Category: कानुनी कुरा

  • नेपाली कप्तान रोहितसँग झगडामा उत्रिएका बंगलादेशी बलर आइसीसीको कारवाहीमा

    नेपाली कप्तान रोहितसँग झगडामा उत्रिएका बंगलादेशी बलर आइसीसीको कारवाहीमा

    काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले टी(२० विश्वकप २०२४ मा आइतबार नेपालका कप्तान रोहित पौडेलसँग झगडा गर्ने बंगलादेशका तीव्र गतिका बलर तान्जिम हसन सकिबलाई कारबाही गरेको छ । आईसीसीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनलाई कारबाही गरेको जनाएको छ । उनको म्याच फिको १५ प्रतिशत रकम काटिनेछ । सेन्ट भिन्सेन्टमा नेपालले १०७ रनको लक्ष्य पछ्याउनेक्रममा तान्जिम र रोहितबीच तेस्रो ओभरको अन्तिम बलपछि उक्त घटना भएको थियो ।

    ओपनर कुशल भुर्तेललाई ४ रनमा बोल्ड र अनिल साहलाई शून्यमा क्याच आउट गर्दै उनले डबल विकेट मेडन राखेका थिए । त्यसपछि उनले पिचको मध्य भागमा आएर रोहितलाई केही भन्न पुगे । रोहितले पनि आक्रोसित हुँदै उनलाई जवाफ तुरुन्त फर्काएका थिए । तान्जिमले रोहितलाई हातले धक्का समेत दिएका थिए । ताम्जिमलाई लिटन दास र रोहितलाई आसिफ शेखले थप झगडा गर्नबाट रोकेका थिए । उक्त घटना लगत्तै अम्पायरले बंगलादेशका कप्तान नाज्मुल हसन सान्टोलाई बोलाएर केही भनेका थिए ।

    आईसीसीको आचार संहित २.१२ खेलाडी र खेलाडी समर्थकबीचको नियम उंलङ्घन गरेको हुँदा उनी कारबाहीमा परेका हुन् । उक्त खेलका म्याच रेफ्री रिचर्ड्सनसँग तान्जिमले गल्ती स्वीकार गरेका छन् । यता खेलपछि रोहितले उक्त समयमा बलिङ गर्न जान भनेको जवाफ दिएका थिए ।

    नेपाललाई ८५ रनमा अल आउट गर्न तान्जिमले ४ ओभरमा २ मेडनसहित ७ रन खर्चेर ४ विकेट लिएका थिए । उनकै बलमा रोहित ब्याकवार्ड प्वाइन्टमा १ रनमा रिशाद हसनबाट क्याच आउट भएका थिए । २४ मध्य २१ बल डट राखेका थिए । बंगलादेशले नेपाललाई २१ रनले हराउँदै समूह डी बाट ६ अंकका साथ सुपर ८ मा स्थान बनाएको थियो । नेपाल ४ खेलमा १ अंकका साथ समूह चरणबाटै बाहिरिन पुग्यो ।

  • सिंहदरबारकै क्यान्टिनमा बालश्रमिक, महानगरले गर्यो उद्धार

    सिंहदरबारकै क्यान्टिनमा बालश्रमिक, महानगरले गर्यो उद्धार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारभित्र रहेका मन्त्रालयका क्यान्टिनबाट बालबालिकाको उद्धार गरेको छ। महानगरको टोलीले बुधबार सिंहदरबारभित्र रहेको तीन मन्त्रालयका क्यान्टिनबाट बालबालिका उद्धार गरेको हो। सञ्चार, ऊर्जा, जलस्रोत तथा सिंचाइ र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको क्यान्टिनमा कार्यरत पाँच जना बालबालिकालाई उद्धार गरेको हो।

    पछिल्लो समय महानगरले १६ वर्षमुनिका बालबालिकालाई श्रममा लगाउन नपाइने भन्दै सार्वजनिक सूचना निकालेको थियो। तर पनि धेरै ठाउँमा बालश्रम गराइरहेको पाएपछि महानगरले बालबालिकको उद्धार गर्ने अभियान चलाएको छ। यसअघि महानगरले विभिन्न ठाउँमा श्रममा लगाएका बालबालिकालाई उद्धार गरेको थियो। उद्धार गरेका बालबालिकालाई मानव सेवा आश्रममा राखिँदै आएको छ।

  • निर्मल पूर्जामाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

    निर्मल पूर्जामाथि लाग्यो यौन दुर्व्यवहारको आरोप

    काठमाडौं । विवादित आरोही निर्मल पुर्जा (निम्स) माथि यौन दुर्व्यवहारको आरोप लागेको छ । अमेरिकी अखबार ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौंमा एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको आरोप लगाएकी हुन् । डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको बताएकी थिइन् । पुस्तकमा उनले निम्सको नाम नलिइ आफ्नो सहमतिविना ती व्यक्तिले चुम्बन गरेको भनेकी थिइन् ।

    शुक्रबार न्यूयोर्क टाइम्समा प्रकाशित रिपोर्टमा ती व्यक्ति निम्स भएको खुलाउँदै उनले होटलको कोठाभित्र के–के भएको थियो भन्ने पनि खुलाएकी छन् । उनका अनुसार, पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएको उल्लेख छ । आफुले इन्कार गर्दा समेत पूर्जाले यौन दुर्व्यवहार गरेको उनको आरोप छ ।

    न्यूयोर्क टाइम्सका अनुसार, यो आरोपमाथि निम्सले भने प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएको रिपोर्टमा उल्लेख छ ।

  • निर्वाचन नजिकिँदै गर्दा ट्रम्प माथि संकट, सबै मुद्दामा दोषि ठहर

    निर्वाचन नजिकिँदै गर्दा ट्रम्प माथि संकट, सबै मुद्दामा दोषि ठहर

    काठमाडौं । न्यूयोर्कको १२ सदस्यीय जुरीले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि लागेका सबै ३४ आरोप माथि दोषी करार गरेको छ । दुई दिनसम्म चलेको सुनुवाइ पछि जुरीले ट्रम्पलाई दोषी ठहर्‍याएको सीएनएनले जनाएको छ । अमेरिकाको इतिहासमा पहिलोपटक पूर्वराष्ट्रपति ट्रम्पविरुद्ध आपराधिक अभियोग दर्ज भएको थियो ।

    सन् २०१६ मा भएको राष्ट्रपति निर्वाचन अघि पोर्नस्टार स्टोर्मी डेनियल्ससँग यौन सम्बन्ध राखेको र उनलाई चुप लगाउन अनधिकृत रुपमा रकम दिएको आरोप ट्रम्पमाथि थियो । यसैगरी ट्रम्पले आफ्नो कारोबारको रकेर्डका कागजात हेरेफेर गरेको, राष्ट्रपति निर्वाचनको मत परिणाम प्रभावित पार्न संसद भवनमा तोडफोड गरेको लगायतका आरोपहरु पनि थिए । सबै ३४ आरोपमा जुरीले ट्रम्पलाई दोषी ठहर्‍याएको हो ।

    अब न्यायाधीश जुआन मर्चेनले ११ जुलाईमा ट्रम्पमाथि सजायँ सुनाउने छन् । ट्रम्पले भने आफूमाथि लागेका आरोप अस्वीकार गर्दै आएका छन् । कोर्ट रुमबाट बाहिरिँदै ट्रम्पले आफूले कुनै गलत काम नगरेको र निर्दोष रहेको जिकीर गरेका थिए । उनले आफू अन्तिमसम्म लड्ने र जित्ने दाबीसमेत गरे ।
    १५ जुलाईमा रिपब्लिकन पार्टीको राष्ट्रिय महाधिवेशन सुरु हुँदैछ । त्यसले औपचारिक रुपमा पार्टीको तर्फबाट राष्ट्रपति पदको उम्मेदवारको रुपमा ट्रम्पको नाम घोषणा गर्ने तयारी छ ।

  • हिरासतमुक्त भए सिरोहिया

    हिरासतमुक्त भए सिरोहिया

    काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् । जिल्ला प्रहरी कार्यालय, धनुषाले जिल्ला सरकारी वकिल कार्यालयको सहमति लिएर हाजिर जमानीमा उनलाई हिरासतमुक्त गरेको हो । मुलुकी फौजदारी कार्यविधि संहिताको दफा १५ (१) मा अनुसन्धान अधिकारीले कुनै व्यक्तिलाई हिरासतमा राखिरहनु आवश्यक नदेखेमा सरकारी वकिलको सहमतिमा हाजिर जमानीमा छाड्न सक्ने व्यवस्था छ । जिल्ला प्रहरी कार्यालय, धनुषाले उनको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासतमुक्त गरेको हो ।


    ८ जेठमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहिया स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएका थिए । मुटुसम्बन्धी समस्या भएका सिरोहियालाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो । हाल उनको नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा उपचार भइरहेको छ ।

    सोमबार तेस्रो पटक हिरासतमा राख्ने अनुमति दिँदा जिल्ला अदालत, धनुषाले उनको स्वास्थ्य अवस्थालाई देखाउँदै उपयुक्त अस्पतालमा लगेर स्वास्थ्य परीक्षण गराउन उपयुक्त हुने आदेश दिएको थियो । साथै अनुसन्धानमा ढिलाइ नगर्न प्रहरीलाई सचेत पनि गराएको थियो । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी प्रकरणमा श्रृंखलाबद्ध समाचार प्रकाशन भइरहेका बेला कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध प्रहरी कहाँ नागरिकतासम्बन्धी जाहेरी परेको थियो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका मधेश प्रदेश सदस्य इन्द्रजित महतोले दिएको जाहेरी धनुषा प्रहरीले १७ वैशाखमा जाहेरी दर्ता गरेको थियो । प्रहरीले सिरोहियालाई पक्राउ गर्न ८ जेठमा अदालतबाट अनुमति लिएको थियो । अदालतले पक्राउ गर्न अनुमति दिएकै साँझ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईसहितको टोलीले कान्तिपुरको थापाथलीस्थित कार्यालयबाट सिरोहियालाई नियन्त्रणमा लिएको थियो ।

  • सिरोहिया थप ३ दिन हिरासतमा रहने

    सिरोहिया थप ३ दिन हिरासतमा रहने

    काठमाडौं । नागरिकता कीर्तेको उजुरीमा अनुसन्धानका लागि पक्राउ परेका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन हिरासतमा रहने भएका छन् । दुई पटक ३–३ दिन गरी ६ दिन हिरासतमा बसिसकेका उनलाई प्रहरीले थप ५ दिन हिरासतमा राख्न अनुमति माग गर्दै सोमबार जिल्ला अदालत धनुषामा पेश गरेको थियो । तर जिल्ला न्यायाधीश यदुराज शर्माको इजलासले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

    सोमबार उनलाई काव्य अस्पतालबाट एम्बुलेन्समा राखेर जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला अदालत लगिएको थियो । नागरिकता दुरुपयोगसम्बन्धी कसुरमा रास्वपाका मधेश प्रदेश सदस्य इन्द्रजित प्रसाद महतोले दिएको जाहेरीको आधारमा सिरोहिया ८ जेठमा पक्राउ परेका थिए । उनी स्वास्थ्यमा समस्या आएको भन्दै गत शुक्रबार अस्पताल भर्ना भएका थिए ।

  • सिरोहियालाई थप तीन दिन थुनामा राख्न अनुमति

    सिरोहियालाई थप तीन दिन थुनामा राख्न अनुमति

    काठमाडौं । जिल्ला अदालत धनुषाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलासले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको अदालतका श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिए ।

    जिल्ला सरकारी वकिलको कार्यालयले ५ दिन मागेको थियो भने सिरोहियाको तर्फबाट कानुन व्यवसायीहरूले गैरकानुनी धरपकड गरेको र विवाद थुनामा राखिराख्नु नपर्ने खालको भएको भन्दै रिहा गर्न माग गरेका थिए । पक्ष विपक्षको बहस सुनेपछि न्यायाधीशले ३ दिन (आइतबारसम्मका लागि) म्याद थपेका छन् ।

    सिरोहियाको पक्राउ प्रर्तिशोधपूर्ण भएको भन्दै विरोध भएको छ । गृहमन्त्री रवि लामिछानेले प्रतिशोध राखेर सिरोहियालाई पक्राउ गराएको आरोप लागेको छ । सिरोहियाको नागरिकतालाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका नेता इन्द्रजित महतोले प्रहरीमा जाहेरी दिएका थिए । त्यसकै आधारमा प्रहरीले एकैपटक पक्राउ पुर्जी जारी गराएर मंगलबार सिरोहियालाई पक्राउ गरी जनकपुर ल्याइएको थियो ।

    बुधबार अदालतमा उपस्थित गराइएका उनलाई ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइयो । शुक्रबार म्याद थपका लागि अदालतमा पेस गर्नुअघि सरकारी वकिलको कार्यालयमा झण्डै तीन घण्टा बयान लिइएको थियो ।

  • कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तार

    कान्तिपुरका अध्यक्ष सिरोहिया गिरफ्तार

    काठमाडौं । प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई गिरफ्तार गरेको छ । मंगलबार उनलाई थापाथलीस्थित कान्तिपुर दैनिकको कार्यालयबाटै पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराई, एसपी रवीन्द्र रेग्मीसहित सिरोहियाको कार्यकक्षमा पुगेको प्रहरी टोलीले उनलाई पक्राउ पूर्जी थमाएको थियो ।

    कार्यालयबाट निस्किने क्रममा पत्रकारहरुसँग कुरा गर्दै सिरोहियाले २०६३\६३ मा ज्यानको बाजी लगाएर ल्याएको गणतन्त्र भएको भन्दै कसैको उजुरी पर्दैमा गिरफ्तारी हुनु गलत भएको बताए । उनले गृहमन्त्रीको दुई पासपोर्टमा उजुरी भएको समेत आरोप लगाए ।


    छानबिनको विषयमा आफूले पहिल्यैदेखि सहयोग गर्ने बताएको भन्दै उनले भने, ‘सरकारले हचुवामा अधिनायकवाद देखिएको छ, यो देशमा कानून छ भने दुई पासपोर्ट बोक्ने र सहकारी ठगलाई पनि कारबाही हुनुपर्छ । भोलि उहाँको नाममा वारेन्ट जारी हुन्छ भन्नेमा विश्वस्त छु ।’

    सिरोहियाविरुद्ध सर्लाहीका इन्द्रजित महतोले जिल्ला प्रहरी कार्यालय, धनुषामा १६ वैशाख २०८१ मा किटानी जाहेरी दिएका थिए । जाहेरीमा सिरोहियाले फरकफरक नम्बरका नागरिकताहरु प्रयोग गरिरहेको भन्दै नागरिकता एने, २०६३ अनुसारको कसूरमा छानबिन गर्न माग गरिएको थियो । सिरोहिया अध्यक्ष रहेको कान्तिपुर दैनिकले पछिल्लो समय निरन्तर उपप्रधान एवं गृहमन्त्री मुछिएको सहकारी ठगी र दोहोरो नागरिकताबारे समाचार प्रकाशन गरिरहेको थियो ।

  • सन्दीपको विश्वकप खेल्ने बाटो खुला, क्यानले गर्यो निलम्बन फुकुवा

    सन्दीपको विश्वकप खेल्ने बाटो खुला, क्यानले गर्यो निलम्बन फुकुवा

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेको छ । क्यान अध्यक्ष चतुरबहादुर चन्दले विज्ञप्ति सार्वजनिक गर्दै सन्दीपको निलम्बन फुकुवा गरेको जानकारी दिएका छन् ।

    उच्च अदालत पाटनले बुधबार गरेको फैसला अनुसार नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी लामिछाने बलात्कार मुद्दामा निर्दोष रहेको भन्दै क्यानले निलम्बन फुकुवा गरेको हो । अध्यक्ष चन्दले सार्वजनिक गरेको विज्ञप्तिमा लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय सबै प्रकारका क्रिकेट खेल गतिविधिमा गरिएको निलम्बन फुकुवा भएको उल्लेख छ ।

  • बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

    बलात्कार मुद्दामा सन्दीप लामिछानेले पाए सफाइ

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । उच्च अदालत, पाटनका न्यायाधीशहरु सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्ट्याउँदै सन्दिपलाई सफाइ दिएको हो ।

    जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्टाउँदै उनलाई निर्दोष ठहर गरेको हो । गौशाला २६ (परिवर्तित नाम) ले हालेको मुद्दामा जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला उल्टाउन माग गर्दै सन्दीपले उच्चमा पुनरावेदन गरेका थिए ।

  • सन्दीपको मुद्दामा आज आउला फैसला ?

    सन्दीपको मुद्दामा आज आउला फैसला ?

    काठमाडौं । उच्च अदालत पाटनमा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दा बुधबार समेत सुनुवाइ हुँदैछ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा मंगलबार बहस भएको थियो । तर सुनुवाइ सकिएको थिएन ।

    सुनुवाइ बुधबार समेत हुने भएको हो। यसअघि जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कारमा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो। सोही फैसलाविरुद्ध गएको पुनरावेदन निवेदनमा बहस भइरहेको हो।

  • इन्टरनेट सेवा प्रदायकबाट कर उठाउने बाटो खुला

    इन्टरनेट सेवा प्रदायकबाट कर उठाउने बाटो खुला

    काठमाडौं । सरकारलाई इन्टरनेट सेवा प्रदायकबाट राजस्व असुलीको बाटो खुलेको छ। वर्ल्डलिंकले कर सम्बन्धमा सरकारविरूद्ध हालेको ८ वटै रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि इन्टरनेट सेवा प्रदायकबाट राजस्व असुलीको बाटो खुलेको हो। उक्त फैसलासँगै सरकारलाई रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क कानुन बमोजिम असुलउपरगर्ने बाटो असुलीको बाटो खुलेको छ।

    महालेखा परीक्षकले आर्थिक वर्ष २०७२\०७३ को वार्षिक प्रतिवेदन देखि हरेक वर्ष निरन्तर रूपमा इन्टरनेट सेवा प्रदायकले नेपाल सरकारलाई बुझाउनुपर्ने रोयल्टी राजस्व सरकारलाई प्राप्त नभएकाले कानुन बमोजिम असुलउपर गर्नुपर्ने बेरूजु भनी औंल्याउँदै आएको थियो। सोही विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत वर्ष गरेको अनुसन्धानबाट वर्ल्डलिंक लगायत सेवा प्रदायकले कर छली गरेको खुलेको थियो।

    इन्टरनेट सेवा प्रदायकहरूले कर छली गरेको विषयमा अनुसन्धान गर्न सहसचिव गौरव गिरीको संयोजकत्वमा समिति गठन भएको थियो। उक्त समितिले आर्थिक वर्ष २०६९\७० देखि २०७८\७९ सम्मको अवधिमा ११ वटा इन्टरनेट सेवा प्रदायकहरूले बुझाएको रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास शुल्कको विस्तृत अध्ययन गरी प्रतिवेदन पेश गरेको थियो।

    प्रतिवेदनमा वर्ल्डलिंक कम्युनिकेसन लगायत ९ वटा इन्टरनेट सेवा प्रदायकले करिब दुई अर्ब ४६ करोड रूपैयाँ सरकारलाई बुझाउन बाँकी रहेको तथा अदालतमा विचाराधीन मुद्दामा रहेको थप २७ करोड ३३ लाख रूपैयाँसमेत असुल गर्न बाँकी रहेको उल्लेख थियो।

    उक्त प्रतिवेदनका आधारमा रोयल्टी तथा ग्रामीण दूरसञ्चार विकास शुल्क असुल गर्न मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको थियो। सो निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले स्वतन्त्र चार्टर्ड एकाउन्टेन्टलाई अध्ययन गर्ने जिम्मा दिएको थियो। चार्टर्ड एकाउन्टेन्टले समेत केही इन्टरनेट सेवा प्रदायकहरुले नेपाल सरकारलाई रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क तिर्न बुझाउन बाँकी रहेको भनी रकमसमेत खुलाई प्रतिवेदन पेस गरेको थियो।

    नेपाल दूरसञ्चार प्राधिकरण स्रोतका अनुसार नौ वटा इन्टरनेट सेवा प्रदायकबाट रोयल्टी राजस्व तथा ग्रामीण दूरसञ्चार विकास शुल्क वापत कुल तीन अर्ब ६४ करोड रकम असुल गर्न बाँकी रहेको छ। जसमा वर्ल्डलिंक कम्युनिकेसनले १ अर्ब ९६ करोड रूपैयाँभन्दा बढी तिर्न बाँकी छ।

    त्यसैगरी भायानेट कम्युनिकेसनबाट ४१ करोड रूपैयाँभन्दा बढी, सुविसुबाट ३३ करोडभन्दा बढी, क्लासिक टेकबाट ३१ करोडभन्दा बढी, टेकमाइण्डबाट ३० करोडभन्दा बढी, वेबसर्फरबाट १२ करोडभन्दा बढी, मर्कन्टायलबाट १० करोडभन्दा बढी, पोखरा इन्टरनेटबाट ४ करोडभन्दा बढी र नेटम्याक्सबाट २ करोड रूपैयाँभन्दा बढी असुल गर्न बाँकी छ।

    दूरसञ्चार निमयमावली, २०५४ को नियम २६ अनुसार दूरसञ्चार सेवा प्रदायकहरूले वार्षिक कूल आम्दानीको ४ प्रतिशत रोयल्टी राजस्व वापत नेपाल सरकारलाई बुझाउनपुर्ने तथा दूरसञ्चार ऐन २०५३ बमोजिम वार्षिक आयको २ प्रतिशत रकम ग्रामीण दूरसञ्चार विकास कोषमा जम्मा गर्नुपर्ने कानुनी व्यवस्था छ।

    दूरसञ्चार निमयमावली, २०५४ को नियम २६ मा ‘वार्षिक कुल आम्दानी’ भन्नाले अनुमतिपत्र प्राप्त व्यक्तिले ग्राहकसँग लिएको धरौटी, सेवा कर, मूल्य अभिवृद्धि करलगायत अन्य अप्रत्यक्ष कर तथा दूरसञ्चार सम्बन्धी उपकण बिक्री गर्दा प्राप्त हुने रकमबाहेक दूरसञ्चार सेवा प्रदान गरे वापत अनुमतिपत्र प्राप्त व्यक्तिले प्राप्त गरेको आम्दानीलाई जनाउँछ भनी स्पष्ट गरिएको छ। सोही बमोजिम महालेखा परीक्षकको वार्षिक प्रतिवेदनमा रोयल्टी राजस्व असुलउपर गर्न बेरूजु औंल्याइएको थियो।

  • बैवाहिक बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

    बैवाहिक बलात्कार मुद्दामा गायक रवि ओड प्रहरी नियन्त्रणमा

    काठमाडौं । वैवाहिक बलात्कारसम्बन्धी मुद्दामा नेपाल आइडल विजेता रवि ओडले प्रहरीमा आत्मसर्मपण गरेका छन् । कञ्चनपुरको कृष्णपुर नगरपालिकाका ओडले बिहीबार इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।

    जोशीकाअनुसार रविलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । नेपाल आइडल सिजन २ का विजेता ओडविरूद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उजुरी दिएकी थिइन् ।

    प्रहरीले सोही दिन जिल्ला अदालतबाट ओडका नाममा पक्राउ पुर्जी जारी गरेको थियो । तर उनी सांगीतिक कार्यक्रममा देश बाहिर रहेका कारण पक्राउ परेका थिएनन् ।

  • स्रोत नखुलेका ९८ लाख रकमसहित दुई जना पक्राउ

    स्रोत नखुलेका ९८ लाख रकमसहित दुई जना पक्राउ

    काठमाडौं । स्रोत नखुलेको ९८ लाख रुपैयाँसहित दरबारमार्गबाट २ जना पक्राउ परेका छन् । पक्राउ पर्ने दुवैजना बुटवल घर भएका पुरुष रहेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका बारे प्रहरीले थप खुलाएको छैन । घटनाबारे काठमाडौं उपत्यका अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने प्रहरीले जनाएको छ ।

  • सुनिल पौडेललाई ९ वर्ष जेल सजाय तोकियो

    सुनिल पौडेललाई ९ वर्ष जेल सजाय तोकियो

    काठमाडौं । विशेष अदालतले राष्ट्रिय सूचना प्रविधि केन्द्रका पूर्व कार्यकारी निर्देशक सुनील पौडेललाई भ्रष्टाचार कसूरमा नौ वर्ष कैद सजाय तोकेको छ। यसका साथै २३ करोड २७ लाख ५८ हजार बिगो भराउने र बिगो बराबर थप जरिवाना हुने फैसला सुनाएको छ। यसअघि गत वैशाख ७ गते पौडेललाई दोषी ठहरिएको थियो । त्यति वेला २३ करोड २७ लाख ५८ हजार रुपैयाँमा गेटवेको परामर्श सेवा तथा सफ्टवेयर खरीद गरिएको थियो। संस्थाको नेतृत्वको हैसियतमा रहेका पौडेलले लापरवाहीपूर्वक सञ्चालनमा नल्याएर राज्यलाई हानि पुर्‍याएको विशेष अदालतको ठहर छ।

    अन्य आठ जनालाई भने सफाइ दिइएको थियो। पौडेललाई पूर्वाधार नै नबनाई अस्वाभाविक लागत तयारी गरी पेमेन्ट गेटवे खरीद गरेर अपचलन गरेको अभियोग लागेको थियो। पौडेल २०६१ जेठ २० गतेदेखि राष्ट्रिय सूचना प्रविधि केन्द्रमा प्रशासकीय अधिकृतको पदमा करार सेवामा नियुक्त भई ०६२ माघसम्म कार्यरत रहेका थिए। ०६५ असारदेखि २०७५ साउनसम्म राष्ट्रिय सूचना प्रविधि केन्द्रमा कम्प्युटर इन्जिनियर काम गरका थिए भने २०७५ साउनदेखि २०७८ चैतसम्म नेपाल दुरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशक भएका थिए।

  • आज काठमाडौं उपत्यकाका विद्यालयमा बिदा

    आज काठमाडौं उपत्यकाका विद्यालयमा बिदा

    काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरअन्तर्गतका विद्यालयहरुलाई सार्वजनिक बिदा दिएको छ । महानगरका शिक्षा अधिकृत गोविन्दप्रसाद शर्माले सूचना जारी गर्दै महानगरपालिका अन्तर्गतका सबै विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिए । महानगर अन्तर्गतको शिक्षा विभागले सूचना जारी गर्दै वैशाख १२ गते बागमती प्रदेश मन्त्रिपरिषद्को बैठकले तामाङ्ग भाषा र नेपाल भाषालाई बागमती प्रदेशको प्रदेश सरकारको कामकाजी भाषाको रुपमा लागू हुने दिनको अवसरमा सबै विद्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘सोमबार बागमती प्रदेशका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको भएपनि वागमती प्रदेश शिक्षा विकास निर्देशनालयबाट विद्यालयहरुमा बिदा नहुने भएकोले विद्यालय बिदा नगर्नुनगराउनु मौखिक जानकारी प्राप्त भएपनि महानगरले भने बिदा भएको व्‍यहोरा निर्देशानुसार कार्यान्वयनका लागि अनुरोध छ । ‘

  • भारतका प्रधानन्यायाधीश पहिलो पटक नेपाल भ्रमणमा

    भारतका प्रधानन्यायाधीश पहिलो पटक नेपाल भ्रमणमा

    काठमाडौं । नेपालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधानन्यायाधीश डीवाई चन्द्रचूड नेपालको तीन दिने औपचारिक भ्रमणमा शुक्रवार काठमाडौं आइपुगेका छन्। पदमा रहँदै भारतका प्रधानन्यायाधीश नेपाल आएको यो पहिलो पटक हो । भारतको न्याय प्रणालीमा कतिपय साहसी खालका निर्णय गरेका भनेर चिनिएका चन्द्रचूडको भारतमा आमनिर्वाचन जारी रहँदा भएको नेपाल भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

    नेपालमा रहँदा उनले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्ने तथा दुई देशका न्यायपालिकाबीच सहकार्यबारे चर्चा गर्ने बताइएको छ। शुक्रवार काठमाडौं ओर्लिएका प्रधानन्यायाधीश चन्द्रचूडलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश आनन्दमोहन भट्टराईले स्वागत गरे। चन्द्रचूडले शनिवार राजधानी काठमाडौंमा आयोजना हुने एक कार्यक्रमलाई सम्बोधन गर्ने नेपालको सर्वोच्च अदालतले जनाएको छ।

    उनी शनिवार काठमाडौंमा केन्द्रीय बाल न्याय समितिले आयोजना गर्ने न्याशनल सिम्पोजिअम अन जुभिनायल जस्टिसका मुख्य वक्ता रहेका छन्। उक्त कार्यक्रमलाई उनले सम्बोधन गर्नेछन्। शनिवारै साँझ प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र उनीबीच मैत्रीपूर्ण भेटवार्ता हुने कार्यक्रम छ ।


    त्यसै दिन नेपालका प्रधानन्यायाधीशले भारतका प्रधानन्यायाधीशको सम्मानमा रात्रिभोज आयोजना गर्ने छन्। चन्द्रचूडको भ्रमणका बेलामा नेपाल र भारतको न्यायिक क्षेत्रबीच एउटा समझदारीपत्रमा हस्ताक्षर पनि हुने कार्यक्रम रहेको छ।

    त्यस्तो समझदारी गर्नका लागि सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार वा रजिष्ट्रारलाई स्वीकृति दिने निर्णय बिहीवारको मन्त्रिपरिषद्‌को बैठकले निर्णय गरेको थियो। दुई देशका सर्वोच्च अदालतबीच हुने समझदारीले न्यायिक क्षेत्रमा पनि सहकार्यको ढोका खोल्ने नेपाली अधिकारीहरूले बताएका छन्। उक्त भ्रमण दलमा भारतका चन्द्रचूडकी पत्नी कल्पना दास, भारतको सर्वोच्च अदालतका रजिस्ट्रार राकेश कुमार र कोर्ट मास्टर चेतन अरोरा पनि आएका छन्। चन्द्रचूड नेतृत्वको भारतीय टोली आगामी आइतवार स्वदेश फर्कनेछ।

  • पशुपतिको जलहरी मुद्दामा सबैलाई सफाई

    पशुपतिको जलहरी मुद्दामा सबैलाई सफाई

    काठमाडौं । विशेष अदालतले पशुपतिनाथको जलहरी प्रकरणमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलनकुमार थापा सहित ३ जनालाई सफाइ दिएको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले थापा सहित डा. प्रदीप ढकाल, बिसेट नाइके अरुणकुमार श्रेष्ठलाई सफाइ दिएको हो । विशेष अदालतका शाखा अधिकृत सागर भण्डारीका अनुसार, आरोपित सबैजनाले सफाइ पाएका हुन् ।

    पशुपतिमा जलहरी राख्दा सुन हिनामिना गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ असोजमा तीन जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले कोषका तत्कालिन कोषाध्यक्ष डा. मिलन थापा, सदस्य सचिव डा. प्रदिप ढकाल र विशेट नाइके अरुणकुमार श्रेष्ठ विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    अख्तियारले जलहरी राख्ने क्रममा करिव डेढ किलो सुन हिनामिना भएको दावी गरेको थियो । उनीहरुमाथि एक करोड १७ लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोप थियो । अख्तियारको दावी अनुसार, पशुपति क्षेत्र विकास कोषले नेपाल राष्ट्र बैंकबाट १०२ किलो ६१४ ग्राममात्रै शुद्ध सुन खरिद गरेको थियो । जलहरी निर्माणमा १०० किलो ८५ ग्राममात्रै शुद्ध सुन फरक परेको थियो । त्यही घटनालाई भ्रष्टाचार भएको भनी अख्तियारले मुद्दा दायर गरेको थियो ।

    २९ माघ २०७७ मा जलहरी निर्माण सुरु गरेका पशुपति क्षेत्र विकास कोषका पदाधिकारीले सबै काम सकिएपछि १० किलो ९७६ ग्राम सुन बाँकी रहेको भनी मुचुल्का गरेका थिए ।

  • भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझीलाई रिहा गर्न सर्वोच्चको अस्वीकार

    भुटानी शरणार्थी प्रकरण : एमाले नेता रायमाझीलाई रिहा गर्न सर्वोच्चको अस्वीकार

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा सर्वोच्च अदालतले एमाले नेता टोपबहादुर रायमाझीसहित ७ जनालाई रिहा गर्न अस्वीकार गरेको छ । जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि उनीहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए । बिहीबार न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले उनीहरुलाई धरौटीमा वा सामान्य तारेखमा छाड्न अस्वीकार गर्दै उच्च अदालत पाटनकै आदेश सदर गरेको हो ।

    सर्वोच्चले थुनामै राख्न आदेश दिएकाहरुमा तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्री रामबहादुर थापा बादलका सल्लाहकार इन्द्रजित राई, भुटानी शरणार्थी प्रकरणका मुख्य आरोपी केशव दुलाल, सानु भण्डारी, सागर राई र सन्देश शर्मा रहेका छन् ।

    सर्वोच्चले नेपाली कांग्रेसका नेता आङटावा शेर्पालाई ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । उनलाई जिल्ला अदालत काठमाडौं र उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा आरोपित उनले जिल्ला अदालतमा भएको थुनछेक बहसमा इन्कारी बयान दिएका थिए ।

    उनीविरुद्ध जाहेरी दिएका जिमा शेर्पेनी लगायतले ‘५४ लाख लेनदेन भएको, तर अमेरिका लैजान होइन प्रहरीले जाहेरीमा हामीले नभनेको कुरा लेखी सही छाप गराएको’ भनेर जिल्ला अदालतमा ११ जेठ २०८० मा नै निवेदन दिएका थिए ।

    उनलाई पुर्पक्षका लागि थुनामै राख्नुपर्ने अवस्था नदेखिएको ठहर गर्दै सर्वोच्चको संयुक्त इजलासले जिल्ला अदालत, काठमाडौं र उच्च अदालतको आदेश बदर गरेको छ र ३० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ । त्यस्तै जिल्ला र उच्च अदालतले थुनामा पठाउन आदेश दिएका गोबिन्दकुमार चौधरीलाई पनि सर्वोच्च अदालतले १० लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

    चौधरीले अदालतमा इन्कारी बयान दिएको, उनले रकम उठाएको वा लिएको मिसिल संलग्न प्रमाणबाट नदेखिएको र जाहेरवाला सुमन दाहालको बैंकमा जम्मा भएको भनिएको २४ लाख रुपैयाँ के वापत जम्मा भएको हो प्रष्ट नभएको इजलासको ठहर छ ।

    साथै चौधरीकी पत्नी निजु चौधरीले मोरङ कसेनी को जग्गा नक्कली भुटानी शरणार्थी प्रकरणका मुख्य अभियुक्त केशवप्रसाद दुलालले भनेको मानिसको नाममा पास गरिदिसकेको पाइएकाले पुर्पक्षका लागि थुनामा राख्ने उच्च अदालतको आदेश बेरीतको देखिएको सर्वोच्चको ठहर छ । १० लाख रुपैयाँ नगद वा त्यस बराबरको जेथा जमानत वा बैंक जमानतमा दिए उनलाई छाड्न आदेश दिएको छ ।

    त्यस्तै केन्द्रीय हज समितिका तत्कालीन अध्यक्ष शमशेर मियालाई पनि साधारण तारेखमा छाड्न आदेश दिएको छ । उच्च अदालतले १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । तर पीडितहरुले उनलाई रकम दिएको भनेर नाम उल्लेख नगरेको, उनले इन्कारी बयान दिएको र कसैले उनको नाम समेत नपोलेकाले सर्वोच्चले १० लाख धरौटी लिने उच्चको आदेश बदर गरेर साधारण तारेखमा छाड्न आदेश दिएको हो ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा १ असार २०८० मा जिल्ला अदालत काठमाडौंले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण, एमाले नेता टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । त्यतिबेला जिल्ला अदालतले तत्कालिन गृहसचिव टेकनारायण पाण्डे, तत्कालिन गृहमन्त्रीका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, केशव दुलाल, सानु भण्डारी, कांग्रेस नेता आङटावा शेर्पालाई पनि थुनामा पठाएको थियो ।

    त्यस्तै केन्द्रीय हज समितिका तत्कालिन अध्यक्ष शमशेर मिया, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, बालकृष्ण खाँणका पीए नरेन्द्र केसी, सन्देश शर्मा, सागर राई, रामशरण केसी, गोविन्द चौधरी र हरिभक्त महर्जनलाई पनि जिल्ला अदालतले थुनामा पठाएको थियो । आरोपितहरु लक्ष्मी महर्जनलाई ५ लाख र टंककुमार गुरुङलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको थियो ।

    यो मुद्दामा उच्च अदालत पाटनले एमाले नेता रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो कांग्रेस नेता बालकृष्ण खाँणलाई ३० लाख, टेकनाथ रिजाललाई १५ लाख, रामशरण केसी १५ लाख र शमशेर मियालाई १० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । पुर्पक्षका लागि थुनामा पठाइएका र धरौटीमा छाड्ने आदेश भएका शमशेर मियाले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएका थिए ।

  • कांग्रेस नेता आलममाथि जन्मकैदको सजाय

    कांग्रेस नेता आलममाथि जन्मकैदको सजाय

    काठमाडौं । जिल्ला अदालत रौतहटले २०६४ साल चैतमा भएको एक घटनामा दोषी ठहर गर्दै नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको सजाय सुनाएको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, उनका भाइ महताब आलम, शेष सेराज भन्ने शेष सराज र बद्री सहनीलाई जन्मकैदको सजाय सुनाएको हो ।

    अदालतका श्रेस्तेदार उद्धव ढोडारीका अनुसार यस्तो फैसला आएको हो । रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो । उनीहरुले घटना भएको समयमा प्रचलित मुलुकी ऐन २०२० अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय पाएका छन् ।

    त्यस्तै मुक्ति साहले सफाइ पाएका छन् भने मोहम्मद मोविन, शेष फजल, शेष भदै, सागिर आलम, गौरीशंकर साह र शेष मालाकार फरार रहेकाले उनीहरुको हकमा मुद्दा मुल्तवीमा राखिएको श्रेस्तेदार ढोडारीले जानकारी दिए । पहिलो संविधानसभाको चुनावको अघिल्लो दिन रौतहटको राजपुरस्थित अफताब आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरुलाई जिउदै इँटाभट्टामा जलाएर हत्या गरिएको थियो ।

    प्रत्यक्षदर्शीहरुका अनुसार, त्यसक्रममा केही घाइतेहरु आफूलाई बचाउन आग्रह गर्दै चिच्याएका थिए । घटना सार्वजनिक हुने डरले आलमले सहयोगीहरुसँग मिलेर नजिकको इँटाभट्टाको आगोमा हाली जलाएको प्रत्यक्षदर्शीको बयान थियो । घटनापछि प्रहरीले घटनास्थलमा कुनै किसिमको बिस्फोट नभएको भनेर मुचुल्का बनाएको थियो ।

    प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय र पुनरावेदन सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने राय दिएका थिए । ३० असार, २०६५ मा तत्कालिन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले मुद्दा नचल्ने निर्णय गरे । उनको निर्णयमा भनिएको थियो, ‘मारिएका भनिएका व्यक्तिहरुको मृत्यु भएको भन्ने यकिन हुन नसकेको साथै उनीहरुको मृत्यु कर्तव्यबाट हुन गएको भन्ने पुष्टि हुन सकेको नदेखिएको ।’

    बम काण्डमा मृत्यु भएका ओसी अख्तरकी आमा रुक्सनाको समेत गोली हानी हत्या भएको थियो । २०६७ माघ ८ गते साँझ दुर्गाभगवती गाउँपालिकास्थित माइतीबाट आफ्नो घर आउँदै गर्दा गौडा कुरेर बसेका हतियारधारी समूहले रुक्सनाको गोली हानी हत्या गरेको थियो । उक्त घटनामाथि अहिलेसम्म अनुसन्धान भएको छैन ।

    किटानी जाहेरी, घटनास्थलको प्रकृति मुचुल्का, तत्काल मौकामा बुझिएका शेख सराजुल मियाँ र ओहिद मियाँको कागज, मानव अधिकार आयोग लगायतका निकायहरुको प्रतिवेदनका आधारमा विस्फोटको घटना सार्वजनिक हुने डरले बम बिस्फोटका घाइतेलाई इँटाभट्टामा जलाई हत्या गरेको घटना पुष्टि हुने विवरणहरु थियो । आलममाथि राज्यको सुरक्षा बलको सहयोग लिई शव बेपत्ता पारेको भन्ने आरोप समेत थियो ।

    आलम विरुद्धको जाहेरी लामो समयसम्म कारवाही नभई त्यत्तिकै रह्यो । पीडितहरुले अनुसन्धान अघि बढाउन माग राखी सर्वोच्च अदालतमा निवेदन दिए । न्यायाधीशद्वय सुशीला कार्की र डा। भरतबहादुर कार्कीको इजलासले केही न केही प्रमाण भेटिएको अवस्थामा महान्यायाधिवक्ताले स्वेच्छाचारी निर्णय गर्न नहुने फैसला गरेका थिए ।

    फैसलामा भनिएको थियो, ‘पीडित आफैं घटनाको व्यहोरा सहित प्रहरीमा किटानी उजुर गर्दा समेत प्रहरी र सरकारी वकिलले मुद्दा हेर्ने अदालतमा मुद्दा नचलाउदा त्यो अवस्थामा पीडितले न्याय पाउने मौलिक हकबाट बञ्चित हुन पुग्छ ।’

    सर्वोच्च अदालतको आदेशपछि १९ असोज २०७६ मा प्रहरीले रौतहट क्षेत्र नं। २ का तत्कालिन सांसदसमेत रहेका आलम पक्राउ परेका थिए । उनी र उनका महताबसहितविरुद्ध घाइतेलाई नजिकैको इँट्टाभट्टामा जिउँदै जलाएर हत्या गरिएको आरोप थियो । उनीहरुविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोट सम्बन्धी कसुर गरी तीन वटा मुद्दा दायर गरिएको थियो ।

    थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । आलमविरुद्धको यो मुद्दामा विगत तीन दिनदेखि जिल्ला अदालतमा जारी बहस बिहीबार सकिएको थियो । बहसका क्रममा वादी नेपाल सरकारका तर्फबाट सरकारी वकिल दयानिधि रिजाल, बद्री कार्की, पुष्पराज पौडेलले बहस गरेका थिए ।

    प्रतिवादी आलमका तर्फबाट नेपाल बारका केन्द्रीय अध्यक्ष गोपालकृष्ण घिमिरे, यदुनाथ खनाल, अजय पटेल, मजरुल हक, सञ्जीव मल्लिक, साबिर हुसैनसहित ९ जनाले बहस गरेका थिए ।

  • सुनिल पौडेललाई थुनामा पठाउन आदेश

    सुनिल पौडेललाई थुनामा पठाउन आदेश

    काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका निलम्बिन प्रबन्ध निर्देशक सुनिल पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । न्यायाधीश तेजनारायण सिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले गैरकानुनी सम्पत्ति आर्जनमा उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

    अख्तियारले पौडेलविरुद्ध ९ वैशाखमा गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा दायर गरेको थियो । सरकारी सेवामा रहेको अवधिमा उनले आर्जन गरेको सम्पत्तिमध्ये २३ करोड ७५ लाखको स्रोत नखुलेको अख्तियारको दाबी थियो । विशेष अदालतको आदेशपछि पौडेललाई डिल्लीबजार कारागारमा लगिएको नेपाल प्रहरी स्रोतले जनाएको छ । पौडेललाई नेशनल पेमेन्ट गेटवेको प्रणाली खरिदमा पनि विशेष अदालतले दोषी ठहर गरेको थियो ।

  • दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश

    दीपेश पुनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश

    काठमाडौं । सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । अदालतमा तीन दिन भएको बयान र थुनछेक बहसपछि शुक्रबार रुपन्देही जिल्ला अदालतका न्यायाधीश डा दीपक उप्रेतीको इजलासले उनलाई ४ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । पुन पूर्वउपराष्ट्रपति नन्द बहादुर पुनका छोरा हुन् ।

  • काठमाडौं विमानस्थलबाट एक किलो सुन बरामद

    काठमाडौं विमानस्थलबाट एक किलो सुन बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक किलो सुन बरामद भएको छ । दिल्लीबाट बुधबार आएको इन्डिगो एयरलाइन्सको सिटमा १ किलो ७० ग्राम सुन बरामद भएको विमानस्थलका एसएसपी कृष्णहरि शर्मा पोखरेलले बताए । विमान अवतरण हुने बित्तिकै प्रहरीले नियमित जाँच गर्ने क्रममा उक्त परिमाणको सुन भेटिएको उनले बताए । प्रहरीको ‘मुभमेन्ट’ देखिएपछि लिएर आएका व्यक्ति सुन छाडेर भागेको हुनसक्ने आशंका गरिएको छ ।

    फ्लाइट नम्बर ६ई११५१ नम्बरको इन्डिगो एयरलाइन्सको सिट नम्बर २७ चार्लीको पछाडि र २८ चार्लीको अगाडिको सिट पाकेटको तल बेवारिसे अवस्थामा रहेका झोलाबाट उक्त सुन बरामद भएको हो । कालो र सेतो रङको टेपले बेरिएको अवस्थामा सुन बरामद भएको एसएसपी पोखरेलले बताए । जसमा ३ थान सिक्री, ६ थान बिस्कुट, त्रिभूज आकारको सुनको टुक्रा २ थान र सिक्री जोड्ने साना रिङ गरी १ किलो ७० ग्राम बराबरको सुन बरामद भएको हो ।

  • एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको अभियोगमा किटानी जाहेरी

    एमाले नेता महेश बस्नेतविरुद्ध जबरजस्ती करणीको अभियोगमा किटानी जाहेरी

    काठमाडौं । एमाले नेता महेश बस्नेतविरुद्ध एक जना महिलाले जबरजस्ती करणी गरेको अभियोगमा किटानी जाहेरी दिएकी छन् । हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालयमा एक महिलाले बस्नेतले जबरजस्ती करणी गरेको भन्दै जाहेरी दिएकी हुन् । यसपछि सरकारी वकिलले आवश्यक अनुसन्धान गर्न भन्दै जिल्ला प्रहरी परिसर, काठमाडौंलाई जाहेरी पठाएको समेत प्रहरीले जानकारी दिएको छ । जाहेरी आएपछि प्रारम्भिक अनुसन्धान गर्ने प्रक्रिया थालिएको काठमाडौं प्रहरीले जनाएको छ । केही वर्षयता आफूहरु प्रेम सम्बन्धमा रहेपनि पछि झुक्याएर बलात्कार र गर्भपतन गराएको पीडितको दाबी छ ।

  • ‘सर्त’मा रिहा भए गायक राजेश पायल, भोलि इटहरीमा कन्सर्ट

    ‘सर्त’मा रिहा भए गायक राजेश पायल, भोलि इटहरीमा कन्सर्ट

    काठमाडौं । गायक राजेश पायल राई रिहा भएका छन्। मादक पदार्थ सेवन गरेर होहल्ला गरेको आरोपमा बुधबार राति पक्राउ परेका राईलाई प्रहरीले सचेत गराएर बिहीबार बिहान छोडेको हो।

    उनलाई बिहान ९ बजेतिर साथीभाइको जिम्मा लगाएर छोडिएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । उनीसहित अन्य चार- पाँच जना रिहा भएको प्रहरीले बताएका छन् ।

    आइन्दा त्यस्तो गतिविधि नगर्ने सर्तमा गायक राईसहितलाई रिहा गरिएको बानेश्वर प्रहरी वृत्तले जनाएको छ । मदिरा पिएर होहल्ला गरेको भन्दै स्थानीयले खबर गरेपछि प्रहरीले गायक राईसहितलाई विनायकनगर, नयाँ बानेश्वर क्षेत्रबाट गएराति पक्राउ गरेको थियो।

    छुटेलगत्तै गायक राईले फेसबुकमा लेखेका छन्, ‘तपाईँहरूको इटहरी। भोलि भेट्ने हामी। चैत्र २३ योयो, दर्शन नमस्ते।’

  • स्पट फिक्सिङ अभियोगमा आदिल र आलमले पाए सफाई

    स्पट फिक्सिङ अभियोगमा आदिल र आलमले पाए सफाई

    काठमाडौं । जिल्ला अदालत काठमाडौंले अलराउन्डर आदिल अन्सारी र राष्ट्रिय टिमका पूर्वखेलाडी महबुब आलमसहित पाँच जनालाई सफाइ दिएको छ । न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले उनीहरुसहित ५ जनामाथि स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए ।

    उनीहरुलाई गत वर्ष काठमाडौंमा भएको नेपाल टी–२० लिगमा स्पट फिक्सिङ गरेको आरोप लागेको थियो । पक्राउ परेपछि उनीहरु गतवर्ष तीन लाख रुपैयाँ धरौटीमा छुटेका थिए । आदिलले नेपालबाट ६ ओडीआई र ८ टी–२० आई खेल खेलेका छन् । विष्फोटक ब्याटर आदिल उक्त आरोपपछि नेपाली टोलीमा छैनन् । आदिलले जनकपुर रोयल्सबाट खेल्नेक्रममा फार वेस्ट युनाइटेडविरुद्ध छैटौं ओभरको फ्याँलेको नो बलले उनीमाथि स्पट फिक्सिङमा शंका गरिएको थियो ।

    आदिलसहित केही क्रिकेटरलाई स्पट फिक्सिङको प्रस्ताव महबुब आलमले गरेको आरोप लागेको थियो । महबुबले २००८ मा मोजाम्बिकविरुद्ध ७.५ ओभरमा १ मेडन सहित १२ रन खर्चेर १० विकेट लिदै गिनिज बुकमा नेपाल लेखाएका थिए । उनी सीमित ओभरको अन्तर्राष्ट्रिय खेलमा १० विकेट लिने विश्वको एक्लो खेलाडी हुन् ।

  • दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउन बाटो खुल्यो, सम्बन्धन दिन सर्वोच्चको आदेश

    दुर्गा प्रसाईंलाई मेडिकल कलेज चलाउन बाटो खुल्यो, सम्बन्धन दिन सर्वोच्चको आदेश

    काठमाडौं । झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

    कुमार चुँडाल र शारङ्गा सुवेदीको संयुक्त इजलासले सोमबार उक्त निर्णय सुनाएको हो। मेडिकल कलेजको मान्यता नदिएपछि कलेजका तर्फबाट प्रसाईले २०७७ असार २१ र २०७७ असोज ३० गते आयोगविरुद्ध रिट दायर गरेका थिए। त्यही रिट निवेदनमा सुनुवाई गर्दै सर्वोच्च अदालतले रिट जारी गरेको हो । मेडिकल व्यवसाय हुँदै राजनीतिक कनेक्सन बनाएका दुर्गा प्रसाईले खोलेको उक्त मेडिकल कलेजको सम्बन्धनलाई लिएर लामो समयदेखि विवाद जारी थियो ।

    मेडिकल कलेज सञ्चालनका लागि कम्तिमा १६ बिघा जमिन, ३०० शैयाको अस्पताल, उपकरण, अस्पतालमा दैनिक बिरामीको परीक्षण, शल्यक्रिया, पुस्तकालय, विभागीय जनशक्तिलगायत आवश्यक मानिन्छ।

  • बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान जारी

    बाँसबारी छाला जुत्ता कारखाना प्रकरणमा विनोद चौधरीमाथि अनुसन्धान जारी

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) विनोद चौधरीमाथि अनुसन्धान केन्द्रित गरेको छ । सीआइबीले सभामुखलाई पत्र लेखी नेपाली कांग्रेसका सांसद विनोद चौधरीमाथि आफूहरुले अनुसन्धान गरिरहेको जानकारी गराएको छ । सीआईबीले सभाामुख देवराज घिमिरेलाई पठाएको पत्रमा बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा सांसद चौधरीमाथि अनुसन्धान भइरहेको उल्लेख गरिएको छ ।

    ‘‘बाँसबारी छाला जुत्ता कारखाना लि।को नाममा दर्ता कायम रहेको का.जि.का.म.पा. ३ स्थित १०–०–०–० (दस रोपनी) जग्गा गैरकानुनी तवरबाट च्याम्पियन फुटवेयर लि। को नाममा स्वामित्व हस्तान्तरण गरेको सरकारी जग्गा किर्ते गरी ठगी गरेको मुद्दामा च्याम्पियन फुटवेयर लि। का संस्थापक शेयर धनी तथा तत्कालिन संचालक समितिका सदस्य संघीय संसदका माननीय सदस्य श्री विनोद कुमार चौधरीका सम्बन्धमा यस ब्यूरोबाट अनुसन्धान भइरहेको व्यहोरा जानकारीको लागि सादर अनुरोध गरिएको छ’, सीआईबीको पत्रमा उल्लेख छ ।

    यसअघि १८ माघमा सीआईबीले बाँसबारी छालाजुत्ता प्रकरणको अनुसन्धानका लागि सीजी चाँदबाग रेसिडेन्सीका अध्यक्ष सञ्जय ठाकुर, सञ्चालक अरुण चौधरी र बाँसबारी छालाजुत्ता कारखानाका तत्कालिन कार्यकारी प्रमुख अजितनारायण सिंह थापालाई पक्राउ गरेको थियो । उनीहरु अदालतको आदेशमा २४ माघमा रिहा भएका थिए ।

    बाँसबारी छालाजुत्ता कारखाना घाटामा गएको भन्दै त्यसको केही जग्गा तत्कालीन च्याम्पियन फुटवेयर कम्पनीलाई बिक्री गरिएको थियो । पछि उक्त कम्पनी बन्द भएपछि जग्गा सीजी चाँदबाग रेसिडेन्सीको नाममा आएको थियो । च्याम्पियन फुटवेयरमा सांसद विनोद चौधरीको पनि सेयर रहेको आधारमा सीआईबीले उनीमाथि अनुसन्धान भइरहेको संसदलाई जानकारी गराएको हो ।

  • विराटनगरमा नर्सको हत्या आरोपित युवकले आत्महत्या गरेको भेटियो

    विराटनगरमा नर्सको हत्या आरोपित युवकले आत्महत्या गरेको भेटियो

    काठमाडौं । विराटनगरको नोवेल टिचिङ अस्पतालकी स्टाफ नर्सको हत्या प्रकरणमा संलग्न भनिएका युवक मृत फेला परेका छन् । उनको हत्या २२ वर्षीय शिवशंकर दासले गरेको प्रहरी अनुसन्धानमा देखिएको बताइएको थियो । अस्पतालको अर्थो विभागमा कार्यरत २५ वर्षीया स्टाफ नर्स चन्द्रिकाकुमारी दास चार दिनअघि मृत फेला परेकी थिइन् । शिवशंकर २७ फागुनमा मलेसियाबाट काठमाडौँ फर्किएका थिए । खोजीमा प्रहरी सक्रिय भएकै बेला दाससमेत मृत भेटिएका हुन् ।

    विराटनगर – ४ नोबल हस्पिटल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राति मृत भेटिएको प्रहरीले जनाएको छ । उनी २९ फागुनमा विराटनगर आएको देखिन्छ । विराटनगर आएपछि उनी चन्द्रिकाकुमारीको डेरामा बसेको प्रहरीले जनाएको छ । चन्द्रिकाको बिहीबार दिउँसो हत्या भएको प्रहरीले जनाएको छ । हत्यामा किचनमा प्रयोग हुने कटर प्रयोग भएको थियो । नेपालमा पछिल्लो समय प्रेम र यौनका लागि महिलामाथिको हिंसा बढ्दै गएको देखिएको छ ।

  • लघुवित्त पिडितका समस्या समाधान गर्न कार्यदल गठन

    लघुवित्त पिडितका समस्या समाधान गर्न कार्यदल गठन

    काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले लघुवित्तको समस्या पहिचान गरी समाधान गर्न सात सदस्यीय कार्यदल गठन गरेका छन् । मन्त्री पुनले शुक्रबार साँझ नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नरको नेतृत्वमा सात सदस्यीय समिति गठन गरेका हुन् । समितिमा राष्ट्र बैंकको लघुवित्त क्षेत्र हेर्ने कार्यकारी निर्देशक, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र हेर्ने सहसचिव र सोही क्षेत्र हेर्ने उपसचिव सदस्य छन् । यस्तै कार्यदलमा लघुवित्त विरोधी संघर्ष समितिका तर्फबाट पुनाराम (मनिराम) ज्ञवाली, क्षेत्रबहादुर मोक्तान र लुजा राई छन् ।

    कार्यदल संयोजकको नाम भने डेपुटी गभर्नर मध्येबाट राष्ट्र बैंकले तोक्ने मन्त्रालयका राजस्व सचिव डा. रामप्रसाद घिमिरेले जानकारी दिए । कार्यदललाई लघुवित्तका समस्या निर्धारण गरी ६० दिनभित्र प्रतिवेदन बुझाउन कार्यादेश तोकिएको मन्त्री पुनले जानकारी दिए । कार्यदललाई लघुवित्त विरुद्ध आन्दोलनरत पक्षको मागबारे स्थलगत अध्ययन गरी समाधानका विकल्पसहित काम सुरु गरेको ६० दिनभित्र प्रतिवेदन पेस गर्न भनिएको छ । कार्यदलको प्रतिवेदनका आधारमा लघुवित्त वित्तीय संस्थाको नियमन तथा सुधारका लागि आवश्यक नीतिगत तथा कानुनी सुधारका प्रक्रिया अघि बढाइने मन्त्रालयले जनाएको छ ।

    लघुवित्त विरोधी संघर्ष समितिले २०७२ सालको महाभूकम्प, नाकाबन्दी तथा कोभिड–१९ को समस्या एवम् लघुवित्त वित्तीय संस्थाले कर्जा प्रवाह एवम् असुली गर्दा पालना गर्नुपर्ने कार्यविधि तथा निर्देशन विपरीत कार्य गरेको समेत कारणले समयमा किस्ता बुझाउन नसक्ने ऋणीहरुको साँवा, ब्याज, शुल्क, जरिवाना, कालोसूची एवम् धितो फुकुवा, पीडितको पुनर्स्थापना तथा कर्जा भुक्तानी गर्ने कुनै आधार नभएका (घाइते, अपाङ्‍गता, दीर्घ रोगी) वास्तविक पीडितको कर्जा मिनाहा लगायत माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएको थियो ।

    अर्थमन्त्रीमा नियुक्त भएसँगै पुनले मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन महाशाखा प्रमुख सहसचिव नारायणप्रसाद रिसाल नेतृत्वको वार्ता टोलीलाई आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न निर्देशन दिएका थिए । पुनको निर्देशनमा रिसाल नेतृत्वको वार्ता टोलीले बिहीबार र शुक्रबार आन्दोलनरत पक्षसँग वार्ता गरेको थियो । सरकार र आन्दोलनकारीबीच ६ बुँदे सहमति समेत भएको थियो । सहमतिको ५ नम्बर बुँदामा समस्या पहिचान गरी समाधानको उपाय दिन कार्यदल बनाउने उल्लेख थियो । सहमतिसँगै आन्दोलनरत पक्षले शुक्रबारदेखि नै काठमाडौं केन्द्रित आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको छ ।