Category: कानुनी कुरा

  • तपस्वीको भेषमा बस्ने राम बहादुर बमजन पक्राउ

    तपस्वीको भेषमा बस्ने राम बहादुर बमजन पक्राउ

    काठमाडौं । तपस्वीको भेषमा विभिन्न ठाउँमा आश्रम खोल्दै आएका रामबहादुर बमजन पक्राउ परेका छन् । उनलाई काठमाडौंबाट प्रहरीले पक्राउ गरेको हो । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का डिएसपी धर्मराज भण्डारीको नेतृत्वको टोली बमजनलाई पक्राउ गर्न खटिएको थियो। उनी दुई महिनादेखि काठमाडौंमा बसेको खुलेको छ ।

    उक्त टोलीले अनुसन्धान र निगरानी गरी मंगलबार बुढानिलकण्ठको हात्तीगौडास्थित घरमा रहेको तथ्य प्रहरीले पत्ता लगायो। त्यसपछि बुढानिलकण्ठस्थित रहेको एक घरमा डिएसपी भण्डारीको टोली पुगेको थियो । टोली पुगेपछि बमजनले आफूलाई पक्राउ गर्न आएको भेउ पाएसँगै भाग्न खोजेका थिए । उक्त घरमा आफ्नी श्रीमती र छोराछोरीसँग बस्दै आएको खुलेको छ । बमजनमाथि यौन शोषण, बलात्कार र आनीहरूलाई बेपत्ता बनाएको आरोप लागेको छ ।

  • बक्यौता बुझाउन प्राधिकरणले ३० दिन भित्र निवेदन दिन गर्यो अनुरोध

    बक्यौता बुझाउन प्राधिकरणले ३० दिन भित्र निवेदन दिन गर्यो अनुरोध

    काठमाडौं । नेपाल विद्युत प्राधिकरणले किस्ताबन्दीमा बक्यौता रकम बुझाउने सुविधा लिन चाहनेका लागि ३० दिनको समय उपलब्ध गराएको हो । पुस १६ गते प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो । निर्णय अनुसार प्राधिकरणका विभिन्न संचरणाबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिनेछ ।

    यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सूचना जारी गरिएको छ । यसअघि प्रधानमन्त्री पुष्प कमद दाहाल प्रचण्डले उद्योग पनि चल्ने र बक्यौता पनि उठ्ने गरी सहजीकरण गर्न प्राधिकरणलाई निर्देशन दिएका थिए ।

  • काठमाडौंबाट बरामद भयो ४७ किलो चाँदी, ३ जना पक्राउ

    काठमाडौंबाट बरामद भयो ४७ किलो चाँदी, ३ जना पक्राउ

    काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयले ४७ किलो चाँदीसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कामेश्वर शाह, सुमनकुमार सरार्फ र मनिष सरार्फ रहेको कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । उनका अनुसार, उपत्यकाको भोटेबहाल, कोटेश्वर लगायतका विभिन्न ठाउँमा राजश्व छलि गरी बिलबिजकविना चाँदीका गरगहनाहरु राखेर विक्री गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न ठाउँमा छापा हानेको थियो ।

    त्यसक्रममा चाँदीका गहनासहित उनीहरु पक्राउ परेको रेग्मीले बताए । पक्राउ परेकाहरुलाई राजश्व छलीसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान विभाग, ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।

  • अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाई

    अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री प्रचण्डलाई सफाई

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अदालतको अवहेलना मुद्दामा सफाइ पाएका छन् । शुक्रवार सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको संयुक्त इजलासले यस मुद्दामा मागदाबी नपुग्ने भन्दै प्रधानमन्त्री प्रचण्डलाई सफाइ दिएको हो । यो फैसलाको पूर्णपाठ आउन बाँकी छ ।

    २०७३ वैशाखमा राष्ट्रिय सभा गृहमा भएको माओवादी कार्यकर्ताको भेलामा प्रचण्डले अदालतमा आफूविरुद्ध षड्यन्त्र भएको बताएका थिए । यही अभिव्यक्तिलाई लिएर २०७३ जेठमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले अदालतको अवहेलना गरेको भन्दै प्रधानमन्त्री प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

  • भारतमा अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पार्ने पतिलाई ९ वर्ष जेल, बन्ने भयो महत्वपूर्ण नजिर

    भारतमा अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पार्ने पतिलाई ९ वर्ष जेल, बन्ने भयो महत्वपूर्ण नजिर

    काठमाडौं । भारत छत्तीसगढको दुर्ग जिल्लाको एउटा फास्ट-ट्र्याक कोर्टले पत्नीलाई अप्राकृतिक यौन सम्पर्क गर्न बाध्य पारेको भनेर पतिलाई कठोर श्रमसहित नौ वर्षको कारावास र दश हजार भारतीय रुपैयाँ जरिवानाको सजाय सुनाएको छ। त्यसबाहेक पत्नीलाई कुटपिट गरेको आरोपमा एक वर्षको थप कैद र एक हजार भारतीय रुपैयाँ जरिवाना पनि पतिले तिर्नुपर्नेछ।

    भारतमा वैवाहिक बलात्कार र अप्राकृतिक यौन कृत्यबारे बहस भइरहेका बेला यो फैसला आएको हो। यसै साता सोमवार राष्ट्रपति द्रौपदी मुर्मूले भारतीय न्याय संहितासमेत तीन विधेयकमाथि आफ्नो मन्जुरी दिएकी छन्। नयाँ भारतीय न्याय संहितामा अप्राकृतिक यौन कृत्यको धारा ३७७ लाई हटाएको छ।

    दुर्गको अदालतको फैसलापछि निमिष अग्रवाललाई जेल हालिएको छ। पति र पीडित महिला दुवैका परिवार ठूल्ठूला कारोबारसँग जोडिएका छन्। फैसलापछि पीडित महिलाले भनिन्, ूमलाई हर तरिकाले प्रताडित गरियो। म मानसिक, शारीरिक, सामाजिक र आर्थिक रूपमा प्रताडित भइरहेँ। म लाजका कारण अप्राकृतिक यौन सम्बन्धलाई उजागर नगर्ने अरू महिलाहरूलाई पनि आफ्नो हकका लागि आवाज उठाउन आग्रह गर्छु।

    पीडित महिलाले भनिन्, चाहे अप्राकृतिक यौन सम्बन्धको मामिला होस् या कुटपिटको या दाइजो प्रताडनाको, कानुनले तपाईँलाई मद्दत गर्छ ।
    उनले भनिन्, म महिलाहरूलाई भन्न चाहन्छु कि तपाईँको मर्माहत हुनुभएको छ या शरीरमा चोट पुगेको होस्ऽ आफ्नो आवाज उठाउनुपर्छ। समाज र कानुन अब धेरै जागरुक भइसकेका छन्। पीडित महिलाका बुबाले बीबीसीसँगको कुराकानीमा भनेका छन् पछिल्ला केही वर्ष उनको परिवारले जुन पीडा भोगेको छन्, त्यसबारे कसैले सोच्न पनि सक्दैन।

    पीडितका पिताले बीबीसीसँग भने, अदालतले सुनाएको फैसलाबारे म के टिप्पणी गरूँरु यसलाई त मैले सजाय या न्याय पनि भन्न सक्दिनँ। म ७० वर्ष माथिको छु। पूरै परिवारले यतिका वर्ष जे भोग्यो, त्यसको अगाडि अदालतको फैसलाबारे म के भनूँ । पीडितका वकिल निरज चौबेका अनुसार यो मामिलामा पीडितका सासूससुरालाई पनि दश महिनाको सजाय सुनाइएको छ।

    पीडितकी नन्दलाई पनि छ महिनाको सजाय सुनाइएको छ। अदालतमा दायर मुद्दाका अनुसार दुर्गका कारोबारी निमिष अग्रवालको बिहे १६ ज्यानुअरी २००७ मा दुर्गकै एक व्यापारीकी छोरीसँग भएको थियो। बिहे छिनिएपछि निमिष र उनका पिताले पैसा अभाव रहेको भन्दै पीडितसँग माग्न सुरु गरेका थिए। बिहेपछि पैसा माग्ने काम थप बढ्यो।


    पीडितको दाबी छ कि उनका बाबुले बिहे छिनिएपछि अलगअलग समयमा तीन करोड पाँच लाख रुपैयाँ रकम बुझाए। तर निमिष र उनका परिवार थप १० करोड रुपैयाँ र एक बीएमडबल्यू कारको मागमा अडिइरहे। त्यसपछि पीडितमाथि कुटपिट सुरु भयो। त्यसमा निमिष अग्रवालका पिता, माता र बहिनी पनि सामेल हुन्थे। पीडितको आरोप छ कि सन् २०११ मा जब उनी गर्भवती भएको र गर्भमा छोरी भएको थाहा भयो, उनीहरूले गर्भपतन गर्न भने। तर पीडितले मानिनन्। पीडितका अनुसार छोरी जन्मेपछि कुटपिटको थप बहाना मिल्यो।

    त्यसपछि पतिले पीडितसँग अप्राकृतिक यौन सम्पर्क थालेको आरोप लगाइएको छ। त्यस क्रममा पतिले पोर्न फिल्म हेर्ने र पीडितसँग त्यस्तै भिडिओ पनि बनाउने पीडितको भनाइ छ। मे २०१६ मा पीडित महिलाले पति, सासू-ससुरा र नन्द विरुद्ध प्रहरीमा निवेदन हालिन्। प्रहरी र अदालती कारबाहीका साथमा सामाजिक बैठकहरूमा पनि यो मामिला सुल्झाउन कोसिसहरू भए तर ती विफल रहे। तर निमिष अग्रवाल र उनका परिवारका वकिलहरूले ती महिलाका सबै आरोप मनगढन्ते र घर पक्षलाई प्रताडित गर्ने उद्देश्यले गरिएको बताए। तर अदालतले पीडितको पक्षमा फैसला दियो।


    स्थानीय अदालतपछि यो मामिला मामला उच्च र सर्वोच्च अदालतसम्म पुग्यो। अन्ततः गत शनिवार दुर्गको फास्ट-ट्र्याकु अदालतले बयान र सबुतहरूका आधारमा आफ्नो फैसला सुनायो। अदालतले आफ्नै फैसलामा अपराधको प्रकृति हेरेर निमिष अग्रवाललाई भारतीय दण्ड संहिता १८६० को धारा ३७७को आधारमा कठोर श्रमसहित नौ वर्षको कैदको सजाय सुनाएको छ र १० हजार रुपैयाँ जरिवाना पनि गरेको छ।

    जानकारहरू यो फैसला असाध्यै महत्त्वपूर्ण रहेको बताउँछन्। यस्ता मुद्दाबाट समाजमा एक प्रकारको बुझाइ पनि विकास हुन सहयोग पुग्ने ठानिन्छ किनभने यस्ता विषयमा निकै कम चर्चा हुने गर्छ। छत्तीसगढ उच्च अदालतका वकिल दिवेश कुमार भन्छन्, यो फैसला यस्तो समयमा आएको छ, जब भारतमा म्यारिटल रेप अर्थात् पत्नीसँग जबर्जस्ती शारीरिक सम्बन्ध बनाउने कसुरलाई अपराध बनाउनुपर्छ भन्नेबारेका निवेदनहरू सर्वोच्च अदालतमा परेका छन्।

    भारतीय दण्ड संहिता १८६० को धारा ३७५ मा बलात्कारको परिभाषा छ। धारा ३७६ मा यो अपराधको सजायको प्रावधान छ। यसै गरी धारा ३७७ मा अप्राकृतिक यौन कृत्यबारे लेखिएको छ। तर उक्त कानुनका अनुसार कोही पुरुषले १५ वर्ष वा त्यसभन्दा माथि उमेर रहेकी आफ्नी श्रीमतीका साथ बिनासहमति पनि शारीरिक सम्बन्ध राखेमा त्यो बलात्कार मानिँदैन। तर सन् २०१७ मा सर्वोच्च अदालतले महिलाको उमेर बढाएर १५ बाट १७ पुर्‍याएको थियो। भारतीय दण्ड संहिताको धारा ३७५ मा रहेको सो व्यवस्थामाथि आपत्ति जनाउँदै निवेदनहरू दायर गरिएका छन्।

    BBC

  • सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएको भन्दै अवरोध

    सार्वजनिक बिदाका दिन सरकारी गाडी चलाएको भन्दै अवरोध

    काठमाडौं । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यकर्ताले सभामुख देवराज घिमिरेको सचिवालयको गाडी रोकेका छन् । पुरानो बानेश्वरमा सभामुख सचिवालयको ००२ झ ६६७१ नम्बरको गाडी वैद्यका कार्यकर्ताले रोकेका थिए । उक्त पार्टीका नेता दिपेन्द्रसिंह ऐरीले सार्वजनिक विदाको दिन गाडी चलाएकाले नियन्त्रणमा लिनु परेको बताएका छन् ।

    सार्वजनिक विदाको दिन चलाउन त्यो गाडीसँग पास नभएकाले नियन्त्रणमा लिएर छोडेको सिंहले बताए । तर सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले सभामुखकै कामका लागि मैतीदेवी पुगेर फर्किएको र उक्त गाडीसँग पास रहेको बताएका छन् ।

  • बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषि ठहर

    बलात्कार मुद्दामा सन्दीप लामिछाने दोषि ठहर

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने बलात्कारको मुद्दामा दोषी ठहर भएका छन् । उनलाई सजाय भने पुस २५ गते मात्र सुनाइने भएको छ । जिल्ला अदालत, काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले घटना भएको भनिएको दिन सन्दीप र पीडित ‘गौशाला २६’ नगरकोट गई होटल काठमाडौं इनको एउटै कोठामा बसेको विषयमा कुनै विवाद नभएको ठहर गरेको छ ।

    एउटै कोठामा बसेको बेला सन्दीपले आफूलाई बलात्कार गरेको गौशाला २६ को दाबी रहेको भन्दै अदालतले भनेको छ, ‘गौशाला २६ तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटनाक्रम समेतलाई विचार गर्दा करणी भएको देखियो ।’ मुद्दाको सुनुवाइका क्रममा पीडित ‘गौशाला २६’को उमेरबारे पनि निकै विवाद भएको थियो ।

    रालुका गाविस नुवाकोट तथा शंकरापुर नगरपालिका, काठमाडौंको बसाइँसराइ दर्ता किताब र नारायणी उपक्षेत्रीय अस्पताल, वीरगञ्जको डेलिभरी रजिस्ट्रर, गौशाला २६ को बकपत्र लगायतले गौशाला २६ को जन्ममिति १८ असार २०६१ भएको र घटना भएको बेला उनको उमेर १८ वर्ष पुगेको इजलासको ठहर छ । गौशाला २६ को नाजुक आर्थिक अवस्थाको फाइदा उठाएर करणी गरेकाले सहमतिको नभएको भन्दै अदालतले भनेको छ, ‘सन्दीप लामिछानेले मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१), (२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ ।’

    ३ वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा कसुर निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने भएकाले उनलाई कति वर्ष कैद सजाय हुने भन्ने तोकिएको छैन । न्यायाधीश ढकालको इजलासमै पुस २५ गते हुने सुनुवाइले लामिछानेमाथिको कैद, जरिवाना र क्षतिपूर्ति निर्धारण गर्नेछ ।

    राष्ट्रिय टिमका पूर्व कप्तान समेत रहेका लामिछानेविरुद्ध २१ भदौ २०७९ मा उजुरी परेको थियो । सन्दीपले ५ भदौमा बानेश्वरबाट नगरकोट लगेको र राति फर्केर पिंगलास्थानस्थित होटल काठमाडौं इनमा लगेर बलात्कार गरेको उनको उजुरी थियो । त्यो बेला उनी क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न वेष्टइण्डिज पुगेका थिए । २० असोजमा नेपाल फर्किएका उनी विमानस्थलमै पक्राउ परे ।

    अनुसन्धान प्रक्रिया पूरा गरेर प्रहरीले सरकारी वकिलको कार्यालय मार्फत बलात्कारको मुद्दा चलायो, जसमा जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि थुनामा पठायो । त्यसविरुद्ध सन्दीप उच्च अदालतमा गए । २८ पुस २०७९ मा न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले जिल्लाको आदेश उल्टाउँदै २० लाख धरौटीमा छाड्न आदेश दियो । तर लामिछानेलाई विदेश जान रोक लगाइएको थियो ।

    त्यसपछि सन्दीप फेरि राष्ट्रिय टिममा परे । लिग टूको खेलका लागि विदेश जान अनुमति माग्दै सर्वोच्च गए । १५ फागुन २०७९ मा न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुडालको संयुक्त इजलासले सन्दीपलाई क्रिकेट खेलका लागि विदेश जाने अनुमति पनि दियो ।

  • भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर रिहा भए टेकनाथ रिजाल

    भुटानी शरणार्थी प्रकरण : धरौटी बुझाएर रिहा भए टेकनाथ रिजाल

    नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पुर्पक्षका लागि कारागार चलान भएका भुटानी शरणार्थी नेता टेकनाथ रिजाल अदालतको आदेशपछि धरौटी बुझाएर बुधबार रिहा भएका छन्। उक्त मुद्दामा सात महिना हिरासतमा बसेका नेता रिजाल धरौटी बुझाएर बुधबार रिहा भएका हुन्। उनलाई गत मंसिर १५ गते नै उच्च अदालत पाटनले १५ लाख रूपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो। तर धरौटी रकम बुझाउन नसक्दा रिजाल थप झन्डै एक महिना सुन्धारा कारागारमै रहनुपरेको उनका सहयोगी विश्वनाथ क्षेत्रीले जानकारी दिए। रकम बुझाएपछि रिजाल रिहा भएका हुन्।

    रिहाइपछि रिजालले आफ्नो पक्षमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए। काठमाडौं जिल्ला अदालतमा यही आइतबार बेलुकी धरौटी रकम बुझाएका उनलाई बिदाहरू परेका कारण बुधबार मात्रै रिहा गरिएको हो। अब उनी पुस २० गते काठमाडौं जिल्ला अदालतमा उपस्थित हुनुपर्नेछ। शरणार्थी प्रकरणमा पुर्पक्षका लागि जेल परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँण उच्चको आदेशअनुसार जिल्ला अदालतमा ३० लाख र सम्पत्ति शुद्धीकरण विभागमा १५ लाख रूपैयाँ बुझाएर रिहा भइसकेका छन्।

    पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीप, आरोपी नरेन्द्र केसी, हरिभक्त महर्जन, शमशेर मियाँ र रामशरण केसीले पनि तोकिएको रकम बुझाएर रिहा भइसकेका छन्। उक्त प्रकरणमा पूर्वसचिव टेकनारायण पाण्डे, पूर्वउपप्रधानमन्त्री रायमाझी, इन्द्रजीत राईलगायत भने पुर्पक्षका लागि कारागारमै छन्।

    rss

  • पूर्व डीआइजी शाह भ्रष्टाचार मुद्दामा दोषि ठहर

    पूर्व डीआइजी शाह भ्रष्टाचार मुद्दामा दोषि ठहर

    काठमाडौं । विशेष अदालतले अवकाशप्राप्त डीआईजी तथा साहित्यकार महेशबिक्रम शाह लगायत दुई जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । उनीहरुमाथि मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र दुधौलीमा कार्यरत रहँदा ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप थियो ।

    विशेष अदालतले शाह र पूर्व सई दिपेन्द्रप्रसाद पनेरुलाई दोषी ठहर गरेको हो । आरोप लागेका प्रहरी हवल्दार केशव सिंह ऐरी र लेखापाल सञ्जीव विशुंखेले सफाइ पाएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले चार आरोपितमध्ये दुई जनालाई दोषी ठहर गरेको हो ।

    उनीहरुलाई तीन वर्षभन्दा माथि कैद सजाय हुने निश्चित भएको छ । तीन वर्षभन्दा बढी सजाय हुने मुद्दामा सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्नुपर्ने व्यवस्था अनुसार आगामी २५ पुसमा पेशी तोकिएको छ । अख्तियारले २० फागुन २०७६ मा सिन्धुली दुधौलीका समादेशक शाह सहित लेखापाल दीपेन्द्रप्रसाद पनेरु, लेखा सहायक केशव सिंह ऐर लगायतमाथि मुद्दा दायर गरेको थियो । भर्ना भएर अन्यत्र पदस्थापन भइसकेका प्रहरी जवानका नाममा तलब भत्ता निकालेर भ्रष्टाचार गरेको अख्तियारको दावी थियो ।

    २०७२ साल वैशाख २७ गते प्रहरी जवानहरुको नया भर्ना सुरु भएको थियो । पुसको अन्तिम साता तालिम सकिएर माघदेखि तोकिएकै ठाँउबाट तलबभत्ता खानेगरी उनीहरुको पदस्थापना भएको थियो । तर शाह लगायतका अधिकारीहरुले २०७२ साल माघ र फागुनको तलब भत्ता खर्च लेखेर भ्रष्टाचार गरेको अख्तियारको आरोप थियो ।

    १०३ जनाको तलब भत्ताको रकम अनियमितता गर्दा ३१ लाख ८८ हजार अनि नयाँ प्रशिक्षार्थीको तलब भत्ताको नाममा थप १ दाख ४९ हजार गरी कुल ३३ लाख ३८ हजार रुपैयाँ अनियमितता गरेको आरोप उनीहरुमाथि थियो ।

    अख्तियारले कोष तथा लेखा नियन्त्रण कार्यालयका लेखापाल सञ्जिव विशंखेले लेखा परीक्षणका क्रममा त्रुटी लुकाएको भन्दै उनीविरुद्ध समेत अख्तियारले मुद्दा दायर गरेको थियो । २०४६ माघमा प्रहरी सेवा प्रवेश गरेका शाहले ३० वर्षे सेवा अवधिका कारण आरोप लाग्नुभन्दा एक महिनाअघि अवकाश पाएका थिए ।

  • अफलाइनमा पठाओ र इनड्राइभ चलाउने ४८ राइडर पक्राउ

    अफलाइनमा पठाओ र इनड्राइभ चलाउने ४८ राइडर पक्राउ

    काठमाडौं । राइड शेयरिङ एपका नाममा अफलाइन यात्रा गराएको आरोपमा प्रहरीले ४८ जनालाई पक्राउ गरेको छ । शनिबार काठमाडौंका विभिन्न स्थानबाट अनधिकृत रुपमा सर्वसाधारणलाई ओसारेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी कुमोध ढुंगेलले बताए । उनका अनुसार, पठाओ र इनड्राइभबाट अफलाइनमा यात्रु आसार्ने ७५ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको थियो ।

    ‘विगतका केही आपराधिक घटनामा यस्ता सवारीसाधनको संलग्नता देखिएका छन्’, उनले भने, ‘त्यसैले सुरक्षा संवेदनशीलताको दृष्टिले सधैं जोखिम सिर्जना हुने भएकाले अफलाइन राइड शेयर नगर्न समेत सम्बन्धितमा सचेत गराउँछौं ।’ पक्राउ परेकाहरुलाई मातहतका विभिन्न वृत्त र प्रभागहरुमा राखिएको प्रहरीले जनाएको छ ।

  • नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ट्राभल सञ्चालक पक्राउ

    नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने ट्राभल सञ्चालक पक्राउ

    काठमाडौं । नक्कली कागजात बनाएर भिजिट भिसामा विदेश पठाई मानव तस्करीमा सघाउने गरेको आरोपमा प्रहरीले एक ट्राभल्स सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भई अहिले ललितपुरको महालक्ष्मी नगरपालिका–४ इमाडोल बस्ने ुसिटी टुर्स एन्ड ट्राभल्सु का सञ्चालक विनोद कार्की रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए ।


    भिजिट भिसामा विदेश जान लागेका युवायुवतीको शङ्कास्पद कागजातसहित एक हजार पाँच सय १३ थान राहदानी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयबाट प्राप्त हुन आएकामा तीमध्ये दुई सय ४६ वटाका कागजात नक्कली पाइएकोले कार्कीलाई पक्राउ गरेको उनले बताए । ती व्यक्तिहरूको कक्षा १२ को प्रमाणपत्र, श्रम स्वीकृति, नाता प्रमाणित, प्रहरी रिपोर्ट र बैंक विवरण नक्कली देखिएको छ ।

    नक्कली कागजातमा मानिस विदेश पठाउनका लागि एजेन्ट, कन्सल्टेन्सी तथा ट्राभल्स एजेन्सीले एअरलाइन्सलाई प्रतिव्यक्ति १० हजारदेखि १५ हजार रुपैयाँसम्म र अध्यागमनका कर्मचारीलाई प्रतिव्यक्ति ४० हजारदेखि ५५ हजार रुपैयाँसम्म दिएर मिलाई विदेश पठाउने गरेको खुल्न आएको एसपी रेग्मीले बताए ।

  • सचिव र विभागीय प्रमुखहरुलाई अख्तियारले गरायो सचेत

    सचिव र विभागीय प्रमुखहरुलाई अख्तियारले गरायो सचेत

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार नियन्त्रण तथा जवाफदेहीताका लागि सरकारका कर्मचारी र संस्थानहरुलाई विभिन्न सुझाव दिएको छ । विभिन्न संस्थाका सचिव र विभागीय प्रमुखहरुसँग छुट्टाछुट्टै अन्तरक्रियामा भएको छलफलपछि अख्तियारले यस्तो सुझाव दिएको हो ।


    सचिव तथा विभागीय प्रमुखलाई ४६ र नियामक निकाय तथा साथै सार्वजनिक संस्थानलाई ४८ बुँदे सुझाव दिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभएको छ । विभागीय प्रमुख र सचिवहरूलाई हरेक महिना मातहतका निकायबाट भएका कामकारबाहीको समीक्षा गरी कार्यसम्पादनमा सुधार गर्न र लापरबाही गर्ने पदाधिकारी तथा कर्मचारीलाई समयमै सचेत गराउन अख्तियारको सुझाव छ ।

    यस्तै, तीन तहका सरकारबीचको काम, कर्तव्य र अधिकारमा देखिएको अस्पष्टता र दोहोरोपना हटाउन अन्तरनिकाय समन्वयसमेत हुने गरी कार्यविभाजनलाई स्पष्ट बनाउन सुझाव दिइएको छ ।

    सार्वजनिक खरिद कार्य गर्दा सार्वजनिक खरिद ऐन र नियमावलीले गरेका व्यवस्थाको पूर्णतः पालना गर्न अख्तियारले भनेको छ । स्वार्थ जोडिने व्यक्ति तथा समूहलाई कानुन निर्माण प्रक्रियामा संलग्न नगराउन तथा ठेकेदारको स्वार्थ अनुकूल हुनेगरी सार्वजनिक खरिद नियमावली बारम्बार संशोधन गर्ने काम रोक्न अख्तियारको सुझाव छ ।

    त्यस्तै, नियामक निकाय र सार्वजनिक संस्थानलाई विनाप्रतिस्पर्धा वा आवश्यकताविना सोझै खरिद गरी सार्वजनिक स्रोतको दुरुपयोग गर्ने काम बन्द गर्न भनिएको छ । अनावश्यक रूपमा सामग्री, सफ्टवेयर, कच्चा पदार्थ, उपकरणलगायत खरिद नगर्न तथा किनेका गाडी तथा यन्त्र उपकरणहरूको नियमित मर्मत सम्भार गर्न, जिन्सी मालसामनको लिलामीमा कानुन पालना नगर्नेलाई कारबाही गर्न अख्तियारको सुझाव छ ।

    आफ्नो संस्थाको उत्पादित वस्तु तथा सेवा कर्मचारी र सञ्चालकलाई निस्शुल्क उपलब्ध गराउने, नाफा घटिरहँदासमेत सेवा सुविधा थप्ने, कर्मचारी र सञ्चालक समितिलाई अनावश्यक सेवासुविधा बढाउनेजस्ता काम रोक्न पनि भनेको छ । अख्तियारले आवश्यकता र उपयोगिता हेरेर मात्रै विमानस्थल, पार्क भ्यूटावर, सभाहल, रङ्गशाला जस्ता संरचना बनाउन सुझाव दिएको छ ।

    यस्तै, हुण्डी, क्रिप्टोकरेन्सी जस्ता अवैध आर्थिक कारोबार नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकको ध्यानाकर्षण गर्दै नगदरहित बैंकिङ्क प्रणालीलाई प्रोत्साहन गर्न सुझाव दिएको छ । सबै सार्वजनिक निकायले सङ्कलन गरेका नागरिकका विवरणलाई राष्ट्रिय परिचयपत्र प्रणालीमा सङ्ग्रहित हुनेगरी व्यवस्था मिलाउन अख्तियारले भनेको छ । अख्तियारले सार्वजनिक संस्थामा विद्यमान आर्थिक अनियमितता र विकृतिलाई सम्बन्धित मन्त्रालय र सञ्चालक समितिले निर्णय गरेर तत्काल रोक्नुपर्नेमा समेत जोड दिएको छ ।

  • हनि ट्यापमा पारेर पैसा असुली धन्धामा तीन महिला दोषि ठहर

    हनि ट्यापमा पारेर पैसा असुली धन्धामा तीन महिला दोषि ठहर

    काठमाडौं । दाङ जिल्ला अदालतले आपराधिक लाभको मुद्दामा तीन जना महिला दोषी ठहर गर्दै जेल सजाए तोकेको छ। जिल्ला अदालतले आइतबार सीतादेवी थापासहितका तीन जना महिलाले कसुर गरेको ठहर गरेको हो ।

    जिल्ला अदालतका न्यायाधीश जगतबहादुर पौडेलको इजलासले आपराधिक लाभको मुद्दामा प्रतिवादी प्युठान स्वर्गद्वारी नगरपालिका घर भई हाल घोराही उपमहानगरपालिका–१५ मा बस्दै आएकी सीतादेवी थापासहित तीन जनालाई दोषी ठहर गरेको हो। कसुर ठहर हुनेमा घोराही उपमहानगर–५ की सुष्मा परियार र घोराही–१ की खुमा वली रहेका छन्। कसुरदार तीनै जनालाई जनही एक वर्ष ६ महिनाको कैद सजाय र १५–१५ हजार रुपैयाँ जरिवाना फैसला गरेको अदालतका श्रेस्तेदार दामोदर घिमिरेले बताए ।

    मुलुकी अपराध संहिता २०७४ को दफा २५३ को उपदफा १,२ र ३ (क) कसुरमा सोही ऐन र दफाको उपदफा ३ (ख) अनुसार जरिवानाको फैसला गरेको उनले बताए। अदालतले जनही दस हजारका दरले जाहेरवालाई क्षतिपूर्ति दिन पनि फैसला गरेको श्रेस्तेदार घिमिरेले बताए ।

    श्रेस्तेदार घिमिरेका अनुसार आपराधिक लाभ उठाउने मुद्दामा जिल्ला अदालतबाट भएको यो पहिलो फैसला हो । परिवर्तित नाम भद्रबहादुर जैसीले आपराधिक लाभ उठाउन खोजेको भन्दै जिल्ला प्रहरी कार्यालय दाङमा जाहेरी दर्ता गराएका थिए। सोही जाहेरीमा अनुसन्धान गरी प्रहरीले सरकारी वकिलमार्फत २०७८ असोज १९ गते दाङ जिल्ला अदालतमा मुद्दा दर्ता भएको थियो। त्यसको करिब दुई वर्षपछि फैसला भएको हो।

    श्रेस्तेदार घिमिरेका अनुसार आपराधिक लाभ उठाउने उद्देश्यले सीतादेवी थापाले नाम परिवर्तित भद्रबहादुर जैशीसँग एक लाख रुपैयाँ लिएको स्वीकार गरेकाले उक्त पैसा जाहेरीवालाई दिलाउने फैसला पनि भएको छ । पीडित भनिएका जैसी कानुन व्यवसायी हुन । हनि ट्रयापको आरोपमा पक्राउ परेकी सीतादेवी थापा एक लाख ५० हजार, सुष्मा परियार ७० हजार र खुमा वली ८० हजार रुपैयाँ धरौटीमा २०७८ असोज २२ गते छुटेका थिए।

    ‘हनी ट्रयाप’ मा पारेर पैसा असुलेको अभियोगमा २०७८ असोज २ गते घोराहीबाट उनीहरू तीन जनालाई प्रहरीले पक्राउ परेको थियो। होटलमा खाजा खान बोलाएर अन्त्यमा बलात्कारको मुद्दा हाल्ने धम्की दिई १८ लाख असुल्न खोजेको भन्दै पक्राउ गरी २०७८ असोज २ गते पत्रकार सम्मेलनको आयोजना गरेर सार्वजनिक गरेको थियो।

    प्रहरीले प्रतिवादी थापासहितका परियार र वलीले घोराहीका एक व्यवसायीबाट १ लाख नगद र १७ लाखको चेक बुझेको आरोपमा पक्राउ गरेको थियो। सुरुमा ५० लाख रुपैयाँको बार्गेनिङ गरेर र अन्तमा १८ लाखमा कुरा मिलाइएको अनुसन्धानबाट खुलेको प्रहरीले पत्रकार सम्मेलनमा जानकारी दिएको थियो। प्रहरी महिलाको कोठबाट १७ लाखको चेक समेत बरामद गरेको थियो।

  • यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

    यौन दुर्व्यवहारको आरोपमा शिक्षक पक्राउ

    काठमाडौं । लिखुतामाकोशी गाउँपालिका –७ मा रहेको नवदर्शन माध्यमिक विद्यालयका शिक्षक मानबहादुर सार्की यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । सोही विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा निजलाई पक्राउ गरिएको रामेछापका प्रहरी नायव उपरीक्षक होमबहादुर पराजुलीले बताए ।

    पीडित छात्राले आफूमाथि शिक्षक सार्कीले यौन दुर्व्यवहार गरेकाले कारबाहीका निम्ति आवेदन गरेपछि अभियुक्तलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको उनले बताए । प्रहरीका अनुसार अभियुक्तले गत मङ्सिर २७ गते दिउँसो विद्यालय बाहिरको एउटा घरमा बोलाएर परीक्षाका लागि तयार पारेको प्रश्नपत्र प्रदान गर्ने बहानामा छात्रामाथि यौन दुर्व्यवहार गरेका थिए ।

  • नेपाली नागरिकलाई भारतीय कागजात बनाएर क्यासिनोमा इन्ट्री

    नेपाली नागरिकलाई भारतीय कागजात बनाएर क्यासिनोमा इन्ट्री


    काठमाडौं । काठमाडौँ उपत्यकाभित्रका क्यासिनोहरुमा प्रवेश गर्न भारतीय कागजात बनाइदिने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रवीन्द्र रेग्मीका अनुसार स्थायी घर दोलखा मेलुङ गाउँपालिका ३ भई हाल काठमाडौँ बुढानीलकण्ठ बस्ने ४७ वर्षीय गोविन्द खड्का, ओखलढुङ्गा घर भई हाल ललितपुर बस्ने ३९ वर्षीय नवीन राई र रुपन्देही घर भई हाल काठमाडौँ तारकेश्वर बस्ने २५ वर्षीय विनोद न्यौपानेलाई पक्राउ गरिएको छ ।

    उनीहरूले क्यासिनो प्रवेश गराइ खेलाउने प्रयोजनका लागि नेपाली नागरिकको भारतीय कागजात बनाइदिने गरेको प्रहरीले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

  • एनसेल प्रकरणमा सत्ता गठबन्धनको धारणा के ?

    एनसेल प्रकरणमा सत्ता गठबन्धनको धारणा के ?


    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले एनसेल खरिद–बिक्रीका विषयमा गहन अध्ययन र छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको छ। मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताको बैठकले यस्तो निष्कर्ष निकालेको हो। 

    बैठकले एनसेलको शेयर खरिद बिक्रीको कुरा गम्भीर रहेको र नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर बिक्री नभएको ठहर गरेको छ। बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले बैठकले नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने बाध्यात्मक कानुनी व्यवस्था अनुकुल खरिद–बिक्री नभएको बताए । उनले शेयर खरिद–बिक्रीको कुरा शंकास्पद रहेकाले सरकारले तत्काल छानबिन गर्नुपर्ने निष्कर्ष निकालेको जानकारी दिए ।

    उनले भने, ‘‘सरकारमा संलग्न राजनीतिक दलका शीर्ष नेताको बैठक बसेको हो। एनसेलको सम्बन्धमा पछिल्लो समयमा एनसेलको शेयर खरिद–बिक्री लगायतका जुन कुरा आएका छन्, यो कुराहरु अत्यन्त ज्यादा गम्भीर छ। जति पनि काम कुरा भएका छन्। त्यो नेपालको कानुन बमोजिम नेपाल सरकारको सम्बन्धित निकायको स्वीकृति लिएर गर्नुपर्ने जुन बाध्यात्मक कानुनी व्यवस्था छ, त्यसका अुनकुल भएको छैन। जति पनि गतिविधि भएका छन्, ती शंकास्पद छन्। त्यसमा प्रश्न उठेका छन्।’’ 

    उनले  यो विषयमा गम्भीर भएको प्रधानमन्त्रीले बताएको समेत उल्लेख गरे। लेखकले भने,  ‘‘यसलाई सरकारले गम्भीरतापूर्वक लिएको छ। यसलाई देशको हित प्रतिकुल कुनै काम हुन नदिने र नेपालको प्रचलित कानुन बमोजिम अध्ययन गर्ने कुरा भएको छ। यो बैठकले पनि प्रधानमन्त्रीले भन्नुभएको कुरा ठिक छ भन्ने निष्कर्षमा पुगेको छ।’’ 

    प्रमुख सचेतक लेखकले एनसेल शेयर खरिदबिक्रीका बारेमा मन्त्रिपरिषद्ले पनि निर्णय गर्ने र सरकारका निकायरुले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार रहेको उल्लेख गरे ।

    बैठकमा एनसेल खरिद बिक्रीको बारेमा सरकारले तत्काल छानबिन गर्नुपर्ने र सूक्ष्म ढंगले यसमा गहिरो अध्ययन गर्नुपर्ने निष्कर्ष निकालेको छ। ‘‘यो विषयलाई देश र जनताको हितमा कानुन बमोजिम गर्नुपर्छ भन्ने निष्कर्ष भएको छ। मन्त्रिपरिषद्ले पनि यसमा आवश्यक निर्णय गर्छ। सरकारका निकायले यसलाई गम्भीरतापूर्वक लिएर यसको तहसम्म नै पुगेर यसमा छानबिन र अध्ययन गर्ने कुरामा सरकार र गठबन्धन तयार छ’’, उनले भने ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेल खरिद–बिक्रीमा भएको अनियमितताको विषयमा विभागीय मन्त्रीसँग छलफल गरेका हुन् ।  मंगलबार साँझ प्रधानमन्त्री प्रचण्डले सत्ता गठबन्धनमा सहभागी शीर्ष दलका नेता र विभागीय मन्त्रीसँग छलफल गरेका छन् । छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाश शरण महत, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मासँगै सरकारमा सहभागी दलका शीर्ष नेता सहभागी थिए ।

  • अनलाइनबाट यौन व्यवसाय चलाउने पक्राउ

    अनलाइनबाट यौन व्यवसाय चलाउने पक्राउ


    काठमाडौं ।  नेपाल प्रहरीले अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको दरबारमार्ग, नयाँ बसपार्क, तिलेंगेटार, बानेश्वरलगायत स्थानमा यौन व्यवसाय सञ्चालन गर्ने गिरोहलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

    पक्राउ पर्नेमा रामेछापका २७ वर्षीय छत्रबहादुर रोक्का, ओखलढुंगाका ३३ वर्षीय गोपाल थापा, सिन्धुलीका ४४ वर्षीय सेते कार्की, सल्यानका २५ वर्षीय शिवराज परियार र नुवाकोटका ३० वर्षीय अमृत रोक्का रहेका छन् ।

    कार्यालयका प्रवक्ता, प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले सामाजिक सञ्जालको प्रयोगगरी विभिन्न प्रलोभन देखाएर यौन व्यवसाय सञ्चालन गरेकामा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको प्रवक्ता रेग्मीले बताए ।

  • बुढानिलकण्ठका सव-इन्जिनियर ८० हजार घुससहित पक्राउ

    बुढानिलकण्ठका सव-इन्जिनियर ८० हजार घुससहित पक्राउ

    काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाका सब इन्जिनियर टीकाराज राई ८० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । उनलाई बुढानीलकण्ठ नगरपालिका(७ बाटै पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए। सब इन्जिनियर राईले घर निर्माण सम्पन्न प्रमाणपत्र दिनका लागि घुस लिएको पाइएको अख्तियारको भनाइ छ । घटनाको विषयमा अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • नेपालमा पहिलो पटक समलिंगि विहे दर्ता

    नेपालमा पहिलो पटक समलिंगि विहे दर्ता

    काठमाडौं । नेपालमा पहिलो पटक समलिङ्गी विवाह दर्ता भएको छ । लमजुङको दोर्दी गाउँपालिकामा आज बुधवार दुलही रामबहादुर गुरुङ र दुलाहा सुरेन्द्र पाण्डेको विवाह कानुनी रूपमा दर्ता भएको हो । गाउँपालिकाको वडा नम्बर २ ले समलिङ्गी विवाहको प्रमाणपत्र दिएको छ ।

    सर्वोच्च अदालतले दिएको अन्तरिम आदेशका आधारमा विवाह दर्ता भएको हो । नवलपरासीको कावासोती नगरपालिका–८ का सुरेन्द्र र लमजुङको दोर्दी गाउँपालिका–२ का रामबहादुरले विवाह गरेका हुन् । यसअघि गाउँपालिकाले विवाह दर्ता गर्न नमानेपछि रामबहादुर र सुरेन्द्रले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा उजुरी गरेका थिए । विभागले सर्वोच्च अदालतको आदेशअनुसार अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न निर्देशन दिएको थियो ।

  • ‘उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति’ भन्ने समाचारको कोषले गर्यो कडा खण्डन

    ‘उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति’ भन्ने समाचारको कोषले गर्यो कडा खण्डन

    काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता नभएको बताएको छ। भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारमा कुनै सत्यता नभएको पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए।

    उनले भने, ‘पशुपतिनाथ मन्दिर अब उत्तराखण्डमा भन्ने समाचारमा कुनै सत्यता छैन, उक्त भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ। कोषले आज प्रेस विज्ञप्ति प्रकाशित गरी भारतमा पशुपतिनाथको मन्दिर बनाउन स्वीकृति दिएको भन्ने समाचारप्रति आपत्तिसमेत जनाएको छ। समग्र हिन्दूहरूको मूल आस्थाको धरोहर पशुपतिनाथका विषयमा र मन्दिरको संरक्षक पशुपति क्षेत्र विकास कोषका विषयमा भारत र नेपालका केही सञ्चार माध्यममा प्रसारित तथा प्रकाशित भ्रामक समाचारप्रति कोषको ध्यानाकर्षण भएको छ, विज्ञप्तिमा भनिएको छ।

    भ्रामक समाचारका कारण हिन्दू धर्म दर्शन एवं पाशुपत दर्शनप्रति आस्थावान् धार्मिकजनप्रति पारिएको आघात पुगेको भन्दै कोषले भारतको उत्तराखण्डमा पशुपतिनाथ मन्दिर बनाउन स्वीकृति, सहमति दिने सम्बन्धमा कुनै स्वीकृति, सहमति, निर्णय नभएको कोषको भनाइ छ। रासस

  • दुर्गा प्रसाई र युवासंघको आन्दोलनमा २६ जना घाइते

    दुर्गा प्रसाई र युवासंघको आन्दोलनमा २६ जना घाइते

    काठमाडौं । काठमाडौँको बल्खुमा बिहीबार भएको प्रदर्शनमा झडपको स्थिति सिर्जना भएपछि त्यसलाई नियन्त्रणमा लिने क्रममा प्रहरीसहित २८ जना घाइते भएका छन् । काठमाडौँ उपत्यका प्रहरी कार्यालयका अनुसार शान्ति, सुरक्षा कायम गर्ने क्रममा पाँच प्रहरी र २३ जना प्रदर्शनकारी घाइते भएका हुन् ।

    झडपमा घाइते भएकामध्ये १७ जना उपचारपछि घर फर्केका छन भने छ जनाको काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा उपचार भइरहेको छ । उत्तेजित भीडको ढुङ्गा प्रहारबाट घाइते भएका प्रहरीको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ । स्थितिलाई नियन्त्रणमा लिन एक सय ५७ सेल अश्रुग्यास र पाँच राउण्ड रबरको गोली प्रहार गरिएको थियो । रासस

  • राष्ट्रपति र प्रधानमन्त्री निवास आसपास समेत निषेधित क्षेत्र घोषणा

    राष्ट्रपति र प्रधानमन्त्री निवास आसपास समेत निषेधित क्षेत्र घोषणा

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले शितल निवास, प्रधानमन्त्री निवास लगायत आसपास पनि निषेधित क्षेत्र घोषणा गरेको छ। मंगलबार प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले एक सूचना जारी गर्दै राष्ट्रपति भवन शितल निवास, प्रधानमन्त्री निवास बालुवाटार, संसद भवन बानेश्वर, सिंहदरबार र हरित गृह उपराष्ट्रपति भवन आसपास निषेधित क्षेत्र घोषणा गरेका हुन्। सोमबार मात्रै प्रमुख जिल्ला अधिकारी बस्नेतले काठमाडौंको माइतीघर मण्डलदेखि नयाँ बानेश्वर चोकसम्म ३० दिनका लागि निषेधित क्षेत्र तोकेका थिए।

    मंसिर ७ गते नेकपा एमाले निकट युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईंले माइतीघर केन्द्रित प्रदर्शन गर्न लागेका थिए। तर शान्ति सुरक्षा कायम गर्न र दंगा भड्किन नदिन भन्दै माइतीघरमा निषेधित क्षेत्र घोषणा गरिएको हो। त्यस्तै दुवै पक्षलाई छुट्टाछुट्टै स्थानमा कार्यक्रम गर्न ठाउँ तोकिएको छ। युवा संघले तीनकुनेमा र दुर्गा प्रसाईंले बल्खुमा कार्यक्रम गर्ने भएका छन्।

    तर जिल्ला सुरक्षा समितिको सिफारिसको आधारमा मंगलबार प्रमुख जिल्ला अधिकारीले थप क्षेत्रमा निषेधित क्षेत्र तोकेका हुन्। शितल निवासको पूर्व पवित्र वर्कशपसम्म, पश्चिममा सामाखुसी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म निषेधित क्षेत्र तोकिएको छ।

    प्रधानमन्त्री निवासको पवित्र वर्कशप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म, सभामुख निवासदेखि गैरीधारा जाने बाटोको पश्चिम दक्षिण १०० मिटरसम्म, प्रधानन्यायाधीश निवासबाट लाजिम्पाट जाने १०० मिटर पश्चिमसम्म, राष्ट्र बैंक चोकबाट पूर्वतर्फ १०० मिटरसम्म र इटालीया चोकबाट ५० मिटर दक्षिणसम्म पनि निषेधित क्षेत्र तोकिएको छ।

    संसद भवन नयाँ बानेश्वरको चारैतर्फको सडकसम्म र यातायात व्यवस्था विभागदेखि पूर्वतर्फ मीनभवन चोकसम्म पनि प्रदर्शन गर्न निषेध गरिएको छ। यता सिंहदरबार क्षेत्र आसपास पनि प्रदर्शन गर्न प्रशासनले रोकेको छ। भद्रकाली मन्दिर पूर्व तीनकुने आइल्यान्डको पूर्वी कुनादेखि पूर्वतर्फ सिंहदरबार मूलगेटसम्म, सिंहदरबार मूलगेट अगाडिदेखि उत्तरतर्फ पद्मोदय मोडसम्म, त्यहाँदेखि पूर्वतर्फ महालेखा परीक्षक कार्यालय अगाडि हुँदै अनामनगरतर्फ जाने सिंहदरबारको उत्तरपूर्वी मोड र सो मोडबाट पूर्वी गेठ हुँदै हनुमानस्थान मन्दिरसम्म पनि प्रदर्शन गर्न रोक लगाइएको छ।

    पश्चिम गेटदेखि सर्वोच्च अदालत अगाडि हुँदै माइतीघर मण्डल, माइतीघरदेखि हनुमानस्थान मन्दिरसम्म र बबरमहल जिल्ला अदालतको मोडको प्रवेशदेखि जिल्ला प्रशासन कार्यालयको उत्तरतर्फको मोडसम्म निषेध गरिएको छ। हरित गृह उपराष्ट्रपति कार्यालय नजिक रहेको केशरमहल चोकदेखि लैनचौर मोड हुँदै मल्ल होटल सिमानासम्म निषेध छ। यसअघि जिल्ला प्रशासन कार्यालय, ललितपुरले पनि पुल्चोकस्थित मन्त्रिक्वार्टर आसपास निषेधित क्षेत्र घोषणा गरिसकेको छ।

  • अनलाइनबाट सट्टेबाजी खेलाउने ६ जना प्रहरीको नियन्त्रणमा

    अनलाइनबाट सट्टेबाजी खेलाउने ६ जना प्रहरीको नियन्त्रणमा

    काठमाडौं । अनलाइनमार्फत सट्टेबाजी खेल खेलाएको अभियोगमा ६ जनालाई आइतबार दिउँसो प्रहरीले ललितपुरको विभिन्न स्थानबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा जिल्ला धनकुटा नगरपालिका–७ घर भई ललितपुर नख्खिपोट बस्ने ३० वर्षीय अङ्कित श्रेष्ठ, सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-२ घर भई ललितपुर कुसुन्ती बस्ने २२ वर्षीय आमोश राई, उदयपुर चौदण्डीगढी नगरपालिका ३ घर भई ललितपुर थेचो बस्ने २० वर्षीया निका राई, सिन्धुपाल्चोक लिसङ्खुपाखर गाउँपालिका ७ घर भई ललितपुर भैंसेपाटी बस्ने २९ वर्षीय विजय थापा, बाग्लुङ बरेङ गाउँपालिका ४ घर भई ललितपुर खुमलटार बस्ने २७ वर्षीय पर्वत पुन र सोलुखुम्बु थुलुङ दुधकोशी गाउँपालिका-२ घर भई ललितपुर कुसुन्ती बस्ने २७ वर्षीय डेकर राई रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    उनीहरूले अनलाइन ग्यामबलीङ तथा अनलाइन क्यासिनो खेलमा अनलाइन मार्फत बाजी राख्दा जितिन्छ भन्ने बिश्वास दिलाई हारजित हुने र आफूले लाभ लिने उद्देश्य राखी रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    उनीहरूले विभिन्न सामाजिक सञ्जाल लगायत विभिन्न अनलाइन ग्यामबलिङ प्लेटफर्म प्रयोग गरी अनलाईन मार्फत् रकमको वाजी राख्न लगाई सट्टावाजी गराई खेल खेलाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनीहरूको साथबाट ल्याप्टप छ थान, राउटर दुई थान, कम्प्युटर तीन थान, मोनिटर दुई थान, सीपीयू एक थान र मोबाइल १४ थान प्रहरीले बरामद गरेको छ । उनीहरूलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

  • माइतीघरदेखि बानेश्वरसम्म ३० दिन निषेधित क्षेत्र घोषणा

    माइतीघरदेखि बानेश्वरसम्म ३० दिन निषेधित क्षेत्र घोषणा

    काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले माइतीघर मण्डलादेखि बानेश्वरसम्मको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । जिल्ला सुरक्षा समिति, काठमाडौंले गरेको सिफारिसका आधारमा सोमबारदेखि लागू हुने गरी ३० दिनसम्म निषेधित क्षेत्र तोक्ने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिएका छन् ।

    प्रशासनको निर्णय अनुसार, पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

    निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन । प्रमुख जिल्ला अधिकारी बस्नेतका अनुसार, स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ९(क) बमोजिम निषेधित क्षेत्र तोक्ने निर्णय भएको हो । यसमा कुनै ठाउँमा हुलदंगा वा अशान्ति भएमा वा हुनसक्ने पर्याप्त आधार देखिए क्षेत्र र समय तोकेर हुलदंगा वा अशान्ति पार्ने उद्देश्यले एकैठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश गर्नसक्ने उल्लेख छ ।

    युवा संघले र दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले ७ मंसिरमा माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने छुट्टा छुट्टै घोषणा गरेका थिए । तर, प्रशासनले दुवै पक्षलाई बोलाएर माइतीघरमा कार्यक्रम गर्न नदिने बताएको थियो । त्यसपछि उनीहरुलाई वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनिएको छ ।

    ‘माइतीघर मण्डला मात्रै होइन, काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा दुई पक्षको कार्यक्रम हुँदैन’, प्रजिअ बस्नेतले भने, ‘वैकल्पिक स्थानमा कार्यक्रम गर्न भनेका छौं ।’ वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ ।

    युवा संघले आफ्नो कार्यक्रमलाई ‘मूल्यवृद्धि, भ्रष्टाचार, जातीय सद्भाव र जुनसुकै अराजकताविरुद्ध’को प्रदर्शन भनेको छ । प्रसाईंले नागरिक मुक्ति आन्दोलन भन्दै व्यवस्था बदल्ने प्रदर्शन भनेका छन् ।

  • रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाई

    रेशम चौधरीको मुद्दामा आज अन्तिम सुनुवाई

    काठमाडौं । सरकारबाट आममाफी पाएका रेशम चौधरी विरुद्ध दायर भएको मुद्दामा आज अन्तिम सुनुवाइ हुँदैछ । टीकापुर नरसंहारमा मारिएका सशस्त्र प्रहरीका प्रहरी निरीक्षक केशव बोहोराकी श्रीमती शारदा कडायतले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुन लागेको हो ।

    गणतन्त्र दिवसको अवसरमा गएको जेठ १५ गते सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई बाँकी कैद मिनाहा हुने गरी माफी दिएका थिए । क्रुर, अमानवीय र गम्भीर मानव अधिकार उल्लङ्घनको घटनामा संलग्नलाई राष्ट्रपतिले माफी मिनाहा दिएको भन्दै यसको चौतर्फी आलोचना भइरहेको छ ।

    राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै कडायतले राष्ट्रपतिको कार्यालय शीतलनिवास तथा रेशमलाल चौधरीलाई विपक्षी बनाइ रिट दायर गर्नुभएको थियो । यसअघि गएको १६ गते सर्वोच्च अदालतले सरकारबाट आममाफी पाएका योगप्रसाद ढकाल रिगलको कैद मिनाहालाई बदर गरिदिएको थियो ।

    नेपालगञ्जका चेतन मानन्धरको हत्यामा दोषी ठहर भएर जेलमा रहेका रिगललाई सरकारले संविधान दिवसका अवसरमा असोज ३ गते आममाफी दिएको थियो । रिगल फेरि जेल चलान भएका छन् ।

  • बिहीबारबाट कार्यालय समय एक घण्टा छोटिने

    बिहीबारबाट कार्यालय समय एक घण्टा छोटिने

    काठमाडौं । बिहीबारदेखि सरकारी कार्यालयको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ । १६ गतदेखि १५ माघसम्म सरकारी कार्यालयको बन्द हुने समय अन्य बेलाकोभन्दा एक घण्टा अघि हुने नियम छ । यसैअनुसार बिहीबारदेखि विहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे बन्द हुने छ ।

    अन्य समय भने ५ बजेसम्म नै सेवा दिने गरी कार्यालयहरु खुल्छन् । सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर कार्यालय समय तोक्ने गर्छ । जाडो समयमा दिन छोटो हुने भएकाले सरकारले ३ महिना कार्यालय समय ६ घण्टाका लागि मात्रै तोकेको छ । अन्य समयमा भने सरकारले कार्यालय समय ७ घण्टा तोकेको छ ।

  • रिगलको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

    रिगलको कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धको सुनुवाइ आज

    काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)को कैद मिनाह गरी आममाफी दिने निर्णयविरुद्धकोे सुनुवाइ आज पूरा नभएपछि आज हुँदैछ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासमा म‌गलबार भएको सुनुवाइमा सरकारी पक्षले बहस भएको थियो । म‌गलबार महान्यायाधिवक्ता डा दिनमणि पोखरेल, नायब महान्यायाधिवक्ता विश्वराज कोइराला र नायब महान्यायाधिवक्ता सञ्जिवराज रेग्मीले सरकारका तर्फबाट बहस गरेका थिए । आज बाँकी सुनुवाइ हुनेछ ।

    संविधान दिवसका अवसरमा यही असोज ३ मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट योगराज ढकालको कैद मिनाहा भएको थियो । राष्ट्रपतिको निर्णयविरुद्ध हत्या गरिएका चेतन मानन्धरको पत्नी भारती शेर्पाले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए । उक्त रिट निवेदनमा सुनुवाइ भएको हो । निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेको नेतृत्वमा बहस भएको थियो ।

    गत असोज २५ गते प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू डा आनन्दमोहन भट्टराई र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ प्रारम्भ भए पनि हेर्न नमिल्ने भएपछि म‌गलबारका लागि सुनुवाइ तय गरिएको थियो । गत असोज १८ गते न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले रिगललाई आममाफी दिन सिफारिस गर्नुपर्नेको कारणसहितको सम्पूर्ण सक्कल मिसिल गत असोज २४ गतेभित्र झिकाउन आदेश गरेको थियो । साथै, अदालतले कानुनी प्रश्नको जटिलता र महत्वको विचार गर्दा पूर्ण इजलासमा पेश गर्नका लागि उपयुक्त देखिएकाले अर्को सुनुवाइका लागि पूर्ण इजलासमा पेशी व्यवस्थापन गर्नसमेत आदेश दिएको थियो ।

  • विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन कहिलेबाट सुरु हुन्छ ?

    विदेशमा रहेका नेपालीको मतदाता नामावली संकलन कहिलेबाट सुरु हुन्छ ?

    काठमाडौं । निर्वाचन आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्ने कार्यविधि, २०८० को मस्यौदा तयार गरी राय(सुझाव मागेको छ । विदेशमा रही मतदाता नामावलीमा नाम दर्ता गर्न बाँकी रहेका नेपाली नागरिकलाई विदेशबाटै उक्त प्रणालीमा समावेश हुनसक्ने गरी तयार भएको मस्यदौलाई आयोगले आज वेबसाइटमा समावेश गरी सुझाव दिन आग्रह गरेको हो ।

    मस्यौदामा आयोगले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावलीमा नाम दर्ता गर्न मुलुक तोकी उक्त मुलुकको सम्बन्धित कूटनीतिक नियोगबाट दर्ता गर्ने केन्द्र तोक्ने प्रस्ताव गरिएको छ । दर्ताका लागि सम्बन्धित कर्मचारी तोक्न आयोगले परराष्ट्र मन्त्रालयलाई लेखी पठाउने व्यवस्था गरिएको छ ।

    विदेशमा रहेका नेपाली नागरिकले मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेमा अनलाइन प्रणालीमार्फत फारम भरी जैविक विवरण दिन आफूलाई पायक पर्ने स्थान र मिति प्रणालीबाट छनोट गर्न सक्नेछन् । मस्यौदामा रहेका उक्त व्यवस्थालगायतका अन्य विषय थप परिमार्जन वा सुधारका लागि सुझाव दिन चाहने विदेश वा स्वदेशमा रहेका नेपाली नागरिक, गैरआवासीय नेपाली सङ्घ तथा अन्य सरोकारवालाले आउँदो कात्तिक मसान्तभित्र आयोगमा राय(सुझाव उपलब्ध गराउन सक्नेछन् ।

  • उत्तेजक भाषण दिँदा पक्राउ परेका श्रीनिवास जरिवाना तिरेर शर्तसहित रिहा

    उत्तेजक भाषण दिँदा पक्राउ परेका श्रीनिवास जरिवाना तिरेर शर्तसहित रिहा

    काठमाडौं । उत्तेजक अभिव्यक्ति दिएपछि पक्राउ परेका हिन्दु धर्मगुरु आचार्य श्रीनिवास गल्ती स्वीकार गरी सर्तसहित रिहा भएका छन् । जिल्ला प्रशासन कार्यालय जनकपुरले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको हो ।

    श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेका छन् । असोज १२ गते श्रीनिवासले जनकपुरधाममा भएको एक कार्यक्रममा उनले उत्तेजक अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिले समाजमा नकारात्मक असर पर्ने र हिंसा भड्किन सक्ने भन्दै सार्वजनिक रुपमा विरोध भएको थियो ।

    मंगलबार उनलाई सुनसरीको बराहक्षेत्र नगरपालिका–चक्रघट्टीबाट जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो । बुधबार जिल्ला प्रशासन कार्यालयमा उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूर अभियोग गर्दा भएपछि जनकपुरधाम ल्याइएको थियो ।

    जिल्ला प्रशासन कार्यालयमा वयानका क्रममा श्रीनिवासले आफू आवेशमा आएर गलत अभिव्यक्ति दिएको स्वीकार गरेका थिए । ’म साधु मान्छे । त्यति बेला माहोल देखेर आवेशमा आएर बोलेँ । गल्ती गरेँ, कमिला पनि नमार्ने मान्छे म । के मान्छे मार्न आदेश दिउँला र । मैले गल्ती बोलेको हुँ’, श्रीनिवासको वयान उधृत गर्दै धनुषाका डीएसपी रञ्जल अवाले भने ।

  • इन्द्रजात्रा हेर्न न्यूरोड पुगेका किशोरको हत्या आरोपमा दुई युवतीसहित चार जना पक्राउ

    इन्द्रजात्रा हेर्न न्यूरोड पुगेका किशोरको हत्या आरोपमा दुई युवतीसहित चार जना पक्राउ

    काठमाडौं । इन्द्रजात्रा हेर्न न्युरोड गएका किशोरको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। सोमबार राति साढे ११ बजे जात्रा हेर्न न्युरोड पुगेका ओखलढुंगा लिखु गाउँपालिका-४ घर भई हाल क्षेत्रपाटी बस्दै आएको १७ वर्षीय सनी कार्कीको धारिलो हतियार प्रहारबाट मृत्यु भएको थियो। घटनामा संलग्न भएको आरोपमा काठमाडौं प्रहरी परिसरले ४ जनालाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको हो।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१९ घर भई हाल ललिपुरको लुकुसी बस्ने २० वर्षीया सोनिया श्रेष्ठ, ललितपुर महानगरपालिका १९ एकान्तकुना बस्ने २२ वर्षीय सन्देश खड्की, मकवानपुरको हेटौंडा उपमहानगरपालिका २ घर भई हाल काठमाडौं महानगरपालिका २४ कि १९ वर्षीया भूमी मल्ल र ललितपुरको गोदावरी नगरपालिका-५ घर भई हाल नागबहाल बस्ने १९ वर्षीय अरबिन ठकुरी छन्। परिसरका अनुसार किशोरमाथि धारिलो हतियार प्रहार गरी भाग्न लागेको अवस्थामा सन्देश खड्की र सोनिया श्रेष्ठलाई सोही राति काठमाडौं महानगरपालिका २४ मखनबाट पक्राउ गरेको हो।

    भूमी मल्ललाई क्षेत्रपाटीबाट र अरबिन ठकुरीलाई ललितपुर महानगरपालिका-१६ बाट पक्राउ गरिएको परिसरले जानकारी दिएको छ। प्रहरीले ठकुरीको साथबाट घटनामा प्रयोग भएको धारिलो हतियार समेत बरामद गरेको छ। परिसरका अनुसार काठमाडौं जिल्ला अदालतबाट सन्देश खड्की र सोनिया श्रेष्ठ खड्कीविरूद्ध असोज १५ गतेदेखि लागु हुनेगरी ६ दिन र भूमी मल्ल र अरबिन ठकुरीविरूद्ध १६ गतेदेखि लागु हुनेगरी ५ दिनको म्याद थप गरी प्रहरीले अनुसन्धान अगाडि बढाएको छ।