Category: कानुनी कुरा

  • एमालेमा चरम विवाद, बिहान १० बजे हुने भएको बन्दसत्र अझै शुरु भएन

    एमालेमा चरम विवाद, बिहान १० बजे हुने भएको बन्दसत्र अझै शुरु भएन

    चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको बन्दसत्र आइतबार बिहान १० बजेका लागि तोकिएको थियो । आजै निर्वाचन प्रक्रियामा गएर पदाधिकारीको टुंगो लगाउने भनिए पनि चरम विवादका कारण अहिलेसम्म बन्दसत्र समेत शुरु भएको छैन । अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरु विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई केन्द्रीय सदस्यको सूची बनाउन लगाएर आफु छलफलमा जुटेका थिए ।

    तर, दिनभरको कसरतमा समेत पदाधिकारीमा सहमति हुन सकेको छैन । ओलीले कुनै पनि हालतमा निर्वाचन हुन नदिने बरु आफुले घोषणा गरेको उमेदवारमा चित्त नबुझे ध्वनी मतका आधारमा अश्विरकार गराउने रणनीतिमा छन् । उनलाई भीम रावल, घनश्याम भुषाललगायतका नेताले चूनौति दिइरहेका छन् । राति ८ बजेपछि बन्दसत्र सुरु हुने भनिएपछि प्रतिनिधिहरु होटेलमा छिरेका छन् । तर, शुरु भने हुन सकेको छैन ।

  • सर्वोच्चमा जारी आन्दोलनबारे प्रधानमन्त्रीले कानुन व्यवसायीसङ्ग छलफल गर्ने

    सर्वोच्चमा जारी आन्दोलनबारे प्रधानमन्त्रीले कानुन व्यवसायीसङ्ग छलफल गर्ने

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वोच्च अदालतमा जारी आन्दोलनबारे कानुन व्यवसायीसङ्ग छलफल गर्ने भएका छन् । प्रधानन्यायधीश चोलेन्द्रशमशेर जबराविरुद्ध आन्दोलन चर्काइरहेका नेपाल बार एसोसिएसन र सर्वोच्च अदालत बार एसोसिएसनका पदाधिकारीलाई प्रधानमन्त्रीले शुक्रबार बालुवाटार बोलाएका हुन् ।

    शुक्रबार बिहान साढे १० बजेका लागि प्रधानमन्त्री देउवाले कानुन व्यवसायीसङ्ग छलफल गर्नेछन् । दुवै बारका पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरू बद्रीबहादुर कार्की, हरिहर दाहाल, शम्भु थापा र रमण श्रेष्ठसहितको टोलीले प्रधानमन्त्री देउवालाई प्रधानन्यायाधीश जबरालाई पदमुक्त गर्न भूमिका खेल्न आग्रह गर्ने तयारी गरेका छन् ।

    बारले प्रधानन्यायाधीश जबरा पदमुक्त हुनुपर्ने १७ कारण उल्लेख गर्दै संघीय संसद्मा प्रतिनिधित्व गर्ने दलहरूलाई गत सोमबार बुझाएको धारणापत्र प्रधानमन्त्रीलाई पनि बुझाउने भएको छ ।

  • आज सर्वोच्च अदालतमा फुल कोर्ट बस्दै

    आज सर्वोच्च अदालतमा फुल कोर्ट बस्दै

    काठमाडौं । सर्वोच्च अदालतमा आज फुलकोर्ट बैठक बस्ने भएको छ । गोलाप्रथा प्रक्रियाबाट पेसी कहिलेदेखि तोक्ने बारे निर्णय गर्न फुलकोर्ट बैठक लागेको बताइएको छ । बैठकले  आगामी सातादेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गर्ने तयारी समेत छ ।

    अहिले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा आफैले पेसी तोक्दै आएका छन् । अघिल्लो बिहीबार बसेको फुलकोर्ट बैठकले प्रधानन्यायाधीश जबराको तजबिजी अधिकार कटौती गरेर गोला प्रक्रियाबाट इजलास तोक्ने व्यवस्था गरेको हो ।
    प्रधानन्यायाधीश जबराले न्यायालयको गरिमा कायम राख्न नसकेको, कुनै अमुक मुद्दा निश्चित न्यायाधीशको मात्र इजलासमा राखेर भनेअनुसारको फैसला गर्न लगाएको, मन्त्रिपरिषद सदस्यको भागबण्डामासमेत मुछिएको लगायतका आरोप खेप्दै आएका छन् ।

    जबरासँग असन्तुष्ट सर्वोच्चका न्यायायाधीशहरु र कानून व्यवसायीहरु उनीविरुद्ध उत्रिएका छन् ।  गोलाप्रक्रिया सुरु हुने भएपछि न्यायाधीशहरु नियमित इजलासमा फर्किए पनि जबराको नेतृत्व भने नस्वीकार्ने भएका हुन् ।

  • गैरआवासीय नेपाली संघको निर्वाचनमा परराष्ट्र मन्त्रालयको पुनः रोक

    गैरआवासीय नेपाली संघको निर्वाचनमा परराष्ट्र मन्त्रालयको पुनः रोक

    काठमाडौं । परराष्ट्र मन्त्रालयले गैर आवासीय नेपाली संघ (एनआरएनए) को दशौं अन्तर्राष्ट्रिय महाधिवेशन तथा निर्वाचनमा पुनः रोक लगाएको छ । संघले डिसेम्बर १५ मा नयाँ निर्वाचन गर्ने गरि मिति सार्वजनिक गरेको थियो । तर, वर्तमान कार्यसमितिले विधान अनुसार निर्वाचन गराउन नमिल्ने तर्क गर्दै मन्त्रालयले दशौं अन्तर्राष्ट्रिय महाधिवेशन वर्तमान कार्यसमितिले नभई संरक्षक परिषदमार्फत मात्र गर्न गराउन निर्देशन दिएको छ ।

    परराष्ट्र मन्त्रालयले एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदलाई ३ मंसिरमा पत्र लेख्दै यस्तो भनेको हो । सोही दिन संघले नयाँ मिति सार्वजनिक गरेको थियो । संघमा देखिएका विवाद समाधान गरी सन् २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने कार्य विधानको धार १६ बमोजिम गठित संरक्षक परिषद मार्फत मात्र गर्नू, गराउनू भनी मन्त्रालयले पत्र लेखेको हो ।

    एनआरएनए अध्यक्ष कुमार पन्तले परराष्ट्रको निर्देशन ठाडो राजनीतिक हस्तक्षेप भएको भन्दै कानूनी लडाईंमा जाने प्रतिक्रिया दिएका छन् । उनले विधान बमोजिम नै आफ्नो एनआरएनको कार्यकाल थपिएको समेत बताएका छन् । संघमा राजनीतिक हस्तक्षेप भएको भन्दै उनले विधान विपरीतको निर्देशन कुनै पनि हालतमा नमान्ने समेत बताएका छन् । उनले तोकिएकै समयमा निर्वाचन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

    यस्ता छन् परराष्ट्र मन्त्रालयले दिएका निर्देशन

    संघको विधानको धारा १६.१.४ मा अन्तर्राष्ट्रिय समन्वय परिषद् निष्क्रिय रहन गएमा वा अत्यन्तै विवादित भई संस्था विभाजित हुने अवस्था सृजना भएमा संरक्षक परिषदले संस्थाको संरक्षण गर्ने ब्यबस्था रहेको देखिन्छ । तसर्थ संघमा देखिएको विवाद समाधान गरी संघलाई गतिशीलता प्रदान गर्नका लागि देहायबमोजिम गर्नु गराउनु हुन् गैर आवासीय नेपालीसम्बन्धी नियमावली, २०६६ को नियम १६ को उपनियम २ बमोजिम यस मन्त्रालयको मिति २०७८-८-०३ निर्णयानुसार अनुरोध गरिन्छ ।

    १. वर्तमान अन्तर्राष्ट्रिय समन्वय परिषदको कार्यकाल पूरा भईसकेको हुँदा त्यस परिषदले संस्थालाई दूरगामी असर गर्ने कुनै कार्य नगर्नू, नगराउनू ।

    २. संघको विधानको धारा १३.७ को खण्ड ग बमोजिम चयन हुने ६५ प्रतिशत प्रतिनिधिका सम्बन्धमा विगतको प्रचलित अभ्यासअनुसार वर्तमान राष्ट्रिय समन्वय परिषदले सिफारिस गरी पठाएका महाधिवेशन प्रतिनिधिहरुलाई मान्यता दिने ।

    ३. हाल संघमा देखिएका विवादहरुको समाधान गरी सन् २०२१ भित्र संघको दशौं अन्तर्राष्ट्रिय महाधिबेशन सम्पन्न गर्ने कार्य विधानको धार १६ बमोजिम गठित संरक्षक परिषद मार्फत मात्र गर्नू, गराउनू ।

  • आज कांग्रेसको प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन हुँदै

    आज कांग्रेसको प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन हुँदै

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन प्रक्रिया अन्तर्गत आज बाँकी रहेका प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुने भएको छ । वडा, पालिका र प्रदेश सभा क्षेत्रीय अधिवेशन सम्पन्न भएका स्थानमा आज प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन हुन लागेको हो। अधिवेशनबाट प्रतिनिधि सभा क्षेत्रमा क्षेत्रीय सभापतिसहित कार्यसमिति र सदस्यहरू चुन्ने कार्यक्रम छ ।

    यसै अधिवेशनबाट केन्द्रीय महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधि समेत छानिनेछन् । कांग्रेसमा एक प्रतिनिधि सभा क्षेत्रबाट २६ जना महाधिवेशन प्रतिनिधि केन्द्रमा आउँन पाउने प्रावधान रहेको छ । महाधिवेशन प्रतिनिधि मध्येबाट कांग्रेस पदाधिकारीदेखि केन्द्रीय सदस्यको निर्वाचन गरिन्छ । बहालवाला केन्द्रीय सदस्य तथा पदाधिकारी भने महाधिवेशनबाट आइराख्नु पर्दैन । उनीहरु स्वतः महाधिवेशन प्रतिनिधि हुन्छन् ।

    वैकल्पिक केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि चुनिएर आउनुपर्छ । कांग्रेसले यसअघि १४ जिल्लामा जिल्ला अधिवेशन गरिसकेको छ। यी जिल्लामा प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन भई कार्यसमिति र प्रतिनिधि पनि चुनिइसकेका छन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिकाअनुसार सोमबार ६० जिल्लाका १४८ प्रतिनिधि सभा क्षेत्रमा अधिवेशन हुनेछ ।

  • नेपालमा शान्ती सम्झौता भएको १५ वर्ष पुरा, आर्थिक समृद्धिको सपना अधुरै

    नेपालमा शान्ती सम्झौता भएको १५ वर्ष पुरा, आर्थिक समृद्धिको सपना अधुरै

    काठमाडौं । सशस्त्र द्धन्द्ध गरिरहेको माओवादी र सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १५ वर्ष पूरा भएको छ । तत्कालीन विद्रोही माओवादी र सरकारबीच २०६३ साल मंसिर ५ मा विस्तृत शान्ति सम्झौता भएको थियो । नेपालमा चलेको दश वर्षभन्दा लामो द्वन्द्व अन्त्य गर्न यो सम्झौताले ऐतिहासिक सफलता प्राप्त गरेको थियो ।

    सम्झौता पत्रमा सरकारका तर्फबाट गिरिजाप्रसाद कोइराला र नेकपा माओवादीको तर्फबाट प्रचण्डले हस्ताक्षर गरेका थिए । सम्झौतापछि तत्कालीन माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन र सरकारमा सहभागी हुन बाटो खुलेको हो । शान्ति सम्झौतापछि सेना समायोजन र संविधानसभाबाट संविधान निर्माणको महत्वपूर्ण काम सम्पन्न भएको छ , मुलुकमा गणतन्त्र स्थायीत्वतर्फ अगाडी बढेको छ भने संघीयता लागु भएको छ ।

    तर, सङ्क्रमणकालीन न्याय र आर्थिक समृद्धिको सपना भने अझै पुरा हुन सकेको छैन । खासगरी नयाँ संविधान बनेपछि जनताले आर्थिक समृद्धिको ढोका खुल्ने अपेक्षा गरेका थिए । तर, नेताहरुले परिवर्तनलाई व्यवस्थापन गर्न नसक्दा कतिपय समस्या अहिले पनि जहाँको त्यही छन् ।

    शान्ती सम्झौतामा उल्ल्ेख भए अनुसार द्वन्द्वको अन्त्य, संविधान सभाको निर्वाचन गरी संविधान बनाउने, गणतन्त्र घोषणा, माओवादी लडाकुको व्यवस्थापन जस्ता मुख्य कार्यभार सम्पन्न भएका छन् । द्वन्द्वकालमा राज्य तथा विद्रोही पक्षबाट भएका गम्भीर मानवअधिकार उल्लङ्घनका गम्भीर घटनाका पीडितले भने अझै न्याय पाउन सकेका छैनन् ।

    व्यक्ति बेपत्ता, गैरन्यायिक हत्या, यातना तथा यौन हिंसा जस्ता घटनाका पीडितलाई राज्यले अझै न्याय दिलाउन सकेको छैन । दुई हजार ५ सयभन्दा बढी माओवादी लडाकु वेपत्ता छन् । उनीहरुबारे कुनै टुंगो लाग्न सकेको छैन ।

  • आइतबार पनि कानून व्यवसायीले सर्वोच्चमा बहस नगर्ने

    आइतबार पनि कानून व्यवसायीले सर्वोच्चमा बहस नगर्ने

    काठमाडौं । कानुन व्यवसायीले आइतबार पनि सर्वोच्च अदालतमा बहस नगर्ने भ्एका छन् । कानून व्यवसायी प्रधानन्यायाधीशले राजिनामा दिनु पर्ने माग राखी पछिल्लो एक महिनायता आन्दोलनरत छन् । उनीहरुले आइतबार बन्दी प्रत्यक्षीकरण बाहेक कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय लिएका हुन् । शुक्रबार बसेको नेपाल बार एशोसिएसनको केन्द्रीय कार्यसमितिको बैठकले थप विरोधका कार्यक्रम सार्वजनिक गर्दै आइतबार बन्दी प्रत्यक्षीकरणबाहेकका कुनै पनि मुद्दामा बहस पैरवी नगर्ने निर्णय गरेको हो ।


    ‘अदालतभित्र दङ्गा प्रहरी प्रवेश गराउने, कानुन व्यवसायीको शान्तिपूर्ण धर्ना, विरोध कार्यक्रमलाई दबाउन हरियारसहितको दङ्गा प्रहरीको ठूलो सङ्ख्यामा तैनाथ गरी कानुन व्यवसायीहरुलाई दमन, हातपात, कुटपिट गरी घाइते बनाएको विरोधमा देशभरका सबै अदालतहरुमा बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दाहरुमा बहस पैरवी नगर्ने भनी निर्णय गरिएकाले सो बमोजिम गर्न, गराउनु हुन, बहस नगरिने व्यहोराको सम्बन्धित अदालतमा पत्राचार गर्न समेत सबै बार एकाईहरुलाई जानकारीका साथ अनुरोध गरिन्छ,’ शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।

    बारका महासचिव अधिवक्ता लीलामणि पौडेलले शनिबार विज्ञप्ति जारी गर्दै पोखरामा यहीँ मङ्सिर २४, २५ र २६ गते हुने राष्ट्रिय सम्मेलन समेत स्थगित भएको पनि जानकारी गराएका छन् ।

  • राष्ट्रिय सभा निर्वाचन १२ माघमा तोकियो

    राष्ट्रिय सभा निर्वाचन १२ माघमा तोकियो

    काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचनको मिति माघ १२ मा तोकेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । स्थानीय संचारमाध्यमहरुका अनुसार राष्ट्रियसभाका २० सदस्यको कार्यकाल फागुन २० गते सकिँदैछ । उनीहरुमध्ये एक जना राष्ट्रपतिबाट मनोनित हुनेछन् । बाँकि १९ जनाका लागि निर्वाचन हुन लागेको हो । राष्ट्रियसभा सदस्यको पदावधि सकिनु ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानुनी प्रावधान रहेको छ । सोही अनुसार निर्वाचन आयोगले माघ १५ गतेभित्रै निर्वाचन गर्न अनुरोध गरेको थियो ।

  • सत्तारुढ गठबन्धनले न्यायालय विवादबारे बोल्दै भन्यो : ‘ध्यानाकर्षण भएको छ’

    सत्तारुढ गठबन्धनले न्यायालय विवादबारे बोल्दै भन्यो : ‘ध्यानाकर्षण भएको छ’

    काठमाडौं । न्यायालयमा एक महिनादेखि अवरोध जारी छ । जसले गर्दा न्याय पाउनु पर्ने जनताको आधारभूत अधिकार समेत हनन् भइरहेको छ । यस सन्दर्भमा सत्तारूढ गठबन्धन नबोलेको भन्दै सत्तँरुढ दल भित्रैबाट हालोचना भइरहेका बेला राजनीतिक समन्वय समितिको बैठकले पहिलो पटक आफ्नो धारणा सार्वजनिक गरेको छ । मंगलबार सिंहदरबारमा पहिलोपटक बसेको बैठकले सर्वोच्च अदालतमा देखिएको समस्या र गतिरोधबारे ध्यानाकर्षण भएको उल्लेख गरेको हो ।

    राज्यको महत्वपूर्ण अंगको रूपमा रहेको न्यायपालिकाको स्वतन्त्रता, गरिमा, विश्वसनीयता र स्वच्छतालाई कायम राख्ने गरी यथाशीघ्र निकास हुनुपर्ने समेत सत्तारुढ दलको धारणा छ । बैठकले राष्ट्रिय राजनीतिक घटनाक्रमको समीक्षा तथा विश्लेषण गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, राष्ट्रियता र लोकतन्त्रको संवर्द्धन गर्नेमा जोड दिने निर्णय गरेको विज्ञप्तीमा जनाइएको छ । गठबन्धनमा रहेका पाँच दलबाट दुई, दुई जना र सरकारका मन्त्री ज्ञानेन्द्रबहादुर कार्की समन्वय समितिमा रहेका छन् । अहिले समितिको संयोजक कांग्रेस नेता रामचन्द्र पौडेल रहेका छन् ।

  • सर्वोच्चका न्यायाधीश दुई गुटमा विभाजित

    सर्वोच्चका न्यायाधीश दुई गुटमा विभाजित

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनु पर्ने भन्दै इजलास बहिस्कार गरिरहेका सर्वोच्च अदालतका न्यायाधीश अब दुई गुटमा विभाजित भएका छन् । कुल १९ जना न्यायाधीश रहेकोमा पाँच जना अलग भएका छन् । उनीहरुले अब बाँकी न्यायाधीशसँगको छलफलमा सहभागी नहुने निर्णय लिएका हुन् । न्यायाधीश तेजबहादुर केसी, बमकुमार श्रेष्ठ, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालले यस्तो निर्णय लिएका हुन् ।

    सोमबार नेपाल बार एसोसिएसनका पदाधिकारीसँगको छलफलमा समेत यी न्यायाधीश सहभागी भएनन् । उनीहरुले फूलकोर्ट बाहेकका बैठकमा सहभागी नहुने निर्णय लिएका छन् । सोमबार नै प्रधानन्यायाधीश जबराले आन्दोलन त्याग गर्न विज्ञप्ती निकालेका थिए ।

    प्रधानन्यायाधीश जबराको राजीनामा माग गरिरहेका न्यायाधीशले जबराले तोकेका मुद्दा सुनुवाइ गर्न मानिरहेका छैनन् । अहिले बन्दीप्रत्यक्षीकरणका मुद्दा मात्रै सुनुवाइ भइरहेको छ । असन्तुष्ट न्यायाधीशको अबको भूमिका के हुने भन्ने चाँही निश्चित छैन ।

  • राजिनामा कि महाभियोग ? हात्तीको जुधाई बाख्राको मिचाई

    राजिनामा कि महाभियोग ? हात्तीको जुधाई बाख्राको मिचाई

    कल्पना शाक्य
    अधिबक्ता

    राजविराजस्थित मानव अधिकारवादी संस्थाको कार्यालयभित्र सप्तरी जिल्लाका गाउँका मुद्दामा भएका मेलमिलापको संख्या, प्रकृति र नतिजाका बारेमा छलफल हुँदै थियो । मेलमिलाप ऐन आउनुभन्दा अगाडीनै नेपालमा स्थानीय स्तर र केही संस्थाहरुबाट दूवै पक्षलाई जितजितको अवस्थामा पुर्याउन मेलमिलापको अभ्यास शुरुवात भएको थियो । २०६० सालतिर एक गैर सरकारी संस्था मार्फत मेलमिलाप कार्यक्रमको अध्ययन अनुगमन गर्न राजविराज पुगेकी थिए । मुद्दाको गर्दैजाँदा केही मुद्दाहरुमा मिलापत्र भएको आफुलाई पटक्कै चित्त बुझेन । समाजमा पछाडि परेका समूदायका ब्यक्तिलाई उपल्लो तहको ब्यक्तिबाट सार्वजनिक रुपमा कुटपिट गरी बेईज्जत गरिएको घटनामा संस्थाको कार्यालयमा बोलाएर माफी मगाएर छाडिएको रहेछ । भरखरै पढाई सकेर पेशामा प्रवेश गरेको मैले यस्तो मिलापत्रको घटना सुनेर तत्कालै असहमति जनाई हाले, “कानुन बमोजिम दण्डनीय हुने यस्तो कठोर अपराधलाई कसरी मिलापत्र गराएर छाड्न सकिन्छ?” संस्थाको पदाधिकारीले धैर्यतापूर्वक सम्झाउँदै भन्नुभयो, “सदियौंदेखि उतपीडक र उत्पीडित बर्ग रहेको हाम्रो समाजमा एकैपटक कानुनी कारवाहिको दायरामा ल्याउनु असम्भव जस्तै हुन्छ, समाजमा जरा गाडेर बसेको कुप्रथा हटाउन बिस्तारै समय लाग्छ, एकैपटकमा खत्तम गर्न खोज्दा झन् समस्या आगोझैं सल्कीन सक्छ, सामाजिक द्वन्द्व शुरु हुन सक्छ, यहाँको समाजमा उत्पीडक वर्गले उत्पीडित वर्गको व्यक्तिसँग सार्वजनिक रुपमा माफी माग्नु भनेकै परिवर्तनको फड्को हो । कानुनी प्रकृयामै जाँदा प्रमाणको अभावमा वा पीडित वर्गको पहँचको अभावमा उत्पीडकले सफाई पाउने र यसबाट सामाजिक विभेद र अराजकता ज्यूका त्यू रहने हुँदा अहिलेको परिस्थितिमा माफी माग्न लगाएर गरिएको मिलापत्र समय सान्दर्भिक देखिन्छ । यसबाट समाजमा केही फरक सकारात्मक सन्देश त अवश्य पुगेको छ, पिछडिएको व्यक्तिहरुको पनि समान मानव अधिकार, कानुनी अधिकार छ भन्ने कुरा समाजमा पुर्याउन मद्दत गरेको छ । ”यति सुनिसकेपछि यो मिलापत्रको परिस्थितिजन्य अवस्थामा मैले चित्त बुझाए । यो एउटा उदाहरण मात्र थियो गाउँ समाजमा यस्ता घटनाहरु धेरै रहेछन् ।
    न्याय सम्पादनको सिलसिलामा देखिएको यो बाध्यता दशकौंपछि आएर न्यायको सर्वोच्च अङ्गमा देखापरेको छ ।
    तत्कालीन प्रधानमन्त्री के.पी. शर्मा ओलीले गरेको संसद बिघटनको बिरुद्धमा दायर भएको रिटमा संसद बिघटनको निर्णय बदर गरेर शेर बहादुर देउवालाई प्रधानमन्त्री तोकि सरकार गठन गर्न परमादेश जारी गरेका प्रधान न्यायाधिश चोलेन्द्र शमसेर ज.ब.रा. ले सो फैसलाको बदलामा मन्त्रीमण्डलमा आफ्नो जेठानलाई नियुक्ति दिलाएको रहस्य बाहिरिएसँगै न्यायिक क्षेत्रमा मानौ तूफान नै आएको छ । लहरो तान्दा पहरो आउँछ भने झै संसदमा साठगाठको आरोपसँगै उनका बिगतका अन्य दोषहरु कोट्याउन थालिएको छ । डि.आई.जी. रञ्जन कोईरालालाई कर्तव्य ज्यान मुद्दामा सजाय छुट दिने विवादास्पद फैसला, भ्रष्टाचारको ३६ वटा मुद्दामा फैसला गर्दा मन्त्री, सचिव, सहसचिव, आई.जी.पी. लगायत भीआईपीहरु आरोपित भएको ३५ वटा मुद्दामा आरोपितलाई सफाई दिई नायब सुब्बा बिरुद्धको एउटा मुद्दामा मात्र अभियोग ठहर गरी कसूरदारलाई सजाय सुनाएको, एन.सेल. लाई कर छुट दिने फैसला लगायतका उनका धेरै क्रियाकलाहरु मूर्दाघरबाट लाश बिउतिएसरी बिउँतिएर त्यसको भूतले उनैलाई लखेटिरहेझै आभास हँदैछ ।
    कानुन व्यवसायीको संगठन नेपाल बार एशोसिएसनले नै प्र.न्या. को राजिनामा माग गरिरहेको छ । सर्वोच्च अदालतका अन्य १९ जना न्यायाधिशहरु पनि प्र.न्या. को राजिनामाको पक्षमा उभिएर बेञ्च बहिष्कार गरिरेको जटिल अवस्था छ । राजिनामा मागको सम्बन्धमा पनि कानुन व्यवसायीहरु पक्ष र विपक्षमा उभिएका छन् । कानुन व्यवसायीको एउटा समूह प्र.न्या. को राजिनामालाई संवैधानिक हो भन्दछन् भने अर्को समूह संविधान बमोजिम प्र.न्या. लाई पदच्यूत गराउने एक मात्र बाटो महाभियोग रहेको बताउँछन् ।
    नेपालको संविधान २०७२ को धारा १०१ को उपधारा (२) अनुसार यो संविधान र कानुनको गम्भीर उल्लंधन गरेको, कार्यक्षमताको अभाव भएको वा ईमान्दारीतापूर्वक आफ्नो पदिय कर्तव्यको पालन नगरेको वा आचरण संहिताको गम्भीर उल्लंघन गरेको अवस्थामा प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको एक चौथाई सदस्यले नेपालको प्र.न्या. वा सर्वोच्च अदालतका न्यायाधिश, न्याय परिषदका सदस्य, संवैधानिक नियकायका प्रमूख वा पदाधिकारीका बिरुद्ध महाभियोगको प्रस्ताव पेश गर्न सक्नेछन् । त्यस्तो प्रस्ताव प्रतिनिधि सभामा तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याका कम्तिमा दुई तिहाई बहूमतबाट पारित भएमा सम्बन्धित व्यक्ति पदबाट मुक्त हुनेछ । त्यसैगरी धारा १३१ को विभिन्न खण्डले प्रधान न्यायाधिशको पद रिक्त हुने अवस्थाको बारेमा व्यवस्था गरेको छ जसमध्ये खण्ड (क) मा प्रधान न्यायाधिशले राष्ट्रपति समक्ष लिखित राजीनामा दिने व्यवस्था गरेको छ । हाल राजिनामा माग गरिरहेका कानुन व्यवसायीहरुले यही धारा १३१ को खण्ड (क) को दलिल दिईरहेका छन् ।

    एउटै कुकृत्यमा सामेल भएका मध्ये एकजनालाई दोषि करार गरेर अर्कोलाई सुनपानी छर्केर सफाई दिनु कुनै पनि कानुनी राज्यलाई मान्य हुँदैन । तसर्थ न्यायपालिकासँग साँठगाँठ गर्ने दलका नेताहरुलाई पनि कठघरामा एकदिन अवश्य ल्याउनु पर्दछ ।”


    यसरी संविधान अध्ययन गर्दा राजिनामा र महाभियोग दुबै व्यवस्था गरेको पाईन्छ तर पनि प्र.न्या. चोलेन्द्र शमशेरको सत्तारुढ दलसँग चोचोमोचो मिलेको कारण उनिमाथीको महाभियोग पारित हुनै नसक्ने तितो यथार्थलाई मध्यनजर गरेर नै नेपाल बार एशोसिएसनले राजीनामा माग गर्दैछ भने प्रधान न्यायनधीस महाभियोगको सामना गर्न तयार रहेको भनि राजिनामा नदिने कुरामा अड्डि करेर बसेका छन् महाभियोग पारित हुन सक्दैन भन्ने कुरामा ढुक्क भएका हुनाले । हुन पनि जसमाथी महाभियोग लगाईनुपर्ने हो र जसले महाभियोग लगाउने हो ती दुबै पात्र एउटै नालीमा चुर्लुम्म डुबेर सँगसँगै फोहोले स्नान गरिसकेका अवस्थामा एउटा फोहोरीले अर्को फोहोरीलाई तँ तँ गनाईस भनेर स्वात्तै झिकेर फ्याक्न नसक्ने अवस्था हुँदा महाभियोग पारित हुनै नसक्ने भएकोले नेपाल बारले राजिनामाको हतियार उठाईरहेको अवस्था हो । जुन अवस्था झण्डै २० वर्षअगाडि सप्तरीको एउटा गाउँमा अपराधीलाई सजाय नदिएर आफ्नो गल्ति स्वीकार गर्न लगाई माफी मगाएर गर्नुपरेको मेलमिलापको बाध्यात्मक परिस्थितिसँग मेल खान गएको छ । महाभियोगको नाटक मञ्चन गरिएपनि कुनै हालतमा महाभियोग पारित हुन नसक्ने देखेपछि आँखा चिम्लेर बस्नु भन्दा राजिनामानै दिनु बेस भन्ने सोचाईले तत्कालको समस्याको लागी अस्थाई हल खोजिएको हो । तर अस्थाई समाधानमै चित्त बुझाएर बस्नु कदापि हुँदैन । राजिनामा दिदैमा बिगतमा गरिसकेका गल्तिबाट उन्मुक्ति पाउने भन्ने व्यवस्था कानुनले गरेको पनि छैन । त्यसकारण पदमा बस्न अयोग्य ब्यक्तिलाई पदबाट हटाएर कानुन बमोजिम सजाय समेत दिनुपर्छ । एउटै कुकृत्यमा सामेल भएका मध्ये एकजनालाई दोषि करार गरेर अर्कोलाई सुनपानी छर्केर सफाई दिनु कुनै पनि कानुनी राज्यलाई मान्य हुँदैन । तसर्थ न्यायपालिकासँग साँठगाँठ गर्ने दलका नेताहरुलाई पनि कठघरामा एकदिन अवश्य ल्याउनु पर्दछ ।
    नेपाल बार एशोसिएसनले एउटा व्यक्तिको बिरुद्ध होईन खराब पद्धतिको बिरुद्ध लड्ने हो । न्यायपालिका शुद्ध हुनको लागी बिधायीका (संसद) पनि शुद्द हुन जरुरी छ अर्थात बिधायीकाले न्यायपालिका माथि हस्तक्षेप गर्न भएन । त्यसैगरी न्यायपालिका शुद्द हुनका लागी कानुन व्यवसायीहरु पनि शुद्द हुन जरुरी छ । मिडीयामा आएर “न्यायाधिश घूस खान्छन् हामी (वकिल) घूस खुवाउँछौ” भन्न सक्ने कानुन व्यवसायी कसरी अपराधबाट अछुत रहन सक्छ ? प्रधान न्यायाधिश नियुक्तीको समयमा नै निजको योग्यता र स्वच्छ छविको विषयमा संसदमा सुनुवाई हुने गर्दछ । आजको दिनमा प्रधान न्यायाधिशद्वारा बिगतमा भएका अनगिन्ति गतल फैसलाहरु (३६ मध्ये ३५ वटा भ्रष्टाचार मुद्दामा भएका विवादीत फैसलाहरु प्र.न्या. हुनुभन्दा अगाडी २०६२ माघ देखि २०६५ असोजसम्म उनि विशेष अदालतमा रहँदा गरेका थिए) लाई उनको राजीनामाको लागी प्रमाणको रुपमा अघि सार्ने बार एशोसिएसनले उनको नियुक्तिको समयमानै किन अघि सारेन ? पुर्व प्र.न्या. शुसिला कार्की माथी महाभियोग दर्ता गराए सँगै त्यसपछिका गोपाल प्रसाद पराजुली, दिपकराज जोशीको अपमानजनक बहिर्गमन भएको अवस्थाले अब भविष्यमा पनि प्रधान न्यायाधिशहरुले डर त्रासको बीचमा स्वतन्त्र पूवर्क काम गर्ने वातावरण गुमाउने अवस्था आउने त होईन ? विधायीकाले, बारले ब्यक्तिगत ईवि साध्न राजिनामा माग गर्ने परम्परा बस्ने त होईन ? भन्ने आशंकाबाट पनि न्यायप्रेमीहरु ग्रसीत छन् तर यो सम्भावीत समस्याको कुनै समाधान या जवाफ नभएको भने होईन । नेपाल बार एशोसिएसनले आफुलाई एउटा जिम्मेवार निकायको रुपमा साबित गर्नुपर्दछ । राज्यको हरेक अंगले जवाफदेहिता बेहोर्ने, नैतिक आचरण ननाघ्ने हो भने कुनै एउटा व्यक्ति वा संस्थालाई मन नपरेको भरमा प्र.न्या. को राजिनामा माग गर्नसक्ने अवस्था रहँदैन । नेपालीहरुमा जवाफदेहिताको कमी रहेको छ सबै क्षेत्रमा । विश्वको शक्तिसाली राष्ट्र बेलायतले हालसम्म अलिखित संविधानकै भरमा सुशासनको अनुपम नमूना देखाईरहेको छ । त्यो सबै उच्च नैतिक आचरण र जवाफदेहिताको देन हो ।

    न्यायाधिश नियुक्तिको प्रकृया पारदर्शी हुनु जरुरी छ । परिक्षा उतिर्ण गरेर मात्र न्यायाधिशको पदपूर्ती गर्ने व्यवस्था हुनु पर्दछ । प्र.न्या. नियुक्तिको समयमानै बडो गम्भीरतापूर्वक छानबीन गरी स्वचछ छवि भएका विवादरहित, दक्ष व्यक्तिलाई मात्र नियुक्ति दिईनुपर्दछ ।”


    कसैको निगाहमा पदमा पुगेका न्यायाधिशले आफुलाई निगाह गर्ने व्यक्ति र उनका सन्तान दरसन्तान सम्मलाई निगाह गर्नुपर्ने हुँदा न्याय सम्पादन गर्दा तटस्थ रहन असम्भव हुन्छ । त्यसैगरी करोडौ घुस रकम बुझाएर न्यायाधिश बन्नेले पनि आफ्नो लगानी उठाउन भ्रष्टाचार नगरी सुखै नहुने, साथै कार्यसम्पादन क्षमता पनि नहुने हुँदा यस्तो गलत नियुक्तिको प्रकृया नहट्दासम्म न्यायपालिका भित्रको भ्रष्टाचार अन्त्य हुन सक्दैन । तसर्थ न्यायाधिश नियुक्तिको प्रकृया पारदर्शी हुनु जरुरी छ । परिक्षा उतिर्ण गरेर मात्र न्यायाधिशको पदपूर्ती गर्ने व्यवस्था हुनु पर्दछ । प्र.न्या. नियुक्तिको समयमानै बडो गम्भीरतापूर्वक छानबीन गरी स्वचछ छवि भएका विवादरहित, दक्ष व्यक्तिलाई मात्र नियुक्ति दिईनुपर्दछ । जबसम्म राजनैतिक दलको झोला बोकेर हिड्ने र न्यायाधिश बन्नको लागी करोड करोड रुपैया झोलामा बुझाउने झोलेन्द्रहरुले न्यायाधिशको पदमा नियुक्ती पाउने परम्परा ताोडिदैन तबसम्म एकजना चोलेन्द्रले राजीनामा दिएर न्याय क्षेत्रको बिकृति बिसंगतीको अन्त्य हुँदैन ।
    अन्य विकशित मूलुकको त के कुरा बङ्गलादेश जस्तो बिकासोन्मुख मूलुकमा समेत न्याय सम्पादनलाई बलियो र विश्वासिलो बनाउन, फैसलालाई बाह्य प्रभाव र हस्तक्षेप रहित बनाउनको निम्ति न्यायमूर्तीहरुलाई कतिसम्म नैतिक घेराबन्दीमा राखिन्छ भने न्यायाधिशहरुको घर बासको बारेमा कुनै पनि कानुन व्यवसायीहरुलाई जानकारी हुँदैन र न्यायाधिश र वकिलहरुको बिचमा व्यक्तिगत सम्बन्ध सामिप्यता राख्न पाईदैन । आफ्नो घरको बिहे ब्रतबन्धको भोजमा सम्पूर्ण न्यायाधिशहरुलाई निम्तो दिने हाम्रा कानुन व्यवसायी मित्रहरुले कहिले सिक्ने न्यायलयलाई बेदाग बनाउन निम्ती योगदान दिन ?
    अहिलेको घटनाक्रममा प्रधान न्यायाधिशको राजिनामा माग ठिक हो या उनीमाथी महाभियोग ठिक हो भन्ने सम्बन्धमा आ–आफ्नो फरक फरक बिचारधारा हुन सक्ला तर त्यो बिचारधारा कसैको पनि व्यक्तिगत स्वार्थबाट प्रभावित हुनु भएन । प्रधान न्यायाधिशले राजीनामा दिदा कुन कुन कानुन व्यवसायीहरु र तिनका श्रीमती, भाइ, छोराहरुले न्यायाधिशमा नियुक्ती पाउने, राजीनामा नदिदा कसकसले न्यायाधिशमा नियुक्ती पाउने भन्ने निहीत स्वार्थ बोकेर कानुन व्यवसायीहरुबीच घृणित लडाई हुनु भएन ।
    बार र बेञ्चबिचको राजिनामा कि महाभियोग भन्ने लडाईमा न्याय माग गर्दै बर्षैदेखि सर्वोच्च अदालत धाईरहेका सेवाग्रही पिल्सीरहेको छन् । यस्तो अवस्थामा कमसेम राजिनामा माग गर्ने सर्वोच्चका अन्य न्यायाधिशहरुले प्र.न्या. संगको बेञ्च मात्र बहिष्कार गरेर अन्य बेञ्चलाई सुचारु गरेमा सेवाग्रहीलाई धेरै राहत मिल्नेछ ।

  • न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

    न्यायालय विवादबारे गठबन्धनको साझा धारणा आउँछ : प्रचण्ड

    भोजपुर । न्यायालयमा चर्किएको विवादबारे सत्तारुढ गठबन्धनको साझा धारणा आउने नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले बताएका छन् । अहिले प्रधानन्यायाधीशको राजिनामा गर्दै वकिलहरु आन्दोलनमा छन् । यस विषयमा पाँच दलीय गठबन्धनको साझा धारणा आउने प्रचण्डले जानकारी गराए । माओवादी केन्द्र भोजपुरले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा दाहालले ‘न्यायलय जस्तो स्वतन्त्र र गरिमामय संस्था विवादमा मुछिनु राम्रो नभएको समेत बताए ।

    सर्वोच्च अदालत भित्रको विवाद त्यहीँ भित्रबाटै मिलाउन सके राम्रो हुने भन्दै उनले यस विषयमा साझा धारणा छिट्टै बाहिर ल्याइने समेत बताए । संघीयता, धर्मनिरपेक्षता, गणतन्त्र विरोधी तथा प्रतिगामी तत्वले राजनीतिक व्यवस्था उल्ट्याउन कोसिस गरिरहेको र त्यसका लागि कहिले संसद र कहिले न्यायालयबाट प्रयास भइरहेको उनको भनाई छ ।

    जनताको चेतना र राजनीतिक नेतृत्वको विवेकका कारण यस्ता तत्व सफल हुन नसकेको उनले बताए । प्रतिगामी षड्यन्त्रमा नेकपा एमालेका नेता केपी शर्मा ओली, राजावादी र विदेशी शक्तिसँग मिलेको आरोप उनले लगाए ।

  • प्रधानन्यायाधीशलाई सर्वोच्च मै प्रवेश रोक्ने बारको तयारी

    प्रधानन्यायाधीशलाई सर्वोच्च मै प्रवेश रोक्ने बारको तयारी

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्ध आन्दोलन उत्कर्षमा छ । बिहीबार प्रहरीसँग झडप भएसँगै आज नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई सर्वोच्च अदालत परिसरमा प्रवेश नै नदिने गरि आन्दोलनको तयारी गरिएको छ । बिहान १० बजेबाट आन्दोलन शुरु गर्ने र राणालाई प्रवेश मै रोक लगाउने तयारी कानून व्यवसायीले गरेका हुन् । नेपाल बार एसोसिएशनको आयोजनामा आन्दोलन भइरहेको छ । कानून व्यवसायीले प्रधानन्यायाधीशको राजिनामा माग गरिरहेका छन् ।

    बारका महासचिव लिलामणि पौडेलले विज्ञप्ति निकाल्दै सबै कानुन व्यवसायीलाई बिहान साढे ९ बजे नै नेपाल बार एसोसिएशनमा उपस्थित हुन भनेका छन् । प्रधानन्यायाधीशको विरोधमा थप कठोर कदम चाल्न बाध्य हुने बारको चेतावनी छ । सर्वोच्च अदालतका सम्पूर्ण बेन्चमा कुनै पनि मुद्दामा बहस पैरवी नगर्न, बेन्च बहिष्कार गर्न र न्यायाधीशलाई समेत प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले तोक्ने वा तोकेका इजलासमा नबस्न बारले भनेको छ ।

  • हिंस्रक बन्यो प्रधानन्यायाधीश विरुद्धको वकिलको आन्दोलन

    हिंस्रक बन्यो प्रधानन्यायाधीश विरुद्धको वकिलको आन्दोलन

    काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाको राजीनामा माग गरि जारी वकिलहरुको आन्दोलन हिंस्रक बनेको छ । बिहीबार सर्वोच्च अदालत परिसरमा कानुन व्यवसायी र प्रहरीबीच धकेला धकेल भएको छ । जसमा आधा दर्जन व्यक्ति घाइते भएका छन् । वकिलहरुलाई प्रहरीले रोक्ने प्रयास गरेपछि दुई पक्षबीच झडप भएको थियो । आन्दोलन नेपाल बार एशोसिएशनको आयोजनामा भइरहेको छ ।

    माइक राखेर सर्वोच्चमै नाराबाजी शुरु भएसँगै प्रहरीले हस्तक्षेप गरेको थियो । सोही क्रममा झडप भएको हो । सर्वोच्चमा पछि सशस्त्र प्रंहरी समेत खटाइएको थियो । प्रधानन्यायाधीश जबरामाथि राजीनामाको तिव्र दताव छ । तर, उनी टसमस गरेका छैनन् । न्यायालयमा राजनीतिक भागबण्डा खोजेको आरोप लागेपछि उनीविरुद्ध आन्दोलन शुरु भएको हो ।

  • बङ्गलादेशका पूर्व प्रधानन्यायाधीशमाथि ११ वर्षको जेल सजाय सुनाइयो

    बङ्गलादेशका पूर्व प्रधानन्यायाधीशमाथि ११ वर्षको जेल सजाय सुनाइयो

    ढाका । बङ्गलादेशका पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हामाथि ११ वर्षको जेल सजाय सुनाइएको छ । राजधानी ढाकास्थित एक विशेष अदालतले उनीमाथि ११ वर्षको जेल सजाय सुनाएको हो । बीबीसीका अनुसार ठगी र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगहरूमा उनलाई क्रमशः चार र सात वर्षको सजाय सुनाइएको हो। उनले यी दुई मुद्दाको छुट्टाछुट्टै सजाय भोग्नु पर्नेछ।

    ढाकाको विशेष अदालतका एक न्यायाधीश शेख नजमुल आलमले उक्त फैसला सुनाएका थिए। पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हा र अन्य सात जनालाई नक्कली कागजात प्रयोग गरेर पहिले फार्मर्स ब्याङ्क भनिने हाल पद्मा नाम रहेको ब्याङ्कबाट चार करोड टाका रकम हिनामिना गर्न संलग्न रहेको ठहर गरिएको छ।

    उक्त रकम सिन्हाको बैङ्क खातामा जम्मा गरिएको र अवैध रूपमा विदेश पठाइएको थियो। पूर्व प्रधानन्यायाधीश सुरेन्द्रकुमार सिन्हासहित ११ जना अभियुक्तमध्ये ८ जनालाई फरक-फरक सजाय सुनाइएको छ। बाँकी दुई आरोपीलाई भने रिहा गरिएको छ। यसअघि ज्यानुअरी ५, २०२० मा ढाकास्थित एक अदालतले उनीहरूविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो।

    सन् २०१६ मा एसके सिन्हाले सरकारसँगको कडा मतभेतका माझ छुट्टीमा विदेश गएर त्यतैबाट राजीनामा पठाएका थिए। पहिले संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने उनी पछि क्यानडा सरेका बताइएको छ। विदेशमा रहँदा उनले आफ्नो जीवन र काममा आधारित अ ब्रोकन ड्रीम नामक पुस्तक लेखेका थिए र उक्त पुस्तकले निकै विवाद निम्त्याएको समेत बीबीसीले लेखेको छ ।

  • विवेकशील साझा पार्टी विवाद, आयोगले मिश्र समूहलाई दियो बैधता

    विवेकशील साझा पार्टी विवाद, आयोगले मिश्र समूहलाई दियो बैधता

    काठमाडौं । निर्वाचन आयोगले विवेकशील साझा पार्टीको वैधाता अध्यक्ष रवीन्द्र मिश्र समूहलाई दिएको छ । मिश्रको नेतृत्वमा बसेको केन्द्रीय समितिको बैठकले विधान संशोधन गर्दै केन्द्रीय समिति १२४ सदस्यीय कायम गरेको थियो । त्यसअनुसार विवरण अध्यावधिक गर्न पठाएको पत्रलाई आयोगले स्वीकार गरेको हो । विवेकशील साझा पार्टीको संशोधित विधानमा संयोजक मिलन पाण्डेको अधिकार खोसिएको छ ।

    अब पार्टीले संघीयता खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रहको पक्षमा वकलात गर्ने भएको छ । विवेकशील र साझा पार्टीबीच एकता गर्दा बनेको विधानमा केन्द्रीय समितिको बैठक अध्यक्ष मिश्र र संयोजक पाण्डेको सहमतिमा मात्र बस्ने उल्लेख थियो । संशोधित विधानमा बैठक बोलाउने अधिकार अध्यक्षलाई मात्र दिइएको छ ।

    राजीनामा दिएका ५ जना, मृत्यु भएका एक जनालाई हटाएर केन्द्रीय समिति सदस्य १२४ सदस्यीय बनाइएको छ । आयोगले त्यसलाई पनि स्वीकार गरेको छ । अब विवेकशील साझा पार्टीमा मिश्र पक्ष आधिकारिक भएको हो । उता, फरक मत राख्दै आएका संयोजक पाण्डेले भने आयोगविरुद्ध अदालत जाने बताएका छन् ।

  • न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई

    न्यायालय विवादबारे प्रधानमन्त्री मौन, गठबन्धन चुनावसम्म जाने भनाई

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा जलवायु परिवर्तन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन (कोप-२६) मा भाग लिएर नेपाल फर्किएका छन् । बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले पाँच दलीय सत्ता गठबन्धन आगामी चुनावसम्म कायम रहने बताए । उनले भने, ‘गठबन्धन पुरै समयसम्म रहन्छ, कुनै किसिमको शंका नगर्नु भए हुन्छ ।’

    तर, उनी न्यायालयमा जारी विवादका सम्बन्धमा भने मौन बसे । सत्तारुढ दलका नेताहरुले प्रधानमन्त्री फर्किएपछि यसबारे धारणा बनाउने बताइरहेका बेला देउवाले भने सार्वजनिक कार्यक्रममा यसबारे टिप्पणी गरेनन् । प्रधानमन्त्रीलाई विमानस्थलमा मन्त्रीहरुले स्वागत गरेका थिए । प्रधानमन्त्रीको साथमा वातावरणमन्त्री बाहेक अन्य प्रतिनिधि स्वदेश फर्किएका छन् ।

  • एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने

    एमालेले महाधिवेशनमा माधव नेपालको बाहेक अन्य सबै पार्टीलाई निम्ता दिने

    काठमाडौं । एमाले पार्टी निर्माणमा आफ्नो जिवनको महत्वपूर्ण समय खर्च गरेका नेता माधव कुमार नेपालको पार्टीबाहेक अन्य सबै पार्टीलाई एमालेले महाधिवेशन उद्घाटन समारोहमा निम्दा दिने भएको छ । दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटनमा विदेशी पाहुनालाई समेत निमन्त्रणा दिइएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा मैत्रीपूर्ण सम्बन्ध रहेका पार्टी र दक्षिण एसियाका सत्तारुढ एवं विपक्षी दलका प्रतिनिधिलाई आमन्त्रण गरेको पार्टीको प्रचार विभागले जनाएको छ ।

    आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने सो महाधिवेशनको पूर्वसन्ध्यामा आज एमाले केन्द्रीय प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा विभागका प्रमुख योगेश भट्टराईले यस्तो जानकारी गराए । तर, माधव कुमार नेपालको पार्टीलाई भने निम्ता नदिने उनको भनाई छ ।

    विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदन र विधान संशोधन प्रस्ताव सर्वसम्मतरुपमा पारित गरेकाले पार्टीलाई महाधिवेशनले थप एकताबद्ध र सुदृढ बनाउने भट्टराईले बताए । नेकपा एकीकृत समाजवादी पहिचान स्थापित भइनसकेको पार्टी भएकाले त्यसलाई आमन्त्रण गरिरहनुनपर्ने उनको भनाई छ । नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गरिने भएको छ ।

    विधान महाधिवेशनले पारित गरेको नयाँ विधानको व्यवस्था अनुसार दशौँ राष्ट्रिय महाधिवेशनले अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव गरी १५ जना पदाधिकारीसहितको २२५ सदस्यीय केन्द्रीय कमिटी निर्वाचित गर्नेछ । एक तिहाई महिलासहित नेपालको सामाजिक र वर्गीय विविधताको प्रतिनिधित्व हुने गरी केन्द्रीय कमिटी समावेशी हुनेछ ।

  • प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही

    प्रदेश १ मा राइले लिए सपथ, कर्णालीमा शाही

    काठमाडौं । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । नेकपा एमालेबाट फुटेको नेकपा एकीकृत समाजवादी संसदीय दलको नेता राईलाई गठबन्धनको तर्फबाट मुख्यमन्त्री पदमा नियुक्त गर्न प्रस्ताव गरिएको थियो ।

    ४९ जना सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी गरेका राईलाई प्रदेश प्रमुख ‘प्यासी’ले नियुक्त गरेका थिए । मुख्यमन्त्री राईले गठबन्धन दलहरुमध्ये नेपाली काँग्रेसबाट २ र बाँकी दलबाट १÷१ जनालाई समेटेर ६ सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् ।

    मुख्यमन्त्री राईले नेपाली काँग्रेस संसदीय दलका उपनेता हिमाल कार्कीलाई भौतिक पूर्वाधार विकास मन्त्री, नेकपा माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलाई आर्थिक मामिला तथा योजना मन्त्री, नेपाली काँग्रेसका प्रमुख सचेतक रहेका केदार कार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्री, जनता समाजवादी पार्टी नेपाल संसदीय दलका नेता जयराम यादवलाई सामाजिक विकास मन्त्री र संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेता बिष्णुमाया तुम्बाहाम्फेलाई सामाजिक विकास राज्यमन्त्रीमा नियुक्त गरे ।

    उता, कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाहीको दाबी गरको छन् । मंगलबार प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनी समक्ष काँग्रेस नेता शाहीले २१ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् ।

    मुख्यमन्त्रीमा शाहीलाई माओवादी केन्द्रसहित नेकपा (एकिकृत समाजबादी) पार्टीको समर्थन रहेको छ । दाबी पत्रमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका छ र समाजबादीका तीन जना गरी २१ जनाको हस्ताक्षर छ ।

  • गठबन्धनको सहमती अनुसार कर्णालीका मूख्यमन्त्री महेन्द्र शाहीले दिए राजिनामा

    गठबन्धनको सहमती अनुसार कर्णालीका मूख्यमन्त्री महेन्द्र शाहीले दिए राजिनामा

    सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा गरेका छन् । मूख्यमन्त्रीका रुपमा २०७४ सालमा प्रदेशसभा निर्वाचनपछि नियुक्त भएका उनले ३ वर्ष ८ महिना सरकार चलाए । यसबीचमा उनले एक पटक विश्वासको मतको समेत सामना गरेका थिए । जसमा उनी सफल भए । तत्कालिन एमालेका सांसदले फ्लोर क्रस गरेपछि उनको सत्ता जोगिएको थियो । ती सांसद अहिले नेकपा एकीकृत समाजवादीमा छन् ।

    नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलगायतका दलको गठबन्धनको सहमति बमोजिम उनले मुख्यमन्त्री पदबाट राजीनामा गरेका हुन् । गठबन्धनको सहमती अनुसार अब मुख्यमन्त्री पद नेपाली कांग्रेसले पाएको छ । नेपाली कांग्रेस संसदीय दलका नेता जीवन बहादुर शाही यो पदका लागि आकंक्षी हुन् ।

    राजिनामा दिनु अगाडी मूख्यमन्त्री शाहीले सोमबार कर्णालीबासीका नाममा सम्बोधन गरे । जसमा उनले आजसम्म भएका कामको विवरण प्रस्तुत गरेका छन् । उनले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफूले राजीनामा दिएको बताएका छन् ।

    दलहरुबीच भएको सहमति अनुसार नयाँ सरकारका गठनका लागि मार्गप्रशस्त गरेर इमानको राजनीति गरेको समेत उनको भनाई छ । अनुभवका हिसावले आफु किशोर भए पनि कामका हिसावले युवा भएर काम गरेको उनको दावि छ ।

  • प्रदेश १ का मूख्यमन्त्री आचार्यले दिए राजिनामा, राईले पेश गरे दावी

    प्रदेश १ का मूख्यमन्त्री आचार्यले दिए राजिनामा, राईले पेश गरे दावी

    विराटनगर । प्रदेश १ को मूख्यमन्त्री पदमा नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राईले दावी पेश गरेका छन् । उनले ४९ सासदको हस्ताक्षरसहित मूख्यमन्त्री पदमा दावि पेश गरेका हुन् । यसअघि मूख्यमन्त्री आचार्यले आजै राजिनामा दिएका थिए । उनी अल्पमतमा परेसँगै राजिनामा गरेका हुन् । यससँगै अब सबै प्रदेशबाट समेत एमाले भने सत्ताच्यूत भएको छ ।

    आचार्यको राजिनामा पछि प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले सरकार गठनको आह्वान गरेका थिए । राईलाई एकीकृत समाजवादीसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदको समर्थन रहेको छ । प्रदेश १ मा सरकार गठन गर्न ४७ सांसदको हस्ताक्षर चाहिन्छ । गठबन्धनले सरकारको नेतृत्वमा दाबी पेस गरेपछि मंगलबार दिउँसो शपथग्रहण गराउने कार्यक्रम छ ।

  • प्रदेश १ मा भीम आचार्यले राजिनामा देलान की विश्वासको मतको सामना ?

    प्रदेश १ मा भीम आचार्यले राजिनामा देलान की विश्वासको मतको सामना ?

    विराटनगर । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीको बर्हिगमनसँगै बाँकी रहेको एक मात्र प्रदेश सरकार समेत आजबाट एमालेको हातबाट खोसिँदैछ । विपक्षी गठबन्धनले मूख्य मन्त्री भीम आचार्यको विपक्षमा मत हाल्ने निर्णय गरेका कारण उनको पद धरापमा परेको हो । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले सोमबार बस्ने प्रदेशसभाको बैठकबाट विश्वासको मत लिैदैछन् । साढे १२ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले पेस गरेको विश्वासको मत सम्बन्धी प्रस्तावमाथि छलफलपछि आजै मत विभाजन गर्ने कार्यसूची राखिएको छ ।

    यद्दपी मत विभाजनमा जानु अगाडी नै आचार्यले राजिनामा दिन सक्ने सम्भावना पनि छ । उनी अल्पमतमा परेका छन् । ९२ प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा विश्वासको मत पाउन ४७ मत चाहिन्छ । विपक्षी गठबन्धनमा ५० मत छ । सत्तारुढ दल एमालेमा सभामुखसहित ४१ जना मात्र छन् । यसअघि बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्यले विश्वासको मतको सामना नगरी राजिनामा गरेकी थिइन् । आचार्यले विश्वासको मत नपाए वा राजीनामा दिएमा प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आहृवान गर्नेछन् ।

  • राजीनामा दिन प्रधानन्यायाधीशलाई नेपाल बारको ५ दिने अल्टिमेटम

    राजीनामा दिन प्रधानन्यायाधीशलाई नेपाल बारको ५ दिने अल्टिमेटम

    काठमाडौं । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन पाँच दिनको समयसीमा दिएको छ । प्रधानन्यायाधीश जबराको राजीनामा मागिसकेको बारले शुक्रवार कार्यसमितिको बैठक बसी आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । साथै ५ दिन भित्र राजीनामा गरिसक्न समेत अल्टिमेटम दिएको छ ।

    आइतवारदेखि बुधवारसम्म बिहान १० देखि ११ बजेसम्म कालो पट्टी बाँधेर सर्वोच्चमा विरोध कार्यक्रम गर्ने गरि आन्दोलन घोषणा भएको छ । १६ गते बारको प्राङ्गणमा धर्ना तथा विरोध सभा गर्ने बारको निर्णय छ । बारले प्रधानन्यायाधीश जबरालाई इजलासमा नबस्न माग गरेको छ । बारले तय गरेका कार्यक्रम अवधिभर पनि राजीनामा नआएमा थप विरोधका कार्यक्रम सार्वजनिक गर्ने बारका महासचिव लीलामणि पौडेलले जानकारी दिए ।

  • एमाले महाधिवेशनमा १५३६ जना प्रतिनिधी सहभागी हुने

    एमाले महाधिवेशनमा १५३६ जना प्रतिनिधी सहभागी हुने

    काठमाडौं । नेकपा (एमाले)को १०औं महाधिवेशनमा १५ सय ३६ जना प्रतिनिधि सहभागी हुने निर्णय पार्टीले गरेको छ । एमाले स्थायी कमिटीको बिहीबार बसेको बैठकले चितवनमा मंसिर १० देखि १२ गतेसम्म आयोजना हुने महाधिवेशनमा १५ सय ३६ प्रतिनिधि सहभागी गराउने पार्टी प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

    शुक्रबार बस्ने केन्द्रीय कमिटी बैठकका लागि प्रस्ताव तयार पार्न बसेको स्थायी कमिटीले महाधिवेशनमा उक्त संख्यामा प्रतिनिधि सहभागी गराउने निर्णय गरेको हो । प्रस्ताव केन्द्रीय कमिटीले पारित गरेपछि कार्यान्वयन हुनेछ । एमालेमा ७ लाख २१ हजार पार्टी सदस्य छन् । उनीहरूमध्येबाट महाधिवेशन प्रतिनिधि चयन गरिने भएको छ ।

    १०औं राष्ट्रिय महाधिवेशनमा पार्टीको भूगोल कमिटीबाट ११ सय ९६ प्रतिनिधि निर्वाचित भएर आउने छन् । प्रत्येक निर्वाचन क्षेत्रबाट कम्तिमा ३ जना समावेशी रूपमा चयन हुनेछन् । महाधिवेशनको तयारीका बारेमा निर्णय लिनका लागि एमालेको केन्द्रीय कमिटी बैठक शुक्रबार बोलाइएको छ ।

  • राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा आज नयाँ सरकार

    राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा आज नयाँ सरकार

    काठमाडौं । एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेको नेतृत्वमा बागमती प्रदेशमा आज नयाँ सरकार गठन हुने भएको छ । एमालेको सरकार ढलेसँगै बागमती प्रदेशको मुख्यमन्त्रीमा आज पाण्डे नियुक्त हुदैछन् । पाण्डेले आजै मन्त्रिपरिषद् गठनको समेत तयारी गरेका छन् । उनी विपक्षी गठबन्धनको तर्फबाट मूख्यमन्त्री बन्न लागेका हुन् । नेकपा एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेसँगै बुधबार राजीनामा गरेकी थिइन् । कांग्रेस, माओवादी र जसपाका गरी ५९ सांसदको समर्थन पाण्डेलाई छ । उनले आजै सथप लिने र पदभार ग्रहण गर्ने कार्यक्रम समेत राख्ने तयारी छ ।

  • बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावि पेश

    बागमती प्रदेशको नयाँ मुख्यमन्त्रीमा राजेन्द्र पाण्डेको दावि पेश

    हेटौडा । नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेले बागमती प्रदेशको मूख्यमन्त्रीमा दावी पेश गरेका छन्। बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिहीबार अपरान्ह ३ बजेभित्र मुख्यमन्त्रीका लागि दावी पेश गर्न बुधबार आह्वान गरेलगत्तै पाण्डले विपक्षी गठबन्धनको तर्फबाट दावि पेश गरेका हुन् ।

    पाण्डेलाई विपक्षी गठबन्धनले भावी मुख्यमन्त्रीमा अगाडि सारेका थिए। पाण्डेले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जसपा सांसदसहित ५९ जनाको हस्ताक्षर पेश गर्दै मुख्यमन्त्री पदमा दावी गरेका हुन्। बागमतीमा बहुमत पुर्‍याउन ५५ सांसदको मत चाहिन्छ । नेकपा एमालेकी उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले आजै राजीनामा गर्दै मार्ग प्रशस्त गरेकी थिइन । उनको राजीनामा स्वीकृत गरेका प्रदेश प्रमुखले दुई वा दुईभन्दा बढी दलबाट मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गरेका हुन् ।

  • कांग्रेसको महाधिवेशन मंसिर २७ बाट गर्न प्रस्ताव

    कांग्रेसको महाधिवेशन मंसिर २७ बाट गर्न प्रस्ताव

    काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन २७ मंसिरबाट शुरु गर्न निर्वाचन समितिले प्रस्ताव गरेको छ । पार्टीको १४ औं महाधिवेशनको मिति पटक पटक सार्दा पार्टीको आलोचना भइरहेको छ । निर्वाचन समितिको बुधबार बसेको बैठकले रोकिएको वडा अधिवेशन कात्तिक २७ गतेबाट सुरु गर्ने निर्णय गरेको हो । प्रदेश अधिवेशन मंसिर १६ र १७ मा गर्ने र केन्द्रीय महाधिवेशन २७ देखि २९ सम्म गर्न प्रस्ताव गरिएको हो । निर्वाचन समितिले पार्टी नेतृत्वलाई यो मिति प्रस्ताव गरेको हो । पार्टीको पदाधिकारी बैठकले मिति तोक्ने छ ।

  • बागमती प्रदेशमा मूख्यमन्त्रीको टुंगो आज

    बागमती प्रदेशमा मूख्यमन्त्रीको टुंगो आज

    हेटौडा । बागमती प्रदेशमा मूख्यमन्त्रीको टुंगो बुधबार लाग्ने भएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि आज मतदान हुँदै छ । त्यसका लागि आज दिउँसो १ बजे बागमती प्रदेशसभा बैठक बोलाइएको छ । गत बिहीबार प्रदेशसभा बैठकमा विश्वासको मतमा छलफल भएको थियो । त्यसपछि प्रदेशसभा सचिवालयले बुधबार दिउँसो बस्ने बैठकमा मतदान गर्ने कार्यतालिका बनाएको हो । बागमती प्रदेशको मुख्यमन्त्री बनेको एक सातामै शाक्य अल्पमतमा परेकी थिइन् । त्यसपछि गत असोज २४ गते विश्वासको मत प्राप्त गर्ने प्रस्ताव उनले प्रदेशसभामा पेश गरेकी हुन् ।

    बागमती प्रदेशमा हाल १०९ प्रदेशसभा सदस्य कायम छन् । बहुमतका लागि ५५ सदस्य आवश्यक पर्छ । बागमती प्रदेशमा हाल एमालेका ४३, माओवादी केन्द्रका २३ जना, कांग्रेसका २२ जना, एकीकृत समाजवादीका १३ जना, विवेकशील साझा पार्टीका तीन जना प्रदेशसभा सदस्य छन् । यसैगरी नेमकिपा र राप्रपाका दुई(दुई जना तथा जनता समाजवादी पार्टी नेपालका एक जना प्रदेश सभा सदस्य छन् ।

  • परमादेश दिने पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्छ : ओली

    परमादेश दिने पाँचै जना न्यायाधीसले राजीनामा दिनुपर्छ : ओली

    काठमाडौं । न्यायालयमा विवाद चर्किरहेका बेला नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले परमादेश दिने सर्वोच्च अदालतका पाँचै जना न्यायाधीशले राजीनामा दिनुपर्ने बताएका छन्। एमालेको पालिका अधिवेशनलाई भर्चुअल रूपमा मंगलबार सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले परमादेशबाट सरकार बनेपछि अदालतमा पनि समस्या देखिएको दावि गरे । उता, ओलीलाई भने अदालतमा राजनीति छिराएको आरोप लाग्ने गरेको छ ।

    खासगरी संवैधानिक निकायमा गरिएका नियुक्तीमा उनले प्रधानन्यायाधीशलाई पनि भाग छुट्याएको आरोप लाग्दै आएको छ । उनले एक जनाले मात्र नभई परमादेश दिने सबैले राजीनामा दिनुपर्ने बताए । सरकारमा भाग खोजेको भन्दै प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणाले राजीनामा दिनुपर्ने माग उठेको समयमा उनले यस्तो बताएका हुन् ।

  • न्यायालयमा विवाद, आज पनि सर्वोच्चमा भएन मुद्दाको सुनुवाई

    न्यायालयमा विवाद, आज पनि सर्वोच्चमा भएन मुद्दाको सुनुवाई

    काठमाडौं । न्यायालयमा चुलिएको विवादले न्यायका सेवाग्राही नराम्रोसँग प्रभावित बनेका छन् । प्रधानन्यायाधीश र न्यायाधीशबीचको विवादले मंगलबार पनि सर्वोच्च अदालतमा इजलास बस्न सकेन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले मंगलबार ७ वटा संयुक्त र एउटा एकल इजलास तोकेका थिए । तर ती कुनै पनि इजलासमा मुद्दा सुनुवाइ हुन नसकेको हो । यसरी इजलास अवरुद्ध भएको लगातार दोस्रो दिन हो । मंगलबार प्रधानन्यायाधीश जबरासँग भेटेका सर्वोच्च अदालतका न्यायाधीशहरुले उनलाई राजीनामा दिन आग्रह गरेका थिए । तर प्रधानन्यायाधीश जबराले आफूले सडकमा माग गरिएको भरमा राजीनामा नदिने जवाफ दिएका छन् । सर्वोच्चका न्यायाधीशहरु पुनः छलफलमा बसेका थिए । पछिल्लो छलफलले पनि प्रधानन्यायाधीश जबराले राजीनामा दिनुपर्छ भन्ने निश्कर्ष निकालेको छ ।