Category: कानुनी कुरा

  • पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

    पूर्वउपराष्ट्रपति पुनका छोरा दीपेश पक्राउ

    काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालबाट खटिएको टोलीले सत्तारुढ माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका महासचिव समेत रहेका उनलाई पक्राउ गरेको हो । २ साउनमा बरामद ६० किलो सुन तस्करी प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग उनको सम्बन्ध देखिएपछि पुन छानबिनको दायरामा परेका थिए । तर, सीआईबीले गम्भीरतापूर्वक अनुसन्धान नगरी उनलाई उन्मुक्ति दिएको सुन जाँचबुझ आयोगको प्रतिवेदनमा पनि उल्लेख छ ।

    सुनसम्बन्धी जाँच आयोगले पनि बिहीबार बुझाएको प्रतिवेदनमा पुनविरुद्ध अनुसन्धान नगरी सीआईबीले उन्मुक्ति दिएको निष्कर्ष निकालेको थियो । सुन प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका दावा छिरिङसँग दिपेशको बाक्लो उठबस रहेको भेटिएको थियो । स्रोतका अनुसार, छिरिङसँग उनले केही कम्पनीमा साझेदारीसमेत गरेका थिए । सीआईबीमा गरेको बयान कागजमा पुनले दावासँगको चिनजान र सम्बन्धलाई समेत स्वीकार गरेका थिए । तर, सुन कारोबारमा संलग्न नरहेको दाबी गरेका थिए ।

    छानबिन आयोगका एक सदस्यका अनुसार, दिपेश दावासहित अन्य चिनियाँ नागरिकहरुसँग हेलिकप्टरमा गोसाइकुण्ड घुम्न गएको समेत पाइएको छ । ०७६ माघ १ गते दावाकी श्रीमती अमला रोका र तीन चिनियाँ नागरिकसँग दिपेश गोसाइँकुण्ड गएका थिए। अमला रोका सुन प्रकरणमा फरार छिन् ।

  • सीआईबी प्रमुखमा ज्ञवाली नियुक्त

    सीआईबी प्रमुखमा ज्ञवाली नियुक्त

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रमुखको जिम्मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले पाएका छन् ।
    शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले सीआईबीमा ज्ञवालीलाई पठाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    यसअघि सीआईबीकी निर्देशक रहेकी एआईजी किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागको जिम्मेवारी दिइएको उनले बताइन् । ‘जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र तत्काल कार्यान्वयन गरेर जानको निम्ति नयाँ लिडरसिपलाई सहज हुन्छ भनेर सरुवा गरिएको हो’, मन्त्री शर्माले भनिन् ।

    सुन तस्करी सम्बन्धी जाँचका लागि गठित उच्चस्तरीय आयोगले बज्राचार्यको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याएपछि उनलाई जिम्मेवारीबाट हटाउने तयारी भएको थियो । आयोगले सुन तस्करीको अनुसन्धानमा गम्भीर त्रुटि औंल्याउँदै सीआईबी प्रमुख बज्राचार्य, एसपी सञ्जयसिंह थापा र डीएसपीद्वय रूगम कुँवर र दुर्गा दाहाललाई कारबाही गर्न सिफारिस गरेको छ ।

  • सुन तस्कर सम्बन्धी प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्ने सरकारको निर्णय

    सुन तस्कर सम्बन्धी प्रतिवेदन अविलम्ब कार्यान्वयन गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले सुन तस्करीबारे छानबिन गर्न बनेको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा बनेको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग २०८० को प्रतिवेदनको गम्भीर अध्ययन गरी कार्यान्वयनमा लैजाने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् । आचार्यले बिहीबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन बुझाएका थिए । उक्त प्रतिवेदन लामिछानेले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बुझाएका थिए ।

    प्रतिवेदनले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पनि कारबाही गर्न सिफारिस गरेको छ । त्यस्तै सुन तस्करी प्रकरणको अनुसन्धानमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको भूमिकामाथि पनि प्रश्न उठाएको छ । शुक्रबार नै बसेको मन्त्रिपरिषद बैठकले सीआईबीकी निर्देशक किरण बज्राचार्यलाई प्रहरी प्रधान कार्यालयको कार्यविभागमा सरुवा गरेको छ । सीआईबीमा भने कार्यविभागका प्रमुख श्यामलाल ज्ञवाली सरुवा भएका मन्त्री शर्माले जानकारी दिइन् ।

    जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा सहज हुने गरी सीआईबीमा सरुवा गरेको उनको भनाइ छ । ‘जाँचबुझ आयोगले प्रतिवेदन बुझाएको र तत्काल कार्यान्वयन गरेर जानको निम्ति नयाँ लिडरसिपलाई सहज हुन्छ भनेर सरुवा गरिएको हो’, मन्त्री शर्माले भनिन् ।

  • धितो मूल्यांकन भन्दा कममा ऋण दिएको अभियोगमा पक्राउ १० बैंकर कुन शर्तमा भए रिहा ?

    धितो मूल्यांकन भन्दा कममा ऋण दिएको अभियोगमा पक्राउ १० बैंकर कुन शर्तमा भए रिहा ?

    काठमाडौं । धितो मूल्यांकनभन्दा कममा ऋण दिएको भन्दै केही समयअघि पक्राउ परेका सेञ्चुरी कमर्सियल बैंक (हालका प्रभु बैंक)का तत्कालीन १० जना कर्मचारी थुनामुक्त भएका छन् । प्रहरी अनुसन्धान ब्युरो सिआइबीका प्रवक्ता होविन्द बोगटीका अनुसार दैनिक हाजिरी जमानीमा उनीहरूलाई थुनामुक्त गरिएको हो । तत्कालीन सेञ्चुरी कमर्सियल बैंकमा रहँदा प्रमुख कार्यकारी अधिकृत रहेका मनोज न्यौपानेसँगै पूर्वप्रमुख कार्यकारी अधिकृत तुलसी गौतम सिआइबीको हिरासतमा थिए। न्‍यौपाने प्रभु बैंकका वरिष्‍ठ नायब प्रमुख कार्यकारी अधिकृत समेत थिए।

    राजेश भण्डारी, दिलिप बराल, सुवासबहादुर श्रेष्ठ, अनुपमा श्रेष्ठ मानन्धर, सविन घिमिरे, रमन श्रेष्ठ, दिपेश प्रधान र सुनिल बस्नेत प्रहरी हिरासतमा थिए।
    बैंकरहरू थुनिएको कारण कर्मचारीको मनोबल गिरेको भन्दै बैंकहरूले थुनाबाहिर राखेर अनुसन्धान गर्नको लागि अर्थमन्त्री वर्षमान पुनको ध्यानाकर्षण गराएका थिए। नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीहरूले समेत पहिले थुन्ने र पछि सुन्ने काम गरिएको भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए।

    प्रवक्ता बोगटीका अनुसार अनुसन्धान थप लम्बिने भएपछि उनीहरूलाई थुनामुक्त गरिएको हो। उनीहरूलाई गत फागुन १५ गते सिआइबीले पक्राउ गरी अनुसन्धान तथा छानबिनका लागि भन्दै थुनामा राखेको थियो। केही समयअघि धितो मूल्यांकनभन्दा कममा ऋण दिएको भन्दै सञ्चुरी कमर्सियल बैंक (हालका प्रभु बैंक) का तत्कालीन १० जना कर्मचारीहरूलाई केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो।

    सिआइबीले देउराली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रविन्द्र चौलागाईं आबद्ध चार कम्पनीलाई तत्कालीन सेञ्चुरी कमर्सियल बैंकले ऋण दिएको विषयमा अनुसन्धानको क्रममा पक्राउ गरेको थियो। धितो मूल्यांकनभन्दा ९७ करोड बढी ऋण प्रवाह गरेको आरोपमा १० जना पक्राउ परेका थिए।

  • विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा बल्ल छलफल हुने

    विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामा बल्ल छलफल हुने

    काठमाडौं । प्रतिनिधि सभाको बैठकमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा आजदेखि छलफल सुरु हुने भएको छ । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे बस्दै छ । संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको बैठकको सम्भावित कार्यसूचीमा आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा (करप्रस्ताव बाहेक) छलफल हुने उल्लेख छ ।


    यसअघि प्रतिनिधि सभा बैठकमा डा. प्रकाशशरण महतले आर्थिक वर्ष २०८१–८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका पेस गरेका थिए । सत्ता समीकरण बदलिएसँगै उनी निवर्तमान अर्थमन्त्री भइसकेका छन् । सभामुख देवराज घिमिरेले फागुन २१ गतेदेखि नै विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल हुने गरी दिन तोकिएको जानकारी गराएका थिए ।

    तर, सत्ता गठबन्धन परिवर्तन भई मन्त्रिपरिषद् पुनर्गठन भएपछि छलफल आजदेखि हुन लागेको हो । आजैको प्रतिनिधि सभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० प्रस्तुत गर्ने कार्यसूची छ ।

  • सरकार र आरती साहको परिवारबीच सहमति

    सरकार र आरती साहको परिवारबीच सहमति

    काठमाडौं । गृह मन्त्रालय र आरती साहको परिवारबीच सहमति भएको छ। मंगलबार उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मृतक आरती साहको परिवारसँग भेटवार्ता गरी पाँच बुँदे सहमति गरे । सहमति पत्रमा गृह मन्त्रालयको तर्फबाट सहसचिव एवं गृह प्रवक्ता नारायण प्रसाद भट्टराई, काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेत र गृह मन्त्रालयका उपसचिव एकदेव अधिकारीले हस्ताक्षर गरे । आरतीको परिवार पक्षबाट सहमति पत्रमा आरतीकी आमा निर्मला देवी साह, दाजु प्रेम र मामा सन्तोष कुमारले हस्ताक्षर गरेका छन्। आरतीको परिवार गत असार १ गतेदेखि काठमाडौंमा आन्दोलनरत थिए।

    सहमतिमा आरतीको कर्तव्य ज्यान सम्बन्धी हाल अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरी प्राप्त हुन जाने थप प्रमाणहरू कानुन बमोजिम अदालतमा पेस गर्ने गरी थप अनुसन्धान गर्न नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटाउने उल्लेख छ। अनुसन्धान टोलीले आरतीको परिवारसँगको समन्वयमा अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने भनिएको छ। अनुसन्धान गर्दा चार वटा विषयमा केन्द्रित गर्ने सहमति पत्रमा उल्लेख छ।

    पहिलोमा कर्तव्य ज्यानसम्बन्धी मुद्दाको अनुसन्धानमा भएका कमीकमजोरी सम्बन्धमा अनुसन्धान गर्ने उल्लेख छ। दोस्रोमा आरतीको परिवारमाथि प्रहरीबाट भएको कुटपिट एवं दुर्व्यवहारका सम्बन्धमा पनि अनुसन्धान गर्नुपर्ने कार्यदेश दिइएको छ। तेस्रोमा घटना सम्बन्धमा नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदन विषयलाई समेत अध्ययन गर्ने भनिएको छ। घटनाका सम्बन्धमा तयार भएका चिकित्सकीय प्रतिवेदनहरू अध्ययन गर्ने पनि भनिएको छ।

    उक्त अनुसन्धानबाट प्राप्त प्रमाणका आधारमा कानुनबमोजिम पुनः अभियोजन गर्ने सहमति भएको छ। चौथोमा गृह मन्त्रालयले आरतीको परिवारलाई आर्थिक सहायता प्रदान गर्न आवश्यक सहजीकरण गर्ने सहमति भएको छ। र, अन्तिममा आरतीको परिवारबाट भइरहेको आन्दोलन कार्यक्रम मंगलबारबाट फिर्ता लिने सहमति भएको छ।

    धनुषाकी २२ वर्षीया आरती गत जेठ ७ गते श्रीमानको घरमा झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। उनको माइती पक्षले हत्या भएको दाबी गर्दै निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै आएको थियो। सहमतिपछि गृहमन्त्री लामिछानेले आरतीको परिवारलाई न्याय दिलाउने आश्वासन दिएका आरतीका दाजु प्रेमले जानकारी दिए। मंगलबार बेलुकी ७ बजेदेखि साढे १० बजेसम्म छलफल गरेपछि गृह मन्त्रालय र आरतीको परिवारबीच ५ बुँदे सहमति भएको हो।

  • सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ

    सुनको सिक्रि नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित ५ जना पक्राउ

    काठमाडौं । पर्साको वीरगञ्जमा सुनको सिक्री नपाउँदा विवाह रद्द गर्ने बेहुलासहित पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुमाथि विवाह सम्बन्धी कसुरमा दुईदिन प्रहरी हिरासतमा राख्ने म्याद थप भएको छ । बेहुला बाराको कलैया नगरपालिका ४ का २८ वर्षीय उमेश साहसहित पाँचजनालाई जिल्ला अदालत पर्साले विवाह कसुरमा दुईदिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो ।

    पर्साका प्रहरी प्रवक्ता डीएसपी कुमारविक्रम थापाका अनुसार पक्राउ परेका बेहुलाका बुवा ६० वर्षीय बच्चालाल साह, दाई द्वय ४२ वर्षीय राकेश कुमार साह र ४० वर्षका मुकेश कुमार साह र बेहुलाका भिनाजु बाराको परवानीपुर गाउँपालिका ५ बस्ने वर्ष ४५ का रामएकवाल साहलाई पक्राउ गरी अदालतमा म्याद थप गरि अनुसन्धान गरिरहेको छ ।

    विवादमा क्रममा पक्राउ परेका बेहुली पक्षका मानिसहरुको नाम भने गोप्य राखेको छ । सोमबार राति पर्साको वीरगञ्ज महानगरपालिका वडा नं. २४ स्थित सुखल साहकी अन्दाजी २४ वर्षीय छोरी रमिता कुमारीसँग विवाहको लागि जन्ती आएको थियो । सामाजिक परम्परा अनुसार विवाहको लागि विधि स्वयम्बर भइसकेपछि मण्डपमा बसेको बेला बेहुलाले सुनको सिक्री नपाएको भन्दै बिहे इन्कार गरी जन्ती फर्काउन खोजेपछि विवाद भएको थियो । विवाद लगतै पुगेको वडा प्रहरी कार्यालय श्रीपुरले बहुलासहित आठजनालाई पक्राउ गरेको थियो

  • स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ

    स्रोत नखुलेको सवा १ करोड रुपैयाँ सहित ५ जना पक्राउ

    काठमाडौं । प्रहरीले बाँकेमा स्रोत नखुलेको एक करोड १६ लाख रुपियाँ बढी बरामद भएको छ । प्रहरीले ३९ लाख रुपियाँ बरामद गरेको १५ घण्टा नपुग्दै फेरि स्रोत नखुलेको सो रकम बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी प्रमुख एसपी सुवासचन्द्र बोहराले सोमबार दुईवटा होटलमा छापा मारेर एक करोड १६ लाख २२ हजार रुपियाँसहित पाँचजनालाई पक्राउ गरिएको जानकारी दिए । आइतबार साँझ प्रहरीले ३९ लाख २० हजार रुपियाँसहित तीनजनालाई पक्राउ गरेको थियो ।

    उनले नेपालगन्जबाट दुई दिनमा प्रहरीले स्रोत नखुलेको एक करोड ३० लाख ४८ हजार ७०० नेपाली रुपियाँ र १५ लाख ४० हजार भारतीय रुपियाँ बरामद गरेको बताए । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार स्रोत नखुलेको रकम रहेको सूचनाका आधारमा प्रहरीले सोमबार बसपार्कस्थित सन्तोष दङ्गाली होटलको एक कोठामा छापा मारेर ५७ लाख २८ हजार ७ सय नेपाली रुपियाँ बरामद गरेको थियो ।

    प्रहरीले होटलका सञ्चालक कृष्ण विक, नेपालगन्जका रोहित क्षेत्री र भारतीय नागरिक राहुल जैसवाललाई पक्राउ गरेको एसपी बोहराले जानकारी दिए । उनीहरुको साथबाट भारतीय ११ लाख रुपियाँ पनि बरामद भएको एसपी बोहराले बताए । बसपार्कस्थित होटल रोयल कर्णालीबाट नेपालगन्जका सलिम जोलाहा र आसिफ अन्सारीलाई ३४ लाख नेपाली रुपियाँ र चार लाख ४० हजार भारतीय रुपियाँसहित पक्राउ गरिएको एसपी बोहोराले बताए ।


    यसअघि आइतबार साँझ प्रहरीले स्रोत नखुलेको ३९ लाख २० हजार रुपियाँसहित राजपुर–१, बर्दियाका अनुप थारु, पूर्णिमा चौधरी र नेपालगन्जका हबिब जसगढलाई पक्राउ गरेको थियो । बरामद रकम हुण्डी कारोबारको हुनसक्ने आशंका गरिएको छ तर त्यसको हालसम्म पुष्टि नभएको प्रहरीको भनाइ छ ।

  • क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ८ जना भारतीय पक्राउ

    क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ८ जना भारतीय पक्राउ

    काठमाडौं । राजश्व अनुसन्धान विभागले ८ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विभागको टोलीले १८ फागुनमा उनीहरुलाई पक्राउ गरेर मोबाइल जाँचका लागि डिजिटल फरेन्सिक ल्याबमा पठाएको छ । उनीहरु क्रिप्टोकरेन्सी कारोबारमा जोडिएको आशंका छ । उनीहरु हाल क्रिप्टोकरेन्सी कारोबारमा फरार रहेका हुण्डी कारोबारी विमल पोद्दारसँग पनि जोडिएको बताइएको छ ।

    पक्राउ परेकामध्ये अमिरुदिन नामक भारतीय नागरिकले स्वयम्भुमा कोठा भाडामा लिएर शंकास्पद गतिविधि गरिरहेको सूचना विभागले पाएको थियो । त्यसपछि छापा मारेर भारतीय नागरिक ध्रुव शर्मा, प्रिन्स शर्मा, रोहित कश्यप, दिपांशु शर्मा लगायतलाई नियन्त्रणमा लिइएको हो ।

  • रविले सम्हाले गृह, के भने ?

    रविले सम्हाले गृह, के भने ?

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कुनै पनि अनुसन्धानलाई प्रभावित पार्ने काम नगर्ने प्रतिवद्धता जनाएका छन् । गृहमन्त्रीको जिम्मेवारी सम्हाले लगत्तै कर्मचारीहरुलाई निर्देशन दिँदै उनले आफ्ना कुनै पनि कार्यकर्ताले अनुसन्धानलाई प्रभावित पार्न खोजे उनीहरुलाई पनि कानुन अनुसार कारबाही गर्न निर्देशन दिए । आफ्नो नाम लिएर वा आफूसँग खिचेको फोटो देखाउँदै सरुवा र बढुवाको चिर्कटो बोकेर कोही आएमा जानकारी दिन भन्दै उनले त्यस्तो व्यक्तिलाई सिंहदरबार प्रवेशमै रोक लगाउने उनले बताए ।

    उपप्रधानमन्त्री लामिछानेले सरकारी जग्गा हडप्नेहरुलाई कारबाही गर्ने र सरकारी सम्पत्ति सरकारकै नाममा ल्याउने पहिलो निर्णय पनि गरेका छन् । उनले न्याय माग्नलाई मन्त्रीनै भेट्ने चलनको अन्त्य गर्ने घोषणा पनि गरेका छन् । उनले मिटरव्याज पीडित हुन् वा अरु कुनै पीडित न्याय माग्न काठमाडौंसम्म आउन नपर्ने गरी काम गर्ने बताए । लघुवित्तका ऋणी र मिटरब्याज पीडितले काठमाडौंमा आएर नियमित जसो प्रदर्शन गर्दै आएका छन् ।

    उनले नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति काम गर्ने पनि उनले बताए । उनले कुनै पनि व्यापारीले व्यापर गर्न पाइनँ, सुरक्षा भएन भनेर गुनासो गर्ने ठाउँ नरहने गरी काम गर्नु पर्ने बताए । शहर २४ सै घण्टा खुल्ने वातावरण बनाउनु पर्ने उनले बताए । अघिल्लो पटक ३४ दिनको कार्यकालमा तस्करी नियन्त्रणमा आफूले काम गरेको भन्दै उनले अहिले पनि तस्करी नियन्त्रणमा काम गर्ने उनले प्रतिवद्धता जनाएका छन् । उनले अघिल्लो कार्यकालको तुलनामा अहिले आफू दृढ भएर आएको उनले बताए ।

  • मोरङमा किशोरीको विभत्स हत्या, एक जना पक्राउ

    मोरङमा किशोरीको विभत्स हत्या, एक जना पक्राउ

    काठमाडौं । मोरङको पथरी शनिश्चरेमा एक किशोरीको विभत्स हत्या भएको छ । घटनामा संग्लन रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा मोरङको ग्रामथान गाउँपालिका–४ घर भई बाराको सिमरामा बस्दै आएका ३८ वर्षीय धीरेन चौधरी छन् । पथरी शनिश्चरे नगरपालिका– ७ लामा टोल बस्दै आएकी १५ वर्षीय सम्झना भनिने ज्ञानमती थुलुङ राईको सोमबार राति करिब साढे १० बजेतिर शौचालय जान घरबाहिर निस्किएको बेला धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।

    हत्यामा संलग्न रहेको आरोपमा चौधरीलाई राति करिब साढे २ बजे पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए । खोटाङको ऐंसेलुखर्क गाउँपालिका–६ सल्ले घर भएकी किशोरीका बुबा छैनन् । दुई वर्षअघि मामाका छोरा दाजु विनोद राईको घरमा बसेर पढ्न पथरी आएकी थिइन् । उनी पञ्चायत माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने उनले बाँकी समय दाजुको घरमै भएको पसलमा काम सघाउँदै आएकी थिइन् ।

    प्रहरीका अनुसार घर पछाडिको आँगनमा खुकुरी प्रहार भएपछि बालिका चिच्याएकी थिइन् । त्यो सुनेर बाहिर आएका परिवारका सदस्यले उनी आँगनमा छटपटाइरहको देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्या अभियोगमा पक्राउ परेका धीरेन सिमराका हुन् । प्रहरी उपरीक्षक कार्कीका अनुसार उनी वैदेशिक रोजगारीका लागि कुवेत गएका थिए भने उनकी श्रीमती पनि वैदेशिक रोजगारीका क्रममा कतारमा छिन् । पछिल्लो समय श्रीमतीसँग राम्रो सम्बन्ध नभएका धीरेनले सम्झनासँग इमोमार्फत चिनजान भएको दाबी गरेका छन् । करिब एक वर्षअघि नेपाल फर्किएका धीरेनले १३ असारमा सम्झनालाई भगाएर लैजाने प्रयार गरेका थिए ।

    विराटनगर रानी बोर्डर हुँदै भारत जाँदै गर्दा मानव बेचबिखनविरुद्ध काम गर्ने संस्था ‘सुनौला हातहरु’का प्रतिनिधिले दुबैलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझायो । प्रहरीले दुबैलाई कागज गरेर परिवारको जिम्मा लगायो । परिवारका सदस्यले सम्झनालाई पनि धीरेनबाट टाढा रहन सम्झाए । धीरेनलाई पनि फोन गरेर पिछा नगर्न भनेका थिए, तर उनी रोकिएनन् । सम्झनाको नाममा फेसबुक, इस्टाग्राम र इमो खोलेर जथाभावी पोष्ट गर्न थाले । परिवारका सदस्यलाई पनि आपत्तिजनक तस्वीरहरु पठाएर तनाव दिएका थिए ।

    सोमबार बाराको जितपुर सिमराबाट पथरी आइपुगेका चौधरीले सम्झानाको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीका अनुसार घर पछाडिको आगनमा खुकुरी प्रहार भएपछि बालिका चिच्याएकी थिइन् । त्यो सुनेर बाहिर आएका परिवारका सदस्यले उनी आँगनमा छटपटाइरहको देखेपछि प्रहरीलाई खबर गरेका थिए । हत्याको सूचनापछि राति ११ बजे प्रहरी उपरीक्षक कार्कीसहितको टोली घटनास्थल पुगेको थियो । परिवारका सदस्यहरुसँग सोधपुछ गर्दा असारमा धीरेनले लिएर गएको बताए । लगतै प्रहरीले सम्भावित नाकामा कडाइ गर्‍यो, घरमा टोली पठायो । तर धीरेन तीन महिनादेखि गएका थिएनन् ।

    प्रहरी गस्तीमै थियो, राति साढे २ बजेतिर पूर्वपश्चिम राजमार्गको भाउन्ने चोकमा सडक किनारमा एक व्यक्ति हिँडिरहेका देखिए । प्रहरी देखेपछि उनी जंगलतर्फ भागे । प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा बिर्तामोडबाट फर्किएको बताए । प्रहरीले उनी नै घटनामा संलग्न अभियुक्त हुनसक्छ भनेर शंका गरेको थिएन, तर स्पष्ट जवाफ नदिएका कारण नियन्त्रणमा लियो ।

    सम्झनाको हत्याको अनुसन्धान गरिरहेको टोलीले भने घटनास्थल क्षेत्रमा तरकारी रोप्न तयार गरिएको बारीमा जुत्ताको डाम देख्यो । चौधरीले लगाएको जुत्ता र घटनास्थलमा डाम देखिएको जुत्ता ठ्याक्कै मिल्यो । त्यसपछि धीरेनले मृतक आफ्नो पे्रमिका भएको स्वीकार गरे । केरकार गर्दा हत्या आफैंले गरेको बयान दिए ।

  • टीआरसी विधेयक आज टुंगिएला ?

    टीआरसी विधेयक आज टुंगिएला ?

    काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानविन र सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमा छलफल गर्न कानुन समितिको बैठक आज बोलाइएको छ । बैठक बिहान ७ः४५ बजे सिंहदरबारमा बोलाइएको छ । आजको बैठकबाट संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकको मस्यौदा प्रतिवेदन पास गर्ने तयारी छ ।

    विधेयकको मस्यौदा प्रतिवेदनका अधिकांश विषयमा दलहरुबीच सहमति भइसकेको छ । विधेयकसम्बन्धी समितिको मस्यौदा प्रतिवेदनलाई आइतबार नै कानुन समितिको बैठकबाट पास गर्ने तयारी थियो । तर कानुन मन्त्री धनराज गुरुङले दलहरुबीच केही विषयमा सहमति जुटाउनका लागि समय मागेपछि बैठक स्थगित गरिएको थियो ।

    यस विषयमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमाले, रास्वपासहितको नेतृत्व र प्रधानसेनापति प्रभुराम शर्मासँग आइतबार छुट्टाछुट्टै छलफल समेत गरेका थिए । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले विगतका अडानमा लचिलो भएपछि विधेयकका मस्यौदा प्रतिवेदनमा सहमति जुटेको हो । प्रचण्ड नेतृत्वको वर्तमान सरकारले संक्रमणकालीन न्यायलाई टुंगो लगाउने कामलाई आफ्नो प्रमुख कार्यभारको रुपमा लिएको छ ।

  • शालिन पोखरेलको निधनमा आयो पोष्टमार्टम रिर्पोट, झुण्डिएको पाइयो

    शालिन पोखरेलको निधनमा आयो पोष्टमार्टम रिर्पोट, झुण्डिएको पाइयो

    काठमाडौं । चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालिन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको देखिएको छ । पोष्टमार्टम रिपोर्टले यस्तो देखाएको हो । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका हुन् ।

    त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको बताइएको छ । आफन्तले बलात्कारको आशंका गरेकाले चिकित्सहरुले शालिनको संवेदनशील अंगको पनि जाँच गरेका थिए । तर, पोष्टमार्टम जाँचमा शंकास्पद विषय नदेखिएको समेत बताइएको छ ।

    स्काउटको डोरीमा होस्टलको कोठाभित्र झुण्डिएको अवस्थामा १२ फागुनमा उनको शव भेटिएको थियो । लगत्तै काठमाडौंबाट उनका बुबालाई बोलाएर प्रहरीले मुचुल्का गरेको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ । तर, परिवारले शंका गर्दै गम्भीर छानबिनको माग गरेको थियो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि घटनाबारे गम्भीर छानबिन गर्न प्रहरीलाई निर्देशन दिएको भन्दै शनिबार स्ट्याटस लेखेका थिए ।

  • चितवनमा बालिका मृत्यु प्रकरण : घटना प्रभावित हुने गरी सामाजिक सञ्जालमा नलेख्न प्रहरीको आग्रह

    चितवनमा बालिका मृत्यु प्रकरण : घटना प्रभावित हुने गरी सामाजिक सञ्जालमा नलेख्न प्रहरीको आग्रह

    काठमाडौं । चितवन प्रहरीले छात्रावासमा बालिका मृत फेला परेको घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको जनाएको छ । अनुसन्धानलाई प्रभाव पार्ने विषयहरू सामाजिक सञ्जालमा सम्प्रेषण नगर्न असमेत प्रहरीले नुरोध गरेको छ। चितवनका प्रहरी प्रवक्ता डिएसपी श्रीराम भण्डारीले घटनालाई लिएर सामाजिक सञ्जालमा सम्प्रेषण भएका सामग्रीहरूप्रति कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताउँदै अनुसन्धानलाई प्रभाव पार्न विषय सम्प्रेषण नगर्न भनेका हुन्।


    ‘प्रस्तुत घटनाको तथ्य परक बस्तुनिष्ठ अनुसन्धान कार्य जारी नै रहेको अवस्थामा यसै घटनालाई लिई विभिन्न सामाजिक संजाल तथा संचार माध्यमहरुमा संप्रेषित विषयबस्तुप्रति यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ । अनुसन्धानका वैज्ञानिक परीक्षण प्रतिवेदनहरु हालसम्म प्राप्त नभएको अवस्थामा अनुसन्धान प्रभाव पार्नेगरी कुनै पनि विषयवस्तुहरु सम्प्रेषण नगरी दिनुहुन अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।

    शनिबार डिएसपी भण्डारीले विज्ञप्ति जारी गरी घटनाको जानकारी प्राप्त हुनासाथ सिनियर प्रहरी अधिकृतको कमाण्डमा विशेषज्ञसहितको अनुसन्धान टोली घटनास्थलमा खटिएको र सुक्ष्म अवलोकन गरिएको जानकारी दिएका छन्। अहिलेसम्म घटनाको प्रारम्भिक अनुसन्धान सकिएको र तथ्यपरक तथा वस्तुनिष्ठ अनुसन्धान जारी रहेको डिएसपी भण्डारीले जानकारी दिएका छन्। साथै बालबालिकाको मृत्य जस्तो संवेदनशील विषयलाई गाम्भिर्यताका साथ लिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

    ‘घटनाबारे प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम नेपाल प्रहरीले आफ्नो पेशागत मुल्य मान्यता, दक्षता र विवेक प्रयोग गरी अनुसन्धान भईरहेको र बैज्ञानिक प्रयोग तथा प्राबिधिक विश्लेषण समेतको आधारमा तथ्य परक बस्तुनिष्ठ अनुसन्धान गरिने कुरामा प पीडित परिवार र सम्पूर्णमा विश्वास समेत दिलाउँदछौं,’ विज्ञप्तिमा भनिएको छ। गत शनिबार बिहान रत्ननगर नगरपालिका १५ माधवपुर घर भई वडा १० एकता शिशु निकेतन बोर्डिङ स्कुलको होस्टलमा बस्ने १४ वर्षीया सालिन पोख्रेल होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।


    घटनापछि प्रहरीले वडा नम्बर १० कै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेको थियो। बालहरि उक्त स्कुलका प्रधानाध्यापक, किरणबहादुर सहप्रधानाध्यापक र कमल होस्टेलका वार्डेन हुन्। सालिनका आफन्तले किटानी जाहेरी दिएपछि पक्राउ परेका तीनै जनाविरूद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान गर्न प्रहरीले सात दिनको म्याद थप भएको छ। यसैबीच सत्तारूढ दल नेपाली कांग्रेसले घटनाको निष्पक्ष र गहन अनुसन्धान गरी दोषीलाई चाँडोभन्दा चाँडो कारबाहीको दायरामा ल्याउन माग गरेको छ।

  • हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

    हुण्डी कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जना चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चीनको संघाई घर भइ हाल भक्तपुरको ठिमी नगरपालिका–३, गठ्ठाघर बस्दै आएका २८ वर्षीया झोउ जियू रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए ।

    उनका अनुसार, झोउको साथबाट स्रोत नखुलेको १२ लाख रुपैयाँ बरामद भएको छ । उपत्यकामा गैरकानूनी रुपले राष्ट्र बैंकबाट जारी भएको निर्देशन विपरित हुण्डी कारोबार भइरहेको भन्ने सूचनाका आधारमा १४ फागुनमा खटिएको टोलीले उनलाई पक्राउ गरेको रेग्मीले बताए । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर, टेकु पठाइएको प्रहरीले जनाएको छ ।

  • रास्वपाले तीन प्रदेशका महामन्त्रीलाई किन हटायो ?

    रास्वपाले तीन प्रदेशका महामन्त्रीलाई किन हटायो ?

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तीन प्रदेशमा महामन्त्री हटाएको छ। त्यस्तै कोशी प्रदेशका महामन्त्री लालविक्रम थापा निलम्बनमा परेका छन्।
    बागमती प्रदेशकी महामन्त्री जिता बरालले कार्य(व्यस्ततालाई कारण देखाउँदै महामन्त्रीको भूमिकाबाट बहिर्गमित भएको पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। बराल २०७९ मंसिरको प्रतिनिधि सभा निर्वाचनमा चितवन निर्वाचन क्षेत्र नम्बर ३ मा उम्मेदवार थिइन्। सुदूरपश्चिमका महामन्त्री भोजराज जोशीले पनि आफैं बिदा लिएको बुर्लाकोटीले जानकारी दिए। जोशी केन्द्रीय विधेयक मन्थन विभागका सदस्यसमेत छन्।


    कोशी प्रदेशका महामन्त्री लालविक्रम थापाले इटहरी उपमहानगरपालिका वडा नम्बर ९ स्थित जनता माध्यमिक विद्यालयको नाममा रहेको जग्गा भोगचलन गरेर भाडा नतिरेको विषय बाहिर आएकाले निलम्बन गरिएको बुर्लाकोटीले बताए। थापा २०७९ सालको प्रतिनिधि सभाको निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारसमेत थिए।

    गण्डकी प्रदेशका महामन्त्री अशोक खड्का भने कार्यसम्पादन मूल्यांकनमा कमजोर ठहरिएको बुर्लाकोटीले बताए। रास्वपाले कर्णाली प्रदेशको कमिटी नै विघटन गर्ने निर्णय गरेको छ। गत फागुन ६ गते बसेको सचिवालय बैठकले कर्णालीको प्रदेश कमिटी विघटन गरेर तीन महिने विशेष अभियान चलाउने निर्णय गरेको थियो। त्यहाँको प्रदेशदेखि जिल्ला हुँदै वडा तहको सम्पूर्ण संरचना विघटन गरिएको सहमहामन्त्री बुर्लाकोटीले जानकारी दिए।

  • एम्बुलेन्समा गरिन्छ गाँजा तस्करी

    एम्बुलेन्समा गरिन्छ गाँजा तस्करी

    काठमाडौं । एम्बुलेन्समा गाँजा तस्करी गरिरहेको भेटिएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले एम्बुलेन्सबाट गाँजा बरामद गरेका हुन् । नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएका छन् । बिरामी बोक्ने एम्बुलेन्सको सडकमा चेकजाँच कम हुने गरेको फाइदा उठाउँदै गाँजा तस्करी भएको हो ।

    धनकुटाबाट गाँजा तस्करले एम्बुलेन्स प्रयोग गरेका गाँजा ल्याएको पाइएको छ । दुई जिल्लाबाट ३२५ किलो गाँजासहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिइएको छ । केही दिनअघि गाँजा तस्करीमा प्रयोग भएको ट्याङ्कर प्रहरीले नियन्त्रणमा लिएको थियो । आइतबार सशस्त्र प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डअन्तर्गत बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो गाँजासहित एम्बुलेन्स नियन्त्रणमा लिएको हो ।

    ९ वटा बोरामा प्याक गरी एम्बुलेन्समा लोड गरेर राखेको अवस्थामा गाँजा बरामद भएको जानकारी सशस्त्र प्रहरी बल कोशी प्रदेशका प्रमुख डीआईजी अन्जनीकुमार पोखरेलले दिए । सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प चतराबाट खटिएको टोलीले को१च २९३७ नम्बरको एम्बुलेन्समा गाँजा बरामद गरेको थियो । चालक भने फरार छन् । सशस्त्रले बरामद गाँजासहित एम्बुलेन्सलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाएको छ ।

    यस्तै, एम्बुलेन्समै धनकुटाबाट धरानतर्फ ल्याउँदै गरिएको ५२ किलोग्राम गाँजा नेपाल प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट बरामद गरेको हो । शनिबार धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे१च २०३२ नम्बर एम्बुलेन्समा ५२ किलो गाँजा बरामद भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । एम्बुलेन्स चालक विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय जयदेव चेललाई पनि प्रहरीले पक्राउ गरेको छ ।

    पूर्व पहाडी जिल्ला धनकुटामा व्यावसायीक रुपमा गाँजा खेती हुन्छ । धनकुटासँगै उदयपुर, भोजपुर, खोटाङ र सङ्खुवासभा पनि गाँजा खेती हुन्छ ।
    उत्पादित गाँजा मोटरसाइकल,एम्बुलेन्स, तेल बोक्ने ट्याक्टर, तरकारी बोक्ने गाडीलगायत साधन प्रयोग गरेर सुनसरी मोरङ हुँदै तस्करी हुने गरेको छ । प्रहरीका अनुसार सप्तकोशी नदीको ट्युबमा हालेर पनि गाँजा तस्करी हुने गरेको छ । प्रहरीले गत २ फागुनमा धनकुटाको भेडेटारबाट डिजेल तथा पेट्रोल ढुवानी गर्ने ट्याङ्करमा लोड गरेको ५९४ किलो गाँजा बरामद गरेको थियो ।

  • प्रसुति गृहबाट चोरिएको बच्चा भेटियो, महिलासहित तीन जना पक्राउ

    प्रसुति गृहबाट चोरिएको बच्चा भेटियो, महिलासहित तीन जना पक्राउ

    काठमाडौं । थापाथलीस्थित परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार शिशुलाई काँडाबारीमा फेला पारिएको हो । बच्चा लिएर जाने महिला दैलेख घर भएकी मनकुमारी सिंह, उनका श्रीमान र दिदी समेत पक्राउ परेका छन् ।

    शुक्रबार दिउँसो प्रसुति गृहबाट २६ दिनको शिशु लिएर सिंह सम्पर्कविहीन भएकी थिइन् । प्रहरीले शिशुसहित उनलाई गएराति नियन्त्रणमा लिएको हो । बिहे गरेको लामो समयसम्म पनि आफ्नो बच्चा नभएपछि बच्चा चोर्ने योजना बनाएको बताइएको छ ।

  • भीम उपाध्यायसहित ३ पूर्वसचिवविरुद्ध मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दा

    भीम उपाध्यायसहित ३ पूर्वसचिवविरुद्ध मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोगजनामा ठेकेदारलाई बढी रकम भुक्तानी गरेर भ्रष्टाचार गरेको भन्दै भीम उपाध्यायसहित ३ जना पूर्वसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पूर्वसचिव सञ्जय शर्मा र गजेन्द्र ठाकुर, मेलम्ची खानेपानी आयोजनामा निर्देशकसहित १४ जना सरकारी कर्मचारी, ठेकेदार र परामर्शदाताविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

    उनीहरु मेलम्ची खानेपानी विकास समितिका तत्कालीन बोर्ड अध्यक्षको रुपमा भ्रष्टाचारमा मुछिएका हुन् । भ्रष्टाचार मुद्दा लाग्ने अन्यमा अर्थ मन्लयका तत्कालीन सहसचिव तथा मेलम्ची खानेपानी आयोजना विकास समितिका बोर्ड सदस्य मुकुन्दप्रसाद पौडेल, बोर्ड सदस्य रुद्रसिंह तामाङ, बोर्ड सदस्य चन्द्रबहादुर थापा रहेका छन् ।

    त्यस्तै मेलम्ची खानेपानी आयोजना विकास समितिका तत्कालीन कार्यकारी निर्देशकहरु घनश्याम भट्टराई, रामचन्द्र देवकोटा र सूर्यराज कँडेल, समितिका तत्कालीन लेखा उपसचिव मणिभन्द्र न्यौपाने, बेगनाथ पौडेल, केदारप्रसाद अर्याल, लेखा अधिकृत रामचन्द्र न्यौपाने, निर्माणस्थलका इन्जिनियर तत्कालीन उपकार्यकारी निर्देशक भोजबिक्रम थापाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

    परामर्शदाता एप्टिसा बेट्स जेभीका तत्कालीन डेपुटी टिम लिडर शिवकुमार शर्मा, निर्माण व्यवसायी एप्टिसा र बेट्स कन्सल्टिङ जेभी र अर्को निर्माण व्यवसायी सीएमसी डि रविनाविरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।

  • ललिता निवास परिसरको गैरआवासीय नेपाली संघको जग्गा अब सरकारको हुने

    ललिता निवास परिसरको गैरआवासीय नेपाली संघको जग्गा अब सरकारको हुने

    काठमाडौं । ललिता निवासको क्षेत्रभित्र जग्गा खरिद गरेको गैरआवासीय नेपाली संघ (एनआरएनए) को जग्गा अब सरकारको हुने भएको छ । ललितानिवासको जग्गामा भ्रष्टाचार भएको ठहरसहित विशेष अदालतले त्यहाँको जग्गा सरकारको हुने फैसला गरेको हो । विशेष अदालतका सदस्यहरु खुशीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गरेको फैसला अनुसार, प्रधानमन्त्री निवास विस्तारका क्रममा सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएकाले गैरआवासिय नेपाली संघको जग्गा पनि जफत हुनेछ ।

    विशेष अदालतले एनआरएनएलगायत ११ जना जग्गाधनी व्यक्ति र कम्पनीको हकमा भनेको छ, ‘जग्गाधनीको हैसियतमा जग्गा सट्टापट्टा गरी प्राप्त गरेका जग्गा समेत जफत हुने ठहर्छ । निजहरु उपरको अन्य आरोपदावी पुग्न नसक्ने ठहर्छ ।’ विशेष अदालतले नै फैसलामा जग्गा खरिद गर्नेहरुले आफूले जग्गा किन्दा खरिद गरेको मूल्य दावी गर्न पाउने व्याख्या गरेको छ । उसले फैसलामा ‘व्यक्ति तथा संस्थाले खरिद गरेको थैली (रकम) देवानी दायित्व सरह दावी गरी असुलउपर गर्नसक्ने’ भनेको छ । विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जग्गा किनेका तर फैसलाका कारण जफत हुने जग्गाधनीहरुले मालपोत कार्यालयमा अंकित गरेको रकम दावी गर्न पाउने बताए ।

    ‘अहिलेका जग्गाधनीले जोबाट जग्गा किनेको हो, त्यो रकम दावी गरी जिल्ला अदालतमा लेनदेन मुद्दा दायर गरी आफ्नो रकम फिर्ता लिने बाटो खुला छ’, उनले भने, ‘अघिल्लो जग्गाधनीले पनि त्यसैगरी किनेको रहेछ भने अघिल्लोसँग दावी गर्न पाउँछ । अन्तिममा भ्रष्टाचार गरेर जग्गा लिएकाहरुसम्म नै त्यो मागदावी पुग्छ ।’

  • ललिता निवास प्रकरण : मन्त्रीले पाए सफाई, कर्मचारी र व्यापारीलाई जेल

    ललिता निवास प्रकरण : मन्त्रीले पाए सफाई, कर्मचारी र व्यापारीलाई जेल

    काठमाडौं । बहुचर्चित ललितानिवास जग्गा अनियमितता प्रकरणमा मुछिएका पूर्वमन्त्रीहरुले सफाई पाएका छन् । ललितानिवासको जग्गा व्यक्तिका नाममा दर्ता गर्ने निर्णयमा भ्रष्टाचार भएको ठहर गर्दै विशेष अदालतले त्यसको कसुरदारमा कर्मचारी संयन्त्रमा सीमित गरेको छ । विशेष अदालतका सदस्यहरु डा. खुसीप्रसाद थारु, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले तत्कालीन भौतिक पूर्वाधारमन्त्री विजयकुमार गच्छदार, भूमिसुधार मन्त्रीहरु डम्बरबहादुर श्रेष्ठ र चन्द्रदेव जोशीलाई सफाइ दिएको छ ।

    पशुपति टिकिन्छा गुठीको जग्गा व्यक्तिको नाममा दर्ता गरेको आरोपमा मुछिएका तत्कालीन सचिव दिनेशहरि अधिकारीले सफाइ पाएका छन् । जग्गा अनियमितता गरेको आरोपमा तत्कालीन भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीप बस्न्यात र भूमिसुधार मन्त्रालयका सचिव छविराज पन्त दोषी ठहर भएका छन् ।

    त्यस्तै भूमाफियाहरु शोभाकान्त ढकाल, रामकुमार सुवेदी र भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ पनि दोषी ठहर भएका छन् । चार वर्षअघि दर्ता भएको बहुचर्चित ललिता निवास जग्गा अनियमितता प्रकरणमा एक महिनादेखि विशेष अदालतमा सुनुवाइ भइरहेको थियो ।

    बालुवाटारस्थित प्रधानमन्त्री निवाससँगै जोडिएको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २२ माघ, २०७६ मा पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार सहित १७५ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले भ्रष्टाचारको आरोपमा ११० जना विरुद्ध मुद्दा दायर गरेको थियो थियो भने तह–तह गरी जग्गा किनेका ६५ जनामाथि जग्गा जफत गर्ने प्रयोजनका लागि मात्रै प्रतिवादी बनाइएको थियो ।

  • पोखराबाट ठूलो परिमाणको सुनसहित भारतीय नागरिक पक्राउ

    पोखराबाट ठूलो परिमाणको सुनसहित भारतीय नागरिक पक्राउ

    काठमाडौं । पोखराको मोहोरिया टोलबाट स्रोत नखुलेको ६ केजी ६९ सुन ग्रामसहित भारतीय नागरिक सुरजित भौमिक पक्राउ परेका छन् । मोहोरिया टोलमा कवीन्द्रप्रसाद श्रेष्ठको घर भाडामा लिई कारोबार गरिरहेका उनको साथबाट उक्त परिमाणको सुन, ६ केजी चाँदी र नगद ६२ लाख ८१ हजार रूपैयाँ प्रहरीले बरामद गरेको हो ।

    उक्त पसलमा अवैध रूपमा सुन तथा चाँदीका सामान तयार गरी बिक्री वितरण भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक सुनिल मल्लको कमान्डमा खटिएको विशेष प्रहरी टोलीले सुरजितलाई पक्राउ गरेको हो । भारतको पश्चिम बंगालस्थित मेदिनीपुर दासपुर ११ घर भएका ४० वर्षीय सुरजितले ३ तले घर भाडामा लिई विभिन्न किसिमका गरगहना तयार गरी बिक्री वितरण गर्ने गरेको कास्की प्रहरी प्रमुख एसपी मोहनकुमार थापाले बताएका छन् ।

    सुरजितलाई आवश्यक कानुनी कारबाहीका लागि बुधबार राजस्व अनुसन्धान विभाग ललितपुर पठाउने उनले जानकारी दिए । उनका अनुसार सुरजितले लामो समयदेखि घरभाडामा लिएर सुन चाँदीको गरगहना बेचबिखन गर्दै आएका थिए । उनको साथबाट भारतको आधार कार्ड, विभिन्न बैंकका १३ थान चेकसमेत बरामद भएको छ ।

  • शिवसेना नेताको भारतमा फेसबुक लाइभकै दौरान गरियो गोली हानेर हत्या

    शिवसेना नेताको भारतमा फेसबुक लाइभकै दौरान गरियो गोली हानेर हत्या

    काठमाडौं । भारतको मुम्बईमा शिवसेनाका नेता एवम् पूर्वपार्षद अभिषेक घोषालकरको गोली हानेर हत्या गरिएको पुष्टी भएको छ । फेसबुक भिडियो लाइभमा कुराकानी गरिरहेका बेला उनीमाथि उनकै साथी मोरिसले गोली चलाएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

    अभिषेकलाई गोली हानेपछि मोरिसले पनि आफैंलाई गोली हानेर आत्महत्या गरेको भारतीय मिडियाहरुले जनाएका छन् । अभिषेकमाथि गोली लागेको भिडियो सामाजिक सन्जालमा भाइरल छ । भारतीय मिडियाहरुका अनुसार अभिषेक र मोरिस साथी–साथी हुन् । उनीहरुबीच केही दिन अघि विवाद भएको थियो । हत्याको कारण आपसी विवाद नै हुनसक्ने अनुमान गरिएको छ ।

    सामाजिक सन्जालमा भाइरल भइरहेको एक भिडियोमा अभिषेक र रातो टिसर्ट लगाएका मोरिस एउटा कोठाभित्र सँगै देखिन्छन् । उनीहरु हाँसीखुसी भिडियो च्याट गरिरहेको देखिन्छ । केहीबेरमा अभिषेक उठ्न खोज्दा उनीमाथि गोली चल्छ । अभिषेक कराउँदै लडखडाएको देखिन्छ । तर गोली चलाउने व्यक्ति भने भिडियोमा देखिँदैन । भारतीय मिडियाहरुका अनुसार अभिषेकलाई उनकै साथी मोरिसले आफ्नो अफिसमा बोलाएर गोली हानेका हुन् । त्यसपछि मोरिसले पनि आफैंमाथि गोली चलाएर आत्महत्या गरेको समाचारमा जनाइएको छ ।

    अभिषेकलाई बोरीवली करुणा अस्पताल पुर्याइएको र उपचारको क्रममा ज्यान गएको मिडिया रिपोर्टहरुमा उल्लेख छ । मृतक अभिषेक शिवसेनाको उद्धव ठाकरे गुटका पूर्व विधायक विनोद घोषालकरका छोरा हुन् । बोरीवली विधानसभा क्षेत्रमा घोषालकर परिवारको दबदबा छ । मृतक अभिषेककी पत्नी तेजस्विनी हाल पार्षद छिन् । अभिषेक भने मुम्बईको दहिसर वार्ड नम्बर १ का पूर्व नगरसेवक हुन् । उनी मुम्बई बैंकको निर्देशकसमेत हुन् ।

    गत हप्ता पनि महाराष्ट्रको उल्हासनगरमा विशसेनाको एकनाथ शिन्दे गुटका नेता महेश गायकवाडमाथि प्रहरी स्टेसनभित्रै गोली प्रहार भएको थियो । अभिषेकको हत्यापछि शिवसेना ९उद्धव ठाकरे गुट०ले सरकारको आलोचना गरेको छ । उद्धव गुटका नेता एवम् सांसद सन्जय राउतले महाराष्ट्रका गृहमन्त्री देवेन्द्र फडनविसको राजीनामा मागेका छन् ।

  • अरुण चौधरीलाई दुई दिन भित्र अनुसन्धान नसकिएमा हिरासतमा नराख्न अदालतको आदेश

    अरुण चौधरीलाई दुई दिन भित्र अनुसन्धान नसकिएमा हिरासतमा नराख्न अदालतको आदेश

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले बाँसबारी जग्गा प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका अरुण चौधरीसहित ३ जनालाई अबको दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको छ । यसअघि प्रहरीले हिरासतमा राख्न अनुमति लिएको चार दिनको म्याद सकिएपछि पक्राउ परेका चौधरी, तत्कालिन बाँसबारी छाला जुत्ता कारखानाका कार्यकारी अध्यक्ष अजितनारायण सिंह र सञ्जय ठाकुरलाई सोमबार जिल्ला अदालत काठमाडौंमा पेश गरेको थियो । जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले उनीहरुलाई अब दुई दिन भन्दा बढी हिरासतमा नराख्न आदेश दिएको हो ।


    पक्राउ परेकाहरुबाट थप बुझ्नुपर्ने वा कागज गराउनुपर्ने भएमा त्यस अगावै पनि अनुसन्धान अधिकारीले हाजिर जमानीमा छाड्न सक्ने र त्यसो नभएमा म्याद थप भएको दुई दिनभित्र बुझ्नुपर्ने बाँकी काम सक्ने र नसकिएमा अनुसन्धानमा सहयोग गर्ने कागज गराई हाजिर जमानीमा छाड्न आदेश दिइएको छ । महाराजगञ्जस्थित बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सिजी चाँदबाग रेसिडेन्सी नामक निजी कम्पनीमा सारेको विषयमा अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले चौधरीसहित तीनै जनालाई १८ माघमा पक्राउ गरेको थियो । स्वास्थ्य अवस्था कमजोर रहेको भन्दै उनीहरु हाल ग्राण्डी अस्पतालमा उपचाररत छन् ।

    जिल्ला अदालतले पक्राउ परेकाहरुले आफूउपर लागेको आरोपमा अनुसन्धानमा सहयोग गर्ने प्रतिवद्धता जनाएको, विवादित सम्पत्ति कसैले मास्न लुकाउन वा अहिले नै अन्यत्र हक हस्तान्तरण गरी अनुसन्धान प्रभावित पार्न सक्ने अवस्था नरहेको भन्दै अनुसन्धानका लागि प्रहरीले मागे अनुसार २५ दिन नै समय नचाहिने बताएको छ । आरोपितमध्ये अजित नारायण सिंह थापाको उमेर ८० वर्ष भन्दा माथि रहेको र अरु आरोपित पनि पेशा व्यवसायमा रही हजारौंलाई रोजगारी दिने अभिभावकको भूमिकामा रहेको देखिएको भन्दै अदालतले २२ गतेदेखि लागू हुने गरी २ दिन भन्दा बढी हिरासतमा नराख्ने गरी म्याद दिएको छ ।

  • संसदबाट पर्याप्त कानून बनाउन नसकिएको प्रधानमन्त्रीको स्वीकारोक्ति

    संसदबाट पर्याप्त कानून बनाउन नसकिएको प्रधानमन्त्रीको स्वीकारोक्ति

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट अपेक्षित कानुन बनाउन नसकिएको स्वीकार गरेका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयसँग छलफलमा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् । ‘अघिल्लो वर्ष संसदले कानुन निर्माणमा उदाहरणीय काम गर्न सकेन भन्ने समीक्षा छ । सरकारले बिजनेश दिएन भन्ने मत पनि थियो ।

    तर, यसपटक त्यस्तो नहोस्’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् । सरकारले संघीय संसदको अधिवेशन यही माघ २२ गतेदेखि बोलाएको छ । ‘संसद सुरू हुनेबित्तिकै धेरैभन्दा धेरै विधेयकहरू दर्ता गर्नेगरि तयारी गरौँ । मुख्यसचिवले फलोअप गर्नुहोला । कानुन मन्त्रालयले सबै मन्त्रालयसँग समन्वय गरेर विधेयक ल्याउनुहोला । राम्रो तयारी गर्नुहोला’ प्रधानमन्त्री प्रचण्डले थपेका छन्, ‘यसपटक संसदलाई व्यवस्थित रूपले बिजनेश दिनुपर्छ । गुनासो नआउने गरी काम गर्नुहोला ।’

    छलफलमा मुख्यसचिव डा. बैकुण्ठ अर्यालले कानुनी परीक्षण र आर्थिक दायित्वको समेत परीक्षण भइसकेका विधेयकहरू छिटो संसद पठाउनुपर्ने बताए ।
    कानुन मन्त्रालयका सचिव उदयराज सापकोटाले आगामी संसद अधिवेशनमा प्रस्तुत गर्ने विधेयकहरूका निम्ति मन्त्रालयले आवश्यक गृहकार्य गरेको बताए । अधिवेशन प्रारम्भ हुनेबित्तिकै केही विधेयकहरु दर्ता गर्न सकिने उनले बताए ।

    यसअघि कानुन मन्त्रालयले सबै मन्त्रालयसँग प्राथमिकताका आधारमा विधेयकहरुको प्रारम्भिक मस्यौदा मागेको थियो । त्यस अन्तर्गत १०९ वटा विधेयकको प्रारम्भिक मस्यौदा कानुन मन्त्रालयमा पुगेको छ । त्यस आधारमा कानुन मन्त्रालयले सम्बन्धित मन्त्रालयहरुसँग एक चरणको छलफल सकाएको छ । प्रधानमन्त्री प्रचण्ड, मुख्यसचिव अर्याललाई कानुन मन्त्रालयले मंगलबार विधेयकको तयारी लगायतका विषयमा ब्रिफिङ गरेको हो ।

  • मानहानी मुद्दामा पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

    मानहानी मुद्दामा पूर्वअमेरिकी राष्ट्रपति ट्रम्पले ८ करोड ३३ लाख डलर क्षतिपूर्ति तिर्नुपर्ने

    काठमाडौं । डोनल्ड ट्रम्पलाई उनी राष्ट्रपति भएका बेला लेखिका ई जीन क्यारोलको मानहानि गरेको भन्दै क्षतिपूर्ति स्वरूप ८ करोड ३३ लाख अमेरिकी डलर तिर्न आदेश दिइएको छ। मानहानि सम्बन्धी मुद्दाको सुनुवाइ गरेको जुरीले भावना र प्रतिष्ठामा पुर्‍याएको क्षतिका लागि १ करोड ८३ लाख अमेरिकी डलर क्षतिपूर्ति र दण्डनीय क्षतिका लागि अर्को ६ करोड ५० लाख डलर तिर्नुपर्ने भनेको छ।

    क्यारोलले उक्त आदेशलाई महिलालाई कमजोर पार्न खोज्ने प्रत्येक व्यक्तिको हार भएको बताइन्। ट्रम्पले सो आदेश पूरै हास्यास्पद भएको बताएका छन्। पूर्व राष्ट्रपति ट्रम्प गत शुक्रवार आफ्ना अन्तिम तर्क प्रस्तुत गर्ने क्रममा अदालतमा उपस्थित भएका थिए। तर आदेश सुनाउने बेला उनी अदालती कक्षमा थिएनन्।

    यसअघिको एउटा इजलासले सन् १९९० को दशकमा क्यारोललाई ट्रम्पले यौन दुर्व्यवहार गरेको ठहर गरेको थियो। तर पछिल्लो मुद्दा भने सन् २०१९ मा राष्ट्रपति भएका बेला उनले व्यक्त गरेका अभिव्यक्तिसँग सम्बन्धित छ। ट्रम्पका अभिव्यक्तिहरू मानहानि गर्ने खालको भएको भन्दै एक जना न्यायाधीशले आदेश सुनाइसकेका थिए।

    पछिल्लो जुरीको काम उनले तिर्नुपर्ने क्षतिपूर्ति टुङ्ग्याउनु थियो। ट्रम्पले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै पछिल्लो आदेशविरुद्ध पुनरावेदन गर्ने बताएका छन्। रिपब्लिकन दलका तर्फबाट राष्ट्रपतीय उम्मेदवार हुन खोजिरहेका बेला ट्रम्पविरुद्ध देखा परेका कैयौँ मुद्दामध्ये यो एक हो।


    क्यारोलले आफूविरुद्ध यौन दुर्व्यवहार भएको कुरालाई ट्रम्पले झुट बोलेको भनेपछि त्यसले आफ्नो प्रतिष्ठामा असर गरेको र उनका समर्थकहरूबाट व्यापक रूपमा हत्याको धम्की आएको तर्क गरिन्। कुल ८ करोड ३० लाख क्षतिपूर्तिमध्ये १ करोड १० लाख डलर क्यारोलको प्रतिष्ठामा पुगेको क्षतिका लागि, ७३ लाख डलर भावनात्मक क्षति र ६ करोड ६५ लाख डलर दण्डनीय सजायका रूपमा तिर्नुपर्ने भनिएको छ।

    दण्डनीय सजाय ट्रम्पले उनीविरुद्ध बोल्ने काम रोक्ने मनसायले दिइएको बताइएको छ। जुरीले सुनाएको क्षतिपूर्ति रकम क्यारोलले मागेभन्दा धेरै हो। लेखिका क्यारोलले सन् १९९० को दशकमा पूर्व राष्ट्रपतिले आफूलाई डिपार्टमेन्ट स्टोरमा यौन हिंसा गरेको बताएकी थिइन्। सात जना पुरुष र दुई जना महिला रहेको जुरीले शुक्रवार दिउसो तीन घण्टाभन्दा कम समयमै उक्त आदेश सुनाएको थियो।

  • क्रिप्टोकरेन्सी कारोबारमा ४२ करोड बिगोसहित दुई जना विरुद्ध मुद्दा दायर

    क्रिप्टोकरेन्सी कारोबारमा ४२ करोड बिगोसहित दुई जना विरुद्ध मुद्दा दायर

    काठमाडौं । क्रिप्टोकरेन्सी कारोबार अभियोगमा करिब ४२ करोड रुपैयाँ जरिवाना र तीन वर्ष जेल सजाय मागदाबीसहित दुई जना विरुद्ध बिहीबार मुद्दा दायर भएको छ । राजस्व अनुसन्धान विभागले यस्तो माग दाविसहित मुद्दा दायर गरेको हो । विभागका अनुसन्धान अधिकृत नवराज अधिकारीका अनुसार पाँच महिना लामो अनुसन्धानपछि झापाका रोहन चौधरी र शुभमकुमार यादवविरुद्ध बिहीबार ललितपुर जिल्ला अदालतमा अभियोग दायर गरेको हो ।

    राजस्वले क्रिप्टोकरेन्सी कारोबारमा मुद्दा दायर गरेको यो पहिलो घटना हो । क्रिप्टोकरेन्सी भनेको निजी क्षेत्रबाट जारी गरिएको मुद्राको रूपमा समेत कारोबार गर्न सकिने डिजिटल वस्तु हो । त्यसैले नेपालमा यसको कारोबारमा विदेशी विनिमयअन्तर्गत मुद्दा चल्ने गरेको छ । विदेशी विनिमय नियमित गर्ने ऐन, २०१९ को दफा १७ अनुसार बिगो बमोजिमको जरिवाना ४१ करोड ९४ लाख रुपैयाँ र जेल सजाय मागदाबीसहित अभियोग दायर गरेको जानकारी उनले दिए ।

    अभौतिक मुद्राको कारोबारबाट विदेशी विनिमयको अपचलन हुने गरेको विभागको भनाइ छ । राष्ट्र बैंकले यो कारोबारलाई २०७४ सालमै अवैध मान्दै आएको छ । त्यसैले क्रिप्टोकरेन्सीको कारोबारलाई आर्थिक अपराध मानिँदै आएको छ । शुभमकुमारले कारोबारको रकम राख्न र झिक्न रोहनको बैंक खाता प्रयोग गरेको खुलेको छ । अभियुक्तहरुले आफ्नो डिजिलट डिभाइसको तथ्यांक छोटो समयमा मेटाउन सक्ने भएकाले अन्य विषयभन्दा यो कारोबार अनुन्धानका लागि चुनौती देखिएको विभागको भनाइ रहेको छ ।

  • कार्यबाहक प्रधानमन्त्रीले सुरक्षा अवस्था बारे लिए जानकारी

    कार्यबाहक प्रधानमन्त्रीले सुरक्षा अवस्था बारे लिए जानकारी

    काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले मुलुकको सुरक्षा अवस्थाबारे जानकारी लिएका छन् । उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, मुख्य सचिव, प्रधानसेनापति, गृह सचिव, निमित्त रक्षा सचिव, नेपाल प्रहरीका प्रमुख, सशस्त्र प्रहरी प्रमुख र राष्ट्रिय अनुसन्धानका अतिरिक्त मुख्य अनुसन्धान निर्देशकसँग देशको सुरक्षास्थिति बारे छलफल गरेका हुन ।
    बिहिवार रक्षा मन्त्रालयमा भएको छलफलमा कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्री खड्कालाई सहभागी पदाधिकारीहरूले आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनको सुरक्षा तयारी र देशको समग्र शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए ।

    त्यस अवसरमा खड्काले आसन्न राष्ट्रिय सभा निर्वाचन समेतलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्था दुरुस्त राख्न तथा भरपर्दो प्रबन्ध मिलाउन निर्देशन दिए । उनले  सुरक्षा बहुआयामिक विषय भएकाले त्यस कुरामा विशेष ध्यान दिन आग्रह गरे ।  सो अवसरमा वहाँले जातीय, क्षेत्रीय तथा धार्मिक विषयसँग जोडिएका विभिन्न गतिविधिहरूले शान्ति सुरक्षामा पार्न सक्ने नकारात्मक असरबारे विशेष ध्यान दिन समेत निर्देशन दिए ।

    उक्त अवसरमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले देशको समग्र शान्ति सुरक्षाको स्थिति सामान्य भए तापनि विभिन्न तरिकाले संचालित गतिविधिहरुलाई ध्यानमा राखी शान्ति सुरक्षा कायम गर्ने कुरामा विशेष ध्यान दिन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिए ।
    बैठकमा मुलुकको समग्र शान्ति सुरक्षा बारे समीक्षा गर्नुका साथै आगामी दिनमा चाल्नु पर्ने कदमहरुबारे छलफल गरिएको थियो ।

  • काभ्रेमा १५ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ

    काभ्रेमा १५ लाख घुस लिएको आरोपमा वडाध्यक्ष पक्राउ


    काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।

    घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
    १५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
    बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेविसंघ काभ्रेका पूर्वअध्यक्षसमेत हुन् । कार चालक प्रधान सिन्धुपाल्चोक बाह्रबिसेका हुन् ।

  • अमेरिका पठाइदिन्छु भनेर साढे २३ लाख ठगेको आरोपमा महिला पक्राउ

    अमेरिका पठाइदिन्छु भनेर साढे २३ लाख ठगेको आरोपमा महिला पक्राउ

    काठमाडौं । अमेरिका पठाइदिन्छु भनेर २३ लाख ५० हजार ठगेर फरार भएकी महिलालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महत छिन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एसपी रविन्द्र रेग्मीका अनुसार बेन्जुले अमर बहादुर पुन नाम गरेका एक व्यक्तिलाई वैदेशिक रोजगारीका लागि अमेरिका पठाइदिन्छु र त्यसका लागि ५० लाख रूपैयाँ लाग्ने बताएकी थिइन्।

    रामबहादुरबाट पटकपटक गरी २३ लाख ५० हजार रूपैयाँ लिएपछि उनी सम्पर्कविहीन बनेकी थिइन्। ठगिएका अमरबहादुरको उजुरीपछि बेन्जुलाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए।