Category: कानुनी कुरा

  • गभर्नर अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्ने आदेश निरन्तर, पदबाट नहट्ने

    गभर्नर अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्ने आदेश निरन्तर, पदबाट नहट्ने

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथिको कारवाही यथास्थितिमा राख्नु भन्ने आदेशलाई निरन्तरता दिएको छ । यससँगै गभर्नर अधिकारीको पद नहट्ने भएको छ । शुक्रबार न्यायाधीश सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको इजलासले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो ।

    यसअघि न्यायाधीश हरि फुयालको इजलासले गभर्नरमाथि जाँचबुझ गर्न गठन हुने समितिको नेतृत्वमा सर्वोच्च अदालतको पूर्वन्यायाधीश रहने प्रावधानमाथि व्याख्या हुनुपर्ने भन्दै गभर्नरलाई काममा फर्किन पाउने गरी अल्पकालीन अन्तरिम आदेश गरेको थियो ।

    तीन दिनदेखिको निरन्तर सुनुवाइ टुंग्याउदै सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिएको हो । अब सर्वोच्च अदालतले नियमित रुपमा मूल मुद्दामाथि सुनुवाइ गर्नेछ । त्यतिञ्जेलसम्म गभर्नर अधिकारीले नियमित काम गर्न पाउनेछन् । २४ चैत २०७८ को मन्त्रिपरिषद बैठकले गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न समिति गठन गरेपछि उनी निलम्बनमा परेका थिए ।

  • स्थानीय तहका उमेदवारको नामावली आज प्रकाशन हुने

    स्थानीय तहका उमेदवारको नामावली आज प्रकाशन हुने

    काठमाडौं । स्थानीय तह निर्वाचनका लागि आज पनि मनोनयन दर्ता हुँदैछ । मनोनयन दर्ता आइतबारदेखि सुरु भएको हो । आइतबार छुटेका दल तथा स्वतन्त्र व्यक्तिहरूले रित पुर्‍याएर आज मनोनयन दर्ता गर्न पाउनेछन् । आज दिउँसोसम्म मनोनयन दर्ताको समय तोकिएको छ । देशभरका ७५३ स्थानीय तहको प्रमुखदेखि वडा सदस्य पदसम्मका लागि दलगत र स्वतन्त्ररुपमा समेत मनोनयनपत्र दर्ता हुनेछ । ७५३ मध्ये ६ वटा महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका छन् ।

    यी सबै तहमा प्रमुखरउपप्रमुख तथा अध्यक्षरउपाध्यक्ष र सदस्य पदका लागि मनोनयन हुनेछ । मनोनयन दर्ताको काम सकिएपछि आजै साँझ उम्मेदवारहरूको नामावली प्रकाशन गरिने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ । साना दल र केही स्वतन्त्र उम्मेदवारहरूले आइतबार नै उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आइतबार १०५३३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । तर, ठूला दलहरूमा आन्तरिक किचलो र गठबन्धनमा भागबन्डा नमिलेका कारण पहिलो दिन उम्मेदवारले मनोनयन दर्ता गराएका छैनन् ।

  • आज र भोली स्थानीय तह निर्वाचनको उमेदवारी दर्ता, देशभर एकै पटक हुने

    आज र भोली स्थानीय तह निर्वाचनको उमेदवारी दर्ता, देशभर एकै पटक हुने

    काठमाडौं । आइतबार (आज) र भोली स्थानीय तह निर्वाचनमा उठ्ने उमेदवारले उमेदवारी दर्ता गराउनु पर्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने जानकारी गराएको छ । बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म उमेदवारी दर्ता गराउन सकिने भएको छ । मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गराउनु पर्नेछ । निर्वाचन वैशाख ३० मा तोकिएको छ ।

    यसपालि चुनावमा सत्तागठबन्धनका पाँच दल र नेकपा एमालेसहित बनेको अर्को गठबन्धनबीच प्रतिस्पर्धा हुँदैछ । निर्धारित दुई दिनभित्र कुनै दल वा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गर्न आएमा दर्ता गरिदिने व्यवस्था मिलाउन पनि आयोगले मुख्य निर्वाचन अधिकृत कार्यालय र निर्वाचन अधिकृत कार्यालयहरूलाई आग्रह गरेको छ।

  • स्थानीय तह निर्वाचनको मनोनयन आइतबारबाट, यस्तो छ तालिका

    स्थानीय तह निर्वाचनको मनोनयन आइतबारबाट, यस्तो छ तालिका

    काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ताको काम आइतबारबाट शुरु हुने भएको छ । निर्वाचन आयोगका अनुसार स्थानीय तह निर्वाचनका लागि आइतवार र सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म मनोनयनको समय तोकेको हो । शनिवार आयोगले पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो । प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा तोकिएका सबै प्रक्रिया पूरा गरेर उम्मेदवारी दर्ता गर्न सकिने भएको हो ।

    सोमवारसम्म दर्ता भएका उम्मेदवारीबारे १३ गते दाबी विरोध वा उजुरी दर्ता गर्ने, १४ र १५ गते जाँचबुझ गर्ने र १७ गते निर्वाचन चिन्ह प्रदान गर्ने समय तोकिएको छ । निर्वाचन आयोगले बहालवाला जनप्रतिनिधिलाई उम्मेदवार बन्न राजीनामा गर्नुपर्ने आचार संहिता जारी गरेपछि कतिपय स्थानीय तहमा जनप्रतिनिधिहरूले समेत धमाधम राजीनामा दिइरहेका छन् ।

    स्थानीय तह निर्वाचनका लागि गत चैत २५ बाट निर्वाचन आचार संहिता लागु भएको छ। आचार संहिताले निर्वाचन सम्पन्न नहुँदासम्म उम्मेदवार, राजनीतिक दल र सरकारलाई निर्वाचन प्रचार प्रसारमा सरकारी स्रोत साधनको परिचालन गर्न बन्देज गरिएको छ। आचारसंहितामा उम्मेदवारहरूले निर्वाचन परिचालनका लागि गर्न सक्ने खर्चको सीमा पनि तोकिएको छ।

    जसअनुसार सबैभन्दा धेरै महानगरपालिकाका प्रमुख वा उपप्रमुखका उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँसम्म गर्न खर्च गर्न पाउँछन्। गाउँपालिकाका अध्यक्ष वा उपाध्यक्षका लागि त्यस्तो सीमा ३ लाख ५० हजार रुपैयाँ तोकिएको छ। निर्वाचन आयोगले राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिन्ह अङ्कित भेष्ट, टोपी वा झोला बोक्ने कार्यकर्ताहरूलाई समेत कारबाही हुने चेतावनी दिएको छ।

  • इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी

    इन्जिनियर्स एसोसिएसनमा कांग्रेस निकटको प्यानलै विजयी

    काठमाडौं । नेपाल इन्जिनियर्स एसोसिएसनको चुनावमा नेपाली कांग्रेसको शुभेच्छुक संस्था सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स (सिडेन) का अध्यक्षसहितको प्यानल विजयी भएको छ । एसोसिएसनको ३३ औं केन्द्रीय कार्यकारिणी समितिको चुनावमा कांग्रेसको दुई प्यानल थियो। कांग्रेसका दुईसहित पाँच प्यानलबीचको भिडन्तमा कांग्रेसको आधिकारिक प्यानल सिडेनका सबै उम्मेदवार विजयी भए । अध्यक्षमा ३७३२ मतसहित गुल्मीका हरिबहादुर दर्लामी निर्वाचित भए । सिडेनबाट दिलिपकुमार झा सुमेत अध्यक्षको प्रत्यासी थिए । उनी कांग्रेसका बागी उमेदरवार हुन् ।

    दर्लामीले नेकपा एमालेनिकट प्रोगेसिभ इन्जिनियरिङ एशोसिएसन नेपालबाट अध्यक्षमा उठेका सुरज लामिछाने, नेकपा माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय इन्जिनियरिङ संगठन नेपाल, नेकपा एकीकृत समाजवादीनिकट इन्जिनियरिङ नेपाल सिन र जसपानिकट नेपाल इन्जिनियरिङ संघबाट संयुक्त रूपमा उठेका हरिराम पराजुली, नेपाल मजदुर किसान पार्टीनिकट इन्जिनियर समाज नेपालका राजेन्द्रप्रसाद हाडालाई पराजित गर्न सफल भए ।

    एशोसिएसनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, सदस्यहरू र परिषद सदस्यका लागि चुनाव भएको छ । उपाध्यक्षमा नारायणप्रसाद अधिकारी, महासचिवमा झा, उपमहासचिवमा सरोज धिताल, कोषाध्यक्षमा दिनेश त्रिपाठी, सहकोषाध्यक्षमा दीपक अधिकारी निर्वाचित भए ।

  • अनुमति नलिई प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक पक्राउ

    अनुमति नलिई प्याराग्लाइडिङ उडाएका विदेशी नागरिक पक्राउ

    बैतडी । अनुमति नलिई प्याराग्लाइडिङ उडाएका एक विदेशी नागरिक बैतडीमा पक्राउ परेका छन् । राससका अनुसार पक्राउ पर्नेमा अष्ट्रियाका ३२ वर्षीय फिलिप जेल्नर रहेका छन् । प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले दिएको जानकारी अनुसार जेल्नरलाई दशरथचन्द नगरपालिका–१ मुस्याचौरस्थित सुक्खा फलफूल विकास केन्द्रको डाँडाबाट पक्राउ गरिएको हो । उनले कानुन विपरीत जिल्लाको मुस्याचौर क्षेत्र र पुर्चौंडी क्षेत्रमा पाराग्लाइडिङ गर्दै आएका थिए ।


    पाराग्लाइडिङ उडानका लागि अनुमति आवश्यक पर्ने भए पनि उनले विना अनुमति पाराग्लाइडिङ गरेकाले पक्राउ गरिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले बताए । जेल्नरसँग अष्ट्रियामा पाराग्लाइडिङ गर्ने अनुमतिपत्र रहेको छ । तर नेपालका लागि अनुमति नरहेको भारतीले बताए । मार्च ३० तारिखसम्म नेपालमा रहने पर्यटक प्रवेशाज्ञा रहेका उनलाई आवश्यक कारबाहीका लागि मंगलबार नागरिक उड्डयन कार्यालय, धनगढी पठाइएको छ ।

  • संसद बैठक आज, प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै

    संसद बैठक आज, प्रधानन्यायाधीश माथिको महाअभियोग प्रस्तावमाथि छलफलको मिति तोकिँदै

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबार बस्नेछ । आजको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण गर्ने संसद सचिवालयले जनाएको छ । दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकको सम्भावित कार्यसूचीमा जबराविरुद्धको महाअभियोगको प्रस्तावमाथि छलफल हुने दिन र समय आज निर्धारण हुने उल्लेख गरिएको छ ।

    सभामुख अग्निप्रसाद सापकोटाले महाअभियोगबारे छलफल हुने दिन र समय तोक्ने भएका छन् । जबराविरुद्ध फागुन १ गते माओवादीका प्रमुख सचेतक देव गुरुङ, कांग्रेस सचेतक पुष्पा भुसाल र नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक जीवनराम श्रेष्ठले महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । प्रस्तावमा ९५ जना सांसदको समर्थन छ । महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा छन्् । संसदमा एमालेको अवरोध भने जारी छ ।

  • पौने चार अर्ब कर छलिको अभियोगमा कोकाकोलाविरुद्ध मुद्दा दर्ता

    पौने चार अर्ब कर छलिको अभियोगमा कोकाकोलाविरुद्ध मुद्दा दर्ता

    काठमाडौं । नेपालमा पौने ४ अर्ब बराबर कर छलिको अभियोगमा बहुराष्ट्रिय कम्पनी कोकाकोला र संचालकविरुद्ध मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले राजश्व चुहावटको अभियोगमा शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो । तीन अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ बिगो र बिगो बराबर जरिवाना गरी जम्मा सात अर्ब ४३ करोड ६३ लाख ८ सय २२ रूपैयाँ माग्दै विभागले मुद्दा दायर गरेको हो। विभागले सञ्चालकहरूसमेत गरी १७ जनालाई प्रतिवादी बनाएको छ।

    बोटलर्स नेपाल लिमिटेडसमेत रहेको उक्त मुद्दामा कोकाकोलाका अध्यक्ष सुक्ला वासन, निर्देशकहरू मोहम्मद अमिन घोनेइम, मेल्भिम तान चुन पिङ, गौरब खोस्ला, सुन्दीप बावझरिया, देबब्राटा मुखर्जी, सुमानता दत्त, जावहर सोलाई कुप्पुस्वामीलाई प्रतिवादी बनाइएको विभागले जनाएको छ । कम्पनीका प्रबन्ध निर्देशक, आर्थिक कारोबार तथा लेखा परीक्षणको मुख्य जिम्मेवारीमा रहेका ८ जनालाई पनि मुद्दामा प्रतिवादी बनाइएको छ।

    प्रबन्ध निर्देशक प्रदीप पाण्डे, पुनित चन्द्रपाल भर्साने, फाइनान्स म्यानेजर राजीभ टण्डन, भरतबाबु दाहाल, सुमित गोयल, फाइनास्स कन्ट्रोलर अशोककुमार मण्डल, बोर्ड डाइरेक्टर त्रिलोचन उप्रेती र चार्टर्ड एकाउन्टेन्ट सञ्जीवकुमार मिश्र रहेका छन्। पौडेलका अनुसार बोटलर्स नेपाल लिमिटेडमा अधिकांश सेयर स्वामित्व रहेको दुबईस्थित कम्पनी कोकाकोलाको एसिया (कोकाकोला साबको)को शतप्रतिशत सेयर हस्तान्तरण हुँदा कर छली भएको अभियोग लागेको हो ।

    २०७१ कात्तिक ७ मा साबकोले आयरल्यान्डस्थित युरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा बोटलर्स नेपालमा रहेको निहित सेयर स्वामित्व परिवर्तन भएको हो । कोकाकोला साबको र युरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदा पुँजीगत लाभकर छलेको पाइएको हो । जसमा सेयर बिक्रीबापतको पुँजीगत लाभ, आयकर, शुल्क, ब्याजसमेतका आधारमा ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार ४११ रूपैयाँ छली भएको देखिएको विभागले जनाएको छ ।

  • कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने

    कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित अभियान चलाउने

    काठमाडौं । आगामी ३० वैशाखमा घोषणा भएको स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरुमा समेत यसको सरगर्मी शुरु भएको छ । सोही सन्दर्भमा सत्तारुढ नेपाली कांग्रेस चुनावी अभियान लिएर गाउँ पस्ने निर्णय लिएको छ । कांग्रेसले २९ फागुनबाट २९ दिने अभियान थाल्ने प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । उनका अनुसार यो अभियान निर्वाचनलाई लक्षित गरि चलाउन लागिएको हो ।

    अभियानमा हरेक घरमा पुगि जनतासँग अन्तरक्रिया गर्ने तयारी कांग्रैसको छ । यसको संचालन स्थानीय पार्टी पंक्तिले गर्ने भएको छ । डा. महतका अनुसार विपक्षीले पार्टीका सम्बन्धमा छरेको भ्रम चिर्न समेत यस्तो अभियान चलाउने निर्णय भएको हो । कांग्रेस नेतृत्वको सरकारले गरेको र भोलि गर्ने काम, केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका गैरसंवैधानिक काम र सरकारको नेतृत्वमा आउनुको कारणबारे जनतालाई जानकारी गराउने उनले उल्लेख गरे ।

  • काठमाडौंमा सुरक्षा व्यवस्था कडा, प्रहरीले जिल्लाबाट मगायो अतिरिक्त फोर्स

    काठमाडौंमा सुरक्षा व्यवस्था कडा, प्रहरीले जिल्लाबाट मगायो अतिरिक्त फोर्स

    काठमाडौं । एमसीसी सम्झौतामा संसद् बैठकमा छलफल हुने तय भएको दिन आज सम्भावित प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ । संसद् भवन र त्यस आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको हो । आइतबार बिहानैबाट प्रहरीले संसद भवनलाई घेरा हालेको छ । आज पनि माइतीघर मण्डलादेखि तीनकुनेसम्मको सडक खण्ड प्रभावित हुने निश्चित भएको छ । एमसीसीको विपक्षमा काठमाडौंमा हरेक दिन आन्दोलन भइरहेको छ ।

    तर, संसदमा छलफल गरि पास गर्ने तयारी समेत रहेका कारण आजको प्रदर्शन उग्र हुने सम्भावना रहेको छ । सम्भावित आन्दोलनलाई दृष्टिगत गरि काठमाडौं उपत्यकाबाहिरबाट समेत सुरक्षाकर्मी झिकाएर खटाइएको बताइएको छ । सशस्त्र प्रहरी बलले काभ्रे, सिन्धुपाल्चोक, धादिङ, तनहुँलगायत जिल्लामा कार्यरत प्रहरीको थप फोर्स काठमाडौं बोलाएको छ । सत्ता गठबन्धन भित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले आफ्ना कार्यकर्तालाई सडकमा उतारेका कारण आन्दोलन चर्को बनेको हो । दलहरुबीच सहमति जुटेमा भने उनीहरु आज सडकमा आउने छैनन् ।

  • आज संसद बैठक, एमसीसीबारे छलफल हुने

    आज संसद बैठक, एमसीसीबारे छलफल हुने

    काठमाडौं । मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) संसदमा टेबुल भएको छ । तर, दलहरुबीच सहमति हुन नसकेपछि छलफल हुन भने सकेको छैन । सोहीकारण पटक पटक स्थगित भएको संसद बैठक आजका लागि बोलाइएको छ । फागुन ८ मा एमसीसी सम्झौता अनुमोदन गर्न संसदमा टेबुल भएको हो । आइतबार बैठक दिउँसो १ बजे बस्ने छ ।

    संसद सचिवालयको सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा एमसीसीबारे छलफल हुने बताइएको छ । तर, राजनीतिक दलहरुमा भने यसबारे सहमती जुटेको छैन । कांग्रेस जसरी पनि एमसीसी पास गर्ने पक्षमा छ । एमालेले गठबन्धन भत्किए, सभाुमख माथि कारवाही गरेर १४ जना सांसदमाथि कारवाही गरेमा एससीसीमा भोट हाल्ने अडान लिएको छ । माओवादी केन्द्र र समाजवादी नेपाल दल भने यथास्थितिमा एमसीसी पास गर्न नहुने पक्षमा छन् । आज पनि दलहरुबीच यसबारे दिनभरजसो छलफल हुने छ ।

  • स्थानीय तहको निर्वाचनमा उठ्ने उमेदवारलाई आचारसंहिता, के-के छन् ?

    स्थानीय तहको निर्वाचनमा उठ्ने उमेदवारलाई आचारसंहिता, के-के छन् ?

    काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेहरुका लागि आचार संहिताको टुंगो लगाएको छ । उमेदवारको नाममा सरकारी पेश्की र बेरुजू रहन नपाइने भएको छ । यसले उमेदवारहरुलाई जिम्मेवार बनाउन भूमिका खेल्ने अपेक्षा गरिएको छ । आयोगका पदाधिकारीहरुले बिहीबार हस्ताक्षर गरेको आचार संहितामा स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुनेले यसअघि आफूले लिएको पेश्की रकम फर्स्योट गरेको हुनुपर्ने प्रावधान राखिएको छ ।

    लेखापरीक्षणबाट उम्मेदवार हुने व्यक्तिको नाममा बेरुजू देखिएमा फर्स्योट गरेको हुनुपर्ने प्रावधान समेत राखिएको छ । आयोगले उम्मेदवार हुने व्यक्तिले स्थानीय तहको पदाधिकारीबाट राजिनामा दिनुपर्ने प्रावधान राखेको छ । स्थानीय तह वा स्थानीय तहको स्वामित्व, नियन्त्रणमा रहेको, स्थानीय तहबाट अनुदान प्राप्त संस्ठामा सुविधा वा पारिश्रमिक पाउने गरी वहाल रहेका निर्वाचित र मनोनित पदाधिकारीले स्ठानीय तहको निर्वाचनमा उम्मेदवारको मनोनयन दर्ता गर्नु अगावै वहाल रहेको पदबाट राजिनामा गर्नुपर्ने भएको छ ।

  • सत्तारुढ दलबीच सहमति नजुटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

    सत्तारुढ दलबीच सहमति नजुटेपछि ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

    काठमाडौं । सत्तारुढ दलहरुबीच एमसीसी संसदमा टेबुल गर्ने विषयमा सहमति नजुटेपछि प्रधानमन्त्री शेरबहादुर देउवा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निजी निवास बालकोटमा पुगेका छन् । एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री देउवा श्रीमती डा. आरजु राणा देउवाका साथ बालकोट पुगेका हुन् ।

    भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइए पनि के निष्कर्ष आयो भन्ने खुलाइएको छैन । सत्ता गठबन्धनका दलहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसीसी)बारे छलफल भए पनि सहमति जुटेको थिएन । सत्ता गठबन्धनको बैठक शुक्रबार बिहान १० बजे पुनः बस्ने भएको छ ।

  • स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न सकिने

    स्थानीय तहको निर्वाचनका लागि आजबाट दल दर्ता गर्न सकिने

    काठमाडौं । ३० वैशाखमा तोकिएको स्थानीय तहको निर्वाचनको प्रयोजनका लागि दल दर्ता शुरु भएको छ । निर्वाचन आयोगले बिहीबार एक सूचना निकाल्दै निर्वाचनमा भाग लिन दल दर्ता गर्न आह्वान गरेको हो । आयोगका अनुसार बिहीबारबाट फागुन १५ गतेसम्म कार्यालय समयमा दल दर्ताको निवेदन दिन सकिने भएको छ । दल दर्ता गर्न सार्वजनिक बिदाका दिन पनि कार्यालय खुल्नेछ ।

    दल दर्ता गर्न निवेदन दिंदा दलको विधान, घोषणापत्र, नियमावली, झण्डा र चिह्नको नमूना, कम्तीमा २१ सदस्य केन्द्रीय समितिको व्यवस्था तथा अघिल्लो वर्षको लेखापरीक्षण प्रतिवेदनलगायत कागजात तथा विवरण पेस गर्नुपर्ने छ । विधान र नियमावली लोकतान्त्रिक, पाँच वर्षमा एक पटक सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको तथा विभिन्न तहका कार्यकारिणी समितिमा नेपालको विविधतालाई प्रतिनिधित्वको व्यवस्था भएको हुनुपर्नेजस्ता सर्तसहितका काजजातसमेत दर्ताका अवसरमा पेस गर्नुपर्ने छ ।

  • काठमाडौंबाट ३ लाख नक्कली नोटसहित चार पक्राउ

    काठमाडौंबाट ३ लाख नक्कली नोटसहित चार पक्राउ

    काठमाडौं । काठमाडौंबाट ३ लाख रुपैयाँ नक्कली नेपाली नोटसहित चारजना पक्राउ परेको प्रहरीले जानकारी गराएको छ । पक्राउ पर्नेमा रौतहटका पृथ्वीप्रसाद शाह, मुसरफ अली, असरफ अली सहिद र महमद शम्साद आलम छन् । अपराध अनुसन्धान महाशाखा, बानेश्वरको टोलीले उनीहरूलाई काठमाडौं–१६, नयाँ बजारको मेडिकल चोक क्षेत्रबाट पक्राउ गरेकोहो । उनीहरूको साथबाट एक हजार रुपैयाँ दरका २ लाख ९४ हजार बराबरको नक्कली नेपाली नोट बरामद भएको छ । उनीहरुमाथि थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

  • नेपाल सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल

    नेपाल सरकार र विप्लव नेकपाबीच तीन बुँदे सहमति कार्यान्वयन गर्नेबारे छलफल

    काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच यसअघि दुई पक्षबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारे छलफल भएको छ । गृह मन्त्रालयमा शनिबार भएको छलफलमा सरकारका तर्फबाट गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडू, महान्यायाधिवक्ता खम्मबहादुर खाती, गृहसचिव टेकनारायण पाण्डे, कानुनसचिव उदयराज सापकोटा तथा नेकपाका तर्फबाट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा सहभागी थिए ।

    नेकपासँग सरकारले विसं २०७७ फागुन २० मा तीन बुँदे सहमति गरेको थियो । उक्त सहमति कार्यान्वयनमा अहिलेसम्म भएका प्रगति र अब कसरी अगाडि बढ्ने भन्ने विषयमा कुराकानी भएको हो । वार्तामा नेकपाका प्रवक्ता विश्वकर्माले विभिन्न आन्दोलनका क्रममा पार्टी कार्याकर्तालाई लगाइएका मुद्दा र जेलमा रहेका कार्यकर्ताको विवरण सरकारलाई बुझाएका छन् । बैठकपछि नेकपा प्रवक्ता विश्वकर्माले तीन बुँदे सहमति कार्यान्वयनको टाइमलाइन वार्तामा बनाइएको र माग कार्यान्वयनमा सरकार सकारात्मक देखिएको बताए ।

  • सरकारको अनुरोधपछि आज बोलाइएको संसद बैठक स्थगित, कारण एमसीसी ?

    सरकारको अनुरोधपछि आज बोलाइएको संसद बैठक स्थगित, कारण एमसीसी ?

    काठमाडौं । बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक पुनः एक साताका लागि स्थगित भएको छ। सरकारले बैठक सार्न सभामुखलाई आह्वान गरे अनुसार बैठक स्थगित भएको बताइएको छ । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) टेबुल हुनुपर्ने प्रधानमन्त्रीको चाहना छ । तर, सत्तारुढ अन्य दलको दवावका कारण सरकार समेत बाध्य भएको हो ।

    नेकपा माओवादी केन्द्रले २८ माघमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । सो दिनसम्म प्रतिनिधिसभा बैठक नराख्ने माओवादीको चाहना अनुसार बैठक सरेको हो । माओवादीले २८ र २९ गते केन्द्रीय कमिटी बैठक राखेको छ । केन्द्रीय कमिटी बैठकले एमसिसीबारे माओवादीको धारणा बनाउने छ । संसद बैठक भने २ फागुनका लागि बोलाइएको छ ।

  • घरजग्गा कारोबारको करोडौं कमिसन हत्याउन साझेदारलाई मारेका मन्डलसहित तीन जना सार्वजनिक

    घरजग्गा कारोबारको करोडौं कमिसन हत्याउन साझेदारलाई मारेका मन्डलसहित तीन जना सार्वजनिक

    काठमाडौं । तीन जना व्यावसायिक साझेदारको हत्या गरि करोडौं रुपैया कमिसन खान खोजेका अनिल कुमार मन्डल र उनले परिचालन गरेका दुई जनालाइ प्रहरीले सार्वजनिक गरेको छ  । तीन जनाको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरि शुक्रबार सार्वजनिक गरेको हो । मोरङ प्रहरीले शुक्रवार पत्रकार सम्मेलन गरेर आर्थिक कारोबारमा विवाद आएपछि हत्या गरेको आरोपमा पक्राउ परेका अनिलकुमार मण्डलसहित तीन जनालाई सार्वजनिक गरेको हो ।  
    आरोपीहरूमा सिरहा नगरपालिका २१ सिरहा घर भइ काठमाणडाैकाे बल्खुमा बस्दै आएका ३१ वर्षीय अनिल मण्डल, मोरङको जहदा गाउँपालिका ४ सिस्वनी घर भएका अमित साह भनिने दीनानाथ सोनार र मोरङको धनपालथान गाउँपालिका ७ कमलपुरका ६२ वर्षीय नासिर आलम छन् ।

    अनिल मण्डलको योजनामा आफ्ना साझेदारहरू ४८ वर्षीय राजेन्द्र श्रेष्ठ, ३२ वर्षीय शम्भु चौधरी र मोहन लिम्बूको हत्या भएको प्रहरीले जनाएको छ ।  हत्यापछि श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान गाउँपालिका ७ मा उखुबारीमा गाडिएको अवस्थामा भेटिएको थियो । ६२ वर्षीय लिम्बूको शव हिजो बिहीवार ललितपुर महानगरपालिका १२ ठेचोमा गाडिएको अवस्थामा भेटिएको थियो ।
    मुख्य आरोपी अनिलको जग्गा प्लटिङ र हाइड्रोपावर परियोजनासम्ममा लगानी रहेको प्रहरीको भनाइ छ । कारोबार रकम एकलौटी पार्ने उद्देश्यले साझेदारहरूको हत्या भएको हो ।

  • मोरङमा दुई शव भेटिएको घटनासङ्ग जोडिएको अर्को शव गोदावरीमा फेला

    मोरङमा दुई शव भेटिएको घटनासङ्ग जोडिएको अर्को शव गोदावरीमा फेला

    काठमाडौं । बिहिवार ललितपुरको गोदावरी नगरपालिकास्थित  थेंचोमा गाडिएको अवस्थामा शव भेटिएको छ । प्रहरीका अनुसार यो घटना केही दिन अगाडि मोरङमा भेटिएका दुई शवको हत्याकाण्डसङ्ग जोडिएको प्रहरी स्रोतले जनाएको छ । स्थानीय संचारमाध्यमहरुका अनुसार थेंचोमा खाल्डो खनेर गाडिएको अवस्थामा एक जनाको शव भेटिएको हो।

    गोदावरी नगरपालिका–१२, थेंचोस्थित एउटा घरको पछाडिपट्टि गाडिएको अवस्थामा तेह्रथुमका मोहन लिम्बुको शव भेटिएको छ । करिव ५ फिट गहिरो खाल्डोमा गाडिएको शव गलाउन २५/३० प्याकेट नुन समेत हालेको पाइएको प्रहरीले जनाएको छ । मोरङको धनपालथान गाउँपालिका–२ को उखुबारीमा गत माघ १३ र १४ गते दुई जनाको शव गाडिएको अवस्थामा भेटिएको थियो । सो घटनाको अनुसन्धानका क्रममा अपराध अनुसन्धान महाशाखाले अनिल मण्डल नाम गरेका व्यक्तिलाई पक्राउ गरेको समाचार छ । उनकै बयानका आधारमा प्रहरीले थेंचोमा प्रमिश थापा मगरको घर पछाडि खोजी गर्दा गाडिएको अवस्थामा लिम्बुको शव फेला पारेको हो । लिम्बुको घाँटीमा नाइलनको डोरी कसेर हत्या गरेको पाइएको छ । मोरङमा समेत शवको प्रकृति यस्तै पाइएको थियो ।
    लामो समय प्रि–प्राइमरी स्कुल रहेको यो घरमा अहिले भमे मान्छे नबस्ने खुलेको छ । पक्राउ परेका अनिल यी तीन जनासङ्ग मिलेर घर जग्गा कारोबार गर्ने व्यवसायी भएको समेत प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

  • बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

    बालकुमारीबाट चोरी भएको मूर्तिबारे सूचना दिनेलाई ५ लाख पुरस्कार घोषणा

    ललितपुर । ललितपुरको सुनाकोठीबाट चोरी भएको बालकुमारी माईको मूर्ति बारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । चोरी भएको एक सातासम्म पनि यो मूर्तिबारे प्रहरीले कुनै सुराक पाउन सकेको छैन । बालकुमारी गुठीले विशेष सूचना निकालेर पुरस्कार घोषणा गरेको हो। ललितपुर महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष बाबुराज महर्जनले विशेष सूचना दिने व्यक्तिलाई पाँच लाखसम्मको पुरस्कार दिने घोषणा गरिएको जानकारी गराएका छन् ।

    सुराकी दिने व्यक्तिको गोपनीयता कायम गरिने भएको छ । चोरी भएको मूर्तिको सम्बन्धमा अनुसन्धान गर्न अहिले महानगरीय प्रहरी परिसर ललितपुर, महानगरीय प्रहरी वृत्त चापागाउँ र महानगरीय अपराध महाशाखाको टोली खटिएको छ। अघिल्लो आइतवार माघ ९ गते ललितपुर महानगरपालिका–२७ मा रहेको बालकुमारी मन्दिरबाट मूर्ति चोरी भएको थियो ।

  • प्र्याङ्कको नाममा व्यक्तिको अनुमती बेगर भिडियो, फोटो खिचेर सामाजिक संजालमा राख्न नपाइने

    प्र्याङ्कको नाममा व्यक्तिको अनुमती बेगर भिडियो, फोटो खिचेर सामाजिक संजालमा राख्न नपाइने

    काठमाडौं । सरकारले प्र्याङ्क गर्ने नाममा व्यक्तिको अनुमति बेगर सामाजिक संजालमा फोटो वा भिडियो खिचेर राख्न रोक लगाएको छ । गृहमन्त्रालयले प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

    मन्त्रालयले बिहीबार विज्ञप्ति जारी गर्दै सार्वजनिक स्थलमा  सम्बन्धित व्यक्तिको अनुमतिबिना प्र्याङ्क भिडियो खिचेर सामाजिक सञ्जालमा प्रकाशन गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

    सार्वजनिक स्थलमा कुनै व्‍यक्तिको अनुमतिबिना कुनै प्रकारको तस्वीर लिन सामाजिक सञ्जालमा प्रकाशन गर्न,  व्‍यक्तिलाई जानकारी नै नदिई सम्बन्धित व्‍यक्तिको अनुमति/सहमति बिना कुनै पनि प्रकारको भिडियोग्राफी गरी सामाजिक सञ्जालमा प्रकाशन गर्ने क्रियाकलापमा  संलग्न जोसुकैलाई प्रचलित कानुन बमोजिम कारबाही हुने गृहले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

  • राष्ट्रिय सभा निर्वाचन : एमालले एक सिट जित्दा अन्य सबै सिटमा गठबन्धन विजयी

    राष्ट्रिय सभा निर्वाचन : एमालले एक सिट जित्दा अन्य सबै सिटमा गठबन्धन विजयी

    काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनमा सात वटै प्रदेशको नतिजा आएको छ । जसमा एक सिटमा एमाले विजयी हुँदा अन्य सिटमा भने गठबन्धनले स्वभाविक जित निकालेको छ । कुल १९ सिटका लागि ९ दलका ४३ जना उमेदवार भिडेका थिए ।

    प्रदेश नं १ मा खुला तर्फ नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित भए । नेकपा एमालेका गुरु बराल र उनको समान मतभार ४४८८ आएपछि गोलाप्रथा भएको थियो । गोलाप्रथामा उनले बराललाई पराजित गर्दै गठबन्धन दल अन्तरगत कांग्रेसका उमेदबारका रुपमा विजयी भए । प्रदेश नं १ मा अल्पसंख्यकबाट नेकपा एमालेका सोनाम ग्याल्जेन शेर्पा विजयी भए । उनले गठबन्धनमा जनता समाजवादी पार्टीका हेमराज राई थुलुङ्लाई हराए । यस प्रदेशमा गठबन्धन दलबाट उमेदबार बनेकी नेकपा (एकीकृत समाजवादी) की जयन्ती राई महिलातर्फ राष्ट्रियसभा सदस्यमा विजयी भइन् ।

    राष्ट्रियसभा निर्वाचन अन्तर्गत मधेस प्रदेशमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भए । मधेस प्रदेशमा दुई सिटका लागि बुधबार भएको निर्वाचनमा सत्तारुढ पाँच दलको संयुक्त उम्मेदवार नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका खालिद सिद्दिकी विजयी भए । उनीहरुले एमालेका उमेदवारलाई हराए ।


    बागमती प्रदेशमा गठबन्धनका उम्मेदवार विजयी भए । अन्य समुहतर्फ नेपाली काँग्रेसका कृष्णप्रसाद पौडेल र महिला समुहतर्फ नेकपा (एकीकृत समाजवादी) का गोमादेवी तिमिल्सिना निर्वाचित भए ।

    गण्डकी प्रदेशमा सत्ता गठबन्धन विजयी भएको छ । निर्वाचनमा सत्ता गठबन्धनबाट महिलातर्फ नेपाली कांग्रेसका कमला पन्त विजयी भइन् । माओवादी केन्द्रका सुरेश आले मगर खुला र दलिततर्फ भुवन सुनार विजयी भए ।

    लुम्बिनी प्रदेशमा भएको निर्वाचनमा गठबन्धनका उम्मेदवार विजयी भए । तीन सिटका लागि भएको निर्वाचनमा गठबन्धनका नेपाली काँग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) की राज्यलक्ष्मी गैह्रे र राष्ट्रिय जनमोर्चका तुलबहादुर विश्वकर्मा विजयी भए ।


    कर्णाली प्रदेशमा राष्ट्रियसभा सदस्यका लागि भएको निर्वाचनमा सत्तारुढ गठबन्धनको तर्फका उम्मेदवार बिजयी भए । नेपाली कांग्रेसका दुर्गा गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर विष्ट र एकीकृत समाजवादीका उदयबहादुर बोहोरा बिजयी भए ।


    सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको तीन सिटका लागि बुधबार भएको निर्वाचनबाट सत्ता साझेदार दलका उम्मेदवार विजयी भए । खुलातर्फ नेपाली काङ्ग्रेसबाट कैलालीका नारायणदत्त मिश्र विजयी भए । महिला खुलातर्फ नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की मदनकुमारी शाह (गरिमा) विजयी भइन् । दलिततर्फ नेकपा (माओवादी केन्द्र) का जगत पार्की विजयी भए ।

  • क्रिप्टोकरेन्सीको कारोबारमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर

    क्रिप्टोकरेन्सीको कारोबारमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर

    काठमाडौं । नेपालमा अवैध मानिएको क्रिप्टोकरेन्सीको कारोबारमा संलग्न भएको अभियोगमा ३७ करोड ६४ विगो दाविसहित एक परिवारमाथि मुद्दा दायर भएको छ । राजश्व अनुसन्धान विभागले सोमबार दायर गरेको मुद्दाअनुसार परिवार नै मिलेर अवैध क्रिप्टोकरेन्सीमा लगानी गरेको पाइएको दावि गरिएको छ । कैलाली लम्कीचुवा–१० स्थायी घर भई हाल काठमाडौँको कालोपुलमा बस्ने दिनेश खड्काले दिदी भगवती, बुबा नरबहादुर खड्का र केटी साथी अनिता धितालसमेत मिलेर अवैध कारोबार गरेको र विद्युतीय माध्यमबाट पैसा नेपाल भित्र्याएको पाइएको उल्लेख गरिएको छ ।

    उनीहरुले सामूहिक रूपमा मिलेमतो गरी इ–स्क्रेल र निवांश प्रयोग गरी विदेशी विनिमय अमेरिकी डलरसम्बन्धी कारोबार गरेको पाइएको विभागले सार्वजनिक गरेको विज्ञप्तिमा उल्लेख छ । विभिन्न मितिमा सामान्य व्यक्तिको बैंक खातामा अस्वाभाविक रूपमा पैसा भित्रिएपछि नेपाल राष्ट्र बैंकले सूक्ष्मरूपमा अनुसन्धान गरेको थियो ।

    विवरणअनुसार दिनेशको नाममा रहेको ग्लोबल आइएमई बैंकको खातामा नौ करोड ७९ लाख ९८ हजार ५८१, अनिता धितालको नाममा रहेको लक्ष्मी बैंकको खातामा पाँच करोड ७७ लाख छ हजार ८२६, भगवती खड्काको नाममा रहेको एनआइसी एशिया बैंकमा २० करोड ४२ लाख ९४ हजार ५२६ र नरबहादुर खड्काको नाममा रहेको ग्लोबल आइएमबई बैंकको खातामा एक करोड ६४ लाख ११ हजार १०० बराबरको रकम भित्रिएको पाइएको छ ।

    केन्द्रीय बैंकको सूचनाअनुसार प्रति अमेरिकी डलरको १२० रुपैयाँ ३४ पैसाको हिसाबले हुन आउने ३७ करोड ६४ लाख ११ हजार १०० बराबरको बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको हो । विभागकाअनुसार आरोपी खड्कालाई बिगो जफत गरी तीन वर्ष बराबरको कैद सजायको माग गरिएको विभागले जनाएको छ ।

  • आजबाट राष्ट्रिय सभा निर्वाचनको मौन अवधी शुरु

    आजबाट राष्ट्रिय सभा निर्वाचनको मौन अवधी शुरु

    काठमाडौं । १२ माघमा हुने राष्ट्रिय सभा निर्वाचन अन्तर्गत मौन अवधी आजबाट शुरु भएको छ । आइतबार राति १२ बजेबाट मौन अवधी प्रारम्भ भएको हो । मौन अवधि शुरु हुनुभन्दा अगाडि नै निर्वाचन चिह्न लगायतका प्रचार सामग्री हटाउनुपर्ने लगायतका आचरण पार्टीहरुले पालना गर्नु पर्छ । यसमा निर्वाचन आयोगले सचेत गराएको छ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न पाइँदैन । साथै मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका निर्वाचन चिह्न, प्रचार सामग्री हटाउनुपर्दछ ।

    एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट पनि निर्वाचन प्रचार गर्न नपाइने निर्वाचन आयोगको सूचनामा उल्लेख छ । मौन अवधिमा उम्मेदवार वा कुनै राजनीतिक दलको प्रचार हुने गरी समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न पनि निषेध गरिएको छ । साथै निर्वाचन आयोगले निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्देशन समेत दिएको छ ।


    राष्ट्रिय सभामा रिक्त हुन लागेका १९ सिटका लागि सात वटै प्रदेशमा माघ १२ गते मतदान हुँदैछ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् । प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।

    सातै प्रदेशमा कुल २०२५ मतदाता छन् । निर्वाचन आयोगका अनुसार निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुने छ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् । हरियो रंगको मतपत्र भने प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् ।

  • राप्रपालाई हिन्दु राष्ट्र, गाई र राजसंस्थामा निर्वाचन आयोगको अंकुश

    राप्रपालाई हिन्दु राष्ट्र, गाई र राजसंस्थामा निर्वाचन आयोगको अंकुश

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट राजसंस्था र हिन्दु राष्ट्र नलेख्न निर्वाचन आयोगले निर्देशन दिएको छ। राप्रपाले पुस १० मा आफ्नो संशोधित विधान र केन्द्रीय कार्यसमितिको विवरण अद्यावधिक गरी आयोगमा पेश गरेको थियो। आयोगले २ माघमा राप्रपालाई निर्देशनात्मक पत्र पठाएको छ । जसमा विधानबाट सनातन हिन्दु राष्ट्र र राजसंस्था शब्द हटाउन भनिएको छ ।

    विधानको प्रस्तावनाको ४ मा उल्लेखिद सनातन हिन्दु राष्ट्र एवम राजसंस्थासहितको प्रजातन्त्रको मान्यता स्थापित गर्न र कायम गर्न भन्ने वाक्यांश नेपालको संविधानको प्रस्तावना एवम् भावनाको प्रतिकूल देखिएको भन्दै सो वाक्यांश हटाई नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुकूल हुने गरी उल्लेख गर्न आयोगले राप्रपालाई भनेको छ ।

    आयोगले राप्रपाको झन्डाको मध्य भागमा रहेको गाई चिन्ह हटाउन समेत भनेको छ । नेपालको राष्ट्रिय झन्डा, निशान छाप, राष्ट्रिय फूल लालीगुराँस, राष्ट्रिय रंग सिम्रिक, राष्ट्रिय जनावर गाईलगायत राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बिर वा चिन्ह दललाई प्रदान नगर्ने र कुनैलाई दिइएको भए पुनरावलोकन गर्ने निर्णय भएकाले झन्डाको मध्य भागमा गाई चिन्ह भन्ने वाक्यांश हटाउन भनिएको हो ।

  • आइतबार देशभरका अदालत बन्द हुने

    आइतबार देशभरका अदालत बन्द हुने

    काठमाडौं । आइतबार सर्वोच्च अदालतसहित देशभरका अदालत बन्द हुने भएका छन् सर्वोच्च अदालतको शनिबार बसेको आकस्मिक पूर्ण बैठकले आइतबार देशभरका अदालत बन्द गर्ने निर्णय गरेको हो । पूर्व प्रधानन्यायाधीश मोहनप्रसाद शर्माको निधनमा शोक मनाउन आइतबार नेपालभरका सर्वोच्च अदालत, उच्च अदालत, विशेष अदालत र न्यायाधिकरण शोक बिदाका रुपमा आइतबारका लागि बन्द गर्ने निर्णय भएको बताइएको छ ।

  • गठबन्धन कायम राख्दै संयुक्त निर्वाचनमा जाने सत्तारुढ दलको तयारी, बढ्यो सरगर्मी

    गठबन्धन कायम राख्दै संयुक्त निर्वाचनमा जाने सत्तारुढ दलको तयारी, बढ्यो सरगर्मी

    काठमाडौं । नेपालमा चूनावी सरगर्मी बढेको छ । कानून अनुसार स्थानीय तहको निर्वाचन शुरुमा गर्नुपर्छ । तर, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ण्डले पहिला संसदीय निर्वाचनको प्रस्ताव गरेसँगै राजनीतिक माहौल तात्तिएको हो । बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालबीच तीन तहको निर्वाचन एकै पटक गर्न सकिने सम्भावनाका बारेमा छलफल भएको छ। सत्तारुढ दल सकेसम्म गठबन्धन नताड्ने र एमालेले संसद अवरोध कायमै राखिरहेको सन्दर्भमा छिटो निर्वाचनमा जानु पर्ने छलफलमा छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा आजको छलफल निर्वाचनमा कसरी जाने भन्नेमा केन्दित भएको नेताहरुले बताएका छन् । प्रतिपक्षले संसद चल्नै नदिएको अवस्थामा नयाँ म्यान्डेडमा जाने र सो बाटो कस्तो हुने भन्नेबारेमा सत्ताँरुढ दल छलफलमा जुटेका हुन् ।

    निर्वाचनबारे छलफल गर्न शुक्रबार ४ बजे सत्ता गठबन्धनको बैठक समेत बस्ने भएको छ । सो छलफलले गठबन्धनको रणनीति तह गर्नेछ । सकेसम्म सत्तारुढ दल यो पटक एमालेलाई एक्ल्याउने पक्षमा छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले संसदलाई निकम्मा बनाउन खोजिरहेको भन्दै दलहरु सो पार्टीलाई एक्ल्याउने रणनीतिमा छन् । एमालेले भने कानून अनुसार पहिला स्थानीय तहको निर्वाचन गरि संसदीय निर्वाचन गर्न माग गरिरहेको छ ।

  • मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त

    मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने सेनाका मेजर बर्खास्त

    काठमाडौं । मादक पदार्थ सेवन गरि सर्वसाधारणसँग झगडा गर्ने नेपाली सेनाका मेजर (सेनानी) बर्खास्त भएका छन् । सर्वसाधारणसँग अपशब्द बोलेको र दुर्व्यवहारको अभियोगमा उनलाई जनरल सैनिक अदालतले सेवाबाट हटाउने आदेश सुनाएको छ । नेपाली सेनाको सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोरङ्गेका मेजर अशोकजंग शाही यस्तो कारवाहीमा परेका हुन् । उनले सैनिक ऐन, २०६३ विपरित गतिविधि गरेको पुष्टी भएपछि भविष्यमा सरकारी सेवाका लागि अयोग्य नहुने गरी सेवाबाट हटाउने आदेश गरिएको हो ।

    स्थानीय संचारमाध्यमले जनाए अनुसार जनरल सैनिक अदालत र समरी जनरल सैनिक अदालतबाट फैसला वा अन्तिम आदेशमाथि चित्त नबुझे पीडित पक्षले ३५ दिनभित्र पुनरावेदन दिने सक्ने व्यवस्था भने छ । घटना २५ असोजमा भएको हो । मादक पदार्थ सेवन गरेर ब्यारेकबाट निस्किएका शाहीले कैलालीको चिसापानीस्थित हर्कबहादुर रावलको होटलमा जबरजस्ती प्रवेश गरि धम्क्याएका थिए । होटेल बन्द भएपछि पुगेका उनलाई होटेल छिर्न नदिएपछि ब्यारेक फर्किएर निजी गाडीमा राति नै हतियारसहितको सैनिक लिएर चिसापानी बजार गएपछि स्थानीयसँग उनको लफडा शुरु भएको थियो । आक्रोशित भिडले उनी चढेको गाडीमा तोडफोड गरेको थियो ।

  • कोरोना संक्रमित मतदाताले पनि राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने

    कोरोना संक्रमित मतदाताले पनि राष्ट्रिय सभा निर्वाचनमा भोट हाल्न पाउने

    काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमित भएका मतदाताले पनि मतदान गर्न सक्ने भएका छन् । निर्वाचन आयोगले बुधबार १९ बुँदे स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड सार्वजनिक गरेको छ । जसमा १२ माघमा हुन लागेको राष्ट्रियसभा निर्वाचनमा कोरोना सङ्क्रमितले पनि मतदान गर्न पाउने व्यवस्था छ । आयोगका सहायक प्रवक्ता कोमलप्रसाद धमलाका अनुसार सङ्क्रमित मतदाताबाट अर्को व्यक्तिलाई नसर्ने गरी छुट्टै बाकसको व्यवस्था गरी मतदानमा सहभागी गराउने प्रबन्ध गरिएको छ ।

    स्वास्थ्य सुरक्षासम्बन्धी नियममा मतदान केन्द्रमा स्वास्थ्यको एउटा टिन बस्ने, मतदान केन्द्रमा प्रवेश गर्ने सबैको ज्वरो जाँच हुने, सङ्क्रमित भएर आएका मतदातालाई निसङ्क्रमित गरेर छुट्टै बक्सामा भोट हाल्ने प्रबन्ध मिलाउनेलगायतका विषय उल्लेख छ । माघ १२ मा राष्ट्रिय सभाका १९ सदस्यका लागि निर्वाचन हुँदैछ । राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतादाता रहनेछन् । आयोगले सात वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ । कोरोना महामारी जोखिमका बीच आयोगले स्वास्थ्य मापदण्ड अपनाएर निर्वाचन गर्ने भएको छ ।

  • कोरोनाका कारण सर्वोच्च अदालतको सेवा संकुचन

    कोरोनाका कारण सर्वोच्च अदालतको सेवा संकुचन

    काठमाडौं । सर्वोच्च अदालतबाट प्रवाह हुने सेवा संकुचन गरिएको छ । सर्वोच्चको पूर्ण बैठकले कोरोना महामारीको बढ्दो जोखिमलाई ध्यानमा राख्दै सेवामा संकुच गर्ने निर्णय गरेको हो । मंगलबार दिउँसो बसेको बैठकले स्थानीयस्तरको अवस्था हेरेर जिल्ला र उच्च अदालतले यसबारे आफैँ निर्णय गर्न सक्ने निर्णय गरेको छ । बैठकले विभिन्न चार निर्णय अख्तियारी गरेको छ ।

    सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण तथा कोभिड महामारीसँग सम्बन्धित अत्यन्त जुरुरी प्रकृतिका जीवन र जनस्वास्थ्य तथा सार्वजनिक महत्वका मौलिक हकसँग सम्बन्धित रिट निवेदनहरुको नियमित रुपमा सुनुवाइ गर्ने निर्णय गरेको छ । मुद्दा फिर्ता, तामेली एवं मिलापत्रसम्बन्धी कामकारबाही नियमित रुपमा सञ्चालन गर्ने, मुलुकी फौजदारी कार्यविधि संहित, २०७४ को दफा ७३, १३७ को ६ र १५५ बमोजिमका थुनुवा रहेका व्यक्तिहरुको निवेदन तथा प्रतिवेदनउपर सुनुवाए गर्ने, थुनुवा भएका मुद्दाको सुनुवाइ गर्ने, हेर्दा हेर्दै र नि.सु.मा रहेका मुद्दाको सुनुवाई गर्ने र नेपाल सरकारको तर्फबाट दर्ता भएका प्रत्यर्थी झिकाउने आदेश नभएका पुनरावेदनको सुनुवाइ गर्ने निर्णय बैठकले गरेको छ ।

    मुद्दा–निवेदन दर्ता गर्ने, पेशी र अन्य तारेख दिने लगायतका कामकारबाही जनस्वास्थ्यका निर्धारित मापदण्डअनुसार सामाजिक दूरी कायम गर्ने, भिडभाड हुन नदिने लगायतका कुराहरुको पूर्ण परिपालना हुने गरी सञ्चालन गर्न सर्वोच्च अदालत प्रशासनले आवश्यक व्यवस्था मिलाउनुपर्ने छ । अदालतहरुमा अनावश्यक भीडभाड हुन नदिन अत्यावश्यक र न्यून सङ्ख्याको जनशक्तिबाट आलोपालो मिलाई अदालतको काम कारबाही गर्ने र टेलिवर्क वा अन्य तरिकाबाट निवास वा स्टेशनमा रही अदालतको कार्य सम्पादन गर्न मुख्य रजिस्ट्रारले आवश्यक व्यवस्था मिलाउनुपर्ने छ ।

    उच्च अदालत, जिल्ला अदालत, अन्य अदालत र न्यायाधिकरणहरुको हकमा स्थानीय परिस्थिति एवं जोखिमको अवस्था तथा सङ्क्रमित भएको अवस्था समेतको मूल्याङ्कनको आधारमा उपयुक्त देखिएको कामकारबाही र सेवा प्रवाहको व्यवस्था सम्बन्धी अदालत तथा न्यायाधीकरणहरुले मिलाउने र सर्बोच्च अदालतमा जानकारी पठाउन निर्देशित गर्ने निर्णय भएको सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले उल्लेख गरेका छन् । यो निर्णय माघ ५ देखि १८ गतेसम्म सञ्चालन हुने छ ।