Category: कानुनी कुरा

  • चुनावमा हुने अत्यधिक खर्च रोक्न अख्तियारले दियो यस्तो सुझाव

    चुनावमा हुने अत्यधिक खर्च रोक्न अख्तियारले दियो यस्तो सुझाव

    काठमाडौं । निर्वाचनमा हुने अपारदर्शी र अत्यधिक खर्च रोक्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार बुँदे सुझाव दिएको छ । आयोगले केही दिनअघि राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको वार्षिक प्रतिवेदनमा राजनीतिक दलहरुलाई पारदर्शी र जवाफदेही बनाउन चारबुँदे सुझाव समेत दिएको छ । अख्तियारको सुझावको पहिलो बुँदामा राजनीतिक दल सञ्चालनका लागि राज्यले नै आर्थिक तथा भौतिक सहयोग उपलब्ध गराउने परिपाटीको विकास गर्नुपर्ने सुझाव छ ।

    अख्तियारले पारदर्शी र बस्तुगत मापदण्ड बनाई यस्तो व्यवस्था गर्न सुझाव दिएको हो । अख्तियारले राजनीतिक दलसम्बन्धी व्यवस्था परिमार्जन गरी पारदर्शी र जवाफदेहीयुक्त बनाउन सुझाव दिएको छ । अख्तियारले राष्ट्रपति कार्यालयमा पेश गरेको सुझावमा, ‘चन्दा, दान, उपचार लिने÷दिने व्यक्ति लगायतको स्रोत र उपयोगका विवरण सार्वजनिक गरी पारदर्शिता कायम हुनुपर्ने’ भनिएको छ । अख्तियारले दिएका थप दुई सुझाव भने निर्वाचन आयोगले कानूनी परिमार्जनविना नै कार्यान्वयनको तयारी गरेको छ ।

    अख्तियारले निर्वाचनको प्रचारप्रसार, कार्यकर्ता परिचालन जस्ता क्रियाकलापमा हुने खर्चको मापदण्ड र आचारसंहितालाई कडाइका साथ लागू गर्न सुझाव दिएको हो । आयोगको चौथो सुझावमा ‘निर्वाचनमा भाग लिने पदाधिकारीले उम्मेदवारी दिंदा नै अनिवार्य सम्पत्ति घोषणा गर्नुपर्ने, निर्वाचन सम्बन्धी आम्दानी र खर्च बैंकिङ प्रणालीसँग अनिवार्य आबद्ध गर्ने’ भनी सुझाव दिएको थियो ।


    मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आयोगले जारी गरेको आचारसंहितामा निर्वाचन परिचालनका लागि हुने खर्चमा निगरानी गर्न खोजेको देखिन्छ । निर्वाचन आयोगले निर्वाचन खर्चका लागि उम्मेदवारहरुले छुट्टै खाता खोल्नुपर्ने र त्यसको विवरण मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाउनुपर्ने व्यवस्था गरेको थियो । खाता सञ्चालन गर्ने व्यक्ति समेत एउटै हुनुपर्छ ।

  • आज राती १२ बजेपछि निर्वाचन आचारसंहित लागु, के के गर्न बन्देज ?

    आज राती १२ बजेपछि निर्वाचन आचारसंहित लागु, के के गर्न बन्देज ?

    काठमाडौं । आज राती १२ बजेबाट निर्वाचन आचारसंहित लागु हुँदैछ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि बुधबार मध्यरातिदेखि आचारसंहिता लागू हुने भएको हो । १३ भदौ २०७९ मा आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा संघीय सरकारका मन्त्री, प्रदेश सरकारका मन्त्री र स्थानीय तहका कार्यपालिका सदस्यलाई चुनाव प्रचारप्रसारमा बन्देज गरिएको छ ।

    आचारसंहिता अनुसार, प्रधानमन्त्री र मन्त्री, प्रदेशका मुख्यमन्त्रीदेखि स्थानीय तहको कार्यपालिकाका पदाधिकारीले कुनै दलको पक्ष विपक्षमा प्रचारप्रसार गर्न पाउने छैनन् । आफू उम्मेदवार भएको ठाउँमा भने प्रचार गर्न जान पाउँछन् । तर सरकारी स्रोतसाधन प्रयोग गर्न पाउने छैनन् । यो व्यवस्था अनुसार अहिले पदमा रहेका व्यक्तिहरु आफू उम्मेद्वार भएको अवस्था बाहेक अन्यत्र प्रचारप्रसार गर्न जान नपाउने भएका छन् ।

    संवैधानिक पदाधिकारीहरु कुनै दल वा उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न र प्रचारप्रसारमा संलग्न हुन नपाउने व्यवस्था छ । उनीहरुले आफ्नो कार्यालय र आवास कुनैपनि उम्मेदवारहरुलाई प्रयोग गर्न दिन पाउने छैनन् । आचारसंहिताले सरकारी कर्मचारीलाई कुनै दलको पक्ष वा विपक्षमा लाग्न निषेध गरेको छ । कार्यशाला गोष्ठी, सभा सम्मेलन लगायतका कार्यक्रम गर्न नपाउने व्यवस्था छ ।

    सार्वजनिक संस्थान र त्यहाँ काम गर्ने कर्मचारीहरुलाई समेत यही नियम लागू हुनेछ । कुनै परियोजना वा विकास समितिमा आवद्ध कर्मचारीले पनि दल र उम्मेदवारको पक्ष वा विपक्षमा लाग्न नपाउने आचार संहितामा व्यवस्था छ ।

    निर्वाचनमा खटिने कर्मचारीले कुनै उम्मेदवारको पक्षविपक्ष लिन नहुने नियम बनाइएको छ । सुरक्षा निकाय र सुरक्षासम्वद्ध कर्मचारीलाई पनि कुनै दल वा उम्मेद्वारको पक्षविपक्षमा लाग्न रोक लगाइएको छ । विश्वविद्यालयदेखि विद्यालयसम्म काम गर्ने अध्यापकले तटस्थता अपनाउनुपर्नेछ । उनीहरुले कुनै पनि दल वा उम्मेदवारको प्रचारप्रसारका लागि सामाजिक सञ्जाल प्रयोग गर्न पाउने छैनन् ।

    गैरसरकारी संस्थाहरुले कुनै नयाँ योजना सुरुवात गर्न, शिलान्यास गर्न र उद्घाटन लगायतका काम गर्न पाउने छैनन् । यस्ता संस्थाका स्रोतसाधन राजनीतिक प्रचारप्रचारका क्रममा प्रयोग गर्न रोक लगाइएको छ ।

    आचारसंहितामा राजनीतिक दलहरुले सभ्य र अनुशासित भई चुनाव प्रचारप्रसार गर्नुपर्ने नियम बनाइएको छ । प्रचारप्रसार गर्नुअघि स्थानीय प्रशासनको अनुमति लिनुपर्नेछ । प्रचारप्रसारमा संलग्न व्यक्तिले स्टिकर, टिसर्ट, टोपी लगायतका प्रचार सामग्री बनाउन र प्रयोग गर्न पाउने छैनन् ।

    दलहरुले देशव्यापी रुपमा प्रचारप्रसारका लागि दुईजनालाई मात्रै मुख्य प्रचारकको रुपमा व्यवस्थापन गर्नुपर्नेछ । त्यसका लागि निर्वाचन आयोगमा निवेदन दिनुपर्नेछ र आयोगको अनुमतिपछि उनीहरुले हेलिकप्टर प्रयोग गर्न पाउने भएका छन् ।

    आचारसंहितामा प्रधानमन्त्रीदेखि स्थानीय तहको कार्यपालिका सदस्य यसरी मुख्य प्रचारक भएर प्रचार प्रसारमा हिँड्न बन्देज लगाइएको छ । कार्यपालिकाको पदमा नरहेका व्यक्तिमात्रै मुख्य प्रचारक बन्न सक्ने देखिएको छ ।

    दलहरुलाई प्रचारप्रसारका कार्यक्रम गर्दा एक अर्कालाई नबिथोल्न भनिएको छ । सार्वजनिक ठाउँमा दलको झण्डा र चिह्न राख्न नपाउने भएको छ । यस्ता कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्रै गर्नुपर्नेछ । निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोगमा बन्देज लगाइएको छ ।

    दलको कार्यालयमा समेत तोकिएको आकारमा भन्दा ठूला चुनाव चिह्न र झण्डा राख्न पाइने छैन । मनोनयन र घरदैलो कार्यक्रममा जाँदा बढीमा २५ जनाको टोली हुनुपर्ने नियम छ । त्यस्तो कार्यक्रममा बाजा, गाजा र झाँकी समावेश गर्न रोक लगाइएको छ । सवारीसाधन प्रयोगका क्रममा समेत निर्वाचन अधिकृतको कार्यालयबाट अनुमति लिनुपर्नेछ ।

    रेडियो, टिभीले तोकिएको समयावधिभित्र रहेर दलहरुको प्रचार सामग्री प्रशारण गर्न पाउनेछन् । तोकिएको सीमामा रहेर पत्रपत्रिकामा पनि प्रकाशन गर्न पाउनेछन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा निर्वाचन सामग्री प्रचारप्रसार गर्न नपाइने व्यवस्था गरिएको छ ।

    यसपालिको नयाँ व्यवस्था अनुसार, उम्मेदवारहरुले मनोनयन दर्ता गर्दा नै अनुमानित खर्च रकम र त्यसको स्रोत खुलाउनुपर्नेछ । त्यसका लागि छुट्टै बैंक खाता खोल्नुपर्नेछ र खर्च गर्ने पदाधिकारी तोक्नुपर्नेछ । त्यसको सबै विवरण निर्वाचन अधिकृतको कार्यालयमा बुझाउनुपर्नेछ । २५ हजारभन्दा बढी चन्दा लिएमा बैंकिङ च्यानलमात्रै प्रयोग गर्नुपर्नेछ ।

    आयोगले उम्मेदवारहरुलाई मनोनयनपत्रका साथ सम्पत्ति विवरण समेत पेश गर्नुपर्ने नियम बनाएको छ । गोप्य रहने त्यस्तो विवरण उम्मेदवार निर्वाचित भएमा सार्वजनिक हुने आयोगले जारी गरेको आचारसंहितामा उल्लेख छ ।

    निर्वाचित हुन नसकेका उम्मेदवारहरुले सम्पत्ति विवरण फिर्ता लैजान पाउनेछन् । फिर्ता नलैजानेहरुको विवरण नष्ट गरिने आचार संहितामा उल्लेख छ ।

  • सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्धारा डिफ्युजन नोटिस जारी

    सन्दीप लामिछानेविरुद्ध इन्टरपोलद्धारा डिफ्युजन नोटिस जारी

    काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको छ । नेपाल प्रहरीको आग्रह गरेपछि इन्टरपोलले सन्दीपविरुद्ध डिफ्युजन नोटिस जारी गरेको प्रहरी प्रधान कार्यालय स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । डिफ्युजन नोटिस जारी गरेपछि इन्टरपोलमा आवद्ध रहेका १३५ देशले आफ्नो देशमा सन्दीप भए नभएको खोजी गर्न सक्नेछन् ।

    आफ्नो देशमा रहेको पत्ता लागेमा नेपाल पठाउने प्रक्रिया सुरु गर्नेछन् । सन्दीपमाथि एक किशोरीले बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन् । आफूविरुद्ध उजुरी पर्दा क्यारेबियनल लिग खेल्न नेपालबाहिर रहेका सन्दीप हालसम्म स्वदेश फर्किएका छैनन् । उनी कहाँ छन् भन्नेसमेत पत्ता लागेको छैन ।

  • बलात्कार आरोपपछि विदेशमा सम्पर्कविहिन सन्दीपले लेखे स्टाटस, के भने ?

    बलात्कार आरोपपछि विदेशमा सम्पर्कविहिन सन्दीपले लेखे स्टाटस, के भने ?

    काठमाडौं । नाबालिग बलात्कारको आरोपमा जाहेरी परेपछि विदेशमै सम्पर्क विहिन भएका सन्दीप लामिछानेले फेसबुकमा स्टाटस लेखेका छन् । उनी वेपत्ता भएपछि पक्राउ गर्न प्रहरीले इन्टरपोलमार्फत नोटिस जारी गर्ने प्रक्रिया अघि बढाएको थियो । उनीविरूद्ध काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको १८ दिन पुगेको छ । अदालतले उनलाई २३ भदौमा पक्राउ गर्न अनुमति दिएको हो । त्यसपछि उनी सम्पर्क बिहिन भएका हुन् । उनले आइतबार राति सवा दस बजे फेसबुकमा यस्तो स्टाटस राखेका छन् …


    १६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो शौभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन। सकारात्मक सोच, अथक मेहनत र आफूलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथीभाइ र अग्रजहरू लगायत मेरो पूरै क्रिकेट टिमको साथ, सहयोग र आशीर्वादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ। म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु। मैले आफ्नो मेहनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्वित महसुस गर्छु।

    मविरूद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ। मविरूद्ध परेको झुट्टा जाहेरीको विषयमा विद्युतीय सञ्चारमाध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्यतथ्य नबुझी झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भीर आँच आउने गरी समाचारहरू आए। मेरो नाउँमा वारेन्ट जारी भएको समाचार र मविरूद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रूपमा विछिप्त बनायो। के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन।

    यी सब कुराले मलाई एकातिर मानसिक असर गर्‍यो भने अर्कोतिर म बिरामी अवस्थाबाट गुज्रिन पर्‍यो र मानसिक तनाव र स्वास्थ्य खराबीका कारण मैले मलाई आइसोलेसनमा राखेर बसेको छु। झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शारीरिक रूपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगी डाक्टरहरूको सरसल्लाहमा आफूलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदैछ र जतिसक्दो चाँडो नेपाल फर्किएर मविरूद्धको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु।

    क्रिकेट प्रति सानैदेखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ, नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रूपमा चिनाउन मेरो पनि भूमिका रहेको छ। चाहे त्यो खेलाडीको रूपमा होस् वा चाहे कप्तानको रूपमा। राष्ट्रको लागि दिलोज्यानले खेलिरहेको म एउटा इमानदार क्रिकेट खेलाडी आज एउटा गम्भीर षड्यन्त्रको सिकार भएको महशुस भएको छ।

    मेरो अनुपस्थितिमा मलाई अपराधी सावित गराउने झुट्टा जाहेरी प्रपञ्चहरूको मैले कानुनी लडाइँ लड्ने छु। मैले बुझेसम्म नेपालको संविधानले कसुर प्रमाणित नभएसम्म कसुरदार नमानिने व्यवस्था गरेको छ। साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरूद्धको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानुन व्यवसायीसँग कानुनी परामर्श गर्न पाउने हक समेत छ।

    म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवाआमा, दाजुभाइ, मित्रहरू र क्रिकेट प्रेमीहरू, मेरा समर्थकहरू प्रति आभार व्यक्त गर्दछु। म वा मविरूद्ध अफवाह फैलाउने समाचारहरू सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु।

  • काठमाडौं महानगरपालिकाले भन्यो : अनुमति बीना होर्डिङ बोर्ड नराख्नु

    काठमाडौं महानगरपालिकाले भन्यो : अनुमति बीना होर्डिङ बोर्ड नराख्नु

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बिना होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्न सूचित गरेको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमति विना र अनुमति अवधि समाप्त भएका होर्डिङ बोर्ड र डिजिटल बोर्ड हटाउन भनेको छ । ‘असोज ५ गतेबाट अनुमति बीना बाह्य विज्ञापन सञ्चालन नगर्नर नगराउन सम्वद्ध सबैलाई सूचित गरिन्छ,’ महानगरले भनेको छ।

    उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा आजैका मिति (२०७९ साल असोज ५ गते) बाट बाह्य विज्ञापन सञ्चालन नगर्न–नगराउन भनेको छ। नियम उल्लंघन गरेर बोर्डमा विज्ञापन सञ्चालन गरेको पाइए नगर प्रहरी बल लगाएर हटाउने चेतावनी पनि महानगरले दिएको छ ।

  • राष्ट्रपतिले व्यवस्थामाथि प्रहार गर्नुभयो : रामचन्द्र पौडेल

    राष्ट्रपतिले व्यवस्थामाथि प्रहार गर्नुभयो : रामचन्द्र पौडेल

    काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपतिले व्यवस्थामाथि नै प्रहार गर्ने काम गरेको प्रतिक्रिया दिएका छन् । संसदको दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले १५ दिनभित्र पारित गर्नुपर्ने भए पनि मंगलबार अस्वीकार गरेकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर राजनीतिक प्रणाली नै खतरामा पार्ने काम भएको पौडेलको तर्क छ ।

    पौडेलले ट्वीट गर्दै संसदबाट अनुमोदन भएको विधेयक प्रमाणीकरण गरी संवैधानिक अधिकार प्रयोग गर्नुको साटो राष्ट्रपतिबाट विद्यमान राजनीतिक प्रणालीलाई नै खतरामा पार्ने काम भएको बताए। उनले बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनु व्यवस्थामाथिकै प्रहार भएको बताए।

    ‘जन निर्वाचित सभाबाट अनुमोदनसहित प्रस्तावित विधेयकको संबैधानिक अधिकार प्रयोग गर्नु पर्नेमा राष्ट्रपतिबाट प्रणाली नै खतरामा पार्ने काम भएको छ। बारम्बार संविधानको मर्म र भावनामा चोट पुग्ने काम संवैधानिक निकायबाट हुनुले व्यवस्था माथिको प्रहार हो। म यसको भर्त्सना गर्दछु,’ उनले भनेका छन्।

  • सत्तारुढ दल राष्ट्रपतिको कदमबारे छलफलमा जुट्दै

    सत्तारुढ दल राष्ट्रपतिको कदमबारे छलफलमा जुट्दै

    काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमबारे सत्तारुढ दलबीच छलफल हुने भएको छ । सत्तारुद दलको बैठक अहिले केहीबेरमा प्रधानमन्त्री निवास वालुवाटारमा बस्दैछ । संघीय संसदले दोस्रो पटक पठाएको नागरिकता विधेयक संविधानअनुसार १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने थियो । सभामुखले २० भदौमा पठाएका थिए ।

    तर मंगलबार मध्यरातसम्म पनि विधेयक प्रमाणीकरण नभएपछि नेपालमा नयाँ बहस प्रारम्भ भएको छ । बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे पनि छलफल हुने बताइएको छ ।

  • राष्ट्रपतिबाट संविधान विपरित नागरिकता विधेयक होल्ड, बढ्यो अन्योल

    राष्ट्रपतिबाट संविधान विपरित नागरिकता विधेयक होल्ड, बढ्यो अन्योल

    काठमाडौं । संघीय संसदले पारित गरेको विधेयक १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक प्रावधानको राष्ट्रपति विद्यादेवी भण्डारीबाट उल्लंघन भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको उल्लंघन गर्दै नागरिकता विधेयक होल्ड गरिदिएकी छिन् । राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काएको विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले हुबहु पारित गरेको थियो ।

    त्यसपछि पुनः २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पठाएका थिए । संविधानको प्रावधान अनुसार राष्ट्रपतिबाट यो विधेयक ४ असोज (मंगलबार मध्यरात)सम्म प्रमाणीकरण भइसक्नु पर्ने थियो ।

    संविधानको धारा ११३ (४) मा भनिएको छ, ‘राष्ट्रपतिले कुनै विधेयक सन्देशसहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तो विधेयक प्रस्तुत रूपमा वा संशोधनसहित पारित गरी पुनः पेश गरेमा त्यसरी पेश भएको १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण गर्नेछ ।’

    तर राष्ट्रपति भण्डारीले भने विधेयक प्रमाणीकरण गरिनन् । राष्ट्रपति कार्यालय, शीतल निवासले किन विधेयक प्रमाणीकरण नगरिएको हो भनेर औपचारिक जानकारी समेत गराएको छैन । राष्ट्रपतिले विपक्षी दल एमालेको भावना अनुसार काम गरेको भन्दै व्यापक आलोचना भइरहेको छ ।

  • गोठाटार हत्याकाण्डको अनुसन्धान गर्न प्रहरीले बनायो विशेष समिति

    गोठाटार हत्याकाण्डको अनुसन्धान गर्न प्रहरीले बनायो विशेष समिति

    काठमाडौं । अज्ञात समूहको गोलीबाट गोठाटारमा मारिएका लाल मोहम्मदको घटनाबारे छानबिन गर्न प्रहरी प्रधान कार्यालयले विशेष समिति गठन गरेको छ ।
    प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज भट्टराईको नेतृत्वका मंगलबार पाँच सदस्यीय समिति बनाइएको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रवीन्द्रबहादुर धानुकलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् । भट्टराई उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख हुन् ।

    सोमबार साँझ साढे ६ बजे गोठाटारस्थित एभेन्जर इन्टरप्राइजेज नामक गोर्मेन्ट उद्योग अगाडि मोहम्मदलाई गोली हानेर अज्ञान समूहले हत्या गरेको थियो । उनलाई ‘मेड इन यूएस’ लेखिएको पेस्तोलबाट चार राउण्ड गोली हानिएको पाइएको छ । उनको हत्यामा संलग्न तीनजना व्यक्ति घटनास्थल नजिकै रहेको होटल कोशिपारि गेष्ट हाउसमा बसेका पाइएको छ । प्रहरीले अहिलेसम्म कसैलाई पक्राउ गर्न सकेको छैन ।

  • गोठाटारमा हत्या भएका अन्सारीको विवादाष्पद पृष्ठभूमी, अनुसन्धानमा जुट्यो प्रहरी

    गोठाटारमा हत्या भएका अन्सारीको विवादाष्पद पृष्ठभूमी, अनुसन्धानमा जुट्यो प्रहरी

    काठमाडौं । फिल्मी शैलीमा गोली हानी हत्या भएका काठमाडौंको गोठाटारस्थित जम्बुडाँडाका गार्मेन्ट व्यवसायी लाल मोहम्मद अन्सारीको पृष्ठभूमि विवादास्पद पाइएको छ । प्रहरीलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाए अनुसार उनी तयारी पोसाक र झोला बनाउने फ्याक्ट्रीका सञ्चालक हुन् । उनको स्थानीय घर सर्लाही हो । अज्ञात समूहले उनलाई कारमा लखेटी लखेटी गोली हानीको सीसीटीभी फुटेजमा देखिएको छ । उनको टाउको, छाती र पेटमा गोली हानी लागेको छ ।

    सोमबार साँझ गोली लागेर घाइते भएका उनलाई शंखरापुर अस्पतालमा लगिएको थियो । उक्त अस्पतालमा उपचार नभएपछि महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा लगिएको थियो । त्यसको केही बेरमै चिकित्सकले मृत घोषणा गरे । बा ६ च ५१५२ नम्बरको मोटर चढेर आएका मोहम्मदलाई गोठाटारको जम्बुडाँडामा रहेको उनको गार्मेन्ट फ्याक्ट्री अघि सोमबार गोली हानिएको थियो । गोली हान्ने व्यक्ति अझै फरार छन् । हत्या भएका ५७ वर्षिय अन्सारी करिब ९ वर्ष जेल बसेर ६ वर्षअघि रिहा भएका व्यक्ति भएको खुलेको छ ।

    जाली नोट र कर्तव्य ज्यान मुद्दामा जोडिएका उनी २०६४ साउन ९ गते जेलमा ८ वर्ष ७ महिना बसेर छुटेका थिए । उनी लाल मोहम्मद, लाल अन्सारी, लाल थापाजी लगायत उपनामले चिनिन्थे । उनीमाथि व्यक्ति हत्या र जालीनोटको कारोबारको अभियोग पुष्टी भएको थियो । उनी २०७३ जेठ २५ मा केन्द्रीय कारागारबाट छुटेका हुन् । सोमबार गोठाटारमा भएको गोली प्रहार र हत्या सम्बन्धी घटनामा पनि भारतीय गिरोहको संलग्नता रहेको आशंकाका बीच प्रहरीले अनुसन्धान अगाडी बढाएको बताएको छ ।

  • काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते

    काठमाडौंको गोठाटारमा गोली चल्यो, एक जना घाइते

    काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८, गोठाटारमा गोली चलेको छ । गोली लागेर घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेमा सर्लाहीको हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद भन्ने मोहम्मद दर्जी छन् । तीन गोली लागेका उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भइरहेको छ ।

    रातो टिर्सट र जिन्स लगाएका र मोटरसाइकलमा आएका व्यक्तिले आफूलाई गोली हानेर भागेको घाइते मोहम्मदले बताएका छन् । काठमाडौं प्रहरी परिसर र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ । गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाइ गरिएको प्रहरीले बताएको छ ।

  • राष्ट्रपतिबाट ७०२ जना कैदी बन्दीको कैद माफ

    राष्ट्रपतिबाट ७०२ जना कैदी बन्दीको कैद माफ

    काठमाडौं । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट ७०२ जनाको कैद माफी भएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभिन्न मितिमा अदालतबाट भएका फैसला बमोजिम ७०२ जनाको कैद सजाय माफी मिनाहा गरेकी छिन् । राष्ट्रपति भण्डारीले संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयको सूचीमा रहेका महेन्द्रप्रसाद कानुसहित २१ जनालाई कैद सजाय माफी गरेकी छिन् ।

    त्यसैगरी राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसुर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशका आधारमा असल चालचलन भएका पासाङ शेर्पासहित २०३ र इन्द्रकुमार लिम्बूसमेतका ४७८ गरेर जम्मा ६८१ जनाको कैद माफी मिनाहा गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । नेपालमा सोमबार संविधान दिवस मनाईदै छ ।

  • समानुपातिको सूची तयार पार्न एमाले र कांग्रेस पार्टी कमिटीका बैठक बस्दै

    समानुपातिको सूची तयार पार्न एमाले र कांग्रेस पार्टी कमिटीका बैठक बस्दै

    काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दै छ । आगामी प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारको नामावली तयार गर्न बैठक बस्न लागेको हो । शनिबार साँझ बसेको बैठकले उम्मेदवारको सूची तयार गर्न नसकेपछि पुनः आज बैठक बस्न लागेको हो । आजको बैठकले उम्मेदवारको सूची तयार गर्ने नेताहरूले बताएका छन् । शनिबारको बैठकमा सङ्घीयतर्फ ११० र प्रदेशतर्फ २२० उम्मेदवारको सूची बनाउन विभिन्न मापदण्ड बनाउने, समावेशितालाई ध्यानमा राखेर क्लस्टरवाइज ध्यान दिँदै मापदण्ड बनाउनेबारे छलफल भएको थियो । आजको बैठक ११ बजेपछि बोलाइएको छ ।


    उता, समानुपातिक तर्फका उम्मेदवारहरुको बन्द सूची तय गर्न नेपाली कांग्रेसको संसदीय समितिको बैठक बस्दै छ । बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । पदाधिकारीमा नेता रामचन्द्र पौडेललाई पनि थपिएको संसदीय समितिको बैठक हिजो पनि बसेको थियो । कांग्रेसले क्लस्टर अनुसारको सूची बनाउन आठ सहमहामन्त्रीलाई जिम्मेवारी दिएको छ । सहमहामन्त्रीहरुले तयार गरेको सूचीमा थप छलफल गरी टुंगो लगाइने छ । निर्वाचन आयोगले समानुपातिक तर्फको बन्द सूची बुझाउने समय आज र भोलिको लागि निर्धारण गरेको छ ।

  • चोलेन्द्रलाई महाअभियोग लगाउनेबारे ५ सांसदले राखे फरक मत

    चोलेन्द्रलाई महाअभियोग लगाउनेबारे ५ सांसदले राखे फरक मत

    काठमाडौं । नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का गरी ५ सदस्य निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन गरिएको सिफारिसमा फरक मत राखेका छन् । जबराबारे छानबिन नै नसकिएकाले निर्णयमा पुग्ने आधार नभएको भन्दै ५ सांसदले लिखित रुपमै ८ बुँदे फरकमत राखेका हुन् । महाअभियोग लाग्नुपर्छ वा पर्दैन भन्नका निम्ति तथ्य यकिन हुनुपर्ने एमालेको तर्क छ ।

    फरक मतमा उनीहरुले ६ महिनासम्म महाअभियोगलाई संसदमा किन अल्झाइयो, महाअभियोग सिफारिस समितिले पाउनुपर्ने न्यूनमत ३ महिना किन दिइएन र, छोटो अवधिमा नै काम सकेर प्रतिवेदन दिइयो भने संसदमा प्रस्तुत भएर निर्णयमा पुग्छ भन्ने आधार के भन्ने प्रश्न उठाएका छन् । सिफारिस समितिले माग गरेका अधिकांश कागजात पनि अझैसम्म प्राप्त नभएको फरक मतमा उल्लेख छ ।


    सत्ता गठबन्धन र सभामुखले काम गर्न समय अभाव हुने गरी महाअभियोग सिफारिस समिति समक्ष पठाएको भन्दै उनीहरुले फरक मतमा भनेका छन्, ‘समितिले आफूलाई प्राप्त जिम्मेवारीका सम्बन्धमा निरन्तर कार्य गर्दा समेत विद्यमान प्रतिनिधिसभाको कार्यकाल (१ असोज २०७९) भित्र प्रस्तुत महाअभियोगको सम्बन्धमा निर्णयमा पुग्न, सिफारिस समिति प्रतिवेदन तयार गर्न र प्रस्तुत गर्न सकिने अवस्था रहेन ।’

    समितिले हालसम्म गरेको कामको विवरण, जबराको बयान लगायतका सम्पूर्ण सामग्री संघीय संसद सचिवालयमा बुझाउने भन्दै एमाले र लोसपाका ५ सांसदले फरक मतमा लेखेका छन्, ‘बहुमत नामको कथित प्रतिवेदन वस्तुतः प्रतिवेदन नै होइन । आंशिक रुपमा संकलित कागज पुलिन्दालाई प्रतिवेदन मान्न सकिँदैन । यसमा प्रतिवेदनको कुनै पनि अंग पुगेको छैन ।’

  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रलाई महाअभियोग लगाउन सिफारिस

    काठमाडौं । प्रतिनिधिसभाको महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन सिफारिस गरेको छ । ११ सदस्यीय समितिमा सत्तारुढ गठबन्धनमा आवद्ध दलका ६ सांसदले बहुमतका आधारमा प्रतिवेदन पारित गरेका छन् । समितिमा प्राप्त प्रमाण र जबराको वयानका आधारमा महाअभियोग सिफारिस गरिएको समितिले जनाएको छ । प्रतिवेदनमा जबराको निलम्बनको निरन्तरताको विषय समावेश छ । ‘मुद्दा चलेपछि त्यो किनारा नलागेसम्म यथावत रहने गरी सिफारिस गरिएको छ । सिफारिस समितिले जबरालाई महाअभियोग लगाउनुपर्ने ९ वटा आधार दिएको छ ।

    समितिले वादी नेपाल सरकार र प्रतिवादी रञ्जनकृष्ण कोइराला भएको कर्तव्य ज्यान मुद्दामा सजाय घटाइ कानुनको गम्भीर उल्लंघन गरेको, संवैधानिक नियुक्तिसम्बन्धी मुद्दालाई सुनुवाइ प्रक्रियामा नलगी न्यायाधीशले पालना गर्नुपर्ने आचारसंहिताको गम्भीर उल्लंघन गरेको, संसद विघटनसम्बन्धी मुद्दामा संलग्न पाँचै जना न्यायाधीशलाई महाअभियोग लगाइदिनु भनी निजले समितिमा वयानका क्रममा भनेको देखिँदा न्यायपालिकाको स्वतन्त्रतापूर्वक गर्नुपर्ने काम नगरी कार्यकारिणीका मानसिसँग सल्लाह गर्ने गरेको पुष्टि भई निष्पक्ष रुपमा कार्यसम्पादन गर्ने कार्यक्षमताको अभाव रहेको देखिएको उल्लेख छ ।

    यसैगरी सार्वजनिक खरिद ऐन २०६३ र सार्वजनिक खरिद नियमावली २०६४ बमोजिम सर्वोच्च अदालत भवन निर्माण सम्बन्धी ठेक्कामा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान नगरी कानुनको गम्भीर उल्लंघन गरेको समेत अभियोगमा उल्लेख छ ।

    संवैधानिक नियुक्तिसम्बन्धी बैठकमा निष्पक्ष भूमिका खेल्न नसकेको, कानुन व्यवसायी, पक्षलगायत न्यायका उपभोक्ताले अदालतप्रति विश्वासै हुन नसक्ने वातावरण बनार्य न्यायपालिकाको स्वतन्त्रतामाथि प्रश्न चिह्न खडा भएको र कृष्णमानविरुद्ध हंसमान सिंहको मुद्दा, प्रेरणा शाहको मुद्दा, वीरगञ्जको सार्वजनिक पोखरीसम्बन्धी मुद्दा, क्यासिनोको सञ्चालन तथा राजस्वसम्बन्धी मुद्दा, एनसेलको कर छलीको मुद्दालगायतमा कानुनको व्याख्यामा गम्भीर त्रुटी गरेको देखिएको उल्लेख छ ।

    निज प्रधनन्यायाधीश नियुक्ति हुनुपूर्व भएको संसदीय सुनुवाईमा गरेका प्रतिवद्धता पूरा गर्न नसकी पदीय जिम्मेवारी र कर्तव्य पूरा गर्न नसकेको र न्याय प्रशासनको अन्तिम जिम्मेवारी लिने संवैधानिक व्यवस्था बमोजिम कर्तव्य पूरा गर्न नसकेको समेत अभियोग छ ।

  • समानुपातिकको बन्द सूची बुझाउने समय आज र भोली

    समानुपातिकको बन्द सूची बुझाउने समय आज र भोली

    काठमाडौं । प्रदेश र प्रतिनिधि सभाको पाँच वर्षे कार्यकाल गएराती सकिएको छ । यससँगै नेपालमा नयाँ निर्वाचन प्रक्रिया सुरु भएको छ । आजबाट राजनीतिक दलहरुलाई समानुपातिकतर्फको बन्दसूची बुझाउने कार्यतालिका छ । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको लागि दलहरुले समानुपातिकतर्फको बन्दसूची असोज ३ गते भित्र बुझाइसक्नुपर्ने निर्वाचन आयोगले जनाएको छ । आगामी निर्वाचन संघीय संसदमा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र प्रत्यक्ष निर्वाचन प्रणालीबाट १६५ जना निर्वाचित हुनेछन् ।

    दलहरुले निर्वाचित हुने कूल सदस्य संख्याको कम्तीमा १० प्रतिशत सदस्यका लागि उम्मेदवारी दिनेगरी बन्दसूची तयार पार्नुपर्छ । त्यसमा ५० प्रतिशत महिला र समावेशी प्रतिनिधित्व अनिवार्य गरिएको छ । बन्दसूची पेस गर्नेदेखि सबै प्रक्रिया मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हुनेछ । प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम भने असोज २३ गतेदेखि सुरु हुने छ । असोज २३ गते प्रत्यक्षतर्फको मनोनयन दर्ताको कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।

  • राष्ट्रपतिबाट प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

    राष्ट्रपतिबाट प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य

    काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदको निर्णय अनुसार प्रतिनिधिसभाको चालु अधिवेशन असोज १ गते राति १२ बजेदेखि अन्त्य गरेकी हुन् ।

    शनिबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रपतिले संसद अधिवेशन अन्त्य गरेको जानकारीसहितको पत्र सभामुख अग्निप्रसाद सापकोटाले वाचन गरेर सुनाए । शनिबारको प्रतिनिधिसभा बैठकमा दलका शीर्ष नेताहरुले सम्बोधन गरेका थिए । सभामुख सापकोटाले प्रतिनिधिसभाको कामको विववरण प्रस्तुत गरेका थिए ।

  • मिटरब्याज पिडित र सरकारबीच ५ बुँदे सहमति

    मिटरब्याज पिडित र सरकारबीच ५ बुँदे सहमति

    काठमाडौं । सरकार र मिटर ब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिबीच ५ बुँदे सहमति भएको छ । सहमतिपछि संघर्ष समितिले काठमाडौंको माइतीघरमा साढे एक महिनाभन्दा लामो समयदेखि गर्दै आएका आन्दोलनका कार्यक्रम स्थगित गर्ने भएको छ ।

    गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा गृह मन्त्रालयमा शनिबार बिहान भएको वार्तामा ५ बुँदे सहमति भएको हो । सहमतिमा मन्त्रालयका तर्फबाट मिटरब्याज अपराध नियन्त्रण सिफारिस कार्यदलका संयोजकसमेत रहनु भएका सहसचिव भीष्मकुमार भुसाल तथा संघर्ष समितिको तर्फबाट अध्यक्ष रामसुरत गुप्ताले हस्ताक्षर गरेका छन् ।

    मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानबिनका सम्बन्धमा कार्यदलको सिफारिसबमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाको कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति पिडकबाट भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ ।

    ऋणीले साँवा ब्याज चुक्ता गरेपछि फिर्ता गर्नेगरी साहु वा निजले इच्छाएको व्यक्तिका नाममा जग्गा रजिष्ट्रेसन पास गरिदिएको तर कानुनसम्मत रूपले हुन आउने साँवा ब्याज पूरै चुक्ता गर्दा वा गर्न तयार हुँदा पनि जग्गा फिर्ता नगरेको पुष्टि हुन आएमा उक्त जग्गा जुनसुकै तहसम्म बिक्री गरेको भए पनि साहुले उक्त जग्गा फिर्ता गर्न अन्तरनिकाय समन्वय गरी कानुनी व्यवस्था गर्ने सहमति भएको छ ।

    संघर्ष समितिले राखेका मागका सम्बन्धमा कार्यदलको प्रतिवेदनमा उल्लेखित सिफारिसको कार्यान्वयनका लागि आन्तर निकाय समन्वय गरि मन्त्रिपरिषद्ले लिनु पर्ने आवश्यक निर्णयका लागि मन्त्रिपरिषद्मा प्रस्ताव पेस गर्ने सहमति पनि भएको छ ।

  • आजबाट काठमाडौंमा सार्वजनिक स्थानमा धुमपान निधेष

    आजबाट काठमाडौंमा सार्वजनिक स्थानमा धुमपान निधेष

    काठमाडौं । काठमाडौंमा आजबाट सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ सेवन गर्न पाइने छैन । काठमाडौं महानगरपालिकाले आजदेखि सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ समेतको आधारमा कारबाही गर्ने चेतावनीसहित निषेध गरेको हो । सर्वसाधारण जनताको स्वास्थ्य, सुविधा र आर्थिक हितको अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले २०७९ असोज १ गतेदेखि सार्वजनिक स्थानमा चुरोट, बिँडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा, सुर्ती वा यस्तै प्रकारका अन्य पदार्थको नसा लिने वा सेवन गर्ने कार्यमा निषेध गरिएको जनाएको छ ।

    काठमाडौं महानगरपालिका नगरसभाको ११ औं अधिवेशनले सार्वजनिक स्थानमा धूमपान गर्न निषेध गर्ने व्यवस्था प्रभावकारी रुपमा कार्यान्व्यन गर्ने नीति पारित गरेको थियो । महानगरपालिकाले आज सार्वजनिक सूचना जारी गरी, नियम उल्लंघन गर्ने व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा जरिवाना गर्ने चेतावनी दिएको छ ।

    सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन २०६८ मा उल्लेख भएअनुसार राज्य तथा सरकारी निकाय, संस्था वा कार्यालय, शिक्षण संस्था, पुस्तकालय, तालिम वा स्वास्थ्य सम्बन्धी संस्था, विमानस्थल, वायुसेवा तथा सार्वजनिक सवारीका साधन, बालकल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय, बाल उद्यान तथा क्लब, सार्वजनिक शौचालय, उद्योग तथा कलकारखानाका कार्यस्थललाई सार्वजनिक स्थल मानिएको छ ।

    यसैगरी चलचित्र घर, साँस्कृतिक केन्द्र तथा नाट्यशाला, होटल, मोटल, रिसोर्ट, रेष्टुरेन्ट, बार, भोजनालय, चमेनागृह, लज, छात्र वा छात्रावास तथा अतिथि गृह, रंगशाला, कभर्डहल, शारीरिक सुगठन, व्यायाम केन्द्र, पौडी पोखरी तथा पुल हाउस, डिपार्टमेन्टल स्टोर तथा मिनी मार्केट, धर्मशाला तथा धार्मिक स्थल र सार्वजनिक सवारीका प्रतिक्षालय तथा टिकट काउन्टर पनि सार्वजनिक स्थल हुन् ।

    यी बाहेक अन्य कुनै ठाउँको महत्व र सम्वेदनशीलतालाई विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको अन्य स्थललाई पनि सार्वजनिक स्थल मानिने ऐनमा उल्लेख छ ।

    सार्वजनिक स्थलका व्यवस्थापकले आफूसँग सम्बन्धित सार्वजनिक स्थलको आवश्यकता अनुसार विभिन्न ठाउँमा धूमपान तथा सूर्ति सेवन गर्न नपाउने व्यहोराको सूचना सबैले देख्ने र पढ्न सक्ने गरी टाँस गर्नु पर्नेछ । यदि त्यसो नगर्ने व्यवस्थापकलाई पाँच हजार रुपैयाँसम्म जरिवाना हुन्छ ।

    यदि कसैले सार्वजनिक स्थलमा धूमपान वा सुर्तीजन्य पदार्थ सेवन गरेमा व्यवस्थापकले ती व्यक्तिलाई सार्वजनिक स्थलबाट बाहिर निकाल्ने वा एक सय रुपैयाँ जरिवाना गर्ने वा दुबै सजायँ गर्न सक्ने कानुनी व्यवस्था छ ।

    यदि सार्वजनिक स्थलकै व्यक्ति वा कर्मचारीले धूमपान वा सुर्ती सेवन गरेमा अनुशासनमा नरहेको सरह मानी सेवा शर्त सम्बन्धी कानून बमोजिम सचेत गराउने वा अन्य विभागीय कारबाही गर्ने व्यवस्था ऐनमा छ ।

  • निर्वाचन आयोगको व्याख्या : प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्र

    निर्वाचन आयोगको व्याख्या : प्रतिनिधिसभाको कार्यकाल १ असोजसम्म मात्र

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने गरी व्याख्या गरेको छ । समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाउने समय असोज २ र ३ गतेलाई तोकिएको छ । त्यसअगावै प्रतिनिधिसभाको कार्यकाल सकिने व्‍याख्या आयोगले गरेको हो । आयोगले यसबारे संघीय संसद सचिवालयलाई पत्र लेखेको छ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्तले आइतबार संघीय संसद सचिवालयमा पठाएको पत्रमा हालको प्रतिनिधिसभाको असोज १ गतेसम्म मात्रै कायम रहने व्याख्यात्मक व्‍यहोरा उल्लेख छ ।

    ‘नेपालको संविधानको धारा ९१ को उपधारा (६) को खण्ड (क) तथा धारा १८२ को उपधारा (६) को खण्ड (क) मा प्रतिनिधिसभा वा प्रदेशसभा विघटन भएको अवस्थामा समेत सभामुख र उपसभामुख अर्को निर्वाचनको मनोनयन गर्ने मितिभन्दा अघिल्लो दिनसम्म पदमा बहाल रहने व्यवस्था गरेबाट निर्वाचनको लागि उम्मेदवार मनोनयन हुने दिनदेखि नै सभामुख तथा उपसभामुख पदमा नरहने संवैधानिक व्यवस्था भएको सन्दर्भमा प्रतिनिधिसभा वा प्रदेश सभाका अन्य सदस्यहरु सोही पदको लागि हुने निर्वाचनका लागि मनोनयनपत्र पेश गर्ने मिति पछिसम्म कायम रहने गरी कानून संशोधन गर्नु उपयुक्त देखिँदैन’ केही नेपाल ऐन संशोधन विधेयकमाथि टिप्पणी गर्दै आयोगले भनेको छ ।

    ‘सरकारले केही नेपाल ऐन संशोधनमार्फत प्रतिनिधिसभाको कार्यकाल तय गर्न खोजेको थियो । तर, कार्यकाल लम्ब्याउन खोजेको भनी चौतर्फी विरोध भएपछि सरकार पछि हटेको छ । सरकार पछि हटेसम्म प्रतिनिधिसभाको कार्यकालका सम्बन्धमा कतिपयले अन्योलता प्रकट गरिरहेका बेला निर्वाचन अयोगले प्रतिनिधिसभाको कार्यकाल असोज १ गतेसम्म मात्रै रहने व्‍याख्यासहितको पत्र संघीय संसद सचिवालयमा पठाएको हो ।

  • आरोपबारे पहिलो पटक बोले सन्दीप, अभियोगको सामना गर्ने उद्घोष

    आरोपबारे पहिलो पटक बोले सन्दीप, अभियोगको सामना गर्ने उद्घोष

    काठमाडौं । नाबालिकाले बलात्कारको आरोप लगाएसँगै करीयर नै धरापमा परेको नेपाली राष्ट्रिय टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले पहिलो पटक यस आरोपबारे बालेका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उनले नेपालको कानुन मान्ने र आफूमाथि लागेको अभियोगको सामना गर्ने बताएका हुन् । आफू क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर केही दिनमै नेपाल फर्किन लागेको पनि उनले जानकारी गराएका छन् ।

    उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् । हाल क्यारेवियन प्रिमियर लिगका लागि जमैकामा रहेका सन्दीपविरुद्ध नाबालिग बलात्कार आरोपमा उजुरी परेको हो । उनीविरुद्ध पक्राउ पुर्जी नै जारी भएको छ । सोहीकारण उनलाई अब प्रहरीले विमानस्थलमै गिरफ्तार गर्न सक्छ । उनलाई नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार साँझ उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरिसकेको छ ।

  • मापदण्ड विपरितका सीमा पर्खाल ३५ दिन भित्र हटाउन महानगरपालिकाको ताकेता

    मापदण्ड विपरितका सीमा पर्खाल ३५ दिन भित्र हटाउन महानगरपालिकाको ताकेता

    काठमाडौं । काठमाडौं महानगरपालिकाले सीमा पर्खाल नियमित गर्न तथा अनधिकृत सीमा पर्खाल हटाउन ३५ दिने सयम दिएको छ । महानगर क्षेत्रभित्र घर जग्गा घेर्न निर्माण गरिएको पर्खाल प्रचलित भवन निर्माणसम्बन्धी मापदण्ड अनुसार नै हुनुपर्ने महानगरले यस्तो सूचना जारी गरेको हो । मापदण्डले कम्पाउण्ड पर्खाललाई समेत समेट्ने भएकाले तोकेअनुसार गर्न घरधनीलाई सूचित गरिएको महानगरले जनाएको छ ।

    कतिपय पर्खालहरु नक्सा पास नगरि निर्माण भएका पाइएकोले सूचना प्रकाशित भएको ३५ दिनभित्र हटाउन सूचित गरिएको छ । सूचनाको बेवास्ता गरेमा सीमा पर्खाल हटाउने पनि महानगरले चेतावनी दिएको छ । सीमा पर्खाल हटाउँदा लागेको खर्च सरकारी बाँकी सरह सम्बन्धित घर जग्गा धनीबाटै असुल हुने महानगरको सहरी व्यवस्थापन विभागले जनाएको छ ।


    महानगरले अनधिकृत संरचना हटाउने अभियानलाई निरन्तरता दिएको छ । मापदण्ड अनुरुप निर्माण भएका तर नक्सा पास नगरिएका भवनलाई पनि महानगरले ९० दिनभित्र नक्सा पेस गरी नियमित गर्न सम्बद्ध व्यक्ति, संस्था, संस्थान र सरकारी निकायलाई समेत अनुरोध गरेको छ ।

  • त्रिपुरेश्वरको डिजिटल बोर्ड हटाउने बालेनको निर्णयमा अदालतको रोक

    त्रिपुरेश्वरको डिजिटल बोर्ड हटाउने बालेनको निर्णयमा अदालतको रोक

    काठमाडौं । उच्च अदालत पाटनले वर्ल्ड ट्रेड सेन्टरमा राखिएको विद्युतीय होर्डिङ बोर्ड हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरकालीन अन्तरिम आदेश दिएको छ। शकुन्तलाल हिराचनले दिएको रिटमा न्यायाधीश श्यामजी प्रधानको इजलासले बुधबारसम्मका लागि अल्पकालीन अन्तरिम आदेश दिएको हो । अदालतले बुधबार दुवै पक्षलाई उपस्थित हुन भनेको छ ।

    रिट निवेदक र महानगर दुवै पक्षको बहस सुनेर यो विषयमा अन्तरिम आदेश हुने वा नहुने निर्णय हुने ताइएको छ । आफूसँग गरेको सम्झौता विपरीत महानगरले होर्डिङ बोर्ड हटाउने निर्णय गरेको भन्दै सो निर्णय बदर गर्न माग गर्दै हिराचन उच्च अदालत पाटन गएका थिए।

  • किन लम्ब्याउन खोजिदैछ संसदको कार्यकाल ?

    किन लम्ब्याउन खोजिदैछ संसदको कार्यकाल ?

    काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभाको कार्यकाल लम्ब्याउने गरी सरकारले संसदमा विधेयक दर्ता गरेको छ । चुनावपछि पनि कार्यकाल कायमै राखेर तलबभत्ताको नाममा राज्यकोष दोहन गर्न खोजिएको भन्दै सरकारको यो कदमको भने विरोध भएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसदहरुले उम्मेदवारी मनोनयन दर्तापछि संसद्को कार्यकाल अन्त्य हुने प्रावधान राख्नुपर्ने बताए ।

    राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहेका सांसद राजेन्द्र लिङ्देनले भने संसद्को आयु लम्ब्याउने कामलाई अनैतिक भन्दै सांसद पदबाट राजीनामा दिएको घोषणा गरे । कांग्रेस र माओवादीका सांसदहरुले भने विधेयकको समर्थन गरेका छन् । मन्त्रिपरिषदबाट पारित भएर हिजो प्रतिनिधि सभामा पेस भएको विधेयकमा प्रतिनिधि सभाको कार्यकाल गणना गर्दा त्यस्तो सभाको पहिलो बैठक बसेको दिनदेखि गणना गर्ने र नयाँ प्रतिनिधि सभाको पहिलो बैठक बसेको दिनदेखि अघिल्लो प्रतिनिधि सभाको कार्यकाल स्वतः समाप्त हुने उल्लेख छ ।

  • नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइंदै

    नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाइंदै

    काठमाडौं । राष्ट्रिय सभाबाटहुबहु पारित भएको नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पठाइने भएको छ । आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा राष्ट्रिय सभाबाट पारित भएको सन्देश सुनाइने र त्यसपछि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरी विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने तयारी छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचारका लागि १५ बुँदे सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयक शुक्रवार राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएको हो ।

    यसअघि साउन २९ गते राष्ट्रपति भण्डारीले सन्देशसहित नागरिकता विधेयक फिर्ता गर्नुभएको थियो । तर राष्ट्रपतिको सन्देशलाई बेवास्ता गर्दै भदौ २ गते सत्तारुढ दलहरुको बहुमतबाट प्रतिनिधि सभाले विधेयक पास गरेर राष्ट्रिय सभामा पठाएको थियो । राष्ट्रिय सभाले विधायन समितिमा पठाए पनि संशोधन भएन । राष्ट्रपतिले सन्देशसहित फिर्ता गरेको विधेयक हुबहु पारित भएपछि यसबाट राष्ट्रपतिको अपमान भएको टिप्पणी हुँदै आएको छ । अब राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नैपर्ने संवैधानिक व्यवस्था छ ।

  • चोलेन्द्रको बयान आज पनि जारी रहने

    चोलेन्द्रको बयान आज पनि जारी रहने

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरूद्ध छानबिन गर्न बनेको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ। सिंहदरबारमा ११ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश जबराको बयान दिनेछन्। राणासँग बुधबार र बिहिबार समितिका सबै प्रश्न सोध्न समय नभएपछि उनलाई आज पनि बोलाइएको हो।

    बुधबार र बिहिबार दुईदिन बसेको बैठकमा जबराले ७ वटा प्रश्नको जवाफ दिएका थिए। पहिलो दिनको बैठकमा ४ घन्टा चोलेन्द्रले जवाफ दिएका थिए। दोस्रो दिनको बैठक २ घन्टा मात्र चलेको थियो। समितिले ४३ वटा प्रश्न सोध्ने तयारी गरे पनि सवालजवाफ लम्बिँदा बयान लिन अझै केही समय लाग्ने देखिएको छ।

  • राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास

    राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पास

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता ऐनको संशोधन विधेयक राष्ट्रिय सभाबाट समेत जस्ताको तस्तै पारित भएको छ । भदौ २ गते प्रतिनिधि सभाले पनि पुनर्विचार गर्न राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको थियो। राष्ट्रिय सभाले पुनर्विचारका लागि विधायन व्यवस्थापन समितिमा पठाएको भए पनि समितिले केही पनि परिवर्तन नगरी विधेयक राष्ट्रिय सभामा प्रतिवेदनको रूपमा पठाएको थियो।

    राष्ट्रिय सभाले पनि राष्ट्रपतिले फिर्ता पठाएको विधेयक जस्ताको तस्तै पारित गरेको हो । अब यो विधेयक कानून बन्ने निश्चित भएको छ । विधेयकले कानूनी हैसियत पाएसँगै जन्मसिद्ध नागरिकता पाएका नेपाली नागरिकका सन्तानले नागरिकता पाउनेछन्। पहिलोपटक विदेशमा रहेका गैरआवासीय नेपालीलाई नागरिकता लिन समेत बाटो खोलेको छ । यो विधेयक अब प्रमाणीकरणका लागि पुनः राष्ट्रपति समक्ष पुग्नेछ ।

  • नैतिकताको प्रश्न उठेका व्यक्तिलाई कांग्रेसले उम्मेदवार नबनाउने महामन्त्री थापाको स्पष्टीकरण

    नैतिकताको प्रश्न उठेका व्यक्तिलाई कांग्रेसले उम्मेदवार नबनाउने महामन्त्री थापाको स्पष्टीकरण

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नैतकताको प्रश्न उठेका व्यक्तिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने स्पष्टीकरण दिएका छन् । जेलमा रहेका अफ्ताब आलमलाई पार्टीले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने सिफारिस गरेसँगै अहिले पार्टीको व्यापक आलोचना भइरहेको छ । यसैतर्फ संकेत गर्दै उनले यस्तो बताएका हुन् । साहित्यकार रामलाल जोशीको पुस्तक ‘बाआमा’ सार्वजनिक कार्यक्रममा साहित्यकार नयनराज पाण्डेले आलमलाई उम्मेदवार बनाउन सिफारिस गरेकोमा प्रश्न उठाएका थिए ।

    ‘इँटा भट्टामा मान्छे जलाएको अभियोग लागेकालाई कांग्रेसले उम्मेदवार बनाउँदैछ, यसका बारेमा हामीले कथा लेख्ने दिन आउँदैछ’ उनले भने । जवाफमा कांग्रेस महामन्त्री थापाले आलमको नाम नलिई नैतिकताको प्रश्न उठेकालाई सांसद नबनाइने बताए । थापाले भने, ‘संविधानले बर्जित गरेको मात्र होइन, नैतिकताको कसीमा राखेर हेर्दा यो निर्णय हामीले गरेको हो भनेर छाती ठोकेर भन्न नसक्ने कुनै पनि निर्णय हाम्रो पार्टीले गर्दैन ।’

  • इच्छाराज तामाङविरुद्ध ३ अर्ब ३१ करोड बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा

    इच्छाराज तामाङविरुद्ध ३ अर्ब ३१ करोड बराबरको सम्पत्ति शुद्धीकरण मुद्दा

    काठमाडौं । सिभिल सेभिङ एण्ड क्रेडिट कोओपरेटिभ लिमिटेडका सञ्चालक इच्छाराज तामाङविरूद्ध ३ अर्ब ३१ करोड रुपैयाँ बराबरको सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको छ । उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको हो । सम्पत्ति शुद्धीकरण विभागले तामाङसँग ३ अर्ब ३१ करोड ८५ लाख ९२ हजार ९४२ रुपैयाँ बिगो दाबी गर्दै बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। एक कित्ता जग्गासहित विभिन्न ६९ कम्पनीमा रहेको विभिन्न कित्ता शेयर पनि जफत गर्न माग गरेको हो। तामाङकी श्रीमती सिर्जना शाक्य तामाङसँग पनि एक अर्ब तीन करोड ५४ लाख ४३ हजार ४८७ रुपैयाँ बिगो मागदाबी विभागले गरेको छ।

    उनको एउटा सवारी साधन, विभिन्न कित्ता जग्गा र विभिन्न स्थानको कसुरबाट प्राप्त भएको जग्गा पनि जफत गर्न माग गरेको छ। प्रतिवादीहरू प्रतिक्षा तामाङसँग ६ करोड २२ लाख ३३ हजार ९७ रुपैयाँ, प्रतिशासँग १ करोड ८९ लाख १८ हजार ६४६ रुपैयाँ र सहकारीका तत्कालीन अध्यक्ष केशवलाल श्रेष्ठसँग २६ करोड ६१ लाख ४५ हजार ५३० रुपैयाँ बिगो दाबी गरेको छ। विभागले प्रतिवादी मिनाकुमारी श्रेष्ठको काठमाडौंका विभिन्न स्थानमा रहेका ७ कित्ता जग्गा पनि जफत गर्न अदालतसँग माग गरेको छ।

    इच्छाराज तामाङले ठगी गरेको उजुरी परेपछि केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरेको थियो। अनुसन्धान गरी उनी लगायतले ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ ठगी गरेको भन्दै ब्युरोले काठमाडौं जिल्ला अदालतमा पेश गरेको थियो। यसमा सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) मुद्दा आकर्षित भएपछि विभागले पनि अनुसन्धान थालेको हो।

    उनीहरूले आर्जन गरेको सम्पत्तिको गैरकानुनी स्रोत लुकाउने, छल्ने, हस्तान्तरण र रूपान्तरण समेतका निषेधित कार्यहरू गरी सम्पत्ति शुद्धीकरण कसुर गरेको विभागको ठहर छ। त्यस्तै, इच्छाराजले आफ्ना परिवारका मानिसहरूबीच अंशबण्डा समेत गरेको जनाएको छ

  • दुई किशोर-किशोरी बुद्धनगरमा निर्माणाधिन भवनबाट हाम फाले, अस्पतालमा निधन

    दुई किशोर-किशोरी बुद्धनगरमा निर्माणाधिन भवनबाट हाम फाले, अस्पतालमा निधन

    काठमाडौं । बुधबार साँझ साढे ६ बजे बुद्धनगरस्थिति एक निर्माणाधिन घरको छतबाट हाम फाल्दा एक किशोर र एक किशोरीको ज्यान गएको छ । प्रहरी वृत्त, बानेश्वरका अनुसार बुद्धनगरको बुटवल पावर कम्पनी नजिकै एक निर्माणाधीन घर अगाडि दुई बालबालिकाले ६ तलामाथिबाट फाल फालेका हुन् । घटनास्थलमा प्रहरी पुग्दा दुईजना गम्भीर अवस्थामा थिए । उनीहरुलाई तत्काल सिभिल अस्पताल बानेश्वर लगियो । तर चिकित्सकहरुले मृत घोषित गरे ।

    उनीहरु मध्यबानेश्वरस्थित पाठशाला स्कुलमा कक्षा ९ मा पढ्ने विद्यार्थी भएको खुलेको छ । जिल्ला प्रहरी परिसर, काठमाडौंका अनुसार उनीहरु १३ र १४ वर्षका किशोरकिशोरी भएको खुलेको छ । दुवै पेप्सिकोलामा बस्दै आएका थिए । बुधबार उनीहरु दुबै जना स्पोर्टस् ड्रेसमा उनीहरु स्कुल आएका थिए । अनुसन्धान अधिकृतहरुका अनुसार हालसम्म उक्त घरमा अन्य व्यक्तिको प्रवेश देखिएको छैन र शंकास्पद विषय अगाडि आएका छैनन् । घटनाको कारण हालसम्म खुलेको छैन । उनीहरुको झोला पनि हालसम्म भेटिएको छैन ।