछानेलाई राखिएको कक्ष अन्य कैदीबन्दीलाई राखिएका भवनभन्दा बाहिर रहेको छ । शुक्रबार राति काठमाडौँमा पक्राउ गरेर लामिछानेलाई शनिबार बिहान भैरहवा ल्याइएको थियो । दुई दिन बिदा भएपछि उनलाई शनिबार र आइतबार जिल्ला प्रहरी कार्यालय, रूपन्देहीको हिरासतमा राखिएको थियो ।

    आज बिहान अदालत लैजानुअघि सदरमुकाम भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो । जिल्ला प्रहरीबाट अदालत जाने बाटो र अदालत परिसर आसपास नेपाल र सशस्त्र प्रहरी तैनाथ गरिएको थियो । त्यस्तै, जिल्ला कारागार परिसर र आसपास पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगी र सङ्गठित अपराधसम्बन्धी मुद्दामा उच्च अदालत तुलसीपुर बुटवल इजलासले शुक्रबार थुनामा राख्न आदेश दिएपछि प्रहरीले लामिछानेलाई पक्राउ गरेको थियो ।

    जिल्ला अदालत रूपन्देहीले दिएको रु एक करोड धरौटी लिएर छाड्ने आदेश बदर गर्दै उच्च अदालतले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो । गत माघ १३ गते जिल्ला अदालत रूपन्देहीले रवि लामिछानेलाई एक करोड धरौटी रकम माग गरेको थियो भने छविलाल जोशीलाई माघ २९ गते पुर्पक्षका लागि कारागार चलान गरेको थियो । समान प्रकृतिको मुद्दामा एक जनालाई धरौटी र अर्कालाई थुना भएपछि सरकारी वकिल कार्यालयले लामिछानेलाई पनि थुनामै राख्नुपर्ने माग गर्दै उच्च अदालत पुगेको थियो ।

  • पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित, सामाजिक सञ्जालमा तिव्र आलोचना

    पूर्वउपराष्ट्रपति पुन माओवादी उपाध्यक्षमा मनोनित, सामाजिक सञ्जालमा तिव्र आलोचना

    काठमाडौं । पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन पासाङ नेकपा माओवादी केन्द्रको उपाध्यक्षमा मनोनित भएका छन् । पुनलाई केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्षमा एकैपटक मनोनित गरिएको स्रोतले बताएको छ । माओवादी केन्द्रको १८ र १९ चैमा बसेको पदाधिकारी बैठकले उनलाई उपाध्यक्षमा मनोनित गरेको बताएको छ । पुन दुई कार्यकाल उपराष्ट्रपति बनेका थिए ।

    पछिल्दो समय माओवादीको बैठकमा सहभागी हुने गरेका उनको यो नियुक्तिलाई लिएर सामाजिक सञ्जालमा भने व्यापक विरोध भइरहेको छ । केहीले उनको पूर्वउपराष्ट्रपतिको सुविधा खोस्नुपर्ने तर्क गरिरहेका छन् । उता, पूर्वराष्ट्रपति विद्यादेवि भण्डारी समेत पार्टी राजनीतिमा सक्रिय हुन थालेको देखिन्छ ।

  • रास्वपाको ‘जनयात्रा’ आजबाट सुरु

    रास्वपाको ‘जनयात्रा’ आजबाट सुरु

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘जनयात्रा’ शुभारम्भ गरेको छ । पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार शनिबार चितवनबाट जनयात्रा कार्यक्रमको शुभारम्भ गरेको हो । पार्टीका उपसभापति, सांसद, केन्द्रीय सदस्य लगायतले भरतपुर– १० को गेष्ट हाउस चौरमा एकमुष्ट रुपमा जनयात्रा शुभारम्भ गरेका हुन् । उनीहरूले घण्टी बजाएर जनयात्रा शुभारम्भ भएको घोषणा गरे ।

    आजको यो कार्यक्रममा आफूले धेरै कुरा भन्ने सभापति रवि लामिछानेको उद्घोष थियो । तर, शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश गरेसँगै उनी अहिले प्रहरीको हिरासतमा छन् । लामिछानेले पक्राउ पर्नुअघि कार्यक्रम नरोक्न निर्देशन गरेका थिए । लामिछानेले जनयात्राको सभामा आफू गृहमन्त्री भएको प्रचण्ड नेतृत्वको सरकार किन ढालियो भन्ने बारेमा खुलासा गर्ने पनि बताएका थिए ।

  • रविलाई पक्रन प्रहरी बेडरुममै पुगेपछि रास्वपा आक्रामक

    रविलाई पक्रन प्रहरी बेडरुममै पुगेपछि रास्वपा आक्रामक

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई पक्राउ पुर्जी नलिएरै प्रहरी पक्राउ गर्न गएसँगै रास्वपा आक्रोसित बनेको छ । उच्च अदालतको आदेशपछि शुक्रबार राति लामिछानेको घरमा पुगेको प्रहरी टोलीले बेडरुममै पुगेर पक्राउ पुर्जी लेखेको बताउँदै रास्वपाले त्यसलाई अनौठो अभ्यास भएको बताएको छ । सभापति लामिछाने पक्राउ परेपछि शुक्रबार राति भर्चुअल रुपमा बसेको केन्द्रीय सचिवालयको बैठकले यो विधिको शासनमा क्षम्य हुन नसक्ने निष्कर्ष निकालेको छ । बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर(संवेदनशील र गैरकानुनी भएको बताउँदै भत्सर्ना गरेको छ ।

    साथै, उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशविरुद्ध न्यायका लागि अर्को तहमा जाने निर्णय गरेको छ । पक्राउ पर्नुअघि नै रविले पनि न्यायका सबै ढोका ढकढक्याउने बताइसकेका छन् । बैठकले डीपी अर्याललाई दिइएको कार्यवहाक सभापतिको जिम्मेवारी पनि अनुमोदन गरेको छ । शुक्रबार राति पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौंकै हिरासतमा राखिएका लामिछानेलाई आज विमानबाट भैरहवा लगिंदैछ ।

  • अदालतको आदेशको सम्मान गर्छु : रवि

    अदालतको आदेशको सम्मान गर्छु : रवि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूले अदालतको सम्मान गर्दै आजै गिरफ्तारी दिन लागेको बताएका छन् ।
    उनलाई पक्राउ गर्न प्रहरीको टोली उनको निवासमा पुगिसकेको छ । शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले उनलाई थुनामा पठाउने आदेश गरेको थियो ।

    ‘सम्मानित अदालतको आदेशको सम्मान गर्दै म आफै आजै अहिले नै गिरफ्तारी दिँदैछु,’ लामिछानेले भनेका छन्, ‘ साथै न्यायलयका अन्य ढोकाहरू मेरा लागि खुला होलान् नै । न्यायका लागि दुनियाँका सबै ढोका ढकढकाउँछु ।’ उनले आफूमाथि ठूलो अन्याय भएको पनि बताएका छन् । ‘ममाथि ठूलो अन्याय भएको छ,’ उनले भनेका छन् । साथै, भोलि चितवनमा आयोजना गर्न लागेको कार्यक्रम नरोक्न पनि पार्टी पंक्तिलाई आग्रह गरेका छन् ।

  • उच्च अदालतले रविलाई थुनामा पठाउन दियो आदेश

    उच्च अदालतले रविलाई थुनामा पठाउन दियो आदेश

    काठमाडौं । उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रास्वपा सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएको छ । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै उच्च अदालतले थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालतले दिएको आदेशविरुद्ध उनीहरूले उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा पुनरावेदन निवेदन दिएका थिए ।

    न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले रविलाई जिल्ला अदालत रुपन्देहीको बदर गर्दै थुनामा पठाउने आदेश जारी गरेको हो । बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधको मुद्दामा यसअघि रुपन्देही जिल्ला अदालतले रविलाई १ करोड धरौटीमा छाडेको थियो ।

    सुप्रिम सहकारीमा रवि, छवि र जीबी राईसहित ४२ जनालाई प्रतिवादी बनाइएको छ। उनीहरुले सहकारीको ५५ करोड रुपैयाँभन्दा बढी रकम अपचलन गरेको अभियोग छ । सभापति लामिछानेलाई थुनामा पठाउने अदालतले आदेश गरेसँगै पार्टीका नेताहरू छलफलमा जुटेका छन् । अहिले काठमाडौंमा उपलब्ध नेताहरू छलफलमा जुटेका छन् ।

  • कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रको नियुक्ति निरन्तर

    कुलमानले पाएनन् अन्तरिम आदेश, हितेन्द्रको नियुक्ति निरन्तर

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई अन्तरिम आदेश दिन अस्‍वीकार गरेको छ। यससँगै प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले निरन्तर रूपमा काम गर्नेछन् । बिहीबार न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासले घिसिङलाई अन्तरिम आदेश जारी नगर्ने आदेश गरेको हो। तर यो मुद्दाले अग्राधिकार पाउने छ । साथै प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले दिएको मुद्दामा पनि अन्तरिम आदेश जारी नहुने भएको छ। न्यायाधीश चुडाल र पाण्डेयको इजलासमा तीन दिनदेखि निरन्तर सुनुवाइ भइरहेको यो रिटको सुनुवाइ बिहीबार सकिएको हो।

    इजलासले हितेन्द्रदेवले २०७८ भदौ १ गते दायर गरेको रिट एकै प्रकृतिको भएको र त्यो पनि किनारा लाग्न बाँकी रहेको जनाएको हो। अघिल्लो मुद्दा नै किनारा लगाउन बाँकी रहेको भन्दै अहिले अन्तरिम आदेश जारी गर्दा उक्त मुद्दामा समेत असर पर्ने आदेशमा उल्लेख गरेको छ। ‘कुलमानलाई नियुक्त गरेको २०७८ साउन २५ गतेको नियुक्ति नै कानुनसम्मत नरहेको भनी हितेन्द्रदेवले दायर गरेको रिट यसै अदालतमा विचाराधीन रहेको सन्दर्भमा चार वर्ष पदावधि तोकी नियुक्त प्राधिकरणको कार्यकारी निर्देशक सो अवधि व्यतित नहुँदै पदमुक्त हुनेगरी सोही पदमा अर्को व्यक्ति नियुक्त हुने वा गर्ने कार्यको वैधताको समान प्रश्न निहित रहेको हितेन्द्रदेवको रिट निवेदनसमेत विचाराधीन देखिँदा उक्त रिट निवेदनको अन्तरवस्तुमा नै प्रभाव पर्ने गरी तत्काल निवेदन मागबमोजिम अन्तरिम आदेश जारी हुन मनासिब हुने देखिएन,’ आदेशमा भनिएको छ।


    घिसिङले मन्त्रिपरिषदले उनलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका थिए। घिसिङलाई २०७८ साउन २५ को मन्त्रिपरिषद बैठकले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो। उनी २०८२ साउन २४ सम्मका लागि नियुक्त भएका थिए। तर चैत ११ गतेको मन्त्रिपरिषद बैठकले उनलाई चार महिना बाँकी रहँदै बर्खास्त गरेको हो। त्यस्तै हितेन्द्रदेव शाक्यलाई सोही बैठकले कार्यकारी निर्देशकको रूपमा नियुक्त गरेको थियो।

    कुलमान घिसिङले मन्त्रिपरिषदको निर्णयविरूद्ध रिट दिएसँगै शाक्यले पनि यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका थिए। गत चैत १५ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासले दुबै रिटलाई एकसाथ राखेर हेर्नेगरी आदेश गरेका थिए। अन्तरिम आदेश जारी गर्नेरनगर्ने विषयमा पनि छलफल गर्न दुवै पक्षलाई बोलाएको थियो। आइतबार उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको थियो। उक्त इजलासले रिट हेर्न नमिल्नेमा राखेको थियो। त्यसपछि मंगलबार न्यायाधीशहरू चुडाल र पाण्डेयको इजलासले सुनुवाइ अगाडि बढाएको थियो।

  • १५ चैतको आन्दोलनमा ज्यान गुमाएका दुई जनाको परिवारले १०\१० लाख क्षतिपूर्ति पाउने

    १५ चैतको आन्दोलनमा ज्यान गुमाएका दुई जनाको परिवारले १०\१० लाख क्षतिपूर्ति पाउने

    काठमाडौं । गृह मन्त्रालयले चैत १५ गते तीनकुने क्षेत्रमा प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजक र सविन महर्जनको परिवारलाई दस–दस लाख रुपियाँ राहत प्रदान गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयका उपसचिव एवम् सूचना अधिकारी रविन्द्र आचार्यका अनुसार बुधबार बसेको मन्त्रीस्तरीय बैठकले सो राहत दिने निर्णय गरेको हो।

    उनका अनुसार गृह मन्त्रालयले सो निर्णय र प्रस्ताव मन्त्रिपरिषद्को बैठकमा पेस गर्ने जानकारी दिए । त्यसैगरी गृहमन्त्री रमेश लेखकले मिडियाको सुरक्षामा संवेदनशील हुनसमेत सुरक्षा निकायलाई निर्देशन दिए ।

  • १५ चैतको प्रदर्शनमा २० जनालाई गोली लागेको पुष्टी

    १५ चैतको प्रदर्शनमा २० जनालाई गोली लागेको पुष्टी

    काठमाडौं । शुक्रबार भएको राजावादी समूहको हिंसात्मक प्रदर्शनमा २० जनालाई गोली लागेको बताएको छ । केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले हिंसात्मक प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा चलाएको गोली लागेर २० जना घाइते भएको बताए । उनले भने, ‘गोली लागेकामध्ये दुई जना महिला थिए ।’

    राजावादी समूहले गरेको प्रदर्शनका क्रममा गोली लागेर ललितपुरका सविन महर्जनको मृत्यु भएको थियो । कोटेश्वरस्थित शंकर मार्गमा रेविका र दिनेश खत्री घाइते भएका थिए । प्रहरीका अनुसार, गोली लागेर घाइतेमध्ये १३ जनाको अझै विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उपत्यका प्रहरी कार्यालयले उपलब्ध गराएको विवरणअनुसार, शुक्रबार भएको प्रदर्शनमा मात्र प्रहरीले ७४६ राउन्ड अश्रुग्यास हानेको थियो भने १९२ ब्ल्याङ्क राउन्ड फायरिङ गरेको थियो ।

    प्रहरीका अनुसार, ५८ राउन्ड हवाई फायर, कार्टिज (छर्रा) २३९ र पेस्तोलबाट २ राउन्ड गोली चलेको छ । यो नेपाल प्रहरीको मात्र विवरण हो, सशस्त्र प्रहरीबाट समेत शुक्रबार गोली चलेको थियो । त्यो हेर्दा प्रहरीबाट अत्यधिक बल प्रयोग भएको भन्दै कतिपय जानकारहरुले आलोचना समेत गरिरहेका छन् ।

  • प्रहरीले सार्वजनिक गर्यो तीनकुने घटनाको विवरण

    प्रहरीले सार्वजनिक गर्यो तीनकुने घटनाको विवरण

    काठमाडौं । नेपाल प्रहरीले शुक्रबारको प्रदर्शनलाई हिंसात्मक बनाउन रवीन्द्र मिश्र र दुर्गा प्रसाईंको अभिव्यक्तिले मुख्य भूमिका खेलेको बताएको छ । नेपाल प्रहरीले प्रहरी क्लब भृकुटीभण्डपमा गरेको पत्रकार सम्मेलनमा मिश्र र प्रसाईंको अभिव्यक्तिपछि भिडले सबैतिर तोडफोड र आगजनी गर्ने भन्न थालेको उल्लेख छ ।

    ‘मञ्चबाट पनि सिंहदरबार कब्जा गर्ने, संसद् भवन कब्जा गर्ने, एयरपोर्ट कब्जा गर्ने भन्ने हिसाबले जुन हिसाबले दुई जना व्यक्तिहरुले रवीन्द्र मिश्र र दुर्गा प्रसाईंंले अभिव्यक्ति दिएपछि त्यहाँ भएको सबै भिड सबैतिर तोडफोड आगजनी गर्छौं, सबै ठाउँमा आगो लाउँछौं, व्यक्तिको घरमा आगो लगाउँछौं भनेर मञ्चबाट खुल्लम खुला बोलेको छ’, केन्द्रीय प्रहरी प्रवक्ता दिनेश आचार्यले भने ।

    त्यसबेला प्रहरीले यो समूहमाथि कारबाही गर्नुपर्ने अवस्था ढिला भइसकेको र सबैतिर फैलिएर छिटपुट घटना समेत गराइसकेको अवस्था रहेको उनले भनेका छन् । शुक्रबार भएको हिंसात्मक घटनामा दुई जनाको मृत्यु र २२ जना घाइते भएका छन् । प्रहरीले चलाएको गोलीबाट मात्रै २० जना घाइते भएका छन् । तीमध्ये १३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

  • कुलमान र हितेन्द्रदेवको रिट हेर्दाहेर्दैमा

    कुलमान र हितेन्द्रदेवको रिट हेर्दाहेर्दैमा

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र कुलमान घिसिङको रिट हेर्दाहेर्दैमा परेको छ। मंगलबार न्यायाधीशहरू कुमार चुडाल र नित्यानन्द पाण्डेयको इजलासमा यी मुद्दा परेका थिए। रिटमाथि मंगलबार दिनभर सुनुवाइ भएर अपराह्न हेर्दाहेर्दैमा राखिएको हो। रिटमाथि पुनः बुधबार सुनुवाइ हुने अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए।

    कुलमान र हितेन्द्रदेवको मुद्दाको सुनुवाइ लम्बिएपछि बाँकी रहेका अन्य मुद्दा हेर्न नभ्याइने र हेर्न नमिल्नेमा परेका थिए। यसअघि आइतबार उक्त रिट प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र शारंगा सुवेदीको इजलासमा परेको थियो। त्यो इजलासले उक्त रिट हेर्न नमिल्नेमा राखेको थियो।

    दुवै जनाको रिट एकैसाथ हेर्ने गरी राउत र सुवेदीको इजलासमा परेको थियो। यसअघि गत चैत १५ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा पेसी तोकिएको थियो। उक्त इजलासले दुवै पक्षलाई छलफलका लागि आइतबार बोलाउन भनेको थियो। त्यस्तै पक्ष र विपक्ष दुबैलाई १५ दिनभित्र लिखित जबाफको माग गरिएको छ।

    घिसिङ र शाक्यको रिट गत बिहीबार दर्ता भएको थियो। घिसिङले मन्त्रिपरिषदले उनलाई बर्खास्त गरी शाक्यलाई नियुक्त गर्ने निर्णयलाई बदर गर्न अन्तरिम आदेशको माग गरेका छन्। यता शाक्यले भने यसअघि आफूलाई गैरकानुनी रूपमा हटाइएको भन्दै चार वर्षको पारिश्रमिक माग गरेका छन्। गत चैत ११ गते सरकारले कुलमान घिसिङलाई बर्खास्त गरी शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको थियो।

  • प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज कुलमानको पद खारेजीबारे उठेका प्रश्नको जवाफ दिँदै

    प्रतिनिधि सभामा प्रधानमन्त्रीले आज कुलमानको पद खारेजीबारे उठेका प्रश्नको जवाफ दिँदै

    काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बिहान ११ः०० बजेका लागि बैठक बोलाइएको छ । बिहीबार, शुक्रबार र आइतबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दलहरुले अवरोध गरेका थिए । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सरकारले हटाएपछि त्यसबारे उनीहरुले प्रधानमन्त्रीको जवाफ माग गरेका छन् । जवाफ नदिए आज पनि संसद बैठक अवरोध गर्ने प्रतिपक्षी दलहरुको तयारी छ ।

    प्रधानमन्त्रीले उनीहरुको माग अनुसार आज जवाफ दिने तयारी गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा बैकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्ने, पूर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले जलस्रोत विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नेलगायत कार्यसूची छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ । उनले नै संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।

  • भाटभटेनीमा लुटपाट गर्नेहरु प्रहरी फन्दामा

    भाटभटेनीमा लुटपाट गर्नेहरु प्रहरी फन्दामा

    काठमाडौं । प्रहरीले चैत १५ गते कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट लुटपाटमा सङ्लग्न नौ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक अंगुर जिसीका अनुसार गत शुक्रबार दुर्गा प्रसाईको नेतृत्वमा पूर्वराजाका समर्थक समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड गरेपश्चात् लुटपाटमा सङ्लग्न भइ फरार व्यक्तिलाई खोजतलास गरि काठमाडौँका विभिन्न स्थानबाट पक्राउ गरिएको छ।

    भाटभटेनी सुपरमार्केटबाट ब्ल्याक लेबल मदिरा एक थान, ज्याक ड्यानिल मदिरा एक थानसहित स्थायी घर धनुषा भइ हाल काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ कोटेश्वर बस्ने आशिष सिंह पक्राउ परेका छन्। स्थायी घर सर्लाही भइ हाल काठमाडौं कोटेश्वर बस्ने प्रेमकुमार महतो वियरको खाली बोतल चार थानसहित पक्राउ परेका छन्। स्थायी घर भारतको बिहार राज्य पटना हाजिपुर भइ हाल काठमाडौँको कोटेश्वर बस्ने रवि रञ्जनकुमार यार्सागुम्बा ब्राण्डको मदिरा एक थानसहित पक्राउ परेका छन्। स्थायी घर नुवाकोट भइ हाल कोटेश्वर बस्ने सुशीला कुमाल हाफ् पाइन्ट ११ थान र ट्राउजर एक थानसहित पक्राउ परेका छन्।

    स्थायी घर धरान भइ हाल काठमाडौँ कोटेश्वर बस्ने एलिसा राई एक थान ट्रे, एक थान क्यारेटसहित, स्थायी घर कोटेश्वरका बालकुमारी कार्की एक थान क्यारेटसहित, स्थायी घर सिन्धुपाल्चोक भइ हाल कोटेश्वर बस्ने निर्मला कार्की फलफूलसहित पक्राउ परेका छन्। स्थायी घर सिन्धुली भइ हाल कोटेश्वर बस्ने चित्र माया बस्नेत र सुस्मिता बराल लिपस्टिक ६९ थान, ऐना एक थान, गाजल २१ थान र अन्य सामान १२ थानसहित पक्राउ परेका छन्। प्रहरीका अनुसार उनीहरुलाई पक्राउ गरि थप अनुसन्धान तथा कारवाहीका लागि प्रहरी वृत्त बानेश्वर पठाइएको छ।

  • तीनकुने घटनामा मारिएका पत्रकारबारे भ्रमपूर्ण सामग्री राखे कारवाही गर्ने प्रहरीको चेतावनी

    तीनकुने घटनामा मारिएका पत्रकारबारे भ्रमपूर्ण सामग्री राखे कारवाही गर्ने प्रहरीको चेतावनी

    काठमाडौं । तीनकुनेमा राजावादी समर्थकले आगजनी गरेको घरमा जलेर मृत्‍यु भएका पत्रकारको शरीरमा गोली भेटिएको भन्‍ने सूचनामा सत्यता नभएको प्रहरीले बताएको छ । तीनकुनेमा भएको घटनाबारे सूक्ष्म अनुसन्धान भइरहेको र मृतकको पोस्टमार्टम नभइसकेको अवस्थामा सामाजिक सञ्जालमा भ्रामक सूचना फैलिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । काठमाडौं परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले सामाजिक सञ्जालमा भ्रामक सूचना सम्प्रेसन गराउने व्‍यक्तिरसंस्थालाई कानुन बमोजिम कारबाही गर्ने चेतावनी दिएका छन् ।

    विज्ञप्तिमा भनिएको छ, ‘ ‘१५ चैतमा मारिएका पत्रकार सुरेश रजकको पोस्टमार्टम रिपोर्टमा उनको शरीरमा गोली भेटिएको छ,’ लगायतका शीर्षकहरू राखी सो घटनाका सम्बन्धमा वास्तविकता नबुझी विभिन्‍न सामाजिक सञ्‍जालमार्फत गलत एवं भ्रामक समाचार सम्प्रेसन गरी जनमानसमा नकारात्मक सन्देश प्रवाह गराउने व्‍यक्ति एवं संस्थालाई प्रचलित कानुन बमोजिम कानुनी दायरामा ल्याइने व्‍यहोरा समेत अनुरोध गरिन्छ।’

  • पूर्वराजाले महानगरको जरिवाना सम्बन्धी पत्र बुझ्न नमानेपछि…

    पूर्वराजाले महानगरको जरिवाना सम्बन्धी पत्र बुझ्न नमानेपछि…

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौं महानगरपालिकाले पठाएको जरिवाना पत्र बुझ्न अस्वीकार गरेसँगै महानगरको टोली फिर्ता भएको छ । शुक्रबार तीनकुनेमा पूर्वराजाको समर्थनमा भएको आन्दोलनका क्रममा भएको फोहोर र तोडफोडको मूल्याङ्कन गरी महानगरपालिकाले ७ लाख ९३ हजार जरिवाना तोकेर पत्र काटेको छ । उक्त पत्र लिएर निर्मल निवास पुगेको महानगरपालिकाको टोलीलाई त्यहाँबाट फिर्ता पठाइएको हो । अब पत्र हुलाकमार्फत पठाउने तयारी महानगरले गरेको हो ।

  • रविन्द्र मिश्रसँगै पक्राउ परेकाहरुलाई मंगलबारसम्म थुनामै राखेर अनुसन्धान हुने

    रविन्द्र मिश्रसँगै पक्राउ परेकाहरुलाई मंगलबारसम्म थुनामै राखेर अनुसन्धान हुने

    काठमाडौं । तीनकुने हिंसात्मक घटनामा संलग्न भएको आरोपमा पक्राउ ४२ जनालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । न्यायाधीश तारादेवी महर्जनको इजलासले तीनकुने घटनामा संलग्न भएको हुनसक्ने आरोपमा पक्राउ परेकालाई आगामी मंगलबारसम्म थुनामा राखेर अनुसन्धान अघि बढाउन अनुमति दिएको हो । शुक्रबार पक्राउ परेकाहरूको हकमा ५ दिन र शनिवार पक्राउ परेकाहरुलाई ४ दिन हिरासतमा राख्न अनुमति भएको हो । अनुमतिको अवधि पक्राउ परेको दिनदेखि नै गणना हुनेछ ।

    जिल्ला सरकारी वकिलको कार्यालयले १० दिन थुनमा राख्न अनुमति मागेकोमा धवलशमशेर जबरा क्यान्सरको बिरामी भनी कागजात पेस भएको थियो । रवीन्द्र मिश्रको हकमा प्रेसरको बिरामी भई इजलासमा फाइल पेस भएकाले अदालतले ५ दिनको अनुमति मात्रै सञ्चारमाध्यले लेखेका छन् । जिल्ला प्रहरी परिसर, काठमाडौंले तीनकुने घटनामा संलग्न भएको आरोप लागेकाहरूलाई बेलुकी ५ बजेतिर जिल्ला अदालतमा पेस गरेको थियो । अदालतमा गोला छनौटका क्रममा आइतबार न्यायाधीश तारादेवी महर्जनलाई थुनाको अनुमतिसम्बन्धी निवेदन हेर्ने जिम्मेवारी तोकिएको थियो ।

  • ज्ञानेन्द्रको सुरक्षामा खटिएको सुरक्षा बलको सेट नै फेरियो

    ज्ञानेन्द्रको सुरक्षामा खटिएको सुरक्षा बलको सेट नै फेरियो

    काठमाडौं । गृह मन्त्रालयले पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षामा खटिएको टोलीको सेट नै परिवर्तन गरेको छ। पूर्वराजा ज्ञानेन्द्रको निर्मल निवासमा सशस्त्र प्रहरी बलको कार्यदलबाट २५ जनाको टोली खटिँदै आएको छ । त्यहाँ सशस्त्र प्रहरी बलका डिएसपी जगदिश हमालको नेतृत्वमा टोली थियो। उक्त टोलीलाई हटाएर अहिले डिएसपी प्रमोद प्रकाश पाठकको कमान्डमा १६ जनाको टोली पठाएको गृह स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । भिभिआइपीलाई दिने सुरक्षा नीति अनुसार १६ जना सुरक्षाकर्मी खटाइन्छ। तर निर्मल निवासमा २५ जना खटिँदै आएका थिए।

    शुक्रबार काठमाडौंको तीनकुनेमा राजावादीहरूको प्रदर्शन भएको थियो। प्रदर्शन उग्र बन्दा दुई जनाको ज्यान समेत गयो। पूर्वराजा ज्ञानेन्द्रलाई भेटेपछि मेडिकल व्यवसायी दुर्गा प्रसाईं प्रदर्शनको कमान्डर भएका थिए। उनकै नेतृत्वमा आन्दोलन भएको थियो। प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहे पनि उनी फरार छन्।

  • रविन्द्र मिश्र र धवल शमशेर २४ घण्टा भित्र रिहा नभए आन्दोलन गर्ने राप्रपाको चेतावनी

    रविन्द्र मिश्र र धवल शमशेर २४ घण्टा भित्र रिहा नभए आन्दोलन गर्ने राप्रपाको चेतावनी

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवलशमशेर राणालाई २४ घण्टाभित्र रिहा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । शनिबार बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकका निर्णय सार्वजनिक गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारलाई २४ घण्टे अल्टिमेटम माग गरेका हुन् ।

    मिश्र र राणालाई रिहा नगरे राप्रपाले देशभर विरोधका कार्यक्रम गर्ने र त्यसलाई आन्दोलनको रूपमा उठाएर लैजाने निर्णय भएको उनले जानकारी दिए । तीनकुने केन्द्रित राजावादीको प्रदर्शन हिंसात्मक बन्नुमा सरकारकै दोष रहेको बैठकले निष्कर्ष निकालेको छ ।

    बैठकले तीनकुनेको घटनामा ज्यान गुमाएका दुई जनालाई शहीद घोषणा गर्न माग गरेको छ । ‘हिजोको घटनामा ज्यान गुमाएका दुवै जनालाई शहिद घोषणा गर्न सरकारसँग माग गरेका छौं,’ निर्णय सार्वजनिक गर्दै लिङ्देनले भने । शुक्रबारको घटनामा कीर्तिपुर निवासी २९ वर्षीय सविन महर्जन र एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको थियो ।

    बैठकले तीनकुनेमा शुक्रबार भएको घटनाको पूर्ण जिम्मेवारी सरकारले नै लिनुपर्ने निष्कर्ष निकालेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै लिङ्देनले आन्दोलनको कार्यक्रम भड्किनुमा सरकार आफैं दोषी रहेको जिकिर गरे । ‘हिजो जे घटना भयो । त्यसमा सरकारको संलग्नता थियो,’ लिङ्देनले भनेका छन्, ‘सरकार दमन गर्ने योजनाको साथ परिचालित भएको थियो,’ उनले भने ।

  • कांग्रेस बैठकको निर्णय : तीनकुने घटनाको जिम्मेवार ज्ञानेन्द्र

    कांग्रेस बैठकको निर्णय : तीनकुने घटनाको जिम्मेवार ज्ञानेन्द्र

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको घटनाको सबै जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने बताएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले यस्तो निष्कर्ष निकालेको हो । कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बैठकका निष्कर्ष सुनाउँदै पूर्वराजा शाहकै निर्देशनमा उक्साहट भएको जिकिर गरे ।

    ‘राजावादीको नाममा जुन खाले गतिविधि हिजो भयो त्यसको समीक्षा भयो । गृहमन्त्रीज्यूले सम्पूर्ण घटना विवरण प्रस्तुत गर्नुभयो । त्यसपछि हामी के निष्कर्षमा पुगेका छौं भने । यद्यपि जुन घटना भए यसबारे हाम्रो पार्टीले आफ्नो दृष्टिकोण राखिसकेको छ । हिजोको घटनाको भत्र्सना गरेका छौं,’ प्रवक्ता महतले भने ।

    एउटा निरंकुश शासनतर्फ लाने मनसायका साथ यो घटना कांग्रेसको निष्कर्ष छ । ‘यसको सम्पूर्ण पूर्वराजा, जसको आयोजनामा यो समिति गठन भयो र यसले यो आयोजना गर्‍यो,’ उनीहरू जसरी प्रस्तुत हुन्छौं भनेका थिए त्यसको विपरित अराजकतामा प्रस्तुत हुने र सबै कब्जा गरेर जाने लक्ष्य देखियो । त्यसको जिम्मेवारी उहाँले लिनुपर्छ ।’

  • पूर्वराजालाई बालेनले तोके ८ लाख हाराहारी जरिवाना

    पूर्वराजालाई बालेनले तोके ८ लाख हाराहारी जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना तोकेको छ । महानगरले हिजो ९शुक्रबार० तीनकुनेमा भएको प्रदर्शनलाई लिएर विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर सो रकमको जरिवाना तोकेको हो । महानगरले पूर्वराजा ज्ञानेन्द्र शाहको नाममा पत्र लेख्दै जरिवाना तोकेको छ । शुक्रबार तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो ।

    सोही आन्दोलनको क्रममा दुई जनाको ज्यान गएको थियो भने दर्जनौं घाइते भएका थिए । राजावादी समर्थकहरू उग्र बन्दा शुक्रबार दिनभर तीनकुने क्षेत्र तनावग्रस्त बन्न पुगेको थियो । जरिवानाको पत्र आइतबार निर्मल निवास पठाउने तयारी रहेको बताइएको छ । बालेनले यसअघि एमाले र राप्रपाको प्रदर्शना पनि जरिवाना तिराएका थिए ।

    यी हुन् महानगरले पूर्वराजासँग मागेको जरिवानाका शीर्षक
    १. कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
    २. महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
    ३. तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
    ४. जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
    ५. बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
    ६. सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको– १ लाख
    ७. महानगरको दमकल फुटाएको– १ लाख ३० हजार
    ८. तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड– ४० हजार
    ९. तीनकुनेको आइल्याण्डमा तोडफोड– २३ हजार