Category: कानुनी कुरा

  • बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा, २३ जना पक्राउ

    बुढानिलकण्ठको एक घरमा प्रहरीको छापा, २३ जना पक्राउ

    काठमाडौं । काठमाडौंको बुढानीलकण्ठस्थित एक घरमा प्रहरीले छापा मारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारी नेतृत्वको टोलीले दुईतले सो घरमा अवैध रूपमा सट्टेबाजी खेल भइरहेको सूचना पाएर छापा मारेको बताइएको छ ।

    सूचनापछि एसएसपी अधिकारी सहितको टोलीले छापा मारेर आइतबार २३ जनालाई पक्राउ गरेको हो। प्रहरीले घरबाट ८८ वटा मोबाइल, १० वटा ल्यापटप पनि बरामद गरेको छ। प्रहरीले नियन्त्रणमा लिएका मोबाइल र ल्यापटपबाट उनीहरूको कारोबारबारे अनुसन्धान गर्ने बताएको छ।

  • नागार्जुनका मेयरविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा

    नागार्जुनका मेयरविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा

    काठमाडौं । पद दुरुपयोग गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्बित नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले बस्नेमाथि ८ करोड ६९ लाख रुपैयाँ गैरकानुनी आर्जन गरेको र त्यो रकम भ्रष्टाचारबाट कमाएको दाबी गरेको छ । अख्तियारको दाबी अनुसार, कुल २८ करोड ६५ लाख रुपैंयाको सम्पत्ति जोडेका बस्नेतले १९ करोड ९५ लाख रुपैयाँ मात्रै कानुनी रुपमा कमाएका थिए । अरु बाँकी रकम भ्रष्टाचारबाट आर्जन भएको अख्तियारको दाबी छ ।

    यो अवधिमा उनले जग्गा खरिद, घर निर्माण एवं मर्मत, अपार्टमेन्ट खरिद लगायतका काम गरेको अख्तियारको दाबी छ । उनले विभिन्न व्यक्तिलाई जग्गा खरिद बिक्री गर्दा कमिसन बापत रकम दिएको, छोराहरुको विवाहको भोजमा गैरकानुनी रुपमा खर्च गरेको अख्तियारको दाबी छ । उनले विवाहित छोरालाई व्यक्तिगत खर्च भनी रकम दिएको, विवाहित छोरीलाई पनि रकम दिएको, दान भनेर रकम दिएको अनि घरमा काम गर्ने सहयोगीहरूलाई पनि गैरकानुनी रुपमा आर्जित सम्पत्तिबाट खर्च दिएको अख्तियारको दाबी छ ।

    उनी नागार्जुन नगरपालिकाको मेयर भएपछि अस्वभाविक रुपमा आर्जन हुने क्रम बढेको भन्दै अख्तियारले त्यसलाई ‘सार्वजनिक पदको दुरुपयोग’ भनेको हो । अख्तियारले लुकाएको र व्यवस्थापन गरेको सम्पत्ति जफत गर्न उनकी पत्नी उर्मिला बस्नेतमाथि पनि मुद्दा दायर गरेको छ । नागार्जुनका मेयर बस्नेतमाथि यसअघि नै अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरिसकेको छ । गैरकानुनी रुपमा प्लटिङको काममा लागेको अनि नगरपालिकाको स्रोतसाधन दुरुपयोग गरी प्लटिङबाट लाभ लिएको भनी अख्तियारले उनीमाथि दायर गरेको मुद्दा विशेष अदालतमा विचाराधीन छ ।

  • बालयौन दूराचारमा मदन राईलाई कैद सजाय

    बालयौन दूराचारमा मदन राईलाई कैद सजाय

    काठमाडौं । कृषिविज्ञ मदन राईलाई दुई वर्ष ६ महिना कैद सजाय तोकिएको छ। जिल्ला अदालत खोटाङले राईलाई बाल यौन दुरुपयोग कसुरमा दुई वर्ष ६ महिना कैद सजायको फैसला गरेको हो। जिल्ला न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई माघ २५ गते सजाय निर्धारण गरेको हो। दुई वर्ष ६ महिना कैद र एक लाख जरिवाना सजाय निर्धारण भएको जिल्ला अदालतका श्रेष्तेदार सिताराम खड्काले जानकारी दिए ।

    पीडितलाई एक लाख ५० हजार क्षतिपूर्ति दिने सजाय फैसला भएको उनले जानकारी दिए । कृषिविज्ञ राईमाथि आफैले सञ्चालन गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउण्डेसनका किशोरीलाई यौन दुव्र्यवहार गरेको अभियोग थियो। यौन दुरुपयोग कसुरमा अदालतले राईलाई गत माघ १० गते कसुर ठहर गरेको थियो। फाउण्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीय किशोरीले यौन दुव्र्यवहार गरेको भन्दै प्रहरीलाई दिएको उजुरीका आधारमा राई २०८० वैशाख २९ गते पक्राउ परेका थिए।

    मुद्दाको फैसला नभएसम्म फाउण्डेसनमा जान नपाउनेगरी उनी २०८० जेठ २२ गते पुर्पक्षका लागि चार लाख धरौटी तारेखमा रिहा भएका थिए। आरोपितविरुद्ध २०८० जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोग सम्बन्धी अभियोग पत्र दायर गरेका थिए। अभियोगपत्रमा राईलाई तीन वर्ष कैद र ७५ हजार जरिवाना माग गरिएको थियो।

  • ट्रम्पले इन्टरनेशनल क्रिमिनल कोर्टमा समेत लगाए प्रतिवन्ध

    ट्रम्पले इन्टरनेशनल क्रिमिनल कोर्टमा समेत लगाए प्रतिवन्ध

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इन्टरनेशनल क्रिमिनल कोर्टमा प्रतिवन्ध घोषणा गरेका छन् । उनले एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्, जसले इन्टरनेशनल क्रिमिनल कोर्टमा प्रतिवन्ध लगाइएको छ । अमेरिका र उसको सहयोगी इजरायलमाथि आधारहिन कारवाही गरेको ट्रम्प प्रशासनको आरोप छ । उनको आदेशमा आइसीसीका अधिकारी र उनको परिवारका साथै अदालतमा जाँचमा सहयोग गर्नेहरुमाथि समेत प्रतिवन्ध लागेको छ ।

    उनीहरुमाथि आर्थिक तथा भिसा प्रतिवन्ध लागेको हो । यसअघि नोभेम्बर २०२४ मा गाजामा नरसम्हार गरेको आरोपमा आइसीसीले इजरायलका प्रधानमन्त्री बिन्यामिन नेतन्याहु विरुद्ध गिरफ्तारी वारेन्ट जारी गरेको थियो । आइसीसीले उनीमाथि युद्ध अपराधको आरोप लगाएको छ । गाजामा ४४ हजार निहथ्था मानिसको ज्यान गइसकेको छ ।

  • युवकलाई हनी ट्र्यापमा फसाएर पैसा असुल्ने युवती पक्राउ

    युवकलाई हनी ट्र्यापमा फसाएर पैसा असुल्ने युवती पक्राउ

    काठमाडौं । राइस कुकर मर्मत गर्न भन्दै कोठामा बोलाएर एक युवकलाई हनी ट्र्यापमा फसाएको आरोपमा एक युवती पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा चितवनको रत्ननगर नगरपालिका–८ घर भई काठमाडौं महानगरपालिका–१३ कुलेश्वर बस्ने २८ वर्षीया अस्मिता आचार्य छिन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

    अस्मिताले आपराधिक लाभ लिने उद्देश्यले इलेक्ट्रिक सामानहरू मर्मत गर्ने व्यक्तिलाई राइस कुकर बनाउने बहानामा पटक-पटक मोबाइलमा सम्पर्क गरी आफ्नो कोठामा बोलाएको प्रहरीले बताएको छ । कोठामा आइसकेपछि माग गरे अनुसारको रकम नदिए जबरजस्ती करणी मुद्दामा फसाइ दिन्छु र प्रहरी तथा परिवारमा समेत भनी दिन्छु भन्दै रकम समेत असुलेको पाइएको प्रहरीले जनाएको छ ।


    पक्राउ परेकी अस्मितालाई आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी मुद्दामा थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

  • चितवनमा ५४ लाख धरौटीमा छुटे रवि

    चितवनमा ५४ लाख धरौटीमा छुटे रवि

    काठमाडौं । चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएसँगै रवि छुटेका छन् । बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल इजलासले सभापति लामिछानेलाई ५४ लाख रुपियाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । न्यायाधीश ढकालले सो धरौटी दिन नसके कानुन बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाउन आदेशमा भनिएको छ । लामिछानेको बुधबारदेखि बयान र थुनछेक बहस भएको थियो । साहारा चितवन सहकारीको ठगी प्रकरणमा बयान दिन लामिछाने बुधबार अदालत उपस्थित थिए । उनको बुधबार थुनछेक बहस नसकिएपछि अदालतले प्रहरीको जिम्मा लगाएको थियो ।

    कास्की, काठमाडौँ र रूपन्देहीमा रविविरुद्ध सङ्गठित अपराधमा समेत मुद्दा दर्ता गरिए पनि चितवनमा भने ठगीमा मात्रै मुद्दा दायर भएको छ । मिसिल संलग्न उल्लेखित तत्काल प्राप्त प्रमाण भएको प्रस्तुत मुद्दामा थुनछेकतर्फ विचार गर्दा यी प्रतिवादी रवि लामिछानेले यस अदालतमा बयान गर्दा आफू निर्दोष रहेको भनी कसूरमा इन्कार रहेको भएता पनि निजले आफ्नो वयान व्यहोरामा आफू गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहेको, सो कम्पनीमा आफ्नो शेयर रहेको विषयलाई अन्यथा नभनेको, निजले प्रबन्ध निर्देशकको हैसियतबाट चेकमा हस्ताक्षर गरेको भन्ने तथ्यलाई स्वीकार गरेको त्यसै गरी निज प्रतिवादीले मौकामा अनुसन्धान अधिकारी समक्ष बयान गर्दा समेत आफु निर्दोष रहेको भनी कसूरमा इन्कार रहेता पनि निजले अनुसन्धान अधिकारी समक्षकै बयानमा आफू गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा प्रबन्ध निर्देशक रही काम गरेको, आफूलाई सो प्रालिमा १५ प्रतिशत शेयर प्राप्त भएको, कम्पनीका चेकमा आफूले हस्ताक्षर गरी विभिन्न व्यक्ति र संस्थालाई दिएको, आफ्नो कार्यकालमा धेरै चेक जारी भएको, ती चेक अध्यक्ष गीतेन्द्रबाबु राईको निर्देशन पालना गरी जारी गरिएको भनी बयानमा उल्लेख गरेको, गीतेन्द्रबाबु राई समेत मुल मुद्दामा प्रतिवादी रहेको देखिएको, साहरा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट गोर्खा मिडिया नेटवर्क प्रा।लि।मा रकम आएको भन्ने मिसिल संलग्न चेकको प्रतिलिपीबाट देखिएको, यी प्रतिवादी रवि लामिछानेले समेत ठगी गरेको भनी निज उपर समेत जाहेरवालाहरुको किटानी जाहेरी परेको, मौकामा अनुसन्धान अधिकारी समक्ष सह प्रतिवादी छबिलाल जोशी र कुमार रम्तेलले यी प्रतिवादी रवि लामिछानेलाई समेत पोल गरी वयान गरेको, मौकामा घटना विवरण कागज गर्ने मानिसहरु शैलेन्द्र रेग्मी, अर्जुन श्रेष्ठ समेतका मानिसहरुको भनाई तथा मुल मिसिल संलग्न बरामदी मुचुल्का समेतका उल्लिखित तत्काल प्राप्त प्रमाणका आधारमा यी प्रतिवादी रवि लामिछानेको दाबीको कसूरमा संलग्नता नरहेको भनी अहिले नै भन्न सकिने अवस्थाको विद्यमानता नरहेकोले पछि मुद्दामा थप प्रमान बुज्दै जाँदा ठहरेवमोजिम हुने गरी तत्काल निज प्रतिवादी रवि लामिछानेबाट मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ बमोजिम ५४,००,०००। (चौबन्न) लाख रुपियाँ धरौट वा जमानत वा बैड्क जमानत लिनु। सो माग भएको धरौट वा जमानत वा वैड्क जमानत दिए निज प्रतिवादीलाई तारेखमा राख्नु। सो दिन नसके कानुन बमोजिम थुनामा राख्न सम्बन्धित कारागार कार्यालयमा पठाइदिनु।

  • चितवनमा रविको थुनछेक बहस आज

    चितवनमा रविको थुनछेक बहस आज

    काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज चितवन अदालतमा उपस्थित गराइँदै छ । बुधबार थुनछेक बहस नसकिएपछि आज १० बजे अदालतमा उपस्थित गराउने गरी उनलाई न्यायिक हिरासतमा पठाइएको छ । आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नेछन् । साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको बुधबारबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै हिजोबाट थुनछेक बहस पनि सुरु गरिएको थियो ।

    बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस गरेका थिए । सहकारी पीडितको तर्फबाट बुधबार रमेश काफ्लेले मात्रै बहस गर्न भ्याएका थिए । अन्यको बहस आज अदालत खुलेपछि सुरु हुने बताइएको छ । थुनछेक बहस सकिए आजै थुनछेक आदेश आउने सम्भावना छ ।

  • ‘अमला काण्ड’का नाममा कन्टेण्ट राख्ने ३८ युट्युब च्यानल कारवाहीमा

    ‘अमला काण्ड’का नाममा कन्टेण्ट राख्ने ३८ युट्युब च्यानल कारवाहीमा

    काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा भएको एक घटनालाई ‘अमला काण्ड’ नाम दिई पीडित युवती, आरोपित ज्येष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो–तस्बिरहरूसमेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ ।

    घटनालाई अतिरञ्जित गराई पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिई भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाइ सामग्री सम्प्रेषण भएपछि कारबाही गरिएको काउन्सिलले मंगलबार विज्ञप्तिमार्फत जानकारी दिएको हो । ‘प्रचलित ऐन, नियम, निर्देशिका, आचारसंहिता गम्भीर उल्लंघन गरेका तर आफ्ना सम्पर्क विवरण नराखेका तथा मिडियाअन्तर्गत आबद्ध नभएका युट्युब च्यानललाई प्रचलित कानुनबमोजिम कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको छ,’ काउन्सिलका सूचना अधिकारी सहप्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    काउन्सिलले यस घटनासँग सम्बन्धित रहेर आधार प्रमाण पुष्टि नभएको विषयमा वैयक्तिक गोपनीयता प्रतिकूल हुने किसिमबाट पीडित र आरोपितको नाम, वतन, तस्बिर तथा भिडियो सामग्री सम्प्रेषण गरी पीडित र पीडितका परिवारलाई थप पीडा पुग्ने र सार्वजनिक संवेदनशीलतामा असर पर्ने सामग्री सम्प्रेषण गरी पत्रकार आचारसंहिता, २०७३ (पहिलो संशोधन, २०७६) को दफा ४(९), ५(२) (२),५, (४) र ५ (१३), महिला उत्तरदायी सञ्चार निर्देशिका, २०७६ को ५(८०) ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका, २०७८ को ४ क, ख, ङ र झ० र वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ को दफा (३) उल्लंघन गर्ने ३८ वटा युट्युब च्यानललाई कारबाही प्रक्रिया अगाडि बढाएको हो ।

    काउन्सिलले युट्युब तथा फेसबुकबाट सम्प्रेषण भएका पत्रकारिताका मूल्य र मान्यताविपरीत, गलत, समाजमा घृणा, द्वेष, उत्तेजनारअफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने त्यस्ता सामग्री हटाउन भनेको छ । ‘आरोप र शंकाकै आधारमा आफैं अदालतझैं गरी अप्रमाणित विषयलाई दोषी करार गर्ने, वैयक्तिक गोपनीयता प्रतिकूल हुने, महिला–ज्येष्ठ नागरिक–बालबालिकाको आत्मासम्मानमा आँच पुर्‍याउने सामग्री क्षमायाचनासहित हटाउन प्रेस काउन्सिल नेपाल सम्बद्ध सबैमा आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

  • ब्यारेक भित्रै महिला प्रहरी मृत फेला

    ब्यारेक भित्रै महिला प्रहरी मृत फेला

    काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रभाग साँखुको ब्यारेकमा एक महिला प्रहरी जवान झुन्डिएको अवस्थामा मृत भेटिएकी छिन् । तीन जना बस्ने गरेको ब्यारेकको कोठामा महिला प्रहरी जवान निशा चौधरी सिलिङ फ्यानमा आफ्नै सलको पासो लगाएर झुन्डिएको अवस्थामा बुधबार मध्यान्ह करिब १२ बजेतिर मृत फेला परेको प्रहरीले जनाएको छ । चौधरीसँगै तीन जना बुधबार बिहान शाली नदी मेलाको ड्युटीका लागि भनेर खटिएका थिए ।

    उनीसँग एउटै कोठामा बस्ने तीन जना ड्युटीमा खटिएकोमा दुई जनाले भने शाली नदी मेलामै खाना खाएका थिए । चौधरी भने ब्यारेकमै खाना खाने भन्दै फर्किएको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले बताएका छन् । खाना खान भनेर आएकी चौधरी आफू सुत्ने कोठामा पसेकी थिइन् । तर, लामो समयसम्म पनि कोठाबाट बाहिर ननिस्केको र बोलाउँदा पनि नबोलेपछि झ्याल फोडेर हेर्दा उनी सिलिङ फ्यानमा झुन्डिएको अवस्थामा मृत फेला परेको पाइएको छ ।


    बर्दिया घर भएकी २३ वर्षीया चौधरी प्रहरी सेवामा प्रवेश गरेको तीन वर्ष मात्रै भयो । प्रहरी वृत्त गौशालामा कार्यरत उनी शाली नदी मेलाको ड्युटीका लागि थप मद्दत भन्दै खटिएकी थिइन् । विवाहित चौधरीका श्रीमान भने वैदेशिक रोजगारीमा विदेश रहेको पाइएको छ । परिवारका आफन्त आएपछि शव उठाएर पोस्ट मार्टमका लागि पठाउने तयारी प्रहरीको छ ।

  • रविलाई चितवनमा न्यायिक हिरासतमा पठाइयो

    रविलाई चितवनमा न्यायिक हिरासतमा पठाइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा पठाइएको छ । चितवन जिल्ला अदालतमा आजबाट सुरु भएको बयान र त्यसपछिको थुनछेक बहस नसकिएपछि उनलाई प्रहरीको जिम्मा लगाइएको हो । चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार) १० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो ।

    जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो । साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै आजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो ।

    बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहायक न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस सकिएको छ । सहकारी पीडितको तर्फबाट बुधबार रमेश काफ्लेले मात्रै बहस गर्न भ्याए । अन्यको बहस भोलि अदालत खुलेपछि सुरु हुने बताइएको छ ।

  • अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने

    अब चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने

    काठमाडौं । अबदेखि चुरोट तथा सुर्तीजन्य पदार्थको प्याकेटमा शतप्रतिशत चेतावनीमूलक चित्र र सन्देश छाप्नुपर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘सुर्तीजन्य पदार्थको बट्टा, प्याकेट, र्‍यापर्स, पेटी तथा पार्सल, प्याकेजिङमा चेतावनीमूलक सन्देश र चित्र छाप्ने तथा अंकित गर्ने निर्देशिका, २०८१’ पारित गरेको छ । जसमा चुरोट तथा सुर्तीजन्य पदार्थका बट्टा तथा प्याकेटहरूमा मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमा घातक रंगीन चित्र र चेतावनीमूलक सन्देश अनिवार्य छाप्नुपर्ने व्यवस्था राखिएको छ ।

    यसअघि भएको ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश छाप्नुपर्ने व्यवस्था थियो । जुन व्यवस्था संशोधन गर्दै स्वास्थ्यमन्त्री प्रदी पौडेलले शत प्रतिशत भागमा यस्तो चेतावनी छाप्नुपर्ने निर्देशिका स्वीकृत गरेका हुन् । ‘क्यान्सरको उपचार मात्र हैन रोकथामका उपायको खोजी हाम्रो प्राथमिकता हो,’ मन्त्री पौडेलले भने, ‘चुरोट र सुर्तीजन्य पदार्थको प्रयोग घटाएर नागरिकको जीवनरक्षा गर्न यस्तो निर्णय गरेका हौं ।’

    यस्ता चेतावनीमूलक सूचनाले सूर्ती तथा चुरोट छाड्नेको संख्या वृद्धि हुने विश्वभर भएका अध्ययनहरूले देखाएका छन् । नेपालमा हरेक वर्ष ३७ हजारको सूर्ती तथा चुरोट सेवनबाट ज्यान जाने गरेको मन्त्रालयको तथ्यांकमा छ । नेपालले यसअघि ७५ बाट ९० प्रतिशत चेतावनीमूलक चित्र तथा सन्देश पुर्‍याउँदा ब्लुमबर्ग अवार्ड समेत प्राप्त गरेको थियो ।

    निर्देशिका अनुसार चुरोटको बट्टा, प्याकेट र र्‍यापर्सको मुख्य भागको अगाडि र पछाडिको शत प्रतिशत भागमध्ये ८० प्रतिशत भागमा खतराका चित्र र २० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्नुपर्ने व्यवस्था गरिएको छ । चुरोटका लागि निर्देशिकामा विभिन्न पाँच वटा खतराका चित्र र सन्देशहरू राखिएको छ । यस्तै बिँडीको बट्टा, प्याकेट र र्‍यापर्समा पनि ८० प्रतिशत खतराका चित्र र २० प्रतिशत चेतावनीमूलक सन्देश राख्ने व्यवस्था निर्देशिकामा छ ।

    यसैगरी, खैनी, सुर्ती र गुट्खा जस्ता सुर्तीजन्य पदार्थको बट्टा प्याकेट र र्‍यापर्समा अगाडि र पछाडिको ६० प्रतिशत भागमा घातक चित्र र अगाडिको बाँकी रहेका ४० प्रतिशत भागमा २०र२० प्रतिशतका दुई वटा चेतावनीमूलक सन्देश र पछाडिको भागमा भने एउटा सन्देश २० प्रतिशत र अर्कोमा १० प्रतिशत हुने व्यवस्था छ ।

    निर्देशिका अनुसार सुर्तीजन्य पदार्थको बट्टा र प्याकेट राख्ने पेटी, पार्सल र प्याकेजिङको सहायक माथिल्लो भागमा ‘सुर्तीजन्य पदार्थ स्वास्थ्यलाई हानिकारक छ, धुम्रपानले ज्यान लिन्छ’ भन्ने चेतावनीमूलक सन्देश, सहायक दायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा ‘धुम्रपानमा नाइट्रोसोमाईन र बेन्जोपाईरिन जस्ता क्यान्सरको कारक तत्वहरू हुन्छन, धुम्रपान गर्न छोडौं’ भन्ने चेतावनीमूलक सन्देश र तल्लो दश प्रतिशत भागमा ब्राण्ड नाम उल्लेख गर्नु पर्ने छ ।

    त्यस्तै सहायक बायाँ भागको माथिल्लो ९० प्रतिशत भागमा ‘धुम्रपानमा हुने निकोटिन, टार, कार्बनमोनोक्साईडले मुटु र फोक्सोको रोग लाग्छ धुम्रपान गर्न छोडौं’ भन्ने चेतनामूलक सन्देश र तल्लो दश प्रतिशत भागमा उत्पादकको नाम र ठेगाना छाप्नु पर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ ।

    यसैगरी सन्देश र चित्र स्पष्ट देखिनेगरी प्याकेजिङ र लेबलिङ गर्नु पर्ने पनि भनिएको छ । उत्पादकले सूर्तीजन्य पदार्थको बट्टा, प्याकेट, पर्स, पेटी, पार्सल र प्याकेजिङ्गमा छपाई गर्नुपर्ने चेतावनीमूलक सन्देश र चित्रहरुको अपभ्रंस नहुने, नबिग्रने र नछोपिने गरी सूर्तीजन्य पदार्थहरू प्याकेजिरू र लेबलिरू गर्नु पर्ने भनिएको छ ।

    निर्देशिकाले सूर्तिजन्य पदार्थको प्रवद्र्धन हुनेगरी प्याकेजिङ वा लेबल गर्न निषेध गरेको छ । ‘उत्पादक लगायत कसैले पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सुर्तिजन्य पदार्थको प्रवद्र्धन हुने गरी कुनै सन्देश, सामग्री, रंग, चित्र आदि राखेर प्याकेजिङ वा लेबल गर्न पाइनेछैन,’ निर्देशिकामा उल्लेख छ ।

    निर्देशिकाअनुसार उत्पादकले अबको ६ महिनाभित्र बजारमा रहेका ९० प्रतिशत चेतावनीयुक्त प्याकेट तथा प्याकेजहरु हटाइसक्नुपर्नेछ । यो निर्देशिका पारित भएको मितिले १८० दिनपछि लागु हुने निर्देशिकामा उल्लेख छ । नेपालमा समेत यस्तो चेतावनीले काम गरिरहेकामा अब संशोधित निर्देशिकाले सुर्ती चुरोटको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरूमा कमी हुने अपेक्षा गरिएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए ।

  • सामाजिक संजालमा आतंक फैलाउने गरी पोष्ट राख्ने ७ जना पक्राउ

    सामाजिक संजालमा आतंक फैलाउने गरी पोष्ट राख्ने ७ जना पक्राउ

    काठमाडौं । सामाजिक सञ्जालमार्फत आतंक फैलाउनेविरुद्ध प्रहरीले कारबाही सुरु गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सामाजिक सञ्जालमार्फत आतंक सिर्जना गरेर समाजमा अशान्ति फैलाउने, डर र त्रासको वातावरण सिर्जना गर्नेविरुद्ध कारबाही थालेको हो । अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हाले लगत्तै एसएसपी रमेश बस्नेतले सामाजमा आतंका सिर्जना गर्ने र गुण्डागर्दीमा संलग्नहरूविरुद्ध कडा रुपमा प्रस्तुत हुने बताएका थिए । सोही नीति अनुसार कारबाही प्रक्रिया सुरु गरिएको हो ।

    बुधबार मात्रै अपराध अनुसन्धान कार्यालयले राजधानीका विभिन्न ठाउँहरूबाट ७ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोपाल मोक्तान, गुणबहादुर गुरुङ, रोमन मगर, सुमन पराजुली, मनोहर थापा मगर, रोनिस बरामु र रोशन तामाङ छन् । यो समूहले टिकटकमा ‘ग्याङ स्टार’ प्रदर्शन गरेको, तरबार प्रदर्शन गर्ने गरेको, हतियार र बडी प्रदर्शन गर्दै समाजमा अशान्ति मच्चाएको आरोप छ । पक्राउ परकोहरूविरुद्ध प्रहरीले सार्वजनिक शान्तिमा खलल पुर्‍याएको आरोपमा अनुसन्धान गर्ने बताएको छ । एसएसपी बस्नेतका अनुसार समाजमा अशान्ति मच्चाउनेविरुद्ध विशेष अपरेशन नै बनाएर काम सुरु गरिएको छ ।

    ‘एसएसपी बस्नेतको निर्देशनपछि अपराध अनुसन्धान कार्यालयको गुण्डागर्दी हेर्ने ४ नम्बर पिलरले उनीहरूलाई पक्राउ गरेको हो । ४ नम्बर पिलरका डीएसपी अनिल घिमिरे कमाण्डमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ । पक्राउ परेकाहरूले १०–१५ जनाको समूह बनाई खुकुरी, तरबारले केक काट्ने, मसल प्रदर्शन गर्ने र त्यसको भिडियो बनाई टिकटकमा पोस्ट गर्ने गरेका थिए । यस्ता पोस्टले सामाज अशान्ति फैलने भन्दै प्रहरीले कारबाही सुरु गरेको जनाएको छ ।

  • चितवनमा रविविरुद्ध दर्ता भयो मुद्दा, अरु को को परे ?

    चितवनमा रविविरुद्ध दर्ता भयो मुद्दा, अरु को को परे ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध चितवनमा ठगी सम्बन्धी कसुरमा मुद्दा दायर भएको छ । कास्की, काठमाडौं र रुपन्देही जिल्ला अदालतमा उनीविरुद्ध संगठित अपराधको कसुरमा पनि मुद्दा दायर भएको थियो । जिल्ला सरकारी वकिलको कार्यालय, चितवनका प्रमुख शान्तिप्रसाद लुइँटेलले लामिछानेले पोखरा र बुटवलबाट आफैं ऋण लगेको देखिएकाले ठगी र संगठित अपराधमा मुद्दा दर्ता भएको तर, चितवनमा आफैंले लगेको नदेखिएकाले ठगीमा मात्र मुद्दा चलाइएको बताए । सरकारी वकिलले लामिछानेसहित रामबहादुर खनाल, रविना रिमाल, विशाल तामाङ, नविन अछामी, कविता तामाङ, असरफ अली सिद्धिकीविरुद्ध ठगीमा मात्र मुद्दा दायर गरेको छ ।

    मुलुकी अपराध संहिताको दफा २४९ मा रहेको ठगीको दफा १ र २ मा कसैलाई बेइमानीपूर्वक कुनै किमिसको हानी, नोक्सानी पुर्‍याए ठगी गरेको मानिने भनिएको छ । सरकारी वकिलले उल्लेख गरेको दफा २४९ को उपदफा ३ मा यस किसिमको ठगीमा संलग्नलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने मुलुकी अपराध संहितामा व्यवस्था छ ।

    संगठित अपराध र ठगी दुवैमा मुद्दा दायर भएकाहरुमा जिबी राई, सागर केसी, हेमन्त अधिकारी, आशिष राना मगर, अनन्तबाबु राई, भूपेन्द्र राई, देवेन्द्र राई, दिनेश रोका, कुमार रम्तेल, छविलाल जोशी, दिपक लामा र नेत्रप्रसाद बाँस्तोला समेत गरी १२ जना छन् । चितवनको सहकारी प्रकरणमा बयान दिने क्रममा रविले अन्यत्रझैँ रकम ल्याउने क्रममा आफ्नो संलग्नता नरहेको जिकिर गरेका छन् ।


    अदालतमा दायर अभियोग पत्रमा सहकारीमा बचतकर्ताले राखेको रकममध्ये गोर्खा मिडिया नेटवर्कमा १० करोड ८० लाख १८ हजार १५१ रुपैयाँ, नेचर हब्र्स इन्टरनेशनल प्रालिमा ९ करोड ७३ लाख ८१ हजार ८९७, जीबी ग्रुप अफ कम्पनिजमा ९ करोड २७ लाख ५० हजार ८५४, स्प्रिङउड रियलस्टेट एण्ड हाउजिङमा ६ करोड ८१ लाख ८८ हजार ७०३ रुपैयाँ गएको देखिएको छ ।

    नेचर नेष्ट कम्पनीमा ६ करोड ५१ लाख १० हजार ३२२ र गोरखा ग्रुप अफ मल्टी इन्भेष्टमेन्ट– १७ लाख ५८ हजार रुपैयाँ गएको देखिएको छ । गोर्खा मिडियामा गएको रकममध्ये जिबी राई, छविलाल जोशी, रवि लामिछाने, कुमार रम्तेल र जिबी ग्रुप अफ कम्पनीबाट भराउनुपर्ने मागदाबी अभियोग पत्रमा गरिएको छ । अन्य कम्पनीमा गएको रकम समेत त्यसका सञ्चालकहरुबाट भराउनुपर्ने माग दाबी लिइएको छ ।

  • अध्यादेशको विरोध गर्दै विपक्षी दल, संसदमा रोक्लान ?

    अध्यादेशको विरोध गर्दै विपक्षी दल, संसदमा रोक्लान ?

    काठमाडौं। संघीय संसदको हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमै सरकारले विपक्षी दलबाट विरोधको सामना गर्नुपर्ने देखिएको छ । सरकारले हिउँदे अधिवेशनको पहिलो दिनको बैठकमा विभिन्न ६ अध्यादेश पेश गर्दैछ । विपक्षी दल त्यसको प्रतिवादमा छन् । प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेताले सम्बोधन गरिसकेपछि प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रसहितका विपक्षी दलका सांसद विरोधमा उत्रिने तयारीमा रहेको स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

    विहीबार माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलहरुको बैठकले अध्यादेशको विरोधमा संसदमा उत्रने निर्णय गरेको थियो । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले माघ २ गते अध्यादेश ल्याइएको र माघ १८ गते संसद् अधिवेशन आह्वान गर्ने सरकारको मनसाय नै ठीक नभएको भन्दै संसदमा सशक्त प्रतिवाद गर्ने बताएका थिए । अध्यादेशको विरोधसहित जनसरोकारका विषयहरु एकमत भएर संसदमा उठाउने विपक्षी दलका नेताहरुले बताएका छन् ।

  • शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?

    शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूची के छ ?

    काठमाडौं । प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिले आगामी शुक्रबार हुने प्रतिनिधिसभा बैठकको कार्यसूची निर्धारण गरेको छ । सभामुख देवराज घिमिरेको अध्यक्षतामा मङ्गलबार बसेको समितिको बैठकले सम्भावित कार्यसूची निर्धारण गरेको हो ।

    बैठकको निर्णयअनुसार अधिवेशनको पहिलो दिन ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ प्रतिनिधि सभामा पेस हुने छन् ।

  • बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता कारागार चलान

    बलात्कार आरोपमा पक्राउ परेका एमाले नेता कारागार चलान

    काठमाडौं । नाबालिका बलात्कार आरोपमा पक्राउ परेका नेकपा एमालेका काठमाडौं जिल्ला सदस्य पूर्णमान लामा कारागार चलान भएका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रेशराज शर्माको मंगलबारको इजलासले लामालाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको हो ।

    काठमाडौंको शंखरापुर नगरपालिका–१ का लामालाई नाबालिका बलात्कार आरोपमा प्रहरी वृत्त बौद्धले पक्राउ गरेर मुद्दा चलाएको थियो । उनी पक्राउ परेपछि पार्टीको ‘मर्यादामा आँच’ आउने गतिविधि गरेको एवम् ‘असामाजिक क्रियाकलाप’मा संलग्न भएको भन्दै एमाले काठमाडौंले निलम्बन गरेको थियो ।

  • रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश

    रुपन्देहीमा रविलाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश

    काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा पूर्व गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई एक करोड धरौटीमा छाड्न रुपन्देही जिल्ला अदालतले आदेश दिएको छ। जिल्ला अदालतमा बहस एक साता चल्यो । त्यसपछि न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले लामिछानेलाई आइतबार धरौटीमा छाड्न आदेश दिएको छ । बुटवलको सुप्रिम सहकारीको बचत अपचलनको आरोपमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा जिल्ला अदालतमा मुद्दा दायर भएको थियो।

    थुनछेक बहसमा सरकारी वकिलले लामिछानेलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए । लामिछाने पक्षका वकिलले राज्यले प्रतिशोध साँधेको भन्दै बाहिरै बसेर मुद्दाको पुर्पक्ष गर्न माग गरेका थिए। लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो।

  • रविको थुनछेक बहस हेर्दाहेर्दैमा, आइतबार निरन्तर

    रविको थुनछेक बहस हेर्दाहेर्दैमा, आइतबार निरन्तर

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको थुनछेक बहस शुक्रबार समेत सम्पन्न हुन सकेन । शुक्रबार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ । बुधबारबाट बहस सुरु भएको हो । मुद्दा आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि लामिछाने गत बुधबार रुपन्देही जिल्ला अदालतमा उपस्थित भएका हुन् ।

    न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बुधबार दिनभर बयान भएको हो । बिहीबारबाट थुनछेक बहस जारी छ । बिहीबार ८ जना सरकारी वकिलहरूले बहस गरेका थिए । शुक्रबार सुरुमा जाहेरवालाका तर्फबाट वकिलहरूको बहस भएको थियो । त्यसपछि प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशिल पन्त र सुरेन्द्र थापाले बहस गरेका छन् ।

    उनीहरूको बहस नसकिएपछि आइतबार पुनः अदालत उपस्थित हुने शर्तमा रविलाई परिवारको जिम्मा लगाइएको छ । थुनछेक बहस सकिएपछि जाहेरवाला र प्रतिवादीतर्फका वकिलहरूले जवाफी बहस गर्नेछन् । त्यसपछि अदालतले आदेश जारी गर्नेछ ।

  • एमाले नेता महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अगाडी बढाउन अदालतको आदेश

    एमाले नेता महरमाथि बलात्कार मुद्दामा अनुसन्धान अगाडी बढाउन अदालतको आदेश

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरमाथि उच्च अदालत पाटनमा दर्ता बलात्कार मुद्दामा अनुसन्धानको प्रक्रिया अघि बढाउन आदेश भएको छ । बिहीबार न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको संयुक्त इजलासले अनुसन्धान अघि बढाउन परमादेश जारी गरेको छ । आफू महरबाट बलत्कृत भएको भन्दै पीडितले यसअघि नै प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएकी थिइन् ।

    तर, प्रहरीले उक्त जाहेरी दर्ता गर्न अस्वीकार गर्दै तामेलीमा राखेको थियो ।
    प्रहरीले आफ्नो जाहेरी तामेलीमा राखेपछि पीडित महिला उच्च अदालत गएकी थिइन् । बिहीबार न्यायाधीशद्वय प्याकुरेल र कोइरालाको इजलासले प्रहरीले तामेलीमा राखेको प्रक्रिया नमिलेको ठहर गर्दै अनुसन्धानको प्रक्रिया अघि बढाउने आदेश गरेको हो । ‘तामेलीमा राखेको प्रक्रिया नमिलेको हुनाले प्रमाणहरू बुझि अनुसन्धानको प्रक्रिया अघि बढाउनू भन्ने आदेश भएको छ । सोही मुद्दाका अन्य दुई वटा रिट भने खारेज भएका छन् ।

    बझाङ स्थायी घर भएका महरलाई ०७८ मंसिरमा केन्द्रीय सदस्य मनोनीत गरिएको थियो । यौन विचलनमा परेको अडिओ सार्वजनिक भएपछि पार्टीले उनलाई एक पटक निलम्बन गरेको थियो । पछि फेरि सचिवालय बैठकबाटै महरलाई जिम्मेवारीमा फर्काइएको थियो । एमाले निकट अनेरास्ववियुको केन्द्रीय अध्यक्ष भइसकेका व्यक्ति हुन् ।

  • रुपन्देहीमा रविको बयान लिइयो, हिरासतमा भने राखिएन

    रुपन्देहीमा रविको बयान लिइयो, हिरासतमा भने राखिएन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला अदालतले भोलि उपस्थित हुने शर्तमा जिम्मा लगाएको छ । भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी रविलाई श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश भएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले सो आदेश दिएको हो । बुटवलको सुप्रिम सहकारीको रकम ठगीको आरोपमा दायर भएको मुद्दामा बयान दिनका लागि उनी बुधबार अदालत उपस्थित भएका थिए ।

    बिहीबार उनको बयान सकिएको छ । मरासिनीका अनुसार भोलिबाट उनको थुनछेक बहस सुरु हुनेछ । लामिछानेविरुद्ध बुटवलको सुप्रिम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक अभियोग दर्ता भएको थियो । लामिछानेका साथै छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र यसअघिको मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो । लामिछाने बयानका लागि मंगलबार नै भैरहवा पुगेका थिए ।

  • रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

    रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने

    काठमाडौं । पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आज रुपन्देही जिल्ला अदालतमा उपस्थित हुने भएका छन् ।
    बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित हुन लागेका हुन् । लामिछाने मंगलबार नै काठमाडौंबाट रुपन्देही पुगिसकेका छन् ।

    मंगलबार अपराह्न उनी काठमाडौं विमानस्थलबाट केही वकिल र नेता कार्यकर्तासहित भैरहवा अवतरण भएका थिए । लामिछाने यसअघि कास्की पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

    काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो । कास्की प्रहरीमा अनुसन्धान भइरहेकै बेला रविमाथि बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो ।

    त्यसपछि २७ कात्तिकमा बुटवलस्थित सरकारी वकिलको कार्यालयमा पुगेर रविले बयान दिएका थिए । यसअघि रवि गृहमन्त्री रहेकै बेला सुप्रिमको मुद्दा ३ वैशाखमा अदालतमा दर्ता भएको थियो । त्यतिबेला एक हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो ।

  • अदालत हाजिर हुन भैरहवा पुगे रवि

    अदालत हाजिर हुन भैरहवा पुगे रवि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन् । बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार भैरहवा गएका हुन् । बुद्ध एयरको विमानमार्फत मंगलबार दिउँसो उनी भैरहवा पुगेका हुन् । भैरहवास्थित होटल मेरि गोल्डमा लामिछानेले पार्टीका कार्यकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    उनी भैरहवाको देवकोटा चोकस्थित मेरिगोल्ड होटलमा बास बस्ने रास्वपा रुपन्देहीका अध्यक्ष डा. बुद्धि प्रसाद शर्माले बताए । उनी बुधबार अदालत हाजिर हुँदैछन् । लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौं जिल्ला अदालत हाजिर भएका थिए ।

    काठमाडौंमा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । लामिछानेविरुद्ध बुटवलको सुप्रीम सहकारीको बचत ठगी आरोपमा आइतबार रुपन्देही अदालतमा पूरक दर्ता भएको थियो । लामिछाने, छविलाल जोशी, जीबी राईसहित पूरक अभियोगका १४ र शुरू मुद्दाका २८ गरी ४२ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो ।

    लामिछाने र पूर्व डीआईजी समेत रहेका जोशीसहित २२ जनाविरुद्ध सहकारी ठगी र संगठित अपराध कसुरमा पूरक र गितेन्द्रबाबु राई जीबीसहित १७ जनालाई थप कसुर र बिगो थपसहितको मुद्दा दर्ता भएको हो । पूरक र थप अभियोगसहित सुप्रिम सहकारीको रकम अपचलनमा संलग्न देखिएका ४२ जना प्रतिवादीविरुद्ध मुद्दा दर्ता भएको हो । लामिछाने सँग ४ करोड बढी विगो माग गरिएको छ ।

  • दिदिको अश्लिल भिडियो बहिनीलाई पठाउने एक जना पक्राउ

    दिदिको अश्लिल भिडियो बहिनीलाई पठाउने एक जना पक्राउ

    काठमाडौं । सहमति बिना अश्लील भिडियो खिचेर पीडितको बहिनीलाई पठाएको आरोपमा एक जना ३१ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा पीडित महिलाले दिएको उजुरीको आधारमा ती पुरुषलाई पक्राउ गरिएको हो ।

    पक्राउ पर्नेमा भोजपुरको षडानन्द नगरपालिका–५ स्थायी ठेगाना भई काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सरोज कटुवाल रहेका छन् । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा गत पुस २९ गते पक्राउ गरी काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरिएको छ । पीडित महिलाको उजुरीको आधारमा उनीविरुद्ध थप अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।

  • रास्वपा सभापति लामिछाने काठमाडौं अदालतबाट रिहा

    रास्वपा सभापति लामिछाने काठमाडौं अदालतबाट रिहा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने काठमाडौं जिल्ला अदालतमा धरौटी बुझाएर छुटेका छन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको एकल इजलासले रविलाई ६० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो । उक्त आदेशलगत्तै बैंक ग्यारेन्टीमार्फत् रविले धरौटी रकम बुझाएका हुन् ।

    उनलाई जिल्ला अदालत कास्कीले समेत पोखराको सूर्यदर्शन सहकारीमा अनियमितता प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । रविविरुद्ध इलाका प्रहरी कार्यालय, बुटवलले अनुसन्धान गरेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाइसकेको छ ।

    जिल्ला प्रहरी कार्यालय, चितवनले पनि उनी जोडिएको साहारा चितवन सहकारी प्रकरणमा अनुसन्धान गरिरहेको छ । तर, कास्कीमा पनि उनी धरौटी बुझाएपछि छुटेर आफैं अदालतमा हाजिर भएको हुँदा काठमाडौंमा पनि त्यही नीति अपनाइएको एक प्रहरी अधिकृतले बताए ।

  • काठमाडौं जिल्ला अदालतमा रविले के दिए बयान ?

    काठमाडौं जिल्ला अदालतमा रविले के दिए बयान ?

    काठमाडौं । काठमाडौं जिल्ला अदालतमा रवि लामिछानेले बयानका क्रममा सहकारीको रकम गोर्खा मिडियामा ल्याउने प्रक्रियामा आफ्नो कुनै संग्लनता नरहेको दोहोर्‍याएका छन् । उनले भनेका छन्, ‘मिसिल संग्लन मलाई देखाइएको निवेदनको छायाँकपीमा भएको हस्ताक्षर र औंठाछाप मेरो हो । तर कम्पनीमा जोडिँदा र कम्पनी छोड्दा मैले शेयर बापतको पैसा लगानी गरेको पनि होइन र लिएर गएको पनि होइन ।’

    उनले बयानमा गोर्खा मिडिया नेटवर्कका लगानीकर्ता गितेन्द्रबाबु राई भएको बताउँदै लगानीकर्ताको निर्देशनबिना उल्लिखित प्रक्रियाबिना आफूले कम्पनीको चेक जारी गर्न नसक्ने अवस्थाबारे बताएका छन् । बयानमा उनले भनेका छन्, ‘छविलाल जोशी अधिकांश समय विदेश गएका थिए र गितेन्द्रबाबु राई अत्यन्तै व्यस्त थिए । म मात्र लेखाका कर्मचारीहरुले खोज्दा स्टेशनमा रहेको हुँदा मेरो हस्ताक्षर लिन उनीहरुलाई सहजता थियो,’ बयानमा रविले थपेका छन, ‘आफूमात्रै कार्यालयमा भएका कारण सहजकर्ताका रुपमा मात्रै मैले चेकहरु हस्ताक्षर गरेको हुँ ।’


    उनले बयानमा आफ्नो कार्यकालमा गितेन्द्रबाबु राईबाट लगभग २२ करोड ऋण आएको बताउँदै भनेका छन, ‘आफूले लिएको ऋण उनले को को बाट लिए र कहाँ कहाँबाट लिए त्यो मेरो जानकारीको विषय होइन ।’ उनले लेखासम्बन्धी कार्यको पूर्ण नियन्त्रण कार्यकारी अध्यक्ष गितेन्द्रको हुने भएकाले त्यसमा आफूले केही सोच्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले भनेका छन्, ‘प्राविधिक रुपमा चेकमा सही गर्न म कहाँ चेकहरु ल्याइने भए पनि कम्पनीका लगानीकर्ताको मात्रै त्यसमा नियन्त्रण थियो ।’

  • रवि आज पनि न्यायिक हिरासतमा

    रवि आज पनि न्यायिक हिरासतमा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँ, जिल्ला अदालतले हिरासतमा पठाइएको छ। लामिछाने बयान सकिए पनि थुनछेक बहस नसकिएपछि अदालतले सोमबार उनलाई न्यायिक हिरासतमा पठाएको हो । आइतबार जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बहस नसकिएपछि लामिछानेलाई सोमबार बिहान १० बजे अदालतमा उपस्थित हुने गरी हिरासतमा पठाएको थियो ।

    स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दामा काठमाडौँ जिल्ला अदालतमा लामिछानेको बयान सकिए पनि थुनछेक बहस जारी रहेकाले उनी हिरासतमै बस्नुपर्ने भएको हो । मंगलबार माघ १ गते माघीको सार्वजनिक बिदा भएकाले अदालत बन्द हुन्छ । अब लामिछाने बुधबार मात्र अदालतमा उपस्थित हुनेछन् ।

    लामिछानेलाई जिल्ला प्रहरी परिसर काठमाडौँ भद्रकालीको हिरासतमा राखिएको छ । लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौँ कालिमाटीको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत दुरुपयोग आरोपमा मुद्दा दर्ता भएको छ। लामिछानेसहितका प्रतिवादीविरुद्ध एक अर्ब १९ करोड ४९ लाख २१ हजार दुई सय ७० रुपियाँ बिगो कायम गरिएको छ ।

  • राष्ट्रपतिबाट जारी भए चार अध्यादेश, एक अध्यादेश रोके

    राष्ट्रपतिबाट जारी भए चार अध्यादेश, एक अध्यादेश रोके

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ४ अध्यादेश जारी गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले सोमबार दिउँसो संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेश जारी गरेका हुन् ।

    सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१, नेपाल कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश–२०८१, नीजिकरण पहिलो संशोधन अध्यादेश–२०८१, आर्थिक तथा व्यवसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१ जारी भएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराईले जानकारी दिएकी छिन् ।

    भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपतिसमक्ष मन्त्रिपरिषद्ले सिफारिस गरेको थियो । तर, राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिमा उक्त अध्यादेश जारी गरिएको विवरण उल्लेख छैन । राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईका अनुसार भूमिसम्बन्धी अध्यादेश राष्ट्रपति कार्यालयमा अध्ययनकै क्रममा रहेको छ ।

  • रविको थुनछेक बहस आजबाट

    रविको थुनछेक बहस आजबाट

    काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुने भएको छ । काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दा लड्न दिने भन्नेबारे सरकारपक्ष र विपक्षी वकिलहरूबीच बहस हुनेछ।

    आइतबार लामिछानेको बयान लम्बिएपछि थुनछेक बहस हुन सकेन। त्यसपछि न्यायाधीश अधिकारीले लामिछानेलाई प्रहरीको जिम्मा लगाएको थियो। उनी काठमाडौं प्रहरीको हिरासतमा छ। प्रहरीले नै उनलाई थुनछेक बहसमा अदालत उपस्थित गराउनेछ। आइतबार थुनछेक बहस नहुने भएपछि रवि लामिछाने र उनका वकिलहरूले प्रतिवादी आफै अदालतमा हाजिर हुन आएकाले परिवारको जिम्मा लगाउन माग गरेका थिए।

    न्यायाधीश अधिकारीले थुनछेक नभएका कारण मुद्दा हेर्दाहेर्दैमा परेको र हेर्दाहेर्दैमा परेका मुद्दाका प्रतिवादीलाई परिवारको जिम्मामा छाड्ने नजीर नरहेको बताउँदै लामिछानेलाई प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएका हुन्।

    स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ । लामिछाने र उनी र गोर्खा मिडियाका तत्कालीन सञ्चालक जिबी राईको हकमा पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ संयुक्त बिगो मागदाबी गरिएको छ। सोही मुद्दामा प्रतिवादी रहेका सुनिता नेवा र कमल लामा धरौटीमा रिहा भइसकेका छन्।

  • रविलाई पुनः हिरासतमा लिइयो

    रविलाई पुनः हिरासतमा लिइयो

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई न्यायिक हिरासतमा लगिएको छ । काठमाडौं जिल्ला अदालतमा आइतबार थुनछेक बहस नसकिएपछि उनलाई प्रहरी परिसर, काठमाडौंको न्यायिक हिरासतमा लगिएको हो । काठमाडौं जिल्ला अदालतबाट उनलाई प्रहरीले लगेको हो । उनलाई आज भद्रकालीस्थित प्रहरी परिसरको हिरासतमा राखिने प्रहरीले स्रोतले जनाएको छ ।

    सोमबार पुनः अदालत पेस गर्नेगरी उनलाई प्रहरीको जिम्मा लगाइएको हो । गत बिहीबार कास्कीको सूर्यदर्शन सहकारी ठगीमा धरौटीमा रिहा भएका लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा मुद्दा दर्ता भएको थियो । सोही मुद्दाको बयानका लागि लामिछाने आइतबार आफैं अदालत हाजिर भएका थिए । रास्वपा अनुशासन आयोगका पूर्वउप्रमुख समेत रहेका अधिवक्ता यज्ञमणी न्यौपानेका अनुसार आज थुनछेक बहस नभएपछि इजलासबाट प्रहरीकै जिम्मा लगाउने आदेश भएको हो ।

    उनका अनुसार, परिवार वा सरकारी वकिलको जिम्मा रविलाई छाड्न न्यायाधीश अधिकारीसँग आग्रह गरिएको थियो । यद्यपि उनले उक्त प्रचलन नभएको भन्दै न्यायाधीश अधिकारीले प्रहरीकै जिम्मा लगाइदिएका हुन् । न्यौपानेका अनुसार भोलि बिहान ११ बजेबाट थुनछेक बहस सुरु हुनेछ ।

  • पोर्न स्टारसँग जोडिएको मुद्दामा ट्रम्पले पाए सफाई

    पोर्न स्टारसँग जोडिएको मुद्दामा ट्रम्पले पाए सफाई

    काठमाडौं । अमेरिकाको एक अदालतले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्धको एक मुद्दामा सफाइ दिएको छ । पूर्व पोर्नस्टारसँगलाई आफूहरुबीचको सम्बन्धबारे नबोल्न भन्दै ट्रम्पले पैसा दिएको र त्यसको प्रमाण मेटाउने कोसिस गरेको मुद्दामा उनले उन्मुक्ति पाएका हुन् । समाचार संस्था एएफपीका अनुसार एक न्यायाधीशले शुक्रबार डोनाल्ड ट्रम्पलाई पोर्न स्टारलाई दिइएको गुप्त रकम लुकाएको मुद्दामा बिना शर्त रिहाइको सजाय सुनाए । योसँगै ट्रम्प जेल वा जरिवाना दुवै सजायबाट मुक्त भएका छन् । यही मुद्दामा उनलाई सन् २०२४ मे महिनामा दोषी ठहर गरिएको थियो ।

    तर न्युयोर्कका न्यायाधीश जुआन मर्चनले ट्रम्पलाई उन्मुक्ति दिएका छन् जसलाई तुलनात्मक रूपमा उन्मुक्तिको दुर्लभ उपाए भनिएको छ ।
    ‘यस अदालतलाई पहिले कहिल्यै यस्तो अद्वितीय र उल्लेखनीय परिस्थितिको साथ प्रस्तुत गरिएको थिएन’, न्यायाधीश मर्चनले भने, ‘मुलुकको सर्वोच्च पदमा हस्तक्षेप नगरी दोषी ठहर गर्न अनुमति दिने एकमात्र कानुनी सजाय बिना शर्त रिहाइ हो ।’

    ट्रम्प भर्चुअल रूपमा आफ्नो सजाय सुनुवाइमा उपस्थित थिए । न्यायाधीश, वकिल र मिडियाले म्यानहट्टनको अदालत कक्षमा खचाखच भरिएका थिए ।
    ‘यो निकै डरलाग्दो अनुभव भएको छ । मलाई लाग्छ यो न्युयोर्क र न्युयोर्कको अदालत प्रणालीका लागि ठूलो धक्का हो’ आरोपमुक्त हुनुअघि ट्रम्पले भने, ‘मैले चुनाव हारौँ भन्ने अभिप्रायले यो मेरो प्रतिष्ठालाई हानि पुर्याउनका लागि गरिएको थियो ।’

    पूर्वराष्ट्रपति आफ्नो पछाडि दुईवटा ठूला अमेरिकी झण्डा लिएर अदालत कक्षमा पर्दामा देखा परेका थिए । उनले सेतो धर्काहरू भएको रातो टाई लगाएका थिए र छोटो कार्यवाही चलिरहँदा अधीर भएर हेरिरहेका थिए ।

    ७८ वर्षीय ट्रम्प योसँगै चार वर्षसम्म जेल बस्नुपर्ने सजायबाट बचेका छन् । अब उनले कानुनी रूपमा दोषी राष्ट्रपतिको रूपमा ह्वाइट हाउस प्रवेश गर्नुपर्ने अवस्थाबाट मुक्ति पाएका छन् । सन् २०१६ को चुनावअघि पूर्वपोर्नस्टार स्टोर्मी ड्यानल्ससँग ट्रम्पको यौन सम्बन्ध रहेको विषय सार्वजनिक भएको थियो ।

    त्यसपछि यो विषयमा उनलाई चुप लगाउन ट्रम्पले १ लाख ३० हजार अमेरिकी डलर दिएको आरोप लागेको थियो । यो कसुरमा ट्रम्प दोषी ठहरिएका थिए । ट्रम्पले भने उक्त आरोप अस्वीकार गर्दै आफूले गलत काम नगरेको जिकिर गर्दै आएका छन् । सन् २०२४ को चुनाव प्रचार अघि यी सहितका अन्य फौजदारी अभियोगको सामना ट्रम्पले गर्नुपरेको थियो । त्यतिबेला उनले आफूलाई राष्ट्रपतिको निर्वाचनमा रोक्ने उद्देश्यले गलत आरोपहरु लगाइएको टिप्पणी गर्दै आएका थिए ।

    यद्यपि उनी सन् २०२४ मा राष्ट्रपति पदको निर्वाचनमा विजयी भएका थिए । केही पदहरुमा नियुक्ति समेत गरिसकेका ट्रम्पले जनवरी २० देखि अमेरिकी सत्ता सम्हाल्दै छन् ।