Category: कानुनी कुरा

  • कलंकीमा भेटियो नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कारखाना, विभागको छापा

    कलंकीमा भेटियो नक्कली कस्मेटिक सामान उत्पादन गर्ने कारखाना, विभागको छापा

    काठमाडौं । कलंकीमा नक्कली कस्मेटिक पदार्थ उत्पादन गर्ने कारखाना फेला परेको छ । आज वाणिज्य विभाग र अपराध महाशाखाको संयुक्त टोलीले कारखानामा छापा मारेसँगै यसको रहस्य खुलेको हो । विभागले छापा मारेको यो कारखानाबाट ब्राण्डेड कस्मेटिक वस्तुको खोलमा अप्रमाणित रसायन प्रयोग गरी कस्मेटिक बनाएर बिक्री गर्ने गरेको फेला परेको हो ।

    विशेष सूचना पाएपछि विभागले अपराध महाशाखाको टोलीसहित छापा मारेको हो । हानीकारक कस्मेटिक बनाएर बजारमा बिक्री गर्ने गरेको आरोपमा अनुमगन टोलीले एकजना सञ्चालकलाई नियन्त्रणमा समेत लिएको छ ।

    आज टोलीले नक्कली कस्मेटिक उत्पादन, भण्डारण एवं बिक्री गर्ने तीन वटा घर सिल गरेको छ । बजारमा नाम चलेका ५१ प्रकारका कस्मेटिक वस्तुको ब्राण्डेड खोलमा अप्रमाणित रसायन प्रयोग गरि कस्मेटिक उत्पादन हुने गरेको पाइएको विभागले जनाएको छ ।

    विभिन्न ब्राण्डका मेहेन्दी र कालाकोला ब्राण्डको क्लिजिङ क्रिम, भ्यास्लिन, वोकली ह्वाइनिङ, विस्पर प्याडलगायतका वस्तुहरु यहाँबाट उत्पादन हुने गरेको पाइएको छ ।

  • भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने

    भिसा सकिएपछि पनि घर फर्कन नमानेका अमेरिकीलाई दूतावासको जिम्मा लगाइने

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ शिखमा बसिरहेका एक अमेरिकी नागरिकको पर्यटक भिसाको अवधि सकिएको छ । उनी भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि आफ्नो देश फर्कन नमानेको नेपालको राष्ट्रिय समाचार समितिलाई उदृत गर्दै संचारमाध्यमले जनाएका छन् ।

    उनी संयुक्त राज्य अमेरिकाको क्यालिफोर्नियाका ५२ वर्षीय प्री जोइल हुन् । आफ्नो देश फर्कन अटेर गरेका उनको राहदानी ५२२४५ नम्बरको हो । भ्रमणमा आएका विदेशी नागरिक अनुमति पाए भन्दा बढी समेत बस्न मिल्दैन । बाध्यात्मक कारण भए निश्चित शूल्क तिरेर अध्यागमन विभागबाट म्याद थप गराउनु पर्छ ।

    अवैध बसेको पाइएमा भने पक्राउ गरी जरिवाना तिराउने र अध्यागमन विभागमार्फत सम्बन्धित देशको दूतावासमा बुझाउने कानूनी प्रक्रिया रहेको छ । यी अमेरिकी नागरिकलाई समेत अब नेपालस्थित अमेरिकी दूतावासको जिम्मा लगाउने तयारी गाउँपालिकाले गरेको छ ।

    नेपालमा कोरोना भाइरस रोकथाम गर्न लकडाउन हुनु अगाडी नै अमेरिकाले दूतावासमार्फत आफ्ना नगरिकलाई स्वदेश फर्कन सूचना जारी गरेको थियो । जहाज चार्टर गरेर नागरिकलाई आफ्नो देश लगेको थियो । लकडाउन हटेपछि भिसा सकिएका अधिकांश विदेशी नागरिक कानूनी प्रक्रिया पूरा गरेर आफ्नो देश फर्किएका थिए ।

    तर, उनी भने विसं २०७६ मंसिर महिनादेखि शिखको सीयु होटलमा बस्दै आएका छ । जोइलको राहदानीमा पछिल्लो पटक थप गरिएको भिसाको म्याद सन २०२० मार्च १८ मा सकिएको छ । होटेल संचालकका अनुसार समस्या बारे केही नबताउने उनले आफुले होटेलको पैसा भने चुक्ता गर्ने आश्वासन दिएको बताउँछन् ।

    एक्लै रहेका जोइलले असामान्य व्यवहार र गतिविधि गर्ने स्थानीयले जनाएका छन् । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले आफैंले अमेरिकी दूतावासमा लगेर बुझाइदिने तयारी गरेको राससले जनाएको छ ।

  • भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद

    भारतीय जेलबाट ४० वर्षपछि छूटे दुर्गाप्रसाद

    कोलकाता । इलामका दुर्गाप्रसाद तिम्सिना ४० वर्षपछि भारतीय जेलबाट छुटेका छन् । भारतीय जेलबाट थुनामुक्त भएका इलामका तिम्सिनालाई आफन्त र वकिलले माला लगाएर स्वागत गरे । उनलाई कोलकाताको दमदम कारागारबाट निकालिएको हो ।

    कारागारको सुरक्षामा खटिएका प्रहरीका अनुसार दूर्गाप्रसादले गीत गाउँथे । ‘रेशम फिरिरी’ गीत बढी समय गाउने गरेका थिए । शुक्रबार कारागारमा भएको काउन्सिलिङका क्रममा आफूले नेपाल गएर बिहे गर्ने बताएको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    दुर्गाप्रसादलाई भाई प्रकाशचन्द्रले आफ्नो साथमा लिएका हुन् । बुधबार साँझ उच्च अदालत कोलकाताबाट उनलाई प्रकाशको रोहबरमा छाड्न आदेश दिएको हो । त्यसपछि कानुनी प्रक्रिया पूरा गरेसँगै शनिबार छाडिएको हो ।


    दूर्गाप्रसाद १९ वर्षको हुँदा इलामको घरबाट निस्किएका हुन् । उनलाई दार्जिलिङमा हत्या आरोपमा पक्राउ गरिएको थियो । अदालतले मानसिक स्वास्थ्य जाँच गरेर उनलाई ल्याउन भनेपनि जाँच गरेर नलगेका कारण ४० वर्षसम्म उनी विनासुनुवाइ भारतीय जेलमा बस्न बाध्य भएका हुन् ।

  • प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दुई प्रतिवेदन पेश गर्दै

    प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दुई प्रतिवेदन पेश गर्दै

    काठमाडौं । प्रतिनिधिसभाको आज बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्ने भएका छन् । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । यसअघि संसदलाई विजनेश नदिएको र पंगु बनाउन खोजेको भन्दै सरकारको कडा आलोचना भइरहेको छ । आजको बैठकमा विभिन्न प्रतिवेदन र प्रस्ताव प्रस्तुत गर्ने संभावित कार्यसूची राखिएको छ ।


    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोक सेवा आयोगको ६१ औँ प्रतिवेदन र राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने संभावित कार्यसूची छ । संसद सचिवालयका अनुसार सभामुख अग्निप्रसाद सापकोटाले पूर्व राष्ट्रियसभा सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने छन् । कोइरालाको विहीबार निधन भएको छ ।

  • एमाले नेपाल-खनाल समहुको राष्ट्रिय भेला आजबाट शुरु, नजान ओली समुहको कडा उर्दी

    एमाले नेपाल-खनाल समहुको राष्ट्रिय भेला आजबाट शुरु, नजान ओली समुहको कडा उर्दी

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा प्रारम्भ हुने भएको छ । तर, यो भेलामा नजान ओली समुहको एमालेले भने कडा उर्दी जारी गरेको छ । नेता इश्वर पोखरेलले एमालेको कुनै पनि राष्ट्रिय भेला आयोजना नभएको भन्दै गुट भेलामा सहभागी नहुने सबैमा आग्रह गरेका छन् ।

    तर, नेपाल-खनाल पक्षधरले भने भेलाको उदघाटनमै प्रधानमन्त्री आउनु पर्ने बताएका छन् । भेला दुई दिनसम्म चल्ने छ । जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेको बताइएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल(नेपाल समूह आक्रोसित बनेको हो ।

    सो कदमपछि एमाले विभाजनको नजिक पुगेको छ । भेलाका लागि खनाल-नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ ।

  • राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान

    राष्ट्रपतिबाट सर्वदलीय बैठक आह्वान

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीबाट सर्वदलीय बैठक आह्वान भएको छ । मंगलबार दिउँसो ४ बजे बस्ने गरी दलहरुलाई राष्ट्रपति कार्यालयले आमन्त्रण गरेको हो । बैठकमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदुर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई निम्ता पठाइएको छ । बदलिँदो परिस्थितिमा दलहरुबीच तिब्र ध्रुविकरणका बीच बोलाइएको यो बैठकलाई महत्वका साथ हेरिएको छ ।

    यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समेत मंगलबार नै एमालेका केन्द्रिय सदस्यहरुका लागि चियापानको निम्ता दिएका छन् । उनी बिग्रिएको सम्बन्ध सुधार गर्न एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधरसँग आज पार्टी कार्यालय धम्बाराहीमै पुगेका भेट गरेका छन् । आजै उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरी भेटको निम्ता दिएको बताइएको छ ।

  • एमालेमा नेपाल-खनाल समुहबाट समानान्तर कमिटी गठन

    एमालेमा नेपाल-खनाल समुहबाट समानान्तर कमिटी गठन

    काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु खारेज गर्ने निर्णय गरेको भोलीपल्ट बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको छ । यो संगै एमालेमा स्पष्ट दुई धारमा कमिटीहरु क्रियासिल भएका छन् ।


    एमालेको नेपाल-खनाल समुहको आज बसेको केन्द्रीय कमिटी बैठकले समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । समुहले प्रदेश १ को संयोजकमा भीम आचार्य तोकेको छ । प्रदेश २ मा घनश्याम भुसाल, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य र गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई तोकिएको छ ।

    लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवाली र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ। बैठकले रघुजी पन्त युवा विभाग, गोकर्ण बिष्टलाई विद्यार्थी विभाग, योगेश भट्टराईलाई प्रचार विभाग, अष्टलक्ष्मी शाक्यलाई महिला विभाग र प्रमेश हमाल बुद्धिजीवी विभागको प्रमुख तोकेको समेत जनाइएको छ ।

    यसअघि प्रधानमन्त्री ओलीले माधव नेपाल र झलनाथ खनालको पक्षमा रहेका सबै नेताहरुको जिम्मेवारी खोस्दै एकलौटी महाधिवेशनको मिति तोकेका थिए ।

  • आज माओवादी स्थायी कमिटी बैठक, एमालेमा गएका नेताबारे निर्णय हुँदै

    आज माओवादी स्थायी कमिटी बैठक, एमालेमा गएका नेताबारे निर्णय हुँदै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादीका दुई दर्जन नेतालाई एमालेमा विभिन्न जिम्मेवारी दिएसँगै ती नेताबारे माओवादी केन्द्रले आज निर्णय गर्ने भएको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँगको छलफलबारे समेत कुरा हुने भएको छ ।

    आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा समेत तय गर्न सक्ने बताइएको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारका लागि बोलाइएको छ । स्थायी कमिटी बैठकले शुक्रबार नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका पार्टीका नेताहरुलाई कारवाहीका लागि केन्द्रीय समितिलाई सिफारिस गरेमा उनीहरुमाथि कारवाही हुने छ ।

    माआवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा मन्त्री छन् । उनीहरुसहित २३ जनालाई प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

  • यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि सेनाका जर्नेल बर्खास्त

    यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि सेनाका जर्नेल बर्खास्त

    काठमाडौं । महिला सहकर्मीमाथि यौन दुर्व्यवहारको अभियोग प्रमाणित भएपछि नेपाली सेनाका सहायक रथी (बिग्रेडियर जर्नेल) पंकज कार्की बर्खास्त भएका छन् । सैनिक जनसम्पर्क निर्देशनालयले यसको पुष्टी गरेको नेपाली संचारमाध्यमले जनाएका छन् ।

    सेनाको २८ नम्बर बाहिनी सिरहाका बाहिनीपति रहेका कार्कीलाई मातहतमा कार्यरत महिला सैनिकमाथि यौन दुर्व्यवहार गरेको अभियोग प्रमाणित भएको हो । उनलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिएको सेनाको भनाई छ ।

    कार्कीमाथि संयुक्त राष्ट्रसंघअन्तर्गत शान्ति स्थापनार्थ सुडानमा खटिंदा दुर्व्यवहार गरेको आरोप लागेको थियो । त्यसपछि अनुसन्धानबाट यसको पुष्टी भएको निर्देशनालयको भनाई छ ।

    कार्कीमाथि यौन दुर्व्यवहारको आरोप लागेपछि छानविन गर्न सैनिक मुख्यालयले ‘कोर्ट अफ इन्क्वायरी’ गठन गरेको थियो। कोर्ट अफ इन्क्वायरीले कार्कीसंगै महिला सैनिकको समेत आचरणमा गलत मनशाय देखिएको भन्दै दुवै जनालाई बर्खात गर्नुपर्ने निर्णय सुनाएको छ ।

  • सँगै लागुऔषध खाने साथीको चक्कु प्रहार गरी हत्या

    सँगै लागुऔषध खाने साथीको चक्कु प्रहार गरी हत्या

    निजगढ । बाराको निजगढमा १८ वर्षीय युवक रोहित शर्माको हत्यामा उनका आफ्नै मिल्ने साथीको संलग्नता देखिएको छ । साथी साथी भएपनि एकले अर्कोलाई मार्ने धम्की दिएका कारण आफ्नै साथीको हातबाट उनको हत्या भएको देखिएको हो । प्रहरीले मंगलबार शर्माको हत्या गरेको आरोपमा रौतहट चन्द्रपुर ४ का २९ वर्षीय अरूणकुमार साहलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

    शर्माको बाराको निजगढ नगरपालिका–९ बुद्ध चोकस्थित घरमा सुतेको स्थानमै धारिलो हतियार प्रहारबाट हत्या भएको पाइएको थियो । दुई जनाबीच लागूऔषध सेवन गर्ने विषयमा विवाद भएको र एकले अर्कालाई मार्ने धम्की दिएका थिए । आफुले नमारेमा उसले मार्ने डरसहित आफुले साथिको हत्या गरेको शाहले स्वीकार गरेको प्रहरीले जानकारी दिएको छ ।

    हत्या हुनुभन्दा अघिल्लो दिन समेत उनीहरु सँगै बसेर लागूऔषध गाँजा, ट्याबलेट र रक्सी सेवन गरेको पाइएको छ । मार्ने मनसायले चक्कुसहित शर्माकै घरमा सुतेको र बिहान करिब ४ बजेतिर चक्कु प्रहार गरी हत्या पछि भागेको पाइएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । हत्यापछि मोटरसाइकल प्रयोग गरी भागेको र प्रहरीले सोही मोटरसाइकलका आधारमा उनलाई फेला पार्न सफल भएको बताएको छ ।

  • अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

    अदालतको आदेशपछि ब्यूतिएको प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाडौं । प्रतिनिधिसभाको सातौं अधिवेशन आजबाट प्रारम्भ हुँदैछ । आज अपराह्न चार बजेका लागि बैठक आह्वान भएको हो । ५ पुसमा प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन् । यो कदमलाई सर्वोच्च अदालतले असंवैधानिक घोषणा गर्दै संसद विघटन खारेज गरिदिएको थियो ।

    अदालतले ११ फागुनमा यस्तो आदेश दिएको हो । अदालतले १३ दिनभित्र बैठक बोलाउन भनेको थियो । सोहीअनुसार पुनः सरकारको सिफारिसमा राष्ट्रपतिबाट नयाँ मिति तोकिएको हो । आजको बैठकमा अन्यौल भने हुनेछ । नेकपा दुई खेमामा बाँडिएको छ । तर औपचारिक रुपमा विभाजित भएको छैन । दुवै नेकपाका आ–आफ्ना संसदीय दलका नेता तथा प्रमुख सचेतक छन् । तर, उनीहरुलाई बस्न राखिएको लहर सत्ता पक्षतर्फ नै छ ।

    धेरैले आफ्नो कदम गलत सावित भएपछि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजिनामा दिन्छन् भन्ने आंकलन गरेका थिए । तर प्रधानमन्त्री त्यसो नगरी विश्वासको मत पनि नलिने र अविश्वासको प्रस्ताव आए सामना गर्ने तयारीमा छन् । सोहीकारण संसद बैठकपछि राजनीतिक परिदृष्य अझ पेचिलो बन्दै जाने देखिएको छ ।

  • पहिचानको हक र नारी दिवस

    पहिचानको हक र नारी दिवस

    कल्पना शाक्य (अधिवक्ता)

    मार्च ८ – अन्तराष्ट्रिय महिला दिवस ! विशेषतः सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक अधिकारमा महिलाको पहुँच प्राप्तिको उपलक्ष्यमा महिला दिवस मनाउने दिन । महिलाहरुले मताधिकारमा प्राप्त गरेको हकलाई विजयोत्सवको रुपमा सर्वप्रथम सन् १९१४ मा जर्मनीमा मनाइएको हो । तथापि यसको बिऊ रोप्ने काम भने सन् १९०८ मा महिलाहरुलाई समान कामको लागी समान पारिश्रमिक र मताधिकारको दावि गरेर न्यूयोर्क सहरमा करिब पन्ध्रसय महिलाहरुको जुलुसले शुरुवात गरेको थियो । Clara Zetkin नामकी महिला अधिकारकर्मीको अगुवाई तथा संयोजनमा सन् १९१० मा डेनमार्कको कोपेनहेगनमा १७ देशका १०० महिलाहरु भेला भई महिला सम्मेलन सम्पन्न भएको थियो ।
    त्यसदिन संसारभर कार्यालय बिदा गरी, जुलुस, सभा, गोष्ठि, फूल उपहार साटासाट गरेर हर्षोल्लासपूर्वक मनाईदै आएको पाईन्छ । प्रत्येक वर्ष अन्तराष्ट्रिय महिला दिवसमा एउटा फरक नारा दिईने गरिन्छ । यस वर्ष सन् २०२१ मर्च ८ को नारा “Women in leadership: Achieving an equal future in a COVID-19 world” अर्थात “नेतृत्वमा नारी: कोरोनाले आक्रान्त विश्वमा समान भविष्यको तयारी” भन्ने रहेको छ ।
    नेपालमा पनि अन्तराष्ट्रिय रुपमा एक्येबद्धता जनाउँदै अघि सारिएका नारालाई समर्थन र आत्मसात गर्दै मनाइन्छ । यद्यपि केवल नाराको पछाडि दौडने औपचारिकता मात्र भन्दापनि देश काल परिस्थिति अनुसार महिलाहरुका के–कस्ता चुनौति रहेका छन्? महिलाहरुले कानुनी, आर्थिक, राजनीतिक र सामाजिक क्षेत्रहरुमा के कस्ता समस्या एवम् असमानताको पिडा भोग्नु परिरहेको छ ? असमानताको जड कहाँनेर छ ? भन्ने सम्बन्धमा आफ्नै धरातलीय परिवेशमा रहेर अध्ययन अनुसन्धान गरी समस्याको गाँठो फुकाउनु श्रेयकर हुनेछ । नेपाल जस्तो पितृसतात्मक सोच भएको समाजमा महिला हिंसा र भेदभाव चरम रुपमा रहिआएको छ । त्यसको बिरुद्ध सदियौंदेखि मानव अधिकारकर्मी, महिला अधिकारकर्मीहरुको प्रयासमा लडाई लड्दै जादा क्रमीक रुपमा बिजय हासिल हुँदै आएको पनि छ । लैंगिक भेदभाव गरिने छैन भन्ने संवैधानिक व्यवस्था, भ्रुण परिक्षण बिरुद्धको कानुन, अंशमा छोरा सरह छोरीलाई समान हक, बलात्कारका बिरुद्ध बनेका कडा र सुधारोन्मुख कानुन, तेजाब आक्रमण बिरुद्धको कानुनी व्यवस्था, बोक्सी आरोपमा यातना बिरुद्धको कानुनी व्यवस्था, आमाको नामबाट नागरिकता बनाउन सकिने व्यवस्था, समान पारिश्रमिक सम्बन्धि श्रम ऐन कानुनहरु लैङ्गिक आधारमा भईरहेका भेदभाव बिरुद्ध महिलाहरुले प्राप्त गरेका विजयको प्रतिक हुन् ।


    यति हुँदा हुँदै पनि नेपाली महिलाहरुले महिला हुनुपरेको कारणले भोग्नुपरेको अन्याय समाप्त भईसकेको छैन । प्रगति उन्मुख कानुनहरु निर्माण हुँदै गईरहेको भएतापनि समाजको परम्परागत, दरिद्र सोचको कारण संविधान र ऐन कानुनले प्रदान गरेको हक अधिकार उपभोग गर्नु महिलाहरुको निम्ति अझै पनि फलामको चिउरा चपाउनु सरहकै अवस्थामा छ । जसको सबैभन्दा ज्वलन्त उदाहरण नागरिकता ऐन र यसको कार्यान्वयनमा देखिएको व्यवहारिक कठिनाईलाई लिन सकिन्छ ।
    नेपालको नागरिकता सम्बन्धि कानुनको ईतिहास हेर्दा बाबु वा आमा मध्ये एक नेपाली नागरिक भएमा त्यस्तो व्यक्ति नेपाली नागरिक ठहर्ने, नागरिकता ऐन २००९ र नेपालको संविधान २०१९ को व्यवस्थालाई, नेपाली नागरिक हुन बाबुनै नेपालको नागरिक हुनुपर्ने प्रावधान ल्याएर नेपाल नागरिकता ऐन २०२० ले प्रतिगामी कदम अघि सारेको देखिन्छ । त्यसपछि २०२० को व्यवस्थालाई नै निरन्तरता दिदै नेपाल अधिराज्यको संविधान २०४७ ले पनि बाबु नेपाली नागरिक हुनुपर्ने व्यवस्था गर्यो । त्यसपछि नेपालको अन्तरिम सविधान २०६३ र नागरिकता ऐन २०६३, नेपालको संविधान २०७२ ले कुनै व्यक्तिको जन्म हुँदा निजका बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति बंशजको नाताले नेपालको नागरिक हुनेछ भन्ने व्यवस्था गरेर लैङ्गिक समानताको हकमा सुधारात्मक कदम उठाएको पाईन्छ । तर नागरिकता ऐन २०६३ को विदेशी नागरिकसँग विवाह गरेकी नेपाली नागरिक महिलाबाट जन्मिएका छोराछोरीको हकमा निजको नेपालमा जन्म भई नेपालमा स्थायी बसोबास गरेको र बाबुको नागरिकताको आधारमा निजले विदेशी मुलुकको नागरिकता लिएको रहेनछ भने निजलाई तोकिए बमोजिम अङ्गिकृत नागरिकता प्रदान गर्न सकिने, नेपालको संविधान २०७२ को नेपाली आमाबाट नेपालमा नै जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्ति वंशजको आधारमा नेपालको नागरिक हुनेछ तर बाबु विदेशी नागरिक भएको ठहरेमा त्यस्तो व्यक्तिको नागरिकता अंगीकृत नागरिकतामा परिणत हुनेछ भन्ने व्यवस्थाबाट नागरिकता ऐनका दफाहरु तथा संविधानका धारा उपधाराहरु एक अर्कासँग बाँझिएको प्रतित हुन्छ ।
    जब एउटा दफा अथवा धाराले कुनै व्यक्तिको जन्म हुँदा निजको आमा वा बाबु मध्ये कुनै एक नेपाली नागरिक रहेछन् भने त्यस्तो व्यक्तिले वंशजको नाताले नेपालको नागरिकता प्राप्ति गर्ने उल्लेख भईसके पश्चात पुनः आमा नेपाली र बाबु विदेशी ठहरेमा अंगीकृत नागरिकता प्राप्त गर्ने व्यवस्था गरिनु विरोधाभासपूर्ण छ । अर्कोतर्फ आमाको नामबाट नागरिकता माग्न जानेलाई अङ्गीकृत नागरिकता समेत दिन सम्बन्धित निकायले ईन्कार गर्ने गरेकोले नागरिकता पाउँ भनि पिडीतहरु सर्वोच्च अदालत धाई रहेका छन् ।
    नेपाली नागरिक महिलाले आफ्नो सन्तानलाई नागरिकता दिलाउन पाउनुपर्ने भनि सर्वोच्च अदालतबाट धेरै मुद्दाहरुमा फैसला तथा आदेश भईसकेका छन् । ती मध्ये केहिको चर्चा यहाँ गर्नु सान्दर्भिक देखिन्छ ।
    अधिबक्ता चन्द्रकान्त ज्ञवालीले दायर गर्नुभएको रिट निवेदनमा, बंशजको आधारमा पाउने नागरिकतामा लिङ्गको आधारमा भएको विभेदलाई न्यायोचित मान्न नमिल्ने भनि मिति २०५८/१०/२५ मा फैसला भएको थियो ।
    कुनै व्यक्तिको जन्म हुँदा निजको बाबु वा आमा नेपालको नागरिक रहेछ भने त्यस्तो व्यक्ति वंशजको नाताले नेपालको नागरिक हुने कानुनी व्यवस्था रहेबाट समेत लिङ्ग वा वैवाहिक स्थितिको आधारमा निवेदकलाई भेदभाव गरी नागरिकताको प्रमाणपत्र लिनबाट बञ्चित हुने गरी नगरपालिकाबाट सिफारिस नदिने गरी भएको कार्यलाई कानुन सम्मत भन्न नमिल्ने भनि नक्कली महर्जनको मुद्दामा मिति २०६५/०१/०४ मा आदेश भएको ।
    आफ्नो बाबुको किटानि जानकारी आमालाई नभएको हुँदा आमाको नामबाट नागरिकता पाउँ भनि सविना दमाईले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएकोमा बाबुको ठेगाना र पहिचान नभएको कारणले नागरिकता दिन नमिल्ने भनि निवेदन फिर्ता पठाएपछि सर्वोच्चमा निवेदन दिएकोमा बाबु वा आमा मध्ये कुनै एक मात्र नेपालको नागरिक भए पनि त्यस्तो व्यक्तिले नेपालको नागरिकता प्राप्त गर्न सक्ने भनि २०६७/११/१५ मा आदेश भएको ।
    रिनेक्स बस्नेतको एकल आमाको रुपमा संरक्षण गर्दै आएकी विपना बस्नेतले रोजेको थर राख्न पाउनुपर्ने माग गर्दै अदालतमा निवेदन दिएकी थिइन् । आमाको नामबाट बंशजको नागरिकता पाउने अवस्थामा बाबुको थर लेखिएको कारणले आमाको लेख्न नपाउने नहुने भनि २०७२/१२/२२ मा आदेश भएको ।
    आफ्नो बाबु विपिन खरेल र आमा शर्मिला गौतमका बीचमा प्रेमपछि विवाह भएको तर पछि बाबु वेपत्ता भएपछि सृजन खरेल नगरिकता विहिन हुनुपरेको थियो । नागरिकता लिन जाँदा जिल्ला प्रशासन कार्यालयले बाबुको नागरिकता ल्याउन भनेपछि सर्वोच्च पुगेका थिए । २०७३/०५/१३ गते सर्वोच्चले खरेललाई आमाको नामबाट नागरिकता दिन आदेश जारी गरेको थियो ।
    बाबुको पहिचान हुन नसकेको अवस्थामा त नेपालको संविधानले नेपाल अधिराज्यभित्र फेला परेको नाबालकलाई वंशजको नागरिकताको व्यवस्था गरेको छ भने यस मुद्दामा बाबु बेपत्ता भएको घर ठेगाना पहिचान नभएको अवस्था रहेको छ । आमा वंशजको आधारमा नेपाली नागरिक र सन्तानको जन्म र बसोबास समेत नेपालमै छ । यी संवैधानिक व्यवस्थाको सन्दर्भमा आमाको नामबाट सन्तानलाई नागरिकतामा प्रतिबन्ध लगाउनु संविधानको मर्म विपरित हुने । यस मुद्दामा आमाको नामबाट नागरिकता दिन इन्कार गर्ने वा वाधा अड्चन गर्ने निकाय, सामाजिक संस्था वा कर्मचारीलाई आवश्यक कारवाही समेत गर्ने आदेश २०७४/०५/०५ मा उमा सिंह (भट्टराई) को मुद्दामा भएको थियो ।
    दिवाकर क्षेत्री र प्रभाकर क्षेत्रीका पिता रुडल क्षेत्री र सुषमा राईको २०३६ सालमा विवाह भएको थियो । तर क्षेत्रीको मृत्यु भएपछि राईले अर्कै व्यक्तिसँग दोस्रो विवाह गरेकी थिइन् । बाबुको सानैमा मृत्यु भएपछि उनिहरु आमाको नामबाट नागरिकता लिन पुगेका थिए । तर गाउँपालिकाले सिफारिस दिन इन्कार गरेपछि अदालत पुगेका थिए । सर्वोच्च अदालतले जिल्ला प्रशासन कार्यालयको नाममा आवश्यक छानविन गरी तत्काल नागरिकता दिनु भनेर मिति २०७६/०१/३०आदेश जारी गरेको लामो समयपछि मात्र क्षेत्री दाजुभाईले नागरिकता पाएका थिए ।
    यसरी संविधान तथा ऐन कानुनले प्रत्याभूत गरेको जति हक अधिकार दिलाउन सर्वोच्च अदालत कटिबद्ध देखिएता पनि नागरिकता प्रदान गर्ने तथा सिफारीस गर्ने अन्य निकाय वडा कार्यालय, जिल्ला प्रशासन कार्यालयहरु उदासिन देखिन्छन् । सविना दमाईको मुद्दामा भएको फैसलापछि नै सबै जिल्ला प्रशासन कार्यालयहरुमा प्रधानमन्त्री कार्यालयले गृहलाई परिपत्र पठाएको र गृहले जिल्ला प्रशासन कार्यालयमा परिपत्र पठाएको र यस सम्बन्धमा कुनै गुनासो रहन नदिन गुनासो सुन्ने संयन्त्र गृह मन्त्रालय अन्तर्गत नै खडा गरी अनुगमन समेत गर्ने व्यवस्था मिलाउन सरकारको नाममा आदेश भएकोमा उक्त आदेश कार्यान्वयनको अवस्था हालसम्म पनि पत्राचारमै सीमीत देखिन्छ ।
    बाबुले छाडेका, बाबुको पहिचान हुन नसकेका, बाबु बेपत्ता भएका छोराछोरीहरुका लागी नागरिकता बनाउन जाने क्रममा बाबुको बारेमा सोधिने प्रसंगहरुले घाउमा नुन छर्कने कार्य गरी कलिलो मनस्थितिमा नकारात्मक प्रभाव पार्दैछ ।

    द्वापर युगमा भिन्दा भिन्दै पिता मार्फत कुन्तीको कोखबाट जन्मिएका पाँच पाण्डव पाण्डुपुत्र भनेरनै चिनिने गर्दछन् । यति बैज्ञानिक र उच्च सभ्यता बोकेको हाम्रो धर्म संस्कृति हुँदाहुँदै हामी किन आजसम्म स–सम्मान आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिरहेका छैनौ ?”

    लैङ्गिक विभेदको बिरुद्धमा महिलाहरुले प्राप्त गरेको विजयोत्सवको अन्तराष्ट्रिय रुपमा उन्नाईसौ शताब्दीदेखि मात्र महिला दिवस मनाउन शूरु गरिएको भएतापनि नेपालमा महिलाको सफलतामा अनादी काल देखिनै विजयोत्सव मनाउने गरिदै आएको हो ।

    महिशाषुर आदि दैत्यको ज्यादतिबाट मुक्ति दिलाई पाउन भगवान विष्णुले श्री दुर्गा भवानीलाई पुकारेपछि देवीले दैत्यहरुको संहार गरेको खुसीयालीमा नौ दिनसम्म देवीको नौ रुपलाई पुजा आराधना गरेर सनातन कालदेखि नै बडा दशैं धुमधामका साथ मनाउँदै आएका हामी नेपाली महिलाको हक अधिकारको सुनिश्चितताको लागी विदेशीको पिछलगु हुनुनै दुःखद बिडम्बना हो । अर्कोतर्फ द्वापर युगमा भिन्दा भिन्दै पिता मार्फत कुन्तीको कोखबाट जन्मिएका पाँच पाण्डव पाण्डुपुत्र भनेरनै चिनिने गर्दछन् । यति बैज्ञानिक र उच्च सभ्यता बोकेको हाम्रो धर्म संस्कृति हुँदाहुँदै हामी किन आजसम्म स–सम्मान आमाको नामबाट नागरिकता प्राप्त गर्न सकिरहेका छैनौ ? हामीले बुझ्न सकेको भए नेपालको नक्कल विश्वले गर्नुपर्ने अवस्था हुने थियो । तर कञ्जुस्याई गरी गरी दशकौं पछि २०६३ र २०७२ को संविधान तथा नागरिकता ऐन २०६३ ले प्रदान गरिसकेको नागरिकताको हक प्राप्त गर्नको लागी दशक भन्दा बढी समय २०७६ सालसम्म पनि अदालतले निर्देशन दिईरहन पर्नु, हालका दिनसम्म पनि नागरिकताको सिफारिसको लागि पेश गरेको निवेदनमा वडा कार्यालयले सिफारिस नदिई कानुनी राय माग गर्दै केन्द्रमा निवेदन फाईल पठाउने गरीरहेको अवस्था हुँदा विभिन्न झण्झटको सामना गरी अदालत प्रवेश गरिरहनुपरेको दृष्य ज्यादै पिडादायक लाग्दछ ।
    मानिस भएर जन्मिएपछि विभिन्न मौलिक हक, सम्पत्ति सम्बन्धि हक, राजनैतिक, शैक्षिक, सांस्कृतिक हक, स्वतन्त्रताको हक, समानताको हक व्यक्तिलाई प्राप्त हुन्छ । तर यी सबैभन्दा महत्वपूर्ण र पहिलो हक भनेको पहिचानको हक हो । सर्वप्रथम पहिचान भईसकेपछि मात्र त्यस्तो पहिचानको आधारमा अन्य हक प्राप्त हुने हो । तसर्थ एउटी नेपाली महिला नागरिकले आफ्नो कोखबाट जन्माएको सन्तानलाई नेपाली नागरिकता दिलाउन गर्नुपर्ने संघर्षको लडाईमा महिलाले पूर्ण रुपमा विजय प्राप्त गरुन, आमाको नामबाट नागरिकता लिन जाँदा सामाजिक रुपमा तिरष्कृत हुन नपरोस, अब मुद्दा नै लडिरहनु पर्ने परिपाटीको अन्त्य होस ! अन्तराष्ट्रिय महिला दिवसको शुभकामना !

  • निर्वाचन आयोगको भूमिकाप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टी, छिटो निर्णय दिन माग

    निर्वाचन आयोगको भूमिकाप्रति पूर्वप्रमुख आयुक्तहरुको असन्तुष्टी, छिटो निर्णय दिन माग

    काठमाडौं । निर्वाचन आयोगले नेकपा विवादको टुंगो लगाउन छाडी असंवैधानिक रुपमा घोषित निर्वाचनको तयारीमा लागेको प्रति अहिले व्यापक आलोचना भइरहेको छ । यसै सन्दर्भमा पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तले नेकपाको आधिकारिकता विवादमा यथाशीघ्र कानून अनुसार निर्णय दिन निर्वाचन आयोग समक्ष आग्रह गरेका छन् ।

    पूर्वप्रमुख निर्वाचन आयुक्त सूर्यप्रसाद श्रेष्ठ, भोजराज पोखरेल, नीलकण्ठ उप्रेती, डा. अयोधिप्रसाद यादव र दोलखबहादुर गुरुङले बुधबार संयुक्त वक्तव्य जारी गर्दै यस्तो आग्रह गरेकाहुन् । उनीहरुले आयोगको निर्णय क्षमता र स्वायत्ततामा प्रश्न उठेको तर्फ समेत ध्यानाकर्षण गराएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा संसद विघटनको सिफारिस गरेपछि नेकपा दुइ धारमा विभाजन भएको छ । तर, आयोगले यसको टुंगो लगाएको छैन । तर, पार्टी विवाद नमिलाई आयोग भने नयाँ निर्वाचनको तयारीमा जुटेको थियो । त्यस कदमलाई सर्वोच्च अदालतले सच्याइदिएको छ ।

    पार्टीमा फाटो आएपछि प्रचण्ड–माधव समूहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । उता, ओली समूहले विधान संशोधन गर्न केन्द्रीय कमिटी विस्तार गरेको छ । दुबै समूहले आफ्नो निर्णय अध्यावधिक गर्न माग गर्दै आयोगमा पत्र दिएका छन् । आयोगले भने माघ ११ मा दुबै समूहको दाबी अस्वीकार गर्दै ४४१ सदस्यीय केन्द्रीय कमिटी कायम रहेको उल्लेख गरेको छ ।


    यसमा चित्त नबुझाई प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार नेकपाको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै २० माघमा निर्वाचन आयोगमा निवेदन दिएको छ । आयोग भने यो विषयमा मौन छ । कानून अनुसार गर्दा प्रधानमन्त्रीको विपक्षमा निर्णय जाने भएकाले आयोगबाट ढिलाई भएको आंशका गर्न थालिएको छ ।

  • भागरथी हत्या प्रकरणमा खटिएका प्रहरी कर्मचारीलाई बढुवा र पुरस्कार

    भागरथी हत्या प्रकरणमा खटिएका प्रहरी कर्मचारीलाई बढुवा र पुरस्कार

    काठमाडौं । बैतडीमा बलात्कारपछि हत्या भएकी भागरथी भट्टको हत्यारा पत्ता लगाउन सफल प्रहरी कर्मचारी पुरस्कृत भएका छन् । तिव्र दवावका बीच पनि हत्यारासम्म पुगि प्रहरीको छवि उच्च राख्न सफल भएको भन्दै संगठनले उनीहरुलाई पुरस्कृत गरेको हो । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले यस प्रकरणको अनुसन्धानमा खटिएका दुई कनिष्ठ प्रहरीको एक तह बढुवा गरेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीसहित ५ जनालाई नगद पुरस्कार प्रदान गरिएको छ ।


    प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, दिपायलका प्रहरी सहायक निरीक्षक (असई) पदमबहादुर थापा प्रहरी नायब निरीक्षक (सई) मा बढुवा भएका छन् । साथै इलाका प्रहरी कार्यालय, राजापुर बर्दिया दरबन्दी भएका प्रहरी जवान नरबहादुर थापा प्रहरी हवल्दार पदमा पदोन्नति भएका छन् । थापाले यसअघि कैलालीमा दुई प्रहरीको हत्या, कञ्चनपुरमा खण्टी भुलको हत्यासहितका घटनामा समेत महत्वपूर्ण भूमिका खेलेको संगठनको निष्कर्ष छ ।

    जवान नरबहादुरले भागरथी प्रकरणसहित दुई प्रहरीको हत्या र बझाङमा सम्झना विकको बलात्कारपछि हत्या प्रकरणमा समेत प्रहरीलाई सफलता दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए । भागरथी प्रकरणको अनुसन्धानमा आफै खटिएका सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीसहित ५ अधिकृतलाई भने नगद पुरस्कार दिइएको छ ।

    पुरस्कृत हुने अन्यमा जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) नारायणप्रसाद अधिकारी, प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो दरवन्दी भएका डीएसपी पञ्चकुमार बाखु, महानगरीय प्रहरी कार्यालय रानीपोखरी परिचालन कक्ष दरवन्दीका प्रहरी नायब निरीक्षक दुर्गा कुमार योञ्जन र प्रहरी चौकी हिकिला दार्चुला दरवन्दीका प्रहरी जवान अशोक बहादुर कुँवर रहेका छन्

  • आगामी रणनीति तय गर्न प्रधानमन्त्रीले बोलाए स्थायी कमिटि बैठक

    आगामी रणनीति तय गर्न प्रधानमन्त्रीले बोलाए स्थायी कमिटि बैठक

    काठमाडौं । सर्वोच्च अदालतले आफ्नो निर्णय उल्टाइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली आगामी रणनीति निर्माणमा जुटेका छन् । सोही क्रममा उनले आज आफ्नो समूहको स्थायी कमिटी बैठक डाकेका छन् । ५ पुसमा प्रतिनिधिसभा विघटन गरी उनले मध्यावधी निर्वाचनमा जाने निर्णय लिएका थिए । यो निर्णयलाई राष्ट्रपति विद्यादेवि भण्डारीले तत्काल सदर गरेकी थिइन । यी दुबै कदम असंवैधानिक भएको सर्वोच्च अदालतले फैसला गरेको छ ।

    संसद विघटन रद्द भएपछि उत्पन्न परिस्थिति र आगामी रणनीतिबारे छलफल गर्न ओली समूहको बैठक बस्न लागेको हो । ओलीले बिहान ११ बजे स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने छ ।

    प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने र संसदको सामना गर्ने जानकारी उनका प्रेस सल्लाहकार सूर्य थापाले मंगलबार नै दिएका छन् । यद्दपी उनीमाथि राजिनामाको चौतर्फी दवाव भने छ । यसअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सर्वोच्चबाट संसद विघटन रद्द भए नैतिक रुपमा प्रधानमन्त्री कुर्सीमा बस्न नमिल्ने भनी बताएको भिडियो समेत यतिबेला सार्वजनिक रुपमा चर्चामा छ ।

  • प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, संसदको सामना गर्ने

    प्रधानमन्त्रीले तत्काल राजिनामा नदिने, संसदको सामना गर्ने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा नगर्ने भएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक संजाल फेसबुकबाट यस्तो सन्देश जारी गरेका हुन् । थापाले सर्वोच्च अदालतले गरेको फैसलालाई विवादास्पद भनेका छन् । तर, यसलाई मान्नुको विकल्प नभएको र मान्ने समेत उल्लेख गरेका छन् । यो फैसलाको दुष्प्रभाव भविश्यमा देखिने चेतावनी समेत थापाले दिएका छन् ।

    यो फैसलाबाट राजनीतिक समस्याहरुको कुनै पनि हल नहुने समेत उनले उल्लेख गरेका छन् । बरु अस्थिरता बढ्ने भन्दै उनले खुलेआम चेतावनी समेत दिएका छन् । उनले प्रधानमन्त्रीले राजिनामा नगरी प्रतिनिधिसभाको सामना गर्ने जानकारी समेत गराएका छन् । यता, सर्वोच्च अदालतको फैसलापछि विपक्षी कांग्रेसदेखि नेकपाका नेताहरुले समेत प्रधानमन्त्रीले तत्काल राजिनामा दिनुपर्ने बताएका छन् ।

  • देउवाले गरे संसद पुनर्स्थापनाको स्वागत

    देउवाले गरे संसद पुनर्स्थापनाको स्वागत

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको ऐतिहासिक फैसलालाई स्वागत गरेका छन् । देउवाले मंगलबार प्रेस विज्ञिप्त जारी गर्दै यस्तो बताएका हुन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेस विघटित प्रतिनिधिसभा पुनर्स्थापना हुने गरी सम्मानीत सर्वोच्च अदालतले गरेको फैसलाको सम्मान गर्दै स्वागत गर्दछ ।’

    देउवाले प्रतिनिधि सभा विघटन गरेको घटनालाई नेपाली कांग्रेसले तत्काल नै असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी कदम भनी निर्णय गरेको समेत स्मरण गराएका छन्। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासले संसद पुनर्स्थापना गर्ने आदेश सुनाएको हो । अदालतले १३ दिनभित्र संसद अधिवेशन बोलाउन पनि आदेश दिएको छ ।

  • पुरुषको हकमा

    पुरुषको हकमा

    योगेश आदी / [email protected]

    हालसालै एउटा समाचार डँढेलो झैं फैलियो; “स्वतन्त्र भारतको ७४ वर्षको ईतिहासमा पहिलो पटक महिलालाई फाँसी !” आजसम्म फाँसीमा किन पुरुष मात्र झुण्डिए ? यो बीचमा महिलाले जघन्य अपराध नै गरेनन् ? के कानुनले पनि अपराधिको लैंगिक अवस्था हेर्छ र ? के कानुनमा लैंगिक सहजताको थ्रेसहोल्ड राख्न मिल्छ ? गर्भवति अवस्थामा अपवादजन्य व्यवस्था गर्नु बाहेक कानुन समान हुनु पर्दछ । कतिपय मुद्दामा अदालतबाट फैसला हुँदा महिलाप्रति सहानुभूति देखाउने प्रचलन छ जुन विभेदकारी हो ।

    न्याय मूर्तिको आँखामा १६ औं सताब्दीदेखि पट्टी बाँध्न थालियो । सभ्यताको जननि इजिप्टबाट शुरु भएको यो प्रचलनको अनुशरण सबैले गरे । कुनै पनि किसिमको प्रभावमा परी न्याय सम्पादन प्रकृया प्रभावित नहोस् भन्ने ध्येयले आँखा छोपिएको प्रतिकात्मक प्रतिमा स्थापित गरियो । तर पट्टि भित्रबाट कसरी लैंगिक अवस्था देखियो ?

    नेपाल भारतमा मात्र होइन् संसारभर नै विभिन्न अवस्थामा नारी प्रति उदारता र सम्वेदनाको नाममा विभेदकारी फैसला भएका छन् ।
    त्यसो त यो कम चर्चा हुने विषय हो । अझ भन्नैपर्दा महसुस गरिने तर चर्चा नगरिने सामाजिक पाटो हो । किनकि पीडितको रुपमा महिला र पीडकको भुमिकामा पुरुष हुन्छ भन्ने मान्यता समाजमा अझै विद्यमान छ । पुरुष भएकै कारणले ‘आशय करणी’ मा दण्डित हुनुपर्ने, सामाजिक परिबन्धमा पर्नुपर्ने अवस्था कल्याणकारी समाजको अवधारणामा अट्दैन । यसर्थ; पुरुषको समान हक सम्वन्धि आवाज उठाइएन वा आवश्यक देखेनन् । पितृसतात्मक सामाजिक संरचनाले महिला उपर विभेद गरेको दर्पण देखाइयो तर पुरुषले निर्वाह गर्दै आएको जिम्मेवारी, कर्तव्यबोध र सुरक्षात्मक कवजको भुमिका बारे कहिल्यै आवाज उठाउन आवश्यक नै देखेनन् ।

    श्रीमानको अंशको हिस्सा स्वरुप बनारसमा ४ तल्ले घर बसुधा शर्माको नाममा आएको छ । २ छोरा र १ छोरीको हाइस्कुल नसक्दै श्रीमान बितेपछि बसुधाले ३ तला भाडामा लगाएर गृहस्थी थामिन् । छोरीलाई धुमधामले अन्माइन् । तामझामले जेठी बुहारी भित्र्याइन् । कान्छो छोरा फोटोग्राफी पढ्दै छ ।
    उनले छोरीको बिहेको कुरा छिन्ने बेलामा ४ ओटा तला हामी ४ जनालाई भनेर मुखैले भाग लगाइन् । अहिले कहिले छोरी कहिले ज्वाई आएर आफ्नो भागको भाडा उठाउन थालेदेखि पारिवारिक अपनत्व खलबलिएको छ । छोरी सम्पन्न घरको एक्लो बुहारी भएपनि माईतिको भाग छोड्दिन भन्छिन् । कानुनन् श्रीमानको सम्पतिको आधा हिस्सा श्रीमतीको हुने नै भएपछि माइतिपट्टीको हिस्सामा पनि आस गर्नु डबल स्ट्याण्डर्ड देखिएको कुरा न बसुधाले बुझिन् न छोरीले । बेकारमा भातृप्रेमको भावना कमजोर पारिन् ।

    त्यसो त मुलुकी देवानी संहिता २०७४ ले छोरीलाई पनि छोरा सरह नै जन्मसिद्ध अंशको हकदार मानिसकेको छ । पैतृक सम्पतिमा अपुताली परे २०७४ सालपछि बिवाह भएको छोरीले नै पाउनेछिन् । त्यसो त अहिले छोरी अबिवाहित छँदै अंशबण्डा भएमा बिवाहपछि पनि उसैको सम्पत्ति रहन्छ । एकातिर माइतिकोमा छोरा सरह पाउँछिन् फेरी विवाह लगतै श्रीमानको आधाको हिस्सेदार बन्छिन् । यस्तो अवस्थामा बिवाहपछि माईतिपट्टी दाजुभाईको हिस्सामा आँखा लाउनु भने उचित होईन्।

    सम्वन्ध विच्छेदको विषयमा पनि कानुनले पुरुषलाई विभेद गरेको छ । पतिले पहिलो श्रीमतीसँग वैवाहिक सम्बन्ध कायम रही रहेको अवस्थामा दोश्रो विवाह गरे बहुविवाहको मुद्दामा सजाएको भागिदार हुनु पर्छ तर महिलाले पहिलो पतिसँग वैवाहिक सम्बन्ध कायम रहेकै अवस्थामा दोश्रो विवाह गरेमा पहिलो पतिसँग स्वत: सम्बन्ध विच्छेद भएको मानिन्छ । खोई त सजाय ? यसमा विभेद स्पष्ट देखिन्छ ।

    समतामुलक समाजमा ह्युमानिजम उपर कानुन र अभ्यास हुनुपर्दछ । नारीको हकमा बोल्दा गर्वले फेमिनिष्ट भन्ने गरिन्छ तर पुरुषको हकमा बोल्दा मास्क्युलिष्ट होइन, बिद्रोही कहलिन्छ ।

    (आवश्यक कानुनी परामर्श : अधिवक्ता कल्पना शाक्य)

  • सर्वोच्चको फैसलाको मुखमै प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

    सर्वोच्चको फैसलाको मुखमै प्रधानमन्त्रीले बोलाए सुरक्षा परिषद् बैठक

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सुरक्षा परिषद्को बैठक डाकेका छन् । बैठक मंगलबार बिहानका लागि बोलाइएको हो । संसद विघटनको मुद्दामा सर्वोच्च अदालतको फैसला आउने समय नजिकिएको समयमा उनले डोकेको बैठकलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

    यसअघि प्रधानसेनापति र प्रधानन्यायाधिशबीच सोमबार सर्वोच्च अदालतमा भएको बैठकले समेत पुनः एक पटक राजनीतिक विवाद बढेको छ । आजको बैठकमा समसामयिक सुरक्षा विषय, देशमा विकसित पछिल्ला घटनाक्रम लगायत विषयमा छलफल हुने बताइए पनि मुल एजेण्डा सार्वजनिक भएको छैन ।

    बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रामबहादुर थापा र प्रधानसेनापति पूर्णचन्द्र थापासहितका मन्त्री समेत रहने छन् । प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहन्छ । सदस्यमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्यसचिव र प्रधानसेनापति रहन्छन् । सुरक्षा परिषद्को बैठक सकिएपछि आज नै मन्त्रिपरिषदको बैठक समेत डाकिएको छ ।

  • संसद विघटनको मुद्दा अब फैसलाको चरणमा, आज पेसी

    संसद विघटनको मुद्दा अब फैसलाको चरणमा, आज पेसी

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनको मुद्दा अब अन्तिम फैसला आउने चरणमा प्रवेश गरेको छ । मुद्दाको आज पेसी तोकिएको छ। आज हेदाहेर्दैमा रहने पेसीले आफै पनि फैसला दिन सक्ने सम्भावना हुन्छ ।

    आज नभ्याएको अवस्थामा एक दुई दिन भित्रै फैसला आउन सक्ने बताइएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा उक्त मुद्दामा रिट निवेदक र सरकारी पक्षको बहस केही दिनअघि नै सकिएको हो । त्यसपछि रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेका थिए।

    इजलासलाई राय दिन गठन गरिएको एमिकस क्युरीका पाँच सदस्यबाट समेत राय आइसकेको छ । फागुन ७ गते सबै बहस सकिएपछि इजलासले दुबै पक्षका वकिललाई फागुन १० गतेसम्म बहसको नोट बुझाउन आदेश गरेको थियो । इजलासको आदेशअनुसार सोमबारसम्म सबै वकिलले बहसको नोट बुझाइसकेका छन् ।

    सोही अनुसार आज मुद्दाको पेसी तोकिएको हो । सोही अनुसार अब यो मुद्दा निर्णायक मोडमा पुगेको हो । त्यसो त सर्वोच्चको फैसला आउने समयमा बढेको सरगर्मीले समेत अब छिट्टै फैसला आउने संकेत गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले फैसला सरकारको पक्षमा नआए आन्दोलनमा जाने चेतावनी दिइसकेका छन् । उनले देशभरका सभा हेरेर फैसला गर्न सुझाव समेत दिएका छन् ।

  • अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति

    अदालतलाई प्रधानमन्त्रीले दिएको दवावप्रति कांग्रेसको कडा आपत्ति

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वोच्च अदालतलाई दिएको दवावप्रति नेपाली कांग्रेसले कडा आपत्ति जनाएको छ । पार्टी प्रवक्ता विश्व प्रकाश शर्माले सामाजिक संजालमा धारणा राख्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सर्वोच्च अदालतलाई दवाव दिएको उल्लेख गरेका छन् ।

    प्रधानमन्त्री ओलीले शनिबार विराटनगरमा आयोजित सभालाई सम्बोधन गर्दै सभालाई हेरेर आफ्नो पक्षमा फैसला गर्न आग्रह गरेका थिए । आफ्नो पक्षमा फैसला नआए आन्दोलनमा जाने चेतावनी समेत उनले दिन भ्याए । कांग्रेस प्रवक्ता शर्माले अदालतको विषयमा चेतावनी प्रसारण गर्ने जंगेशैली लोकतान्त्रिक हुन नसक्ने उल्लेख गरेका छन् ।

    उनले भनेका छन्, ‘अदालत दबाबमा नपरोस् भन्ने तर चर्को दवावको अभिव्यक्ति राख्ने प्रधानमन्त्रीको विराटनगर मन्तव्य पदिय गरिमा विपरित छ ।’ प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सकिए शनिबार विराटनगर गरेका छन् । जहाँ बोल्दै उनले सर्वोच्च अदालत र निर्वाचन आयोगको निर्णय आफूभन्दा बाहिर गए आन्दोलन चर्काउने चेतावनी दिए ।

    उता, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत प्रधानमन्त्रीको आलोचना गरेका छन् । उनले कम्युनिस्ट सरकार गिराउन कम्युनिस्ट नै लागेका बेला कांग्रेस मौन बस्न नहुने बताए । सुनसरीको इनरुवाको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रमाथि आपत् आइलाग्दा अदालतलाई जे गर्छस् गर भनेर छाड्न नमिल्ने बताए। संविधान मासेर देशलाई अस्थिरता निम्त्याउन नपाइने उनको तर्क थियो ।

  • सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह

    सभा र अभिमत हेरेर फैसला गर्न सर्वोच्च अदालतलाई ओलीको आग्रह

    विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनमा जनताको पक्ष रहेको भन्दै देशभर भइरहेका आफ्नो सभा हेरेरै फैसला आफ्नो पक्षमा आउनु पर्ने धारणा राखेका छन् । सर्वोच्च अदालतले अन्यथा फैसला गर्छ भन्ने कल्पना समेत गर्न नसकिने उनको भनाई छ ।

    नेकपा ओली समूहले शनिबार बिराटनगरमा गरेको आमसभामा समूहका अध्यक्ष एवं प्रधानमन्त्री ओलीले भनेका सम्मानित सर्वोच्च अदालतले कुनै दबावमा अन्यथा फैसला गर्छ भन्ने कल्पना गर्न नसक्ने बताए । उनले कुनै कारणले प्रतिनिधिसभा पुनर्स्थापना भएमा सांसद किनबेच, सरकार बनाउने, ढाल्ने खेल हुने र यसले लोकतन्त्रलाई कमजोर बनाउने तर्क गरे ।

    ‘सम्मानित सर्वोच्च अदालतले देशभर भइरहेको यस्ता सभालाई हेरेको होला,’ उनले भने, ‘यस्ता सभामा प्रकट भएको जनताको अभिमत हेरे होला ।’

  • आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै

    आज बृहत् नागरिक आन्दोलन टुडिखेल छिर्दै

    काठमाडौं । आज बृहत् नागरिक आन्दोलन अभियानले टुडिखेल प्रवेशको कार्यक्रम राखेको छ । आज प्रजान्तन्त्र दिवस, अर्कोतर्फ टुडिखेलमा सेनाको कब्जा, यसै परिस्थितिमा नागरिक आन्दोलनको अभियानले समेत कडा रुप लिने संकेत गरेको छ । अभियन्ताहरुले यसलाई टुँडिखेल मार्च भनेका छन् ।

    आज दिउँसो २ बजे रत्नपार्कमा भेला भएर सहिद गेट हुँदै टुँडिखेल प्रवेश गर्ने बृहत नागरिक आन्दोलनको तयारी छ । नागरिक घोषणा सभाबाट विभिन्न विषय समेटिएको घोषणापत्र समेत जारी गरिने भएको छ । नागरिक अगुवा तथा पत्रकार नारायण वाग्लेले आजै तेस्रो जनआन्दोलन घोषणा हुने यसअघि नै बताएका छन् ।

    सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि अहिले विभिन्न क्षेत्रमा आन्दोलन जारी रहेको छ । लेखक खगेन्द्र संग्रौला, नारायण वाग्ले, सम्पदा संरक्षणकर्मी आलोकसिद्धि तुलाधर, नेपालमान डंगोल, चेपाङ संघका जितेन्द्र चेपाङ, रिता शाहसहितका अभियन्ताले नागरिक सभालाई सम्बोधनको कार्यक्रम राखिएको छ ।

  • नेकपा प्रचण्ड–नेपाल समुहले टुडिखेललाई मानव साङ्लोले घेर्दै

    नेकपा प्रचण्ड–नेपाल समुहले टुडिखेललाई मानव साङ्लोले घेर्दै

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड–माधव) समूहले आजबाट चौथो चरणका आन्दोलनका कार्यक्रम गर्दैछन् । यसै सिलसिलामा दिउँसो ४ देखि ५ बजेसम्म टुँडिखेलमा मानव साङ्लोले घेर्ने कार्यक्रम राखिएको छ । चौथो चरणको संघर्षका कार्यक्रम अन्तरगत काठमाडौंमा मानव साङ्लो प्रदर्शन गगरिने समुहले जनाएको छ ।

    काठमाडौंबाहेक विभिन्न जिल्लामा विरोध प्रदर्शन र सभा आयोजना गरिने भएका छन् । जिल्लास्तरमा विरोध प्रदर्शन र सभा आगामी फागुन १२ गतेसम्म जारी राख्ने बताइएको छ । गत माघ २८ गते तेस्रो चरणका कार्यक्रम सम्पन्न गरेको प्रचण्ड–माधव समूहले चौथो चरणका विरोधका कार्यक्रम थालेको हो ।

  • भागरथी हत्या प्रकरणमा प्रहरीलाई ठूलो सफलता, पक्राउ परेकालाई आज सार्वजनिक गर्ने तयारी

    भागरथी हत्या प्रकरणमा प्रहरीलाई ठूलो सफलता, पक्राउ परेकालाई आज सार्वजनिक गर्ने तयारी

    काठमाडौं । बैतडीमा बलात्कारपछि विभत्स हत्या गरिएकी किशोरी भागरथी भट्टको हत्या प्रकरणमा नेपाल प्रहरीले ठूलो सफलता प्राप्त गरेको छ । प्रहरीले भागरथीको हत्या भएको १३ औं दिनमा हत्या अभियोगमा एक युवालाई पक्राउ गरेको छ । उनलाई आज सार्वजनिक गरिने भएको छ ।

    दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा उनी अध्ययन गर्ने विद्यालयकै एक विद्यार्थी पक्राउ परेका हुन् । प्रहरीले सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । उनले अभियोग स्वीकार समेत गरेका छन् ।

    यद्दपी प्रहरीले उनलाई शंकाको घेरामा राखी पक्राउ भने गरेको थिएन् । यसअघि सोधपुछ गरी उनलाई छाडिएको थियो । भागरथी सोही विद्यालयको कक्षा १२ मा पढ्थिन । २१ माघमा विद्यालयबाट घर हिँडेकी उनको बलात्कारपछि हत्या भएको अवस्थामा भोलिपल्ट शव फेला परेको थियो ।

    भागरथीको हत्या प्रकरण निर्मला पन्तको जस्तै हुने आशंका धेरैले गरेका थिए । सोहीकारण प्रहरीले यो प्रकरणमा निकै सुझबुझपूर्ण तरिकाले काम गरेको बताइको छ । दार्चुलाबाट बैतडी जाने बाटोबाट भित्री सडक हुँदै भट्टको घर जाने बाटोमा पर्ने लवलेक सामुदायिक वनमा सडकबाट ५० मिटर तल उनको शव भेटिएको हो ।

  • विप्लवसहित ३६ जनाविरुद्ध शिक्षक हत्याको अभियोगमा ज्यान मुद्दा

    विप्लवसहित ३६ जनाविरुद्ध शिक्षक हत्याको अभियोगमा ज्यान मुद्दा

    काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ समुहका संयोजक विप्लवसहित ३६ जना नेता कार्यकर्ता विरुद्ध मोरङका शिक्षक राजेन्द्र श्रेष्ठको अपहरण तथा हत्या अभियोगमा मुद्दा दर्ता भएको छ । ‘विप्लव’, खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’सहितका उच्च नेताविरुद्ध समेत ज्यान मुद्दा दर्ता भएको हो । सोमबार जिल्ला सरकारी वकिलको कार्यालयले विप्लवसहित ३६ जनालाई अपहरण तथा कर्तव्य ज्यानमुद्दा दर्ता गरेको जानकारी गराएको छ ।

    उनीहरुमध्ये एक जना मात्र प्रतिवादी पक्राउ परेका छन् । समुहका मोरङ इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक मोरङ प्रहरीको नियन्त्रणमा छन् । उनले भने अपराध अस्वीकार गरेका छन् । पक्राउ परेका प्रतिवादी विक हातहतियार तथा खरखजना मुद्दामा सोमबार नै पुर्पक्षका लागि कारागार चलान भएका छन्।

    मिक्लाजुङ–१ बर्खेस्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक श्रेष्ठको २३ मंसिरमा हत्या भएको थियो। उनको घाँटी रेटेर विभत्स हत्या भएको हो । हत्या गरेको दिन नै नेपाल कम्युनिष्ट पार्टीको विप्लव समूहले घटनाको जिम्मेवारी लिएको थियो ।

  • संसद विघटनको मुद्दामा आजबाट जवाफी बहस

    संसद विघटनको मुद्दामा आजबाट जवाफी बहस

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा आजबाट जवाफी बहस सुरु हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिनेछन् । यसअघि विहिबार सरकारी पक्षको बहस सकिएको हो ।

    सरकारी पक्षबाट आएका जिज्ञासा र तर्कको जवाफ निवेदक पक्षले दिनु पर्नेछ । त्यसका लागि बढीमा ५ जना वकिलले समय पाउने सम्भावना छ । जवाफी बहस गर्न नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, रमण श्रेष्ठसहितको टोली खटिएको छ । त्यसबाहेक अन्य १२ निवेदकका तर्फबाट समेत वकिल खटिएका छन् ।

    सरकारले पुस ५ मा संसद विघटन गरेपछि यसको विरुद्धमा संवैधानिक इजलासमा बहस जारी छ । प्रतिनिधिसभा विघटनविरुद्ध १३ रिट निवेदकका तर्फबाट ७० भन्दा बढी कानुन व्यवसायीले बहस गरिसकेका छन् ।


    जवाफी बहस सकिएपछि एमिकस क्युरीमा रहेका पाँचजनाले आफ्नो धारणा राख्न सक्ने छन् । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला तोकिएका छन् ।

    प्रधानन्यायाधीश जबरा नेतृत्वको संवैधानिक इजलासमा न्यायाधीशहरू तेजबहादुर केसी, सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र विश्वम्भरप्रसाद श्रेष्ठ रहेका छन्।

  • रामकुमारी पक्राउको विरोधमा कांग्रेस र गगनको दरिलो साथ

    रामकुमारी पक्राउको विरोधमा कांग्रेस र गगनको दरिलो साथ

    काठमाडौं । आज नेकपा नेतृ रामकुमारी झाँक्रीलाई सरकारले गरेको गिरफ्तारीको विरोधमा कांग्रेस र प्रभावशाली नेता गगन थापाले विपक्षीलाई दरिलो साथ दिएका छन् । कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले अभिव्यक्तिलाई नै राज्यविरुद्धको अपराध करार गरेर अधिनायक चिन्तनका साथ प्रतिशोधपूर्ण राजनीति नगर्न सरकारलाई चेतावनी दिए ।

    उता, नेपाली कांग्रेसका नेता गगनकुमार थापाले राष्ट्रपतिबारे आफूले पनि बोलेको भन्दै राज्यद्रोहको मुद्दा लगाउन चुनौती दिए । विद्यादेवी भण्डारीले राष्ट्रपति पदको गरिमा राख्न नसकेको भन्दै उनले संसद पुनर्स्थापना भएपछि घर पठाइने समेत चेतावनी दिए ।

    नेपाली कांग्रेस विराटनगर महानगरसमितिको कार्यक्रममा बोल्दै थापाले राष्ट्रपति भनेको व्यक्ति नभई संस्था भएको बताए । उनले भने, ‘मैले पनि राष्ट्रपतिबारे बोलेको छु, हिम्मत छ भने राजद्रोहको मुद्दा हामी सबैलाई लगाऊ, झ्यालखानाको संख्या अझै बढाऊँ, महाराजको आदेशले छेकिएन श्रीमान, तपाईको आदेशले पनि छेकिन्न ।’

  • के सरकार अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्दैछ ?

    के सरकार अभिव्यक्ति स्वतन्त्रतामा कडाई गर्दैछ ?

    काठमाडौं । सरकारले सामाजिक सञ्जाल प्रयोगकर्ता र त्यसका माध्यमबाट संचारमाध्यममा सूचना प्रकाशन, प्रसारण हुने सामग्रीमाथि कडाई गर्ने तयारी गरेको छ । सामाजिक संजालमा उत्तेजक अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई प्राथमिकता दिएर प्रकाशन, प्रसारण गर्ने माध्यमलाई कारवाही गर्ने गरी सरकारले निर्देशिका बनाउन लागेको छ ।

    यसलाई भने धेरैले अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न लागेको रुपमा व्याख्या गरेका छन् । किनकी प्रधानमन्त्री केपी शर्मा ओलीले शुरु देखि नै संचारमाध्यमप्रति असहिष्णु व्यवहार ेदेखाउँदै आएका छन् । सरकारका प्रवक्ता पार्वत गुरुङका अनुसार स्वतन्त्रता उपभोग गर्ने नाममा दर्ता बिना सञ्चालनमा आएका फेसबुक, युट्युब, अनलाइनजस्ता कतिपय माध्यमबाट हुने विकृति रोक्न सामाजिक सञ्जालसम्बन्धी निर्देशिका, २०७७ जारी गर्न लागिएको छ ।

    नेपाली समाजलाई अराजकता, विकृति विसङ्गतितर्फ धकेल्ने गतिविधि नगर्न तथा आमसञ्चारकर्मीलाई अराजक, मर्यादित र गैरजिम्मेवार नबन्न सचेत गराइने उनले जनाए । त्यस्ता गतिविधिलाई कानूनको दायरामा ल्याउन आवश्यक ठानेर निर्देशिका जारी गर्न लागिएको समेत उनको भनाई छ ।

    पछिल्ला केही दिनमा स्वतन्त्रताका आडमा छाडा, उत्तेजक, व्यक्ति केन्द्रित, मुलुकका सर्वोच्च अङ्ग र व्यक्तिमाथि गलत अभिव्यक्ति दिने र त्यस्ता अभिव्यक्तिलाई सामाजिक सञ्जाल र केही जिम्मेवार सञ्चारमाध्यमले प्राथमिकताका साथ प्रकाशन तथा प्रसारण गर्ने पाइएको भन्दै सरकारले कडाई गर्न तम्सिएको हो ।

  • संसद विघटन सम्बन्धी मुद्दामा आज बहस नहुने

    संसद विघटन सम्बन्धी मुद्दामा आज बहस नहुने

    काठमाडौं । सरकारले ५ पुसमा संसद विघटन गरेपछि त्यसविरुद्ध परेका रिटमाथि अहिले संवैधानिक इजलासमा बहस जारी रहेको छ । यो बहसमा अहिले सरकार तथा प्रधानमन्त्रीका पक्षका वकिलले बहस गरिरहेका छन् । तर, मंगलबार भने यस मुद्दामा बहस नहुने भएको छ ।

    प्रधानन्यायाधीश चोलेन्‍द्रशम्शेर जबराका अनुसार न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार इजलास नबस्ने निर्णय गरिएको छ । अब संसद विघटन मुद्दामा २८ माघबाट पुनः निरन्तर बहस हुनेछ ।

    अदालतमाथि अहिले उच्च दवाव रहेको छ । एकातर्फ निर्वाचन आयोगसहितका संवैधानिक निकायसमेत अदालतको फैसला कुरेर बसेका छन् । अर्कोतर्फ ठूलो जनमत प्रधानमन्त्री ओलीको कदमको विरुद्धमा छ । बहसका क्रममा यो दवावबारे प्रधानन्यायाधिशले विषय समेत उठाउने गरेका छन् ।