Category: कानुनी कुरा

  • अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक

    अमेरिकामा धमाधम बन्द हुन थाले गर्भपतन गराउने क्लिनिक

    न्यूयोर्क । अमेरिकाको सर्वोच्च अदालतले महिलाले गर्भपतन गर्न पाउने सम्बन्धी संवैधानिक अधिकार समाप्त हुने फैसला गरेलगत्तै कतिपय राज्यमा गर्भपतन गराउने क्लिनिकहरू बन्द हुन थालेका छन्। रो भर्सस वेड भनिने गर्भपतनलाई कानुनी मान्यता दिने ५० वर्ष पुरानो आदेश अदालतले उल्टाएपछि अमेरिकाका आधाजसो राज्यले गर्भपतनमा नयाँ प्रतिबन्ध वा कडाइ गर्ने अपेक्षा गरिएको छ। तीमध्येका १३ राज्यले ट्रिगर ल भनिने कानुन बनाएर गर्भपतनलाई प्रतिबन्धित गर्ने व्यवस्था मिलाइसकेका छन्। शुक्रवारको आदेशसँगै ती राज्यमा अब गर्भपतन स्वतः गैरकानुनी ठहरिनेछ। राष्ट्रपति जो बाइडनले अदालतको आदेश एउटा दुःखद गल्ती भएको टिप्पणी गरेका छन्।

    अमेरिकाका विभिन्न सहरहरूमा फैसलापछि प्रदर्शनहरू भइरहेका छन्। गर्भपतनमा तत्काल प्रतिबन्ध लगाउने कानुन बनाइसकेको आर्कन्सा राज्यको लिटल रकस्थित एउटा गर्भपतन क्लिनिकले अदालतको आदेश अनलाइनमा प्रकाशित भएलगत्तै गर्भपतन सेवा बन्द गरेको छ। त्यहाँ बाहिरैबाट मानिसहरू सुँक्कसुँक्क गरेको सुन्न सकिन्थ्यो।

    कर्मचारीहरूले डाक्टरसँग भेट्ने समय लिइसकेका महिलालाई टेलिफोन गरेर उनीहरूको भेट रद्द गरिएको जानकारी दिइरहेका थिए। ‘यस्तो खराब समाचार सुन्न हामीले जतिसुकै कठिन तयारी गरे पनि समाचार आउँदा गाह्रो हुन्छ। सेवाग्राही महिलाहरूलाई टेलिफोन गरेर रो भर्सस वेड खारेज भयो भन्नु हृदयविदारक हुन्छ,’ नर्स एश्ली हन्टले भनिन्।


    प्रदर्शनकारीहरूको माझबाट क्लिनिकमा आउने बिरामीहरूलाई सुरक्षा प्रदान गर्न आर्कन्साको गर्मीमा दिनभरि खटिएका सुरक्षाकर्मीहरूले सामूहिक अङ्कमाल गरे। ‘मैले यो देशले अझै पनि मानिसहरूको ख्याल राख्छ भन्ने सोचेकी थिएँ। महिलाहरूको ख्याल राख्छ भन्ने सोचेकी थिएँ, सुरक्षा दिने समूहकी प्रमुख मिस करिनले भनिन्। क्लिनिकबाहिर गर्भपतनविरोधी प्रदर्शनकारीहरूले हर्षोल्लास गरिरहेका थिए। ‘तिमी निगरानीमा छौ’ क्लिनिकमा आफ्नो कार पार्क गरिरहेका र अझैसम्म अदालतको आदेशबारे थाहा नभएका मानिसलाई एक प्रदर्शनकारीले चेतावनी दिए। ‘मेरो सुझावमा तिमी यहाँबाट फर्किएर गइहाल। यो पापी ठाउँ, असमानताको ठाउँ र खराब ठाउँमा नबस।’

    अदालतको आदेश तत्काल कार्यान्वयन हुने लुईजियाना राज्यस्थित तीनवटा गर्भपतन केन्द्रमध्येको एक न्यू ओर्लन्सस्थित विमिन्स हेल्थ केअर सेन्टरका कर्मचारीहरू फैसलालगत्तै घर फर्किन थालेका थिए। सर्वोच्च अदालतको फैसलाले अमेरिकामा प्रजनन गर्न सक्ने उमेरका तीन करोड ६० लाख महिलाई आफ्नो राज्यमा गर्भपतनको पहुँचबाट रोक्ने एक अध्ययनले देखाएको छ। अदालतको फैसलालगत्तै वाशिङ्टनस्थित अदालतबाहिर गर्भपतनको विरोध गर्दै प्रदर्शन गर्न ठूलो सङ्ख्यामा मानिसहरू भेला भएका थिए। गर्भपतन अधिकारका पक्षधरहरूले पनि ५० वटै राज्यमा प्रदर्शनको तयारी गरिरहेका छन्।
    बीबीसी

  • मन्त्री हटाउने विषयमा पार्टी निर्णयको कदर गर्न एकीकृत समाजवादीको प्रधानमन्त्री समक्ष आग्रह

    मन्त्री हटाउने विषयमा पार्टी निर्णयको कदर गर्न एकीकृत समाजवादीको प्रधानमन्त्री समक्ष आग्रह

    काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्री हटाउने बारे आफ्नो पार्टीको निर्णयको कदर गर्न प्रधानमन्त्री समक्ष आग्रह गरेको छ । पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले सरकारले नयाँ मन्त्रीहरूको सपथ ग्रहण छिटो नगराए अपमान भएको ठहरिने उल्लेख गरे । शनिबार काठमाडौंको बानेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले आफ्नो पार्टीको निर्णयको कदर गर्न आग्रह गरेका हुन् । अब मन्त्रिमण्डलको पुनर्गठनमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पर्खिन नसक्ने उनको भनाई छ ।

    ‘मन्त्रिमण्डलका सन्दर्भमा आजसम्म जति हामीले प्रधानमन्त्रीलाई पर्खियौं, माओवादी अध्यक्ष प्रचण्डलाई पर्खियौं। अब हामी उहाँहरूलाई पर्खिने छैनौं,’ उनले भने । तत्काल हाम्रा कामहरू पूरा गर्नुहोस् नयाँ मन्त्रीहरूलाई सपथ ग्रहण गराउनुहोस्। पार्टीको निर्णयको कदर गर्नुहोस्। अब उप्रान्त पनि ढिलो गर्नुभयो भने यसलाई हामी तपाईंहरूले हामीलाई गरेको अपमान हो भन्ने सम्झिनेछौं भन्ने कुरा केन्द्रीय कमिटीको बैठकमा भएको समेत उनले जानकारी गराए ।

  • बौद्धबाट प्रहरीले ठूलो मात्रामा गर्यो लागुऔषध बरामद, चार पक्राउ

    बौद्धबाट प्रहरीले ठूलो मात्रामा गर्यो लागुऔषध बरामद, चार पक्राउ

    काठमाडौं । प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले ४.९ किलो लागूऔषध हेरोइनसहित ४ जनालाई पक्राउ गरेको छ । विगतमा केही मानिसहरुलाई पटक(पटक पक्राउ गरेको अनुभवको आधारमा शंकास्पदको पहिचान गरेर अनुसन्धान गर्ने क्रममा झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए । उनका अनुसार पक्राउ पर्नेमा तान्जानियन नागरिक अब्दल्ला बुल्लिकक, भारतीय नागरिक मुनिम सिंह, विक्रमजित सिंह र वीरगञ्ज घर भएका नेपाली नागरिक कोबिक्की रौनियार छन् । श्रेष्ठका अनुसार तान्जानियन नागरिकको गतिविधि शंकास्पद लागेपछि ब्यूरोबाट खटिएको टोलीले उनलाई निगरानी गर्दै बौद्धस्थित एक होटलसम्म पुगेको थियो ।

    त्यसक्रममा उनले ल्याएको सुटेकसभित्र झण्डै ५ किलो लागूऔषध हेरोइन बरामद भएको हो । हेरोइन लुकाउनलाई उनले सुटकेसभित्र पिँधको भागमा रहेको फल्सबटममा लागूऔषध लुकाएका थिए । पक्राउ परेका भारतीय नागरिक चाहिँ उनीसँग लागूऔषध लिन आएका थिए । ताञ्जिनियन नागकिरले दक्षिण अफ्रिकाबाट दुबई हुँदै काठमाडौंमा लागूऔषध ल्याएको खुलेको छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ब्यूरोले जेठ अन्तिम साता पनि विशेष अपरेशन चलाएर ५१ किलो हेरोइनसहित ७ जना महिलालाई पक्राउ गरेको थियो ।

  • न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति

    न्यायाधीश राजकुमार कोइरालाको लेनदेनको अडियो सार्वजनिक भएपछि छानविन गर्न बन्यो समिति

    काठमाडौं । न्यायपरिषदले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न समिति गठन गरेको छ । न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहनेछन् ।
    समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ ।

    न्यायाधीश कोइरालाले अधिवक्ता रुद्र पोखरेलसँग घुस लेनदेनको विषयमा कुराकानी गरेको अडियो सार्वजनिक भएपछि त्यस विषयमा छलफल गर्न बुधबार न्याय परिषदको बैठक बसेको थियो । बैठकले न्यायाधीश कोइरालालाई न्याय सम्पादनमा पनि रोक लगाएको छ । सिभिल वचत तथा ऋण सहकारी संस्थाका तत्कालिन अध्यक्ष इच्छाराज तामाङको मुद्दाको विषयमा अधिवक्ता पोखरेल र न्यायाधीश कोइरालाबीच घुस लेनदेनको विषयमा भएको संवाद अडियो सार्वजनिक भएको छ ।

  • प्रधानमन्त्रीले गठबन्धन बैठकमा नागरिकता विधेयक अगाडी बढाउन राखे प्रस्ताव

    प्रधानमन्त्रीले गठबन्धन बैठकमा नागरिकता विधेयक अगाडी बढाउन राखे प्रस्ताव

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विचाराधीन नागरिकता विधेयक अघि बढाउन सत्तारुढ गठबन्धनमा प्रस्ताव गरेका छन् । बुधबार बालुवाटारमा बसेको बैठकमा नागरिकता विधेयक र शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने विषयमा छलफल भएको बताइएको छ । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार प्रधानमन्त्रीले नागरिकता विधेयक अगाडि बढाउने प्रस्ताव राखेका छन् । बाँकी प्रक्रिया पूरा गरेर चाँडै पेश हुने उनले जानकारी गराए ।

    तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रस्ताव अनुसार प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलालाई सुरुमा राजनीतिक अधिकार नपाउने गरी आवासीय अनुमति पत्र दिने र ७ वर्षपछि मात्र नागरिकता लिने प्रस्ताव गरेको थियो । त्यसबेला नेपाली कांग्रेस र मधेस केन्द्रित दलहरुले हालकै व्यवस्था जस्तो तत्काल नागरिकता दिनुपर्ने मत राखेका थिए ।

    तर बहुमतका आधारमा त्यतिबेला ७ वर्षे प्रावधान राखेर नगरिकता विधेयकको प्रतिवेदन राज्य व्यवस्था समितिले टुंग्याएर प्रतिनिधिसभा बैठकमा पेश गरिसकेको छ । नेकपा विभाजित भएर अहिले एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादी बनेको छ । माओवादी केन्द्र र एकीकृत समाजवादी, कांग्रेस नेतृत्वको सरकारमा छ ।

  • आजबाट बिदा र कार्यालय पुर्ववत समयमा

    आजबाट बिदा र कार्यालय पुर्ववत समयमा

    काठमाडौं । आजदेखि बिदा र कार्यालय समय पुर्ववत अवस्थामा संचालन हुने भएको छ । बिदा र कार्यालय समय पुरानै कायम गरिएको गृह मन्त्रालयले सूचना जारी गरी जनाएको हो । कार्यान्वयन गर्न जटिल र अव्यावहारिक भएको भन्दै सरकारले जेठ १ गतेदेखि लागू भएको हप्तामा दुई दिन बिदा र बिहान ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म कार्यालय खोल्ने निर्णय खारेज गरेको हो ।

    यो निर्णय खारेज भएसँगै आजदेखि कात्तिक १५ गतेसम्म बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म र कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म खुल्ने गृह मन्त्रालयले जनाएको छ । शुक्रवार बिहान १० देखि दिउँसो ३ बजेसम्म सरकारी कार्यालय खुल्ने छ । सरकारले परीक्षणका लागि सुरु गरेको दुई दिने सार्वजनिक बिदा नियमनमा कडाई गर्न नसक्दा कार्यान्वयनमा ल्याउन भने सकेन ।

  • बुधबारबाट मतदाता नामावली संकलन थालिने

    बुधबारबाट मतदाता नामावली संकलन थालिने

    काठमाडौं । निर्वाचन आयोगले असार १ गतेदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने भएको छ । मङ्गलबार आयोगले पत्रकार सम्मेलत गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई लक्षित गरी असार १ गते बुधबारदेखि देशभर मतदाता नामावली सङ्कलन तथा अध्यावधिक कार्य पुनः सुचारु गर्ने जनाएको हो । मतदाता नामावली सङ्कलन सबै निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय एवम् ७३ वटा ईलाका प्रशासन कार्यालयबाट हुने आयोगले जनाएको छ ।

    यसैगरी, पेशा, व्यवसाय वा अन्य कुनै कारणले कुनै एक जिल्लामा बसोवास गरिरहेको नागरिकले निजको स्थायी ठेगानामा रहने गरी हाल अस्थायी बसोबास गरिरहेको जिल्लाकै निर्वाचन कार्यालय गई मतदाता नामावली दर्ता गर्न सक्ने पनि आयोगले जनाएको छ । मतदाता नामावलीमा रहेको आफ्नो नाम, ठेगाना, जन्म मिति, लगायतका विवरण सच्याउनलाई प्रमाणसहित निवेदन दिएमा नाम दर्ता अधिकारी ९निर्वाचन अधिकारी० ले आवश्यक निर्णय गरी त्रुटि सच्याइने छ ।

    आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार कुनै मतदाताले झुट्टा विवरण दिई मतदाता नामावलीमा नाम समावेश गरेको भनी त्यस्तो नाम मतदाता नामावलीबाट हटाउनको लागि कुनै पनि व्यक्तिले प्रमाणसहित उजुरी दिएमा नाम दर्ता अधिकारीले छानविन गरी त्यस्तो नाम हटाउने सम्बन्धमा निर्णय गरिने छ । कुनै मतदाताले विवाह वा बसाई सरेको कारण मतदाता नामावलीमा रहेको आफ्नो ठेगाना परिवर्तन गर्न चाहेमा साविकमा नाम दर्ता भएको जिल्ला वा नाम सार्न चाहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने ।

    निवेदन दर्ता भएको कार्यालयले प्राप्त निवेदन उपर आवश्यक निर्णय गरी अर्को जिल्लासँग सम्बन्धित भए सम्बन्धित जिल्लामा आवश्यक प्रमाण समेत स्क्यान गरी पठाउने र कुनै मतदाताले आफ्नो नाम रहेको मतदान स्थलवाट पायक पर्ने सोही वडाको अर्को मतदान स्थलमा नाम सार्न निवेदन दिएमा सोही बमोजिम स्थानान्तरण गरिने छ ।

    आयोगका अनुसार दोहोरो दर्ता नहुनेतर्फ सचेत हुदै नाम दर्ता गर्ने व्यवस्था मिलाइने भएको छ । कुनै मतदाताले दोहोरो नाम परेको भनी हटाउन निवेदन दिएमा जिल्लाभित्रको दोहोरो नाम नाम दर्ता अधिकारीले रूजू गरी अघिल्लो दर्तालाई हटाइ पछिल्लो पटक दर्ता भएको नाम मतदाता नामावलीमा कायम गरिदिने तथा फरक जिल्लाको हकमा आयोगमा लेखी पठाइने छ ।

    फोटो सहितको मतदाता नामावली सङ्कलन भए बमोजिम आयोगबाट वितरण भएको मतदाता परिचय पत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम नरहेको भए त्यस्तो व्यक्तिको नाम दर्ता गरिने छ ।

  • बजेटमा करका दर बदल्न अनाधिकृत व्यक्ति पसेको बारे अर्थमन्त्रीले दिए स्पष्टिकरण, एमाले असन्तुष्ट

    बजेटमा करका दर बदल्न अनाधिकृत व्यक्ति पसेको बारे अर्थमन्त्रीले दिए स्पष्टिकरण, एमाले असन्तुष्ट

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्ने कुरा भ्रामक र झुटो कथा मात्रै भएको स्पष्टिकरण दिएका छन् । तर, उनको स्पष्टिकरणमा विपक्षी दल एमालेले भने असन्तुष्टी जनाएको छ । एमालेले मंगलबार संसदमा पुनः अवरोध गरेको छ । संसदमा सो विषयबारे सांसदले चासो राखेपछि सभामुख अग्नी सापकोटाले उठेका प्रश्नबारे जवाफ दिन अर्थ मन्त्रीलाई समेत उपलब्ध गराएका थिए । अर्थमन्त्री शर्माले भने बजेट निर्माण गर्दा राजस्वका दर चलाउन रातको १२ बजे कोही व्यक्ति आएको भन्दै भ्रामक र झुटो कथा बनाइएको बताए ।

    उनले अनाधिकृत व्यक्तिले बजेट बनाएको विषय भ्रामक भएको समेत बताए । अर्थमन्त्रीको हैसियतमा नीतिगत रुपमा भिजन दिएर बजेटमा योगदान गरेको उनको भनाइ थियो । बजेट निर्माणका सबै प्रक्रिया आधिकारिक रुपमा भएको भन्दै उनले बजेट तर्जुमासम्बन्धी विषय तोकिएको जिम्मेवारी भित्र रहेर बनाइएको बताए । ‘बजेट तथा आर्थिक विधेयक तर्जुमा प्रक्रिया अन्तर्गत नै रहेर बनाइएको हो’ उनले भने । यसमा अर्थसचिव र राजस्व सचिवले नेतृत्व गरेको भन्दै उनले मातहतमा अन्य विभागीय प्रमुख कर्मचारीको तहमा विभिन्न स्तरमा छलफल भएर, सरोकारवालाबाट आएका सुझाव समेतलाई ध्यान दिएर बजेट बनाइएको दावि गरे ।

  • एमाले सचिवालय बैठकमा घनश्याम भुसाललाई कारवाही गर्ने एजेण्डा नै परेन

    एमाले सचिवालय बैठकमा घनश्याम भुसाललाई कारवाही गर्ने एजेण्डा नै परेन

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय बैठकले सोमबार बस्ने सचिवालय बैठकका लागि एजेन्डा तय गरेको छ। आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले स्थानीय चुनावको समीक्षा गर्नेलगायत एजेन्डा तय गरेको छ। सचिवालय बैठक सोमबार दिउँसो १ बजे च्यासलमा बस्दैछ। केन्द्रीय कार्यालय बैठकले जनप्रतिनिधिलाई असार २ र ३ मा प्रशिक्षण दिने, विभागहरूलाई पूर्णता दिने र समसामयिक विषयमा छलफल गर्ने गरी एजेन्डा तय गरेको हो ।

    एमाले उपमहासचिव विष्णु रिमालको संयोजकत्वमा तयार भएको चुनावी समीक्षा रिपोर्ट बैठकमा पेस गरिने छ । आइतबारको केन्द्रीय कार्यालय बैठकमा एमाले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई स्पष्टीकरण सोध्न अनुशासन आयोगले गरेको सिफारिसबारे भने छलफल नै नभएको नेताहरुले बताएका छन् । आइतबार एजेण्डमै नपरेपछि बैठकमा सो बारे छलफल हुने सम्भावना समेत कम रहेको बताइएको छ ।

  • नागढुंगा नाकाबाट प्रहरीले समात्यो झण्डै चार करोड नगद, पाँच जना पक्राउ

    नागढुंगा नाकाबाट प्रहरीले समात्यो झण्डै चार करोड नगद, पाँच जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौं प्रवेश गर्ने नाका नागढुंगाबाट स्रोत नखुलेको झन्डै चार करोड नगदसहित पाँच जनालाई पक्राउ गरेको छ। नुवाकोट बिदुर नगरपालिका ८ का ४४ वर्षीय फुलबहादुर गुरुङ र अरू चार जना चिनियाँ नागरिक पक्राउ परेको प्रहरीले जनाएको छ ।

    मंगलबार बिहान साढे ९ बजे चन्द्रागिरी नगरपालिका २ स्थित नागढुंगा नाकामा बिएबी ५७१० नम्बरको कारलाई रोकेर प्रहरीले चेकजाँच गरेको थियो। सो कार नुवाकोटबाट काठमाडौं आउँदै थियो। सो कारको डिक्कीबाट प्रहरीले स्रोत नखुलेको ३ करोड ८९ लाख १३ हजार ७२० रुपैयाँ बरामद गरेको हो। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान अघि बढाएको समेत जनाएको छ ।

  • १ असारबाट मतदाता नामावली संकलन थालिने

    १ असारबाट मतदाता नामावली संकलन थालिने

    काठमाडौं । आगामी संसदीय निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन तथा अद्यावधिक थाल्ने भएको छ । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलकाअनुसार आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सो अद्यावधिक गर्न लागिएको हो ।
    स्थानीय तह निर्वाचन २०७९ को मिति घोषणा भएपछि २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक कार्यक्रम शुरु हुन लागेको आयोगका प्रवक्ता पौडेलले बताए ।

    यस अवधिमा नागरिकता लिएका र मतदाता नामावली ऐन, २०७३ बमोजिम योग्यता पुगी नाम दर्ता गर्न छुट भएका सबै नेपाली नागरिकहरुले प्रदेश तथा जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमा गई आफ्नो नाम दर्ता गराउन सक्ने आयोगले बताएको छ । “यस कार्यक्रम अन्तर्गत नाम दर्ता गर्न, विवरणमा रहेको त्रुटि सच्याउन, मतदाता नामावलीबाट नाम हटाउन, ठेगाना परिवर्तन गर्न, मतदानस्थल परिवर्तन गर्न, दोहोरो परेको नाम हटाउन सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सकिनेछ” आयोगद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    आयोगबाट वितरण भएको मतदाता परिचयपत्र भएको तर कुनै कारणले मतदाता नामावलीमा नाम छुटेको व्यक्तिहरुले समेत मतदाता नामावलीमा नाम दर्ता गराउन सक्नेछन् । “पेशा, व्यवसायको कारणले कुनै एक जिल्लामा बसोबास गरिरहेको तर आफ्नो स्थायी ठेगाना अर्को जिल्लामा रहेको भएमा त्यस्तो व्यक्तिले नाम दर्ताको लागि आवश्यक प्रमाणसहित आफू रहेको जिल्लाको निर्वाचन कार्यालयमा निवेदन दिएमा त्यस्तो व्यक्तिको नाम निजको स्थायी ठेगानामा रहने गरी बाहिरी जिल्ला मतदाता दर्ता कार्यक्रम समेत सञ्चालन हुनेछ” विज्ञप्तिमा भनिएको छ ।

    आगामी निर्वाचनमा कोही पनि नछुट्ने गरी आप्mनो नाम दर्ता गर्न तथा विवरण अद्यावधिक गर्न आयोग सबैमा आग्रह गरेको छ । कार्यक्रमलाई सबै राजनीतिक दल तथा सरोकारवालाहरूले आफ्नो क्षेत्रबाट सहयोग गरिदिन पनि आयोगले अपिल गरेको छ ।

  • अनुशासन कमिटिले घनश्याम भुसाललाई कारवाही सिफारिस गर्नुको कारण के हो ?

    अनुशासन कमिटिले घनश्याम भुसाललाई कारवाही सिफारिस गर्नुको कारण के हो ?

    काठमाडा । नेकपा एमालेको अनुशासन आयोगले स्थायी कमिटी सदस्य घनश्याम भुसाललाई कारबाहीको सिफारिस गरेसँगै एमाले वृत्तमा पुनः तरगं सिर्जना भएको छ । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै भूसाललाई पार्टी विधान बमोजिम कारबाही गर्न सिफारिस गरेको हो । । पार्टीको सचिवालयको बैठकबाट पार्टी हित विपरीत गएकाले एक जना स्थायी कमिटी नेतालाई कारबाहीको सिफारिस गरेको र उनी घनश्याम भुसाल रहेको एक नेताले बताए ।

    पार्टीमा बसेर पार्टी, अध्यक्ष , महाधिवेशन र नीतिको विरुद्धमा बोलेको भन्दै यस्तो निर्णय भएको नेताहरुले बताएका छन् । स्थानीय चुनावपछि जेठ ८ मा हिमालय टेलिभिजनबाट प्रसारण भएको यक्ष प्रश्न कार्यक्रममा अन्तरवार्ता दिँदै भुसालले अध्यक्ष ओलीको आलोचना गरेका थिए । त्यहाँ उनले एमाले भनेकै ओली, ओली भनेको नेकपा एमाले दुवै असफल भएको बताएका थिए ।

  • दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन

    दरवार हत्याकाण्डका २१ वर्ष, रहस्यको पर्दा अझै खुलेन

    काठमाडौं । देशभर अविरल वर्षातका बीच आजैका दिन काठमाडौंबाट २१ वर्षअघि एक सनसनीपूर्ण, दुखद र अविश्सनीय खबरले विश्वभर तरंग फैलिएको थियो । नेपालमा राजतन्त्रलाई धेरै मानिसहरु भगवान विष्णुको अवतार मान्थे । दरबार भित्रका दाउपेचबारे पढ्दै र सुन्दै आएका जनताले आधुनिक युगमा यतिसम्मको विभत्स घटना हुन्छ भन्ने कल्पना भने गरेका थिएनन् । २०५८ साल जेठ १९ गते राती ९ बजे नारायणहिटीस्थित दरबारमा तत्कालिन राजा वीरेन्द्र र उनको सम्पूर्ण वंशको हत्या भएको हो ।

    दरबार हत्याकाण्डको आज ठ्याक्कै २१ वर्ष पुगेको छ । हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार निराजन, राजकुमारी श्रुतिसहित १० जनाको ज्यान गएको थियो । हत्याकाण्ड अहिले पनि रहस्यको पर्दामै छ । छानविन आयोगले तत्कालिन राजकुमार दीपेन्द्रबाट यो घटना भएको बताउँछ । तर, आम मानिस भने यो स्वीकार गर्न तयार छैनन् ।

    नारायणहिटी दरबार हत्याकाण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते राजतन्त्रको अन्त्यसँगै गणतन्त्र स्थापनाको घोषणा भएको थियो । यो घटना नेपालमा राजतन्त्र अन्त्य हुने विविध कारणमध्ये निर्णय बन्न पुगेको थियो । अहिले नारायणहिटी दरबार सङ्ग्रहालय बनाइएको छ ।

  • गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र

    गोकर्णेश्वर र बुढानिलकण्ठ नगरपालिका प्रमुखका नाममा खुला पत्र

    गोकर्ण तथा बुढानिलकण्ठ नगरपालिका प्रमुख ज्युहरु नमस्कार !

    तपाईं दुबै नगर प्रमुखहरुका नाममा नै पत्र प्रेसित गर्नुपर्ने प्राबिधिक कारणले गर्दा दुबै जनालाई संयुक्त सम्बोधन गरि यो पत्र लेख्दै छु। हून त मैले उठान गर्न लागेको बिषय तपाईहरुलाई ब्यक्तिगत रुपमा भेटेर पनि गर्न सकिन्थ्यो तर प्रबिधी अली धेरै शक्तीशाली हुने ठाँन्दै यो माध्यम रोजेको हुँ । काठमाडौंको उत्तर पुर्बी डाँडामा अबस्थित जगडोलको स्थानीयबासीको हैसियतले यो पत्र लेख्ने जमर्को गरेको हुँ । काठमाण्डौस्थित जगडोल गाउँ अलि पर बसेर हेर्दा गोकर्ण नगरपालिका भित्रकै एउटा गाँऊ होला भन्ने भान पर्दछ तर भुगोलको हिसाबले जगडोल बुढानिलकण्ठ नगरपालिका भित्रपर्ने तर बुढानिलकण्ठ नगरपालिका प्रशासनको नजरमा भने हत्तपत्त नपर्ने, एैतिहासिक एवं पौराणिक महत्त्व बोकेको रमणीय गाउँ हो । काठमाडौंको जनघनत्व र अव्यवस्थित भवन निर्माणले निम्त्याएको प्रदुषणले निसासिएर जगडोलको स्वच्छतामा रमाउदै टहलिन, बिहान चारै बजे देखि सयौ मानिसहरू “ मर्निङ वाक “ आउने कुरामा तपाईंहरू पनि सायदै अनविज्ञ हुनुहुन्न होला ! तपाईं गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक रिसाल ज्यु त बिहान घुम्ने सयौ मानिसहरु मध्येको एउटा अंग नै हुनु हुन्छ ।

    नगरपालिका प्रमुख ज्युहरु !

    म अब मुल बिषय तर्फ प्रवेश गर्छु ।उता काठमाडौं महानगरपालिकाका नब निर्बाचित प्रमुख बालेन्द्र शाह (बालेन) ले महानगरको फोहोर समाधान नगरे सम्म आफू माला नलगाउने प्रण गरेको देखेर मलाई डाह लागेको छ । तर यता प्रकृतिले हराभरा हजारौ पर्यटकको गन्तब्य उपत्यका कै शिर ,जगडोल जाने मुल सडकको प्रबेशद्वारमा अज्ञात मानिसले ल्याएर दुर्गान्धित बनाउने गरेको त्यो फोहोरको थुप्रो र गन्धले तपाईं हामी सबैलाई दिनहु गिज्याउदै आएको छ । कस्ले फाल्छ कसरी फाल्छ आज सम्म अत्तो पत्तो छैन । तर त्यो हरियाली दिनहु फोहोरको पहिरो बन्दै गएको छ । सभ्य समाज ,पढे लेखेकाहरुको बस्ती तर कानुन बिपरित डकैती सैलीमा गाउँको बिचमा फोहोर फ्याकेर दुर्गान्धित बनाईन्छ तर समाज ,प्रशासन सबै मौन ।तपाईं हामी सधैं हिंड्ने बाटोमा बसेर गिज्याई रहने ति फोहोरको थुप्रोलाई हाम्रै आँखाले मात्र देखेको हो कि हाम्रो नाकले मात्र महसुस गरेको हो त्यो त थाहा भएन । स्थानिय प्रशासन वा प्रतिनिधिका आँखाले देखेका भए त कती बर्ष बित्यो त्यो क्रमभङ् हुन्थ्यो होला ? यो बिषय कतिपयका लागि सामान्य हुनसक्छ तर कृयाकलापका हिसाबले यो बिषय सामान्य हुँदै होईन । भोग्नेहरु पिडा भयो भन्छन् । लाजै भयो भन्छन ।

    रमणीय र प्राकृतिक श्राेत साधनले भरिभराउ जगडाेल क्षेत्रको प्रवेशद्वारमा अस्तब्यस्त फ्याकिएको फोहोरको गन्धले ख्याल ख्यालैमा हद पार गरिसकेको छ । वरिपरी महंगा रिजोर्ट स्वादिस्ट पारीकार पाक्ने गर्दछन् तर नाकैमा पोतिएको त्यो फोहोरको थुप्रोले यस अगाडिका जन प्रतिनिधिलाई यो गन्धले कहिल्यै पिडा दिएन ।तर दैनिक आवत जावत गर्ने सर्वसाधारण र पर्यटकका लागि यो पिडा बनेर बसेको बर्षाै भै सक्यो । सुरुमा दुई चार पोका ल्याएर सुरु गरिएको यो प्रकृया अहिले बढाएर रातको समयमा ट्रकमा नै ल्याएर खन्याएर भाग्ने गरेको छ ।

    यदि काठमाण्डौ महानगरका प्रमुख बालेनले जस्तै तपाईं हाम्रा दुबै नगरका प्रमुखले पनि त्यो फोहोर हटाउने प्रतिबद्धता पहिलो दिन देखी गर्नु भएकाे भए हामी कति भाग्यमानि महसुस गर्ने थियौ होला । राज्यको करोडौं करोड लगानीमा अस्त ब्यस्त पसारो परीरहेको सहिद पार्क कै काखमा त्यो फोहोरको डङुर् नाची रहेको छ । न शहिद पार्क प्रशासनलाई त्यो फोहोरले गन्हाउने गरेको छ न जन प्रतिनिधिका नाकमा त्यो गन्ध पस्ने गरेको छ ।

    प्रमुख ज्युहरु ! अचम्म त यो छ कि फोहोरलाई फोहोर देख्ने अनी फोहोरको गन्ध नाकले थाहा पाउने चांहि किन गाउँले र सर्वसाधारण मात्र हुने होला ? जगडाेल हुँदै शिबपुरी हाइकिङ गर्न आन्तरिक एवं बाह्य पर्यटकहरु समेत आउने गरेका छन् , उक्त मुख्य प्रवेश मार्गमा रातको समय पारेर ट्रकका ट्रक फाेहरहरू लेराइ दोस्रो ओखरपौवा बनाएर आवत जावत गर्न समेत हम्मे हम्मे पर्ने अवस्थामा छ ।हुन त जगडाेलका स्थानिय बासिहरुले उक्त फोहोर कसले कसरी ल्याउछ भन्ने पतालगाउन बिभिन्न उपाय यस अगाडि नगरेका पनि होईनन् । कुन ठाँऊको फोहोर होला भनेर स्थानिय युवाहरुले फोहोर खोसरेर कागजमा भएको फोन नम्बरमा फोन गरेर समेत पत्ता लगाउने कोशीस गरे । केही सिप लागेन । सि सि क्यामेरा पनि जडान गरिएका छन तर उक्त क्यामेराको भिडियो बौद्ध प्रहरीले हेर्ने सहमति पनि नभएको होइन तर के त्यो क्यामराले काम गरेको छ ? न बौद्ध प्रहरी नै यो बिषयमा संबेदनसिल देखिन्छन् ।न प्रहरीले पत्ता लगाउने कोशीस नै गरेको छ । सुरु सुरुका दिनहरुमा १ , २ पोका फोहोर त हो नि भनेर वास्ता नगर्दा, अहिले मरेका सिनो देखि हरेक फाेहर थुप्रीसकेका अबस्थामा छ ।बटुवा देखि सवारि साधन प्रयोग कर्ता र बटुवाहरु आवत जावत गर्ने हरेकको नाकमा ठुःस गन्ध पुगे पछी एकछिन नाक मुख छोपी हिंड्ने गरेका छन्। प्रहरी प्रशासनको खिल्ली उडाउदै मध्य गाँऊमा ट्रकका ट्रक फोहोर मिल्काउदा समेत न प्रशासन न गाँउले सबै चुप चाप भएको देख्दा हामी नेपाली ” हामी यस्तै त हो नि ब्रो ” भने जस्तो भयौ कि जस्तो पनि लाग्छ ।

    भूमिका जती नै बाँधे पनि जती नै बयान गरे पनि त्यो फोहोर त्यहा बाट हट्नु पर्‍यो ।जसरी पनि हटनु पर्‍यो । हाम्रा नगर प्रतिनिधिज्युहरु अब त्यहाँ पुग्दा नाक मुख थुनेर खुम्च्यार हिड्दै अर्को पाँच बर्ष नबिताइ दिनुहोला भनी अनुरोध साथ यो पत्र सार्बजनिक गरेको हुँ । बिकास र परिवर्तनका नाममा ठुला ठुला गुड्डी हाक्नु भन्दा गाउँले ले महसुस गर्ने यस्तै कामहरु गर्दै जानुस् तपाईंहरुको योगदान अजर र अमर हुने छ । धन्यबाद ।

    बसन्त पौडेल
    बुढनिलकण्ठ -११,जगडोल

  • विकास र समृद्धिको आकंक्षा पुरा गर्ने यात्रामा क्रियाशील छौँ : प्रधानमन्त्री

    विकास र समृद्धिको आकंक्षा पुरा गर्ने यात्रामा क्रियाशील छौँ : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा जनताको हक,अधिकारलाई पूर्ण सुनिश्चित गर्दै मुलुकलाई छिटोभन्दा छिटो विकास र समृद्धिको बाटोमा अघि बढाउने सबैको साझा उद्देश्य भएको बताएका छन् । पन्ध्रौँ गणतन्त्र दिवसका अवसरमा सबैमा शुभकामना व्यक्त गर्दै उनले सो उद्देश्य प्राप्तिका लागि सबै राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा तथा व्यावसायिक सङ्घसंस्था, सञ्चार जगत् र आम नेपाली नागरिकलाई राष्ट्रको विकास र समृद्धिका लागि एकबद्ध भई अघि बढ्न आह्वान गरेका हुन् ।

    प्रधानमन्त्री देउवाले इतिहासको विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन, नागरिक सङ्घर्ष, त्याग तथा बलिदानको फलस्वरूप मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था कायम भएको चौध वर्ष पूरा भएको उल्लेख गरेका छन् । विसं २०६५ जेठ १५ गते तत्संविधानसभाबाट मुलुकमा लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने ऐतिहासिक निर्णय भएको थियो । सोही दिनको स्मृतिमा प्रत्येक वर्ष जेठ १५ गते गणतन्त्र दिवसको रूपमा मनाइँदै आइएको छ ।

    उनले दिवसको अवसरमा मुलुकमा लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्ने अभियानमा आफ्नो अमूल्य देह उत्सर्ग गर्नुहुने ज्ञात–अज्ञात सम्पूर्ण सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।साथै लोकतन्त्र एवं गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेतृत्व प्रदान गर्ने अग्रज तथा यस अभियानमा सहभागी हुनुहुने सबैमा उच्च सम्मान र आदरभाव व्यक्त गर्दै प्रधानमन्त्री देउवाले गणतन्त्र प्राप्तिको सङ्घर्षमा घाइते भई स्वास्थ्योपचार गराइरहेका सम्पूर्णको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।

    प्रधानमन्त्री देउवाले मुलुकका सबै नागरिकलाई बिनाभेदभाव समान हक, अधिकार र शासन प्रणालीमा सहभागी हुने अवसर प्रदान गर्ने संसारकै उत्तम शासन व्यवस्थामध्येको एक लोकतान्त्रिक गणन्त्रात्मक शासन व्यवस्थामार्फत आज हामीले मुलुकलाई अगाडि बढाइरहेको बताएका छन् । उनले शुभकामना सन्देशमा भनेका छन्, ‘संविधानले आम नेपाली नागरिकको मौलिक हक र स्वतन्त्रताको सुनिश्चत गर्दै नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने कुराको प्रत्याभूति गरेको छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्पूरा गर्ने यात्रामा आज हामी क्रियाशील छौँ ।’
    रासस

  • आज गणतन्त्र दिवस, विविध कार्यक्रमसहित मनाइंदै

    आज गणतन्त्र दिवस, विविध कार्यक्रमसहित मनाइंदै

    काठमाडौं । आज गणतन्त्र दिवस, देशभर विविध कार्यक्रम आयोजना गरी मनाइंदैछ । राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिनका रुपमा हरेक वर्ष १५ जेठमा गणतन्त्र दिवस मनाइंइछ । निरङ्कुश एकात्मक राजतन्त्रको विधिवत् अन्त्य गर्दै मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ घोषणा आजैका दिन भएको हो ।

    जननिर्वाचित पहिलो संविधानसभाबाट २०६५ जेठ १५ गते निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको थियो । हजारौँको बलिदान, लाखौँ नागरिक सडकमा उत्रिएर ल्याएको गणतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ ।

    विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनःस्थापना गरेका थिए । गणतन्त्र स्थापनाका लागि यही आन्दोलन जगका रूपमा स्थापित भयो । संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे ।

    विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा ९माओवादी०का बीच १२ बुँदे समझदारी भयो । पूर्ण लोकतन्त्र स्थापनाका लागि दुवै शक्तिबीच समझदारी भएको थियो । विसं २०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए ।

    चक्रपथ मानवसागरले भरिएपछि राजा ज्ञानेन्द्र दलहरूको मार्गचित्रमा सहमत हुनुभयो । आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा राजा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुनःस्थापनाको घोषणा गरी बैठकसमेत आह्वान गरे । यसैले यस दिनलाई लोकतन्त्र दिवस भनिन्छ । यो दिन नै गणतन्त्रको जगका रूपमा स्थापित बन्यो । विसं २०६३ जेठ ४ गतेको संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो ।

    बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । यसैको जगमा विसं २०६४ चैत २८ गते पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको २०६५ जेठ १५ गते बसेको पहिलो बैठकले २४० वर्षे राजसंस्थाको विधिवत् अन्त्य गर्‍यो ।

    पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो ।विसं २०७० मङ्सिर ४ गते सम्पन्न दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले २०७२ असोज ३ गते सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । जसअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकारले शासन सञ्चालन गरेका छन् ।

  • गणतन्त्र दिवसको अवसर पारी ८३४ कैदीबन्दीको सजाय माफ

    गणतन्त्र दिवसको अवसर पारी ८३४ कैदीबन्दीको सजाय माफ

    काठमाडौं । सरकारले गणतन्त्र दिवसको अवसर पारेर ८३४ जनाको कैद सजाय माफी दिएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट यस्तो निर्णय भएको राष्ट्रपति कार्यालयले जनाएको छ । खड्ग श्रेङ लिम्बु समेत २७१ जना र नरबहादुर साँवा समेत ५४७ जनाको बाँकी कैद सजाय मिनाहा गरिएको हो । उनीहरुले आइतबारबाट यस्तो माफी पाउने भएका हुन् ।

    संविधानको धारा २७६ र मुलुकी फैजदारी कार्यविधिको दफा १५९ बमोजिम उमाकान्त पराजुलीसहित १६ जनाको कैद सजाय माफी भएको छ । सरकारले अचल आचरण भएका, गम्भीर तथा फौजदारी कसुरबाहेक सामान्य अपराधमा सजाय भोगिरहेका र कैदको अधिकांश समय भुक्तान गरिसकेका कैदीको बाँकी कैद माफी दिने प्रावधान रहेको छ । राजनीतिक आस्थाका बन्दीहरु समेत यो समयमा बढी छुट्ने गर्छन् ।

  • पत्नी हत्याका दोषि पूर्वडीआजी कोइराला फैसला उल्टिएपछि पक्राउ

    पत्नी हत्याका दोषि पूर्वडीआजी कोइराला फैसला उल्टिएपछि पक्राउ

    काठमाडौं । सर्वोच्च अदालतबाट जन्मकैदको सजाय नघट्ने फैसला आएको भोलीपल्टै पत्नी हत्याका दोषि सशस्त्र प्रहरी बलका पूर्वडीआईजी रञ्जन कोइराला काठमाडौंमा पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–३१ नयाँ बानेश्वरबाट कोइरालालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ । जन्मकैद मुद्दामा जेल सजाय बिताइरहेका कोइराला प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश तेजबहादुर केसीको इजलासले साढे ८ वर्ष जेल बसेपछि सजायको मक्सद पूरा हुने फैसला आएपछि गत वर्ष छुटेका थिए ।

    तर बिहीबार कामू प्रधानन्यायाधीश दीपककुमार कार्की, न्यायाधीशहरु टंकबहादुर मोक्तान र डा. कुमार चुडालको इजलासले जबरा र केसीले गरेके फैसला उल्टाउँदै रञ्जनलाई जन्मकैद नै हुने फैसला सुनाएको हो । अब उनी साढे ११ वर्ष जेल बस्नुपर्छ । पक्राउ परेका कोइरालालाई प्रहरीले अब फैसला कार्यान्वयनका लागि अदालतमा पेश गर्ने भएको छ । त्यसपछि उनी पुनः कारागार चलान हुने प्रावधान रहेको छ ।
    कोइरालाले सशस्त्र प्रहरीको डीआईजी रहेका बेला २७ पुस २०६८ मा पत्नी गीता ढकालको हत्या गरेका थिए ।

    पारिवारिक सम्बन्ध बिग्रिँदै गएपछि छुट्टिएर बस्न थालेका रञ्जनले सम्बन्ध विच्छेदका लागि दबाव दिँदै अंश चलनको मुद्दा हालेका थिए । गीताले माना चामल मुद्दा हालेकी थिइन् । गीता बुढानीकण्ठमा बस्दै आएकी थिइन् । रञ्जन नेशनल डिफेन्स कोर्स गर्न चीन गएका थिए । पुस तेस्रो साता नेपाल आएका रञ्जुन २७ गते गीताको घर पुगेर कान्छो छोरा लिएर हिँडेका थिए, त्यसपछि गीताले माइतीलाई जानकारी गराएकी थिइन् । त्यसपछि गीता माइतीको सम्पर्कबाट टाढा भइन् ।

    छोरी सम्पर्कविहीन भएपछि उनका बाबु हरेराम ढकालले ६ माघ २०६८ मा महानगरीय प्रहरी परिसरमा जाहेरी दिएका थिए । प्रहरी अनुसन्धानका क्रममा रञ्जनले २७ पुसमै गीताको हत्या गरेर मकवानपुरको टिस्टुङ–८ स्थित त्रिभुवन राजपथको मेत्राङ भन्ने ठाउँमा शव जलाएको पुष्टि भएको थियो । ८ माघमा पक्राउ परेका कोइरालालाई झण्डै २ वर्षपछि जिल्ला अदालत, काठमाडौंले जन्मकैदको फैसला सुनाएको हो ।

  • बलात्कार सम्बन्धी मुद्दामा हदम्याद पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन

    बलात्कार सम्बन्धी मुद्दामा हदम्याद पुनरावलोकन गर्ने प्रधानमन्त्रीको आश्वासन

    काठमाडौं । बलात्कार मुद्दाको हदम्याद पुनरावलोकन हुने भएको छ ।प्रधानमन्त्री शेरबहादुर देउवाले यस्तो आश्वासन दिएका हुन् । बुधबार नेपाली कांग्रेसका महिला नेताहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले बलात्कार मुद्दामा एब वर्षे हदम्याद राखिएकाले कतिपय अवस्थामा अप्ठ्यारो परेको आफूलाई महसुस भएको बताएका हुन् । देउवालाई भेट्न नेता डिना उपाध्यायको नेतृत्वमा कांग्रेसका महिला नेताहरु प्रधानमन्त्री निवास वालुवाटार पुगेका थिए ।

    भेटमा आफूहरुले बलात्कार मुद्दाको हदम्याद पुनरावलोक गर्नुपर्ने मागसहितको ज्ञापनपत्र बुझाएको कांग्रेस प्रमुख सचेतक पुष्पा भुसालले जानकारी दिइन् । ‘बलात्कारका घटनाहरु बढिरहेको छ । कतिपय घटनाहरुमा हदम्यादले अप्ठ्यारो पारेको महसुस मलाइ पनि भएको छ’ प्रधानमन्त्री देउवाको भनाई उद्धृत गर्दै भुसालले जानकारी दिइन् ।

    प्रचलित कानुन आुसार हाडनातामा करणीमा जहिलेसुकै उजुरी लाग्छ भने त्यसबाहेकका बलात्कार वा यौनजन्य हिंसाका घटना भएको एक वर्षभित्र उजुरी गर्नुपर्ने हुन्छ । नाबालिकको हकमा पनि बालिग (१८ वर्ष) भएपछि एक वर्षभित्र उजुरी गरिसक्नुपर्ने व्यवस्था छ ।

  • यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

    यौनदुर्व्यहारको आरोपमा सेन्ट लरेन्स कलेजका शिक्षक पक्राउ

    काठमाडौं । शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै सेन्ट लरेन्स कलेज चाबहिलका कलेजका संयोजक जनार्दन अधिकारी पक्राउ परेका छन ।

    विद्यार्थीले प्रर्दशन गरे पछि गौशाला प्रहरी बृतले उनलाई पक्राउ गरेको हो । अधिकारीले कक्षा ११ र १२ मा पढ्ने किशोरीहरूलाई यौन दुर्व्यवहार गर्ने गरेको विद्यार्थीले आरोप लगाएका छन् ।

    अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ मा पढ्ने विद्यार्थीहरूले प्रहरी वृत्त गौशाला अगाडि विद्यालय पोसाकमै प्रदर्शन गरेका थिए ।

    दुर्व्यवहारबारे विद्यालयलाई जानकारी गराउँदा समेत विद्यालयले ती शिक्षकलाई कारबाही नगरेको भन्दै विद्यार्थीहरूले प्रदर्शनी गरेका हुन् ।

    अधिकारीले आफुले भनेको नमाने कलेजबाट निष्कासन गर्ने धम्की समेत दिने गरेको बिद्यार्थीहरुको आरोप छ । माध्यमिक तहमा सामाजिक विषयका शिक्षक समेत रहेका अधिकारीले कक्षा ११ र १२ का मात्रै नभएर साना बालिकामाथि पनि यौन दुर्व्यवहार गरेको आरोप छ ।

  • बलात्कार अभियोग लागेका पाण्डे पक्राउ

    बलात्कार अभियोग लागेका पाण्डे पक्राउ

    काठमाडौं । आठ वर्षअघि काठमाडौंमा एक सौन्दर्य प्रतियोगिताका दौरान आफुमाथि आयोजकले बलात्कार गरेको भन्दै भिडियो सार्वजनिक भएपछि आरोपित मनोज पाण्डे पक्राउ परेका छन् । सन् २०१४ मा किशोरीलाई होटेलमा बलात्कार गरेको अभियोग ती युवतीले लगाएकी छिन् । पाण्डेलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले स्वयम्भूबाट पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार उनीमाथि शनिबार बिहानैबाट निगरानी बढाइएको थियो । अपरान्ह पक्राउ गरिएको हो ।

    पाण्डे मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । सन् २०१४ मा मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका दौरान घटना भएको युवतीको आरोप छ । प्रतियोगिता सकिएपछि ‘सक्सेस पार्टी’ का लागि भन्दै बानेश्वरको एभरेष्ट होटलमा बोलाएर बलात्कार गरेको युवतीले सामाजिक संजालमार्फत बताएकी छिन् । पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको अभियोग लागेको छ ।

  • सामाजिक संजालमार्फत सार्वजनिक यौन हिंसाको घटना अध्ययन गर्न समिति गठन

    सामाजिक संजालमार्फत सार्वजनिक यौन हिंसाको घटना अध्ययन गर्न समिति गठन

    काठमाडौं । केही दिनदेखि विभिन्न सामाजिक सञ्जालमा महिला हिंसा सम्बन्धमा प्रकाशित भिडियोबारे गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय छानविन समिति बनाएको छ
    प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुवरको नेतृत्वमा बनेको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का छन्। समितिले शुक्रबारबाटै काम सुरु गरेको छ ।
    एक मोडलले ८ वर्ष अगाडि आफुलाइ यौन हिंसा गरेको भन्दै घटना सार्वजनिक गरेकी छिन् । सो घटनाको हदम्याद नाघेका कारण अनुसन्धान हुन नसक्ने कानुनी प्रावधानका बीच सरकारमाथी भने घटनाको अनुसन्धान गर्न दवाव बढेको छ ।

  • नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल

    नतिजा सार्वजनिक नहुँदै सुरु भयो स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल

    काठमाडौं । स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आज (शुक्रबार)बाट औपचारिक रुपमा सुरु भएको छ । यसअघिका जनप्रतिनिधिको ५ वर्षे कार्यकालको अन्तिम दिन बिहीबार सम्म थियो । तर, स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक नहुँदै नयाँ जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल प्रारम्भ भएको हो । शुक्रबार बिहानसम्म ६ सय भन्दा धेरै स्थानमा नतिजा आर्वजनिक भइसकेको छ । चुनावको अन्तिम नतिजा नआए पनि जनप्रतिनिधिको कार्यकाल आजैदेखि सुरु भएको मानिने निर्वाचन आयोगको भनाई छ ।

    संविधानतः पालिकामा जनप्रतिनिधिविहीन हुन नहुने र पद रिक्त हुँदा सेवाग्राहीका काम प्रभावित भएमा के गर्ने भन्ने अन्योल देखिए पनि जेठ ५ गते अगावै चुनाव भइसकेकाले कानुनीरूपमा खास समस्या नपर्ने र व्यावहारिक पक्षमा सरकारले आवश्यक सहजीकरण गर्ने पनि निर्वाचन आयोगको भनाई छ ।

    निर्वाचित जनप्रतिनिधिमध्ये नगरका मेयर र गाउँपालिकाका अध्यक्षले कार्यभार सम्हाल्नु अगावै निर्वाचित भएको सात दिनभित्र जिल्ला न्यायाधीशबाट पद तथा गोपनीयताको सपथ लिनुपर्ने हुन्छ । मेयर र अध्यक्षले शपथ लिएको सात दिनभित्र गाउँपालिकाको उपाध्यक्ष, नगरपालिकाको उपमेयर, वडा अध्यक्ष, गाउँ तथा नगर सभाका सदस्यले शपथ लिनु पर्ने कानुनी व्यवस्था छ ।

  • मतदान गर्न जाँदा रक्सी खान नपाइने, तस्वीर खिचे कारवाही

    मतदान गर्न जाँदा रक्सी खान नपाइने, तस्वीर खिचे कारवाही

    काठमाडौं । जाँडरक्सी खाएर मतदानस्थलमा जान नपाइने भएको छ । मतदान गर्ने व्यक्तिले जाँडरक्सी खाएको भए मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न दिने छैनन् । चुनावको निर्देशिकामा आयोगले जाँडरक्सी खाएकालाई मतदाता भए पनि प्रवेश नदिन निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

    मतदान केन्द्रभित्र मोबाइल, क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटर, कुनै प्रकारको हातहतियारलगायतका वस्तु लैजान पाइने छैन । आयोगले यस्ता कार्य गरेको भेटिएमा कानुन बमोजिम कारबाही हुने सूचना जारी गरेको छ ।

  • आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

    आर्थिक चलखेल गरेको आरोपमा इलाममा गाउँपालिका अध्यक्षका उम्मेदवार स्थानीयको नियन्त्रणमा

    इलाम (रासस) । नेकपा (एमाले) सन्दकपुर गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार उदय राईलाई स्थानीयवासीले नियन्त्रणमा लिएका छन् । बुधबार राति गाउँपालिकाको वडानम्बर ५ को जमुनामा पुगेका उनलाई आर्थिक चलखेल गर्न लागेको आरोपमा नियन्त्रणमा लिइएको स्थानीयवासीको भनाइ छ । उनीसहित वडासदस्य पदकी उम्मेदवार सीता कार्कीलाई समेत स्थानीयवासीले नियन्त्रणमा लिएका हुन् ।

    मौन अवधिमा दुवै जनालाई प्रचार–प्रसारको काममा लागेको आरोपमा स्थानीयवासीले नियन्त्रणमा लिएको र होहल्ला गर्दै लखेट्न थालेपछि सुरक्षाका लागि उम्मेदवारलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लास्थित सशस्त्र प्रहरी बलका प्रमुख सुरेश सापकोटाले असुरक्षित हुने देखिएपछि सुरक्षाका लागि राखिएको बताए ।

    मौन अवधिमा उम्मेदवार राईले मतदाताहरूलाई पैसालगायतका प्रलोभनमा पार्न लागेको भन्दै स्थानीयवासीहरूले विरोध गरेका थिए । आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनलाई कारबाही गर्नसमेत उनीहरूले माग गरेका थिए ।

  • नेताहरुद्धारा सामाजिक संजालमार्फत आचारसंहिता उल्लंघन, आयोगले धमाधम सोध्दैछ स्पष्टीकरण

    नेताहरुद्धारा सामाजिक संजालमार्फत आचारसंहिता उल्लंघन, आयोगले धमाधम सोध्दैछ स्पष्टीकरण

    काठमाडौं । स्थानीय तह निर्वाचनको दौरान अहिले मौन अवधी जारी छ । तर, नेताहरुले जानेर वा नजानेर सामाजिक संजालमा बढी आचारसंहित उल्लंघनका घटना भएका छन् । निर्वाचन आयोगले नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई स्पष्टीकरण सोधेको छ । उपमहासचिव गुरुङले मौन अवधिमा आचारसंहिता उल्लंघन हुने गरी क्रियाकलाप गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको आयोगको भनाई छ ।

    एमाले उम्मेदवारलाई मत दिएर जिताउन फेसबुकबाट बुधबार बिहान भिडियो पोष्ट गरी आचारसंहिता विपरीत अपिल गरेको विषयमा आयोगले गुरुङलाई स्पष्टीकरण सोधेको हो । आयोगले वीरगन्ज महानगरपालिकाका मेयरका उम्मेदवार विजय सरावगीलाई समेत स्पष्टीकरण सोधेको छ । उनीविरुद्ध मल खरीदमा लेनदेन गरेको भन्दै उजुरी परेको छ । उता, पर्यटन मन्त्री प्रेम आले समेत आचारसंहिता उल्लघन गर्ने सूचीमा परेका छन् । उनले भड्काउ अभिव्यक्ति दिएको आरोप लागेको छ ।

  • केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण

    केशव स्थापितलाई आयोगले सोध्यो पुनः स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले काठमाडौं महानगरपालिकाको मेयरका उम्मेदवार केशव स्थापितलाई पुनः स्पष्टीकरण सोधेको छ । उनले मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहबारे गरेको टिप्पणीबारे आयोगले स्पष्टीकरण सोधेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । स्थापित नेपाल कम्युनिष्ट पार्टी एमालेका काठमाडौं महानगरपालिकाको प्रमुख पदको उम्मेदवार हुन् ।

    स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार बालेन शाहको विषयमा अभिव्यक्ति दिएको विषय सञ्चारमाध्यम तथा सामाजिम सञ्जालबाट जानकारी प्राप्त भएकाले निर्वाचन आचारसंहिता २०७८ अनुकुल नभएकाले सो विषयमा आधार र कारणसहित चौबीस घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले निर्देशन दिएको हो । यसअघि आयोगले स्थापितलाई यौन दुर्व्यवहार सम्बन्धी प्रश्न सोध्ने प्रश्नकर्तामाथि गरेको टिप्पणीका विषयमा पनि प्रष्टीकरण सोधेको थियो ।

    १५ वैशाखमा काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो । जवाफमा उनले प्रश्नकर्तालाई नै ‘यू आर नाइस लेडी तर थुतुनो ठीक छैन’ भनेका थिए । स्थापितले केही दिनअघि एक सार्वजनिक कार्यक्रममा बालेन शाहलाई ‘अन्तर्राष्ट्रिय ठग’ भनी टिप्पणी गरेका थिए । त्यस्तै स्थापितले बालेन शाहले ‘केशव स्थापितलाई जिताऔं, बालेनलाई भोट हालौं’ भनेर प्रचार गरेको पनि आरोप लगाएका थिए । निर्वाचन आयोगले हालसम्म ३७ व्यक्ति तथा राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै स्पष्टीकरण सोधेको छ ।

  • बम राखेको टेलिफोनपछि विमानस्थलमा फैलियो त्रास

    बम राखेको टेलिफोनपछि विमानस्थलमा फैलियो त्रास

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडान बुधबार एक घण्टा प्रभावित भयो । ९ः४५ बजे एक अपरिचित व्यक्तिको टेलिफोन आएपछि विमानस्थलमा त्रास फैलिएको हो । त्यसपछि विमानस्थल कार्यालयले सूचनाबारे सुरक्षा निकायलाई जानकारी गराएको थियो ।

    विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरका अनुसार एक घण्टासम्म विमानस्थलको आन्तरिक टर्मिनल बन्द गरेर सर्च गरिएको थियो । सो क्रममा नेपाली सेनाको टोली खटिएको थियो । तर, सर्चबाट कुनै पनि वस्तु फेला नपरेपछि विमानस्थल सूचारु गरिएको हो । ठाकुरका अनुसार टेलिफोनमा टर्मिनल भित्र ८ वटा बम राखिएको भन्दै खबर आएको थियो ।

  • केशव स्थापित र ओरेकलाई २४ घण्टे स्पष्टीकरण

    केशव स्थापित र ओरेकलाई २४ घण्टे स्पष्टीकरण

    काठमाडौं । निर्वाचन आयोगले काठमाडौँ महानगरपालिकामा प्रमुख पदका नेकपा (एमाले) का उम्मेदवार केशव स्थापितलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । उनले यही वैशाख १५ गते धुम्रबाराहीस्थित नेशनल कलेजमा काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रममा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता विपरीत भएको पाइएकाले सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन पत्र पठाएको छ ।

    स्थापितबारे जारी भएको प्रेस विज्ञप्ति निर्वाचन आचारसंहिता प्रतिकूल रहेकाले सो सम्बन्धमा स्पष्ट पार्न महिला पुनःस्थापना केन्द्र (ओरेक) लाई आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले उक्त संस्थाको प्रेस विज्ञप्तिलाई सार्वजनिक माध्यमबाट यथाशिघ्र हटाई प्रमाणसहित २४ घण्टाभित्र स्पष्टीकरण सोध्न वैशाख १८ गते ओरेकलाई निर्देशन दिएको हो ।

    आयोगले ओरेकका कार्यकारी निर्देशक लुभराज न्यौपानेलाई स्पष्टीकरण सोध्दै निर्वाचन आचारसंहिताको दफा ११ को खण्ड (ख) मा गैरसरकारी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी र कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने समेतको व्यवस्था रहेकोमा उम्मेदवार स्थापित उम्मेदवार बन्न लायक छैनन् भन्ने प्रेस विज्ञप्तिमा समावेश भएकाले स्थापितको संवैधानिक र कानूनी हकको उल्लङ्घन हुन्छ, हुँदैन र? भनी स्पष्टीकरण सोधेको छ ।

    आयोगले यही वैशाख १५ गते काठमाडौँ महानगरपालिका र नागार्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फसमेतका प्रमुख पदका उम्मेदवारहरुसँगको कार्यक्रमसम्बन्धी विस्तृत विवरण माग गरी नेशनल कलेजलाई पनि पत्र पठाएको छ ।

  • निर्वाचनको गरिमामा आँच आउने विषय सामाजिक संजालमा राखे कारवाही हुने

    निर्वाचनको गरिमामा आँच आउने विषय सामाजिक संजालमा राखे कारवाही हुने

    काठमाडौं । निर्वाचन आयोगले निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच पुर्‍याउने प्रकृतिका कुनै पनि सामग्री सामाजिक सञ्जालमा राखे कारवाही हुने चेतावनी दिएको छ । आयोगले आइतबार विशेष पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएको हो । आयोगका प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलका अनुसार आयोगको निर्देशन परिपालना नभए कानूनअनुसार कारवाही गरिने छ ।

    स्थानीय तह सदस्य निर्वाचन, २०७९ मा उमेदवारको मनोनयन गराएका उमेदवार र राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोष्ट गर्न पाइने छैन । गलत, भ्रामक, चरित्रहत्या हुने व्यक्तिगत लाञ्छना लगाउने, मानहानी हुने वा निर्वाचनलाई प्रत्यक्ष असर पर्ने कुसामग्री सामाजिक सञ्जालमा राखेमा आयोगले कारवाही गर्ने भएको छ ।

    निर्वाचन आयोगबाट स्वीकृत निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जाल उपयोगसम्बन्धी नीति, २०७७ को निर्वाचनसम्बन्धी सूचना भरपर्दो, मितव्ययी, गुणस्तरीय र पहुँचयोग्य बनाई सामाजिक सञ्जालको उपयोग र नियमनलाई प्रभावकारी बनाउने उद्देश्यको कार्यान्वयन गर्न आयोगले जनाएको छ । निर्वाचनसम्बन्धी रिपोर्टिङमा भएका सामान्य गल्तीबाहेक आफुलाई लाभ र अरू कसैलाई हानी पुर्‍याउने र आम मानिसलाई छकाउने बदनियतसाथ जानीजानी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्ने कार्य दुष्प्रचार भएको आयोगको भनाई छ ।