Category: कानुनी कुरा

  • वाइडबडी विमान खरीद : चार जना भ्रष्टाचार मुद्दामा दोषि ठहर

    वाइडबडी विमान खरीद : चार जना भ्रष्टाचार मुद्दामा दोषि ठहर

    काठमाडौं । विशेष अदालतले नेपाल वायुसेवा निगमको दुई वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गर्दै तत्कालिन अध्यक्ष सहित चार जनालाई दोषी ठहर गरेको छ । विहीबार अवेर फैसलाको संक्षिप्त आदेश सार्वजनिक भएको छ । जसमा विशेष अदालतले तत्कालीन अध्यक्ष शंकरप्रसाद अधिकारी, निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, सञ्चालक समितिका सदस्य बुद्धिसागर लामिछाने र शिशिरकुमार ढुंगानालाई दोषी ठहर गरेको हो ।

    विशेष अदालतले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही सहित अरु सबै आरोपित नेपाली नागरिकलाई सफाइ दिएको छ । विमान खरिद प्रक्रियामा संलग्न एस्क्रो कम्पनी र तिनका प्रतिनिधि बाहेक विदेशी आरोपितहरू भने दोषी ठहर भएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर सहित सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले एक अर्ब ४७ करोड रुपैंया नै भ्रष्टाचार भएको ठहर गरेको छ । अख्तियारले आरोपपत्रमा दावी गरेकै अंक भ्रष्टाचार भएको ठहर भएको हो । विशेष अदालतले कसुरदारहरूबाट दामासाहीले बिगो असुल्ने फैसला गरेको छ ।

    विशेष अदालतले निगमका महाप्रवन्धक कंसाकारलाई २ वर्ष ६ महिना कैद सजाय सुनाएको छ । विशिष्ट पदमा रहेकाले उनलाई थप ३ महिना कैद हुनेछ । तर जेष्ठ नागरिक भएकाले शुरुमा तोकिएको कैदमध्ये आधा मिनाहा हुनेछ । विशेष अदालतले आरोपितहरूलाई १२ करोड २४ लाख रुपैंयाका दरले जरिवाना सुनाएको छ ।

    विशेषले तत्कालिन पर्यटन सचिव शंकर अधिकारीलाई एक वर्ष छ महिना अनि थप तीन महिना गरी एक वर्ष ९ महिना कैद सजाय तोकेको छ । सहसचिवहरू शिशिर ढुंगाना र बुद्धिसागर लामिछानेलाई डेढ÷डेढ वर्षका दरले कैद सजाय हुने भएको छ । तत्कालिन सहसचिव ढुंगाना पछि सचिव भएर अवकाश पाएका थिए । लामिछाने भने भ्रष्टाचारको आरोप लाग्नुअघिसम्म पर्यटन मन्त्रालयमै कार्यरत थिए ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भनी तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाहीसहित ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले २४ जना नेपाली नागरिक र ८ जना विदेशीलाई प्रतिवादी बनाएको थियो ।

    विशेष अदालतले बेलायती नागरिक दीपक शर्मालाई दोषी ठहर गरेको छ । उनी अमेरिकाको एएआर कर्पोरेसनका अध्यक्ष हुन् । नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान आपूर्ति गर्न छनोट भएको उक्त कम्पनीले पछि अरू दुईवटा कम्पनी जोडेर खरिद सम्झौता गरेको थियो । दोषी ठहर भएका जर्मन नागरिक क्रिश्चियन न्ह्युलेन वाइडबडी विमान बिक्री प्रक्रियामा जोडिएका तीनवटा कम्पनीसँग आबद्ध छन् । रोमानियाका नागरिक ओलेग कालिस्त्रुलाई विशेष अदालतले कसुरदार ठहर्‍याएको छ ।

    यो समूहले आयरल्याण्डमा हाइफ्लाई एक्स नामक डलर पूँजीको कम्पनी स्थापना गरेको थियो । उक्त कम्पनी जहाज बिक्रीकै लागि खडा गरिएको भेटिएको छ । १० फागुन २०७३ मा स्थापित उक्त कम्पनीले एयरबस कम्पनीबाट दुईवटा वाइडवडी विमान खरिद गरी २४ अर्ब रुपैयाँमा नेपाल वायुसेवा निगमलाई बेचेको थियो ।

    अख्तियारले उनीहरूमाथि नेपाल वायुसेवा निगमलाई नोक्सान हुने गरी वाइडबडी विमान खरिद सम्झौता गरेको र त्यसबापत भुक्तानी लिएर भ्रष्टाचारको मतियार बनेको आरोप लगाएको थियो । विशेष अदालतले एस्क्रो अकाउन्ट सञ्चालन गर्ने कम्पनी र तिनका प्रतिनिधि बाहेक विमान खरिदमा जोडिएका सबै कम्पनी र तिनका सञ्चालक एवं प्रतिनिधिलाई दोषी ठहर गरेको छ ।

    निगमसँग सुरूमा ठेक्का सम्झौता गरेको अमेरिकाको एएआर इन्टरनेसन र त्यसका अध्यक्ष एवं सीईओ जोन होल्मेस थियो । त्यसैगरी जर्मनीको जर्मन एभिएसन क्यापिटल र उक्त कम्पनीका प्रबन्ध निर्देशक आना टोपा, पोर्चुगलको हाइफ्लाई ट्रान्सपोर्ट एरोज र उक्त कम्पनीका अध्यक्ष पाउलो मिरपुरीविरुद्ध पनि दोषी ठहर भए ।

    आयरल्याण्डको हाइफ्लाई एक्स, उक्त कम्पनीका निर्देशकहरू गेराल्ड थ्रोन्टन र क्रिश्चियन न्ह्युलेन पनि कसुरदार ठहर भएका छन् । वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ चैत, २०८० मा विशेष अदालतमा ३२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

  • रविविरुद्ध पर्सामा पनि पक्राऊ पूर्जी जारी

    रविविरुद्ध पर्सामा पनि पक्राऊ पूर्जी जारी

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित १४ जनाविरुद्ध आज बुधबार पक्राउ पुर्जी जारी भएको प्रहरी स्रोतर्ला उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।


    यो सहकारीका पूर्वसंञ्चालक तथा संरक्षक जीबी राई हुन् । तत्कालिन वीरगन्ज उपमहानगरपालिकाको ८, १३, १४, १८ र १९ नम्बर वडा कार्यक्षेत्र रहेको सानो पाइला सहकारीले करिब ८ सय बचतकर्ताको १ अर्ब ३५ करोड रुपैयाँ बचत जम्मा गरेको थियो । सहकारीले ऐन विपरीत सदस्य समेत नरहेका वीरगन्ज बाहिरका व्यक्तिलाई ऋण दिएर रकम अपचलन गरेको आरोप छ । बचतमध्ये करिब ९२ करोड रुपैयाँ कार्यक्षेत्र बाहिर गएर लगानी गरेर अपचलन गरेको आरोप छ ।

    यो सहकारीबाट जीबी राई सञ्चालक रहेको नेचर हब इन्टरनेशनलाई १ करोड ३७ लाख, नेचर नेष्ट प्रालिलाई १ करोड ८५ लाख र स्प्रीङ वुड रियल स्टेटलाई १ करोड एक लाख कर्जा प्रवाह गरिएको छ । त्यस्तै विशाल तामाङको नाममा ६ करोड ८३ लाख, छविलाल जोशीको नाममा १ करोड ८६ लाख, तिर्थराज लामिछानेको नाममा १ करोड ६ लाख, विमला पौडेलको नाममा २ करोड सात लाख कर्जा प्रवाह गरिएको खुलेको छ ।

    लामिछानेमाथि कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।

    अहिले उनीमाथि चितवनमा बयान भइरहेको छ । गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई कास्की, रुपन्देही, काठमाडौं हुँदै अहिले चितवन लगिएको हो । सुरुमा लामिछानेमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान थालेको थियो । प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरू समेत बरामद गरेको छ ।

  • अमेरिकी राष्ट्रपति बाइडेनले छोरालाई कुन मुद्दामा दिएका हुन आममाफी ?

    अमेरिकी राष्ट्रपति बाइडेनले छोरालाई कुन मुद्दामा दिएका हुन आममाफी ?

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले दुईवटा फौजदारी मुद्दामा सजाय खेपिरहेका आफ्ना छोरा हन्टरलाई औपचारिक माफी दिएका छन् । बाइडेनले एक विज्ञप्ति जारी गर्दै आफ्ना छोरालाई एक्ल्याइएको दाबी गरेका छन् । राष्ट्रपति बाइडेनले आफ्ना छोरा हन्टरविरुद्धका मुद्दालाई उनले न्यायको पतनको संज्ञा दिएका छन् । जसका कारण आफूले माफी दिनुपर्ने अवस्था उत्पन्न भएको बाइडेनको दाबी छ ।

    ‘मैले राष्ट्रपति कार्यालय सम्हालेको दिनदेखि नै न्याय मन्त्रालयको निर्णय प्रक्रियामा कुनै दखल पुर्‍याउँदिनँ भनेको थिएँ र मेरो छोराको अलग्गै रूपमा र अनुचित रूपमा अभियोजन भइरहँदासमेत मैले आफ्नो वचन कायम राखेँ,। उनले भनेका छन् । बाइडेनले यसअघि आफ्नो छोरालाई माफी नदिने वा उनको सजाय पनि कम नगर्ने बताएका थिए । तर आफ्नो कार्यकालको अन्तिममा उनले छोरालाई पूर्ण र निसर्त क्षमादान जारी गरेका हुन् ।

    गत सेप्टेम्बरमा ह्वाइटहाउसका प्रेस सेक्रेटरीले राष्ट्रपति बाइडेनले आफ्ना छोरालाई क्षमादान नदिने जनाएका थिए । आइतबार बाइडेनले राजनीतिले न्याय प्रणालीलाई संक्रमित पारेको र त्यसले न्यायको गर्भपात गराएको दाबी गरेका हुन् । ‘अब यसलाई थप ढिलो गर्नुको कुनै अर्थ नभएकाले यो निर्णय गरेको हुँ, बाइडेनले भनेका छन्, एक बुवा र एक राष्ट्रपतिले यो निर्णय किन गरे भन्ने अमेरिकीहरूले बुझ्छन् भन्ने मलाई विश्वास छ ।’

    हन्टर बाइडेन गत सेप्टेम्बरमा कर मामिलामा दोषी ठहर भएका थिए । त्यसको सजाय तोक्न भने बाँकी रहेको थियो । उक्त मुद्दामा उनलाई १७ वर्ष सम्मको जेल सजाय हुन सक्ने बताइएको थियो । त्यस्तै, उनी गत जून महिनामा गैरकानुनी रूपमा बन्दुक किनेको र आफूले लागूऔषध प्रयोग गरेको विषयमा झुटो बोलेकोमा दोषी ठहर भएका थिए । हन्टर कुनै पनि अपराधमा दोषी ठहर भएका बहालवाला राष्ट्रपतिको पहिलो सन्तान हुन् । यसमा उनलाई २५ वर्षसम्मको सजाय हुन सक्ने बताइएको थियो । ती मुद्दाको सजाय तोक्ने दिन डिसेम्बर १२ र १६ का लागि तय गरिएको थियो ।

    अमेरिकाको राष्ट्रपतिको पदभार आगामी जनवरी २० देखि डोनाल्ड ट्रम्पले सम्हाल्दैछन् । त्यसअघिसम्म बाइडेन पदमा रहनेछन् । आफैसमेत दोषी ठहर डोनाल्ड ट्रम्पले हन्टरलाई दिइएको क्षमादान न्यायको दुरूपयोग र पतन भएको प्रतिक्रया दिएका छन् । हन्टरले दुर्व्यसनीका आफ्ना अँध्यारा दिनमा आफूले गरेको गल्तीलाई राजनीतिक खेलमा आफ्नो परिवारलाई ‘सार्वजनिक रूपमा शोषण र अपमानित गर्न प्रयोग गरिएको दाबी गरेका छन् । मलाई आज दिइएको क्षमादानलाई मैले कहिल्यै हलुका रूपमा लिनेछैन । मैले मेरो जीवन बिरामी र पीडामा रहेकालाई सहयोगमा समर्पित गर्नेछु, ५४ वर्षीय हन्टरले भनेका छन् ।

  • रविलाई काठमाडौं ल्याइयो

    रविलाई काठमाडौं ल्याइयो

    काठमाडौं । सहकारी ठगी प्रकरणमा काठमाडौं ल्याइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा राखिने भएको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीका अनुसार, बुद्ध एयरको उडानमार्फत बिहीबार साँझ काठमाडौं ल्याइएका उनलाई भद्रकालीस्थित प्रहरी कार्यालयमा राखिनेछ ।

    भोलि (शुक्रबार) बाट जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बयान हुनेछ । कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमार्फत भएको अनियमितता प्रकरणमा लामिछानेविरुद्ध २ मंसिरमा पक्राउ अनुमति जारी भएको थियो । उनीसँगै पक्राउ अनुमति जारी भएका छविलाल जोशीलाई बयान लिएर प्रहरीले पोखरा फिर्ता पठाइसकेको छ ।

    प्रहरीले पहिले स्वर्णलक्ष्मी सहकारीमा छापा मारेर केही कागजातहरू बरामद गरेको थियो, जसमा गाडी किन्न भनेर रवि लामिछाने र जिबी राईले दुई पटक गरेर ४६÷४६ लाख रुपैयाँ लिएको भेटिएको थियो । यसपछि उनी छानबिनको दायरामा तानिएका हुन् । पोखराको सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अपचलन भएको प्रकरणमा प्रहरीले लामिछानेलाई २ कात्तिकमा प्रहरीले वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ गरेको थियो ।

    सुरुमा उनीमाथि सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान थालिएको थियो भने पछि कास्की प्रहरीले सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान थालेको थियो । लामिछानेमाथि बुटवलको सुप्रिम सहकारी, चितवनको साहारा सहकारी लगायतमा भएको रकम हिनामिनामा पनि अनुसन्धान भइरहेको छ ।
    प्रहरी अधिकृतहरुले यो बीचमा ऋण तिर्न भन्दै लामिछानेले काटेका चेकहरु समेत बरामद गरेको छ भने लामिछाने र उनकी पत्नीको खातामा भएको कम्तिमा ५० करोड रुपैयाँ बराबरको कारोबारबारे पनि जाँच गरिरहेको छ ।

  • विकल पौडेललाई ८ वर्ष कैद सजाय

    विकल पौडेललाई ८ वर्ष कैद सजाय

    काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई ८ वर्ष कैद सजाय हुने फैसला गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तुलसीप्रसाद थारू र रितेन्द्र थापाको इजलासले उनलाई कैदका साथै तीन करोड ४२ लाख जरिवाना गर्ने फैसला सुनाएको हो । फैसला अनुसार पौडेलले त्यति नै रकम बिगो तिर्नुपर्नेछ । विशेष अदालतले पौडेललाई १४ कार्तिकमा दोषी ठहर गरेर सजाय निर्धारणका लागि पेश गर्न आदेश दिएको थियो ।

    विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक सफल श्रेष्ठलाई पनि ८ वर्ष कैद र त्यति नै बिगो र जरिवाना तोकेको छ । उनीहरू अन्तशुल्क स्टिकर खरिद प्रक्रियामा अनियमितता गरेको आरोपमा दोषी ठहर भएका हुन् । अख्तियारले विकलसहित १२ जना विरुद्ध ९ असारमा मुद्दा दायर गरेको थियो । यही मुद्दामा प्रतिवादी बनाइएका निवर्तमान मुख्यसचिव डा. बैकुण्ड अर्याल लगायतले भने सफाइ पाएका छन् ।

  • हनी ट्र्यापमा पारेर रकम असुली धन्दा गरेको अभियोगमा तीन पक्राउ

    हनी ट्र्यापमा पारेर रकम असुली धन्दा गरेको अभियोगमा तीन पक्राउ

    काठमाडौं । हनी ट्रयापमा पारेर रकम असुल्ने समूहका तीन सदस्यलाई प्रहरीले पक्राउ परेको छ । पक्राउ पर्नेहरूमा इलामका २५ वर्षीया समृद्धि मगर, काभ्रेका ३० वर्षीय दीपेन्द्र दर्जी र काभ्रेकै २५ वर्षीया वर्षा दर्जी छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
    यो समूहले मेडिकल जाँच गर्ने भन्दै हनी ट्रयापमा पारेर रकम असुल्न गरेको प्रहरीले जनाएको छ । भक्तपुरको ठिमीमा वर्षाले घाउ ड्रेसिङ गर्ने भन्दै अनलाइनबाट व्यक्ति सम्पर्क गरी आफू एक्लै भएको समयमा कोठामा बोलाई शारीरिक सम्पर्क भएको आरोप लगाई रकम असुल्न खोजेको आरोप छ ।

    रकम नदिए बलात्कार कसुरमा फसाइदिन्छ भन्दै १८ लाख रुपैयाँ माग गरिएको थियो । पछि ८ लाख रुपैयाँ दिने सहमति भएको थियो । २५ हजार रुपैयाँ भने पीीडत युवाबाट यो समूहले असुलेको थियो । पछि क्युआरमार्फत थप २५ हजार पीडित युवाले पठाएका थिए । ७५ हजारको चेक समेत ती युवाले यो समूहलाई दिएको थियो । यो समूहका एक जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

  • एमाले मन्त्रीलाई उन्मुक्ति दिएको भन्दै माओवादीको आपत्ति

    एमाले मन्त्रीलाई उन्मुक्ति दिएको भन्दै माओवादीको आपत्ति

    काठमाडौं । नेकपा माओवादी केन्द्रले मानव तस्करीमा जोडिएको आरोप लागेका कोशीका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएको भन्दै आपत्ति जनाएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बुधबार बसेको पार्टी पदाधिकारी बैठकले भ्रष्टाचारीको संरक्षण गरेको भन्दै स्थानीय तहको उपनिर्वाचनपछि सरकारविरुद्ध खबरदारीमा जाने निर्णय गरेको पार्टी प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

    ‘यो अहिलेको सरकारले मानव तस्करीजस्तो गम्भीर प्रकरणमा मुछिएका व्यक्तिलाई उन्मुक्ति दिने काम गरेको छ, यसमा हाम्रो घोर आपत्ति छ’ प्रवक्ता सापकोटाले भने, ‘मानव तस्करी प्रकरणमा अधिकारीलाई उन्मुक्ति दिने र अन्यलाई मुद्दा चलाउने काम घोर आपत्तिजनक रहेको निष्कर्ष बैठकले निकालेको छ ।’

    बैठकले स्थानीय तहमा एकैसाथ पालिका सम्मेलन गर्ने कार्यविधि तयार गरेको छ । बैठकले निर्वाचन आयोगमा पेश गर्न तीन महलेसँगै समग्र सम्पादन गरेको प्रवक्ता सापकोटाले जानकारी दिए । ‘पालिका सम्मेलनको कार्यविधि बनेको छ र त्यो अब तल जान्छ’ उनले भने, ‘पालिका सम्मेलन र खबरदारी सभा सँगै गर्ने निर्णय भएको छ ।’

    बीआरआईबारे पहिला नै सम्झौता भइसकेकोले राम्ररी कुरा गरेर त्यसलाई अगाडि बढाउनुपर्नेमा प्रवक्ता सापकोटाले जोड दिए । ‘दुई थरी बसेर पक्षीय कुराकानी गरेर एउटा निष्कर्ष निकालेर अगाडि बढाउनु उपयुक्त हुन्छ । त्यो देशको हितमा छ,’ उनले भने ।

  • रवि लामिछानेलाई आज काठमाडौं ल्याईंदै

    रवि लामिछानेलाई आज काठमाडौं ल्याईंदै

    काठमाडौं । सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई आज पोखराबाट काठमाडौं ल्याइँदै छ । काठमाडौंमा जिल्ला सरकारी वकिलको कार्यालयमा बयानका लागि लामिछानेलाई ल्याउन लागिएको हो । उनलाई आज बिहान ८ः४० बजेको बुद्ध एयरको उडानबाट काठमाडौं ल्याइने छ । उनलाई दुई वा तीन दिन काठमाडौंमा राखेर बयान लिने सम्भावना छ ।

    सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा काठमाडौंबाट पक्राउ गरिएका लामिछाने हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । उनीमाथि सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण सम्बन्धी अनुसन्धान भइरहेको छ ।

    लामिछानेलाई पछिल्लोपटक मंसिर ९ गते १५ दिन म्याद थप भएको छ । १५ दिनको म्याद मंसिर ८ गतेदेखि गणना हुने छ । लामिछानेसँगै छविलाल जोशी र कुमार रम्तेल पनि सहकारी ठगी प्रकरणमा पक्राउ परेका छन् । उनीहरु पनि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् ।

    चितवनको सहारा सहकारीको रकम पनि गोर्खा मिडियामा प्रयोग गरेर अपचलन गरेको आरोप उनीहरुलाई छ । जिल्ला अदालत चितवनले मंसिर ७ गते रविसहित १० जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसअघि काठमाडौंबाट समेत रविविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । यसबीचमा लामिछानेलाई बुटवलको सुप्रिम सहकारी संस्थाको रकम अपचलन प्रकरणको अनुसन्धानका लागि रुपन्देहीमा लगेर समेत बयान लिइएको थियो ।

    गोर्खा मिडिया नेटवर्कमा रहँदा सहकारी संस्थाबाट लिएको ऋण र अन्य कारोबारबारे आफूलाई जानकारी नभएको दाबी गर्दै आएका रवि लामिछानेले सहकारी संस्थालाई ब्याजस्वरुप चेक काटेर रकम दिएको फेला परेको प्रहरी स्रोतको दाबी छ । तर लामिछानेले भने हस्ताक्षरसहितको चेक आफूले टेबुलको घर्रामा राख्ने गरेको र कसैले त्यसको दुरुपयोग गरेको हुनसक्ने जिकिर गरेका छन् ।

  • कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी हिरासतमुक्त

    कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी हिरासतमुक्त

    काठमाडौं । कोशी प्रदेशका पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारी हिरासतमुक्त भएका छन् । जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अधिकारीविरुद्ध मुद्दा नचल्ने निर्णय गरेपछि उनलाई छाडिएको जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतले जनाएको छ । पूर्वमन्त्री अधिकारी टोकियो महानगर र आर्ट काउन्सिल टोकियोले आयोजना गरेको एक कार्यक्रममा सहभागी हुन भन्दै ११ कात्तिकमा जापान उडेका थिए ।

    तर, उनीसँगै जापान गएका खोटाङको केपिलासलगढी गाउँपालिका–४ का ४१ वर्षीय जनक राई, खोटाङको ऐसेलुखर्क गाउँपालिका–२ का ३७ वर्षीय दावा शेर्पा र रसुवाको कालिका गाउँपालिका–५ का २१ वर्षीय कञ्चन देवकोटा नारिता विमानस्थलको अध्यागमनमा केरकारमा परेका थिए । पछि मन्त्री अधिकारीसहित चारै जनालाई होल्डमा राखेर जापानको अध्यागमनले डिपोर्ट गरिदिएको थियो । डिपोर्ट भएपछि अध्यागमन विभागले थप अनुसन्धानका लागि तीन जनालाई उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाएको थियो ।

    अनुसन्धानका क्रममा अधिकारीको पनि संलग्नता देखिएको भन्दै काठमाडौं प्रहरीले पूर्वमन्त्री अधिकारीलाई २६ कात्तिकमा बिराटनगरस्थित उनको निवासबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । तर, मुद्दा बुझाउने बेला आधार प्रमाणहरु हेर्दा उनलाई मुद्दा चलाउनुपर्ने स्थिति नदेखिएको भन्दै सरकारी वकिलले अन्य ११ जनालाई मात्र प्रतिवादी बनाउँदै मुद्दा दायर गरेको छ ।

  • दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । साइबर अपराधको कसूरमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । अदालतले ५ मंसिरमा पक्राउ परेकै दिन उनलाई प्रधानमन्त्री ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा अनुसन्धान गर्न पाँच दिन हिरासतमा राख्न अनुमति दिएको थियो । प्रहरीले प्रसाईंले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो ।

    महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको थियो । प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए ।

  • सिंनामंगलमा होटेलमा मृत भेटिए दम्पत्ति, क्यानडाबाट फर्केको पुष्टी

    सिंनामंगलमा होटेलमा मृत भेटिए दम्पत्ति, क्यानडाबाट फर्केको पुष्टी

    काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डामा एक दम्पत्ति मृत भेटिएका छन् । दम्पत्तिको शव पोष्टमार्टमका लागि त्रिविस्थित शिक्षण अस्पताल पठाइएको छ । प्रहरी वृत्त गौशालाका अनुसार घटनास्थल मुचुल्का गरेरे आइतबार दिउँसो शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ । मृत भेटिएका दम्पत्तिमा सुनसरीको दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती हुन् । उनीहरुको शव मृतक रमेशका बाबुआमा आइपुगेपछि उठाएर पोष्टमार्टमका लागि पठाइएको हो ।

    प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको छ । पोष्टमार्टम रिपोर्ट भने आउन बाँकी छ । सुनसरीबाट काठमाडौं आइपुगेका बाबुआमालाई समेत उनीहरू नेपाल आएको भन्ने जानकारी नरहेको अनुसन्धानबाट खुलेको छ । छोरा–बुहारीले आफूहरू नेपाल आउनका लागेको भन्ने केही जानकारी नगराएको उनीहरूले प्रहरीसमक्ष बताएका छन् ।

    मृतक दम्पतीले २ वर्षअघि सन् २०२२ मा क्यानडा जाँदा २ वर्षीय छोरा बाबुआमाको साथमा सुनसरीमै छाडेर गएको खुलेको स्थानीय सञ्चारमाध्यमले लेखेका छन् । सुनसरीबाट मृतकका बाबुआमा आउँदा उनीहरूले नाती समेत काठमाडौं लिएर आएका थिए । मृतक दम्पतीका ती छोरा अहिले ४ वर्षका छन् । घटनास्थलमा कुनै सुसाइड नोट समेत फेला नपरेकाले घटनाको यकिन कारण भने खुल्न सकेको छैन ।

  • दरबारमार्गमा फोहोर गरेको भन्दै प्रधानमन्त्रीको पार्टी एमालेलाई महानगरले गरायो १ लाख जरिवाना

    दरबारमार्गमा फोहोर गरेको भन्दै प्रधानमन्त्रीको पार्टी एमालेलाई महानगरले गरायो १ लाख जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेलाई एक लाख रुपैयाँ जरिवाना गराएको छ । शुक्रबार दरबारमार्गमा जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रुपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र पठाएको छ ।
    फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ एक लाख रुपैयाँ जरिवाना गरिएको पत्रमा उल्लेख छ । नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रअनुसार एमालेले अब महानगरपालिकालाई जरिवाना रकम तिर्नुपर्नेछ । एमालले आज शक्ति प्रदर्शन गरेको हो ।

  • काठमाडौं महानगरमा ४ प्रतिशत मात्र पसल ‘राम्रा’

    काठमाडौं महानगरमा ४ प्रतिशत मात्र पसल ‘राम्रा’

    काठमाडौं । १० असोजदेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४ सय ९७ मध्ये २० वटा (४.०२ प्रतिशत) मात्र राम्रा भेटिएको पाइएको छ । महानगरले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार १ सय ३३ (२६.७६ प्रतिशत) मा म्याद सकिएका वस्तु भेटिएको छ । अनुगमन गरिएकामध्ये ३ सय ११ अर्थात् ६२.५७ प्रतिशतमा मूल्यसूची थिएन । यस्तै २ सय अर्थात ४०.२४ प्रतिशत व्यवसाय नै दर्ता नगराइ पसल सञ्चालन भएको पाइएको छ । यसरी अनुगमन गरिएका पसलमध्ये ४ सय ३८ किराना, १८ मिठाइ, १९ ड्राइ फुड, ७ मसला र १५ डेरी पसल थिए ।

    अनुगमन प्रतिवेदन अनुसार २९ कात्तिकदेखि नियमित चलिरहेको मःम पसल, होटल तथा रेस्टुरेन्ट अनुगमन क्रममा ५२ व्यवसायको जाँच गरिएको छ । यस क्रममा ४५ वटा (८६.५८ प्रतिशत) मा व्यक्तिगत सरसफाइ कमी देखिएको थियो । ४० वटा (७६.९२ प्रतिशत) को भान्सा र कार्यस्थल सरसफाइमा कमी देखियो । १३ वटा (२५ प्रतिशत) व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेको पाइयो । बिहीबार बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिका सदस्यसचिव एवं कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले अनुगमन प्रतिवेदन पेस गर्दै यससम्बन्धी जानकारी दिएका थिए ।

    ‘बजारमा बिस्कुट, चकलेट, चाउचाउ, पापड, मसला, केचप, जामजस्ता खाद्यवस्तुमा म्याद सकिएको भेटिएको छ । रसायन भएका वस्तुसँगै खाद्यवस्तु राखिएको, मूल्यसूची नराखिएको, व्यवसाय दर्ता नगरेको, पसल परिसर सरसफाइमा ध्यान नदिएको, लेबल नभएका वस्तु बेच्न राखिएको, ढकतराजु प्रमाणीकरण नगरी प्रयोग गरिएको जस्ता समस्या भेटिए,’ प्रतिवेदनमा छ ।

    यस्तै मिठाइ पसलमा स्वीकृत कोलटार रङ प्रयोग गरिए पनि मात्रा नमिलाएको, तेल बारम्बार प्रयोग गरिएको, मिठाइमा उत्पादन मिति र म्याद सकिने मिति उल्लेख नगरिएको, मिठाइ बनाउने ठाउँ, पसल र भाँडाकुँडा सरसफाइमा उचित ध्यान नदिइएको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

  • ‘अण्डरवर्ल्डको एजेण्ट’ भन्दै रकम माग्ने सक्कली डाक्टर पक्राउ

    ‘अण्डरवर्ल्डको एजेण्ट’ भन्दै रकम माग्ने सक्कली डाक्टर पक्राउ

    काठमाडौं । ‘अन्डरवर्ल्डको एजेन्ट हुँ’ भन्दै रकम माग्ने गरेको भेटिए पछि एक जना डाक्टर पक्राउ परेका छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धानको कार्यालयले भोजपुर घर भई ललितपुर महालक्ष्मी नगरपालिका सानागाउँ बस्ने ३२ वर्षीय आशिष दाहाललाई पक्राउ गरेको हो। उनी पेसाले एमबिबिएस डाक्टर हुन्। उनले कुनै समय पाटन अस्पतालदेखि क्लिनिकहरूमा पनि काम गरिसकेका छन्। पछिल्लो समय भने उनी कुनै पनि ठाउँमा कार्यरत थिएनन्।

    एसपी काजीकुमार आचार्यका अनुसार उनले ह्वाट्स एपमार्फत् आफू अन्डरवर्ल्डको एजेन्ट हुँ भनेर विहार लगायतका विभिन्न ठाउँबाट कन्ट्र्याक्ट किलर भाडामा लगाएर ज्यान मार्ने भन्दै धम्क्याउँथे। उनलाई पछिल्लो समय क्यासिनोको लत समेत लागेको थियो। त्यही क्यासिनो जान रकम चाहिने भएकाले यो बाटो रोजेको एसपी आचार्यले बताए। दाहालले ५० हजार देखि २ लाखसम्म रकम माग गर्थे। यसबारे उजुरी परेपछि प्रहरीले उनलाई मंगलबार शंखमूलबाट पक्राउ गरेको थियो। उनीमाथि थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ।

  • दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अनुमति

    दुर्गा प्रसाईलाई पाँच दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

    प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान भक्तपुरस्थित उनकै घरबाट पक्राउ गरेको थियो । सीआईबीले थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि प्रसाईंलाई अपराह्न आफू मातहतको साइबर ब्यूरोमा पठाएको थियो ।

    प्रहरीले विद्युतीय अपराध नियन्त्रण ऐन, २०६३ विपरीतको कसुर गरेको भन्दै उनलाई पक्राउ गरेको थियो । महान्यायाधीवक्ताको कार्यालयले भने विद्युतीय अपराध नियन्त्रण ऐनसँगै मुलुकी फौजदारी संहितामा उल्लेखित बेइज्जती गर्न नहुने कसुर, झुठा प्रमाण बनाउन नहुने, राष्ट्रपति वा सांसद्लाई धम्की दिन नहुने लगायतका कसुरमा पनि अनुसन्धान हुनसक्ने राय दिएको छ ।

    प्रसाईंले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा रहेको एक्जिएटा कम्पनीमा लगानी रहेको अभिव्यक्ति दिएका थिए । त्यसबेला उनले केही कागजातहरु देखाउँदै प्रधानमन्त्री ओलीले कम्बोडियामा २१ करोड अमेरिकी डलर बराबर लगानी गरेको दाबी गरेका थिए । सामाजिक सञ्जालमा उनको अभिव्यक्ति भाइरल भएपछि प्रहरीले अनुसन्धान थाल्यो । त्यसक्रममा प्रारम्भिक अनुसन्धानबाट प्रसाईंले देखाएका कागजातहरु नै फर्जी भएको खुलेको छ ।

  • भारतीय जेलमा रहेका गुण्डा नाइके लरेन्सको नाम लिएर नेपालमा कसले दिँदैछ धम्की ?

    भारतीय जेलमा रहेका गुण्डा नाइके लरेन्सको नाम लिएर नेपालमा कसले दिँदैछ धम्की ?

    काठमाडौं । भारतको तिहाड जेलमा रहेका गुण्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपालमा धम्की आएको पाइएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा यसबारे चार जनाको उजुरी परेको छ । उनीहरुले आफूहरुलाई दुबई र भारतको नम्बरबाट फोन गरेर धम्की आएको पाइएको छ ।

    नेपाली सञ्चारमाध्यमले जनाए अनुसार यस मामलामा प्रहरीले एक साता अघिबाट अनुसन्धान थालेको छ । अहिलेसम्म चार जनाको जाहेरी आएको र अन्य व्यवसायी, कर्मचारीसहित विभिन्न व्यक्तिलाई पनि धम्की आएको सूचना प्रहरीमा पुगेको छ । विश्वोई भारतको सबैभन्दा कडा सुरक्षा रहने तिहाड जेलमा छन् । उनीमाथि फिरौती असुली र हत्याको आरोप छ ।

    पहिले उनी महाराष्ट्रको सेन्ट्रल जेल भरतपुरमा थिए । पछि जेलभित्रबाटै गिरोह चलाएको खुलेपछि तिहाड जेलमा सारिएका थिए । उनले पटकपटक भारतीय अभिनेता सलमान खानलाई पनि ज्यान मार्ने धम्की दिने गरेका छन् । अनुसन्धान अधिकृतहरुलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखे अनुसार नेपालमा दिइएका धम्कीमा उनको संलग्नता भएजस्तो देखिँदैन । तर, उनको नाम लिएर अरु कसैले धम्क्याएको हुनसक्ने अधिकृतहरुको अनुमान छ ।

  • दुर्गा प्रसाई पुनः पक्राउ

    दुर्गा प्रसाई पुनः पक्राउ

    काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाका अनुसार उनलाई कानुनी दायरामा ल्याइएको हो ।

    सामाजिक सन्जालमार्फत् अफवाह फैलाउनेहरुमाथि निगरानी रहने भन्दै ब्यूरोले उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली लगायतविरुद्ध भ्रामक प्रचार गरेको आरोप छ । उनले सोमबार पत्रकार सम्मेलन गर्दै कम्बोडियामा ओलीको लगानी रहेको भन्दै सार्वजनिक गरेका थिए ।

  • अध्ययन भन्छ : नेपालमा साइबर ठगी बढ्यो

    अध्ययन भन्छ : नेपालमा साइबर ठगी बढ्यो

    काठमाडौं । नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये ६४ प्रतिशत साइबर आर्थिक ठगीका घटना हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंक वित्तीय जानकारी इकाइले ‘स्ट्राटेजिक एनालाइसिस रिपोर्ट २०२४’ सार्वजनिक गर्दै उक्त जानकारी गराएको हो ।

    इकाइले आफ्नो प्रतिवेदनमा साइबर प्रविधिमा आधारित ठगीका विशेषता र साइबर ठगीका माध्यमबाट प्राप्त हुने सम्पत्ति शुद्धीकरणमा प्रयोग गर्ने पद्दतिका विशेषता विश्लेषण गरेको छ । प्रतिवेदन अनुसार नेपालमा ठगी सम्बन्धी शंकास्पद कारोबार र गतिविधिमध्ये प्रायः नेपाल प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गर्ने गरेको छ । साथै, राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग मार्फत समेत अनुसन्धान हुने गरेको छ ।

    ३० वर्षभन्दा कम उमेरका युवा र त्यसमा पनि विद्यार्थी साइबर ठगीमा बढी संलग्न हुने गरेको देखिन्छ । विभिन्न निकायबाट भएको अनुसन्धानले साइबर माध्यमबाट हुने ठगीमा कम उमेरका युवा संलग्न रहने गरेको देखाउँदा विशेषगरी विद्यार्थी र विभिन्न संस्थामा कार्यरत कर्मचारी साइबर ठगीमा संलग्न हुने गरेको अनुसन्धानबाट खुल्ने गरेको छ ।

    वित्तीय जानकारी इकाइ प्रतिवेदनले १९–२४ वर्ष उमेर समूहका साइबर आधारित ठगीमा धेरै संलग्न हुने गरेको देखाएको हो । साइबर ठगीमा संलग्नमध्ये २५–३० वर्ष समूहका २१ प्रतिशत छन् । यस्तो ठगीमा प्रत्यक्ष वा अप्रत्यक्ष ७० प्रतिशत संलग्न ३० वर्ष वा त्यसभन्दा कम उमेरका छन् ।

    प्रतिवेदन अनुसार ठगीमा संलग्नको बैंक खाता समेत धेरैजस्तो विद्यार्थीको हुने गरेको छ । साइबर ठगीमा प्रयोग भएका खातामध्ये सबैभन्दा बढी ‘विद्यार्थी’ पेसा उल्लेख हुने गरेको छ । त्यसपछि विभिन्न संस्थाका ‘कर्मचारी, ‘किसान’, ‘पसल मालिक’, ‘गृहिणी’ र ‘बेरोजगार’ जस्ता अन्य महत्त्वपूर्ण पेसा पनि बैंक खाता विवरणमा उल्लेख हुने गरेको छ ।

  • रवि लामिछानेविरुद्ध काठमाडौंमा समेत पक्राउ पूर्जी जारी

    रवि लामिछानेविरुद्ध काठमाडौंमा समेत पक्राउ पूर्जी जारी

    काठमाडौं । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी गरेको छ । गोर्खा मिडिया नेटवर्कमा रहँदा काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा अनुसन्धानका लागि उनीहरुलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

    यही सहकारीको बचत अपचलन प्रकरणमा गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु राई सहित २४ जनाविरुद्ध यसअघि नै पक्राउ गर्न अदालतले अनुमति दिइसकेको छ । गोर्खा मिडिया नेटवर्क तत्कालीन प्रबन्ध निर्देशक समेत रहेका लामिछाने र तत्कालीन उपाध्यक्ष रहेका पूर्व डीआईजी जोशी हाल कास्की प्रहरीको हिरासतमा छन् ।

    दुवैजनाविरुद्ध पोखराको सूर्यदर्शन सहकारीको बचत अपचलनको अनुसन्धान भइरहेको छ । त्यस्तै बुटवलको सुप्रिम सहकारीको रकम अपचलनमा समेत प्रहरीले लामिछाने र जोशीसँग बयान लिइसकेको छ । रुपन्देही अदालतले समेत उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा अनुसन्धानका लागि यसअघि पक्राउ पुर्जी जारी हुनेमा जीबीसहित स्वर्णलक्ष्मी सहकारीका उपाध्यक्ष देवेन्द्रबाबु राई, कोषाध्यक्ष कुमार रम्तेल, सचिव इरान लामा, सहसचिव कविता लामा, सदस्यद्वय हेमन्त अधिकारी र रविना रिमाल, पूर्वकर्जा उपसमिति सदस्य सुरज श्रेष्ठ, पूर्वकोषाध्यक्ष मीरा बम्जन, पूर्वसहसचिव माया राई र पूर्वप्रबन्धक नवीन अछामी छन् ।

    पूर्वसञ्चालकहरू दीपक लामा, सविना आले मगर, भक्तबहादुर भोलन, यामकुमार नाल्बो, राजु बराल, पुनमकुमार चालिसे, प्रदीप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमल लामा, पूर्वकर्जा उपसमिति सदस्य राजु बरालविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ ।

    सहकारीको बचत हिनामिना अध्ययन गर्न एमाले सांसद सूर्यबहादुर थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले पनि स्वर्णलक्ष्मीको बचत अपचलनबारे प्रहरीबाट अनुसन्धान गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन भनेको थियो । छानबिन समितिको प्रतिवेदन र प्रहरी अनुसन्धानबाट खुलेका तथ्य र प्रमाणका आधारमा गोर्खा मिडियाका तत्कालीन उपाध्यक्ष तथा पूर्वडीआईजी छविलाल जोशी तथा गोर्खा मिडियाकै तत्कालीन प्रबन्ध निर्देशकसमेत रहेका पूर्वगृहमन्त्री लामिछाने पक्राउ परि अनुसन्धानको क्रममा हिरासतमा छन् ।

    लामिछाने र जोशीसहित आरोपितहरूविरुद्ध प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ । काठमाडौंको स्वर्णलक्ष्मीसहित कास्की (पोखरा) को सूर्यदर्शन, रूपन्देही (बुटवल) को सुप्रिम, चितवन (भरतपुर) को सहारा र पर्सा (वीरगन्ज) को सानो पाइला सहकारीको बचत गोर्खा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोपमा लामिछाने र जोशीमाथि प्रहरीको अनुसन्धान जारी छ ।

  • रुपन्देहीमा रविको बयान तेस्रो दिनमा सकियो, शुक्रबार पोखरा पठाइने

    रुपन्देहीमा रविको बयान तेस्रो दिनमा सकियो, शुक्रबार पोखरा पठाइने

    काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणको बयानका लागि रुपन्देही पुर्‍याइएका रवि लामिछानेको बयान तेस्रो दिनमा सकिएको छ । उनलाई शुक्रबार मात्र पोखरा पठाइने भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका पूर्वगृहमन्त्री लामिछानेलाई मंगलबार बयानका लागि रुपन्देही लगिएको थियो ।

    जिल्ला सरकारी वकिल कार्यालयमा बिहीबार साँझ बयान सकिएको बताइएको छ । बयान सकिए पनि त्यसलाई क्रमवद्ध रुपमा लेखेर शुद्धाशुद्धी हेरेर भाषा मिलाउन र प्रमाणीकरण गराउँदा राति अबेर भएको थियो । लामिछानेसंग बुधबार र बिहीबारसमेत गरी ७० भन्दा बढी लिखित प्रश्न सोधेको र लामिछानेले इन्कारी बयान दिएका छन् ।

    मंगलबार दिउँसो विमानमा पोखराबाट भैरहवा ल्याइएका लामिछानेलाई सरकारी वकिलको कार्यालय रुपन्देहीले पहिलो दिन मौखिक र बुधबारदेखि लिखित बयान लिएको थियो । बयानमा सरकारी न्यायधिवक्ता पौडेलसँगै इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, प्रहरी अनुसन्धान अधिकृत लगायतको सहभागिता छ । लिखित बयानका आधारमा पूरक प्रतिवेदन बनाउने तयारी छ ।

    सहकारी ठगीको आरोपमा लामिछानेलाई २ कात्तिकमा प्रहरीले उनकै पार्टी कार्यालय बनस्थलीबाट पक्राउ गरेको थियो । उनीमाथि सहकारी ठगी, संगठित अपराधका साथै सम्पत्ति शुद्बीकरणको कसुरमा समेत प्रहरीले अनुसन्धान गरिरहेको छ ।

  • सवारी दुर्घटना गराएर भागेका भाइरल झांक्री पक्राउ

    सवारी दुर्घटना गराएर भागेका भाइरल झांक्री पक्राउ

    काठमाडौं । दुर्घटना गराएर फरार भएका झाँक्री प्रकाश भुजेल पक्राउ परेका छन् । उनी सामाजिक सञ्जालमा भाइरल छन् । उनलाई प्रहरी वृत्त बौद्धको टोलीले जोरपाटी क्षेत्रबाट पक्राउ गरेको हो । भुजेलले चलाएको बा १९ प २६९५ नम्बरको कारले शंकरापुरमा बागमती प्रदेश –०२–०१८ प ६८७५ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । उक्त मोटरसाइकल कागेश्वरी मनोहरा नगरपालिका–२ बस्ने ३८ वर्षीय नारायण नगरकोटीले चलाएका थिए ।

    भुजेलले चलाएको कार मोटरसाइकलाई समेत ठक्कर दिएर पसलको सटरमा ठोक्किएको थियो । कारको ठक्करबाट मोटसाइकल चालकको नगरकोटीको मृत्यु भएको छ । मोटरसाइलको पछाडि बसेकी उनकी श्रमती किसानुमाया नगरकोटी भने घाइते छिन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।

  • रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने

    रविसँग आज पनि ९ घण्टा बयान लिइयो, भोली पनि जारी रहने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग भैरहवामा प्रहरीले बुधबार ९ घण्टा लामो समयसम्म बयान लिएको छ । बयान बुधबार लगातार दोस्रो दिन लिइएको हो । मंगलबार भैरहवा ल्याइएका उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइयो । जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा लामिछानेको बयान लिइयो ।

    करिब ९ घण्टा बयान लिइएको र अझै नसकिएको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेलले बताएका छन् ।
    लामिछाने प्रबन्ध निर्देशक रहेका बेला रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको हो । यो सहकारीबाट २ करोड रुपैयाँ रवि लामिछानेकै नाममा पनि निकास भएको भेटिएको थियो ।

    लामिछानेलाई सरकारी वकिलको कार्यालय लैजाने र ल्याउने क्रममा पत्रकारले फोटो समेत लिन नपाउने गरी प्रहरीले कडा सुरक्षा घेरा बनाएको थियो । सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै बयान कक्षसम्म पुर्‍याइएको थियो । आजको बयान पछि उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले लामिछानेबिरुद्ध रुपन्देहीमा छुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताएका छन् ।

  • धनराज गुरुङसँग सीआइबीले लियो बयान

    धनराज गुरुङसँग सीआइबीले लियो बयान

    काठमाडौं । नेपाल प्रहरीले नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङसँग बयान लिएको छ । ललितपुरको मितेरी सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा उनी मुछिएका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार दिउँसो १२ बजेदेखि अपराह्न ५ बजेसम्म उनीसँग बयान लिएको छ । साथै कागज गराइएको छ ।
    सहकारीमा बचतकर्ताको रकम अपचलन भएकोबारे छानबिन गर्न गठित संसदीय समितिले पनि ‘ज्योति गुरुङ र धनराज गुरुङ समेतमाथि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय, हेटौंडामा उजुरी परेर केन्द्रीय अनुसन्धान ब्यूरोमा आएकामा समितिले थप अनुसन्धान गरी शीघ्र कानुनी कारबाही अघि बढाउन’ सिफारिस गरेको थियो ।

    तर, उनलाई छानबिनको दायरामा नल्याएपछि सत्तारुढ दलका उपसभापति गुरुङलाई जोगाउन खोजेको आरोप लागेको छ । सीआईबीका अनुसन्धान अधिकृतहरुले सोधेको प्रश्नको जवाफ दिने क्रममा गुरुङले आफूले सहकारीको रकम अपचलन नगरेको दावि गरेका छन् । आफ्नो भागमा परेको ८४ लाख रुपैयाँ पटकपटक गरेर तिरेको उनको भनाई छ ।

    धनराज गुरुङ र ज्योति गुरुङ श्रीमान श्रीमती भए पनि २९ फागुन २०७६ मा सम्बन्धबिच्छेद भएको थियो । तर सहकारीको रकम अनियमितता गर्न नक्कली डिभोर्स गरेको आरोप पनि गुरुङमाथि थियो । सीआईबीसँगको बयानमा उनले आफ्नो साँच्चै सम्बन्धबिच्छेद भएको बताए ।

  • जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ

    जिल्ला अदालत कपिलवस्तुका दुई कर्मचारी घुससहित पक्राउ

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलले दुई जनालाई पक्राउ गरेको छ। मंगलबार जिल्ला अदालत कपिलबस्तुका तहसीलदार सन्तोषकुमार मिश्रलाई २० हजार रुपैयाँ र कम्प्युटर अपरेटर विकास पाण्डेलाई ९६ हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए।

    उनका अनुसार वेरितको बण्डा मुचुल्का बदर गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा अख्तियार दुरूपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

  • रविलाई रुपन्देही लगियो, बयान भोली पनि जारी रहने

    रविलाई रुपन्देही लगियो, बयान भोली पनि जारी रहने

    काठमाडौं । सहकारी ठगी अभियोगमा अनुसन्धानका लागि रास्वपा सभापति रवि लामिछानेलाई रुपन्देहीको भैरहवा लगिएको छ । लामिछानेको बयान नसकिएपछि बुधबार पनि लिइने भएको छ । मंगलबार दिउँसो १ बजेपछि सुरु भएको बयान साँझ पौने ६ बजे स्थगित गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।


    ‘आजको बयान साँझ पौने ६ बजेसम्म गरेर स्थगित भएको हो । भोलि कार्यालय समय सुरु भएपछि पुनः सुरु हुने जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताएका छन् । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका लामिछानेलाई पोखराबाट मंगलबार दिउँसो भैरहवा ल्याइएको थियो ।

    प्रहरीले उनलाई विमानस्थलबाट सोझै सरकारी वकिलको कार्यालय वयानका लागि लगेको थियो । बयान दिएर फर्कने क्रममा पूर्वगृहमन्त्री समेत रहेका लामिछानेले समर्थकलाई हेरेर हात हल्लाउंदै ‘खोरमा थुनिँदैमा बाघ स्याल हुंदैन’ भने । विहानै भैरहवा ल्याउने र १० बजेबाट वयान हुने तयारी भएपनि मौसम खराबीका कारण उडान हुन नसक्दा दिउँसो पौने १ बजे उनलाई सरकारी वकिल कार्यालय पुर्‍याइएको थियो ।

    लामिछानेविरुद्ध बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा रुपन्देही जिल्ला अदालतले कात्तिक ८ गते लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो । प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा लामिछानेमाथि अनुसन्धान गरिरहेको छ ।

    सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट लामिछानेको नाममा बुटवल उपमहानगरपालिका–९ राजमार्ग चौराहा कार्यालय रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २०७७ चैत १८ मा २ करोड ऋण लिएको अनुसन्धानबाट खुलेको छ ।

    २ करोडमध्ये संस्थाले काट्ने सेवा शुल्क कटाएर लामिछानेको नाममा १ करोड ९६ लाख ऋण लगिएको देखिन्छ । त्यतिबेला रवि लामिछाने गोर्खा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको भूमिकामा थिए ।

  • दीपक मनाङ्गे कारागार चलान

    दीपक मनाङ्गे कारागार चलान

    काठमाडौं । ज्यान मार्ने उद्योगको कसुरमा दोषी भएपछि पक्राउ परेका गण्डकी प्रदेशका सांसद तथा पूर्वमन्त्री राजिव गुरुङ (दीपक मनाङे) जेल चलान भएका छन् । उनलाई डिल्लीबजार कारागार पठाइएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सानो भर्‍याङस्थित कम्फर्ट हाउजिङबाट उनलाई मंगलबार पक्राउ गरेको हो । मनाङेलाई मंगलबार नै फैसला कार्यान्वयनका लागि अदालतमा उपस्थित गराइयो । त्यसपछि मनाङेलाई कैद भुक्तानका लागि डिल्लीबजार कारागार लगिएको थियो । डिल्लीबजार कारागारको ख ब्लकमा उनलाई राखिएको छ ।


    दीपक मनाङेको समूहले २०६१ वैशाख ३१ गते काठमाडौंको महाराजगञ्जस्थित चुफाङ रेष्टुरेन्टमा अर्का गुण्डा नाइके मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेका थिए । त्यसपछि मनाङे समूह विरुद्ध ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरेको थियो । जिल्ला अदालत, काठमाडौंले ज्यान मार्ने उद्योग नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ एको थियो ।


    फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय तत्कालीन पुनरावेदन अदालत, पाटन गयो । अदालतले ज्यान मार्ने उद्योग गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गरेको थियो ।

    सरकारी वकिलको कार्यालय, मनाङे बाहेकका चार जनालाई पनि सजाय माग गर्दै सर्वोच्च गयो । मनाङ जेल बाहिरै रहे । २०७४ मा मनाङबाट स्वतन्त्र सांसद निर्वाचित भएपछि मनाङे २०७५ वैशाखमा अदालतमा उपस्थित भएर डिल्लीबजार कारागार चलान भए । १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार छुटे ।

    सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङे पटक–पटक मन्त्री बने । २०७९ मा निर्विरोध चुनाव मात्र जितेनन्, दुई पटक मन्त्री भए । पछिल्लो पटक कांग्रेस र एमाले मिलेर सरकार बनेपछि भौतिक पूर्वाधार खोसेर वन मन्त्रालय दिएपछि राजीनामा दिए । २० कात्तिकमा सर्वोच्चले उच्चको फैसला सदर गर्दै ५ वर्ष कैदको निर्णय गर्‍यो ।

    यही प्रकरणमा मनाङेले यसअघि २ वर्ष ८ महिना कैद बसिसकेका मनाङे अझै २ वर्ष ४ महिना कैद बस्न बाँकी नै छ । उक्त कैद भुक्तानका लागि उनी डिल्लीबजार कारागारको ख ब्लकमा चलान भएका छन् ।

  • बयानका लागि रवि लामिछानेलाई आज रुपन्देही लगिँदै, बाक्लो हुस्सुले रोक्यो उडान

    बयानका लागि रवि लामिछानेलाई आज रुपन्देही लगिँदै, बाक्लो हुस्सुले रोक्यो उडान

    काठमाडौं । सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई बयानका लागि आज कास्कीबाट रुपन्देहीको बुटवल लगिंदै छ । बुद्ध एयरको बिहान सात बजेको उडानबाट भैरहवा विमानस्थल हुँदै बुटवल लैजाने तयारी गरिएको थियो । विमानस्थलमा बाक्लो कुहिरो लागेकाले उडान ढिला भएको छ । उनलाई पोखरा विमानस्थलमा राखिएको छ ।

    बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा प्रहरीले लामिछानेमाथि अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

    पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्नता देखिएको भन्दै गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरी पोखरा लगिएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएका रविलाई अनुसन्धानका लागि कास्की जिल्ला अदालतले कात्तिक २५ गते थप १३ दिनका लागि हिरासतमा राख्न अनुमति दिएको छ ।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा समेत पक्राउ पूर्जी जारी भएकाले उनलाई आज बुटवल लगिने छ । त्यहाँ बयान गराइ आजै पोखरा फर्काउने तयारी छ । पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधको आधारमा पक्राउ गरिएको दाबी गर्दै आएको रास्वपाले आज बुटवलमा पनि विरोध प्रदर्शनको तयारी गरेको छ । त्यसैले स्थानीय प्रशासनले बुटवलको सुरक्षा व्यवस्था कडा पारेको छ ।

  • रविलाइ थप १३ दिन हिरासतमा राख्न अनुमति

    रविलाइ थप १३ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राखिने भएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नवराज दाहालको इजलासले आइतबार जिल्ला प्रहरि कार्यालय कास्कीलाई रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

    सहकारी ठगी प्रकरणमा रविमाथि अनुसन्धान भइरहेको छ । उनिमाथी सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरणमा समेत अनुसन्धान भइरहेको छ ।

  • मानव तस्करीको आरोपमा एमाले नेता अधिकारी पक्राउ

    मानव तस्करीको आरोपमा एमाले नेता अधिकारी पक्राउ

    काठमाडौं । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी पक्राउ परेका छन् । उनिमाथि मानव तस्करीको आरोप लागेको छ । उनलाई २ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ ।

    उनीमाथि सरकारी कागजात कीर्ते र मानव तस्करीको आरोपमा अनुसन्धान गर्न हिरासतमा राख्नुपर्ने भन्दै प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । अदालतले उनलाई २ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।
    अधिकारीलाई प्रहरीले आइतबार नै मोरङको विराटनगरबाट काठमाडौं ल्याएको थियो । अधिकारी एउटा कार्यक्रममा भाग लिन जापान गएका बेला ३ जना अपरिचित व्यक्ति पनि उनीसँगै गएका थिए । उनीहरुलाई भने नेपाल फर्किँदा त्रिभुवन विमानस्थलबाट प्रहरीले पक्राउ गरिसकेको छ ।

  • मानव तस्करीको आरोप लागेका नेतालाई एमालेले गर्यो पार्टीबाट निष्काशन

    मानव तस्करीको आरोप लागेका नेतालाई एमालेले गर्यो पार्टीबाट निष्काशन

    काठमाडौं । नेकपा एमालेले मानव तस्करी आरोप लागेका प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीमाथि छानबिनको माग गरेको छ । एमालेको कोशी प्रदेश कमिटीले विज्ञप्ति निकालेर अनुसन्धान गरी सत्य तथ्य पत्ता नलाग्दासम्म उनलाई पार्टीको कुनै पनि तहमा रहन नपाउने गरी निलब्न गरेको बताएको छ ।


    ‘नेकपा एमाले अविचलित रुपमा कानुनी शासनको पक्षमा उभिँदै आएको जिम्मेवार पार्टी भएको नाताले उहाँले गर्नुभएको भ्रमणसँग जोडिएर लागेको मानव तस्करीजस्तो गम्भीर आरोपका सम्बन्धमा शीघ्र छानबिन तथा गहिरो अनुसन्धान गरी सत्य तथ्य सावैजनिक गर्न नेपाल सरकार र सम्बन्धित निकायको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदै’ एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्तिमा भनेका छन् ।

    आरोपको अन्तिम निरुपण नहुँदासम्म उनलाई पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा एमालेको संगठित सदस्यबाट समेत निलम्बन गरिएको खतिवडाले बताएका छन् । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई जापान गएका मन्त्री अधिकारीसँगै अन्य व्यक्ति पनि जापान पुगेको पाइएपछि मानव तस्करीको आरोप लागेको छ । उनले पदबाट राजीनामा दिइसकेका छन् । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।