काठमाडौं । वैदेशिक रोजगारीमा ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–८ घर भएका ४३ वर्षीय गोकर्ण पराजुली र धादिङको गंगाजमुना गाउँपालिका–४ घर भएका ३० वर्षीय सञ्जिव गुरुङ छन् ।
पराजुली क्यानडा पठाउने नाममा ८ लाख १७ हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । गुरुङ भने दुबई पठाउने भन्दै १९ लाख ७० हजार रुपैयाँ ठगी गरेको आरोपमा पक्राउ परेका हुन् । उनीहरु दुवै जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवैलाई वैदेशिक रोजगार विभागको कार्यालय ताहचल पठाइएको छ ।
काठमाडौं । हप्तौँका चुनावी अभियान र दौडधूपपछि रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिका रूपमा निर्वाचित भएका छन्। उनी कानुनी रूपमा दोषी हुने पहिलो अमेरिकी पूर्वराष्ट्रपति हुन्। ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्दै गर्दा उनीविरुद्धका कैयौँ आपराधिक मुद्दा विचाराधीन छन्। दर्जनौँ आपराधिक मुद्दा कायम रहँदा देशको सर्वोच्च पदमा उनी विराजमान हुने अवस्था बनेकाले अमेरिका अनेकौँ नसुल्झिएका मामिला कायम रहेको देश बन्न पुगेको छ। ट्रम्पले ह्वाइट हाउसमा पाइला राख्दै गर्दा उनीविरुद्धका चार कानुनी मुद्दा के होलान् भन्ने धेरैको चासो छ।
डोनल्ड ट्रम्प न्यूयोर्क राज्यमा व्यावसायिक अभिलेखहरू किर्ते गरेका ३४ वटा कसुरमा दोषी ठहर भएका भइसकेका छन्। गत मेमा न्यूयोर्कको एक अदालतले उनलाई एक पूर्वुपोर्नस्टारुलाई चुप बस्नका लागि पैसा दिएको अभियोगमा दोषी पाएको थियो। न्यूयोर्कका न्यायाधीश जुआन मर्चनले गत सेप्टेम्बरबाट उनको सजाय तोक्ने मितिलाई चुनावपछि अर्थात् नोभेम्बर २६ का लागि सारेका थिए। ब्रूक्लिनका पूर्वअभियोजनकर्ता जुली र्यान्डल्म्यानले ट्रम्पले चुनाव जितेमा पनि न्यायाधीश मर्चनले सजाय सुनाउन सक्ने बताइन्।
कानुनविद्हरू पहिलो पटक अपराध गरेको एकजना व्यक्तिका रूपमा ट्रम्पलाई जेल सजाय हुन सक्छ भन्ने विषय अविश्वसनीय रहेको बताउँछन्। र्यान्डल्म्यानका अनुसार यदि त्यस्तो भएमा पनि उनका वकिलहरूले त्यसविरुद्ध तत्कालै पुनरावेदन गर्ने छन्। उनीहरूले ट्रम्पलाई जेलमा राखियो भने उनले राष्ट्रपतिका रूपमा गर्नुपर्ने कामहरू गर्न पाउने छैनन् भन्ने तर्क गर्ने छन्। ती कारणहरूले मुद्दा विचाराधीन रहँदा उनी स्वतन्त्र नै रहने छन्।
ूयस्तो अवस्थामा पुनरावेदनको प्रक्रिया वर्षौँसम्म चल्न सक्छ, उनले भनिन्। विशेष अनुसन्धानकर्ता ज्याक स्मिथले सन् २०२० को निर्वाचनमा जो बाइडनको जितलाई उल्ट्याउने प्रयास गरेको भन्दै उनीविरुद्ध आपराधिक मामिलामा मुद्दा दायर गरेका थिए। ट्रम्पले आफू उक्त मामिलामा दोषी नभएको बताएका छन्। गत ग्रीष्मकालमा सर्वोच्च अदालतले ट्रम्पले पदमा रहँदा गरेका निर्णयहरूमा उनीमाथि लाग्न सक्ने आपराधिक अभियोगहरूमा आंशिक रूपमा छुट पाउने आदेश दिएसँगै उक्त मामिला अहिले कानुनी अनिश्चिततामा फसेको छ।
त्यसपछि स्मिथले पुनः मुद्दा दायर गरेका छन्। त्यसमा उनले चुनावी मतपरिणामलाई उल्ट्याउने कोसिस ट्रम्पको आधिकारिक कामभित्र नपर्ने दाबी गरेका छन्। भूतपूर्व सङ्घीय अभियोजनकर्ता निअमा रहमानीले ट्रम्पले चुनाव जितेपछि यो मामिलामा उनीमाथि लागेको आपराधिक आरोप सकिने बताए।
ूपदासीन राष्ट्रपतिमाथि मुद्दा चलाउन सकिँदैन भन्ने स्थापित भएकाले चुनावमा धाँधली गरेको आरोपमा डीसी जिल्ला अदालतमा उनीमाथि रहेको मुद्दा खारेज हुने छ,ू उनले भने। यदि स्मिथले उक्त मुद्दालाई खारेज गर्न मानेनन् भने ट्रम्पले उनलाई हटाउन सक्छन् र त्यस्तो उनले पहिले नै भनिसकेका छन्। म उनलाई दुई सेकन्डमा हटाइदिन्छु, गत अक्टोबरमा दिएको एउटा रेडिओ अन्तर्वार्तामा उनले भनेका थिए। ट्रम्पले ह्वाइट हाउस छाडेपछि गोप्य दस्तावेजहरूको गलत प्रयोग गरेको आरोपमा ट्रम्पविरुद्ध मुद्दाको पनि स्मिथले नै नेतृत्व गरिरहेका छन्। उक्त आरोपलाई पनि ट्रम्पले अस्वीकार गरेका छन्।
उनीमाथि फ्लोरिडास्थित घरमा संवेदनशील कागजातहरू भण्डारण गरेको र कागजातहरू पुनःप्राप्त गर्ने कार्यमा न्याय मन्त्रालयलाई अवरोध गरेको आरोप लगाइएको छ। बीबीसी
काठमाडौं । हिमाल आइरन एनड स्टिल प्रालिले डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको रकम नतिर्न पर्ने आदेश माग गर्दै दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । रिट खारेजीसँगै हिमाल आइरन एन्ड स्टिल प्रालिले अब नेपाल विद्यत् प्राधिकरणले तोकेको डेडिकेटेड र ट्रंकलाइन बक्यौता रकम तिर्नुपर्ने भएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधिस प्रकाशमान सिंह राउत र महेश शर्मा पौडेलको संयुक्त इजलासले मंगलबार हिमाल स्टिलको रिट खारेज हुने आदेश गरेको हो । प्राधिकरणले गत असोजमा सार्वजनिक गरेको विवरणअनुसार हिमाल स्टिलले नेपालमा लोडसेडिङका बेला डेडिकेटेड र ट्रंकलाइन मार्फत विद्युत् उपभोग गरेको बिल १३ करोड ६५ लाख रुपैयाँ तिर्न बाँकी थियो ।
पर्सा औद्योगिक करिडोरअन्तर्गत परवानीपुरमा सञ्चालनमा रहेको हिमाल आइरन एन्ड स्टिलले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् खपत गरेबापत गरिएको छुट बिलको बक्यौता रकम यसअघि नै तिर्न थालेको थियो । २०८० पुसमा बक्यौता नतिरेको भन्दै प्राधिकरणले विद्युत लाइन काटेपछि त्यतिबेला पहिलो किस्ताबापत २७ लाख १० हजार रुपैयाँ बुझाएसँगै प्राधिकरणले लाइन जोडिदिएको थियो । हिमाल स्टिल २०७५ मा प्राधिकरणविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर गएको थियो ।
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । दोस्रोपटक थपिएको म्याद कात्तिक १५ गते सकिएको थियो । सोही दिनदेखि गणना हुने गरी म्याद थप भएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेमाथि अनुसन्धान गर्न म्याद थप्ने अनुमति दिएको हो । प्रहरीले भने अनुसन्धानका लागि २५ दिनको समय मागेको थियो ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । सोही दिन राति पोखरा लगिए पनि शनिबार परेकाले ४ गतेमात्रै अदालत उपस्थित गराइएको थियो । त्यतिबेला अदालतले पहिलो पटकका लागि पक्राउ परेको दिनदेखि गणना हुने गरी ७ दिन म्याद थप भएको थियो । सभापति पक्राउको विरोधमा रास्वपा कार्यकर्ता तथा समर्थकले प्रदर्शन गर्दै आएका छन् । आज पनि जिल्ला अदालत अगाडि प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने कोशिष गरेका थिए । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याससमेत प्रहार गरेको थियो ।
काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई सर्वोच्च अदालतले पनि ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको छ । मंगलबार न्यायाधीश डा. नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले यसअघि तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत) पाटनले गरेको फैसलालाई सदर गरेको हो। तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई २०६९ सालमा ५ वर्ष कैद सजाय सुनाएको थियो । दीपक मनाङेको समूहले ०६१ सालमा अर्का डन मिलन चक्रे भनिने मिलन गुरुङलाई तरबार हानेको थियो ।
उक्त घटनालाई लिएर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले मनाङे समूहविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गर्यो । तर, जिल्ला अदालत काठमाडौंले कर्तव्य ज्यान नभई कुटपिट भएको ठहर गर्दै मनाङेलाई २ वर्ष जेल सजाय सुनायो भने गणेश लामा, रेवत कार्की, रमेश सुनुवार र उमेश लामालाई सफाइ दियो ।
त्यो फैसलाविरुद्ध सरकारी वकिलको कार्यालय पुनरावेदन अदालत पाटन गयो । अदालतले ०६९ मा ज्यान मार्ने उद्योग (प्रयास) गरेको ठहर गर्दै मनाङेलाई ५ वर्ष जेल सजाय सुनायो भने अरुलाई सफाइ दिने जिल्ला अदालतको फैसलालाई सदर गर्यो । सरकारी वकिलको कार्यालय मनाङे बाहेकका चार जनालाई पनि सजाय मागगर्दै सर्वोच्च गएको थियो । त्यही मुद्दामा २०७५ सालमा न्यायाधीश दीपकराज जोशी र पुरुषोतम भण्डारीको संयुक्त इजलासले पुनरावेदनकै फैसला सदर गरेको थियो ।
तत्कालीन पुनरावेदन अदालत पाटनले ५ वर्ष कैद सजाय सुनाएपछि मनाङे पक्राउ परेका थिए । तर १० वर्ष भन्दा कम जेल सजाय भएको मुद्दामा जेलबाहिर रहेर पुर्पक्ष गर्न पाइने कानुनी व्यवस्था अनुसार उनी रिहा भएका थिए । सर्वोच्चमा मुद्दा विचाराधीन रहेकै अवस्थामा मनाङले मनाङबाट दुई कार्यकाल गण्डकी प्रदेशसभा सदस्य चुनिए भने पटक पटक मन्त्री बने ।
काठमाडौं । तिहार बिदामा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनको सुनुवाइ गर्न सर्वोच्च अदालत खुला हुने भएको छ । तिहार पर्वको बिदामा शनिबार र भाइटीकाबाहेक अरू दिन बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।
सर्वोच्च अदालत प्रशासनले निकालेको सूचनामा भनिएको छ, “दीपावली, २०८१ को उपलक्ष्यमा कात्तिक १५ देखि १९ गतेसम्म सर्वोच्च अदालत बन्द रहने हुँदा न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिमा पर्ने भाइटीका र शनिबारको दिनबाहेक अन्य दिनहरूमा बन्दी प्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ देखि अपराह्न ३ बजेसम्म अदालत खुला रहनेछ ।”
काठमाडौं । रुपन्देही प्रहरीले झण्डै ५० लाख रुपैयाँ मूल्य बराबरको सुनसहित बुटवलबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–८ का ३३ वर्षीय अकबर अलि मिया र सोही नगरपालिकाका वडा नम्बर ७ का ३७ वर्षीय अर्घाखाँची सुनचाँदी पसलका संचालक सन्तोष सुनार रहेको प्रहरीले जनाएको छ ।
कपिलवस्तुको कृष्णनगरबाट काठमाडौंतर्फ आउँदै गरेको लु २ ख ६५४२ नम्बरको बसमा राजश्व छलेर भित्राइएको सुन ल्याइएको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बुटवल र वडा प्रहरी कार्यालय बुटवलबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
बुटवलको रामनगरमा उक्त बसमा चेकजाँच गर्दा पक्राउ परेका व्यक्तिहरुको साथबाट २९ तोला ५८ दशमलव १ लाल सुन बरामद भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी एवं डीएसपी लक्ष्मी खनालले जानकारी दिइन् । उनका अनुसार ४९ लाख ५४ हजार बढी मूल्य बराबरको बरामद सुन बिस्कुट आकारमा छ । बरामद सुन र पक्राउ परेका व्यक्तिहरुलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको प्रहरीले जनाएको छ ।
काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेले व्यवसायी मीनबहादुर गुरुङबाट दानमा लिएको जग्गा हक हस्तान्तरण नगर्न आदेश दिएको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले यो विवादमा रिट निवेदक ज्ञानबस्नेतसमेत र विपक्षी नेकपा एमाले, व्यवसायी मीनबहादुर गुरुङलाई छलफलमा बोलाएको छ ।
अन्तरिम आदेशका लागि हुने उक्त छलफलअघि पार्टी कार्यालयलाई दान दिएको जग्गाको हक हस्तान्तरण नगर्न अल्पकालीन अन्तरिम आदेश जारी भएको हो । सर्वोच्च अदालतले जग्गा दाता मीनबहादुर गुरुङ र लिने एमालेलाई त्यसको कारण देखाउन माग गरेको छ ।
गत दशैंको फुलपातीको दिन कलंकीमा एमाले पार्टी कार्यालयको शिलान्यास भएको थियो, त्यहाँ उपस्थित व्यवसायी मीनबहादुर गुरुङले आफूले एमालेलाई जग्गा दान दिएको र एक वर्षभित्र भवन पनि बनाइदिने घोषणा गरेका थिए । यो घटना सार्वजनिक भएपछि एमालेको आलोचना भएको थियो । अधिवक्ता ज्ञानबहादुर बस्नेत समेत ३ जनाले निर्णय खारेजीको माग राख्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र गोर्खा मिडियाका तत्कालीन सञ्चालक पूर्व डीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने भएको छ ।
जिल्ला अदालत कास्कीका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धानका लागि अनुमति दिएको हो । प्रहरी र सरकारी वकिल कार्यालयले बिहीबार छुट्टै प्रतिवेदन बुझाएर सम्पत्ति शुद्धीकरण समेतको कसुरमा अनुसन्धानका लागि एकमुष्ठ २५ दिन म्याद थपका लागि अदालतसँग अनुमति माग गरेका थिए ।
अदालतले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा अनुसन्धानका लागि थप ७ दिन हिरासतमा राख्न अनुमति दिएको हो । कास्की प्रहरी प्रवक्ता एवं डीएसपी बसन्तकुमार शर्माले सूर्यदर्शन सहकारी ठगीसँग जोडिएका लामिछाने, जोशी र लिला पछाईंमाथि सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पनि अनुसन्धान हुने बताए ।
‘एउटै मुद्दामा अब तीनवटा अपराधमा अनुसन्धान हुन्छ,’ उनले भने । संगठित अपराध सम्बन्धी कसुरमा अनुसन्धानका लागि ६० दिनको हद म्याद हुन्छ भने सम्पत्ति शुद्धीकरणमा ९० दिनको हदम्याद रहन्छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति धर्मशालाबारे अध्ययन गर्न समिति गठन गरेको छ । सोमबार धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा ६ सदस्यीय समिति गठन गरिएको हो । समितिका सदस्यमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन मन्त्रालयका उपसचिव, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका उपसचिव र पर्यटन मन्त्रालयका उपसचिवलाई तोकिएको छ ।
समितिले गौशाला धर्मशाला स्थापनायताको अध्ययन गर्ने, गौशालाको आयव्यय विवरण, लेखा परीक्षण अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह सेवाको प्रकृति तथा अवस्था अध्ययन गर्ने जिम्मेवारी पाएको छ । अदालतबाट विभिन्न समयमा भएका फैसला, अख्तियार, संसदीय समितिका प्रतिवेदन, महालेखा परीक्षकको प्रतिवेदन र विभिन्न समयमा गठन भएका समितिका प्रतिवेदन समेत अध्ययन गर्ने जिम्मा समितिलाई दिइएको छ । समितिले गौशाला धर्मशालामा रहेको जग्गा स्वामित्वका सम्बन्धमा समेत अध्ययन गरी ३० दिनभित्र पर्यटनमन्त्रीलाई प्रतिवेदन बुझाउने जिम्मेवारी पाएको छ ।
काठमाडौं । पार्टी निर्णय बिपरीत सार्वजनिक अभिव्यक्ति दिएको भन्दै नेकपा एमालेले भीम रावल सहित तीन जनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पूर्व उपाध्यक्ष रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । महासचिव शंकर पोखरेलका अनुसार केन्द्रीय कार्यालय भवन निर्माणबारे पार्टीले गरेको निर्णय विपरीत सार्वजनिक अभिव्यक्ति दिएकाले पाण्डे र तिमिल्सिनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।
‘उहाँहरुले के कति कारणले त्यस्तो बोल्नु भएको हो ? स्पष्टीकराण सोध्ने निर्णय भएको छ’, महासचिव पोखरेलले भने । गत २४ असोजमा बसेको एमाले सचिवालय बैठकले व्यावासायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा सहित एक अर्ब बराबरको केन्द्रीय कार्यालय भवन दानमा लिने निर्णय गरेको थियो । उक्त निर्णयप्रति पाण्डे र तिमिल्सिनाले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका थिए । पूर्व उपाध्यक्ष रावललाई भने पार्टीको निर्णयप्रति लामो समयदेखि फरक मत राख्दै आएकाले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
काठमाडौं । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि थप तीन दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो ।
शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्याइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो । रविलाई कुल ६ दिन थुनामा राख्न अनुमति दिइएको छ । जसमध्ये तीन दिन अगाडी र तीन दिन आगामी गरी ६ दिन भनिएको हो ।
उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए । जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । उक्त निषेधाज्ञा तोडेर नाराबाजी गर्ने क्रममा प्रहरीसँग धकेलाधकेलसमेत भएको थियो भने प्रदर्शनकारीमाथि प्रहरीले पानीको फोहोरा र अश्रुग्यास प्रहार गरेको थियो ।
काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज जारी सूचनामा उल्लेख छ । चितवन निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित लामिछानेलाई कास्की जिल्ला अदालतको पक्राउ अनुमतिबमोजिम फौजदारी कसूरको अनुसन्धानका क्रममा पक्राउ गरिएको सूचनामा जनाइएको छ ।
नेपालको संविधानको धारा १०३ को उपधारा ६ मा ‘सङ्घीय संसद्को कुनै सदस्य पक्राउ गरिएमा पक्राउ गर्ने अधिकारीले त्यसको सूचना सम्बन्धित सदनको अध्यक्षता गर्ने व्यक्तिलाई तुरुन्त दिनुपर्नेछ’ भनी उल्लेख छ ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेलाई कास्कीको सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न भएको आरोपमा अनुसन्धानका लागि शुक्रबार काठमाडौँबाट पक्राउ गरेको थियो ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जीबी) राईसँग मिलेर लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको मुद्दा जिल्ला प्रहरी कार्यालय कास्कीले अनुसन्धान गरिरहेको छ ।
काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई पोखरा ल्याइएको छ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार काठमाडौँबाट पक्राउ परेका लामिछानेलाई सडकमार्ग हुँर्द राति नै पोखरा ल्याइएको हो ।
लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ । लामिछानेलेलाई आज शनिबार सार्वजनिक बिदा परेका कारण आइतबार मात्रै अदालतमा उपस्थित गराइने जनाइएको छ ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पक्राउ परेका छन् । सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा अपचलन गरेको आरोपमा उनी पक्राउ परेका हुन् । जिल्ला अदालत, कास्कीबाट पक्राउ अनुमति लिएर प्रहरीले काठमाडौंस्थित रास्वपाको केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नुअघि उनले कार्यकर्तालाई संक्षिप्त सम्बोधन गरे । जिल्ला प्रहरी कार्यालय, कास्कीले उनलाई पक्राउ गरेर पठाइदिन भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुरोध गरेको थियो । त्यसअनुसार ब्यूरोबाट खटिएका प्रहरी उपरीक्षक होविन्द्र बोगटी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो ।
लामिछानेलाई शुक्रबारै स्थलमार्गबाट जिल्ला प्रहरी कार्यालय, कास्की लैजाने तयारी छ । सूर्यदर्शन सहकारीमा बचतकर्ताको रकम अनियमितता भएको प्रकरणमा १६ असोज २०८० पूर्वअध्यक्ष जीबी राई, उनका दाजु भूपेन्द्र राई, अध्यक्ष थानबहादुर बुढा लगायत १९ जना विरुद्ध कास्की अदालतमा मुद्दा दर्ता भएको थियो । पीडितहरुले २२ माघ २०८० मा सभापति लामिछाने सहित १८ जना विरुद्ध कास्की प्रहरीमा फेरि पूरक जाहेरी दिएका थिए ।
एमाले सांसद् सूर्य थापाको नेतृत्वमा १५ जेठमा सहकारी समस्याबारे छानबिन गर्न एमाले सांसद् सूर्य थापाको नेतृत्वमा संसदीय विशेष समिति गठन भएको थियो । समितिले सहकारीको रकम अपचलनमा लामिछाने समेतलाई दोषी ठहर गर्दै ४ असोज २०८१ मा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनलाई कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णयसँगै कास्की प्रहरीले यो मामलामा अनुसन्धान अघि बढाएको थियो । तर, लामिछाने नेतृत्वको रास्वपाले भने प्रतिवेदनले उनलाई ‘क्लीन चिट’ दिएको दाबी गरेको थियो ।
प्रहरीले भने प्रतिवेदन कार्यान्वयन गर्ने क्रममा गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई ६ असोजमा ‘जरुरी पक्राउ पुर्जी’ दिएर काठमाडौंबाट नियन्त्रणमा लियो । जोशीको परिवारले सर्वोच्च अदालतमा पक्राउ विरुद्ध बन्दी प्रत्यक्षीकरणको रिट दिएको थियो । अदालतले १६ असोजमा उनलाई गैरकानूनी हिरासतमा राखेको भन्न नमिल्ने ठहर गर्यो । यद्यपि, दशैं बिदा सुरु हुन लागेको भन्दै धरौटी वा तारेखमा छाड्न ध्यानाकर्षण गराएको थियो ।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अनुमति दिएको हो ।
अदालतको अनुमतिपछि काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेर कास्की लैजाने प्रहरी तयारी छ । पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा १६ असोज २०८० मै गितेन्द्रबाबु (जिबी) राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसमा एक अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो । अहिले पार्टी कार्यालयमा ठूलो संख्यामा कार्यक्रता उपस्थित छन् ।
काठमाडौं । बाँकेमा टाउकोबिनाको शव भेटिएको प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले दुई साताअघि जेलबाट छुटेका एक युवकलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय, कोहलपुरका डीएसपी धर्मराज भण्डारीका अनुसार घटनामा संलग्नताको आशंकामा रोल्पाको माडी गाउँपालिका–६ का २४ वर्षका अनिल परियार पक्राउ परेका हुन् । उनी जबर्जस्ती करणीसम्बन्धी मुद्दामा २ वर्ष ९ महिना जेलमा बसेर यही १३ असोजमा बाँकेको नौवस्ता कारागारबाट छुटेका थिए ।
कोहलपुर नगरपालिका–८ स्थित सरस्वती चोक जाने बाटोमा प्रहरीले २७ भदौमा टाउकोबिनाको शव फेला परेको थियो । लगत्तै प्रहरीले तालिम प्राप्त कुकुरसहित टोली घटनास्थलमा लगेर अनुसन्धान थालेको थियो । पछि मृतक कोहलपुरको नहरटोल बस्ने चन्द्रबहादुर कामी भएको खुलेको थियो । उनी सामान्य मजदुरी गरेर गुजारा चलाउँदै आएका व्यक्ति हुन् ।
प्रहरीका अनुसार, पक्राउ परेका परियार बसेको आफन्तको घरको सेप्टिक ट्यांकीबाट मृतकको टाउको र घटनामा प्रयोग भएको हतियारसहित बरामद गरिएको छ । घटनालगत्तै जिल्ला प्रहरी कार्यालय, बाँकेका एसपी तुलबहादुर कार्कीसहितको टोलीसमेत त्यहाँ पुगेको थियो । कोहलपुरका डीएसपी भण्डारीका अनुसार, प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीले नजिकैको सीसी टीभी फुटेज संकलन गरेको थियो । जसमा मृतक र हत्या आरोपी दुवै जनाको दृश्य कैद भएको थियो ।
सीसी टीभी फुटेजमा देखिएको हुलियाका आधारमा प्रहरीले संलग्न व्यक्तिको खोजी थालेको थियो । उनको फोटो र हुलियासहित प्रहरीका सबै युनिटलाई खोजीमा परिचालन गरिएको थियो । त्यसक्रममा प्रहरी निरीक्षक हरि भट्टराई नेतृत्वको १५ जना प्रहरी र स्थानीयको टोली मृतकको टाउको खोजीमा परिचालन भएको प्रहरीको भनाइ छ ।
अधिकृतहरुका अनुसार, सीसी टीभीमा आरोपी साइकलमा चढेर आएको देखिएकाले साइकलको खोजी पनि सँगसँगै थालिएको थियो । त्यसक्रममा सोमबार साढे ८ बजे भट्टराईको टोली परियारकी एक आफन्तको घरसम्म पुगेको थियो । ‘घटनास्थलबाट कम्तीमा ५ सय मिटर पूर्वउत्तरमा रहेको घरमा इट्टा सिमेन्टले बनाएको र रडले ढकन लगाएको सेप्टी ट्यांकीमा शंका लागेर टोलीले खोजतलास ग¥यो’, डीएसपी भण्डारीले भने, ‘त्यसक्रममा मृतकको टाउको, खुर्पा र मृतकले लगाएको सेतो हरियो रङको टिसर्टको घाँटीतर्फको आधा भाग फेला प¥यो ।’
टाउको बरामद भएलगत्तै प्रहरीले भेरी अस्पताल, नेपालगञ्ज पठाएको थियो । अहिले शवको पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइसकिएको छ । मंगलबार प्राविधिक पक्षको विश्लेषणसहित खोजतलासमा खटिएको टोलीले बिहान ८ बजेतिर प्रहरीले हत्या आरोपी परियारलाई नियन्त्रणमा लियो । त्यसक्रममा गरिएको प्रारम्भिक सोधपुछमा उनले हत्यामा आफू संलग्न रहेको स्वीकार गरेको प्रहरी अधिकृतहरु बताउँछन् ।
प्रहरीका अनुसार, परियारले साइकलमा हिँडिरहेका बेला बाटोमा सुतिरहेको अवस्थामा चन्द्रबहादुर कामीलाई देखेका थिए । त्यसक्रममा साइकलले उनलाई छोएको थियो । ‘त्यही विषयमा वादविवाद भएको देखिन्छ, त्यति नै बेला धारिलो हतियारले प्रहार भएको खुलेको छ’, डीएसपी भण्डारीले भने, ‘कसैले थाहा नपाओस् भन्ने हिसाबले टाउको लुकाएको उनले भनेका छन् ।’ थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग छिटो गठन गर्नेबारे छलफल भएको बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताएका छन् । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संसदले संशोधन गरिसकेको छ । तर हाल सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छन् ।
सरकारले यसअघि नै पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा दुबै आयोगका पदाधिकारी सिफारिस समिति (सर्च कमिटी) गठन गरेको थियो । तर राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समितिले पूर्णता पाउन सकेको थिएन । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सर्च कमिटीलाई पूर्णता दिने सहमति माओवादी उपमहासचिव बस्नेतले बताए । ‘अब सरकारले आयोगलाई सदस्य पठाउन आग्रह गर्छ’,उनले भने ।
उपमहासचिव बस्नेतका अनुसार एक दुई दिनभित्रै सर्च कमिटीले पूर्णता पाउँछ । महान्यायाधिवक्ता रमेश बडालले पनि संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिए ।
काठमाडौं । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध पक्राउ पुर्जी जारी भएको छ। बिबिसीका अनुसार बंगलादेशको एक विशेष अदालतले उनीविरूद्ध पक्राउ पुर्जी जारी गरेको हो। ‘अदालतले पूर्वप्रधानमन्त्री शेख हसिनालाई पक्राउ गर्न र उनलाई नोभेम्बर १८ सम्म अदालतमा जारी हुन आदेश जारी गरेको छ,’ अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरण (इन्टरनेसनल क्रिमिनल ट्राइब्युनल) का मुख्य अभियोजक मोहम्मद तजुल इस्लामले भने।
पूर्वप्रधानमन्त्री हसिना गत अगष्टमा निर्वासनमा गएकी थिइन्। युवाहरूको प्रदर्शन उग्र बन्दै गएपछि उनी देश छाडेर भारतको शरणमा पुगेकी थिइन्। त्यसयता उनी सार्वजनिक रूपमा देखिएकी छैनन्। १५ वर्षसम्म सत्तामा रहेकी उनीविरूद्ध मानवताविरूद्धको अपराध कसुरमा पुर्जी जारी भएको हो। प्रदर्शनको क्रममा मानव उल्लंघन, ठूलो समूहलाई पक्राउ र उनका राजनीतिक प्रतिस्पर्धीको गैरन्यायिक हत्या समेत गरेको आरोप छ।
‘हसिना जुलाईदेखि अगष्टसम्म नरसंहार, हत्या र मानवताविरूद्धको अपराध गर्ने नेताको रूपमा थिइन्,’ इस्लामले भने। अभियोजक बिएम सुल्तान महमुदले अभियोजन पक्षले दुई उजुरी पेस गरेपछि पुर्जी जारी भएको हो। अदालतले हसिनाको अवामी लिग पार्टीका पूर्वमहासचिव ओबाइदुल क्वेदरसहित ४४ जनाविरूद्ध पुर्जी जारी गरेको हो। अन्य ४४ जनाको नाम भने सार्वजनिक भएको छैन। हसिनाको सत्ताच्यूत भएपछि दर्जनौं साथीहरूलाई पक्राउ गरेको थियो।
काठमाडौं । काठमाडौँ महानगरपालिकाले पशुपतिस्थित गौशाला रहेको धर्मशाला सञ्चालनका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँसँग शान्ति सुरक्षा माग गरेको छ। मंगलबार महानगरपालिकाले प्रशासन कार्यालय काठमाडौंलाई एक पत्र लेख्दै शान्ति सुरक्षासहित निर्णय कार्यान्वयनमा सहयोगका लागि अनुरोध गरेको हो । पत्रमा धर्मशालाको व्यवस्थापनको जिम्मेवारी महानगरपालिकाले पाएकाले उक्त सहमति बमोजिम धर्मशाला सञ्चालन तथा व्यवस्थापन गर्न शान्ति सुरक्षा सहित आवश्यक सहयोगका लागि अनुरोध गरिएको छ ।
पत्रमा भनिएको छ, ‘ काठमाडौं महानगरपालिका नगर कार्यपालिकाबाट मिति २० २०८१–०६–०२ मा निर्णय भई पशुपति क्षेत्र विकास कोष र काठमाडौं महानगरपालिकाबीच पशुपति गौशाला धर्मशाला सञ्चालन–व्यवस्थापन गर्न मिति २०८१–०२–२२ मा लिखित सहमति भएको हुँदा उक्त सहमतिपत्र सञ्चालन– व्यवस्थापन गर्न शान्ति सुरक्षासहित आवश्यक सहयोगका लागि देहायका लागि कागजातको छायाँप्रति संलग्न गरी अनुरोध गरिन्छ ।’
जुन पत्र मंगलबार नै महानगरपालिकाले मारवाडी सेवा समितिले विरोध गरिरहेको गौशाला धर्मशालामा टाँसेको छ । कोषले मारवाडी सेवा समितिबाट खोसेर महानगरपालिकालाई गौशालाको जिम्मेवारी दिएसँगै समितिले विरोध गरिरहेको छ भने महानगरले कुनै पनि हालतमा सहमतिअनुसार काम अघि बढाउने भन्दै होरिङ बोर्डसमेत टांगिसकेको छ ।
काठमाडौं । डडेल्धुरामा किशोरीको हत्या आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ परेका व्यापारीलाई आइतबार सार्वजनिक गरिएको छ । पोखरा बजार नजिकै प्लास्टिकको बोरामा बेरेर शव फालेको अवस्थामा भेटिएकी अमरगढी नगरपालिका–७ की १४ वर्षीया आरती भट्टराईको हत्यामा संलग्न भएको आरोपमा अमरगढी नगरपालिका–७ पोखरा बजारका ५८ वर्षीय टेकबहादुर भण्डारी पक्राउ परेका छन् । उनी पोखरा बजारमा भण्डारी पुस्तक तथा स्टेशनरी पसल सञ्चालन गर्ने व्यापारी हुन् ।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले आइतबार पत्रकार सम्मेलन गर्दै भण्डारी सार्वजनिक गरेको हो । भण्डारीले किशोरीको हत्या गरेको स्वीकार गरेको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) सुगन्ध श्रेष्ठले बताए । उनकाअनुसार भण्डारीले आफ्नै पसलको कोठामा भट्टराईको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन् ।
तर भण्डारीले किशोरीको हत्या के–कति कारणले गरे ? भन्ने कुरा खुलिसकेको छैन । भण्डारीले आवेशमा आएर भट्टराईको हत्या गरेको बयान दिएका छन् । प्रहरीले घटनास्थलबाट सवुत प्रमाण फेला पारेको बताउँदै त्यसबारे विस्तृत अनुसन्धान भइरहेको बताए ।
भण्डारीसँग पूरानो चिनजान भएकी भट्टराईलाई पसलमा कुराकानीकै क्रममा भण्डारीले हत्या गरेको देखिएको छ भने पछि उनले भट्टराईको शव व्यवस्थापन गर्ने उद्देश्यले प्लास्टिकको बोरामा हालेका थिए । शव व्यवस्थापन गर्न नसकेपछि पसलबाट भागेका उनी मदिरा सेवन गरेर फेरी राति घटनास्थलमा पुगेका थिए ।
शव व्यवस्थापन गर्ने क्रममा कुकुर भुकेपछि उनी मोटरसाइकलसहित नालीमा खसेका थिए भने शवलाई पसल नजिकै फालेर घरतर्फ हिडेका थिए तर राति स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । किशोरीको शव परीक्षण रिर्पोट प्राप्त भएपछि धेरै कुरा खुल्ने विश्वास प्रहरीले गरेको छ ।
काठमाडौं । श्रीमतीको हत्या गरी फरार रहेका व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालिका–७ घर भएका ६० वर्षीय जीतबहादुर भन्ने काले तामाङ छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो ।
उनले १९ वैशाख २०८१ मा दक्षिणकाी नगरपालिका–६ मा आफ्नी श्रीमती डोल्मा शेर्पाको हत्या गरेको आरोप छ । शेर्पा आफ्नै कोठामा मृत भेटिएकी थिइन् । उनले कुटपिट गरेर श्रीमतीको हत्या गरेको आरोप छ । श्रीमतीको हत्यापछि उनी फरार हुँदै आएका थिए ।
काठमाडौं । झापामा हत्या आरोपमा एक नाबालकसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा झापाको बाह्रदशी गाउँपालिका–७ का ३१ वर्षीय समीर राजवंशी, सोही ठाउँकी २० वर्षीया मेचे राजवंशी र सोही ठाउँका एक नाबालक छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय अनारमणिले पक्राउ गरेको हो ।
१५ जेठ २०८१ को राति साढे ११ बजेतिर बाह्रदशी गाउँपालिका–५ फुलाबारी बस्ने २२ वर्षीय राजेश हजाम वेपत्ता भएको भन्दै प्रहरीमा उजुरी परेको थियो । लगत्तै खोजी तथा अनुसन्धानमा खटिएको प्रहरी टोलीले केही संकित व्यक्तिमाथि सोधपुछ गरेको थियो । अनुसन्धानकै क्रममा २० असोजमा बाह्रदशी–७ बिरिङ खोलामा अस्थिपञ्जर भेटिएको थियो । उक्त अस्थिपञ्जर हजामकै भएको पुष्टि भएपछि थप अनुसन्धान गरेको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
काठमाडौं । नेपाली कांग्रेसले राहत तथा पुनः निर्माणका लागि सरकारले अल्पकालीन र दीर्घकालीन कामहरु समेटेर प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझावपत्र बुझाएको छ । ११ र १२ असोजको आएको वर्षाले पारेको क्षतिपछि सरकारले गर्नुपर्ने कार्यहरु उल्लेख गरेर कांग्रेसले सुझाव प्रतिवेदन प्रधानमन्त्री ओलीलाई बुझाएको हो ।
सभापति शेरबहादुर देउवाको नेतृत्वमा बालुवाटार पुगेर प्रधानमन्त्रीलाई गराइएको ध्यानाकर्षण पत्रमा भत्किएका संरचना तथा प्रभावित स्थानीयबासीसँग प्रत्यक्ष सम्पर्कमा त्यहाँकै नेतृत्व हुनुपर्ने उल्लेख छ । प्रभावित क्षेत्रमा पुनर्निर्माण सुरु हुने तर निर्माण सामग्रीहरुको अभाव हुनसक्ने वा बजार मूल्य चर्को हुनेतर्फ कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।
उद्धार र राहतको कार्य संघीय र प्रदेश सरकारको सहजीकरणमा स्थानीय सकारहरूले नै नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरी एकद्वार प्रणाली अनुरुप हुनुपर्ने कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । आउँदो हिउँद दृष्टिगत गरेर प्रभावितलाई जतिसक्दो चाँडै आवास प्रबन्ध गर्न सरकारसँग माग गरेको छ । अस्थायी आवास निर्माण गर्न चाहने नागरिकलाई अस्थायी आवास निर्माण गर्न प्रति परिवार स्थानीय वडाको सिफारिसमा स्थानीय सरकार मार्फत् नगद दिने व्यवस्था गर्नुपर्ने कांग्रेसको ध्यानाकर्षणपत्रमा लेखिएको छ ।
बालबालिकाको मनोविज्ञानमा प्राकृतिक प्रकोपले पारेको नकारात्मक असर कम गर्न ध्यानाकर्षण गराइएको छ । उद्धार र राहतको प्राथमिक चरण लगत्तै शिक्षण संस्थाहरू सञ्चालन गर्न तथा बालबालिकाहरुका लागि मनोवैज्ञानिक कक्षाहरू सञ्चालन गर्नुपर्ने कांग्रेसको सुझाव छ । कांग्रेसले घोषणा गरेको ५० लाख रुपैयाँ आइतबार प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ । पार्टीबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ र प्रति सांसद १५ दिनको पारिश्रमिक उपलब्ध गराउने कांग्रेसले निर्णय गरेको थियो ।
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ८ किलोग्राम अवैध सुनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गर्दै हेटौंडा १५ स्थित रातोमाते प्रहरी चौकीबाट ८ केजी २४३ ग्राम ९७० मिलिग्राम अवैध सुनसहित उनीहरुलाई सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख उपरीक्षक विश्वराज खड्काको कमान्डर खटिएको प्रहरी टोलीले भारतको महाराष्ट्र राज्य सांगली जिल्ला दिंघची थाना पुजरबाडीका २५ वर्षका अभिषेक अजिनाथ र २७ वर्षका राहुल भिट्टिहाल बाडलाई नियन्त्रणमा लिएर खोजतलास गर्दा उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले उनीहरु सवार वाग्मती प्रदेश ०२–०४७ प ७५०३ नम्बरको स्कुटर समेत नियन्त्रणमा लिएको छ । प्रहरीले शनिबार बिहान ३ बजे उनीहरूलाई पक्राउ गरेको हो । सुनको मूल्य करिब ११ करोड ४३ लाख ५७ हजार ८७८ रुपैयाँ रहेको प्रहरी उपरीक्षक खड्काले बताए ।
खड्काका अनुसार उनीहरु जनकपुरबाट सुन लिएर काठमाडौंतर्फ जाँदै थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार पक्राउ परेका दुवै जना यसअघि पनि सुन कारोबारमा संलग्न रहेको बुझिएको छ । नियन्त्रणमा लिइएको सुनको मूल्य साढे ११ करोडमाथि रहेको छ ।
काठमाडौं । कीर्तिपुरका विनोद खड्गीको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार यो समूहले विनोदलाई ‘हनीट्र्याप’मा पारेको पाइएको छ । त्यस क्रममा अपहरण गरेर ५ लाख रुपैयाँ फिरौती लिएपछि हत्या गरेको खुलेको छ । कीर्तिपुरका ५० वर्षीय खड्गीको शव ६ असोजमा काभ्रेको पाँचखाल नगरपालिका– ८ स्थित ४९ किलो भन्ने ठाउँमा भेटिएको थियो । ५ गतेदेखि सम्पर्कविहीन उनको परिवारले खोजी गरिदिन प्रहरीमा निवेदन दिएका थिए । ७ गते परिवारले शनाखत गरेपछि पाँचखालमा भेटिएको शव खड्गीको भएको खुल्यो ।
अनुसन्धानका क्रममा मनिषा महतको समूहले ‘हनीट्र्याप’मा पारेको पाइएको प्रहरीले जनाएको छ । प्रहरीले मनिषासँगै काठमाडौं शंखरापुरका सरिन घिमिरे, महोत्तरीको गौशला घर भई भक्तपुर बस्ने आशिष पासवान र बाग्लुङको गलकोट घर भई कोटेश्वर बस्ने प्रतीक गौतमलाई पक्राउ गरेको छ । विनोदले भने अनुसार साँझ ५ बजेतिर प्रदीपले भक्तपुरको राधेराधेमा पैसा पुर्याइदिन्छन् । तर रकम पाइसकेपछि मनिषाको समूहले हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भई मध्यपुर थिमीमा बस्ने २१ वर्षीया मनिषाले भारतीय नागरिकसँग मिलेर भारतमा पनि लुटपाट गरेकी थिइन् । अंसु खान र शिवमसँग मिलेर तीन महिना अगाडि ग्रेटर नोयडामा तुसार भन्ने व्यक्तिलाई कुटपिट गरेर १ लाख ५० हजार असुलेका थिए । त्यहाँबाट फर्किने क्रममा उनीहरुले नेपालमा पनि मनिषामार्फत धनी व्यक्तिलाई ‘हनीट्याप’मा पार्ने र रकम लुट्ने योजना बनाएको प्रहरीको दाबी छ । त्यसमा कीर्तिपुरका विनोद परे ।
प्रहरीले दिएको जानकारीअनुसार अंशु, शिवम, सरिन र रिकेशले ४ असोजको साँझ मनिषाको राधेराधेस्थित कोठामा भेला भएका थिए । त्यसक्रममा उनीहरुले फिरौतीको योजना बनाए । त्यसअनुसार मनिषाले ५ गते विहान विनोदलाई नागरिकता बनाउन जान सहयोग गर्नुपर्यो भन्दै बोलाइन् । साढे ११ बजेतिर त्यहाँ पुगेका विनोदलाई मनिषा र शिवमले रक्सी खुवाउँछन् । त्यही क्रममा खुर्सानी किन्ने बहानामा बाहिर गएकी मनिषाले साथीहरुलाई बोलाएको र कोठामा पुग्नासाथ आक्रमण गर्छन् ।
उनीहरुले घाइते विनोदको हातखुट्टा बाँधेर फिरौतीका लागि बार्गेनिङ गर्छन् । प्रहरीका अनुसार सुरुमा ३० लाख रुपैयाँ मागेका थिए । तर मनिषाले त्यो रकम धेरै भएको भन्दै १० लाख भन्छिन् । विनोदले त्यति रकम नभएको, ५ लाख ल्याइदिनसक्ने बताउँछन् । त्यसपछि आफ्नो कार्यालय वधशालाका कर्मचारी प्रदीप थापा मगरलाई फोन गरेर ५ लाख रुपैयाँ ल्याउन अह्राएको प्रहरीले बताएको छ ।
विनोदले भने अनुसार साँझ ५ बजेतिर प्रदीपले भक्तपुरको राधेराधेमा पैसा पुर्याइदिन्छन् । तर रकम पाइसकेपछि मनिषाको समूहले हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी छ । योजनाअनुसार उनीहरुले घाइते विनोदलाई उनकै गाडीमा राखेर सूर्यविनायक–७ स्थित गुण्डु जाने सडकमा पुर्याउँछन् । ‘गाडीभित्रै ढुंगाले छातीमा हानेर उनको हत्या गरेको देखिन्छ’ काभ्रे प्रहरी प्रमुख एसपी बसुन्धरा खड्काले भनिन् ।
हत्यापछि साँगा, धुलिखेल हुँदै पाँचखालको ४९ किलो भन्ने ठाउँमा पुर्याएर अरनिको राजमार्गबाट तल झाडीमा शव फालेर भक्तपुर फर्किन्छन् । पुरानो थिमीमा गाडी छाडेर घर गएका उनीहरुले भोलिपल्ट भेटेर पैसा बाँडछन् । अंशुले मनिषालाई एक लाख, प्रतीकलाई १० हजार, आशिषलाई २० हजार, रोशनी महतलाई ५० हजार रुपैयाँ दिएको देखिन्छ ।
घटनाबारे प्रहरी थाहा पाएपछि मनिषाको कोठामा तास खेल्ने क्रममा विनोदले पैसा हारेको र विवाद भएपछि आफूखुसी निस्किएको बयान दिने सहमति समेत भएको थियो । तर त्यही दिन प्रहरीले मनिषासहितका व्यक्तिलाई पक्राउ गर्यो । भारतीय नागरिक भनिएका अंशु र शिवमको इन्टरपोलमार्फत खोजी भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकले प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सर्वसम्मत अनुमोदन गरेको छ। सिंहदरबारमा बुधबार बसेको समितिको बैठकमा प्रस्तावित प्रधानन्यायाधीश राउतले २४ बुँदा कार्ययोजना प्रस्तुत गरेका थिए । संवैधानिक परिषद्को गत भदौ ३१ गते बसेको बैठकले प्रधानन्यायाधीशमा राउतलाई सिफारिस गर्ने निर्णय गरेको थियो।
सर्वोच्च अदालतका वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको यही असोज १९ गते पदावधि सकिँदैछ। न्यायपरिषद्ले रिक्त प्रधानन्यायाधीश पदमा वरिष्ठतम न्यायाधीशमध्येबाट राउतको नाम सिफारिस गरेर संवैधानिक परिषदमा पठाएको थियो। प्रधानन्यायाधीशमा राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ।
यसैबिच, बुधबार संसदीय सुनुवाइ समितिले अष्ट्रेलियाका लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सर्वसम्मत अनुमोदन गरेको छ। उनले आफ्नो कार्ययोजना प्रस्तुत गर्दै राष्ट्रहितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।
काठमाडौं । दुर्गा प्रसाईंलाई १ लाख धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ । काठमाडौँका जिल्ला अदालतका न्यायाधीश ठाकुर प्रसाद खरेलको इजलासले ५०\ ५० हजार धरौटीमा छाड्न आदेश भएको साइबर ब्यूराका एसपी दीपकराज अवस्थीले बताए ।
यसअघि प्रसाईविरुद्ध साइबर अपराध गरेको आरोपमा जिल्ला अदालत काठमाडौंमा दुईवटा साइबर अपराधको मुद्दा दायर भएको थियो । गत ६ असोजमा भक्तपुरबाट पक्राउ परेका प्रसाई हिरासतमा परेपछि बिरामी भएको भन्दै अस्पतालमा थिए । अभियोगमा उनीमाथि अधिकतम अर्थात ५ वर्ष कैद र एक लाख रुपैंया जरिवानाको माग गरेको थियो। अदालतको आदेशपछि प्रसाई छूटेका छन् ।
काठमाडौं । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई भारतको नयाँदिल्लीमा सुरक्षा अधिकारीले नियन्त्रणमा लिएका छन् । इन्टरपोलमा रेड नोटिस जारी भएका उनलाई दिल्लीमा फेला पारिएको भन्दै भारतीय पक्षले नेपाल प्रहरीलाई जानकारी गराएको छ । नेपाल प्रहरीका एक उच्च अधिकारीलाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले जनाए अनुसार भारतस्थित नेपाली दूतावासबाट समन्वय गरेर उनलाई नेपाल ल्याउने प्रक्रिया थालिएको छ ।
नेपालीविरुद्ध १२ माघ ०८० मा रेड कर्नर नोटिस जारी भएको थियो । सहकारी ठगी प्रकरणमा जोडिएपछि मेयर नेपाली ५ जेठ ०८० देखि फरार थिए । इमेज सहकारीका संस्थापक अध्यक्ष नेपालीसहित नेपालीसहित कार्यवाहक अध्यक्ष डोरबहादुर परियार, सचिव सुनिल नेपाली, कोषाध्यक्ष लक्ष्मी सेन र सञ्चालक सदस्यहरू चित्रबहादुर भण्डारी, रूपा विक र झगबहादुर शाहीलाई ७ वैशाखमा गते गृहमन्त्रालयले यात्रा अनुमतिमा रोक लगाएको थियो ।
बचतकर्ताको २ अर्बभन्दा बढी रकम हिनामिना गरेको आरोप उनीमाथि छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले जेठ १६ गते नेपालीसहित पदाधिकारीले बचतकताएको अर्बौं रकम अपचलन गरी संगठित ठगी गरेकाले उनीहरुविरुद्ध उजुरी लिन पत्राचार गरेको थियो । जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ २१ गते बचत रकमसहित प्रमाण जुटाएर उजुरी दिन आह्वान गरेको थियो ।
काठमाडौं । नेपाल प्रहरीले कार्यालयमा सम्पर्कमा नरहेका २४ जना प्रहरीहरुलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको छ । आफूखुसी गैरहाजिर भएको र खोजतलास गराउँदा पनि सम्पर्क गर्न नसकिएको भन्दै प्रहरीले सार्वजनिक सूचना निकालेर सात दिनभित्र उपस्थित हुन भनेको हो ।
उपस्थित हुँदा गैरहाजिर रहनुको कारणसहित स्पष्टीकरण बुझाउनुपर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए प्रहरी नियमावलीअनुसार आवश्यक कारबाही प्रक्रिया अघि बढाइने सूचनामा उल्लेख छ । गैरहाजिर भएकाहरुमा तीन जना प्रहरी सहायक निरीक्षक, दुई जना प्रहरी सहायक हबल्दार र १९ जना प्रहरी जवान छन् ।