Category: कानुनी कुरा

  • एमालले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडी सारेर चुनावमा जाने

    एमालले अध्यक्ष ओलीलाई प्रधानमन्त्रीका रुपमा अगाडी सारेर चुनावमा जाने

    काठमाडौं । नेकपा एमाले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सारेर चुनावमा जाने निर्णय गरेको छ । ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि बसेको एमाले केन्द्रीय कमिटी बैठकले ओलीलाई भावी प्रधानमन्त्रीका रुपमा अघि सार्ने निर्णय गरेको हो । ‘समूह छलफलबाट आएको सुझावअनुसार बैठकबाट यो घोषणा गरिएको हो’ शनिबारको बैठकपछि एमाले नेता किरण गुरुङले भने ।

    उनका अनुसार पार्टी कार्यालय, च्यासलमा दुई दिनसम्म चलेको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको छ । ओली पहिलो पटक २४ असोज २०७२ मा प्रधानमन्त्री भएका थिए । आलोपालो प्रधानमन्त्रीको सहमति कार्यान्वयन नगरेको भन्दै सत्ता साझेदार माओवादीले समर्थन फिर्ता लिएपछि उनी ९ महिनामा पदमुक्त भए । दोस्रो पटक ३ फागुन २०७४ मा पनि माओवादी केन्द्रकै समर्थनमा प्रधानमन्त्री भए ।

    २०७४ को चुनावमा माओवादी केन्द्रसँग वाम गठबन्धन गरेको एमालेले भावी प्रधानमन्त्रीका रुपमा कसैलाई अघि सारेको थिएन । तर गठबन्धनले बहुमत पाएपछि ओली प्रधानमन्त्री बने । एमाले र माओवादीबीच एकता भएर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनेपछि ओलीलाई थप सहज भयो । तर दुई पटक संसद विघटन गरेपछि ओली २८ असार २०७८ को सर्वोच्च अदालतको फैसलाबाट पदमुक्त भएका थिए ।

  • काठमाडौंमा अनधिकृत संरचना हटाउने काम आज पनि जारी

    काठमाडौंमा अनधिकृत संरचना हटाउने काम आज पनि जारी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमति बीना बनाइएका घर–टहरा भत्काउने अभियानलाई आज पनि निरन्तरता दिएको छ । शनिबार बनस्थली चोकबाट ढुङ्गेधारा जाने बाटोमा रहेका अनधिकृत घर टहरा महानगरले भत्काउन थालेको छ । सार्वजनिक जग्गामा रहेका, स्वीकृत नलिई बनाइएको घर टहरा आज बिहानैबाट भत्काउन थालिएको महानगरले जनाएको छ ।

    महानगर प्रहरी, नेपाल प्रहरीसहितको टोली बनस्थली चोकमा पुगेर एउटा प्रयोजनका लागि नक्सा पास गरेर व्यापारिक गतिविधि सञ्चालन गर्दै आएका भवनका संरचना भत्काउन थालेको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह भने अब फिल्डमा देखिन छाडेका छन् । उनले महानगरको टोली खटाएर सो अभियानलाई निरन्तरता दिएका हुन् ।

  • महङ्गो ब्राण्डका नक्कली रक्सी उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, ५ जना पक्राउ

    महङ्गो ब्राण्डका नक्कली रक्सी उत्पादन गर्ने कारखानामा प्रहरीको छापा, ५ जना पक्राउ

    काठमाडौं । प्रहरीले काठमाडौंबाट नक्कली मदिरा उत्पादन गर्ने कारखानामा छापा हानेको छ । सो क्रममा पाँच जना पक्राउ परेका छन् । नक्कली मदिरा उत्पादन गरी बिक्री वितरण गरेको आरोपमा पाँच जनालाई पक्राउ गरेको काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। पक्राउ पर्नेमा भीमेश्वर नगरपालिका–८ का भगवान बस्नेत, दोलखाको कालिन्चोक गाउँपालिकाका २४ वर्षीय हरि वली, सोहीका स्थानका विशाल वली, रामेछापको खाँडादेवीका मनोज खत्री र गोपी श्रेष्ठ छन्।

    प्रहरीले उनीहरूलाई पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको हो। विभिन्न ब्राण्डको नाममा नक्कली मदिरा उत्पादन गर्ने गरेको भनी प्रहरीले विशेष सूचना पाएको थियो। उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले कोटेश्वरमा र दुवाकोटमा रहेको दुई फ्याक्ट्रीमा छापा मारेको थियो। प्रहरी उपरीक्षक मैनालीका अनुसार कोटेश्वरस्थित हरि वलीको डेरा र चाँगुनारायण २ दुवाकोटमा सञ्चालित दुई फ्याक्ट्रीमा प्रहरीले छापा मारेको हो।

    वलीको डेरा र फ्याक्ट्रीबाट ब्ल्याक लेबल, रेड लेबल, डबल ब्ल्याक, ज्याक डेनिस, ८८४८ भोड्का, सिग्नेचर, ओल्ड दरबार, गोल्डेन ओक, हाइल्याण्डर भोड्का, ब्लु डाइमेन्डलगायत ब्राण्डका नक्कली रक्सी बरामद गरेको प्रहरीले जानकारी दिएको छ । रक्सी बनाउन प्रयोग हुने कच्चा पदार्थ समेत बरामद गरेको जनाइएको छ।

    प्रहरीका अनुसार सुरूमा कोटेश्वरस्थित डेराबाट वलीलाई पक्राउ गरेर सोधपुछ गर्ने क्रममा अन्य व्यक्तिको पनि संलग्नता देखिएपछि उनीहरूलाई पनि पक्राउ गरिएको हो। बरामद भएका रक्सीहरू उनीहरूले विभिन्न नाइट क्लब, लाउन्ज, डिस्को, विभिन्न डिलर, दोहोरी, डान्सबारमा पठाउने गरेका थिए ।

  • बालेन दिनभर अनधिकृत संरचना हटाउन व्यस्त, बानेश्वर क्षेत्रमा हटाउन निर्देशन

    बालेन दिनभर अनधिकृत संरचना हटाउन व्यस्त, बानेश्वर क्षेत्रमा हटाउन निर्देशन

    काठमाडौं । बिहीबार पनि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह अनधिकृत रुपमा बनाइएका संरचना हटाउने अभियानमा संलग्न रहे । शुरुमा बानेश्वर क्षेत्रमा अनधिकृत संरचना हटाउन निर्देशन दिएका उनको अल्फाबिटामा भने घरधनीसँग चर्काचर्की परेको थियो । त्यसपछि उनले नक्सा र डोजर नै ल्याएर संरचना भत्काइएको छ ।

    बालेनले नक्सा पास नभई बनाइएका यस्ता संरचना हटाउन भनेका छन् । खासगरी काठमाडौंमा पार्किङको प्रयोजनका लागि संरचना सहितको नक्सा पास गर्ने र त्यसलाई व्यापारिक प्रयोजनमा प्रयोग गर्ने प्रचलन रहेको छ । सो प्रवृत्ति विरुद्ध महानगरले कारवाही थालेको हो ।

  • भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान

    भ्रष्टाचार अभियोग पुष्टी भएपछि मलेसियाका पूर्वप्रधानमन्त्री रजक १२ वर्ष जेल चलान

    क्वालालाम्पुर । भ्रष्टाचार अभियोग पुष्टी भएसँगै मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजकलाई १२ वर्ष जेल सजाय तोकिएको छ। मलेसियाको उच्च अदालतले उनको अपील अस्वीकार गरेसँगै नजिब जेल चलान भएका हुन् । सरकारी स्वामित्वमा रहेको स्वास्थ्य कोष वान मलेसिया डेभलभमेन्ट बरहाड (वानएमडीबी) दुरूपयोग गरेको अभियोगमा ६९ वर्षीय पूर्वप्रधानमन्त्रीलाई जेल सजाय तोकिएको हो। उनलाई सन् २०२० को जुलाईमा दोषी ठहर गरिएको थियो, तर पुनरावेदनका क्रममा जमानतमा छुटेका थिए।

    उनीमाथिको दण्ड ढिलाई गर्न नजिबले गरेको अनुरोधलाई अदालतले अस्वीकार गरेको छ। आफूले कुनै गलत काम नगरेको उनले निरन्तर बताउँदै आएका छन्। नजिबले आफू निर्दोष रहेको दाबी गर्दै आफ्ना आर्थिक सल्लाहकारले फसाएको बताएका छन्। सन् २०२० मा एक अदालतले नजिबलाई विभिन्न सात वटा अभियोगमा दोषी पाएको थियो। उनलाई करिब ४ करोड २० लाख मलेसियाली रिंगीट (एक करोड ३ लाख डलर) भ्रष्टाचार गरेको आरोप लागेको छ।

    नजिबले आफू प्रधानमन्त्री हुँदा सन् २००९ मा मलेसियाको आर्थिक विकासका लागि भन्दै ‘दि वान मलेसिया डेभलपमेन्ट बर्हार्ड फन्ड’ स्थापना गरेका थिए। उक्त कोषबाट लाखौं डलर निजी खातामा राखेको पाइएपछि अनुसन्धान थालिएको थियो। उक्त रकम रियल स्टेट, निजी विमान, हलिउड फिल्मलगायतमा लगानी गरेको भेटिएको थियो। रजाक सन् २००८ देखि २०१८ सम्म मलेसियाको प्रधानमन्त्री थिए ।

  • मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी

    मिटरब्याजीविरुद्ध १९३७ वटा उजुरी

    काठमाडौं । मिटरब्याजीविरुद्ध देशभरबाट १९३७ वटा उजुरी परेका छन् । गृहमन्त्री बालकृष्ण खाणले यस्तो जानकारी गराएका हुन् । उनका अनुसार सोमबारसम्म मिटरव्याज पीडितहरूबाट सो संख्यामा उजुरी आएको हो । गृह मन्त्रालयले मिटरव्याज अपराध अध्ययन गर्न कार्यदल नै बनाएर उजुरी आह्वान गरेको थियो। कतिपय जिल्लामा मिटरव्याज अपराधविरूद्ध उजुरी नै नआएपछि सार्वजनिक सूचना जारी गरेर उजुरी आह्वान गरिएको थियो।

    उनका अनुसार अब उजुरीमाथि छानविन गरी कारवाहीको प्रक्रिया अगाडी बढ्नछ । प्रदेश नम्बर १ मा ९२ वटा उजुरी आएका छन्। सबैभन्दा धेरै मिटरव्याज अपराधमा मधेश प्रदेशमा उजुरी आएका छन्। खाणका अनुसार मधेश प्रदेशमा एक हजार तीन सय ३० उजुरी प्राप्त भएका छन्। बागमतीमा २०२, गण्डकीमा ३५, लुम्बिनीमा २११, कर्णालीमा २२ र सुदूरपश्चिममा ४५ वटा उजुरी आएको गृहमन्त्री खाणले जानकारी दिए। ‘

    मिटरव्याज अपराध उजुरीउपर छानबिन गर्छौं। दोषी पाइएमा कानूनअनुसार कारबाही गरिन्छ,’ उनले भने, ‘छोटो समयमा सोचेभन्दा व्यापक उजुरी आयो। यो विषय प्राथमिकता दिनुपर्ने देखिएको छ।

  • कन्सल्टेन्सीका नाममा अनलाइन जुवा खेलाउने चार जना पक्राउ

    कन्सल्टेन्सीका नाममा अनलाइन जुवा खेलाउने चार जना पक्राउ

    झापा । झापामा कन्सलटेन्सीका नाममा जुवा खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । नेपालमा प्रतिबन्धित वान बेट एप्लिकेशन मार्फत गेम खेलाउने र नक्कली सरकारी कागजात बनाउने गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्रेको हो । १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार दमक– ८ मा रहेको पद्मा ईन्टरनेशनल कन्सल्टेन्सीका सञ्चालक २५ वर्षीय सतप्रकाश साह र दमक नगरपालिका– ७ का २७ वर्षीय राजु श्रेष्ठ, योर्स कम्युनिकेशन एण्ड फोटो स्टुडियोका सञ्चालक कमल गाउपालिका– २ का ३० वर्षीय अरुण कार्की र ब्रिटिस आर्मी ट्रेनिङका सञ्चालक दमक– ८ का ३३ बर्षीय राजु लिम्बु पक्राउ परेका हुन् ।

    १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको रिट समूह, जिल्ला प्रहरी कार्यालय झापा र ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्रेको हो । प्रहरीका अनुसार पक्राउ परेको समुहले अनलाइन गेम खेलाउँदै आएको थियो ।अनलाइन गेम खेल्न चाहाने व्यक्तिको नागरिकता लिने र सोही नागरिकताबाट एनसेलको सिम कार्ड झिकेर सट्टाबाजीको लागि इसेवा आइडी खोली रकम सङ्कलन गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

    कन्सल्टेन्सीमा आउने विद्यार्थीहरुको प्रयोगको लागि बिभिन्न सरकारी कार्यालयको छाप तथा जनप्रतिनिधिहरुको छाप प्रयोग गरी सरकारी कार्यालयको नक्कली पत्रसमेत बनाउने गरेको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ । पक्राउ परेकाहरुको साथबाट प्रहरीले प्रयोग भएका २७९ र प्रयोग नभएका ४५ थान एनसेलको सिम, १९ वटा मोवाइल, ल्यापटपलगायत सामग्री बरामद गरेको छ ।

  • सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन

    सरकारसँग सहमती जुटेपछि निहारिकाले तोडिन् अनसन

    काठमाडौं । सरकारले आफ्नो माग सम्बोधन गर्न सहमत भएसँगै निहारिका राजपुतले अनशन तोडेकी छिन् । उनी १७ दिनदेखि काठमाडौंमा अनशन बसेकी थिइन् । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले आइतबार साँझ अनशन तोडेकी हुन् । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद कोइरालाको उपस्थितिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालसँग भएको सहमतिपत्रमा उच्च अदालत जनकपुरमा विचाराधीन मुद्दाको डीएनए परीक्षण गर्न अदालतसमक्ष जाहेरवालाका तर्फबाट सरकारी वकिलले माग गर्ने र डीएनए परीक्षणलाई विश्वसनीय बनाउन अदालतसमक्ष आवश्यक प्रक्रिया अपनाउन माग गर्ने उल्लेख छ ।

    शिवराज श्रेष्ठले आफूमाथि धनुषामा जबरजस्ती करणी गरेको र त्यसबाट बच्चा जन्मिएकाले आरोपित र बच्चाको डीएनए परीक्षण गर्नुपर्ने लगायतका माग राखेर निहारिका गएको जेठ २९ गतेदेखि काठमाडौंमा अनशन बसेकीहुन् । सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि असार ३ गते उनले अनशन रोकेकी थिइन् । तर सहमतिअनुसार माग पूरा नभएको भन्दै उनले राष्ट्रपति भवन शीतल निवास अगाडि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी थिइन् ।

  • फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण

    फिनल्याण्डकी प्रधानमन्त्री मरिनको लागूऔषध परिक्षण

    काठमाडौं । फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मरिन मदिराले मातेर पार्टीमा नाच्दै गरेको भिडियो सार्वजनिक भएसङ्गै उनको लागूऔषध परिक्षण गरिएको छ । गत शुक्रबार सार्वजनिक भिडियोमा उनी साथीहरूसँग मातेर नाच्दै गरेको दृश्य देखिएको थियो ।

    त्यसलगत्तै फिनल्याण्डका नेताहरूले उनीमाथि छानबिन गर्नुपर्ने भन्दै दबाब दिएका थिए । सोही अनुरुप मरिनले लागूऔषध सेवन गरेको वा नगरेको पत्ता लगाउन शुक्रबार ड्रग्स परिक्षण गरिएको हो ।

    प्रधानमन्त्री मरिनले भने आफूले मदिरा सेवन गरे पनि लागूऔषध सेवन नगरेको बताएकी छन् । यस क्रममा उनले आफ्नो पनि निजी जीवन हुने र त्यस अवधिमा साथीहरूसँग रमाउँदा कानुन उल्लंघन नहुने भन्दै स्पष्टिकरण दिएकी थिइन् ।

    ‘मैले आज लागूऔषध परिक्षण गराएँ । एक साताभित्र यसको नतिजा आउनेछ । मैले जीवनभर लागूऔषध प्रयोग गरेको छैन,’ उनले पत्रकारहरूसँग भनिन् ।

    प्रधानमन्त्री मरिनले प्रसिद्ध कलाकारहरूसँग पार्टीमा मदिरा सेवन गरी नाचिरहेको भिडियो सार्वजनिक भएसँगै विश्वभर सामाजिक सञ्जालमा भाइरल बनेको छ । प्रधानमन्त्री मरिनले भने उक्त भिडियो सार्वजनिक गरिएकोमा दुखी बनेको प्रतिक्रिया दिएकी छन् ।

    यद्यपि लागूऔषध परिक्षण गर्नका लागि उनलाई विपक्षी दलसहित चौतर्फी दबाब आएको थियो । मरिन सन् २०१९ मा प्रधानमन्त्री बन्दा संसारकै सबैभन्दा कम उमेरको सरकार प्रमुखको रुपमा चिनिएकी थिइन् । सोसल डेमोक्रेटिक पार्टीबाट प्रधानमन्त्री बन्दा उनको उमेर ३३ वर्ष मात्रै थियो ।

  • नागरिकता विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने तयारी

    नागरिकता विधेयक प्रतिनिधिसभाबाट आजै पास गर्ने तयारी

    काठमाडौं । नागरिकता विधेयक प्रतिनिधिसभाबाट बिहीबार नै पास गर्ने तयारी गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले पुनर्विचार गर्न संसदमा फिर्ता पठाएको नागरिकता सम्बन्धी नयाँ विधेयक आजै पारित गर्ने तयारी रहेको बताइएको छ । प्रतिनिधि सभाको बैठक ११ बजेका लागि बोलाइएको छ । बैठकमा गृहमन्त्री बालकृष्ण खाणले राष्ट्रपतिबाट सन्देशसहित फिर्ता भएको विधेयकलाई पारित गरियोस् भनेर प्रस्ताव राख्नेछन् ।

    प्रस्तावमा सांसदहरूले धारणा राख्न समय पाउनेछन् । गृहमन्त्रीले नै विधेयक पारित गरियोस् भन्ने अर्को प्रस्ताव राख्ने कार्यसूची छ । यसअघि सभामुख अग्निप्रसाद सापकोटाले १५ साउनम्ँ प्रमाणीकरणका लागि राष्ट्रपतिसमक्ष पठाएको विधेयक राष्ट्रपति भण्डारीले संसदमै फिर्ता पठाएकी हुन् । संसद्ले यो विधेयक जस्ताको तस्तै प्रमाणीकरणका लागि पुनः राष्ट्रपतिसमक्ष पठाउन लागेको हो । अब भने राष्ट्रपतिले पुनल् संसदमा पठाउन पाउँदिनन् ।

  • निहारिका राजपुत प्रकरण : आरोपित पक्राउ

    निहारिका राजपुत प्रकरण : आरोपित पक्राउ

    काठमाडौं । निहारिका राजपुत प्रकरणमा आरोपित शिवराज श्रेष्ठ पक्राउ परेका छन् । उपत्यका अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालय, धनुषाको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो । धनुषाकी निहारिका राजपुतले आफूमाथि बलात्कार भएको र बलात्कारबाट बच्चा जन्मिएको बताउँदै आएकी छन् ।

    उनले आरोपी शिवराज श्रेष्ठलाई कारबाहीको माग गर्दै सन्तानको डीएनए परीक्षणको माग गरेकी छिन् । काठमाडौंको माइतीघर मण्डला र बसन्तपुरमा यसअघि आमरण अनशनमा बसेकी उनले पछिल्लो समय राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेकी थिइन् ।

  • आगामी निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

    आगामी निर्वाचनका लागि दल दर्ता गर्ने आज अन्तिम दिन

    काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज पुरा हुने भएको छ ।
    सरकारले चुनावको मिति घोषणा गरेपछि आयोगले २२ साउनमा दल दर्ताका लागि आह्वान गरेको हो ।

    साउन १९ गतेसम्म आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा भाग लिने प्रयोजनका लागि आयोगमा दल दर्ता गराउनु पर्छं आयोगमा साउन १९ गतेसम्म १ सय १६ दल दर्ता छन् । चुनावमा भाग लिन आइतबारसम्म ६२ दल मात्र दर्ता भएका छन् । नेपाली कांग्रेसले समेत आइतबारसम्म दल दर्ता गराएको छैन ।

  • नागरिकता विधेयक आजबाट पुनः संसद प्रवेश गराईंदै

    नागरिकता विधेयक आजबाट पुनः संसद प्रवेश गराईंदै

    काठमाडौं । नागरिकता विधेयक आजबाट पुनः संसद प्रवेश गराईंदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे आजबाट प्रतिनिधि सभामा प्रक्रिया शुरु हुने भएको हो । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा, राष्ट्रपतिले प्रमाणित नगरीकन १५ बुँदे सन्देशसहित फिर्ता पठाएको नागरिकता विधेयकबारे जानकारी गराइने छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा नागरिकता विधेयक सन्देशसहित फिर्ता भएको सम्बन्धी राष्ट्रपति कार्यालयको पत्र जानकारी गराउने उल्लेख छ ।

    साउन १५ गते संघीय संसदका दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि आफूकहाँ आएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले पुनर्विचारका लागि भन्दै सोमबार प्रतिनिधि सभामै फिर्ता पठाएकी छन् । राष्ट्रपति भण्डारीले फिर्ता पठाएको ९ पृष्ठ लामो पत्रमा नागरिकता विधेयक प्रतिनिधि सभाको जानकारी, विमर्श र अध्ययनका लागि फिर्ता पठाएको उल्लेख छ । राष्ट्रपति कार्यालयको सोसम्बन्धी पत्र संघीय संसद सचिवालयमा पुगेको छ । फिर्ता विधेयकबारे जानकारी गराएपछि अर्को बैठकमा छलफल शुरु हुनेछ ।

    राष्ट्रपतिले कुनै विधेयक सन्देश सहित फिर्ता गरेमा त्यस्तो विधेयकमाथि दुवै सदनले पुनर्विचार गरी त्यस्तोे विधेयक जस्ताको तस्तै वा संशोधन सहित पारित गरी पुनः राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि पठाउने गरिन्छ । यसरी आएको विधेयकलाई राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था छ । त्यसपछि भने पुनः विधेयक फिर्ता हुने छैन ।

  • ट्राफिक नियम मिच्ने ११८ जना विद्यार्थी कारवाहीमा

    ट्राफिक नियम मिच्ने ११८ जना विद्यार्थी कारवाहीमा

    काठमाडौं । ट्राफिक नियम मिच्ने ११८ जना बिद्यार्थी कारबाहीमा परेका छन् । ट्राफिक प्रहरीको विशेष चेकिङमा सोमबार बिहान मात्रै कलेजका ११८ जना बिद्यार्थी कारबाहीमा परेको हुन् । ट्राफिक प्रहरीको चेकमा सवारी चालक अनुमती पत्र नभएका, सवारी दर्ता किताब नभएका र अन्य ट्राफिक नियम उल्लघंन गर्ने विद्यार्थी कारबाहीमा परेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । उनका अनुसार कारबाही पर्ने सबै बिद्यार्थीमा दुई पांग्रे सवारी साधनका चालक हुन् ।

    काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको गत वर्षको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाभित्र १० हजार ७३३ सवारी साधन दुर्घटना भएको देखिन्छ । जसमध्ये आठ हजार ३६४ वटा दुई पाङ्ग्रे सवारी साधन मात्रै रहेको छ । तथ्यांकअनुसार सवारी दुर्घटनामा परि १९१ जनाको मृत्यु भएको छ भने, दुई पाङ्ग्रे सवारी दुर्घटनामा मात्रै ११७ जनाको मृत्यु भएको छ । जसमा ५८ जना पैदल यात्री हुन् ।

    मृत्यु हुनेमा अधिकांश दुई पाङ्ग्रे सवारी साधन प्रयोगकर्ता छन् । ती सवारी दुर्घटनामा १७ वर्षदेखि ३५ वर्ष उमेर समुहका मानिसको मृत्यु भएको देखिन्छ । यसरी सबैभन्दा धेरै दुर्घटनामा पर्नेमा दुई पाङ्ग्रे सवारी साधन देखिएकाले दुर्घटना न्यूनिकरण गर्नका लागि ट्राफिक प्रहरीले विशेष अभियान नै चलाएर नियम उल्लघंन गर्नेलाई कारबाही सुरु गरेको प्रवक्ता भट्टले जानकारी दिए ।

  • राष्ट्रपतिबाट फिर्ता पठाएको विधेयक अब कसरी अगाडी बढ्छ ?

    राष्ट्रपतिबाट फिर्ता पठाएको विधेयक अब कसरी अगाडी बढ्छ ?

    काठमाडौ । नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पुगेको थियो । राष्ट्रपतिले यो विधेयक प्रमाणीकरण नगरी फिर्ता गरेसँगै राजनीतिक सरगर्मी तातेको छ । एमालले राष्ट्रपतिको कदमको स्वागत गरेको छ । कांग्रेसले कडा आलोचना गरेको छ । माओवादीले भने साझा धारणा बनाएर मात्र प्रतिक्रिया दिने भनेको छ । राष्ट्रपतिको असहमतिका कारण नागरिकता विधेयक पुनः संसदमा फिर्ता आएको छ । संविधानअनुसार संसद्‌बाट पारित विधेयक १५ दिनभित्र राष्ट्रपतिले प्रमाणीकरण वा पुनर्विचार गर्ने प्रावधान छ ।


    राष्ट्रपति फिर्ता पठाएको विधेयक सरकारले अघि बढाउन चाहेको अवस्थामा अब पुनः संसद्‌मा पुरानै प्रक्रिया अपनाउनु पर्छ । सरकारले विधेयक फेरि प्रतिनिधिसभामा टेबुल गर्नुपर्छ । यसरी टेबुल गरेको विधेयकमा विचार गरियोस् भन्ने प्रस्ताव पारित गर्नुपर्छ । त्यसपछि उक्त विधेयकमा ७२ घन्टाको संशोधन हाल्ने समय दिइन्छ । त्यसपछि प्रतिनिधिसभाले दफावार छलफलका लागि समितिमा पठाउन पनि सक्छ सभाबाटै टुंग्याउन पनि सक्छ ।

    यो प्रक्रियाबाट प्रतिनिधि सभाबाट पास भएपछि उक्त विधेयक राष्ट्रियसभामा पठाइन्छ । राष्ट्रिय सभाले पनि प्रतिनिधि सभाकै जस्तो प्रक्रिया पूरा गरेपछि सन्देशसहित प्रतिनिधिसभामा आउँछ । राष्ट्रिय सभाबाट पारित भएर आएको विधेयकलाई प्रतिनिधिसभाले स्वीकृत गरी प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइन्छ । यसरी पठाएको विधेयक भने राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्छ । यो पुनः संसदमा आउन पाउँदैन ।

  • निहारिकालाई भेट्दै बालेनले भने : यो अत्याचार हो

    निहारिकालाई भेट्दै बालेनले भने : यो अत्याचार हो

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले शीतल निवास अगाडि आत्मदाहको प्रयास गरेकी निहारिका राजपूतलाई अस्पतालमा पुगेर भेट गरेका छन् । शनिबार काठमाडौंको त्रिवि शिक्षण अस्पालमा पुगेर बालेनले निहारिकालाई भेट गरेका हुन् । भेटपछि बालेनले निहारिकासँगको तस्वीर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन् । बालेनले निहारिकामाथि राज्यले अत्याचार गरेको बताएका छन् ।

    ‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ । यति गर्न एउटी आमाले जल्न तयार हुनुपर्ने ? यो अति हो । यो अत्याचार हो । कानुनीराज्य यस्तो हुँदैन । अभिभावक भनिने राज्य यस्तो हुनुहुँदैन’ उनले लेखेका छन् । आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्वीर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको उनको भनाइ छ ।


    राजपुत आफ्नो बच्चाको डीएनए जाँच गरिनुपर्ने माग राख्दै अनसनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ ।

  • संघीय सरकारविरुद्ध मधेष प्रदेश सरकारले घोषणा गर्यो आन्दोलन

    संघीय सरकारविरुद्ध मधेष प्रदेश सरकारले घोषणा गर्यो आन्दोलन

    काठमाडौं । प्रहरी समायोजन नभएको आरोप लगाउँदै मधेस सरकारले संघीय सरकारविरुद्ध पहिलो चरणमा आन्दोलन घोषणा गरेको छ । शनिबार मधेस प्रदेश सरकारका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले पत्रकार सम्मेलन गर्दै आन्दोलन घोषणा गरे । मन्त्री साहले पहिलो चरणको कार्यक्रमअन्तर्गत प्रदेश प्रमुखको कार्यालयअगाडि धर्ना गरिने जानकारी दिए । उनका अनुसार आइतबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा प्रदेश प्रमुखको कार्यालयअगाडि १ हप्तासम्म धर्ना बस्ने कार्यक्रम छ ।

    १ हप्तासम्म पनि संघीय सरकारले माग सम्बोधन गरेन भने दोस्रो चरणको आन्दोलन घोषणा गर्ने उनले जानकारी दिए । धर्नामा प्रदेशका मन्त्री, सांसद र नागरिक समाजको सहभागिता रहने भएको छ । संघले रोक्ने र प्रदेशले थुत्ने रस्साकसीका बीच प्रहरी समायोजनको विषय अझ जटिल बनेको हो । मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रहरी समायोजन गरेर र प्रमुख जिल्ला अधिकारीलाई प्रदेशमातहत ल्याएर मात्रै चुनावमा जानुपर्ने सर्त राखेका छन् ।

    यसअघि मधेस सरकारले प्रहरी समायोजन सात दिनभित्र नटुंग्याए आन्दोलन गर्ने चेतावनीसहित आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई ध्यानाकर्षणपत्र पठाएको थियो। प्रदेश प्रमुख हरिशंकर मिश्रमार्फत मधेसका गृह तथा सञ्चारमन्त्री साहले प्रधानमन्त्री देउवालाई ध्यानाकर्षणपत्र पठाएका थिए । पत्रमा प्रहरी र शान्ति–सुरक्षासम्बन्धी अधिकार प्रदेशको क्षेत्राधिकारभित्र रहेको स्मरण गराइएको छ ।

  • निर्वाचनको तयारीमा जुट्यो एकीकृत समाजवादी

    निर्वाचनको तयारीमा जुट्यो एकीकृत समाजवादी

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचन तयारीका लागि केन्द्रीय नेताहरूलाई जिम्मेवारी तोकेको छ।
    शान्तिनगरस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार सम्पन्न सचिवालय बैठकले उम्मेदवारको छनोटका लागि आवश्यक मापदण्ड तथा विधि र प्रक्रियाबारेमा प्रस्ताव तयार गर्न महासचिव वेदुराम भुसाललाई जिम्मेवारी प्रदान गरेको छ।

    पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकले निर्वाचन आयोगमा दल दर्ता गराउने जिम्मेवारी कार्यालय सचिव तथा उपमहासचिव गङ्गालाल तुलाधरलाई दिएको छ। पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायत सचिवालय सदस्यको सहभागिता रहेको सो बैठकले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीको घोषणापत्र तयार गर्ने जिम्मेवारी उपमहासचिवत्रय गङ्गालाल तुलाधार, विजय पौडेल र प्रकाश ज्वालालाई दिएको छ ।

  • नर्भिकको संरचना नहटाउन सर्वोच्चको अल्पकालिन आदेश, भड्किए बालेन

    नर्भिकको संरचना नहटाउन सर्वोच्चको अल्पकालिन आदेश, भड्किए बालेन

    काठमाडौं । सर्वोच्च अदालतले नर्भिक अस्पतालले भाडामा लिएको सरकारी जग्गामा रहेको संरचना तत्काल नहटाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । काठमाडौं महानगरपालिकाले गत सोमबार २४ घण्टाभित्र उक्त संरचना हटाउन निर्देशन दिएको थियो भने मंगलबार मेयर बालेन्द्र (बालेन) साह आफैं नर्भिक अस्पताल पुगेका थिए । त्यसपछि अस्पताल र काठमाडौं महानगरका प्राविधिकले तोकेको समयमा संरचना भत्काउने सहमति गरेका थिए ।


    तर काठमाडौं महानगरपालिकाविरुद्ध बुधबार नै नर्भिक अस्पतालले दिएको रिट बुधबार नै न्यायाधीश मनोजकुमार शर्माको इजलासमा सुनुवाइ भयो । उक्त इजलासले तत्काल संरचना नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिनुका साथै आगामी सोमबार अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलमा बोलाएको छ । सर्वोच्चले नर्भिकको संरचना भत्काउन खोज्नुको कारणबारे लिखित जवाफ पनि माग गरेको छ । नर्भिकले भाडामा लिएको १ रोपनी ८ आना जग्गामा नक्सापास नगरी संरचना बनाएपछि महानगरपालिकाले त्यसलाई भत्काउन आग्रह गरेको हो ।

    सर्वोच्चको आदेशपछि मेयर बालेन शाह भने भड्किएका छन् । उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै नक्सा पास नगरी बनाएका संरचनालाई कारवाही गर्ने र नक्सा पास गर्ने अधिकार समेत सर्वोच्च अदालतलाई नै दिन अनुरोध गरेका छन् । उनले लेखेका छन्, ‘ नक्सा पास नगरी बनाएको संरचनाहरुलाई कारवाही गर्ने तथा नक्सा पास गर्ने अधिकार बरु संविधान संशोधन नै गरेर सर्वोच्च अदालतलाई दिने व्यवस्था गर्न हार्दिक अनुरोध गर्दछौं ।’

  • अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा

    अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पको घरमा एफबीआईको छापा

    न्यूयोर्क । अमेरिकी अनुसन्धान एजेन्सी एफबीआईले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको पाम हाउस र रिसोर्ट मार ए-लिगोमा मंगलबार छापा हानेको छ । न्यूयोर्क टाइम्सले लेखे अनुसार एफबीआई एजेन्टले ट्रम्पको घर घेरा हालेर छापा मारेका हुन् । ट्रम्पका दुई नजिकका साथीहरूले न्युयोर्क टाइम्सलाई यसबारे जानकारी गराएका हुन् । एजेन्सीले कुनै पनि सूचना बिनै घरमा छापा मारेको हो । ट्रम्प निवासमा छैनन् । हाल उनी न्यू जर्सीमा रहेको समेत समाचारमा उल्लेख छ ।

    ट्रम्पले प्रतिक्रिया भने सार्वजनिक गरेका छन् । आफ्नो घरमा पूर्व जानकारी बीना नै छापा मार्नु आवश्यक नरहेको उनको दाबी छ । उनले आफूलाई आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्नबाट रोक्नको लागि प्रशासनले बल प्रयोग गर्ने काम गरिरहेको समेत आरोप लगाएका छन् । ट्रम्पले गत वर्ष ह्वाइटहाउस छाड्दा आफूसँग केही महत्वपूर्ण कागजपत्र लिएर गएको आरोप लागेको थियो ।

  • निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी  दर्ता

    निर्वाचन कार्यतालिका तय, असोज २३ मा उम्मेदवारी दर्ता

    काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको आगामी निर्वाचनको कार्यतालिका तय गरेको छ । मंसिर ४ गते हुने आम निर्वाचनका लागि निर्वाचन आयोगले आइतबार निर्वाचन कार्यतालिका स्वीकृत गरेको हो । आयोगको कार्यतालिका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता हुनेछ । उम्मेदवारको अन्तिम नामावली असोज २६ गते प्रकाशन गरि २८ गतेदेखि मतपत्र छपाइ सुरु गरिनेछ ।

    असोज ११ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नियुक्त गर्ने, २१ गते मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तय भएको छ । प्रत्यक्षतर्फ १६५ प्रतिनिधि सभा तथा ३३० प्रदेश सभा सदस्य पदका लागि ७७ जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय र ८८ स्थानमा निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछन् ।


    असोज २८ गतेदेखि मङ्सिर १ गतेसम्म मतदाता शिक्षा, मतदान सामग्री ढुवानी, मतदान अधिकृत र सहायक मतदान अधिकृतको नियुक्ति, मतपत्र ढुवानी, मतदान अधिकृतलाई निर्वाचन सामग्री हस्तान्तरण, उम्मेदवार तथा राजनीतिक दलको प्रचारप्रसार अवधि तोकिएको छ । आयोगका अनुसार मङ्सिर १ गते राति १२ बजेदेखि प्रचारप्रसारमा रोक लगाइने छ ।

    मङ्सिर ४ गते बिहान सात बजेदेखि पाँच बजेसम्म मतदान हुनेछ । यो अवधिमा ७६ वटा कार्यक्रम हुने आयोगले जनाएको छ । निर्वाचनका लागि दल दर्ता भने यसअघि २२ गतेदेखि नै सुरु भएको छ । दल दर्ताको मिति यही साउन ३१ गतेसम्मका लागि तोकिएको छ । समानुपातिकतर्फको बन्दसूची पेस गर्ने कार्यतालिका भने असोज २ र ३ गतेका लागि तय गरिएको छ ।

  • निर्वाचनमा तालमेल मिलाउन गठन भएको सत्ता गठबन्धनको कार्यदलको बैठक आज

    निर्वाचनमा तालमेल मिलाउन गठन भएको सत्ता गठबन्धनको कार्यदलको बैठक आज

    काठमाडौं । मंसिर ४ मा हुने प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई सिट बाँडफाँट गर्न सत्ता गठबन्धनले गठन गरेको कार्यदलको पहिलो बैठक सोमबार बस्ने भएको छ । सिट बाँडफाँटको मोडालिटी तयार पार्न बनाइएको कार्यदलको बैठक आज दिउँसो ३ बजे बस्न लागेको हो । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने छ । गत साउन २० मा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकले आसन्न निर्वाचनमा तालमेल गर्ने निर्णय गर्दै सिट बाँडफाँटका लागि ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

    कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर कार्की छन् । माओवादी केन्द्रबाट वर्षमान पुन र जर्नादन शर्मा छन् । नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन् । कार्यदललाई कुन दलले कति सिट लिने भनेर साउन अन्तिम सातासम्म सिफारिस गर्ने जिम्मा दिइएको छ ।

  • प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावबारे प्रतिनिधिसभामा आजबाट छलफल

    प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्तावबारे प्रतिनिधिसभामा आजबाट छलफल

    काठमाडौं । अहिले निलम्बितमा रहेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्धको महाभियोग प्रस्तावबारे प्रतिनिधि सभाको आजको बैठकबाट छलफल शुरु हुने भएको छ । संघीय संसद सचिवालयको कार्यसूची अनुसार आइतबार बिहान ११ बस्ने बैठकमा महाभियोग प्रस्ताव पेस हुने कार्यक्रम छ । संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको सात दिन प्रतिनिधि सभामा पेस गर्न परिपक्व हुन्छ ।

    प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१(५) मा तोकिएको दिन र समयमा सभामुखले नाम बोलाएपछि प्रस्तावक सदस्यले महाभियोगको प्रस्ताव बैठकमा प्रस्तुत गर्ने व्यवस्था छ । प्रतिनिधि सभामा पेस भएपछि महाअभियोगबारे छलफलको हुने समय तोकिन्छ ।

    छलफल सकिएपछि सभामुखले प्रस्तावलाई महाभियोग सिफारिस समितिमा पठाउनुपर्नेछ । समितिले तीन महिनाभित्र प्रतिवेदन पेस गर्नुपर्छ । १ फागुन २०७९ मा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि विभिन्न २१ वटा आरोपसहित संघीय संसद सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता भएको थियो ।

  • निर्वाचनलाई लक्षित गरी दल दर्ता आजबाट

    निर्वाचनलाई लक्षित गरी दल दर्ता आजबाट

    काठमाडौं । आगामी प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि लक्षित गरी आजबाट दल दर्ताको समय तोकिएको छ । निर्वाचन मंसिर ४ मा हुदैछ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार आजदेखि साउन ३१ गतेसम्म दल दर्ताको समय तोकिएको बताए । आयोगमा २०७९ साउन १९ सम्म दर्ता कायम भएका राजनीतिक दलहरु प्रत्यक्ष र समानुपातिक तर्फको निर्वाचन प्रयोजनका लागि दर्ता हुन पाउने छन् ।

    दल दर्ता गर्न काठमाडौंको कान्तिपथस्थित निर्वाचन आयोगको कार्यालयमा कार्यालय समयभित्र जानुपर्ने छ । दल दर्ताको निवेदन दिंदा राजनीतिक दलको पूरा र संक्षिप्त नाम, स्थापना भएको मिति, आयोगमा दर्ता भएको मिति, केन्द्रीय कार्यालय रहेको ठेगाना, पत्राचार गर्ने ठेगाना, टेलिफोन नम्बर, इमेल, वेबसाइट र सामाजिक सन्जालको खाता समेत खुलाउनु पर्ने छ ।

    दलको केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, आयोगमा दलले वार्षिक लेखापरीक्षण प्रतिवेदन पेस गरेको मिति, दलको केन्द्रीयस्तर र प्रदेशस्रको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति र दलको केन्द्रीयस्तर र केन्द्रीय कार्यकारिणी समिति, प्रदेश र जिल्ला समितिका पदाधिकारी तथा सदस्यको संख्या, वाषिर्क लेखा परीक्षण प्रतिवेदन पेस गरेको मिति र दलको केन्द्रीय स्तर र प्रदेश स्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन भएको मिति, राजनीतिक दलको संगठनात्मक स्वरुप पनि खुलाउनुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

  • स्थगित भयो मतदाता नामावली संकलन, कति पुगे मतदाता ?

    स्थगित भयो मतदाता नामावली संकलन, कति पुगे मतदाता ?

    काठमाडौं । निर्वाचनको मिति घोषणा सँगै शुक्रबारबाट मतदाता नामावली संकलनको काम रोकिएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार चुनावको घोषणा भएपछि आजबाट मतदाता नामावली सङ्कलनको काम स्थगित भएको हो । अनलाइन फारम भरेर औँठा छाप र फोटो खिच्न बाँकी रहेकाहरूको हकमा २१ गतेसम्म समय निर्धारण गरिएको छ । २०७४ सालमा भएको प्रतिनिधि सभा र प्रदेश सभाको चुनावयता २७ लाख मतदाता थपिएका छन्। २०७४ सालको निर्वाचनपछि बिहीबारसम्मको तथ्यांकअनुसार २७ लाख ५४ हजार ३०१ मतदाता थपिएका छन्।

    पछिल्लो पाँच वर्षमा झन्डै १८ प्रतिशत मतदाता थपिएका हुन् । २०७४ सालको संघीय र प्रदेश सभा निर्वाचनमा एक करोड ५४ लाख २७ हजार ९३८ मतदाता थिए। वैशाख ३० गतेको स्थानीय तहको निर्वाचनका बेला सार्वजनिक गरिएको अन्तिम नामावलीमा एक करोड ७७ लाख ३३ हजार ७२३ जना थिए। स्थानीय तह निर्वाचनपछि गत असार १ गतेयता फेरि आयोगले मतदाता परिचय पत्र दिन थालेको थियो। वैशाख ३० को स्थानीय निर्वाचनपछि आजसम्म चार लाख ४८ हजार ५१६ मतदाता थपिएका छन् । अब एक करोड ८१ लाख ८२ हजार २३९ मतदाता पुगेका छन्।

  • विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने

    विदेशमा बस्ने नेपालीले यस पटक पनि भोट हाल्न नपाउने, कर्मचारी, कैदी बन्दी र सुरक्षाकर्मीले पाउने

    काठमाडौं । सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेको यससँगै निर्वाचन आयोगसमेत तयारीमा जुटेको छ । निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार यस चुनावमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रममा रहेको वृद्धवृद्धा र कैदीबन्दीलाई मतदान गर्न दिने तयारी गरिएको छ । तर, विदेशमा बस्ने नेपालीले भने यस पटक पनि मताधिकार पाउने छैनन् । नेपालको निर्वाचन प्रणाली अनलाइन माध्यममा नगएका कारण आफ्नो निर्वाचन क्षेत्रमा पुग्न नसक्ने आम नेपालीले जहाँ भए पनि भोट हाल्न पाउने छैनन् ।

    तर, अस्थायी मतदाताको रुपमा कर्मचारी, सुरक्षाकर्मीहरुले भने समानुपातिक प्रणालीमा मात्र भोट दिन सक्ने छन् । सर्वोच्च अदालतले सरकारी कर्मचारी, सुरक्षाकर्मी र कैदीबन्दीलाई प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदान गर्ने व्यवस्था गर्न आदेश दिएको थियो ।

    अस्थायी मतदाता नामावलीमा नेपाल सरकार, प्रदेश सरकार स्थानीय तहमा कार्यरत कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी, वृद्धाश्रममा रहेका वृद्धवृद्धा र आयोगले तोकेका अन्य व्यक्ति रहने उल्लेख छ ।

    यसअघि गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनमा कर्मचारी, सुरक्षाकर्मी, वृद्धश्रम र कैदीबन्दीले मतदाना गर्न पाएका थिएनन्। तर, मङ्सिर ४ गते सर्वोच्चको आदेश अनुसार अस्थायी मतदातालाई समानुपातिक पद्धतितर्फ मतदानको व्यवस्था गर्ने तयारी गरिएको छ ।

  • हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित कपनबाट एक जना पक्राउ

    हुण्डी कारोबारको ४९ लाख रुपैयाँसहित कपनबाट एक जना पक्राउ

    काठमाडौं । महानगरीय प्रहरी प्रभाग कपन र प्रहरीवृत्त बौद्धको प्रहरी टोलीले कपनको भृकुटी चोकबाट हुण्डी कारोबारमा संलग्न एक जनालाई बुधबार राती पक्राउ गरेको छ । सादा पोशाकमा खटेको प्रहरी टोलीले गोरखा चुमनुव्री गाउँपालिका घर भई हाल काठमाडौँ तीनचुली बस्ने वर्ष २४ को धावा घ्याल्चेनलाई राति पक्राउ गरेको हो ।

    बुधबार साँझ भृकुटीचोक सडकखण्डमा जाँचका क्रममा बा ९९ प ७२०४ नम्बरको मोटरसाइकलमा स्रोत नखुलेको रु ३२ लाख र निज घ्याल्जेनको कोठमा समेत जाँच गर्दा रु १७ लाख ५० हजार गरी रु ४९ लाख ५० हजार बरामद भएको प्रहरीले जानकारी दिएको छ ।

    निजको नातामा काका पर्ने खेम्बु निङ्मा दोर्जे हाल ताइवानमा रहेको र काकाले पैसा पठाउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । प्रहरीले सोही रकम हुण्डीमा प्रयोग हुने गरेको आशङ्का रहेको बताउँदै यसबारे थप अनुसन्धान भइरहको जानकारी दिएको छ ।

  • दाल भन्दै प्रतिवन्धित महंगो चूरोट भित्राउने फर्मविरुद्ध ११ करोड जरिवाना

    दाल भन्दै प्रतिवन्धित महंगो चूरोट भित्राउने फर्मविरुद्ध ११ करोड जरिवाना

    काठमाडौं । दाल भनेर प्रतिबन्धित विदेशी महँगा चुरोट आयात गर्ने फर्मलाई वीरगञ्ज सुख्खा भन्सार कार्यालयले झण्डै पौने ११ करोड रुपैयाँ जरिवाना गरेको छ । काठमाडौंको टोखामा रहेको कालिका इन्टरप्राइजेज नामक व्यापारिक फर्मलाई गलत भन्सार घोषणा गरेर राजश्व छली गरेको आरोपमा १० करोड ७२ लाख रुपैयाँ जरिवाना गरेको हो । जरिवाना तिर्न सम्पर्कमा नआएपछि र्फमका सञ्चालक नवराज गिरीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सुख्खा बन्दरगाह भन्सार कार्यालयका सूचना अधिकारी सन्तोषकुमार न्यौपानेले जानकारी दिए ।

    दुबईबाट मुङको दाल बोकेर वीरगञ्जको सुक्खा बन्दरगाह आइपुगेको कन्टेनरमा ५८ लाख ३८ हजार खिली विदेशी चुरोट बरामद भएको हो । भन्सार प्रज्ञापनपत्रमा मुङको दाल घोषणा भए पनि कन्टेनरको अगाडिपट्टि मुङको दाल र पछाडि ४ सय कार्टुनमा चुरोट भेटिएको हो । आयातकर्ताले २६ हजार ६१० केजी मुङको दाल आयात गरेको भनेपनि पछि हेर्दा कन्टेनरमा १४ हजार ८२५ किलो मात्रै दाल भेटिएको भन्सारले जनाएको छ । आयातकर्ताले नेपालका ठूला होटल र रेष्टुराँमा बिक्रीका लागि मोन्ट भेरियन्स नामक उक्त चुरोट ल्याएको बुझिएको भन्सारको भनाइ छ ।

  • साढे २२ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव नेपाल रंगेहात पक्राउ

    साढे २२ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव नेपाल रंगेहात पक्राउ

    काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख घुससहित मंगलबार रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका उपसचिव प्रमोद नेपालको साथबाट ६ लाख र गाडीबाट थप साढे १६ लाख रुपैयाँ बरामद गरेको जानकारी गराएको छ । यससँगै उनको साथबाट साढे २२ लाख रुपैयाँ भेटिएको हो । रंगेहात पक्राउ गरेपछि सोधपुछ र खानतलासीका क्रममा उनको गाडी हेर्दा थप साढे १६ लाख रुपैयाँ भेटिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिएका छन् ।

    त्यो रकम कहाँबाट, किन र कसले दियो भन्ने उपसचिव नेपालले खुलाउन सकेका छैनन् । अख्तियारको टोलीले उपसचिव नेपाललाई नक्साल नागपोखरीको एक होटलबाट पक्राउ गरेको थियो । अख्तियारका अनुसार, प्याराग्लाईडिङ सञ्चालनको अनुमतीपत्र दिने कामका सिलसिलामा उपसचिव नेपालले घुस मागेका थिए । त्यसपछि सम्बन्धित व्यवसायीले अख्तियारमा खवर गरी आफैले रकम दिने योजना बनाएका थिए र त्यसक्रममा रकम उपलब्ध गराएका हुन् ।

    तर गाडीमा रहेको साढे १६ लाख रुपैयाँ भने अलग रकम हो । अख्तियारले त्यो रकमलाई स्रोत नखुलेको रकमको रुपमा बरामद गरेको छ । त्यसलाई गैरकानूनी आर्जन मानेको छ । अख्तियारको टोलीले पर्यटनको अनुमतीको विषयमा घुस डिल गर्नुअघि उपसचिव नेपालले कुनै अर्को टोलीसँग घुस लिएर गाडीमा राखेको हुनसक्ने अनुमान गरेको छ । नेपाल मात्र ३८ वर्षका छन् ।

  • विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

    विप्लव विरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, खड्गबहादुर विश्वकर्मा प्रकाण्डसहित नेताहरूलाई पक्राउ पुर्जी जारी भएको छ। ललितपुर जिल्ला अदालतले सोमबार उनीहरूविरूद्ध हातहतियार तथा खरखजाना समेतको मुद्दा, विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्य विरुद्धको अपराध समेतको मुद्दा, हातहतियार तथा विस्फोटक पदार्थ सम्बन्धी कसुरको मुद्दा लागेको भन्दै पक्राउ पुर्जी जारी गरेको हो।

    उनीहरूमाथि लागेका यी मुद्दाहरूमा म्याद बेपत्ते तामेल भएकाले २०७९ साउन ६ गतेको आदेशअनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ५८ को १३ अनुसार ३५ दिने पक्राउ पुर्जी जारी गरिएको ललितपुर जिल्ला अदालतले जनाएको छ। 

    ३५ दिनभित्र अदालतमा उपस्थित हुन पक्राउ पुर्जीमार्फत भनिएको छ।
    अदालतले मुद्दा हात हतियार तथा खरखजाना मुद्दामा विप्लवसहित मोहनबहादुर कार्की, भक्तपुर जिल्ला इन्चार्ज टेकबहादुर केसी, भरतबहादुर बम, पदमबहादुर राई छन्। विस्फोटक पदार्थ विस्फोटन गराई कर्तव्य ज्यान, राज्यविरूद्धको अपराधसमेतको मुद्दामा विप्लव र प्रकाण्डलाई पत्र काटेको छ। मुद्दा हातहतियार  तथा विस्फोटक पदार्थसम्बन्धी कसुर र अपराधिक लाभ र संगठित अपराधको मुद्दामा विधिन्न व्यक्तिमाथि पक्राउ पुर्जी जारी गरेको छ।