Category: कानुनी कुरा

  • जनार्दन शर्माविरुद्ध भेटिएन बजेटमा अनाधिकृत मान्छे छिराएको प्रमाण ?

    जनार्दन शर्माविरुद्ध भेटिएन बजेटमा अनाधिकृत मान्छे छिराएको प्रमाण ?

    काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठन भएको संसदीय विशेष समितिले प्रतिवेदन तयार पारेको छ । यो प्रतिवेदन शुक्रबार सभामुख अग्नी प्रसाद सापकोटा समक्ष प्रस्तुत गरिने भएको छ । समिति सचिवालयले तयार पारेको प्रतिवेदनमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्ति प्रवेश गराएको ‘प्रमाण नभेटिएको’ उल्लेख छ । यसमा सत्तापक्षमा रहेका सांसद एकमत भएका छन् । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरुले फरक राय दिएका छन् ।

    समिति सदस्यहरुका अनुसार एमालेका सांसदहरुले नै आ–आफ्ना तरिकाले फरक मत राखेका हुन् । सबैका फरक मतलाई राखेर तयार प्रतिवेदन शुक्रबार सभामुख अग्नि सापकोटालाई बुझाइनेछ । चालु आवको बजेट निर्माणमा अनाधिकृत व्यक्ति प्रवेश गरेको आरोप लगाउँदै एमालेले चर्को विरोध गरेपछि संसदीय समिति गठन भएको हो ।

  • ठमेलमा अर्को कल सेन्टरमा प्रहरीको छापा, चार चिनियाँ नागरिक पक्राउ

    ठमेलमा अर्को कल सेन्टरमा प्रहरीको छापा, चार चिनियाँ नागरिक पक्राउ

    काठमाडौं । प्रहरीले ठमेलमा सञ्चालित अर्को कल सेन्टरमा छापा हानेको छ । यो कर सेन्टर चिनियाँ नागरिकले चलाएको खुलेको छ । यसअघि तिलोत्तमा र तिनकुनेमा सञ्चालित कल सेन्टरबाट समेत भारतीय र चिनियाँ नागरिक पक्राउ परेका थिए । जिल्ला प्रहरी परिसर, काठमाडौंको टोलीले ज्याठामा भियना होटलसँगै रहेको भवनबाट चारजना चिनियाँ नागरिकलाई पक्राउ गरेको जनाएको छ ।

    प्रहरीले घरबाट २७ वटा ल्यापटप, ४७२ मोबाइल, एनसेल र स्मार्ट सेलको सीम कार्ड २०, २० वटा र एक लाख ९० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड पनि बरामद गरेको छ । प्रहरीले काठमाडौंका विभिन्न स्थानमा ७ पुस २०७६ मा सर्च अपरेशन चलाएर १२२ जना चिनियाँ नागरिकलाई पक्राउ गरेको थियो । उनीहरुलाई अध्यागमन विभागले डिपोर्ट गरेपछि लिन चीनले चार्टर्ड जहाज नै पठाएको थियो । यो अपरेशनलाई नेपाल र विदेशी प्रहरीको सहकार्यमा भएको हालसम्मकै सबैभन्दा ठूलो संयुक्त कारबाही मानिने गरेको छ ।

  • निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम, आजबाट प्रतिवेदन लेखिने

    निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम, आजबाट प्रतिवेदन लेखिने

    काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेश सम्बन्धित निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथिको आरोप पुष्टी हुने सम्भावना कम भएको छ । बयान र सीसीटीभी फुटेजको प्रमाणबाट समेत यसमा कुनै पुष्टी हुने आधार नभेटिएपछि छानबिन गर्न बनेको संसदीय समितिले आजबाट प्रतिवेदन लेख्न थाल्दैछ । अहिलेसम्मको अनुसन्धान, छलफल र सोधपुछका आधारमा समितिले प्रतिवेदन लेख्ने निष्कर्षमा पुगेको हो । समितिले शर्माको टेलिफोन डिटेल भने हेर्ने छैन । यसले व्यक्तिगत गोपनीयताको हनन् हुने भन्दै समिति अब प्रतिवेदन लेखनमा लाग्ने भएको छ ।

    समितिले सार्वजनिक स्थानमा गरेका बदमासीका प्रमाण सुरक्षित राख्न त्यहाँको निरीक्षण प्रणाली बलियो बनाउने गरी प्रतिवेदन लेख्ने समेत तयारी गरेको छ । समिति गठन भएको आज १६ औं दिन पुगेको छ । पहिलो पटक १० दिनको समय पाएको समितिले पुनः ७ दिनको समय पाएको थियो । समितिले निर्धारित समयमै प्रतिवेदन लेखिसक्ने बताएको छ ।

    समितिले शर्मासहित अर्थ मन्त्रालयका कर्मचारी, अर्थ सचिव लगायत व्यक्तिहरूसँग सोधपुछ गरेको थियो। उक्त अनुसन्धान र सोधपुछबाट बजेट सार्वजनिक हुने अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गए-नगएको निश्चित नभएपछि समिति प्रतिवेदन लेखनमा अघि बढेको हो। आफुमाथि छानविन गर्न समिति बनेपछि अर्थमन्त्री शर्माले राजिनामा दिएका थिए ।

  • बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी

    बाँकेमा दाईले पेशेबर हत्यारा प्रयोग गरी भाइ-बुहारीको बीभत्स हत्या गर्न लगाएको पुष्टी

    बाँके । बाँकेको कोहलपुर नगरपालिका–१४, पार्वतीपुरमा एक दम्पतीको बीभत्स हत्या भएको छ । प्रहरीका अनुसार उनीहरुको मंगलबार बिहान हत्या भएको हो । हत्यामा मृतकका दाइको संलग्नता देखिएको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेका डीएसपी मधुसुधन न्यौपानेका अनुसार हत्यामा मृतक कृष्णकुमार गडरियाको दाइ विजयकुमार गडरियाको संलग्नता पुष्टी भएको हो ।

    मंगलबार बिहान ६ बजे पार्वतीपुरमा २५ वर्षीय कृष्णकुमार गडरिया र उनकी श्रीमती अञ्जली गडरिया आफ्नै घरको ग्यालरी र पालीमा मृत अवस्थामा भेटिएका थिए । उनीहरुको करिब १ वर्ष पहिला विवाह भएको थियो । अनुसन्धानका लागि खटिएको प्रहरी टोलीले अनुसन्धानका क्रममा गडरियाका दाइलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो । दाइले योजनावद्ध रुपमा सुपारी दिएर भाइबुहारीको हत्या गर्न लगाएको खुलेको हो ।

    उनका अनुसार केही महिनाअघि भाइ र बुबालाई उकासेर अञ्जलीले आफूलाई घरायसी विवादमा कुटपिट गराएको दाइ विजयकुमारको बयान छ । त्यही विषयलाई लिएर उनले १८ दिनअघि नै बुहारी अञ्जलीलाई मार्न सुपारी दिएका थिए । हत्या गर्ने क्रममा श्रीमान् कृष्णकुमार पनि आएपछि उनको पनि हत्या भएको देखिएको छ । उनीहरुको हत्या गर्न भारतबाट ५०\५० हजार रुपैयाँ दिएर दुई पेशेबर हत्यारा बोलाइएको समेत खुलेको छ ।

  • नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

    नेपालमा ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोगमा पूर्ण प्रतिवन्ध

    काठमाडौं । सरकारले प्लाष्टिकका झोला उत्पादन, बिक्री वितरण तथा प्रयोगमा प्रतिवन्ध लगाएको छ । कानूनी रुपमा यस अघि नै प्रतिवन्ध लागेको भएपनि प्रयोगमा भने निषेध गरिएको थिएन । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन र प्रयोग बढेपछि सरकार भदौ १ देखि फेरि कडाइ गर्ने भएको छ । कोरोना महामारीमा कानून कार्यानन्वयन फितलो बनेको थियो । सरकारले २०७८ असोज १९ मै राजपत्रमा सूचना निकालेर ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन तथा प्रयोग गर्न प्रतिबन्ध लगाएको थियो।

    ०७८ माघ १७ को मन्त्रिपरिषद निर्णयले प्लाष्टिक झोला प्रतिबन्धसम्बन्धीको नेपाल सरकारको निर्णय कार्यान्वयन गर्न कार्ययोजना नै स्वीकृत गरेको थियो। ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, खोला तथा नदीहरू प्रदूषित भएको, ढल तथा पानीका निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा पुगेको पनि विभागले बताएको छ। विभागले भदौ १ देखि ४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला उत्पादन, बिक्री वितरण तथा प्रयोग गर्नेलाई वातावरण संरक्षण ऐन २०७७ बमोजिम कारबाही गरिनेसमेत चेतावनी दिएको छ।

  • कल सेन्टरमा प्रहरीको सर्च अपरेसन जारी, तिनकुनेबाट भारतीय र चिनियाँसहित ३६ जना पक्राउ

    कल सेन्टरमा प्रहरीको सर्च अपरेसन जारी, तिनकुनेबाट भारतीय र चिनियाँसहित ३६ जना पक्राउ

    काठमाडौं । प्रहरीले कल सेन्टरबाट हुने ठगी धन्दामाथि अपरेसन तिब्र पारेको छ । सो क्रममा आइतबार तिलोत्तमाबाट डेढ सय जनालाई पक्राउ गरेको प्रहरीले सोमबार काठमाडौंको कल सेन्टरबाट ३६ जना व्यक्तिलाई पक्राउ गरेको छ। स्काई वर्ल्ड सर्भिस सेन्टरबाट एक चिनियाँ, दुई भारतीय र ३३ नेपालीसहित ३६ जना व्यक्तिहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिएका छन् ।

    पक्राउ पर्नेमा स्काई वर्ल्ड सर्भिस सेन्टरको व्यवस्थापन प्रमुख ४३ वर्षीय चिनियाँ नागरिक हू यूइहुआ, भारत उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी, १९ वर्षीय नेहा गुप्‍ता, २८ जना पुरूष र ५ जना महिला गरी ३३ जना नेपाली छन्। मैनालीका अनुसार सोमबार काठमाडौं महानगरपालिका(९ तीनकुनेस्थित कल सेन्टरमा अवैध तरिकाले कामदारहरू राखेको गोप्य सूचना पाएको थियो। कल सेन्टरको नाममा आपराधिक कृयाकलाप गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।


    प्रहरीले उनीहरूको साथबाट आठ लाख २९ हजार रुपैयाँ, ३६२ थान ल्यापटप, ७४८ थान डेस्कटप कम्प्युटर र एक थान डिभिआर बरामद गरेको जनाएको छ। उनीहरूले कार्यालय सञ्चालन गरेर सर्वसाधारणलाई धाक, धम्की दिई, व्यक्तिगत गोपनीयता ह्याकिङ गरी ब्ल्याकमेलिङ गरेको आरोप छ।

  • अर्थ मन्त्रालयको सीसीटिभी फुटेज रिकभरसम्बन्धी रिर्पोट प्रहरीले समितिमा बुझायो

    अर्थ मन्त्रालयको सीसीटिभी फुटेज रिकभरसम्बन्धी रिर्पोट प्रहरीले समितिमा बुझायो

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाले अर्थमन्त्रालयको सीसीटीभी फुटेज रिकभर सम्बन्धी रिपोर्ट संसदीय विशेष समितिलाई बुझाएको छ । बजेटमा करको दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालय प्रवेश गराएको भनी उठेको प्रश्नबारे छानबिन गर्न गठित संसदीय विशेष छानबिन समितिले अर्थमन्त्रालयको सीसीटीभी फुटेज मगाएर अध्ययन गरेको थियो ।

    अध्ययनका क्रममा जेठ १४ गते रातिको सीसीटीभी फुटेज नभेटिएपछि जानकारी माग्दा मन्त्रालयले सिस्टम अनुसार रहेको सीसीटीभी फुटेज पठाएको जवाफ दिएपछि छानबिन समितिले जेठ १४ गतेको फुटेज डिलिट भएको भनी रिकभर गर्न सिस्टम नै नेपाल प्रहरीको केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला पठाएको थियो । छानबिन समितिका सचिव सुरेन्द्र अर्यालका अनुुसार प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशालाले सोमबार समितिलाई रिपोर्ट बुझाएको छ । रिपोर्ट मंगलबार खोलिने भएको छ ।

  • कारागार विधेयक २०७८ पारित, कस्ता छन् विशेषता ?

    कारागार विधेयक २०७८ पारित, कस्ता छन् विशेषता ?

    काठमाडौं । प्रतिनिधि सभाको आइतबारको बैठकले ‘कारागार विधेयक, २०७८’ पारित गरेको छ। प्रतिनिधि सभा दुई पटक विघटन भएपछि सो विधेयकसमेत प्रभावित भएको थियो। विधेयकमा राखिएको बन्दीलाई प्रजनन अधिकारसहितको व्यवस्थालाई सांसदहरुले क्रान्तिकारी कदमको सङ्ज्ञा दिएका छन्। उनीहरुले विधेयक पारित भएसँगै शीघ्रातिशीघ्र नियमावली बनाएर कार्यान्वयनमा लैजानसमेत माग गरेका छन्।


    बन्दीलाई प्रजनन अधिकार

    नयाँ विधेयकले बन्दीको प्रजनन अधिकारको संरक्षण गरेको छ। कारागारमा बन्दीका रूपमा रहेका वैध दम्पतीको प्रजनन अधिकार संरक्षण गर्ने प्रयोजनका लागि तोकिएबमोजिम भेटघाट गर्ने अनुमति दिनुपर्ने व्यवस्था गरिएको छ। विधेयकमा प्रजनन अधिकार संरक्षणसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुने प्रावधान छ।

    पढ्न पाउने व्यवस्था

    विधेयकमा बन्दीलाई पठनपाठनको प्रबन्ध मिलाउनुपर्ने प्रावधान राखिएको छ। कारागार प्रशासकले बन्दीको पठनपाठनका लागि आवश्यक प्रबन्ध मिलाउनु पर्नेछ। कारागार प्रशासकले तोकिएको सङ्ख्याभन्दा बढी सङ्ख्यामा बन्दी रहेको अवस्थामा आवश्यकतानुसार आधारभूत शिक्षा, माध्यमिक शिक्षा, खुला शिक्षा वा दूर शिक्षाका लागि आवश्यक व्यवस्था मिलाउनुपर्ने छ।

    कारागार प्रशासकले निरक्षर बन्दीलाई प्रौढ शिक्षा, अनौपचारिक शिक्षा वा त्यस्तै अन्य प्रकृतिको पठनपाठन गराउनुपर्ने छ। पठनपाठनका लागि कारागार प्रशासकले कारागारमा रहेका बन्दीमध्येबाट तोकिएबमोजिम शिक्षकका रूपमा तोक्नेछ। त्यस्तो शिक्षकलाई एक महिना बराबर थप पाँच दिन सजाय कट्टा हुनेछ।

    शिक्षकलाई तोकिएबमोजिमको पारिश्रमिक र सुविधा उपलब्ध गराइने छ। बन्दीको आचरणमा सुधार वा सकारात्मक विचार प्रवद्र्धन गर्ने उद्देश्यले तोकिएबमोजिमको नैतिक शिक्षा, योग अभ्यास तथा त्यस्तै अन्य कार्यक्रम पनि सञ्चालन गर्न सकिनेछ।

    बन्दीलाई स्वावलम्बी बनाउने प्रयास

    नयाँ विधेयकमा कैदीबन्दीलाई स्वावलम्बी बनाउने प्रयास गरिएको छ। यद्यपि सीपमूलक वा आयमूलक यसअघि नै कार्यक्रम सञ्चालनमा छ। कारागार प्रशासकले बन्दीलाई आत्मनिर्भर बनाउन वा आय आर्जन गर्ने अवसर प्रदान गर्न कारागार परिसरभित्र विभिन्न सीपमूलक वा आयमूलक कार्यक्रम सञ्चालन गर्नेछ। त्यस्ता कार्यक्रमबाट उत्पादित वस्तुलाई बजारको पहुँच दिन कारागार प्रशासकले आवश्यक व्यवस्था गर्नुपर्ने विधेयकमा उल्लेख छ। आयमूलक कार्यक्रमबाट प्राप्त आयमध्ये तोकिएबमोजिमको आय रकम सम्बन्धित बन्दीलाई उपलब्ध गराउनै पर्नेछ।

    बन्दीलाई काममा लगाउन सकिने प्रबन्ध पनि विधेयकले गरेको छ। कानूनबमोजिम अनुमति प्राप्त गरी कारागार परिसरमा कुनै कारखाना स्थापना भएकोमा त्यस्तो कारखानामा काम गर्न चाहने बन्दीलाई काममा लगाउन सक्नेछ। कुनै बन्दीलाई काममा लगाइएकोमा निजलाई तोकिएबमोजिमको पारिश्रमिक उपलब्ध गराउनु पर्नेछ।

    विवाह दर्ता गर्न पाउने

    विधेयकमा एउटै कारागारमा रहेका पुरुष र महिला बन्दी वा कारागारमा रहेको बन्दीसँग कारागारमा नरहेको पुरुष वा महिलाले विवाह गर्न चाहेमा विवाह दर्ताका लागि कारागार प्रशासक समक्ष निवेदन दिनुपर्ने व्यवस्था गरिएको छ। त्यस्तो निवेदन पेस भएमा कारागार प्रशासकले विवाह दर्ताका लागि सम्बन्धित निकायलाई लेखी पठाउनु पर्नेछ। त्यस्तो विवाह दर्ता हुनसक्ने भनी सम्बन्धित निकायले कारागार कार्यालयलाई लेखी पठाएमा कारागार प्रशासकले विवाह दर्ता गर्ने दिन सम्बन्धित बन्दीलाई सुरक्षाकर्मी साथ लगाई विवाह दर्ता गर्न जाने अनुमति प्रदान गर्नुपर्नेछ।

    नाबालक आमासँग बस्न पाउने

    विधेयकको विशेष संरक्षणको व्यवस्थाअन्तर्गत नाबालकलाई आमासँग राख्नसक्ने प्रबन्ध कायमै छ। पाँच वर्षभन्दा कम उमेरको नाबालकको आमा कारागारमा रहनुपर्ने भए केही सर्तसहित अनुमति दिइनेछ।

    ती सर्तमा सम्बन्ध विच्छेद गरेकी आमा भएमा, नाबालकको बाबु नभएमा वा निज पनि कारागारमा रहेको भएमा, अदालतले त्यस्तो नाबालक निजको आमासँगै कारागारमा रहनुपर्ने आदेश दिएमा, आमाले बच्चालाई आफूसँग राख्न माग गरेमा नाबालक कारागारमा बस्न पाउँछ। नाबालक कारागारमा रहेकी आमासँग बस्ने भएमा कारागार प्रशासकले आमा र बच्चालाई बस्नका लागि उपयुक्त कोठाको प्रबन्ध गर्नु पर्नेछ।

    कुनै बन्दीले नै पालन पोषण गर्नुपर्ने नाबालक रहेछ र त्यस्तो नाबालकको पालन पोषण गर्ने अरू कोही नरहे त्यस्ता बच्चाको सम्पूर्ण हेरविचार, शिक्षा, दीक्षा र पालन पोषणको व्यवस्था तोकिएबमोजिम कारागार कार्यालयले नै गर्नुपर्ने छ।

    प्रशासकले कारागारमा रहेका पाँच वर्षभन्दा कम उमेरका नाबालकका लागि प्रारम्भिक बाल विकाससम्बन्धी योजना तयार गर्नुपर्नेछ। बन्दीका आश्रित नाबालकलाई राशन र पोशाक तोकिएबमोजिम व्यवस्था गर्नुपर्ने छ। प्रशासकले प्रत्येक कारागारमा बन्दी महिलाबाट जन्मिएका बालबालिकाको अभिलेख राख्न एक छुट्टै दर्ता किताब खडा गर्नुपर्ने छ।

    कारागारबाहिर गएर बच्चा जन्माउन पाउने

    विधेयकले गर्भवती वा सुत्केरी बन्दीसम्बन्धी व्यवस्थामा कारागारबाहिर गएर पनि बच्चा जन्माउन पाउने प्रबन्ध गरेको छ। प्रशासकले गर्भवती वा सुत्केरी बन्दीलाई बसोबास, खानपान र स्वास्थ्य परीक्षणका सम्बन्धमा तोकिएबमोजिमको विशेष व्यवस्था गर्नुपर्ने छ।

    गर्भ रहेको छ महिना पूरा भएको गर्भवती बन्दीले आफू कारागारबाहिर बसी स्वास्थ्य उपचार गर्न चाहेमा कारागार प्रशासकले अनुमति दिनुपर्ने छ। तर त्यसका लागि सुत्केरी भएको ६० दिन पूरा भएको भोलिपल्ट कारागारमा फर्कने गरी कागज गराई तोकिएबमोजिम बैंक जमानत लिई कारागारबाट बाहिर जाने अनुमति दिनसक्ने छ।

    जन्म कैद वा जघन्य कसुरको सजाय पाएको, जन्म कैद वा जघन्य कसुरको सजाय हुनसक्ने कसुरको अभियोगमा थुनामा रहेको, विशेष सुरक्षा कक्षमा राख्ने प्रकृतिको कैदीबन्दी भए भने त्यस्तो अनुमति पाउने छैन।

    जमानतमा छुटेकी गर्भवती बन्दी कारागारबाहिर रहे पनि कारागारभित्रै रहे सरह मानिनेछ। सो अवधि पनि कैद बसेको अवधिमा नै गणना गरिनेछ।

    बाहिर जान अनुमति दिइएको बन्दी फर्किएपछि उसले राखेको बैंक जमानत फुकुवा गरिदिनुपर्ने छ। जमानतमा छुटेकी गर्भवती बन्दी कारागारमा नफर्केमा कारागार प्रमुखले बैंकको जमानत जफत गरी सुरक्षाकर्मी खटाई कारागारमा उपस्थित गराउने छ।

    बन्दी आफैं कारागारमा बस्न चाहेमा वा आर्थिक अवस्था वा अन्य कुनै कारणले गर्भवती बन्दीको कारागारमा नै राम्रो स्याहार हुने कुरामा कारागार प्रशासक विश्वस्त भएमा त्यस्तो बन्दीको सहमतिमा निजलाई कारागारमा नै राख्न भने विधेयकअनुसार पाइने छ।

    यी बन्दीलाई दिनुपर्ने छ विशेष ध्यान

    विधेयकअनुसार विभिन्न चार वटा अवस्थाका बन्दीलाई विशेष ध्यान दिनुपर्ने छ। त्यस्ता बन्दीको खानपान, बसोबास र स्वास्थ्य परीक्षणमा तोकिएबमोजिमको विशेष ध्यानु दिनुपर्ने छ। अपाङ्गता भएका, मानसिक रोगी, कडा रोग लागेको र ६५ वर्ष उमेर पुगेका बन्दीले त्यस्तो सुविधा पाउँछन्।

    भाग्न खोजे थप सजाय

    नयाँ विधेयकको कसुर तथा सजाय शीर्षकले थप सजायको प्रबन्ध गरेको छ। कारागारको पर्खाल, झ्याल, ढोका फोरेमा, भत्काएमा, नष्ट गरेमा वा त्यसको उद्योग गरेमा वा कारागारबाट गोप्यरूपमा भाग्न सकिने कुनै मार्ग बनाएमा थप सजाय हुनेछ।

    त्यस्तो कसुर गरेमा १० वर्षसम्म कैद वा रु एक लाखसम्म जरिवाना वा दुवै सजाय हुनेछ। पाँच जना वा सोभन्दा बढीको समूह भई हुलदङ्गा गरेमा वा कारागारको आन्तरिक व्यवस्थापन खलबल्याएमा, कारागार कार्यालयको कर्मचारी, कारागारका बन्दी वा आगन्तुकको शरीर बन्धक बनाएमा वा हैरानी गरेमा, बन्दीको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीको हातहतियार खोसेमा वा निजलाई नियन्त्रणमा लिएमा थप सजाय हुनेछ। कारागारबाट भागेमा वा भाग्ने उद्योग गरेमा पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

    प्रचलित कानूनबमोजिम सजाय पाई खुल्ला कारागार, सुधार गृह, पुनर्स्थापना केन्द्र, बाल सुधार गृह, प्रोवेशन वा प्यारोलमा रहेको व्यक्ति भागेमा पाँच वर्षसम्म कैद वा रु ५० हजारसम्म जरिवाना वा दुवै सजाय हुनेछ।

    आपराधिक मनसायले बल प्रयोग गरेमा, कारागारको कुनै सम्पत्ति जानाजानी बिगारेमा वा नष्ट गरेमा, अभिलेख वा कुनै मिसिल वा कागजात नष्ट गरेमा, बिगारेमा वा च्यातेमा, बिनाअधिकार हतकडी खोलेमा वा भाँचेमा, कारागारभित्र निषेध गरिएको कुनै चीज वा मालसामान लिएमा, राखेमा वा पठाएमा, आगलागी गरेमा, कारखाना वा भान्साको कुनै वस्तु वा हतियार प्रयोग गरी क्षति पु¥याएमा, सीसीटिभी, मेटालिक डिटेक्टर वा अन्य उपकरण नष्ट गरेमा वा सोको उद्योग गरेमा तीन वर्षसम्म थप कैद वा रु ३० हजारसम्म जरिवाना हुनेछ।

    अपमानजनक वा धम्कीपूर्ण भाषा प्रयोग गरेमा, अनैतिक, अभद्र वा अनुशासनहीन काम गरेमा, कुनै बन्दीलाई भगाएमा वा भगाउने प्रयास गरेमा थप तीन वर्षसम्म कैद वा रु ३० हजारसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था विधेयकले गरेको छ।
    रासस

  • संसदबाट पारित भयो नागरिकता विधेयक

    संसदबाट पारित भयो नागरिकता विधेयक

    काठमाडौं । प्रतिनिधिसभाबाट शुक्रबार नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रिय सभाले पारित गरेपछि प्रमाणीकरणका लागि राष्ट्रपति कहाँ पुग्नेछ राष्ट्रपतिले प्रमाणीकरण गरेपछि नागरिकता विधेयक कानून बन्नेछ । २२ साउन २०७५ मा केपी शर्मा ओली नेतृत्वको सरकारले प्रतिनिधिसभामा दर्ता गरेको नागरिकता ऐन संशोधन विधेयक शेरबहादुर देउवा नेतृत्वको सरकारले २१ असारमा फिर्ता लिएको थियो । त्यसपछि नयाँ नागरिकता विधेयक दर्ता गरिएको थियो ।

    यसलाई शुक्रबार प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । अन्तरिम संविधान–२०६३ मा भएको नागरिकतासम्बन्धी कतिपय व्यवस्था २०७२ मा संविधानसभाले जारी गरेको संविधानले परिवर्तन गर्‍यो । त्यसपछि नागरिकता ऐनलाई नयाँ संविधान अनुकुल बनाउनका लागि संशोधन भएको हो ।

    अन्तरिम संविधान–२०६३ ले २०४६ साल चैत मसान्तसम्म नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेका व्यक्तिलाई जन्मको आधारमा नागरिकता दिने व्यवस्था गरिएको हो । अब संविधान जारी हुनुअघि जन्मका आधारमा नागरिकता लिएकाहरुको १६ वर्ष उमेर पुगेका सन्तानले वंशजको आधारमा नागरिकता लिन सक्नेछन् ।

    विधेयकको दफा २ अनुसार ‘संवत २०७२ साल असोज ३ गते भन्दा अघि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुबै नेपालको नागरिक रहेछन् भने निजको उमेर सोह्र वर्ष पूरा भएपछि वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्नेछन् । नेपालको संविधान २०७२ महिला र पुरुषलाई समान वंशीय हक हुने व्यवस्था गरेको छ ।

    तर संविधानको नागरिकतासम्बन्धी व्यवस्थामै लिंगका आधारमा विभेद गरिएकाले अहिले ऐनमा बराबरीको व्यवस्था गर्न नसकिएको संविधानसभा सदस्यहरुले नै स्वीकार गरेका छन् । सोमबार संसदबाट पास भएको नागरिकता विधेयकले नेपाली आमाबाट नेपालमा जन्म भई नेपालमा बसोबास गरेका र बाबुको पहिचान नभएका व्यक्तिले आमाको नामबाट नागरिकता कसरी लिन सक्छन् भन्ने प्रष्ट पारेको छ ।

    विधेयकको दफा ४ को उपदफा १ (क) अनुसार नागरिकता लिन चाहनेले आफ्नो बाबुको पहिचान हुन नसकेको स्वघोषणा गर्नुपर्छ । साथै आमाले पनि आफ्नो श्रीमानको पहिचान हुन नसकेको स्वःघोषणा गर्नुपर्नेछ । आमाको मृत्यु भइसकेको वा होस, ठेगानामा नरहेको अवस्थामा भए त्यसको पनि प्रमाणसहित स्वःघोषणा गर्नुपर्ने हुन्छ ।

    स्वःघोषणाको ढाँचा गृह मन्त्रालयले तयार गर्नेछ। यसरी गरिएको स्व:घोषणा झुटो ठहरिए सजाय हुनेछ । बाबुको पहिचान हुन नसकेको भनी गरेको स्व:घोषणा झुटो ठहरिए एक बर्षदेखि तीन वर्षसम्म कैद वा एक लाख देखि तीन लाख रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।

  • इनड्राइभरका ट्याक्सी चालकले यात्रुको व्यक्तिगत विवरण पोर्न साइटमा राखेको खुलासा

    इनड्राइभरका ट्याक्सी चालकले यात्रुको व्यक्तिगत विवरण पोर्न साइटमा राखेको खुलासा

    काठमाडौं । सामाजिक सञ्जालबाट चरित्र हत्याको अभियोथमा एक जना पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले काभ्रे नमोबुद्ध नगरपालिका ५ घर भई काठमाडौं महानगरपालिका ६ बौद्ध बस्ने कर्म वाङसिङ लामालाई पक्राउ गरेको जनाएको छ । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो उनी राइड सेयरिङ एप इनड्राइभरका ट्याक्सी चालक समेत हुन्। एक जना तेस्रो लिंगीले राइड सेयरिङ एपको प्रयोग गर्दा लामाले उनको व्यक्तिगत विवरण पाएका थिए। त्यस एपबाट उनले नाम, ठेगाना र मोबाइल नम्बर पाएका थिए। त्यसको दुरूपयोग गर्दै उनले पोर्न साइटमा समेत राखेको पाइएको छ ।

    उनले ती पीडितको फेसबुकमा राखेको तस्बिरहरू डाउनलोड गरेर फेक अकाउन्ट समेत बनाएका थिए। त्यसरी फेक अकाउन्ट बनाएर त्यसबाट पीडितका साथीहरूसँग पनि कुराकानी गरेको र पैसा समेत मागेर झूटा अफवाह समेत फैलाएको खुलेको ब्युरोले विज्ञप्ती निकाल्दै जनाएको छ । त्यही अकाउन्टमार्फत् स्टडी मटेरियल नामक मेसेन्जर ग्रुप बनाएको पनि खुल्यो। त्यहाँ ती पीडितको पेशा देह व्यापार हो भन्ने आशय दिने शब्दहरू लेखेर पोष्ट गरेको प्रहरीले पाएको बताएको छ।


    यसरी सामाजिक सञ्जाल फेसबुकमार्फत् पीडितको व्यक्तिगत र सामाजिक तथा मानसिक तनाव, दुःख, हैरानी दिएर बदनाम गरेको भन्दै प्रहरीमा जाहेरी परेको थियो। जाहेरीको आधारमा प्रहरीले अनुसन्धान गरी लामालाई पक्राउ गरेको हो। यस्तो कसुरमा अरू कोही पीडित भएको भएमा प्रहरीको साइबर ब्युरोमा सम्पर्क गर्न पनि ब्युरोले अनुरोध गरेको छ।

  • बजेट निर्माण प्रकरण : छानविन समितिको म्याद ७ दिन थप

    बजेट निर्माण प्रकरण : छानविन समितिको म्याद ७ दिन थप

    काठमाडौं । बजेट निर्माणमा अनाधिकृत व्यक्तिको प्रवेशका विषयमा छानविन गर्न गठित संसदीय विशेष समितिको म्याद ७ दिन थप भएको छ । आर्थिक वर्ष २०७९\८० को बजेट निर्माणका क्रममा अनधिकृत व्यक्ति प्रवेश गराएर करको दर हेरफेर गराएको विषय सार्वजनिक भएपछि प्रतिनिधिसभाले छानबिनका लागि विशेष समिति गठन गरेको थियो । सुरुमा १० दिनको समय पाएको समितिले काम नसकेपछि पुनः ७ दिन थप भएको हो ।

    सभामुख अग्निप्रसाद सापकोटाले उक्त समितिको म्याद ७ दिन थप गर्ने प्रस्ताव प्रतिनिधिसभामा राखेका थिए । त्यसलाई बैठकले अनुमोदन गरेको छ । यसअघि समितिले बिहीबार नै निवर्तमान अर्थमन्त्री शर्मासँग यसबारे बयान लिएको थियो । उनले इन्कारी बयान दिएका छन् । आरोपबारे पर्याप्त प्रमाण जुटाउन नसकेको समितिले सीसीटीभी क्यामरा रिकोभर गर्न सकिने सम्भावनाबारे नेपाल प्रहरीबाट अध्ययन गराइरहेको छ ।

  • एसपीपीबारे सरकारको निर्णय र कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सभामुखको रुलिङ

    एसपीपीबारे सरकारको निर्णय र कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सभामुखको रुलिङ

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले एसपीपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाबारे जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । यसअघि सोही माग राखी बुधबार एमाले नेता भीम रावलले रोष्ट्रम नै कब्जा गरेका थिए । बिहीवार बसेको प्रतिनिधि सभा बैठकमा समेत सत्तारूढ र प्रतिपक्षी दलका सांसदहरुले एसपीपीको अवस्थाका विषयमा प्रश्न गरेका थिए । ती प्रश्नमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सभामुख सापकोटाले एसपिपीबारे सरकारको निर्णय र त्यसको कार्यान्वयन वस्थाबारे सदनलाई जानकारी गराउन रुलिङ गरे ।

    ‘माननीय सदस्यहरुले उठाउनुभएको एसपीपीका सम्बन्धमा मेरो ध्यानाकर्षण भएको छ । सो सम्बन्धमा नेपाल सरकारको निर्णय र त्यसको कार्यान्वयन अवस्थाको सम्बन्धमा सदनलाई जानकारी गराउन नेपाल सरकारलाई निर्देशन गर्दछु’ उनले प्रतिनिधिसभा बैठकमा भने । मन्त्रिपरिषद् बैठकले एसपीपी सम्झौता लागू नगर्ने निर्णय गरेको लामो समय भएपनि परराष्ट्र मन्त्रालयले यसबारे अमेरिकालाई पत्राचार गरेको छैन ।

  • बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

    बजेट निर्माण प्रकरण : आज निवर्तमान अर्थमन्त्री शर्मासँग बयान

    काठमाडौं । संसदीय छानबिन विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मासँग बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको प्रवेश भए नभएकोबारे बयान लिने भएको छ । तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि गठन भएको समितिको बुधबार बसेको बैठकले सोधपुछका लागि उनलाई आज बोलाउने निर्णय गरेको हो । बैठक अहिले शुरु हुँदैछ । यसअघिका बैठकमा अर्थ मन्त्रालयका अधिकारी, बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिको घुसपैठसम्बन्धी समाचार लेख्ने पत्रकारलगायतसँग सोधपुछ गरिसकेको छ ।

    छानबिनका लागि संसदले दिएको १० दिन समय नपुग्ने भन्दै म्याद थपको विषयमा समेत छलफल भएको छ । तत्कालीन अर्थमन्त्री शर्माले २०७९÷०८० को बजेट बनाउने क्रममा अनधिकृत व्यक्तिलाई मध्यरातमा अर्थ मन्त्रालय बोलाएर करका दर हेरफेर गरेको आरोप छ । यो आरोपपछि ११ सदस्यीय संसदीय विशेष छानबिन समिति गठन भएको थियो । लगत्तै शर्माले अर्थमन्त्रीबाट राजीनामा गरेका छन् ।

  • परीक्षा हलमा छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने हेटौडा क्याम्पसका दुई कर्मचारी निलम्बन

    परीक्षा हलमा छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने हेटौडा क्याम्पसका दुई कर्मचारी निलम्बन

    हेटौडा । परीक्षाका लागि हल छिर्ने क्रममा छात्रामाथि दुर्व्यवहार गर्ने दुई कर्मचारी हेटौंडा क्याम्पसबाट निलम्बनमा परेका छन् । बुधबार क्याम्पस र सरोकारवालाहरूबीच बसेको बैठकले स्नातक तह दोस्रो वर्षको परीक्षा दिन गएका छात्रामा दुर्व्‍यवहार गर्ने दुई जना कार्यालय सहयोगीलाई निलम्बन गरेको क्याम्पसले जनाएको छ। ती कार्यालय सहयोगीहरू अबदेखि त्रिवि लगायतका कुनै परीक्षामा पनि सहभागी हुन नपाउने गरी निलम्बित भएका हुन्।

    क्याम्पसले यस घटनाबारे छानबिन गर्न छानबिन समिति पनि बनाएको छ। क्याम्पस प्रमुख देवचन्द्र मानन्धरको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको हो। समितिमा पाँच जना विद्यार्थी संगठनका प्रतिनिधिहरू र एक जना अभिभावक सदस्य छन्। तीन दिनभित्र प्रतिवेदन पेस गर्ने सहमति भएको छ। क्याम्पसको नियमित पठनपाठन, परीक्षा लगायतका कार्यक्रमहरू शान्तिपूर्ण एवं सहन वातावरणमा सञ्चालन गर्ने पनि सहमति भएको छ।

    मंगलबारदेखि स्नातक तहको परीक्षा सुरू भएको थियो। त्यसक्रममा परीक्षा दिन गएका छात्राहरूमाथि कार्यालय सहयोगीहरूले चेक गरेका थिए। चेक गर्दा छात्राहरूलाई छुट्टै कोठामा लगेर कपडा खोल्न लगाएर दुर्व्यवहार गरेको खुलेको छ । त्यसरी दुर्व्यवहार गरेको खुलेपछि बुधबार बिहानै विद्यार्थी हेटौंडा क्याम्पसमा आन्दोलनमा उत्रिएका थिए ।

  • अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार

    अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार

    काठमाडौं । अनलाइनबाट मतदाता नामावली भर्न सकिने प्रणाली ८ जिल्लामा बिस्तार भएको छ । निर्वाचन आयोगले काठमाडौँसहित आठ जिल्लाबाट अनलाइन मतदाता नामावली फारम भर्ने व्यवस्था मिलाएको बताएको छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे, चितवन, कास्की, मोरङ र झापा जिल्ला निर्वाचन कार्यालयबाट समेत भर्न सक्ने व्यवस्था मिलाएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

    अनलाइनबाट फाराम भर्नेको हकमा अनलाइन फाराम छनोट गरेको जिल्ला (काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, कास्की, मोरङ र झापा) को जिल्ला निर्वाचन कार्यालयमा सम्पर्क समयमा औँठाको छाप र फोटो लिने व्यवस्था मिलाइएको छ। सरकारले आगामी मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी गरिरहेको छ । यसमा अहिले आयोग तयारीको काममा जुटेको हो ।

  • बजेट प्रकरण : सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा प्रहरीलाई

    बजेट प्रकरण : सीसीटीभी फुटेज रिकभर गर्ने जिम्मा प्रहरीलाई

    काठमाडौं । बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई प्रवेश दिइएको आरोपका सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले सीसीटीभी फुटेज रिकभर गर्न नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबमा पठाउने भएको छ। मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकले डिलिट भएको सीसीटीभी फुटेज रिकभर सम्भावना र उपाय बारे नेपाल प्रहरी अन्तर्गतको साइबर ब्यूरोका विज्ञ र इन्जिनियरिङ अध्ययन संस्थानमा कार्यरत विज्ञसँग सुझाव लिएको छ ।

    समितिको बैठकमा विज्ञले डिलिट भएको सीसीटीभी फुटेज रिकभर हुने भए पनि रिकभर गर्न आधिकारिक सफट्वेयर आवश्यक हुने सुझाव दिएका थिए । अब यसलाई नेपाल प्रहरी अन्तर्गतको फरेन्सी ल्याबले अध्ययन गर्ने भएको हो । अर्थ मन्त्रालयले बजेट निर्माण गर्ने समयको फुटेज १३ दिन पछि डिलिट हुने बताएको छ । तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले यसै प्रकरणका लागि राजिनामा गरेका छन् ।

  • लोकगायिका दिलमायाको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष

    लोकगायिका दिलमायाको हत्या भएको प्रहरी अनुसन्धानको निष्कर्ष

    काठमाडौं । मृत भेटिएकी लोकदोहोरी गायिका दिलमाया सुनारको हत्या भएको प्रहरी अनुसन्‍धानले देखाएको छ । प्रहरीले अनुसन्धान पुरी गरी मंगलबार सरकारी वकिलको कार्यालय काठमाडौंमा पेश गरेको छ । प्रहरीले यस घटनामा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका १ घर भई काठमाडौंको गोठाटार बस्ने ३८ को सूर्य भन्ने खिलबहादुर श्रेष्ठको संलग्नता देखिएको बताएको छ । सुनार ११ असारमा बिहान तार्केश्वर नगरपालिका ११ नेपालटारस्थित डेरामा मृत फेला परेकी थिइन्।

    दिलमायाले आत्महत्या गरेको आशंकाका आधारमा अनुसन्धान अगाडी बढाएपनि उनको श्रीमान भनिएका श्रेष्ठलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडी बढाएको थियो । उनले फेसबुकमा लेखेको सुसाइट नोटसमेत श्रेष्ठले नै लेखिदिएको आशंका छ । अनुसन्धानको क्रममा सुनार र खिलबहादुर श्रेष्ठ सँगै बस्दै आएको खुलेको छ । उनीहरुले घरबेटीलाई श्रीमान-श्रीमती भएको बताएका थिए। श्रेष्ठले प्रहरीसँग आफू मध्यराती १२ बजेतिर निस्केको बताएका थिए।

    तर, अनुसन्धानका क्रममा उनी १२ बजे दिलमायाको कोठामा आएको देखिएको छ। साढे ४ बजे मात्र उनी घरबाट निस्किएका थिए । श्रेष्ठविरूद्ध दिलमायाका बुवाले कर्तव्य ज्यान मुद्दामा जाहेरी दिएका छन् । प्रहरीले घटनास्थलबाट दिलमायाको मोबाइल फोन अझै पनि भेटाएको छैन । प्रहरीले घटनामा प्रयोग भएको भनिएको सल काठमाडौंको महाराजगन्जस्थित कतार भिषा सेन्टर नजिक सडकको पश्चिम किनारको झाडीमा फेला पारेको थियो । यो उनै श्रेष्ठले फालेका थिए ।

  • एमालेबाहेकका कम्यूनिष्ट घटकबीच एकताको प्रयास

    एमालेबाहेकका कम्यूनिष्ट घटकबीच एकताको प्रयास

    काठमाडौं । तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयमा रहेका पाँच नेताहरुबीच पार्टी एकता गर्ने सम्बन्धमा छलफल भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेता झलनाथ खनाल तथा नेकपा एकता राष्ट्रिय अभियानका संयोजक बामदेव गौतमबीच माओवादी संसदीय दलको कार्यालय, सिंहदरबारमा छलफल भएको हो ।

    नेताहरुबीच चुनावी गठबन्धनबारे नेपाली कांग्रेस र एमालेले गरेका निर्णयबारे छलफल भएको हो । बैठकपछि अध्यक्ष प्रचण्डले गठबन्धन कायमै राखेर कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर कुराकानी भइरहेको जानकारी गराए ।

    उनका अनुसार माओवादी केन्द्र, एकीकृत समाजवादी र नेकपा एकता राष्ट्रिय अभियानबीच पार्टी एकताका लागि पनि सम्वाद भइरहेको हो । एकीकृत समाजवादीका अध्यक्ष नेपालले गठबन्धन कायम राख्दै वामपन्थी दल मिल्ने गरी कुराकानी अगाडी बढेको जानकारी दिए ।

  • कांग्रेस महामन्त्रीको आह्वान : मतदाता नामावलीमा नाम लेखाउनुहोस

    कांग्रेस महामन्त्रीको आह्वान : मतदाता नामावलीमा नाम लेखाउनुहोस

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले मतदाता नामावलीमा नाम लेखाउन अपिल गरेका छन्। सरकारले संघीय र प्रदेश सभा सदस्य निर्वाचनका लागि मिति घोषणा गर्ने तयारी गरेकोले त्यसअघि नै मतदाता नामावलीमा नाम दर्ता गराउन महामन्त्री शर्माले अपिल गरेका छन्।

    सोमबार एक भिडिओ सन्देश सार्वजनिक गर्दै महामन्त्री शर्माले मतदाता नामावलीमा नाम लेखाउन आग्रह गरेका छन् । मतदाता नामावलीमा नाम नहुनेले मतदान गर्न नपाउने स्मरण समेत उनले गराएका छन् । नेपालमा मंसिर पहिलो साता संघीय तथा प्रदेश सभा निर्वाचनको तयारी भइरहेको छ ।

  • ठमेलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई विदेशी र एक नेपाली पक्राउ

    ठमेलबाट ठूलो परिमाणमा लागुऔषधसहित दुई विदेशी र एक नेपाली पक्राउ

    काठमाडौं । चार किलो हेरोइनसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। लागु औषध नियन्त्रण ब्युरोको टोलीले तीन जनालाई हेरोइनसहित पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी गराएका छन् । पक्राउ पर्नेमा दुई जना विदेशी र एक जना नेपाली नागरिक छन्। दक्षिण अफ्रिकाको जोहानशबर्गबाट दुबई हुँदै काठमाडौंमा असार ३१ गते शुक्रबार ६१ वर्षीय अफ्रिकी नागरिक ज्याक्वेस एन्टन एनजेलब्रेचमाथि प्रहरीले शंका गरेको थियो। उनको गतिविधि शंकास्पद देखेपछि प्रहरीले उनीमाथि निगरानी गरेको थियो।

    अनुसन्धानको क्रममा भोलिपल्ट काठमाडौं महानगरपालिका(२६ ठमेलको एउटा होटलबाट उनलाई प्रहरीले पक्राउ गर्यो। उनले ल्याएको सुटकेशमा फल्सबटमभित्र चार किलो हेरोइन बरामद भएको थियो। यस्तै लागु औषध भारतमा लैजान लागेको प्रहरीको भनाई छ। सो लागुऔषध लैजानको लागि सहयोगीको भूमिका खेलेका नुवाकोट गर्साङ गाउँपालिका(७ घर भई बनस्थलीमा बस्ने ५० वर्षीय ट्याक्सी चालक सुकेश तामाङलाई पनि प्रहरीले पक्राउ गरेको छ।

    उनको बा २ ज ५६५५ नम्बरको ट्याक्सीसहित ठमेलबाट पक्राउ गरेको हो। अर्का व्यक्ति दिल्लीबाट काठमाडौंमा हेरोइन लिन आएका दिल्लीको जनकपुरी बस्ने ३२ वर्षीया जोथनलुआङ्गी नामकी भारतीय महिलालाई पनि पक्राउ गरेको छ। उनीहरूमाथि लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम लागु औषध हेरोइन मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले उल्लेख गरेको छ ।

  • जसपाबाट बाबुराम भट्टराईसहित ९ नेता निष्काशित

    जसपाबाट बाबुराम भट्टराईसहित ९ नेता निष्काशित

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईसहित नौ जना नेतालाई पदमुक्त गरेको छ ।
    वीरगञ्जमा बसेको बैठकले भट्टराईसहित कार्यकारिणी समितिका नौ जना नेतालाई पदमुक्त गरेको हो ।

    बैठकले भट्टराईसहित कार्यकारिणी सदस्यहरू गङ्गानारायण श्रेष्ठ, दुर्गा शोव, दानबहादुर चौधरी, प्रशान्त सिंह, महेन्द्र यादव, भक्तबहादुर साह, रमेश यादव र हिसिला यमीलाई पदमुक्त गरेको हो । बैठकले सङ्घीय परिषद् अध्यक्षमा अशोक राईलाई चयन गरेको छ । भट्टराई र यादव गुटबीचको विवादले अन्ततः पार्टी विभाजनको अवस्थामा पुगेको हो ।

  • माओवादी केन्द्रले अन्तर्घातबारे छानविन गर्न बनायो समिति

    माओवादी केन्द्रले अन्तर्घातबारे छानविन गर्न बनायो समिति

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातबारे छानविन गर्न समिति बनाएको छ । पार्टीको स्थायी कमिटी बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न तीन सदस्यीय समिति गठन गरेको हो । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी कमिटीको बैठकले स्थानीय तह निर्वाचनमा भएको अन्तर्घातका बारेमा छानबिन गर्न अनुशासन विभागको संयोजकसमेत रहेका टंक राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरेको हो ।

    बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा पार्टीका प्रवक्ता कृष्णबहादुर महराले स्थानीय चुनावमा पार्टीभित्रैबाट घात अन्तर्घात भयो भन्ने आवाज उठेको र कतिपयले केन्द्रीय सदस्यहरुले नै निर्वाचनमा अन्तर्घात गरेको भन्ने आवाज उठेको भन्दै छानबिन समिति गठन गरिएको जानकारी गराए । छानबिन समितिमा टंक राईसहित मुक्ति प्रधान र खिमलाल देवकोटा छन् ।

    प्रवक्ता महराका अनुसार पछिल्लो समय विद्यार्थी तहमा केही असहजता पैदा भएकोले त्यसको समाधानका लागि पूर्व विद्यार्थी नेताहरु रमेश मल्ल, नरेन्द्र न्यौपाने, रत्न ढकाल तीनजनाको सुझाव समिति गठन गरेको छ । बैठकले प्रदेश कमिटी र केन्द्रको बीचमा समन्वय कायम गर्नको निम्ति प्रदेश इञ्चार्जको नेतृत्वमा प्रदेश समन्वय समिति पनि बनाएको छ ।

    आगामी संघ र प्रदेशको चुनावसम्म रहने गरी बनेको प्रदेश समन्वय समितिमा सबै केन्द्रीय सदस्यहरु र सबै प्रदेशका पदाधिकारी रहनेछन् । बैठकले आगामी साउन १६ गतेदेखि भदौ ३ गतेसम्म प्रदेशको प्रशिक्षण कार्यक्रम र बैठकहरु गर्ने निर्णय भएको छ ।

  • उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न सिफारिस

    उच्च अदालतकी न्यायाधीश साहलाई बर्खास्त गर्न सिफारिस

    काठमाडौं । न्यायपरिषदले उच्च अदालतकी न्यायाधीश रेणुका साहलाई बर्खास्त गर्न प्रधानन्यायाधीश सामु सिफारिस गरेको छ । योग्यता नपुगी नियुक्ति लिएको ठहर न्यायपरिषद्ले गरेको हो । न्यायपरिषदले जिल्लादेखि उच्च अदालतको मुख्य न्यायाधीश नियुक्ती, सरुवा, बढुवा र बर्खास्तसम्मको सिफारिस गर्न सक्ने अधिकार राख्छ । परिषदको सिफारिस प्रधानन्यायाधीशले कार्यान्वयन गरेपछि लागू हुनेछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरामाथि महाभियोग लागेका कारण यो सिफारिस कामू प्रधानन्यायधीश दिपककुमार कार्कीले कार्यान्वयन गर्ने जिम्मेवारीमा छन् । साह उच्च अदालत तुलसीपुरको बुटबल इजलासमा कार्यरत थिइन् ।

    साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । यसअघि प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदमा कार्यरत उनी प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको जोडबलमा न्यायाधीय बनेकी थिइन् । उनले निरन्तर १० वर्ष वकालत गरेको तथा न्याय क्षेत्रमा काम गरेका प्रमाण पेश गर्न नसकेपछि परिषद्ले अयोग्यता लुकाएको ठहर भएको हो ।

  • गगन थापाले मागे अर्थमन्त्रीको राजिनामा

    गगन थापाले मागे अर्थमन्त्रीको राजिनामा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगनकुमार थापाले अर्थमन्त्री जनार्दन शर्माको राजिनामा माग गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै महामन्त्री थापाले अर्थमन्त्रीमाथि संसद भित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनुपर्ने बताए । अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधानमन्त्रीले हटाएर तत्काल छानबिन गर्नुपर्ने पनि थापाले बताए । अर्थ मन्त्रालयले सीसीटीभी फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानुपर्ने उनको तर्क छ ।

    उनले भने, ‘यत्रो विषय संसदमा उठ्यो । बाहिर उठ्यो । हो, होइन मलाई थाहा छैन । तर यो विषय उठिसकेपछि मैले बुझेको कि अर्थमन्त्रीजीले अहिले राजीनामा दिनुपर्छ । कि प्रधानमन्त्रीजीले उहाँलाई अहिले हटाउनु पर्छ । र तत्काल छानबिन गर्नुपर्छ ।’

    कम्तीमा तीन महिनासम्मको सीसीटीभी फुटेज सुरक्षित राख्नुपर्ने नियम रहेको तर अर्थ मन्त्रालयले त्यो नियम पनि नमानेको थापाले बताए । अर्थमन्त्री जनार्दन शर्मामाथि बजेट निर्माणमा अनधिकृत व्यक्ति सहभागी गराएको र करको दर हेरफेर गराएको आरोप लागेको छ । नेकपा एमालेले संसदमा यो विषय उठाउँदै संसदीय छानबिन माग गरेको छ ।

  • निर्वाचनमा घात गर्नेमाथि एमालेले कारवाही गर्ने, छानविन गर्न समिति गठन

    निर्वाचनमा घात गर्नेमाथि एमालेले कारवाही गर्ने, छानविन गर्न समिति गठन

    काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचनमा घात गर्नेमाथि कारवाही गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले स्थानीय निर्वाचनमा परेका उजुरीमाथि छानबिन तथा आवश्यक कारबाही गर्न उपाध्यक्ष विष्णु पौडेलको संयोजनमा समिति गठन गरेको हो । पार्टी प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङका अनुसार पौडेलको नेतृत्वमा केन्द्रीय निर्वाचन विभाग प्रमुख र संगठन विभाग प्रमुखसहित तीन सदस्यीय समिति गठन भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा आइतबार ललितपुरस्थित केन्द्रीय कर्यालयमा बसेको बैठकले १३ विभागको सचिव समेत मनोनयन गरेको छ ।

    वित्त तथा आर्थिक विभागमा डा. भीष्म अधिकारी, संगठन विभागमा सम्झना देवकोटा, उपभोक्ता हित संरक्षणमा मोहिनी खनाल, श्रम तथा रोजगारमा जनक चौधरी, संसदीय विभागमा डा. सूर्य पाठक, सामाजिक सेवामा नेत्र तिम्सिना मनोनयन गरिएको छ । संस्कृति विभाग राजेश थापा, स्थानीय तह विकासमा हर्क राई, प्रचार तथा प्रकाश विभागमा गगन विष्ट, परराष्ट्रमा अन्जान शाक्य, संघीय मामिलामा शिव गुरुङ, ऊर्जा तथा जलश्रोतमा पुष्प ज्योति ढुंगाना र कानुन विभागमा डिल्लीराम मैनाली मनोनयन भएका छन् ।

  • स्वतन्त्र उम्मेदवारहरु आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने तयारीमा

    स्वतन्त्र उम्मेदवारहरु आगामी निर्वाचनमा गठबन्धन बनाएर जाने तयारीमा

    काठमाडौं । आगामी प्रदेश तथा संघीय निर्वाचनमा स्वतन्त्रबाट उठ्ने तयारी गरेका उम्मेदवारहरु समेत अन्ततः गठबन्धन बनाएर जाने तयारीमा जुटेका छन् । दलको विकल्प दल नै हुने भन्दै उनीहरु आगामी निर्वाचनमा संयुक्त रुपमा निर्वाचनमा जाने तयारी गरेका हुन् ।

    शनिबार ललितपुरको सानेपास्थित हेरिटेज प्लाजामा विशेष भेलाको आयोजना गरी प्रदेश र प्रतिनिधिसभा चुनावमा स्वतन्त्र उम्मेदवारहरुको छुट्टै दल गठन गर्ने विषयमा केन्द्रित भएर छलफल सुरु गरेका छन् । आगामी संसदीय चुनावमा दल नै गठन गरेर जानेसम्मको तयारीस्वरुप विशेष भेला आयोजना गरिएको बताइएको छ ।

    काठमाडौं महानगरपालिकाको स्वतन्त्रमा मेयरका उम्मेदवार बनेका सुमन सायमीले दल ठिक छैन भन्ने जनतामा भ्रम परेको बताए । उनले त्यस्तो भ्रम हटाउन र संसदमा कानुन निर्माणका लागि वहुमत आवश्यक पर्ने भएकाले एउटा दल गठन गरेर निर्वाचनमा जाने विषयमा देशभरका स्वतन्त्र उम्मेदवारहरुबीच छलफल सुरु गरिएको उल्लेख गरे ।

    सायमीले संसदीय चुनाव भनेको नीति निर्माण गर्ने ठाउँ भएको उल्लेख गर्दै त्यहाँ बहुमतको कदर हुने उल्लेख गे । एक व्यक्तिले कानुन बनाउन नसक्ने भन्दै उनले दलको विकल्प दल नै भएको बताए । देशभरका पालिका तह चुनावमा भाग लिएका तथा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेकाहरु सो विशेष भेलामा सहभागी भएका छन ।

  • पोखरामा घर नै भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलासा

    पोखरामा घर नै भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलासा

    पोखरा । पोखरा महानगरपालिका–१७, ड्यामसाइटमा घर भाडामा लिएर चिनियाँ नागरिकले अवैध गतिविधि गर्ने गरेको खुलेको छ । जिल्ला प्रहरी कार्यालय, कास्कीका अनुसार चिनियाँ नागरिकको संलग्नतामा अवैध काम भइरहेको आधारमा प्रहरीले बिहीबार चिनियाँ नागरिकले चलाएको कम्पनीमा छापा हानेको छ । नेपाली नागरिक ककनी, नुवाकोटका सुमन तामाङको नाममा दर्ता रहेको डायमन्ड टेक्नोलोजी नामक कम्पनीमार्फत उनीहरुले अवैध गतिविधि गरिरहेको प्रहरीले जानकारी गराएको छ । उनीहरुले पोखरामा पूरै घर भाडामा लिएर कार्यालय चलाएका थिए । ७५ नेपाली युवालाई रोजगारी दिने प्रलोभनमा चिनियाँ नागरिकले त्यहाँ भेला गराएका थिए ।

    उनीहरुले त्यहाँ के गरिरहेका थिए भन्ने विषयमा भने विस्तृतमा खुलेके छैन । प्रहरीले चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तीन चिनियाँ र एक नेपाली छन् । दुई चिनियाँको कागजपत्र नभेटिएका कारण अध्यागमन कानून अनुसार पनि उनीहरु दोषि देखिएकोप्रहरीले बताएको छ । कार्यालयबाट ४७ लाख ९७ हजार रुपैयाँ पनि बरामद भएको छ । यो रकमको स्रोत खुलेको छैन । नेपालमा बसेर चिनियाँ नागरिकले साइबर अपराध र ठगीजन्य गतिविधि गरिरहेको सूचना प्रहरी समक्ष पुगेको बताइएको छ ।

    नेपालस्थित चिनियाँ दूतावासले दिएको सूचनाको आधारमा प्रहरीले ७ पुस २०७७ मा अपरेशन चलाएर काठमाडौं उपत्यकाबाट १२२ जना चिनियाँलाई पक्राउ गरेको थियो । त्यतिवेला दिइएको सूचनामा काठमाडौं बाहेक पोखरा, विराटनगर, चितवनसहितका शहरमा गरी करिब ४ हजार चिनियाँ नागरिकले नेपालमा बसेर चीनविरुद्ध अवैध गतिविधि गरिरहेको भनिएको थियो ।

  • शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

    शेखर कोइराला पक्षका कांग्रेस नेताहरुको भेला आज

    काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला पक्षधर नेताहरूको भेला आज बोलाइएको छ । बिहीबार दिउँसो २ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बस्ने भेलामा सभापति शेर बहादुर देउवामाथि दवाव सिर्जना गर्ने रणनीति रहेको नेताहरुले बताएका छन् । पार्टीको आन्तरिक जीवन, समसामयिक राजनीति र देशको आर्थिक अवस्थाबारे छलफल गरी धारणा तय गरिने बताइएको छ । प्रधानमन्त्रीसमेत रहेका सभापति शेरबहादुर देउवाले पार्टी गतिविधि र सरकारका कामकारबाहीलाई सँगसँगै लैजान नसकेको भन्दै निष्कर्ष निकाल्दै उनीहरुले दवाव सिर्जना गर्न लागेका हुन् । सभापति देउवाले विधानअनुसार गठन गर्नुपर्ने विभाग तथा समितिहरूलाई पूर्णता दिएका छैनन्।

    मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन भएको थियो। विधानअनुसार छ महिनाभित्र कोषाध्यक्ष, केन्द्रीय समिति, कार्यसम्पादन, संसदीय समिति र विभाग गठन गरिनुपर्नेमा कुनै पनि कामलाई सभापति देउवाले पूर्णता दिन नसकेका हुन् । सभापति देउवाले निर्वाचित केन्द्रीय सदस्यमध्ये एक जनालाई कोषाध्यक्ष मनोनीत गर्नुपर्छ । ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्नुपर्नेमा देउवाले १३ जनालाई मात्रै मनोनीत गरेका छन्, उनीहरू सबै सभापति देउवानिकटका हुन्। कांग्रेस केन्द्रीय कार्यसमिति १६९ सदस्यीय हो। सभापतिमा देउवासँग पराजित कोइराला स्वत केन्द्रीय सदस्य छन्।

  • निजगढबारे सर्वोच्चको पूर्णपाठ सार्वजनिक, पुनः सम्भाव्यता अध्ययन गरेर सोही स्थानमा बनाउने विकल्प खुला

    निजगढबारे सर्वोच्चको पूर्णपाठ सार्वजनिक, पुनः सम्भाव्यता अध्ययन गरेर सोही स्थानमा बनाउने विकल्प खुला

    काठमाडौं । निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि सरकारले हालसम्म गरेका निर्णय र कार्यलाई रोक्ने गरी सर्वोच्च अदालतको बृतह पूर्ण इजलासले गरेको फैसलाको पूर्णपाठ बुधबार सार्वजनिक गरिएको छ । न्यायाधीशहरु हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले जेठ १२ गते सरकारले हालसम्म निजगढ विमानस्थलका विषयमा गरेका निर्णयहरु उत्प्रेषणको आदेशले बदर गरेको थियो ।

    वातावरणीय र जैविक विविधतामा कम क्षति हुने गरी उपयुक्त स्थानमा विमानस्थल निर्माणका लागि परमादेश जारी गरेको थियो । पूर्णपाठमा अदालतले अहिलेसम्म भएका प्रक्रिया खारेज गरिदिएको छ । तर, पुनः सम्भाब्यता अध्ययन गरी सोही स्थानमा विमानस्थल बनाउन सकिने सम्भावनाको ढोका भने खुलै राखेको छ । सम्भव भएसम्म अहिलेको स्थानमा नबनाउन र सम्भव नभए पुनः सम्भाब्यता अध्ययन र वातावरणीय प्रभाव अध्ययन मूल्यांकन गरी विमानस्थल निर्माण प्रक्रिया अगाडी बढाउन सकिने सर्वोच्चको पूर्ण पाठको आषय रहेको छ ।

  • छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने

    छानबिनमा परेका न्यायाधीशले काम गर्न नपाउने

    काठमाडौं । न्याय परिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइराला र अधिवक्ता रुद्रप्रसाद पोखरेलबीच भएको घुस मोलमोलाई संवादको छानबिन गर्न अधिकारसम्पन्न जाँचबुझ समिति गठन गरेको छ ।

    न्यायपरिषदले सोमबार राजपत्रमा प्रकाशित सूचनामा न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको संयोजकत्वमा उच्च अदालतका पाटनका कायम मुकायम मुख्यन्यायाधीश महेशप्रसाद पुडासैनी र न्यायाधीश महेश शर्मा पौडेल विज्ञका हैसियतले सदस्य हुने उल्लेख छ ।

    राजपत्रमा उक्त सूचना प्रकाशित भएपछि न्यायाधीश कोइरालाले कामकाज गर्न नपाउने भएका छन् । न्याय परिषद ऐन २०७३ को दफा २५ मा उच्च वा जिल्ला अदालतका कुनै न्यायाधीशविरुद्ध जाँचबुझ गर्न समिति गठन भएमा कारबाही टुंगो नलागेसम्म त्यस्ता न्यायाधीशले कार्यसम्पादन गर्न नपाउने व्यवस्था छ ।
    जाँचबुझ आयोग ऐन, २०२६ अनुसार गठन हुने आयोगले सरह अधिकार प्रयोग गर्न पाउने यो समितिले जाँचबुझमा असहयोग गरे जरिवाना र कैद सजाय तोक्न समेत सक्नेछ ।

    न्यायपरिषद ऐन, २०७३ को दफा १९ अनुसार, न्याय परिषदले उच्च वा जिल्ला अदालतको कुनै न्यायाधीशको विरुद्धमा जाँचबुझ गराउन आवश्यक देखेमा न्याय परिषदको सदस्य वा सर्वाेच्च अदालतको न्यायाधीशको अध्यक्षतामा सम्बन्धित क्षेत्रको विज्ञ सहितको तीन सदस्यीय जाँचबुझ समिति गठन गर्नसक्ने उल्लेख छ । उक्त समितिले डेढ महिनाभित्र न्यायपरिषदमा प्रतिवेदन पेश गर्नुपर्नेछ ।