Category: कानुनी कुरा

  • पूर्वप्रधानन्यायाधीशले प्रन्या राणालाई भने : राजिनामा दिनुहोस

    पूर्वप्रधानन्यायाधीशले प्रन्या राणालाई भने : राजिनामा दिनुहोस

    काठमाडौं । चार पूर्वप्रधानन्यायाधीशले न्यायालयमा विद्यमान विवादका कारण प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले राजिनामा दिनुपर्ने बताएका छन् । अहिलेको समस्या रााणाकै कारण सिर्जना गरेको भन्दै उनलाई बहिर्गमन गर्ने आँट देखाउन उनीहरुले आग्रह गरेका छन् । चार पूर्वप्रधानन्यायाधीशहरू मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै यस्तो भनेका हुन् । विज्ञप्तिमा प्रधानायायाधीश राणा र न्यायालयभित्र भएको विवादमा ध्यानाकर्षण भएको भन्दै उनीहरूले राणालाई बहिर्गमनको सुझाव दिएका छन् ।

    न्यायपालिका समक्ष उपस्थित चुनौतीहरूको माझमा न्यायपालिकाको स्वार्थलाई आफ्नो स्वार्थभन्दा माथि राखेर बहिर्गमन गर्ने आँट देखाउन सम्बन्धित न्यायिक नेतृत्वलाई आह्वान गर्ने उनीहरुको भनाई छ । मन्त्रिपरिषद विवादमा भागवण्डा खोजेको बाहिरिएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा विवादमा तानिएका हुन् । १४ न्यायाधीशले फुलकोर्ट बहिस्कारको निर्णय गरेका छन् । नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनले समेत प्रधानन्यायाधीश जबराको राजीनामा मागेका छन् ।

  • प्रदेश १ का मूख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत माग्दै

    प्रदेश १ का मूख्यमन्त्री भीम आचार्यले आज विश्वासको मत माग्दै

    विराटनगर । प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले आज विश्वासको मतका लागि प्रस्ताव गर्ने भएका छन् । प्रदेशसभा बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकमा आचार्यले विश्वासको मत माग्ने भएका हुन् । प्रस्तावमा शुक्रबार नै मतदान हुने सम्भावना भने कम रहेको नेताहरुले बताएका छन् । सोहीकारण विपक्षी दलले भने एमालेले सत्ता लम्ब्याउन चाहेको आरोप लगाएका छन् । यता, सत्तारुढ दलले भने दसैँ मनाउन गएका प्रदेशसभा सदस्य विराटनगर नफर्किएकाले प्रस्ताव आज टेबुल मात्र हुने बताएका छन् ।

    मुख्यमन्त्री आचार्यले विश्वासको मतका लागि असोज २५ गते संसद् सचिवालयमा सूचना दर्ता गराएका थिए । त्यसपछि संसद बैठक स्थगित गराईएको थियो । दल विभाजन भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोहीकारण आचार्यले विश्वासको मतको सामना गर्नुपर्नेछ । उनी भदौ १० मा मुख्यमन्त्री बनेका थिए ।

    संसदको बहुमतबाट विश्वासको मत पारित नभए मुख्यमन्त्री पदमुक्त हुनेछन् । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि कम्तीमा ४७ मत आवश्यक छ । तर एमालेसँग मात्र ४१ मत छ । उता, विपक्षी गठबन्धनसँग भने कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा एकीकृत समाजवादीका १०, जसपाका ३ र संघीय लोकतान्त्रिक मञ्चका १ गरी ५० सांसद् छन् ।

  • उद्योगमन्त्री हमालले राजिनामा दिने

    उद्योगमन्त्री हमालले राजिनामा दिने

    काठमाडौं । आफ्नो मन्त्री पद नियुक्तीमा व्यापक विरोध भएपछि सरकारका नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले राजीनामा दिने घोषणा गरेका छन् । नेपाली संचारमाध्यमले उनी प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको कोटाबाट मन्त्री बनेको आरोप लगाएका थिए । यद्दपी नेताहरुले यसले खण्डन गर्दै आएको थिए । हमालले भने आइतबार प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाउने तयारी गरेको स्थानीय संचारमाध्यमले लेखेका छन् । आफुले स्वविवेक प्रयोग गरि राजिनामा दिन लागेको उनको भनाई छ । नाताले प्रधानन्यायाधीष जबराका जेठान पर्ने उनलेआफु विवादमा आउन नचाहेको समेत बताएका छन् ।

  • आज मन्त्रिमण्डल बिस्तार गरि सपथ खुवाउने तयारी

    आज मन्त्रिमण्डल बिस्तार गरि सपथ खुवाउने तयारी

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने भएका छन् । बिहीबार सत्तारुढ दलहरुबीच भागबण्डाको अन्तिम सहमति जुटेसँगै आज उनले मन्त्रिपरिषद्लाई पूर्णता लिन लागेका हुन् । सत्ता गठबन्धनका दलले आजै मन्त्री बन्नेको नाम प्रधानमन्त्रीलाई बुझाउने छन् । नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्री बन्नेको नाम टुंगो लगाउन बाँकि छ ।

    नेकपा माओवादी केन्द्रले बुधबारै मन्त्री बन्नेको नाम टुंगो लगाइसकेको छ । सहमतिअनुसार सरकारको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले रक्षा, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, युवा तथा खेलकुद, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय लिने छ । कांग्रेसले यसअघि नै गृह, कानुन र परराष्ट्रय मन्त्रालय लिइसकेको छ ।

    ऊर्जा र अर्थ मन्त्रालय लिइसकेको नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, शिक्षा विज्ञान तथा प्रविधि र खानेपानी मन्त्रालय पाउने छ । माओवादीबाट अब सरकारमा देवेन्द्र पौडेल, शशी श्रेष्ठ र महेश्वर गहतराजलाई मन्त्री र बोधमाया यादवलाई राज्यमन्त्री बन्ने छन् ।

    माओवादीका जनार्दन शर्मा अर्थमन्त्री र पम्फा भुसाल ऊर्जामन्त्री छन् । नेकपा एकीकृत समाजवादीले स्वास्थ्य तथा जनसंख्या, शहरी विकास, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र श्रम तथा रोजगार मन्त्रालय पाउने छ । जसपाले भौतिक पूर्वाधार तथा यातायात, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र कृषि तथा पशुपक्षी मन्त्रालय पाएको छ ।

  • एकिकृत समाजवादीले बागमती र प्रदेश नं १ को मूख्यमन्त्री पाउने

    एकिकृत समाजवादीले बागमती र प्रदेश नं १ को मूख्यमन्त्री पाउने

    काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले दुइ वटा प्रदेशको मुख्यमन्त्री पद पाउने भएको छ। अहिले एमालेले नेतृत्व गरिरहेको प्रदे्श नं १ र बागमती प्रदेशको सरकार ढालेर त्यसको ठाउँमा अब एकिकृत समाजवादी पार्टीको मूख्यमन्त्री बन्ने भएका छन् । सत्तारुढ दलको बैठकले यस्तो निर्णय गरेको हो । पार्टीको बिहीबार बरेको स्थायी कमिटी बैठकमा अध्यक्ष माधव कुमार नेपालले यस्तो जानकारी गराएका हुन् ।

    बागमती प्रदेश र प्रदेश १ मा एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने सहमति गठबन्धन बैठकमा भएको माधव नेपालले स्थायी कमिटी बैठकमा ब्रिफिङ गरेका हुन् । कानुन मन्त्रालय कांग्रेसले राखेर त्यसको साटो स्वास्थ्य मन्त्रालय समेत समाजवादी पार्टीले पाउने उनले बताएका छन् । पार्टीको बैठकले मन्त्री छान्ने जिम्मा भने शीर्ष नेतालाई दिएको छ । माधव कुमार नेपाल, झलनाथ खनालसहित उच्च नेता रहेको सचिवालयले मन्त्री छनोट गरि प्रधानमन्त्री शेरबहादुर देउवालाई दिने छ ।

  • दलहरुबीच मन्त्रालय बाडफाँटको टुंगो, कसले कति पाउने ?

    दलहरुबीच मन्त्रालय बाडफाँटको टुंगो, कसले कति पाउने ?

    काठमाडौं । सत्तारुढ दलबीच मन्त्रालय भागबण्डा टुंगिएको नेताहरुले जनाएका छन् । मंगलबार बिहान सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको छलफलमा मन्त्रालय भागबण्डा टुंगिएको बताइएको छ । बुधबार भागबण्डा अनुसार कुन–कुन मन्त्रालयमा कसलाई दिने भन्ने बारे अन्तिम रुप दिने र बिहीबार घटस्थापनाका दिन मन्त्रिपरिषद् विस्तार गर्ने प्रधानमन्त्री शेरबहादुर देउवाले तयारी गरेका छन् । २९ असारमा प्रधानमन्त्री बनेका देउवाले दुई पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

    उनले पाँच मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार चलाउँदै आएका छन् । शीर्ष नेताहरुबीच भएको छलफल अनुसार सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले कुल ८ वटा मन्त्रालय पाउने भएको छ । अर्थ र उर्जा मन्त्रालय लिइसकेको माओवादी केन्द्रको भागमा कुल ५ वटा मन्त्रालय परेको छ । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले भने समान चार÷चार मन्त्रालय पाउनेछन् ।

  • पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ, के हो कारण ?

    पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ, के हो कारण ?

    काठमाडौं । पूर्वसांसद तथा व्यवसायी इच्छाराज तामाङ पक्राउ परेका छन् । सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहलाई उदृत गर्दै स्थानीय संचारमाधयमले जनाएका छन् । उनका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत र्फममा लगानी गरेको आरोप लागेको छ । घरजग्गा व्यवसायबाट टाट पल्टेका उनी अहिले आर्थिक संकटमा रहेको बताउने गरेका छन् । उनको सिभिल मलसहित विभिन्न क्षेत्रमा लगानी छ ।

  • काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड

    काठमाडौंको सार्वजनिक यातायातमा पाकेट मार्ने २०७ पाकेटमार पक्राउ, यस्तो थियो कोड वर्ड

    काठमाडौं । काठमाडौंको सार्वजनिक यातायातमा चढी पाकेटमार्ने दुई सय सात जना पाकेटमार र चोर पक्राउ गरि प्रहरीले सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले दुई सय सात जनालाई पक्राउ गरेको सोमबार जानकारी गराएइको हो । दसैं तिहारमा घर फर्किनेको पाकेटमार्ने तथा चोरी गर्न सक्ने भन्दै परिसरले उपत्यकाबाट दुई सय सात जनालाई पक्राउ गरेको छ । प्रहरीले भदौ २५ गतेदेखि अपरेसन थालेको थियो ।

    प्रहरीले यातायात व्यवसायीसँगको समन्वयमा अपरेसन थालेको थियो । प्रहरीले १६१ जनामाथि अनुसन्धान गरिरहेको छ। उनीहरूमाथि अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । ४६ जना भने पुर्पक्षका लागि जेल चलान भइसकेका छन्। प्रहरीका अनुसार उनीहरू दुई, दुई जनाको दरले ६ जनाको टोली बनाएर बसभित्र जाने गर्थे। भित्र पसेपछि उनीहरूले पैसा धेरै हुने व्यक्ति पहिचान गरि पकेट मार्थे । व्यक्ति पहिचान भएपछि व्यक्तिलाई घेराबन्दी गरि ठेलमठेल गर्ने र त्यही मौकामा उनीहरुले पर्स निकाल्ने गरेको पाइएको छ ।

    त्यसक्रममा उनीहरुले कोड वर्ड प्रयोग गरि संचार गर्थे । पीडितलाई रामे, पैसालाई द, मोबाइललाई कान, पाकेटमार गर्ने व्यक्ति मास्टर वा काशी, पैसा धेरै छ भन्ने संकेत दिन टानको द पैसा, थोरै छ जुटको द, गाडीलाई काँचा भन्ने कोडवर्ड प्रयाग भएको प्रहरीले जनाएको छ । केटालाई छापा, केटीलाई भद्री, पुलिसलाई ठूल्दाइ, ड्राइभरलाई माम, खलासीलाई मले, गाडीबाट झरेर भाग भन्नलाई टप्की शब्द प्रयोग गर्ने गरेको समेत खुलेको छ ।

  • एमालेको विधान महाधिवेशन आजबाट, ६ हजार प्रतिनिधि राजधानीमा

    एमालेको विधान महाधिवेशन आजबाट, ६ हजार प्रतिनिधि राजधानीमा

    काठमाडौं । नेकपा एमालेको विधान महाधिवेशन आजबाट ललितपुरको गोदावरीमा सुरु हुँदै छ । यो कार्यक्रममा एमालेले ६ हजार प्रतिनिधिलाई काठमाडौंमा बोलाएको छ । महाधिवेशनले आगामी पाँच वर्षका लागि पार्टीको सांगठनिक संरचना र राजनीतिक कार्यदिशा तय गर्ने एमाले नेताहरुले बताएका छन् ।

    माओवादीसँगको पार्टी एकता बदर भएपछि एमाले पूर्ववत अवस्थामा फर्किएको, पाँच वर्षसम्म सरकार सन्चालनको जनमत पाए पनि तीन वर्षमै सरकार ढलेको, सरकारको नेतृत्व गर्दा दुई पटकसम्म विघटन गरेको संसद सर्वोच्च अदालतले व्युँताइदिएको र यही विवादका कारण एमाले फुटेको अवस्थामा आयोजना गरिएको विधान महाधिवेशनले आफुलाई सच्याउला वा पुरानै ढर्रामा चल्ला भन्ने निश्चित छैन ।

    विधान महाधिवेशनमा पार्टी केन्द्रीय कमिटीका सदस्यहरु, संघ तथा प्रदेशका सांसदहरु, प्रदेश कमिटीका सदस्यहरु, विभागबाट चुनिएका प्रतिनिधिहरु, जिल्ला कमिटीका प्रतिनिधिहरु, जिल्ला समन्वय समितिका प्रमुख तथा उपप्रमुखहरु, पालिकाका प्रमुख तथा उपप्रमुखहरु, भातृ संगठनका प्रतिनिधिहरु, प्रवास कमिटीका प्रतिनिधिहरु सहभागी रहन्छन् ।

    विधान महाधिवेशन तीन दिनसम्म चल्ने छ । विधान महाधिवेशनको उदघाटन एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । पार्टीका शीर्ष नेताहरुले उदघाटन सत्रलाई सम्बोधन गर्नेछन् । उदघाटन समारोह सकिएपछि १६ गते हुने बन्दसत्रमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गर्नेछन् । ती प्रतिवेदनहरुमाथि समूहगत छलफल र समूह नेताबाट निष्कर्ष सुनाउने क्रम सुरु हुने छ । त्यसपछि सुझावलाई समेटेर प्रतिवेदनलाई पारित गरिने छ ।

  • मन्त्रिहरुको नाम टुंग्याउँदै दलहरु, एक\दुई दिनमै सरकार बिस्तार

    मन्त्रिहरुको नाम टुंग्याउँदै दलहरु, एक\दुई दिनमै सरकार बिस्तार

    काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले सरकारको नेतृत्व लिएको दुई महिना नाघिसक्दा पनि मात्र ६ सदस्यीय मन्त्रीमण्डलले देश चलिरहेको छ । यसबाट मन्त्रालयगत रुपमा हुनुपर्ने कतिपय निर्णय अनिर्णयको बन्दी बनेका छन् । यता सरकारले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश फिर्ता लिएपछि भने मन्त्रिमण्डल विस्तार हुने भएको छ । आज र भोलीमा यो विषय टुंगो लगाउने तयारीमा दलहरु छन् ।

    माओवादी केन्द्रमा त्यति विवाद नभएपनि मन्त्री बन्ने सन्दर्भमा नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)मा विवाद छ । यी दलले समेत आजै मन्त्रीको नाम टुंग्याउने बताएका छन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गते ल्याइएको राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेलगत्तै राष्ट्रपतिबाट अध्यादेश खारेज भइसकेको छ ।

    प्रधानमन्त्रीसहित २५ जनाभन्दा बढीको मन्त्रिमण्डल बनाउन पाइदैन । दलहरुबीच नेपाली कांग्रेसलाई प्रधानमन्त्रीसहित ७ मन्त्रालय, माओवादी केन्द्रलाई ६ मन्त्री र एक राज्यमन्त्री, नेकपा एकीकृत समाजवादी पार्टीलाई ५ मन्त्री र एक राज्यमन्त्री तथा जसपालाई ४ मन्त्री र १ राज्यमन्त्री दिने विषयमा सहमति भएको जनाइएको छ ।

  • राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस

    राजनीतिक दल सम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति समक्ष सिफारिस

    काठमाडौं । रकारले राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अध्यादेश खारेज गर्न सिफारिस गर्ने निर्णय गरेको हो । दल विभाजनका लागि बीस प्रतिशत सांसद वा केन्द्रीय सदस्य भए पुग्ने व्यवस्थासहित आफैंले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश सरकारले फिर्ता लिन लागेको हो ।

    सो प्रावधान केवल एमाले र जनता समाजवादी पार्टी फुटाउन मात्र प्रयोग गरिएको छ । अध्यादेशको प्रावधान कायमै राख्न अन्य दलमा समेत जोखिम हुने ठान्दै सरकारले अध्यादेश फिर्ता लिन लागेको हो । सरकारले गत भदौ १ गते बीस प्रतिशत सांसद वा दलको केन्द्रीय सदस्यहरुले चाहेमा दल विभाजन गर्न सक्ने गरी अध्यादेश ल्याएको थियो। अध्यादेश फिर्ता भएपछि अब दलहरु सरकारमा सहभागी हुनेछन् ।

  • आफताव आलमको मुद्धा आज पनि ‘हेर्न नमिल्ने’ मा

    आफताव आलमको मुद्धा आज पनि ‘हेर्न नमिल्ने’ मा

    काठमाडौं । पूर्वमन्त्री मोहम्मद आफताव आलमको मुद्धा आज पनि हेर्न नमिल्नेमा परेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय अनिलकुमार सिन्हा र कुमार चुडालको इजलासमा सुनुवाइ हुने गरी पेसी तोकिएकोमा सो रिट निवेदन ‘हेर्न नमिल्ने’ ठहर भएको हो ।

    इँटा भट्टामा राखेर मजदूरहरुलाई जिउँदै जलाएको अभियोगमा जिल्ला अदालत रौतहट र उच्च अदालत वीरगन्जले थुनामा राख्ने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलम सर्वोच्चमा पुगेका थिए ।

    यसअघि पनि आलको मुद्धा पटकपटक पेशीमा चढेपनि सुनुवाई हुन सकेको छैन ।उनी रौतहट क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनमा विजयी भएका थिए । पक्राउपछि उनको सांसद पद निलम्बित छ ।

  • दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक आउने, सरकार बिस्तारको तयारी

    दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक आउने, सरकार बिस्तारको तयारी

    काठमाडौं । सत्तारुढ दलहरुले बिहीबार सरकार बिस्तारको तयारी गरेका छन् । सरकारले दल विभाजनसम्बन्धी अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने र त्यसपछि सरकार बिस्तार समेत सँगै गर्ने तयारीमा दलहरु पुगेका हुन् । राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याएको अध्यादेशको प्रतिस्थापन विधेयक ल्याउने तयारी भएको नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

    बुधबार माओवादी केन्द्रको स्थायी समिति बैठकपछि उनले यस्तो जानकारी गराएका हुन् । बिहीबार नै अध्यादेशको विषय टुंगिने उनले बताए । उनका अनुसार भोलि बस्ने संसद बैठकमा प्रतिस्थापन विधेयक आउने भएको हो । सरकारले दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलका ४० प्रतिशत सदस्यको समर्थन आवश्यक पर्ने व्यवस्था अध्यादेशमार्फत संशोधन गरी केन्द्रीय समिति वा संसदीय दलको २० प्रतिशत भए पुग्ने बनाएको थियो ।

    उक्त व्यवस्था अनुसार नेकपा एमाले विभाजन गरी माधवकुमार नेपालसहितका नेताले नेकपा एकीकृत समाजवादी गठन गरिसकेका छन् । जनता समाजवादी पार्टी विभाजन गरेर महन्थ ठाकुरसहितका नेताले लोकतान्त्रिक समाजवादी पार्टी समेत यही प्रावधान अनुसार गठन भएको हो । यो विषय नटुगिएपछि सरकार बिस्तार समेत रोकिएको थियो ।

  • एमालेमा पोलिटब्यूरो संरचना हट्यो, अब सचिवालय रहने

    एमालेमा पोलिटब्यूरो संरचना हट्यो, अब सचिवालय रहने

    काठमाडौं । एमालेको नेतृत्वमा अब पोलिट ब्यूरोको संरचना हट्ने भएको छ । त्यसको स्थानमा सात सदस्यीय सचिवालय बन्ने भएको छ । एमाले र माओवादी केन्द्र एकीकरण भएसँगै बनेको नेकपामा यस्तो अभ्यास भएको थियो । एमालेले सोही अभ्यास पच्छ्याउने भएको हो । आइतबार ललितपुरको च्यासलमा भएको एमाले स्थायी कमिटीको बैठकमा संगठन विभागले अध्यक्षको नेतृत्वमा सात सदस्यीय सचिवालय निर्माणको प्रस्ताव गरेको छ । महासचिवको नेतृत्वमा कार्यलय सम्बन्धी सचिवालय रहने भएको छ ।

    विधानबाट पोलिटब्युरो संरचना भने हटाइएको छ । प्रस्तावित विधानमा उपाध्यक्षको संख्या घटाइएको छ भने सचिवको संख्या बढ्ने भएको छ । उपाध्यक्षको संख्या तीनमा झारिएको छ । सचिव सात जना हुने भएका छन् । नवौं महाधिवेशनमा उपाध्यक्ष र सचिवको संख्या पाँच,पाँच थियो । उपमहासचिव भने २ जना रहने छन् । केन्द्रीय कमिटी भने २ सय २५ जनाको रहने छ । एमालेमा केन्द्रीय कमिटीको एक तिहाई संख्याको पोलिटब्युरो, पोलिटब्युरोको एक तिहाई संख्याको स्थायी कमिटी बनाउने प्रचलन रहेको छ ।

  • संविधान दिवसको अवसरमा ८ जनालाई आममाफी, ५२३ जनाको कैद कटौती

    संविधान दिवसको अवसरमा ८ जनालाई आममाफी, ५२३ जनाको कैद कटौती

    काठमाडौं । संविधान दिवसको अवसरमा पारि सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ८ जनालाई माफी र ५२३ जनाको कैद कट्टा गरेकी छिन् । राष्ट्रपति कार्यालयका अनुसार पूर्णबहादुर भन्ने किशोर भण्डारीसमेत ८ जना व्यक्तिले राष्ट्रपतिबाट आम माफी पाएका छन् । उनीहरुले विभिन्न अदालतले सुनाएको कैद सजाय संविधान दिवसको अवसर पारि माफी पाएका हुन् । उता, हर्कबहादुर राईसमेत ५२३ जना कैदीले भुक्तान हुन बाँकी कैद कट्टा गरिएको हो ।

    असोज ३ गते संविधानको अवसर पारेर कैद माफी र कैद कट्टाका लागि मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष भदौ २९ गते सिफारिस गरेको थियो । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । यही अवसर पारेर कैदी बन्दीको कैद कट्टा र माफी दिन सक्ने कानुनी व्यवस्था रहेको छ ।

  • बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च

    बजेट पास हुन नसकेपछि रोकियो सरकारको खर्च

    काठमाडौं । चालु आर्थिक वर्ष २०७८\७९ को बजेट पास हुन नसकेपछि आजबाट सरकारको खर्च रोकिएको छ । संसद बैठक आगामी असोज ४ गते बस्दैछ । कम्तिमा सो दिनसम्म अब सरकारले संघीय संचित कोषबाट हुने खर्चबाहेक विनियोजन ऐन अनुसार गर्न पाउने खर्च रोकिएको छ । यसरी खर्च रोकिँदा सरकारी कर्मचारीले तलव पाउँदैनन् । प्रधानमन्त्री र मन्त्रीहरुको तलव समेत रोकिन्छ । तर, राष्ट्रपति, उपराष्ट्रपति, प्रधानन्यायाधिक र सभाभुखको तलव र सुविधा भने रोकिन्न ।

    सरकारले पेश्की खर्च विधेयक समेत नल्याएको, अध्यादेशको अवधी पुरा भएको र प्रतिस्थापन विधेयक संसदबाट पास नभएका कारण खर्च रोकिएको हो । यसलाई बजेट होलीडे भनिएको हो । सरकारले संसदबाट सजिलै बजेट पास हुने अपेक्षा गरेको थियो ।

    तर, संसदमा एमालेले अवरोध गरेका कारण नेपालमा इतिहासमै पहिलो पटक खर्च बिहिनताको अवस्था आएको हो । सरकारले४ जेठसम्म एमालेसँग सहमति जुटाएमा बजेट पास हुन सक्छ । नभए यो प्रक्रिया अझै लामो हुनसक्छ । जसको असर दीर्घकालसम्म पर्ने जोखिम रहन्छ ।

  • त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ

    त्रिभुवन विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित २ पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सवा २ करोड मूल्य बराबरको सुनसहित दुई जनालाई पक्राउ गरिएको छ । सोमबार काठमाडौंबाट श्री एयरलाइन्समा विराटनगर जान लागेका दुई जनाको ब्यागमा तीन किलो तीन सय ६० ग्राम सुनका गरगहना फेला परेको हो । आन्तरिक उडानबाट विराटनगर जान लागेका कैलालीका ३० वर्षीय बोधराज भण्डारी र धनुषाका ४७ वर्षीय मुरारीराज अधिकारीबाट सुन बरामद भएको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ। उनीहरूको ब्याग एक्सरे मेसिनमा देखिएपछि प्रहरीले नियन्त्रणमा लिएको हो।

    विमानस्थलका अनुसार दुई करोड २४ लाख ९२ हजार ३९७ रुपैयाँ बराबरका गरगहना छन्। थप अनुसन्धानको लागि उनीहरूलाई प्रहरीले राजश्‍व अनुसन्धान विभाग, हरिहरभवन, पुल्चोकमा बुझाइएको छ । केही दिन अगाडी आन्तरिक विमानस्थलबाट प्रहरीको आँखा छली नेपालगन्ज पुर्याइएको सुन नेपालगन्ज प्रहरीले पक्राउ गरेको थियो ।

  • विपक्षी एमालेलाई पेलेरै बजेट पास गर्ने तयारी, संसद बैठक बस्दै

    विपक्षी एमालेलाई पेलेरै बजेट पास गर्ने तयारी, संसद बैठक बस्दै

    काठमाडौं । बुधबारसम्म बजेटको प्रतिस्थापन विधेयक पास हुनुपर्छ । तर, संसदमा विपक्षी दल एमालेको अवरोध कायम छ । यो परिस्थितीमा सत्तारुढ दलले विपक्षी एमालेलाई संसदमा पेलेरै बजेट पास गर्ने तयारी गरेका छन् । प्रतिनिधि सभाको बैठक आज बोलाइएको छ । यसअघि सभामुखले सोमबार संंसद खुलाउन सर्वदलीय बैठक बोलाएका थिए । बैठकमा एमाले नै नआएपछि छलफल बीना निष्कर्ष टुगिंएको थियो । आज बैठक दिउँसो १ बजे सङ्घीय संसद भवन नयाँ बानेश्वरमा बस्दैछ ।

    संसद सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले ‘विनियोजन विधेयक, २०७८ माथि विचार गरियोस्’ भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा आफ्नो पार्टीले उठाएको माग सम्बोधन नहुँदासम्म सर्वदलीय बैठकमा सहभागी नहुने अडान राखेका कारण संसदमा आज पनि नाराबाजीकै बीच बजेट पास गरिने भएको छ ।

  • सभामुखले बोलाएको बैठकमा गएन एमाले, वार्ता गर्न बैठकको सुझाव

    सभामुखले बोलाएको बैठकमा गएन एमाले, वार्ता गर्न बैठकको सुझाव

    काठमाडौं । सभामुख अग्नि सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल एमाले अनुपस््िथत भएको छ । सोहीकारण बैठक समेत विना निष्कर्ष टुंगिएको छ । नेकपा एमालेले संसदमा अवरोध जारी राखेपछि सो सम्बन्धमा निर्णय लिन सभामुखले बैठक राखेका थिए । तर, एमालेले भने समाजवादी दलका १४ सांसदलाई कारवाही गर्न वा स्वयमः सभामुखले राजिनामा दिनुपर्ने शर्त राखेको छ । दुबै असभ्भव शर्तका कारण अन्यौल बढेको हो । आजको शीर्ष नेताको बैठकले भने संसद सूचारु गर्ने जिम्मा सभामुखलाई नै दिएको छ ।

    दलका नेताहरूले एमालेसँग सभामुखले छलफल गर्नुपर्ने र सहमति गरेर संसद् चलाउनुपर्ने सुझाव दिए । मुख्य विवाद रहेको एमाले नै बैठकमा नआएपछि कुनै निष्कर्ष ननिस्किएको नेताहरुले जानकारी गराए । माधव नेपालसहित १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ती सांसदलाई कारबाही नगरेसम्म संसद् चल्न नदिने अत्तो थापेको छ । एमालेले ७ वटा बैठकमा नाराबाजी गरिसकेको छ ।

  • संसदको गतिरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

    संसदको गतिरोध हटाउन सभामुखले बोलाए सर्वदलीय बैठक

    काठमाडौं । संसदमा लगातार एमालेबाट भइरहेको गतिरोध हटाउन सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक बोलाएका छन् । उनले सोमबार संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँगको संयुक्त बैठक आह्वान गरेका हुन् । बैठक दिउँसो २ः३० बजे नयाँ बानेश्वरस्थित लोत्से हलमा बस्ने छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले लगातार ७ वटा बैठकमा अवरोध र नाराबाजी गरेका छन् । सभामुखले गतिरोध हटाउन बैठक आव्हान गरेका हुन् ।

    सभामुखले आइतबार समेत एमाले प्रमुख सचेतक विशाल भट्टराई, शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेका थिए । बैठकमा सहमति हुन नसकेपछि सर्वदलीय बैठक आह्वान गरिएको हो । बैठकमा संसद बैठक सुचारु गर्ने तथा महत्वपूर्ण कार्यसूचीबारेमा छलफल हुने छ । संसदमा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा, लोसपा, राप्रपा, राजमो र नेमकिपासहित एकजना स्वतन्त्र सांसद छन् ।

  • संसदमा एमालेको नाराबाजी, राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

    संसदमा एमालेको नाराबाजी, राजनीतिक दलसम्बन्धी अध्यादेश पेश

    काठमाडौं । संसदमा आज नेकपा एमालेले नाराबाजी गरेको छ । संसदको नियमित बैठक अवरुद्ध गरेको पार्टीका सांसदहरुले रोष्ट्रम घेराउ गरि सभामुखविरुद्ध नाराबाजी गरेका थिए । उनीहरुले एमाले फुटाउन सभामुखले षडयन्त्र गरेको भन्दै विरोध गहिरहेका छन् । विरोधको माहौलका बीच सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभा बैठकमा पेश गरेको छ ।

    नेकपा एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले मान्यता नदिएपनि एमाले आक्रोसित बनेको हो । बुधबार प्रतिनिधिसभा बैठक बस्नासाथ एमालेले अवरुद्ध गरेको हो । एमालेको अवरोध गरेकै समयमा सभामुखले गृहमन्त्री बालकृष्ण खाँडलाई अध्यादेश पेश गर्न अनुमति दिए । मन्त्री खाँडलाई रोक्न एमालेका सांसद तछाडमछाड गरेका थिए । उनीहरुलाई मर्यादापालकले अगाडी बढ्न दिएनन् ।

  • एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने

    एमाले फुटपछि प्रदेश र स्थानीय तहका जनप्रतिनिधिको सनाखत सकियो, केही दिनमै निर्णय आउने

    काठमाडौं । एमाले विभाजन भएपछि बनेको नयाँ पार्टी एकिकृत समाजवादी दलमा जान चाहने स्थानीय र प्रदेश तहका जनप्रतिनिधिलाई मंगलबारसम्मको समय सीमा दिइएको थियो । सो समय भित्र सनाखत गरेका जनप्रतिनिधिको पद सुरक्षित रहने छ । साथै उनीहरु नयाँ दलमा रहने छन् । अन्यको भने एमाले मै रहने छन् । यो जनता समाजवादी दलमा समेत लागु हुने छ ।

    निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टीका प्रदेश तथा स्थानीय जनप्रतिनिधिहरूलाई नयाँ गठन भएका पार्टी छनोटका लागि दिइएको म्याद मंगलबार सकिएको हो । एमालेका जनप्रतिनिधिहरुलाई माधवकुमार नेपाल नेतृत्वको नयाँ दल नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका जनप्रतिनिधिलाई महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मा सनाखत गर्ने समय तोकिएको थियो ।

    सबै जिल्लाहरुसँग समन्वय गरी सनाखतहरु प्रदेशको निर्वाचन कार्यालयमार्फत ल्याउन आयोगले निर्देशन दिएको छ । नयाँ दलमा सनाखतका लागि नागरिकता, मतदाता नामावली वा स्थानीय तहमा निर्वाचित प्रमाणपत्रको प्रतिलिपि लगायतका बुझाइएका कागजपत्रहरु ई–मेलमार्फत पनि पठाउन सकिने थियो । केही दिनमै आयोगले सनाखत सार्वजनिक गरि जनप्रतिनिधिको सूचि सार्वजनिक गर्नेछ । यससँगै संघदेखि स्थानीय तहसम्म दुई नयाँ दल अस्तित्वमा आउने छन् ।

  • २३ भदौमा संसद बोलाउन सरकारको सिफारिस

    २३ भदौमा संसद बोलाउन सरकारको सिफारिस

    काठमाडौं । सरकारले भदौ २३ मा संसद अधिवेशन बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरेको छ। शनिबार बसेको मन्त्रिपरिषद बैठकले अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो । भदौ २३ गते अपरान्ह ४ बजे संसदको दुबै अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय सरकारले गरेको हो ।

    सम्भवतः यो अधिवेशनमा सरकारले बजेटको प्रतिस्थापन विधेयक ल्याउने छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत साउन ३२ गते संसदको दुबै अधिवेशन अन्त्य गरेकी थिइन्। त्यसपछि सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएको थियो । त्यसपछि एमाले पार्टी फुटेको छ ।

  • बामदेवले एमालेबाट राजिनामा दिनुको कारण के हो ?

    बामदेवले एमालेबाट राजिनामा दिनुको कारण के हो ?

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले एमाले पार्टी परित्याग गरेका छन् । शुक्रबार उनले पार्टीका सबै जिम्मेवारीबाट राजीनामा दिएका हुन् । पटक पटक बोली फेरिरहने उनले यस पटक भने लिखित रुपमै राजिनामा बुझाएका छन् । उनले एमाले फुट्न नदिन पहल गरेको बताउने गरेका थिए । बामदेवले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सम्बोधन गरेका छन् । जहाँ उनले ओली व्यक्तिवादी र स्वेच्छाचारी बनेको गम्भीर आरोप लगाएका छन् । यो बानी सुधार गर्न आफुले पटक पटक प्रयास गरेको समेत उनको भनाई छ ।

    राजीनामा पत्रमा प्रतिनिधिसभा भङ्गदेखि पार्टी सञ्चालनमा अध्यक्ष ओलीको कार्यशैलीको आलोचना गरेका छन् । उनले राजीनामा दिनुको कारणबारे एमालेमा ओलीकै गलत विचार प्रवृत्ति र शैलीका कारण यस पार्टीमा रहिरहन असमर्थ भएको उल्लेख गरेका छन् । उनले अब आफ्नो यात्रा के हुने भन्ने बारे चाँही खुलाएका छैनन् । धेरैले उनी नेकपा (एकीकृत समाजवादी) मा जाने बारे समेत चर्चा थालेका छन् ।

  • आफ्नै साथिको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको सजाय

    आफ्नै साथिको हत्या गर्ने सैनिक जवानलाई जन्मकैदको सजाय

    काठमाडौं । आफ्नै साथिको हत्या गरेको अभियोग पुष्टी भएका सैनिक जवान गंगाधर ढकाललाई जन्मकैदको सजाय सुनाइएको छ । नेपाली सेनामा कार्यरत हुद्दा भरत गुरुङको हत्या आरोपमा उनलाई जन्मकैदको फैसला सुनाइएको हो । जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला भएको छ । यसअनुसार अब उनी २५ वर्ष कैद सजाय भुक्तानमा बस्नु पर्छ ।

    सैनिक अदालतले बुधबार ढकालविरूद्ध फैसला गरेको थियो। भरतपुर महानगरपालिका १७ शारदानगरस्थित सिमल डाँडामा हुद्दा गुरुङको साउन ७ गते हत्या भएको थिहो । अनुसन्धानका क्रममा गुरुङलाई ढकालले एसएमजी हतियारबाट गोली प्रहार गरी हत्या गरेको खुलासा भएको हो । सेनाले सो घटनामा भदौ ९ गते समरी जनरल सैनिक अदालत गठन गरेको थियो। ढकालविरुद्ध भविष्यमा सरकारी सेवाका लागि अयोग्य रहने गरि फैसला भएको छ ।

  • नयाँ पार्टी खोलेका १४ सांसदको पद यथावत

    नयाँ पार्टी खोलेका १४ सांसदको पद यथावत

    काठमाडौं । एमालेबाट छुट्टिएर नयाँ पार्टी दर्ता गरेका १४ सांसदको पद नजाने भएको छ । सभामुख अग्नि सापकोटाले नेकपा एमालेले १४ सांसदलाई कारबाहीका लागि गरेको सिफारिस कार्यान्वयन नगर्ने निर्णय लिएका हुन् । निर्वाचन आयोगले नयाँ दल दर्ता भएको सूचना संसद सचिवालयमा पठाएको छ । सोहीकारण सांसदहरु कारबाहीमा नपर्ने भएको उनको सचिवालयले जनाएको छ ।

    निर्वाचन आयोगले नेकपा एकीकृत समाजवादी दर्ता गरेको छ । यस बेहोराको पत्र भदौ ११ मा संसद सचिवालयलाई पठाएको थियो । कानून अनुसार अर्को दल दर्ता भइसकेको अवस्थामा सांसद पद कायम रहने गरि सभामुखले निर्णय गरेका हुन् । नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत मागेपछि अनुपस्थित भएका १४ सांसदलाई ह्विप उल्लघंन गरेको भन्दै कारबाही सिफारिस गरेको थियो।

    एमाले सांसदहरुले तत्काल सूचना टाँस गर्न सभामुखको कार्यकक्षमा पुगेर धर्ना पनि दिएका थिए। त्यसबेला निर्वाचन आयोगमा दर्ता प्रक्रिया चलिरहेको थियो । प्रतिनिधि सभा नियमावली अनुसार सभामुखले कारवाहीको सूचना दलबाट प्राप्त भएको १५ दिनभित्र टाँस गरिसक्नु पर्छ ।

  • सरकारलाई पूर्णता दिने तयारी

    सरकारलाई पूर्णता दिने तयारी

    काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीले दल दर्तापछि मान्यता पाएसँगै प्रधानमन्त्री शेरबहादुर देउवा सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । सोही प्रयोजनका लागि शनिबार देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । शनिबार बिहान देउवालाई भेट्न दाहाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका हुन् ।

    भेटमा सत्तारुढ गठबन्धनलाई थप बलियो र विश्वासको वातावरण बनाउँदै सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री देउवाले २९ असारमा प्रधानमन्त्री पदमा शपथ लिएका थिए । उनले त्यसको एक सातामै संसदबाट विश्वासको मत लिएका थिए । गठबन्धले मन्त्रालयको टुंगो लगाएपछि पार्टीहरुले मन्त्रिको नाम दिने तयारी समेत गरेका छन् ।

  • समाजवादी पार्टी संसदमा बन्यो चौथो ठूलो दल

    समाजवादी पार्टी संसदमा बन्यो चौथो ठूलो दल

    काठमाडौं । माधव कुमार नेतृत्वको दल संसदमा चौथो ठूलो पार्टी बनेको छ । नेकपा (एकीकृत समाजवादी) पार्टी बुधबार निर्वाचन आयोगबाट मान्यता पाएको छ । अब सांसद संख्याका आधारमा यो पार्टी संघीय संसदको चौथो ठूलो दल बनेको छ । केन्द्रीय कमिटी वा संसदीय दलमध्ये एकमा २० प्रतिशत भए मात्रै पनि दल विभाजन गर्न मिल्ने गरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशमार्फत् नयाँ दुई दल दर्ता भएका छन् ।

    माधवकुमार नेपाल अध्यक्ष रहने गरी नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर अध्यक्ष रहने गरी दर्ता भएको लोकतान्त्रिक समाजवादी पार्टीलाई बुधबार निर्वाचन आयोगले दल दर्ता प्रमाण पत्र दिएको हो । नेकपा एकीकृत समाजवादी मा संघीय संसदमा २९ जना सांसद छन्। प्रतिनिधि सभाका २२ र राष्ट्रिय सभाका ७ जनाले बुधबार आयोगमै उपस्थित भएर सनाखत गरे । सांसद संख्या अझै बढ्दैछ ।

  • माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता

    माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता

    काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी औपचारिक रुपमा दर्ता भएको छ । नेकपा एमालेबाट अलग भएका नेताहरुले यो पार्टी गठन गरेका हुन् । नेकपा एकीकृत समाजवादीलाई निर्वाचन आयोगले दलको मान्यता दिएको हो । एमालेका पूर्वमहासचिव एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अध्यक्ष रहेको नेकपा एकीकृत समाजवादीलाई बुधबार आयोगले दर्ता प्रमाणपत्र दिएसँगै यो पार्टीले अब औपचारिक मान्यता पाएको हो ।

    सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न पाउने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै एमालेका ५८ केन्द्रीय सदस्यले नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । उनीहरुमध्ये ५६ जनाले सनाखत गरेका छन् । दल दर्ताका लागि निवेदन दिँदा समावेश भएका एमाले केन्द्रीय सदस्यद्वय भास्कार काफ्ले र रविन कोइराला भने बुधबार सनाखतका लागि निर्वाचन आयोगमा उपस्थित भएका थिएनन् ।

    दल दर्ताका लागि चाहिने १९१ सदस्यीय एमाले केन्द्रीय कमिटीको २० प्रतिशत पुगेसँगै दल गठन भएको हो । अब प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुलाई दल रोज्न २१ दिनको समय दिएर रोज्ने समय दिइने छ ।

  • नेकपा एकीकृत समाजवादी दलको सनाखत आज

    नेकपा एकीकृत समाजवादी दलको सनाखत आज

    काठमाडौं । माधव कुमार नेपाल नेतृत्वको पार्टी नेकपा एकीकृत समाजवादीले आज औपचारिक मान्यता पाउँदैछ । साथै आजै महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले समेत वैधानिकता पाउने छ । निर्वाचन आयोगले दुबै दल दर्ता प्रक्रिया आज टुंगो लगाउने तयारी गरेको हो । आयोगले दुवै दलका नेताहरुलाई सनाखतको लागि आज बोलाएको छ । सनाखत सम्पन्न भएपछि आयोगले दल दर्ताको प्रमाणपत्र दिनेछ ।

    सनाखतले दललाई औपचारिकता दिने छ । सनाखत गर्न बुधबार बिहान ११ः३० बजेदेखि २ बजेसम्मको समय दिइएको छ । दल दर्ताको निवेदनमा जुन नेताहरुको नाम छ, ती नेताहरु आफैं उपस्थित भएर सनाखत गर्नुपर्छ । राजनीतिक दल सम्बन्धी अध्यादेश अनुसार नयाँ दल दर्ताका लागि संघीय संसद वा केन्द्रीय सदस्यको २० प्रतिशत अलग भएको हुनुपर्छ ।

    एमालेका २०३ केन्द्रीय सदस्यहरुमध्ये माधव नेपालले नेकपा एकीकृत समाजवादी दर्ताका लागि ५७ केन्द्रीय सदस्यहरुको नामावली आयोगमा बुझाएका थिए । यसैगरी ठाकुरले ३१ जना कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् । दल दर्ताको सनाखत अगाडी माधव नेपाल पक्षधर नेताहरु चन्द्रागिरीमा छन् ।