Category: कानुनी कुरा

  • एमालेको केन्द्रिय कमिटी बैठकमा नजाने नेपाल-खनाल पक्षको निर्णय

    एमालेको केन्द्रिय कमिटी बैठकमा नजाने नेपाल-खनाल पक्षको निर्णय

    काठमाडौं । नेकपा एमालेको केन्द्रिय कमिटी बैठकमा माधव कुमार नेपाल-झलनाथ खनाल पक्षधर नेता सहभागी नहुने भएका छन् । बिहीबार काठमाडौंमा बसेको नेपाल–खनाल पक्षको स्थायी कमिटीको बैठकले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले निसर्त रूपमा पार्टीका सङ्गठनलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा नफर्काएको भन्दै बैठकमा सहभागी नहुने निर्णय लिएको हो ।

    अध्यक्ष ओलीले नवौँ महाधिवेशनबाट आएका जनसङ्गठनमा पदाधिकारी थप्ने निर्णय गरेका थिए । सोहीकारण असन्तुष्ट पक्ष बैठकमा नजाने भएको हो । महाधिवेशन आयोजक कमिटीका नाममा पदाधिकारी थप्ने र विभिन्न निर्णय गरेको भन्दै त्यस्ता निर्णय खारेज गर्न नेपाल–खनाल समूहले माग समेत गरेको छ । समूहले पार्टीलाई नवौँ महाधिवेशनअनुसार र पार्टीको विधानअनुसार बैठक बोलाउन समेत माग गरेको छ । एमालेको केन्द्रीय कमिटी बैठक भने शुक्रबारका लागि बोलाइएको छ ।

  • राष्ट्रिय सभाको अधिवेशन आजबाट शुरु हुँदै

    राष्ट्रिय सभाको अधिवेशन आजबाट शुरु हुँदै

    काठमाडौं । राष्ट्रिय सभाको आठौं अधिवेशन बिहीबाट शुरु हुँदैछ । संघीय संसद भवन बानेश्वरमा बिहीबार अपरान्ह ४ बजेका लागि बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । राष्ट्रपतिको आह्वानपछि आजका लागि बैठक बोलाइएको छ । आजको बैठकमा अध्यक्षले राष्ट्रपतिले बैठक आह्वान गरेको पत्र र मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पनि पढेर सुनाउने कार्यसूची रहेको छ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद् काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश, २०७७ र सपथ सम्बन्धी अध्यादेश, २०७८ अध्यादेश पेश गर्ने कार्यसूची समेत रहेको छ ।

    आजै गृह मन्त्री विष्णुप्रसाद पौडेलले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८, बेपत्ता पारिएका व्यक्तिको छानबीन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) अध्यादेश २०७७, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ अध्यादेश पेश गर्ने कार्यसूची समेत रहेको सचिवालयले जनाएको छ।

    कानून, न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८ पेश गर्ने छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८, कोभिड १९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ अध्यादेश पेश गर्ने सम्भावित कार्यसूचीमा राखिएको छ ।

  • २०७५ जेठ २ कै हैसियतको बैठक बोलाउने एमालेको औपचारिक निर्णय

    २०७५ जेठ २ कै हैसियतको बैठक बोलाउने एमालेको औपचारिक निर्णय

    काठमाडौं । नेकपा एमालेले माधव नेपाल समूहको माग अनुसार २०७५ जेठ २ को हैसियतमा पार्टीको बैठक बोेलाउने निर्णय गरेको छ । अध्यक्ष केपी शर्मा ओली पक्षका नेता मात्र सहभागी स्थायी कमिटीको मंगलबारको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले आगामी बिहीबार एकतापूर्वको केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठक आजका लागि बोलाइएको छ ।

    दुबै बैठकमा माधव कुमार नेपाल पक्षका नेता भने सहभागी छैनन् । सर्वोच्च अदालतका आदेशहरु, संसद विघटनका मुद्दा र पार्टीको विवादलाई एकतावद्ध बनाएर पार्टी एकता कायम राख्न प्रयास गरिएको पार्टीको भनाई छ । सर्वोच्च अदालतको २३ फागुनको आदेशले पुनस्र्थापित एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू पक्षीय नेताहरुको बैठक राखेर नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु हटाउने, दशौं महाधिवेशन आयोजक कमिटी बनाउने लगायतका निर्णय गरेका थिए ।

    नेताहरुमाथि गरिको कारबाही फिर्ता लिएर एकता प्रयास चलिरहेका बेला संसद भंग गर्न खोजेको भन्दै नेपाल पक्षका २६ सांसदले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका छन् । यो मुद्दा सर्वोच्चमा विचाराधिन अवस्थामा छ ।

  • एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु

    एमाले नेता भुसालले संसद सचिवालयलाई भने : म स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहन्छु

    काठमाडौं । एमाले नेता बेदुराम भुसालले आफु स्वतन्त्र सांसदको रुपमा बस्न चाहेको जानकारी संसद सचिवालयलाई गराएका छन् । उनी नेकपा विभाजन नहुँदै निर्वाचन भएकाले आफ्नो दल अहिले अस्तित्वमा नरहेको बताएका छन् । पार्टी विभाजन भएपछि एमाले र त्यसमा पनि माधव नेपाल पक्षमा रहेका उनी राष्ट्रियसभाका सदस्य हुन् ।

    भुसालले आइतबार संसद सचिवालयमा पत्र पठाएर स्वतन्त्र सांसदको हैसियतमा बस्न चाहेको र निर्वाचन समेत स्वतन्त्र रुपमा लड्ने बताएका हुन् । उनले आफ्नो पार्टी नै अहिले नरहेको भन्दै कुनै पनि पार्टीमा लेबी नकाट्न समेत सचिवालयलाई आग्रह गरेका छन् । माओवादी केन्द्र र एमालेको एकताबाट नेकपा बनेको थियो । तर, प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनसहितका विवादका बीच सर्वोच्चले यो पार्टीको एकतालाई मान्यता दिएन ।

    सर्वोच्च अदालतको २०७७ फागुन २३ को फैसलाले उक्त पार्टीको अस्तित्व समाप्त गरिदिएको उनले बताएका छन् । उनले पत्रमा नेकपा एमाले वा माओवादी केन्द्र कसैको पनि संसदीय दलको सदस्य नबनी सभाको स्वतन्त्र सदस्यका रुपमा काम गरेको र आगामी दिनमा पनि सभाको स्वतन्त्र सदस्यका रुपमा नै रहन चाहने बताएका हुन् ।

  • माओवादीबाट चुनाव जितेका १४ जनप्रतिनिधि एमाले बनेसँगै पद खारेज

    माओवादीबाट चुनाव जितेका १४ जनप्रतिनिधि एमाले बनेसँगै पद खारेज

    काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा प्रवेश गरेका देशभरका दुई मेयर, पाँच उपमेयरसहित १४ जनप्रतिनिधिको पद खारेज भएको छ । निर्वाचन आयोगले शुक्रबार एक सूचना प्रकाशित गर्दै यसबारे जानकारी गराएको हो । माओवादी केन्द्रले पार्टीबाट २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा उम्मेदवार भई निर्वाचित भएका जनप्रतिनिधिले दल त्याग गरेकोले कारवाही गरेको जानकारी निर्वाचन आयोगलाई दिएसँगै आयोगले उनीहरुको पद खारेज गरिदिएको हो ।

    निर्वाचन आयोगका अनुसार रौतहट मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साह र रौतहटकै कटहरिया नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाको पद रिक्त भएको छ। रीनाकुमारी एमाले नेता प्रभु साहकी श्रीमती हुन्। प्रभु साह माओवादी छाडेर एमालेमा गएसँगै उनको समेत सांसद पद खारेज भएको छ । सरकारबाट समेत प्रधानमन्त्री केपी शर्मा ओलीले हटाएपछि उनी अहिले मन्त्री पनि छैनन् ।

    रौतहटकै देवाही गोनाही नगरपालिकाकी उपप्रमुख परनिया देवी, मौलापुर नगरपालिकाका उपप्रमुख गौरीशंकर प्रसाद, फतुवाविजयपुर नगरपालिकाकी उपप्रमुख कान्ति देवी, माधवनारायण नगरपालिकाकी उपप्रमुख सिमलकुमारी साह र कैलाली भजनी नपाकी उपप्रमुख छायाँदेवी देवकोटाको पद समेत गएको छ । महोत्तरी साम्सी गाउँपालिका प्रमुख शेष फारूक, रौतहट यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साहको पद पनि रिक्त भएको छ ।

  • राष्ट्रिय सभाको अधिवेशन असार १९ गतेका लागि आह्वान

    राष्ट्रिय सभाको अधिवेशन असार १९ गतेका लागि आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन्। राष्ट्रपतिको कार्यालयका अनुसार संविधानको धारा ९३ को उपधारा १ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को १० असारको सिफारिसबाट १९ असारमा बस्ने गरि राष्ट्रिय सभाको अधिवेशन आह्वान भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा भने गत जेठमा विघटन गरिएको छ । त्यससँगै परेको मुद्दा भने सर्वोच्चमा सुनुवाइ जारी छ । प्रतिनिधिसभा नभएको अवस्थामा समेत राष्ट्रिय सभा भने जिवित रहन्छ ।

  • एक मन्त्रीको भागमा ५ मन्त्रालय राख्दै तोकियो जिम्मेवारी

    एक मन्त्रीको भागमा ५ मन्त्रालय राख्दै तोकियो जिम्मेवारी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् । आफुले रक्षा र परराष्ट्र मन्त्रालय राख्दै अन्य मन्त्रालय भने ४ जना मन्त्रीले हेर्ने गरि जिम्मेवारी तोकेका छन् । राष्ट्रपति कार्यालयका अनुसार उपप्रधानमन्त्री विष्णु पौडेलले अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति, ऊर्जा, जलस्रोत तथा सिञ्चाइ र गृह मन्त्रालय हेर्नेछन् । मन्त्री कृष्णगोपाल श्रेष्ठले वन तथा वातावरण, युवा तथा खेलकुद, शिक्षा, श्रम रोजगार र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

    मन्त्री बसन्तकुमार नेम्वाङलाई कृषि तथा पशुपन्छी विकास, खानेपानी, भौतिक पूर्वाधार, सञ्चार तथा सूचना प्रविधि र सहरी विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्री लीलानाथ श्रेष्ठलाई कानुन, न्याय तथा संसदीय मामिला, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, संस्कृति पर्यटन तथा नागरिक उड्डयन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिएको कार्यालयको सूचनामा उल्लेख छ ।

    प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि अब मन्त्रिपरिषद्मा मात्र ५ सदस्य बाँकि छन् । प्रधानमन्त्रीले जेठ २१ मा एक उपप्रधानमन्त्री, ९ मन्त्री र तीन राज्यमन्त्रीलाई हटाउँदै उपप्रधानमन्त्रीसहित १० मन्त्री र दुई राज्यमन्त्री थपेका थिए । २७ जेठमा सात मन्त्री र एक राज्यमन्त्री थपेर मन्त्रिपरिषदलाई २५ सदस्यीय बनाएका हुनेको मन्त्रिपरिषद् अब ५ सदस्यमा सिमित बनेको छ ।

  • युट्युवमा भाइरल बनेकी प्रतिभाशाली सन्तोषी सुब्बाको दक्षिणकालीमा विभत्स हत्या

    युट्युवमा भाइरल बनेकी प्रतिभाशाली सन्तोषी सुब्बाको दक्षिणकालीमा विभत्स हत्या

    काठमाडौं । मंगलबार प्रहरीले काठमाडौं दक्षिणकालीमा विभत्स तरिकाले हत्या गरेको अवस्थामा एक महिलको शव भेट्टायो । स्थानीय महिलाले प्रयोगमा नरहेको सार्वजनिक शौचालयमा महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शरीरमा नराम्रोसँग प्रहार भएको, अनुहार क्षतविक्षत पारिएको र सलले घाँटी कसेर हत्या गरिएको अवस्थामा भेटाएको उक्त शवको पहिचान बुधबार मात्र भएको छ ।

    उनी कालोपुल बस्ने धनबहादुर तामाङकी धर्मछोरी सन्तोषी सुब्बा रहेको खुलेको छ । सुब्बा युट्युव नियमित हेर्नेहरुका लागि एक भाइरल पात्र हुन् । उनले विभिन्न पंक्षीको आवाज दुरुस्तै निकाल्थिन् । सोही प्रतिभाका कारण उनलाई युट्वरहरुले आफ्नो च्यानलमा ल्याएका थिए । सो वापत उनलाई आर्थिक सहयोग समेत जुटेको थियो ।

    सानैमा जन्म दिने बुबा आमाबाट छुट्टिएकी संतोषीलाई चावहिलमा सडकमा पसल गरि गुजारा चलाइरहेका धनबहादुरले पालनापोषण गरि हुर्काएका थिए । असार ५ गते अचानक हराएकी संतोषीले अपराह्न फोन गरेर आफु फर्पिङमा रहेको बताएकी थिइन् । भोलिपल्ट फर्कने बताएकी उनी सधैका लागि बिदा भएकी छिन् ।

    प्रहरीका अनुसार ८ गते उनको हत्या भएको खबर सार्वजनिक भएको हो । उनको पहिचान भएसँगै आज प्रहरीले उनको बारे खबर सार्वजनिक गरेको थियो । प्रहरीका अनुसार संतोषी असार ५ मा फर्पिङको पद्मा सम्भव गेष्ट हाउसमा एक्लै बसेको पाइएको छ ।

  • संसद विघटनको रिटमा आजबाट निरन्तर सुनुवाई

    संसद विघटनको रिटमा आजबाट निरन्तर सुनुवाई

    काठमाडौं । प्रतिनिधि सभा विघटन गरि सरकारले निर्वाचन घोषणा गरेको सम्बन्धमा परेका रिटमाथि आजबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुँदैछ । विपक्षी सांसदहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनु पर्ने मागसहित रिट दायर गरेका थिए । यस्तो रिट दायर गर्नेमा १४६ जना सांसद छ ।

    ७ जेठमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेकी थिइन् । सोही दिन उनले मध्यावधी निर्वाचन घोषणा गरेकी हुन् । राष्ट्रपतिले आह्वान गरेको समयमा देउवालाई प्रधानमन्त्रीमा समर्थन गर्दै १४९ जना सांसदले शितल निवासमा हस्ताक्षर बुझाएका थिए। उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समेत आफ्नो दावि प्रस्तुत गरेका थिए ।

    तर, राष्ट्रपतिले १४९ जना सांसदले हस्ताक्षर बुझाउँदा पनि देउवालाई प्रधानमन्त्री नियुक्त नगरी संसद विघटन गरेसँगै सर्वोच्चमा ३० वटा रिट परेका छन् । ती सबै रिटको आजबाट संवैधानिक इजलासमा सुनुवाइ हुने छ । रिटमध्ये पहिला देउवाको रिटमा सुनुवाइ हुनेछ । त्यसपछि अन्य २९ रिटमाथि सुनुवाइ हुने तालिका छ ।

    पहिलो दिनको सुनुवाइमा देउवा पक्षले आफ्नो तर्फबाट दुई जना अधिवक्ता र तीन जना वरिष्ठ अधिवक्ताले बहस गर्नेछन् । आज अधिवक्ता खाम्बबहादुर खाती र गोविन्द शर्मा बन्दीसहित वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, शम्भु थापा र महादेव यादवले बहस गर्ने छन्।

  • विपक्षी गठबन्धनको आंशका : प्रधानमन्त्रीका कारण अहिलेसम्मका उपलब्धी गुम्ने खतरा

    विपक्षी गठबन्धनको आंशका : प्रधानमन्त्रीका कारण अहिलेसम्मका उपलब्धी गुम्ने खतरा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका कारण नेपालमा अहिलेसम्म प्राप्त उपलब्धी गुम्ने खतरा रहेको भन्दै विपक्षी दलले आंशका व्यक्त गरेका छन् । विपक्षी गठबन्धनमा रहेका एमाले नेता माधव कुमार नेपालसहितका नेताले प्रधानमन्त्री केपी शर्मा ओलीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको समेत बताएका हुन् ।

    उनीहरुले प्रधानमन्त्रीविरुद्धको एकतामा प्रतिवद्धता समेत जनाएका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले मंगलबार संयुक्त विज्ञप्ति जार्गै प्रधानमन्त्रीकै कारण अहिलेसम्म प्राप्त उपलब्धि गुम्ने खतरा रहेको बताएका हुन् ।

    उनीहरुको यो भनाई अदालतको पछिल्लो फैसलापछि आएको छ । ‘प्रधानमन्त्री र सरकारले सबै निकायमा तिब्र हस्तक्षेप गर्ने, दबाब र धम्की दिने तथा संकीर्ण स्वार्थका लागि जस्तोसुकै काम पनि गर्ने बाटो अपनाएको विपक्षी गठबन्धनको भनाई छ । सोहीकारण नेपाली जनताको कष्टपूर्ण संघर्षबाट प्राप्त उपलब्धि नै गुम्ने खतरा उत्पन्न भएको विज्ञप्तीमा उल्लेख छ ।

    प्रधानमन्त्रीका कारण मुलुक गम्भीर संकटतर्फ धकेलिएको समेत उनीहरुले बताएका छन् । देशलाई समृद्धितर्फ अग्रसर गराउनुको साटो प्रतिगामी पाइला चाल्ने आन्दोलनका उपलब्धि र राष्ट्रिय हितमा आघात पुर्‍याइएको आरोप समेत प्रधानमन्त्रीमाथि लगाएका छन् ।

    प्रतिनिधिसभा दुई–दुई पटक विघटन, अध्यादेशद्वारा शासन सञ्चालन, संवैधानिक अंगलगायत राज्यका निकायहरुको दुरुपयोग, राजनीतिक दलहरुमा विभाजन, भ्रष्टाचार, परराष्ट्र सम्बन्ध र कूटनीतिमा विचलन र असन्तुलनले सरकारमा अकर्मन्यता र गैरजिम्मेवारीपन देखिएको विपक्षी गठबन्धनको निष्कर्ष रहेको छ ।

    कोरोना संक्रमणको महामारीबाट जनतालाई सुरक्षा र राहत प्रदान गर्न सरकारको अक्षमता तथा बाढी, पहिरो र डुबान जस्ता प्राकृतिक विपद् व्यवस्थापनमा पूर्वतयारीको अभाव देखिएको विपक्षी गठबन्धनको भनाई छ । स्वतन्त्र न्यायपालिकालाई धम्क्याउने र लोकतन्त्रको मूल आधार निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने दायित्व रहेको निर्वाचन आयोगलाई नियन्त्रण गर्ने षड्यन्त्र तर्फ समेत उनीहरुले खबरदारी गरेका छन् ।

  • सरकारमा गएका ९ मन्त्रीलाई पार्टीबाट हटाउने जसपाको निर्णय

    सरकारमा गएका ९ मन्त्रीलाई पार्टीबाट हटाउने जसपाको निर्णय

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले ओली नेतृत्वको सरकारमा सहभागी ९ मन्त्रीलाई कारवाही गरि पार्टीबाट निकाल्ने भएको छ । अध्यक्ष उपेन्द्र यादव पक्षको कार्यकारिणी समिति बैठकले यस्तो निर्णय गरेको हो । उप्रधानमन्त्रीसहित ९ मन्त्रालय लिएर महन्त ठाकुर पक्ष सरकारमा गएको छ । यो शक्ति वर्तमान सरकारमा सबैभन्दा ठूलो हिस्सा समेत बनेको छ ।

    यसअघि यो समूहले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, नेताहरु सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्णलाई निष्कासन गरेको थियो । बिहीबार बसेको बैठकले सरकारमा सहभागी बाँकी नेतालाई समेत निकाल्ने निर्णय लिएको हो । बैठकले लुम्बिनी प्रदेशका चार सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

    उनीहरुले मुख्यमन्त्री शंकर पोखरेललाई साथ दिएका छन् । पार्टीभित्रको विवादबारे पुनः निर्वाचन आयोगमा फेरी जाने निर्णय जसपाले गरेको छ । आयोगले यो पार्टीमा दुबै पक्षको दाविलाई मान्यता दिएको छैन ।

  • देउवा र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त नगर्नुको कारणबारे सर्वोच्चलाई राष्ट्रपतिको जवाफ

    देउवा र ओलीलाई प्रधानमन्त्रीमा नियुक्त नगर्नुको कारणबारे सर्वोच्चलाई राष्ट्रपतिको जवाफ

    काठमाडौं । राष्ट्रपति कार्यालयले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेर बहादुर देउवालाई संविधानको धारा ७६ को उपधारा ५ अनुसार प्रधानमन्त्रीमा नियुक्त नगरेको सम्बन्धमा सर्वोच्च अदालतलाई लिखित जवाफ पठाएको छ । देउवासहित एक सय ४६ जनाले प्रतिनिधि सभा विघटन बदर गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने आदेश माग गर्दै दिएको रिटमा सर्वोच्चले सात दिनभित्र लिखित जवाफ माग गरेको थियो ।

    आज प्रधानमन्त्री कार्यालय र राष्ट्रपति कार्यालय दुबैबाट सर्वोच्चमा लिखित जवाफ पेश भएको छ । कार्यालयले कांग्रेस सभापति देउवाले दाबी प्रस्तुत गर्दा दुई दलको मात्र समर्थन पत्र पेस भएको कारण उल्लेख छ । अरू दल नभएको, हस्ताक्षरको सिलसिला नमिलेको र कतिपय सांसदको दलीय हैसियत नखुलेको समेत राष्ट्रपतिको कार्यालयको तर्क छ ।

    उता, प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई समर्थन हुने भनी पेस गरेका दलका सदस्यले अर्का दाबीकर्तालाई समर्थन गरेको देखिएको कार्यालयले जनाएको छ । दुवै दाबी राजनीतिक दलको मान्यता एवम् दलका सदस्यले पालना गर्नुपर्ने अनुशासन तथा राजनीतिक नैतिकता अनुकूल नदेखिएको कार्यालयको भनाई छ । यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ ।

  • जसपामा दुबै पक्षको दाविलाई निर्वाचन आयोगले दिएन मान्यता

    जसपामा दुबै पक्षको दाविलाई निर्वाचन आयोगले दिएन मान्यता

    काठमाडौं । जनता समाजवादी पार्टीमा एक पक्षले अर्को पक्षलाई गरेको कारबाहीलाई निर्वाचन आयोगले अमान्य घोषणा गरेको छ । आयोगको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलिया र आयुक्तहरू जानकी कुमारी तुलाधर, रामप्रसाद भण्डारी र ईश्वरी प्रसाद पौड्यालको बैठकले यस्तो निर्णय गरेको आयोगले जनाएको छ ।

    निर्वाचन आयोगका अनुसार अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्ष र जसपा संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव दुबै पक्षले एक अर्कालाई गरेको कारबाही अमान्य भएको हो । राजीतिक दलसम्बन्धी ऐन अन्तर्गत यस्तो निर्णय आएको आयोगको भनाई छ । यो पार्टीको पदाधिकारीको विवरण साविक कै कायम रहने भएको छ । यसले जसपालाई बाध्यकारी रुपमा मिल्नु पर्ने देखिएको छ ।

    जसपामा अहिले दुई पक्ष छन् । एउटा पक्ष सरकारमा गएको छ । अर्को पक्ष विपक्षी गठबन्धनमा रहेको छ । प्रतिपक्षमा रहेको भट्टराई–यादव पक्षले सरकारमा गएको ठाकुर र महतोसहित चार जनालाई पार्टीबाट निष्कासन गरेको थियो । आयोगमा यादव पक्षले बहुमत कार्यकारिणी सदस्यको हस्ताक्षर बुझाएको थियो। ठाकुर पक्षले पत्र काटेको थियो ।

  • कांग्रेसको महाधिवेशनको मिति दुई साता सर्ने निश्चित

    कांग्रेसको महाधिवेशनको मिति दुई साता सर्ने निश्चित

    काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको मिति सर्ने निश्चित भएको छ । शनिबार पार्टी सभापति शेरबहादुर देउवाको निवासमा सम्पन्न पदाधिकारी बैठकले महाधिवेशनको मिति दुई साता पर धकेल्ने प्रस्ताव गरेको छ । कोरोना महाकारीका कारण पूर्वनिर्धारित सबै प्रक्रियाहरु पर र्ने भएकाले महाधिवेशनको मिति समेत सार्नु परेको बैठकको निष्कर्ष रहेको छ ।

    बैठकले भदौ १६ देखि १९ गतेसम्म १४ औं महाधिवेशन गर्ने प्रस्ताव गरेको हो । यो प्रस्तावको अनुमोदन भने केन्द्रिय समितिले गर्नुपर्छ । आजको बैठकमा सभापति शेर बहादुर देउवाले आफु कुनै पनि हालतमा महाधिवेशन गराउने पक्षमा रहेको बताएका थिए । यसअघि भदौ ७ देखि १० सम्म महाधिवेशन गर्ने निर्णय काङ्ग्रेसले गरेको थियो । पार्टीको महाधिवेशन भदौ भित्र जुनसुकै हालतमा गर्नुपर्ने संवैधानिक बाध्यता समेत रहेको छ ।

  • आज सभामुखले सर्वदलीय छलफल गर्दै, प्रधानमन्त्री ओली जाने सम्भावना कम

    आज सभामुखले सर्वदलीय छलफल गर्दै, प्रधानमन्त्री ओली जाने सम्भावना कम

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रतिनिधि सभा विघटनपछिको उत्पन्न परिस्थिति र समसामयीक परिस्थितिबारे छलफल गर्ने भन्दै उनले संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई बैठकमा आऋवान गरेका छन् । यसअघि उनले पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफल गरिसकेका छन् । दिउँसो २ बजे संसद भवनस्थित ल्होत्से हलमा छलफल हुने छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि बोलाइएको छ । तर, उनी जाने सम्भावना भने कम छ । उनको सचिवालयले यो छलफलको औचित्य नभएको बताएको छ । ८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गते मध्यावधी चुनाव घोषणा गरेपछि सभामुखले उचित कदम आफुले पनि चाल्ने बताएका थिए ।

  • कर्णालीमा फ्लोर क्रस गरेका चार सांसदको पद बच्यो

    कर्णालीमा फ्लोर क्रस गरेका चार सांसदको पद बच्यो

    काठमाडौं । कर्णालीमा फ्लोर क्रस गरेका चार जना सांसदको पद बचेको छ । सर्वोच्च अदालतले कर्णालीका चार प्रदेशसभा सदस्यलाई पुनर्बहाली गर्न आदेश दिएको छ ।

    न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले चार प्रदेशसभा सदस्य प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई निष्कासन गर्ने एमाले केन्द्रीय कमिटीको निर्णय र त्यसका आधारमा प्रदेशसभा सचिवालयले गरेको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएसँगै उनीहरुको पद समेत बचेको हो ।

    कर्णालीका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीको सत्ता जोगाउन उनलाई मत दिएका चार जना सांसदलाई एमालेले कारवाही गरेको थियो । उनीहरु एमालेमा माधव नेपाल पक्षका सांसद हुन् ।

  • सर्वोच्चले एमालेको महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिएन

    सर्वोच्चले एमालेको महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिएन

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीलाई वैधानिकता दिन अस्वीकार गरेसँगै एमालेमा माधव नेपाल पक्षको माग पुरा भएको छ । सर्वोच्चले एमाललाई २ जेठ २०७५ को अवस्थामा फर्काइ दिएको हो । प्रकाश ज्वालासहित चार सांसदलाई कर्णाली प्रदेशसभा सदस्यबाट पदमुक्त गर्ने निर्णयविरुद्ध परेको रिटमा आन्तरिम आदेश दिँदै सर्वोच्चले दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिलाई केन्द्रीय कमिटीको रुपमा बैधानिकता दिन अस्वीकार गरेको हो ।

    न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले यस्तो आदेश गरेको हो । सर्वोच्चको २३ फागुनको फैसलाअनुसार एमाले र एमाओवादी अलग अलग पार्टी अस्तित्वमा आएका थिए । त्यसपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले २८ फागुनमा आफू पक्षीय नेताहरु मात्र बैठक राखेर महाधिवेशन आयोजक समिति बनाएका थिए । त्यसलाई ७ चैतमा बसेको ओली पक्षका मात्र नेता सहभागी भएको केन्द्रीय समिति बैठकले अनुमोदन गरेको थियो ।

    सोही महाधिवेशन आयोजक समितिको १० वैशाखको बैठकले फ्लोर क्रस गर्ने कर्णालीका चार सांसद प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमरबहादुर थापा र कुर्मराज शाहीलाई कारवाही गरेको हो ।

    राजनीतिक दलसम्बन्धी ऐनमा केन्द्रीय कमिटीबाट मात्र निस्कासन गर्न सक्ने व्यवस्था उल्लेख गर्दै अन्तरिम आदेशमा ‘नेकपा एमालेको केन्द्रीय समितिको निर्णय हावाला दिएर निवेदकहरुसँग स्पष्टीकरण माग नगरेको र निवेदनहरुलाई कर्णाली प्रदेशसभा सदस्य र कर्णाली प्रदेश संसदीय दलको सदस्य पद समेतबाट निस्कासन गर्दा नेकपा एमालेको केन्द्रीय समितिबाट निर्णय भएको नदेखिई प्राकृतिक न्यायको सिद्धान्त र राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ३२ (२) (३) को भावनाको प्रतिकुल देखिएको ‘‘’ भन्दै कारबाहीको निर्णय कार्यान्वयनमा समेत रोक लगाइएको छ ।

  • सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाए

    सभामुखले प्रधानमन्त्रीसहित शीर्ष नेतालाई छलफलमा बोलाए

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीसहित संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतासँग परामर्श गर्ने भएका छन् । उनले शुक्रबार प्रधानमन्त्री, पूर्व प्रधानमन्त्रीहरु र संसदमा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेतालाई छलफलमा बोलाएका हुन् ।

    सभामुखले प्रधानमन्त्रीसहित नेताहरुलाई पत्र पठाएर बैठकमा बोलाएका छन् । बैठक समसामयिक विषयमा केन्द्रित हुने बताइएको छ । संघीय संसद भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक बोलाइएको छ ।

  • सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

    सुदुरपश्चिमका मूख्यमन्त्री भट्टले विश्वासको मत लिँदै

    धनगढी । सुदुरपश्चिम प्रदेशका मूख्यमन्त्री त्रिलोचन भट्टले आज संसदबाट विश्वासको मत लिँदैछन् । नेकपा माओवादी केन्द्र नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारमा एमालले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । सोहीकारण मुख्यमन्त्री त्रिलोचन भट्टले आज प्रदेश सभा बैठकमा विश्वासको मत लिने भएका हुन् । यहाँ एमालेका माधव नेपाल पक्षका सांसदले फ्लोर क्रस गर्ने सम्भावना छ ।

    सो अवस्थामा भट्ट पुनः मूख्यमन्त्रीमा कायम रहने छन् । उक्त प्रस्तावको विरूद्ध मतदान गर्न नेकपा एमालेले ह्विप भने जारी गरेको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटीले ह्वीप जारी गर्न पार्टी संसदीय दललाई निर्देशनसमेत दिएको छ। राससका अनुसार एमाले प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाश शाह र प्रमुख सचेतक दुर्गा विकलाई मुख्यमन्त्री भट्टले राखेको प्रस्तावको विपक्षमा मतदान गर्न ह्वीप लगाउने निर्देशनसहित पत्र पठाएका छन्।

    सुदूरपश्चिम प्रदेश सभामा ५२ सदस्य छन्। मुख्यमन्त्री भट्टले २७ मत ल्याएमा उनको कुर्सी जोगिने छ । प्रदेशसभामा नेकपा एमालेका २४, नेकपा माओवादीका १३, नेपाली कांग्रेसका १२ र जनता समाजवादी पार्टी जसपाका दुई सांसद छन् । एमालेका २४ मध्ये ९ जना मात्र प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा छन् ।

  • वरिष्ठताका आधारमा गठन होला प्रतिनिधिसभा विघटनबारेको संवैधानिक इजालस ?

    वरिष्ठताका आधारमा गठन होला प्रतिनिधिसभा विघटनबारेको संवैधानिक इजालस ?

    काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटनको मुद्दामा आजबाट संवैधानिक इजलासमा सुनुवाइ शुरु हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले यस सम्बधी मुद्दाको सुनुवाइमा गर्न आइतबार नयाँ संवैधानिक इजलास गठन गर्ने योजना बनाएका हुन् ।

    यसअघि प्रगठन गरेको संवैधानिक इजलासमा रिट निवेदकतर्फका वकिलले आपत्ति जनाएपछि विवाद भइरहेको छ । इजलासमा रहेका न्यायाधीशद्वय तेजबहादुर केसी र बमकुमार श्रेष्ठले यी मुद्दा हेर्न नमिल्ने वकिलहरुको प्रश्न छ ।

    न्यायाधीश केसी र श्रेष्ठ चाँही इजलासै रहने अडानमा छन् । अन्य दुई न्यायाधीश आनन्दमोहन भट्टराई र दीपककुमार कार्की भने इजलासमा नबस्ने भन्दै अलग भएका छन् ।

    सर्वोच्च बारका पदाधिकारीसँगको छलफल र सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठकमा प्रधानन्यायाधीश राणाले अबको संवैधानिक इजलास रोष्टरमा रहेका न्यायाधीशमध्ये वरिष्ठताका आधारमा गठन गर्ने सहमति जनाएका कारण वरिष्ठताकै आधारमा संवैधानिक इजलास गठन हुने अपेक्षा गरिएको छ ।

  • संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु

    संसद विघटनबारेका रिटमा आजदेखि सुनुवाई शुरु

    काठमाडौं । संसद विघटन र यससँग जोडिएका विभिन्न मुद्दामा परेका रिटमाथि आजबाट सुनुवाई शुरु हुँदैछ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बहुमत सांसदको समर्थन हुँदाहुँदै राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरि संसद विघटन गरेपछि सर्वोच्चमा रिट परेका छन् । सर्वोच्च अदालतमा आजदेखि १९ रिटमा सुनुवाइ हुँदैछ ।

    शुक्रबार बाँकी ११ रिटको सुनुवाइ हुने कार्यक्रम छ । यी संवैधानिक बेञ्चमा सुनुवाइको माग गरिएका रिटको संख्या हो । १४६ जना सांसदसहित कांग्रेस सभापति देउवा समेत रिट लिएर सर्वोच्च पुगेका थिए। देउवालाई १४९ सांसदले गत शुक्रबार प्रधानमन्त्रीमा समर्थन गरेका थिए ।

    तर दाबी नपुगेको भन्दै सरकारको सिफारिसमा सोही दिन राष्ट्रपतिबाट प्रतिनिधि सभा विघटन भएको छ । यो घटनापछि विपक्षी दलले सर्वोच्चको ढोका ढकढकाएको हो । सर्वोच्चमा प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई नै निरन्तरता दिनुपर्ने माग समेत गरेर रिट परेको छ ।

  • एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने

    एमालेका वरिष्ठ नेताहरुले स्पष्टिकरण नबुझाउने

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओपी समूहले सोधेको स्पष्टिकरण खनाल, नेपाल समूहका नेताले नबुझाउने भएका छन् । एमालेले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावलसहित ११ नेतालाई स्पष्टिकरण सोधेको थियो । विपक्षी दलका नेता शेर बहादुर देउवालाई प्रधानमन्त्री प्रस्ताव गर्दै हस्ताक्षर गरेका २६ एमाले सांसदमध्ये ११ जनालाई मात्र स्पष्टिकरण सोधिएको हो ।

    यसले कम मात्र नेता माधव खनाल पक्षमा रहने र बाँकि नेताहरुलाई आफुतिर तान्ने सके आफ्नो गूट बलियो हुने आंकलन ओलीको छ । तर, एमालेका वरिष्ठ नेताहरुले भने पार्टीको नवौं महाधिवेशनपछिको संरचना भत्काएर अवैध संरचना निर्माण गरेर स्वयम् आफू नै अवैध भइसकेको व्यक्तिलाई आफूहरुले स्पष्टीकरण बुझाइरहन आवश्यक नरहेको निष्कर्ष निकालेका छन् ।

    उनीहरुले कार्यकर्ताको मनोबल गिराउने र एकपछि अर्को असंवैधानिक कदम अघि बढाउने काम गरेको भन्द्यै ओलीलाई स्पष्टिकरण नदिने बताएका हुन् । एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले विभिन्न तीन वटा प्रश्नसहित २४ घण्टाभित्र स्पष्टीकरण उपलब्ध गराउन नेताहरुलाई पत्र पठाएका थिए ।

    स्पष्टीकरणमा वैशाख २७ मा प्रतिनिधि सभा बैठकमा अनुपस्थित हुनुपर्ने कारण, राष्ट्रियसभा चुनावमा सूर्य चिह्न लिएर पार्टीबाट उठेका रामबहादुर थापा बादललाई मतदान नगर्नुका कारण, र जेठ ७ गते नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नुका कारणबारे प्रश्न राखिएको छ ।

  • विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै

    विपक्षी गठबन्धनको रिट आज सर्वोच्चमा दर्ता गरिँदै

    काठमाडौं । विपक्षी गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा रिट दायर गर्दैछन् । आइतबार नै रिट दायर गर्ने तयारी भएपनि सांसदहरुको हस्ताक्षर संकलन गर्दा ढिलाई हुन पुगेको बताइएको छ । रिट हाल्नका लागि आवश्यक सबै कागजपत्र आइतबार नै जुटेका कारण सोमबार बिहान सर्वोच्च जाने तयारी भएको नेताहरुले बताएका छन् ।

    प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा संसद विघटन गरेकी छिन् । विपक्षी दलले १४९ जना सांसदको हस्ताक्षरसहित देउवालाई प्रधानमन्त्रीमा प्रस्ताव गरेपनि राष्ट्रपतिले अमान्नय हुने घोषणा गरेकी थिइन् । सोही विषयमा विपक्षी गठबन्धन हस्ताक्षरसहित नै सर्वोच्च अदालतमा रिट दायर गर्ने तयारीमा छ ।
    रिट हाल्न नेपाली कांग्रेस, माओवादी केन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाले सांसदहरुको हस्ताक्षर, नागरिकताको फोटोकपीसहितका दस्तावेज तयार पारेका छन् ।

  • देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने

    देउवाको समर्थनमा हस्ताक्षर गरेका सांसद सर्वोच्च जाने

    काठमाडौं । संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा शेर बहादुर देउवालाई प्रस्ताव गरि हस्ताक्षर गरेका १४९ सांसद संसद विघटनविरुद्ध रिट हाल्न सर्वोच्च अदालत जाने भएका छन् । विपक्षी गठबन्धनले एक स्वरमा यो कदमको विरोध गरेका छन् । आज दलहरुले आफ्ना सांसदहरुलाई नागरिकतासहित संसद भवनमा भेला हुन निर्देशन दिएका छन् । सम्भवतः आजै रिट दायर गर्ने तयारी रहेको बताइएको छ ।राष्ट्रपति र सरकारको कदमको कानुनी उपचार गर्ने निर्णय भएसँगै दलहरु सर्वोच्च जान लागेका हुन् ।


    शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दूर्गा पौडेलसमेत सहभागी संयुक्त बैठकले संसद विघटनको कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो । विपक्षी दलको बैधानिक दाविलाई लत्याउँदै राष्ट्रपतिले दाबी नपुगेको भन्दै प्रधानमन्त्रीको सिफारिसमा शुक्रबार मध्यराति संसद विघटनको निर्णय गरेकी थिइन् । साथै उनले कात्तिक २६ र मंसिर ३ गते नयाँ निर्वाचन समेत घोषणा गरेकी छिन् । कोरोना भाइरसको महामारीका बीच आएको यो कदमको व्यापक आलोचना भइरहेको छ ।

  • संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई

    संविधान नै खारेज गर्ने प्रपञ्च भयो : भट्टराई

    काठमाडौं । शुक्रबार राति संसद् भंग गरेर राष्ट्रपति विद्या भण्डारीले कात्तिक २६ र मंसिर ३ का लागि तोकेको चुनावको मितिप्रति टिप्पणी गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले संविधान नै खारेज गर्ने प्रपञ्च भएको बताएका छन् । भट्टराईले यो मध्यावधि चुनाव नभई संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च रहेको उल्लेख गरेका हुन् ।

    उनले भनेका छन् ‘भित्री र बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र, सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिकरअसंवैधानिकरप्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो त्यसैको कडी हो यो ओली, विद्या कुकर्म), यो कुनै मध्यावधि चुनाव होइन संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेजगर्ने प्रपञ्च हो । एकजुट होऔं, प्रतिवाद गरौं ’

  • प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक

    प्रधानमन्त्रीमा देउवा र ओलीको दावि, राष्ट्रपतिको फैसला निर्णायक

    काठमाडौं । संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रिया शुरु भएको छ । यस प्रक्रिया अनुसार राष्ट्रपतिले दिएको समय सीमा आज साँझ ५ बजेसम्म शेरबहादुर देउवा र केपी शर्मा ओलीले आफ्नो पक्षमा बहुमत रहेको दावि गर्दै राष्ट्रपति समक्ष दावि पेश गरेका छन् ।

    देउवाले विपक्षी सांसदसहित एमाले माधव नेपाल समुहका २७ सांसदको समेत हस्ताक्षरसहित आफ्नो दावि पेश गरेका हुन् । उनलाई कांग्रेस, माओवादी केन्द्र र समाजवादी पार्टीभित्र उपेन्द्र यादव समुहले समर्थन गरेको छ । उता, प्रधानमन्त्री केपी शर्मा ओली भने आफुलाई सिंगै एमाले र सिंगै जसपाको समर्थन रहेको दावि गर्दै राष्ट्रपति समक्ष पुगेका छन् ।

    देउवाले १४९ सांसदको समथर्न रहेको दावि गरेका छन् । ओलीले १५३ सांसद रहेको दावि गरेका छन् । यसअनुसार एमाले र समाजवादीका सांसद दोहोरिएका हुन् । संसदमा कायम सदस्य संख्याको बहुमत पुर्याएमा प्रधानमन्त्रीमा नियुक्त हुन सक्ने प्रावधान रहेको छ ।

    प्रधानमन्त्री र विपक्षी दलका नेताबाट छुट्टाछुट्टै दावि आएपछि अहिले राष्ट्रपति विद्यादेवि भण्डारी परामर्शमा रहेकी छिन् । उनले लिने फैसलामा आगामी प्रधानमन्त्रीको टुंगो लाग्ने छ ।

  • राष्ट्रपतिको कदमपछि कांग्रेस नेताहरु आक्रोसित, आज आकस्मिक पदाधिकारी बैठक बस्दै

    राष्ट्रपतिको कदमपछि कांग्रेस नेताहरु आक्रोसित, आज आकस्मिक पदाधिकारी बैठक बस्दै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नदिएकै अवस्थामा नयाँ सरकार गठनका लागि भन्दै राष्ट्रपतिले २१ घण्टाको समय दिएको विज्ञप्ती सार्वजनिक भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरु आक्रोसित बनेका छन् । नेताहरुले यो असंवैधानिक कदम भएको र प्रधानमन्त्री तथा राष्ट्रपति मिलेर संविधानको खिल्ली उडाउने काम भएको प्रतिक्रिया दिएका छन् ।

    कांगे्रसका वरिष्ठ नेता रामचन्द्र पौडेलले यो कदमलाई संविधान फाल्ने षडयन्त्रको संज्ञा दिएका छन् । कांग्रेस नेता गगन थापाले अब राष्ट्रपतिलाई महाअभियोग लगाएर बिदा गर्नुपर्ने बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त प्रयास भएको उल्लेख गरेका छन् । यसै सन्दर्भमा कांग्रेसले शुक्रबार बिहान पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ।

    राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ (५)अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले पदाधिकारीसहितको बैठक बोलाएको हो। बैठक शुक्रबार बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्नेछ।

  • महामारी ओझेलमा, प्रधानमन्त्रीको मुडेबलमा मुलुकलाई अग्रिम निर्वाचनमा होम्ने प्रयास

    महामारी ओझेलमा, प्रधानमन्त्रीको मुडेबलमा मुलुकलाई अग्रिम निर्वाचनमा होम्ने प्रयास

    काठमाडौं । कोरोना महामारीका कारण दैनिक २ सय मानिसले ज्यान गुमाइरहेका छन् । अस्पतालमा बेड र अक्सिजनको अभाव यद्दपी अभाव छ । जनतामा चरम निरासा र सास्ती छ । तर, प्रधानमन्त्री केपी शर्मा ओली गत पुसमा आफुले चालेको संसद विघटन सही थियो भन्ने देखाउन हरसम्भव प्रयासमा लागेका छन् । उनकै मुडेबलमा अब मुलुक अग्रिम निर्वाचनमा होमिने निश्चित भएको छ ।

    सोही चालबाजी अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधानको धारा ७६ को उपधारा ५ वमोजिम नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले उपधारा ४ बमोजिम संसदबाट विश्वासको मत नलिई नयाँ सरकार गठनको मार्ग प्रशस्त गरेको जानकारी आज राष्ट्रपतिलाई गराएका छन् ।

    राष्ट्रपति कार्यालयले बिहीबार राति विज्ञप्ति जारी गर्दै शुक्रबार साँझ ५ बजेसम्म विश्वासको मत प्राप्त गर्न सक्ने आधार प्रस्तुत गर्न दलहरुलाई समय दिएको उल्लेख छ । अब विपक्षी गठबन्धनले आज रातभर र शुक्रबार दिनभरमा बहुमत देखाएर सरकारको दावि गर्न नसके प्रतिनिधिसभा संवैधानिक रुपमा भंग हुन्छ । त्यसपछि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा निर्वाचन घोषणा हुन्छ ।

    प्रधानमन्त्री ओली यही चाहन्छन् । उनको चाहना अनुसार मुलुकलाई राजनीतिक खेलबाट बचाउने हो भने अहिले निर्णायक मत बोकेको माधव नेपाल समुहका सांसदले राजिनामा गरि विपक्षी दलको बहुमत पुर्याउन सहयोग गर्नुपर्छ । त्यसो हुन नसके मुलुक महामारीका बीच निर्वाचनमा जाने छ । यसले थप जटिलता ल्याउने छ । जनस्वास्थ्य पुनः एक पटक ओझेलमा पर्नेछ ।

  • पुनः नयाँ सरकार गठनको कसरत शुरु, राष्ट्रपतिबाट २१ घण्टाको समय प्रदान

    पुनः नयाँ सरकार गठनको कसरत शुरु, राष्ट्रपतिबाट २१ घण्टाको समय प्रदान

    काठमाडौं । नेपालमा नयाँ सरकार गठनको कसरत शुरु भएको छ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले एक महिना भित्र विश्वासको मत लिनु पर्ने थियो । तर, आफ्नो पक्षमा विश्वासको मत लिन नसक्ने निश्चित भएपछि ओली पुनः अर्को कदममा गएका हुन् । उनले विश्वासको मत नलिई वैकल्पिक सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने जानकारी राष्ट्रपति विद्यादेवी भण्डारीलाई गराएका थिए ।

    त्यसलगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार नयाँ सरकार गठन गर्न आह्वान गरेकी छन् । राष्ट्रपतिले नयाँ सरकार गठन गर्न दलहरुलाई २१ घण्टाको समय दिएकी छिन् । अब दलहरुले शुक्रबार साँझ ५ बजेसम्म बहुमतको सरकार गठन गर्न दावि पेश गर्नुपर्नेछ ।

  • राष्ट्रियसभा उपनिर्वाचनको मतदान प्रारम्भ, आजै साँझ नतिजा

    राष्ट्रियसभा उपनिर्वाचनको मतदान प्रारम्भ, आजै साँझ नतिजा

    हेटौडा । राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि मतदान गर्ने प्रक्रिया शुरु भएको छ । गृहमन्त्री तथा एमालेका उमेदवार रामबहादुर थापा बादल र अर्का एमालेका उमेदवार डा. खिमलाल देवकोटा ९ बजे नै मतदान केन्द्रमा पुगेका छन् । मतदान सकिनासाथ गणना सुरु हुने र आजै नतिजा सार्वजनिक गर्ने तयारी निर्वाचन आयोगको रहेको छ । मतदान ३ बजेसम्म हुनेछ ।

    स्थनीय तहबाट धुलिखेल नगरपालिकाका प्रमुख र प्रदेशसभा सदस्यको तर्फबाट मुख्यमन्त्री डोरमणि पौडेलले मतदान गर्दै मतदानको प्रारम्भ गरेका हुन् । बादल र देवकोटालाई नेमकिपाका कृष्णबहादुर तामाङले चूनौति दिनेछन् । उम्मेदवार आफूले भने आफैंलाई भोट हाल्न नपाउउने प्रावधान रहेको छ ।