काठमाडौं । दोलखाको बिगु गाउँपालिका वडा नम्बर १ लामाबगरबाट चार केजी सुन बरामद भएको छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले आइतबार चार केजी सुन बरामद गरेको हो। गत बुधबार र शुक्रबार दोलखाबाट करिब सात केजी सुन बरामद भएको थियो। ‘यसअघि पक्राउ परेकाहरूमाथि अनुसन्धान गर्दा थप सुन बरामद भएको हो,’ प्रहरी स्रोतले भन्यो, ‘थप अनुसन्धान गर्दैछौं।’ चार किलो सुन बरामद भएपनि थप व्यक्तिहरू पक्राउ परेका थिएनन्।
Category: कानुनी कुरा
-

विमानस्थलमा फिलिपिनी महिलाको साथबाट झण्डै तीन किलो सुन बरामद
काठमाडौं । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाइ दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट प्रहरीले सुन बरामद गरेको हो । आगमन कक्षमा ती महिलामाथि शंका लागेर चेकजाँच गर्दा तरल अवस्थामा रहेको सुन बरामद भएको त्रिभुवन अन्तर्रािष्ट्रय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी अर्जुन चन्दले जानकारी दिए ।
उनका अनुसार महिलाले भित्री वस्त्रमा लुकाएर सुन ल्याएकी थिइन् । सुन कहाँबाट ल्याइएको थियो र कहाँ लगिदैछ भन्ने विषय खुलेको छैन । यसअघि २ साउनमा प्रहरीले त्रिभुवन विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरिएको ब्रेक सु मा लुकाएर ल्याएको अवस्थामा सुन बरामद गरेको थियो । उक्त सुन ब्रेक सु बाट निकालेर गाल्दा करिब ६२ किलो भएको पाइएको थियो ।
-

दोलखाबाट चार किलो सुनसहित तीन जना पक्राउ
काठमाडौं । दोलखाको सिंगटी बजार बाट प्रहरीले ४ किलो सुन सहित ३ जनालाई पक्राउ गरेको छ। सिंगटीबाट सुन सहित ३ जनालाई गए राती पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
तिब्बती सीमा लामावगर नाकाबाट तस्करीको सुन भित्र्याएको आशङ्का गरिएको प्रहरीले जनाएको छ। बिगु गाउँपालिकाका १ लामावगर तर्फको एउटा नाका चिन सरकारले गत साता मात्र खुलाएको सरकारी सञ्चारमाध्यम गोरखा पत्रले जनाएको छ ।
-

डाक्टर कुट्ने र अस्पतालमा तोडफोड गर्नेहरुमाथि मुद्दा चल्ने
काठमाडौं । गृह मन्त्रालयले डाक्टरमाथि आक्रमण र अस्पतालमा तोडफोड गर्नेलाई मुद्दा चलाउन प्रहरीलाई निर्देशन दिएको छ । सोमवार पोखराको मणिपाल शिक्षण अस्पताल र लमजुङ अस्पताल लगायत शिक्षण संस्थामा डाक्टरमाथि आक्रमण र अस्पताल तोडफोड भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।
यी घटनालाई लिएर दोषीमाथि कारबाहीको माग गरी डाक्टरहरू आन्दोलित भएपछि गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज मङ्गलवार स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतसहित सरोकारवालाहरूको बैठक बोलाएका थिए । बैठकले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन–२०६६ बमोजिम कारबाही अघि बढाउन निर्देशन दिएको गृह मन्त्रालयले जनाएको छ ।बैठकमा मेडिकल काउन्सिल एसोसिएसन, नर्सिङ काउन्सिल, चिकित्सक सङ्घ, अस्पतालका डाक्टर, मेडिकल आबद्ध सरोकारवालाहरू उपस्थित थिए । कुटपिटको आरोपमा बेसीसहर नगरपालिका–७ का वडाध्यक्ष ऋषिराम बस्नेत र पोखरा–५ का विनय गुरुङलाई प्रहरीले प्रक्राउ गरिसकेको छ । आज मणिपाल, त्रिवि शिक्षण अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीले सेवा रोकेर प्रदर्शन गरेका थिए ।
-

पूर्वमन्त्री श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषि ठहर
काठमाडौं । पूर्वसचिव एवं पूर्वमन्त्री रामकुमार श्रेष्ठ भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । पूर्वमन्त्री श्रेष्ठ अकुत सम्पत्ति आर्जन गरेको मुद्दामा दोषी ठहर भएका हुन् । डेढ वर्षअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा सोमबार विशेष अदालतले पूर्वमन्त्री श्रेष्ठलाई दोषी ठहर गरेको हो । सोमबार विशेष अदालतका न्यायाधीशद्वय यमुना भट्टराई र खुशीप्रसाद थारूको इजलासले पूर्वमन्त्री श्रेष्ठलाई दोषी ठहर गरेको हो । विशेष अदालतका उपरजिस्ट्रार धनबहादुर कार्कीका अनुसार अदालतले श्रेष्ठलाई ६ महिना कैद र ९८ लाख २९ हजार ५ सय ३७ रुपैयाँ जरिवाना र त्यति नै बराबरको बिगो जफत गर्न आदेश दिएको छ ।
दोस्रो संविधानसभा निर्वाचन गराउन गठित खिलराज रेग्मी नेतृत्वको चुनावी सरकारमा मन्त्री रहेका श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७८ फागुन १५ मा ४ करोड ४५ लाख २७ हजार ६ सय ६६ रुपैयाँ बिगो, त्यति नै जरिवाना, भ्रष्टाचारबाट आर्जित सम्पत्तिले बढेरबढाइएको चलअचल सम्पत्ति जफत र कैद सजाय मागदाबीसहित विशेषमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएको करिब डेढ वर्षमा सोमबार उनी दोषी ठहर भएका हुन् ।
श्रेष्ठ दोस्रो संविधानसभा निर्वाचन गराउन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा २०६९ चैत १ मा गठित सरकारका शान्ति तथा पुनर्निर्माण, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र युवा तथा खेलकुदमन्त्री रहेका थिए । उनी शान्तिमन्त्री हुँदै शान्ति तथा पुनर्निर्माण कोषको रकम अनियमितता गरेको आरोप लागेको थियो । तर, अनुसन्धान अभावमा उनीमाथिको कसुर छानबिनमै परेको थिएन । अख्तियारका अनुसार श्रेष्ठले भ्रष्टाचार गरेर जोडेको सम्पत्ति घरजग्गा खरिद, चलचित्र उद्योग, खनिज उद्योग, सेयर कारोबारलगायतमा लगानी गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।
अख्तियारले करिब ६ वर्ष लामो अनुसन्धान क्रममा श्रेष्ठसँग ११ करोड ३५ लाख ४४ हजार २ सय ९४ रुपैयाँ बराबरको चल–अचल सम्पत्ति भेटिएकामा ६ करोड ९० लाख १६ हजार ६ सय २७ रुपैयाँ बराबरको मात्रै स्रोत खुलेको थियो । मन्त्रीबाट बाहिरिएको दुई वर्षपछि २०७२ मंसिर १६ मा श्रेष्ठविरुद्ध अख्तियारमा उजुरी परेको थियो । उजुरीको करिब ६ वर्षपछि उनीविरुद्ध मुद्दा दायर भएको थियो।
२०२६ चैतदेखि २०३५ कात्तिकसम्म गोरखाको आरुघाटस्थित भीमोदय माविका शिक्षक रहेका उनी २०३६ कात्तिक २६ मा शाखा अधिकृतका रूपमा निजामती सेवामा प्रवेश गरेका थिए । २०६४ माघ ८ मा सचिवबाट अवकाश पाएका उनी करिब २८ वर्ष निजामती सेवामा रहे । अवकाशको करिब ६ वर्षपछि २०६९ चैत ६ देखि २०७० माघ २९ सम्म करिब एक वर्ष मन्त्री बनेका थिए ।
निजामती सेवा प्रवेश गरेको ३ वर्षपछि २०३९ सालबाट जग्गाजमिन खरिद, सेयर किनबेच, नातेदार तथा आफन्तका नाममा उद्योग सञ्चालनलगायतमा उनको संलग्नता देखिएको छ । २०३९ फागुन ११ मा सामाखुसीमा १२ आना ३ पैसा जग्गा खरिद गरेका श्रेष्ठले २०७२ सम्म आइपुग्दा दुई दर्जनभन्दा बढी ठाउँमा करोडौं मूल्य बराबरको जग्गा किनेको अभियोग थियो ।
-

तीनकुने हत्याकाण्ड : मोटरसाइकलले ठक्कर दिएको सामान्य निहुँमा तीन जना निर्दोषसहित चार जनाको हत्या
काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरण मोटरसाइकलले ठक्कर दिएको सामान्य घटनापछि उत्पन्न भएको आक्रोसको परिणामका रुपमा घटेको पाइएको छ । प्रहरीले घटनाको आरोपीलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको छ । शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्यापछि आरोपी युवक सञ्जय भण्डारी खुकुरीसहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा देखिएको हो ।
भण्डारी दौडदै पेप्सीकोला पुगेको सीसीटीभी फुटेजमा देखिएपछि खोजी गर्दा आइतबार बिहान पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । आरोपी भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । बोल्न नसक्ने भण्डारीले दोभासेमार्फत प्रहरीमा बयान दिएका छन् ।
उनले आफ्नो रिसइबी नवीन राईसँग रहेको तर घटनाको रहस्य खुल्ने डरले अरुको पनि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । नवीनले केही समयअघि आफूलाई मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा कुरा गर्न जाँदा दुर्व्यवहार गरेपछि प्रतिसोध साधेर हत्या गर्ने नियतकै साथ खुकुरी लगेर गएको समेत बताइएको छ ।
-

३४ जनाको कैद मिनाहा गर्ने गृहको सिफारिसमा राष्ट्रपति कार्यालयको प्रश्न
काठमाडौं । राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ । माफी मिनाहका लागि प्रस्ताव गरिएका ३४ जनाकै व्यक्तिगत विवरण पठाउन समेत कार्यालयले भनेको छ । गृह मन्त्रालयले संविधान दिवस (असोज ३ गते) को अवसरमा ३४ जनालाई माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिधै सिफारिस गरेको थियो ।
तर कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले त्यसको स्पष्ट आधार माग गरेको हो ।
संविधान दिवसको अवसर पारेर विभिन्न काण्डमा दोषी देखिएका ३४ जनालाई माफी दिनेगरी गृह मन्त्रालयले पाँच दिन अघि राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरेको थियो । अधिकांश ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरु छन् ।
मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५९ बमोजिम उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको गृह मन्त्रालय स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था रहेको छ । १५९(१ं मा भनिएको छ ‘अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तवीमा राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्नेछ ।’
सजाय पाएका व्यक्तिले माफी मिनाहाका लागि गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ । सोही दफाको उपदफा (२) मा भनिएको छ– (१) बमोजिम निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नु पर्नेछ । तर मन्त्रालयले सिफारिस गर्दा यस्तो फैसलाको प्रतिलिपि पनि संलग्न नरहेको बताइएको छ ।
गृह मन्त्रालयले दुई तरिकाले माफी मिनाहाका लागि नाम सिफारिस गर्छ । पहिलो, कारागारमा कैद भुक्तान गरिरहेकाहरुको चालचलन हेरेर माफी मिनाहाको सिफारिस गरिन्छ भने दोस्रो, भनेको सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरुको हकमा गृहबाट सिधै प्रस्ताव जान्छ । अहिले पठाइएका ३४ जना दोस्रो प्रकृतिका हुन् ।
कैद भुक्तान गरेकाहरू मध्येबाट भने कारागार व्यवस्थापन विभागले यस वर्ष ८ सय जनालाई माफी मिनाहाको सिफारिस गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ६७० जनाको कैद माफी गर्ने निर्णय गरेको थियो । त्यसमध्ये कसैको ५० प्रतिशत र कसैको ६० प्रतिशत कैद मिनाहा गर्ने प्रस्ताव आएको छ । त्यसबारेमा निर्णय भइसकेको छ ।यो प्रस्ताव मन्त्रिपरिषदको भएकाले राष्ट्रपतिले स्वतः सदर गरेका छन् ।
-

पाशुपत क्षेत्रमा मासु र मदिरा निषेध
काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले पशुपति मन्दिर वरपर मासु र मदिरा निषेध गरेको छ । असोज १ गते तीजको अवसरमा पशुपति क्षेत्रभित्र पवित्रता कायम गर्ने उद्देश्यले चार किल्ला तोकेर मासु, मदिरा र अन्य नशालु पदार्थ निषेध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले पूर्वमा गौशाला मित्रपार्क सडकदेखि पूर्व, पश्चिममा पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, उत्तरमा गौशाला तीलगंगा चक्रपथदेखि उत्तर र दक्षिणमा मित्रपार्क, उमाकुण्ड गौरीघाट हुँदै बागमतीदेखि दक्षिणसम्म चार किल्ला तोकेको छ । यो क्षेत्रमा मासु, मदिरा तथा नशालु पदार्थहरु उत्पादन, बेचबिखन, ओसारपसार, भण्डारण र सेवन गर्न भदौ ३१ गतेदेखि नै निषेध गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।
-

इयूले टिकटकलाई गरायो साढे ३४ करोड यूरो जरिवाना
काठमाडौं । युरोपेली सङ्घको एक नियामक निकायले चिनियाँ स्वामित्वको सामाजिक सञ्जाल टिकटकलाई ३४ करोड ५० लाख युरो जरिवाना सुनाएको छ ।
टिकटकले बालबालिकाको तथ्याङ्क चोरी गरेको आरोपमा जरिबाना गरिएको समाचार संस्था एएफपीले जनाएको छ । आयरल्यान्डको तथ्याङ्क सुरक्षा आयोगले एक विज्ञप्ति निकालेर दुई वर्षको अनुसन्धानमा तथ्याङ्क चोरी गरेको फेला परेको जनाएको छ ।आयोगले टिकटकलाई नियमअनुसार प्रक्रिया कार्यान्वयनमा ल्याउन तीन महिनाको समय दिएको छ । तथ्याङ्क चोरीबारे नियमनकारी संस्थाले सन् २०२१ को सेप्टेम्बरदेखि १८ वर्षभन्दा कम उमेरका प्रयोगकर्ताको व्यक्तिगत तथ्याङ्क सङ्कलन प्रक्रियाबारे टिकटकको अनुगमन शुरु गरेको थियो । तर, जरिबानापछि टिकटकले यो फैसलासँग सम्मानपूर्वक असहमत रहेको र अब कसरी अगाडि बढ्ने भन्नेबारे मूल्याङ्कन गरिरहेको जनाएको छ ।
-

काठमाडौंको गैह्रीगाउँमा चार जनाको सामुहिक हत्या
काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंको तीनकुनेमा एकै परिवारका तीनसहित चार जनाको विभत्स हत्या भएको छ । गैह्रीगाउँको दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार भएको अवस्थामा चार जनाको शव भेटिएको प्रहरीले जनाएको छ ।
हत्या हुनेहरूमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापालाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरूको शरीरका विभिन्न ठाउँमा धारिलो हतियार प्रहार भएको गहिरो चोट छ । प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
-

धर्मगुरु गिरीले पाए बलात्कार मुद्दामा सफाई
काठमाडौं । धर्मगुरु कृष्णबहादुर गिरीले बलात्कार मुद्दामा सफाई पाएका छन् । जिल्ला अदालत सुनसरीले आफ्नै अनुयायीमाथि जबरजस्ती करणीको आरोप लागेका सिद्धबाबा भनिने धर्मगुरु गिरीलाई सफाइ दिएको हो । बुधबार न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले दाबी नपुग्ने ठहर गर्दै सफाइ दिएको हो ।
सिद्धबाबालाई यसअघि पनि जिल्ला अदालत सुनसरीले सफाइ दिएको थियो ।तर उच्च अदालतल विराटनगरले फेरि प्रमाण बुझेर फैसला गर्न भन्दै जिल्लामा नै पठाएको थियो । जिल्लाले दोस्रो पटक उनलाई सफाइ दिएको हो । धर्मगुरु गिरीमाथि चतरास्थित आश्रममा महिला अनुयायीमाथि करणी गरेको आरोप लागेको थियो । हिरासत अवधी अस्पतालमा बसेका गिरीलाई १४ पुस २०७६ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश राधाकृष्ण उप्रेतीको इजलासले तीन लाख धरौटीमा पुर्पक्षका लागि छाड्ने आदेश दिएको थियो ।
२२ मंसिर २०७७ मा जिल्ला अदालत सुनसरीका तत्कालीन न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले गिरीलाई सफाइ दिएको थियो । ३ जेठ २०७९ मा उच्च अदालत विराटनगरका कामु मुख्यन्यायाधीश सत्यमोहन जोशी थारु र किरणकुमारी गुप्ताको इजलासले जवरजस्ती करणी मुद्दामा सफाइ दिने जिल्लाको फैसलामा गम्भीर त्रुटी देखाउँदै पुनप्रमाण बुझेर न्याय निरुपण गर्न आदेश दिएको थियो । उच्चको फैसलापछि जिल्लामै फर्किएको मुद्दा २०७९ असार १४ गते फेरि मुद्दा दर्ता भएको थियो । पुन दर्ता भएको मुद्दामा अदालतले दाबी नपुग्ने ठहर गरेको हो ।
-

सुन तस्करीको अनुसन्धान प्रतिवेदन आज प्रहरीले बुझाउदै
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युुरो (सीआईबी)ले करिब ६१ किलो सुन तस्करी प्रकरण सम्बन्धी अनुसन्धान प्रतिवेदन आज सरकारी वकिलको कार्यालयमा बुझाउँदै छ । यसबारे जानकारी दिन सीआईबीले आज ११ः३० बजे पत्रकार सम्मेलन समेत आयोजना गरेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार हुँदै बाहिरिएको ब्रेक-सु सहितको सुन गत साउन ३ गते राजश्व अनुसन्धान विभागको टोलीले सिनामंगलबाट बरामद गरेको थियो । सुरुमा ब्रेक सुसहितको तौल १५५ किलो भए पनि त्यसबाट सुनमात्र निकालेर जोख्दा ६० किलो ७१६ ग्राम भएको थियो ।
सुरुका १८ दिनसम्म राजश्व अनुसन्धान विभागले सुन तस्करी प्रकरणको अनुसन्धान गरेको थियो । अनुसन्धानको क्रममा सुन तस्करीमा संगठित गिरोह संलग्न भएको पाइएपछि थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिइएको थियो
सुन तस्करीमा संलग्न भएको भन्दै प्रहरीले भन्सार कार्यालयका कर्मचारी, पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल तथा केही चिनियाँ र भारतीय नागरिकहरुलाई पक्राउ गरेको छ ।
आरोपीविरुद्ध संगठित अपराध, सुन चोरी पैठारी र राष्ट्र बैंक ऐनअन्तर्गत कसुरमा मुद्दा चलाउन राय दिने सीआईबीको तयारी छ
-

सर्वोच्चको आदेशपछि कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, कार्की मूख्यमन्त्री बन्ने
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापा पदमुक्त भएको फैसला सुनाएको छ । साथै प्रदेशसभाको सबभन्दा ठूलो दल नेकपा एमालेका संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई ४८ घण्टाभित्र नयाँ मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ ।
आदेशको संक्षिप्त विवरण तयार पारेपछि न्यायाधीश सपना प्रधान मल्ल इजलासमा पुगेर बुँदागत रूपमा संक्षिप्त विवरण सुनाएकी थिइन् । त्यसक्रममा उनले कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषद्लाई लामो समयसम्म तदर्थमा राखिराख्नु उचित नहुने भएकाले ४८ घन्टाभित्र कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको बताइन् ।
१६ साउनमा मुख्यमन्त्री नियुक्त भएका थापाले प्रदेशसभा बैठकको अध्यक्षता गरेका इस्राइल मन्सुरीलाई मतदान गर्न लगाएर ४ भदौमा प्रदेश सभाबाट विश्वासको मत लिएका थिए । त्यसविरुद्ध एमाले संसदीय दलका नेता कार्की सर्वोच्च आए । त्यही मुद्दामा न्यायाधीशहरू सपना प्रधान मल्ल, डा. कुमार चुडाल र नहकुल सुवेदीको पूर्ण इजलासले प्रदेशसभाको अध्यक्षता गरेका मन्सुरीले दिएको मत संविधानसम्मत भन्न नमिल्ने ठहर गरेको छ ।
संविधानको धारा १८६ मा प्रदेशसभाको अध्यक्षता गर्ने व्यक्तिलाई मतदानको अधिकार हुनेछैन भनिएको छ । साथै प्रतिबन्धात्मक वाक्यांशमा मत बराबर भएमा मात्र अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ भनिएको छ । यो व्यवस्था सभामुख वा उपसभामुखका लागि मात्र नभई अध्यक्षता गरेका व्यक्तिलाई समेत भएको सर्वोच्चको पूर्ण इजलासको ठहर छ ।
बहसका क्रममा मुख्यमन्त्री थापाको तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले १८६ कुनै प्रस्ताव पास गर्दा मात्र लागू हुने तर्क गरेका थिए । संविधानको धारा १८८ अनुसार मुख्यमन्त्रीले विश्वासको मतमा प्रदेशसभाको सम्पूर्ण सदस्यको मतको बहुमत हेरिने भएकाले बैठकको अध्यक्षता गरेको व्यक्तिले मत दिनसक्ने उनीहरूको तर्क थियो ।
सर्वोच्चले भने संविधानमा प्रदेशसभा बैठकको अध्यक्षता सम्बन्धी व्यवस्था १६८ बाहेक अर्को धारामा नभएकाले सबै अवस्थामा यही लागू हुने ठहर गरेको छ । अर्थात् विश्वासको मत लिने क्रममा बराबर मत आए मात्र प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिले मत दिन पाउँछ ।
४ भदौमा भएको मतदानमा बराबरी मतको अवस्था नआएको अवस्थामा मन्सुरीले मत दिएकाले यो संविधान, संविधानवादको मान्य सिद्धान्त तथा सर्वोच्चबाट प्रतिपादित नजीर सिद्धान्तको समेत प्रतिकूल भएको सर्वोच्चको ठहर छ ।
पूर्ण इजलासको फैसलामा भनिएको छ— ‘उल्लेखित प्रस्तावमा निजले गरेको मतदान, त्यो मत समेत गणना गरी उक्त प्रस्ताव प्रदेशसभाको बहुमतबाट पारित भएको भनी सो प्रदेशसभाले गरेको २०८०\०५\४ को निर्णय तथा उक्त निर्णयको जानकारी गराउन सोही मितिमा प्रदेश प्रमुखलाई गरेको पत्राचार लगायतका काम–कारबाही उत्प्रेषणको आदेशद्वारा बदर हुने ठहर्छ ।’
साथै थापाले संविधानको धारा १६८ ९४० अनुसार प्रदेशसभाको विश्वासको मत पाएको नदेखिएकाले स्वतः मुख्यमन्त्री पदबाट पदमुक्त हुने सर्वोच्चको फैसला छ ।
एमाले संसदीय दलका नेता कार्कीले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेशको पनि माग गरेका थिए । सर्वोच्चले त्यसलाई पनि स्वीकार गर्दै ४८ घण्टाभित्र गर्न परमादेश दिएको छ ।
नेपालको संविधान र अवलम्बन गरेको संवैधानिक प्रणालीका दृष्टिकोणले प्रदेश मन्त्रिपरिषद् गठन, निरन्तरता वा विघटनको निर्णय प्रदेशसभाबाटै हुने विषय हो भन्नेमा इजलास प्रष्ट रहेको फैसलामा उल्लेख छ ।
तर अघिल्लो मुद्दामा सर्वोच्चले १६८ (२) बमोजिम गठित मन्त्रिपरिषद्ले विश्वासको मत प्राप्त गर्न नसके (३) मा जाने स्मरण गराएको भन्दै फैसलामा भनिएको छ– आदेश अनुसार नै उपधारा (२) बमोजिम गठित मन्त्रिपरिषद्ले ऐ उपधारा ९४० बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेको यस स्थितिमा पुनः सोही उपधारा बमोजिम विश्वासको मत प्राप्त गर्ने प्रक्रिया पुनरावृत्ति गर्नु संविधानसम्मत हुने देखिएन ।’
एउटै विकल्पमा पटक–पटक नगई संविधान बमोजिमको विकल्पमा प्रवेश गर्नु संवैधानिक अभ्यासको विकासका दृष्टिले उचित हुने भन्दै सर्वोच्चले ‘संवैधानिक व्यवस्था तथा यस अदालतबाट भएको पूर्व आदेश बमोजिम उपधारा ९३० बमोजिम प्रदेशसभामा सबैभन्दा बढी सदस्यहरू भएको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने देखिन आयो’ भनेको छ ।
साथै ४८ घण्टाभित्र १६८ ९३० बमोजिमको प्रक्रियाबाट मन्त्रिपरिषद् गठन गर्न परमादेश दिएको छ । प्रदेशको कार्यकारिणी अधिकार निहित मन्त्रिपरिषद्लाई लामो समयसम्म तदर्थ अवस्थामा राखिराख्नु उचित नहुने भएकाले समय तोकेर आदेश दिएको इजलासको तर्क छ ।
-

सुन तस्करीको अनुसन्धान गर्न प्रहरीको टोली भारत पुग्यो
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एउटा टोली भारत पठाएको छ । सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई भारत पठाएको हो । थप अधिकृतलाई पनि भारत पठाउने तयारी भइरहेको समेत जनाइएको छ ।
हङकङबाट ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन ३ साउनमा बरामद भएको थियो । १९ दिनसम्म राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेर यसमा संगठित अपराधको तत्व देखिएको थप अनुसन्धानका लागि सीआईबीलाई हस्तान्तरण गरिएको थियो । त्यसक्रममा सीआईबीले सुन आउने ठाउँ हङकङमा केही कागजातको संलकन र तथ्यहरुको प्रमाणिकरणका लागि एसएसपी दिनेश आचार्यलाई पठाएको छ भने दिल्लीमा भण्डारीलाई पठाएको हो ।
हङकङबाट आएको सुनको गन्तव्य भारत गएकाले त्यहाँको नेक्ससबारे भारतीय पक्षसँग समन्वय गरेर भण्डारीले सूचना संकलन गर्ने एक अधिकृतले बताए । सीआईबीले हालसम्म यो प्रकरणमा २५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जना विदेशी नागरिक छन् । सुन तस्करीमा चिनियाँ नागरिकहरुको मुख्य भूमिका देखिएको छ । नेपालको पाटाको व्यवस्थापन बेल्जियन नागरिक दावा छिरिङले गरेको आशंका गरिएको छ । -

नेपालमा बरामद सुनबारे हङकङ पुगेर अध्ययन गर्दै सीआइबी
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एक जना अधिकृतलाई सूचना संकलनका लागि हङकङ पठाउने भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुवेर कडायतले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिए। एसएसपी आचार्य चाँडै आचार्य हङ्कङ जाने पनि उनले बताए।
गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ। सिआइबीले यही भदौ ८ गते आवश्यक सूचना र जानकारी भए सिआइबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोध गरिसकेको छ।
सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ। सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्ने दलहरूबीच सहमतिपछि लामो समयदेखि अवरुद्ध बनेको संसद् सञ्चालन भएको थियो। रासस
-

ग्रीसमा अपहरण, नेपालमा फिरौती माग
काठमाडौं । ग्रीसमा नेपालीलाई अपहरण गरी फिरौती रकम लिएको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा महालक्ष्मी नगरपालिका ५ का ३२ वर्षीय शिव राज कुँवर, काठमाडौं तार्केश्वर नगरपालिका ५ कुमालटार बस्ने ५६ वर्षीय रामेश्वर अर्याल, कपिलवस्तु शिवराज नगरपालिका १ का ३२ वर्षीय प्रकाश बेलाबासे र पर्वत फलेवास नगरपालिका १ शंखपोखरी का ४२ वर्षीय दिल बहादुर थापा रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)को टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो ।
प्रहरीका अनुसार थप अनुसन्धानको क्रममा ग्रिस तथा दुवईबाट ह्वाटस् एपमार्फत पीडित परिवारहरूलाई सम्पर्क गरी नेपाली २१ लाख ७५ हजार रुपैयाँ फिरौती रकम नेपालमा लिने कुँवरलाई गौरिघाटबाट भदौ २ गते, फिरौती लिएको रकम कुँवरसँग लिन सम्पर्क भएका अर्याललाई काठमाडौं तार्केश्वरबाट भदौ ३ गते, दुवईबाट नेपालमा कुँवरलाई फिरौती रकम लिन लगाउने तथा अर्याललाई रकम दिनु भन्ने बेलबासेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते र दुबईमा बेलबासेलाई रकम नेपालको अर्याललाई दिनु भनि सम्पर्क नम्बर दिने थापालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भदौ ६ गते पक्राउ गरेको हो ।
पक्राउ परेका उनीहरूमाथि अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
-

प्राधिकरणको स्पष्टीकरण विरुद्ध अदालत गएका बालेनको रिट खारेज, तिर्नुपर्ने हुनसक्छ जरिवाना
काठमाडौं । महानगरपालिकाका प्रमुख बालेन शाहले नागरिक उड्डयन प्राधिकरणविरूद्ध हालेको रिट खारेज भएको छ। काठमाडौंको सिनामंगलस्थित प्राधिकरणको भवन नक्सा पास नगरी बनाएको भन्दै महानगरपालिकाले गत जेठमा काम रोकेको थियो। त्यस क्रममा नगर प्रहरीको टोलीले फेन्सिङ तारबार पनि काटिदिएको थियो।
महानगरले बलजफ्ती गरेको भन्दै प्राधिकरणले महानगर प्रमुख बालेनलाई स्पष्टीकरण सोधेको थियो। प्रमुख बालेनले प्राधिकरणलाई स्पष्टीकरण नदिएर अदालतमा रिट दर्ता गराएका थिए। तर, अदालतले गत असार १२ गते सम्बन्धित रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरी अल्पकालीन आदेश जारी गरेको थियो।
आज भने उच्च अदालत पाटनले उनको रिट खारेज गरिदिएको छ। त्यससँगै प्रमुख बालेनले नागरिक उड्डयन प्राधिकरणमा स्पष्टीकरण दिनुपर्ने भएको छ। स्पष्टीकरण नदिएमा नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को व्यवस्थाअनुसार ५० हजार रूपैयाँसम्म जरिवाना गराउने सक्ने व्यवस्था छ।
-

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अभियोगमा बैंकका ६ कर्मचारी पक्राउ
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको प्रमाणपत्र समकक्षता पत्र कीर्ते गरेको आरोपमा प्रहरीले सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको चालकटोल बुटवल शाखामा कार्यरत मनिषा मास्के, मणिग्राम शाखाका गोमा ज्ञवाली, कालीकानगर शाखाका कल्पना खत्री र प्रतीक्षा रेग्मी, बुटवल शाखाका खिमडा गौतम तथा दीपक विष्ट रहेका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार पक्राउ परेका ६ जनामध्ये दीपक विष्टलाई काठमाण्डौबाट र अन्यलाई रूपन्देहीको बुटवलबाट पक्राउ गरिएको हो । -

ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले ललिता निवास प्रकरणमा पूर्वमुख्य सचिव लीलामणि पौड्यालसँग सोधपुछ गरेको छ। ब्युरोले उनलाई बोलाएर बालुवाटारको ललिता निवास प्रकरणमा उनको संलग्नताबारे सोधपुछ गरेका हो । पौड्यालले २०६९ साउन २२ गतेदेखि २०७२ साउन २१ गतेसम्म मुख्य सचिव थिए।
गत साउन २१ गते मात्रै सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा मन्त्रिपरिषदका निर्णयकर्ताहरूमाथि पनि छानबिन गर्न आदेश दिएको थियो। अदालतले २०६६ चैत २९ गते, २०६७ वैशाख ३१ गते, २०६७ साउन २८ गते र २०६९ असोज १८ गते मन्त्रिपरिषद बैठकबाट भएका निर्णय र त्यस निर्णयमा सहभागीहरूमाथि अनुसन्धान गर्न आदेश दिएको हो।
उक्त आदेशसँगै सिआइबीले त्यसतर्फ पनि अनुसन्धान केन्द्रित गरेको हो। २०६६ र २०६७ सालमा माधव नेपाल प्रधानमन्त्री थिए भने २०६९ सालमा बाबुराम भट्टराई प्रधानमन्त्री थिए। ललिता निवासको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याउन भूमिका खेलेको आरोप उनीहरूमाथि छ। माधव नेपाल नेतृत्वको मन्त्रिपरिषदले प्रधानमन्त्री निवास बालुवाटार विस्तार गर्ने निर्णय गरेको थियो। विस्तार गर्दा व्यक्तिका नाममा भएका जग्गा सट्टापट्टा गर्ने निर्णय भएको थियो। त्यही बेला नक्कली मोही खडा गरेर बालुवाटारको जग्गा व्यक्तिका नाममा पुर्याइएको थियो।
नक्कली मोही हुँदै बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा पुर्याएको आरोप २०६९ सालमा बाबुराम भट्टराई नेतृत्वको सरकारलाई पनि लागेको हो। माधव नेपाल सरकारमा भौतिक योजना तथा निर्माण मन्त्री विजय गच्छदार थिए भने बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदमा भूमिसुधार मन्त्री चन्द्रदेव जोशी थिए। दुवै मन्त्रीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा चलाएको छ।
आयोगले नीतिगत निर्णयमा कारबाही गर्ने क्षेत्राधिकार नभएको भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र भट्टराईलाई मुद्दा चलाएको थिएन। उनीहरूलाई पनि मुद्दा चलाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट भने परेको छ। उक्त रिट विचाराधीन अवस्थामै रहेका बेला अदालतले मन्त्रिपरिषदका निर्णय र निर्णय कार्यान्वयन तथा प्रस्तावमा प्रत्यक्ष संलग्नमाथि अनुसन्धान गर्न बाटो खुल्ने गरी आदेश दिएको थियो। ललिता निवासको १४३ रोपनी जग्गा चार चरण गरी व्यक्तिको नाममा पुगेको सिआइबीले जनाएको छ।
-

नक्कली शैक्षिक प्रमाणपत्रको काण्डमा सांसदसहित ५ चिकित्सक पक्राउ
काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा पक्राउ पर्ने चिकित्सकको संख्या ५ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चलाएको अपरेसन ‘फोक्सट्रोट चार्ली’ मा सांसद् सुनिल शर्मासहित पाँच जना पक्राउ परेको सीआईबीले जनाएको छ ।
पक्राउ पर्ने अन्यमा पिपरा–८, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पताल मा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाह छन् । शाहलाई सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो भने यादवलाई रौतहटबाट पक्राउ गरिएको हो ।
सीआईबीले नक्कली शैक्षिक प्रमाण पत्र भएका चिकित्सकहरुविरुद्ध बिहीबार दिउँसो उपत्यकासहित विभिन्न जिल्लामा एकसाथ अपरेशन चलाएको थियो । त्यहीक्रममा पाँच जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई ब्यूरोले लाजिम्पाटस्थित नयाँ कार्यालयमा राखेको छ ।
अपराह्न शर्मालाई गोल्फुटारस्थित घरबाट पक्राउ गरेको थियो । उनले आईएस्सीको शैक्षिक प्रमाण पत्र नक्कली लिएर थप अध्ययन गरेको सीआईबीले जनाएको छ । बिहीबारै सीआईबीले उनी पक्राउ परेको बारे संसद् सचिवालयलाई जानकारी गराइसकेको छ ।
-

नक्कली नोटसहित तीन जना पक्राउ
काठमाडौं । काठमाडौंको गोलढुंगाबाट नक्कली नोटसहित तीन जना पक्राउ परेका छन्। मंगलबार साँझ तारकेश्वर नगरपालिका वडा नम्बर ५ गोलढुंगा नगिनी खोला अगाडिबाट सशस्त्र प्रहरी बलले नक्कली नोटसहित तीन जनालाई पक्राउ गरेको सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
स्थानीय हिम्मत बमको घरको भुइँतलामा भाडामा बस्ने खोटाङ दिप्रुङ गाउँपालिका–५ का लक्ष्मी पाण्डे, लमजुङ दोर्दी गाउँपालिका–२ का सुवास गुरूङ र रामेछाप गोकुलगंगा गाउँपालिका–१ का मदन दमाईलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरूको डेरा कोठाबाट नक्कली नेपाली रूपैयाँ एक हजारको एक सय ८२ थान र नोट बनाउन प्रयोग हुने कागज दुई सय थान बरामद भएको छ।
यसैगरी मोबाइल चार थान, सिमकार्ड दस थान र बा६५प ९०२७ नम्बरको मोटरसाइकल पनि बरामद गरिएको छ। नोट छाप्न प्रयोग हुने मेसिन फेला नपरेकाले अन्यत्रबाट नक्कली नोट बनाएर त्यहाँ ल्याइराखेको आशंका प्रहरीको छ। बरामद गरिएको सामानसहित उनीहरूलाई आवश्यक कारबाहीका लागि स्थानीय प्रहरीलाई बुझाइएको छ।
-

व्यापारिक भवनले पार्किङ शूल्क लिन नपाउने महानगरको निर्णयमा अदालतको रोक
काठमाडौं । काठमाडौं महानगरपालिकाले व्यापारिक भवनहरूलाई आफ्ना सेवाग्राहीसँग पार्किङबापतको शुल्क लिन लगाएको रोक उच्च अदालत पाटनले कारण देखाऊ तथा अल्पकालीन अन्तरिम आदेश जारी गर्दै हाललाई त्यसमा कुनै हस्तक्षेप नगर्न आदेश दिएको छ ।
काठमाडौं महानगरपालिकाले साउन १० गते व्यापारिक कम्प्लेक्सहरुलाई आफ्ना सेवाग्राहीसँग पार्किङ शुल्क नउठाउन सूचना जारी गरेको थियो । यसविरुद्ध कम्प्लेक्स डेभलपर लिजर एसोसिएसनले उच्च अदालतमा रिट दायर गरेको थियो । अदालतले सो विषयमा छलफल गरेर मात्रै अन्तिम टुंगोमा पुग्न सकिने बताउँदै दुवै पक्षलाई ३० गते अदालतमा उपस्थित हुनसमेत भनेको छ ।
‘यसमा निवेदकले अन्तरिम आदेश समेतको माग गरेकोले सो सम्बन्धमा दुवै पक्षहरूबीच छलफल गराई निष्कर्षमा पुग्न मनासिव देखिएकाले सो प्रयोजनार्थ मिति २०८०-४-३० को पेसी तोकी विपक्षीलाई म्याद सूचना जारी गर्नू,’ न्यायाधीश राजेन्द्र खरेलको एकल इजलाशले जारी गरेको आदेशमा भनिएको छ ।
-

प्रधानन्यायाधीमा श्रेष्ठ सिफारिस
काठमाडौं । संवैधानिक परिषद्ले सर्वोच्च अदालतका भावी प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको संवैधानिक परिषद्को बैठकले उक्त निर्णय गरेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले शनिवारबाट अवकाश पाउँदै छन्।
संसद्को संसदीय सुनुवाई समितिले प्रधानन्यायाधीशमा प्रस्तावित श्रेष्ठको नाम अनुमोदन गरेपछि मात्रै उनले न्यायपालिकाको सर्वोच्च पद सम्हाल्नेछन्। सत्तापक्ष र प्रमुख प्रतिपक्षीबीचका मतभेदले संसद्मा गतिरोध निम्त्याइरहेका बेला संवैधानिक परिषद्मा त्यसको प्रभाव कस्तो देखिएला भन्ने चासो अन्तिम समयसम्म कायमै थियो।
अझ मङ्गलवार बसेको संवैधानिक परिषद्को बैठकमा प्रधानन्यायाधीश हरिकृष्ण कार्की सबैभन्दा पुछारको आसनमा बसेको देखिएपछि मर्यादाक्रम मिचिएको भन्दै उक्त घटनालाई न्यायपालिका भित्रैबाट अस्वाभाविक रूपमा लिइएको थियो। कार्कीले आफ्ना पूर्ववर्तीमाथि संसद्मा दर्ता गराइएको महाभियोग प्रस्तावका कारण गएको वर्ष असोजमा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी पाए पनि बल्ल वैशाखको अन्तिममा आएर मात्रै संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस हुन पाएका थिए। तर बिहीवार साँझ सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठक सामान्य ढङ्गले नै चल्यो।
बिहीवारको बैठकमा भने मर्यादाक्रम अनुसार नै बसाइ मिलाइएको थियो। सन् १९५९ अक्टोबरमा सिलगडी डोटीमा जन्मिएका श्रेष्ठ सन् १९८२ मा शाखा अधिकृतको अस्थायी नियुक्तिसहित कानुन तथा न्याय मन्त्रालयमा आबद्ध भएका थिए। मूल घर कैलाली रहेका उनीसँग जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतहरूमा काम गरेको लामो अनुभव छ।
सन् १९८८ मा दार्चुला जिल्ला अदालतमा न्यायाधीश रहेका उनी सन् २००६ बाट तात्कालिक पुनरावेदन अदालतमा आबद्ध भएका थिए। उनी पुनरावेदन अदालतको मूख्य न्यायाधीश पनि बने। पछि सन् २०१६ मा उनले सर्वोच्च अदालतमा प्रवेश पाए।
उनले उमेर हदका कारण १४ महिनाजति प्रधानन्यायाधीशको जिम्मेवारी सम्हाल्न पाउने छन्। हालैका वर्षहरूमा न्यायपालिकाको नेतृत्वमाथि नै प्रश्न उठ्ने र विगतमा कहिल्यै नदेखिएका विवादहरू सतहमा आएको पृष्ठभूमिमा न्यायपालिकाप्रति जनआस्था बढाउनु उनको मुख्य चुनौती हुने कतिपय विज्ञहरूले बताउने गरेका छन्।
-

बौद्धबाट सर्वसाधारणलाई धम्क्याउने पाँच जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकाको बौद्ध जोरपाटी क्षेत्रमा सर्वसाधारणलाई डर धम्की दिएर रकम असुल गर्ने पाँचजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवम् सूचना अधिकारी प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार सिन्धुपाल्चोक र रामेछाप स्थायी घर भएर काठमाडौं बस्दै आएका पाँचजना बुधबार पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा श्यामबहादुर लामा, विक्की लामा, भीमबहादुर बस्नेत, गोविन्द गजमेर र प्रवीण तामाङ छन्। उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ को दफा ११८ को अभद्र व्यवहार गर्न नहुने कसुरमा थप अनुसन्धानका लागि बुधबार प्रहरी वृत्त बौद्धमा पठाइएको प्रहरीले जनाएको छ।
-

क्वार्टरमा मदिरा सेवन गरेको भिडियोमा युवतिसँगै लाइभ भएपछि मन्त्रालय तानिए डमरु
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डमरूप्रसाद निरौलालाई हाजिर हुन पत्र लेखेको छ। सोमबार निरौलासँग केही कुरा बुझ्नुपर्ने भएकाले २४ घण्टाभित्र मन्त्रालयमा उपस्थित हुन अनुरोध गरेको हो।
‘तपाईंसँग केही कुरा बुझ्नु पर्ने भएको हुँदा २४ घण्टाभित्र यस मन्त्रालयमा उपस्थित हुन साउन १५ को निर्णयानुसार अनुरोध छ,’ उक्त पत्रमा भनिएको छ। आफ्नो क्वार्टरमा एक युवतीसँग मापसे गर्दै टिकटकमा लाइभ आएपछि उनी विवादमा तानिएका हुन्। भिडियो सार्वजनिक भएपछि उनले कोठामा रंग लगाएर फेरेका छन् ।
-

साँवा ब्याज तिर्न नसक्दा यौन शोषण गर्दै घरजग्गा हडप्ने व्यक्ति पक्राउ
साँवा ब्याज तिर्न नसक्दा यौन शोषण गर्दै घरजग्गा हडप्ने व्यक्ति पक्राउ
काठमाडौं । उपचारका लागि ऋण लिएको पाँच लाख रुपैयाँको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा ललितपुरको ठेचोकी ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको खुलासा भएपछि मिटरब्याजी सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ ।ललितपुर ठेचोका सुर्जमान मालीलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो । पीडित महिलाले ०७५ सालमा श्रीमान बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ऋण लिएकी थिइन् ।
सुर्जमानले पाँच लाख रुपैयाँ ऋणको मासिक ब्याज मात्रै ५० हजार तिर्नुपर्ने भनेपछि पीडित महिलाले पाँच लाख रुपैयाँको मासिक ५० हजारका दरले दुई पटक ब्याज तिरेकी थिइन् । साँवा घटाउने उद्देश्यले उनले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानको हातमा थमाइन् । सुर्जमानले भने साँवा नकटाएर ब्याजमात्रै कटाए । त्यसमाथि सुर्जमानले ऋण र ब्याज एकमुष्ट तिर्न ताकेता गरिरहन्थे ।
उनले तिर्न नसकिरहेको बेलामा ऋणब्याज मिनाहा गरिदिने बाध्यतामा पारेर सुर्जमान र उनका साथीहरुले पीडित महिलालाई चार पटक बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ । साथै महिलाले माइतीबाट पाएको घरजग्गा नै सुर्जमानले हडपेको प्रहरीले जनाएको छ । सुर्जमानले जिल्ला अदालत ललितपुरमा नक्कली कागजात खडा गरेर ती पीडित महिला बस्दै आएको घर हडपेका थिए ।
पीडित महिलाले आफूमाथि भएको ज्यादतीबारे शुक्रबार दिउँसो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर सुनाएपछि गृहमन्त्री श्रेष्ठले सुर्जमानलाई कानुनी कारबाहीको दायरामा ल्याउन ललितपुरका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका थिए । अनुचित लेनदेन (मिटरब्याज) को समस्या समाधान गर्न गठित आयोगले जिल्ला प्रशासन कार्यालयलाई साहु र ऋणीलाई छलफल गराएर लेनदेन मिलाउने अधिकार दिएको छ ।
-

१ लाख घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार पक्राउ
काठमाडौं । सेवाग्राहीबाट एक लाख रुपियाँ घुस लिएको अभियोगमा प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालबाट खटिएको टोलीले केहीबेर अघि नियन्त्रणमा लिएको छ ।
आयोगको टोलीले प्रहरी प्रभाग बूढानीलकण्ठमा कार्यरत प्रहरी वरिष्ठ हवल्दार सिंहलाई नियन्त्रणमा लिएको जानकारी आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनका अनुसार, सिंहले कुख्रेखोलाको ढल सफाइ तथा निकास व्यवस्थापन गर्दा निस्कने बालुवा व्यवस्थापनको सहजीकरण गरेवापत सेवाग्राहीबाट सो रकम लिएको अवस्थामा नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ । सिंहलाई बूढानीलकण्ठ नगरपालिका वडा नं. २ वासिकबाट नियन्त्रणमा लिइएको हो
-

आन्दोलनमा उश्रृङ्खल गतिविधि गर्नेलाई कांग्रेसले हटाउने
काठमाडौं । नेपाली कांग्रेसले पार्टी सम्वद्ध कार्यकर्ताले आन्दोलनका क्रममा अमर्यादित व्यवहार गरे निष्कासन गर्ने निर्णय गरेको छ । बुधबार सकिएको केन्द्रीय समिति बैठकले आन्दोलनका नाममा उश्रृङ्खल गतिविधि गर्नेलाई सम्बन्धित पार्टी संरचनाले निष्कासन गर्नसक्ने निर्णय गरेको छ ।
‘कुनैपनि प्रकृतिका मागहरु अघि सारेर आन्दोलन गर्ने क्रममा अमर्यादित व्यवहार अथार्त शारिरीक आक्रमण, कालोमोसो दल्नेको पार्टी सदस्यता अबिलम्ब खारेज गर्ने निर्णय गरिएको छ,’ महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा सुनाए ।
पछिल्लो समय विभिन्न क्याम्पस लगायत शिक्षण संस्थामा शिक्षक, प्राध्यापकमाथि मोसो दल्ने, हुलहुज्जत गर्नेहरुमा कांग्रेस भ्रातृसंस्थाका विद्यार्थी तथा कार्यकर्ता संलग्न हुँदै आएको भनी आलोचना हुँदै आएको थियो। यसबारेमा कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पनि कुरा उठेको थियो ।
-

निर्वाचन खर्च नबुझाउने उम्मेदवारलाई तोकियो जरिवाना
काठमाडौं । निर्वाचन आयोगले २०७९ मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यमा उम्मेदवारलाई निर्वाचन खर्च विवरण पेस नगर्ने उम्मेदवारलाई १५ हजार रुपियाँ जरिवाना तोक्ने निर्णय गरेको छ।
आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मंगलबार विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभातर्फ २३ सय ७४ र प्रदेश सभातर्फ ३१ सय ८८ जना समेत गरी जम्मा ५५ सय ६२ लाई ऐन बमोजिम निर्वाचन खर्च विवरण सार्वजनिक गर्न लिखित जानकारी गराइएको थियो।
यसमा विवरण सार्वजनिक नगर्ने प्रतिनिधि सभातर्फका १०३७ र प्रदेश सभातर्फका १३ सय ९८ गरेर जम्मा २४ सय ३५ जनालाई १५ हजार रुपियाँका दलले जरिवाना गर्ने निर्णय गरिएको जानकारी दिए ।
-

पोल्याण्ड पठाइदिन्छु भनेर ठगि गर्ने एक जना पक्राउ
काठमाडौं । पोल्याण्ड पठाइदिन्छु भनी रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका २ घर भई हाल हाल ललितपुरको महालक्ष्मी नगरपालिका १ बस्ने ४२ वर्षीय पुष्पराज जोशी रहेका छन् । उनलाई अपराध अनुसन्धान कार्यालयको टोलीले बानेश्वरबाट पक्राउ गरेको हो ।
पक्राउ परेका उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको अपराध अनुसन्धान कार्यालयका प्रवक्ता रविन्द्र रेग्मीले जानकारी दिए । जोशीले पोल्याण्ड पठाइदिन्छु भन्दै पटक पटक गरेर पीडितसँग १ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीको आरोप छ ।
