Category: कानुनी कुरा

  • चितवनमा मान्छे माथि आक्रमण गर्ने बाघलाइ नियन्त्रणमा लिइयो

    चितवनमा मान्छे माथि आक्रमण गर्ने बाघलाइ नियन्त्रणमा लिइयो

    काठमाडौं । चितवनको नारायणगढ बजार नजिकै शनिबार विहान एक ब्यक्तिलाई आक्रमण गरी घाइते बनाउने बाघलाई १७ घण्टापछि डार्ट गरेर नियन्त्रणमा लिइएको छ ।

    चितवन महोत्सव हुने प्रर्दशनी मैदानको माथिल्लो भेगमा विहान मर्निङवाक गर्न गएका भरतपुर-२ बेलटाडीका ६० बर्षीय पशुपति श्रेष्ठलाई बाघले आक्रमण गरेर घाइते बनाएको थियो ।

    चितवन मेडिकल कलेजमा उपचार गराइरहेका श्रेष्ठको हात, घाँटीमा चोट लागेको छ । बाघलाई चितवन राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले हात्तीको सहयोगमा दिनभर नियन्त्रणमा लिने प्रयास गरे पनि सकेका थिएनन् ।

    नजिकैको नरकटको घना झाडीमा लुकेर बसेको बाघले पटकपटक हात्तीलाईसमेत तर्साउने गरेको थियो । बाघसँग बिच्किएका हात्तीहरु माहुतेलाई छाडेर बजार क्षेत्रबाट भागेका थिए 

    एउटा हात्ती पश्चिम चितवनको शिशुवार पुगेको थियो भने अर्को हात्ती भागेर भरतपुर १९ को निलडाँडा पुगेको थियो । पछि फेरि राष्ट्रिय प्रकृति संरक्षण कोषबाट २ वटा हात्ती ल्याएर बाघलाई तीनतिरबाट घेरा हालेर डार्ट गर्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिए ।

    सौराहामा रहेका २ वटा खोरमध्ये एक खोर खाली छ, अर्को खोरमा ठोरीबाट डार्ट गरेर ल्याएको बाघ राखिएको छ । निकुञ्जसँग सौराहामा २, कसरामा ३ र भरतपुर- १३ देवनगरमा २ बाघ राख्न सक्ने क्षमता छ ।

  • सिनामंगलको एक गेष्ट हाउसमा महिला पुरुष मृत फेला

    सिनामंगलको एक गेष्ट हाउसमा महिला पुरुष मृत फेला

    काठमाडौं । काठमाडौं महानगरपालिका–९ सिनामंगलको एक गेस्ट हाउसमा एक महिला र एक पुरुष मृत फेला परेका छन् । मृत भेटिनेमा बाजुराको त्रिवेणी नगरपालिका–४ का २३ वर्षीय भरतबहादुर सार्की र सोही ठाउँकी करिब २० वर्षकी करिष्‍मा सार्की रहेको जिल्ला प्रहरी प्रहरी काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले बताएका छन् ।

    शान्ता कार्कीले सञ्चालन गरेको उक्त होटलमा उनीहरु १५ साउनदेखि बस्दै आएको खुलेको प्रहरीले जनाएको छ । सोही क्रममा आज शुक्रबार १२ बजेसम्म पनि खाना खान नआएपछि बोलाउन गएको र बोलाउँदा पनि कुनै प्रतिक्रिया नदिएपछि प्रहरीलाई खबर गरिएको थियो । प्रहरीले आएर ढोका खोलेर हेर्दा दुबै जना मृत भेटिएका हुन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

  • पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

    पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ

    काठमाडौं । लहान–ठाडी सडकखण्डअन्तर्गत सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशबारी चोकबाट प्रहरीले पेस्तोलसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख रमेश पण्डितका अनुसार बिहीबार साँझ इलाका प्रहरी कार्यालय महेशबारीले ठाडीबाट लहानतर्फ जाँदै गरेको यात्रुवाहक बसमा जाँच गर्दा दुई भारतीय पेस्तोलसहित पक्राउ परेका हुन्।

    पक्राउ पर्नेमा भारतको मधुवनी जिल्ला पिपराही ग्राम पञ्चायत झझरीका १८ वर्षीय नीरजकुमार पासवान र सोही ग्राम पञ्चायतअन्तर्गत बलानशेर टोलका ३७ वर्षीय अरुण साह छन्। उनीहरूलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

  • टीआरसी विधेयकमा सहमति

    टीआरसी विधेयकमा सहमति

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयकका विवादित विषयमा सहमति जुटेको दलहरुले बताएका छन् । तीन दलका तीन नेता, कानुन समितिका सभापति र कानुनमन्त्रीबीच बिहीबार भएको छलफलमा विवादित विषयमा सहमति जुटेको हो ।

    गृहमन्त्री रमेश लेखकले यसबारे जानकारी दिए । उनका अनुसार द्वन्द्वकालमा भएको हत्यालाई कसरी परिभाषित गर्ने भनेर सहमति जुटेको छ । मनसायपूर्वक अथवा स्वेच्छाचारीपूर्वक गरिएको हत्यालाई मानवअधिकारको गम्भीर उल्लंघनमा राख्ने सहमति भएको छ ।

    मानवअधिकारको उल्लंघनका घटनामा सहमतिका लागि पीडितको सहमति अनिवार्य गरिएको छ । पीडितको सहमति नभएमा के गर्ने भन्ने विवाद थियो । ‘सरकारवादी फौजदारी मुद्दा भयो भने मुद्दा चल्नसक्छ, दुनियाँवादी फौजदारी मुद्दा भए के गर्ने भन्ने अधिकार पीडितलाई दिने सहमति गरेका छौं,’ गृहमन्त्री लेखकले भने ।

    द्वन्द्वकालमा मारिएका तथा घाइते भएका सुरक्षाकर्मीको परिवारलाई पीडित सरह परिपूरण दिने सहमति पनि जुटेको छ । यस्तै बहिगर्मित लडाकूहरुलाई द्वन्द्व प्रभावितका रुपमा परिपूरण दिने सहमति पनि भएको छ । यो सहमतिलाई कानुन मन्त्रालयले अन्तिम रुप दिएपछि शीर्ष नेताहरुलाई बुझाइने लेखकले जानकारी दिए ।

  • पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

    पूर्वमन्त्री जोशी भ्रष्टाचार मुद्दामा दोषि ठहर

    काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । आइतबार न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो । जोशीलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेपनि सर्वोच्चले बिगो र कैद सजाय घटाएको छ ।

    यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो । यही मुद्दामा ताराराज पाण्डे र बासुदेव पन्तले सफाइ पाएका सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए ।

  • निलम्बित मूख्यसचिव अर्याल ५० हजार धरौटीमा छाडिए

    निलम्बित मूख्यसचिव अर्याल ५० हजार धरौटीमा छाडिए

    काठमाडौं । विशेष अदालतले निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटीमा छाडेको छ । अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरु रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले बयानपछि अर्यालसँग ५० हजार रुपैयाँ धरौटी मागेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए । धरौटी बुझाएर उनी आईतबार नै रिहा भएका छन् ।

    अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रबाट नीजि क्षेत्रलाई अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको छ । त्यही मुद्दा लागेका केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल अदालतमा हाजिर भएका थिए, उनलाई एक लाख रुपैयाँ धरौटी माग्ने आदेश भएको थियो ।

  • लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

    लागु पदार्थ सेवन गरी सवारी साधन चलाउने ६ जना पक्राउ

    काठमाडौं । लागूपदार्थ सेवन गरी सार्वजनिक सवारी साधन चलाएको भेटिएपछि ६ जना चालक पक्राउ परेका छन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र लागू औषध नियन्त्रण व्यूरोको संयुक्त टोलीले नागढुंगाबाट सार्वजनिक बसर माइक्रो तथा ट्रकका ६ जना चालकलाई पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त थानकोटको जिम्मा लगाएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी विश्वराज खड्काका अनुसार प्रतिबन्धित लागूऔषध सेवन गरी सवारी साधन चलाएको कसुरमा उनीहरुलाई पक्राउ गरिएको हो ।

    बागमती प्रदेश ०६–००१ ज ०१ ७२ नम्बरका माइक्रो बसका चालक चितवन भरतपुरका २५ वर्षीय अनिक चौधरी, प्रदेश २–०३ ००१ ख ४५ ६२ नम्बरका ट्रक चालक मकवानपुर हेटौडाका ३० वर्षीय प्रकाश तामाङ, बा १३ च ४८ ५३ नम्बरका पिकअप भ्यानका चालक मकवानपुर थाहा नगरपालिकाका २३ वर्षीय प्रकाश गोले, बा १७ च १७ १४ नम्बरका भ्यान चालक बाँके कोहलपुरका ४२ वर्षीय विनोद चौधरी, ग १ ख १५ ६७ नम्बरका बस चालक तनहुँ म्याग्दी गाउँपालिकाका ३९ वर्षीय कर्णबहादुर गुरुङ र ना ७ ख ०५ २७ नम्बरका भाडा ट्यांकर चालक मकवानपुरको हेटौडाका ४८ वर्षीय रविलाल मानन्धर पक्राउ परेका हुन् ।

    उनीहरुमाथि अवैध लागूऔषध सेवनको कसुरमा अनुसन्धान अघि बढेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन विरुद्ध २०६८ सादलबाटै प्रहरीले देशभर विशेष अभियान चलाउँदै आएकोमा २ वर्ष अघिबाट उपत्यका भित्र लागूऔषध सेवन गर्ने चालकविरुद्ध पनि कारबाही अभियान थालिएको थियो ।

    यसका लागि ट्राफिक प्रहरीले छुट्टै किटको प्रयोग गरी चालकले लागूऔषध सेवन गरेरनगरेको पत्ता लगाउन प्रहरी अस्पताल र लागूऔषध नियन्त्रण व्यूरोबाट सहयोग लिँदै आएको छ । शुक्रबार पक्राउ परेका यातायातका चालकहरुको पिसाव परीक्षण गर्दा लागूऔषध सेवन गरेको खुलेको हो । उनीहरुले सेवन गर्ने लागूऔषध कुन किसिमको हो भन्ने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    यसअघिका विभिन्न परीक्षणबाट चालकले गाँजा र चरेस तथा केहीले हेरोइनसम्म सेवन गर्ने गरेको भेटिएको थियो । नेपाल प्रहरी अस्पतालको प्राविधिक टोलीले उनीहरूको पिसाव ड्रग्स किट’मा राखेर परीक्षण गर्दा लागूऔषध सेवन गरेको भेटिएको थियो । एसपी खड्काका अनुसार शुक्रबार २५ वटा सबारी साधनका चलकको पिसाव परीक्षण गर्दा ६ जनाले लागूऔषध सेवन गरेको भेटिएको थियो ।

  • किन पुनः चर्चामा छ सन्दीप लामिछानेविरुद्धको मुद्दा ?

    किन पुनः चर्चामा छ सन्दीप लामिछानेविरुद्धको मुद्दा ?

    काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दा पुनः एक पटक चर्चामा आएको छ । जबर्जस्ती करणी मुद्दाको पुनरावेदन प्रक्रिया अघि नबढाउन उच्च सरकारी वकिल कार्यालयमा निवेदन दर्ता भएसँगै यसको पक्ष र विपक्षमा चर्चा सुरु भएको हो ।

    उच्च अदालत पाटनले गरेको फैसलाको पूर्ण पाठ सार्वजनिक भएलगत्तै जाहेरवाला गौशाला २६ ले उक्त निवेदन दर्ता गरेकी हुन् । जिल्ला अदालत काठमाडौँको पुस २६ गतेको फैसला उल्ट्याउँदै उच्च अदालतले जेठ २ गते सन्दीपलाई सफाइ दिएको थियो ।

    उच्चको फैसलाको पूर्णपाठ सार्वजनिक भएको साताभित्रै जाहेरवालाले निवेदन दिएकी हुन् । उच्च सरकारी वकिल कार्यालय पाटनका प्रमुख शङ्कर खत्रीले साउन ८ गते निवेदन दर्ता भएको बताएका छन् । सर्वोच्चमा पुनरावेदन प्रक्रिया अघि नबढाउन निवेदन दर्ता भए पनि सरकारवादी फौजदारी मुद्दा भएकाले सरकारी वकिल कार्यालयले लिने निर्णयले पुनरावेदन हुने वा नहुने टुङ्गो लाग्नेछ ।

    निवेदनमा गौशाला २६ ले आफू उच्चको फैसलालाई अन्तिम मान्ने उल्लेख गरेकी छन् । मुद्दाको प्रक्रिया लम्बिइरहँदा आफूमाथि मानसिक दबाब बढिरहेको तथा करिअरमा समेत असर परिरहेकाले मुद्दा पुनरावेदन नचाहेको उनले बताएकी हुन् । मुद्दाले आफ्ना सामाजिक जीवनमा पनि असर पारेको र निरन्तर मानसिक दबाब भइरहेको पनि उनले निवेदनमा उल्लेख गरेकी छन् ।

  • मकवानपुरमा दम्पत्ति मृत फेला

    मकवानपुरमा दम्पत्ति मृत फेला

    काठमाडौं । मकवानपुरमा श्रीमान र श्रीमती आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन्। बुधबार अपराह्न पौने ५ बजे हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ भैरवरोड नजिकै लटिनाथ चिसापानीमा श्रीमान र श्रीमती मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिएका छन् ।

    ६२ वर्षीय श्रीमान केशव भण्डारी र उनकी ५६ वर्षीया श्रीमती अम्बिका भण्डारी मृत फेला परेका हुन्। डिएसपी भण्डारीका अनुसार आफ्नै घरको कोठाभित्र श्रीमान केशव झुण्डिएको अवस्थामा फेला परेका हुन्। श्रीमती अम्बिकामाथि भने धारिलो हतियार प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ।

    घटनाको अनुसन्धान गर्न कार्यालयबाट एसपी सिताराम रिजालको कमाण्डमा टोली खटिएको थियो। हेटौंडा अस्पतालबाट पनि चिकित्सकको टोली खटिएर अनुसन्धान अघि बढाएको छ । थप अनुसन्धान बाँकी नै रहेको प्रहरीले जनाएको छ।

  • मानव बेचविखन गरेको आरोपमा एक युवक पक्राउ

    मानव बेचविखन गरेको आरोपमा एक युवक पक्राउ

    काठमाडौं । बालिकालाई बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले काभ्रेको चौरीदेउराली गाउँपालिका–१ का २० वर्षीय कुशल खरेललाई पक्राउ गरेको हो ।

    खरेल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ मा रहेको सिन्धुली होटल ढिडो सर्भिस एण्ड गेस्टहाउसका सञ्चालकमध्ये एक रहेको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । उनी नेपाली काउन्टडाउन युट्युब च्यानलका सञ्चालक रहेको पनि पाइएको प्रहरीले जनाएको छ । नाबालिकालाई होटलमा वेटरको काम भनेर जबर्जस्ती यौनकार्यमा लगाउने गरेको पाइएको एसपी गौतमले बताए ।

    यसअघि उक्त होटलबाटै २४ असारमा ब्यूरोको टोलीले बीरबहादुर सिन्तान र सुबिलाल सिन्तानलाई पक्राउ गरेको थियो । तर खरेल भने फरार हुँदै आएका थिए । खरेललाई मंगलबार बत्तिसपुतलीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ । उनीहरुले सञ्चालन गरेको गेस्टहाउसबाट ६ जना बालिकाको उद्दार समेत गरिएको प्रहरीले बताएको छ ।

  • सर्वोच्च अदालतमा महिला प्रहरीमाथि हातपात गर्ने वकिल पक्राउ

    सर्वोच्च अदालतमा महिला प्रहरीमाथि हातपात गर्ने वकिल पक्राउ

    काठमाडौं । सर्वोच्च अदालतमा एक जना महिला प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले एक जना वकिललाई पक्राउ गरेको छ। सोमबार दिउँसो सवा २ बजेतिर प्रहरीमाथि हातपात गरेको आरोपमा प्रहरीले काठमाडौं महानगरपालिका वडा नम्बर ११ माइतीघर मण्डलास्थित लिंकन ल फर्ममा कार्यरत २८ वर्षीया लुमा चौधरीलाई पक्राउ गरेको हो। उनीमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान गर्न प्रहरी वृत्त सिंहदरबारमा राखिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।

    सर्वोच्चका बेन्च सहायक देवीप्रसाद प्रधानसँग छत्रप्रसाद लुइँटेलको रिट निवेदनको फैसला भएको नक्कल लिने विषयमा विवाद भएको थियो। आपसी भनाभन हुँदा प्रहरी बोलाइएको थियो। प्रहरीले सोधपुछ गर्न खोज्दा वकिल चौधरीले महिला प्रहरी कर्मचारीमाथि हात हालेको एसपी अधिकारीले बताए। यसरी अभद्र व्यवहार गरेको भन्दै प्रहरीले चौधरीलाई पक्राउ गरेको हो।

  • एमाले र कांग्रेसबीचको सहमति सार्वजनिक, प्रधानमन्त्री पालैपालो

    एमाले र कांग्रेसबीचको सहमति सार्वजनिक, प्रधानमन्त्री पालैपालो

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति आइतबार प्रतिनिधिसभा बैठकमा सार्वजनिक गरेका छन् । प्रतिनिधिसभा बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव राख्ने क्रममा उनले दुई दलबीच भएको ७ बुँदे सहमति सार्वजनिक गरे ।

    उक्त सहमति अनुसार पहिलो चरणमा दुई वर्ष सरकारको नेतृत्व एमाले अध्यक्ष ओलीले गर्ने र त्यसपछि २०८४ मंसिरको चुनावसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नेतृत्व गर्नेछन् ।
    यस्तो छ सहमति

    १. आम जनताको चाहनाबमोजिम राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माण अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरताका लागि अन्य राजनाीतिक दललाई समेत सहभागी गराई संविधानको धारा ७६ (२) अन्तर्गत राष्ट्रिय सहमतिको सरकार निर्माण गर्ने ।

    २. राष्ट्रिय सहमतिको सरकारले संविधान प्रारम्भ भएपश्चात अभ्यासमा देखापरेका सबल पक्ष र दुर्बल पक्ष तथा जटिलताको समीक्षा गरी राजनीतिक स्थायीत्वका लागि संविधानमा आवश्यक संशोधन र तदनुकूलको कानुन निर्माण गर्ने विषयलाई प्राथमिकता दिने ।

    ३्. अर्थतन्त्रमा विद्यमान शिथिलतालाई अन्त्य गरी विश्वसनीय व्यवसायिक वातावरण तयार गरी आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्त्रिक र बाह्य लगानीलाई प्रोत्साहन गरी मुलुकभित्र पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्ने ।

    ४. राष्ट्रिय सहमतिको सरकारको नेतृत्व सरकार गठन भएको मितिले दुई वर्षसम्म नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले र त्यसपछि २०८४ मंसिरमा हुने आम निर्वाचनसम्म कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने ।

    ५. राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्न, राष्ट्रको विकास निर्माणको अभियानलाई तीव्रता दिन राष्ट्रिय सहमतिको सरकार सञ्चालनका आधार र न्यूनतम साझा कार्यक्रम तर्जुमा गरी सोही आधारमा सरकार सञ्चालन गर्ने ।

    ६. राष्ट्रिय सहमतिको सरकारका लागि दुई प्रमुख राजनीतिक दलको नेतृत्वदायी भूमिका र समानताका आधारमा, समान हैसियतमा सरकारमा सहभागिता रहने र अन्य राजनीतिक दललाई समेत सरकारमा समावेश गर्ने ।

    ७. राष्ट्रिय सहमतिको सरकारको मर्म र भावना अनुरुप प्रदेश सरकारको गठन र सञ्चालन गर्ने र जनभावना अनुरुप प्रदेश तथा स्थानीय तहमा हुने विकास निर्माणको कामलाई तीव्रता दिने ।

  • कोटेश्वरमा गेष्ट हाउसबाट ६ बालिकाको उद्दार, २ सञ्चालक पक्राउ

    कोटेश्वरमा गेष्ट हाउसबाट ६ बालिकाको उद्दार, २ सञ्चालक पक्राउ

    काठमाडौं । कोटेश्वरस्थित एक गेष्टहाउसबाट छजना बालिकाको उद्धार गरिएको छ । बालिकालाई असामाजिक काममा लगाउने गरेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका कर्मचारीले गेष्टहाउसबाट उनीहरूलाई गए राति उद्धार गरेका हुन् ।

    रामेछापका नवीन थापाले सञ्चालन गरेको रामेछाप खाजाघर एण्ड गेष्टहाउसमा बालिकालाई आर्थिक प्रलोभनमा पारी ललाइफकाई असामाजिक काममा लगाएको जानकारी प्राप्त भएपछि उनीहरूको उद्धार गरिएको ब्यूरोका सूचना अधिकारी गौतम मिश्रले जानकारी दिए । गैरकानुनी गतिविधिमा संलग्न भएको अभियोगमा थापा र काठमाडौँको कागेश्वरी मनोहराका उज्ज्वल खड्कालाई नियन्त्रणमा लिइएको उनले बताए । रासस

  • विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन सर्वोच्चको आदेश

    विकल्प दिएर सुकुम्बासी बस्ती हटाउन सर्वोच्चको आदेश

    काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको नदी किनारका सरकारी जग्गामा बसोबास गरिरहेका सुकुम्बासीहरुलाई विभिन्न विकल्प दिएर हटाउन आदेश दिएको छ । न्यायाधीश डा. आनन्दमोहन भट्टराई र विनोद शर्माको इजलासले ३ पुस २०८० मा गरेको फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको छ ।

    जसमा वास्तविक सुकुम्बासीको स्थानान्तरण गरेर नदी किनारका सरकारी जग्गा खाली गर्न भनिएको छ । अदालतले वास्तविक सुकुम्बासीको पहिचान गरी स्थानान्तरणका लागि हाल इचंगुनारायणमा बनेको आवासमा स्थानान्तरण गर्ने विकल्प दिएको छ ।

    यदि उक्त सुविधाले नपुग्ने भए आवश्यक संख्यामा अन्यत्र आवासको व्यवस्था गर्ने, ती स्थानमा जान नचाहने वास्तविक सुकुम्बासीलाई स्थानान्तरणको सहजीकरणकालागि तत्काल राहतका रुपमा पैसा दिएर भए पनि अतिक्रमण हटाउन आदेश दिएको छ ।

    नदी किनारका सुकुम्बासी हटाउँदा पहिलो चरणमा बाढीको जोखिममा रहेका घर टहरा हटाउने, त्यसपछि नदी किनार र सडकबीचको हरियाली क्षेत्र ओगटेर बसेकाहरुलाई हटाउन सर्वोच्चले आदेश दिएको छ । यो काम गर्न काठमाडौं उपत्यकाभित्रका सबै स्थानीय तहहरुको समन्वय चाहिने भन्दै सर्वोच्चले यो काम अधिकारसम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले गर्ने भनेको छ ।

  • पदमुक्त भएपछि बालुवाटारबाट निजी निवास सरे प्रचण्ड

    पदमुक्त भएपछि बालुवाटारबाट निजी निवास सरे प्रचण्ड

    काठमाडौं । पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै प्रधानमन्त्री निवास बालुवाटारबाट निजी निवास सरेका छन् । उनी प्रधानमन्त्रीबाट पदमुक्त हुने बित्तिकै राष्ट्रपतिलाई भेट्न पुगेका थिए । त्यसपछि उनी बालुवाटार छाडेका हुन् ।

    बालुवाटार छाडेसँगै प्रचण्ड आफ्नो निजी निवास ललितपुरस्थित खुमलटारमा सरेका छन् । यसअघि प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेसँगै प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका थिए ।

    एमालेले समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले संविधानको धारा १०० (२) अनुसार विश्वासको मत मागेका थिए । तर, प्रधानमन्त्री प्रचण्डको पक्षमा ६३ मत मात्र पर्‍यो भने उनको विपक्षमा १९४ मत पर्‍यो । २७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत चाहिन्छ ।

  • स्रोत नखुलेको ३८ लाखसहित एक जना पक्राउ

    स्रोत नखुलेको ३८ लाखसहित एक जना पक्राउ

    काठमाडौं । स्रोत नखुलेको ३८ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भरतपुर महानगरपालिका १५ गणेशटोलका ४८ वर्षीय माधव श्रेष्ठ छन् । उनलाई विशेष सूचनाको आधारमा काठमाडौं प्रहरी परिसरको टोलीले पक्राउ गरेको जनाएको छ । पक्राउ परेका उनको साथबाट प्रहरी ३८ लाख रुपैयाँ नगद, एउटा स्कुटी र सामसुङको मोबाइल बरामद गरेको छ । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

  • नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

    नागरिक उन्मुक्ति पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लियो

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । असार २८मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत समेत नदिने निर्णय गरेको छ । प्रतिनिधि सभामा नाउपाका चार सांसद छन् ।

    नाउपाले सुरुदेखि नै प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्दै आएको थियो । अब कांग्रेस र एमालेको नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय भएकाले प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको पार्टीको भनाई छ ।

  • विराटनगरमा ग्याङफाइट, एक युवकको हत्या

    विराटनगरमा ग्याङफाइट, एक युवकको हत्या

    काठमाडौं । सोमबार राति विराटनगरमा युवाहरुको दुई समूहबीच ग्याङफाइट भएको छ । झडपमा एक जनाको मृत्यु भएको छ । दुई जना गम्भीर घाइते भएका छन् । सोमबार राति करिब सवा १० बजे विराटनगर महानगरपालिका– २ नेपाल टेलिकमको अफिस नजिकै झडप भएको प्रहरीले बताएको छ ।

    यस घटनामा कटहरी गाउँपालिका–१ जमटोकीका २१ वर्षीय करण कामतको मृत्यु भएको छ । उनका साथी कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते छन् । घाइतेमध्ये रायको कोख र ढाडमा गम्भीर चोट लागेको प्रहरीले बताएको छ ।


    मुख्य बजार क्षेत्रमा भएको ग्याङफाइटको विषयमा प्रहरीले घाइतेहरु अस्पताल पुगेपछि मात्रै जानकारी पाएको थियो । ग्याङफाइटका क्रममा एउटा समूह भागेको थियो । घाइतेहरुलाई बटुवाले अस्पताल पुर्‍याएका थिए ।

    प्रहरीले घटनामा संलग्न भएको आरोपमा विराटनगर–११ का २० वर्षीय सोनु गिरी, ताप्लेजुङका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरका २० वर्षीय सञ्जय गिरी र मोरङ रंगेलीका १६ वर्षीय एक बालकलाई पक्राउ गरेको छ । प्रहरीले घटनास्थलमा एउटा मोबाइल फेला परेको थियो । सोही मोबाइलबाट घटनामा संलग्नहरुसम्म पुगेको थियो ।

    मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीका अनुसार आइतबार युवाहरुका दुई समूहबीच युवती जिस्क्याएको विषयमा विवाद भएको थियो । पक्राउ परेका पक्षकी युवतीलाई मृतक तथा घाइते पक्षका युवाहरुले जिस्क्याएको पाइएको प्रहरीको भनाइ छ । यही विषयमा आइतबार दुई समूहबीच पनि विवाद भएको थियो ।

    विवादको विषयलाई लिएर सोमबार राति मृतक तथा घाइते पक्षका १२–१३ जनाको समूह बाटो ढुकेर बसेको थियो । राति अर्को समूह पनि आएपछि झडप भएको थियो । झडपका क्रममा पक्राउ परेका शेर्पाले साथमा बोकेको कैंचीले मृतक करणलाई प्रहार गरेको पाइएको प्रहरीले बताएको छ ।

    कैची प्रहार गर्दा तीन जनालाई गम्भीर चोट लागेको थियो । घटनामा प्रयोग भएको कैची विराटनगर अस्पताल अगाडिको गोलबजार फार्मेसीबाट बरामद भएको प्रहरीले बताएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको र घटनामा संलग्नविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

  • अफलाइन राइड गरेर दुर्घटनामा परेका ३ पठाओ चालक पक्राउ

    अफलाइन राइड गरेर दुर्घटनामा परेका ३ पठाओ चालक पक्राउ

    काठमाडौं । अफलाइन राइडिङमा मोटरसाइकल दुर्घटना गराई फरार रहेका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जुम्लाको चन्दननाथ ८ घर भई हाल तारकेश्वर बस्‍ने २२ वर्षीय तेज रावल, जुम्लाकोको गुठीचौर घर भई हाल मण्डिखाटार बस्‍ने २३ वर्षीय पदम धिताल र जुम्लाको गुठीचौर ४ घर भई हाल तारकेश्वर बस्‍ने सुरेश अधिकारी रहेका छन् । उनीहरूलाई प्रहरी गोंगबु एरियाबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए ।

    एसपी अधिकारीका अनुसार असार १५ गते राति साढे ९ बजे गोंगबुबाट हात्तिवनसम्‍म ३५ वर्षीय अनु गुरूङ र उनका साथीहरू ३ जना अफलाइन राइडरसँग चढेका थिए । तर जाने क्रममा कान्तिपथ नजिकै दुर्घटना भई उपचारका क्रममा मृत्यु भएको प्रहरीको आरोप छ । पक्राउ परेका उनीहरूमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

  • १४ किलो चाँदीसहित ३ जना पक्राउ

    १४ किलो चाँदीसहित ३ जना पक्राउ

    काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले १४ किलो २५० ग्राम चाँदीसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक २२ वर्षीय अमन कुमार, २६ वर्षीय विकीकुमार साह र सवारी चालक श्रवणप्रसाद कानु छन् । आइतबार ललितपुरबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेटको गाडीमा चाँदीका गरगहना राखेर अवैध रुपमा ल्याइँदै गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको ब्यूरोका एसपी होविन्द्र बोगटीले बताए ।

    उनका अनुसार, प्रहरीले सानो गौचरणस्थित अटो सर्भिसेज प्रालि नामक वर्कसपभित्र राखेको अवस्थामा बीआर ०६ यू ९०५३ नम्बरको गाडी पनि बरामद गरेको छ । एसपी बोगटीका अनुसार, गाडीको डिकीमा लुकाएर राखेको अवस्थामा चाँदीका गहनाहरु बरामद भएको थियो । पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको बोगटीले बताए ।

  • कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ

    कोकिनसहित दुई तान्जानियाका नागरिक ठमेलबाट पक्राउ

    काठमाडौं । एक किलो दुई सय ४७ ग्राम अवैध लागूऔषध कोकिनसहित दुई विदेशी नागरिक पक्राउ परेका छन् । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले काठमाडौं महानगरपालिका–१६ ठमेलस्थित एक होटलबाट कोकिनसहित दुई विदेशी नागरिकलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

    तान्जानियाका नागरिक ४६ वर्षीय रामधानी सिम्बा मवाबुम्बा र ५२ वर्षीय तवालिब किपेवु पशुआ पक्राउ परेका छन् । उनीहरुलाई कोकिनका ७२ क्याप्सुलसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्लास्टिक कोटेड कोकिनका क्याप्सुल उनीहरुले इथियोपियामा पुगी निलेर काठमाडौं आएको अनुसन्धानमा खुलेको ब्यूरोले जनाएको छ । बरामद लागूऔषधको अन्दाजी बजार मूल्य ४ करोड ३७ लाख बराबर रहेको प्रहरीको भनाइ छ ।

  • रविविरुद्धको सुनुवाई आज पनि जारी

    रविविरुद्धको सुनुवाई आज पनि जारी

    काठमाडौं । सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि आज सुनुवाइ जारी रहने भएको छ । लामिछानेलाई निलम्बन गरी उनीमाथि अनुसन्धान गर्नुपर्ने माग राखी गत जेठ १४ गते दायर रिटमा अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

    पछिल्लोपटक असार १८ गते सुनुवाइ भएको थियो । गृहमन्त्री लामिछानेको तर्फबाट बहस बाँकी रहेपछि न्यायाधीशहरू सपना प्रधान मल्ल र सारंगा सुवेदीको इजलासले मुद्दा २० असारमा फेरि सुनुवाइ गर्ने भनी हेर्दाहेर्दैको आदेश गरेको थियोे ।

    अधिवक्ता अनुपम भट्टराईले दायर गरेको रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गर्दै उनलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ । रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाउँदै महान्यायाधिवक्ता दिनमणि पोखरेललाई पनि विपक्षी बनाइएको छ ।

    महान्यायाधिवक्ता कार्यालयको उक्त पत्रले संविधान, फौजदारी कानुन र सहकारीका बचतकर्ताको न्याय प्राप्त गर्ने आधारलाई कमजोर बनाई प्रभावित गराउन सक्ने भन्दै उक्त कार्य उत्प्रेषणको आदेशले बदर गर्न समेत माग गरिएको छ ।

  • कारवाहीमा परे रास्वपा प्रवक्ता ढकाल

    कारवाहीमा परे रास्वपा प्रवक्ता ढकाल

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई कारवाही गरेको छ । उनी निलम्बनमा परेका छन् । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले उनलाई सात दिनसम्म निलम्बन गरेको हो । केन्द्रीय अनुशासन आयोगका प्रमुख भरतमणि देवकोटासँग परामर्श गरेर ढकाललाई सात दिनका लागि निलम्बन गरिएको हो । झाका अनुसार केन्द्रीय समितिले सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई कार्यवाहक महामन्त्री र सहप्रवक्ता झालाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी समेत दिएको छ ।

    साथै, ढकालको गतिविधिका सम्बन्धमा यथोचित कारबाहीको सिफारिस सहितको प्रतिवेदन केन्द्रीय समितिमा पेस गर्न केन्द्रीय अनुशासन आयोगलाई निर्देशन समेत दिइएको छ । बुधबारको केन्द्रीय समिति बैठकमा बोल्न नपाएको भन्दै मुखमा कालो टेप लगाएर बसेका ढकालले आफूलाई ‘ह्यारेसमेन्ट’ गरिएको भन्दै बैठकको बीचबाटै बाहिरिएका थिए । मिडियाकर्मीहरुसँग कुरा गर्दै उनले पार्टी सभापति रवि लामिछानेको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

  • कोरियाको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा ८ जना पक्राउ

    कोरियाको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा ८ जना पक्राउ

    काठमाडौं । दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरोले ८ जनालाई पक्राउ गरेको छ । अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको पाइएपछि ८ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।


    पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामा छन् । अन्य दुई जनाको नाम प्रहरीले खुलाएको छैन ।

    उनीहरुले पहिल्यै अनलाइनमार्फत भिसाको डेट होल्ड गर्ने र अन्तर्वार्ताका लागि डेट नपाउनेहरुलाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले बेच्ने गरेको पाइएको सीआईबी स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।


    ३० हजार रुपैयाँ तिर्दा भिसाको डेट पाएको तर भिसा नपाएको गुनासो दूतावासमा आएपछि दूतावासले सीआईबीलाई जानकारी गराएको थियो । दूतावासको पत्रपछि सीआईबीले ८ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

    पक्राउ परेकामध्ये पवन इनोभा कन्सल्टेन्सी, संघर्ष युनिभा, नवीन यति सर्भिस् कन्सल्टेन्सी, सुमेश नोभा कन्सल्टेन्सी र छिरिङ यति सर्भिस् कन्सल्टेन्सीमा आबद्ध रहेको देखिएको सीआईबीले जनाएको छ ।

  • नक्कली म्यानपावर चलाउने दुई भारतीय पक्राउ

    नक्कली म्यानपावर चलाउने दुई भारतीय पक्राउ

    काठमाडौं । नक्कली मेनपावर सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको रामग्राम नगरपालिका ५ बाइपासमा सम्बन्धित निकायबाट दर्ता नगरी सञ्चालन गरिएको जेडी मेनपावरका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको हो ।

    अवैधरुपमा सञ्चालित मेनपावर पनि बन्द गरिएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डीएसपी रेशम बोहोराले बताए । प्रहरीका अनुसार श्रम तथा रोजगार कार्यालय बुटवलसँगको समन्वयमा मुम्बईका २४ वर्षीय निर्सग रविन्द्र राणे र सोही स्थानका ३७ वर्षीय जावेद मसिहलाई पक्राउ गरिएको हो ।

    उनीहरूको साथबाट ल्यापटप, भारतीय आधार कार्ड, भारतीय बैंकको चेकबुक र डेबिट कार्ड बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका व्यक्ति र सामान आवश्यक कारबाहीका लागि श्रम तथा रोजगार कार्यालय बुटवललाई बुझाइएको छ । प्रशासनले बन्द गरिएको मेनपावरबाट पीडितलाई श्रम तथा रोजगार कार्यालय बुटवलमा सम्पर्क गर्न आग्रह गरेको छ ।

  • प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

    प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका प्रतीक थापालाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। जिल्ला अदालत काठमाडौंका न्यायाधीश शकुन्तला कार्कीको इजलासले मंगलबार थापालाई थुनामा पठाउन आदेश दिएको हो । उनलाई केन्द्रीय कारागार जगन्नाथदेवलमा पठाइएको छ।
    थापालाई नेपाल प्रहरी प्रधान कार्यालयको विशेष ब्युरोको टोलीले शुक्रबार पक्राउ गरेको थियो। उनी भुटानी शरणार्थी प्रकरणमा फरार रहँदै आएका थिए।

    उनलाई अदालतले बयान लिएर थुनछेक बहस भएको थियो। बहसपछि उनलाई थुनामा पठाउन आदेश दिएको हो। उनी पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा समेत हुन्। शुक्रबार नै विशेष ब्युरोको टोलीले बेचन झालाई पक्राउ गरेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्ध पुरक अनुसन्धान गर्ने तयारी गरेको छ। शुक्रबारदेखि लागुहुने गरी सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ।

  • सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको मुद्दामा आज सुनुवाई हुँदै

    सहकारी ठगी प्रकरणमा गृहमन्त्रीको मुद्दामा आज सुनुवाई हुँदै

    काठमाडौं । सहकारी ठगी प्रकरणमा जोडिएका उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गर्दै सर्वोच्च अदालतमा परेको मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि हेर्दाहेर्दैमा रहेकोले सर्वोच्चले असार १८ गतेका लागि सुनुवाइ तोकेको थियो ।

    न्यायाधीशद्वय सपना मल्ल प्रधान र सारंगा श्रेष्ठको इजलासले लामिछानेसँग जोडिएको मुद्दाको सुनुवाइ असार १८ गते गर्ने भन्दै हेर्दाहेर्दैमा राख्ने आदेश दिएको हो । निवेदकका कानुन व्यवसायीले बहस सकेका छन् । गृहमन्त्री लामिछानेका तर्फबाट बहस बाँकी छ। अधिवक्ता अनुपम भट्टराईले गृहमन्त्री लामिछाने र महान्यायाधिवक्ता दीनमणि पोखरेलविरुद्ध रिट दायर गरेका हुन् ।

    जेठ १४ गते दायर रिटमा गृहमन्त्री लामिछाने पदमै रहँदा अनुसन्धान प्रक्रियामा अनुचित प्रभाव र प्रतिकूल असर पार्नसक्ने दाबी गरिएको छ । प्राकृतिक न्यायको सिद्धान्त विपरीतसमेत रहने भन्दै उहाँलाई पदबाट निलम्बन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का नाममा अन्तरिम आदेशको माग गरिएको छ ।

    रिटमा कास्की, रुपन्देही र चितवनमा लामिछानेविरुद्ध सहकारी ठगीमा मुद्दा दायर नभएको भनेर महान्यायाधिवक्ता कार्यालयले लेखेको पत्रको कानुनी वैधतामाथि पनि प्रश्न उठाइएको छ । रिटमा महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको पत्रले संविधान, फौजदारी कानुन र सहकारीका बचतकर्ताको न्यायप्राप्त गर्ने आधारलाई कमजोर बनाई प्रभावित गराउन सक्ने भन्दै उक्त कार्य उत्प्रेषणको आदेशले बदर गर्न माग गरिएको छ ।

  • रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख सजाय

    रामबहादुर बमजनलाई १० वर्ष कैद र ५ लाख सजाय

    काठमाडौं । बाल यौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला भएको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवन कुमार भण्डारीको इजलासले सोमबार अभियुक्त बम्जन विरुद्ध त्यस्तो फैसला गरेको अदालतका स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए ।

    यस अघि गत असार १० गते भण्डारीकै इजलासले तपस्वी बम्जनलाई कसुरदार ठहर गरेको थियो । आजको इजलासले पूर्ण फैसला गरेको हो । अभियुक्त बम्जन विरुद्ध जिल्ला सरकारी वकिल कार्यालय मलंगवाले भने १२ देखि १४ वर्ष सम्म कैद सजाय एवं पीडित परिवारलाई क्षतिपूर्तिको समेत मागदाबीसहित अभियोग पत्र दायर गरेको थियो ।

    सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले गत पुस २६ गते पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि बम्जन हाल महोत्तरी कारागार जलेश्वरमा छन् । सर्लाही जिल्ला अदालतले २०७७ साल असार २१ गते जारी गरेको पक्राउ पुर्जीका आधारमा बम्जनलाई काठमाडौंको बुढानिलकण्ठबाट गत पुस २४ गते मंगलबार साँझ सीआईबीको टोलीले पक्राउ गरेको थियो । २०७६ माघ २३ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा बम्जन विरुद्ध जाहेरी परेको थियो ।

  • पूर्वगृहमन्त्री बादलका छोरा पक्राउ

    पूर्वगृहमन्त्री बादलका छोरा पक्राउ

    काठमाडौं । पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापा पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका उनलाई प्रहरीले बौद्धबाट पक्राउ गरेको नेपाली सञ्चारमाध्यमहरुले जनाएका छन् । बादल गृहमन्त्री भएका बेला उनी केही समय स्वकीय सचिव समेत बनेका थिए । तर, मन्त्रालयमा उनको भूमिका विवादित भएपछि स्वकीय सचिवबाट हटाइएको थियो ।

    भुटानी शरणार्थीको समस्या समाधान गर्न भन्दै मन्त्रालयले पूर्वसहसचिव बालकृष्ण पन्थीको नेतृत्वमा कार्यदल बनाएको थियो । कार्यदलको प्रतिवेदनमै नक्कली नामहरु घुसाएर नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो । त्यसक्रममा थापाले विचौलियाको भूमिका निभाएको प्रहरी अनुसन्धानबाट खुलेको बताइएको छ ।
    यसमा बादलका उनका सुरक्षा सल्लाहकार इन्द्रजित राई, राईका छोरा निरज राई, तत्कालीन उर्जामन्त्री एवं हालका एमाले सचिव टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप रायमाझी पनि जोडिएका थिए । तर, बादल गृहमन्त्री भएका बेला कार्यदलको प्रतिवेदनमा विचौलियाको सूचीअनुसारको नामहरु थप्न नसकेपछि बालकृष्ण खाँण गृहमन्त्री भएका बेला प्रतिवेदन नै कीर्ते गरेर नेपाली युवालाई भुटानी शरणार्थी बनाउने प्रयास भएको थियो ।

  • बाल यौन दूराचार मुद्दामा बमजन दोषि ठहर

    बाल यौन दूराचार मुद्दामा बमजन दोषि ठहर

    काठमाडौं । सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ। सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिएका छन् । सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको छ । उनका अनुसार अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्।

    बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण तथा बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइने कानुनी व्यवस्था छ। गंगामायाले यही कानुनी व्यवस्था अनुसार १८ वर्षपुगेपछि जाहेरी दिएकी थिइन्।

    बमजनले २०७३ साल साउन २० गते आफूमाथि बलात्कार गरेको उनको आरोप थियो। उक्त जाहेरी परेपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरी अनुसन्धानप्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिव क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको थियो।

    १४ वर्षदेखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ। गंगामायाले पहिलोपटक झण्डै ६ वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। उनलाई प्रहरीले गत पुस २४ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो। पक्राउ परेका बमजनमाथि प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले विभिन्न कसुरमा छानबिन गरिरहेको छ।