Category: कानुनी कुरा

  • रास्वपा सभापति लामिछाने आज काठमाडौं अदालत आफै उपस्थित हुने

    रास्वपा सभापति लामिछाने आज काठमाडौं अदालत आफै उपस्थित हुने

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा कास्कीबाट धरौटीमा बिहीबार रिहा भएका रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुँदैछन् । लामिछानेविरूद्ध काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुन लागेका हुन् । रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने जानकारी दिए ।

    जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज कुमार राईको आदेशमा लामिछाने ६५ लाख धरौटी बुझाएर प्रहरी हिरासतबाट छुटेका थिए । रविलाई धरौटीमा छाड्न दिएको आदेशमा न्यायाधीश राईले उनी किन कसुरदार छैनन् भन्न सकिँदैन भन्नेमा पर्याप्त आधार प्रस्तुत गरे पनि धरौटी माग्नुको कारणबारे उल्लेख गरेका छैनन् । उनलाई आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने कागज गराई विहीबार परिवारको जिम्मा लगाइएको थियो । कास्की जिल्ला अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो ।

    रविसँगै छविलाल जोशी, लीला पछाईँ, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् । न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईँलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । प्रतिवादी लीला पछाईँ भने विहीबार धरौटी रकम बुझाउन नसकेपछि हिरासतमै रहेको अदालतले जनाएको छ ।

  • धरौटीमा रिहा भएसँगै अदालतबाट निस्किए रवि, स्वास्थ्य जाँच हुँदै

    धरौटीमा रिहा भएसँगै अदालतबाट निस्किए रवि, स्वास्थ्य जाँच हुँदै

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने कास्की जिल्ला अदालतमा धरौटी बुझाएर निस्किएका छन् । न्यायाधीश नीतिज राईको एकल इजलासले रविसहित सूर्यदर्शन सहकारी प्रकरणका प्रतिवादीलाई बिहीबार धरौटीमा छाड्न आदेश दिएको थियो ।

    सो आदेशलगत्तै उनले बैंक ग्यारेन्टीमार्फत् ६५ लाख धरौटी बुझाएर अदालतबाट निस्किएका हुन् । प्रहरीका अनुसार उनलाई आजै मेडिकल जाँच गराएर छाड्ने तयारी छ । रविले भोलि काठमाडौं जिल्ला अदालतमा आफैं उपस्थिति हुने प्रहरीलाई बताएका छन् । सभापति लामिछानेसहित सोही प्रकरणका छविलाल जोशी र रामबहादुर खनाललाई पनि मेडिकल जाँचका लागि लगिएको छ ।

  • कास्की प्रहरीको हिरासतमा रविको ८४ दिन

    कास्की प्रहरीको हिरासतमा रविको ८४ दिन

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ८४ दिनपछि कास्की प्रहरीको हिरासतबाट मुक्त भएका छन् । सूर्यदर्शन सहकारी ठगी प्रकरणका अभियुक्त लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने रिहा भएका हुन् ।

    पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई प्रहरीले गत २ कात्तिकको राति काठमाडौंबाट पक्राउ गरेर पोखरा पुर्‍याएको थियो । भोलिपल्ट शनिबार परेकाले ४ गते आइतबार मात्र म्याद लिनका लागि जिल्ला अदालत कास्कीमा उपस्थित गराएको थियो । त्यसयता पटकपटक म्याद थप्दै हिरासतमा राखेर अनुसन्धान गरिएको थियो । लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयले सात पुसमा उनीविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराध गरी तीनवटा मुद्दा दर्ता गराएको थियो ।

    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा तीन करोड ३७ लाख ६५ हजार, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार सात सय पाँँच रुपैयाँ बिगो दाबी गरेको छ । त्यसयता अदालतमा अभियुक्तहरूको बयान तथा वादी र प्रतिवादीको तर्फका वकिलको थुनछेक बहस चलिरहेको थियो ।

    सहकारी समस्याबारे छानबिन गर्न सत्तारुढ नेकपा एमालेका सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा बनेको संसदीय विशेष समितिले विभिन्न सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा गएको रकम अपचलनमा लामिछानेलाई दोषी ठहर गर्दै कारबाही गर्न सिफारिस गरेको थियो । तत्कालै मन्त्रिपरिषद् बैठकले संसदीय समितिको सिफारिस कार्यान्वयन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएपछि कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो ।

    त्यसक्रममा प्रहरीले गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई प्रहरीले ६ असोजमा ‘जरुरी पक्राउ पूर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । पोखराको सूर्यदर्शनसमेतका सात सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको संसदीय समितिको अनुसन्धानबाट खुलेको छ ।

  • रविले आजै बुझाए धरौटी

    रविले आजै बुझाए धरौटी

    काठमाडौं । सूर्यदर्शन सहकारी ठगी प्रकरणका आरोपी रवि लामिछाने, छविलाल जोशी र रामबहादुर खनालले बैंक ग्यारेन्टी मार्फत धरौटी बुझाएका छन् । जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले थुनामा रहेका सबै प्रतिवादीसँग धरौटी माग गरेको थियो । लामिछाने, जोशी र खनालले भने बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएका हुन् ।

    रविसँग ६५ लाख, जोशीसँग ८८ लाख, खनालसँग १५ लाख धरौटी माग गरिएको छ । लिला पछाईको हकमा भने भोलि मात्रै हुने बताइएको छ । पछाईसँग अदालतले ३७ लाख धरौटी माग गरेको छ । अदालतको आदेशलगत्तै तीन जना धरौटी बुझाएर रिहा भइसकेका छन् ।

    सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ, पूर्वउपाध्यक्ष मीना गुरुङ र पूर्वकोषाध्यक्ष आरती गुरुङ धरौटी बुझाएर छुटेका हुन् । त्यस्तै, कृष्णलाई १ लाख, मीना र आरतीलाई ५–५ लाख रुपैयाँ धरौटी माग गरिएको थियो । काठमाडौं लगायतका जिल्लामा पनि अरु मुद्दा भएकाले रवि भने तत्काल छुट्ने छैनन् ।

  • रविलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    रविलाई धरौटीमा रिहा गर्न अदालतको आदेश

    काठमाडौं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वउपप्रधानमन्त्री रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश दिएको छ । कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासले उनलाई धरौटीमा छाड्न आदेश दिएको हो ।

    पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलगायत ६३ जना विरुद्ध सरकारी वकिल कार्यालय कास्कीले एक अर्ब ५१ करोड बिगो माग दावी सहित ५ पुसमा थप र ७ पुसमा पूरक अभियोजनपत्र जिल्ला अदालतमा दर्ता गराएको थियो । लामिछाने विरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको अभियोगमा मुद्दा दायर भएको छ । सोही मुद्दामा लामो बहसपछि आज थुनछेक आदेश आएको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सूर्यदर्शन सहकारीको रकम अपलचनमा ३ करोड ३७ लाख ६५ हजार बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । यस्तै, सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ रकम बिगो दाबी गरिएको छ ।

    लामिछानेसहित पूर्वडीआईजी समेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, रविको सहयोगी लीला पछाईं, पूर्वसांसद तथा संस्थापक उपाध्यक्ष मीना गुरुङ, संस्थापक सदस्य मीनाकै बाबु कृष्णबहादुर र पूर्वकोषाध्यक्ष आरती गुरुङ पनि प्रतिवादी छन् ।

  • रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै

    रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्दै

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहितका प्रतिवादीहरूको बहस सकिएपछि बुधबार जाहेरवाला सहकारीपीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका छन् । आज सरकारी वकिलले जवाफी बहस गर्ने कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए । न्यायाधीश नीतिज राईको इजलासमा यही पुस १६ गतेदेखि उक्त मुद्दाका सात जना प्रतिवादीहरुको थुनछेक बहस जारी छ ।

    प्रतिवादीहरुका तर्फबाट कानुनी व्यवसायीहरुको बहस सकिएपछि जवाफी बहस सुरु भएको अदालतले जनाएको छ । लामिछानेसहित उक्त सहकारीको रकम अपचलन मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो ।

    थुनछेक बहसपछि प्रतिवादीहरुलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ । यही पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमासमेत मुद्दा लागेको छ ।

    सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा छ ।

  • सल्यानमा दुई बालिका घरमै मृत फेला, आमा पक्राउ

    सल्यानमा दुई बालिका घरमै मृत फेला, आमा पक्राउ

    काठमाडौं । सल्यानको कुपिण्डे नगरपालिका–११, सिस्नेपातलमा दिदीबहिनी बालिका मृत फेला परेका छन् । प्रहरीले आमा पुर्णिमा रानालाई नियन्त्रणमा लिएको छ । बुधबार बिहान घरभित्रै पुर्णिमाका ६ महिने र ३ वर्षकी छोरी मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी गराएको छ । लगत्तै घटनास्थलमा पुगेको प्रहरीले टोलीले आमालाई नियन्त्रणमा लिएको हो ।

    मृतक छोरीहरूसँगै आमा पुर्णिमा राना पनि घरमै थिइन् । बुवा टेकमान राना भने रोजगारीका लागि नुवाकोटमा बस्ने गरेको गरेको पाइएको छ । प्रहरीका अनुसार पुर्णिमाका श्रीमान जेठाजु, सासु, ससुरा नुवाकोटमा काम गर्ने सिलसिलामा गएका छन् । घटना शंकास्पद देखिएको भएपनि अन्य विवरण खुलिनसकेको प्रहरीको भनाई छ ।

  • लेखा समिति सभापतिकी पत्नी १० लाख घरौटीमा रिहा

    लेखा समिति सभापतिकी पत्नी १० लाख घरौटीमा रिहा

    काठमाडौं । जिल्ला अदालत मोरङको आदेशपछि सहकारी ठगी प्रकरणमा जोडिएकी सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला रिहा भएकी छिन् । उनले अदालतको आदेश बमोजिम १० लाख धरौटी बुझाएर रिहा भएको मोरङका एसपी नारायण चिमोरियाले जानकारी दिएका छन् ।

    उनलाई मोरङ अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले १० लाख धरौटीमा छाड्न बुधबार आदेश दिएको थियो । मोरङको धनपालथानस्थित उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन आरोपमा फारार रहेकी उनी बुधबार बिहान जिल्ला अदालत मोरङमा हाजिर भएकी थिइन् । आजै बयानपछि थुनछेक बहस भएको थियो ।

    गत मंसिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रूपैयाँ हिनामिना आरोपमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो । शिक्षक समेत रहेकी कोइराला मुद्दा दर्तापछि विद्यालयबाट बिदा लिएर फरार भएकी थिइन् । सोही सहकारी ठगी प्रकरणमा सहकारीका पूर्व उपाध्यक्ष तथा रंगेली नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष सन्तलाल खवास मुद्दालाई ५ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । धनपालथान–४ का पूर्ववडाध्यक्ष रोशन राजवंशी भने पुर्पक्षका लागि थुनामा छन् ।

  • माओवादी बैठकमा उठ्यो नेताको सम्पत्ति छानविनको माग

    माओवादी बैठकमा उठ्यो नेताको सम्पत्ति छानविनको माग

    काठमाडौं । माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा नेताहरुको सम्पत्ति छानबिन गर्न माग उठेको छ । पार्टीका नेताहरूको कार्यशैली भड्किलो भएको, आयस्रोत अपादर्शी भएको भन्दै केन्द्रीय सदस्यहरूले नेताहरूको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् । ‘बैठकमा नेताहरूको सम्पत्ति छानबिन गर्न माग भएको छ,’ एक केन्द्रीय सदस्यलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । पार्टीमा काम गर्ने र नगर्नेको सही मूल्याङ्कन नभएको भन्दै गुनासो समेत बैठकमा भएको छ । ‘कामको सही मूल्याङ्कन गर्न, दण्ड पुरस्कारको व्यवस्था गर्नुपर्छ,’ ती केन्द्रीय सदस्यको भनाइ छ ।

    आइतबार अध्यक्ष पुष्पकमल दाहालले बैठकमा प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा मूलभूत पक्षको सबैबाट समर्थन गर्दै यसलाई कार्यान्वयनमा कडाइ गर्न जोड दिएका छन् । नेताहरूले समाजवादी क्रान्तिको स्पष्ट मार्गचित्र माग, स्थानीय तहबाट समाजवादको कार्यान्वयन थाल्ने प्रस्ताव स्वागतयोग्य भए पनि त्यसको खाका बनाउन आग्रह गरेका छन् । केही सदस्यले पार्टीको महाधिवेशन तालिका ल्याउन आग्रहसमेत गरेका छन् ।

    दाहालले आफ्नो राजनीतिक प्रतिवेदनमा ६ महिने अभियान चलाएपछि महाधिवेशनमा जान सकिने प्रस्ताव गरेका छन् । स्थानीय तहको उपनिर्वाचन परिणामले माओवादीको पक्षमा माहोल बनेकोमा बेला सङ्गठन पार्टीभित्र कुनै विवाद र बहसमा अल्झिन आवश्यक नभएको बैठकमा बोल्ने केही नेताको भनाइ छ भने केहीले महाधिवशेनबाट पार्टीभित्रको समस्या समाधान गर्नुपर्ने सुझाव दिएका छन् ।

  • काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता, रविसहित कोको छन् ?

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी बचत दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता, रविसहित कोको छन् ?

    काठमाडौं । काठमाडौंको कालिमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम दुरूपयोग आरोपमा ३९ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। सरकारी वकिलको कार्यालय काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितलाई प्रतिवादी बनाएर आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको सरकारी वकिल जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले जानकारी दिए।

    जिल्ला प्रहरी परिसर काठमाडौं अनुसन्धान सकेर गत बिहीबार सरकारी वकिलको कार्यालयमा प्रतिवेदन पेस गरेको थियो। प्रहरीले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २ सय ७० रुपैयाँ बिगो कायम गर्न माग गर्दै मुद्दा दायर गर्न सरकारी वकिललाई राय दिएको थियो।

    त्यस्तै ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गर्न पनि राय दिएको हो। सरकारी वकिल कटुवालले भने नाम, ठेगाना खुलेका ३९ जना प्रतिवादीविरूद्ध मुद्दा दायर भएको हो। केहीको तीन पुस्ते खुलाउन पनि सरकारी वकिलले प्रहरीलाई निर्देशन दिएका छन्।
    यी हुन् स्वर्णलक्ष्मी सहकारीमा प्रतिवादी बनाइएकाहरू ?

    परिसरको हिरसतमा रहेकास् कमल लामा र सुनिता नेवा
    कास्कीमा रहेका प्रतिवादीहरूः कुमार रम्तेल, छविलाल जोशी र रवि लामिछाने (उनीहरूमाथि कारबाही गर्न काठमाडौं झिकाउन पनि सरकारी वकिलको मागदाबी छ।)

    फरार रहेका प्रतिवादीहरूः गितेन्द्रबाबु राई ९जिबी०, देवेन्द्रबाबु राई, ईरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दीपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, प्रदिप लामा, सविता लामा, गणेशराज श्रेष्ठ, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, नविन अछामी, कल्पनाकुमारी श्रेष्ठ, विशाल तामाङ, अनन्त बाबु राई, खिमानन्द कँडेल, श्रीवल्लभ नेपाल, गोकुल श्रेष्ठ, भगवती बम्जन, देवकुमार तामाङ, शिवप्रसाद पौडेल, विरबहादुर रानाभाट, पुष्पराज पौडेल, किरण पुडासाई, कल्याणकुमार घिमिरे, कृष्णबहादुर पोखरेल, जनक भट्टराई, मुखियाकान्छा गुरुङ, भुपेन्द्र राई, राजु बराल र असरफ अली सिद्धिकी छन्।

  • होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

    होटलमा मृत भेटिएकी युवतीसँग बसेका युवक पनि मृत फेला

    काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित बागमती होटलमा युवती मृत भेटिएकी घटनामा संलग्न फरार युवक पनि मृत अवस्थामा फेला परेका छन् । गत बुधबार उक्त होटलको ३०८ नम्बरको कोठामा २१ वर्षीय सुस्मिता खड्का मृत भेटिएकी थिइन् । प्रारम्भिक अनुसन्धानका क्रममा ओखलढुंगाका देवबहादुर थापा पनि युवतीसँग सोही होटलमा बस्न पुगेको खुलेको थियो ।

    त्यसपछि फरार रहेका ती युवक शनिबार ओखलढुंगाको सुनकोशी गाउँपालिका–३ सिस्नेरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको ओखलढुंगा डिएसपी कृष्ण खड्काले सञ्चारमाध्यमलाई जानकारी गराएका छन् । युवक केही समयअघि मात्रै जापानबाट फर्किएका थिए । होटलमा मृत फेला परेकी युवती जापनिज भाषा अध्ययनरत रहेको खुलेको छ ।

  • बढ्यो साइबर ठगी, ७८ लाख लुटियो

    बढ्यो साइबर ठगी, ७८ लाख लुटियो

    काठमाडौं । साइबरको माध्यमबाट पोखरा, चितवन र सरकारी कर्मचारी गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको प्रहरीले जनाएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का अनुसार हालसालै पोखरामा ५७ लाख, चितवनमा १६ लाख र नेपाल सरकारका कर्मचारीहरूको ५ लाख ५० हजार गरी ७८ लाख ५० हजार रुपैयाँ लुटिएको हो ।

    सीआईबीका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार यस्ता विभिन्न कम्पनी तगा सर्वसाधारणहरूको साइबरको माध्यमबाट रकम लुटिएको उजुरी र त्यबारेमा अनुसन्धान भइरहेको छ । उनले यस्तो कार्यमा हालमस्म ५०० भन्दा बढी सन्दिग्ध नम्बर सक्रिय रहेको बताए ।

    उनले भने, ‘साइबर आक्रमणकारीहरूले कुनै नम्बरको गलत आईडी र पासवर्ड हालेर वालेट र मोबाइल बैंकिङका एपहरु बन्द गराइदिने र त्यसपछि आफूहरू कुनै वालेट वा वित्तीय संस्थाबाट बोलेको भन्‍दै ओटीपी माग्‍ने गरेको उजुरीहरू आएको छ।’

    उनका अनुसार साइबर आक्रमणकारीहरूले कतिपय अवस्थामा सामाजिक सञ्जालमा विभिन्न खालका प्रलोभनमा पार्ने म्यासेजहरु पठाउने र एआईले बनाएको आवाजबाट कल गरी तपाईको सामान आएको छ, तपाईलाई फाइदा हुने खालको व्यापार छ भन्ने जस्ता लिङ्क पठाइ खोल्न लगाउने गरेको पनि पाइएको छ ।

    ‘साइबर आक्रमणकारीहरूले तपाइको सामान आएको बहानामा वा लिंक पठाएर पुरस्कार आएको बहाना गर्छन् । तर, लिङ्क खोल्ने बित्तिकै त्यो डिभाइसको सबै युजरनेम र पासवर्डमा चोर्छन् । त्यही युजरनेम र पासवर्ड प्रयोग गरेर पैसा ट्रान्सफर गर्ने गरेको उजुरी धेरै आएको छ।’ उनले भने ।

    ब्‍यूरोले पछिल्लो समय यस्ता घटना बढिरहेको भन्दै अपरिचित नम्बरबाट आएका फोन तथा मेसेज नउठाउन आग्रह गरेको छ । यस्ता किसिमका ठगीमा संलग्न संदिग्ध व्यक्तिहरूको सम्बन्धमा कुनै जानकारी भएमा सीआईबी वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन समेत सीआईबीले अनुरोध गरेको छ ।

  • सहकारी ठगी प्रकरण : रविसहितका प्रतिवादीको पहिलो दिनको थुनछेक बहस सकियो

    सहकारी ठगी प्रकरण : रविसहितका प्रतिवादीको पहिलो दिनको थुनछेक बहस सकियो

    काठमाडौं । कास्कीको पोखरास्थित सूर्यदर्शन सहकारी प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला अदालतका स्रेस्तेदार राजन खनालले बताए । उनका अनुसार मंगलबार रविसहित मुद्दा दर्ता भएका सात जनाकै बहस सकिएको छ ।

    पहिलो दिनको थुनछेक बहस सकिएको छ । आजको बहस सकिएसँगै रविसहित पक्राउ परेकाहरूलाई हिरासतमा फर्काइएको छ । रविसहित गोर्खा मिडिया नेटवर्ककका तत्कालीन सञ्चालक छविलाल जोशी, जीबीका साझदोर लिला पछाईं, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङको बयान लिएको हो ।

    जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ ।

    सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

  • नागार्जुनका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप

    नागार्जुनका मेयर विरुद्ध भ्रष्टाचार मुद्दा, ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप

    काठमाडौं । नागार्जुन नगरपालिकाका प्रमुख मोहनबहादुर बस्नेत विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । स्थानीय बासिन्दाहरूलाई कम मूल्यमा जग्गा बेच्न लगाई एक हाउजिङ व्यवसायीलाई फाइदा पुर्‍याएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । अख्तियारले उनीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस लिएको आरोप लगाएको छ । अख्तियारले उनीमाथि पद्मा मर्चेन्ट कम्पनी प्रालि र त्यसका सञ्चालक राजुप्रसाद कँडेलबाट लाभ लिएको आरोप समेत लगाएको छ ।

    ४७ करोड ७५ लाख रुपैयाँ पर्ने जग्गाहरू उनले पद्मा कोलोनीका लागि १८ करोड ९४ लाख रुपैयाँमा उपलब्ध गराएको र त्यसबापत राजु कँडेल र उनको कम्पनीलाई साढे २५ करोड रुपैयाँ लाभ भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ । यसरी मोहन बस्नेतले आफ्नो बैंक खातामा २ करोड १५ लाख रुपैयाँ घुस पाएको अख्तियारको आरोप छ । त्यस्तै उनकी पत्नीको खातामा ६ करोड ८२ लाख रुपैयाँ जम्मा भएको दाबी गरेको छ ।

    उनी विरुद्ध शंकर होटलमा मोहन बस्नेतले गरेको पार्टीको २५ लाख रुपैयाँ बराबरको रकम तिरिदिएको आरोप समेत लागेको छ । अख्तियारले मोहन बस्नेत र उनकी पत्नीमाथि ९ करोड २२ लाख रुपैयाँ घुस खाएको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । त्यसरी गैरकानुनी रुपमा प्राप्त रकम लुकाएको, अन्यत्र लगानी गरेको र हस्तान्तरण समेत भएको भनी अख्तियारले बस्नेतमाथि १३ करोड १२ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको आरोपमा अर्को मुद्दा समेत दायर गरेको छ ।

    अख्तियारले पद्मा कोलोनीका सञ्चालक राजु बस्नेत र उनको कम्पनीमाथि पनि ९ करोड २२ लाख रुपैयाँ बिगो मागदाबी गरी मुद्दा दायर गरेको छ । मेयर बस्नेत दम्पती र पद्मा कोलोनीका सञ्चालकविरुद्ध समेत १३ करोड १२ लाख बिगो दाबी गरेर सम्पत्ति शुद्धीकरण गरेको आरोप समेत लगाएको छ ।

    अख्तियारको आरोप पत्रमा मेयर बस्नेतले जगतगुरु कृपालु प्रतिष्ठानले मन्दिर बनाउने भनी जग्गा बिक्री गर्नका लागि स्थानीहरुलाई सहमत गराएको उल्लेख छ । पछि त्यो जग्गामा पद्मा कोलोनीका सञ्चालक राजुप्रसाद कँडेलले प्लटिङ गराइ हाउजिङहरु बेचेका थिए । मेयर बस्नेतले पदको दुरुपयोग गरी स्थानीयहरुलाई सस्तोमा जग्गा बिक्री गर्न लगाएका थिए। पछि राजु कँडेलले प्लटिङ गरेर महंगोमा जग्गा बिक्री गरेको र त्यसबापत बस्नेतले लाभ पाएको अख्तियारको आरोप छ ।

  • रविको अदालतमा सकियो बयान

    रविको अदालतमा सकियो बयान

    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान सकिएको छ । दुई दिन लगाएर लिइएको रविको बयान शुक्रबारबाट सकिएको अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए। जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान लिइएको थियो । उनका अनुसार अहिलेसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ ।

    अब नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल, पूर्व सांसद मीना गुरूङ, पूर्व कोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्व सञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी छ । सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्र थुनछेकको बहस र आदेश हुने अदालतले जनाइएको छ । गत आइतबार जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले सहकारीको रकम अपचलनको आरोपमा रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।

    लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमासमेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध संगठित अपराधमासमेत मुद्दा चलाइएको छ । लामिछानेसँगै खनाल, जोशी र पछाईंविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।

  • भक्तपुरमा बाबु-छोरा मृत फेला, प्रहरीले कसरी गर्दैछ अनुसन्धान ?

    भक्तपुरमा बाबु-छोरा मृत फेला, प्रहरीले कसरी गर्दैछ अनुसन्धान ?

    काठमाडौं । सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित एक घरमा मृत अवस्थामा भेटिएका बाबुछोराको हत्या भएको आशङ्कामा अनुसन्धान तीव्र रूपमा अगाडि बढाइएको प्रहरीले जनाएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेल घरभई जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्य आज भाडाको घरको कोठामा मृत भेटिएका थिए । जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख एवं प्रहरी उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार दुई बाबुछोरा छुट्टाछुट्टै कोठामा मृत अवस्थामा भेटिए पनि सँगै बस्ने जेठा छोरा मिलन आचार्य भने सम्पर्कविहीन छन् ।

    “दुवै कोठाको बाहिर ताल्चा लगाइएको छ, भित्र दुई जना मृत अवस्थामा भेटिएका छन् । मृतक दुवैको टाउको र शरीरका अङ्गमा चोट लागेकाले घट्ना हत्याका कारण भएको हुनसक्ने आधारमा हामीले अनुसन्धान अगाडि बढाएका छौँ”, उनले भने, ,“घट्ना भएपछि अपराध अनुसन्धान महाशाखालगायतको अनुसन्धान टोली, केएमसी अस्पताल दुवाकोटका फरेन्सिक चिकित्सक टोली र तालिमप्राप्त कुकुरसहित घट्नास्थलमा अनुसन्धान सुरु गरेका छौँ ।”

    छिमेकीले शनिबार साँझ तीनैजना बाबुछोरालाई सँगै खाना खाएको देखे पनि आइतबार दिनभरी र आज पनि कोठा खुलेको नदेखेपछि प्रहरीलाई खबर गरिएको जनाइएको छ । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख आचार्य गत मङ्सिर २८ गते बिदा लिएर बालकोटस्थित छोराहरू बस्दै आएको कोठामा आएको बुझिएको छ ।

    दुईभाई छोरामध्ये जेठा छोरा मिलन स्नातक तह उत्तीर्ण गरेर लोकसेवाको तयारी गर्दै गरेका र कान्छो छोरा प्रवीण भने विज्ञान संकायमा स्नातक अध्ययनरत रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । प्रहरी उपरीक्षक बुढाथोकीले शव पोष्टमार्टमका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा पठाइएको र सम्पर्कविहीन रहेका मिलन सम्पर्कमा आएपछि घट्नाको वास्तविकता खुल्ने बताए । रासस

  • रविको तस्वीर सार्वजनिक गर्दा पक्राउ परेका डा. भुसाल रिहा

    रविको तस्वीर सार्वजनिक गर्दा पक्राउ परेका डा. भुसाल रिहा

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको हिरासतभित्र सुतिरहेको तस्वीर सार्वजनिक गरेको आरोपमा पक्राउ परेका निकोलस भुसाल रिहा भएका छन् । आइतबार साँझ काठमाडौंबाट पक्राउ परेका उनलाई सोमबार बिहानै पोखरा लगिएको थियो । उनलाई बाहिरै राखेर अनुसन्धान गर्नेगरी रिहा गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

    लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए । सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो । हिरासत कक्षको फोटो त्यसरी सार्वजनिक हुनुमा सुरक्षा चुक भएको भन्दै प्रहरीको आलोचना पनि भएको थियो ।

  • हिरासतमा रवि सुतेको तस्वीर खिच्ने व्यक्ति पक्राउ

    हिरासतमा रवि सुतेको तस्वीर खिच्ने व्यक्ति पक्राउ

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासत कक्षमा सुतिरहेको फोटो खिचेर सार्वजनिक गर्ने डा. निकोलस भुसाल पक्राउ परेका छन् । उनलाई आइतबार साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंबाट पक्राउ गरेको हो । उनलाई कास्की लगेर अनुसन्धान गरिने छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख श्यामलाल ओलियाले भुसाल पक्राउ परेको र कास्की ल्याउन लागिएको जानकारी दिए । लामिछानेको स्वास्थ्य जाँचका लागि हिरासतमा गएका बेला फोटो खिचेको उनले स्वीकार गरेका थिए । साथै यसमा आफ्नो गलत नियत नभएको प्रष्टीकरण पनि उनले दिएका थिए ।

    सुरुमा आफ्नो फेसबुक पेजमा फोटो राखेर पछि उनले डिलिट गरेका थिए । तर, त्यही फोटो रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले आफ्नो फेसबुकमा राखेपछि भाइरल भएको थियो । हिरासत कक्षको फोटो त्यसरी सार्वजनिक हुनुमा सुरक्षा चुक भएको भन्दै प्रहरीको आलोचना पनि भएको थियो ।

  • सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

    सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक

    काठमाडौं । सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था मुल्‍यांकन गर्न र सुधार्न प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिसँग छलफल गरेका छन् । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, राजनीतिक संयन्त्रमा रहेका नेताहरु नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शङ्कर पोखरेल, काङ्ग्रेसका महामन्त्री गगनकुमार थापालगायत सहभागी बैठकमा सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे प्रधानमन्त्री ओलीले छलफल गरेका हुन् ।

    छलफलमा प्रधानमन्त्री ओलीले यस स्थितिलाई सबैले गम्भीरतापूर्वक लिएर स्थितिमा सकारात्मक परिवर्तन ल्याउन भोलिदेखि नै प्रभावकारीरुपमा काम गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक क्रियाकलापमा कतै बढी कडाइ र कतै बढी नरम हुँदा असन्तुलन देखिएको र अनेक कार्यविधि र संयन्त्रका कारण उद्योगी, व्यवसायीहरु निरुत्साहन पनि भएकामा यस अवस्थामा सुधार ल्याउनुपर्ने बताए । उनले भर्खरै स्थिरताको लक्ष्यका साथ नयाँ सरकार बनेको र स्थितिमा सुधार गर्न पहल गरिरहेकाले भरपर्दो राजनीतिक प्रतिबद्धताका साथ अन्तर्राष्ट्रिय मञ्चलाई त्यही आधारमा रिपोर्टिङ गर्नुपर्ने बताए ।

    कांग्रेस सभापति देउवाले कस्ले कहाँ के सामान किन्छ भन्ने हिसाब किताब नै नहुने भएकाले सम्पत्ति शुद्धीकरणलाई कार्यान्वयन गर्नु धेरै गाह्रो कुरा भएको बताए । उनले आर्थिक करोबारका विविध पक्षबारे जनतालाई सिकाउनुपर्ने र स्थितिमा सुधार ल्याउनुपर्नेमा जोड दिए । यस्तै फाइनान्सियल एक्सन टास्क फोर्स ९एफएटीएफ० ले सम्पत्ति शुद्धीकरण, आतङ्ककारी कार्य तथा आम विनाशका हातहतियार निर्माण र विस्तारमा वित्तीय लगानीजस्ता गैह्रकानुनी क्रियाकलाप निवारण गर्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय मापदण्ड निर्धारण गरेको छ।

    सदस्य राष्ट्रले एफएटीएफका मापदण्डहरु पालना गर्नुपर्नेछ भने नेपाल विसं. २०५९ को सदस्य भएको थियो । तत्पश्चात यस क्षेत्रमा कानुनी, नीतिगत र संरचनागतरुपमा काम हुँदै आएको छ । एसिया प्रशान्त क्षेत्रमा एसिया प्यासिफिक ग्रुप अन मनी लाउण्डरिङ (एपिजी)ले यहाँका मुलुकहरुबीच यस विषयमा साझा काम गर्दै आएको छ।

    एपीजीले गरेको मूल्याङ्कनमा नेपालसहित विश्वका २५ मुलुक ‘जुरिस्डिक्सन अण्डर इन्क्रिइज्ड मनिटरी’ (ग्रे लिस्ट)मा पर्र्ने अवस्थामा रहेकाले यसमा सुधारका लागि बैठकमा सघन छलफल भएको थियो । आगामी जनवरीमा फिलिपिन्समा हुने एपिजीको ‘फेस टु फेस’ बैठकमा नेपालको राजनीतिक प्रतिबद्धता र सुधारका पहलससिहत प्रस्तुति राखेर नेपाललाई ‘ग्रे लिस्ट’ मा पर्न नदिन पहल गर्न छलफलमा सुझाव दिइएको छ।

    सम्पत्ति शुद्धीकरणको अवस्थामा सुधार ल्याउन सरकारले गत असार १७ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नेपालमा सम्पत्ति शुद्धीकरण तथा आङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय रणनीति स्वीकृत गरेको छ । यही पुस ५ गतेको मन्त्रिपरिषद्को बैठकले सम्पत्ति शुद्धीकरण निवारणका लागि तीन वटा नियमनकारी निकाय तोक्ने निर्णय गरेको थियो। सो बैठकले सवारीसाधन खरिद कर्जा प्रवाह गर्ने व्यवसायी र सामाजिक सुरक्षा कोषका लागि नेपाल राष्ट्र बैंक, सवारीसाधन बिक्री गर्ने व्यवसायीका लागि यातायात व्यवस्था विभाग र इन्भेस्टमेन्ट कम्पनीका लागि नेपाल धितोपत्र बोर्डलाई नियमनकारी निकाय तोकेको थियो।

  • रविको थुनछेक बयान सोमबारबाट

    रविको थुनछेक बयान सोमबारबाट

    काठमाडौं । आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमा फर्काइएको छ। कात्तिक २ गते काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई देशका विभिन्न ठाउँका सहकारी ठगी प्रकरणमा बयानका लागि लगिए पनि बयान सकिएपछि कास्कीमै राखिएको थियो। जिल्ला अदालत कास्कीमा आइतबार लामिछानेलाई पेश गरिएकोमा उनीसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता पनि थुनछेक बहस आरम्भ भएन।

    यसअघि जिल्ला अदालत कास्कीले सातौं पटक प्रहरीलाई शुक्रबारसम्म मात्र हिरासतमा राखेर अनुसन्धान गर्न म्याद दिएको दिएको थियो। लामिछानेसहित सूर्यदर्शन सहकारी प्रकरणमा थुनामा रहेका पाँच प्रतिवादी थुनछेक बहस नसकिञ्जेलसम्म लामिछाने कास्की प्रहरीकै न्यायिक हिरासतमा रहनेछन् ।

    सोमबार मुद्दा गोला प्रथामा गएपछि न्यायाधीशको बेन्च तय हुनेछ। त्यसपछि दुवै पक्षको बहसप्रति बहस र आदेश नहुञ्जेलसम्म रवि कास्की प्रहरीको हिरासतमै रहनेछन् । अदालतका सूचना अधिकारी सुरज अधिकारीले आइतबार अबेरसम्म मुद्दा दर्ता प्रक्रिया सकिएकाले सोमबारबाट थुनछेक बहस सुरु हुने जानकारी दिएका छन् ।

  • सहकारी ठगीमा रविको इन्कारी बयान

    सहकारी ठगीमा रविको इन्कारी बयान

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहकारी ठगीमा इन्कारी बयान दिएका छन् । उनले गोर्खा मिडियाबाट प्रयोग भएका चेक दुरुपयोग भएको दाबी गरेका छन् । गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राईले झुक्याएर गुमराहमा राख्ने काम भएको हुनसक्ने बयानमा बताएका छन् । रविसहितका व्यक्तिहरूविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दर्ता भएको छ । तर, रविले आफूमाथि लागेको आरोपको इन्कार गर्दै बयान दिएको पाइएको छ ।


    ‘मलाई लाग्छ प्रस्तुत चेकहरू या त मैले माथि उल्लेख गरे जस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छोडेको खाली चेकहरूको दुरुपयोग हो’ उनले भनेका छन्, ‘या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशन बमोजिम मेरो जानकारी विना मलाई समेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराई पछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य गरेको चेकहरू हुन सक्छन् ।’

    उनले आफूले कुनै पनि सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको बयानका क्रममा भनेका छन् ।

    ‘नयाँ कम्पनीमा कैयौं व्यक्ति, भेण्डर, वित्तीय संस्थाहरूलाई उनीहरूसँग गरिएको सम्झौता एवम् कार्यकारी अध्यक्ष तथा लगानीकर्ता गितेन्द्र राईको निर्देशनमा अनगिन्ती चेकहरू मार्फत भुक्तानी गएको थियो । हरेक भुक्तानीको प्रकृया लगानीकर्ता गितेन्द्र बाबु राईले आफ्नो नियन्त्रणमा राखी तह तहमा भेरीफाई (क्लियरिङ) गरी चेक जारी वा हस्ताक्षर गराउँथे,’ रविले बयानमा भनेका छन्, ‘हरेक चेकहरूसँग ती चेकहरू दिनुपर्ने कारण सहितको सपोर्टिङ डकुमेण्ट, बिल भौचर हुन्थे अथवा त्यस्तो नभएको अवस्थामा कार्यकारी अध्यक्षको निर्देशनबाट पनि चेकहरू दिइने प्रचलन हुन्थ्यो । त्यसमाथि मेरो कार्यकालमा उल्लिखित सहकारीहरूबाट कुनै ऋण लिने निर्णय भएको छैन, सहकारीबाट रकम ल्याउने विषयमा मसँग औपचारिक वा अनौपचारिक रूपमा सञ्चालक कोही कसैले कुनै पनि तवरबाट जानकारी वा सूचना गराईएको छैन, थिएन ।’

    गोर्खा मिडियामा कामको चाप र उपत्यका बाहिरको यात्रा गर्नु पर्दाको क्रममा कम्पनीको काम नरोकियोस भन्ने उद्देश्यले आफूले कतिपय अवस्थामा कम्पनीका सञ्चालक समेतको निर्देशनमा विश्वास गरी खाली चेकमा समेत दस्तखत गरेर छाड्ने गरेको उनले बताएका छन् । ‘ति चेकहरूको दुरुपयोग गरी कम्पनीले सहकारी संस्थाको बैंक खाता लगायतमा चेक जम्मा गरेको भए मलाई थाहा हुने विषय थिएन । तर गोर्खा मिडियाले कुनैपनि सहकारी संस्था, व्यक्ति र कम्पनीसँग ऋण लिने भनि सम्झौता तथा बोर्ड निर्णय नगरेकाले उपरोक्त भुक्तानीहरू मेरो जानकारीमा रहेसम्म कुनै ऋणको किस्ता, साँवा वा व्याज होइनन्,’ रविले बयानमा भनेका छन् ।

  • रवि लामिछानेको सांसद पद निलम्बन हुने

    रवि लामिछानेको सांसद पद निलम्बन हुने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले जानकारी दिइन् । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधन सहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो ।

    ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ’, ऐनमा भनिएको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानूनी रूपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।

  • रवि लामिछानेमाथि झण्डै २८ करोड बराबरको सम्पत्ति शुद्धीकरणको आरोप

    रवि लामिछानेमाथि झण्डै २८ करोड बराबरको सम्पत्ति शुद्धीकरणको आरोप

    काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेमाथि २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रुपमा आर्जन गरेको आरोप लगाएको छ । साथै उनकी पत्नी निकिता पौडेललाई पनि मुद्दा दायर गरेको छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले रविविरुद्ध २७ करोड ८९ लाख ४४ हजार ७०५ रुपैयाँ बिगो मागदाबी भएपनि निकिताको हकमा लागेको आरोपबारे भने केही बताएकी थिइनन् ।

    निकितासहित पाँच जनालाई उनीहरूको साथमा रहेको केही सम्पत्ति जफत गर्ने प्रयोजनका लागि प्रतिवादी बनाएको हो । कसुरमा संलग्न नभएको असम्बन्धित व्यक्तिको खातामा कसुरबाट आर्जन भएको सम्पत्ति रहेको भेटिएमा ‘जफत गर्ने प्रयोजन’का लागि प्रतिवादी बनाउने चलन हुन्छ ।

    जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीकी सहायक जिल्ला न्यायाधीवक्ता शान्तिदेवी शर्माले पाँच जनामाथि जफत प्रयोजनका लागि मुद्दा चलाइएको बताइन् । त्यस्ता आरोपितहरूको साथमा रहेको सम्पत्ति अपराधबाट आर्जन भएको ठहरिएमा अभियोगमा मागदाबी भएअनुसारको सम्पत्ति मात्रै जफत हुन्छ, तर अरु दण्डसजाय हुँदैन ।

    त्यसरी प्रतिवादी बनाइएकाहरुमा पद्मा बन्जाडे, रोचक जोशी, राधा पछाईं र गीता पछाईंको सम्पत्ति जफत गर्नुपर्ने मागदाबी गर्दै प्रतिवादी बनाइएको हो । सहायक न्यायाधीवक्ता शर्माका अनुसार, आइतबार ३१ जनालाई प्रतिवादी बनाइएकोमा ८ वटा कम्पनीहरु हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मात्रै मुद्दा चलेको हो ।

    यो प्रकरणमा कुल ६३ जना विरुद्ध मुद्दा दायर भएको उनले बताइन् । सम्पत्ति शुद्धीकरणमा रवि पत्नी निकिता पौडेल, छविलाल जोशीकी श्रीमती पद्मा, छोरा रोचक जोशी, लिला पछाईंको आमा राधा पछाइँ, दिदी गीता पछाईंको पनि सम्पत्ति जफत गर्न माग गरिएको छ ।

  • दुर्गा प्रसाईंलाई  रिहा गर्न अदालतको आदेश

    दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र शारङ्गा सुवेदीको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।

    प्रसाईंलाई शुक्रबार बन्दी प्रत्यक्षीकरणको रिटमा अदालतमा झिकाउन आदेश भएको थियो । सो मुद्दामा आदेश जारी भएको हो ।

    प्रसाईंलाई साइबर अपराधको कसुरमा उनको भक्तपुरस्थित निवासबाट पक्राउ गरिएको थियो । साइबरको कसुरमा ४० हजार रुपैयाँ धरौटीमा छुटे लगत्तै उनी आपराधिक लाभ र संगठित अपराधको कसुरमा पक्राउ परेका थिए ।

  • सहकारी प्रकरणमा रवि दोषी देखिने प्रहरीको ठहर

    सहकारी प्रकरणमा रवि दोषी देखिने प्रहरीको ठहर


    काठमाडौं । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने रायसहितको अनुसन्धान प्रतिवेदन जिल्ला प्रहरी कार्यालय कास्कीले बुझाएको नेपाली संचारमाध्यमले जनाएका छन ।

    कास्की प्रहरीले सोमबार जिल्ला सरकारी वकिल कार्यालयमा उक्त प्रतिवेदन बुझाएको छ । जसमा ५१ जनालाई प्रतिवादी बनाउन माग गरिएका कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी वसन्तकुमार शर्माले बताएका छन् ।

    ५१ जनालाई प्रतिवादी बनाउनुपर्ने राय सहितको प्रतिवेदन बुझाए पनि ३७ जना फरार प्रतिवादी छन् ।
    अहिले प्रतिवादी बनाउन सिफारिस गरिएका मध्ये १४ जना मात्रै पक्राउ परेका छन् । बाँकी ३७ जना फरार रहेकाले उनीहरुको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।

  • सम्पत्ति शुद्धीकरण निवारण प्रभावकारी बनाउन कार्यदल गठन

    सम्पत्ति शुद्धीकरण निवारण प्रभावकारी बनाउन कार्यदल गठन

    काठमाडौं । सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी कार्यलाई थप प्रभावकारी बनाउन सात सदस्यीय कार्यदल गठन गर्ने निर्णय भएको छ । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी निर्देशक समितिको बैठकले गरेको निर्णयअनुसार राष्ट्रिय समन्वय समितिका संयोजक कार्यदलको संयोजक रहने छन् ।

    सदस्यमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव, महान्यायाधिवक्ता कार्यालयका नायब महान्यायाधिवक्ता, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, अर्थ मन्त्रालयका सहसचिव, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक र वित्तीय जानकारी एकाइका प्रमुख रहने छन् ।

    नेपाल राष्ट्र बैंकका निर्देशक कार्यदलको सदस्य सचिव रहने छन् । कार्यदलले सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी कार्यमा वित्तीय लगानी निवारणसम्बन्धी संलग्न निकायबिच आवश्यक समन्वय पनि गर्ने जनाइएको छ ।

  • बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    बीमा प्राधिकरणका अध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीमाथि नपाएको ओहदा लिएको र झुटा विवरण पेश गरी भ्रष्टाचार गरेको आरोप छ । अख्तियारका अनुसार उनले नागरिकतामा भएको जन्ममितिको विवरण सच्याएर आफ्नो पदावधि लम्ब्याएका थिए ।


    सिलवालले २४ फागुन, २०३२ मा पर्साबाट नागरिकता लिएका थिए, त्यतिबेला उनको नागरिकता उल्लेखित उमेर १६ वर्ष मात्रै थियो । पछि उनले जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट नागरिकताको प्रतिलिपि लिए, जसमा उनको जन्ममिति २२ कात्तिक २०१६ थियो । अख्तियारको दाबी अनुसार त्रिभुवन विश्वविद्यालयको ट्रान्सक्रिप्टमा उनको जन्ममिति १५ साउन, १०१५ साल भनी उल्लेख छ ।

    निजामती सेवामा प्रवेश गर्दा पनि उनले त्यही जन्ममिति अभिलेखमा राखेका थिए । त्यही विवरणका आधारमा उनले पेन्सनपट्टा पाएको, अवकाश लिएको भन्दै अख्तियारले १५ साउन, २०१५ लाई नै सिलवालले जन्ममिति स्वीकारेको आरोप लगाएको छ । उनी निजामती सेवामा रहँदा कुटनीतिक राहदानी र विशेष राहदानी लिएका थिए । त्यसक्रममा भरेको फर्ममा उनले २४ कार्तिक, २०१८ लाई जन्ममिति भनी उल्लेख गरेका थिए । वास्तविक भन्दा ३ वर्ष उमेर घटाएर राहदानी लिएको भन्दै अख्तियारले उनीमाथि मुद्दा चलाएको हो ।

    निजामती सेवामा सचिवबाट अवकाशपछि सिलवाल १९ माघ, २०७७ मा विमा समितिमा नियुक्त भएका थिए । त्यतिबेला ‘सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड, २०७३’ अनुसार उनको नियुक्ति भएको थियो ।

    मापदण्डमा ६५ वर्ष उमेर पुरा भएको पदाधिकारी स्वतः अवकाश हुने व्यवस्था थियो । उनले त्यसैलाई स्वीकारेर बीमा समितिको अध्यक्षमा नियुक्त भएको अख्तियारको दाबी छ । बिमा समिति अहिले प्राधिकरणमा रुपान्तरण भएको छ । समितिका अध्यक्ष सिलवालले प्राधिकरणको अध्यक्षमा निरन्तरता पाए ।

    १५ साउन, २०८० मा अवकाश हुनुपर्नेमा त्यसलाई छलेर बीमा प्राधिकरणको अध्यक्षमा समेत नियुक्ति लिएको भनी अख्तियारले सिलवालमाथि प्रश्न उठाएको हो । आफैंले स्वीकारेको जन्ममिति परिमार्जन गरेर थप तीन वर्ष पदावधि लम्ब्याउन खोजेको भनी अख्तियारले उनीमाथि प्रश्न उठाएको हो । अनि झुटा विवरणकै आधारमा ३ वर्ष उमेर घटाएर राहदानीको कागजात पेश गरेको आरोप हो ।

    ६५ वर्ष पूरा भएपछिको पदावधिमा कायम रहेको भनी अख्तियारले उनीमाथि ३६ लाख ६२ हजार रुपैयाँ बिगो मागदाबी गरेको हो । उक्त आरोपपत्र दर्ता भएसँगै सिलवाल स्वतः निलम्बनमा परेका छन् ।

  • जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ

    जबरजस्ती करणी अभियोग गरेको अभियोगमा झापामा पूर्वमेयर पक्राउ

    काठमाडौं । झापा, बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी जबरजस्ती करणी अभियोगमा पक्राउ परेका छन्। घरेलु कामदार १७ वर्षीया बालिकामाथि जबरजस्ती गरेको अभियोगमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।

    झापा प्रहरीका प्रवक्ता डिएसपी कृष्णकुमार चन्दका अनुसार पीडित बालिका कलेज पोसाकमै काँकडभिट्टा नाकाबाट भारतको पानीट्यांकीतिर जाँदै गर्दा उनलाई आफन्त नेपाल नामक संस्थाका प्रतिनिधिहरूले रोकेर सोधपुछ गरेका थिए। त्यस क्रममा घटनाबारे थाहा भएपछि प्रहरी समेतको सहयोगमा उनलाई उद्धार गरिएको थियो।

    उद्धारपछि बालिकाले आफूमाथि पूर्वमेयर शिवाकोटीले जबरजस्ती करणी गरेको बताएकी र सोही आधारमा शिवाकोटीलाई पक्राउ गरिएको प्रहरी भनाइ छ।
    बालिकाकी आमा भारतमा बस्ने गरेको र उनको बुबा नभएको बताउँदै प्रहरीले जनाए अनुसार बालिकालाई शिवाकोटीले पढाइदिने सर्तमा घरेलु कामदारका रूपमा राखेका थिए। तत्कालीन अनारमनी गाविसको अध्यक्ष भइसकेका एमाले नेता शिवाकोटी २०७४ मा बिर्तामोडको मेयरमा निर्वाचित भएका थिए।

  • रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपियो

    रवि लामिछानेमाथि अनुसन्धान गर्न ४ दिन म्याद थपियो

    काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि अनुसन्धानका लागि कास्की जिल्ला अदालतले थप ४ दिनको म्याद दिएको छ । लामिछानेसँगै गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्वडीआईजी छविलाल जोशी, उस्तै कसूरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई ४ दिन हिरासतमा राख्न म्याद थप भएको छ ।

    लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो । लामिछानेमाथि अनुसन्धानका लागि सुरुमा ६ दिन, त्यसपछि ७ दिन, १० दिन,१३ दिन र १५ दिन म्याद थप गरी अनुसन्धानपछि यसपल्ट थप ४ दिन म्याद थप गरिएको हो ।

  • कैलालीबाट ठूलो मात्रामा सुन-चाँदीसहित तीन जना पक्राउ

    कैलालीबाट ठूलो मात्रामा सुन-चाँदीसहित तीन जना पक्राउ

    काठमाडौं । कैलालीबाट एक करोडभन्दा बढीको सुन, चाँदी र नगदसहित तीन जना पक्राउ परेका छन् । भजनी नगरपालिका ५ स्थित कौवाखेडा सीमा इलाकाबाट शनिबार साँझ एक करोड बराबरको सामानसहित सशस्त्र प्रहरीको टोलीले तीन जनालाई नियन्त्रणमा लिएको हो ।

    पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका १० का ३६ वर्षीय महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका -१ का ३१ वर्षीय हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका ११ का ३२ वर्षीय महेश सुनार रहेका छन् । उनीहरुलाई सशस्त्र प्रहरी बल नेपाल नं ३४ गण कैलाली मातहत बोर्डर आउट पोष्ट (बीओपी) पगियापसारले नियन्त्रणमा लिएको हो ।

    भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्दा ८० लाख ७९ हजार ५६१ रुपैयाँ बराबरको ६२० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको ८ किलो ९१४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६२५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेप लगाएका भाँडाकुडासहित नियन्त्रणमा लिइएको सशस्त्रले जनाएको छ ।